Category: फिचर

  • चिनियाँ विदेशमन्त्री शिवपुरी हाइकिङपछि औपचारिक भेटवार्तामा,कसलाई कहिले भेट्दै ?

    चिनियाँ विदेशमन्त्री शिवपुरी हाइकिङपछि औपचारिक भेटवार्तामा,कसलाई कहिले भेट्दै ?

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज औपचारिक कार्यक्रम व्यस्त रहने छन्। शुक्रवार नेपाल आइपुगेका वाङ हिजो कुनै कार्यक्रममा सहभागी भएनन्।

    विदेशमन्त्री वाङले शनिवार नेपाली समकक्षी डा. नारायण खड्काबीच द्वीपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच छुट्टै भेट हुनेछ।

    यस्ताे छ ​भ्रमणतालिका :

    शनिबार
    वाङ​ र मन्त्री खड्काबीच १५ मिनेट एक्लाएक्लै वार्ता
    चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा. खड्काबीच शनिबार दिउँसो ३:३० देखि ३:४५ सम्म सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै भेटवार्ता हुनेछ।

    सामान्यतः विदेशका परराष्ट्रमन्त्री नेपाल आउँदा समकक्षीबीच परराष्ट्र मन्त्रालय वा बाहिर कुनै होटलमा भेटवार्ता हुने चलन भए पनि यसपटक मन्त्री खड्का र वाङबीच प्रधानमन्त्री कार्यालयमा वार्ता हुन लागेको स्रोतले जनाएको छ।

    वाङ र खड्काबीच प्रतिनिधिमण्डल स्तरमा भेट
    परराष्ट्र स्रोतका अनुसार एकल भेटवार्तापछि परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच शनिबार अपराह्न ३:४५ देखि ५:४५ सम्म प्रतिनिधिमण्डल स्तरमा छलफल हुनेछ। यसपछि ५:१५ देखि ५:३० सम्म नेपाल र चीनबीच कम्तीमा १० वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

    केरुङ–काठमाडौँ रेल, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे-केरुङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन परिमार्जन, ऊर्जा क्षेत्रमा थप सहकार्य, चीनतर्फ विकासे घाँस निर्यात र भरतपुर अस्पतालमा चीनको सहयोगलगायत विषयमा सहमति तथा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको हो। ​

    प्रतिनिधिमण्डल स्तरको वार्तामा परराष्ट्र, अर्थ, गृह, पर्यटन, ऊर्जा, भौतिक योजना, कृषि, उद्योग, भूमिसुधार र स्वास्थ्य मन्त्रालयका सचिव सहभागी हुनेछन्। त्यसैगरी परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि बैठकमा सामेल हुनेछन्।

    प्रधानमन्त्रीलाई बालुवाटारमा भेट्ने
    परराष्ट्रमन्त्री खड्कासँग प्रतिनिधिमण्डल स्तरमा वार्ता र समझदारीपत्रमा हस्ताक्षरपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन्।

    साँझ ५:४५ देखि ६:१५ सम्म उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन्।

    लगत्तै प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणा गरिनेछ। पोखरा विमानस्थल चिनियाँ सहयोगमा बनाइएको हो। ​

    परराष्ट्रमन्त्री खड्काले रात्रिभोज दिने
    परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीको स्वागतमा शनिबार साँझ ७ः३० बजे होटल द्वारिकाजमा रात्रीभोज दिनेछन्।

    आइतबार
    आइतबार बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसअघि उनी बौद्धस्थित हायात८८ पुग्नेछन्।

    ओली र प्रचण्डसँग हायातमा भेट्ने
    स्रोतका अनुसार चिनियाँ विदेशमन्त्रीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई होटल हायातमा आइतबार भेट्ने कार्यक्रम छ।

    बिहान ११:१० देखि ११:४० सम्म पूर्व प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्रीले होटल हायातमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

    अन्त्यमा प्रचण्डसँग
    चिनियाँ विदेशमन्त्री वाङले अन्तिममा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। उनले ११:४५ देखि १२:१५ सम्म प्रचण्डलाई होटल हायातमा भेट्नेछन्।

    स्वदेश फिर्ती
    चिनियाँ विदेशमन्त्री तीन दिनको नेपाल बसाइपछि सकेर आइतबार ३ बजे बेइजिङका लागि उड्ने कार्यक्रम छ।

    परराष्ट्र स्रोतका अनुसार विदेशमन्त्री वाङ नेतृत्वको २५ सदस्यीय टोलीमा दुई जना चिनियाँ सहायक मन्त्रीसहितका वरिष्ठ सरकारी अधिकारी छन्। सबै उच्चस्तरीय भेटवार्तामा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी हुनेछिन्।

    भ्रमण टोली

    १. वाङ यी, चिनियाँ विदेशमन्त्री

    २. उ जियाङ्घाओ, चिनियाँ विदेश मन्त्रालयका सहायक मन्त्री

    ३. सेङ किउपेङ, चिनियाँ वाणिज्य मन्त्रालयका सहायकमन्त्री

    ४. लिउ जिनसोङ, चिनियाँ विदेश मन्त्रालयका एसिया मामिला विभाग प्रमुख

    ५. वाङ दी, विदेश मन्त्रालयका पश्चिम एसिया तथा अफ्रिका मामिला उत्तर विभाग प्रमुख

    ६. जियाङ सियाओयन, चिनियाँ सञ्चार मन्त्रालय, सूचना विभागका डेपुटी डाइरेक्टर जेनरल

    ७. सोङ जिया, विदेश मन्त्रालयका प्रोटोकल डिपार्टमेन्ट हेर्ने डेपुटी डाइरेक्टर जेनरल

    ८. देङ सी, चिनियाँ विदेशमन्त्री वाङका सचिव

    ९. वु हाङतियान, विदेश मन्त्रालयका एसिया विभाग हेर्ने काउन्सिलर एवं डिभिजिन डाइरेक्टर

    १०. युआन युआन, विदेश मन्त्रालयका पश्चिम एसिया मामिला डिभिजन डाइरेक्टर

    ११. लिउ फेई, विदेश मन्त्रालयका ट्रान्सलेसन तथा इन्टरप्रिटेसन विभागका डिभिजन डाइरेक्टर

    १२. चु सोङ्बो, विदेश मन्त्रालयका एसिया मामिला हेर्ने डेपुटी डिभिजन डाइरेक्टर

    १३. वे चेङ्चोङ, विदेश मन्त्रालयका प्रोटोकल डिपार्टमेन्टका डेपुटी डिभिजन डाइरेक्टर

