काठमाडौं । नेपालमा खोप अभियान प्रभावकारी बनाउन सरकारले कार्ड बाध्यकारी बनाएको छ । सोही क्रममा सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ । खोप लगाउन योग्य नागरिकले समेत बेलैमा खोप नलगाएका कारण ठूलो मात्रामा खोप थन्किएको छ । तर, पछिल्लो समय बढ्दो संक्रमणका बीचमा भने नागरिकहरुले भिडभाड गरि खोप लगाइरहेका छन् ।
Category: फिचर
-

उपत्यकामा एकैदिन ५५४९ जनामा कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौंपछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ हजार ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा थप ४ हजार ४ जना, भक्तपुरमा ५ सय ७० र ललितपुरमा ९ सय ७५ जना कोराना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ ।
-

नेपालमा एकैदिन १० हजार २५८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार २५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ८७२ जनाको पीसीआर परीक्षण गर्दा ८७३० जना र ४९५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५२८ गरी १०२५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६८ हजार २१५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ ।
-

कोरोना नियन्त्रणको लागि थप कडाइ, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले थप कडाइ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक अत्यावश्यक सूचना जारी गर्दै मंगलवार राति १२ बजेदेखि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिसहरु भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न रोक लगाएको छ ।
त्यस्तै, अब मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा समेत प्रवेश गर्न नदिने भएको छ ।
त्यस्तै, सावैजनिक स्थलमा मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्ने, कुनै व्यक्ति मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउने समेत नयाँ आदेशमा भनिएको छ ।
त्यसैगरि, नयाँ आदेशमा संस्थाको साधारणसभा वा बैठकमा भर्चुअल र भौतिक उपस्थितीलाई समेत गणपुरक संख्या मान्ने भनिएको छ ।
नयाँ आदेशमा लेखिए भन्दा भिन्न कुनै आकस्मिक परिस्थिती सिर्जना भएमा नजिकको सुरक्षा निकाय वा एकाइमा जानकारी गराउनु समेत भनिएको छ । २७ बुँदे आदेश जारी गर्दै प्रशासनले क्वारेन्टाइनको अवधिसमेत तोकेको छ।
अब कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिले अनिवार्य ५ दिन क्वारेन्टाइन बस्नुपर्ने प्रशासनको आदेशमा उल्लेख छ। ५ दिन पछि कोभिड १९ परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै उक्त व्यक्ति बाहिर निस्कन पाउने बताइएको छ।
-

दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबारमा सुधार
काठमाडौं । केहीदिन देखि उकालो लागेको शेयर बजार दोहोरो अंकले घटेको छ ।
साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२४ कम्पनीको ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको १ करोड, ६० लाख ४ हजार ५३० कित्ता शेयर किनबेच भएका छन् ।
सोमवारको तुलनामा कारोबार रकममा सुधार आएको छ । त्यसदिन ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँ बराबरको रुपैयाँको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ समूहमध्ये ९ वटाको परिसूचक राताम्मे भएका छन् भने ४ वटा हरियो भएको छ । दोहोरो अंकले बढेको बजारमा बैंकिङ २२ , होटल तथा पर्यटन ४२, अन्य उपसमूह २९ अंकले बढेको छ ।
निर्जीवन बीमा १७८, उत्पादन समूह १८६, जलविद्युत ३६ अंकले घटेको छ । विकास बैंक १३०, फाइनान्स ६९, लगानी समूह २ र माइक्रोफाइनान्स ८९ अंकले घटेको छ ।
दुई कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा सामलिङ पावर कम्पनी र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ ।
आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य आज ८ प्रतिशतले बढेर प्रतिकित्ता ४९६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ ।
यस कम्पनीको २८ करोड ११ लाख भन्दा बढीको कारोबार भएको छ । अरुणभ्याली हाइड्रोपावर कम्पनीको २५ करोड ७१ लाखको कारोबार भएको छ ।
मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
-

