Category: फिचर

  • एमालेका पदाधिकारीको तोकियो वरियताक्रम, गोकर्ण र योगेश पुछारमा

    एमालेका पदाधिकारीको तोकियो वरियताक्रम, गोकर्ण र योगेश पुछारमा

    काठमाडौं । नेकपा एमालेले पदाधिकारी बनेका पार्टीका नेताहरूको वरीयताक्रम तोकेको छ । आइतवार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको वरीयताक्रम तोक्ने निर्णय गरेको हो । वरीयताक्रम अनुसार अध्यक्ष केपी ओली पहिलो र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रोमा रहने भएका छन् । उपाध्यक्षमा युवराज ज्ञवाली पहिलो, रामबहादुर थापा दोस्रो, विष्णु पौडेल तेस्रो, सुवास नेम्वाङ चौथो र सुरेन्द्र पाण्डे पाँचौँ वरीयतामा रहने भएका छन् ।

    महासचिव शंकर पोखरेलपछि उपमहासचिवमा प्रदीप ज्ञवाली पहिलो, पृथ्वीसुब्बा गुरुङ दोस्रो र विष्णु रिमाल तेस्रो वरीयतामा रहेका छन् । सचिवहरूमा टोपबहादुर रायमाझी पहिलो, लेखराज भट्ट दोस्रो, रघुवीर महासेठ तेस्रो, छविलाल विश्वकर्मा चौथो, गोकर्ण विष्ट पाँचौँ, योगेश भट्टराई छैटौँ र पद्मा अर्याल सातौँ नम्बरमा परेका छन् । एमालेमा गोकर्ण र योगेश पुछारमा पर्दा माओवादी त्यागेर आएका नेताहरुले भने वरियतामा समेत छलांग मारेका छन् ।

  • दाङमा जिप दुर्घटना, तीनको मृत्यु

    दाङमा जिप दुर्घटना, तीनको मृत्यु

    दाङ । दाङमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिरखोला नजिकै जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा कपुरकोट गाउँपालिका वडा नम्बर ३ का ४८ बर्षिय प्रेम प्रकाश शर्मा, सोही गाउँपालिका वडा नम्बर ४ का सौनी घर्ती र लालमती खड्काको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    दुर्घटनामा परी १९ जना घाईते भएका छन् । घाईते मध्ये छ जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । १३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ । तुलसीपुरबाट सल्यानको सिमपानी जादै गरेको रा १ ज ४३८ नम्बरको जिप तुलसीपुर ३ सिरखोला नजिक आईतवार अपरान्ह चार बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

  • अमेरिकामा विनासकारी आँधी, ६ राज्य प्रभावित-१ सय भन्दा बढीको मृत्यु

    अमेरिकामा विनासकारी आँधी, ६ राज्य प्रभावित-१ सय भन्दा बढीको मृत्यु

    कन्टकी । संयुक्त राज्य अमेरिकाका छवटा राज्यमा शुक्रवार राति आएका विनासकारी आँधीबेहरीले ठूलो मानवीय क्षति पुगेको छ । आँधीका कारण कम्तीमा ८३ जनाको मृत्यु भएको र यस्तो आंकडा १ सय नाघ्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार त्यहाँ आँधीका कारण सम्पर्कविहीन भएका दर्जनौँ अरू मानिसलाई जीवित उद्धार गर्न सकिन्छ कि भनेर व्यापक खोजी भइरहेको छ।

    शुक्रवार ३० वटा आँधीबेहरी आएको रेकर्ड छ । प्रभावित क्षेत्रमा सहायताका लागि सरकारले यथासम्भव प्रयास गर्ने आश्वासन राष्ट्रपति जो बाइडनले दिएका छन्। कन्टकी राज्यमा मात्र ७० जनाभन्दा बढीको मृत्यु भएको र मृतकको सङ्ख्या १०० नाघ्न सकने कन्टकीका गभर्नर एन्डी बिशिअरले बताएका छन्। टोर्नेडो भनिने उक्त आँधीबेहरीलाई राज्यको इतिहासकै सबैभन्दा नराम्रो संज्ञा दिइएको छ ।

    कन्टकीमा गभर्नरले सङ्कटकाल घोषणा गरेका छन्। राष्ट्रपति बाइडनले शुक्रवारको आँधी अमेरिकामा आएका ठूलामध्ये एक भएको टिप्पणी गरेका छन्।
    मेफील्ड सहरस्थित एउटा मैनबत्ती कारखानाभित्र दर्जनौँ मानिसको मृत्यु भएको छ। त्यहाँ कार्यरत ११० जनामध्ये ४० जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो भने ६० जना अझै हराइरहेका छन्। उक्त आँधीबेहरीका कारण अन्य राज्यमा मानिसहरूको मृत्यु भएको छ।

