Category: फिचर

  • कच्चा तेलको मूल्यमा भारी गिरावट

    कच्चा तेलको मूल्यमा भारी गिरावट

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । रुस–युक्रेन युद्ध सुरु भएसँगै आकासिएको कच्चा तेलको मूल्य पछिल्लो एकसाता यता लगातार गिरावट आएको हो ।

    मार्च ७ (फागुन २३)मा कच्चा तेलको मूल्य डेढ दशक यताकै उच्च प्रतिब्यारेल १३९ डलर पुगेको थियो । पछिल्लो दुई साता यता घट्न थालेको कच्चा तेलको मूल्य शुक्रबार यो समाचार तयार पार्दासम्म घटेर १०९ डलरमा झरेको छ ।

    पछिल्लो दुई साताको अवधिमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३० डलर अर्थात् २१ प्रतिशत) घटिसकेको छ । युक्रेनमा रुसले युद्ध घोषणा गरेपछि कच्चा तेलको मूल्य बढ्न सुरु भएको थियो । युद्ध घोषणा भएको दिन (२५ फेब्रुअरी) प्रतिब्यारेल ९५ डलर थियो ।

    नेपालमा पेट्रोलियम पदार्थ शतप्रतिशत विदेशबाट ल्याइन्छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा यहाँ पनि बढ्ने र घट्दा यहाँ पनि घट्ने गरेको छ ।

    यद्यपि, बुधबार निगमलाई भारतबाट आएको पत्र अनुसार इन्धनको मूल्य उच्च रुपमा बढेर आएको । अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार नेपालमा पनि इन्धनको भाउ दिनदिनै घटबढ नहुने भएकाले तत्काल भाउ घट्ने देखिँदैन् ।

    साथै, नेपाल आयल निमले अहिले पेट्रोलियम पदार्थमा ठूलो घाटा खाँदै बेचिरहेकाले अन्तर्राष्ट्रिय बजारमा भाउ घटे पनि नेपालमा तत्काल घट्ने सम्भावना कम देखिन्छ ।

  • किन आयो अमेरिकी सैनिकको जहाज काठमाडौंमा ?

    किन आयो अमेरिकी सैनिकको जहाज काठमाडौंमा ?

    काठमाडौं । अमेरिकी सेनाको जहाज राजधानीमा अवतरण आएको छ ।

    अमेरिकी कुटनीतिज्ञलाई लिएर शुक्रबार बिहान अमेरिकी एयर फोर्सको बिमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो जहाज शुक्रबार नै फिर्ता भइसकेको छ ।

  • रुसलाई चीनले हतियार आपूर्ति गर्न सक्ने अमेरिकाको चिन्ता

    रुसलाई चीनले हतियार आपूर्ति गर्न सक्ने अमेरिकाको चिन्ता

    काठमाडौं । चीनले रुसलाई सैन्य उपकरण आपूर्ति गर्नसक्ने र युक्रेनविरुद्ध त्यसको प्रयोग हुनसक्ने भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ । बीबीसीका अनुसार वाशिङ्गटनमा एउटा पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनमाथि रुसी अतिक्रमणको निन्दा गर्न अस्वीकार गरेको चीनको मुहारमा उसले चाहिरहेका सबै कुरा देखिएको टिप्पणी गरेकी छिन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग टेलिफोन वार्ता गर्दैछन्। संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ राजदूतले वार्ताहरूमार्फत्‌ शान्ति बहाली गर्नुपर्ने पक्षमा बेइजिङ रहेको बताएका छन्। रुस र युक्रेनबीचको युद्धले मानवीय संकट गहिरिँदै जाँदा पश्चिमा मुलुकहरु रुसलाई चीनले सहयोग नदिओस भन्ने चाहन्छन् ।

  • पुटिनले युक्रेनसँग युद्ध रोक्न के चाहन्छन् ?

    पुटिनले युक्रेनसँग युद्ध रोक्न के चाहन्छन् ?

    काठमाडौं (बीबीसी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू सार्वजनिक गरेका छन् ।
    बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन्। एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनसँग बीबीसीले कुराकानी गरेको थियो । पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो जुन समूहमा कालिन पनि थिए। उनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन्।

    कालिनले बताएअनुसार शुरूका चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन। तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो मागलाई स्वीकारिसकेका छन्। पहिलो भागका अरू मागहरू धेरैजसो रुसले जितेको जस्तो देखाउने खालका छन्। युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस्।

    युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने माग छ। यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए। तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ।

    नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ। दोस्रो भागका मागको हकमा चाहिँ कठिनाइ देखिन्छ र सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले साक्षात वार्ता गर्नुपर्ने हुन्छ। जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन्।

  • नेपालको तराई भेगमा आज होली

    नेपालको तराई भेगमा आज होली

    काठमाडौं । बिहीबार हिामली र पहाडी भेगमा मनाइएको होली शुक्रबार भने तराई भेगमा मनाइने भएको छ । तराई मधेशका जिल्लामा होली आज पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई ‘होरी’ भनिन्छ ।

    मधेशमा पहाडबाट बसाई सरेका समुदायले भने बिहीबार नै होली मनाएका छन् । मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तरगृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने अर्को परम्परा छ । यसअनुसार हिजो जनकपुरधाम पुगेको परिक्रमा आज अन्तरगृह परिक्रमा गर्ने छ र शनिबार होली मनाइन्छ ।

  • आज नेपाल र यूएईबीच एक दिवसीय क्रिकेट हुँदै

    आज नेपाल र यूएईबीच एक दिवसीय क्रिकेट हुँदै

    काठमाडौं । युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले आज दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्दैछ । श्रृंखलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराएर उच्च मनोवलमा छन् । दुबै टीम जितका लागि मैदान उत्रिने छन् । युएईले पहिलो खेलमा पीएनजीविरुद्ध ७ विकेटको जित निकालेको थियो ।

