Category: फिचर

  • प्रधानमन्त्रीले आइतबार बोलाए सर्वदलीय बैठक

    प्रधानमन्त्रीले आइतबार बोलाए सर्वदलीय बैठक

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजे बैठक बोलाइएको हो । बैठकको विषय भने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई डाकिएको छ ।

    प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक सञ्चालन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल गर्ने तयारी रहेको बुझिएको छ । सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेसँगै यो विषयले चर्चा लिइरहेको छ । नेकपा एमालेले आफूले सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको विषयमा संसद अवरोध गरिरहेको छ ।

  • भारतको उत्तर प्रदेशमा नेपाली मजदुर चढेको बस दुर्घटना, एक शिशुको मृत्यु

    भारतको उत्तर प्रदेशमा नेपाली मजदुर चढेको बस दुर्घटना, एक शिशुको मृत्यु

    कैलाली । भारतको उत्तर प्रदेशमा नेपाली मजदुर चढेको बस दुर्घटनामा परि एक शिशुको ज्यान गएको छ । नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटनामा परेको हो । दुघृटनामा ५ जना घाइते भएका छन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने शिशुको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते पाँच जना नेपालीको अवस्था सामान्य रहेको छ । बसमा सवार ५६ जनामध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । धनगढीको अछाम होटेलका सञ्चालकको कालिका मष्टाबण्डली टुर्र्स एण्ड ट्राभल्सबाट टिकट लिएर युपी ०३३० पी १३७५ नम्बरको बस भारतको राजकोट जान लागेका अवस्थामा दुर्घटना परेको हो ।

  • गुल्मीमा भीरबाट लडेर दम्पत्तिको मृत्यु

    गुल्मीमा भीरबाट लडेर दम्पत्तिको मृत्यु

    गुल्मी । गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर(१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मुसिकोट नगरपालीका वडानम्बर१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए ।

    स्थानीयले घाइते अवस्थामा फेला पारि उनीहरुलाई प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाएका थिए । उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • अध्यागमन विभागले यात्रा सम्बन्धि शुक्रबारको निर्णय स्थगित गर्यो

    अध्यागमन विभागले यात्रा सम्बन्धि शुक्रबारको निर्णय स्थगित गर्यो

    काठमाडौं । नेपालमा चर्को आलोचनाका बीच अध्यागमन विभागले शुक्रबारको नियम तत्कालका लागि हटाएको छ । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम शुक्रबार सार्वजनिक गरेको थियो । शनिबार अर्को सूचना जारी गरि अर्को सूचना जारी नभएसम्मका लागि यो नियम स्थगित भएको जनाएको छ ।

    यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरि यसअघिका नियम भने यथावत राखेको विभागले जनाएको छ । ‘सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचना भने यथावत रहेको समेत सूचनामा उल्लेख छ । यसअघिको प्रावधानमा खोप लगाएका र पिसिआर नेगेटिभ आएका यात्रुले क्वारेन्टिन बस्नु पर्दैन ।

  • भारतबाट खुलेआम भित्रन्छन यात्रु, तेस्रो मुलुकमा मात्र किन कडाई ?

    भारतबाट खुलेआम भित्रन्छन यात्रु, तेस्रो मुलुकमा मात्र किन कडाई ?

    काठमाडौं । सरकारले अमेरिका र बेलायतसहित विश्वका ६७ मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियम ल्याएको छ । तर, भारतबाट नेपालमा आउँदा भने खुलेआम आउन पाउने नियम छ । यसले मुलुक भित्र सहजै भाइरस भित्राउने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पर्यटन व्यवसायी ध्रुव सिखडाले सरकारको यो नियमले नेपालमा कोरोना रोक्ने नभई पर्यटक मात्र रोकिने चिन्ता व्यक्त गर्छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तुलनात्मक रुपमा बढी संक्रामक पाइएको छ । तर, घातक भने नभएको पुष्टी भएको छ ।

    आजसम्म बेलायतमा एक जनाको मृत्युको केश मात्र आएको रेकर्ड छ । तर, अर्कोतर्फ विकसित मुलुकका नागरिकले अधिकांशले खोप समेत लगाइसकेका छन् । यता, भारतमा भने ११ राज्यमा १ सय भन्दा बढी मानिसमा नयाँ भेरियन्ट पुष्टी भइसकेको छ । यसले छिट्टै उग्ररुप लिने चिन्ता भारतमा छ । तर, सरकारले भने तेस्रो मुलुकमा मात्र यात्रामा कडाई गरेको छ । यसले पर्यटक आगमनसहित नेपाली कामदार समेत प्रभावित हुने छन् ।

  • कांग्रेसमा सदस्य पदको मतगणना आज

    कांग्रेसमा सदस्य पदको मतगणना आज

    काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पदाधिकारीको टुंगो लागेको छ । अब केन्द्रीय कार्यसमिति सदस्यका उमेदवारको मतगणना धमाधम हुने भएको छ । खुल्लातर्फको मत गणना आज गर्ने तयारी छ । सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि गत सोमवार मतदान भएको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित गरिन्छ ।

    ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, हरेक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी र जनजाति १५, खस,आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य चयन गरिन्छ । केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने छन् । कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव र अर्जुनबहादुर सिंह निर्वाचित भइसकेका छन् ।

  • अमेरिका र यूरोपसहित ६७ मुलुकबाट नेपाल आउने सबै यात्रु आफ्नै खर्चमा होटेल क्वारेन्टिन बस्नुपर्ने

    अमेरिका र यूरोपसहित ६७ मुलुकबाट नेपाल आउने सबै यात्रु आफ्नै खर्चमा होटेल क्वारेन्टिन बस्नुपर्ने

    काठमाडौं । विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि सरकारले नेपाल आगमनमा कडाई गरेको छ । अध्यागमन विभागले शुक्रबार एक सूचना जारी गरि यस्तो नियम लागु भएको जनाएको छ । अफ्रिकी मुलुकबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेको छ । सरकारले अमेरिका, बेलायत तथा यूरोपका अधिकांश मुलुकबाट आउने यात्रुले अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियम लगाएको हो ।

    स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट नेपाल आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने बताएको हो । मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार जोखिमयुक्त मानिएका देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भन्दै विभागले सूचना जारी गरेको छ ।

    ती देशबाट आएका यात्रुले आरटी-पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ । नतिजा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । पोजेटिभ रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

  • फिलिपिन्समा विनासकारी आँधी, कम्तिमा १२ को मृत्यु-लाखौं विस्थापित

    फिलिपिन्समा विनासकारी आँधी, कम्तिमा १२ को मृत्यु-लाखौं विस्थापित

    मनिला । दक्षिण फिलिपिन्समा आएको विनासकारी आँधीमा परि १२ जनाको मृत्यु भएको छ । शक्तिशाली समुद्री आँधीका कारण मुलुकको लोकप्रिय पर्यटकीय क्षेत्र नै तहसनहस भएको समाचार छ । बीबीसीका अनुसार मानिसहरू बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित बिहीवार आएको राई समुद्री आँधीले भारी वर्षा गराएको छ । तीव्र गतिको आँधीले बाटोमा परेका घरहरू ढलाउँदा लाखौँ मानिसहरू विस्थापित भएका छन्।

    संयुक्त राष्ट्रसङ्घले एक करोड ३० लाख मानिसहरू प्रभावित भएका जनाएको छ। शुक्रवारसम्म १२ जनाको मृत्यु पुष्टि भएको छ। सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन् भने बिजुलीका तार र खम्बाहरू ढलेका छन्। जताततै बाढी आएपछि हजारौँ मानिसहरू घर छोडेर सुरक्षित स्थलमा आश्रय लिइरहेको बताइएको छ।

    अधिकारीहरूले विमानस्थलको प्रमुख टर्मिनलमा क्षति पुगे पनि धावनमार्ग उद्धार उडानहरूका लागि चालु रहेको बताएका छन्। सन् २०१७ मा त्यहाँ छायाङ्कन भएको एउटा चलचित्रले यहाँको उत्कृष्ट स्थानीय सौन्दर्यलाई प्रदर्शित गरेपछि यो ठाउँ प्रसिद्ध भएको थियो। यो टापुले फिलिपिन्समा कठिन सहरको दिनचर्याबाट टाढा बस्न चाहने युवा र निस्फिक्री घुम्न चाहने यात्रुहरूलाई आकर्षित गर्ने गरेको छ। पश्चिमतर्फ सोझिएको आँधीले नदीका बाँधहरू फुटाउँदा ठूला टापुहरूमा बाढी निम्त्याएको थियो।

    सिरगाओ पश्चिमको सुरिगाओ सहरका मेयरले टाइफुनको प्रभावलाई गम्भीर भनेका छन्। ूयो देशमा वर्षमा औसत २० आँधी आउने गरेका छन्। सन् २०२० को नोभेम्बरमा समुद्री आँधी गोनीले आफ्नो मार्गमा मानवीय क्षति र विनाश निम्त्याएको थियो। सन् २०१३ मा ६,००० मानिसहरूको ज्यान जाने गरी आएको हैयान समुद्री आँधीपछि त्यो सबैभन्दा ठूलो आँधी भएको बताइएको छ।

  • क्रिकेटरमाथि क्यानको कडा कारवाहीमा प्रचण्ड र खेलकुदमन्त्री असन्तुष्ट

    क्रिकेटरमाथि क्यानको कडा कारवाहीमा प्रचण्ड र खेलकुदमन्त्री असन्तुष्ट

    काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित ए ग्रेडका क्रिकेटरमाथि गरेको कारवाहीपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा सोही पार्टीबाट मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले असन्तुष्टी जनाएका छन् । प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवालाई वालुवाटारमा भेटेरै असन्तुष्टी जनाएका हुन् ।

