Category: फिचर

  • अर्जुन दास हत्याका आरोपित तीन महिनापछि पक्राउ

    अर्जुन दास हत्याका आरोपित तीन महिनापछि पक्राउ

    काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    महानगरीय अपराध महाशाखाको टोलीले घाँटी छिनालेर रुखमा झुन्ड्याइएको अवस्थामा फेला परेका अर्जुनको हत्या आरोपमा मनोज भण्डारीसहित चारजनालाई रुपन्देहीको सिदार्थनगर नगरपालिका-१ बेलहिया सीमानाकाबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बम बोहरा रहेका छन् । उनीहरू चारै जना १९ वर्षीय हुन् ।

    भारतमा लुकिछिपी बसेका उनीहरूलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    दास हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ। हत्यापछि मनोजले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो।

  • सम्झौता कार्यान्वयन नगरे सत्याग्रह बस्ने डा. केसीको चेतावनी,यस्ता छन् माग

    सम्झौता कार्यान्वयन नगरे सत्याग्रह बस्ने डा. केसीको चेतावनी,यस्ता छन् माग

    काठमाडौं । मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गर्दै आएका चिकित्सक गोविन्द केसीले पुनस् सत्याग्रहको चेतावनी दिएका छन्।

    यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् ।

    अहिले देशमा स्थानीय चुनावको माहोल भए पनि स्वास्थ्य र शिक्षाका मुद्दाले खासै प्राथमिकता पाउन नसकेको भन्दै डा. केसीले आज एक विज्ञप्ति जारी गर्दै सरकारसँग विभिन्न माग समेत राखेका छन्।

    यही अवस्था अर्को पाँच वर्ष पनि दोहोरिने हो भने देशको स्वास्थ्य प्रणाली पूर्ण रुपमा धराशायी हुने निश्चित भएकाले आसन्न स्थानीय र त्यसपछिको प्रादेशिक तथा आम चुनावमा पार्टीहरुको सही प्राथमिकता सुनिश्चित गर्नु अनिवार्य बनेको छ,’ उनले भनेका छन्, ‘त्यसैले देशको स्वास्थ्य प्रणालीमा सुधार गर्नका लागि सरकार र मुख्य राजनीतिक दलहरुलगायत सबै सरोकारवालासमक्ष निम्न मागहरु प्रस्तुत गर्दर्छौं । यी माग पूरा नभएमा कुनै पनि बेला सत्याग्रह शुरु गर्ने जानकारी गराउन चाहन्छौं ।’

    यस्ता छन् डा. केसीका माग:

    – तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस्। जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित गरियोस्।

    – संविधानले सबैका लागि निःशुल्क आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस्। सरकारले तोकेको सुची अनुसारका सबै औषधिहरु आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस्।

    – स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस्। देशभर दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस्।

    – स्वास्थ्य चौकीदेखि जिल्ला/ प्रदेश अस्पतालहरुका वरिपरि च्याउझैं खुलेका तर मापदण्ड नपुर्याई जथाभावी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्थाहरु बन्द गरेर दोषीहरुलाई दण्डित गरियोस्। प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य सेवा कार्यालय र अस्पतालहरुलाई गैरचिकित्सक नभई चिकित्सकहरुको मात्र नेतृत्व दिने व्यवस्था गरियोस्।

    – स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरियोस्। विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङ लगायत मधेश र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गरियोस् ताकि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउन्।

    – हामीसँग समझौता भए अनुरुप डोटी वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा पनि तुरुन्त सरकारी मेडिकल कलेज निर्माण गरियोस् र कैलाली गेटामा अर्को वर्षदेखि एमबिबिएस लगायतका कार्यक्रमहरुको पठनपाठन सुरु गरियोस्।

    – सरकारी स्वास्थ्य शिक्षण संस्थाहरुमा स्नातकोत्तर तहको नि:शुल्क पठनपाठनको लागि चिकित्सा शिक्षा ऐन बमोजिम दिगो सरकारी आर्थिक सहयोगको व्यवस्था गरियोस्।

    – सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस्।

    – आपराधिक पृष्ठभूमिका व्यक्तिले चलाइरहेका नोबेल मेडिकल कलेज र काठमाडौं कलेज तथा अरु कलेजहरुमा समेत विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त लाखौं रुपैयाँ असुल्ने प्रयास अहिले पनि जारी छ। चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनका बाबजुद अवैध असुलीको प्रयास र विद्यार्थीमाथिको गुण्डागर्दी अझै जारी भएकाले त्यसलाई तत्काल रोकी दोषी मेडिकल कलेज सञ्चालकहरुमाथि कडा कारबाही गरियोस्।

    – हामीसँग विगतमा भएका सम्झौताहरु तथा प्रधानमन्त्रीले गरेका प्रतिबद्धता कार्यान्वयन गरियोस्।

    डा. केसीले चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार नेपालको मेडिकल शिक्षालाई गैर-नाफामुलक बनाउन, बिपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीहरुलाई बर्खास्त गरी कारबाही गर्न, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्न र चिकित्सा शिक्षा आयोगका सहअध्यक्षबाट मन्त्रीहरुलाई हटाउन माग गरेका छन्।

  • संस्थागत श्रम स्वीकृति आजदेखि अनलाइनबाटै, फाइल बोकेर विभाग धाउन नपर्ने

    संस्थागत श्रम स्वीकृति आजदेखि अनलाइनबाटै, फाइल बोकेर विभाग धाउन नपर्ने

    काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट मात्रै जारी गरेको छ ।

    श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागेको हो ।

    विभागले गत माघ २ गतेदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ । सरकारले श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट उपलब्ध गराउँदै आएको छ ।