    नेपालले भने पीएनजीलाई २ विकेटले हराएको हो । करिब एक महिनाअघि ओमानमा युएईसँग महत्वपूर्ण खेलमा पराजित भएपछि नेपाल टी–२० विश्वकप छनोट हुन असफल भएको थियो । यसको बदला लिने मौका नेपालसँग रहेको छ । लिग टु मा युएई १५ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा छ । ९ खेल खेलेको नेपाल १० अंक जोड्दै छैटौं स्थानमा छ ।

  • निर्वाचन आचारसंहिता : स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

    निर्वाचन आचारसंहिता : स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ।

    निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर आचारसंहिता राजपत्रमा प्रकाशित गरेको हो।

    आचारसंहिताको परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले पालना गर्नुपर्ने आचारसंहिता तय गरिएको छ।

    त्यहाँ जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा पालना गर्नुपर्ने आचरणका रुपमा गर्न हुने र नहुने विषय स्पष्ट पारिएको छ।

    निर्वाचनमा बढ्दो खर्च नियन्त्रण गर्न भड्किलो प्रचारशैलीलाई रोक लगाइएको छ। सार्वजनिक स्थान तथा कसैको निजी घरमा अनुमति नलिइ प्रचार सामग्री टाँस्न समेत नपाइने भएको छ।

    त्यस्तै उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ। यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका दाबेदार छन् ।

    पदमा बसेर चुनाव लड्दा सरकारी स्रोतको दुरुपयोग गर्न सक्ने भन्दै निर्वाचन आयोगले नयाँ आचारसंहितामा यस्तो प्रावधान राखेको बताएको छ ।

    निर्वाचन आचारसंहिताको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेक निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ।’

    राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्दा राजनीतिक दलको लागि आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणाली बमोजिम बन्दसूचीका उम्मेदवारको संख्याको आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रही गर्नु पर्नेछ।

    राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारी साधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिनु पर्ने, तर, सवारी साधन प्रयोग गर्न अनुमतिपत्र दिँदा विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र दिइने छैन।

  • रुसलाई महँगो पर्‍यो युक्रेन युद्ध, ७ हजारभन्दा बढी सैनिक मारिएको दाबी

    रुसलाई महँगो पर्‍यो युक्रेन युद्ध, ७ हजारभन्दा बढी सैनिक मारिएको दाबी

    काठमाडौं । अफगानिस्तान र सिरिया युद्धभन्दा पनि क्षतिको हिसाबले रुसलाई यूक्रेन युद्ध महँगो बनेको छ । बिबिसीको रिपोर्टअनुसार यूक्रेनमा मानवीय र आर्थिक हिसाबले रुसले धेरै मूल्य चुकाइरहेको छ । रुस–यूक्रेनबीचको युद्ध तत्कालै अन्त्य नहुने देखिएको बेला रुसलाई थप क्षति हुने सम्भावना छ ।

    युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो सम्बोधनमा पनि रुस फिर्ता हुने अवस्थामा रहेको बताए । “रुसी सेनाले युक्रेनमा जति क्षति बेहोर्नु परेको छ, त्यो न सिरियामा न चेचन्यामा।

    सोभियत सेनाले अफगानिस्तानमा पनि यति क्षति बेहोरेको थिएन”, रूसी भाषामा सम्बोधन गर्दै जेलेन्स्कीले भने, “रुस सेना यूक्रेनबाट फिर्ता हुनुको विकल्प छैन, उनीहरु ज्यान जोगाउन पनि फिर्ता हुनुपर्छ ।”

    युक्रेनी राष्ट्रपतिको विश्लेषण रुस सबै हिसाबले हारिसकेको छ । चौतर्फी प्रतिबन्धको सामना गरिरहेको रुस बाध्यतात्मक रुपमा फिर्ता हुन्छ ।

    यूक्रेन युद्धमा कुन पक्षलाई कति क्षति भयो भन्ने त स्पष्ट छैन तथापि दुवै पक्षका थुप्रै सैनिक मारिएका छन् । सञ्चार माध्यमका अनुसार यूक्रेन युद्धमा रुसी पक्षका झण्डै ७ हजारभन्दा बढी सैनिक मारिएका छन् ।

    अन्य तथ्यांकका अनुसार अफगान युद्ध ९१९७९–८९० मा करिब १५,००० सोभियत सैनिक मारिएका थिए र चेचन्या युद्धमा कम्तिमा १३,००० रुसी सैनिक मारिएका थिए। सिरियामा यो संख्या सयौंमा छ ।

  • नेपालमा थपिए २७ कोरोना संक्रमित, २२० जना संक्रमणबाट मुक्त

    नेपालमा थपिए २७ कोरोना संक्रमित, २२० जना संक्रमणबाट मुक्त

    काठमाडौं । नेपालमा थप २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गरिएको ४,७४७ नमुना परीक्षण गरिएकामा थप २७ जना संक्रमित थपिएका हुन् ।

    आज थपिएका २७ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार १०७ जना कोरोना संक्रमित भएका छन् । साथै आज थपिएका २२० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६१ हजार ७८१ पुगेका छन् ।

    त्यस्तै केही दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म ११ लाख ९५० जनाको मृत्यु भएको छ ।

    नेपालमा हाल ४,३७६ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४,३०२ जना होम आइसोलेशनमा रहेका छन् भने ७४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै आइसीयुमा २८ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ ।

    नेपालमा थप १ लाख ४५ हजार ९८४ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

  • रुसद्धारा अमेरिका र युरोपबाट भाडामा ल्याएका सयौं विमान कब्जा

    रुसद्धारा अमेरिका र युरोपबाट भाडामा ल्याएका सयौं विमान कब्जा

    काठमाडौं । अमेरिका र युरोपेली देशहरुको प्रतिबन्ध सामना गरिरहेको रुसले सयौं व्यवसायिक विमान कब्जा गरेको छ । रुसले आफ्नो देशका वायु सेवा कम्पनीहरुले भाडामा ल्याएका अमेरिका र युरोपेली कम्पनीका सयौं व्यावसायिक विमान कब्जामा लिएको हो ।