    आँधीबेहरीको ३६५ किलोमिटर लामो मार्गमा पर्ने सबै ठाउँमा ठूलो क्षति पुगेको छ। यसैबीच राष्ट्रपति बाइडनले एउटा सङ्घीय आकस्मिक विपद् घोषणापत्रमा हस्ताक्षर गर्दै उक्त राज्यका लागि रकम निकासा गरेका छन्। दक्षिणी इलनोयको एड्वार्ड्सभिलस्थित एमजनको एउटा गोदाम अर्को आँधीमा भत्किएको अधिकारीहरूले बताएका छन्।

    उक्त राज्यका प्रहरी प्रमुखका अनुसार त्यहाँ छ जनाको मृत्यु भयो भने कति जना हराइरहेका छन् त्यो निर्क्योल भएको छैन। मिजुरी राज्यमा पनि आँधीका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ।

  • अमेरिकी डलरको भाउ १७ महिना यताकै उच्च

    अमेरिकी डलरको भाउ १७ महिना यताकै उच्च

    काठमाडौं । अमेरिकी डलरको भाउ डेढ वर्ष यताकै उच्च भएको छ । पछिल्लो समय डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएसँगै डलरको भाउ आकाशिएको हो ।

    नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार १ अमेरिकी डलरको विक्रीदर १२१.५३ रुपैयाँ तोकिएको छ । सोही दिन एक अमेरिकी डलरको खरिद दर १२०.५३ रुपैयाँ छ ।

    यो पछिल्लो १७ महिना यताकै उच्च हो । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै यसको भाउ उकालो लागेको हो । डलरको भाउ लगातार बढ्दा नेपाली रुपैयाँ भने कमजोर हुँदै गएको छ ।

  • नेपालमा थप २५४ जनामा कोरोना पुष्टी, उपत्यकामा थपिए १५४ संक्रमित

    नेपालमा थप २५४ जनामा कोरोना पुष्टी, उपत्यकामा थपिए १५४ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २४१४ जनाको एन्टिजेन परीक्षण गर्दा १२ गरी २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २४ हजार २२२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २३४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ६ हजार ७७८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ८९० रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ ।

    काठमाडौं उपत्यकामा १५४ संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११९, ललितपुरमा ३० र भक्तपुरमा ५ संक्रमित छन्।

    यस्तै, काठमाडौं उपत्यकामा १७६५ सक्रिय संक्रमित छन्।जसमध्ये काठमाडौंमा ६९०, भक्तपुरमा ४७४ र ललितपुरमा ६०१ सक्रिय संक्रमित छन्।

  • नेपाली सेयर बजारमा उच्च अंकको गिरावट

    नेपाली सेयर बजारमा उच्च अंकको गिरावट

    काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ८८.७० अंकले घटेर २३६१.२७ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २२८ कम्पनीको ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २५१ रुपैयाँ बराबरको ७२ लाख २३ हजार २४० कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको शेयर ४४ अङ्कले, विकास बैंकको दुई सय ८१, होटलको ८७ , फाइनान्सको १००, माइक्रोफाइनान्सको १८६ र जलविद्युत् समूहको शेयर १२४ ले घटेको छ ।

    यस्तै उत्पादन समूहको शेयर १८६ अङ्कले, जीवन बीमा समूहको ५०७ अङ्कले, निर्जीवन बीमा समूहको ४९० घटेको छ । र अन्य समूहको शेयर ६३ अङ्कले घटेको छ । आइतबार सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको कारोबार भएको छ । ञ्जुश्री को १९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

    सबैभन्दा धेरै गुमाउने १० वटा कम्पनीका लगानीकर्ता परेका छन् । जसमा सबैभन्दा धेरै नयाँ सारथी लघवित्तका लगानीकर्ताको लगानी १० प्रतिशतभन्दा बढीले घटेको छ ।

    त्यस्तै ९ प्रतिशतभन्दा बढी शेयर मूल्य घट्नेमा कालिका पावर, जानकी फाइनान्स, जोशी हाइड्रो पावर, समता घरेलु लघुवित्त, मैलुङ खोला जलविद्युत,स्वाभिमान लघुवित्त र लक्ष्मी इक्वटी फण्ड रहेका छन् ।

    मौद्रिक नीतिको समीक्षापछि निरन्तर ओरालो लागेको शेयर बजार आइतबार चालु आर्थिक वर्षकै न्यून बिन्दुमा झरेको छ।

    गत आर्थिक वर्ष २०७७/०७८ को अन्तिम दिन असार ३१ गते बजार ३०२२.११ मा पुगेर रोकिएको थियो।

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति २०७८ साउन २९ मा जारी गर्दा सेयर कर्जामा व्यक्तिगत तर्फ ४ करोड र संस्थागत १२ करोडको सीमा तोकेसँगै बजार निरन्तर ओरालो लागि रहेको छ ।

    राष्ट्र बैंकले अघिल्लो सार्वजनिक गरेको समीक्षामा शेयर धितो राखेर लिइने कर्जाको सीमामा कुनै पनि हेरफेर नगरेपछि लगानीकर्ताहरु आत्तिए बिक्रीको चाप बढ्दै गएको छ । जसका कारण शेयर बजारमा भारी गिरावट आइरहेको छ ।

