Category: फिचर

  • रात्रिकालिन व्यवसाय बन्द गर्न ९ बजेपछि अब प्रहरी नआउने

    रात्रिकालिन व्यवसाय बन्द गर्न ९ बजेपछि अब प्रहरी नआउने

    काठमाढौं । रात्रिकालिन व्यवसाय संचालन गरिरहेका व्यवसायीलाई राहत पुग्ने गरि सरकारले निर्णय लिएको छ । अब रात्रिकालीन व्यवसायमा लगाइएको समयको सीमा हटेको छ । यसअघि रातको ९ बजेपछि व्यवसाय बन्द गर्न प्रहरी आउने गरेको थियो । गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स-दोहोरी-क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न सकिने निर्णय गरेको छ । रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले एक कार्यदल बनाएका थिए ।

    शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा गठन भएको कार्यदलको सिफारिसका आधारमा मन्त्रालयले अब रात्रिकालिन व्यवसाय बन्द गर्न प्रहरी नपठाउने निर्णय गरेको हो । यद्दपी व्यवसायलाई सुरक्षित र मर्यादित बनाउने दायित्व भने सम्बन्धित व्यवसायीकै हुने छ । त्यसका लागि प्रहरी समेत खटिने छ । खासगरी ठमेललगायतका पर्यटकीय क्षेत्रमा रात्रिकालिन व्यवसाय निरन्तर संचालनको माग लामो समयदेखि उठेको थियो ।

  • त्रिभुवन विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने

    त्रिभुवन विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने भएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘श्रम डेस्क’ हटाउँदै यस्तो निर्णय गरेको हो । सही छाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकले दुःख पाएको जनगुनासो व्यापक आएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरु बुधवार अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

    अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठले बताए । अब अध्यागन विभागका कर्मचारीले नै श्रम स्वीकृति जाँच गरि यात्रुलाई जहाजतर्फ पठाउने छन् । वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा मात्र प्रस्थानद्वार प्रयोग गर्न पाउने व्यवस्थालाई विभेदपूर्ण भन्दै आलोचना भएसँगै सरकारले यस्तो निर्णय लिएको हो । विमानस्थलमा श्रमिकहरूका लागि यसअघि अर्को दर्जा जसरी छुट्टै गेटबाट प्रवेश दिने गरिएकोमा अब जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने छन् ।

  • काठमाडौं-दिल्ली रुटमा अब नेपाल एयरलाइन्सको दैनिक दुई उडान

    काठमाडौं-दिल्ली रुटमा अब नेपाल एयरलाइन्सको दैनिक दुई उडान

    काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौंबाट दिल्लीमा अब दैनिक दुई उडान गर्ने भएको छ । नेवानिको यो सबैभन्दा नाफामा चलेको रुट समेत हो । भारत सरकारले सबै अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै नेवानिले समेत उडान बिस्तारको निर्णय गरेको हो । नेपाल वायुसेवा निगमका अनुसार १४ मार्च (३० फागुन)बाट यो रुटमा दैनिक दुई उडानको घोषणा गरेको हो ।

    अहिले दैनिक एक उडान भइरहेको छ । भारतबाट अहिले भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् । नेपाल र भारतका नागरिकले एक अर्का मुलुकमा भिसा बीना नै यात्रा गर्न सक्ने भएकाले यो रुटमा हवाई कम्पनीले सहजै यात्रु पाउँछन् ।

  • कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने

    कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने

    काठमाडौं । आगामी ३० वैशाखमा घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुमा समेत यसको सरगर्मी शुरु भएको छ । सोही सन्दर्भमा सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने निर्णय लिएको छ । कांग्रेसले २९ फागुनबाट २९ दिने अभियान थाल्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार यो अभियान निर्वाचनलाई लक्षित गरि चलाउन लागिएको हो ।

    अभियानमा हरेक घरमा पुगि जनतासँग अन्तरक्रिया गर्ने तयारी कांग्रैसको छ । यसको संचालन स्थानीय पार्टी पंक्तिले गर्ने भएको छ । डा. महतका अनुसार विपक्षीले पार्टीका सम्बन्धमा छरेको भ्रम चिर्न समेत यस्तो अभियान चलाउने निर्णय भएको हो । कांग्रेस नेतृत्वको सरकारले गरेको र भोलि गर्ने काम, केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका गैरसंवैधानिक काम र सरकारको नेतृत्वमा आउनुको कारणबारे जनतालाई जानकारी गराउने उनले उल्लेख गरे ।

  • नेपालमा थप २२४ जनामा कोरोना संक्रमण, २५१ जना संक्रमण मुक्त

    नेपालमा थप २२४ जनामा कोरोना संक्रमण, २५१ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ जना र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५६ गरी २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ७०९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २५१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६० हजार ६८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ८७५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ० रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ ।

