Category: फिचर

  • भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायो अनुमति

    भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायो अनुमति

    काठमाडौं । नेपालले भारतीय बजारमा थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा प्रतिस्पर्धामार्फत थप ३२५ मेगावाट बिजुली विक्री गर्न अनुमति दिएको हो ।

    ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारत निर्यात गर्न अनुमति पाएको जानकारी दिएको हो ।

    योसँगै अब नेपालले कुल ३६४ मेगावाट बिजुली भारत निर्यात गर्न पाउने भएको छ । यसअघि गत कात्तिकमा नेपालले ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो ।

    गत साता प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा नेपालको थप बिजुली विक्रीका लागि बाटो खुलाउने बताएका थिए । लगत्तै भारतको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिरकण र निजी क्षेत्रले बनाएका आयोजनाको बिजुली विक्री गर्न अनुमति दिएको हो ।

    मन्त्रालयका अनुसार नेपालले दोस्रो चरणमा प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको ‘कालीगण्डकी ए’बाट १४० मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दीबाट ६८ मेगावाट, ६९ मेगावाटको मस्र्याङ्दीबाट ६७ मेगावाट र निजी क्षेत्रको ग्रीन भेन्चर्स लिको ५२.४ मेगावाटको लिखु–४ बाट ५१ मेगावाट गरी कुन ३२६ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको हो ।

    यसअघि नेपालले पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत्गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा विक्री गर्न अनुमति पाएको थियो ।

    प्राधिकरणले योसँगै ६ वटा विद्युत्गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा विक्रीका लागि स्वीकृति पाएको हो । देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुने छ ।

    विद्युत् निर्यात गर्ने बाटो खुलेसँगै वर्षायाममा उत्पादित विद्युत मुलुकभित्र खपत गरी अतिरिक्त विद्युत्को निर्यात भई दुई देशबीचको व्यापार घाटामा कमी आई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने मन्त्रालयले जनाएको छ ।

  • रोकिएन सेयर बजारको पहिरो, चार दिनमा ११५ अंकले घट्यो

    रोकिएन सेयर बजारको पहिरो, चार दिनमा ११५ अंकले घट्यो

    काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइबारदेखि लगातार दोहोरो अंकले घटेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । यस साताको चार दिनमा नेप्से झन्डै ११५ अंकले घटेको हो ।

    सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६६ करोडले घटेर २ अर्बभन्दा कममा सीमित भएको छ ।

    बुधबार सेयर बजार मापक सूचक नेप्से २३.३२ अंकले घटेर २४२८.७५ विन्दुमा आइपुगेको छ । यसदिन २२६ कम्पनीको १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँ बराबरको ४३ लाख ७२ हजार १७१ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल, अन्य र सामूहिक लगानी कोष समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । होटल समूह सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै २.७६ प्रतिशत घटेको छ ।

    आज करोबारमा आएको २२६ कम्पनीमध्ये जम्मा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, राष्ट्र उत्थान लघुवित्त ९ करोड र नबिल बैंक साढे ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    उच्च अंकले घटेको बजारमा आज नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत बढेको छ ।

    घट्दो बजारमा आज इमर्जिङ नेपालको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

    त्यसैगरी, राष्ट्र उत्थान लघुवित्तको ५.४७, बुद्धभूमि नेपाल ४.०१७, नयाँ सारथी लघुवित्त ३.९२, शिखर इन्स्योरेन्स ३.७५, माउन्टेन हाइड्रो, स्वाभिमान लघुवित्त, सबैको लघुवित्त, गोर्खा फाइनान्स, आइसीएफसी फाइनान्सको सेयर मूल्य ३ प्रतिशतले घटेको छ ।

  • पाकिस्तान भ्रमणमा पुनर्विचार गर्न अमेरिकाले गरायो आफ्ना नागरिकलाई सचेत

    पाकिस्तान भ्रमणमा पुनर्विचार गर्न अमेरिकाले गरायो आफ्ना नागरिकलाई सचेत

    काठमाडौं । अमेरिकाले पाकिस्तानमा बढ्दो राजनीतिक अस्थिरताका बीच यात्रामा पुनर्विचार गर्न आफ्ना नागरिकलाई सचेत गराएको छ । सो मुलुकको तर्फबाट ट्राभल एडभाइजरी जारी गर्दै आतंकवादी हमला तथा अपहरणका घटना घटेको भन्दै यात्रामा विचार गर्न भनिएको हो । पाकिस्तानमा पनि बलूचिस्तान र खैबर पख्तूनख्वा प्रान्तलाई बढी संवदनशिल मानिएको छ ।

    अमेरिकाले आफ्नो नागरिकलाई आतंकवादी गतिविधि भइरहेका र सशस्त्र संघर्ष जारी रहेको इलाकामा सकेसम्म नजान भनेको हो । आतंकी संगठनले पाकिस्तानमा लगातार आक्रमणको योजना बनाइरहेको सूचना प्राप्त भएसँगै अमेरिकाको तर्फबाट यस्तो सूचना जारी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । पछिल्लो समय पाकिस्तानमा राजनीतिक अस्थिरताले द्धन्द्ध बढेको छ ।

  • कंगोमा विद्रोहीको आक्रमणबाट घाइते एक नेपाली सैनिकको मृत्यु

    कंगोमा विद्रोहीको आक्रमणबाट घाइते एक नेपाली सैनिकको मृत्यु

    काठमाडौं । शान्ति स्थापनार्थ कंगोमा खटिएका नेपाली सैनिकमाथि भएको आक्रमणबाट घाइते भएका सैनिक जवानको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका महासचिवको तर्फबाट जारी एक शोक विज्ञप्तीमार्फत यसको पुष्टी गरिएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गरेको सेनाले जनाएको थियो । आक्रमणबाट एक जना नेपाली सेनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको शोक विज्ञप्तीमा उल्लेख छ ।

