Category: फिचर

  • कच्चा तेलको मूल्य २००८ पछिको सबैभन्दा उच्च विन्दुमा

    कच्चा तेलको मूल्य २००८ पछिको सबैभन्दा उच्च विन्दुमा

    काठमाडौं । रुस र युक्रेनबीचको युद्धका कारण कच्चा तेलको मूल्य सन् २००८ पछिकै उच्च विन्दुमा पुगेको छ । यसले संसारभरको अर्थतन्त्रमा प्रभाव पर्ने भएको छ । संयुक्त राज्य अमेरिकाले रुसबाट हुने तेल आपूर्तिमा प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढेको हो । एशियाको बजारमा कच्चा तेलको बेन्चमार्क ब्रेन्ट क्रूड बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो। तर पछि १३० डलरभन्दा कममा आइपुग्यो। एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ।
    रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने डरले इन्धनको बजार प्रभावित भएको छ। बीबीसीले पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले उपभोक्ताहरू पनि प्रत्यक्ष प्रभावित भएको जनाएको छ । यसको प्रभाव नेपालमा समेत उस्तै देखिएको छ ।

  • अमरिकी रिर्पोट भन्छ : युक्रेनसँग लड्न रुसले भर्ति गरिरहेको छ सिरियाका लडाकु

    अमरिकी रिर्पोट भन्छ : युक्रेनसँग लड्न रुसले भर्ति गरिरहेको छ सिरियाका लडाकु

    काठमाडौं । युक्रेनसँग लड्न रुसले आफ्ना फौज रिजर्भ राखि सिरियाबाट लडाकु भर्ति गरिरहेको एक अमेरिकी प्रतिवेदनले खुलासा गरेको छ । अमेरिकी अखबार ‘द वाल स्ट्रीट जर्नल’मा अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै यस्तो खुलासा गरिएको हो । रूसले सिरियाबाट भाडामा लड्ने गरि लडाकु आफ्नो फौजमा भर्ति गरिरहेको खुलासा भएको हो । यसमा गुप्तचार अधिकारीहरुले संख्या भने खुलाएका छैनन् ।

    तर, लडाकुहरु केही रुसमा रहेको र केहीलाई युक्रेनमा खटाइएको समेत खुलासा गरिएको छ । रुसले ६ महिनाका लागि उनीहरुलाई भर्ति गरेको बुझिएको छ । सिरियामा एक दशक भन्दा लामो समय चलेको युद्धका कारण यहाँका मानिसमा लड्ने क्षमता रहेको भन्दै उनीहरुलाई भर्ति गरिएको हो । यसले रूस अब छापामार युद्धमा समेत होमिने संकेत गरेको अनुमान गरिएको छ ।

  • अमेरिकाद्धारा युक्रेनलाई १० अर्ब डलर बराबरको सैन्य सहायता प्रदान गर्ने तयारी

    अमेरिकाद्धारा युक्रेनलाई १० अर्ब डलर बराबरको सैन्य सहायता प्रदान गर्ने तयारी

    काठमाडौं । रुसको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकी कंग्रेसले युक्रेनका लागि १० अर्ब डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रस्तावलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । यसले युक्रेनी सेनाले ठूलो व्याकअप प्राप्त गर्नेछ । रुसी फौजहरू अगाडि बढ्ने क्रम जारी रहे पनि युक्रेनी सैनिकहरूले त्यसको डटेर प्रतिकार गरिरहेको वाशिङ्गटनस्थित सैन्य स्रोतहरूलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।

    अमेरिकी सैन्य स्रोतका अनुसार मस्कोले युक्रेनी हवाई क्षेत्रमा अझै पूर्ण नियन्त्रण कायम गर्न नसकेको र किएभतर्फ बढ्न खोजेको रुसी फौजको विशाल लस्कर अझै रोकिएको अवस्थामा छ। अतिक्रमणअघि जम्मा भएका रुसी फौजमध्ये ९५ प्रतिशत लडाइँमा जुटिसकेको अमेरिकी रक्षा अधिकारीहरूको विश्वास छ। युक्रेनले भने पश्चिमा मुलुकसँग निरन्तर सहायता मागिरहेको छ । राजधानी कब्जा गर्ने अभियानमा रुस अगाडी बढिरहँदा तेस्रो मुलुकबाट प्रतिकार हुन सक्ने र यस अवस्थामा विश्वयुद्धको समेत खतरा उत्पन्न हुने छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस्तो कदम नचाल्न चेतावनी दिइरहेका छन् ।

  • युक्रेनको राजधानी किएभमा रुसले ‘पूर्ण क्षमता’मा आक्रमण गर्ने

    युक्रेनको राजधानी किएभमा रुसले ‘पूर्ण क्षमता’मा आक्रमण गर्ने

    काठमाडौं । रुसको सेनाले युक्रेनीको राजधानी किएभमा पूर्ण क्षमतामा आक्रमण गर्ने तयारी गरेको खुलासा भएको छ । युक्रेनका रक्षा अधिकारीहरुले रुसले पूर्ण क्षमतामा राजधानी किएभ माथि आक्रमण गर्ने तयारी गरिरहेको जानकारी पाएको खुलासा गरेका हुन् । पछिल्लो समय रुसी सेना केही थकित देखिएजस्तो भान परे पनि रुस ठूलो आक्रमणको तयारीमा रहेको बताइएको छ ।