  • सुनको भाउमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

    सुनको भाउमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ५०० रुपैयाँले बढेर १ लाख ५ हजार ५०० पुगेको छ ।

    केही दिन देखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो धातु अघिल्लो दिन प्रतितोला १ लाख ३ रुपैयाँ हजारमा कारोबार भएको थियोे ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार तोकिएको छ ।

    जसको मूल्य मङ्गलबार प्रतितोला १ लाख २ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ४० ले बढेर १ हजार ४५० पुगेको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ५० डलर आसपास कारोबार भइरहेको छ ।

  • पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

    पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

    काठमाडौं । पछिल्लो समय अत्याधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ ।

    बुधबार सिंहदरबारमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।

    छलफलपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताए ।

    उनले नेपाल आयल निगमका जाहेज मागलाई सम्बोधन गर्न पनि भनेका छन् ।

    ‘उपभोक्तालाई मार नपर्ने गरी सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् । आयल निगम धरासायी स्थितिमा पुगेको हुनाले सम्बन्धित निकायलाई आयल निगमको मागहरु जायज हुन ।

    सकभर मूल्य नियन्त्रण गर्ने तर्फ सरकारको ध्यान जाओस् । समितिले सम्बन्धित निकायलाई निर्देशन दिन्छौं,’ उनले भने ।

  • नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

    नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से)३०.२९ अंकले घटेर २५१४.६५ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२९ कम्पनीको २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४१ रुपैयाँ बराबरको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । त्यसदिन २ अर्ब ६० करोड ९ लाख ३० हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    यद्यपि कारोबार दिनहुँ घटेकोले लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहेका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । व्यापार समूह सबैभन्दा धेरै ३.०३ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक र फाइनान्स समूह २ प्रतिशतले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल टेलिकमको कारोबार भएको छ । यस कम्पनीको आज १० करोड ५२ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा एनआईसी एशिया बैकको कारोबार भएको छ । यस कम्पनीको १० करोड ४८ लाख बढीको कारोबार भएको छ । तेस्रोमा अपी पावर कम्पनीको भएको छ । त्यसको ९ करोड ७९ लाख बढीको कारोबार भएको छ ।

    एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा माउन्टेन इनर्जी नेपाल रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ८ प्रतिशतले बढेको छ ।

    त्यस्तै, आज विशाल बजार कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभुमी नेपाल हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ ।

    त्यस्तै, युनिभर्सल पावर, पञ्चकन्या माइ हाइड्रोपावर, नेशनल लाइफ, हिमालयन ऊर्जा, सिंगटी र जोशी हाइड्रोपावरका शेयरमूधनीले ४ प्रतिशत गुमाएका छन् ।

  • भूमिका श्रेष्ठले पाइन् अमेरिका सरकारले प्रदान गर्ने शाहसिक पुरस्कार

    भूमिका श्रेष्ठले पाइन् अमेरिका सरकारले प्रदान गर्ने शाहसिक पुरस्कार

    काठमाडौं । नेपालकी भूमिका श्रेष्ठले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को सहासिक महिला पुरस्कार पाएकी छिन् । अमेरिकी विदेश मन्त्रालयले यस्तो जानकारी गराएको हो । श्रेष्ठ नेपालको यौनिक अल्पसंख्यकको हक अधिकारका लागि काम गर्छिन् । श्रेष्ठले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको अमेरिकी विदेश मन्त्रालयको भनाई छ । यो पुरस्कार यस अघि नेपालकी मुस्कान खातुनले समेत पाइसकेकी छिन् । खातुन एसिड प्रहारबाट घाइते बनेकी थिइन् ।

  • बाइडेनले पुनः भने : युक्रेनमा भएका अमेरिकीले तत्काल देश छाड

    बाइडेनले पुनः भने : युक्रेनमा भएका अमेरिकीले तत्काल देश छाड

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा कुनै अमेरिकी नागरिक बसोबास गरिरहेको भए तत्काल सो मुलुक छाड्न आह्वान गरेका छन् । रुसले युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा आफ्नो सैन्य कारबाही जारी राखेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले मस्कोले युक्रेन कब्जा गरेमा त्यहाँ रहेका अमेरिकीलाई बचाउन अमेरिकाले सेना नपठाउने स्पष्ट पारेका हुन् । बीबीसीका अनुसार उनले युक्रेनको अवस्था चाँडै खतरनाक बन्नसक्ने भन्दै अमेरिकी नागरिकहरूलाई तत्काल उक्त देश छाड्न आह्वान गरेका हुन् ।

    इस्टोनिया, लाट्भिया र लिथुआनियाका नेताहरूले पूर्वी युरोपमा सैन्य सहयोग बढाउन आफ्ना नेटो साझेदारलाईआह्वान गरे लगत्तै बाइडनको उक्त भनाइ आएको हो। मस्कोले युक्रेनलाई कब्जा गर्ने योजनालाई अस्वीकार गरेको छ । पश्चिमा देशहरूलाई युद्ध उन्माद फैलाएको आरोप समेत रुसको छ । तर, यसअघिका सूचना स्रोत मिलेका कारण बाइडनको यो चेतावनीलाई गम्भीरताका साथ लिइएको छ ।