सत्तारुढ गठबन्धनका दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्ने सहमति
काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्ने सहमति भएको छ ।
सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ ।
सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक बसेर आगामी निर्वाचनको मितिसहितका विषयमा छलफल गर्न बिहीबार बैठक बोलाएको हो ।
यसअघि सोमबार गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले ७ असोज २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको थियो भने स्थानीय तहमा प्रतिनिधि रिक्त हुन नदिने गरी निर्वाचन गर्ने हो भने माघको पहिलो साताभित्र निर्वाचनको मिति तोक्नुपर्ने निर्वाचन आयोगले भनेको छ ।
यही बेला मंगलबार बसेको गठबन्धनको बैठकले निर्धारित मितिमै निर्वाचन गर्न सहमत भएको हो । सरकारले निर्वाचन गर्न आनाकानी गर्न थालेको आरोपकाबीच गठबन्धन बैठकमा दलहरूबीच सो सहमति भएको हो ।
तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमश ७ असार २०७९, २१ असार २१ र ७ असोजमा सकिँदै छ ।
यसलाई मध्यनजर गरेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने सुझाव दलहरूलाई दिइसकेका छन् ।
आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन । तर, तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा प्रमुख प्रतिपक्षी दल एमालेले पनि जोड दिइरहेको छ ।
-

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज, के छ एजेन्डा ?
काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक मङ्गलबार बस्ने भएको छ । आगामी १२ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई लक्ष्यित गर्दै सत्तारुढ दलहरु बीच छलफल हुन लागेको बताइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता साझेदार दलहरूले गठबन्धन गरेका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि दवाव दिइरहेको सन्दर्भमा समेत छ्लफल हुनेछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा जनाउँदै आएको विरोध, कोरोना महामारीका विषयमा पनि बैठकमा छलफल हुने नेताहरू बताएका छन् ।
-

अफगानिस्तानमा भुकम्प, कम्तीमा २६ जनाको मृत्यु
काबुल । अफगानिस्तानमा भूकम्पमा परि कम्तीमा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।
बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । घरको छत खसेर च्यापिंदा मानिसहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
प्रान्तका प्रवक्ता बाज मोहम्मद सरवरीले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, “भूकम्पबाट पाँच महिला र ४ बालबालिकासहित २६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।” मानवीय सङ्कटको सामना गरिरहेको अफगानिस्तानलाई प्राकृतिक प्रकोपले समेत पीडा थपेको छ ।
-

रोबर्ट लेवान्डोस्कीले जिते फिफा बेस्ट अवार्ड
काठमाडौं । अर्जेन्टाइन स्टार लियोनल मेस्सी र इजिप्टका मोहम्मद सलाहलाई उछिन्दै बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्ने पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा बेस्ट अवार्ड २०२१ को उपाधि जितेका छन् । ३३ वर्षीय लेवान्डोस्कीले लगातार दोस्रो बेष्ट अवार्ड जितेका हुन् । सन् २०२० मा समेत उनले अवार्ड पाएका थिए । अवार्ड पाउँदा गर्वको महसुस भएको उनले बताए । म्यानचेष्टर युनाइटेडका क्रिष्टियानो रोनाल्डोले स्पेशल अवार्ड हात पारे । बार्सिलोनाकी एलेक्सियाले उत्कृष्ट महिला खेलाडीको उपाधि जितिन् । चेल्सीका थोमस टुचेलले उत्कृष्ट प्रशिक्षक र चेल्सीकै एडवार्ड मेन्डी उत्कृष्ट गोल रक्षकको उपाधि जिते ।
-

