Category: फिचर

  • नेपाली नर्स लैजान बेलायत तयार, कहिलेबाट शुरु हुन्छ प्रक्रिया ?

    नेपाली नर्स लैजान बेलायत तयार, कहिलेबाट शुरु हुन्छ प्रक्रिया ?

    काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। राससका अनुसार दुवै देशका अधिकारीबीच शुक्रबार भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

    बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट दुवै देशबीच समझदारी गरी नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। दुवै देशका वार्ता टोलीबीच आगामी मार्चसम्म श्रम समझदारी सम्पन्न गर्ने सहमति भएको छ । सहमतिअनुसार समझदारीको मस्यौदा निर्माणमा दुवै पक्ष जट्नेछन्। समझदारी गरेर नेपालबाट बेलायतको स्वास्थ्य क्षेत्रमा श्रमिक लैजाने विषयलाई छिटो टुङ्गोमा पुर्‍याउने विषयमा बैठकमा सहमति भएको उनले जानकारी दिए।

    यद्यपि, नेपाली श्रमिक लैजाने मोडालिटीको बारेमा टुङ्गो भने लागेको छैन । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन्। बेलायतले नेशनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ ।

    बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो । बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेशनल हेल्थका साथै काठमाडौँस्थित बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो । बैठकमा बेलायतबाट उनीहरू ‘भर्चुअल’ रुपमा सहभागी भएका थिए ।

    बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ। नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ। नेपाल नर्सिङ सङ्घका अनुसार हालसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । ती मध्ये २५ हजार विदेशमा छन् । नौ हजार नर्स सरकारी सेवामा रहेको सङ्घको तथ्याङ्क छ । केही निजी अस्पतालमा कार्यरत छन्।

    वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ । यसअघि जापान, इजरायल, मरिससलगायत मुलुकसँग नेपालले विशिष्टकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ । छिट्टै नेपाली श्रमिक इजरायलको स्वास्थ्य क्षेत्रमा काम गर्न त्यसतर्फ जाँदैछन्।

  • आइतबारबाट श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र वितरण हुने

    आइतबारबाट श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र वितरण हुने

    काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुने राससले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।

    पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ । यसका लागि सुरुमा विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट डिओएफइ डट जीओभी डट एनपीमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । अथवा सिधै ‘एफइआइएमएस डट डिओएफइ डट जीओभी डट एनपीमा गएर पनि खोल्न सकिनेछ ।


    श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नं र आवेदन गर्दाको युजर एकाउण्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोवाइल नं र इमेल ठेगाना अनिवार्यरुपमा भर्नुपर्नेछ । युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।

    अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकोले सो बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ ।

    पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । पुनः श्रम स्वीकृतिको लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी र पुरानो भिसा भए सोको स्क्यान कपी आवश्यक पर्छ ।

    त्यस्तै अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी पनि आवश्यक पर्ने कार्यालयले जनाएको छ ।

    घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिस पत्रको स्क्यान कपी आवश्यक पर्दछ ।

    कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन ।

    वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजार जनाभन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ ।

  • आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

    आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

    काठमाडौं । माघ १ गते विभिन्न सम्प्रदायले आफ्नै तरिकाले मनाउने पर्व हो । माघी पर्वका रुपमा थारु समुदायले भने आज नयाँ वर्षका रुपमा मनाउँछन् । स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरिन्छ । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।

    माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

    तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास यस समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ । विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् ।

    विवाह, यात्रा, बसाइँ सराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ । सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मुलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।

  • तनहुँमा जिप दुर्घटना, ६ जनाको मृत्यु

    तनहुँमा जिप दुर्घटना, ६ जनाको मृत्यु

    तनहुँ । तनहुँमा जिप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते छन् । आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडानम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको प्रहरीले जनाएको छ । ग१ज ६५५५ नम्बरको जिप भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुई जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको हो ।

    बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाका अनुसार ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपान, ४८ वर्षीय सुशीलादेवी न्यौपाने, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीय विमाया गुरुङको मृत्यु भएको छ । मृत्यु हुने सबै जना वडा नम्बर ६ कै छन् । घाइते ८ जनाको थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

  • उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड  डलरको क्रिप्टोकरेन्सी

    उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड डलरको क्रिप्टोकरेन्सी

    काठमाडौं । उत्तर कोरियाली ह्याकरले ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको खुलासा भएको छ । गत वर्ष उत्तर कोरियाली ह्याकरहरूले विभिन्न क्रिप्टोकरेन्सी मञ्चमा कम्तीमा सात पटक आक्रमण गरेर झन्डै ४० करोड अमेरिकी डलरजतिको डिजिटल मुद्रा चोरेको दाबी एउटा प्रतिवेदनले गरेको बीबीसीले लेखेको छ । ब्लकचेनबारे अनुसन्धान गर्ने संस्था चेनएनलिसिसुका अनुसार उत्तर कोरियाका साइबर अपराधीका लागि सन् २०२१ एउटा सफल वर्ष प्रमाणित भएको हो ।