    सैनिकको परिचय भने गोप्य राखिएको छ । महासचिवले शोक विज्ञप्तिमा मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले शान्ति सेनामाथि भएको आक्रमणको निन्दा समेत गरेका छन् । नेपाली सेनाको मुख्यालयका अनुसार कर्डन एण्ड सर्चको कारबाही सञ्चालन गरी विद्रोहीको स्थान कब्जा गरिसकेको अवस्थामा अज्ञात स्थलबाट आक्रमण भएको थियो । आक्रमणबाट घाइते सैनिकलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएको थियो ।

    यस्तो छ विज्ञप्ती

    Statement attributable to the Spokesperson for the Secretary-General – on the Democratic Republic of the Congo 

    Farhan Haq, Deputy Spokesperson for the Secretary-General 

    The Secretary-General strongly condemns today’s attack against peacekeepers serving in the United Nations Organization Stabilization Mission in the Democratic Republic of the Congo (MONUSCO) in Bali, Djugu territory, Ituri province, by suspected members of the Coopérative pour le développement du Congo (CODECO) militia. The attack resulted in the killing of one peacekeeper from Nepal. 

    The Secretary-General expresses his deepest condolences to the family of the fallen peacekeeper, as well as to the Government and the people of Nepal.

    The Secretary-General recalls that attacks against United Nations peacekeepers may constitute a war crime. He calls on the Congolese authorities to investigate this incident and swiftly bring those responsible to justice. 

    The Secretary-General reaffirms that the United Nations, through his Special Representative in the Democratic Republic of the Congo, will continue to support the Congolese Government and people in their efforts to bring about peace and stability in the east of the country. 

  • स्थानीय तह निर्वाचनमा रातीमा प्रचार-प्रसार गर्न नपाइने

    स्थानीय तह निर्वाचनमा रातीमा प्रचार-प्रसार गर्न नपाइने

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने राजनीतिक दलले रातको समयमा प्रचार प्रसार गर्न नपाउने गरि निर्देशन दिएको छ । मंगलबार दलहरुलाई ६० बुँदे निर्देशन जारी गर्दै आयोगले यस्तो बताएको हो । मंगलबार आयोगले ६० बुँदे निर्देशन जारी गर्दै चुनावी प्रचारप्रसाको समय तोकेको छ । राजनीतिक दलले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै चुनाव प्रचारप्रसार गर्न पाउनेछन् । जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारको कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने भनि तोकिएको छ ।

    जुलुस, आमसभा वा प्रचारप्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी पा क्याप, भेष्ट टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा बोक्न नपाइने निर्देशनमा उल्लेख छ ।
    त्यस्तै, दलको झण्डा वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाइ सार्वजनिक प्रदर्शन गर्न वा गराउन पनि आयोगले रोक लगाएको छ ।


    आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने भएको छ । कुनै राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधान प्रयोग गरी मतदाताहरु ओसारपसार गर्न वा सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य राजनीतिक दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने आदेशमा उल्लेख छ ।

  • युक्रेन-रुस युद्धपछि जेलेन्स्कीले पहिलो पटक गरे संयुक्त राष्ट्रसंघमा सम्बोधन

    युक्रेन-रुस युद्धपछि जेलेन्स्कीले पहिलो पटक गरे संयुक्त राष्ट्रसंघमा सम्बोधन

    काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा सुनुवाइ गरिनुपर्ने भन्दै मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्‌बाट अलग गरिनुपर्ने माग गरेका छन्। आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेयता पहिलोपटक राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा उनी बोल्दै थिए। उता, रुसी फौजहरूले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपहरू बाहिर आएपछि संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले मस्कोविरुद्ध थप प्रतिबन्धहरू घोषणाको तयारी गरेका छन्।

    ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्थाहरू, क्रेम्लिनका अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताइन्। वाल स्ट्रिट जर्नलका अनुसार वासिङ्टनले रुसको सबैभन्दा ठूलो ब्याङ्कमाथि पनि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ। युरोपेली राजदूतहरूले बुधवार प्रतिबन्धहरूको पाँचौँ किस्ता घोषणा गर्दैछन् जसमा कोइलाको आपूर्तिमा रोक लगाउने र रुसको स्वामित्तव र सञ्चालनमा रहेका पानीजहाजहरूलाई इयुभित्रका बन्दरगाहको प्रयोग गर्न नदिने सहितका कदम छन्।

    यसअघि भिडिओ लिङ्कबाट राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा सम्बोधन गरेका जेलेन्स्कीले आफ्नो देशमा हमला गरेका फौजहरूले गरेका भनिएका अत्याचारहरूको विस्तृत विवरण उपलब्ध गराएका थिए। देशको उत्तरी भागबाट रुसी फौज फिर्ता भएपछि त्यसबारे जानकारी आएको उनले उल्लेख गरे। उनले युक्रेनी भूभाग कब्जा गरेका फौजहरूले ुमनोरञ्जन लिनका लागि मात्र समेतु मानिसहरूको हत्या गरेको र तिनीहरूलाई यताना दिएको जनाए। जेलेन्स्कीले एउटा ग्राफिक्स भिडिओ पनि प्रस्तुत गरेका थिए जसमा मृत युक्रेनीहरू देखाइएको थियो।

    (बीबीसी)