    १४. पेङ् पाई, विदेश मन्त्रालयका एसिया मामिला विभागका सेकेन्ड सेक्रेटरी

    १५. यु पेङ्चेङ्, विदेश मन्त्रालयका एसिया मामिला विभागका सेकन्ड सेक्रेटरी

    १६. यु सिचाउ, विदेश मन्त्रालयका एसिया मामिला विभागका सेकन्ड सेक्रेटरी

    १७. चाओ जियाङ्फेङ, विदेश मन्त्रालयका एसिया मामिला विभागका सेकेन्ड सेक्रेटरी

    १८. चेन यानहाङ, ट्रान्सलेसन तथा इन्टरप्रिटेसन विभागका सेकेन्ड सेक्रेटरी

    १९. लि रुई, वाङ यीका सुरक्षा अधिकृत

  • मागभन्दा तीन गुणा बढी पर्यो म्यादी पुलिसमा आवेदन

    मागभन्दा तीन गुणा बढी पर्यो म्यादी पुलिसमा आवेदन

    काठमाडौं । स्थानीय तह निर्वाचनमा खटिन  मागिएको १ लाख म्यादी प्रहरीमा झन्डै तेब्बर संख्यामा आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रबार अन्तिम दिनसम्म २ लाख ९३ हजार २६३ जनाले आवेदन दिएका छन् ।

    प्रधान कार्यालयले आगामी वैशाख ३० मा हुने निर्वाचनका लागि चैत ६ देखि ११ सम्म म्यादी प्रहरी भर्ना खोलेको थियो । सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुमा निवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

    प्रधान कार्यालयका अनुसार चैत ९ गते सबभन्दा बढी ५८ हजार २२१ जनाले आवेदन दिएका थिए । त्यस दिन महिला ११ हजार २८६ र पुरुष ४६ हजार ९३५ जना छन् ।

    यसअनुसार प्रदेश १ मा १७८३१, मधेसमा २१६९८, वाग्मतीमा १९३६३, गण्डकीमा १०६२५, लुम्बिनीमा १६०९८, कर्णालीमा ७७१३ र सुदूरपश्चिममा ९९३७ म्यादी मागिएको थियो । काठमाडौं उपत्यकामा भने ४७३५ जना मागिएको थियो ।

  • चिनियाँ विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने

    चिनियाँ विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने

    काठमाडौं । शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज भने दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने भएका छन् । उनी तीन दिने भ्रमणका लागि विदेशमन्त्री शुक्रबार भारतको राजधानी नयाँदिल्लीबाट नेपाल अवतरण गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीलगायतले स्वागत गरेका थिए ।

    विदेशमन्त्री वाङ अफगानिस्तान, पाकिस्तान र भारत हुँदै काठमाडौं आएका हुन् । उनि परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आएका हुन ।

    विमानस्थलबाट उहाँ बत्तीसपुतलीस्थित होटल द्वारिकामा पुगेका थिए । शुक्रबार कुनै औपचारिक कार्यक्रम राखिएन ।शनिबार उनि व्यस्त रहने छन । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा चीन–नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। प्रतिनिधिमण्डलको वार्तापछि दुई देशबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

    शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चिनियाँ विदेशमन्त्री वाङको प्रतिनिधिमण्डलले भेटवार्ता गर्ने कार्यक्रम छ। शनिबार साँझ नै परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् ।  आइतबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट हुनेछ।

    शनिबार साँझ पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेतासँग शिष्टाचार भेट हुनेछ। विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधि मण्डलसहित आइतबार बेइजिङ प्रस्थान गर्नेछ ।

  • विश्व बैंकले १८ अर्ब १५ करोड उपलब्ध गराउने

    विश्व बैंकले १८ अर्ब १५ करोड उपलब्ध गराउने

    काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व सुदृढ, वित्तीय समाधानमा विविधता ल्याउन र वित्तीय सेवाहरूमा पहुँच बढाउन ऋणस्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय शुक्रबार गरेको हो।

    व्यक्तिगत लगानीको परिचालन र आर्थिक गतिविधि सञ्चालनका लागि राम्रोसँग काम गर्ने वित्तीय प्रणाली मुख्य सक्षमता भएको बताउँदै माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले वित्तीय क्षेत्रलाई बलियो बनाएर, यो परियोजनाले नेपालको हरित, लचिलो र समावेशी पुनरुत्थान र आर्थिक वृद्धिको मार्गमा योगदान पु¥याने तथा विशेष गरी गरिब र जोखिममा परेकाहरूलाई फाइदा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

    नेपाल सरकारको रूपान्तरणकारी वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन, कोभिड–१९ महामारीको प्रभावको सन्दर्भमा वित्तीय स्थायित्वका जोखिमलाई सम्बोधन गन, निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिमा टेवा पु¥याउन, बैंकिङ क्षेत्रको पर्यवेक्षणलाई बढावा दिन तथा वित्तीय साक्षरताको माध्यमबाट तरलता र समावेशिता बढाउने प्रयासमा ऋण सहयोग उपयोगी हुने बैंकले जनाएको छ।

  • डोनाल्ड ट्रम्पले हिलरी क्लिन्टनविरुद्ध किन हाले मुद्दा ?

    डोनाल्ड ट्रम्पले हिलरी क्लिन्टनविरुद्ध किन हाले मुद्दा ?

    काठमाडौं (बीबीसी) । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो निर्वाचन अभियानलाई रुससँग जोडिदिएर हिलरी क्लिन्टन र डेमोक्र्याटिक पार्टीका अन्य नेताहरूले धाँधली गर्न खोजेको आरोप लगाउँदै उनीहरूविरुद्ध मुद्दा दायर गरेका छन्। उक्त निर्वाचनमा ट्रम्पले क्लिन्टनलाई पराजित गरेका थिए। तर आफ्नो निर्वाचन अभियानविरुद्ध षड्यन्त्र भएको ट्रम्पको दाबी छ।

    ट्रम्पको अभियान र टोलीलाई रुसी गुप्तचरहरूसँग मिलेर उनको पक्षमा निर्वाचनको परिणाम पार्ने षड्यन्त्र गरेको आरोप लागेको थियो। अहिले बाइडनसँग पराजित ट्रम्प कसरी होटल व्यवसायबाट राष्ट्रपति पदसम्म पुगेका थिए । सन् २०२० मा रिपब्लिकन पार्टीको नेतृत्वमा रहेको एउटा सिनेट समितिले प्रकाशित गरेको प्रतिवेदनमा रुसले ट्रम्पलाई विजयी हुन सघाउन रिपब्लिकन पार्टीका राजनीतिक कार्यकारी पोल म्यानफोर्ट र विकिलीक्सको वेबसाइट प्रयोग गरेको निष्कर्ष निकालेको थियो।