    युक्रेनको सेनाले दिएको पछिल्लो जानकारी अनुसार मस्कोका बलले आक्रमणका लागि आवश्यक सामाग्रीहरू जम्मा गरिरहेको छ । त्यसको तयारी स्वरूप किएभ नजिकै रहेको ईर्पीन शहरमा बख्तरबन्दसहित अन्य हातहतियार बोकेका गाडीहरू अघि बढिरहेको बीबीसीले लेखेको छ । सेनाले दिएको सूचना अनुसार रुसी कमान्डरहरूले अघि बढ्ने क्रममा रहेका आफ्ना सेनालाई बेलारुसबाट ल्याइएको तेल उपलब्ध गराइरहेका छन्।

  • भक्तपुरमा श्रीमतीमाथि रासायनिक पदार्थ प्रहार

    भक्तपुरमा श्रीमतीमाथि रासायनिक पदार्थ प्रहार

    काठमाडौं । भक्तपुरमा श्रीमतीमाथि रासायनिक पदार्थ प्रहार भएको छ । यो पदार्थ तेजाव हो वा अन्य वस्तु भन्ने खुलेको छैन । प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार राति पौने ७ बजे सूर्यविनायक नगरपालिका ४, दधिकोट चित्रपुरमा श्रीमतीमाथि केमिकल प्रहार गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    पक्राउ पर्नेमा ६५ वर्षीय श्रीमान श्याम गुभाजु छन् । उनले ६० वर्षीय श्रीमती पूजामाथि केमिकल प्रहार गरेको बताइएको छ । श्यामले घरायसी विवादका कारणले श्रीमतीमाथि कुटपिट गरी रसायन प्रहार गरेको बताइएको छ । पूजाको कीर्तिपुर अस्पतालमा उपचार जारी छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

  • डेढ करोड रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

    डेढ करोड रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

    काठमाडौं । प्रहरीले एक करोड ५० लाख नगदसहित काठमाडौंको बाफलबाट हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार काठमाडौंको बाफल बस्ने अमित अग्रवाललाई पक्राउ गरेको हो । अग्रवाल अवैध हुण्डी कारोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरी सो स्थानमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले उल्लेख गरेका छन् । नेपालमा रेमिट्यान्सको ठूलो रकम अनौपचारिक माध्यमबाट भित्रने गरेको देखिन्छ ।

  • नेपाल एयरलाइन्सले साउदी अरबमा पायो उडान अनुमति, अप्रिलबाट नियमित उड्ने

    नेपाल एयरलाइन्सले साउदी अरबमा पायो उडान अनुमति, अप्रिलबाट नियमित उड्ने

    काठमाडौं । साउदी अरब जाने र फर्कने यात्रुले अब नेपाल एयरलाइन्सको सेवा पाउने भएका छन् । नेपाल वायुसेवा निगमले साउदी अरेबियामा उडान अनुमति पाएको छ । सो मुलुकको नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई आइतबार उडान अनुमति दिएको निगमकी प्रवक्ता अर्चना खड्काद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    ‘साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने भएको छ । निगमले अप्रिल २०२२ देखि नै व्यवसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान सुरु गर्ने समेत जनाएको छ ।

  • नेपालमा थप ६८ जनामा कोरोना संक्रमण, ५३८ जना संक्रमण मुक्त

    नेपालमा थप ६८ जनामा कोरोना संक्रमण, ५३८ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ गरी ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ५०१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५३८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५९ हजार ९३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ४६१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको छ ।

  • पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    काठमाडौं । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

    नाबालिग गायिकालाई करणी गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कलाकार शाहमाथि अनुसन्धानका लागि भन्दै जिल्ला अदालत तनहुँले आइतबार १२ दिनको समय थप गरेको हो ।

    पल गत आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो । त्यो समय आज सकिएको थियो ।

    एक नाबालिकाले गत फागुन ११ गते शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।

    उजुरी दर्ता भएपछि फरार रहेका शाह आइतबार बिहान प्रहरीको नियन्त्रणमा आएका थिए । नियन्त्रणमा आएपछि प्रहरीले थप अनुसन्धान थालेको छ। उनीविरुद्ध नवलपुरको गैंडाकोटमा पनि सोही प्रकृतिको मुद्दा दायर छ ।

  • सुन आयातमा कडाइ, दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने

    सुन आयातमा कडाइ, दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ ।

    विदेशी विनिमय सञ्चिती घट्दो क्रममा रहेको र विदेशी विनिमय सञ्चितीको ठूलो हिस्सा सुन आयातमा प्रयोग हुन थालेपछि राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको हो ।

    राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै सुन आयातको कोटा घटाएको हो।

    जस अनुसार अब दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने छ। यस अघि दैनिक २० किलोग्राम सुन आयात गर्न सकिने ब्यबस्था थियो ।

    अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । रुस र युक्रेनबीच युद्द सुरु भएपछि सुनको मूल्य निरन्तर बढ्दो छ ।