  • रुसी तेल र ग्यासमा पश्चिमा मुलुकको प्रतिवन्ध, विश्वभर पुग्नेछ असर

    रुसी तेल र ग्यासमा पश्चिमा मुलुकको प्रतिवन्ध, विश्वभर पुग्नेछ असर

    काठमाडौं । युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा पश्चिमा मुलुकले आर्थिक प्रतिबन्ध अझ कठोर बनाएका छन् । अमेरिका र बेलायतले रुसी तेलमा प्रतिबन्ध लगाउने भएका छन् । युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले रुसको अर्थतन्त्रको मुख्य धमनीूलाई नै प्रहार गर्ने बताएका छन्।

    ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुने बीबीसीले लेखेको छ । उता, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन्। रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ। यो साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो। पश्चिमा प्रतिबन्धहरूको घोषणाअघि रुसले त्यस्ता प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रमा विध्वंसक नतिजा ल्याउने चेतावनी दिएको थियो।

    उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ। द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ। अमेरिकी राजनीतिका दुवै पक्षबाट राष्ट्रपति बाइडनलाई रुसी अर्थतन्त्रलाई लक्षित गर्न दबाव परेको थियो। बाइडनले भने, हामी सबैखाले रुसी तेल र ग्यास तथा ऊर्जाका सबै आयातमा प्रतिबन्ध लगाइरहेका छौँ।

  • दाङमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

    दाङमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

    दाङ । दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका १ का २५ वर्षीय नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिसीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।


    मंगलबार राति ९ बजे लमहीबाट भालुबाङ् जाँदै गरेको रा६प ६८४९ नम्बरको मोटरसाइकल र भालुबाङ्देखि लमहीतर्फ आउँदै गरेको बा१०च २५८१ नम्बरको कार लमही(३ बनगाउँस्थित पेट्रोल पम्प नजिकै एक आपसमा ठोक्किंदा दुर्घटना भएको थियो । मृतकको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ । चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीको भनाई छ ।

  • जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

    जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ५ देवीस्थानमा लागेको आगो निभाउने क्रममा जलेर मङ्गलवार एक जनाको ज्यान गएको छ ।
    देवीस्थानको भीरखर्क सामुदायिक वनमा लागेको आगोमा जलेर देवीस्थान गरजडाका २६ वर्षीय मबहादुर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    आगो निभाउने क्रममा बोहोराका भाइ २१ वर्षीय मनबहादुर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी गराएका छन् । घाइते मनबहादुरलाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा सामान्य उपचार गरी प्रभु एअरको हेलिकप्टरबाट थप उपचारका लागि पोखरा रेफर गरिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

  • नेपालमा थप १९४ जनामा कोरोना संक्रमण, ३४८ जना संक्रमण मुक्त

    नेपालमा थप १९४ जनामा कोरोना संक्रमण, ३४८ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० गरी १९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ६४१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३४८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५९ हजार ८१७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ८७५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ ।

  • तनहुँको हिरासतमा रहेका कलाकार पल शाहलाई बयानका लागि गैंडाकोट लगियो

    तनहुँको हिरासतमा रहेका कलाकार पल शाहलाई बयानका लागि गैंडाकोट लगियो

    काठमाडौं । किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा लगिएको छ ।

    मंगलवार बिहान सुरक्षाका साथ शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट पुर्‍याइएको हो। ९ दिनदेखि पल शाह तनुहँ प्रहरीको हिरासतमा थिए।

    फागुन १५ गते बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैडाकोट पुगेर उजुरी दर्ता गराएका थिए।

    बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई पल शाहविरुद्ध बलात्कारको उजुरी गैंडाकोट प्रहरीमा परेकाले यहाँ पनि उनका बारेमा अनुसन्धान गर्न परेकाले पठाइदिनु भन्दै पत्राचार गरेको थियो ।

    २०७७ चैत ७ गते शाहले सुटिङको क्रममा गैडाकोट रिसोर्टमा जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। तनहुँमा उजुरी गर्ने र गैडाकोटमा उजुरी गर्ने पीडित किशोरी एकै हुन्।

    शाहले १८ वर्ष नपुगेकी बालिकालाई प्रेम जालमा पारेर करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। नेपालको कानुनमा १८ वर्ष नपुगी सहमतिमा पनि यौन सम्पर्क गर्नु अपराध हो। शाहले अपराध गरेको पुष्टि भएमा १० देखि १२ वर्षसम्म सजाय हुने व्यवस्था छ।

    अपराध संहिता २०७४ अनुसार एउटै कसुरमा दोहोरो सजाय नहुने व्यवस्था रहेको छ। तर एकिकृत कसुर वापत थप सजाय हुने व्यवस्था भने गरिएको छ।