  • अभिनेता भुवन केसी काठमाडौंको मेयरमा उठ्ने

    अभिनेता भुवन केसी काठमाडौंको मेयरमा उठ्ने

    काठमाडौं । अभिनेता भुवन केसी काठमाडौंको मेयर पदमा निर्वाचन लड्ने भएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा उनी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएका हुन् । पार्टीको मंगलबार साँझ काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो ।

    पार्टीले केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको अध्यक्षको जिम्मेवारी पनि दिएको छ । यसअघि अभिनेता केसी राप्रपा जान लागेको चर्चा थियो । पार्टीले रेश्मा लामालाई काठमाडौं महानगरपालिकाको उपमेयर पदको उम्मेदवार बनाउने भएको छ । उन्नत लोकतन्त्र पार्टीको चुनाव चिन्ह खुला किताब हो ।

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाने पकाउने ग्याँसमा २५ रुपैयाँ वृद्धि

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाने पकाउने ग्याँसमा २५ रुपैयाँ वृद्धि

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले गत रातीबाटै लागु हुने गरि मूल्य वृद्धि भएको जानकारी गराएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढेको हो । अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ । डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

    निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । मंगलबार अर्थमन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको थियो । अब सञ्चालक समितिले निर्णय गरेर एकमहिनाभित्रै स्वचालित बनाउने तयारी छ । यसो भएमा इन्धनको मूल्य थप बढ्ने बताइएइको छ । निगमलाई पेट्रोलको मूल्यमा प्रति लिटर १८२ रुपैयाँ ९८ पैसा लागत छ । मट्टितेलको १३६ रुपैयाँ ३१ पैसा र डिजेलको १७१ रुपैयाँ लागत रहेको निगमले जनाएको छ ।

  • सोमबार एमाले प्रवेश गरेका बेनिघाट गाउँपालिकाका अध्यक्ष पित्तबहादुर मंगलबार माओवादी मै फर्किए

    सोमबार एमाले प्रवेश गरेका बेनिघाट गाउँपालिकाका अध्यक्ष पित्तबहादुर मंगलबार माओवादी मै फर्किए

    काठमाडौं । सोमबार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) मंगलबार भने नेकपा माओवादी केन्द्रमा मै फर्किएका छन् । उनले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट माला लगाएका थिए । तर, मंगलबार भने विज्ञप्ति नै निकालेर आफू माओवादी केन्द्रमा मै रहेको उल्लेख गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘म भित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर आत्माआलोचना गर्न चाहन्छु ।’ उनी झण्डै १५ वर्ष अगाडि एमाले नै थिए । माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी माओवादी बनेका थिए । गत स्थानीय तहको निर्वाचनमा धादिङबाट स्थानीय तहको प्रमुख पदमा निर्वाचित हुने उनी माओवादीका एक्ला उम्मेदवार थिए ।

  • हिमाल चढ्न अनुमति लिने बढ्दै, कुन हिमालमा कति ?

    हिमाल चढ्न अनुमति लिने बढ्दै, कुन हिमालमा कति ?

    काठमाडौं । हिमाल चढ्न अनुमति लिने विदेशी तथा स्वदेशी आरोहीको संख्या निरन्तर बढ्दैछ । मंगलबारसम्म सगरमाथा आरोहणका लागि मात्र यो सिजनमा १६ समूहका १३८ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्यांकले देखाएको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म ३३ महिला र १०५ जना पुरुष गरी १३८ जनाले सगरमाथाका लागि अनुमति लिएका हुन् । यी आरोही विभिन्न १६ वटा समूहमा सगरमाथामा जाने भएका छन् ।

    सगरमाथा चढ्ने आरोहीबाट मात्र सरकारले १७ करोड १९ लाख ६४ हजार ८५० रुपैयाँ रोयल्टी उठाएको छ । सगरमाथापछि अमादब्लम हिमालका लागि बढी आरोहीले अनुमति लिएका छन् । तथ्यांक अनुसार मंगलबारसम्म सो हिमालका लागि ३९ जनाले अनुमति लिएका छन् । जसमा ७ जना महिला छन् । तथ्यांक अनुसार मंगलबारसम्म कुल १५ वटा हिमालका लागि आरोहण अनुमति जारी भइसकेको छ । यसमा ६ हजार मिटर भन्दा अग्ला हिमालहरु रहेका छन् ।

    विभागका अनुसार ल्होत्सेका लागि ३३, अन्नपूर्ण प्रथमका लागि २६, नुप्त्सेका लागि २३, द्यौ धौलागिरिका लागि २१ र मकालुका लागि १५ जनाले अनुमति लिएका छन् । ती हिमालमा कुल ३ सय ६६ जना आरोहीले अनुमति लिएका छन् । जसमा ८५ जना महिला रहेका छन् । पुरुषको संख्या २८१ रहेको छ ।

  • सिलवालको रिट खारेज, राखेपमा सदस्य सचिव घिसिङलाई काम गर्ने बाटो खुल्यो

    सिलवालको रिट खारेज, राखेपमा सदस्य सचिव घिसिङलाई काम गर्ने बाटो खुल्यो

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ ।

    न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले मंगलबार सिलवालको रिट खारेज गरिदिएका हुन् ।

    राष्ट्रिय खेलकुद परिषदको सदस्य-सचिवबाट हटाउने सरकारको निर्णयविरूद्ध रमेशकुमार सिलवाल सर्वोच्च अदालत गएका थिए ।

    रिट खारेज भएसँगै अब सरकारले नियुक्त गरेका टंकलाल घिसिङले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको रूपमा काम गर्न बाटो खुलेको छ ।

    सिलवाललाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक १ गते सदस्य सचिवबाट बर्खास्त गरेको थियो।

    सरकारले सिलवाललाई हटाएर गएको मंसिर १३ गते घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।

