Category: फिचर

  • नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना

    काठमाडौं (रासस) । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको संख्या १७५ पुगेको हो । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसंघका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित संक्षिप्त समारोहमा हस्ताक्षर गरे ।

    दुवै राजदूतले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्त पत्रमा पनि हस्ताक्षर गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

    त्यस अवसरमा दुवै राजदूतले राष्ट्रिय तथा बहुपक्षीय परिवेशमा विशेषगरी संयुक्त राष्ट्रसंघका मञ्चहरूमा दुई देशको आपसी हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार आदान–प्रदान गरेका थिए । उनीहरूले दक्षिण सुडानको चलिरहेको शान्ति प्रक्रियाको सन्दर्भमा द्वन्द्वबाट शान्तितर्फको सङ्क्रमणकाललाई कसरी सफल बनाउन सकिन्छ भन्नेबारे पनि छलफल गरेका थिए ।

    राजदूत राईले दक्षिण सुडानमा शान्ति स्थापना गर्न स्वदेशमा भएको शान्ति प्रक्रियामा आफ्नो अनुभव साझा गर्न नेपाल इच्छुक रहेको बताएका थिए । नेपालले दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति कार्यका लागि एक हजार ८०० नेपाली शान्ति सैनिक तैनाथ गरी दक्षिण सुडानको शान्ति र स्थायित्वका लागि योगदान पुर्याउँदै आएको छ ।

    पूर्वी–मध्य अफ्रिकामा अवस्थित दक्षिण सुडान ९ जुलाई २०११ मा सुडानबाट स्वतन्त्र भएको हो । नेपाल र दक्षिण सुडान दुवै अल्पविकसित देशहरूको समूह, भूपरिवेष्टित विकासशील देशहरूका साथै समूह ७७ र चीनका सदस्य हुन् । दक्षिण सुडान १४ जुलाई २०११ मा संयुक्त राष्ट्रसंघको १९३औं सदस्यका रूपमा सामेल भएको उक्त विश्व संगठनको कान्छो सदस्य देश हो ।

  • धनुषामा ५ जना सवार मोटरसाइकल दुर्घटनामा पर्दा चार जनाको मृत्यु

    धनुषामा ५ जना सवार मोटरसाइकल दुर्घटनामा पर्दा चार जनाको मृत्यु

    जनकपुर । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको ज्यान गएको छ । सोमबार राति सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वामा ज६प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार लुइँटेललाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।


    तिव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा घाइते भएकालाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएपनि चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैला नगरपालिका २ बस्ने १५ बर्षीय राहुल यादव, १२ बर्षका लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ बर्षका सुमित यादव छन् ।

  • कोरोना संक्रमित बढेपछि चीनको सांघाईमा लकडाउन

    कोरोना संक्रमित बढेपछि चीनको सांघाईमा लकडाउन

    काठमाडौं । चीनमा कोरोनाभाइरसका नयाँ सङ्क्रमित पुष्टि हुने सङ्ख्या निरन्तर रूपमा बढेसँगै दोस्रो ठूलो शहर सांघाईमा लकडाउन घोषणा भएको छ । बीबीसीका अनुसार सांघाईमा पनि सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै त्यहाँ लकडाउन घोषणा गरिएको हो । दुई वर्षभन्दा अगाडि कोरोनाभाइरसको महामारीयता घोषणा गरिएको यो सबैभन्दा ठूलो लकडाउन हो। नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन गरिनेछ।

    सहरको पूर्वी आधा भागमा बस्ने आधा मानिसहरूलाई पाँच दिनसम्म अर्थात् एप्रिल १ सम्म घरभित्रै बस्न भनिएको छ। अत्यावश्यकीय सेवामा कार्यरतलाई मात्रै काम गर्न छुट दिइएको छ र सार्वजनिक यातायातका सेवाहरूमाथि रोक लगाइएको छ। उद्योग तथा कम्पनीहरूले पनि आफ्नो काम स्थगित गर्नुपर्नेछ अथवा कार्यालय बाहिरैबाट काम गर्नुपर्नेछ। सांघाईको पश्चिमी आधा भागमा शुक्रवारबाट लकडाउन गरिनेछ। ठाउँ ठाउँ छुट्याएर मानिसहरूको ठूलो सङ्ख्यामा परीक्षण गरिँदैछ र सङ्क्रमण देखिनेलाई अस्पताल वा क्वारन्टीनमा पठाइनेछ।

    चीनको एकदमै महत्त्वपूर्ण व्यापारिक केन्द्रले झण्डै एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरको सामना गरिरहेको छ। यद्यपि त्यहाँ देखिएको सङ्क्रमितको सङ्ख्या केही अन्तर्राष्ट्रिय मापदण्डले तोकेभन्दा धेरै होइन। अढाई करोड जनसङ्ख्या रहेको सहरमा अधिकारीहरूले अर्थतन्त्रमा असर पर्न नदिन धेरै कोसिस गरेका थिए।

    तर शनिवार त्यहाँ महामारीका सुरुका दिनमा देखिएयता उच्च सङ्ख्यामा सङ्क्रमित देखिएपछि अधिकारीहरूले लकडाउन गर्ने निर्णय लिएको देखिएको छ। अधिकारीहरूले लकडाउनसम्बन्धी सुझावहरू वीच्याटमा प्रकाशित गरेका छन्। उनीहरूले सर्वसाधारणलाई महामारीबाट जोगिने र त्यसलाई नियन्त्रण गर्ने काम बुझेर त्यसमा सहयोग र समर्थन गर्न पनि भनेका छन्।

  • पछिल्लो २४ घण्टा २१ जना कोरोना संक्रमित थपिए, उपत्यकामा ३ जना मात्रै

    पछिल्लो २४ घण्टा २१ जना कोरोना संक्रमित थपिए, उपत्यकामा ३ जना मात्रै

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १५२ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १ हजार १५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ३४७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३१९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६५ हजार १४२ पुगेको छ । संक्रिय संक्रमितको संख्या १ हजार २५४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप तीन जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँ, भक्तपुर र ललितपुरमा एक–एक जना संक्रमित मात्रै थपिएका हुन्।

