Category: फिचर

  • क्यालिफोर्नियामा गोली चल्यो, कम्तिमा ६ को मृत्यु-१२ घाइते

    क्यालिफोर्नियामा गोली चल्यो, कम्तिमा ६ को मृत्यु-१२ घाइते

    क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्दा कम्तिमा ६ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले पुष्टी गरेका छन् । घटनामा १२ जना घाइते भएका छन् । क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेष्टुरेन्ट र बारहरु रहेको व्यस्त इलाकामा स्थानीय समय अनुसार आइतबार बिहान गोली चलेको हो । गोली चलेपछि प्रहरीले जवाफी कारबाही गरेको समाचारमा उल्लेख छ ।

    घटनामा संलग्नको पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
    अमेरिका बैधानिक हतियार राख्न पाउने मुलुक हो । तर, यस प्रांवधानका कारण यहाँ वर्षेनी ४० हजार भन्दा बढी मानिसको ज्यान जाने गरेको तथ्यांक रहेको छ । जसमा आफ्नै हतियार प्रयोग गरि आत्महत्या गर्नेसको संख्या समेत जोडिन्छ । पछिल्लो समय हतियारको वैधानिकतालाई लिएर यहाँ बहस समेत प्रारम्भ भएको छ ।

  • त्रिकोणात्मक सिरिजको फाइनल आज, नेपाल र पिएनजी भिड्दै

    त्रिकोणात्मक सिरिजको फाइनल आज, नेपाल र पिएनजी भिड्दै

    काठमाडौं । त्रिकोणात्मक टी २० श्रृंखलाको फाइनल आज हुँदैछ । उपाधिका लागि नेपाल र पपुवा न्यूगिनी (पीएनजी) भिड्दैछन् । खेल कीर्तिपुरको टीयू मैदानमा दिउँसो १२ः३० मा सुरु हुनेछ । नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहेको छ । नेपालले डबल राउण्ड रोविन लिगमा खेलेको चारवटै खेलमा जित निकाल्यो । पीएनजीले भने ३ खेल हारेको थियो । मलेसियालाई एक खेलमा मात्र हराएर २ अंक जोडेको उसले रनरेटका आधारमा मलेसियालाई उछिन्दै फाइनल खेल्न लागेको हो ।

  • बनारसमा नेपाली तीर्थालुलाई लक्षित गरि बन्ने भयो वृद्धाश्रम, प्रधानमन्त्रीले गरे शिलान्यास

    बनारसमा नेपाली तीर्थालुलाई लक्षित गरि बन्ने भयो वृद्धाश्रम, प्रधानमन्त्रीले गरे शिलान्यास

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बनारसमा वृद्धाश्रमको शिलान्यास गरेका छन्। उनले आइतबार ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गरेका हुन्। उक्त अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी बनेका छन् ।

    नेपाल सरकारले वृद्धाश्रमका लागि एक करोड विनियोजन गरेको छ। यद्यपि भवन निर्माणको ठेक्का लगाउन भने बाँकी रहेको बताइएको छ । नेपालबाट तीर्थयात्रामा आउनेहरुका लागि वृद्धाश्रम निर्माण गर्न लागिएको हो। उक्त भवनमा ३५ कोठा रहनेछन्। भवन नेपाली शैलीमा बनाइने छ । बनारसमा नेपालले पशुपतिनाथ मन्दिरको नमुना निर्माण गरेको छ ।

  • प्रधानमन्त्री देउवा भारत भ्रमण पुरा गरि काठमाडौं फर्किए

    प्रधानमन्त्री देउवा भारत भ्रमण पुरा गरि काठमाडौं फर्किए

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण पुरा गरि काठमाडौं फिर्ता भएका छन् । आइतबार बिहान नयाँदिल्लीबाट बनारस पुगेका उनी बनारसमा धार्मिक यात्रामा व्यस्त रहे । उनले ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास गरे । त्यहाँ उनले कालभैरव मन्दिर र बाबा विश्वनाथको मन्दिरमा पूजा आरधना गरेका थिए ।

    उनलाई बनारसमा उत्तर प्रदेश राज्यका मूख्यमन्त्री योगी आदित्यनाथसहितको टीमले भब्य स्वागत गरेको थियो । उनी बनारसबाट नयाँदिल्ली फर्किएका थिए । त्यहाँबाट उनी काठमाडौं फर्किएका छन् । भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका हुन् । शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए ।

  • मार्चमा भारतीयपछि अमेरिकी पर्यटक बढी नेपालमा

    मार्चमा भारतीयपछि अमेरिकी पर्यटक बढी नेपालमा

    काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी भन्दा अगाडी भारतीयपछि चिनियाँ पर्यटक बढी घुमफिरमा जाने गर्थे । कोरोनाका कारण चीनले आफ्ना नागरिकलाई घुमफिरमा खुला गरेका छैन । सोहीकारण यो स्थान अहिले अमेरिकाले लिएको छ । नेपालमा मार्च महिनामा भारतीयपछि अमेरिकी नागरिक बढी संख्यामा आएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार मार्च २०२२ मा कुल ४२ हजार ६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यसमध्ये भारतबाट मात्र यो महिनामा १५,०१३ जना पर्यटक नेपाल आएका छन् ।