    मन्त्री गहतराजले भने आज क्यानका पदाधिकारीलाई मन्त्रालयमै डाकेका थिए । उनले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथि पुनर्विचार गर्न आग्रह गरे । क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामू चिनाउन योगदान गरेका खेलाडीलाई दुरूत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको मन्त्री गहतराजको भनाई छ । खेलाडीलाई संरक्षण गर्न समेत उनले क्यानलाई निर्देशन दिए ।

    क्यान र खेलाडीबीच देखिएको समस्या समाधान गर्न उपर्युक्त विधि अपनाउनुपर्ने भन्दै मन्त्री गहतराजले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह भएको बताए । मन्त्री गहतराजले आगामी दिनमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्दसहितका पदाधिकारीलाई निर्देशनसमेत दिएका छन् ।

    मन्त्री गहतराजले खेलाडीको वर्गिकरण प्रक्रियाका विषयमा समेत चासो राखेका छन् । मंसिर २९ मा क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको छ । ज्ञानेन्द्रलाई कप्तानबाट बर्खास्त गरिएको छ भने उनीहरुको ६ महिनाको पारिश्रमिक समेत रोक्का हुने भएको छ ।

  • कांग्रेस पदाधिकारीको सेट तयार, अधिकांश नयाँ अनुहार

    कांग्रेस पदाधिकारीको सेट तयार, अधिकांश नयाँ अनुहार

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । यसमध्ये पदाधिकारीको सेट तयारी भएको छ । शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको छ । जसले आगामी ५ वर्ष कांग्रेसको नेतृत्व गर्ने टीम तयार भएको हो । कांग्रेसमा १३ पदाधिकारी रहेका छन् । कांंग्रेसमा अब नयाँ नेतृत्वमा अधिकांश नयाँ अनुहार देख्न सकिन्छ ।

    सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भएका छन्। यस टीममा देउवा र खड्कामात्रै यसअघि पदाधिकारीमा रहेका अनुहार हुन् ।

    निर्वाचित केन्द्रीय सदस्यबाट एक जनालाई सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गरि कोषाध्यक्ष मनोनित प्रावधान रहेको छ । कोषाध्यक्ष र पार्टी प्रवक्तालाई पदाधिकारीको बैठकमा सहभागी गराइन्छ । कांग्रेसको अघिल्लो कार्यसमितिमा सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का र शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत र सुनिल थापा रहेका थिए ।

  • पूँजिगत खर्च नबढेपछि अर्थमन्त्री तात्तिए, विकासे मन्त्रालयका मन्त्रीलाई बोलाएर ताकेता

    पूँजिगत खर्च नबढेपछि अर्थमन्त्री तात्तिए, विकासे मन्त्रालयका मन्त्रीलाई बोलाएर ताकेता

    काठमाडौं । पुँजीगत खर्चले अपेक्षित गति लिन नसकेका कारण सरकारको आलोचना भइरहेको छ । यसले अर्थमन्त्री जनार्दन शर्माको अझ बढी छटपटी बढेको छ । उनले सरोकारवाला मन्त्रालयसँग ताकेता नै थालेका छन् । अर्थमन्त्री शर्माले शुक्रबार अर्थ मन्त्रालयमा सरोकारवाला विकासे मन्त्रालयका मन्त्रीहरुलाई बोलाएर पूँजीगत खर्च बढाउन ताकेता गरेका हुन् ।

    कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ(आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न मन्त्रालयहरुलाई आग्रह गरे । समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको भन्दै उनले विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न ताकेता गरेका हुन् ।

    कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानी मन्त्री उमाकान्त चौधरीलगायत सहभागि थिए । ‘बजेटको ढिलासुस्ती अर्थ मन्त्रालयले गर्न मिल्दैन, गर्न पाउँदैन र गर्ने छैन,’ उनले मन्त्रीहरुसाग भने, ‘आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत बजेट यो महिनाभित्र खर्च भएको हुनुपर्छ ।’

    समयमै खर्च गर्न अर्थ मन्त्रालयले गर्नुपर्ने समन्वयलगायत काम समयमै गर्ने प्रतिवद्धता उनको छ । बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको अवस्था देखिए त्यसलाई रकमान्तर गरिने उनको भनाइ छ । ‘बजेट त्यहीँ बसिराख्दैन । यो बजेट अन्तिममा दिन्छु भनेर मानिनेवाला छैन, अन्तिममा निकासा पनि गरिने छैन,’ उनले भने, ‘असारमा आएर बजेट निकासा हुँदैन । जे निकासा हुने हो पहिले नै हुन्छ । खर्च हुँदैन भने खर्च हुने ठाउँमा पठाइदिन्छौँ ।’


    उनले समयमै खर्च नहुने स्थिति देखिए प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने समेत बताए । ‘खर्च गर्नुस्, बजेट लिनुस्’, मन्त्री शर्माले भने, ‘खर्च गर्नुहुन्न त्यो बजेट समातेर बस्न पाउनुहुन्न ।’ अर्थले फाइल तीन दिनभित्र फिर्ता गरिसक्ने भन्दै सोही रफ्तारमा काम गर्न समेत निर्देशन दिए ।