  • त्रिकोणात्मक टी-२०:पपुवा न्युगिनीमाथि रोमाञ्चक जित निकाल्दै नेपालको विजयी शुरुवात

    त्रिकोणात्मक टी-२०:पपुवा न्युगिनीमाथि रोमाञ्चक जित निकाल्दै नेपालको विजयी शुरुवात

    काठमाडौं । नेपाल, पपुवा न्युगिनी र मलेसियाबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ।

    सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको हो।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन जोडेको थियो ।

    नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनी १९।२ ओभरमा सबै विकेट गुमाएर १६८ रनमा समेटिएको हो।

    पपुवा न्युगिनीका लागि नर्मन भनुवाले ५२, सेसे बउले ३०, चार्लस अमिनीले २२, लेगा सिअकाले २१ र चाड सोपरले १३ रन बनाए।

    नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । त्यस्तै, अविनाश बोहोराले २ विकेट लिए भने सोमपाल कामीको नाममा एक विकेट रह्यो ।

    पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि असिफ शेखले ४३, रोहित पौडेलले ३४ र आरिफ शेखले ३१ रन बनाए ।

    ओपनर कुशल भुर्तेल २० रनमा रनआउटको सिकार बनेका थिए। उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

    रोहितकुमार पौडेलले २६ बलमा ३४ रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरी ४ रन, कुशल मल्ल ११ रन र लोकेश बम ५ रन मा आउट भए।

    तेस्रो ओभरमा २५ रन बनाउदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि आसिफ र रोहितले ८० रनको साझेदारी गरेको थियो।

    करण केसीले १४ र कुशल मल्ले ११ रन बनाएका थिए।

    पपुवा न्यूगिनीका लागि अलेई नाव र चार्ल्स अमिनी र चाड सोपरले दुई-दुई तथा नर्मन भनुवा र रिले ह्याकुरले एक-एक विकेट लिएका थिए।

    सिरिजमा भोलि मलेसिया र पपुव न्युगिनीबीच खेल हुनेछ।

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ५४ करोडमा सीमित

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ५४ करोडमा सीमित

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३१ कम्पनीको २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैयाँ बराबरको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् ।

    घट्दो बजारमा बैंकिङ ८, ब्यापार ६०, होटल तथा पर्यटन २४, विकास बैंक ७५, जलविद्युत् २४, फाइनान्स ४९, निर्जीवन बीमा २५२, उत्पादन ८४, माइक्रोफाइनान्स ४० र जीवन बीमा ३४२ अंकले घटेका छन् ।

    बुधवारदेखि बजार ओरालो लाग्दै आएको छ । सोमबार कारोबारको आधारमा सबैभन्दा बढी जीवन विकास लघुवित्तको शेयर किनबेच भएको छ ।

    यस कम्पनीको २२ करोड २४ लाख भन्दा बढीको कारोबार भएको छ । दोस्रोमा अपी पावर कम्पनीको ९ करोड ३० लाख बढीको कारोबार भएको छ ।

    आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९९१.५० रुपैयाँ पुगेको छ ।

    इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९२०.३० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज करिब ५ प्रतिशतले घटेको छ ।

  • काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

    काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

    काठमाडौं । काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ ।

    एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टलेले काठमाडौं विश्वमै दोस्रो प्रदूषित सहरमा परेको देखाएको हो ।

    काठमाडौंको अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ १५९ रहेको छ ।

    एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ ।

    रिपार्ट अनुसार काठमाडौंमा वायु प्रदुषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदूषण उच्च विन्दुमा रहेको देखाएको छ ।

    रिपार्ट अनुसार विश्वका प्रदूषित सहरहरूको सूचीको तेस्रो नम्बरमा बङ्गलादेशको ढाका परेको छ । बङ्गलादेशको ढाका प्रदूषण मापन सूचक एक्यूआई १५५ रहेको छ ।

    पाकिस्तानको सांस्कृतिक राजधानी लाहौर, पाकिस्तानकै अर्को सहर कराची संसारको १० प्रदूषित सहरभित्र परेका छैनन् ।

    भारतको मुम्बई पाँचौं, राजधानी नयाँदिल्ली १२२ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) सहित आठौं प्रदूषित सहरमा परेको छ ।

    नयाँदिल्ली र लाहौरको जनघनत्व काठमाडौंको भन्दा निकै बाक्लो छ। साथै, त्यहाँ उद्योगधन्दाको संख्या पनि अधिक छ।

  • १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई चैत २५ देखि टाइफाइड खोप

    १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई चैत २५ देखि टाइफाइड खोप

    काठमाडौं । १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ । सरकारले चैत २५ देखि बैशाख १८ सम्म बालबालिकाका लागि टाइफाड खोप अभियान सञ्चालन गर्न लागेको हो ।

    नेपालमा पहिलो पटक सञ्चालन गर्न लागेको खोप अभियान नजिकैको स्वास्थ्य संस्था, विद्यालय तथा वडा कार्यालयमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसअनुसार बालबालिकालाई निशुल्क टाइफाइड खोप प्रदान गरिनेछ ।

    टाइफाइड ढल वा संक्रमित व्यक्तिको दिसामा हुने जिवाणु वा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाइएको छ । विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गर्छ।

    डाइफाइड हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने हुन्छ । त्यस्तै पेट दुख्ने, पखाला, वाकवाकी तथा शरीरमा रातो बिमिरा आउने पनि यसका लक्षण हुन् ।

    टाइफाइड खोप लगाएपछि रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने हुन्छन् । खोप लगाएपछि यी बाहेक अन्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ ।

  • राप्रपाले बनायो २० सदस्यीय ‘हाइकमाण्ड’समिति, को-को परे ? (सूचीसहित)

    राप्रपाले बनायो २० सदस्यीय ‘हाइकमाण्ड’समिति, को-को परे ? (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।

    अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम पार्टीका पदाधिकारी र वरिष्ठ नेताहरु सम्मिलित २० सदस्यीय कार्य सम्पादन समिति गठन गरेका हुन् ।

    पार्टीको हाइकमाण्डकारुपमा गठित समितिमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीदेखि दिपक बोहोरासम्मका नताहरु समेटिएका छन् ।

    कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी छन् ।

    यस्तै, महामन्त्रीहरू डा.धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह पनि समिति सदस्यमा छन् ।