आबुधाबी विमानस्थलमा ड्रोन हमला, तीन जनाको मृत्यु
आवुधावी । संयुक्त अरव इमिरेट्सको आबुधाबीस्थित विमानस्थलमा ड्रोन हमला भएको छ । सो क्रममा सोमबार विमानस्थलमा विष्फोट गराइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । आक्रमण यमनमा ईरानले समर्थन गरिरहेको हूती विद्रोहि समूहले गरेको बताइएको छ । यो समूहले यसअघि साउदीलाई लक्षित गरि आक्रमण गरिरहेको थियो । आज भएको आक्रमणमा तीन जना मारिएका छन् । जसमध्ये दुई जना भारतीय र एक पाकिस्तानी नागरिक छन् । घटनामा छ जना घाइते भएका छन् ।
हूती विद्रोहि समूहले आक्रमणको जिम्मेवारी समेत लिएको छ । यूएईका स्थानीय संचारमाध्यमले लेखे अनुसार विमानस्थल भित्र रहेको आबुधाबी नेशनल आयल कम्पनीको तेल बोकेको ट्यांकरमा भएको हो । ट्यांकरमा आगो लाग्नु अगाडी आकासबाट ड्रोन झरेको देखिएको खबर छ । आबुधाबी प्रहरीका अनुसार आगो ड्रोन विष्फोटका कारण भएको हो ।
-

गैरआवासीय नेपाली संघद्धारा सुदुरपश्चिम प्रदेशलाई मोबाइल ब्लड बैंक बस हस्तान्तरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुदुरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण गरेको छ । संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडमार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई सो बस धनगढीमा आयोजित एक कार्यत्रमकाबीच सोमवार हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा एनआरएनएका संरक्षक जीवा लामिछाने, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा. हेम राज शर्मा, प्रवक्ता डिवी क्षेत्री, मानार्थ सदस्य धर्मराज अधिकारी, शनिकुमार ओली र सल्लाहकार कुल आचार्य, लगायत एनआरएन अभियन्ताहरु सहभागि थिए।
विदेशस्थित गैरआवासीय नेपालीहरुको सहयोगमा खरिद गरिएको बसको कुल लागत ६० लाख रहेको संघले जनाएको छ । ‘मोबाइल ब्लड बस’ परियोजनामा हालका सचिव गौरीराज जोशी संयोजक र आइसिसी पूर्व कोषाध्यक्ष हिक्मत थापा सहसंयोजक थिए । आधुनिक प्रविधिसहितको बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा रहेको छ । एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिकामार्फत् चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने आगामी दिनमा सबै प्रदेशमा पुर्याउने लक्ष्य राखेको बताएको छ। -