    अमेरिकाबाट ४,८९६, बेलायतबाट ४,०२९, बंगलादेशबाट २,१५२ र जर्मनीबाट १,८१७ जना पर्यटक आएको देखिएको छ । सन् २०२२ यता पर्यटक आगमनमा केही सुधार देखिएको छ । तथ्यांक अनुसार जनवरीमा १६,९७५ पर्यटक आएका थिए । फेब्रुअरीमा यसमा सुधाई भई १९,७६६ पुगेको थियो । मार्चमा कोरोना भाइरस शुरु भएयताको दुई वर्षको अवधिकै सबैभन्दा धेरै (एक महिनामा) ४२,००६ पर्यटक नेपाल आएका छन् ।

  • नेप्सेमा ३०.८९ अंकको गिरावट, कारोबार १ अर्ब ४६ करोडमा सीमित

    नेप्सेमा ३०.८९ अंकको गिरावट, कारोबार १ अर्ब ४६ करोडमा सीमित

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२८ कम्पनीको १ अर्ब ४६ करोड ७ लाख ७३ हजार २२९ रुपैयाँ बराबरको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ । विहीवार १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १ स्थीर भएको छ । भने १२ वटा घटेको छ । धेरै गुमाउने फाइनान्सका र विकास बैंकका लगानीकर्ता रहेका छन् ।

    अन्य समूह सबैभन्दा धेरै ३१३ प्रतिशतले घटेको छ । घट्दो बजारमा राष्ट्र उत्थान, नेष्डो लघुवित्त वित्तिय संस्था र इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

    युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ ।

    कारोबारको आधारमा सबैभन्दा बढी सूर्य लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ । यस कम्पनीको ९ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स, कारोबार भएको छ । यसको ५ करोड १ लाख भन्दा बढीको कारोबार भएको छ । तेस्रोमा नबिल बैंकको ४ करोड २४ लाख बढीको कारोबार भएको छ ।

  • ओलीको कटाक्ष -‘ देउवाको भ्रमणमा दिल्ली दूतावासबाट चुच्चे नक्सा किन हटाइयो’ ?

    ओलीको कटाक्ष -‘ देउवाको भ्रमणमा दिल्ली दूतावासबाट चुच्चे नक्सा किन हटाइयो’ ?

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे कटाक्ष गरेका छन् ।

    आइतबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै ओलीले देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइए भन्दै कटाक्ष गरेका हुन् ।

    आफ्नाे सरकारले जारी गरेकाे चुच्चे नक्साबारे चासाे नदेखाएकाे उल्लेख गर्दै ओलीले भनेका छन्, ‘सरकारका सय दिन भनेर किताब ल्याउनुभयाे शेरबहादुरजीले; त्यहाँ त चुच्चे नक्सा नै गायब थियाे । फेरि हिजाे दूतावासमा पनि बुच्चे नक्सा झुन्ड्याइएकाे थियाे ।’

    यसअघि ओलीले प्रधान मन्त्री देउवालाई साेधे— ‘के याे साधारण कुरा हाे ? तपाईं चुच्चे नक्सा हटाएर फर्किने हाे ?’ याेभन्दा राष्ट्रकाे दलाली केही नहुने ओलीकाे भनाइ थियाे ।

    ‘प्रधानमन्त्री फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो संसदले संविधान संशोधन गरेर राखेको नक्सा किन राखिएन ?,’ ओलीले प्रश्न गरेका छन् ।

    त्यस्तै उनले नेपालमा तीन प्रकारका कम्युनिस्टहरू रहेको बताए । ‘दार्शनिक धरातल भएका र त्यसलाई व्यवहारमा अपनाउने पहिलो वर्गका कम्युनिस्ट छन् ।

    दोस्रो, प्रगतिशील धारका कम्युनिस्ट सैद्धान्तिक वैचारिक तहका कम्युनिस्ट हुन्,’ उनले भने, “हामीकहाँ मान–सम्मान पुगेन भने पार्टी ध्वस्त पार्न तयार हुने कम्युनिस्ट पनि छन् ।’

    उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै नाफा–नोक्सानको राजनीति गर्ने पनि राजनीतिज्ञ भएको बताए ।

  • पाकिस्तानी प्रधानमन्त्री इमरानले गरे संसद भंग गर्न सिफारिस, देश चुनावतर्फ

    पाकिस्तानी प्रधानमन्त्री इमरानले गरे संसद भंग गर्न सिफारिस, देश चुनावतर्फ

    काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको छ।

    संसदका उपसभामुख क्वासिम खान सुरीले संविधानको धारा ५ विपरीत रहेको भन्दै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज गरेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।

    संसदको आइतबारको बैठकको अध्यक्षता गरेको उपसभामुख सुरीले अविश्वास प्रस्ताव नै संविधानविपरीत रहेको जिकिर गर्दै खारेज गरेका हुन्।

    विपक्षी दलले सभामुख असद कैसरविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि आइतबारको बैठकको अध्यक्षता उपसभामुखले गरेका हुन्।

    त्यसपछि इमरान खानले देशलाई सम्बोधन गर्दै राष्ट्रपतिसँग संसद भंग गर्दै ९० दिनभित्र चुनावको सिफारिस गरेका छन्।