    केन्द्रीय सदस्यहरू दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार कार्यसम्पादन समितिमा रहेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    राप्रपाको विधानमा ३३ जनाको केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ । अब बाँकी १३ जना पनि छिट्टै मनोनयन गरिने प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

  • मोदीको निमन्त्रणामा शुक्रबार भारत जाँदै प्रधानमन्त्री देउवा, यस्ता छन् कार्यक्रम

    मोदीको निमन्त्रणामा शुक्रबार भारत जाँदै प्रधानमन्त्री देउवा, यस्ता छन् कार्यक्रम

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तय भएको छ ।

    सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवा दुई दिने भ्रमणका लागि शुक्रबार (चैत १८) गते भारत जान लागेको जानकारी गराएको हो।

    मन्त्रालयका अनुसार भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन्। उनी शनिबार नै स्वदेश फर्कने मन्त्रालयले जनाएको छ।

    पाँचौं पटक प्रधानमन्त्री भएपछि देउवाले गर्न लागेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।

    भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चैत १९ गते द्विपक्षीय वार्ता हुनेछ । सोही दिन उनले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

    भारतका विदेशमन्त्री एस. जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् ।

    प्रधानमन्त्री देउवाले नयाँ दिल्लीमा कार्यक्रमहरु सकेपछि उत्तर प्रदेशको वराणासी भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

    यसअघि गुजरातमा हुने सम्मेलनमा जाने भनिएपनि ओमिक्रोन संक्रमण बढेका कारण प्रधानमन्त्रीको भारत यात्रा स्थगित भएको थियो ।

  • युक्रेन तटस्थ हैसियतमा बस्न तयार छ : जेलेन्स्की

    युक्रेन तटस्थ हैसियतमा बस्न तयार छ : जेलेन्स्की

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन्। बीबीसीका अनुसार त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने उनको शर्त छ । जेलेन्स्कीको भनाइ स्वतन्त्र रुसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा आएको हो। पूरा समय रुसी भाषामा बोलेका उनले रुसी हमलाले युक्रेनको रुसी भाषा बोलिने शहरहरू ध्वस्त पारेको बताए । युक्रेन र रुसबीच नयाँ चरणको प्रत्यक्ष वार्ता यसैसाता टर्कीमा हुँदैछ।

    युक्रेनमा रुसी भाषाको प्रयोगबारे शान्तिवार्तामा कुरा भएको जेलेन्स्कीलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ। तर निःशस्त्रीकरण हुनुपर्नेजस्ता रुसी माग भने युक्रेनले अस्वीकार गरेको उनले बताए। जेलेन्स्कीले भने सुरक्षाको प्रभावकारी सुनिश्चितता अनिवार्य विषय रहेको बताएका छन्। उनले भने, ‘अवश्य हाम्रो लक्ष्य देशमा सक्दो छिटो शान्ति र जनजीवन सामान्य अवस्थामा फर्कियोस् भन्ने छ।’

    आंशिक रूपमा रुस पक्षधर पृथकतावादीहरूले नियन्त्रण गरिराखेको डोनबास क्षेत्रमा समेत आफूले सम्झौता गर्न सक्ने उनले जनाएका छन्। ९० मिनेट लामो भिडिओ अन्तर्वार्तामा जेलेन्स्कीले भनेका छन्, ‘मलाई थाहा छ रुसलाई युक्रेनी भूभागबाट पूरै बाहिर निकाल्न असम्भव छ। त्यसले तेस्रो विश्वयुद्धतिर डोर्‍याउँछ। मैले यही बुझेरै सम्झौताको कुरा गरिरहेको छु।’ युक्रेनले रुससँगको शान्तिवार्ताको अर्को चरणमा आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डता कायम गर्ने कुरामा जोड दिने जेलेन्स्कीले बताए ।

  • पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरियो

    पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरियो

    पाल्पा । पाल्पालाई ढाकाको कपडाको राजधानी घोषणा गरिएको छ । शनिबार लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरेकी हुन् । जिल्लालाई ढाकाको राजधानी घोषणाले ढाकाको प्रवद्र्धन गर्न सहयोग पुग्ने मन्त्री घर्तीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले लेखेका छन् । पाल्पा जिल्लाले विगत छ दशकदेखि नै ढाका उत्पादन गरिरहेको छ । राजधानी घोषणाले ढाकाको पहिचानलाई स्थापित गर्ने र ढाकाको बजार प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाई छ ।

    पाल्पा जिल्लाभर एक दर्जनभन्दा बढी ढाका उद्योग रहेको तथ्यांक छ । ती ढाका उद्योगमा एक हजारभन्दा बढीले काम गरिरहेको व्यवसायीले बताएका छन् । पाल्पाली ढाकालाई पहिचान दिन र आन्तरिक उत्पादनलाई स्वदेश तथा विदेशमा निर्यात गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा सहयोग पु(याउने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताएका छन् ।

  • नेपाल, पीएनजी र मलेसियाबीच आजबाट टी-२० सिरिज, पहिलो खेलमा नेपाल र पीएनजी भिड्दै

    नेपाल, पीएनजी र मलेसियाबीच आजबाट टी-२० सिरिज, पहिलो खेलमा नेपाल र पीएनजी भिड्दै

    काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सहभागी भएको त्रिदेशीय टी २० सिरिज आजबाट काठमाडौंमा सुरु हुँदैछ । डबल राउण्ड रोबिनको आधारमा हुने श्रृङ्खलाको पहिलो खेलमा नेपाल र पपुवा न्युगिनी सोमबार भिड्दैछन् । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेबाट शुरु हुनेछ ।

    यसअघि नेपाल र पीएनजी एक पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा खेलिसकेका छन् । सन् २०१५ मा नेपालले आईसीसी टी–२० विश्व कप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो । ७ वर्षअघि भएको खेलमा नेपाल ८ विकेटले हारेको थियो । नेपालले दोस्रो खेल बुधबार मलेसिया र बिहीवार पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने छ ।