  • तेलको भाउ प्रतिब्यारेल ३०० डलर पुर्‍याउने रुसको चेतावनी

    तेलको भाउ प्रतिब्यारेल ३०० डलर पुर्‍याउने रुसको चेतावनी

    काठमाडौं । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने मस्कोले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल तेलको मूल्य ३०० डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ।

    प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताए। रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले दिएको दबाव रुसी कम्पनीहरूले महसुस गर्न थालिसकेको उनले उल्लेख गरे।

    बढ्दो मूल्य

    रुस-युक्रेन द्वन्द्वका कारण ऊर्जाको बढ्दो मूल्यले विश्वभरि आर्थिक वृद्धि घटाउन सक्ने र महँगी बढाउन सक्ने चिन्ता बीच अन्तर्राष्ट्रिय सेयर बजारहरूमा गिरावट आएको छ। साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो।

    रुस एक्लैले युरोपेली मागको एकतिहाइ तेल आपूर्ति गर्छ। यसअघि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको थियो। एशियाली बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रूड’ बढेर १३९ डलर प्रतिब्यारेल नाघेको थियो।

    तर पछि १३० डलरभन्दा कममा आइपुग्यो। एक ब्यारेलमा झन्डै १५९ लिटर हुन्छ। रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने भयले इन्धन बजार प्रभावित भएको छ। पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले उपभोक्ताहरू पनि प्रत्यक्ष प्रभावित भएका छन्।

    अमेरिकी प्रयास

    साउदी अरबलाई तेल उत्पादन बढाउन आग्रह गर्न अमेरिकी राष्ट्रपति चाँडै रियाद भ्रमणमा जाने विषयमा अमेरिकी सरकारले विचार गरिरहेको विवरण आएको छ।अमेरिकी समाचारसंस्था एक्जिअसका अनुसार तेलबारे कुरा गर्न जो बाइडनले वसन्तयाममा साउदी अरबको भ्रमण गर्न सक्छन्।

    रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभरि उत्पन्न ऊर्जा सङ्कट समाधान गर्न अमेरिकाले सङ्घर्ष गरिरहेको छ। अमेरिकी र भेनेजुएलाका अधिकारीहरूबीच पनि तेलमा लागेको प्रतिबन्ध खुकुलो बनाउने विषयमा कुरा भएको बताइएको छ। अमेरिकाले हाल आयात गर्ने कच्चा तेल र पेट्रोलियम पदार्थमध्ये झन्डै १० प्रतिशत रुसबाट आयात हुन्छ। –बीबीसी

  • नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

    नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ ।

    बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले मंगलबार दिउँसो १ बजे जमलको एल्लो प्यागोडा होटेलमा एक कार्यक्रम गरि आइपीओ बाँडफाँड गरेको हो ।

    मागभन्दा ३९.०२ गुणा बढी आवेदन परेकोले गोलाप्रथाबाट आइपीओ बाँडफाँड भएको छ । जसमा ७७ हजार ४५६ जनाले मात्र शेयर हात पारेका छन् । भने तीन जनाले ११ कित्ताको दरले शेयर पाएका छन् ।

    २५ लाख २७ हजार १०१ जना लगानीकर्ताले आवेदन दिएकामा २५ लाख २२ हजार ९५५ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो ।

    नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो ।

    यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०।५ प्रतिशत कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

    सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिएका हुन् ।

    यसरी हेर्नुहोस् नतिजा

    लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

    यसैगरी, विक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल लिमिटेड वेबसाइट र नेष्डो समृद्ध लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

  • रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा

    रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा

    काठमाडौं । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरु नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् ।

    गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका हुन् ।

    शर्माका अनुसार हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेका हुन् ।

    युक्रेन युद्धबाट बिस्थापितभै बिभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरु सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुक तिर जागेका छन् ।

    ती मध्ये करिब ४ दर्जन नेपाली गैरआवासीय नेपाली संघ प्रोर्चुगलको सम्पर्क पुगेको संघका महासचिव राज कुमार थापाले जनाकारी दिए ।

    थापाका अनुसार ती नेपालीहरुलाई एनआरएन प्रोर्चुगलले आवश्यक कानुनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ ।

    यसैबीच युक्रेनको खारकिभ शहरमा अलपत्र परेका कमल पोखरेल सहित ६ जनाको समूह सुरक्षित रुपमा पोल्याण्डको सिमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा। चिरन्जीबी खड्काले जानकारी दिए ।

    यसअघि उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदुत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा। बद्री केसीको संयोजत्वमा गठित एक उच्चस्तरीय समिति सकृय रहेको छ । युद्धबाट विस्थापित नेपालीहरुको उद्धारको लागि राजदुत खड्का, एनआरएनए अध्यक्ष कुमार पन्त सिमा क्षेत्रमा आफै खटिएका थिए ।