  • रोकिएन नेपाली शेयर बजारको आरोलो यात्रा, कारोबारमा पनि सुधार आउन सकेन

    रोकिएन नेपाली शेयर बजारको आरोलो यात्रा, कारोबारमा पनि सुधार आउन सकेन

    काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ३.६९ अंकले घटेर २५४३.३९ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३० कम्पनीको २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँ बराबरको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ४ वटामा बढेको छ भने अन्य ९ वटा राताम्मे भएका छन् ।

    बुधवारको तुलनामा कारोबार रकम घटेको छ । त्यसदिन ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको थियो । विहीवार सार्वजनिक बिदाको कारण बजार बन्द नै रहेको थियो ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज १५ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा नेपाल लाइफ इन्सोरेन्स कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड २७ बढीको कारोबार भएको छ । तेस्रोमा अपी पावर कम्पनीको कारोबार भएको छ । त्यसको ११ करोड १७ बढीको कारोबार भएको छ ।

    आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य सामान्य बढेको छ । यस कम्पनीको शेयरमूल्यमा आज ७.८० प्रतिशतले बढेर प्रतिकित्ता ६६३ रुपैयाँ पुगेको छ ।

    सामलिङ पावर ४.४८, नेपाल ल्युब ३.९९, न्यादी हाइड्रोपावर २.७४, एनआइबीएल समृद्धि फण्ड–२ र ग्लोबल आइएमई सम्मुनत स्कीम १ को शेयरमूल्य साढे २ प्रतिशतले बढेको छ ।

    त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल र प्रभु इन्स्योरेन्सको मूल्य २ प्रतिशतले बढेको छ ।

    त्यस्तै, आज शिवम् सिमेन्ट कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.११ प्रतिशतले घटेर प्रतिकित्ता १०८५ रुपैयाँमा झरेको छ ।

    अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै त्यसको प्रभाव बजारमा देखिने आँकलन भइरहे पनि बजार भने ओेरालो लागि रहेको छ ।

  • कसरी अघि बढ्छ चोलेन्द्रशम्शेर विरुद्धको महाअभियोग प्रक्रिया ?

    कसरी अघि बढ्छ चोलेन्द्रशम्शेर विरुद्धको महाअभियोग प्रक्रिया ?

    काठमाडौं । संसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन गरेको छ ।

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोगमाथि अध्ययन गर्न ११ सदस्यीय समिति गठन गरेको हो ।

    समिति सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे रहेका छन् ।

    संविधानको धारा १०१ को उपधारा ३ र ४ एवंम प्रतिनिधीसभा नियमावली २०७५ को नियम १६२ वमोजिम सभामुखले महाअभियोग सिफारिस समिति गठन सम्वन्धि प्रस्ताव संसदमा पेश गर्नुपर्ने ब्यवस्था छ ।

    महाभियोग लागेका व्यक्तिले संविधानको गम्भीर उल्लंघन गरेको तथा आचार संहिताको गम्भीर उल्लंघन गरेको भन्ने सूचना सही रहेको भनी प्रतिनिधि सभाका कम्तीमा तीन जना सदस्यले प्रमाणित गरी पेश गरेमा समितिले त्यस्तो उजुरीमाथि छानबिन अघि बढाउन सक्नेछ ।

    छानबिन समितिले महाअभियोग सम्बन्धी कारबाहीका लागि प्रतिनिधि सभा समक्ष सिफारिस गर्नेछ र महाअभियोग प्रस्ताव अघि बढ्नेछ ।

    यस्तो प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुने व्यवस्था संविधानमा छ । महाअभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानबीन गरी सिफारिस गर्ने कार्य भने महाअभियोग सिफारिस समितिले गर्नेछ ।

    प्रधानन्यायाधीश जबराविरुद्ध सत्ता गठबन्धन दलहरुले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा विभिन्न २१ वटा आरोप लगाइएको छ ।

    महाअभियोग प्रस्तावमा जबराकोे कार्यकालमा न्यायपालिकाभित्र अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको आरोपसमेत लगाइएको छ ।

    महाअभियोग लागेपछि सम्बन्धित व्यक्तिले कारबाहीको अन्तिम टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन । महाअभियोगको आरोप लागेको व्यक्तिलाई सफाइ पेश गर्ने मौका पनि दिइनेछ ।

  • तारा एयरको पोखरा–जोमसोम नियमित उडान शुरु

    तारा एयरको पोखरा–जोमसोम नियमित उडान शुरु

    काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले पोखरा–जोमसोम नियमित उडान सुचारु गरेको छ ।

    डिसेम्बर २० बाट बन्द भएको पोखरा ९ जोमसोमको नियमित उडान आइतवारदेखि सुचारु गरेको हो ।

    आज ५ ओटा प्यासेन्जर फ्लाईट भएको थियो । इन्डियन नागरिक र अन्य बिदेशी यात्रुहरुले यात्रा गरेका थिए ।

    यो रुटका लागि कम्पनीले एउटा ट्विनअटर पोखरा बेस राखेरै उडान गर्नेंछ।

    हवाई उडानका लागि मौसम अनुकूल भइसकेकाले आन्तरिक र बाह्य पर्यटकसँगै स्थानीयलाई पोखरा(जोमसोम आउजाउ सजिलो बनाउन उडान शुरु गरेको एयरलाइन्सले जनाउको छ ।