    नेशनल एसेम्बलीमा विपक्षीको अविश्वास प्रस्ताव खारेज भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशलाई सम्बोधन गर्दै मध्यावधि चुनावको तयारी गर्न भनेका छन्। उनले संसद भंग गर्न गरिएको सिफारिस राष्ट्रपतिकहाँ पठाएका छन्।

  • पाकिस्तानमा रोचक राजनीतिक, इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज

    पाकिस्तानमा रोचक राजनीतिक, इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज

    काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको छ।

    संसदका उपसभामुख क्वासिम खान सुरीले संविधानको धारा ५ विपरीत रहेको भन्दै प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज गरेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।

    संसदको आइतबारको बैठकको अध्यक्षता गरेको उपसभामुख सुरीले अविश्वास प्रस्ताव नै संविधानविपरीत रहेको जिकिर गर्दै खारेज गरेका हुन्।

    विपक्षी दलले सभामुख असद कैसरविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि आइतबारको बैठकको अध्यक्षता उपसभामुखले गरेका हुन्।

    प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित गर्नेमा ढुक्क देखिएका विपक्षी दलका सांसद संसद भवन पुगेका थिए। तर उपसभामुखको कदमसँगै खानलाई सत्ताच्युत गर्ने उनीहरुको प्रयास तत्कालका लागि असफल भएको छ।

    अविश्वास प्रस्ताव पारित हुन कम्तीमा १७२ सांसदको समर्थन चाहिन्थ्यो। तर मतदानअघि नै उपसभामुखले खारेज गरेका हुन्।

  • पूर्ण सुनुवाइ स्थगित गर्न माधव पक्षले दिएको निवेदन सर्वोच्चद्वारा अस्वीकार, मुद्दा ‘हेर्न नमिल्ने’मा

    पूर्ण सुनुवाइ स्थगित गर्न माधव पक्षले दिएको निवेदन सर्वोच्चद्वारा अस्वीकार, मुद्दा ‘हेर्न नमिल्ने’मा

    काठमाडौं । माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने मागसहित नेकपा एमालेले दायर गरेको रिटमा आइतवार सुनुवाइ नहुने भएको छ ।

    मुद्दाको पूर्ण सुनुवाइ सार्न नेपाल पक्षबाट दिइएको निवेदन सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले अस्वीकार गरेपनि आफूले हेर्न नमिल्ने बताएका छन् ।

    उक्त मुद्दा न्यायाधीश सिन्हा र सुवेदीको इजलासमा चौंथो नम्बरमा थियो ।

    एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा २०७८ भदौ १७ गते रिट दायर गरेका थिए।

  • अमेरिकी विदेश मन्त्रालयमा नेपालले बाघ संरक्षणमा गरेको कामबारे चर्चा

    अमेरिकी विदेश मन्त्रालयमा नेपालले बाघ संरक्षणमा गरेको कामबारे चर्चा

    काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयमा बाघ संरक्षणमा नेपालले गरेका कामबारे चर्चा भएको छ । वन तथा वातावरण मन्त्रालयबाट भएको सचिवस्तरीय भ्रमणमा नेपालले बाघ संरक्षणमा गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता र कामको बारेमा छलफल भएको सचिव प्रेमनारायण कँडेललाई उदृत गदै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    सचिव कँडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीसहितको टोलीसँग बिहीबार उपसहायक विदेशमन्त्री केली केईडेर्लिङ र कार्यकारी सहायक विदेशमन्त्री जोन ई थम्पसनले बाघ संरक्षणको बारेमा नेपालले गरिरहेको कामको प्रशंसा गरेका थिए ।

    भेटमा नेपाली प्रतिनिमण्डल टोलीले प्रतिबद्धता अनुसार नेपालले बाघको संख्या दोब्बर बनाउने उद्देश्य नजिक रहेको बताएको थियो । उक्त भेटमा अमेरिकी अधिकारीहरुले एमसीसीको बारेमा समेत चर्चा गरेका थिए । एमसीसी वन क्षेत्र, जैविक विविधता, जलवायु परिवर्तन, वातावरणसँग पनि सम्बन्धित भएको उल्लेख गरेका थिए । एमसीसी परियोजनाले नेपालको ऊर्जा तथा क्लिन इनर्जीको क्षेत्रमा पनि सहयोग गर्ने अमेरिकी अधिकारीहरुले बताएको एनटीएनसीका सदस्य सचिव शरद अधिकारीले बताए ।

    जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी विविध सहयोग नेपाललाई आवश्यक पर्ने भन्दै अमेरिकी अधिकारीहरु सकरात्मक भएको सचिव कँडेलको भनाइ थियो । भेटमा अन्तर्राष्ट्रिय स्तरमा नेपालले जलवायु परिवर्तनको विषयमा गरेका प्रतिबद्धताको बारेमा प्रशंसा गरेका थिए । नेपाली प्रतिनिधिमण्डल टोलीले जोन ई थम्पसनलाई बाघको प्रतिमा दिँदै संरक्षण गर्न आग्रह गरेको थियो ।

  • प्रस्तोतालाई थप्पड हानेका अमेरिकी अभिनेता स्मिथले ओस्कार एकेडेमीबाट दिए राजिनामा, थप कारवाही हुने

    प्रस्तोतालाई थप्पड हानेका अमेरिकी अभिनेता स्मिथले ओस्कार एकेडेमीबाट दिए राजिनामा, थप कारवाही हुने