    युक्रेनबाट विस्थापितहरुलाई नेपाली समुदायकै सहयोगमा बिभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ ।

    दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकहरुलाई भारत सरकारबाट संचालित उडान मार्फत नेपाल पठाउन आवश्यक पहल समेत भैरहेको जनाएको छ ।

    उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीहरुको नियमित रुपमा तथ्यांक संकलन गर्दै आएको छ ।

  • पश्चिमा देशले प्रतिवन्ध लगाए कच्चा तेलको मूल्य ३ सय डलरसम्म पुग्छ : मस्को

    पश्चिमा देशले प्रतिवन्ध लगाए कच्चा तेलको मूल्य ३ सय डलरसम्म पुग्छ : मस्को

    काठमाडौं । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्य अत्यधिक हुने मस्कोले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ। प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताएको बीबीसीले लेखेको छ । रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले दिएको दबाव रुसी कम्पनीहरूले महसुस गर्न थालिसकेको उनले उल्लेख गरे।

    रुस-युक्रेन द्वन्द्वका कारण ऊर्जाको बढ्दो मूल्यले विश्वभरि आर्थिक वृद्धि घटाउन सक्ने र महँगी बढाउन सक्ने चिन्ताबीच अन्तर्राष्ट्रिय शेअर बजारहरूमा गिरावट आएको छ। साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो। रुस एक्लैले युरोपेली मागको एक तिहाइ तेल आपूर्ति गर्छ।

    यसअघि सोमवार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको थियो। एशियाली बजारमा कच्चा तेलको बेन्चमार्क ब्रेन्ट क्रूड बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो। तर पछि १३० डलरभन्दा कममा आइपुग्यो। एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ।

  • रुसका उच्च सैनिक अधिकारी मारिएको युक्रेनको दावि

    रुसका उच्च सैनिक अधिकारी मारिएको युक्रेनको दावि

    काठमाडौं । युक्रेनको रक्षा मन्त्रालयले युद्धमा परि रुसका एक जना उच्च सैनिक अधिकारी मारिएको दावि गरेको छ । खार्किभमा जारी युद्धका क्रममा उच्च सैन्य अधिकारी मारिएको बताइएको छ । संचारमाध्यमले यो खबरको स्वतन्त्र पुष्टि भने भइनसकेको बताएका छन् । रुसी अधिकारीहरूले पनि उक्त विषयबारे प्रतिक्रिया जनाएका छैनन्। बीबीसीका अनुसार युक्रेनको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार भीताली जेरासाइमोभ युद्धका क्रममा मारिएका हुन्।

    कैयौँ अन्य वरिष्ठ रुसी सैन्य अधिकारीहरू पनि घाइते भएको र मारिएको बताइएको छ। युक्रेनी गुप्तचर निकायका अनुसार जेरासाइमोभ दोस्रो चेचेन युद्ध अनि सिरियामा भएको रुसी सैन्य कारबाहीमा सहभागी भएका थिए। ‘‘क्राइमिया पुनः नियन्त्रणमा लिए पश्चात्’’ उनले पदक प्राप्त गरेका थिए।

  • स्थानीय तह निर्वाचन : चुनाव चिन्ह हरियो रङ्गको हुने

    स्थानीय तह निर्वाचन : चुनाव चिन्ह हरियो रङ्गको हुने

    काठमाडौं । सरकारले ३० वैशाखमा तोकेको स्थानीय तह निर्वाचनमा हरियो रङ्गको चुनाव चिन्ह हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाई गर्दा मतपत्रमा छपाई हुने चिन्ह, विवरण तथा सुरक्षा चिन्हहरु हरियो मसीले छपाई गर्ने निर्णय गर्ने सोमबार पत्रकार सम्मेलनमार्फत आयोगले जानकारी गराएको छ । स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिन्ह, विवरण तथा सुरक्षा चिन्हहरु हरियो एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रिन मसिले छपाइ गर्ने तयारी गरिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    ०७४ सालको स्थानीय तह निर्वाचनमा सेतो कागजमा नीलो रङ्गको चुनाव चिन्हहरु थियो भने स्वस्तिक छाप पनि नीलो रङकै थियो । निर्वाचनसम्बन्धी छपाई सामग्रीहरु निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढ्वानी व्यवस्थापनका लागि हेलिकोप्टर, ट्रक र कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचिकृकरणका लागि सार्वजनिक सूचना गरिएको समेत उनले जानकारी गराए ।

    उनका अनुसार स्वस्तिक छाप नीलो रङ्गको हुन्छ । स्वस्तिक छापको चिन्ह र निर्वाचन चिन्हको विभेद प्रष्ट होेस् भनेर प्राविधिक रुपमा सुझाव आएपछि यस्तो निर्णय गरिएको आयोगको भनाई छ । चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने भएका छन् । उहाँका अनुसार निर्वाचनमा सहभागी हुन आयोगमा दर्ता भएका ८० दलमध्ये ७२ दलले देशभरी उम्मेदवार दिनेगरी निवेदन दर्ता भएको हो ।

  • परराष्ट्रमन्त्री टर्की जाँदै, के छ कार्यक्रम ?