    यती एयरलाइन्सको सहायक कम्पनी ताराले मुलुकका विभिन्न विकट गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

    जोमसोम, लुक्ला, सिमिकोट आदिको बुकिङ हेर्दा यो बर्ष पर्यटक बढ्ने एयरलाइन्सको दाबी छ ।

  • जेलेन्स्कीले अमेरिकासँग भने : रुसको तेल किन्न बन्द गर

    जेलेन्स्कीले अमेरिकासँग भने : रुसको तेल किन्न बन्द गर

    काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकासँग रुसको तेल खरीद नगर्न माग गरेका छन् । अमेरिकी कंग्रेसका ३ सय सदस्यलाई भिडियोको माध्यमबाट सम्बोधन गर्दै उनले युक्रेनलाई नो फ्लाई जोन बनाउन समेत माग गरेका छन् । अमेरिकाले रूसको तेल खरीदमा रोक लगाउना साथ रुस ठूलो संकटमा पर्ने विश्वास उनको छ ।

    उनले रुसी सैनिकसँग लड्न अमेरिकासँग थप सैन्य सहायताको समेत माग गरेका छन् । उनले रूस मै निर्मित फाइटर जेट्स उपलब्ध गराउन भनेका छन्, जसले गर्दा रुसी सैनिकको सामना गर्न उनको मुलुकलाई सहज हुने छ । यी जहाज चलाउन रुसी सैनिक समेत सक्षम भएको भन्दै त्यस प्रकारका सैन्य सहायताको अपेक्षा युक्रेनले गरेको उनको भनाई छ ।

    राष्ट्रपतिको मागमा अमेरिकी सिनेटका सदस्यले ध्यानाकर्षण भएको बताएका छन् । तर, सिनेटले भने उनको अनुरोध पुरा नहुने बताएको छ । सिनेट नो फ्लाई जोन घोषणा गर्ने पक्षमा छैन । यसले युद्धमा तेस्रो मुलुक जोडिने भएकाले थप युद्धको आशंका अमेरिकाको छ । यसले नेटो सदस्यसँग रुसी सैनिकको लडाई शुरु भएको मानिने सिनेटको तर्क छ । उता, तेल खरीद बन्द गर्दा मूल्यमा आउने बढोत्तरीले अर्थतन्त्रमा पर्ने असरलाई ध्यानमा राख्दै राष्ट्रपतिको मागलाई अमेरिकी सिनेटले खारेज गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

  • युक्रेनको दावि: रुसले युद्धबिरामको पालना गरेन

    युक्रेनको दावि: रुसले युद्धबिरामको पालना गरेन

    काठमाडौं । रूस र युक्रेनबीचको युद्ध ११ औं दिनमा प्रवेश गरेको छ । रुसले सोचेभन्दा फरक परिणामका बीच युक्रेनी सेनाले शक्तिशाली मुलुकको डटेर मुकाविला गरिरहेको छ । उता, युक्रनेको राजधानी कीएभको उत्तर पश्चिम क्षेत्रमा रहेका शहरहरुमा रूसी सेनाको धन्दाधुन्ध कारवाही जारी छ । यी स्थानमा फसेका नागरिकलाई बाहिर निकाल्न रुसले आक्रमण केही मथ्थर पार्ने बताइएको थियो । तर, त्यसो नभई निरन्तर आक्रमण भइरहेको युक्रेनको आरोप छ । ती भुगमा मानिसहरु पैदल वा सवारी साधनका माध्यमबाट भए पनि बाहिर निस्कने प्रयासमा छन् । रुसी सेना युक्रेनको राजधानी कब्जा गर्ने मिसनमा छ ।

    यसलाई त्यहाँको सेनाले रोकिरहेको छ । शनिबार यस भेगमा निरन्तर गोली हानिएको समाचारमा जनाइएको छ । राजधानी प्रवेश गर्ने सडकहरुमा युक्रेनी सेनाले गरेको अवरोधका कारण रुसी सैनिकले केही पछाडी हट्नु परेको थियो । युक्रेनी अधिकारीहरुका अनुसार शनिवार रुस आफैले घोषणा गरेको अस्थायी युद्धबिरामको नियम एक घण्टा पनि पालना भएको छैन । सोहीकारण हजारौं गैरसैनिक मानिस युद्धग्रस्त क्षेत्रमा फसेका छन् ।

  • रुसमा सैन्य कानून लागु गर्ने योजना नरहेको पुटीनको स्पष्टिकरण

    रुसमा सैन्य कानून लागु गर्ने योजना नरहेको पुटीनको स्पष्टिकरण

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकमा सैन्य कानुन लागु गर्ने कुनै योजना नरहेको बताएका छन्। राष्ट्रिय टेलिभिजनमा देखाइएको एरोफ्लट विमान सेवाका कर्मचारीहरूसँग भेटघाटमा पुटिनले आफ्ना कदमहरू ‘सैन्य कारबाही लक्षित क्षेत्रमा बाह्य उक्साहटका घटनाका आधारमा’ मात्र चालिने बताए। “तर हामीसँग त्यस्तो अवस्था छैन र त्यस्तो अवस्था आउने समेत छैन,” उनले भनेका छन् ।