  • उदयपुरमा आगलागीमा परि एक जनाको मृत्यु, आधा दर्जन घर जले

    उदयपुरमा आगलागीमा परि एक जनाको मृत्यु, आधा दर्जन घर जले

    उदयपुर । उदयपुरमा आगलागीमा परि एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागीमा परेर एक जनाको ज्यान गएको हो । सात घर जलेर नष्ट भएका छन् । आइतबार दिउँसो लागेको आगोका कारण स्थानीय ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको छ । आगो हिजो बेलुका नै निभाइएको र पीडित परिवारलाई राहत दिने तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी यादवले बताएका छन् । उदयपुरगढी गाउँपालिका(१ का वडाध्यक्ष खेतबहादुर मगरकाअनुसार स्थानीय ओमबहादुर मगरको घरबाट आगो लाग्न सुरु भएको थियो।

  • नेपाली सेनामा पाइलटसहित एकसाथ २ सय कर्मचारीको माग

    नेपाली सेनामा पाइलटसहित एकसाथ २ सय कर्मचारीको माग

    काठमाडौं । नेपाली सेनाले पाइलटसहित एक साथ २ सय कर्मचारी भर्नाको आवेदन खुलाएको छ । लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा झन्डै दुई सयको संख्यामा कर्मचारी माग गरेको सेनाले सूचना प्रकाशित गरि जानकारी गराएको छ । लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । चार जना प्राड उपसेनानी माग भएको छ । चार जना पाइलट उपसेनानी समेत भर्ना गर्न लागिएको छ ।

    समाचार बाचक, सम्पादकसहित विभिन्न ट्रेडका प्राविधिक अधिकृत गरी सेनाले एक सय ९४ जना माग गर्दै सोमबार आवेदन खुलाएको हो । सोमबारबाट ०७९ वैशाख १३ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्। फारम बुझाउँदा दस्तुर एक हजार रूपैयाँ तोकिएको छ । उपसेनानीका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको सेनाले जनाएको छ ।

  • ३६ वर्षपछि क्यानडाले खेल्ने भयो विश्वकप फुटबल

    ३६ वर्षपछि क्यानडाले खेल्ने भयो विश्वकप फुटबल

    काठमाडौं । क्यानडा कतार विश्वकपका लागि छनोट भएको छ । ३६ वर्षपछि पहिलो पटक विश्वकप फुटबलमा छनोट भएको यो मुलुकमा यतिबेला खुसीयाली छाएको छ । आइतबार जमैकालाई ४–० ले हराएको क्यानडा कतार विश्वकपमा छनोट भएको हो । क्यानडाका लागि केयल, टाजोन र होलेटले गोल गरे । अर्को एक गोल जमैकाका एडरिनले आत्मघाती गरे । अहिले विश्वकप छनोटमा अन्तिम चरणका खेलहरु जारी छन् ।

  • एनआरएनएका पूर्वअध्यक्ष भट्टले घोषणा गरे नेपालकै सर्वाधिक राशीको पुरस्कार

    एनआरएनएका पूर्वअध्यक्ष भट्टले घोषणा गरे नेपालकै सर्वाधिक राशीको पुरस्कार

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेसनको संयुक्त पहलमा एक करोडको पुरस्कार घोषणा भएको छ । यो नेपालकै सबैभन्दा ठूलो राशी भएको पुरस्कार हो । यसै वर्षबाट प्रदान गर्न थालिएको यो पुरस्कार महावीर पुन तथा राष्ट्रिय अविष्कार केन्द्रलाई प्रदान गरिने घोषणा गरिएको छ। नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरूप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्त रूपमा एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिएको हो।

    बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनको १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन्। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई(दुई वर्षमा प्रदान गरिने छ। धन भएर मात्र हुँदैन त्यसभित्र ठूलो मन पनि हुनुपर्छ भन्दै एनआरएनका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनको उदघाटन अवसरमा मुलुकको सेवामा समर्पीत व्यक्तित्वलाई सहयोग गर्नु सबै नेपालीको कर्तव्यसमेत भएको बताए।

    केही समयदेखि ओशोको भक्तिभावमा फरक शैलीमा देखिएका भवनको आध्यात्मिक नाम स्वामी आनन्ददेव पनि हो। गैरअवासीय नेपाली संघको अभिभावकत्वमा पुरस्कारको कार्यविधि बनाएर बिबी फाउण्डेसनले नेपाल तथा नेपालीका लागि योगदान गर्ने नेपाली वा गैरआवासीय नेपाली व्यक्ति वा संस्थालाई गैरआवासीय नेपाली संघको सम्मेलनको अवसरमा प्रदान गरिने बिबी फाउण्डेसनले जनाएको छ।

  • कुन प्रदेशमा कति मतदान केन्द्र  ?

    कुन प्रदेशमा कति मतदान केन्द्र ?

    काठमाडौं । निर्वाचन आयोगले टुंगो लगाएको मतदान केन्द्र अनुसार आगामी स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी प्रदेश नं २ मा हुने भएको छ । यो प्रदेश जनसंख्याका दृष्टिकोणबाट पनि ठूलो प्रंदेश हो । वैशाख ३० मा तोकिएको स्थानीय तहको चुनावका लागि प्रदेशतर्फ सबैभन्दा धेरै मतदान केन्द मधेस प्रदेशमा तोकिएको आयोगको भनाई छ । मधेस प्रदेशमा चार हजार एक सय ८९ वटा मतदान केन्द्र तोकिएको छ । दोस्रो नम्बरमा बागमती प्रदेश छ । यसमा चार हजार ९५ वटा र तेस्रोे नम्बरमा प्रदेश १ रहेको छ ।

    प्रदेश १ मा चार हजार ५१ मतदान केन्द्र रहेका छन् । प्रदेशमा सबैभन्दा कम मतदान केन्द्र कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा १३ सय ८५ मतदान केन्द्र रहेको छ । यस्तै दोस्रो कम मतदान केन्द्र सुदूरपश्चिम प्रदेश रहेको छ । जसमा २१ सय तीन मतदान केन्द्र रहेको छ भने तेसो कम नम्बरमा गण्डकी प्रदेशमा २३ सय मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । जिल्लातर्फ सबैभन्दा धेरै मतदान केन्द्र मोरङमा आठ सय २० र सबैभन्दा कम मनाङमा २८ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगको भनाई छ ।

  • स्थानीय तह निर्वाचनमा मतदाता संख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३