प्रशान्त महासागरमा विशाल ज्वालामुखी विस्फोट, टोंगामा ठूलो क्षतिको विवरण
काठमाडौं । प्रशान्त महासागरमा पानीमुनि विशाल ज्वालामुखी विस्फोट भएको छ । बीबीसीका अनुसार विष्फोटका कारण टोङ्गामा सुनामी आएको र यसले ठूलो क्षति पुगेको विवरण आएको छ। सञ्चार सम्पर्क विच्छेद भएकाले उक्त टापुराष्ट्रको अवस्था स्पष्ट हुन सकेको छैन। राजधानी नुकु’आलोफाबाट झन्डै ६५ किलोमिटर उत्तरमा अवस्थित हुङ्गाटोङ्गा-हुङ्गा हा’आपाई ज्वालामुखी शनिवार विस्फोटन भएको हो ।
उक्त विस्फोटन सयौँ किलोमिटर टाढा रहेको अमेरिकासम्म सुनिएको थियो। ज्वालामुखी विस्फोटन भएपोछि एक मिटरभन्दा अग्लो छालले टोङ्गाको तटीय क्षेत्रमा प्रहार गरेको थियो। न्यूजील्यान्डले ज्वालामुखी र त्यसले सिर्जना गरेको सुनामीको प्रारम्भिक मूल्याङ्कनका लागि त्यहाँ आफ्नो एउटा विमान पठाएको जनाएको छ। उक्त विस्फोटनले प्रशान्त क्षेत्रका टापुहरूलाई खरानीले ढाकेको छ भने त्यहाँ विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको छ।
ज्वालामुखी विस्फोटन भएपछि ८० हजारजति मानिस प्रभावित भएका हुन सक्ने अनुमान बीबीसीले गरेको छ । न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले सुनामीले उल्लेख्य क्षति पुर्याएको बताएकी छन्। अहिलेसम्म कसैको मृत्यु भएको विवरण प्राप्त भएको छैन। तर क्षतिबारे पर्याप्त सूचना आइसकेको छैन। न्यूजील्यान्ड र अस्ट्रेलियाले निरीक्षण गर्न तथा क्षतिको आकलन गर्न विमानहरू पठाउन लागेका छन्।
आइतवार आर्डर्नले खरानीका कारण खानेपानीलाई दूषित पारेको विवरण आइरहेको भन्दै स्वच्छ पानी पठाउने काम महत्त्वपूर्ण हुने बताएकी थिइन्। न्यूजील्यान्ड डिफेन्स फोर्सले आफ्नो एउटा विमान त्यसतर्फ गइसकेको जनाएको छ। फिजीमा रहेका रेडक्रसका एक अधिकारीले त्यहाँ तत्काल सहायता आवश्यक भएको बताएकी छन्। अधिकारीहरूले सर्वसाधारण मानिसलाई बोतलको पानीमात्र पिउन र मास्क लगाएर बस्न भनेका छन्।
शनिवार पानीमुनिबाट ज्वालामुखी विस्फोटन हुँदा आकाशमा धुँवा र खरानीको विशाल मुस्को देखिएको थियो। ज्वालामुखिका कारण झन्डै १.२ मिटर (चार फिट) अग्ला छाल टोङ्गासम्म पुग्ने चेतावनी जारी भएको थियो। विस्फोटन यति विशाल थियो कि त्यो टोङ्गाबाट २,३८३ किलोमिटरपर अवस्थित न्यूजील्यान्डसम्म सुनिएको थियो। उक्त विस्फोटनपछि उत्पन्न कम्पन प्रशान्त क्षेत्र र बाहिरसम्मै महसुस गरिएको थियो। -

काठमाडौं उपत्यकामा ३९३९ जना संक्रमित थपिए, ९ जिल्ला ‘रेड जोन’मा
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९३९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा सबैभन्दा धेरै २९४३, ललितपुरमा ७९५ र ललितपुरमा २०१ जना संक्रमित थपिएका छन्।
यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या १९ हजार ३ सय ८७ पुगेको छ। देशभर हाल ३० हजार ८ सय ७७ जना सक्रिय कोरोना संक्रमित छन्।
उपत्यकासहित देशभर ९ जिल्ला ‘रेड जोन’मा छन्। प्रदेश १ को मोरङ र सुनसरी, गण्डकी प्रदेशको कास्की, लुम्बिनीको रुपन्देही र सुदूर पश्चिमको कैलाली ‘रेड जोन’मा छन्।
प्रदेश १ को झापा, प्रदेश २ को धनुषा र पर्सा, वाग्मतीको मकवानपुर र काभ्रे, गण्डकीको नवलपरासी पूर्व र लुम्बिनीको बाँके र दाङ मा पनि संक्रमण दर बढ्दो छ।
यी जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। वाग्मती प्रदेशमा उपत्यकामा तीन जिल्ला सहित चितवन समेत ‘रेड जोन’मा रहेको छ।
-

नेपालमा संक्रिय संक्रमितको ३० हजार नाघ्यो, एकैदिन ६७३४ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ६७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा ५७४७ जना र ३४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९८७ गरी ६७३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५९ हजार ४८५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५४७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १६ हजार ९८५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ३० हजार ८७७ रहेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको छ ।
-

प्रदेश २ को स्थायी राजधानी जनकपुरधामको पक्षमा दुई तिहाई मत
काठमाडौं । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ।
सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेशको राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो । जनकपुर र वीरगञ्ज दुईवटा नाम प्रस्तावमा मतदान भएको थियो ।
प्रदेश सभाका सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरेका छन् ।
यसैबीच जारी प्रदेशसभा बैठकले प्रदेशको नाम टुंगो लगाउने तयारी गरेको छ । प्रदेशको नाममा चारवटा नाम प्रस्ताव भएको छ । जसमा मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश र मध्य प्रदेश रहेका छन् ।
-