    उक्त प्रतिवेदनले षड्यन्त्रबारे कुनै प्रमाण फेला नपरेको उल्लेख गरेको थियो। यद्यपि ट्रम्पले सम्भवतः न्याय अवरुद्ध हुनेगरी काम गरेको भन्दै केही उदाहरण प्रस्तुत गरेको थियो। मुद्दामा ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको बेलामा क्लिन्टन र उनका सहयोगीहरूले एउटा अकल्पनीय षड्यन्त्र रचेको आरोप लगाएका छन्।


    उनका अनुसार त्यस्तो षड्यन्त्रले चेतनालाई स्तब्ध पार्छ र यो देशको प्रजातन्त्रलाई अपमान गर्छ। एउटा शत्रुराष्ट्रसँग सम्बन्ध भएको देखाउन खोजेर प्रतिवादीहरूले रिपब्लिकन उम्मेदवार डोनल्ड जे ट्रम्पविरुद्ध मिथ्या भाष्य निर्माण गर्ने षड्यन्त्र गरेको दाबी गरिएको छ। ट्रम्पले प्रतिवादीहरूबाट क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन्। ट्रम्पले आफू २.४ करोड डलर हानि बेहोर्न बाध्य भएको दाबी गरेका छन्।

    ट्रम्पले हिलरी क्लिन्टनबाहेक डेमोक्र्याटिक पार्टीको राष्ट्रिय समितिकी अध्यक्ष डेबी वासरमान शूल्ज, अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईका पूर्वनिर्देशक जेम्स कमी र डेमोक्र्याटिक पार्टीका राजनीतिक परामर्शदाता जोन पोडेस्टालाई पनि मुद्दा हालेका छन्। अमेरिकी निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने कुरा उठेपछि रोबर्ट म्युलरको नेतृत्वमा दुई वर्ष लामो अनुसन्धान भएको थियो।

  • अमेरिकाद्वारा नेपाललाई थप ७ लाख ६६ हजार डोज खोप सहयोग

    अमेरिकाद्वारा नेपाललाई थप ७ लाख ६६ हजार डोज खोप सहयोग

    काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराएको थप ७ लाख ६६ हजार ३ सय ५० डोज कोरोना खोप काठमाडौं ल्याइएको छ।

    नेपालस्थित अमेरिकी राजदूत बेरीले ट्वीटमा जनाए अनुसार शुक्रबार अपरान्ह उक्त संख्याको फाइजर खोप ल्याइएको हो।

    अमेरिकाले ३१ लाख डोज कोरोना खोप नेपाललाई उपलब्ध गराइसकेको छ।

    त्यसैगरी विश्वका ११० देशमा कूल ५० करोड डोज खोप अमेरिकाले उपलब्ध गराएको राजदूत बेरीले जनाएका छन्।

  • नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित,रोहितको रेकर्ड नै रेकर्ड

    नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित,रोहितको रेकर्ड नै रेकर्ड

    काठमाडौं । रोहितकुमार पौडेलले नयाँ कीर्तिमानी बनाएका खेलमा नेपाल पपुवा न्यूगिनीसँग ६ रनले पराजित भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनीले दिएको २९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले सम्मानजनक हार ब्यहोरेको हो ।

    नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो पीएनजीसँग नेपालको यो पहिलो हार हो ।

    नेपालले एक दिवसीय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले २८ जनवरी २०१९ मा यूएईविरुद्ध २५५ रनको लक्ष्य भेट्टाएको थियो ।

    नेपालका लागि रोहितकुमार पौडेले कीर्तिमानी पारी खेलेका थिए । उनले १०७ बलमा १२६ रन बनाए पनि नेपाल विजयी हुन सकेन । आरिफ शेखले ३४ र कुशल भुर्तेलले ३२ रन बनाए ।

    पीएनजीका लागि चार्ल्स अमिनीले ७३, असाद भालाले ६० र नाेर्मान भानुआले ४७ रन बनाए । बलिङतर्फ कमल ऐरी, साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवन सर्राफले १–१ विकेट लिए ।

    आजकाे खेलमा राेहित पाैडेलले तीन वटा कीर्तिमान बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै पारीमा सर्वाधिक रन र एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालकै लागि सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।

  • चुनावमा सहभागी हुने वा नहुनेलाई लिएर विप्लव नेकपा तीन धारमा विभाजित

    चुनावमा सहभागी हुने वा नहुनेलाई लिएर विप्लव नेकपा तीन धारमा विभाजित

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आगामी चुनावमा सहभागी हुने वा नहुने भन्ने कोणबाट विभाजन देखिएको छ ।

    केन्द्रीय समिति बैठकमा पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई लिएर नेताहरु विभाजित भएका हुन् । चुनावको विषयले नेताहरु तीन धारमा विभाजित देखिएका छन् ।

    विप्लवले चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव आफ्नो प्रतिवेदनमा समेटेका थिए । जुन मुद्दामा नेताहरु तीन कित्तामा विभाजित भएका छन् ।

    अधिकांश नेताहरुले चुनावमा जाने प्रस्ताव क्रान्ति विरोधी भएको भन्दै विपक्षमा आफ्नो मत राखेका छन् भने कतिपय नेताहरु चुनावलाई उपयोग गरेर जानुपर्ने अडानमा छन् । चुनावलाई उपयोग गरेर जानुपर्ने मतमा उभिएका नेतामध्ये केही माओवादी केन्द्रसँग सहकार्य गर्ने पक्षमा देखिएका छन् भने केही एमालेसँग सहकार्य गर्नुपर्ने पक्षमा देखिएका छन् ।

    मुख्यतः नेकपाको सचिवालय टिममै चुनावमा जाने वा नजाने भन्ने विषयमा तिक्ततापूर्णं विवाद देखिएको छ । विप्लव, प्रकाण्डलगायतका नेताहरु चुनावमा जानुपर्ने अडानमा देखिएका बेला धमेन्द्र बास्तोला, हेमन्तप्रकाशन ओलीसहितका नेताहरु कुनै हालतमा चुनावमा जान नहुने अडानमा छन् । यता विप्लव र प्रकाण्डबीच माओवादीसँग सहकार्य गर्ने वा एमालेसँग सहकार्य गर्ने भन्ने कोणबाट विवाद देखिएको छ ।

  • नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिए

    नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र १ हजार ५२० जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ३०९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २७१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६४ हजार ३९८ पुगेको छ । संक्रिय संक्रमितको संख्या १ हजार ९६० रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