    युक्रेनमा आक्रमण गरेपछि लागेको प्रतिबन्धका कारण रुसी एयरलाइन्स कम्पनीले भोगेका चुनौती सामना गर्ने उपाय खोज्ने क्रममा रुसले कानून नै बनाएर अमेरिका र युरोपबाट भाडामा ल्याएका विमानहरु कब्जा गरेको हो ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारको प्रतिबन्ध विरोधी उपाय सम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन् । यो कानून अनुसार अब रुसी एयरलाइन्स कम्पनीले विदेशी कम्पनीबाट भाडामा लिएका विमान रुसमा दर्ता गर्न अनुमति दिएको छ । ती विमान रुसी एयरलाइन्सले आन्तरिक रुटमा उडाउन पाउने छन् ।

    अमेरिका र युरोपका अधिकांश देशहरुले रुसमाथि प्रतिबन्ध लगाएका छन् । जुन प्रतिबन्ध अनुसार रुसी वायु सेवा कम्पनीलाई भाडामा विमान दिने अमेरिकी र युरोपेली कम्पनीले एक महिना भित्रमा फिर्ता गर्नु पर्ने छ ।

    तर रुसले बनाएको नयाँ कानून अनुसार अब विदेशी कम्पनीहरूलाई रुसी सरकारको स्वीकृति बिना आफ्ना विमान पुनः दाबी गर्न कठिन भएको छ ।-एजेन्सी

  • तराई-मधेसमा किन पूर्णिमाको भोलिपल्ट ?

    तराई-मधेसमा किन पूर्णिमाको भोलिपल्ट ?

    काठमाडौं । फागू पूर्णिमा अर्थात होली पर्व । रङहरूको रंगिन पर्व होली सबैभन्दा रमाइलो पर्व पनि हो। आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ ।

    काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर होली मनाइन्छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । नेपालमा विजयको प्रतीकको रुपमा होली पर्व मनाइन्छ ।

    हिमाल, पहाडमा पूर्णिमाकै दिन मनाइने होली तराई-मधेसमा किन भोलिपल्ट ?

    फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट(प्रतिपदाको दिन) होली मनाउने चलन छ ।

    पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दाह भएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो।

    पुराण प्रसिद्ध दैत्यराज हिरण्यकश्यपुले भगवान हरिका भक्त आफ्नो छोरा प्रह्लादलाई नष्ट गर्न बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा होम्छ।

    उक्त षड्यन्त्रमा वरदान पाएकी भए पनि होलिका आफैं जलेर नष्ट हुन्छे। प्रह्लादलाई केही हुँदैन।

    होलिका आगोमा जलिसकेको देखेर हिमाल, पहाड तिर मान्छेहरु होलिकाको मृत्युको खुशीमा होली खेल्न थालिसकेका थिए । ‘

    होलिका वध होस् वा कामदेव भष्म भएको प्रसंग, नकारात्मक पक्षको अन्त्य भएको खुशीयालीमा होली मनाइएको हो।

    मध्यरातमा होलिकाको प्रतीक जलाई त्यसबाट निस्केको खरानीको टीका लगाएपछि होली सुरु भएको मानिन्छ। मध्यरातमा होलिकाको प्रतीक जलाएको हुनाले तराईमा भने भोलिपल्टमा होली मनाउने प्रचलन आएको दाबी छ ।

    एक क्षेत्रका मानिसले पूर्णिमाको राति होलिका दहन गरेपछि होली समापन भएको मान्छन् भने अर्को क्षेत्रका मानिसले ‘होलिका दहन’ भएपछि होली मनाउन सुरु गर्छन्। एउटै देश, एउटै पर्व, एउटै संस्कृति तर काठमाडौं उपत्यकामा एक दिन, तराई–मधेसमा अर्को दिन मनाउने चलन छ ।

    कुन देशमा कसरी मनाइन्छ होली

    फागु पर्व नेपाल, भारतलगायत देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ। इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ।

    चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ। यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ।

    अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यात्मक वेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ।

    श्रीलङ्का र इन्डोनेसियामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेसियामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ।

    फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ। सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ। नाम फरक भए पनि पर्वको उद्देश्य एकै छ।

    नेपाल

    नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन होली मनाइन्छ । यस दिन काठमाडौंको वसन्तपुरमा विभिन्न रंगीन कपडाहरू मिलाएर बनाइएको चीर ठड्याएपछि होली पर्व सुरू भएको मानिन्छ । र, सोही दिन चीरलाई ढालेर जलाएपछि होली सम्पन्न हुन्छ ।

    त्यस्तै भक्तपुरमा चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागुपर्वको सुरूवात भएको मानिन्छ । र, लिंग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि होली समाप्त हुन्छ । तराईमा भने भोलिपल्ट होली खेलिन्छ । नेपालका गाउँ, सहरमा पनि होली भब्यताका साथ मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ ।

    भारत

    भारतमा होलीलाई फगुवा, फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवको नामले मनाइन्छ । गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, बंगाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, जम्मु कश्मीर पञ्जाब, मध्यप्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ ।

    साथै भगवान् श्रीकृष्णको ब्रजभूमि मथुरा, बृन्दावन, नन्दगाँव र बर्सनाको होली हेर्न पर्यटकको ओइरो नै लाग्छ ।
    छिमेकी बिहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ ।

    त्यहाँको जोगिरा गायन अर्थात् ‘जोगिरा सरर…’ पूरै एसियामा लोकप्रिय छ । गुजरातको अहमदाबादमा नौनीले भरिएको माटाको भाँडा फोड्ने प्रतियोगिता र उत्तरप्रदेशको ब्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई लौरोले प्रहार गर्ने होली पनि निकै लोकप्रिय छ ।