    अनलाइनबाट व्यक्तिगत र संस्थागत श्रम स्वीकृति प्रदान गर्न थालिएसँगै वैदेशिक रोजगार कार्यालयमा हुने भीडभाड हटेको छ । कुनै समय हजारौँको उपस्थिति हुने कार्यालय आजकाल सुनसान हुन थालेको छ ।

    विभागले सूचना जारी गर्दै सम्बन्धित इजाजतपत्रवाला संस्था, सेवाग्राही र सरोकारवाला सबैलाई संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै हुने जानकारी गराएको छ ।

    पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा दिने आधारमा अनलाइन निवेदनको फछ्र्योट गरिने भन्दै विभागले कम्तिमा तीन दिन अगाडि श्रम स्वीकृतिका लागि अनलाइनबाट निवेदन दिन आग्रह गरेको छ ।

    गत फागुन महिना मात्रै ४८ हजार ७४३ पुरुष र ४ हजार ७१४ महिला गरी ५३ हजार ४५७ जनाले विभागबाट श्रम स्वकृित लिएका छन् । श्रम स्वीकृति लिने मध्ये अधिकांश अदक्ष श्रमिक रहेका छन् ।

    ८ उच्च सीपयुक्त, ६८ व्यवसायिक, चार हजार ९९६ अर्धदक्ष, २३ हजार ६६ दक्ष र २५ हजार ३१९ अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।

    हाल म्यानपावर कम्पनीका प्रतिनिधि पूर्व र अन्तिम श्रमस्वीकृतिका लागि फाइल बोकेर विभागमा नै जानुपर्ने अवस्था रहेको छ।

    संस्थागत श्रम स्वीकृतिका लागि दूतावासले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मार्फत अपलोड गरी पठाएको मागपत्र अनलाइन गरेपछि विभागले नै पूर्व र अन्तिम श्रम स्वीकृति दिनेछ।

    पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार मासिक औसत १५ हजार श्रमिकले संस्थागत रूपमा श्रम स्वीकृति लिने गरेको देखिन्छ।

  • यी हुन् काठमाडौं महानगरको मेयर र उपमेयरमा सिफारिस हुनेहरु…

    यी हुन् काठमाडौं महानगरको मेयर र उपमेयरमा सिफारिस हुनेहरु…

    काठमाडौं । नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।

    एमाले महानगर कमिटिको बुधबार बसेको बैठकले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्तको नाम सिफरिस गरेको हो ।

    मेयर सिफारिसमा परेका विद्यासुन्दर शाक्य अहिले पनि मेयर छन्। त्यस्तै केशव स्थापित पूर्वमेयर हुन्। रामवीर मानन्धर पूर्वमन्त्री हुन्।

    त्यसैगरी उपमेयरका लागि पनि एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ।

    रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले, शान्ति अधिकारीको नाम सिफारिस गरेको छ।

    उपमेयरमा सिफारिश रत्न गुरुङ संविधान सभा सदस्य हुन्, त्यस्तै शान्ति अधिकारी अनेमसंघकी महासचिव हुन्। उनी एमाले पूर्वअध्यक्ष मनमोहन अधिकारीकी बुहारी पनि हुन्।

    महानगर कमिटीले सिफारिस भएका नामबाट जिल्ला कमिटी हुँदै स्थायी कमिटीले उम्मेदवार तोक्नेछ।

  • राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

    राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट संगठन एसिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरिएको छ ।

    नेपाल स्काउटले बिहीवार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई त्यो पदक प्रदान गरिएको हो ।

    प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै ओलीलाई पदक प्रदान गरिएको हो ।

    समारोहमा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि पूर्व प्रधानमन्त्री ओलीले दिएको योगदानप्रति ‘मेधावी योगदान पदक’ले गौरव प्रदान गर्ने बताइन् ।

    कार्यक्रममा नेपालका ज्येष्ठ स्काउट कलाकार प्रा. गोविन्दनारायण ज्यापुलाई पनि सम्मान गरिएको थियो । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार अध्यक्ष ओली त्यो पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् ।

    नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ ।

    प्रधानमन्त्रीकै रूपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम सुरु गराएका थियो ।

    ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना सात सय ५३ वटै पालिकामा विस्तार भएको छ भने बजेटमै प्रबन्ध भइ देशका सबै विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने कार्य थालनी भएको छ ।

  • काला सागरमा रुसको प्रमुख युद्धपोत ध्वस्त, चालकदलका सदस्यको उद्धार

    काला सागरमा रुसको प्रमुख युद्धपोत ध्वस्त, चालकदलका सदस्यको उद्धार

    काठमाडौं । काला सागरमा रुसको युद्धपोत ध्वस्त भएको छ। युक्रेनको ओडिसाको क्षेत्रीय प्रशासनका अनुसार युक्रेनले प्रहार गरेको मिसाइलबाट उक्त युद्धपोत ध्वस्त भएको हो।

    रुसको रक्षा मन्त्रालयले पनि युद्धपोतमा ठूलो क्षति पुगेको बताए पनि युक्रेनको मिसाइलले उक्त क्षति पुगेको भने बताएको छैन।

    रुसका अनुसार युद्धपोतमा आगालागीको कारण क्षति पुगेको हो। आगलागीपछि युद्धपोतमा रहेका चालकदलका सदस्यलाई उद्धार गरिएको रुसले बताएको छ।

    रुसले युद्धपोतमा आगलागीको कारण पत्ता लगाउने प्रयास भइरहेको उल्लेख गरेको छ। काला सागरमा रुसले तैनाथ गरेको मोस्क्भा युद्धपोत युक्रेनमा आक्रमणको लागि प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

  • नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने चमत्कारी फूल ‘सलहेश’, किन बन्यो कौतुहलको विषय ?

    नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने चमत्कारी फूल ‘सलहेश’, किन बन्यो कौतुहलको विषय ?

    काठमाडौ । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ ।

    इसाको छैटौं सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ ।

    दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रियस्तरमा पूजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख केको हो । कसरी यतिका दिनसम्म बाँचिरहेका छन् । यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ ।

    प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गर्दछन् ।

    हारम जातका विशाल रूखमा एक्कासि फूल फुल्नु र वैशाख १ गते साँझपख स्वतः मौलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतुहलको विषय बनेको छ । सलहेश को थिए ? सलहेशको जीवन गाथासँग फूलको के सम्बन्ध रहेको छ, यो जान्नलाई पौराणिककालमा फर्किनुपर्ने आवश्यकता रहेको छ ।

    लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो ।

    आफ्ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् ।

    सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखापर्ने भनेपछि सोहि दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको बैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किंवदन्ती रहिआएको छ ।

    राजा सलहेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रुपमा मेला लाग्ने गर्दछन् । वैशाखको पहिलो दिन फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी आकारको फूल फुल्ने गर्दछन् ।

    जुन फूल हेर्न देश–विदेशबाट लाखौँको सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन् । यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ । भनिन्छ सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे ।

    मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेमविछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहिआएकाले यस फूलबारीभित्र रहेको हारमको रूखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको छ ।

    भनिन्छ, युवायुवती बीचको प्रेमकथालाई जीवन्तता प्रदान गर्न फूलबारीमा रहेको सो रूखलाई साक्षी मानी विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वासअनुरुप प्रत्येक वर्ष सो फूलबारीमा विवाह गर्नेको सङ्ख्या बढदै गएको छ ।

  • अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोग दिने

    अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोग दिने

    काठमाडौं । अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेको छ । पूर्वी युक्रेनमा रुसले आक्रमण तीव्र बनाएका बेला अमेरिकाले थप सहयोगको घोषणा गरेको हो।

    सहयोगमा नयाँ अस्त्रहरू पनि रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ठूलो सङ्ख्यामा अस्त्र उपलब्ध गराउन अपिल गर्नुभएको थियो।

    प्रतिबद्धता जनाइएको ८० करोड अमेरिकी डलर बराबरका अस्त्रमा गोलीगठ्ठा र राडार प्रणाली पनि रहेका बीबीसीले जनाएको छ। त्यसबाहेक सयौँ क्षेप्यास्त्र र विशेष प्रकारका ड्रोनहरू पनि रहेका छन्।

    यसैबीच रुसी सैनिक पानीजहाजमा विस्फोटबाट क्षति भएको छ । रुसको रक्षा मन्त्रालयले ब्ल्याक सीमामा विस्फोटक पदार्थ भण्डारण गरी तैनाथ एउटा सैन्य पानीजहाजमा आगलागी र विस्फोटबाट क्षति भएको जनाएको छ।

  • परिवार दल र राप्रपा नेपालसँग एमालेको चुनावी गठबन्धन, दुवैले सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्ने

    परिवार दल र राप्रपा नेपालसँग एमालेको चुनावी गठबन्धन, दुवैले सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गरेको छ । बुधबार काठमाडौंमा दुइ दलसँग एमालेले चुनावी गठबन्धनको लागि सहमति गरेको हो ।

    एमाले पार्टी केन्द्रीय कार्यालयमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा तालमेल गर्ने सहमति भएको हो ।
    राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

    सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

    राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

    त्यस्तै आजै नेकपा (एमाले) र एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलबीच चुनावी गठबन्धन हुने भएको छ । बुधबार एमाले र परिवार दलबीच पाँचबुँदे सहमति भएको हो ।

    एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले हस्ताक्षर गरे । यो सहमतिसँगै अब राप्रपा नेपाल र परिवारदल दुवैले स्थानीय तह निर्वाचनमा एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिस्पर्धा गर्ने भएको छ।

  • नेपाली राष्टिय फुटसल टोली जित विहीन,एसियन कप छनोटबाट बाहिरियो

    नेपाली राष्टिय फुटसल टोली जित विहीन,एसियन कप छनोटबाट बाहिरियो

    काठमाडौं । किर्गिस्तानमा रहेको नेपाली राष्टिय फुटसल टोलीले जित विहीन हुँदै एएफसी फुटसल एसियन कप छनोट यात्रा सकाएको छ।

    एशियन कप छनोटको अन्तिम खेलमा अफगानिस्तानसँग ८–१ को फराकिलो अन्तरले पराजित भएसँगै नेपालले छनोट यात्रा सकाएको हो।

    किर्गिस्तानको विश्केकस्थित ग्याज्पोर्म स्पोट्र्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपालका सुमित श्रेष्ठले एक गोल गरे।

    नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले तथा दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ को फराकिलो हार व्यहोरेको थियो।

    नेपाल रहेको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह बी बाट उज्वेकिस्तान र ताजिकिस्तान छनोट भएका छन्।