    बीबीसीका अनुसार यसअघि पुटिनले सैन्य कानुन लागु गर्न लागेको भन्ने चर्चाहरू सुरु भएका थिए। त्यस्तो अवस्थामा सामान्य नागरिक कानुनहरू निलम्बित हुन्छन् वा सरकारी कामकारबाहीमा सैनिकहरू संलग्न हुन्छन्। उनले ‘ठूलो आकारको बाह्य त्रास’ भएमा प्रयोग गर्न सकिने अन्य आपत्कालीन उपायहरू रहेको बताए। तर तिनको समेत प्रयोग गर्ने कुनै योजना नभएको बताए। उनले युक्रेनमाथि नो फ्लाई जोन लागु गर्ने जुनसुकै देश युक्रेन युद्धमा सहभागी भएको रूपमा हेरिने समेत बताएका छन् ।

  • संसद बैठक बस्दै, एमालेको अवरोध जारी

    संसद बैठक बस्दै, एमालेको अवरोध जारी

    काठमाडौं । एमालेको निरन्तरको अवरोधका बीच आइतबार प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक आह्वान गरेका छन् । एमालेले संसदमा सभामुखको राजिनामा वा आफूहरुले कारबाही गरेका १४ सांसदलाई हटाउन माग राखि आन्दोलन गरिरहेको छ ।

  • नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज, के के छन् एजेण्डा ?

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज, के के छन् एजेण्डा ?

    काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । आइतबार ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी रहेको पार्टीले जनाएको छ । आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने बताए । त्यसपछि पार्टी पदाधिकारी चयन गर्ने भएको छ । माओवादीको केन्द्रीय समिति बैठक गत शुक्रबारदेखि सुरु भएको हो । गृहकार्य गर्न भन्दै शनिबारको दिन बैठक स्थगित भयो ।

    गत पुस ११ गतेदेखि १८ गतेसम्म चलेको माओवादीको आठौं महाधिवेशनबाट पारित विधानमा केन्द्रीय समिति २९९ सदस्यीय हुने उल्लेख छ । तर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गर्दै महाधिवेशन सम्पन्न गरिएको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिएको थियो । १५ सदस्यीय पदाधिकारीका अन्य पदहरु भने दुई महिनादेखि रिक्त छन् ।

  • ६ हजार २ सय नमुना परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टी

    ६ हजार २ सय नमुना परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार दुई सय २० जनाको नमूना परीक्षण गरेकोमा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको तेस्रो लहर शुरु भएपछि दैनिक विवरण अनुसार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पहिलो पटक एक सय भन्दा तल झरेको हो ।

    पछिल्लो २४ घण्टामा तीन सय ६२ जना निको भएका छन् । यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५८ हजार पाँच सय ५५ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा ६ हजार नौ सय ४७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख आठ सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • राष्ट्रिय सभाका १९ सांसदले लिए सपथ

    राष्ट्रिय सभाका १९ सांसदले लिए सपथ

    काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले शनिबार शपथग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालय सिंहदरबारमा नवनिर्वाचित सांसदहरुलाई शपथग्रहण गराए । अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसद्हरुलाई संघीय संसदको लोगो पनि प्रदान गरेका छन् । राष्ट्रियसभाका १९ सदस्यका लागि गत माघ १२ गते निर्वाचन भएको थियो ।

    निर्वाचनमा नेपाली काँग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए । एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) निर्वाचित भएका थिए ।

    नेकपा (माओवादी केन्द्र)बाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित भएका छन् । नेकपा (एमाले)बाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

  • युक्रेनका दुई शहरमा रुसले बनायो आक्रमण मथ्थर, मानवीय सहयोग मार्ग खुला

    युक्रेनका दुई शहरमा रुसले बनायो आक्रमण मथ्थर, मानवीय सहयोग मार्ग खुला

    काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपोल र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको छ। त्यहाँबाट आमनागरिकलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई जनाउँदै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्। युक्रेनी पक्षले भने यसको पुष्टी गरिसकेको छैन ।

    बीबीसीका अनुसार यसअघि मारिओपोका नगरप्रमुखले जारी नाकाबन्दीबीच रुसी फौजबाट ‘क्रूर हमलाहरू’ भइरहेको भन्दै मानवीय मार्ग माग गरेका थिए। झन्डै चार लाख ५० हजार जनसङ्ख्या भएको मारिओपोमा युक्रेनको मुख्य व्यापार बन्दरगाह छ। रुस(क्राइमिया सडक मार्गमा पर्ने त्यो मुख्य युक्रेनी सहर हो। भोल्नोभाखा भने कमै परिचित सानो सहर हो। यो मारिओपोलको उत्तरतर्फ पर्छ जहाँ हमला सुरु भएदेखि ठूला मुडभेड भइरहेको छ।