  • यस्तो छ चिनियाँ विदेशमन्त्रीको भ्रमण तालिका

    यस्तो छ चिनियाँ विदेशमन्त्रीको भ्रमण तालिका

    काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी आज शुक्रबार अपराह्न तीन बजे काठमाडौं आइपुग्दैछन्। वाङ नेतृत्वको टोली आज साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने कार्यतालिका रहेकोमा दुई घण्टा अगाडि सरेको छ।

    नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका वाङलाई विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्काको टोलीले स्वागत गर्नेछ। विमानस्थलबाट उनी सिधै बत्तिीसपुतलीस्थित होटल द्वारिकाज पुग्नेछन् र केहीबेर आराम गरेर बालुवाटारस्थित चिनियाँ दूतावास पुगेर ब्रिफिङ लिनेछन्। आजका लागि वाङको कुनै औपचारिक भेटघाट तय नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

    भ्रमणको दोस्रो दिन शनिबार भने वाङ निकै व्यस्त रहनेछन्। बिहान साढे ६ बजे विदेशमन्त्री वाङ शिवपुरी हाइकिङ जाने कार्यक्रम तय भएको छ। त्यसपछि उनको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटघाट गर्नेछ। त्यसक्रममा विभिन्न सहमति तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। त्यसपछि उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधभानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्।

    शनिबार नै विदेशमन्त्री यी र प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ। पोखरा विमानस्थल चिनियाँ सरकारको ऋण तथा अनुदान सहयोगमा निर्माण भएको हो।

    काठमाडौं ओर्लिएको तेस्रो दिन आइतबार बिहान वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेट गर्नेछन्। राष्ट्रपतिपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको छ। पूर्वप्रधानमन्त्रीद्वयसँगको भेट नक्सालस्थित होटेल मेरियटमा तय भएको बताइएको छ। त्यसपछि वाङ होटल द्वारिकाज जाने र त्यहीँबाट स्वदेश फर्कने कार्यतालिका छ।

    वाङको सुरक्षामा नेपाल प्रहरीको विशेष टोली तैनाथ गरिएको छ। बिहीबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले चिनियाँ विदेशमन्त्री यीको सुरक्षामा विशेष टोली तैनाथ गर्न निर्देशन दिएको थियो। भ्रमण र भेटघाटका क्रममा पर्ने रूटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली खटिनेछ।

  • अमेरिकाका सँग जेलेन्स्कीको गुनासो–’आश्वासन होइन, रुससँग लड्न मिसाइल देऊ’

    अमेरिकाका सँग जेलेन्स्कीको गुनासो–’आश्वासन होइन, रुससँग लड्न मिसाइल देऊ’

    काठमाडौं । रुस–युक्रेन युद्धको आज ३० औं दिन हो । झण्डै एक महिना बितिसक्दा पनि युक्रेन हार मानेको छैन र रुस पनि पछि हट्न तयार छैन । बिहीबार, नेटोले ब्रसेल्समा यस संकटलाई लिएर आपतकालीन बैठक गर्यो।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो शिखर सम्मेलनलाई सम्बोधन गरे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध रासायनिक हतियार प्रयोग गरेमा नेटोले गतिलो जवाफ बाइडेनले चेतावनी दिए । उनले रुसले जति हतियार प्रयोग गर्ने नाटोले पनि त्यस्तै हतियार प्रयोग गर्ने बताए ।

    तर, रुसविरुद्व युद्ध लडिरहेको यूक्रेनलाई भने हतियारको चरम अभाव भएको छ । रुससँग लड्न उस्काइरहेको नेटोले सहयोग नगरेको भन्दै यूक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गुनासो गरेको छन् । उनले तत्कालै एक हजार मिसाइल सहयोग गर्न जेलेन्स्की गर्नुपर्ने माग गरे ।

    युक्रेनले अमेरिकालाई रुसी सेनासँग लड्न दिनमा ५०० भाला र ५०० स्टिङगर आवश्यक पर्ने बताएको छ । सीएनएनको रिपोर्टका अनुसार युक्रेनले विगत केही दिनदेखि अमेरिकी सरकारसँग थप सैन्य सहायता लिनको माग गरेको छ ।

    पहिले अनुरोध गरिएको सैन्य सहायताभन्दा धेरै एन्टि-एयरक्राफ्ट र एन्टी-ट्याङ्क मिसाइलहरू यूक्रेनले माग गरेको छ । यस सूचीमा जेट, आक्रमण हेलिकप्टर र एस–३०० जस्ता एन्टि-एयरक्राफ्ट प्रणालीहरू पनि छन्।

    युक्रेनले यो सूची गत हप्ता अमेरिकालाई दिएको थियो । हालै यो सूची अमेरिकी सांसदहरूलाई हस्तान्तरण गरिएको छ। यस सूचीमा युक्रेनले अमेरिकी निर्मित स्टिङ्गर एन्टी-एयरक्राफ्ट मिसाइल र जेभलिन एन्टी-ट्याङ्क मिसाइलहरूको बढ्दो आवश्यकतालाई जोड दिएको छ। युक्रेनले यसलाई तुरुन्तै यी हतियार र उपकरणहरूको आवश्यकता रहेको बताएको छ।

    नेटोको प्रतिक्रिया के छ ?

    नेटोको केही सांसदहरूले अमेरिकाले युक्रेनलाई उनीहरूले मागेका हतियारहरू तुरुन्तै उपलब्ध गराउनुपर्ने माग गरेका छन् । नेभाडाका डेमोक्र्याट सेन ज्याकी रोजेनले गत साता पोल्याण्ड र जर्मनीको भ्रमण गरे र ती देशहरूमा आएका युक्रेनी शरणार्थीहरूलाई मानवीय सहायता प्रदान गर्ने नागरिक समाजका संस्थाहरूसँग भेट गरे।

    “उनीहरूलाई युद्धमा बाँच्नको लागि मात्र नभई युद्ध जित्नका लागि सबै हतियार र उपकरणहरू चाहिन्छ, त्यसैले हामी उनीहरूलाई हावाबाट जमिनमा मार हान्ने मिसाइलहरू, ड्रोनहरू र सबै लजिस्टिक सपोर्ट प्रदान गर्छौं”, रोजेनले सीएनएनलाई भने।