  • ट्युसन पढ्न हिँडेकी १७ वर्षीया कविताको हत्यामा उनकै सहपाठीको संलग्नता

    ट्युसन पढ्न हिँडेकी १७ वर्षीया कविताको हत्यामा उनकै सहपाठीको संलग्नता

    काठमाडौं, २२ चैत । उदयपुरको बेलका नगरपालिका–३ मा भएको विद्यार्थी कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको छ।

    उदयपुरको वडा नम्बर(३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको हो।

    उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

    वियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले १९ वर्षीय विनोद ढकाल र १७ वर्षीया नाबालिकालाई पक्राउ गरेको छ ।

    पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० मा पढ्थिन् ।

    उनीहरु अध्ययनरत विद्यालयले एसईई आउन लागेपछि बिहानैदेखि ट्युसन कक्षा राखेको थियो।

    मंगलबार ट्युसन पढ्न हिँडेकी कविताको शव घरबाट केही सय मिटर दूरीको यशोदा खोला भेटिएको थियो ।

  • नेपालमा ५५८७ नमुना परीक्षणमा २४ जनामा कोरोना पुष्टी

    नेपालमा ५५८७ नमुना परीक्षणमा २४ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको पीसीआर परीक्षण गर्दा २१ जना र २ हजार ३०९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ गरी २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ५२८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६५ हजार ७६५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८१२रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

  • चोभार सुख्खा बन्दरगाहको उद्घाटन, आयात तथा निर्यातकर्ता दुवैलाई सहज

    चोभार सुख्खा बन्दरगाहको उद्घाटन, आयात तथा निर्यातकर्ता दुवैलाई सहज

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन्।

    मंगलवार वीरगञ्जबाट डिजिटल लक लगाएर आएको मालबाहक कन्टेनर बहुप्रतिक्षित बन्दरगाहमा प्रवेश गराई उद्घाटन गरेका हुन्।

    गत असारमा निर्माण सम्पन्न भएको चोभारको सुख्खा बन्दरगाह हालसम्म सञ्चालनमा आउन सकेको थिएन।

    सञ्चालनमा आएसँगै वीरगञ्ज भन्सारमा ‘डिजिटल लक’ गरेर आन्तरिक परिवहन सुविधा अन्तर्गत काठमाडौं आएका ती कन्टेनरसँगै अब स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो खुलेको छ ।

    विश्व बैंकको ऋण सहयोगमा बनेको बन्दरगाहको लागत एक अर्ब ५३ करोड रूपैयाँ हो।

    दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक पार्किङ गर्न सकिन्छ। त्यस्तै, परियोजनाअन्तर्गत पाँच सयसम्म कन्टेनर राख्न मिल्ने गरी यार्ड बनाइएको छ।

    यातायात विकास समिति र भन्सार विभागको संयुक्त सहकार्यमा सञ्चालनमा ल्याउने तयारी भइरहेको हुनाले आयातकर्ता तथा निर्यातकर्तालाई सहज हुनेछ।

  • सत्ता गठबन्धनका ‘चुनावी कमाण्डर’ रामचन्द्र पौडेल,समितिले पायो पूर्णता

    सत्ता गठबन्धनका ‘चुनावी कमाण्डर’ रामचन्द्र पौडेल,समितिले पायो पूर्णता

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले पूर्णता पाएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धन बैठकले समितिलाई पूर्णता दिएको हो ।

    गठबन्धनले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय ‘स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति’ बनाएको छ ।

    समितिमा कांग्रेसका तर्फबाट सदस्यमा महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट सचिवालय सदस्यद्वय वर्षमान पुन र देव गुरुङ छन्।

    यस्तै नेकपा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जनता समाजवादी पार्टीबाट वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारणी समिति सदस्य रेणु यादव तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीलाई सदस्य बनाइएको छ।

  • नेपाल टाइफाइडविरुद्धको खोप अभियान शुरु गर्ने दक्षिण एसियामै पहिलो राष्ट्र

    नेपाल टाइफाइडविरुद्धको खोप अभियान शुरु गर्ने दक्षिण एसियामै पहिलो राष्ट्र

    काठमाडौं । सरकारले चैत २५ देखि देशभरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ।

    मंगलबार पत्रकार सम्मेलन गरि सरकारले सरकारले पहिलो पटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागेको जनाएको हो ।

    यो अभियान आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म चल्ने जनाएको छ। १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिनेछ ।

    २४ दिने राष्ट्रव्यापी अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ।

    अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए ।

    खोपको प्रभावकारिताको अध्ययनले टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेको डा लालको भनाइ छ ।

    टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेकोले राष्ट्रिय खोप सल्लाहकार समितिबाट १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको थियो।

    विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ।

    यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाले जनाएको छ।

    नेपालमा हाल दिन लागिएको खोप टाइफाइड कन्ज्युगेट भ्याक्सिन हो । यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र यो विश्वका धेरै देशमा प्रयोग भइरहेको छ ।

    टाइफाइड बारे जानकारी

    टाइफाइड साल्मोनेला टाइफी(Salmonella Typhi)बाट हुने गम्भीर रोग हो जुन ढल वा संक्रमित व्यक्तिको दिसाामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ ।

    यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने,जिउदुख्ने, पसिना आउने ,पखाला लाग्ने र बान्ताहुने हुन्छ साथै कहिलेकाहीँ ज्यानै जान पनि सक्छ ।

    विगत ५ वर्षको तथ्याँकअनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड रोग संक्रमण पुष्टि भएको पाईएको छ ।

    विगत ३ वर्षको तथ्यांकअनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरु मध्ये तेश्रो र अस्पताल भर्ना हुने कारणहरु मध्ये यो रोग चौथो कारणमा रहेको देखिएको छ ।