    समान ४ अंक भएपनि ताजिकिस्तानसँग अफगानिस्तान गोल अन्तरमा पछि पर्यो। समूह ए मा इरान, आयोजक किर्गिस्तान, तुर्केमेनिस्तान र माल्दिभ्स छन्।

    प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०२२ मा कुवेतमा हुने एएफसी फुटसल एसियन कपमा स्थान बनाउनेछन्।

  • सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

    सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

    काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा एआईजी पुष्पराम केसीलाई नियुक्त गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आईजीपी नियुक्त गरेको हो ।

    यसअघिका आईजीपी शैलेन्द्र खनालले ३० वर्षे सेवाहदका कारण यही चैत २८ गते अनिवार्य अवकाश पाएपछि एआईजी केसीलाई आईजीपी नियुक्त गरिएको हो ।

    आईजीपीको दौडमा एआईजी केसी र रामशरण पौडेल थिए । उनीहरू दुवैले वैशाख १९ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन् । वैशाख १९ पछि सशस्त्र प्रहरीमा फेरि नयाँ आईजीपी नियुक्ति हुनेछन् ।

    उनीहरु दुवै खनालसँगै प्रहरी सेवामा प्रवेश गरेका हुन्। प्रहरी निरीक्षकबाट २०४९ वैशाख १९ गते सेवामा प्रवेश गरेका केसी २०५८ सालमा एक तह बढुवा हुँदै डीएसपीबाट सशस्त्र प्रहरीतिर लागेका थिए।

  • माओवादी केन्द्रले आफ्नो तस्वीर चुनावी पोष्टरमा राखेको प्रति कुलमानले जनाए आपत्ति

    माओवादी केन्द्रले आफ्नो तस्वीर चुनावी पोष्टरमा राखेको प्रति कुलमानले जनाए आपत्ति

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सत्तारुढ माओवादी केन्द्रले आफ्नो तस्वीर चुनावी पोष्टरमा राखेकोप्रति आपत्ति जनाएका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयलाई तत्कालै हटाउन पनि अनुरोध गरेका छन् ।

    माओवादी अध्यक्ष प्रचण्डको आधिकारीक फेसबुक पेजमार्फत बुधबार सार्वजनिक गरिएको चुनावी पोस्टरमा घिसिङको तस्बिर पनि राखिएको छ । पोस्टरमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्वीर प्रयोग गरी ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निःशुल्क बिजुलीको ह्यासट्याग भोट फर सीपीएन माओइस्ट’ लेखिएको छ। यो पोस्टर सार्वजनिक भएपछि घिसिङले आपत्ति जनाएका हुन् ।

    “यो कुरा मलाई थाहा थिएन । मेरो तस्वीर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु । हटाउँछु भनेका छन् ।”, घिसिङले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, “निर्वाचन आचारसंहिता र कर्मचारी आाचारसंहित दुवैले मेरो तस्वीर राख्न मिल्दैन ।”

  • तीन स्थानीय तह अझै वाणिज्य बैंक विहीन

    तीन स्थानीय तह अझै वाणिज्य बैंक विहीन

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ ।

    नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७८ फागुन मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या १७, वित्त कम्पनीको संख्या १७, लघुवित्त वित्तीय संस्थाको संख्या ६६ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।

    बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार २ सय १५ वटा पुगेको छ । गत असार मसान्तसम्म शाखा संख्या ९ हजार ७ सय ६५ रहेको थियो । २०७३ असारमा यो संख्या ४ हजार २७४ मा सीमित थियो ।

    फागुनसम्म वाणिज्य बैंकको शाखासंख्या ४९३० रहेको छ । विकास बैंकको १०८६ वित्त कम्पनीको २५७ र लघुवित्त वित्तीय संस्थाको ५०७६ शाखा रहेका छन् ।

    वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७८ फागुन मसान्तसम्म कुल २३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/ प्राप्ति प्रक्रियामा सामेल भएका छन्।

    यसमध्ये १७७ संस्थाहरुको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएका छन् ।

    तीन पालिकामा अझै पुगेन बैंक

    देशका कुल ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

    नेपाल राष्ट्र बैंकका अनुसार २०७८ फागुनसम्ममा देशका तीन स्थानीय तह मात्रै वाणिज्य बैंक पुग्न सकेको छैनन् । अघिल्लो वर्षको सोही अवधिसम्म देशका ७४९ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा पुगेका थिए ।

    राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य लिएको भए पनि अझै त्यो पूरा हुन सकेन ।

  • विप्लवलाई ओलीको प्रस्ताव– ‘सूर्य चिह्नबाट चुनाव लड्नुस्, सत्ता गठबन्धनको मतियार नबन्नुस्’

    विप्लवलाई ओलीको प्रस्ताव– ‘सूर्य चिह्नबाट चुनाव लड्नुस्, सत्ता गठबन्धनको मतियार नबन्नुस्’

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पाटीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सूर्य चिह्नबाट स्थानीय तह निर्वाचन लड्न प्रस्ताव गरेका छन् ।

    मंगलबार ललितपुरमा आयोजित नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा ओलीले विप्लवको दल दर्ता नभएकाले चुनाव सार्ने षड्यन्त्र भइरहेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।

    उनले भने, ‘विप्लव जीले पार्टी दर्ता गर्नुभएन । निर्वाचन आयोगले समय दिँदा पार्टी दर्ता गर्नुभएन । विप्लवजीलाई जनताले अलिक इमान्दार नेताका रुपमा बुझ्छन् ।