  • नेपालमा थप २४७ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

    नेपालमा थप २४७ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६९१ जनाको पीसीआर परीक्षण गर्दा २६९ जना र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ गरी २४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ४४५जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २७० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८ हजार ३३५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ५२२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।

  • एमाले पदाधिकारीको वरियताक्रम हेरफेर, पौडेल र नेम्वाङभन्दा बादल माथि

    एमाले पदाधिकारीको वरियताक्रम हेरफेर, पौडेल र नेम्वाङभन्दा बादल माथि

    काठमाडौं । नेकपा एमालेले पदाधिकारीको वरियताक्रम हेरफेर गरेको छ । अन्तरपार्टी निर्देशन १ जारी गर्दै एमालेले पदाधिकारीको वरियतामा हेरफेर गरेको हो ।

    मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशन(अपानी) मा नेताहरूको वरीयता निर्धारण गरिएको छ।

    वरीयता निर्धारण गर्ने क्रममा ओलीले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई माथि राखेका छन्। रामबहादुर थापा “बादल’ वरीयता तेस्रो नम्बरमा छ।

    उपाध्यक्षको पहिलो वरीयतामा युवराज ज्ञवाली छन्, दोस्रोमा अष्टलक्ष्मी शाक्य छन्। बादल तेस्रो वरीयतामा हुँदा विष्णु पौडेल चौंथो वरीयतामा छन् भने पाँचौंमा सुवास नेम्वाङ र छैठौं वरीयतामा सुरेन्द्र पाण्डे छन्।

    सचिवहरू मध्ये एक नम्बरमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्याल रहेका छन् ।

    यसअघि गोकर्णराज विष्ट, योगेश भट्टराईलाई रघुवीर महासेठ भन्दा तल राखेका थिए ।

    त्यस्तै नयाँ पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट समेत गरिएको छ । एमालेले विभिन्न विभागका प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इञ्चार्ज पनि तोकेको छ ।

    उपाध्यक्षहरू युवराज ज्ञवालीले प्रदेश र स्थानीय तह संयोजन, अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजन, रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णुप्रसाद पौडेलले पार्टीको सांगठानिक कामको अनुगमन, सुवासचन्द्र नेम्वाङले संसदीय मामिला र सुरेन्द्रप्रसाद पाण्डेले राजकीय मामिलाको जिम्मा पाएका छन् ।

    महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मेवारी पाएका छन्। उपमहासचिवहरू प्रदीप ज्ञवालीले पार्टी स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग/प्रेस चौतारी नेपाल तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मा पाउँदा विष्णु रिमालले निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी पाएका छन् ।

  • कांग्रेसमा तीन सहमहामन्त्रीको नतिजा आयो, ५ जना सहमहामन्त्रीको मतगणना आज

    कांग्रेसमा तीन सहमहामन्त्रीको नतिजा आयो, ५ जना सहमहामन्त्रीको मतगणना आज

    काठमाडौं । नेपाली कांग्रेसमा तीन क्लस्टरको सहमहामन्त्रीमा विजेताको टुंगो लागेको छ । ५ सहमहामन्त्रीका लागि भने आज मतगणना हुने भएको छ । १४ औं महाधिवेशनबाट टुंगिन बाँकी पाँच सहमहामन्त्रीका लागि शुक्रबार मतगणना हुन लागेको हो । क्लस्टरअनुसार फरक, फरक पाँच स्थानमा मतगणनाको तयारी छ । कांग्रेसका आठ सहमहामन्त्री निर्वाचित हुने प्रावधान छ । तीन क्लस्टरका सहमहामन्त्रीको बिहीबार नै टुंगो लागेको हो ।

    बिहीबार राति सकिएको मतगणनामा दलिततर्फ जीवन परियार, महिलातर्फ महालक्ष्मी उपाध्याय र आदिवासी, जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। परियार सभापति उम्मेदवार शेखर कोइराला प्यानलका हुन् । उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचन लडेका थिए । आज खस आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका सहमहामन्त्रीको मतगणना हुनेछ । कांग्रेसमा अहिलेसम्म सभापति, उपसभापति, महामन्त्री र तीन सहमहामन्त्रीको नतिजा आइसकेको छ ।

  • भारतमा प्रत्येक २५ मिनेटमा गर्छिन् एक गृहिणीले आत्महत्या

    भारतमा प्रत्येक २५ मिनेटमा गर्छिन् एक गृहिणीले आत्महत्या

    नयाँ दिल्ली । भारतमा प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गर्ने तथ्य खुलासा भएको छ । त्यसो त भारत आत्महत्या बढी हुने मुलुक पनि हो । किनकी यहाँ चरम गरिबी र सामाजिक असमानताका कारण यस्ता घटना बढी हुने गरेका छन् । हालै भारतको न्याश्नल क्राइम रेकर्ड्स ब्यूरो एनसीआरबीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष देशभरि २२,३७२ गृहिणीले आत्महत्या गरेका छन् । यो तथ्यांक अनुसार दैनिक औसतमा ६१ जना वा प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गर्छन् ।