    उत्तर कोरियाली ह्याकरहरूले मुख्यतया लगानी गर्ने कम्पनी तथा क्रिप्टोकरेन्सी किनबेच गर्न मध्यस्थता गरिदिने केन्द्रीकृत मञ्चलाई लक्ष्य बनाएका थिए। उत्तर कोरियाले आफू त्यस्ता आक्रमणमा संलग्न भएको भन्ने आरोपको बारम्बार खण्डन गर्ने गरेको छ। २०२० बाट २०२१ मा पुग्दा उत्तर कोरियासँग सम्बन्धित ह्याक आक्रमणको सङ्ख्या चारबाट बढेर सात भयो, अनि ती ह्याकबाट दोहन गरिएको डिजिटल मुद्राकोे मूल्य ४० प्रतिशतले बढ्यो, चेनएनलिसिसले एउटा प्रतिवदेनमा लेखेको छ ।

    चेनएनलिसिसका अनुसार ह्याकरहरूले लक्षित संस्थाका हट वालेटबाट सम्पत्ति चोरेर उत्तर कोरियाको नियन्त्रणमा भएका स्थानमा पठाउन विभिन्न विधि प्रयोग गरेका थिए। त्यस्ता विधिमा फिशिङ, सफ्टवेअरको कमजोरी पत्ता लगाउने विशेष कोड र मालवेअर थिए। क्रिप्टोकरेन्सी हट वालेटहरू इन्टरनेट तथा क्रिप्टोकरेन्सी नेटवर्कसँग जोडिएका हुन्छन्। त्यसैले ती ह्याकिङमा पर्ने जोखिममा हुन्छन्।

    क्रिप्टोकरेन्सी पठाउन र लिन ती वालेटको प्रयोग गरिन्छ। तिनले प्रयोगकर्तालाई आफूसँग कति वटा टोकन छन् भनेर देखाउँछन्। आफूलाई दैनिक आवश्यक नपर्ने हुँदा ठूलो परिमाणको क्रिप्टोकरेन्सी हटूवालेटको सट्टा कोल्ड वालेटमा राख्ने सल्लाह धेरै विज्ञले दिएका छन्। किनभने कोल्ड वालेटहरू बृहत्तर इन्टरनेटसँग जोडिएका हुँदैनन्।

    चेनएनलिसिसका अनुसार गत वर्ष भएका आक्रमणमध्ये धेरैमा तथाकथित ल्याजरस ग्रूप को संलग्नता छ। अमेरिकाले प्रतिबन्ध लगाएको उक्त समूह उत्तर कोरियाको जासुसी संयन्त्रले सञ्चालन गर्ने ठानिएको छ।

  • नेपालमा २ माघबाट दिइने भयो बुस्टर डोज

    नेपालमा २ माघबाट दिइने भयो बुस्टर डोज

    काठमाडौं । नेपालमा २ माघबाट बुस्टर डोज दिइने भएको छ । अग्रपंक्तिमा खटिनेका लागि बुस्टर डोज खोप दिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखी अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको हो । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टरमा पनि त्यही खोप दिइने मन्त्रालयको भनाई छ । पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज पाउने भएका छन् ।

  • लिपुलेकमा भारतले संरचना बनाइरहेको बारे बोल्यो कांग्रेस

    लिपुलेकमा भारतले संरचना बनाइरहेको बारे बोल्यो कांग्रेस

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको प्रतिक्रिया दिएको छ । यस विषयमा सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सडक निर्माण रोक्न माग गर्दै कांग्रेसले नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्ने समेत बताएको छ ।

    कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको समेत बताएका छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो भन्नेमा कांग्रेस प्रष्ट रहेको भन्दै महामन्त्रीद्वयको वक्तव्यमा यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्ने बताएका छन् ।

    कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने समेत उनीहरुको भनाई छ । कांग्रेसका महामन्त्रीद्वयको वक्तव्यमा भनिएको छ,‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक सम्वादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।’

    यस्तो छ कांग्रेसको वक्तव्य

    पुस ३०, २०७८

    लिपुलेक प्रकरण उपर नेपाली कांग्रेसको धारणा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको छ ।

    नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले राख्दै आएको निम्न धारणा र अडानमा पार्टी प्रष्ट र दृढ रहेको व्यहोरा सार्वजनिक रुपले पुनः दोहोर्‍याउन चाहन्छ ।

    १. लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो ।

    २. नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

    ३. कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।

    ४. नेपालको संसदले सर्वदलीय एकता साथ संविधान संशोधन मार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धिपछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने बिषय राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

    ५. दुई राष्ट्र बीचको सीमासम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रष्ट छौं ।

    ६. नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।

    ७. दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहि आएको छ । यस अर्थमा सिमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

    जय नेपाल
    गगनकुमार थापा, महामन्त्री
    विश्वप्रकाश शर्मा, महामन्त्री

  • नेपालमा एक दिनमै थपिए ५०८७ कोरोना संक्रमित

    नेपालमा एक दिनमै थपिए ५०८७ कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको छ ।
    पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६१३ पुगेको छ ।

    शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् । अब देशभर १८ हजार २३ सक्रिय संक्रमित रहेको तथ्यांक छ । काठमाडौं उपत्यकामा मात्रै २६०७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको तथ्यांक अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला ६ पुगेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, कास्की र सुनसरीमा सक्रिय संक्रमित संख्या ५ सय नाघेको छ ।

  • नेपालमा सरकारले ल्यायो पढ्दै-कमाउँदै कार्यक्रमको अवधारणा, के छ योजना ?