तनहुँको ‘मानहुँकोट’ बतास समूहलाई लिजमा दिने प्रक्रिया रोक्न सर्वोच्चकाे अन्तरिम आदेश
काठमाडौं । तनहुँको पर्यटकीय स्थल मानहुकोटलाई लिजमा दिने प्रक्रिया रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
ऐतिहासिक पर्यटकीय स्थानलाई विशुद्ध व्यापारिक प्रयोजनको लागि बतास समूहको व्यास हिल्स प्रा.लि.लाई अत्यन्तै सस्तोमा लामो समयको लागि दिन थालिएको दाबीसहित रिट दायर भएको थियो ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार लिजमा दिने कार्य तत्कालका लागि रोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र व्यास नगरपालिकाका नाममा अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
सुन्दर टापु मानहुकोटलाई व्यापारिक थलो बनाउन नहुने भन्दै तनहुँ रुपाकोट निवासी अधिवक्ता रामचन्द्र पौडेलले उक्त सार्वजनिक सरोकारको रिट दर्ता गरेका थिए ।
उक्त प्रकरणमा सर्वोच्चले सरकारसँग कारण माग गर्दै छलफलमा झिकाएको छ । रिट निवेदकका कानुनव्यवसायीले वहशमा पर्यटकीय स्थल मानहुकोट सार्वजनिक सम्पत्ति रहेको जिकिर गर्दै निजी लाभका लागि लिजमा दिने प्रक्रिया सार्वजनिक खरिद ऐन, २०६३, नियमावली, स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद ३ तथा परिच्छेद १३ विपरित रहेको जिकिर गरेका थिए ।
व्यास हिल्स प्रा.लि.को प्रस्तावलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरी प्रस्तावकलाई प्रस्ताव थप स्पष्ट हुने गरी प्रस्तुत गर्न लगाएर प्रक्रिया अघि बढाउने निर्णय भइसकेको अवस्थामा तत्काल रोक्न अन्तरिम आदेश हुनुपर्ने माग रिट निवेदकको थियो ।
दुबै पक्षविच छलफल भई सर्वोच्चबाट अर्को आदेश नभएसम्मका लागि बतास समूहको व्यास हिल्स प्रा.लि.लाई लिजमा दिने सबै प्रक्रिया रोकिएका छन् ।
-

पर्यटन मन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको हो ।
मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको जनाइएको छ । मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
-

नेपाली शेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि
काठमाडौं । साताको कारोबारको दोस्रोदिन शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार मापक सूचक (नेप्से) २० अंकले बढेर २९४७.३८ बिन्दुमा पुगेकको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२४ कम्पनीको ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँ बराबरको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर किनबेच भएका छन् ।
आज कारोबार रकममा भने घटेको छ । आइतबार ९ अर्ब ६७ करोड ६३ लाख बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ समूह मध्ये ७ वटाको परिसूचक हरियो भएको छ भने ६ वटाको घटेको छ ।
दोहोरो अंकले बढेको बजारमा बैंकिङ १९ , होटल तथा पर्यटन ६, निर्जीवन बीमा ५०, अन्य उपसमूह २३, उत्पादन समूह ९९, जलविद्युत ५५ अंकले बढेको छ ।
विकास बैंक २३, फाइनान्स ०.९२, लगानी समूह ०.२६ माइक्रोफाइनान्स ६ अंकले घटेको छ ।
एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ ।
यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ४५८ रुपैयाँ पुगेको छ । त्यसैगरी, सनराइज ब्लूचिप फण्ड, सिंगटी हाइड्रो र सीईडीबी हाइड्रोपावरको शेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर ७.७८, सामलिङ पावर ७.०४, नेपाल एसबीआई बैंक ६.०२, हिमालयन ऊर्जा, अरुण भ्याली, लिबर्टी इनर्जी र माउन्टेन इनर्जीका शेयरधनीले पनि ५ प्रतिशभन्दा धेरै कमाएका छन् ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुणभ्याली हाइड्रोपावर कम्पनीको भएको छ ।
यस कम्पनीको आज ४४ करोड ५४ लाख भन्दा बढीको कारोबार भएको छ । अपी पावरको ४१ करोडको कारोबार भएको छ । अपर तामाकोशीको २४ करोडको कारोबार भएको छ । बढ्दो बजारमा आज एनएकबी बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै ३.९५ प्रतिशत गुमाएका छन् ।
-