    सन् २०२० को तथ्याङ्कअनुसार भारतमा १,५३,०५२ आत्महत्याका घटनामध्ये १४.६ प्रतिशत गृहिणी छन् । यो सङ्ख्या आत्महत्या गर्ने कुल महिलाहरूको ५० प्रतिशतभन्दा धेरै हो। बीबीसीका अनुसार गत वर्ष त्यसअघिका वर्षभन्दा कुनै भिन्न विवरण आएको होइन। सन् १९९७ यता एनसीआरबीले पेसाका आधारमा आत्महत्याका विवरण राख्न थालेको थियो ।

    त्यसयता २०,००० भन्दा धेरैले गृहिणीहरूले बर्सेनि आत्महत्या गरेको तथ्याङ्क छ। सन् २००९ मा त्यो सङ्ख्या बढेर २५,०९२ पुगेको थियो। पत्रपत्रिकामा समाचार आउँदा ती आत्महत्यालाई पारिवारिक समस्या वा विवाहसम्बन्धी विषयुसँग जोड्ने गरिन्छ। एउटा मुख्य कारण उच्च घरेलु हिंसा रहेको मानसिक स्वास्थ्य विज्ञलाई उदृत गर्दै बीबीसीले लेखेको छ । तीस प्रतिशत महिलाहरूले हालैको एक सरकारी सर्वेक्षणमा पतिबाट हिंसा खेपेको बताएका छन् ।

    उनीहरूले दैनिक निरन्तर काम गर्दा वैवाहिक सम्बन्ध शोषणजस्तो हुने र माइतीले पनि त्यसको मार खेप्नुपर्ने बताएका छन् । भारतमा धेरैजसो महिला कानुनले तोकेको उमेर १८ वर्ष पुग्दापुग्दै विवाह गर्छन्। उनीहरू बुहारी र श्रीमती बनेर दिनभरि घरमा बसेर खाना पकाउने, सरसफाइजस्ता घरायसी काम गर्छन्। उनीहरूमाथि अनेकथरी प्रतिबन्ध लगाइन्छ, उनीसँग थोरै स्वतन्त्रता हुन्छ र आफ्नै पैसामा समेत निकै कम पहुँच हुन्छ।

  • ४ पुसबाट १७ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप वितरण थालिने

    ४ पुसबाट १७ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप वितरण थालिने

    काठमाडौं । सरकारले नेपालमा बालबालिकालाई लक्षित गरी ४ पुसबाट कोरोनाविरुद्धको खोप वितरण थाल्ने भएको छ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान चलाउने तयारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यसको तयारी समेत पुरा भएको छ । नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिका खोप लगाउन योग्य अवस्थामा छन् । पहिलो चरणमा १७ लाख बालबालिकालाई लगाउने भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो चरणमा अमेरिकी कम्पनीद्वारा निर्मित मोडर्ना खोप बालबालिकालाई दिइने छ । यस पटक विद्यालयहरुमै खोप केन्द्र सञ्चालन गरिने छ । तीन चरणमा गरी ३५ लाखभन्दा बढी खोप आइसकेको छ । सोही मोडर्ना खोप १७ लाख बालबालिकामा लगाइने छ । पहिलो चरणमा हिमाल र पहाडका ५७ जिल्लामा मोडर्ना खोप लगाउन लागिएको हो । यसअघि अमेरिकी खोप फाइजर आउँदा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो ।

  • बेलायतको सेनाले सिरियामा ड्रोनमाथि गर्यो आक्रमण

    बेलायतको सेनाले सिरियामा ड्रोनमाथि गर्यो आक्रमण

    लण्डन । ४० वर्षअघि फोल्कल्याण्डमा भएको युद्धयता बेलायतले दोस्रो मुलुकमा आक्रमण गरेको थिएन । तर, त्यहाँको रोयल एयर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोन खसालिदिएको बीबीसीले जनाएको छ । यस्तो कारवाही बेलायतले ४० वर्षपछि पहिलो पटक गरेको हो ।

    बेलायती रक्षा मन्त्रालयका अनुसार ३ दिनअघि खसालिएको उक्त ड्रोनले दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध लडिरहेका गठबन्धन सैनिकहरूलाई जोखिम उत्पन्न गराएको थियो। उसले कुन विपक्षी समूहले ड्रोन चलाएको थियो भन्ने खुलाएको छैन्। रक्षामन्त्री बेन वालेसले उक्त हमलाले हवाई क्षेत्रमा शत्रुलाई निशाना साँध्न सक्ने आरएएफको सामर्थ्य प्रदर्शित गरेको समेत बताएका छन् ।