    स्थानीय तह निर्वाचनमा मतदाता संख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३

    काठमार्डौं । आगामी स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता रहने भएका छन् । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गाएको हो । आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जसअनुसार मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको छ ।

    यसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार पाँच सय ३० जना रहेको छ । त्यस्तै अन्यमा एक सय ८३ जना मतदाता छन् । सबैभन्दा धेरै मतदाता मोरङमा सात लाख १५ हजार दुई सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार चार सय ९६ मतदाता रहेको आयोगले जनाएको छ । अहिलेको चुनावमा अघिल्लो स्थानीय तहको चुनावमा भन्दा ३६ लाख ५९ हजार दुई सय ९९ जना धेरै मतदाता थपिएका छन् ।

    २०७४ सालमा भएको चुनावमा एक करोड ४० लाख ७४ हजार चार सय ४० मतदाता थिए । यसैबीच निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि मतदानस्थल र मतदान केन्द्रको पनि टुङ्गो लगाएको छ । आयोगका अनुसार १० हजार सात सय ५६ मतदानस्थल रहने छन् भने २१ हजार नौ सय ५५ मतदान केन्द्र रहेका छन् ।

  • नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम बढ्यो

    नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम बढ्यो

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक नेप्से ४१.४३ अंकले घटेर २५७२.२३ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३२ कम्पनीको ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैयाँ बराबरको ८९ लाख २३ हजार १४ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार कम्पनीको ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्य १ वटाको बढेको छ भने अन्यको राताम्मे भएका छन् । धेरै गुमाउने अन्य समूहका लगानीकर्ता रहेका छन् ।

    निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०९ प्रतिशतले बढेको छ भने अन्य समूह सबैभन्दा धेरै ४.३६ प्रतिशतले घटेको छ ।

    कारोबारको आधारमा सबैभन्दा बढी अपी पावर कम्पनीको शेयर किनबेच भएको छ । यस कम्पनीको २७ करोड ५६ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा गुराँस लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । यसको १७ करोड ५१ लाख भन्दा बढीको कारोबार भएको छ । तेस्रोमा एभरेष्ट इन्स्योरेन्सको १६ करोड ३१ लाख बढीको कारोबार भएको छ ।

    घट्दो बजारमा पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३ सय रुपैयाँ पुगेको ।

    राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९०१.४० रुपैयाँ पुगेको छ । त्यस्तै, इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८३६.७० रुपैयाँ पुगेको छ ।

    सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.३३ प्रतिशतले बढेर प्रतिकित्ता ६५६ रुपैयाँ र जनरल इन्स्योरेन्स कम्पनीको ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता ६५८ रुपैयाँ पुगेको छ ।

    उच्च अंकले घटेको बजारमा आज मल्टी प्रपोज फाइनानसका शेयरधनीले सबैभन्दा धेरै ५.५० प्रतिशत गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

  • सर्लाहीमा पुलबाट बस खस्यो- चारको मृत्यु, तीन दर्जन यात्रु घाइते

    सर्लाहीमा पुलबाट बस खस्यो- चारको मृत्यु, तीन दर्जन यात्रु घाइते

    काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ ।

    वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान साढे ११ बजेतिर पुलबाट तल खसेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । उक्त दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएको छन् ।

    दुर्घटनामा परेर मृत्यु भएका चार जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    घटनाको थप विवरण भने आउन बाँकी छ ।

    बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको प्रहरीको आशंका छ ।

  • नेपालसँगका नाका खुलाउन चिनियाँ विदेशमन्त्रीसँग एमाले अध्यक्ष ओली आग्रह

    नेपालसँगका नाका खुलाउन चिनियाँ विदेशमन्त्रीसँग एमाले अध्यक्ष ओली आग्रह

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीबीच आइतबार बिहान होटल म्यारिएटमा भेटवार्ता भएको छ। भेटको क्रममा ओलीले नेपालसँगका नाका खुलाउन वाङ यीसँग आग्रह गरेका छन् ।

    ओलीले बिआरआईअन्तर्गतका आयोजनाहरुलाई छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान पनि विदेशमन्त्री वाङसँग आग्रह गरेका थिए ।

    भेटमा एमालेका अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभागका प्रमुख डा राजन भट्टराई, पूर्वराजदूत डा अन्जान शाक्य, एमाले केन्द्रीय सदस्य एवम् मदन भण्डारी फाउण्डेसनकी सचिव पेम्बा लामा र विदेश विभाग सदस्य एवम् फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी सहभागी थिए।

  • आज पनि भेटघाटमा व्यस्त रहनेछन् चिनियाँ विदेशमन्त्री, आजै स्वदेश फर्कने

    आज पनि भेटघाटमा व्यस्त रहनेछन् चिनियाँ विदेशमन्त्री, आजै स्वदेश फर्कने

    काठमाडौं । तीन दिने नेपाल भ्रमणका क्रममा अन्तिम दिन चिनियाँ विदेशमन्त्री वाङ यीको दैनिकी आज पनि व्यस्त रहनेछ । उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री वाङले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले आजै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नेछन् ।

    उनी आजै दिउँसो बेइजिङ प्रस्थान गर्नेछन् । विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच केरुङ–काठमाण्डौ रेलवेको विस्तृत सम्भाव्यता अध्ययनदेखि, कोभिड विरुद्धको खोप अनुदान र नेपालको आर्थिक विकासमा चिनियाँ अनुदान बढाउनेसम्मका ९ विषयमा सहमति भएको छ ।

  • आज नेपाल र थाइ क्लव चोनबरी एफसीसँग मैत्रिपूर्ण फुटबल हुँदै

    आज नेपाल र थाइ क्लव चोनबरी एफसीसँग मैत्रिपूर्ण फुटबल हुँदै

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र थाइल्यान्डको क्लब चोनबरी एफसीसँग मैत्रीपूर्ण फुटबल आज हुँदैछ । नेपाल र चोनबरीबीचको खेल बेलुका पौने ६ बजे हुँदैछ । यसअघि थाइल्यान्डसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले हारेको थियो । नेपाल एएफसी एसियन कप छनोटको तयारीमा छ ।