    यो रोगको संक्रमण सबै उमेर समूहमा हुन्छ तर १५ वर्ष मुनीकाबालबालिकामाअन्य उमेर समूहभन्दा बढी संक्रमण देखिएको छ ।

    त्यस्तै पछिल्लो Global Burden of Disease Analysis २०१९ अनुसार नेपालमा ८२,४४९ टाइफाइडका बिरामीहरु रहेको अनुमान गरेको छ ।

    जसमध्ये ६० प्रतिशत १५ वर्ष भन्दाकम उमेर समूहका बालबालिका रहेका छन् । हालसालैको तथ्याङ्कले औषधि प्रतिरोधी टाइफाइडमा वृद्धि भएको पनि देखाउँछ ।

  • नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम बढ्यो

    नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम बढ्यो

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ४६.४६ अंकले घटेर २४५२.६ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२८ कम्पनीको २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सोमवार १ अर्ब ५८ करोड ४६ लाख ९१ हजार ५६२ रुपैयाँरुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचम मध्ये १२ वटाको घटेको छ भने एक वटाको बढेको छ । अन्य समूह सबैभन्दा धेरै ३.६६ प्रतिशतले घटेको छ ।

    दुई कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    नेप्सेका अनुसार आज इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

    त्यसैगरी, नारायणी विकास बैंक ६.३७, युनाइटेड इदीमर्दी ६.०१, जनरल इन्स्योरेन्स ५.६९, नेपाल टेलिकम, लाइफ इन्स्योरेन्स कर्पोरेशन, राष्ट्रिय बीमा कम्पनी, मिर्मिरे माइक्रोफाइनान्स लगायत १ दर्जन कम्पनीको शेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमेटेडको भएको छ । यस कम्पनीको आज ९ करोड ६७ लाख भन्दा बढीको कारोबार भएको छ ।

    त्यसैगरी, नबिल बैंक साढे ८ करोड र नेपाल लाइफ इन्स्योरेन्स साढे ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • बुचा शहरमा रुसी सेनाले नरसंहार गरेको युक्रेनको दावी, यातना दिएर ३ सय मानिसको हत्या

    बुचा शहरमा रुसी सेनाले नरसंहार गरेको युक्रेनको दावी, यातना दिएर ३ सय मानिसको हत्या

    काठमाडौं (बीबीसी) । किएभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला ३०० भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको आरोप लगाएका छन्। सम्बोधनका क्रममा जेलेन्स्कीले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी दिए।

    उनले हाल आफूहरूसँग बुचामा मात्रै ३०० भन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेको बताउँदै पुरै सहरमा अनुसन्धान गरिदाँ पीडितहरूको सङ्ख्या अझ ठूलो हुनसक्ने बताए। किएभ सहितका क्षेत्रका जिल्लाहरूमा रुसी सेनाले पकड स्थापित गरेका बेला स्थानीयबासीहरूले ८० वर्ष अघि नाजीहरूले कब्जा गर्दा समेत नदेखेका काम रुसी सेनाले गरेको उनले बताए।

    जेलेन्स्कीले रुसी सेनाले बुचा सहित अन्य सहरहरू कब्जा गरेको बेला गरेका अपराधहरूको पूर्ण र पारदर्शी अनुसन्धान गर्न आफ्नो सरकार इच्छुक रहेको पनि बताएका छन्। बुचा सहित किएभ नजिक रहेका अन्य स्थानहरूको भ्रमण पश्चात् जेलेन्स्कीले रुसी सेनाले सहरहरू ध्वस्त पारेको, अपहरण गरेको, यातना दिएको अनि सर्वसाधारणहरूलाई मारेको प्रशस्त प्रमाण फेला परेको बताएका छन्।

    जेलेन्स्कीले आफ्नो सरकारले त्यस्तो कार्यमा संलग्न रुसी सेनाको पहिचान गर्ने सबै खाले प्रयास गरिरहेको बताउँदै रुसी सेनाबाट पीडित सर्वसाधारणहरूको सङ्ख्या अन्य स्थानमा अझ धेरै हुनसक्ने सूचना रहेको चेतावनी दिए। युक्रेनमा रुसी सेनाले गरेको भनिएको अत्याचारका थप प्रमाणहरू फेला परिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले त्यसको निन्दा गरेका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन माथि युद्ध अपराध बारे अनुसन्धान गरिनुपर्ने बताए।

    युक्रेनको राजधानी किएभ नजिकै रहेको बुचा नगरमा भएको घटनालाई बाइडनले निकृष्ट अपराधको संज्ञा दिए। रुसी सेना उक्त सहरबाट फर्किएसँगै त्यहाँ दर्जनौँ सर्वसाधारणको शव र धेरै मानिसको चिहान फेला परेको बताइएको छ। बीबीसीका एक जना संवाददाता बुचास्थित एउटा घरको भुइँतल्लामा पुगेका थिए जहाँ हात बाँधिएको अवस्थामा पाँच जना सर्वसाधारणको शव फेला परेको थियो।

    संयुक्त राष्ट्र सङ्घका लागि मस्कोका राजदूतले भने बुचामा भएका घटनाहरूबारे पश्चिमा राष्ट्रहरूले झुट बोलेको देखाउने तथ्यपरक प्रमाणहरू आफ्नो देशले राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा प्रस्तुत गर्ने बताएका छन्। न्यूयोर्कमा भएको पत्रकार सम्मेलनमा उनले युक्रेनमाथि बनावटी प्रमाणहरू तयार पारेको बताए। साथै आफ्नै देशका मानिस विरुद्ध ुफल्स फ्ल्यागु आक्रमण अर्थात् विपक्षीलाई आरोप लगाउने उद्देश्य सहित अघि बढाइएको राजनीतिक वा सैन्य कारबाही चलाएको आरोप उनले लगाएका छन्