  • घरेलु दर्शकसामु आज नेपालले पीएनजीसङ्ग एकदिवसीय क्रिकेट खेल्दै

    घरेलु दर्शकसामु आज नेपालले पीएनजीसङ्ग एकदिवसीय क्रिकेट खेल्दै

    काठमाडौं । नेपालले आज त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा  पपुवा न्युगिनी (पीएनजी)सङ्ग पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । हालै आइसिसी विश्वकप  लिग टुमा भिडेका यी दुई टोलि बीच लगत्तै सिरिज हुन लागेको हो । सिरिजका लागि पिएनजिको टिम नेपालमा छ ।
    नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ । नेपाली टोलीमा यसपटक युवा खेलाडीलाई परिक्षण गरिदैछ । पिएनजी विरुद्ध यू१९ टिमका कप्तान देव खनाल पहिलो पटक परेका छन् । यो सिरिजपछी नेपालले मलेसिया सङ्ग टि२० सिरिज खेल्दैछ ।

  • इटाली लगातार दोस्रोपल्ट विश्वकप पुग्न असफल, पोर्चुगलको सम्भावना कायमै

    इटाली लगातार दोस्रोपल्ट विश्वकप पुग्न असफल, पोर्चुगलको सम्भावना कायमै

    काठमाडौं । नर्थ मासेडोनियासँग प्ले अफमा हारेसङ्गै युरो च्याम्पियन इटली लगातार दुई विश्वकप फुटबलमा पुग्न असफल भएको छ । इटालीले कतार विश्वकप गुमाएको हो । 

    अलेक्जान्दर त्रास्कोभ्स्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट गरेको सानदार गोल नै इटालीलाई विश्वकपमा तोक्ने माध्यम बन्यो । खेल अवधीभर पकड राखेपनी गोल हुन सकेको थिएन । आठ महिनाअघि रोवर्टो मान्सिनीले सम्हालेको यो टिमले युरो-२०२० को फाइनलमा इंग्ल्याण्डलाइ हराउदै उपाधी उचालेको थियो ।

    विश्व वरीयतामा ६७औं स्थानमा रहेको मासेडोनियाले युरोपेली प्लेअफको फाइनलमा पोर्चुगलसँग खेल्नेछ । प्लेअफको पहिलो खेलमा पोर्चुगलले टर्कीलाई ३-१ गोलले पराजित गरेको थियो ।

  • चिनियाँ विदेश मन्त्री तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउदै

    चिनियाँ विदेश मन्त्री तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउदै

    काठमाडौं ।  चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार  काठमाडौं अवतरण गर्दैछन् । बिहिवार अफगानिस्तानको काबुलबाट भारत झरेका उनी नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका हुन् ।

    नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् ।
    परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले बताएको छ । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने छन् । उनी आइतबार स्वदेश फर्कने छन् ।

    भेटवार्ताको क्रममा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने भएको छ । उनी दोस्रोपटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।

  • बलियो टोलि थाइल्यान्डसङ्ग हार्यो नेपाल

    बलियो टोलि थाइल्यान्डसङ्ग हार्यो नेपाल

    काठमाडौं । थाइल्याण्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल २–० ले पराजित भएको छ । बिहीबार थाइल्याण्डको चोन्बुरी स्टेडियममा भएको खेलमा नेपालले ७७ मिनेटसम्म गोलरहित बराबरीमा रोकेको थियो । तर ७८ औं मिनेटमा पी रोलेरले गोल गरे भने ८९औं मिनेटमा सी विराचार्टले गोल गरे । खेल अवधिभर नेपालले डिफेन्समा ध्यान दिएको थियो । जसले गर्दा थाइल्यान्डलाई गोल गर्न हम्मेहम्मे परेको थियो । अन्तिम १० मिनेटमा भने नेपाली खेलाडीलाई रोक्दै थाइल्यान्डले गोल गर्यो । थाइल्यान्ड फिफा र्याङ्किङमा ११२ औं स्थानमा छ । नेपाल १६७ औं स्थानमा छ ।

  • स्थानीय तह निर्वाचनमा काङ्ग्रेसको घोषणापत्र गगनको नेतृत्वमा बन्ने

    स्थानीय तह निर्वाचनमा काङ्ग्रेसको घोषणापत्र गगनको नेतृत्वमा बन्ने

    काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक बनाएको छ ।

    केन्द्रीय कार्यसमिति बैठकको अघिल्लो दिन देउवाले महामन्त्री थापालाई घोषणापत्र तयारी समितिको संयोजक तोकेका हुन् । ३० वैशाखमा स्थानीय तहको निर्वाचन तोकिएको छ । अहिले दलहरू निर्वाचन केन्द्रित तयारीमा होमिएका छन् ।

  • नेपालमा थप ३५ जनामा कोरोना संक्रमण, २६६ जना संक्रमण मुक्त

    नेपालमा थप ३५ जनामा कोरोना संक्रमण, २६६ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको ३ हजार ८ सय ८१ पिसिआर परिक्षणका क्रममा ३२ जना र १ हजार ३ सय ८७ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २ सय ६६ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६४ हजार १ सय २७ जना निको भएका छन् ।

    देशभर २ हजार २ सय १९ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • नेपालमा ९३.१ प्रतिशतले लगाए कोरानाविरुद्धको खोप, धेरै खोपदिने चीन

    नेपालमा ९३.१ प्रतिशतले लगाए कोरानाविरुद्धको खोप, धेरै खोपदिने चीन

    काठमाडौं । नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा चीन सरकारले स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप उपलब्ध गराएको हो ।

    चीन सरकारले अनुदान, खरिद र सहयोग गरेर नेपाललाई विभिन्न समयमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको हो । चीनले सिनोफार्म कम्पनीको भेरोसेल खोप उपलब्ध गराएको छ ।

    चीन सरकारले पटक–पटक गरी एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बादेबाबु थापाले जानकारी दिए।

    नेपालमा हालसम्म कूल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको छ । तीमध्ये चीन सरकारले एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप उपलब्ध गराएको हो ।

    उहाँका अनुसार चीन सरकारसँग खरिद गरेर सरकारबाट सरकार (जिटुजी) मार्फत एक करोड, एशियाली विकास बैंकको ऋण सहायतामा ५९ लाख ३६ हजार ४००, अनुदानमा ३४ लाख मात्रा खोप उपलब्ध गराएको हो । यस्तै एक लाख चिनियाँ रेडक्रमले नेपाल रेडक्रसलाई र तीन लाख मात्रा चीनले नेपाली सेनालाई उपलब्ध गराएको छ ।

    नेपालमा अहिलेसम्म लक्षित जनसङ्ख्याको ९३.१ प्रतिशतले पहिलो मात्रा र ८१.६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । यस्तै चीन सरकारले ३४ लाख सिरिञ्ज पनि उपलब्ध गराएको छ । चीनसहित छिमेकी मुलुक भारत, अमेरिका, जापानलगायत देशले पनि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएका छन् ।

    यस्तै चीन सरकारले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल निर्माण गर्नसमेत सहयोग गरेको छ ।