  • रुसको राष्ट्रिय विमान सेवाद्धारा बेलारुसबाहेक विश्वभरको उडान कटौती

    रुसको राष्ट्रिय विमान सेवाद्धारा बेलारुसबाहेक विश्वभरको उडान कटौती

    काठमाडौं । रुसको राष्ट्रिय विमान कम्पनी एरोफ्लटले मार्च ८ देखि लगभग सबै अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ। आफ्नो सेवा अवरुद्ध गर्नुलाई उसले ‘थप परिस्थितिहरू’ कारण रहेको जनाएको छ। बीबीसीका अनुसार उक्त विमान सेवाका अनुसार आन्तरिक र छिमेकी देश बेलारुससँगका उडानहरूमा भने त्यसको कुनै असर पर्ने छैन।

    युरोपेली सङ्घ, यूके, अमेरिका र क्यानडाले आफ्ना आकाशमा रुसी विमानहरू उड्न प्रतिबन्ध लगाउँदा त्यसले उपलब्ध अन्य गन्तव्य र हवाई मार्गमा असर देखा परेको छ। रुसले समेत उड्डयन क्षेत्रमा त्यस्तो जवाफी प्रतिबन्ध लगाएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धहरू रुसको उड्डयन क्षेत्रमाथि समेत लक्षित छन्। जसले गर्दा एरोफ्लट र अन्य रुसी विमान कम्पनीहरूलाई सामान्य रूपमा सेवा दिन कठिन भएको छ।

  • जनकपुर र पोखरा सिधा हवाई संजालमा जोडिए

    जनकपुर र पोखरा सिधा हवाई संजालमा जोडिए

    काठमाडौं । दुई पर्यटकीय गन्तब्य पोखरा र जनकपुर सिधा हवाई सम्पर्कमा जोडिएका छन् । शनिबारदेखि जनकपुरधाम–पोखराबीच हवाइ यातायात सुरू भएको छ । मधेश र गण्डकी प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले शनिबार, सोमबार र बिहीबार सातामा तीन दिन एक–एकपटक उडान हुने जानकारी दिए ।

    गण्डकी प्रदेशको राजधानी पोखरा र मधेस प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित १८ सदस्यीय टोली मधेस प्रदेशको भ्रमणमा आएका छन् । तीनदिने मधेस प्रदेशको भ्रमणमा आएका गण्डकीका मुख्यमन्त्री नेपालीलाई मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव र उद्योग पर्यटन तथा वातावरणमन्त्री शुत्रधन महतोले स्वागत गरेका थिए ।

    भ्रमण टोलीमा मुख्यमन्त्री पोखरेलसहित अर्थमन्त्री रामजीप्रसाद बराल, पर्यटन उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, गण्डकी प्रदेशका मुख्यसचिव रविलाल पन्थ, पर्यटन उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेललगायत सहभागी रहेका छन् ।

  • रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले रोके सेवा

    रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले रोके सेवा

    काठमाडौं । रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले आफ्नो प्रसारण रोकेका छन् । बीबीसी, सीएनएन, ब्लुमबर्ग, सीबीएस न्यूज र एबीसी न्यूजले रुसमा आफ्नो सेवा निलम्बन गर्ने निर्णय गरेको बीबीसीले लेखेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको नयाँ कानुनले युक्रेनमा जारी युद्धको बारेमा मिथ्या समाचारहरु फैलाएको अभियोगमा मानिसहरूलाई १५ वर्षसम्म जेल सजाय दिनेछ। कानुन लागु भएपछि रुसमा स्वतन्त्र रिपोर्टिङ बन्द गरिने सम्भावना छ।

    त्यहाँ समाचार संस्थाहरूलाई युक्रेनमा जारी द्वन्द्वलाई युद्ध भनेर उल्लेख गर्न अनुमति दिइएको छैन। सीबीएसका प्रवक्ताले प्रसारण नगर्ने जानकारी दिँदै भनेका छन्, हामीले नयाँ मिडिया कानुनलाई मध्यनजर गर्दै हाम्रो समूहको परिस्थितिको निगरानी गरिरहेका छौँ। एबीसीले पनि सेवा रोक्ने निर्णय नयाँ कानुनमा आधारित भएको बताउँदै भनेको छ, स्थितिको मूल्याङ्कन गर्न र रुसमा हाम्रा समूहहरूको सुरक्षामा यसले कस्तो अर्थ राख्छ भनेर निर्धारण गर्न आवश्यक छ।

    यसअघि शुक्रवार बीबीसी, सीएनएन र ब्लुमबर्गले रुसभित्रको सेवाहरू निलम्बन गरेको थियो। रुसको सञ्चार नियामक निकायले फेसबुक, ट्विटर, यूट्यूब र अन्य स्वतन्त्र स्थानीय सञ्चारमाध्यमहरूमा पहुँचमा पनि रोक लगाएको छ।

  • नेपाली चिकित्सकहरुलाई ठूलो सफलता, पहिलो पटक बीना अप्रेसन मुटुको भल्भ प्रत्यारोपण

    नेपाली चिकित्सकहरुलाई ठूलो सफलता, पहिलो पटक बीना अप्रेसन मुटुको भल्भ प्रत्यारोपण

    काठमाडौं । नेपाली चिकित्सकहरुले ठूलो सफलता पाएका छन् । नेपालमा पहिलो पटक बीना अप्रेसन मुटुको कृत्रिम भल्भको सफल प्रत्यारोपण गरिएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्भ राखिएको छ । केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्भ साँधुरो भएपछि भल्भको ठाउँमा नयाँ कृत्रिम भल्भ राखिएको जानकारी गराएका छन् ।