    साइप्रसस्थित आफ्नो अखडाबाट नियमित गस्तीमा रहेका दुईवटा एफजीआर फोर जेटलाई मङ्गलवार एउटा सानो ड्रोनमाथि अनुसन्धान गर्न भनिएको थियो।
    पाइलटहरूले त्यसलाई पहिचान गरि आकाशबाट छोटो दुरीमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्रको प्रयोग गरेको समेत समाचारमा जनाइएको छ ।

    इराक नजिकैको सीमा क्षेत्रमा उक्त घटना भएको थियो। ब्रिटिश हवाई सेनाले प्रयोग गरेको क्षेप्यास्त्रको मूल्य लगभग दुई लाख पाउन्ड पर्छ र त्यो सुपरसोनिक अर्थात् ध्वनिभन्दा तेज गतिमा उड्न सक्छ। आरएएफ टाइफुन मार्फत गरिएको यो पहिलो यस्तो खालको हवाई कारबाही हो।

  • मन्त्री पद त्यागेका कांग्रेस नेता रिजालले ५० लाख अनुदानमा प्रतिष्ठान स्थापना गर्ने

    मन्त्री पद त्यागेका कांग्रेस नेता रिजालले ५० लाख अनुदानमा प्रतिष्ठान स्थापना गर्ने

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफ्ना आमाबुबाको नाममा पुण्यश्री प्रतिष्ठान स्थापना गर्ने भएका छन् । प्रतिष्ठानमा मोरङ क्षेत्र नम्बर २ का नागरिकले स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी आफूले ५० लाख रुपैयाँ अनुदान दिने घोषणा उनले बिहीबार गरेका छन् ।

    डा. रिजालले यो निर्णय केही पहिला नै गरेको भए पनि कार्यव्यस्तताले सार्वजनिक गर्न नभ्याएको उनले उल्लेख गरेका छन् । कांग्रेस महामन्त्रीमा पराजित भएका उनले बिहीबार नै रक्षामन्त्री पदबाट राजीनामा गरेका थिए । उनी गत निर्वाचनमा मोरङबाट निर्वाचित एक मात्र कांग्रेस नेता हुन् ।

  • बुद्ध एयरको जहाजको इन्जिन फेल, भरतपुरमा आकस्मिक अवतरण

    बुद्ध एयरको जहाजको इन्जिन फेल, भरतपुरमा आकस्मिक अवतरण

    भरतपुर । बुद्ध एयरको जहाजको बायाँ इन्जिन फेल भएपछि भरतपुर विमानस्थलमा आपतकालिन अवतरण गर्नु परेको छ । भरतपुरबाट १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको जहाजमा केही मिनेटमै समस्या आएको थियो । त्यसपछि सोही विमानस्थलमा अवतरण गरिएको थियो । आपतकालिन अवतरणका दौरान विमानस्थलमा आकस्मिक अवस्थाका लागि सबै बन्दोबस्त गरिएको थियो ।


    नागरिक उड्डयन प्राधिकरण भरतपुरका अनुसार दिउँसो १ः१६ बजे उडेको जहाजमा तत्कालै समस्या आएको रिर्पोटिंग पाइलटले गरेका थिए । जहाजमा यात्रु र चालक दलका सबै सदस्य सकुसल छन् । बुद्ध एयरका अनुसार उनीहरुलाई अर्को जहाजबाट काठमाडौं ल्याइएको छ । जहाज धावनमार्गमा फसेपछि आज निकै बेर विमानस्थल समेत अवरुद्ध भएको छ ।

  • नेपालमा थप १८४ जनामा कोरोना पुष्टी, २६७ जना संक्रमण मुक्त

    नेपालमा थप १८४ जनामा कोरोना पुष्टी, २६७ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा १६० जना र ३ हजार ७८८ जनाको एन्टिजेन परीक्षण गर्दा २५ गरी १८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार १७६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८ हजार ८३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ५२६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ ।

  • रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

    रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

    काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा बुझाएका छन् । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर रक्षामन्त्री रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

    उनलाई प्रधानमन्त्री देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । कांग्रेस महामन्त्रीमा पराजित भएपछि रिजालले सामाजिक सञ्जालमार्फत रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए ।

  • कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

    कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा गगनले ३०२३ र विश्वप्रकाशले १९८४ मत पाएर विजयी भएका हुन् ।

    थापा सभापतिमा पराजित शेखर कोइराला प्यानलका उम्मेदवार हुन् भने शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका हुन्।

    सभापति शेरबहादुर देउवा निकट शर्माले उनको प्यानलमा महामन्त्रीको उम्मेदवार बन्न नपाएपछि कोइरालाको प्यानलबाट लड्ने चर्चा चलेको थियो । अन्ततः उनी सिंहको प्यानलबाट उठेर चुनाव लडेका हुन्।

    यस्तै, महामन्त्रीका अरू उमेदवारहरू डा. प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा. मीनेन्द्र रिजालले ८०९ र डा. राजाराम कार्कीले १०६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