  • स्थानीय तहको निर्वाचनमा एमालेको उम्मेदवार हुन यी ६ मापदण्ड अनिवार्य

    स्थानीय तहको निर्वाचनमा एमालेको उम्मेदवार हुन यी ६ मापदण्ड अनिवार्य

    काठमाडौं । नेकपा एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ । बिहीबार कार्की ब्यांक्वेट काठमाडौंमा जारी केन्द्रीय कमिटीकाे दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका बारेमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै एमालेमा छलफल सुरु भएको हो ।

    जसअनुसार एमालेबाट स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिहरुको कामको मुल्यांकनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एव सुशासन र विकास प्रतिको दृष्टीकोण भएकाले मात्र उम्मेदवार हुन पाउने गरी मापदण्ड बनाएको हो ।

    सो सैद्धान्तिक मापदण्ड भित्र अटाएकाले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने जनाउँदै एमालेले सन्तुलन र समावेसी प्रतिनिधित्व गराउन सक्ने गरी उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिनेबारे छलफल जारी छ ।

    यसरी सिफारिस भएकामध्ये महानगर र उपमहानगगरका प्रमुख÷उपप्रमुखका उम्मेदवार भने पार्टी केन्द्रले नै चयन गरी नाम निर्धारण गर्नेछ । ‘सम्बन्धित पालिका कमिटी तथा जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले महानगरका प्रमुख र उपप्रमुख चयन गरी उम्मेदवार खडा गर्नेछ,’ एक केन्द्रिय सदस्यले भने ।

    उनका अनुसार उपमहानगरपालिका वा नगरपालिकाहरुको नगरप्रमुख÷उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको चयन पालिका कमिटी र जिल्ला कमिटीको सिफारिमा प्रदेश कमिटीले निर्धारण गरेपछि मात्रै उम्मेदवार हुन पाइनेछ ।

    जिल्ला कमिटीलाई भने उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार चयनका बारेमा निर्णय गर्ने अधिकार एमालेले प्रदान गर्ने भएको छ । ‘केन्द्रले आवाश्यक ठानेमा कुनै पनि निर्णयमा पुनर्विचार गर्न सक्ने,’ अध्यक्ष ओलीले बैठकमा जानकारी गराइसकेका छन् ।

  • दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रमको लागि सलमानलाई ४ करोड ८० लाख पारिश्रमिक

    दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रमको लागि सलमानलाई ४ करोड ८० लाख पारिश्रमिक

    काठमाडौं । जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् ।

    आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जनाए अनुसार सलमानसहित भारतबाट आउने कलाकारले मात्र पारिश्रमिकवापत ९ करोड ६० लाख रुपैयाँ लैजाने छन् । जसमध्येबाट सलमानले ४ करोड ८० लाख रुपैयाँ हिस्सा लिनेछन् ।

    सलमानका भाइ सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनी र ओडीसीको सहकार्यमा हुने कार्यक्रमका लागि सलमानसहितको टिम नेपालमा तीन दिन रहनेछ ।

    सलमानले समय दिएमा ‘माउण्टेन फ्लाइट’मार्फत सगरमाथा अवलोकन गराउने तयारी पनि आयोजकको छ ।

    बुधबार भएको पत्रकार सम्मेललनमा सलमानसँग भिडियोवार्ता गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले पनि माउन्टेन फ्लाइटका लागि सलमानलाई निम्तो दिइसकेका छन् ।

    दशरथ रंगशालामा हुने कार्यक्रमका लागि ब्रोन्ज टिकट ५ हजार, सिल्भर टिकट १० हजार, गोल्ड टिकट १५ हजार र प्लेटिनम टिकट २५ हजार रूपैयाँ तोकिएको छ । जुन चाँडै नै डिजिटल वालेटमार्फत बिक्री खुला गरिने आयोजकले जनाएको छ ।

  • नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने फाइनान्सका लगानीकर्ता

    नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने फाइनान्सका लगानीकर्ता

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२४ कम्पनीको ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँ बराबरको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । बुधवार २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये २ हरियो भएको छ । भने ११ वटा घटेको छ । घट्दो बजारमा राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था र इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    धेरै गुमाउने फाइनान्सका र विकास बैंकका लगानीकर्ता रहेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै १.९८ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक पनि १.९८ प्रतिशतले नै घटेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २.५४ प्रतिशतले बढेको छ ।

    राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८१९ रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७६०.७० रुपैयाँ पुगेको छ ।

    त्यसैगरी, ग्रीन लाइफ हाइड्रोपावर ७.५३, लाइफ इन्स्योरेन्स कर्पोरेसन ५.५९, ज्योति लाइफ ५.२६, एनआइबीएल समृद्धि फण्ड (२) ४.८६, सानिमा लाइफ ४.८०, गुराँस लाइफ, नेपाल इन्स्योरेन्स, स्वरोजगार लघुवित्त र प्रभु लाइफको शेयर मूल्य साढे ४ प्रतिशभन्दा धेरैले बढेको छ ।

    नेप्सेका अनुसार आज नेपाल फाइनान्स, सामलिङ पावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

    कारोबारको आधारमा सबैभन्दा बढी जीवन विकास लघुवित्त शेयर किनबेच भएको छ । यस कम्पनीको ३० करोड ६३ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा नेपाल टेलिकमको कारोबार भएको छ । यसको २३ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।

  • कोरियामा प्रवासी श्रमिकको भिसा एक वर्ष थपिने, नेपाली श्रमिक लाभान्वित

    कोरियामा प्रवासी श्रमिकको भिसा एक वर्ष थपिने, नेपाली श्रमिक लाभान्वित

    काठमाडौं (रासस) । ईपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ। कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः खाेलिए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो।

    दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिन लागेका नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो।

    निर्णयअनुसार ईपीएस प्रक्रियामार्फत दक्षिण कोरिया आई ई–९ प्रवेशाज्ञामा श्रम गरी प्रवेशाज्ञा सकिन लागेकाले एक वर्ष थप प्रवेशाज्ञा पाउने छन्। ​

    ईपीएस नियमानुसार पहिलो कार्यकालमा तीन वर्ष प्रवेशाज्ञा पाउँछन्। तीन वर्षे अवधि समाप्त भएपश्चात् कम्पनी र श्रमिकको सहमतिमा थप एक वर्ष १० महिनासहित चार वर्ष १० महिना बस्न पाउँछन्।

    पहिलो कार्यकाल सकेर अनिवार्य आफ्नो देश फर्किनुपर्छ। पुनः प्रतिबद्ध श्रमिकका रूपमा दोस्रो कार्यकालका लागि कोरिया आएका श्रमिकको समयावधि पनि पहिलो कार्यकालको झैँ हुनेछ।

