Category: फिचर

  • म्यादी प्रहरीमा भर्ना खुल्यो, देशभर एक लाख भर्ति गरिने

    म्यादी प्रहरीमा भर्ना खुल्यो, देशभर एक लाख भर्ति गरिने

    काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गरि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । म्यादी प्रहरीमा चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन सकिने भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले मंगलबार एक सूचना जारी गरि भर्ना खुलेको जानकारी गराएको हो । दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउने सूचनामा उल्लेख छ ।

    म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने छ । २०७८ साउन १ गतेदेखि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्राथमिकता पाउनेछन् ।

    नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ । म्यादी प्रहरी सम्बन्धी अन्तिम नतिजा २२ चैतमा प्रकाशित हुनेछ भने उनीहरुको सेवा अवधि ४० दिन रहेनछ ।

    प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब सरह (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) ले ३० हजार २४० रुपैयाँ दिइनेछ । उनीहरुलाई खाद्यान्नवापत एकमुष्ठ ७ हजार २०० रुपैयाँ र पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने समेत सूचनामा उल्लेख छ ।

  • हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

    हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले चालू हिउँद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

    मन्त्रिपरिषद बैठकले चालु हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

    वैशाखदेखि बजेट अधिवेशन सुरु हुने भएकाले सरकारले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

  • नेपालमा क्रिप्टोकरेन्सीको अवैध कारोबार : नौ करोड ७४ लाख बिगो दाबी गर्दै दुई जनाविरुद्ध मुद्दा

    नेपालमा क्रिप्टोकरेन्सीको अवैध कारोबार : नौ करोड ७४ लाख बिगो दाबी गर्दै दुई जनाविरुद्ध मुद्दा

    काठमाडौं । राजस्व अनुसन्धान विभागले नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सीमा लगानी तथा कारोबार गरेको भन्दै दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

    विभागले मोरङ रतुवामाईका पुस्कर श्रेष्ठ र विनिता लिम्बुविरुद्ध बिगो जफत गरी सजाय माग्दै मुद्दा दायर गरेको हो।

    विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र विनिता लिम्बूविरुद्ध ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार काठमाडौँ जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ।

    उनीहरुले नेपालमा प्रतिबन्धित वानएक्सवेट, विनाश, एड्भी क्यास, क्वाइनबेस र प्याक्फुल जस्ता माध्यमको प्रयोग गरी सामूहिक मिलेमतोमा अमेरिकी डलरको गैरकानुनी कारोबार गरेको पाइएको छ। विभागका अनुसार आरोपितले विभिन्न एप तथा गैरकानुनी माध्यममार्फत रकम राख्ने वा पठाउने गरेको पाइएको छ।

    उनीहरुले अमेरिकी डलरको सटही तथा क्रिप्टोमा लगानीकर्ताको रुपमा रहेको अनुसन्धानबाट खुलेको छ । आरोपी श्रेष्ठले मेगा बैंकबाट रु ८६ लाख ८३ हजार ४२९, सिटिजन बैंकबाट रु दुई करोड ५१ लाख ७६ हजार ९९, एनआइसि एशिया बैंकबाट रु एक करोड ८२ लाख ४९ हजार ८८९ र राष्ट्रिय वाणिज्य बैंकबाट रु दुई करोड ३६ लाख ६२ हजार ५३९ गरी कूल रु सात करोड ५७ लाख ७१ हजार ९५८ बराबरको रकम हिनामिना गरेको पाइएको छ ।

    यस्तै, आरोपी लिम्बूले एनआइसि एशिया बैंकबाट रु दुई करोड १६ लाख ९८ हजार २४ बराबरको रकम हिनामिना गरेको देखिन्छ । विभागले कूल रु नौ करोड ७४ लाख ६९ हजार ९८३ बराबरको विदेशी विनिमयको अपचलन गरेको अध्ययनमा पत्ता लगाएको छ।

    विभागले आरोपीलाई बिगो जफत गरी सजाय र तीन वर्षसम्मको कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

    नेपाल राष्ट्र बैंकले २०७४ साउन २९, २०७५ चैत २६ र २०७८ भदौ २४ गते अवैध रुपमा विदेशी विनिमयको अवैध कारोबार नगर्न निर्देशन दिएको छ। यस्तै, नेपालमा गैरकानुनी रहेको क्रिप्टोकरेन्सीको कारोबार नगर्न समेत पटक–पटक केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

  • ‘एमालेलाई कसैको बैशाखी आवश्यक छैन, एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ’

    ‘एमालेलाई कसैको बैशाखी आवश्यक छैन, एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लैले स्थानीय चुनावमा ७० प्रतिशत जित्ने दाबी गरेका छन् । मंगलबार अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।

    ‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन । हामी एक्लै लड्न सक्छौ, एमालेलाई कसैको बैशाखी टेक्न आवश्यक छैन,’ उनले भने । उनले आफ्नै पार्टीका नेता घनश्याम भुसालप्रति व्यंग्य हाने । भुसालले विभाजित भएका कम्युनिष्टहरु आउने स्थानीय निर्वाचनमा मिल्नुपर्ने बताएपछि अध्यक्ष ओलीले उनीप्रति सो व्यंग्य हानेका हुन् ।