    परराष्ट्रमन्त्री टर्की जाँदै, के छ कार्यक्रम ?

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज टर्की प्रस्तान गर्ने भएका छन् । मार्च ११–१३ मा आयोजना हुने अन्टाल्या कूटनीति मञ्च (एडीएफ)मा सहभागी हुन उनी टर्की जान लागेको मन्त्रालयले जनाएको छ । कार्यक्रममा ५० भन्दा बढी परारष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञले भाग लिने कार्यक्रम छ । ‘रिकोडिङ डिप्लोमेसी’ नाम दिइएको यस वर्षको फोरममा मन्त्री खड्काले ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘एशिया नयाँ – दिगो क्षेत्रीय विकासको लागि’ भन्ने विषयमा हुने छलफलमा भाग लिने छन् ।

    फोरमको साइडलाइन वार्ताको क्रममा मन्त्री खड्काले टर्कीका समकक्षी र अन्य देशका विदेशमन्त्रीहरुसँग पनि दुईपक्षीय भेट गर्ने परराष्ट्र मन्त्रालयको भनाई छ । ९ मार्चमा मन्त्री खड्काले टर्कीका अधिकारी, गैरआवासीय नेपाली र इस्तानबुलमा रहेका नेपाली उद्यमीहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ । उनले इकोनोमिक चेम्बर्सिन इस्तानबुल र अन्टाल्याका सदस्यहरुसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको समेत बताइएको छ ।

  • काठमाडौंको नागर्जुनमा एकै घरका ५ जना बेहोस अवस्थामा फेला, एकको मृत्यु

    काठमाडौंको नागर्जुनमा एकै घरका ५ जना बेहोस अवस्थामा फेला, एकको मृत्यु

    काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यो घटना सोमबार रातीको हो । यसअघि सोमबार नै ललितपुरमा एकै घरका ५ जनाको निसास्सिएर मृत्यु भएको थियो । सोमबार रामकोटमा बेहोस अवस्थामा भेटिएका मध्ये एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    मृत्यु हुनेमा काठमाडौं महानगरपालिका डल्लु स्थायी घर भइ हाल रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् । गम्भिर घाइते उनको परिवारका थप चार सदस्यको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको छ । उनीहरुले विष सेवन गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

  • आज ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, संसारभर मनाईंदै

    आज ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, संसारभर मनाईंदै

    काठमाडौं मंगलबार ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संसारभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ८ मार्चमा यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन बसेको हो । सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ ।

    नेपालमा भने ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्री र नेताहरूले पनि शुभकामना व्यक्त गरेका छन् । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् ।

    त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

    जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालिएको हो ।

  • शेन वार्नको शव अस्ट्रेलिया लगियो, मृत्यु प्राकृतिक

    शेन वार्नको शव अस्ट्रेलिया लगियो, मृत्यु प्राकृतिक

    काठमाडौं । साथिहरुसँग बिदा मनाउन थाइल्याण्ड आएका अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको शव अस्ट्रेलिया लगिएको छ । अस्ट्रेलिया सरकारले उनको राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गर्ने भएको छ । उनको मृत्युबारे आंशका भइरहेको समयमा थाईल्यान्डमा प्राकृतिक कारणबाट मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ५२ वर्षीय वार्नको पोस्टमोर्टम गर्दा मृत्युको कुनै अन्य कारण फेला नपरेको एक वरिष्ठ प्रहरी अधिकारीलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

    उनी बिदा मनाउन थाईल्यान्डको कोह सामुई टापु गएका थिए। तर गत शुक्रवार उनलाई मृत अवस्थामा फेला पारिएको थियो। थाई प्रहरीका प्रवक्ताले वार्नको परिवारलाई पोस्टमार्टमको प्रतिवेदन उपलब्ध गराइएको र उनीहरूले त्यसलाई स्वीकार गरेको बताएका छन्। उनकी पूर्वपत्नी सिमोन कालाहनबाट वार्नका तीन सन्तान छन्।

  • जब सेन्टरका नाममा ठगी गर्ने ९ जना पक्राउ

    जब सेन्टरका नाममा ठगी गर्ने ९ जना पक्राउ

    काठमाडौं । जब सेन्टरका नाममा सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो । प्रंहरीका अनुसार कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक अमर पाण्डे, पेप्सीकोला बस्ने तिलकराम पाण्डे, बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक आनन्द मरहठ्ठा, कोटेश्वरस्थित एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक विवेक यादव छन्।