    न्यूयोर्क । अमेरिकी अभिनेता विल स्मिथ ओस्कार एकेडेमीबाट राजीनामा दिएका छन्। बीबीसीका अनुसार विवादमा तानिएपछि उनले राजीनामा गरेका हुन् । उनले गत आइतवार आयोजित ओस्कार पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिश रकलाई मञ्चमै पुगेर थप्पड हानेका थिए । त्यसपछि उनी विवादमा तानिए । उनले राजीनामा पत्रमा लेखेका छन्, ‘एकेडेमीको ९४ औँ पुरस्कार वितरण समारोहमा मेरो क्रियाकलाप स्तब्ध बनाउने खालको पीडादायी र अक्षम्य थियो ।’

    एकेडेमीले उनको राजीनामा स्वीकार गरेको र अनुशासनको कारबाहीको काम अगाडि बढाइरहने बताएको छ। एलोपेसिया भन्ने रोगका कारण कपाल झरेर मुडुलो टाउको बनाएकी उनकी श्रीमतीमाथि रकले ठट्टा गरेपछि स्मिथ आक्रोशित भएर मञ्चमा उक्लिएर क्रिशलाई थप्पड लगाइदिएका थिए। त्यसको एक घण्टा पनि नहुँदै उनले ‘किङ रिचर्ड’ नामको फिल्ममा ख्यातीप्राप्त टेनिश खेलाडीहरू भीनस र सेरेना विलियम्सका बाबुको भूमिकाका कारण सर्वोत्कृष्ट अभिनेता पुरस्कार प्राप्त गरेका थिए।

    ‘मैले चोट पुर्‍याएकाहरूको सूची लामो छ। यसमा क्रिश, उनको परिवार, मेरा धेरै प्रिय साथीहरू, कार्यक्रममा उपस्थित सबै र विश्वव्यापी दर्शकहरू समावेश छन्’ स्मिथले भनेका छन् । ‘मैले एकेडेमीको विश्वासविरुद्ध कार्य गरेँ। मैले अन्य मनोनीत र विजेताहरूलाई उनीहरूको असाधारण कामको लागि उत्सव मनाउने अवसरबाट वञ्चित गरेँ। म दुःखी छु।’ स्मिथले आफ्नो लक्ष्य उपलब्धिको लागि योग्यहरूतर्फ सबैको ध्यान फर्काउनु भएको समेत बताएको समाचारमा उल्लेख छ ।

    एकेडेमीका अध्यक्ष डेभिड रुबिनले स्मिथको राजीनामा स्वीकृत गरेको तर अनुशासन सम्बन्धी कारबाही जारी राखिने बताए। रकले बुधवार बोस्टनमा आयोजित एक स्ट्यान्ड(अप कार्यक्रमका क्रममा सम्बोधन गर्दै, आफू अझै पनि के भयो भनेर खुट्टाउन प्रयास गरिरहेको बताएका थिए। हाल अमेरिकाको आफ्नो कार्यक्रम इगो डेथका सिलसिलामा भ्रमणमा रहेका ५७ वर्षीय हास्य कलाकारलाई दर्शकले उभिएर सम्मान प्रकट गरेका थिए ।

  • आजबाट पेट्रोलियम ढुवानी यथावत हुने, आपूर्ति सहज

    आजबाट पेट्रोलियम ढुवानी यथावत हुने, आपूर्ति सहज

    काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका कारण आइतबारबाट ढुवानी र आपूर्ति सहज हुने भएको छ । नेपाल आयल निगम व्यवसायीका माग पूरा गर्न सहमत भएपछि ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लाइन लागेको थियो ।

    नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार भएको वार्तामा सहमति भएपछि व्यवसायी र नेपाल आयल निगमले चार बुँदे संयुक्त विज्ञप्ति निकालेका छन् । व्यवसायीले राखेका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको छ । तीबाहेक अरु मागका बारेमा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ ।

    नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल एलपी ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले सबै विरोधका कार्यक्रम फिर्ता लिएका छन् र उनीहरुले पेट्रोलियम पदार्थ र एलपी ग्याँसको ढुवानी र बिक्री वितरण यथावत सञ्चालन गर्ने भएका छन् ।

  • प्रधानमन्त्री बनारस पुगेर आजै काठमाडौं फर्कने

    प्रधानमन्त्री बनारस पुगेर आजै काठमाडौं फर्कने

    काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आज भारतमा अन्तिम दिनका कार्यक्रम हुँदैछन् । उनी आजै स्वदेश फर्किंने कार्यक्रम छ । काठमाडौं फर्किनुअघि उनी आज उत्तर प्रदेशको बनारस जाने छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्ने छन् ।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन् । बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भएका छन् । साथै मूख्यमन्त्री योगीसँग भेटवार्ता समेत हुने छ । प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।

  • मलेसियाविरुद्ध नेपालको प्रभावशाली जितमा दीपेन्द्र बने नायक

    मलेसियाविरुद्ध नेपालको प्रभावशाली जितमा दीपेन्द्र बने नायक

    काठमाडौं । नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको प्रभावशाली जित निकाल्यो । अब उपाधिका लागि नेपालले सोमबार पपुवा न्युगिनी .(पीएनजी)को सामना गर्नेछ । मलेसिया नेपालसँग पराजित भएपछि पीएनजीले नेट रनरेटका आधारमा मलेसिया भन्दा अगाडी रहेको हो ।