    सोही क्रममा नेपालले थाइल्याण्डमा अभ्यास खेलहरु खेलिरहेको छ । एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । यी तीन वटै टिम नेपालभन्दा निकै बलियो टोली हुन् ।

  • स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली आज प्रकाशन हुने

    स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली आज प्रकाशन हुने

    काठमाडौं । स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची प्रकाशन गर्न लागिएको हो । आगामी निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदानबता गर्न पाउने बताइएको छ । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेका छन् । मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्ने प्रावधान रहेको छ ।

    यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन । फागुन १९ गतेदेखि एक साताको म्याद राखेर मतदाता नामावली अद्यावधिक (दाबी विरोध) गर्न र त्रुटि भए सच्याउन आयोगले आवेदन आह्वान गरेको थियो । नाम दोहोरिएको, मृत्यु भएका वा नागरिकता त्याग गरेका, झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन आह्वान गरिएकोमा आयोगले वडा, पालिका र निर्वाचन कार्यालयसँगको समन्वयमा मतदाताको अन्तिम नामावली तयार गरेको हो ।

  • पोखरा विमानस्थल चीनले नेपाललाई हस्तान्तरण गर्यो

    पोखरा विमानस्थल चीनले नेपाललाई हस्तान्तरण गर्यो

    काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थल परियोजना नेपाललाई हस्तान्तरण गरेका छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्दै उनले सो विमानस्थल हस्तान्तरण गरेका हुन् । शनिबार साँझ बालुवाटारमा उनीहरूबीच भेट भएको थियो । भेटमा परराष्ट्रमन्त्री नारायण खड्का पनि सहभागी भए । चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा पोखरा विमानस्थल निर्माण गरिएको हो। विमानस्थल निर्माणको ठेक्कासमेत चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले पाएको थियो।

    राष्ट्रिय गौरवको आयोजनामा समावेश विमानस्थलको भौतिक प्रगती ९३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ७४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। नेपाल सरकारले विमानस्थलको काम २०२१ जुलाई १० भित्र सक्ने कार्यादेश चिनियाँ कम्पनी सिएएमसीईलाई दिएको थियो। कम्पनीले सरकारले दिएको म्यादभन्दा ६ महिना अगावै आयोजना निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्ने बताउँदै आएको थियो।

    तर कोभिड–१९ महामारीका कारण आयोजनालाई आवश्यक सामाग्री आयात गर्न लगायतका समस्या थपिएपछि १ वर्ष म्याद थपिएको थियो। यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वका टोलीबीच द्वीपक्षीय औपचारिक वार्तापछि विभिन्न समझदारी पत्रहरूमा हस्ताक्षर भएको थियो ।

  • नेपाल र चीनबीच केरुङ–काठमाडौ रेल विस्तारलगायत नौ बुँदे समझदारी

    नेपाल र चीनबीच केरुङ–काठमाडौ रेल विस्तारलगायत नौ बुँदे समझदारी

    काठमाडौं । नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार केरुङ–काठमाडौ रेल विस्तारलगायत ९ सम्झौतामा हस्ताक्षर भएको हो ।

    सिंहदरबास्थित प्रधानमन्त्रीको कार्यालयमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि हस्ताक्षर गरे ।

    आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

    यस्तै खोप हस्तान्तरण र मर्मत सम्भाव र एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण एवम् घाँस निर्यातलगायत समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    समझदारीअघि परराष्ट्र मन्त्रीस्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो ।

    चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् । शुक्रबार नेपाल आएका विदेशमन्त्री यी आइतबार स्वदेश फर्किनेछन् ।

  • पपुवा न्यूगिनीद्धारा शृंखला क्लिनस्विप, नेपाल दोस्रो खेलमा पनि पराजित

    पपुवा न्यूगिनीद्धारा शृंखला क्लिनस्विप, नेपाल दोस्रो खेलमा पनि पराजित

    काठमाडौं । नेपालविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)क्रिकेट मा पपुवा न्यूगिनीले क्लिनस्विप गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो ओडिआईमा नेपालविरुद्ध ३ विकेटको जित हात पार्दै पीएनजीले शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो।

    नेपालले दिएको २८९ रनको लक्ष्य पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । पीएनजीको जितमा लेगा सिएकाले ९० रन बनाए ।

    यस्तै रिले हिकारेले ४५ बलमा ३ चौका र २ छक्को मद्दतमा ४७ रन थपे। त्यसबाहेक सिसी बाउले ३८, चाल्र्स अमिनीले ३५, हिरी हिरीले १३, नर्मन भानाउले ११ रन थपे।

    नेपालले दिएको २७९ रनको लक्ष्य पीएनजीले ८ बल बाँकी रहँदै ७ विकेट गुमाएर भेटाएको थियो।

    नेपालका सोमपाल कामीले ३ तथा पवन सर्राफले २ विकेट लिए। यस्तै सन्दीप लामिछाने र आरिफ सेखले समान १–१ विकेट लिए।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी शृंखलाको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनाएको थियो।

    खेल सकिन ११ बल बाँकी हुँदा क्रिजमा रहेका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीको २७ रनको साझेदारी गर्दै नेपाललाई उक्त स्कोरमा पुर्‍याएका हुन।

    अन्तिम ओभरमा सन्दीपले १६ रन प्रहार गरेका थिए। आक्रामक ब्याटिङ गरेका सन्दीपले ९ बलमा २ चौका र एक छक्काको मद्दतमा नटआउट २४ रनको पारी खेले।

    त्यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १०५ रनको शतकीय पारी खेले। उनले १४० बलमा ७ चौका प्रहार गरे।

    नेपाली ओडीआई खेलको इतिहासमा शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी बने। यसअघि शुक्रबारमात्रै पीएसजीविरुद्ध नेपालका रोहित पौडेलले १२६ रनको शतकीय इनिङ्स खेलेका थिए।

    त्यसअघि पूर्वकप्तान पारस खड्काले २०१९ जनवरीमा यूएईविरुद्ध ११५ रनको शतकीय पाली खेलेका थिए।

    यस्तै दोस्रो ओडिआई खेल खेलेका देव खनालले ७२ रन जोडे। ८६ बलमा उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए।

  • प्रदेशको पूँजीगत खर्च ८ महिनामा २२ प्रतिशत, कुन प्रदेशले कति गरे ?