    यसैगरी, काठमाडौं ३२ एबिएस जब ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक अश्विन राई, सिन्धु रोजगारी सेवा कोटेश्वरका सञ्चालक घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब इन्टरनेसनल मल्टिपर्पोज प्रालिकी सञ्चालिका सिर्जना लामिछाने, क्वीकमाण्डु एमपी प्रालिकी सञ्चालिका ज्ञानु न्यौपाने र अनमोल जब मल्टिपल प्रालि कोटेश्वरका सञ्चालक रामवचन कुमार यादव छन्। उनीहरूले सामाजिक सञ्जाल, पत्रपत्रिका र पम्प्लेटमा ‘घरमै बसेर जागिर मिल्छ’ भन्ने प्रचार गरि मानिसलाई आकर्षित गर्दै आएका थिए ।

    जागिरका लागि उनीहरूले फारम भर्ने बहानामा तीन सयदेखि पाँच सय रुपैयाँसम्म, कामको ग्यारेन्टी भन्दै एकदेखि ६ हजारसम्म रकम लिने गरेका थिए। सर्वसाधारणबाट त्यसरी पैसा लिएपछि उनीहरू कोही भाग्ने, कसैलाई काममा लगाउने र लगाइहाले पनि तोकिएको तलब सुविधा नदिई केही समयमै जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको प्रहरीको भनाई छ ।

  • नेपालमा थप ८८ जनामा कोरोना संक्रमण, ३७६ जना संक्रमण मुक्त

    नेपालमा थप ८८ जनामा कोरोना संक्रमण, ३७६ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ जना र २ हजार ४९३ जनाको एन्टिजेन परीक्षण गर्दा २२ गरी ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ५६७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३७६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५९ हजार ४६९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९४८ पुगेको छ ।

  • झिनो अंकले बढ्यो नेपाली शेयर बजार, कारोबार रकममा सामान्य वृद्धि

    झिनो अंकले बढ्यो नेपाली शेयर बजार, कारोबार रकममा सामान्य वृद्धि

    काठमाडौं । शेयर बजारको ओरालो यात्रा रोकिएको छ । गतसाता करिब ११५ अंकले घटेको नेप्से यस साताको पहिलो कारोबार दिनमै ३ अंकले घटेको थियो ।

    दोस्रो दिन झिनो अंकले बढेर ओरोलो यात्रामा ब्रेक लागेको हो । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से १.५४ अंकले बढेर २५४४.९३ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार २३० कम्पनीको २ अर्ब ६० करोड ९ लाख ३० हजार २९२ रुपैयाँ बराबरको ५३ लाख १५ हजार २९२ कित्ता शेयर किनबेच भएका छन् ।

    आइतवारको तुलनामा कारोबारमा सुधार आएको छ । त्यसदिन २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ५ वटामा परिसूचक बढेको छ भने अन्य ८ वटा राताम्मे भएका छन् । आज अन्य समूह सबैभन्दा धेरै १.५८ प्रतिशतले बढेको छ भने फाइनान्स समूह सबैभन्दा धेरै १.३४ प्रतिशतले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज २७ करोड ६९ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा नेपाल टेलिकमको कारोबार भएको छ । यस कम्पनीको १२ करोड ६३ लाख बढीको कारोबार भएको छ । तेस्रोमा नेपाल लाइफ इन्सोरेन्स कम्पनीको भएको छ । त्यसको ११ करोड बढीको कारोबार भएको छ ।

    झिनो अंकले बढेको बजारमा आज बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ५.८९ प्रतिशतले बढेको छ ।

    त्यस्तै, बोटलर्स नेपाल ५.४८, सामुदायिक लघुवित्त ४.३४, इमर्जिङ नेपाल ४.०१, नेपाल टेलिकम ३.१८, शिवश्री हाइड्रोपावर ३.०८, युनाइटेड इन्स्योरेन्स, जनउत्थान लघुवित्त, वीन नेपाल लघुवित्त र शिवम् सिमेन्टको शेयर मूल्य २ प्रतिशतले बढेको छ ।

    त्यस्तै, आज पाँचथर पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ६ प्रतिशतले घटेर प्रतिकित्ता ४१८ रुपैयाँमा झरेको छ ।

  • एमसीसीबारे महरा, पोखरेल र गुरुङको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठ)

    एमसीसीबारे महरा, पोखरेल र गुरुङको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गरेकामा असहमति जनाउँदै तीन नेताले ‘नोट अफ डिसेन्ट’ राखेका छन्।

    बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सोमबार जारी माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी गराएका हुन् ।

    नोट अफ डिसेन्ट जनाउनेमा नेताहरु देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महरा रहेका छन् ।

    सत्ता गठवबन्धनमा रहेको दल नेकपा (माओवादी केन्द्र) भित्र भने यो विषयको वहस सेलाएको छैन ।

    अध्यक्ष प्रचण्ड ब्याख्यात्मक घोषणा सहित अनुमोदनमा गएपछि पार्टीभित्र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मौखिक असहमति २० फागुनको केन्द्रीय समिति बैठकमा राखेका थिए ।