    तपाई‌ लोकतन्त्रविरुद्धको षड्यन्त्रको मतियार नहुनुस् । चुनाव पर सार्नका लागि विप्लवलाई मतियार बनाइँदैछ । या त चुनावमा भाग लिने हो भने स्वतन्त्र रुपमा लाग्नुपर्छ ।

    तपाई‌का कार्यकर्ताले जित्ने ठाउँमा उठाउनुस् । पार्टी तपाई‌ंकै रहन्छ, कार्यकर्ता तपाईंकै रहन्छन्, सूर्य चिन्हबाट चुनाव लड्नुस् ।’

    तपाईंलाई नेपाली जनताले अलिक इमानदार रूपमा चिन्छन् । तपाईं लोकतन्त्रविरुद्धको षड्यन्त्रको मतियार नहुनुस् । तपाईंलाई इमानदार नेताको रूपमा बुझ्छन् ।

    ‘अहिले के चर्चा चल्न थालेको छ भने प्रचण्डको मतियार बनेर, साँगगाँठ गरेर चुनाव बिथोल्ने । ५ दलीय गठबन्धनको षड्यन्त्रको शिकार भएर विप्लबजीहरू मौका पायो भने चुनाव लड्छु भन्ने बहाना त बनाइरहनुभएको त छैन ?’ ओलीले भने, ‘विप्लबलाई चुनावमा भाग लिने वातावरण बनाइनुपर्छ, कुनै पनि बहानामा चुनाव सार्न पाइन्न, यो षड्यन्त्र कुनै पनि हालतमा मान्य हुँदैन ।’

    जेलमा रहेका विप्लबका कार्यकर्तालाई जेलमुक्त गरेर चुनावमा भाग लिने वातावरण बनाउनुपर्ने तर त्यहीँ बहानामा चुनाव सार्न नपाइने ओलीले बताए ।

  • विदेशी विनिमय सञ्चिति ९ अर्ब ५८ करोड डलर मौज्दात, ६.७ महिनाको आयात धान्ने

    विदेशी विनिमय सञ्चिति ९ अर्ब ५८ करोड डलर मौज्दात, ६.७ महिनाको आयात धान्ने

    काठमाडौं । विदेशी विनिमय सञ्चिति घटेको छ ।

    नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो ।

    २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.२ प्रतिशतले कमी आई १० खर्ब १८ अर्ब ५ करोड कायम भएको छ ।

    चालू आर्थिक वर्षको आठ महिना अर्थात फागुनसम्ममा कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५८ करोड अमेरिकी डलर कायम भएको छ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड डलर कायम भएको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ फागुन मसान्तमा ०.९ प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ९५ करोड कायम भएको छ । २०७८ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।

    आर्थिक वर्ष २०७८/७९ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

    २०७८ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.४ प्रतिशत, ५५.६ प्रतिशत र २२.० प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

  • रेमिट्यान्स घट्यो, ८ महिनामा ६ खर्ब ३१ अर्ब भित्रियो

    रेमिट्यान्स घट्यो, ८ महिनामा ६ खर्ब ३१ अर्ब भित्रियो

    काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आएको छ । गत वर्षको तुलनामा विदेशिनेको संख्यामा वृद्धि भए पनि रेमिट्यान्स भने घटेको हो ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    माघ मसान्तसम्ममा यस्तो रकम ८.७ प्रतिशतले बढेर ५ खर्ब ४० अर्ब १२ करोड रहेको थियो । फागुनमा भित्रिएको रेमिट्यान्स रकम बढेपनि समग्रमा भने नेपाल आउने रेमिट्यान्स घटेको छ ।

    विसं २०७७ फागुसम्मको तुलनामा चालु आवको यसै अवधिमा १.७ प्रतिशतले कमी आएको राष्ट्र बैंकको तथ्याङ्क छ । माघ मसान्तसम्ममा भने अघिल्लो आवको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाहमा ४.९ प्रतिशतले कमी आएको तथ्याङ्क छ ।

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो ।

    यसैगरी चालु आवको आठ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख २७ हजार ९०० पुगेको छ । २०७७ फागुन मसान्तसम्ममा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो ।

    केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई ७ खर्ब ४ अर्ब ३३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको थियो ।

  • तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

    तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

    काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

    नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको तथ्यांक अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ ।

    २०७७ फागुन महिनाको तुलनामा २०७८ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ ।

    साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ ।

    समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ फागुनमा यी क्षेत्रहरुमा क्रमशः २.५० प्रतिशत, ३.२५ प्रतिशत, ३.४० प्रतिशत र १.३१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

  • प्रचण्डको सर्कुलर, एक पालिका प्रमुख र एक वडाध्यक्ष महिला अनिवार्य

    प्रचण्डको सर्कुलर, एक पालिका प्रमुख र एक वडाध्यक्ष महिला अनिवार्य

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचन केन्द्रीत ६ बुँदे विशेष सर्कुलर जारी गरेका छन् ।

    केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सर्कुलर पठाएका हुन् ।

    सर्कुलरमा दाहाल प्रचण्डले गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने, ‘केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरुबीच स्वस्थ प्रतिष्पार्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिनु पर्ने उल्लेख गरेका छन् ।

    स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न देशभरका जिल्लाका कम्तिमा एक गाउँपालिकाको प्रमुख र पालिकाभित्र कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ।

  • अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बिरामीको संख्या न्यून

    अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बिरामीको संख्या न्यून

    काठमाडौं । देशभर कोभिड–१९ को संक्रमण घटेपछि अस्पतालमा भर्ना हुने बिरामीको संख्या न्यून छ । सोमबारसम्म देशभरका अस्पतालमा भर्ना भएका कोभिड–१९ संक्रमितको संख्या २४ मात्रै छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार देशभर सक्रिय संक्रमित ५४४ जना छन् । तीमध्ये २४ जना अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना भएका मध्ये ११ जना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत छन् ।

    काठमाडौं उपत्यकाका प्रमुख ११ अस्पतालमा दुईजना मात्रै कोभिड–१९ संक्रमित उपचाररत छन् । ती अस्पतालमा आईसीयू र भेन्टिलेटरमा कुनै पनि बिरामी नरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु र भक्तपुर अस्पतालमा उपचाररत दुईजना संक्रमित सामान्य बेडमा छन् । उपत्यकाका अरू कुनै पनि अस्पतालमा कोरोनाका बिरामी नरहेको मन्त्रालयको तथ्यांक छ ।

    न्यिदब िदबलप
    सोमबारसम्म नेपालमा कुल ११ लाख १८ हजार ७४३ जना कोभिड–१९ संक्रमित भएका छन् । संक्रमणका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

  • ‘चुनाव रोकिने कुनै सम्भावना छैन्, रोकिए मुलुक दुर्घटनामा जान्छ’-प्रमुख निर्वाचन आयुक्त

    ‘चुनाव रोकिने कुनै सम्भावना छैन्, रोकिए मुलुक दुर्घटनामा जान्छ’-प्रमुख निर्वाचन आयुक्त

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  निर्वाचनको तयारीको काम निकै अघिबढी सकेकाले स्थानीय चुनाव रोकिने कुनै सम्भावना नरहेको बताएका छन्।

    विराटनगरमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा थपलियाले यस्तो बताएका हुन् ।

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएकाले अब कुनैपनि बहानामा निर्वाचन नरोकिने र मिति सार्ने काम कोही कसैबाट हुन नहुनेमा जोड दिए।

    ‘तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक दुघर्टनामा जान्छ’ थपलियाले भने, ‘निर्वाचनको उडान रकेटको गतिमा अघि बढेर एउटा निश्चित दुरी र मिसनमा अघि बढिसकेको छ, अब पनि रकेटलाई लक्ष्यविहिन बनाउने काम भयो भने दुर्घटना हुन्छ।’

    थपलियाले निर्वाचन हुँदैन भन्ने कुनै शंका नराख्न आग्रह गर्दै ३५ जिल्लाको मतपत्र छाप्ने काम सकिएको, निर्वाचन अधिकृत चयन कार्य पूरा भएको जानकारी दिए ।

    अब मतदाता अभिमुखीकरण समेत सुरु हुने अवस्था भइसकेकाले निर्वाचन रोक्ने कुराको कल्पना गर्न नसकिने उनको भनाइ छ ।

  • स्थानीय तहको निर्वाचन रोक्न माग गरिएको रिट स्थगितको सूचीमा

    स्थानीय तहको निर्वाचन रोक्न माग गरिएको रिट स्थगितको सूचीमा

    काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर गरेको रिट सोमबार स्थगितको सूचीमा राखेको छ । अगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रटिमाथि अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिएको थियो ।

    तर सर्वोच्च अदालतले उक्त पेसी स्थगित गरेको हो । पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले जनप्रतिनिधिको समय अवधि ५ वर्षको रहेको तर सरकारले ५ वर्ष पूरा नहुँदै स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै सो निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

    सो रिटमा संवैधानिक व्यवस्था अनुसार जनप्रतिनिधिको अवधि ५ वर्षको हुने व्यवस्था रहेको तर आफूहरु तेस्रो चरणमा अर्थात् २०७४ असोज २ गतेको निर्वाचनबाट निर्वाचित भएकाले सोही अवधिसम्म काम गर्न पाउनुपर्ने माग गरिएको थियो ।

  • निजी क्षेत्रलाई राजस्व स्रोतको रूपमा मात्र हेरियो, विकासको साझेदार मानिएन: अध्यक्ष गोल्छा

    निजी क्षेत्रलाई राजस्व स्रोतको रूपमा मात्र हेरियो, विकासको साझेदार मानिएन: अध्यक्ष गोल्छा

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)का अध्यक्ष शेखर गोल्छाले राज्यले निजी क्षेत्रलाई राजस्वको स्रोतको रुपमा मात्र हेर्ने गरेको बताएका छन् ।

    महासंघको ५६ औं वार्षिक साधरण सभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा सोमबार सोल्टी होटलमा आयोजित कायक्रममा बोल्दै उनले राज्यले निजी क्षेत्रलाई राजस्वको स्रोतको रुपमा मात्र हेरेको तर विकासको साझेदार मान्न नसकेको बताएका हुन् ।

    ‘निजी क्षेत्रलाई राजस्वको स्रोतको रुपमा मात्र हेरियो, विकासको साझेदार मान्न सकिएन । निजी क्षेत्रलाई सम्पत्ति निमार्ण गर्ने बलियो सम्बाको रुपमा लिन सकेनौं,’ उनले भने ‘सरकारी दस्तावेजले नै भन्छ पूँजी निर्माणमा निजी क्षेत्रको योगदान ७७ प्रतिशत छ, ७० प्रतिशतलाई रोजगारी दिएको छ ।’