    ‘माधव नेपाल भन्ने गुटलाई भनेको कि एमालेलाई ? एमालेलाई भनेको हो भने यस्तो जिस्काउने कुरा नगर्न म सबैलाई सुझाव दिन्छु । झण्डै दुईतिहाइको हैसियतमा रहेको कम्युनिष्ट पार्टीलाई फुटाउने कम्युनिष्ट हुन्छ आफ्नो पार्टीको सरकारलाई भोट नदिएर भाग्ने, अन्त गएर भोट हाल्ने । पार्टीलाई भोट हाल्न परे नहाल्ने, प्रतिक्रियावादीलाई परे पछिल्लो ढोकाबाट गएर भोट हाल्ने । यस्तालाई कम्युनिष्ट मानेर एमालेले मिलिदिनुपर्ने ?’, उनले भने ।

  • ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै वेबसाइट र मोबाइल एप बन्द गर्न निर्देशन

    ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै वेबसाइट र मोबाइल एप बन्द गर्न निर्देशन

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ।

    नेपाल दूरसञ्चार प्राधिकरणले फागुन ३० गते सोमबार सबै इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाउँदै अनलाइनबाट हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका साइट तथा एपमाथि रोक लगाउन निर्देशन दिएको छ।

    त्यस्ता एपहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राख्न प्राधिकरणले निर्देशन दिइएको हो।

    अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फागुन १ गतेको पत्रमार्फत त्यस्ता साइट तथा एपलाई निषेध गर्न प्राधिकरणलाई अनुरोध गरेको थियो ।

    उक्त पत्रमा भनिएको छ, ‘अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरू नेपाल भित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेएबल तथा कानलो सूचीमा राख्ने व्यवस्था गर्नुहुन निर्देशानुसार अनुरोध छ ।’

  • भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि ५ एयरलाइन्स कम्पनी तयार

    भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि ५ एयरलाइन्स कम्पनी तयार

    काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि ५ वटा कम्पनी सम्पर्कमा आएका छन् ।

    उडानका लागि कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    उक्त विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडीमुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले पनि तोकिएकै मितिमा विमानस्थल सञ्चालनमा ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले लागि परेका छन् ।

    सरकारले आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको अवसर पारेर सोही दिन उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

  • दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ३६ करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ३६ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । केही दिन बढेको बजार साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.१५ अंकले घटेर २६५०.९७ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको ६५ लाख २९ हजार २६ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ४ हरियो भएको छ । भने ९ वटा घटेको छ । टेलिकमको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

    टेलिकमले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश दिन घोषण गरेसँगै लगानीकर्ताको आर्कषण बढेको हो ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । आइतवार ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    सोमबार नियमित समयभन्दा झन्डै २ घण्टा कारोबार नभएपछि कारोबार रकम ह्वात्तै घटेको थियो । त्यसदिन सवा १ अर्बको मात्र शेयर किनबेच भएको थियो ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल छेलिकमको भएको छ । यस कम्पनीको आज ३४ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा अपी पावर कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज १२ करोड २० लाख भन्दा बढीको कारोबार भएको छ ।

    नेपाल लाइफ इन्सोरेन्स ११ करोड ८४ लाख बढीको कारोबार गदैृ तेस्रो स्थानमा रहेको छ । इमजिङ नेपाल लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४२९.७० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, आज नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.१३ प्रतिशतले घटेको छ ।

  • यक्रुेनमा रुसको गति रोकिएको अमेरिकाको दावि

    यक्रुेनमा रुसको गति रोकिएको अमेरिकाको दावि

    काठमाडौं । भीषण बमबारीका वावजुत युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिन देखि रोकिएको पेन्टागनको विश्लेषण छ । उसको पछिल्लो मूल्याङ्कन अनुसार युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएका छन्। बीबीसीका अनुसार अमेरिकी रक्षा मन्त्रालयले युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना हवाई हमलामा पनि त्यति धेरै अघि बढ्न नसकेको जनाएको छ। दिनभरि गोलाबारी भएको राजधानी किएभमा रातको समयमा विस्फोटन भएका छन्।

    युक्रेनको उत्तर पश्चिम क्षेत्रमा एउटा टेलिभिजन च्यानलमा भएको हवाई हमला पश्चात् भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धार कार्यमा अधिकारीहरू खटिएका छन्। फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले हालसम्म कुनै पनि ठूलो युक्रेनी सहर नियन्त्रणमा लिन सकेको छैन।

    युक्रेनमाथि आक्रमण गरेसँगै लगाइएका प्रतिबन्धबाट जोगिन रुसलाई मद्दत गरे त्यसको परिणाम चीनले भोग्नुपर्ने अमेरिकाले चेतावनी समेत दिएको छ । चिनियाँ विदेशमन्त्रालयले भने अमेरिकामाथि मिथ्या सूचना फैलाएको आरोप लगाएको छ। रुसले पनि चीनसँग सैन्य सहायता मागेको अस्वीकार गरेको छ।

  • श्रममन्त्री श्रेष्ठ यूएईमा, के के छन् कार्यक्रम ?

    श्रममन्त्री श्रेष्ठ यूएईमा, के के छन् कार्यक्रम ?