    अमेरिकी अधिकारीले नै सम्झौतालाई संसद्‍बाट अनुमोदन गराउनका लागि नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको तहसम्म उठेर बारम्बार दबाब दिनुले यो सम्झौता पछाडिको सामरिक उद्देश्यअनरुप अन्तर्निहित रहेको यथार्थता प्रष्ट भएको भन्दै तीन नेताले पार्टीमा गम्भीरताका साथ आत्मसमीक्षा गरियोस् भनी अनुरोध गरेका छन् ।

    यस्तो छ तीन नेताले लेखेको नोट अफ डिसेन्ट :

    आदरणीय अध्यक्ष कमरेड
    विषय : एमसीसी अनुमोदनको विषयमा असहमति
    यही फागुन १५ गते सदनबाट ब्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्ने निर्णयमा असहमति रहेको कुरा स्पष्ट गर्दछौँ । उत्त दिन बिहान अध्यक्षको निवास खुमलटारमा पूर्वस्थायी समितिका सदस्य तथा उपलब्ध प्रदेश ईन्चार्जहरुबीच भएको अनौपचारिक छलफलमा अध्यक्ष कमरेडले राख्नु भएको उक्त प्रस्तावमा हामीले असहमति प्रकट गरेका थियौँ ।

    उक्त छलफल कुनै निश्चित पार्टी कमिटीको औपचारिक बैठक नभएकोले निर्णय पुस्तिका पठाउने र नोट अफ डिसेन्ट लेख्ने व्यवस्था भएन । अतः एमसीसी अनुमोदनसम्बन्धी हाम्रो असहमति लिखित रुपमा पार्टी केन्द्रीय कार्यालयमा दर्ज गरियोस्‌ र आउँदो केन्द्रीय समितिको बैठकमा यस विषयमा गम्भीरतापूर्वक समीक्षा गरियोस्‌ भनि अनुरोध गर्दछौँ ।

    किनभने एमसीसी सम्झौता आर्थिक सहायताको सम्झौता भनिएको भएतापनि पछिल्लो समयमा अमेरिकी अधिकारीहरुले यस सम्झौतालाई हिन्द प्रशान्त महासागरीय रणनैतिक साभ्नेदारीको अंग भन्नु र अमेरिकी अधिकारीले नै सम्झौतालाई संसदबाट अनुमोदन गराउनका लागि नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको तहसम्म उठेर बारम्बार दबाब दिनुले यो सम्झौताको पछाडिको सामरिक उद्देश्यअनरुप अन्तरनिहीत रहेको यथार्थता प्रष्ट हुन्छ ।

    यस्तो सम्झौताबारे गहन छलफल र राष्ट्रिय सहमति बिना हतारमा सम्झौताको अंग बन्ने कुनै वैधानिक हसियतको कुनै बाध्यकारी व्यवस्था नरहेको १२ बुँदे ब्याख्यात्मक घोषणा नेपालको सार्वभौम अधिकार नै खण्डित हुने एमसीसी करार सम्झौतालाई सदनबाट वैधानिक मान्यता दिन अनुमोदन गरिनु झन् गम्भीर गल्ती भएको छ ।

    यस प्रकारणको रणनीतिक विषयमा सदनबाट अनुमोदन पूर्व केन्द्रीय समितिको बैठक बसी निर्णय गरिनुपर्थ्यो । त्यतिमात्र होइन संसद्मा प्रतिपक्षले ६ महिनापूर्वदेखि बैठक अवरुद्ध गरिरहेको अवस्थामा संसदको बैठक सञ्चालनसम्बन्धी सामान्य प्रजातान्त्रिक विधिसम्म पनि अवलम्बन नगरी एकैदिनमा रातारात नोकरशाही ढंगले अनुमोदन गरियो । अतः यी विषयहरुमा पार्टीमा गम्भीरताका साथ आत्मसमीक्षा गरियोस्‌ भनि अनुरोध गर्दछौँ ।

    धन्यवाद
    कृष्ण बहादुर महरा
    लिलामणि पोखरेल
    देव गुरुङ
    २०७८ फागुन १८ गते

  • २ दिने शिशुसहित ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु

    २ दिने शिशुसहित ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु

    काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका –४ नल्लुमा एकै घरका ५ जना मृत फेला परेका छन् ।

    ४ जनाको घटनास्थलमै र थप एकजनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ज्यान गुमाउनेहरूमा ५५ वर्षीया काइँली स्याङतान, उनकी बुहारी २२ वर्षीया सुष्मा स्याङतान, ९ वर्षीय बालक आशिष स्याङतान, ५ वर्षीया नातिनी आशमा स्याङतान रहेका महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

    यो घटनामा २३ वर्षीय सुभाष स्याङतानको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ।

    घटनास्थलमा अहिले प्रहरीले डाक्टरसहित अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार घरभित्र आगो बालेको कोइला र केही बान्ता गरेको देखिएको छ।