    उनले पूँजी निर्माण तथा रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेलेको निजी क्षेत्रसँग राज्यले सार्थक सहकार्य गर्नुपर्ने बताए । उनले निजी क्षेत्रले ल्याएका योजना कार्यन्वयनमा सहकार्य र सहजीकरणको भूमिका खेल्दिन सरकारसँग आग्रह गरे ।

    ‘हामीले विस्तृत अध्ययन गरेका छौं, कार्यन्वयनमा सहकार्यमा गरिदिनुस् । हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइदिनुस् । हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुस् । रोजगारी दिन्छौं, हडताल नगरिदिनुस् । निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुस् । पर्यटक ल्याउँछौं, स्वागत गरिदिनुस् । हामी राजस्व बुझाउँझौं, अपमान नगरिदिनुस्,’ अध्यक्ष गोल्छाले भने ।

    पछिल्ला २ वर्ष कोभिड पुनरुत्थानका लागि केन्द्रिय बैंकमार्फत प्राप्त सहयोगले तंग्रिन सहज भए पनि अहिले संकटन्मुख हुनेबित्तिकै भएका निर्णयले भने अन्योल सृजना भएको बताए ।

    उनले अर्थतन्त्र संकटोन्मुख रहे पनि संकटग्रस्त भइ नसकेको बताए । ‘हामीलाई थाहा हामी संकटोन्मुख छौ तर ग्रस्त भइसकेका छैनौ । मलाई विश्वास छ, अहिलेको संकट केही महिनामा टर्छ,’ उनले भने ।

  • जापान जान लागेकी युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित पक्राउ

    जापान जान लागेकी युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् ।

    प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो । उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, २ अर्ब २६ करोडको कारोबार

    नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, २ अर्ब २६ करोडको कारोबार

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ४४.६४ अंकले घटेर २४१९.७१ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ बराबरको ५० लाख ९५ हजार ८३४ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक घटेको छ । अन्य समूह सबैभन्दा धेरै ४.६२ प्रतिशतले घटेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज दुइ कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८७० रुपैयाँ पुगेको छ भने जाल्पा लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४९१ रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ९.९८ र ९.९२ प्रतिशतले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड ५२ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा निफ्राको ७ करोड २१ लाखको कारोबार भएको छ । नविल बैंकको ६ करोड ९२ लाखको कारोबार भएको छ ।

  • काठमाडौं विवेकशील साझाबाट दुवै पदमा महिला उम्मेदवार, मेयरमा बाँस्कोटा र उपमेयरमा तुलाधर

    काठमाडौं विवेकशील साझाबाट दुवै पदमा महिला उम्मेदवार, मेयरमा बाँस्कोटा र उपमेयरमा तुलाधर

    काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    सोमबार बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठकले बागमती प्रदेशकी पूर्व संयोजक समेत रहेकी बाँस्कोटालाई काठमाण्डको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    त्यस्तै बैठकले कीर्ति तुलाधरलाई उपमेयर पदको उमेदवार बनाउने निर्णय गरेको छ । ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँः राजधानीको गौरव पुनर्स्थापित गरौँ” भन्ने नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय भएको अध्यक्ष मिश्रले जानकारी दिए ।

    ३८ वर्षीय बास्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन् ।

    यस्तै कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन् । उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्।

    शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघसंगठनको नेतृत्वदायी भूमिकामा छिन् । दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने सो पार्टीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

    घोषणापत्र मूलत ७ वटा बुँदाहरूमा केन्द्रीत हुने प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् । जसमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला संस्कृतिको सम्वर्द्धन र पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदी नालाको सफाई र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा हुने पाठकको भनाइ छ ।

  • पाँच दलीय गठबन्धनको संयुक्त वक्तव्य-‘आपसी मतभेदलाई पन्छाउदै चुनावी तालमेल,आपसी सहकार्य निरन्तर’

    पाँच दलीय गठबन्धनको संयुक्त वक्तव्य-‘आपसी मतभेदलाई पन्छाउदै चुनावी तालमेल,आपसी सहकार्य निरन्तर’

    काठमाडौं । पाँचदलीय गठबन्धनका प्रमुख नेताहरुले एक अपील जारी गर्दै आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने बताएका छन् ।

    आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयपछि देशभर असन्तुष्टि बढेका बेला सत्तारुढ पाँच दलले सोमबार एक अपील जारी गरेका हुन् ।

    प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

    अपीलमा भनेका छन्, “देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा जान आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अघि बढ्न पाँच दलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौँ ।”

  • पूर्वअर्थमन्त्री पाण्डे भन्छन् -‘श्रीलंकामा अर्थमन्त्री भाग्नेरे भन्ने सुन्दैछु, नेपालमा त्यो दिन नआओस्’

    पूर्वअर्थमन्त्री पाण्डे भन्छन् -‘श्रीलंकामा अर्थमन्त्री भाग्नेरे भन्ने सुन्दैछु, नेपालमा त्यो दिन नआओस्’

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुुरेन्द्र पाण्डेले नेपालमा पनि अर्थमन्त्री भाग्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

    अहिले श्रीलंकाका अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै उनले नेपालको अर्थमन्त्रीको पनि त्यही दिन आउन सक्ने बताए । ‘श्रीलंकामा अर्थमन्त्री भाग्नेरे भन्ने सुन्दैछु, कतै यो दिन त नआओस् नेपालमा’ उनले भने ।