    नेपालमा सरकारले ल्यायो पढ्दै-कमाउँदै कार्यक्रमको अवधारणा, के छ योजना ?

    काठमाडौं । नेपालमा सरकारले विद्यार्थीहरुलाई लक्षित गरि ‘पढ्दै कमाउँदै कार्यक्रम’को अवधारणा ल्याएको छ । यो कार्यक्रम कार्यान्वयनमा ल्याउने घोषणा चालु आवको बजेटमै गरिएको थियो । सोही अनुसार कार्यक्रम सञ्चालन कार्यविधि जारी गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरेको हो ।

    पुस २७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार जारी कार्यविधिमा शिक्षालाई सीपसँग जोड्नका लागि सामुदायिक विद्यालयले यस कार्यक्रमअन्तर्गत प्रस्तावना तयार गरी स्थानीय तहमार्फत पेस गर्नुपर्नेछ । प्रस्तावनाको मूल्याङ्कनका आधारमा सरकारले विद्यालयलाई अनुदान दिनेछ र अनुदानका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ।

    अघिल्लो सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सुरु गरेको थियो । वर्तमान सरकार बनेपछि त्यसमा ‘पढ्दै कमाउँदै कार्यक्रम‘ पूरक बजेटमार्फतबाट थपिएको हो । शुरुवातमा यो कार्यक्रम प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थी लक्षित हुने गरि कार्यविधि बनेको छ ।

  • दृष्टिविहिनले समेत चिन्न सक्ने दुई रुपैयाँको सिक्का बजारमा

    दृष्टिविहिनले समेत चिन्न सक्ने दुई रुपैयाँको सिक्का बजारमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का शुक्रवारदेखि बजारमा चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयँँका सिक्का चलनचल्तीमा ल्याइएको हो । राष्ट्र बैंकका अनुसार यो सिक्का दृष्टिविहिनले समेत सजिलै चिन्न सक्छन् । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेका छन् ।

    माथिल्लो भागमा अङ्ग्रेजीमा ‘आरएस टु’ र तल्लो भागमा देवनागरी लिपिमा दुई रुपैयाँ लेखिएको छ । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । नक्साको ठिक माथिपट्टि दायाँतर्फ दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला राखिएको हो । सिक्को पृष्ठ भागमा आठ थोप्लासहितको वृत्ताकार चित्र रही त्यसको भित्र वर्गाकार आकृतिको बाहिरिपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म र गदाको आकृति राखिएको छ ।

  • अन्तःशूल्क स्टीकर छपाई नेपालमै गर्न अर्थमन्त्रीको निर्देशन

    अन्तःशूल्क स्टीकर छपाई नेपालमै गर्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क स्टिकर को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतीस्थित आईटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीवार निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए । उनका अनुसार अर्थलाई मात्र करिब तीन अर्ब पिस स्टिकर चाहिन्छ । तीन अर्ब स्टिकर छाप्न यस्ता मेशिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न समेत उनले आग्रह गरे ।

    उनले अब एक वर्षको अवधिमा मन्त्रालयलाई आवश्यक पर्ने परिमाणको स्टिकर छाप्न सक्नेगरी व्यवस्था गर्न निर्देशन दिएका छन् । जडान हुँदै गरेका अत्याधुनिक मेशिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिइएको बताउँदै उनले यसको ठूलो बजारसमेत रहेको उल्लेख गरे । उनले बैंक, यातायात, मालपोतलगायतका विभिन्न क्षेत्रको काम यसले पाउनसक्ने बताए । आफूले सुरक्षण प्रिन्टिङ प्रेसमा नाफा मात्रै देखेको स्पष्ट पार्दै मन्त्री शर्माले यसका लागि सरकार लगानी गर्न नहिच्किचाउने बताए । यसबाट अर्बौँको राजस्व चुहावटलाई नियन्त्रण गर्न सकिने विश्वास उनको छ ।

  • सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएपछि खोप केन्द्रमा थामिनसक्नु भिड

    सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएपछि खोप केन्द्रमा थामिनसक्नु भिड

    काठमाडौं । सरकारले आगामी माघ ७ गतेबाट सार्वजनिक सेवामा कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । यस्तो निर्णय लागु हुने दिन नजिकिँदै जाँदा नेपालमा खोप केन्द्रमा मानिसहरुको अत्यधिक भिड बढेको छ । खोप केन्द्रमा थामिनसक्नु भिड बढेपछि कोरोनाको जोखिम समेत अझ बढेको हो । सरकारले यसअघि प्राथमिकतामा परेका बाहेकलाई खोप लगाउन प्रोत्साहन गर्न सकेको थिएन । तर, सार्वजनिक सेवामा खोप कार्य अनिवार्य गरिएपछि भने मानिसहरु खोप लगाउन बाध्य भएका हुन् ।