    उनका अनुसार नेपालमा पहिलो पटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्भ इम्प्लामेन्टेशन (टीएभीआई) विधिबाट महिलाको सफलतापूर्वक भल्भको प्रत्यारोपण गरिएको हो । यसविधि अनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथेटरद्वारा मानवनिर्मित भल्भ मुटुभित्र छिराइ रोग भएको एओर्टिक भल्भको ठाउँमा प्रत्यारोपण गरिन्छ ।

    प्रत्यारोपण भएको भल्भले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने चिकित्सकको भनाई छ । केन्द्रले बिरामी महिलाको सोमवार भल्भ प्रत्यारोपण गरि शुक्रबार नै डिस्चार्ज दिएको छ । मुटुको एओर्टिक भल्भ साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्छ ।

    एओर्टिक भल्भ वयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा शल्यक्रिया गर्न असहज भएको भल्भ नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नेपालमा नै कृत्रिम भल्भको सफल प्रत्यरोपण गरेपछि अब भल्भ परिवर्तन गर्नका लागि भारतलगायत विदेशमा महँगो खर्च गरेर जान नपर्ने भएको केन्द्रका निर्देशक डा. अधिकारीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । कृत्रिम भल्भ नेदरल्यान्डबाट भित्राइएको हो । सन् २००२ देखि यस किसिमको कृत्रिम भल्भ फ्रान्समा पहिलो पटक गरिएको थियो ।

  • बुढानिलकण्ठबाट विद्यालय हिँडेपछि सम्पर्कबिहिन तीन बालिका मसाज सेन्टरमा भेटिए

    बुढानिलकण्ठबाट विद्यालय हिँडेपछि सम्पर्कबिहिन तीन बालिका मसाज सेन्टरमा भेटिए

    काठमाडौं । काठमाडौँको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन्। फागुन १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौँको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
    बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्यानीय विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन्।

    फागुन १६ गते बिहान ९ बजे विद्यालय जाने भनी कोठाबाट निस्किएका बालिका घर नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले बौद्वस्थित एक मसाज सेन्टरमा काम गरिरहेको अवस्थामा फेला पारेको हो। प्रहरीले उनीहरुलाई आफन्तको जिम्मा लगाएको परिसरले एक सूचना जारी गरी जनाएको छ। उक्त घटनाको सम्बन्धमा प्रभागबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

  • युक्रेनबाट ५११ जना नेपाली सुरक्षित गन्तब्यमा पुगे, नेपालीको छैन यकिन संख्या

    युक्रेनबाट ५११ जना नेपाली सुरक्षित गन्तब्यमा पुगे, नेपालीको छैन यकिन संख्या

    काठमाडौं । रुस–युक्रेन युद्ध शुरु भएयता ५११ जना नेपाली नागरिक सम्पर्कमा आएका छन् । उनीहरु सुरक्षित स्थानमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्च स्तरीय समितिलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यमा पुगेका छन् । यसमध्ये ४०३ जना पोल्यान्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, छ जना हङ्गेरी र चार जना नेपाली नागरिक माल्दावामा सुरक्षित छन् । तीमध्ये चार जनामा युद्धको विकराल परिस्थितिको सामना गर्नुपर्दा मानसिक समस्या देखिएको समितिको भनाई छ ।

    युक्रेनमा रहेका धेरैजसो नेपाली तथा अन्य विदेशी नागरिक घण्टौँ पैदल हिँडेर युक्रेन र अन्य देशको सीमा क्षेत्रमा स्थापना गरिएको शरणार्थी क्याम्प पुगेका छन् । युक्रेनबाट बाहिरिएका मध्ये ४० जना नेपालीले मात्र यात्रा अनुमतिपत्र लिएको जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्काले जानकारी गराएका छन् ।

    समितिका संयोजक तथा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष बद्री केसीले युक्रेनमा स्थायी रूपमा बसोवास गरिरहेका ४० जनाको परिवारले युक्रेन छाड्न नसकेको बताएका छन् । यद्दपी युक्रेनमा ठ्याक्कै कति नेपाली थिए भन्ने खुलेको छैन । रुसले युक्रेनमा आक्रमण गरेयता झण्डै १० लाख मानिस विस्थापित बनिसकेका छन् ।

  • युक्रेन छाडेका नेपालीलाई भारत सरकारको सहयोगमा नेपाल ल्याउने तयारी

    युक्रेन छाडेका नेपालीलाई भारत सरकारको सहयोगमा नेपाल ल्याउने तयारी

    काठमाडौं । युक्रेनबाट बाहिर निस्किएका र युक्रेनमै रहेका नेपालीहरुलाई स्वदेश ल्याउन भारत सरकारको सहयोग मागिने भएको छ । युक्रेनबाट पोल्याण्ड लगायतका देशमा गएका नेपाली नागरिकहरुलाई भारत सरकारबाट सञ्चालित उडान मार्फत् स्वदेश फर्काइदिन नेपाल सरकारले अनुरोध गरेको हो । यसमा सकारात्मक जवाफ प्राप्त भएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । भारतले युक्रेनबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन केही मन्त्रीहरुसहित विमानहरू पठाएको छ ।