  • निर्वाचनमा भाग लिने दलसँग सामुहिक छलफल गर्दै निर्वाचन आयोग

    निर्वाचनमा भाग लिने दलसँग सामुहिक छलफल गर्दै निर्वाचन आयोग

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा भाग लिने राजनीतिक दलसँग निर्वाचन आयोगले सामुहिक छलफल गर्ने भएको छ। मंगलबार बिहान ११ः३० मा दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो। आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको बताइएको छ । आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि गर्नेछ।

    स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ । ०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो। छलफलमा आउने सुझावका आधारमा प्रतिबद्धतापत्र तयार गरी सवै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने तयारी समेत आयोगको छ । स्थानीय तहको निर्वाचन ३० वैशाखमा तोकिएको छ ।

  • काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाह आजबाट संचालनमा आउने

    काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाह आजबाट संचालनमा आउने

    काठमाडौं । काठमाडौंको चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आउने भएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गर्ने छन् । बन्दरगाह नेपाल इन्टरमोडल यातायत विकास समितिमार्फत संचालनमा आउन लागेको हो । काठमाडौं सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि समुन्द्री बन्दरगाह हुँदै व्यवसायीहरुले भित्र्याएको माल वस्तु सिधै काठमाडौंमै जाँच पास गर्न सकिन्छ । यसले आयात तथा निर्यात लागत कम हुने बताइएको छ ।

    वीरगञ्ज नाकाबाट मालवस्तु बोकेर डिजिटल लकिङ लगाएर काठमाडौं आएका कन्टेनरलाई बन्दरगाहमा भित्र्याउँदै आज बन्दरगाह सञ्चालनको घोषणा गरिने भएको छ । यसअघि सरकारले बन्दरगाह सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरेको थियो । बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा, आन्तरिक पारीबहनको सुविधा, चार किल्ला निर्धारण, भन्सार प्रमुख नियुक्ति र सुरक्षाको प्रबन्ध बन्दरगाहमा भइसकेको छ । बन्दरगाहभित्र रहने भन्सार, क्वारेन्टिन र प्रशासन संरचनामा जनशक्ती परिपूर्ति भइसकेको छ ।

    अब मंगलबारदेखि नेपाली व्यवसायीले समुन्द्री बन्दरगाह हुँदै तराईका पाँच नाकाबाट आयात गर्ने माल वस्तु बोकेको कन्टेनर सीमा क्षेत्रमा आवश्यक प्रक्रिया पुर्‍याएपछि सिधै काठमाडौं आउनेछन् । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६० करोड लागतमा बन्दरगाह र करिब २० करोडमा इन्टरमोडल यातायात विकास समितिको प्रशासनिक संरचना निर्माण गरिएको हो ।

  • अर्थमन्त्रीले भने : एमसिसी परियोजनाको कार्यान्वयन छिटो शुरु गरौं

    अर्थमन्त्रीले भने : एमसिसी परियोजनाको कार्यान्वयन छिटो शुरु गरौं

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउन आग्रह गरेका छन् । सोमबार साँझ अर्थमन्त्री शर्माको नेतृत्वमा एमसिसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसिसीको नेपालस्थित राष्ट्रिय निर्देशक (निमिक्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दुतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्रालयका प्रतिनिधिबीच भर्चुअल बैठकमा उनले यस्तो आह्वान गरेका हुन् ।

    बैठकमा अर्थमन्त्री शर्माले परियोजनाको कार्यान्वयन अवधि एक बर्ष बाँकी रहेको देखिएकाले त्यति ढिला गर्न नहुने बताएको अर्थ मन्त्रालयले जानकारी गराएको छ । ‘एक बर्षे कार्यान्वयन अवधि मेरा लागि धेरै लामो समय भयो, हामी छिटो भन्दा छिटो काम शुरु गर्न चाहन्छौं । त्यसका लागि एमसिसीले पनि आवश्यक तयारी गरोस् भन्न चाहन्छु’ उनले भने ।


    संसद्बाट अनुमोदन भएपछि एमसिसी र अर्थमन्त्री शर्माबीच पहिलो पटक बैठक भएको हो । त्यसक्रममा उनले एमसिसी अनुमोदन प्रकृयामा केही समस्या देखिएपनि कार्यान्वयन चरणमा गएपछि कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता पनि जनाएका छन् । ‘एमसिसी आर्थिक परियोजना हो र यो चाँडै अगाडी बढ्छ भन्ने कुरामा आम नेपालीलाई विश्वास भइसकेको छ ।

    त्यसैले अब एक बर्ष भित्र कार्यान्वयन गर्ने भनेर समय तोक्ने होइन, जतिसक्छो छिटो परियोजना कार्यान्वयन गर्न थाल्नुपर्छ’ उनले भने । एमसिसी बिशुद्ध आर्थिक परियोजना भएको विषयमा सरकार स्पष्ट भएपनि विभिन्न कारणले राजनीतिकरण भएको उनको भनाई छ ।


    धेरै समस्या र चुनौतीका बाबजुत एमसीसी स्वीकार गर्ने निर्णय भएको भन्दै उनले परियोजना कार्यान्वयनमार्फत नेपालको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिएको बताए ।सो क्रममा एमसिसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्सले नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडी बढाउन परियोजनाले सघाउने बताए । उनले एमसिसी अनुमोदनका लागि अर्थमन्त्रीले गरेको नेतृत्वका लागि धन्यवादसमेत दिए ।