    ७ माघबाट सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । बिहीबार मात्र काठमाडौँमा २५ हजारभन्दा बढीले खोप लगाएको तथ्यांक छ। यसमा फाइजर लगाएका बालबालिकाको सङ्ख्या जोडिएको छैन । काठमाडौँमा फाइजर लगाउने बालबालिकाको सङ्ख्या दैनिक २४ हजारभन्दा माथि रहेको अनुमान छ । अहिले सरकारी मात्र नभएर निजी अस्पतालबाट पनि खोप लगाउन पाइन्छ । खोप निशुल्क दिइएको हो । काठमाडौँमा मात्र १८ केन्द्रबाट नियमित खोप वितरण भइरहेको छ ।

  • बाइडनको कोरोना खोपसम्बन्धी नीतिमा सर्वोच्चको रोक

    बाइडनको कोरोना खोपसम्बन्धी नीतिमा सर्वोच्चको रोक

    वासिंटन डिसी । अमेरिकामा बोइडेन सरकारले ल्याएको कोरोना खोप सम्बन्धी नीतिमा सर्वोच्च अदालतले रोक लगाएको छ । खासगरि ठूला कम्पनीका कर्मचारीहरूले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा कोरोनाभाइरसको परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति जो बाइडनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको हो । बीबीसीका अनुसार देशकै माथिल्लो तहको अदालतका न्यायाधीशले उक्त खोप नीति बाइडन प्रशासनको अधिकारभन्दा बाहिर रहेको बताएका छन् ।

    तर उनीहरूले सरकारी कोषबाट चलेका स्वास्थ्य सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीले खोप लगाउनुपर्ने बाइडनको नीतिलाई भने स्वीकृति दिएका छन्। बाइडन प्रशासनले यो नीतिले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न मद्दत गर्ने जनाउँदै आएको छ। जीवन बचाउने ठानेर आफूले ल्याएको नीतिलाई अदालतले अस्वीकार गर्दा त्यसमा आफू निराश भएको बाइडनले बताएका छन्। तर सरकारी स्वास्थ्यकर्मीलाई खोप अनिवार्य लगाउने भन्ने आफ्नो नीतिलाई अदालतले स्वीकृति दिन गरेको निर्णयको चाहिँ उनले स्वागत गरेका छन्।

    पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले अदालतको आदेशप्रति खुसी व्यक्त गर्दै खोप अनिवार्य लगाउनुपर्ने नीतिले अर्थतन्त्रलाई थप क्षति पुर्‍याउने बताएका छन् । बाइडन प्रशासनको कार्यस्थलमा खोप नीति अन्तर्गत कर्मचारीहरूले कोभिड-१९ विरुद्ध खोप लगाउनुपर्थ्यो वा मास्क लगाउनुपर्थ्यो र आफ्नै खर्चमा साप्ताहिक रूपमा परीक्षण गर्नुपर्थ्यो। कम्तीमा १०० जना कर्मचारी रहेका कार्यस्थलमा यो लागु हुने भनिएको थियो। यो नीति अन्तर्गत ८ करोड ४० लाख मानिस पर्थे। विपक्षीलगायत केही रिपब्लिकन राज्यहहरू र केही व्यापारिक समूहले प्रशासनले यो नीति आफ्नो शक्तिभन्दा बाहिर गएर ल्याएको बताएका थिए।

    गत नोभेम्बरमा यो नीति घोषणा गरिएसँगै तत्कालै यसविरुद्ध मुद्दाहरू परेका थिए। सर्वोच्च अदालतका ९ न्यायाधीशमध्ये ६ जनाले नीतिविरुद्ध निर्णय सुनाएका हुन्। ती न्यायाधीशहरूले आफ्नो निर्णयमा लेखेका छन्, कोभिड(१९ घर, विद्यालय, खेल कार्यक्रम वा मानिस भेला हुने अन्य ठाउँमा फैलिनसक्छ। नीतिका केही विषय यसै साताबाट लागु हुन लागेका बेला अदालतको यो निर्णय आएको छ।

  • स्थानीय तहको निर्वाचनका सन्दर्भमा आज सर्वदलीय बैठक

    स्थानीय तहको निर्वाचनका सन्दर्भमा आज सर्वदलीय बैठक

    काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनको वातावरण बनाउन आज सर्वदलीय बैठक बस्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भलाई लिएर शुक्रबार सर्वदलीय बैठक डाकेको छ । बैठक बिहान ११ बजे आयोगको कार्यालय कान्तिपथमा बस्ने भएको हो । सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुनेछ ।

    निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको निर्वाचन आगामी ५ चैतभित्र गरिसक्न सुझाव दिएको छ । अहिलेका स्थानीय तहका जनप्रतिनिधिहरुको अवधि ५ जेठ २०७९ मा सकिन्छ । स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनुभन्दा दुई महिनाअघि नै चुनाव गर्नुपर्ने प्रावधान रहेको छ ।

  • धादिङमा बाटो खन्दा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता

    धादिङमा बाटो खन्दा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता

    धादिङ । धादिङमा बाटो खन्ने क्रममा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता छन् । सेना, प्रहरी र स्थानीयले बिहीबार दिनभर खोजी कार्य जारी राखेपनि भेटाउन सकेनन् । उनीहरुको आज पनि खोजी शुरु भएको छ । जिल्लाको रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा खसेको पहिरोले डोजर सहित उनीहरुलाई पुरेको हो । बिहीबार बिहान रुबी भ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना पुरिएका थिए । साँझसम्म खोज्दा नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो ।

    पहिरो खसेको ठाउँमा मेसिन औजार प्रयोग गर्न सकिने अवस्था नभएको र मानिसले माटो पन्छाउदा खोजी कार्य कठिन भएको प्रहरीको भनाई छ । रसुवा–तिप्लिङ सडकखण्डमा जोडिने सडकमा पहिरो खस्दा डोजरसहित चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ पुरिएका छन् । बिहीबार हेलिकप्टरबाट नेपाली सेनाका मेजर नेतृत्वको उद्धारकर्मीको टोली पुर्याइएको थियो । सशस्त्र र नेपाल प्रहरीको टोली समेत पुगेर खोजी थालेका थिए ।

  • अमेरिका जाने लोभमा दुई व्यक्तिको डुब्यो ३४ लाख

    अमेरिका जाने लोभमा दुई व्यक्तिको डुब्यो ३४ लाख

    काठमाडौं । अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको ३४ लाख रकम डुबेको छ । राससका अनुसार रकम मात्र डुबेन, उनीहरु आफैँ मानव बेचबिखनको जालोमा समेत फसेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेको छन् । मानव बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतिमध्ये श्रीमती सुधा देवकोटा पक्राउ परे पनि श्रीमान् मुक्तिनारायण केसी अझै फरार छन् ।

    अदालतको आदेशपछि देवकोटा पूर्वक्षका लागि जेल चलान भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरु विरुद्ध विभिन्न मितिमा दुई पीडित व्यक्तिको जाहेरी परेको हो । उनीहरुले अमेरिकामा मासिक तीन लाख तलब हुने लोभ देखाएर २७ लाख मागेका थिए ।

    एक पीडितबाट उनीहरुले पटकपटक गरी रु १९ लाख लिएको समेत खुल्न आएको छ । सन् २०१९ को जनवरी २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इण्डोनेसियाको बाली तथा जाकार्ता पु¥याइ बोलेभियाहुँदै अमेरिका जाने भनी लगेका थिए । तर विमानस्थलमा पु(याउदा सेटिङ नमिलेको भनी फर्काए ।

    उनीहरुले पछि पीडितलाई मेक्सिको हुँदै अमेरिका जानी भनी इथियोपिया पुर्याई कोठामा साँढे तीन महिना बन्धक बनाएको खुल्न आएको छ । आफू बेचिएको थाहा पाएपछि पीडितले घरबाट टिकट मगाइ फर्किएर विसं २०७६ कात्तिक २१ गते ब्यूरोमा जाहेरी दिएका थिए ।

    उनीहरुले अर्का एक व्यक्तिलाई पनि बेचबिखन गरेको भनी जाहेरी परेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताएका छन् । उनीहरुले एक व्यक्तिलाई काठमाडौँको स्वयंम्भूबाट बसमार्फत भारतको नयाँ दिल्लीमा दुई महिना राखी फेरि काम नभएको भनी नेपाल फर्काएर मलेसिया हुँदै इण्डोनेसिया पुर्‍याइएको खुल्न आएको छ ।


    अमेरिका लैजाने बहानामा त्यहाँ सात महिना कोठामा बन्धक बनाइएको र पछि जाकार्ताको इमिग्रेसनबाट उनी पक्राउ परेका थिए । त्यसपछि उनलाई १४ दिन हिरासतमा राखेर नेपाल फर्काइएको थियो । वि।सं। २०७६ मङ्सिर १३ गते आएका पीडित व्यक्तिले १९ गते जाहेरी दिएका थिए । उनीबाट ती दम्पतीले रु १५ लाख लिएको समेत खुल्न आएको छ ।

  • नेपाली नर्स बेलायत लैजानेबारे शुक्रबारबाट वार्ता

    नेपाली नर्स बेलायत लैजानेबारे शुक्रबारबाट वार्ता

    काठमाडौं । नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धमा बेलायत र नेपालबीच औपचारिक वार्ता शुक्रबारदेखि शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेको हो । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले यस्तो जानकारी गराएका हुन् । बेलायत सरकारले एक पत्र पठाएपछि मन्त्रालयले दुबै पक्षबाट कार्यदल बनाएर वार्ता अघि बढाउन बेलायत सरकारलाई प्रस्ताव गरेको थियो ।

    त्यसैअनुसार बेलायतले नेपालस्थित दूतावासका एक अधिकारीको नेतृत्वमा वार्ता टोली बनाएको छ । नेपाली वार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने समेत बताइएको छ । बेलायतसँग करार अवधि, श्रमिकको हित, सुविधा र छनोट विधिसहितका प्रक्रिया बारेमा छलफल हुने छ । वार्ता सफल भएमा बेलायतले नेपालबाट चरणबद्ध रुपमा नर्सहरु लैजाने छ ।

  • नेपालमा लकडाउन नगर्ने सरकारको संकेत

    नेपालमा लकडाउन नगर्ने सरकारको संकेत

    काठमाडौं । नेपालमा तत्काल लकडाउन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यस्तो संकेत गरेका छन् । सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको उनको भनाई छ । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरिएको भन्दै उनले आवश्यक ठाउँ हेरेर आवश्यक परेको अवस्थामा मात्र लकडाउन हुने उनले बताए ।

    उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको समेत उल्लेख गरे । अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने उनको भनाई छ । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए । आवश्यक्ता हेरेर खास ठाउँमा मात्रै लडकाउन हुने भन्दै उनले तत्काल लकडाउनको विषयमा आतंकित नहुन समेत आह्वान गरेका छन् ।

  • धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाको आवेदन, को– को छन् प्रतिस्पर्धामा ?

    धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाको आवेदन, को– को छन् प्रतिस्पर्धामा ?

    काठमाडौं । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् ।

    नेपाली पूँजीबजार क्षेत्रको नियमनकारी निकायको प्रमुख पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको अन्तिम दिन बिहीबारसम्म १५ जनाको आवेदन परेको हो।

    नेपाल सरकार अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले सूचना जारी गरेर बोर्डको अध्यक्ष छनोट गर्न पुनः आवेदन खुला गरेको थियो ।

    गत कात्तिक ११ गते अध्यक्षका लागि पहिलोपटक दरखास्त माग गरेको मन्त्रालयले दुई महिनापछि फेरि नयाँ विज्ञापन खुलाएको थियो । दोस्रो पटक खुलाएको विज्ञापनमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल ,रमेश अधिकारी, चिरन्जिवी चापागाई, डा. नवराज अधिकारीको आवेदन परेको छ ।

    त्यस्तै अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल ,निरज गिरी र हेमन्त बस्यालको आवेदन परेको छ ।

    बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारको नाममा खरिद गरेपछि विवादित तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो ।

    आवेदन दिएका मध्येबाट अध्यक्ष सिफारिस समितिले तीनजनाको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नेछ । त्यसमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।

    सिफारिस समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वराज पौडेल छन् । सदस्यमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा. जीवनाथ भुसाल छन् ।

  • उपत्यकामा एकैदिन १९१६ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित ८ हजार नाघ्यो

    उपत्यकामा एकैदिन १९१६ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित ८ हजार नाघ्यो

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९१६ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका हुन् ।

    योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या आठ हजार ३९६ पुगेको छ ।

  • नेपालमा एकैदिन थपिए ३५५३ जना कोरोना संक्रमित

    नेपालमा एकैदिन थपिए ३५५३ जना कोरोना संक्रमित

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३५५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४९८ जनाको पीसीआर परीक्षण गर्दा २९२२ जना र ४५८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६३१ गरी ३५५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४१ हजार २९७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २७१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको छ । संक्रिय संक्रमितको संख्या १४ हजार ३४० रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको छ ।

  • संयुक्त इजालसमै फर्काइयो प्रचण्डको मुद्धा

    संयुक्त इजालसमै फर्काइयो प्रचण्डको मुद्धा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी छाडेर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरिपाउ भनि सर्वोच्चमा दायर गरेको रिट संयुक्त इजलासमै फर्काइएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको पूर्ण इजलासमा आज सुनुवाइ भइ उक्त रिट निवेदनलाई संयुक्त इजलासमै फर्काइएको हो ।

    नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भइ पछिल्लो समय अन्य दलमा सामेल भएको भन्दै माओवादी केन्द्रले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारवाही गरेको थियो । सोही आधारमा निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको थियो ।

    तर, सर्वोच्च अदालतमा उनीहरुले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनीहरुलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेश खारेजीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रिट निवेदन दिएका थिए ।

  • २० वर्षसम्म बुझिलिन नआएका निक्षेप ‘बैंकिङ विकास कोष’मा जम्मा गर्न राष्ट्र बैंकको निर्देशन

    २० वर्षसम्म बुझिलिन नआएका निक्षेप ‘बैंकिङ विकास कोष’मा जम्मा गर्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २० वर्षसम्म दावी नपरेका निक्षेप ‘बैंकिङ विकास कोष’ जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

    बिहीवार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, ऐन २०७३ को दफा ११२ को उपदफा १ बमोजिमको २० वर्षसम्म लिन बुझ्न नआएका वा दाबी नपरेका निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा (अनक्लेम्ड डिपोजिट) जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो।

    अब बैंक तथा वित्तीय संस्थाहरुले त्यस्तो निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषअन्तर्गत तोकिएको हिसाबमा जम्मा गर्नुपर्नेछ।

    कोषमा जम्मा गरिएको रकममाथि निक्षेपकर्ता वा निक्षेपकर्ताको कानस्नी हकवालाबाट सम्पूर्ण प्रक्रिया पूरा गरी दाबी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दाबी पेस गर्नुपर्नेछ।

    आवश्यक कागजातसहित दाबी गर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई विनाब्याज रकम फिर्ता गरिने राष्ट्र बैंकले जारी गरेको सूचना उल्लेख गरेको छ ।

    यसरी बैंकिङ विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवार रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुनेछ। भने उक्त रकम बैंकिङ विकासमा प्रयोग गरिने जनाएको छ ।

  • उच्च अंकले बढ्यो नेपाली सेयर बजार

    उच्च अंकले बढ्यो नेपाली सेयर बजार

    काठमाडौं । सेयर बजारमा उछाल आएको छ । बुधबार ३० अंकले करेक्शन आएको बजार फेरि आज उच्च अंकले बढेको हो । यससाता नेप्से समग्रमा १६५ अंकले बढेको छ ।

    सूचकमा उछाल आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ३७ करोडले घटेर पौने ७ अर्बमा सीमित भएको छ ।

    साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ५४.१९ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेको छ । आज २२४ कम्पनीको ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ रुपैयाँ बराबरको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये अन्य बोहक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.९० प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स, माइक्रोफाइनजान्स र लगानी समूहको परिसूचक पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज कारोबार भएका २२४ कम्पनीमध्ये २०० कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १८ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

    आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको ३४ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावरको २३ करोड र निफ्रा २२ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

    उच्च अंकले बढेको बजारमा मध्यभोटेकोशी जलविद्युत्को सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, माउन्टेन हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै, आइसीएफसी फाइनान्स ८.५४, रसुवागढी, ङादी पावर, माथिल्लो तामाकोशीको मूल्य ७ प्रतिशतले बढेको छ भने राधी जलविद्युन्, गणपति माइक्रोफाइनान्स, अरुण काबेली र पञ्चकन्या माइका सेयरधनीले ६ प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आजनबिल बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै २.०३ प्रतिशत गुमाएका छन् ।

  • धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिदाँ तीन जना वेपत्ता

    धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिदाँ तीन जना वेपत्ता

    धादिङ । धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ । जिल्लाको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएको खबर आएको हो ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटना स्थल पैदल दूरी ४ घण्टा पर पर्छ । बिहान साढे आठ बजे प्रहरी समक्ष पहिरोमा मानिस पुगेको खबर पुगेको थियो । प्रहरीले उद्धार टोली खटाएको छ । चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको स्थानीयले बताएका छन् । घटनाबारे विस्तृत विवरण भने आइसकेको छैन ।

  • प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा

    प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा

    काठमाडौं । नेपाली ब्याडमिन्टनका उदयीमान तारा प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुगेका छन् । उनले यो कीर्तिमान राख्दा नेपालबाट पहिलो पटक उच्च वरियता प्राप्त भएको हो । विश्व ब्याडमिन्टन फेडेरेसनले बुधबार जारी गरेको वार्षिक वरीयतामा सिंगल्सतर्फ उनी पहिलो नम्बरमा छन् । ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व वरीयताको शीर्ष स्थानमा पुगेको समेत यो पहिलो पटक हो ।

    मान्यता प्राप्त प्रतियोगिताहरूको प्रदर्शनका आधारमा फेडेरेसनले हरेक साता जारी गर्ने विश्व वरीयता यसपल्ट एक वर्षपछि सार्वजनिक गरिएको हो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेका छैनन् । अघिल्लो वर्ष प्रिन्स तेस्रो स्थानमा रहेकोमा उनले वरियतामा सुधार गरेका हुन् । फेडेरेसनले बुधबार सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स १० हजार ४ सय अंकका साथ शीर्ष स्थानमा छन् ।

    कोरोना महामारी सुरु भएयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका प्रिन्सको वरीयता अंक भने सुधार हुन सकेको छैन । प्रिन्सपछि नेपालबाट वरीयतामा परेका नरेन्द्र बम ४६ औं स्थानमा छन् । महिलातर्फ रसिला महर्जन १९ औं वरीयतामा छिन् । जुनियर महिला वरीयता पहिलोपल्ट निकालिएको हो ।

  • आज निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक, राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिन हुने

    आज निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक, राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिन हुने

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिनमा हुने भएको छ । निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिका वावजुत निर्वाचन भने नरोकिने स्पष्ट पारेको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा कुनै परिवर्तन नहुने आयोगको भनाई छ । आयोगका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते हुने छ । राष्ट्रिय सभामा मतदान गर्ने मतदाता सङ्ख्या सीमित हुन्छ ।

    यस्तो बेला आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान गर्न सम्भव रहेको आयोगको निष्कर्ष रहेको छ । आयोगका अनुसार आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदानस्थलमा दुुई–दुुईवटा मतदान केन्द्र रहनेछन् । सातवटै प्रदेशका आठ मतदानस्थलमा १४ मतदान केन्द्र तोकिएका छन् । प्रदेश १ मा भने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै ठाउँमा दुुईवटा मतदानस्थल रहनेछन् ।

    राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ गतेका लागि तय गरिएको मतदान सातवटै प्रदेशमा हुनेछ । सातवटै प्रदेशमा कुल दुुई हजार २५ जना मतदाता छन् । ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुख राष्ट्रिय सभा सदस्यको मतदाता छन् । राष्ट्रिय सभा सदस्यको मतदान, स्थानीय तहको निर्वाचनलगायतबारे छलफल गर्न शुक्रबार आयोगले सर्वदलीय बैठक बोलाइएको छ ।