    दक्षिण अफ्रिका

    दक्षिण अफ्रिकामा गीतहरू गाउने, नाच्ने र साथीभाइहरू जमघट भै होली खेल्ने चलन छ। विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा होलीको वातावरण देखिन्छ। दिनभर होली खेलेर साँझपख मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ।

    सुरिनाम

    सुरिनाममा ३५ देखि ४० प्रतिशत हिन्दू छन्, जो भारतको उत्तर प्रदेश तथा विहारबाट गएका हुन्। त्यहाँ पनि होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ। यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने चलन छ। साथीभाइ एवं परिवारसँग जमघट गरेर रमाइलो गर्ने चलन पनि छ।

    अमेरिका

    अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ। विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ। यसका साथै अन्य नागरिकले पनि आफ्नो समुदाय र प्रचलनअनुसार होली मनाउने गरेका छन्। अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ। आफन्तहरूसँगको भेटघाट एवं खानपिन पनि अमेरिकी होलीको महत्त्वपूर्ण पक्ष हो।

    बंगलादेश

    बंगलादेशमा पनि होली पर्व मनाइन्छ। यो मुलुक बहुसांस्कृतिक मुलुक हो। यहाँ विशेषतः हिन्दू, बौद्ध एवं मुस्लिम समुदायका मानिसहरू बसोबास गर्छन्। मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँछन्। हिन्दू धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ। बंगलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ।

    पाकिस्तान

    भारतीय संस्कृतिको प्रभाव रहेको तथा हिन्दू धर्म मनाउनेहरूको पनि उपस्थिति रहेकाले पाकिस्तानमा पनि होली मनाइन्छ । यहाँ होलीको दिन विशेषगरी घर–आँगन सफा गर्ने, विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई पनि खुवाउने र साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन छ । पाकिस्तानमा प्रायः मन्दिरहरूमा भेला भै होली मनाइन्छ ।

    बेलायत

    बेलायतमा होली मनाउने आफ्नै परम्परा र संस्कृति छ । यहाँ विशेष गरी आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ । कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ । ठूलो मूलुक र थुप्रै समुदाय भएकाले होली विभिन्न समय र प्रकृतिअनुसार मनाइन्छ । होलीमा सांगीतिक कार्यक्रमहरू पनि हुन्छन् । यहाँ विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा धूमधामका साथ होली मनाउने चलन छ ।

    मौरिसस

    अफ्रिकी महादेशमा पर्ने यो मुलुकमा होलीको दिन सार्वजनिक बिदा नै दिइन्छ । करिब ६३ प्रतिशत नागरिक भारतीय मूलको भएकै कारण यहाँ होलीले महानता पाएको हो । यहाँ पनि होलिका दहन गरेर, एकापसमा मिठाई बाँडेर, पानी र रङको प्रयोग गरेर र साथीभाइसँग खानपिन र रमाइलो गरेर होली खेलिन्छ ।

    फिजी

    फिजीमा पनि धुमधामसँग होली मनाइन्छ । सांगीतिक रमझम गरेर, राधाकृष्णको प्रेमभावका गीतहरू गाएर र विभिन्न खालका रङ दलेर होली खेलिन्छ । फिजीमा होलीमा मात्र होइन, यो मौसम भरि नै होलीका गीतहरू गाइन्छ ।

  • ‘राजनीतिमा असम्भव हुँदैन,कांग्रेस अतिवादी ढंगले प्रस्तुत भए एमालेसँग तालमेल गर्छौं’

    ‘राजनीतिमा असम्भव हुँदैन,कांग्रेस अतिवादी ढंगले प्रस्तुत भए एमालेसँग तालमेल गर्छौं’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी तालमेल हुनसक्ने संकेत दिएका छन् ।

    प्रेस सेन्टर लुम्बिनीले विहीबार बुटवलमा गरेको कार्यक्रममा प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही कुरा नहुने उल्लेख गर्दै चुनावी तालमेल कांग्रेसमा भर पर्ने बताएका हुन् ।

    प्रचण्डले भने, ‘कांग्रेसका केही नेताहरूले माओवादीसँग गठबन्धन हुनै सक्दैन भनेर अत्यन्त अतिवादी ढंगले बोलिराख्नुभएको छ। हुन त प्रधानमन्त्री देउवाले उहाँहरूलाई बोल्न बन्द गराइ सक्नुभएको छ। कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन।’

    आगामी निर्वाचनमा सबै ठाउँमा तालमेल जरुरी नभएको भन्दै प्रचण्डले केही ठाउँमा गठबन्धनका दलबीच स्वस्थ प्रतिस्पर्धा पनि हुने बताए।

    उनले आफ्नै एजेण्डा र संगठनको बलमा जनताको मन जित्ने र गठबन्धन पनि बचाउने ध्यानमा आफूहरु रहेको पनि बताएका छन्।

  • बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेपछि…

    बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेपछि…

    काठमाडौं (बीबीसी) । अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका छन् । यससँगै रुस एक पटक पुनः भड्किएको छ । रुसी समाचार संस्था टासका अनुसार क्रेमलिनले बाइडनको उक्त टिप्पणीलाई ‘अस्वीकार्य अनि अक्षम्य’ बताएको छ। अमेरिकी राष्ट्रपतिको पछिल्लो टिप्पणीले अमेरिका र रुसबीच कूटनीतिक तनाव थप्ने सम्भावना रहेको छ ।

    बाइडनले ह्वाइट हाउसमा एक जना सञ्चारकर्मीलाई उत्तर दिने क्रममा विना तयारी त्यस्तो प्रतिक्रिया जनाएका थिए। पुटिनको निन्दा गर्न उनले यस्तो भाषा प्रयोग गरेको यो पहिलो पटक हो। पछि ह्वाइट हाउसले राष्ट्रपति बाइडनले आफ्नो मनबाट बोलेको जनाएको थियो।

    पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले रूसी समाचार संस्था टाससँग प्रतिक्रिया जनाउँदै भने, ‘हामी राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छौ जसका बमले विश्वभर हजारौँ मानिसहरूको ज्यान लिएको छ।’ बुधवार एक जना सञ्चारकर्मीले बाइडलाई सबै कुरा देखेपछि पुटिनलाई युद्ध अपराधी भन्न तपाईँ तयार हुनुहुन्छ ? भनेर प्रश्न गरेका थिए।

    सुरुमा बाइडनले छैन भन्ने जवाफ फर्काए। तर उनलाई प्रतिप्रश्न गरिएपछि आफ्नो जवाफ फेरे र भने ः तपाईँले मलाई के मैले ‘ भन्नेछु भनेर सोध्नु भएको हो ? मलाई लाग्छ कि उनी युद्ध अपराधी हुन्।’ पछि ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले राष्ट्रपतिले युक्रेनमा भएको हिंसाको बर्बर तस्बिर देखेपछि आधिकारिक रूपमा घोषणा गर्नु भन्दा पनि आफ्नो मनबाट बोलेको बताइन्।

  • अमेरिकामा ‘होबो’ भनिने होली कुन देशमा कसरी मनाइन्छ ?

    अमेरिकामा ‘होबो’ भनिने होली कुन देशमा कसरी मनाइन्छ ?

    काठमाडौं (रासस) । फागु पर्व नेपाल, भारतलगायत देशमा पनि मौलिक तरिकाले मनाउने गरिन्छ । जहाँ पानी र अबिरको अधिक प्रयोग गरिन्छ । आज देशभर सरकारले सार्वजनिक बिदा समेत दिएको छ । तराई भेगमा शुक्रबार होली खेलिँदैछ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ। चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ। यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ।


    अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यात्मक वेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ।
    श्रीलङ्का र इन्डोनेसियामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेसियामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ।

    फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ। सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ। नाम फरक भए पनि पर्वको उद्देश्य एकै छ।

  • होली विकृतिरहित बनाउन राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको आह्वान

    होली विकृतिरहित बनाउन राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले होली लगायतका नेपाली संस्कृतिका असल पक्षलाई प्रवद्र्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्ने उल्लेख गरेकी छिन्. । न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीको रहेको छ । नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली)को अवसरमा बुधबार शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले उक्त कामना गरेकी हुन् ।

    स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै राष्ट्रपति भण्डारीले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेकी छन् । वैदिक परम्परादेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आए तापनि सत्यको नै विजय हुने भन्दै उनले होली पर्वले सत्य र न्यायका पक्षमा अविचलितरूपले क्रियाशील रहन प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेकी छन् ।

    उपराष्ट्रपति नन्दबहादुर पुनले पनि होली पर्वको अवसरमा सबै नेपालीहरुलाई शुभकामना दिंदै यस पर्वले स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैं बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन र सक्रिय सहभागी हुन उनले आग्रह गरेका छन् । होली पर्वले सामाजिक सद्भाव थप फैलाउने र राष्ट्रिय एकतालाई बलियो बनाउने उनले विश्वास व्यक्त गरेका छन् ।


    प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गर्दै मर्यादितरूपमा होली पर्व मनाउन सबै नेपालीहरुलाई आग्रह गरेका छन् । होलीको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोभिड–१९ को संक्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेकाले स्वास्थ्य मापदण्ड पालना गर्न र अरुलाई अवरोध नपुग्ने गरी होली मनाउन आग्रह गरेका छन् । उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

  • आज फागु पूर्णिमा, होली खेलेर मनाइँदै

    आज फागु पूर्णिमा, होली खेलेर मनाइँदै

    काठमाडौं (रासस) । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका मनाइदैछ । यस दिन एकापसमा रङ र लोला खेल्ने प्रचलन रहेको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व शुक्रबार भने तराई भेगमा मनाइन्छ ।


    केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रशासनको सक्रियतापछि भने पछिल्लो समय सभ्य समेत बनेको छ । विसं २०७६ देखि भने कोरोना महामारीका कारण पनि फागु पूर्णिमा पर्व थप सजगताका साथ मनाउन थालिएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएपछि यो पर्व अझ सम्भय बनेको हो । यस वर्ष पनि कोरोनाको प्रभाव कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ ।

    घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ । यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

    फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु पर्व शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

    त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

    द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउँछन् ।

  • जापानमा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी

    जापानमा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी

    टोकियो (एपी) । उत्तरी जापानको फुकुशिमाको तटमा बुधबार साँझ आएको शक्तिशाली ७.३ म्याग्निच्युडको भूकम्पपछि सुनामीको सूचना जारी भएको छ । भुकम्पका कारण विद्युत आपूर्ति बन्द हुँदा टोकियो क्षेत्रमा रहेका २० लाखभन्दा बढी घरमा अन्धकार छाएको छ । भुकम्प गएको यो क्षेत्र उत्तरी जापानको भाग हो जुन ११ वर्षअघि ९.० रेक्टर स्केलको भूकम्प र सुनामीले क्षतिग्रस्त भएको थियो ।

    भूकम्पले फुकुशिमा प्रीफेक्चरलाई असर गरेको एसोसिएटस् प्रेसको लागि मारी यामागुचीले जनाएका छन । प्रीफेक्चर एउटा ठूलो आणविक उर्जा केन्द्र हो जहाँ २०११ को भूकम्पले ठूलो विपत्ति ल्याएको थियो । बुधबार गएको शक्तिशाली भूकम्पले भवनहरू हल्लाएको थियो । यहाँ रेल सेवा समेत अवरुद्ध भएको छ ।

  • पेट्रोल प्रतिलिटर १५५ पुग्यो, अन्य इन्धनको मूल्य कति ?

    पेट्रोल प्रतिलिटर १५५ पुग्यो, अन्य इन्धनको मूल्य कति ?

    काठमाडौं । सरकारले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले इन्धनको मूल्य आजै रातीबाट लागु हुने गरि बढाएको हो । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरातिदेखि लागु हुने गरी डिजेल मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाउने निर्णय गरेको हो । नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्छ । हवाई इन्धनतर्फ आन्तरिकतर्फ १५ रुपैयाँ बढेको छ र प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ । अन्तराष्ट्रियतर्फ प्रति किलोलिटर २०० डलर बढेको छ । अब अन्तर्राष्ट्रिय तर्फ हवाई इन्धनको मूल्य प्रति किलोलिटर मूल्य १४९५ अमेरिकी डलर पुगेको छ ।


    खाना पकाउने ग्लपी ग्यासको मूख्य भने बढेको छैन । यद्यपि प्रतिसिलिण्डर निगमलाई ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको दाबी छ । उसका अनुसार पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ ५७ पैसा, डिजेलमा ३२ रुपैयाँ १५ पैसा घाटा छ भने मट्टितेलमा प्रतिलिटर २४ रुपैयाँ ३४ पैसा नाफा छ । यस्तै हवाई इन्धनमा पनि नाफा छ । मूल्य समायोजनले १५ दिनको अनुमानित घाटा ५ अर्ब ३० करोडबाट घटेर ४ अर्ब ४४ करोडमा पुग्ने निगमले जनाएको छ ।

  • शान्तिको नेतृत्व गर्न बाइडनलाई जेलेन्स्कीको आह्वान, भन्छन् : बालबालिकाको मृत्यु नरोके जीवनको अर्थ छैन

    शान्तिको नेतृत्व गर्न बाइडनलाई जेलेन्स्कीको आह्वान, भन्छन् : बालबालिकाको मृत्यु नरोके जीवनको अर्थ छैन

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई शान्तिको नेतृत्व गर्न आग्रह गरेका छन्। अमेरिकी कङ्ग्रेसलाई गरेको ऐतिहासिक सम्बोधनको अन्त्यमा उनले बाइडनलाई विश्वका र शान्तिका नेता बन्न आग्रह गरेको बीबीसीले लेखेको छ । “राष्ट्रपति बाइडन, तपाईँ आफ्नो देशका नेता हो। म तपाईँ विश्वका नेता हुनुहोस् भन्ने कामना गर्छु। विश्वका नेता हुनु भनेको शान्तिका पनि नेता हुनु हो,” उनले आफ्नो सम्बोधनको अन्त्यतिर भने।


    भावुक मुद्रामा प्रस्तुत भएका जेलेन्स्कीले थप युक्रेनी बालबालिकाहरूको मृत्यु रोक्न नसके “जीवनको अर्थ नदेखेको” बताएका थिए। अमेरिकामा शान्ति कायम गर्न देशका राष्ट्रपति र जनतामा मात्रै निर्भर नरहने भन्दै उनले भने(“त्यो तपाईँको वरपर र अरू शक्तिशालीहरूमा पनि भर पर्छ।” उनले आफ्नो देशका जनताहरू आफ्ना लागि मात्रै नभएर युरोप र विश्वको मान्यताका लागि पनि युद्ध लडिरहेको बताए।

  • पपुवा न्यूगिनीविरुद्ध नेपालको कठिन जित, रोहित र आरिफबीच कीर्तिमानी साझेदारी

    पपुवा न्यूगिनीविरुद्ध नेपालको कठिन जित, रोहित र आरिफबीच कीर्तिमानी साझेदारी

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध २ विकेटको जित निकालेको छ । रोहित कुमार पौडेल र आरिफ शेखको कीर्तिमानी शतकीय साझेदारीका कारण आज नेपालको जित सम्भव भएको हो । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा त्रिकोणात्मक श्रृंखला जारी छ । जसमा आज नेपालले पिएनजीलाई हराउन सफल भएको हो ।

    ब्याटिङमा खराब सुरुवात गरेको नेपाललाई रोहित र आरिफले पाँचौ विकेटका लागि १०२ रनको साझेदारी गरे । यो वान डे अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा ठूलो साझेदारी हो । २०५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर भेटायो । रोहित र आरिफले अर्धशतक पुरा गरे । अन्तिममा करण केसीले आक्रमक ब्याटिङ गर्दै नेपाललाई आफ्नो स्टाइलमा जित दिलाए ।

    यो जितपछि लिग टू मा नेपालको ९ खेलबाट १० अंक भएको छ । कुल ७ टोली सहभागी लिग टू मा नेपाल छैटौं स्थानमा छ । लगातार १४ खेल हारेसँगै पीएनजी पुछारमा छ । लिग टू श्रृंखलामा नेपालले दोस्रो खेल शुक्रबार घरेलु टोली युएईसँग खेल्नेछ ।

  • नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

    नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

    काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गर्ने खारेज गर्ने फैसला गरेको छ ।

    बुधबार कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गर्ने फैसला गरेको हो ।

    तत्कालीन केपी ओली नेतृत्वले सरकारले ल्याएको नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित तीन छुट्टाछुट्टै रिट परेका थिए ।

    उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइएको थियो ।

    तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा नागरिकता अध्यादेश ल्याएको थियो । तर सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।

    जसपाको तत्कालीन महन्थ ठाकुर समूह (हाल लोसपा)लाई सरकारमा सामेल गराउन तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेर नागरिकता अध्यादेश ल्याएका थिए।

  • होलीलाई मर्यादित बनाउन उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई

    होलीलाई मर्यादित बनाउन उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ ।

    होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागि लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो ।

    होलीको पूर्व सन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले सबै ट्राफिक ईकाई तथा ईन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीहरूलाई बुधबार ब्रिफिङ्ग समेत गरेका छन् ।

    ‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतीहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्याङ्कन गरेर प्रविधि उपकरणहरूको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ ।’ एसएसपी उमेश राज जोशीले भने, ‘बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ ।’

    उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादकपदार्थ सेवन गरी मोटरसाइकल हुइक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।

    महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाईका साथ शुरू गर्ने भएको छ ।

    फागु पूर्णिमा (होली) को शुभकामना सहित दुर्घटना रहित व्यवस्थित, मर्यादित र सुरक्षित पर्वको रूपमा मनाउन सम्पूर्ण महानुभावहरूलाई ट्राफिक महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

  • निरन्तर घाटामा आयल निगम, महिनामा १० अर्ब ६१ करोड घाटा हुने

    निरन्तर घाटामा आयल निगम, महिनामा १० अर्ब ६१ करोड घाटा हुने

    काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

    पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

    निगमलाई आइओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा पुगेको निगमले जनाएको छ ।

    हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको छ ।

    नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३२.८१, डिजेलमा ३६.४४ रुपैयाँ घाटा हुने देखिएको आयोगको भनाइ छ । तर, मट्टितेल, हवाइ इन्धनमा भने निगम अझैपनि नाफामै छ । यस्तै एलपी ग्यासमा निगमले ६६५.३४ रुपैयाँ घाटा छ ।

    पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै रु १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ ।

    निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट रु पाँच अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ ।

    सो अवधिमा पेट्रोलको बिक्रीबाट रु एक अर्ब सात करोड ९८ लाख, डिजेलको बिक्रीबाट तीन अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट रु एक अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमले जनाएको छ ।

    १५ दिनमा पेट्रोल ३२ हजार ९१५ किलोलिटर, डिजेल ८६ हजार ९१० किलोलिटर, मट्टितेल ७७० किलोलिटर, हवाई इन्धन (आन्तरिक) दुई हजार ७७९ किलोलिटर, हवाई इन्धन (अन्तर्राष्ट्रिय) चार हजार किलोलिटर र एलपी ग्यास १८ लाख ९९ हजार २७८ सिलिण्डर खपत हुने निगमको आँकलन छ ।

    इन्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

  • मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको मेयर शाक्यले गरे उद्घाटन

    मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको मेयर शाक्यले गरे उद्घाटन

    काठमाडौं । कतिपय नटबोल्ट खुकुलो भएर मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मंगलबार विहान उद्घाटन गरेका छन् ।

    चुनावको छेको पारेर डेढ वर्षदेखि प्रयोग भइरहेको माइतीघर (पुरातत्व विभागअघि) को आकाशे पुलको उद्घाटन गरेका हुन् ।

    शिलालेखसमेत तयार गरेर आकाशे पुल उद्घाटनको तयारी गर्दैगर्दा नियमित रुपमा पुल प्रयोग गर्नेहरु अचम्मित भएका थिए । किनकि यो पुल डेढ वर्षअघि नै निर्माण सम्पन्न भएर हाल प्रयोग भइरहेको छ ।

    यो पुल जेठ २०७७ मै निर्माण सकिएर सर्वसाधारणले प्रयोग गर्न थालेका थिए ।

  • नेपाली शेयर बजारमा लगातार गिरावट, कारोबार २ अर्ब ५७ करोडमा सीमित

    नेपाली शेयर बजारमा लगातार गिरावट, कारोबार २ अर्ब ५७ करोडमा सीमित

    काठमाडौं । शेयर बजारको आरोलो यात्रा कायमै रहेको छ । कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) १९.६५ अंकले घटेर २६३१.३२ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३१ कम्पनीको २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँ बराबरको ४९ लाख ६७ हजार ४७१ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ३ हरियो भएको छ । भने १० वटा घटेको छ । टेलिकमको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

    होटल समूह सबैभन्दा धेरै २.०९ प्रतिशतले बढेको छ भने अन्य समूह सबैभन्दा धेरै २.४७ प्रतिशतले घटेको छ

    कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल छेलिकमको भएको छ । यस कम्पनीको आज १६ करोड ३६ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा ग्रामिण विकास बैंकको कारोबार भएको छ । यस कम्पनीको आज १२ करोड २४ लाख भन्दा बढीको कारोबार भएको छ ।

    तेस्रो स्थानमा अपी पावरको कारोबार रहेको छ । अपीले १० करोड ७८ लाखको कारोबार गरेको छ ।

    आज इमजिङ नेपाल लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४७२.६० रुपैयाँ पुगेको छ ।

    यसैगरी, मैलुङ खोला जलविद्युत् ६.१३, सोल्टी होटल ४.१७, ओरेन्टल होटल ३.०२, नेपाल फाइनान्स २.६४, तारागाउँ होटलको शेयरमूल्य २.६५ प्रतिशतले बढेको छ ।

    त्यस्तै, अजोड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, ग्रामीण विकास लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको मूल्य २ प्रतिशतले बढेको छ ।

    त्यस्तै, आज युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.९२ प्रतिशतले घटेको छ ।

  • युक्रेनका राष्ट्रपतिलाई युद्ध शुरु भएयता पहिलो पटक तीन मुलुकका प्रधानमन्त्रीले संयुक्त रुपमा भेटे

    युक्रेनका राष्ट्रपतिलाई युद्ध शुरु भएयता पहिलो पटक तीन मुलुकका प्रधानमन्त्रीले संयुक्त रुपमा भेटे

    काठमाडौं । रुस र युक्रेनबीचको युद्धपछि निरन्तर रुससँग लडिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग पहिलो पटक अन्तर्राष्ट्रिय नेताले औपचारिक रुपमा भेट गर्न सफल भएका छन् । बीबीसीका अनुसार रुसी आक्रमण चर्किएसँगै युक्रेनको साथमा उभिनका लागि पोल्याण्डदेखि किएभसम्म लामो खतरनाक रेल यात्रा गरेर पुगेका तीन जना युरोपेली नेताहरूको युक्रेनले प्रशंसा गरेको छ।