    ‘परियोजना अनुमोदनका लागि तपाईले गरेको नेतृत्वदायी भूमिकाका लागि विशेष धन्यवाद दिन चाहन्छु । परियोजनाबाट धेरै राम्रा र ठूला काम गरेर देखाउनुपर्नेछ’ डेपुटी भाइस प्रेसिडेन्ट ब्रुक्सले भभने । उनले परियोजनाको कार्यान्वयन छिटो भन्दा छिटो अगाडी बढोस् भन्ने आफुहरुको पनि चाहना भएको र नेपालको तयारी अनुसार नै छिट्टै काम अगाडी बढाउने प्रतिबद्धता जनाएको समेत मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

  • नेपालका लागि भारतीय राजदुत क्वात्रा विदेश सचिव बने

    नेपालका लागि भारतीय राजदुत क्वात्रा विदेश सचिव बने

    काठमाडौं । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा सो मुलुकको विदेश सचिव नियुक्त भएका छन् । भारत सरकारले सोमबार क्वात्रालाइ विदेश सचिव नियुक्त गरेको जानकारी गराएको छ । क्वात्रा यसअघि फ्रान्सको राजदूत समेत थिए । उनी भारतको कुटनीतिक सेवामा ३२ वर्ष बिताएका अनुभवी कुटनीतिज्ञ हुन् ।

    उनले भारतीय प्रधानमन्त्रीको कार्यालयमा सहसचिवका रुपमा समेत काम गरेका छन् । भारतका अहिलेका विदेश सचिव हर्षवद्र्धन शृंगलाले अवकास पाउने भएपछि क्वात्राले यो जिम्मेवारी पाएका हुन् । क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए । भारतले नेपालमा महत्वपूर्ण व्यक्तिलाई राजदूत बनाउने गरेको छ ।

  • नेपालमा ५०५९ जनाको परीक्षण गर्दा ३३ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य

    नेपालमा ५०५९ जनाको परीक्षण गर्दा ३३ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जना र २ हजार ११७ जनाको एन्टिजेन परीक्षण गर्दा १ गरी ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ५०७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६५ हजार ७१४ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८४२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

  • त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखला नेपाललाई,दीपेन्द्र र करणको उत्कृष्ट प्रदर्शन

    त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखला नेपाललाई,दीपेन्द्र र करणको उत्कृष्ट प्रदर्शन

    काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

    नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ ओभर २ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयो । पपुवा न्युगिनी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए ।

    बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । यस्तै करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।

    नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे।

    उनले नटआउट ५४ रन जोडे। टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गरेका दीपेन्द्रले खेलमा ३८ बल खेलेर ५ चौका प्रहार गरे ।

    करण केसीले पनि उत्कृष्ट ब्याटिङ गरे। उनले १२ बलमा नटआउट ३३ रन जोडे। करणले ५ चौका र १ छक्का प्रहार गरे। करण र दीपेन्द्रबीच अन्तिम चार ओभरमा ५६ रनको साझेदारी भएको थियो।

    नेपालका ओपनरद्वय कुशल भुर्तेल २५ रन र आसिफ शेख २९ रनमा आउट भएका थिए।

    रोहित पौडेलले २ रन भन्दा बढी जोड्न सकेनन्। आसिफ र दीपेन्द्रबीच तेस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो।

    सन्दीपको कप्तानीमा नेपालले जितेको यो पहिलो उपाधि हो ।

  • चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

    चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

    काठमाडौं । पाँच दलीय गठबन्धनले चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने सहमति भएको हो ।

    चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति पत्रमा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इञ्चार्ज कृष्ण प्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन् ।

    बैठकपछि जारी प्रेस विज्ञप्तिमा गठबन्धनमा सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय भएको उल्लेख छ । तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

    सरकारले स्थानीय तहको निर्वाचनका मिति अगामी वैशाख ३० गते तोकेको छ । स्थानीय तहको मिति नजिकिए सँगै राजनीतिक दलहरुले चुनावको तयारीमा तिव्रता दिएका छन् ।

  • तीन एआईजी बढुवाविरुद्धको मुद्दा आज पनि हेर्न नमिल्नेमा

    तीन एआईजी बढुवाविरुद्धको मुद्दा आज पनि हेर्न नमिल्नेमा

    काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ ।

    गोलाप्रथाबाट पेशी तोक्दा न्यायाधीश कुमार रेग्मीकै एकल इजलासमा यी रिट परेपछि हेर्न नमिल्ने सूचीमा राखिएको छ ।

    यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आइतबार पनि रेग्मीकै इजलासमा उक्त मुद्दा राखिएको थियो ।

    प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

    गृह सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीन डीआईजीलाई एआईजी पदमा बढुवा गर्न सिफारिस गरेको थियो ।

    सरकारले वरीयता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै असन्तुष्ट तीन डीआईजी सर्वोच्च अदालत गुहार्न पुगेका हुन्।

    रिटमा उनीहरूले कनिष्ठ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिँदा आफूहरूमाथि विभेद भएको भन्दै बढुवा सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन् ।

    सर्वोच्च जानुअघि उनीहरूले बढुवाविरुद्धको सुनुवाइ समिति पुगेर उजुरी दिएका थिए । समितिले बढुवा गर्ने निर्णयमा कैफियत नदेखिएको ठहर गरेको थियो ।

    त्यसपछि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस भएका डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई बढुवा गर्ने निर्णय गरेको थियो ।

    वरीयता क्रममा पन्त तेस्रो, सिंह छैटौं र धानुक आठौं स्थानमा थिए । वरीयता क्रममा आफुभन्दा पछि रहेकालाई एआईजीमा बढुवा गरेको भन्दै उनीहरू अदालत पुगेका हुन् ।