    यूएई । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ विभिन्न तीन मुलुकको भ्रमणका क्रममा संयुक्त अरब इमिरेट्स यूएई पुगेका छन् । सो मुलुकमा मंगलबार नेपाल र संयुक्त अरब इमिरेट्स यूएईको संयुक्त समिति बैठक बस्दैछ । आबुधाबीमा बस्ने बैठकको उद्घाटन सत्रलाई मन्त्री श्रेष्ठले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । कार्यक्रममा यूएईका मानव संसाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारले समेत सम्बोधन गर्नेछन् । उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने कार्यक्रम छ ।

    बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम सम्झौता कार्यान्वयनबारे समीक्षा हुनेछ । बैठकमा वैदेशिक रोजगारीका लागि यूएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सिप विकास, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ । पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीको समस्या समाधानबारे पनि छलफल हुने बताइएको छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार यूएईको राजधानी आबुधाबी पुगेको हो । श्रममन्त्री श्रेष्ठ र यूएईका समकक्षी डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच भेटवार्ताको समेत कार्यक्रम छ ।

  • साउदी विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भ्रमणमा व्यस्त रहने, के के कार्यक्रम

    साउदी विदेशमन्त्री आज दिनभर उच्चस्तरीय भ्रमणमा व्यस्त रहने, के के कार्यक्रम

    काठमाडौं । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं ओर्लिएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज दिनभर व्यस्त रहनेछन् । उनले आजै उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् । उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने र पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल २३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै निजी विमानमार्फत् फागुन ३० गते बेलुकी नेपाल आएका थिए । उनको सम्मानमा परराष्ट्रमन्त्री खड्काले दिवा भोज आयोजना गरेका छन् । त्यसपछि उनी आजै स्वदेश फर्कने छन् ।

  • आजबाट नयाँ सवारी लाइसेन्सका लागि आवेदन दिने काम बन्द

    आजबाट नयाँ सवारी लाइसेन्सका लागि आवेदन दिने काम बन्द

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली आवेदन आजबाट अनिश्चितकालका लागि बन्द भएको छ । सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि अर्को सूचना नभएसम्म नयाँ निवेदन नलिने बताएको हो । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार हालसम्मका निवेदकको परिक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले नयाँ निवेदन नलिइएको हो ।

    अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयमा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै कामको थुप्रो लागेको छ । यसअघि कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालक समस्यामा छन् । ६ महिना बन्द गरेर गत ९ कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिएको थियो ।

  • साउदी अरेबियाका विदेशमन्त्री काठमाडौंमा

    साउदी अरेबियाका विदेशमन्त्री काठमाडौंमा

    काठमाडौं । साउदी अरेबियाका विदेशमन्त्री तथा राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौं अवतरण गरेका छन् । उनी २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा सोमवार काठमाडौं अवतरण गरेका हुन् । निजी विमानमार्फत उनी श्रीलङ्का हुँदै काठमाडौं अवतरण गरेका हुन् ।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालका रहेको साउदी अरबको दूतावासका उच्च अधिकारीले स्वागत गरे । भ्रमणका क्रममा साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मङ्गलवार परराष्ट्र मन्त्री डा. नारायण खड्काले साउदी समकक्षीसँग भेटवार्ता गर्नेछन् । भेटवार्तापछि दुवै देशका परराष्ट्र मन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी मंगलबार नै स्वदेश फर्कनेछन् ।

  • राप्रपा अध्यक्षको चेतावनी: हलो चिन्ह नदिए सडकमा जान्छौं

    राप्रपा अध्यक्षको चेतावनी: हलो चिन्ह नदिए सडकमा जान्छौं

    बर्दिया। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकमा जाने चेतावनी दिएका छन् । बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई चुनाव चिह्न हलो दिनुपर्ने माग गरे । नदिए सडकबाट विकल्प खोज्ने उनको चेतावनी छ । राप्रपालाई चुनाव चिह्न हलो नदिएमा निर्वाचन बहिस्कार नगर्ने तर हुन नदिने उनको भनाई छ ।

    राप्रपालाई राजनीतिक मुलधारबाट धकेल्ने र देशलाई मुठभेडतर्फ लैजान खोजेको भन्दै लिङ्देनले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण समेृत गराए । राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य नभएको भन्दै द्वन्द्व र मुठभेडतर्फ मुलुकलाई नधेकेल्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराए ।

  • एमसीसी प्रकरणमा भीम रावलविरुद्ध प्रधानमन्त्रीको आक्रोस

    एमसीसी प्रकरणमा भीम रावलविरुद्ध प्रधानमन्त्रीको आक्रोस

    काठमाडौं । एमसीसी प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलविरुद्ध आक्रोस व्यक्त गरेका छन् । रावल मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्दै आएका नेता हुन् । सोमबार किस्पाङ गाउँपालिकाको भवन उद्घाटनमा नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेको मिेत उल्लेख गरे ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको भन्दै देउवाले अगाडी भने, , ‘मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?’ एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रममात्र भएको भन्दै उनले रावल मन्त्री हुँदा एसमसिसीको प्रक्रिया अघि बढेको उल्लेख गरे ।

    ‘एमसिसी राष्ट्रघाती भन्दै हिँड्ने उहाँ रक्षामन्त्री हुँदा अनुमोदनका लागि संसद्मा लैजान हस्ताक्षर गर्ने अनि अहिले विरोध गर्दै हिँड्ने ?’ उनले नेता रावललाई आफैं सहभागी मन्त्रिपरिषद्ले एमसीसी संसदमा लैजान पास गर्दा किन राजीनामा नदिएको भनेर प्रश्न समेत गरे । सरकारमा हुँदा एमसिसी चाहिन्छ भनेर संसद्बाट पास गर्न लाग्नेहरु अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेको भन्दै उनले दोहोरो चरित्र नदेखाउन उनको आग्रह छ ।