    हाल एक वर्ष प्रवेशाज्ञा थपिनेमा पहिलो वा दोस्रो जुनसुकै कार्यकालको भए पनि यही अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा तीन वर्षे अवधि वा चार वर्ष १० महिना अवधि सकिन लागेका पर्छन्।

    अवधि सकिन लागेकालाई यहाँको इमिग्रेसनले आफैँ एक वर्ष बसाई अवधि थपिदिने छ। जसका लागि केही दिनपछि हाइकोरिया वेबसाइट वा आफ्नो इपीएस आइडीबाट आफ्नो थपिएको अवधिबारे जानकारी लिन सकिनेछ।

    दक्षिण कोरिया सरकारले यसअघि पनि गत वर्ष सन् २०२१ अप्रिलदेखि डिसेम्बरसम्म र सन् २०२२ जनवरीदेखि अप्रिल १२ सम्म प्रवेशाज्ञा अवधि सकिनेका लागि एक वर्ष प्रवेशाज्ञा थपिदिएको थियो।

    पहिल्यै एक वर्ष अवधि थपिनेबाट अप्रिलदेखि जुन अन्तिमसम्म थप अवधिसमेत सकिनेका लागिसमेत ५० दिन थप प्रवेशाज्ञा दिने निर्णय भएको छ।

    यो निर्णयले दक्षिण कोरियामा रहेका प्रवासी मजदुरमध्ये ७७ हजार ९४ को एक वर्ष अवधि थपिएको छ। त्यस्तै एक वर्ष थपिएर पनि सकिन लागेकाको हकमा थपिने ५० दिनको अवधि थप पाउनेमा पाँच हजार ६४४ छन्।

    कोरोनाका कारण थपिएको एक वर्षे प्रवेशाज्ञा पाउनेले अघिल्लो पटकको नियमझैँ यसपटक पनि कम्पनी चित्त नबुझेमा एक पटक कार्यस्थल परिवर्तन गर्न सक्नेछ।

    तीन वर्षे कार्यकालमा तीन पटक र पछि थपिने एक वर्ष १० महिनाको अवधिमा दुई पटक कार्यस्थल परिवर्तन गर्न पाउने भए पनि उक्त अवधिमा कार्यस्थल परिवर्तन गर्न कम्पनी मालिकको अनुमति चाहिने प्रावधान छ तर कोरोनाका कारण एक वर्ष थप अवधिमा भने कम्पनी मालिककले रोक्न नपाउने नियम रहेको प्रवासी मजदुर सङ्घ (एमटियुक)का अध्यक्ष उदय राईले बताए।

    यो निर्णयले कोरिया अझै बसेर श्रम गर्दै कमाउँछु भन्नेका लागि अवसर बन्न पुगेको छ भने नेपाललगायत अन्य देशमा रहेर सम्पूर्ण प्रक्रिया पूरा गरी कोरिया जान पर्खिरहेकामा कोरिया प्रक्रिया विस्तारै हुनेसक्ने अनुमान गरिएको छ ।

  • युकेनका रास्ट्रपतिको आह्वान : संसारभरबाट सडकमा उत्रिएर हामीलाई समर्थन दिनुहोस

    युकेनका रास्ट्रपतिको आह्वान : संसारभरबाट सडकमा उत्रिएर हामीलाई समर्थन दिनुहोस

    काठमाडौं । निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका छन् । बिबिसीका अनुसार आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन्।

    उनले भने, “तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्।” “मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस्।” उनले युक्रेनमा रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडिरहेको पनि बताए।

    रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उनले बताए। रुसले आक्रमण गरेको एक महिना बितिसकेको र यसबीच आफ्नो, सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उनले उल्लेख गरे । ब्रसल्समा नेटो बैठक हुन लागेको बेला उनको सम्बोधन आएको छ। बुधवार युक्रेनको राजधानी किएभका भूभागमा निरन्तर रुसी बमबारी भएका छन्।

  • नेपालले आज बलियो टोलि थाइल्यान्डसङ्ग मैत्रीपुर्ण फुटबल खेल्दै

    नेपालले आज बलियो टोलि थाइल्यान्डसङ्ग मैत्रीपुर्ण फुटबल खेल्दै

    काठमाडौं । नेपाल र थाइल्यान्ड बीच आज मैत्रीपुर्ण अन्तर्राष्ट्रिय फुटबल खेल हुदैछ । खेल थाइल्यान्डको चोनबरीमा हुनेछ । नेपाली समयअनुसार साँझ ५:४५ मा खेल सुरु हुने कार्यक्रम छ ।
    नेपाल एसिया कप छनोट तेस्रो चरणको तयारीमा छ । सोही तयारी अनुसार बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले थाइल्यान्डको सामना गर्न लागेको हो ।  नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो ।
    सन् १९८७ मा नेपालले ओलम्पिक छनोटका क्रममा थाइल्यान्डविरुद्ध दुई खेल खेलेको थियो, जसमा नेपाल दुवैमा हारेको थियो । थाइल्यान्डविरुद्ध जितका लागि मैदान उत्रने नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताएका छन् ।  थाइल्यान्डमा बटुल्न अनुभव एसियाकप छनोटका लागि निकै उपयोगी हुने  उनको भनाइ छ ।

  • मोरङको लेटाङमा आजबाट हट्यो कर्फ्यु

    मोरङको लेटाङमा आजबाट हट्यो कर्फ्यु

    विराटनगर । मोरङको लेटाङमा बिहिवार बिहानबाट  कर्फ्यु हटाइएको छ । जिल्ला सुरक्षा समितिको बुधबार  बसेको बैठकले अवस्था सामान्य बनेको भन्दै आज बिहान ६ बजेदेखि कर्फ्यु हटाउने निर्णय गरेको हो ।

    लेटाङ–५ मा स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको विषयलाई लिएर गएको आइतवार तनाव भएको हो ।  आइतवार स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको  थियो ।

    घटनापछि लेटाङ नगरपालिका-३ र ४ को गंगेचोक र कमलपुर, लेटाङ–५ को सम्पूर्ण क्षेत्र र लेटाङ–६ को वडा कार्यालय क्षेत्र, मोरङे खोला र चिसाङ खोला क्षेत्रमा कर्फ्युकाे आदेश जारी भएको थियो। कर्फ्यु हटेपछि जनजीवन सामान्य बनेको छ ।