    मङ्गलवार साँझ किएभमा कर्फ्यु लागु रहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट गरेका थिए। ‘हामी तपाईँहरूको साहसी लडाइँको प्रशंसा गर्छौँ,’ भेटपछि सामाजिक सञ्जाल ट्विटरमा पेत्र फियालाले लेखेका छन्, ‘हामीलाई थाहा छ तपाईँहरूको हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ। तपाईँहरू एक्लो हुनुहुन्न। हाम्रा देशहरू तपाईँका साथमा छन्।’

    पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तै नहुने टिप्पणी गरेका छन्। मोराभिएत्सकी, फियाला र स्लोभेनियाका यानेस यान्सा गत फेब्रुअरी २४ तारिखमा रुसले आक्रमण सुरु गरेयता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई भेट्ने प्रथम अन्तर्राष्ट्रिय नेता हुन्।

    किएभमा युरोपका तीन नेताहरूसँग छलफल भइरहेका बेला ठूलो विस्फोटनको आवाज सुनिएको थियो। युक्रेन पुगेका नेताहरूले आफूहरूसँग कुनै निश्चित म्यान्डेट नरहेको तर फ्रान्समा गत हप्ता भएको युरोपेली सङ्घको सम्मेलनका क्रममा उल्लेख गरिएका कारण ब्रसल्सका नेताहरूलाई भ्रमणको जानकारी रहेको बताए।

  • भिजिट भिसामा आई समस्यामा परेका नेपालीको सहजीकरण गर्न यूएई  सहमत

    भिजिट भिसामा आई समस्यामा परेका नेपालीको सहजीकरण गर्न यूएई सहमत

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले भिजिट भिसामा पुगेर अलपत्र परेका नेपाली नागरिकको समस्या समाधान गर्न सहमति जनाएको छ । यूएई भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच मंगलबार भएको भेटवार्तामा यस्तो सहमति भएइको हो । राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रसंशा गरे । भेटवार्ताका क्रममा उनीहरूबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको हो । रोजगारीको प्रलोभन देखाइ भिजिट भिसामा युएई ल्याउने गैरकानुनी एजेन्टलाई कारवाहीको दायरामा ल्याउन युएई सरकारले सहयोग गर्नेछ।

    मन्त्री अवारले युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ती उत्पादनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि युएई सरकारले सहयोग गर्ने बताए। उनीहरूबीच युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमा, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ ।

  • इन्जिनियर्स एसोसिएसनमा कांग्रेस निकटको प्यानलै विजयी

    इन्जिनियर्स एसोसिएसनमा कांग्रेस निकटको प्यानलै विजयी

    काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का अध्यक्षसहितको प्यानल विजयी भएको छ । एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको चुनावमा कांग्रेसको दुई प्यानल थियो। कांग्रेसका दुईसहित पाँच प्यानलबीचको भिडन्तमा कांग्रेसको आधिकारिक प्यानल सिडेनका सबै उम्मेदवार विजयी भए । अध्यक्षमा ३७३२ मतसहित गुल्मीका हरिबहादुर दर्लामी निर्वाचित भए । सिडेनबाट दिलिपकुमार झा सुमेत अध्यक्षको प्रत्यासी थिए । उनी कांग्रेसका बागी उमेदरवार हुन् ।

    दर्लामीले नेकपा एमालेनिकट प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसन नेपालबाट अध्यक्षमा उठेका सुरज लामिछाने, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन नेपाल, नेकपा एकीकृत समाजवादीनिकट इन्जिनियरिङ नेपाल सिन र जसपानिकट नेपाल इन्जिनियरिङ संघबाट संयुक्त रूपमा उठेका हरिराम पराजुली, नेपाल मजदुर किसान पार्टीनिकट इन्जिनियर समाज नेपालका राजेन्द्रप्रसाद हाडालाई पराजित गर्न सफल भए ।

    एशोसिएसनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सदस्यहरू र परिषद सदस्यका लागि चुनाव भएको छ । उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी, सहकोषाध्यक्षमा दीपक अधिकारी निर्वाचित भए ।

  • अनुमति नलिई प्याराग्लाइडिङ उडाएका विदेशी नागरिक पक्राउ

    अनुमति नलिई प्याराग्लाइडिङ उडाएका विदेशी नागरिक पक्राउ

    बैतडी । अनुमति नलिई प्याराग्लाइडिङ उडाएका एक विदेशी नागरिक बैतडीमा पक्राउ परेका छन् । राससका अनुसार पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् । प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले दिएको जानकारी अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो । उनले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौंडी क्षेत्रमा पाराग्लाइडिङ गर्दै आएका थिए ।


    पाराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले विना अनुमति पाराग्लाइडिङ गरेकाले पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । जेल्नरसँग अष्ट्रियामा पाराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको छ । तर नेपालका लागि अनुमति नरहेको भारतीले बताए । मार्च ३० तारिखसम्म नेपालमा रहने पर्यटक प्रवेशाज्ञा रहेका उनलाई आवश्यक कारबाहीका लागि मंगलबार नागरिक उड्डयन कार्यालय, धनगढी पठाइएको छ ।

  • आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपाल र पपुवा न्यूगिनी भिड्दै

    आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपाल र पपुवा न्यूगिनी भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपाल र पपुवा न्युगिनी भिड्दैछन् । प्रतियोगिता युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी छ । नेपालको खेल आज परे पनि प्रतियोगिताका अन्य खेल भने मंगलबारबाटै शुरु भए । आईसीसी क्रिकेट विश्वकप लिग टु आगामी वान डे विश्वकपमा पुग्ने यात्राको पहिलो पाइला हो ।


    नेपाल र पपुवा न्युगिनीबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघि नेपालले श्रीलंकामा एक साताभन्दा बढी तयारी र अभ्यास खेल्दै उच्च मनोवलका साथ यूएई पुगेको छ । लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्युगिनी बीचको शृंखला ८ गतेसम्म चल्ने छ । यो खेलले वान डे अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।