  • नेपालमा थप ५८ जनामा कोरोना, १४८ जना संक्रमण मुक्त

    नेपालमा थप ५८ जनामा कोरोना, १४८ जना संक्रमण मुक्त

    काठमाडौं । नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    देशभर गरिएको ३ हजार ५ सय ३९ पिसिआर परीक्षणका क्रममा ५० जना र १ हजार ८ सय ७९ एन्टिजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छ। हालसम्म नेपालमा कोरानाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ।

    त्यस्तै थप १ सय ४८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार २ सय १८ जना निको भएका छन्। हाल नेपालमा ४ हजार ८ सय १९ सक्रिय संक्रमित आइशोलेशनमा र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

  • कोरियन भाषा परीक्षाका लागि चैत १४ देखि आवेदन खुल्ने, साढे ९ हजार लैजाने

    कोरियन भाषा परीक्षाका लागि चैत १४ देखि आवेदन खुल्ने, साढे ९ हजार लैजाने

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । ईपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

    दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट ९ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्ये ६ हजार ९१३ उत्पादनमूलक र २ हजार ७४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ । कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ ।

    भाषा परीक्षामा सहभागी हुन आगामी चैत १४ देखि २१ गतेसम्म आवदेन फारम भर्न सक्ने शाखाले जनाएको छ । आवेदन फाराम httpsM//eoers.epsnepal.gov.np मार्फत भर्न सकिनेछ । परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ । आवेदन फारम शुल्क अमेरिकी डलर २४ लाग्नेछ ।

    आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षा र सीप परीक्षण आगामी वैशाख २६ देखि जेठ १३ सम्म पहिलो चरण र आगामी जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणमा हुनेछ ।

    यस्तै उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा आगामी असार २० देखि भदौ १० सम्म पहिलो चरण र आगामी भदौ १६ देखि असोज २१ गतेसम्म दोस्रो चरणमा हुनेछ । परीक्षा एक दिनमा चार सिफ्टमा सञ्चालन हुने शाखाले जनाएको छ ।

    कृषि तथा पशुपालन क्षेत्रतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणमा भएको परीक्षाको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ । यस्तै उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणमा सम्पन्न भाषा परीक्षाको नतिजा आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुनेछ ।

  • प्रकाश सपुतको प्रष्टीकरण-‘राजनीतिक पूर्वाग्रह छैन्, कसैलाई असर परे आत्मआलोचना गर्छु’

    प्रकाश सपुतको प्रष्टीकरण-‘राजनीतिक पूर्वाग्रह छैन्, कसैलाई असर परे आत्मआलोचना गर्छु’

    काठमाडौं । गायक तथा संगीतकार प्रकाश सपुतले नयाँ गीत ‘पिर’ का विषयमा उठाइएका प्रश्नहरूबारे प्रष्टीकरण दिएका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुक मार्फत शुक्रबार सार्वजनिक भएको नयाँ गीत’पिर’ राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित नरहेको स्पष्टीकरण दिएका हुन् ।

    उनले गीतमा राखिएको दृश्यबाट कसैलाई असर पुगेको कुरामा आत्मालोचना गर्ने बताएका छन्।

    माओवादी ‘जनयुद्ध’ सँग सम्बन्धित रहेर सार्वजनिक भएको गीतका बारेमा आलोचना र समर्थन जारी रहँदा गायक तथा संगीतकार सपुतले यसबारे प्रष्ट पारेका हुन्।

    फेसबुक मार्फत उनले भनेका छन्- ‘पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै-धेरै धन्यबाद ! सवैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सवैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ गीत ‘पिर’का कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महशुस गरेको छु !

    गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ। एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरुको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ। मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु। यतिबेला आफ्नै सिर्जना तपाईंहरुका नजरबाट नियालिरहेको छु। मैले गल्ती गरेको हो कि ? तपाईंहरु (केही)ले गलत बुझ्नुभएको हो, समिक्षा गर्दैछु।

    ‘पिर’बाट मैले युद्धकै जग/ बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो । समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हो ।

    एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हो । मलाई लागेको – यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र? पत्रपत्रिकाहरुमा त्यसबारे लेखिदै / पढिँदै आएको होइन र? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र?

    जसरी यसअघिका गीतहरु ‘बोल माया’, ‘दोहोरी ब्याटल’, ‘गल्बन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’ , ‘मेरो पनि हैन र यो देश’ , ‘कुरा बुझ्न पर्छ ‘ गीतहरुमा कथा बुन्थें, पात्र बनाउथें , टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड / छायाङकन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ ।

    गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु। ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/ पकाउने/ पस्कने मध्यका थुप्रै सहकर्मीहरु पुर्व लडाकु थिए। उनीहरु चरम निराशाबादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ। संयोगले अहिले निस्क्यो। यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु।

    प्रतीकात्मक रुपमा दृष्यहरु निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ‘पिर’। यो बिचमा मैले यस्ता पात्रहरुको अवस्था, स्वभाव, सोचको अध्ययन गरें। केही पात्रहरुसँग भेटेर कुराकानी पनि गरें। केहि पात्रहरु पढें । आम मानिसका भोगाई र संवेदनाहरु बुने र भिडियो बनाएँ। मेरो पेशा र पहिचान यहि हो।

    एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिदैन। पूरै बुझाइ आउँदैन। त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौला। अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो । प्रतिकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु ।

    यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु। माफि मागेको छु । अब यस्ता पात्रहरु छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना / मदन छन् कि छैनन्? सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगबिर र सकम्बरी कहाँ होलान ? कहाँ होला घु्म्ने मेच माथि बसेको अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एकपटक अ़क्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन।

    बरु भएभरका परिवर्तनको जस दिइएको छ । भिडियोमा देखिएका पात्रहरु जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भिडियो नै हटाउँदा पो युध्द / आन्दोलन / गणतन्त्र / स्वतन्त्रताको अपमान हुने हो कि? म अत्यन्त अन्तरमुखि र शान्त मनुवा हुँ ।

    म सर्जक हुँ, सिर्जना नै मेरो बिचार हो ! आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होईन ! मैले कसैसँग पनि यो विषयमा सहयोग/ सल्लाह लिएको छैन ! त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु ! मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु ! मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ! कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ ।

    पक्ष /विपक्षमा एकोहोरो भइन्छ ! नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ ! विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ। गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समिक्षा गरौ ! तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं।

    समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ ! त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो। भिडियो हेरिरहँदा जुन–जुन दृष्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यस प्रति म फेरी पनि क्षमा चाहन्छु ! यसलाई कलाको दुष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु !

    कसैले नियतवस उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौ ! न अल्झाउँ ! किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन ! गाउनुपर्ने कयौं, गित छन् ! र तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन्। प्रश्नहरुलाई निरुत्साहित नगरिदिनुहोस्।धन्यवाद

  • चीनलाई अमेरिकाको चेतावनी : रुसलाई आर्थिक तथा सैन्य सहयोग नगर्नु

    चीनलाई अमेरिकाको चेतावनी : रुसलाई आर्थिक तथा सैन्य सहयोग नगर्नु

    काठमाडौं । अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहायता उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ। बीबीसीका अनुसार रुसले चीनसँग त्यस्तो सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन्। तर चीनका एक अधिकारीले आफूहरू लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताए। अमेरिकाले रुसलाई थप आर्थिक मद्दत नगर्न चीनलाई चेतावनी दिएको हो।

    अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने कुनै कोसिस बेइजिङले गर्न नहुने बताएका छन्। सोमवार उनले चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेट्दैछन्। फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङसँग त्यस्तो मद्दत मागेको थियो।

    तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन। ती विवरणमा चीनले मद्दतको तयारी गरिरहेको पनि उल्लेख गरिएको छ। वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए। उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको बताए।

  • नेपाली श्रमिक भएका मुलुकको भ्रमणमा निस्कदै श्रममन्त्री

    नेपाली श्रमिक भएका मुलुकको भ्रमणमा निस्कदै श्रममन्त्री

    काठमाडौं । नेपाली श्रमिक रहेका मुलुकको भ्रमणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली आज प्रस्थान गर्ने भएको छ । मन्त्रालयका अनुसार यूएई, सेसेल्स र कतारको भ्रमणका लागि टोली त्यसतर्फ जान लागेको हो । नेपाल–यूएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरब इमिरेट्स पुगी अलपत्र परेका नेपालीको समस्या समाधान गर्न मन्त्री श्रेष्ठ नेतृत्वको टोली यूएई जान लागेको मन्त्रालयले जनाएको छ ।

    भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुसाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक रोशन खड्का समेत रहने छन् । भ्रमण भिसामा लैजाने व्यक्ति÷संस्थालाई कानुनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको हो । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    मन्त्री श्रेष्ठले भोलि भिजिट भिसा र त्यसबाट सिर्जित समस्या समाधानका उपायबारे यूएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारसँग छलफल गर्ने भएका छन् । मंगलबार नेपाल–यूएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल–यूएई संयुक्त समिति बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नुहुनेछ । नेपाल–यूएई संयुक्त समितिको बैठकमा सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यान्वयनमा देखा परेका समस्या समाधानबारे छलफल हुनेछ ।

    बुधबार मन्त्री श्रेष्ठले आबुधाबीमा रहेको नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ । त्यही दिन यूएईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरुसँग अन्तर्क्रिया गर्ने कार्यक्रम राखिएको छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहीवार बेलुका अफ्रिकी देश गणतन्त्र सेसेल्स प्रस्थान गर्नेछ । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिक लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरुबारे त्यहाँका उच्च अधिकारीहरुसँग छलफल हुने बताइएको छ ।

  • साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

    साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउद सोमबार नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्रालयले यस्तो पुष्टी गरेको हो । राजकुमार फैजल दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । प्रवक्ता सेवा लम्सालका अनुसार राजकुमार फैजल सोमबार अपराह्न नेपाल आइपुग्ने छन् । उनको भ्रमणका अवसरमा नेपाल सरकारले गर्ने तयारीको काम पुरा गरिसकेको छ ।

    नेपाल भ्रमणका क्रममा राजकुमार फैजलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग राजकुमार तथा साउदी विदेशमन्त्री फैजलको मङ्गलबार द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

    मन्त्री खड्काले राजकुमार फैजलसहितका साउदी प्रतिनिधिमण्डललाई नेपाल सरकारका तर्फबाट दिवा भोजको आयोजना गर्नेछन् । साउदी अरव धेरै नेपाली रहेको मुलुकमध्ये एक हो । यस भ्रमणमा दौरान नेपाली कामदारको हकहित र द्धिपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ ।