धुर्मुस-सुन्तलीविरुद्ध अख्तियारमा पर्यो उजुरी
काठमाडौं । भरतपुरमा क्रिकेट रंगशाला बनाउन अभियान प्रारम्भ गरेपनि असफल भएका सामाजिक अभियन्ता धुर्मुस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सामाजिक सेवाको आवरणमा अनियमितता गरेको आरोप लगाउँदै भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाएका छन् ।
आइतबार दर्ता भएको सी–०२३५०३ नम्बरको उजुरीमा नेपाल र विदेशमा रहेका नेपालीहरु अनि भरतपुर महानगरपालिकाबाट ५७ करोड रुपैयाँ चन्दा उठाएको तर काम भने नगरेको आरोप लगाइएको छ । केवल १४ प्रतिशत भौतिक संरचना मात्रै बनेको भन्दै उजुरीकर्ता अधिकारीले १७ करोड रुपैयाँ थप ऋण छ भनेर दावी गर्नु हास्यास्पद भएको प्रतिक्रिया दिएका छन् ।
दुई अर्ब रुपैयाँको लागत अनुमान गरिएको परियोजनामा रकम उठेजति काम समेत नभएको भन्दै उजुरी परेको हो । परियोजनालाई अलपत्र पारेर हिँडेको भन्दै छानविनको माग गरिएको हो ।
-

संघीय संसदमा २५ जना भन्दा बढी सांसदमा कोरोना पुष्टी
काठमाडौं । संघीय संसदका २५ जना बढी सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै तर्फका गरी २५ जना बढी सांसद कोरोना संक्रमित भएका छन् । संसद सचिवालयकै ७ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । सांसद र संसद सचिवालयका कर्मचारीहरुमै कोरोना संक्रमण देखिएपछि दुबै सभाको बैठक स्थगित भएको हो ।
यही माघ ३ गतेका लागि तय भएको राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । माघ ३ गते नै बस्ने तय भएको प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि माघ १८ गते, २२ गते र २८ गतेलाई बोलाइएको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको थियो । तर कारण खुलाइएको थिएन ।
-

आजबाट स्वस्थानी व्रत आरम्भ, शालीनदीमा प्रोटोकल
काठमाडौं । हिन्दु धर्मावलम्बीले हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गर्ने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रत आरम्भ गरिन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने गरिन्छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ,आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।
सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ ।
यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत नेपाली समुदायमा प्रचलित छ ।
सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।
यसैबीच आजबाट एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ । यहाँ कोभिड विरुद्धको प्रोटोकल पालना गर्नुपर्नेछ । यस वर्ष कोरोनाको महामारीका कारण माधनारायण मेला नगरी व्रतमात्र गरिने भएको छ । वर्तालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । विगत वर्षमा करीब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष करिब १५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने भएको छ । -

सरकारले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग हो
काठमाडौं । नेपाल र भारतबीचको विवादित क्षेत्र लिम्पियाधुरा, लिपुलेक र कालापानीको सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै सरकारको आलोचना भइरहेको समयमा सरकारले यी भूभाग नेपालको अभिन्न अंग रहेको बताएको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुअघि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको आधिकारिक धारणा सार्वजनिक गरे ।
उनले महाकाली नदीको पूर्व लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताए । सरकारले भारतलाई नेपाली भूभाग भएर जाने कुनै किसिमको एक पक्षीय सडक निर्माण र विस्तार रोक्न आग्रह गर्दै आएको उनको भनाई छ । नेपाल र भारतबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुसार सीमाको विवाद सन्धि, सम्झौता, तथ्य र नक्साको आधारमा समाधान गर्नुपर्ने कुरामा सरकार प्रतिवद्ध रहेको प्रवक्ता कार्कीले उल्लेख गरे ।
-