    अपराजित नेपालले चार खेलबाट आठ अंक बनायो । पीएनजी र मलेसियाले दुई दुई अंक बनाएका छन् । दुई सय २४ रनको विशाल विजय लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३८ रनमा समेटियो । नेपालका लागि सन्दीप लामिछानेले तीन, कमल ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा कुशल भुर्तेल र रोहित पौडेलले एक विकेट लिए ।


    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २२३ रनको विशाल योगफल प्रस्तुत गरेको थियो । नेपालका मध्यक्रममा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित शतकीय इनिङ्स खेलेपछि घरेलु टोलीले जितको आधार तय गरेको हो । ऐरीले अविजित ११० रन बनाउँँदा ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । उनी नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी बने । यसअघि पूर्वकप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी–२० मा शतक प्रहार गरेका छन् ।

  • भारतसँग नेपालले माग्यो तीन हवाई रुट

    भारतसँग नेपालले माग्यो तीन हवाई रुट

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदी समक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन आग्रह गरेका छन् । पधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट उपलब्ध गराउन माग गरेका छन् । नयाँदिल्लीको हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो जानकारी गराएका हुन् ।

    भारतीय समकक्षी मोदीसँगको भेटवार्ता सो विषयमा छलफल भएको जानकारी गराउँदै उनले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट माग गरेका हुन् । त्यस्तै, भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि सहयोगका लागि पनि प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

  • प्रधानमन्त्री देउवाले मोदी समक्ष उठाए सीमा विवादको सवाल

    प्रधानमन्त्री देउवाले मोदी समक्ष उठाए सीमा विवादको सवाल

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे सवाल उठाएका छन् । उनले भेटमा सीमा समस्याबारे छलफल भएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा शनिबार भेटवार्ता भएको थियो । लगत्तै प्रतिनिधिमण्डलस्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ । लगत्तै आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।’

    प्रधानमन्त्री देउवाले नेपालका लागि भारतसँगको सम्बन्ध महत्वपूर्ण रहेको भन्दै भारतले पछिल्लो समय हासिल गर्को व्यापक आर्थिक रुपान्तरणको फाइदा लिन नेपाल आतुर रहेको बताए । भारतसँग चाँदनी र दोधरामा एकीकृत भन्सार जाँच चौकी तथा सुख्खा बन्दरगाह बनाउने र नेपालगञ्जको एकीकृत भन्सार जाँच चौकी पूरा गर्ने विषयमा कुराकानी भएको पनि उनले उल्लेख गरे । प्रधानमन्त्री देउवाले मोदीसँगको कुराकानीमा महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट एयर इन्ट्री रुट माग गरेको पनि बताए ।

    त्यस्तै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन सहज बनाउन पनि भारतलाई आग्रह गरेको देउवाले बताए । प्रधानमन्त्री देउवाले नेपालको विद्युत उत्पादन र निर्यातका लागि दुई देशबीचको ऊर्जा निर्यातमा दुई देशबीच उच्चस्तरको सहकार्य आवश्यक भएको बताएका छन् । उनले द्विपक्षीय छलफलमा ऊर्जा निर्यात सहकार्यलाई महत्व दिएको पनि बताए । दुईपक्षीय छलफलमा जलविद्युत उत्पादन प्रशारण र अन्तरदेशीय व्यापारका लागि समझदारी भएको पनि बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको विजुली किन्न आग्रह पनि गरेका छन् ।

  • आजबाट यात्रु राखेर गुड्ने छ नेपाली रेल, भाडा कति ?

    आजबाट यात्रु राखेर गुड्ने छ नेपाली रेल, भाडा कति ?

    काठमाडौं । आजबाट नेपाली रेलमा यात्रुले यात्रा गर्न पाउने भएका छन् । जयनगर–जनकपुर खण्डमा चल्ने रेलको शनिबार औपचारिक सञ्चालन गरिन लागेको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्ने छन् । नेपाल रेलवे कम्पनीका अनुसार शनिबार १२ बजेर २० मिनेटमा दुवै प्रधानमन्त्रीले भर्चुअल रुपमा नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर रेलको उद्घाटन गर्नेछन् । त्यसका लागि नेपालतर्फको सम्पूर्ण तयारी पूरा गरिएको छ ।

    उद्घाटनपछि जयनगरबाट कुर्थाका लागि रेल गुड्ने छ । रेल नियमित रुपमा सञ्चालनमा आएपछि नेपालबाट भारत जान चाहने यात्रु र भारतबाट नेपाल आउने यात्रुका लागि पहिचान खुल्ने परिचय पत्र अनिवार्य लिएर हिँड्न सक्ने छन् । भारतबाट नेपाल आउने यात्रुले पनि आफ्नो पहिचान खुल्ने परिचय पत्र बोक्नु पर्ने छ । नपालको भूमिसम्म जान भने कुनै परिचय पत्र आवश्यक पर्दैन ।

    दिनको दुईपटक जयनगरबाट रेल खुल्ने छ र कुर्थासम्मको ३५ किमि दूरीसम्म पुग्ने छ । एकपटमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्छन् । रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी सिटका लागि भने जनकपुर–जयनगर ३५० र कुर्था–जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको छ ।