  • प्रकाश सपुतको एक गीतले हंगामा

    प्रकाश सपुतको एक गीतले हंगामा

    काठमाडौं । लोकगायक प्रकाश सपुत आफ्ना सिर्जना मार्फत समाजमा कुनै न कुनै तरंग ल्याउन माहिर मानिन्छन् । यस पटक उनले माओवादी जनयुद्धमा लागेका लडाकुहरुको पिर मर्कालाई गीतमा उतार्ने प्रयास गरेका छन् । जसलाई पिर नामक गिती एल्वमका रुपमा सार्वजनिक गरेका छन् । यससँगै माओवादी केन्द्र सम्बद्ध कार्यकर्ताले भने तिब्र आलोचना गरिरहेका छन् । खासगरी माओवादीको महिला लडाकुलाई देह व्यापार गर्न बाध्य भएको सन्देश दिने गरि कथावस्तु राखेपछि उनहिरु विच्किएका छन् ।

    माआोवादी केन्द्र आवद्ध चार संगठनले प्रकाश सपुतको गीत ‘पिर’प्रति आपत्ति जनाउँदै तत्काल युट्यूब च्यानलबाट हटाउन माग गरेका छ्न् । जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघ, अखिल नेपाल महिला संघ, जनसांस्कृतिक महासंघ र प्रेस सेन्टरले आइतबार संयुक्त वक्तव्य जारी गर्दै पिर गीतको भिडियोमा जनमुक्ति सेना र घाइते योद्धाहरुलाई अहिले आफ्नो जीवन धान्नको लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको बताएका हुन् ।

    ‘भिडियोको अन्तमा शून्यताको प्रतिविम्ब प्रदर्शन गर्दै देश छोड्नुपर्ने सम्मको निकृष्ट, कपोकल्पित, झूट, राजनैतिक पूर्वाग्रह साधिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘महिलाहरुको चरित्र हत्या गरी अश्लील र घोर अपमानजनक ढंगले प्रस्तुत गरिएको छ । यस गलत क्रियाकलापको जति निन्दा गर्दा पनि कम हुन्छ ।’ संवेदनशील विषयलाई दुरुपयोग गर्दै अप्रासंगिक दृश्य र संवाद राखेर चर्चामा आउने बदनियत राखेको उनीहरुको आरोप छ । यो भिडियो तत्काल युट्यूब च्यानलबाट हटाउन र सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्न माग गरेका छन् ।

  • युक्रेनको दावि : युद्धमा १२ हजार रुसी सैनिक मारिए

    युक्रेनको दावि : युद्धमा १२ हजार रुसी सैनिक मारिए

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन्। एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएको बीबीसीले लेखेको छ । जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताए। रुसले युक्रेनमा आक्रमण गरेको १७ दिन भइसकेको छ।

    अठारौँ दिन बिहान विभिन्न सहरहरूमा विस्फोटन भइरहेको विवरण प्राप्त भएको छ। केही दिनअघि अमेरिकाले दुई साताको अवधिमा झन्डै ५,००० देखि ६,००० रुसी सैनिकको मृत्यु भएको अनुमान गरेको थियो। मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५,००० देखि १८,००० भएको बताइएको थियो। प्रायः युद्धमा घाइते सैनिकको सङ्ख्या मृतकको सङ्ख्या भन्दा तीन गुना हुने गर्छ।

  • तनहुँमा बस र जिप ठोक्किए, ३ जनाको मृत्यु

    तनहुँमा बस र जिप ठोक्किए, ३ जनाको मृत्यु

    तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका दुई ऐनापहरामा आज आइतवार भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बस र जीप ठोक्किएका हुन् । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको र उनीहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई थप उपचारका लागि चितवन पठाइएको छ । मुग्लिनङबाट आँबुखैरेनीका लागि छुटेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको जीप एकआपसमा ठोक्किएर दुर्घटनामा परेको हो ।

  • मलेसियाबाट आउन थाल्यो श्रम स्वीकृति

    मलेसियाबाट आउन थाल्यो श्रम स्वीकृति

    काठमाडौ । नेपाली श्रमिकको मुख्य गन्तव्य मलेसियामा श्रम स्वीकृति प्रदान गर्ने काम पुनः सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

    मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन् ।

    तर गएको जनवरी २८ तारिखदेखि मलेसियाले विभिन्न मापदण्डसहित विदेशी श्रमिकको भर्ना प्रक्रिया सुरु गरेको थियो । योसँगै त्यहाँ रहेको नेपाली दूतावासले पनि कामदार माग पत्र प्रमाणीकरणको काम सुरु गरिसकेको र माग प्रमाणिकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्न थालिएको मन्त्रालयले जनाएको छ

  • यी हुन् देशका सात उत्कृष्ट नगरपालिका

    यी हुन् देशका सात उत्कृष्ट नगरपालिका

    काठमाडौं । नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी देशका सात नगरपालिका उत्कृष्ट घोषित गरेको छ ।

    संघले आन्तरिक सूचक तयार पारेर नगरपालिकाहरूको मूल्याङ्कन गरेको थियो। त्यसकै आधारमा यी नगरपालिका उत्कृष्ट घोषित भएका हुन्।

    नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा पाँच विधामा उत्कृष्ट सात नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए ।

    स्थानीय आर्थिक विकास विधामा हरिवन नगरपालिकालाई उत्कृष्ट ठहर गर्दै पुरस्कार प्रदान गरिएको छ ।

    हरिवन नगरपालिकाले स्थानीय स्रोत परिचालन गरी नगरपालिकाको विकासमा उत्कृष्ट काम गरेको जनाइएको छ । सामाजिक विकास विधा तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको छ ।

    संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा दुई नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको थियो । दुवै नगरपालिका स्याङ्जा जिल्लाका रहेका छन् ।

    वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकालाई यो वर्षको संस्थागत विकास सेवा प्रवाह तथा वित्तिय सुशासन पुरस्कार प्रदान गरिएको थियो ।

    धादिङ सदरमुकामस्थित नीलकण्ठ नगरपालिका सहरी योजना तथा विपद् व्यवस्थापनमा उत्कृष्ट घोषित भएको छ। नीलकण्ठका मेयर भीम ढुंगानाले प्रधानमन्त्रीबाट पुरस्कार लिए।

    यस्तै वन, वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका उत्कृष्ट ठहर गरिएको थियो ।

  • निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा, यस्ता छन् आरोप

    निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा, यस्ता छन् आरोप

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस गरिएको छ ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठकमा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव पेस गरेका हुन्।

    न्यायालयको विकृति, विसंगति अन्त्य गर्न नसकेको, न्याय परिषद्को बैठक राख्न नसकेको तथा आफ्नो क्षेत्राधिकारअनुसार काम गर्न नसक्दा न्याय अवरुद्ध हुँदा महाभियोग प्रस्ताव ल्याएको गुरुङले बैठकमा जानकारी दिए ।

    उनले न्याय सम्पादनमा आँच आएको तथा न्यायालय क्षेत्रमा भइरहेको गत्यारोध अन्त्य गर्न महाअभियोगको प्रस्ताव ल्याएको जानकारी दिए ।

    संवैधानिक जिम्मेवारीलाई दुरुपयोग गरेको आरोप लगाएको महाअभियोग प्रस्तावमा जबराका कार्य एकपछि अर्को विवादास्पद बनेको बताइएको छ ।

    १ फागुनमा दर्ता गरिएको महाअभियोग प्रस्ताव आइतबार प्रतिनिधिसभा बैठकमा पेस गर्दै उनले पारित गर्न सघाउन सबै सांसदहरूलाई आग्रह गरे ।

    उक्त महाअभियोग दर्ता भएको करिब तीन सातापछि मात्रै संसदमा अघि बढाइएको हो। प्रतिनिधिसभा नियमावलीको नियम १६१ को उपनियम (५) बमोजिम गुरुङले संसद् बैठकमा प्रस्तुत गरेपछि छलफल अघि बढेको हो।

    यसअघि फागुन २२ को प्रतिनिधिसभाको बैठकले जबराविरुद्ध लगाइएको महाअभियोग अघि बढाउन ११ सदस्यीय सिफारिस समिति बनाएको थियो।

    समितिमा भदौ २३ देखि संसदमा अवरोध गरिरहेको नेकपा एमालेका चारजना सांसदलाई पनि राखिएको थियो। एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, डा. शिवमाया तुम्बाहम्फे र कृष्णभक्त पोखरेल रहेका छन्।

    यस्ता छन् आरोपहरू :

    १) लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश असक्षम रहेका छन्।

    २) सर्वोच्च अदालत लगायत न्यायपालिका भित्र नै निजको कार्यकालमा अतिशयोक्ति विकृति विसंगती, भष्टाचार, विचौलियहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको अवस्था विद्यमान छ।
    ३) नेपालको संविधानले स्वतन्त्र, सक्षम र निष्पक्ष जवाफदेही न्यायपालिकाको परिकल्पना गरी तदनुसारको संवैधानिक प्रवन्ध गरेको छ। संविधानले परिकल्पना गरेको मूल्य र आदर्श सहितको न्यायपालिकाको लागि न्यायाधीशहरुको लागि सोही अनुसारको सेवा र सुविधाको सर्त कानुन अनुसार नै तय गरिएको छ।

    शक्ति पृथकीकरणको सिद्धान्त अनुसार राज्यका सम्पूर्ण अवयवहरूलाई आत्मसाथ नेपालको संविधानले नेपालको न्यायपालिका यसमा कार्यरत न्यायाधिसहरूलाई स्वतन्त्र र निर्भिकताका साथ इमान्दारितापूर्वक ढंगले पदीय कर्तब्य निर्वाह गर्ने संवैधानिक दायित्व सुम्पी त्यो दायित्व नेपाली जनताले बुझाएको करबाट स्थापित संचित कोषबाट निजहरूले पारिश्रमिक सेवा सुविधा प्राप्त गर्ने व्यवस्था गरेको छ।

    संविधानको पवित्र दर्शनलाई भत्ताभुंग पार्ने गरी स्वयं पदासीन निज प्रधानन्यायाधीशबाट उक्त संवैधानिक जिम्मेवारीलाई आफ्नो निजी सम्पत्ति सरह स्वेच्छाचारी ढंगले देखादेखी दुरुपयोग गरेकोले नेपालको सिंगो न्याय क्षेत्र कानुनको रक्षा एवं स्वतन्त्र र सक्षम न्यायपालिकाको अभिबृद्धि गर्नुपर्ने दायित्व बोकेका स्वयं प्रधानन्यायाधीशले सो अनुसारको कर्तब्य पालना गर्न असक्षम तथा विफल हुन पुगेका छन्।