  • नेपाली सेयरबजार फेरि ओरालो यात्रातिरै, सूचक र कारोबार दुवै ओर्लिए

    नेपाली सेयरबजार फेरि ओरालो यात्रातिरै, सूचक र कारोबार दुवै ओर्लिए

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ ।

    साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३७.८७ अंकले घटेर २३७८.७४ विन्दुमा आइपुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२४ कम्पनीको २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६७ रुपैयाँ बराबरको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबार रकममा भारी गिरावट आएको छ । बुधवार ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये १ समूहको परिसूचकमा हरियाली छाएको छ भने १२ समूहको परिसूचक राताम्मे भएका छन् । बजार घटेपनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा नेपाल बङ्गलादेश बैंक रहेको छ ।

    तीन कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

    शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा ग्रिनलाइफ हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी र हिमालयन पावर पार्टनर रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

  • महामन्त्रीमा पराजयसँगै रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

    महामन्त्रीमा पराजयसँगै रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

    काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा घोषणा गरेका छन् ।

    कांग्रेसको महामन्त्रीमा पछाडि परेपछि रिजालले राजीनामा बिहीबार राजीनामा दिने घोषणा गरेका हुन्।

    १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजय भएपछि उम्मेदवार बनेका रिजाल पराजय उन्मुख भएपछि राजीनामा दिन लागेका हुन्।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्- नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।

    महामन्त्रीका लागि जारी मतगणनामा रिजाल पाँचौं नम्बरमा छन्।

    रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

  • बढेन विदेशबाट आउने रेमिट्यान्स

    बढेन विदेशबाट आउने रेमिट्यान्स

    काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पहिलो महिना देखि नै रेमिट्यान्स आप्रवाह घटिरहेको छ । यो प्रवृत्ति चौथो महिनासम्म पनि कायम रहेको छ । साउनमा १८ प्रतिशतले घटेको रेमिट्यान्स मूख्य सिजन असोजमा ८ प्रतिशतले घटेको थियो । कात्तिकमा ७.५ प्रतिशतले घटेको छ। साउनदेखि कात्तिकसम्म ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । आर्थिक वर्ष ०७७\०७८ को साउनदेखि कात्तिकसम्म ३ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

    यस वर्षको कात्तिकमा ७३ अर्ब रुपैयाँ र असोजमा ८४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो वर्षको साउनदेखि कात्तिकसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या बढेर ९६ हजार ३ सय ८२ पुगेको केन्द्रीय बैंकले जनाएको छ । पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत वर्ष भन्दा २४९.१ प्रतिशतले बढेर ५९ हजार ७२३ पुगेको छ ।

  • बेलायतमा कोरोनाको विष्फोटक रुप, एकै दिन रेकर्ड ब्रेक ७८ हजारमा संक्रमण पुष्टी

    बेलायतमा कोरोनाको विष्फोटक रुप, एकै दिन रेकर्ड ब्रेक ७८ हजारमा संक्रमण पुष्टी

    लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणले पुनः विष्फोटक रुप लिएको छ । बुधवार सो मुलुकमा ७८ हजारभन्दा धेरै मानिसमा कोरोना पुष्टी भएको बीबीसीले जनाएको छ । यो रेकर्ड ब्रेक आंकडा हो । किनकी कोरोना महामारी शुरु भएको दुई वर्ष यता यो मुलुकमा यति धेरै संख्यामा यसअघि संक्रमण पुष्टी भएको तथ्यांक छैन । यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको थियो । त्यसबेला बेलायतमा लकडाउन थियो ।

    तर, अहिले भने बेलायत खुला छ । इङ्ल्याण्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटिले त्यस्तो रेकर्ड सङ्ख्या आउँदा केही साताहरूमा यो रेकर्ड अझै ब्रेक हुने बताउँछन् । उनले क्रिसमसका कार्यक्रमहरूमा जमघट गर्नुअघि मानिसहरूले महत्त्वपूर्ण के हो भन्ने प्राथमिकता छुट्याउन सक्नुपर्ने सुझाव दिएका छन् । उनीसँगै उभिएर बोलेका प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको बूस्टर मात्रा लिनु निकै महत्त्वपूर्ण रहेको बताए।

    जोनसनले केही ठाउँमा दुई दिनभित्रै सङक्रमितहरू दोबर भइरहेको पाइएको बताए। उनका अनुसार राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिसतले र लण्डनलमा झण्डै एक तिहाईले बढेको छ । लण्डनमा ओमिक्रोन सबैभन्दा प्रभावी भेरियन्ट बनेको पुष्टी भएको छ ।


    प्राध्यापक विटिले यतिखेर बेलायतले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताए। त्यो एउटा निकै छिटो फैलिरहेको ओमिक्रोन र अर्को डेल्टा भेरियन्ट रहेको उनको भनाई छ । अहिले भाइरससँग जोडिएका मृत्युहरू भने ह्वात्तै बढेको तथ्यांक छैन । पछिल्ला २८ दिनमा त्यहाँ कोभिड पुष्टि भएकाहरूमध्ये मृत्यु सङ्ख्या १६५ मात्र छ ।