  • भक्तपुरमा जग्गा प्लटिङको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

    भक्तपुरमा जग्गा प्लटिङको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

    काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ स्थित ताथलीमा जग्गा प्लटिङ गरिएको स्थानमा ढिस्को खस्दा पुरिएर दुई कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । खाल्डो खन्ने क्रममा ढिस्कोले पुरिएर काभ्रे स्थायी घर भएका ५० वर्षीय वर्षमान तामाङ र ३२ वर्षीय चतुरमान तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटनापछि स्थानीयले आन्दोलन समेत गरेका छन् । स्थानीय र पीडित पक्षले शुक्रबार अबेरसम्म मृतकको शव समेत उठाउन दिएका थिएनन् ।

    स्थानीयहरूका अनुसार उक्त स्थानमा करिब ३० रोपनीभन्दा धेरै जमिनमा अवैध रुपमा प्लटिङ गरिएको थियो । उक्त प्लटिङमा बिहीबार पनि पर्खाल लगाउने काम भइरहेको थियो । तर जग्गाधनीले खाडल नपुगेको भन्दै शुक्रबार पनि थप खाडल खन्न लगाएको बताइएको छ । शुक्रबार सोही स्थानमा पर्खालका लागि खाडल खन्ने क्रममा ढिस्को खसेर दुई जना कामदार पुरिएका हुन् ।

  • आइओसीको नयाँ मूल्यपछि नेपालमा इन्धनको भाउ के होला ?

    आइओसीको नयाँ मूल्यपछि नेपालमा इन्धनको भाउ के होला ?

    काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएपछि मूल्य बढ्ने भयका कारण शुक्रबार काठमाडौंका पेट्रोल पम्पमा लामो लाइन लागेको छ । अर्कोतर्फ आइतबारबाट व्यवसायीले बिक्रि वितरण समेत रोक्ने चेतावनी दिएका कारण समेत पम्पमा लामो लाइन लागेको हो । शुक्रवार पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य केही घटेको छ । डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेको नेपाल आयल निगमले उल्लेख गरेको छ ।

    निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ४८ पैसा घटेको छ । डिजल भने लिटरमा शून्य दशमलव ०२ पैसा बढेको छ । यस्तै मट्टीतेल २२ रुपैयाँ नौ पैसा र हवाई इन्धन चार रुपैयाँ २३ पैसा बढेर आएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर दुई सय ७३ रुपैयाँ ३८ पैसा बढेर आएको छ ।


    नयाँ मूल्य र अहिलेको मूल्य तथा खपतको हिसाब गर्दा निगमलाई अबको १५ दिनमा झन्डै पाँच अर्ब २१ करोड नोक्सान रहने छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ सात पैसा, डिजलमा ३२ रुपैयाँ १७ पैसा र ग्यासमा प्रतिसिलिन्डर नौ सय ५३ रुपैयाँ ६६ पैसा नोक्सान छ । मट्टीतेलको हकमा एक रुपैयाँ ९९ पैसा, हवाई इन्धनमा १२ रुपैयाँ ८४ पैसा फाइदा रहेको छ ।

  • प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट, भाजपाको कार्यालयमा पनि स्वागत

    प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट, भाजपाको कार्यालयमा पनि स्वागत

    नयाँ दिल्ली । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । आजै प्रधानमन्त्री देउवालाई भारतीय जनता पार्टीको मूख्यालयमा समेत स्वागत गरिएको छ । नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा रहेका प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो । भेटमा दुइ पक्षीय हितका विषयमा कुरा भएको बताइएको छ । प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । देउवा शुक्रबार अपरान्ह दिल्ली प्रस्थान गरेका हुन् ।

  • नेपालमा थप २२ जनामा कोरोना संक्रमण, ७५ जना संक्रमणमुक्त

    नेपालमा थप २२ जनामा कोरोना संक्रमण, ७५ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । तीन हजार ८३५ जनाको नमुना स्वाब परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो ।

    अहिलेसम्म नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य छ ।

    त्यस्तै आज ७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या एक हजार २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निको हुनेको संख्या ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

  • देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प, २० गतेदेखि विक्री पनि रोक्ने

    देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प, २० गतेदेखि विक्री पनि रोक्ने

    काठमाडौं । देशभर पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएको छ । पेट्रोल पम्प व्यवसायीले नेपाल आयल निगमले कमिसन नबढाएको भन्दै निगमको डिपोबाट तेल नउठाएपछि आजदेखि ढुवानी ठप्प भएको हो ।

    आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ ।

    नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स, राष्ट्रिय एसोसिएसन तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरुले माग पूरा नभएको भन्दै ढुवानी रोकेका हुन् ।

    सरकारले आफूहरुको माग वेवास्ता गरेको भन्दै व्यवसायीले ढुवानी ठप्प पारेका हुन् । साथै, आफ्ना माग पूरा नगरे चैत २० गतेबाट पेट्रोलियम पर्दाथको विक्री समेत बन्द गर्ने महासंघले जनाएको छ ।

    राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष ६ बुँदे मागपत्र पेश गर्दै माग गत चैत ५ गतेदेखि आन्दोन गर्दै आएको छ । समितिले कमिसन बढाउनु पर्ने, पेट्रोलियम ऐन बनाई तत्काल लागू गर्नु पर्ने, एलपीजी विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायीक संस्थाको प्रतिनिधि सहितको सहभागीतामा परिमार्जनसहित संशोधन गर्नु पर्ने लगायत माग राखेको छ ।

  • तीनदिने भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान, कार्यवाहक जिम्मेवारी गृहमन्त्री खाँणलाई

    तीनदिने भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान, कार्यवाहक जिम्मेवारी गृहमन्त्री खाँणलाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् ।

    भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, यहाँस्थित भारतीय राजदूतावासका कार्यबाहक राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतले बिदाई गरेका थिए ।

    त्यसअघि सरकार प्रमुख औपचारिक विदेश भ्रमणमा निस्कदा सलामी अर्पण गर्ने परम्पराअनुरुप नेपाली सेनाको एक टोलीले प्रधानमन्त्री देउवालाई सलामी दिएको थियो ।

    प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीयसचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्याल छन् ।

    ऊर्जा सचिव देवेन्द्र कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, गृह सचिव टेकनारायण पाण्डे, कानून सचिव उदयराज सापकोटा, अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव गणेशप्रसाद पाण्डे, स्वास्थ्य सचिव डा रोशन पोखरेल, कृषि सचिव गोविन्दप्रसाद शर्मा छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् ।

    वर्तमान मन्त्रिपरिषदमा उपप्रधानमन्त्री छैनन् । त्यसैले मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएकाे राष्ट्रपतिको कार्यालयले जनाएकाे छ ।

    मन्त्रिपरिषदको अध्यक्षसहित कार्यकारी अधिकारको प्रयोगका लागि प्रधानमन्त्री नआउँदासम्म उनले नै कार्यकारी अधिकारको प्रयोग गर्नेछन् । राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारीगरी कार्यवहाक तोकेको हाे ।

  • मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर सफा गर्न थालियो

    मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर सफा गर्न थालियो

    काठमाडौं । बाढीपहिरोले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य अन्तिम चरणमा पुगेको आयोजनाले बताएको छ । मुख्य संरचनाको मर्मत र सफाइ अन्तिम चरणमा पुगेसँगै सुरुङ परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाको भनाई छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले हिजो मेलम्चीको मुख्य प्रवेशमा क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर माधवप्रसाद न्यौपानेले बताएका छन् ।

    उनका अनुसार आयोजनाको मुख्य ढोका खोलिएको र सफाइको काम अन्तिम चरणमा पुगेकाले परीक्षणका लागि पानी पठाउन थालिएको हो । असार १ र साउन १७ गतेको बाढीका कारण प्रमुखद्वार बफर ड्यामदेखि अम्बाथानसम्मको ८ सय ५ मिटर सुरुङ गेग्य्रानसहितको लेदोले पुरेको थियो । क्षतिग्रस्त ढोकाहरू खुला गरी सुरुङभित्र जमेको लेदो परीक्षणका क्रममा पठाएको पानीबाटै सफाइ गरिने आयोजनाले जनाएको छ ।

    सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना सफाइ तथा मर्मत गरी यही चैत मसान्तभित्र काठमाण्डौको सुन्दरीजलमार्फत उपत्यकामा पानी वितरण गर्ने लक्ष्य लिएको छ । आयोजनाको सुरुङ निर्माण गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाइ तथा मर्मतको काम तोकिएको समयभित्र पूरा गर्न अन्य तीनवटा नेपाली सहायक कम्पनीमार्फत २४ घण्टा नै काम गरिरहेको छ ।

  • इन्धनको मूल्य घटाउन अमेरिकाले आफ्ना कुवाबाट अतिरिक्त मात्रामा तेल निकाल्ने

    इन्धनको मूल्य घटाउन अमेरिकाले आफ्ना कुवाबाट अतिरिक्त मात्रामा तेल निकाल्ने

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले उच्च ऊर्जा मूल्यलाई घटाउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन्। बीबीसीका अनुसार आउँदो ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकालिने बताइएको छ जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो। युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति सङ्कटमाझ बाइडनका त्यस्तो कदमका खबरहरू आउन थालेसँगै तेलको मूल्य घटेको छ।

    तर विश्लेषकहरूले दैनिक १० लाख ब्यारलजति तेल निकालेर ऊर्जा सङ्कट समाधान नहुने बताएका छन्। यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने बताइएको छ । राष्ट्रपति बाइडनले अमेरिकी तेल आपूर्ति बढाउन थप कदमहरू चालिने बाचा गरेका छन्। उनले यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि पछिल्लो कदम एउटा सेतुको रूपमा काम गर्ने बताएका छन्।

    रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो। बाइडनको घोषणा लगत्तै बजार मूल्यमा केही प्रभाव परेका छन्। वेस्ट टेक्सस इन्टरमिडिएट ७ प्रतिसतले झरेर प्रतिब्यारल १०० डलर पुगेको थियो। त्यस्तै ब्रेन्ट क्रुड झण्डै ५.४ प्रतिसतले झरेर १०७ डलर पुगेको थियो। ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा बनेको छ।