    तीनै भारतीय विमानहरुमा स्वदेश फर्किन इच्छुक नेपालीहरुलाई पनि ल्याउने प्रवन्ध मिलाउने प्रयास गरिएको छ । स्वदेश फर्किन इच्छुक नेपालीलाई नेपाली दूतावास बर्लिनको ठेगानामा आफ्नो नाम, सम्पर्क नम्बर र हाल रहेको स्थान टिपाउन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीहरु स्थानान्तरण भई सीमावर्ती मुलुकहरु पोल्याण्ड, स्लोभाकिया, रोमानिया, हंगेरी र मोल्दोभामा प्रवेश गरेका गरेका छन् ।

    बर्लिनस्थित नेपाली दूतावासका अनुसार युक्रेनबाट सबैभन्दा धेरै ५११ जना नेपालीहरु पोल्याण्डमा गएका छन् । यसैगरी स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली प्रवेश गरिसकेका छन् । युक्रेनको विभिन्न स्थानमा रहेका बाँकी केही नेपालीहरू तुलनात्मक रुपमा सुरक्षित रहेको पश्चिम क्षेत्र तर्फ जाँदै गरेको र केही सीमा क्षेत्रबाट बाहिरिने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

    रोमानिया सरकारले रोमानिया पुगेका नेपालीहरुलाई भारततर्फ जाने विमानसम्म पहुँचका लागि आवश्यक सहयोग गरिने जानकारी दिएको र त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश र्फकन सहयोग पुर्याउन अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोग लिने विषयमा पनि प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    नेपाली दूतावास बर्लिनले पोल्यान्ड, हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका नेपालीलाई गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको छ । उद्दार कार्यमा युक्रेनका लागि समेत सहप्रमाणीकृत बर्लिनस्थित नेपाली दूतावास र मस्कोस्थित नेपाली दूतावासलाई परिचालन गरिएको छ ।

  • पाकिस्तानको पेशावरमा शक्तिशाली बम विष्फोट, कम्तिमा ५६ जनाको मृत्यु

    पाकिस्तानको पेशावरमा शक्तिशाली बम विष्फोट, कम्तिमा ५६ जनाको मृत्यु

    कराँची । पाकिस्तानको पेशावर शहरमा भएको एक शक्तिशाली बम विष्फोटमा कम्तिमा ५६ जना मारिएका छन् । पेशावरको क़िस्सा ख़्वानी बजार इलाकामा शुक्रवार नमाज पढ्ने समयमा एक शिया मस्जिदमा यस्तो बम हमला भएको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार घटनामा १९४ जना घाइते छन् । जसमा ९ जनाको अवस्था गम्भीर रहेको छ ।

    लेडी रीडिङ्ग अस्पतालका प्रवक्ता मोहम्मद आसिमले बताए अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना रहेको छ । निजी टिभि च्यानल जियो न्यूजका अनुसार हमला आत्मघाती थियो । हमलाकारीले पहिला गेटमा रहेका प्रहरीमाथि आक्रमण गरेको थियो । त्यसक्रममा एक पुलिस अधिकृतको समेत ज्यान गएको छ । शुरुमा धन्धाधुन्ध गोली चलाएको हमलाकारीपछि आफैलाई बमले उडाएको थियो ।

  • युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु उर्जा रुसी कब्जामा, आक्रमणको विश्वभर निन्दा

    युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु उर्जा रुसी कब्जामा, आक्रमणको विश्वभर निन्दा

    काठमाडौं । रुसी सेनाले युक्रेनमा रहेको यूरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र कब्जा गरेको छ । रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन्। बीबीसीका अनुसार कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् । उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन्।

    रुसले प्रहार गरेको एउटा बम विस्फोट हुँदा युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो। रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्। रुसले हमला गरेपछि युक्रेनको जापोरिज्यास्थित युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो।


    युक्रेनको आपत्कालीन सेवा निकायले आगो निभाएको थियो। सो आगो परमाणु केन्द्रको परिसर बाहिर रहेको भवनमा लागेको थियो। पछि रुसी फौजले उक्त केन्द्र कब्जामा लिए। यूकेका प्रधानमन्त्री बोरिस जोन्सनले रुसको ‘लापरवाहपूर्ण’ हमलाले‘पूरै युरोपको सुरक्षाका प्रत्यक्ष खतरा’ आइपर्ने बताए। अमेरिकी राष्ट्रपति जो बाइडनले मस्कोलाई उक्त केन्द्र वरपर सैन्य गतिविधि रोक्न भनेका छन्।

    क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले रुसबाट भइरहेका ‘भयानक’ हमला तत्काल रोकिनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईएले युक्रेनमा एउटा परमाणु ऊर्जा केन्द्रमा भएको आक्रमण र आगलागीपश्चात् त्यहाँ विकिरण नफैलिएको जनाएको छ। रुसले हमला गरेपछि युक्रेनको जापोरिज्यास्थित युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो।