Category: फिचर

  • आजबाट सार्वजनिक स्थानदेखि हवाई यात्रामा समेत कडाई, के-के छन् नियम ?

    आजबाट सार्वजनिक स्थानदेखि हवाई यात्रामा समेत कडाई, के-के छन् नियम ?

    काठमाडौं । नेपाल सरकारले नेपालमा आजबाट सार्वजनिक स्थलमा हिँडडुल देखि हवाईजहाज चढ्नसम्म कडाई शुरु गरेको छ । सार्वजनिक स्थान जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्छ । जहाज चढ्दा समेत टिकट लिने बेलामै खोप कार्ड अपलोड गर्नुपर्छ । जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ ।

    खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने छ । सबै निकायहरुले खोप कार्ड हरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि निजी र सार्वजनिक सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध मिलाउन भनिएको छ ।

  • शुक्रबार राती १२ बजेबाट उपत्यकामा यातायात चलाउन जोर-विजोर प्रणाली लागु

    शुक्रबार राती १२ बजेबाट उपत्यकामा यातायात चलाउन जोर-विजोर प्रणाली लागु

    काठमाडौं । काठमाडौं उपत्यकामा चुलिएको कोरोना भाइरसको संक्रमणसँगै सरकारले थप कडाई गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू हुने छ ।

    शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्र चलाउन पाइने छ । यो दुई पांग्रे सवारीमा समेत लागू हुने छ । सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । यातायातका साधनमा मास्क अनिर्वाय लगाउनु पर्नेछ । शुक्रबारबाट सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएको छ । हवाई यातायातमा पनि खोप कार्ड देखाउनु पर्छ ।

  • गठबन्धन कायम राख्दै संयुक्त निर्वाचनमा जाने सत्तारुढ दलको तयारी, बढ्यो सरगर्मी

    गठबन्धन कायम राख्दै संयुक्त निर्वाचनमा जाने सत्तारुढ दलको तयारी, बढ्यो सरगर्मी

    काठमाडौं । नेपालमा चूनावी सरगर्मी बढेको छ । कानून अनुसार स्थानीय तहको निर्वाचन शुरुमा गर्नुपर्छ । तर, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ण्डले पहिला संसदीय निर्वाचनको प्रस्ताव गरेसँगै राजनीतिक माहौल तात्तिएको हो । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच तीन तहको निर्वाचन एकै पटक गर्न सकिने सम्भावनाका बारेमा छलफल भएको छ। सत्तारुढ दल सकेसम्म गठबन्धन नताड्ने र एमालेले संसद अवरोध कायमै राखिरहेको सन्दर्भमा छिटो निर्वाचनमा जानु पर्ने छलफलमा छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आजको छलफल निर्वाचनमा कसरी जाने भन्नेमा केन्दित भएको नेताहरुले बताएका छन् । प्रतिपक्षले संसद चल्नै नदिएको अवस्थामा नयाँ म्यान्डेडमा जाने र सो बाटो कस्तो हुने भन्नेबारेमा सत्ताँरुढ दल छलफलमा जुटेका हुन् ।

    निर्वाचनबारे छलफल गर्न शुक्रबार ४ बजे सत्ता गठबन्धनको बैठक समेत बस्ने भएको छ । सो छलफलले गठबन्धनको रणनीति तह गर्नेछ । सकेसम्म सत्तारुढ दल यो पटक एमालेलाई एक्ल्याउने पक्षमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदलाई निकम्मा बनाउन खोजिरहेको भन्दै दलहरु सो पार्टीलाई एक्ल्याउने रणनीतिमा छन् । एमालेले भने कानून अनुसार पहिला स्थानीय तहको निर्वाचन गरि संसदीय निर्वाचन गर्न माग गरिरहेको छ ।

  • मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त

    मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त

    काठमाडौं । मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने नेपाली सेनाका मेजर (सेनानी) बर्खास्त भएका छन् । सर्वसाधारणसँग अपशब्द बोलेको र दुर्व्यवहारको अभियोगमा उनलाई जनरल सैनिक अदालतले सेवाबाट हटाउने आदेश सुनाएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गेका मेजर अशोकजंग शाही यस्तो कारवाहीमा परेका हुन् । उनले सैनिक ऐन, २०६३ विपरित गतिविधि गरेको पुष्टी भएपछि भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी सेवाबाट हटाउने आदेश गरिएको हो ।

    स्थानीय संचारमाध्यमले जनाए अनुसार जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले ३५ दिनभित्र पुनरावेदन दिने सक्ने व्यवस्था भने छ । घटना २५ असोजमा भएको हो । मादक पदार्थ सेवन गरेर ब्यारेकबाट निस्किएका शाहीले कैलालीको चिसापानीस्थित हर्कबहादुर रावलको होटलमा जबरजस्ती प्रवेश गरि धम्क्याएका थिए । होटेल बन्द भएपछि पुगेका उनलाई होटेल छिर्न नदिएपछि ब्यारेक फर्किएर निजी गाडीमा राति नै हतियारसहितको सैनिक लिएर चिसापानी बजार गएपछि स्थानीयसँग उनको लफडा शुरु भएको थियो । आक्रोशित भिडले उनी चढेको गाडीमा तोडफोड गरेको थियो ।

  • नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

    नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा १० हजार ५२ जना र ६४९० जनाको एन्टिजेन परीक्षण गर्दा २२८६ गरी १३ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८७ हजार ७६९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६४९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १८ हजार ८०९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ ।

  • त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

    त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

    काठमाडौं । त्रिभुवन विश्‍वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ ।

    बिहीवार त्रिविले सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभएको भन्दै पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।

    कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो ।

  • नेपाली सेयर बजारमा ३२ अंकको सुधार, कारोबार झन् खस्कियो

    नेपाली सेयर बजारमा ३२ अंकको सुधार, कारोबार झन् खस्कियो

    काठमाडौं । साताको कारोबारको अन्तिम शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार मापक सूचक (नेप्से) ३३.०३ अंकले बढेर २९३१.२६ बिन्दुमा पुगेकको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२० कम्पनीको ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबार रकममा भने घटेको छ । बुधवार ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ समूह मध्ये ११ वटाको परिसूचक हरियो भएको छ भने २ वटाको घटेको छ ।

    दोहोरो अंकले बढेको बजारमा बैंकिङ १ अंकले घटेको छ । होटल तथा पर्यटन १८, अन्य उपसमूह ११ अंकले बढेको छ ।

    निर्जीवन बीमा २६९, उत्पादन समूह ३१, जलविद्युत ७६ अंकले , विकास बैंक १७२, फाइनान्स ७७, लगानी समूह १ र माइक्रोफाइनान्स ६० अंकले बढेको छ ।

    नेप्सेका अनुसार आज मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुप पावर कम्पनी र बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    त्यसैगरी, न्यादी हाइड्रोपावर ८.८६, गुँरास लाइफ ७.७९, युनियन हाइड्रो ७.२४, कर्पोरेट डेभलपमेन्ट बैंक ६.९१, सिन्धु विकास बैंक ६.२४, गणपति लघुवित्त ६.०८, स्वाभिमान लघुवित्त ६.०६, कामना सेवा विकास बैंक ६, रुरु जलविद्युत्, पञ्चकन्या माइ हाइड्रोपावर, हिमालयन ऊर्जा, महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्सको भएको छ ।

    यस कम्पनीको आज २२ करोड २० लाख भन्दा बढीको कारोबार भएको छ । अपी पावरको १८ करोडको र शिखर इन्सोरेन्सको १७ करोडको कारोबार भएको छ ।

    त्यस्तै, आईसीएफसी फाइनान्सको डिभेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

  • सन्दीपको कप्तानीमा टी-२० विश्वकप छनोट खेल्ने टिम घोषणा, सोमपाल परेनन् (सूचीसहित)

    सन्दीपको कप्तानीमा टी-२० विश्वकप छनोट खेल्ने टिम घोषणा, सोमपाल परेनन् (सूचीसहित)

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा गरेको छ ।

    क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टिममा विनोद भण्डारी, सोमपाल कामी अटाएका छैनन् ।

    युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै शरद भेषवाकर, प्रदीप ऐरी र जितेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

    विश्व कप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ तारिखदेखि २४ तारिखसम्म ओमानमा हुँदैछ ।

    छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

    यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अस्ट्रेलियामा हुने विश्व कपका लागि छनोट हुनेछन् ।

    नेपाली टिम

    सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया,अविनाश बोहरा, शाहब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम ।

  • बुद्ध एयर समयमै अवतरण हुन नसकेपछि एक यात्रु जहाजभित्रै बेहोस

    बुद्ध एयर समयमै अवतरण हुन नसकेपछि एक यात्रु जहाजभित्रै बेहोस

    काठमाडौं । समयमै जहाज अवतरण हुन नसक्दा त्रासले बुद्ध एयरमा एक यात्रु बेहोस भएकी छन् ।

    जहाज अवतरण हुन नसकेपछि करिब ४० मिनेट आकाशमै फन्को मार्नुपरेपछि जहाजमा सवार एक यात्रु बेहोस भएकी हुन् ।

    बिहीबार बिहान काठमाडौंबाट नेपालगञ्ज उडेको उहाज गन्तब्यमा पुगेर पनि खराब मौसमको कारण अवतरण गर्न सकेन ।

    बुद्ध एयरका अनुसार काठमाडौंबाट ६९ जना यात्रु लिएर ७:४४ मा उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८: ४४ मा अवतरण हुनुपर्ने थियो ।

    यो जहाज बिहान ९:१८ मा अवतरण भएको थियो । सो क्रममा एक महिला यात्रु बेहोस भेटिएको र उनलाइ बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो ।

    अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर फर्किसकेको कम्पनीका एक अधिकारीले जानकारी दिए । बेहोस हुने महिलाको पहिचान खुलाईएको छैन।

  • जीटूजी प्रक्रियाबाट नेपाली श्रमिक इजरायल लैजान शुरु

    जीटूजी प्रक्रियाबाट नेपाली श्रमिक इजरायल लैजान शुरु

    काठमाडौं । नेपाली श्रमिकलाई इजरायल लैजान शुरु गरिएको छ । दीर्घकालीन सहायक श्रमिक (केयर गिभर) का लागि छनोट भएका मध्ये पहिलो चरणमा ९९ जना नेपाली श्रमिक बुधबार इजरायल प्रस्थान गरे । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । निजी क्षेत्र तथा बिचौलीयारहित सरकार(सरकार (जिटुजी) प्रक्रियामार्फत श्रमिक पहिलोपटक इजरायल प्रस्थान गरेका हुन् । सो क्रममा मन्त्री श्रेष्ठले नेपालको इज्यत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरे ।

    इजरायल नेपालीका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास उनको छ । बुधबार ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक इजरायल उडेका हुन् । यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुँदैछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्िसरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन् ।

  • उपत्यकासहित देशका अधिकांश भू-भागमा मौसम प्रतिकुल, वर्षा र हिमपातको सम्भावना

    उपत्यकासहित देशका अधिकांश भू-भागमा मौसम प्रतिकुल, वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । काठमाडौ उपत्यकासहित देशका अधिकांश भेगमा बिहीबारबाट मौसम प्रतिकुल बनेको छ । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । महाशाखाका अनुसार पश्चिम र पूर्वी तराई भेगमा हुस्सु तथा कुहिरो लागेको छ। बिहीबार देशको पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

    देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । बिहीबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    शुक्रबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • युक्रेनको विषयमा अमेरिका रुससँग किन त्रसित छ ?

    युक्रेनको विषयमा अमेरिका रुससँग किन त्रसित छ ?

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा हस्तक्षेप गर्न चाहेको पुनः दोहोर्याएका छन् । तर, पूर्ण आकारको युद्ध नचाहेको भने पुटिनले गर्न नसक्ने उनको भनाई छ । उनको यो भनाई लगत्तै मस्कोको तर्फबाट एक बयान जारी गरि बाइडनको भनाईको खण्डन गरिएको छ । युक्रेनमा रुसले हस्तक्षेप अथवा हमलाको तयारी गरिराखेको भन्ने अमेरिकी भनाइलाई अस्वीकार गरेको छहो ।

    उसले युक्रेनतर्फको सीमामा १ लाखजति सङ्ख्यामा सेना तैनाथ गरेसँगै अमेरिका भने यतिबेला युक्रेनको विषयलाई लिएर त्रसित बनेको हो । रुसले भने पश्चिमा सरकारहरूसँग प्रस्तुत गरेका कयौँ मागमा युक्रेन कहिल्यै नेटोमा नजोडियोस् र उक्त रक्षा गठबन्धनका सैन्य गतिविधि सदस्य देशभित्रै सीमित रहुन् भन्ने चाहन्छ । उता, रुसी हमलाको चिन्ताबारे एक पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा बाइडनले रुसले आक्रमण भने गर्न सक्ने सम्भावना रहेको बताएका छन् ।

    बाइडनले पश्चिमा विश्वको परीक्षा लिन चाहेका रुसी नेताले त्यसको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी समेत पुनः दिए । ह्वाइटहाउसका तर्फबाट जारी एक विज्ञप्तीमा प्रेस सेक्रेटरी जेन साकीले यदि रुसी सेना युक्रेनभित्र पसेमा त्यो नयाँ हस्तक्षेप मानिेने र अमेरिका तथा उसका साझेदारबाट तत्काल, कडा र एकीकृत जवाफ दिइने उल्लेख छ । बीबीसीका अनुसार बाइडनले युक्रेनमाथि हमला भएमा रुसमाथि अहिलेसम्मै नदेखिएको प्रतिबन्ध लगाइने बताएका छन्।

  • अमेरिकामा वायुसेवा कम्पनीको विरोधपछि ५ जी सेवा रोकियो

    अमेरिकामा वायुसेवा कम्पनीको विरोधपछि ५ जी सेवा रोकियो

    न्यूयोर्क । अमेरिकामा ५ जी मोवाइल सेवा तत्काल प्रयोगमा नआउने भएको छ । यो प्रविधि लागु गर्ने सम्बन्धमा वायुसेवा कम्पनीहरुको शुरुबाटै विरोध थियो । सोहीकारण मोबाइल सेवा कम्पनीहरु वितमानस्थलहरुमा फाइभ जी सेवा स्थगति गर्न सहमत भएका छन् । विमान कम्पनीहरुले फाइभ जी सेवाले उडानमा असर पुर्याउने भन्दै अमेरिका आउजाउ गर्ने उडान रद्द गरेका थिए । त्यसपछि अमेरिकाका एटी एण्ड टी र भिरिजोनले फाइभ जी त्कालका लागि स्थगित गरेका बीबीसीले लेखेको छ ।

    यी कम्पनीहरुले अमेरिकामा बुधबारदेखि फाइभ जी सेवा सुरु गर्ने निर्णय गरेका थिए । एटी एण्ड टीका प्रवक्ताले समाचार एजेन्सी पीटीआईलाई प्रतिक्रिया दिंदै आफूहरुले ४० बढी देशमा यो सेवा सुरु गरिसकेको तर अमेरिकामा सुरु गर्न नसक्दा निराश भएको बताएका छन् । फाइभ जी सेवा सुरु हुने जानकारी पाएलगत्तै भारतको ध्वजाबाहक एयर एण्डिया, इमिरेट्स लगायतका कम्पनीहरुले अमेरिकाको उडान रद्द गरेका थिए ।

    अमेरिकाकै अमेरिकन एयरलाइन्स, डेल्टा, युनाइटेड लगायतका १० भन्दा बढी एयरलाइन्स कम्पनीहरुले पनि फाइभ जी मोबाइल फोन सेवा सुरु नगर्न आग्रह गरेका थिए । फाइभ जी सिग्नलको सी ब्याण्डले हवाई उडानमा असर पुर्याउने चेतावनी एयरलाइन्स कम्पनीहरुले दिएका छन् । यसले विमानको नेभिगेसन सिस्टमलाई असर गर्ने एयरलाइन्स कम्पनीहरुको भनाइ छ । विमानमा रेडियो अल्टिमिटर जडान गरिएको हुन्छ ।

    यसले विमानको गतिविधिको जानकारी दिनुका साथै पाइलटलाई सुरक्षित तरिकाले विमान उडाउन सहयोग गर्दछ । फाइभ जीले त्यही रेडियो अल्टिमिटरमा असर पुर्याउने चेतावनी दिइएको छ । यसले विमानको ब्रेकिङ सिस्टममा पनि असर गर्ने र रनवेमा विमानलाई रोक्न नसकिने हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।एयरलाइन्स कम्पनीहरुले फाइभ जी सिग्नललाई हवाई अड्डाभन्दा करिब दुई माइल टाढा राख्नुपर्ने माग गरेका छन् ।

    यदि यसो नगरिएमा फाइभ जीले विमान उद्योग, यात्रु, आपूर्ति प्रणाली, भ्याक्सिन वितरण र अर्थव्यवस्थामा असर पर्ने चेतावनी उनीहरुले दिएका छन् । मोबाइल कम्पनीहरुले उच्च गतिको इन्टरनेट सेवा फाइभ जी लागू गर्नका लागि आफ्नो नेटवर्क प्रणालीलाई अपग्रेड गरेका छन् । यस कार्यमा अरबौं डलर खर्च गरिएको छ ।

    तर एयरलाइन्स कम्पनीहरुको विरोधका कारण त्यो लगानीमा जोखिम पैदा भएको विश्लेषण गरिएको छ । अमेरिकाको वायरलेस उद्योगको समूह सीटीआईएले भने फाइभ जी प्रणाली सुरक्षित रहेको जनाएको छ । एयरलाइन्स कम्पनीहरुले तथ्यलाई तोडमोड गरेर डर पैदा गर्न खोजेको आरोप पनि उसले लगाएको छ ।

  • नेपालमा बढ्यो पेट्रोलियम पदार्थको भाउ, कुनको कति ?

    नेपालमा बढ्यो पेट्रोलियम पदार्थको भाउ, कुनको कति ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गर्दै यो आजै राती १२ बजेबाट लागु हुने निगमले बताएको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल र मटितेल १२२ रुपैयाँ पुगेको छ । निगमलाई उच्च घाटा रहेको खाना पकाउने ग्यासमा भने मूल्य बढाइएको छैन । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ पुर्याइएको छ ।

    अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गरिएको छ । कात्तिक २४ मा मूल्य समायोजन भएयता मूल्य बढाइएको थिएन । निगमका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक नयाँ मूल्य आउँदा अधिकांश पटक मूल्य बढेको छ । तर, निगमले भने ३ पटक मात्र मूल्य समायोजन गरेको छ । निगमले करिब १९ अर्व २६ करोड घाटा व्यहोरिसकेको र आगामी २३ जनवरी, २०२२ मा तेल खरिद वापत भुक्तानी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको छ ।

  • खोपको किनबेच अवैध मानिने, प्रमाणित भए कारवाही

    खोपको किनबेच अवैध मानिने, प्रमाणित भए कारवाही

    काठमाडौं । नेपालमा सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क उपलब्ध गराइरहेको छ । तर, अवैधरूपमा बेचबिखन भएको पाइएमा भने कारबाही गर्ने चेतावनी सरकारले दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएमा कारबाही गरिने बताएका हुन् ।

    अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने भन्दै उनले कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन अनुरोध गरेका छन् । सरकारले खोप अभियान सञ्चालन गरी सबै नागरिकलाई खोप लगाइरहेको छ । अहिले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई र १८ वर्षभन्दा माथि सबैलाई खोप लगाइरहेको छ ।

  • कोरोना संक्रमित मतदाताले पनि राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न पाउने

    कोरोना संक्रमित मतदाताले पनि राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न पाउने

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित भएका मतदाताले पनि मतदान गर्न सक्ने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । जसमा १२ माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने व्यवस्था छ । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सङ्क्रमित मतदाताबाट अर्को व्यक्तिलाई नसर्ने गरी छुट्टै बाकसको व्यवस्था गरी मतदानमा सहभागी गराउने प्रबन्ध गरिएको छ ।

    स्वास्थ्य सुरक्षासम्बन्धी नियममा मतदान केन्द्रमा स्वास्थ्यको एउटा टिन बस्ने, मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच हुने, सङ्क्रमित भएर आएका मतदातालाई निसङ्क्रमित गरेर छुट्टै बक्सामा भोट हाल्ने प्रबन्ध मिलाउनेलगायतका विषय उल्लेख छ । माघ १२ मा राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतादाता रहनेछन् । आयोगले सात वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ । कोरोना महामारी जोखिमका बीच आयोगले स्वास्थ्य मापदण्ड अपनाएर निर्वाचन गर्ने भएको छ ।

  • नेपालमा आगामी साता कोरोना उच्च विन्दुमा पुग्ने प्रक्षेपण

    नेपालमा आगामी साता कोरोना उच्च विन्दुमा पुग्ने प्रक्षेपण

    काठमाडौं । नेपालमा आगामी साता कोरोना भाइरसको संक्रमण सबैभन्दा उच्चतम विन्दुमा पुग्ने प्रक्षेपण सरकारले गरेको छ । ्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देखिएको कोरोनाभाइरसको नयाँ लहर आगामी साता उच्चबिन्दुमा पुग्ने आकलन छ । नेपालमा कोभिड महामारीको दोस्रो लहर वैशाख अन्तिम सातामा उच्चबिन्दुमा पुगेको थियो। वैशाख २९ गते सार्वजनिक गरिएको २४ घण्टाको विवरणमा ९,३०५ जनामा सङ्क्रमण पुष्टि भएको थियो। नेपालमा पुस २५ मा सङ्क्रमितको सङ्ख्या १ हजार नाघेको थियो ।

    बुधबार भने सङ्क्रमितको सङ्ख्या ११,३०० भन्दा बढी छ। यो नेपालमा कोभिड महामारी सुरु भएपछि दैनिक पुष्टि भएको सबैभन्दा ठूलो संख्या हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमितको लक्षण तथा जीन सीक्वन्सिङको नतिजाका आधारमा अहिले अधिकांशमा ओमिक्रोन देखिएको बताएका छन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलका अनुसार सङ्क्रमणको उच्चबिन्दु पुग्दा प्रयोगशालाले पुष्टि गरेका सङ्क्रमितको सङ्ख्या करिब २०,००० पुग्ने प्रक्षेपण गरिएको छ। सामाजिक गतिविधि, जनस्वास्थ्य मापदण्ड पालना गर्ने सन्दर्भ, सङ्क्रमणको गति, भाइरसको प्रवृत्ति, खोपको दायरामा आएका मानिसको सङ्ख्या जस्ता विषयलाई आधार मानेर सरकारले यस्तो अनुमान गरेको हो ।

  • कोरोना परीक्षणको शुल्क घट्यो, अब निजीमा १५०० रुपैयाँ

    कोरोना परीक्षणको शुल्क घट्यो, अब निजीमा १५०० रुपैयाँ

    काठमाडौं । सरकारले पीसीआर परीक्षण शुल्क घटाएको छ।

    स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले पत्रकार सम्मेलन मार्फत कोरोना परीक्षणको शुल्क घटेको जनाएको हो ।

    मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो ।

    यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।

  • नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना पुष्टी, ४ जनाको निधन

    नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना पुष्टी, ४ जनाको निधन

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ जनाको पीसीआर परीक्षण गर्दा ९५०२ जना र ५३३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८५० गरी ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७९ हजार ५७६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६१३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १८ हजार १६० पुगेको छ । संक्रिय संक्रमितको संख्या ४९७८३ हजार ४४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६२८ पुगेको छ ।

  • सिनोफार्म, भेरोसेल र जोन्सन खोप लगाएकालाई जर्मनी प्रवेशमा रोक

    सिनोफार्म, भेरोसेल र जोन्सन खोप लगाएकालाई जर्मनी प्रवेशमा रोक

    काठमाडौं । जर्मनी दूतावासले नेपाललाई कोरोनाको उच्च जोखिमको सूचीबाट हटाएको छ ।

    मंगलवार एक विज्ञिप्ती निकाल्दै नेपाललाई कोरोनाको उच्च जोखिमको सूचीबाट हटाएको जनाएको हो । साथै चिनियाँ खोपहरु सिनोफार्म, भेरोसेल र अमेरिकी खोप जोन्सन एन्ड जोन्सन लगाएकालाई भिसा नदिने समेत जनाएको छ ।

    जर्मनीको पछिल्लो खोप नीतिले यी तीन खोप लगाएकालाई पनि ‘खोप नलगाएकै सरह व्यवहार गरिने’ उल्लेख गरेको छ ।

    जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीले जर्मनी दूतावासबाट भिसा लिन चाहेमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना र बायोएनटेक खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।

    नेपालस्थित जर्मनी दूतावासले माघ ७ गतेदेखि कोभिड-१९ विरुद्धको खोप लगाएकालाई मात्र भिसा अप्वाइन्टेमन्ट दिन सक्ने जनाएको छ ।

  • ठूला खालका चार्जिङ स्टेशन बनाउनेलाई प्राधिकरण आफैंले ट्रान्सफर्मर राखिदिने

    ठूला खालका चार्जिङ स्टेशन बनाउनेलाई प्राधिकरण आफैंले ट्रान्सफर्मर राखिदिने

    काठमाडौं । ठूला खालका चार्जिङ स्टेशन बनाउनेलाई नेपाल विद्युत् प्राधिकरण आफैंले ट्रान्सफर्मर राखिदिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण विनियमावली,२०७८ कार्यन्वयनमा ल्याएसँगै यस्तो सुविधा उपलब्ध गराउने भएको हो ।

    प्राधिकरण सञ्चालक समितिको गत पुस २० गतेको ८९२ औं बैठकबाट उक्त विनियमावली पारित भएको हो । सो विनियमावलीमा भएको व्यवस्था अनुसार प्राधिकरणले व्यवसायीहरुलाई चार्जिङ स्टेशन निर्माणमा प्रोत्साहन गर्दै ट्रान्सफर्मरसहित बिजुली दिने भएको हो ।

    २०० केभीएसम्मको विद्युत डिमाण्ड भएका चार्जिङ स्टेशन स्थापना गर्दा ट्रान्सफर्मर राखिदिने प्राधिकरणले जनाएको छ । पछिल्लो समय उत्पादित बिजुली खेर जानथालेपछि प्राधिकरणले विनियमावली नै बनाएर खपत बढाउन विभिन्न सहुलियत तथा छुट दिन थालेको हो ।

    प्राधिकरणले निजी आवास, कार्यालयहरु, फर्म/कम्पनी/संस्थामा निजी र सार्वजनिक स्थल, निजी घरजग्गामा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृत प्राप्त निकाय/फर्म/व्यक्ति/कम्पनीलाई अनुमति दिने विनियमावलीमा उल्लेख छ।

    साथै, प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरिएको छ ।

  • नेपाली सेयर बजारमा लगातार दोहोरो अंकको करेक्शन

    नेपाली सेयर बजारमा लगातार दोहोरो अंकको करेक्शन

    काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन करेक्शन आएको छ । यससाताको सुरुका दुई दिनमै ९० अंकले बढेको नेप्सेमा पछिल्ला दुई दिन लगातार दोहोरो अंकको करेक्शन आएको हो । पछिल्ला दुई दिनमा नेप्से ४९ अंकले घटेको छ ।

    आज सूचकसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम साढे २ अर्बले घटेर ६ अर्बमा सीमित भएको छ ।

    बुधबार सेयर बजार मापक सूचक नेप्से ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा आइपुगेको छ । आज २२८ कम्पनीको ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै २.६७ प्रतिशतले घटेको छ । त्यस्तै, व्यापार, होटल र फाइनान्स समूह पनि २ प्रतिशभन्दा धेरैले घटेको छ ।

    आज कारोबार भएका २२८ कम्पनीमध्ये जम्मा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ कम्पनीको घटेको छ । ९ कम्प्नीको मूल्य स्थिर रहेको छ ।

    आज अपी पावर सर्वाधिक कारोबार भएको छ । यसको २० करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण भ्याली पनि २० करोड र एचआइडीसीएल १५ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

    उच्च अंकले घटेको बजारमा आज बुद्धभूमि हाइड्रोपावर र सामलिङ पावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै करिब १० प्रतिशत कमाएका छन् ।

    घट्दो बजारमा आज घलेम्दी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ४.३४ प्रतिशत गुमाएका छन् । त्यसैगरी, कालिका लघुवित्त र ग्लोबल आइएमई सम्मुनत स्कीम १ का सेयरधनीले पनि ४ प्रतिशतभन्दा धेरै गुमाए ।

    त्यस्तै, मध्य भोटोकेशी, हिमालयन ऊर्जा, गुह्येश्वरी मर्चेन्ट, सोल्टी होटल र सीईडीबी हाइड्रोपावरको सेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ । ओरेन्टल होटल, स्वरोजगार लघुवित्त, जोशी हाइड्रोपावर, युनाइटेड इदीमार्दी, नेपाल फइनान्स, अरुण भ्याली, साहस ऊर्जा र एक्सेल डेभलपमेन्टको सेयरधनीले पनि ३ प्रतिशत गुमाएका छन् ।

  • उपत्यकाबाहिर कुन–कुन जिल्ला कोरोनाको उच्च जोखिममा ?

    उपत्यकाबाहिर कुन–कुन जिल्ला कोरोनाको उच्च जोखिममा ?

    काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । काठमाडौं उपत्यका लगायत, सीमावर्ती जिल्ला र मुख्य सहरमा दैनिक संक्रमितको संख्या उच्च छ ।

    उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गएको छ । मुलुकभर दैनिक पुष्टि हुने संक्रमितमध्ये उपत्यकामा झन्डै ५० प्रतिशत हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मंगलबार काठमाण्डुमा मात्रै ४ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने ललितपुरमा ९ सय ४७ र भक्तपुरमा ५ सय ७० जना संक्रमित थपिएका छन् ।

    पछिल्लो समय मंगलबार मात्रै सबैभन्दा उच्च १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरेकामध्ये झन्डै ५० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । बढ्दो सहरकेन्द्रित संक्रमणले गाउँमा पनि फैलिने जोखिम देखिएको छ ।

    उपत्यकाबाहिर कुन–कुन जिल्ला उच्च जोखिममा ?

    उपत्यका बाहिरका मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलाली कोरोना संक्रमणको उच्च जोखिमको सूचीमा परेका छन् । यी जिल्लामा ५ सयभन्दा माथि संक्रमित अस्पताल भर्ना भएका छन् ।

    भारतबाट फर्केकाहरू सीमा नाकामा ‘होल्डिङ’ नहुँदा कतिपय सीमावर्ती जिल्ला हटस्पट बनिरहेका छन् । खुला सीमाका कारण नरोकिएको आवातजावत र भीडभाडले कोरोना संक्रमण बढेको हो । धनुषा, पर्सा, नवलपरासी पुर्व, बाँके, दाङ र कञ्चनपुरमा पनि कोरोना संक्रमित दैनिक बढिरहेका छन् ।

    आगामी तीन साता संक्रमणको हिसाबले जोखिमपूर्ण हुने स्वाथ्यविज्ञहरु बताउँछन् । सरकारले भीडभाड कम गर्न स्वास्थ्यका मापदण्ड तोकेपनि त्यसलाई पूर्ण रुपमा पालना गरिएको छैन ।

  • दैनिक राहदानी वितरण संख्या आधा कटौती

    दैनिक राहदानी वितरण संख्या आधा कटौती

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच राहदानी विभागबाट वितरण हुने दैनिक राहदानी वितरणको संख्या कतौती गरिएको छ । यसअघि दैनिक १२ सय राहदानी जारी हुने गरेकोमा विभागले अब ६ सयलाई मात्र वितरण गर्ने भएको छ । विभागमा एकै पटक १५ जना कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रभावित बनेको हो । पासपोर्ट बनाउन ठूलो भिडभाड हुने र त्यसले जोखिम बढ्ने भन्दै दैनिक वितरणको कोटा घटाइएको हो । विभागमा ९० जना कर्मचारी छन् । पासपोर्टका लागि दैनिक साढे २ हजार भन्दा बढी विभागमा पुग्ने रेकर्ड छ ।

  • खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपी

    खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपी

    काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड हराएमा प्रतिलिपी लिन सकिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । मन्त्रालयका अनुसार तीन तरिकाबाट हराएको खोप कार्ड लिन सकिने भएको छ । दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ।

    जोन्सन एण्ड जोन्सन खोप लगाएको भए त्यही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि दिन सकिन्छ । तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ । सरकारले आउँदो ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्न कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । बुस्टर डोजको लागि पनि खोप कार्ड अनिवार्य छ ।

  • कोरोनाका कारण मनकामना दर्शन रोकिने

    कोरोनाका कारण मनकामना दर्शन रोकिने

    गोरखा । गोरखाको मनकामना मन्दिरमा शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले बताए ।

    समितिको मङ्गलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको हो । माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको हो । बन्दको समयमा आएमा मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने छ । मनकामनामा अहिले दैनिक पाँच हजारभन्दा बढी भक्तजन दर्शनका लागि आउने गरेको बताइन्छ ।

  • ज्वालामुखीको मुस्लोले पुरिएको टोंगाको अवस्था के छ ?

    ज्वालामुखीको मुस्लोले पुरिएको टोंगाको अवस्था के छ ?

    काठमाडौं । टापु राष्ट्र टोङ्गामा शनिवारको ज्वालामुखी विस्फोटनपछि सिर्जित अवस्थामा अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट खरानीहरू हटाउने प्रयास भइरहेको समाचार आएको छ । बीबीसीका अनुसार प्रशान्त महासागरको उक्त टापु राष्ट्रमा खाद्यान्न र पानी आउने आसमा झन्डै २०० मानिस विमानस्थल सफा गर्न जुटेका छन् । विपद्‌मा अहिलेसम्म चार जनाको मृत्युको पुष्टी भइसकेको छ । जसमा तीनजना त्यहीँका नागरिक र एक ब्रिटिश महिला रहेको खबर छ । टोङ्गा सरकारले ज्वालामुखी विस्फोटनलाई अभूतपूर्व विपद्को संज्ञा दिएको छ ।

    धुँवाधुलोको मुस्लो आकाशमा २० किलोमिटर माथिसम्म पुगेको बताइएको छ । बुधवार बिहानै टोङ्गामा उक्त क्षेत्रका लागि राष्ट्रसङ्घीय प्रतिनिधि जोनाथन भिचले मुख्य द्विप टोङ्गाटपुमा खरानी हटाउने काम सोचिएभन्दा निकै कठिन देखिएको बताए । उनले राम्रो प्रगति भइरहेको भन्दै त्यहाँ छिट्टै उडानहरू सुरु हुनसक्ने जनाएका छन्।

    समुद्रमुनी तार रहेको उक्त टापुसँगको एउटा मात्र सञ्चार सञ्जालमा अवरोध आएपछि बाँकी विश्वसँग त्यस क्षेत्रको अधिकांश सम्पर्क टुटेको हो । न्यूजील्याण्डले खाद्यान्न, पानी र स्वास्थ्य सामाग्रीसाथ पठाएको पानीजहाज त्यहाँ पुग्न तीनदेखि चार दिनसम्म लाग्नसक्ने बताइएको छ। टोङ्गाको जनसङ्ख्या झन्डै एक लाख छ जहाँ १७० वटा टापुहरू सात लाख वर्ग किलोमिटरको क्षेत्रभित्र फैलिएका छन्।