अष्ट्रेलियाबाट देश निकालामा परे विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच
मेलबर्न । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकालामा परेका छन् । सरकारले उनको भिसा रद्द गरेको थियो ।उक्त निर्णयलाई सङ्घीय अदालतले सदर गरेपछि आइतवार उनी मेलबर्नबाट देश निकालामा परेका हुन् । उनी आइतबार नै दुबईको उडानबाट बाहिरिएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने सरकारको निर्णयलाई कानुनसम्मत भनेको हो ।
अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने निर्णय दिएका हुन्। यो निर्णयसँगै जोकोभिचले गत वर्ष जितेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन्। अदालतको निर्णयपछि जोकोभिचले आफू निराश भएको भए पनि निर्णयलाई सम्मान गर्ने बताएका छन्। शुक्रवार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचको उपस्थितिले अस्ट्रेलियाली समुदायमा स्वास्थ्यसम्बन्धी जोखिम रहने भन्दै दोस्रो पटक भिसा रद्द गरेका थिए। अस्ट्रेलिया प्रवेश गर्न विदेशी नागरिकका लागि कोभिड खोप अनिवार्य गरिएको भए पनि जोकोभिचले खोप लगाएका छैनन्।
-

हवाई यात्रुलाई फेससिल्ड अनिवार्य गरियो
काठमाडौं । नेपालमा हवाई यात्रुलाई पुनः फेससिल्ड अनिवार्य गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई यात्रालाई सुरक्षित बनाउने सन्दर्भमा सो निर्णय गरेको हो । हवाईजहाजमा चालक दल तथा सबै यात्रुलाई मास्क तथा फेससिल्ड अनिवार्य गर्ने निर्णय भएको हो । हवाईजहाज भित्र सेनिटाइजरको व्यवस्था समेत हवाई कम्पनीले मिलाउनु पर्नेछ ।
वायुसेवा कम्पनीले हरेक उडानपछि हवाई जहाज र ब्यागेजलाई निसंक्रमित गराउनु पर्ने समेत निर्णयमा उल्लेख छ । चेकइन, बोर्डिङ क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागु गर्ने निर्णय समेत भएको छ । सम्बन्धित वायुसेवा सञ्चालकको खर्चमा यात्रुको एन्टिजेट परीक्षण गरी रिर्पोट नेगेटिभ आएमा मात्र यात्रा गराउने निर्णय समेत सरकारले गरेको छ ।
-

नेपालमा थप ४९६१ जनामा कोरोना पुष्टी, तीन जना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४९६१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । यही अवधिमा थप ३ जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ६२० पुगेकाे छ ।
-

प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
सोमबार दिउँसो १ बजे बस्ने गरी तोकिएको वैठक माघ १६ गतेसम्मको लागि स्थगित संसद सचिवालयले जनाएको छ ।
विभिन्न दलका सांसदहरू कोरोना संक्रमित भएको र देशमा पनि कोरोना संक्रमण बढ्दै गएका बेला सोमवारका लागि तोकिएको बैठक सारिएको हो ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्नी प्रसाद सापकोटाले माघ १६ गते दिउँसो १ बजे बस्नेगरी बैठक निर्धारण गरेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
-

रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले माग १५ गते सम्मका लागि मनारञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबारको बैठकले गरेका मन्त्रिपरिषदका निर्णय आज सार्वजनिक गर्दै उक्त निर्णय गरेको बताएका हुन् ।
जसमा डिर्पाटमेन्ट स्टोर, सपिङमल लगायतका क्षेत्रमा एकपटकमा २५ जना मात्रै जान पाइने र दुई व्यक्तिविच दुई मिटर दुरी हुनुपर्ने, सामान छुन नपाइने, र जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ ।
तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको छ । भीडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरेको बताएका छन् । पछिल्लो समय नेपालमा दिनहुँ कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।
जसअनुसार माघ मसान्तसम्म सार्वजनिक स्थान, समारोह, सामाजिक कार्यहरूमा २५ जनाभन्दा बढी जम्मा हुन पाइने छैन ।
पार्टी प्यालेसमा कुल क्षमताको बढिमा ५० जना मात्रै उपस्थित हुन पाइने छ । यसैगरी विवाह, व्रतबन्ध, पास्नी लगायत समारोहमा सम्बन्धित जिल्ला अधिकारीबाट पूर्व स्वीकृती लिनुपर्ने भनिएको छ ।
त्यस्तै सिनेमा हल, डान्सबार, दोहोरी साँझ, नाचघर, जिम, स्विमङपुल लगायत रात्रीकालीन व्यवसाय माघ १५ गतेसम्म सञ्चालन नगर्न आदेशमा उल्लेख गरिएको छ ।
-

उच्च अंकले बढ्यो नेपाली शेयर बजार, ९ अर्ब ६७ करोडको कारोबार
काठमाडौं । साताको कारोबारको पहिलोदिन शेयर बजार उच्च अंकले बढेको छ ।
केहीदिन देखि लगातार उकालो लागेको शेयर बजार ६९ अंकले बढेको हो । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेकको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२९ कम्पनीको ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँ बराबरको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएको छ ।
उच्च अंकले बढेको बजारमा बैंकिङ ३९ , होटल तथा पर्यटन ५५, निर्जीवन बीमा २६६, माइक्रोफाइनान्स ११०, जलविद्युत ७५ अंकले बढेको छ ।
विकास बैंक १४३, फाइनान्स ५६, उत्पादन समूह ४०९ र लगानी समूह १ अंकले बढेको छ । अन्य उपसमूह ६६ अंकले बढेको छ ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, स्ट्याण्डर्ड चार्टर्ड बैंक र किसान लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुणभ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ३६ करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।
-

सिमा विवादमा बोल्यो भारतीय दूतावास, यस्तो छ भनाइ
काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले सीमा विवादबारे भारतको धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित क्षेत्र लिपुलेकमा सडक विस्तार गरिरहेको बताउनुभएपछि नेपालमा त्यसको आलोचना भइराखेको छ । यसै सन्दर्भमा शनिबार विज्ञप्ति सार्वजनिक गर्दै भारतीय दूतावासले यो विषयमा नेपाल सरकारलाई जानकारी भएको बताएको हो ।
विज्ञप्तिमा विवादको विषयमा अन्तर सरकारी संयन्त्रको माध्यमबाट छलफल गर्नु उपयुक्त हुने उल्लेख छ ।
भारतीय दूतावासले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा सीमाबारे भारत सरकारको धारणा स्थिर र प्रष्ट रहेको भन्दै यस्तो बताएको हो । सीमा विवादबारेको भारतीय धारणा नेपाल सरकारलाई जानकारी गराएको भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘यो विषयमा संवादका लागि स्थापित अन्तर सरकारी संयन्त्र र च्यानल नै उपयुक्त माध्यम हुन् ।’
काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ताले सार्वजनिक गर्नुभएको धारणामा विवाद समाधानका लागि निकट तथा मैत्री द्विपक्षीय सम्बन्धका मर्मका आधारमा सम्बोधन गर्न सकिने उल्लेख गरिएको छ ।
-

आजबाट नेपालमा बुस्टर डोज दिइने
काठमाडौं । सरकारले आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिन सुरु गर्दैछ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । ‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छ महिना पूरा भएका व्यक्ति, अग्रपङ्क्ति र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्दछन् ।
कोरोना भाइरस सङ्क्रमण बढेसँगै सरकारले ‘बुस्टर’ डोज दिन थालेको हो । हिजो पुस ३० गते पाँच हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । ‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने हुन्छ । कोभिड–१९ खोप सल्लाहाकार समितिले ‘बुस्टर’ डोज खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ ।