    अमेरिकामा नोभेम्बरमा सङ्घीय संसद्को चुनावहरू हुँदैछन्। राष्ट्रपति पुटिनले शुक्रवारबाट हुने रुसी प्राकृतिक ग्यास आपूर्तिको भुक्तानी रुबलमा गर्न दिएको समयसीमालाई पश्चिमा सरकारहरूले अस्वीकार गरेका छन्। भ्लादिमिर पुटिनले पश्चिमा वित्तीय प्रणाली रुसविरुद्ध हतियारको रूपमा प्रयोग भएको भन्दै त्यस्तो परिवर्तन आवश्यक परेको बताएका छन्। जर्मनी, फ्रान्स र अस्ट्रिया सबैले मस्कोको मागलाई धम्कीपूर्ण ब्ल्याकमेल भएको बताएका छन्।

  • घोडे जात्रा आज, काठमाडौंमा सार्वजनिक बिदा

    घोडे जात्रा आज, काठमाडौंमा सार्वजनिक बिदा

    काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व शुक्रबार मनाइँदैछ । यस दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गर्छ ।
    नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति लगायतका विशिष्ट व्यक्तित्व सहभागी हुन्छन् । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।

    पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

    साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ । आजकै दिन ललितपुरमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।घ

  • आज प्रधानमन्त्री भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालीका

    आज प्रधानमन्त्री भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालीका

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणमा शुक्रबार भारत जाँदै छन् । उनको साथमा कुल चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डल रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल एयरलाइन्सको जहाजबाट उनी भारतीय समय अनुसार दिउँसो २ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उनी विमानस्थलबाट चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा पुग्ने कार्यक्रम छ ।

    देउवा यसै होटेलमा बस्नेछन् । देउवाको पहिलो भेट भारतीय विदेशमन्त्री एस जयशंकरसँग हुने छ । विदेशमन्त्री जयशंकर देउवालाई भेट्न अपराह्न साढे चार बजे मौर्य होटलमा पुग्ने छन् । त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने तालीका छ । भाजपाका नेताहरुको स्वागतपछि देउवा नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा पुग्नेछन् । दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजमा देउवा सहभागी हुनेछन् ।

    शनिबारको बिहान १०ः४० बजे देउवा महात्मा गान्धीको समाधीस्थल राजघाट पुग्ने छन् । त्यहाँ पुष्पुच्छा अर्पण गरेपछि औपचारिक कार्यक्रममा सहभागी हुन देउवा हैदरावाद हाउस पुग्ने छन् । हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमै नेपाली र भारतीय प्रतिनिधिमण्डलस्तरीय छुट्टै वार्ता पनि हुने छ ।

    शनिबार दिउँसो सवा १२ बजे जनकपुर–जयनगर रेल सेवा र सोलु करिडोर विद्युत प्रसारण लाइनको दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उदघाटन गर्ने कार्यक्रम छ । त्यसैगरी भारतको सहयोगमा निर्माण गरिएका १३२ वटा स्वास्थ्य चौकी भवन पनि नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम छ । संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएपछि देउवाले अपराह्न साढे ४ बजे भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।

    शनिबारसाँझ होटलमा भारतका उद्योगी व्यवसायीका प्रतिनिधिहरुले देउवालाई भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । आइतबार बिहान ९ बजे विशेष जहाजमार्फत् बनारस जाने छन् । बनारसमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले देउवालाई स्वागत गर्ने छन् । बनारसमा रहँदा देउवाले काशी विश्वनाथ मन्दिर र त्यहाँ रहेको पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेछन् । बनारसबाट अपराह्न चार बजे देउवा पुनः दिल्ली जाने र स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

  • अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढ्यो

    अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढ्यो

    काठमाडौं । इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिपछि यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडा बढाउन दवाव दिएका थिए । सोही अनुसार सरकारले सार्वजनिक गाडीको भाडा बढाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा भाडा बढाउन स्वीकृत गरेको हो । अहिले कायम भएको दरमा १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    बढेको भाडाको विस्तृत विवरण आउँदो आइतवार प्रकाशन गर्ने तयारी छ । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक गाडीमा मात्रै भाडा बढेको विभागले जनाएको छ । लोकल रुटको भाडा भने यथावत् नै छ । अब इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटबढ भएमा त्यसअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ ।

  • अर्थमा ११३८ मा फोन गरेर  बजेटका सुझाव दिन सकिने

    अर्थमा ११३८ मा फोन गरेर बजेटका सुझाव दिन सकिने

    काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको छ ।
    आगामी आवको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले बिषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक दूरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको हो ।

    मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ । मन्त्रालयको वेवसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लिक गरेर पनि सुझाव पेश गर्न सक्ने व्यवस्था गरिएको छ । इमेलमार्फत पनि सुझाव पेश गर्न सकिने व्यवस्था गरिएको छ ।

    बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजिवी, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, सञ्चारकर्मी, आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव महत्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरु चैत मसान्त भित्र लिखित वा मौखिक (टेलिफोन) रुपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह गरेको हो ।

    मन्त्रालयले अहिले कृषि, शिक्षा, बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्र, निजी क्षेत्र, अर्थविद्लगायतसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिसकेको छ । मन्त्रालयले हप्तामा दुई वटासम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिबाट बजेटबारे सुझाव संकलन गरिरहेको छ ।