    पाण्डले अर्थमन्त्री शर्माले कानुन विपरीत काम गरेको आरोप समेत लगाएका छन् । अर्थमन्त्री शर्माले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैर कानुनी भएको बताएका हुन् ।

  • एमालेले भन्यो-‘गठबन्धनले अर्थतन्त्रलाई जोखिममा धकेल्यो,समस्या समाधान नगरे श्रीलंकाकै हालत’

    एमालेले भन्यो-‘गठबन्धनले अर्थतन्त्रलाई जोखिममा धकेल्यो,समस्या समाधान नगरे श्रीलंकाकै हालत’

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले ‘गठबन्धन सरकारले अर्थतन्त्रलाई जोखिममा धकेलेको बताएका छन् ।

    नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमालेले पूर्वअर्थमन्त्रीले गठबन्धन सरकारले मुलुकको अर्थव्यवस्था जोखिममा धकेलेको बताएका हुन् ।

    उनले मुलुकको आर्थिक अवस्था जोखिमउन्मुख रहेको भन्दै सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलंकाजस्तै हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।

    उनले एमालेले सुदृढ अर्थतन्त्र छाडेर विदा भएको तर अहिलेको सरकारले ९ महिनामै आर्थिक अवस्था अत्यन्त जोखिमको अवस्थाबाट गुज्रिएको दावी गरे ।

    पूर्व अर्थमन्त्री विष्णु पौडेलले भने, ‘सचेत भएर सार्थक हस्तक्षेप गर्न सकेनौं भने मुलुक श्रीलंका हुनबाट रोक्न सक्दैन ।’

    उनले प्रधानमन्त्री, अर्थमन्त्रीले श्रीलंका हुँदैन भनेर दाबी गर्नुको कुनै अर्थ नरहेको बताए । अर्थतन्त्रमा परेका समस्या समाधानका लागि छिटो सम्बोधन गर्नुपर्नेछ ।

    ‘हामीले सरकार छाड्दा मूल्यवृद्धि चार प्रतिशत तल थियो । रेमिट्यान्स बढीरहेको थियो र विदेशी मुद्रा सञ्चिति १४ खर्ब रुपैयाँ बराबर थियो, जसले ११ महिनाको आयात धान्न पुग्थ्यो,’ पूर्वअर्थमन्त्री पौडेलले भने, ‘शुरुका वर्षमा हामीले ७ प्रतिशतको आर्थिक वृद्धिदर पनि हासिल गरेका हौं ।’

  • नयाँ लाइसेन्सको लागि आवेदन फारम जेठ १ गतेबाट खोल्ने तयारी

    नयाँ लाइसेन्सको लागि आवेदन फारम जेठ १ गतेबाट खोल्ने तयारी

    काठमाडौं । नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन फारम अझै एक महिनाका लागि रोकिएको छ । यातायात व्यवस्था विभागले फारम भरेर परीक्षा लिएकाहरूको ट्रायल गरेपछि मात्रै नयाँ फारम खोल्ने तयारी गरेको हो।

    अब जेठ १ गतेदेखि नयाँ आवेदन खोल्ने र त्यसअघि अहिलेसम्म परीक्षा गरिएकाको ट्रायल सक्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

    नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि करिब ६ लाख जनाले आवेदन दिएका थिए। यो संख्या कम भएपछि मात्रै विभागले नयाँ आवेदन खुला गर्नेछ।

    पुराना आवेदनका परीक्षार्थीका परीक्षा सकेपछि नयाँ आवेदन खोल्ने र एक साताभित्रै परीक्षा लिने व्यवस्था मिलाउने विभागको भनाइ छ।

  • अमेरिकाका एक नेपालीलाई मनी लाउन्डरिङमा जेल सजाय

    अमेरिकाका एक नेपालीलाई मनी लाउन्डरिङमा जेल सजाय

    अमेरिका । टेक्सस अर्भिङका ४६ वर्षीय दीपेन्द्र भुसाललाई क्रिप्टोकरेन्सीसँग सम्वद्ध मनी लण्डरिङ कन्सपरेसीको आरोपमा जेल चलान भएको छ ।

    डिपार्टमेण्ट अफ जस्टिस युएस एटोर्नी अफिस इस्टर्न डिष्ट्रिक्ट अफ टेक्ससले भुसाललाई क्रिप्टोकरेन्सी मनी लण्डरिङमा उनको भूमिकालाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो ।

    उनलाई ४६ महिना केन्द्रीय जेलमा राख्ने निर्णय भएको छ । एक वर्षअघि भुसाललाई सजायका लागि अदालतमा पेश गरिएको थियो ।

    विभिन्न प्रकारका गलत काममा भुसाल संलग्न भएको देखिएपछि उनी पक्राउ परेका थिए । थुप्रै गलत काम गर्दै आएका भुसालले १० हजार अमेरिकी डलरभन्दा कमको नगद कारोबार गर्दै कानुन छल्नेसम्मको प्रयास गर्दै आएका थिए ।

    उनले अमेरिका बाहिर पनि पैसा पठाएको जनाइको छ । उनलाई १४ लाख ३७ हजार ३५९ अमेरिकी डलर यसरी कारोबार गरेको आरोप लगाइएको हिमालय खबरले समाचार लेखेको छ ।

    अनलाइन जुवालगायत विभिन्न काममा नेपाली संलग्न भन्दै अहिले त्यहाँ कडाई गरिएको छ । थुप्रै नेपालीलाई अमेरिकी राजश्व विभाग आइआरएसले पत्र पठाएको बुझिएको छ ।