  • खोप लगाउन १५ माघपछि चार दिन स्कुल खुल्ने

    खोप लगाउन १५ माघपछि चार दिन स्कुल खुल्ने

    काठमाडौं । सबै नागरिकलाई खोप लगाउने अभियान तिव बनाउन १५ माघपछि चार दिनका लागि विद्यालय खुल्ने भएका छन् । कोभिड–१९ भाइरसविरुद्धको खोप लगाउन १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले बताएका छन् । सरकारले महामारीको ‘चेनब्रेक’ गर्न भन्दै २५ पुसमा सीसीएमसीसीले गरेको सिफारिस अनुसार १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    कोइरालाका अनुसार विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने छ । अब सम्बन्धित मन्त्रालयले सूचना जारी गरि कार्यान्वयन गरिने भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकले यस्तो निर्णय गरेको हो ।

  • स्वास्थ्य मन्त्रालयले पुनः दोहोर्यायो : लकडाउन हुँदैन

    स्वास्थ्य मन्त्रालयले पुनः दोहोर्यायो : लकडाउन हुँदैन

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा तत्काल लकडाउन नहुने स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताए । यसअघि स्वास्थ्य मन्त्री विरोध खतिवडाले समेत लकडाउन हुन्छ की भन्ने त्रासमा नबस्ने आग्रह गरेका थिए । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रष्ट रहेको भन्दै उनले कतिपय क्षेत्र बन्द गर्नुपर्ने भए दुईतीन हप्ता बन्द गरेर पुनः सञ्चालन गर्न सकिने बताए ।

    १८ वर्षमुनिका बालबालिकाका लागि खोप सञ्चालन गरिरहे पनि विद्यालय बन्द भएकाले व्यवस्थापन केही असहज भएको सचिव पोखरेलको भनाइ छ । केही समय पहिले शीतलहरका कारण तराईमा लगाउन नसकिएको खोप ल्याएर भक्तपुरमा लगाइएको जानकारी उनले दिए । अहिले खोप केन्द्रमा भइरहेको भीड व्यवस्थापनमा अरु निकायले पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।

  • कोरोनाका कारण सर्वोच्च अदालतको सेवा संकुचन

    कोरोनाका कारण सर्वोच्च अदालतको सेवा संकुचन

    काठमाडौं । सर्वोच्च अदालतबाट प्रवाह हुने सेवा संकुचन गरिएको छ । सर्वोच्चको पूर्ण बैठकले कोरोना महामारीको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सेवामा संकुच गर्ने निर्णय गरेको हो । मंगलबार दिउँसो बसेको बैठकले स्थानीयस्तरको अवस्था हेरेर जिल्ला र उच्च अदालतले यसबारे आफैँ निर्णय गर्न सक्ने निर्णय गरेको छ । बैठकले विभिन्न चार निर्णय अख्तियारी गरेको छ ।

    सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जुरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरुको नियमित रुपमा सुनुवाइ गर्ने निर्णय गरेको छ । मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमित रुपमा सञ्चालन गर्ने, मुलुकी फौजदारी कार्यविधि संहित, २०७४ को दफा ७३, १३७ को ६ र १५५ बमोजिमका थुनुवा रहेका व्यक्तिहरुको निवेदन तथा प्रतिवेदनउपर सुनुवाए गर्ने, थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दा हेर्दै र नि.सु.मा रहेका मुद्दाको सुनुवाई गर्ने र नेपाल सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने निर्णय बैठकले गरेको छ ।

    मुद्दा–निवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने लगायतका कामकारबाही जनस्वास्थ्यका निर्धारित मापदण्डअनुसार सामाजिक दूरी कायम गर्ने, भिडभाड हुन नदिने लगायतका कुराहरुको पूर्ण परिपालना हुने गरी सञ्चालन गर्न सर्वोच्च अदालत प्रशासनले आवश्यक व्यवस्था मिलाउनुपर्ने छ । अदालतहरुमा अनावश्यक भीडभाड हुन नदिन अत्यावश्यक र न्यून सङ्ख्याको जनशक्तिबाट आलोपालो मिलाई अदालतको काम कारबाही गर्ने र टेलिवर्क वा अन्य तरिकाबाट निवास वा स्टेशनमा रही अदालतको कार्य सम्पादन गर्न मुख्य रजिस्ट्रारले आवश्यक व्यवस्था मिलाउनुपर्ने छ ।

    उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था तथा सङ्क्रमित भएको अवस्था समेतको मूल्याङ्कनको आधारमा उपयुक्त देखिएको कामकारबाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धी अदालत तथा न्यायाधीकरणहरुले मिलाउने र सर्बोच्च अदालतमा जानकारी पठाउन निर्देशित गर्ने निर्णय भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले उल्लेख गरेका छन् । यो निर्णय माघ ५ देखि १८ गतेसम्म सञ्चालन हुने छ ।