    ४) न्यायपालिका संविधानको अन्तिम व्याख्याता हो भने यसको नेतृत्व गर्ने प्रधानन्यायाधीश यसको जिम्मेवारी पाउने अन्तिम पदाधिकारी हुन्। प्रधानन्यायाधीशले नियुक्त हुने वित्तिकै संविधान र कानूनको रक्षाका लागि सपथ लिएको मानिन्छ तर दुर्भाग्य नै भन्नुपर्छ। तर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका एकपछि अर्को विवादास्पद, आपत्तिजनक, पदीय मर्यादा र आचरण विपरित एवं संविधान र कानुन विपरित हुँदै गएका छन्।

    सक्षम एवं शसक्त न्यायालयको अभावमा सिंगो संविधान र कानुन जीवन्त हुन संभव छैन्। यसका लागि सिंगो न्यायालय स्वतन्त्र, सक्षम, निश्पक्ष , भष्टाचार मुक्त र जिम्मेवार हुन जरुरी छ। न्यायशीलता न्यायालयको पहिलो गुण हो। त्यसैले न्यायालयलाई न्यायका लागि अन्तिम उपाय भनिएको हो।

  • माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पूर्ण इजलासमा पठाउन आदेश

    माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पूर्ण इजलासमा पठाउन आदेश

    काठमाडौं । सर्वोच्च अदालतले एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दालाई फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेको छ।

    सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।

    पूर्ण सुनुवाईको लागि मिति भने तोकेको छैन् । अब पूर्ण सुनुवाईपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेछ ।

    नेकपा एमालेले पार्टी विभाजन हुँदा सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक कदम चालेको र अवैध तरिकाले माधवकुमार नेपालसहित १४ सांसदको पद जोगाएको भन्दै गत भदौ १७ गते सर्वोच्चमा रिट दायर गरेको थियो ।

    लामो समय हेर्न नभ्याउने लगायतका सूचीमा परेको उक्त रिटमाथि फैसला हुन सकेको छैन् । नेकपा एमालेले आफुले कारबाही गरेका १४ संसदको पद खारेज नभएसम्म संसद अवरुद्ध जारी राख्ने अडान कायमै राखेको छ ।

  • निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेसँगै नेप्सेले हान्यो शतक

    निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेसँगै नेप्सेले हान्यो शतक

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लयमा फर्किएको छ ।

    निरन्तर ओरालो लागेको बजार साताको कारोबार पहिलोदिन शेयर बजार उच्च अंकले बढेको हो ।

    शेयर बजार मापक सूचक (नेप्से) १०१.०७ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२८ कम्पनीको ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ बराबरको ९० लाख २२ हजार ८९० कित्ता शेयर किनबेच भएका छन् ।

    विहीवार तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९६९ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ६.९४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल र उत्पादनमूलक समूह पनि ५ प्रतिशतले बढेको छ ।

    उच्च अंकले बढेको बजारमा बैंकिङ ५४ , होटल तथा पर्यटन १५८, निर्जीवन बीमा ५६७, जीवनबीमा ९३३, माइक्रोफाइनान्स १६७, जलविद्युत ७५ अंकले बढेको छ ।

    विकास बैंक २१०, फाइनान्स १०७, उत्पादन समूह १६३ र लगानी समूह ३ अंकले बढेको छ ।

    सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एशियन लाइफ इन्स्यारेन्स कम्पनी, ज्योती लाइफ इन्स्यारेन्स कम्पनी र सानिमा लाइफ इन्स्यारेन्स कम्पनी रहेका छन् ।

    यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आज इमर्जीङ पावर कम्पनी, सूर्या लाइफ इनस्योरेन्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स कम्पनीको पनि शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ३४ करोड ३६ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा अपी पावर कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड १७ लाख भन्दा बढीको कारोबार भएको छ । आइसीएफसी फाइनान्स २१ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    वाणिज्य बैंकहरुले चैतमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको आकलन गरिएको छ ।

    बैंकहरुले चैतमा पनि फागुनमा कायम ११.०३ प्रतिशत ब्याजदर कायम राख्ने सहमति गरेका छन् ।

  • इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल हमला

    इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल हमला

    काठमाडौं । इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल हमला भएको छ र इराकी सुरक्षा अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले यसको पुष्टी गरेका छन् । इराकको उत्तर क्षेत्रम अवस्थित स्वायत्त कुर्द इलाकास्थित इरबिल शहरमा यस्तो आक्रमण भएको हो । अमेरिकी वाणिज्य दूतावासको भवनमा मिसाइल गिरेको पाइएको छ । सामाजिक संजालमा समेत वाणिज्य दूतावास नजिकै शक्तिशाली विष्फोटको आवाज सहितका सामग्री पोष्ट भएका छन् ।

    मिसाइलको निसानाकहाँ थियो भन्ने चाँही नखुलेको समाचारमा उल्लेख छ । समाचार एजेन्सी रोयटर्सका अनुसार इराक भन्दा अन्य मुलुकबाटै मिसाइल आक्रमण भएको पाइएको छ । हमलाबाट मानवीय क्षतिको भने विवरण आएको छैन । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यस घटनालाई क्रुरको संज्ञा दिएका छन् । थप विवरण आउन बाँकि छ ।

  • संसद बैठक आज, प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्तावमाथि छलफलको मिति तोकिँदै

    संसद बैठक आज, प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्तावमाथि छलफलको मिति तोकिँदै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्नेछ । आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण गर्ने संसद सचिवालयले जनाएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने उल्लेख गरिएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगबारे छलफल हुने दिन र समय तोक्ने भएका छन् । जबराविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावमा ९५ जना सांसदको समर्थन छ । महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा छन्् । संसदमा एमालेको अवरोध भने जारी छ ।