    प्रदेशको पूँजीगत खर्च ८ महिनामा २२ प्रतिशत, कुन प्रदेशले कति गरे ?

    काठमाडौं । प्रदेश सरकारको पूँजीगत बजेट खर्चको अवस्था झनै दयनीय रहेको छ । संघीय सरकारले ८ महिनामा जम्मा २२ प्रतिशत खर्च गर्दा प्रदेश सरकारहरुको अवस्था झन् नाजुक रहेको हो ।

    दोस्रो चौमासिक बित्दा प्रदेश सरकारहरुले समग्रमा कुल विनियोजित बजेटको जम्मा १९.४९ प्रतिशत मात्र पूँजीगत खर्च गरेका छन् । चालु आर्थिक वर्षका लागि ७ वटै प्रदेशमा गरी १ अर्ब ४६ अर्ब ६९ करोड रुपैयाँ पूँजीगत बजेट विनियोजन गरिएको थियो । सोमध्ये हालसम्म २८ अर्ब ५९ प्रतिशत बजेट मात्र खर्च भएको छ ।

    चालु आवमा प्रदेशहरुलाई कुल २ खर्ब ६४ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सोमध्ये चालुतर्फ १ खर्ब १५ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जसमा फागुन मसानत्सम्म चालुतर्फ ३५ अर्ब ४४ करोड रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ । यो कुल विनियोजित बजेटको ३०.७९ प्रतिशत हो ।

    कुन प्रदेशले कति खर्च गरे ?

    प्रदेश १ : प्रदेश १ ले चालु आवमा कुल १२ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको ३२.२६ प्रतिशत हो । चालु आवका लागि यस प्रदेशमा ३२ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

    जसमा पूँजीगत तर्फ १५ अर्ब ३२ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा ५ अर्ब २७ करोड रुपैयाँ बजेट खर्च भएको छ । चालुतर्फ १७ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा ७ अर्ब ३० करोड रुपैयाँ खर्च भएको तथ्यांकले देखाएको छ ।

    मधेस प्रदेश : मधेस प्रदेशले चालु आर्थिक वर्षमा ६ अर्ब १३ करोड रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको १७.९६ प्रतिशत हो । चालु आवमा मधेसका लागि ३४ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

    चालु आवमा पूँजीगत तर्फ १८ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा २ अर्ब १९ करोड रुपैयाँ खर्च भएको छ । चालु तर्फ १५ अर्ब १८ करोड रुपैयाँ बजेट छुट्याइएकोमा ३ अर्ब ९४ करोड रुपैयाँ बजेट खर्च भएको हो ।

    बागमती प्रदेश : बागमती प्रदेशले चालु आवको ८ महिनामा कुल बजेटको २५.५४ प्रतिशत २५.५४ खर्च गरेको छ । चालु आवमा बागमती प्रदेशका लागि ५७ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा हालसम्म १४ अर्ब ७६ करोड रुपैयाँ बजेट खर्च भएको छ ।

    पूँजीगततर्फ ३२ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको प्रदेशले ५ अर्ब ५९ करोड रुपैयाँ मात्र बजेट खर्च गरेको हो । चालुतर्फ २३ अर्ब ६२ करोड रुपैयाँ बजेट पाएको प्रदेशले ८ अर्ब १६ करोड रुपैयाँ खर्च गरेको छ ।

    गण्डकी प्रदेश : गण्डकी प्रदेशले चालु आवको ८ महिनामा ७ अर्ब ७६ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो कुल बजेटको २५.५५ प्रतिशत हो । चालु आवमा गण्डकी प्रदेशका लागि ३० अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

    चालु आवमा पूँजीगततर्फ १६ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा ४ अर्ब २९ करोड रुपैयाँ बजेट खर्च भएको छ । चालुतर्फ १३ अर्ब २९ करोड छुट्याएको यो प्रदेशले ३ अर्ब ४२ करोड रुपैयाँ खर्च गरेको हो ।

    लुम्बिनी प्रदेश : लुम्बिनी प्रदेशले चालु आवको फागुनसम्म कुल बजेटको २६.०२ प्रतिशत खर्च गरेको छ । चालु आवमा यस प्रदेशका लागि ४१ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरिएमा फागुनसम्म १० अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको छ ।

    सोमध्ये पूँजीगततर्फ २३ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा ५ अर्ब ३९ करोड रुपैयाँ खर्च गरिएको छ । चालुतर्फ १८ अर्ब ४८ करोड रुपैयाँमा बजेट छुट्याइएकोमा ५ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ ।

    कर्णाली प्रदेश : कर्णाली प्रदेशले चालु आवमा ५ अर्ब ९२ करोड रुपैयाँ बजेट खर्च गरेको छ । ३६ अर्ब ७४ करोड रुपैयाँ कुल बजेट पाएको कर्णालीले ८ महिनामा २३.७४ प्रतिशत बजेट खर्च गरेको हो ।

    जसमा पूँजीगततर्फ २२ अर्ब २८ करोड रुपैयाँ बजेट छुट्याएको थियो । सो मध्ये २ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ । चालुतर्फ १४ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएकोमा ३ अर्ब २१ करोड रुपैयाँ खर्च भएको छ ।

    सुदूरपश्चिम प्रदेश : सुदूरपश्चिम प्रदेशले चालु आवमा ७ अर्ब ३ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो कुल बजेटको २२.८३ प्रतिशत हो । चालु आवमा ३० अर्ब ७९ करोड रुपैयाँ बजेट पाएको थियो ।

    चालु आवमा पूँजीगततर्फ सुदूरपश्चिम प्रदेशले १८ अर्ब ६ करोड बजेट विनियोजन गरेकोमा ३ अर्ब ११ करोड रुपैयाँ मात्र खर्च गरेको छ । चालु तर्फ १२ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएकोमा ३ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

  • बीमा कम्पनीहरु नेपाल लाइफबाहेक सबैलाई मर्जरमा जाने कि हकप्रद दुई विकल्प

    बीमा कम्पनीहरु नेपाल लाइफबाहेक सबैलाई मर्जरमा जाने कि हकप्रद दुई विकल्प

    काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले बिहीबार बीमा कम्पनीहरूको चुक्ता पूँजी बढाउने निर्णय गरेको छ ।