  • त्रिभुवन विमानस्थलका संचार उपकरणमा समस्या आएपछि उडान-अवतरण प्रभावित

    त्रिभुवन विमानस्थलका संचार उपकरणमा समस्या आएपछि उडान-अवतरण प्रभावित

    काठमाडौं । त्रिभुवन विमानस्थलका संचार उपकरणमा समस्या आएपछि बिहीबार बिहानैबाट उडान अवतरण प्रभावित बनेका छन् । विमानस्थल कार्यालयका अनुसार अहिले प्रत्येक १५ मिनेटमा एउटा उडान गर्न सकिने गरि व्यवस्था मिलाएको बताएका छ । सामान्य अवस्थामा प्रत्येक तीन मिनेटमा एउटा उडान वा अवतरण गर्न सक्ने सुविधा छ । सोहीकारण बिहीबार दिनभर उडानहरु प्रभावित हुने भएका छन् । यसले विमानस्थलहरुमा डिले हुने र भिडभाड बढी हुनेछ । बिहानैबाट संचार उपकरणमा समस्या आएपछि त्यसलाई मर्मतको काम थालिएको विमानस्थलले जनाएको छ ।

  • चीनमा दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटियो

    चीनमा दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटियो

    काठमाडौं । दक्षिणी चीनको पहाडी क्षेत्रमा दुर्घटनामा परेको चाइना ईस्टर्न विमानको ब्ल्याक बक्स भेटिएको छ । चिनियाँ सरकारी सञ्चार माध्यमले यसको पुष्टी गरेका छन् । बीबीसीका अनुसार चिनियाँ उड्डयन अधिकारीहरूले दुई दिनको खोजी पश्चात् ब्ल्याक बक्स भेटिएको बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन्। अधिकारीहरूले मृतकको सङ्ख्या अझै यकिन गरिसकेका छैनन् । तर विमानमा सवार १३२ जनाको जीवितै उद्धार हुने सम्भावना कम रहेको आशङ्का गरिएको छ।

    चीनमा दुई दिनअघि दुर्घटनामा परेको यात्रुवाहक विमानको भग्नावशेष फेला परेको क्षेत्रमा ठूलो वर्षा भएपछि पहिरो जाने जोखिमका कारण खोजी तथा उद्धार अभियान अवरुद्ध भएको छ। सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार दुर्घटनास्थल भएको क्षेत्रको जमिनमा माटोले धेरै पानी सोसेकाले उद्धारकार्य अनिश्चित बनेको हो । दक्षिण चीनको पहाडी भेगमा सोमवार चाइना ईस्टर्नको १३२ मानिस सवार एमयू५७३५ विमान दुर्घटनामा परेको थियो।

    उद्धारकर्मीले अहिलेसम्म कसैलाई पनि जीवित फेला पार्न सकेका छैनन्। अनुसन्धानकर्ताहरूले उक्त विमान किन अकस्मात् आकाशबाट खस्यो भन्ने पत्ता लगाउन सकेका छैनन्। दुर्घटनाका कारण चीनमा शोक फैलिएको छ। यात्रु र चालकदलका सदस्यका आफन्तहरू समाचारको व्यग्र प्रतीक्षा देखिन्छन्। युन्नानको राजधानी कुन्मिङबाट उडेको उक्त विमानले सोमवार अपराह्ण ग्वाङ्जाऊमा अवतरण गर्नुपर्ने थियो।

  • चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको चोभारमा टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार न. १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको बाइकलाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगेको थियो। त्यहाँ पुर्‍याउँदा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

    मृत्यु हुनेमा नागार्जुन नगरपालिका बस्ने २६ वर्षीय समीर गिरी र काठमाडौं महानगरपालिका १४ बस्ने १८ वर्षीय नविन्द्र तिमिल्सिना रहेका छन् । ठक्कर दिएपछि मोटरसाइकल भीरबाट खसेको थियो । प्रहरीले टाटा सुमो चालक सिमरा उपमहानगरपालिका(६ का सन्जय खानलाई नियन्त्रणमा लिएको छ।

  • पर्यटनमन्त्री आले र बलिउड अभिनेता सलमान खानबीच भिडियो वार्ता, के भयो कुराकानी ?

    पर्यटनमन्त्री आले र बलिउड अभिनेता सलमान खानबीच भिडियो वार्ता, के भयो कुराकानी ?

    काठमाडौं । पर्यटनमन्त्री प्रेम आले र अभिनेता सलमान खानबीच मंगलबार भर्चुअल संवाद भएको छ । उनीहरु झण्डै १० मिनेट भिडियोको माध्यमबाट जोडिए । सो क्रममा फिल्मी कहानीदेखि सलमानलाई नेपाल भ्रमणको निमन्त्रणसम्मका सन्दर्भ जोडिए । नेपालको पर्यटन प्रवद्र्धनमा सलमान खानलाई सहभागी गराउने एक अयिभानेका प्रयास थियो, भर्चुअल संवाद ।


    आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना हुन लागेको ‘द ब्याङ रिलोडेड टुर’को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री आले र अभिनेता खानबीच संवाद भएको हो । मन्त्री आलेले सलमानलाई भिडियोमा स्वागत गर्दै हिन्दी, मराठी र अंग्रेजी सम्म बोले । मराठी भासामा समेत दुईबीच कुराकानी भएको छ । त्यसक्रममा सलमानले आफू एक फिल्मको सुटिङमा नेपाल आएको, तर त्यो फिल्मको छायांकन हुन नसकेपछि फर्किएको किस्सा सुनाए । यसपटक आउने मेसो मिलेकाले सम्पूर्ण टिम खुसी भएको उनको भनाई छ ।

    मन्त्री आलेले पटक(पटक आफू सलमानको ठूलो फ्यान भएको दोहोर्याए । उनले सलमानका फिल्म र सिरिज नेपालमा छायांकन गर्न सरकारले सघाउने समेत बताए । कोरोना महामारीले थलिएको नेपाली पर्यटनलाई सघाउन द ब्याङ टुर उपयोगी हुने आशा आलेले व्यक्त गरे । उनले सलमानलाई सगरमाथा आरोहण, माउन्टेन फ्लाइटदेखि सगरमाथामा ब्रेकफास्टको समेत निम्ता दिए । जवाफमा सलमानले निम्ता स्वीकार गरे ।

  • नेपालमा थप ३८ जनामा कोरोना पुष्टी, २६९ जना संक्रमण मुक्त

    नेपालमा थप ३८ जनामा कोरोना पुष्टी, २६९ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८५५ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार ५२१ जनाको एन्टिजेन परीक्षण गर्दा ४ गरी ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार २६५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६३ हजार ८६१ पुगेको छ । संक्रिय संक्रमितको संख्या २ हजार ४५३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।