  • कांग्रेस महामन्त्रीको मतगणना, आजै आउनेछ नतिजा

    कांग्रेस महामन्त्रीको मतगणना, आजै आउनेछ नतिजा

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा सभापति र उपसभापतिको नतिजा आइसकेको छ । अब निर्वाचन समिति महामन्त्री पदको मतगणनामा जुटेको हो । पार्टी कार्यालय सानेपामा मतगणना सुरू हुँदैछ । कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच भिडिरहेका छन् ।

    सभापति शेरबहादुर देउवा समूहबाट डा्. प्रकाश शरण महत र प्रदीप पौडेल छन् । डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल भिडेका छन् । प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार बनेका छन् । निर्वाचन समितिका अनुसार महामान्त्रीको नतिजा आज अपरान्ह सम्म आइसक्ने छ ।

  • कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी

    कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । गुरुङ शेखर कोइराला र खड्का शेर बहादुर देउवा प्यानलबाट चुनाव लडेका हुन् । बुधबार राति सम्पन्न मत गणनाको अन्तिम परिणाममा खड्का र गुरुङले बाजी मारे । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित भए । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत पाए ।

    गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत ल्याएका छन् । १४ औं महाधिवेशनमा खड्का र गच्छदार देउवा प्यानलबाट, गुरुङ र भण्डारी शेखर कोइराला प्यानलबाट, सुजाता कोइराला प्रकाशमान सिंह प्यानलबाट र दिव्यश्वरी शाह विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बनेका थिए । आचार्य भने प्यानलमा थिएनन् ।

  • क्रिकेट खेलाडीहरुमाथि क्यानको ठूलो कारवाही, कप्तान बर्खास्त

    क्रिकेट खेलाडीहरुमाथि क्यानको ठूलो कारवाही, कप्तान बर्खास्त

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासन उल्लङ्घनसम्बन्धी कसुरमा दोषि ठहर गर्दै कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरमाथि कारवाही गरेको छ । खेलाडी वर्गीकरणमा त्रुटी भ्एको भन्दै खेलाडीले विरोध जनाएका थिए । सो विषयमा क्यानले छानविन समिति गठन गरि खेलाडीमाथि कारवाही गरेको हो । क्यानको बुधबार बसेको बैठकले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कप्तानीबाट बर्खास्त गरिएको छ ।

    क्यानले नयाँ कप्तान सन्दीप लामिछानेलाई बनाउने निर्णय समेत गरेको छ । मल्लसहित असन्तुष्टि पोखेका उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई वर्गीकरणबाट सन् २०२२ मा प्राप्त हुने ६ महिनाको तलब समेत नदिने निर्णय भएको छ । बुधबार बसेको क्यानको बोर्ड बैठकमा खेलाडीमाथि कडा कारवाही गर्ने विवाद समेत भएको बताइएको छ । ६ जना बोर्ड सदस्यले नोट अफ डिसेन्ट राखेका छन् । खेललाडीहरु राष्ट्रिय टिमबाट खेल्न भने स्वतन्त्र हुने छन् ।

    यस्तो छ क्यानको बुधबारको निर्णय

    नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्रसिंह ऐरिलाई पदमुक्त गर्ने


    नेपाल क्रिकेट संघले अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार जना खेलाडीहरू ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कनट्याक्टमा सुरूको ६ महिनाको लागि सहभागी नगराउने

    नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको रूपमा सन्दीप लामिछानेलाई चयन गरिएको


    राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आगामी डिसेम्बर २१, २०२१ देखि पोखरामा सञ्चालन गर्ने


    नेपाल प्रशिक्षक संघलाइ मान्यता प्रदान गर्ने


    नेपाल क्रिकेट संघका पूर्वउपाध्यक्ष नरेश श्रेष्ठलाइ सल्लाहकार समितिको सदस्यमा चयन गर्ने

  • राखेप सदस्य सचिवमा सिलवाललाई पुनःबहाली गर्न अदालतको अन्तरिम आदेश

    राखेप सदस्य सचिवमा सिलवाललाई पुनःबहाली गर्न अदालतको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले रमेशकुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

    सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले बुधबार सिलवाललाई पुनःवहाली गर्न अन्तरिम आदेश दिएको हो ।

    आफुलाई अवैधानिकरुपमा हटाइएको भन्दै सिलवालले सर्वोच्चमा रिट दर्ता गरेका थिए।

    साथै अदालतले युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गरेको नयाँ सदस्य सचिव टंकलाल घिसिङलाई काम गर्न नदिन आदेश दिएको छ ।

    ओली सरकारले नियुक्त गरेका सिलवाललाई देउवा सरकारले गत कात्तिक १ गते सिलवाललाई सदस्य सचिवबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।