    समितिले अब जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूको साढे २ अर्ब पुर्याउनु पर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै

    नेपाल लाइफ इन्स्योरेन्सबाहेक सबै कम्पनीलाई मर्जमा जाने कि हकप्रदमा जाने दवाव पर्ने देखिन्छ । धेरैजसो कम्पनीहरूले अब हकप्रद मार्फत चुक्ता पुँजी पुर्‍याउने वा प्रमोटरबाट पैसा उठाएर चुक्ता पुँजी बढाउने दुई विकल्प मात्रै रहेका छन्।

    मुख्यत कम्पनीहरूले हकप्रद मार्फत जनताको पैसा उठाउन सहज हुने भएकाले सोही साहरा लिने छन्।

    हकप्रदकै साहरामा केही वर्ष अगाडि बैंक तथा वित्तिय संस्थाहरूको चुक्ता पुँजी बढाउन सेयर भ्यालुको हिसाब अहिलेसम्म पनि माथि उठ्न सकेका छैनन्।

    समितिको नयाँ निर्देशनसँगै नेपाल लाइफ इन्स्योरेन्सबाहेक अन्य कम्पनीहरुले २०७९ चैत मसान्तसम्म कम्तीमा पनि ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्नेछ ।

    नेपाल लाइफको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी अर्थात ८ अर्ब २० करोड ७८ लाख रुपैयाँभन्दा बढी भएकाले कम्पनीलाई पुँजी वृद्धिको लागि दबाव छैन । जीवन बीमा कम्पनीमध्ये ५ वटा कम्पनीले आइपीओ जारी गर्न बाँकी छ ।

    जसमा महालक्ष्मी, सिटिजन्स, सन नेपाल, रिलायबल र आईएमई लाइफ इन्स्योरेन्सहरु हुन् । उनीहरुले हाल आईपीओ निष्काशन गर्ने प्रकृयामा रहेका छन् ।

    सबैभन्दा धेरै पूँजी वृद्धि सरकारी स्वामित्वको जीवन राष्ट्रिय बीमा संस्थानले गर्नुपर्नेछ । हाल ९९ करोड ५३ लाख चुक्ता पूँजी रहेको रहेको यस कम्पनीले थप ४ अर्ब वृद्धि गर्नुपर्नेछ ।

    यसैगरी, महालक्ष्मी, आइएमई लाइफ, रिलायबल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी हाल १ अर्ब ४० करोड रहेको छ । यी कम्पनीहरूले साधारण सेयर समेत जारी गरेका छैनन् । कम्पनीहरूले अब ३ अर्ब ६० करोड रुपैयाँ पूँजी बढाउनुपर्ने छ ।

    यसैगरी, सिटिजनले ३ अर्ब २५ करोड रुपैयाँ पूँजी बढाउनु पर्ने भएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन २ अर्ब ३५ करोडवृद्धि गनुपर्ने छ ।

    एसियन लाइफ इन्स्योरन्सले २ अर्ब ४९ करोड, प्राइम २ अर्ब २३ करोड, सूर्य लाइफ २ अर्ब ४५ करोड, गुँरास ३ अर्ब ८५ करोड, सानिमा ३ अर्ब, ज्योति २ अर्ब ५८ करोड, प्रभु लाइफ ३ अर्ब र रिलायन्स लाइफले २ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पूँजी वृद्धि गनुपर्ने छ ।

    निर्जिवन बीमा कम्पनीमा जसमा सबैभन्दा बढी भार राष्ट्रिय बीमा कम्पनीलाई थपिनेछ। कम्पनीले अहिले भएको पुँजीमा ८३७ प्रतिशत रकम थप्नुपर्ने हुन्छ।

    कम्पनीको हाल २६ करोड ६६ लाख मात्रै चुक्ता पुँजी भएको कम्पनीले २ अर्ब ५० करोड पुर्‍याउनुपर्नेछ। त्यस्तै शिखरले हकप्रद जारी गरेकोले केही सहज हुने छ।

    कम्पनीको हाल १ अर्ब ७५ करोड रहेकोमा हकप्रदपछि २ अर्ब २८ करो पुग्ने भएकोले अर्को वर्ष नै बोनस सेयर मार्फत चुक्ता पुँजी पुग्ने देखिन्छ।

    त्यस्तै नेको १ अर्ब ५२ करोड, सगरमाथा १ अर्ब ११ करोड, एनएलजीको १ अर्ब २० करोड, सिद्धार्थ इन्स्योरेन्सको १ अर्ब १२ करोड, प्रिमियरको १ अर्ब ७४ लाख, प्रभुको १ अर्ब १६ करोड रहेको छ।

    लुम्बिनी जनरलको १ अर्ब १९ करोड, नेपाल इन्स्योरेन्सको १ अर्ब २४ करोड, हिमालयन जनरलको १ अर्ब १५ करोड, एभरेष्टको १ अर्ब १८ करोड, युनाइटेडको १ अर्ब २ करोड, जनरल १ अर्ब, अजोड १ अर्ब सानिमा १ अर्ब रहेको छ।

    समितिका अनुसार आगामी वर्ष २०७९ चैत मसान्तभित्र बीमा कम्पनीहरूले तोकिएको चुक्ता पूँजी पुर्याउनु पर्नेछ । बीमा कम्पनीहरूले ३० दिन भित्र कसरी पूँजी वृद्धि गर्ने हो त्यसको योजना समितिमा पेश गर्नुपर्नेछ ।

    अबको १ वर्ष भित्र निर्धारित पूँजी पुर्याउन नसक्ने कम्पनीहरूले मर्जर (गाभ्नेर गाभिने) प्रक्रियामा जानुपर्ने समितिले जनाएको छ । समितिको निर्णयसँगै बीमा कम्पनीहरूम पूँजी वृद्धि गर्नुपर्ने दबाब सृजना भएको छ । यससँगै कम्पनीहरुले बोनस तथा हकप्रदबाट पुँजी बढाउन सक्ने छन् ।

    तर, बोनस तथा हकप्रदबाट मात्रै पुँजी वृद्धि नभएमा समितिले मर्जरलाई विशेष प्राथमिकतामा राखेको छ ।