  • बुधबारदेखि परेको वर्षा थामियो, बिहीबार दिउँसोबाट घाम लाग्ने

    बुधबारदेखि परेको वर्षा थामियो, बिहीबार दिउँसोबाट घाम लाग्ने

    काठमाडौं । बुधबार राती मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावले नेपालको अधिकांश स्थानमा पानी परेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार दिउँसोबाट मौसममा सुधार हुने छ । अहिलेको यो प्रणाली कमजोर भइसकेको छ । काठमाडौं उपत्यकामा समेत बिहीबार घाम लाग्नेछ । अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ ।

    प्रदेश १ का एक-दुई स्थानमा बिहानपख भएको हल्का वर्षा पनि अहिले रोकिइसकेको विभागका भनाई छ । गएराति काठमाडौं उपत्यकासहित धेरैजसो स्थानमा मेघ गर्जनसहित पानी पनि परेको थियो । उच्च पहाडी र हिमाली भेगमा हिउँसमेत परेको छ । राति पानी परेकाले काठमाडौं उपत्यकामा आज बिहान चिसो बढेको महसुस भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशभर बदली हुने छ । शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ । शुक्रबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

    माघ १ गते प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र बागमती प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या

    स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या

    काठमाडौं । स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या भएको छ । जिल्लाको वालिङ नगरपालिका १० भकुण्डेमा बुधवार दिउँसो चक्कु प्रहारबाट १६ महिने बालकको ज्यान गएको हो । पर्वतको पैयूँ गाउँपालिका ५ घर भइ वालिङ १० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले बालकलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । उनले वालिङ १२ सिर्सेकोट घर भइ एउटै घरमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिनाका छोरा साइमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    चक्कु प्रहारबाट गम्भीर घाइते भएका साइमनलाई गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । मृतककी दिदी पाँच वर्षीया साइना गुरुङको घाँटीको अगाडिको भाग र बायाँ हातको बूढीऔँलामा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ । चक्कु प्रहार गर्ने जितेन्द्रलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको समेत प्रहरीले जानकारी गराएको छ । घटना के कारणले भएको भन्ने खुलेको छैन ।

  • अतिआवश्यक काम नपरि विदेश भ्रमण नगर्न अध्यागमनको आह्वान

    अतिआवश्यक काम नपरि विदेश भ्रमण नगर्न अध्यागमनको आह्वान

    काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै अतिआवश्यक काम नपरी विदेश भ्रमणमा नजान सरकारले नागरिकलाई आह्वान गरेको छ । अध्यागमन विभागले बुधबार ट्राभल एडभाइजरी जारी गर्दै यस्तो आह्वान गरेको हो । विभागको ट्राभल एडभाइजरीमा भनिएको छ, ‘नयाँ भेरियन्टको संक्रमणको जोखिम भएको मुलुकहरुमा नेपालबाट यात्रा गर्न योजना बनाएका व्यक्तिहरुले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरिन्छ ।’

    गत सोमबारको गृहमन्त्रिस्तरीय निर्णय अनुसार विभागले बुधबार ट्राभल एडभाइजरी जारी गरेको छ । नेपाल सरकारले ओमिक्रोनको संक्रमण शुरुमै देखिएका दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इन्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट सिधै नेपाल आउन वा ती मुलुकलाई ट्रान्जिट बनाएर नेपाल आउन १६ मंसिरबाटै रोक लगाएको थियो । रोकको निर्णयले निरन्तरता पाएको छ । तीन साता भित्र ती मुलुकको भ्रमण गरेका यात्रुले समेत नेपाल आउन पाउँदैनन् ।

    यी दुई मुलुकबाहेकका देशबाट आउने विदेशी नागरिक (गैरआवासीय नेपालीसमेत)ले विदेशबाट ८ असोजमा जारी भएको नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८ का प्रावधानका आधारमा नेपालको भ्रमणमा आउन सक्छन् । जस अनुसार खोपको मात्रा पूरा गरेका र पीसीआर नेगेटिभ भएका विदेशी नागरिकले नेपालमा अनअराइभल भिसा सुविधासहित प्रवेशको अनुमति पाउँछन् ।

    अध्यागमन विभागका अनुसार पूर्ण खोप लगाएको १५ दिन पुगेको र बोर्डिङपास जारी हुनु भन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षण रिर्पोट नेगेटिभ भएका नेपाली नागरिक, कुटनीतिक वा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकले कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएको अवस्थामा घरमै १० दिन क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिइने भएको छ ।

    पूर्ण खोपको मात्र पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकले नेपाल प्रवेश विन्दुमा एन्टिजेट अनिवार्य परीक्षण गर्दा रिर्पोट पोजेटिभ देखिएकालाई संस्थागत आइसोलेसनमा पठाइने भएको छ । परीक्षण रिर्पोट नेगेटिभ आएकालाई भने १० दिन घरमै क्वारेन्टिन बस्ने गरी प्रवेशको अनुमति दिइने भएको छ ।
    खोपको मात्रा पूरा नगरेका वा खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका कुटनीतिक वा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा पाएका विदेशीले नेपाल प्रवेश विन्दुमा एन्टिजेन अनिवार्य परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएमा संस्थागत आइसोलेसन वा सम्बन्धित कुटनीतिक नियोगको जिम्मेजारीमा होम आइसोलेसनमा पठाइने भएको छ । नेगेटिभ आएकालाई भने होम क्वारेन्टिन वा होटेल क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइने भएको छ