    तर रिटको सुनुवाइ ढिला भइरहँदा उनीहरुको अवकाश हुने दिन नजिकिँदै गएको छ। तीनै डीआईजी वैशाख १९ गते अनिवार्य अवकाशमा जाँदै छन्।

    एआईजीबाटै सरकारले एक जनालाई प्रहरी महानिरीक्षक नियुक्त गर्छ । त्यसका लागि चार जना दाबेदार मानिनेछन् ।

  • शेयर बजारको ओरालो यात्रा कायमै, परिसूचक २४०० मा ओर्लियो

    शेयर बजारको ओरालो यात्रा कायमै, परिसूचक २४०० मा ओर्लियो

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.०९ अंकले घटेर २४९७.३२ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको १ अर्ब ५८ करोड ४६ लाख ९१ हजार ५६२ रुपैयाँ बराबरको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । आइतवार १ अर्ब ४६ करोड ७ लाख ७३ हजार २२९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक घटेको छ ।

    घट्दो बजारमा राष्ट्र उत्थान, नेष्डो लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    कारोबारको आधारमा सबैभन्दा बढी इमर्जिङ नेपाल शेयर किनबेच भएको छ । यस कम्पनीको ६ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा नबिल बैंकको ५ करोड ६६ लाख बढीको कारोबार भएको छ । नेप्सेका अनुसार आज सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ५.६६ प्रतिशतले घटेको छ ।

  • कोरोनाका कारण पढ्न विदेश जानबाट रोकिएकाले शुक्रबार सम्म पुनः निवेदन दिन सक्ने

    कोरोनाका कारण पढ्न विदेश जानबाट रोकिएकाले शुक्रबार सम्म पुनः निवेदन दिन सक्ने

    काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अध्ययन गर्न पुगेर फर्केका र पुनः जान नपाएका विद्यार्थीले आगामी शुक्रबारसम्म निवेदन दिन सक्ने भएका छन् । सरकारले खासगरि चीनबाट फर्किएका विद्यार्थीलाई लक्षित गरि यस्तो सुविधा ल्याएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना निकाल्दै आगामी शुक्रबारसम्म पुनः निवेदन दिन भनेको छ ।

    कोरोना महामारीका कारण चीन लगायत देशबाट फर्किएका विद्यार्थीले अध्ययनका लागि पुनः सम्बन्धित देश जान आउँदो शुक्रबारसम्म मन्त्रालयमा निवेदन दिन सक्ने शिक्षा मन्त्रालयको सूचनमा उल्लेख छ । कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए । कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका उनीहरुलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन भनेको छ ।

  • चरम आर्थिक संकट र जनप्रदर्शनबीच श्रीलंकामा २६ मन्त्रिले दिए सामूहिक राजीनामा

    चरम आर्थिक संकट र जनप्रदर्शनबीच श्रीलंकामा २६ मन्त्रिले दिए सामूहिक राजीनामा

    कोलम्बो (बीबीसी) । दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन्। मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन्। यसअघि कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए।

    श्रीलङ्का सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ। यो आंशिक रूपमा विदेशी मुद्राको अभावले गर्दा भएको हो, जुन इन्धन आयातको भुक्तान गर्नका लागि प्रयोग गरिन्छ। लगभग आधा दिन लोडसेडिङ, खाद्यान्न, औषधि अनि इन्धनको अभावका कारण सर्वसाधारणहरू क्रुद्ध भएका छन्। श्रीलङ्काका शिक्षामन्त्रीले आइतवार मन्त्रीपरिषद् सदस्यहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताए।

    राजीनामा गर्नेमा प्रधानमन्त्रीका छोरा पनि छन्। खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन चर्किएपछि श्रीलङ्कामा सरकारले ३६ घण्टाका लागि कर्फ्यु घोषणा गरेको थियो। त्यसको अघिल्लो दिन राष्ट्रपति गोटाबय राजपक्षको निवास नजिकै झडप भएको थियो। उनको कोलम्बोस्थित निवासबाहिर विरोध प्रदर्शन शान्तिपूर्ण रूपमै सुरु भएको थियो। तर प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि तथा मानिसहरूलाई कुटपिट गर्न थालेपछि प्रदर्शन हिंसात्मक भएको सहभागीहरूको भनाइ छ।

    भिडन्तमा कम्तीमा दुई दर्जन सुरक्षाकर्मी घाइते भएको एक अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन्। श्रीलङ्कामा मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा रोक लगाइएको छ। त्यहाँ केही समयका लागि सामाजिक सञ्जालको पहुँचमा अवरोध गरिएको थियो। अहिलेको विरोध प्रदर्शनका कारण राष्ट्रपति राजपक्षको लोकप्रियता घटेको छ। सन् २०१९ मा भएको निर्वाचनमा उनी अत्यधिक मतसहित विजयी भएका थिए। उनले देशमा स्थिरता र शासन गर्न सबल नेतृत्व दिने वाचा गरेका थिए।

  • बाह्रबिसेमा ग्यास सिलिण्डर पड्किँदा तीन बालबालिकाको मृत्यु

    बाह्रबिसेमा ग्यास सिलिण्डर पड्किँदा तीन बालबालिकाको मृत्यु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किएर भएको घटनामा तीन बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार घटना भएको हो । बेलुकी ७ बजे ग्याँस सिलिण्डर पड्किएर घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

    सो क्रममा उनका १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङका साढे २ वर्षीया छोरी दिव्याको ज्यान गएको हो । आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । आगलागीबाट मीनबहादुर समेत घाइते भएको र उनको उपचार चलिरहेको बताइएको छ ।