  • एमाले केन्द्रीय कमिटीमा दुर्गा प्रसाईंसहित ४३ जना मनोनित (सूचीसहित)

    एमाले केन्द्रीय कमिटीमा दुर्गा प्रसाईंसहित ४३ जना मनोनित (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यमा १० प्रतिशत सदस्य मनोनित गरेको छ । शनिबारदेखि भक्तपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले केहि नेताहरुलाई मनोनित गरेको हो ।

    एमालेको मनोनयनमा परेकाहरूमा दुर्गा प्रसाई, विशाल भट्टराई, लालबाबु पण्डितलगायतका नेताहरू छन् । चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा पराजित भएका नेता भीम रावल भने मनोनीतमा परेनन् । केन्द्रीय सदस्यमा मनोनित हुन उनले नमानेको बताइएको छ ।

    यस्ताे छ मनोनितमा परेकाहरूको सूची:

    मानवीर राई
    ऐन महर
    चन्द्रमोहन गौचन
    रतननाथ योगी
    दल फडेरा
    रमेश पौडेल
    सूर्य पाठक
    हरि घिमिरे
    पदम गिरी
    युवराज बाँस्कोटा
    यज्ञबहादुर बोगटी
    विशाल भट्टराई
    बद्री न्यौपाने
    रुपनारायण श्रेष्ठ
    उद्धव रेग्मी
    प्रेम दंगला
    भीम केसी
    सुवास देवकोटा
    हरिकृष्ण व्यञ्जनकार
    इन्दिरा गौतम
    सरस्वती चौधरी
    लालबाबु पण्डित
    यमुना रोका
    कल्पना चापागाईँ
    आशा विक
    उमा कोइराला
    नैनकला ओझा
    मञ्जु गुरुङ
    इन्दिरा सञ्जेल
    विमला अर्याल
    गीता कार्की
    शान्ति अधिकारी
    रुक्मिणी राना
    तारादेवी गुरुङ
    सविता यादव
    विषमलाल अधिकारी
    रेशम लामा
    गोविन्द दुवाल
    दुर्गा प्रसाई
    चन्द्रबहादुर विश्वकर्मा
    सहदेव बोटी
    बालसिंह काउछा
    कृष्ण केसी

  • कांग्रेस महाधिवेशन: सभापति, सहमहामन्त्रीसहित ५५ जनाले लिए उम्मेदवारी फिर्ता

    कांग्रेस महाधिवेशन: सभापति, सहमहामन्त्रीसहित ५५ जनाले लिए उम्मेदवारी फिर्ता

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय ५५ जनाले मनोनयन फिर्ता लिएको लिएका छन् ।

    आइतवार दिउँसो एक जना सभापति, एक सहमहामन्त्री र ५३ केन्द्रीय सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    ६० जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिए पनि ५ जनाको प्रकिया नमिलेको भन्दै फिर्ता नभएको निर्वाचन समितिले जनाएको छ ।

    एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए ।

    जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।

    चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए । तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बनेका हुन् ।

    कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५८ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।

  • कांग्रेसको नेतृत्व होडबाट बाहिरिएका पौडेललाई निवासमै पुगेर सभापति देउवाले भेटे

    कांग्रेसको नेतृत्व होडबाट बाहिरिएका पौडेललाई निवासमै पुगेर सभापति देउवाले भेटे

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेर बहादुर देउवालाई टक्कर दिन आफुलाई सभापतिको उमेदवार मान्न आग्रह गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै समूहमा बढी आकंक्षी देखिएपछि चित्त दुख्यो । त्यसो नभए आफ्नो समूहबाट सर्वसम्मत नेतृत्वको उमेदवार छान्ने उनको चाहना थियो । सोहीकारण उनले आफु सभापतिको दौडबाट बाहिरिएको घोषणा गरे । उनले शेखर कोइरालालाई आफ्नो समर्थन हुने बताए ।

    महाधिवेशनमा अपमानित महसुश गरेका नेता रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बोहराटारमै पुगेका छन् । सभापतिमा उम्मेदवारी दिएको केही घन्टापछि नै देउवा शनिबार राती पौडेल निवास बोहराटार पुगेर हुन् । सभापति देउवाले पौडेललाई राजनीतिबाट बाहिर नजान आग्रह गरेको स्रोतले जनाएको छ ।

    उनले पौडेलको स्वास्थ्य अवस्थाबारे सोध्दै ख्याल गर्न भनेका थिए । पौडेलले भने महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्शबाहिर गएर प्रतिस्पर्धा भइरहेको भन्दै चित्त दुखाएका थिए । पौडेलले उम्मेदवारी दर्ता गरेकालाई स्वस्थ प्रतिस्पर्धा गर्न भनेका छन् । पौडेल समूहमा प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको होडमा छन् ।

  • आज काठमाडौंमा सबैभन्दा कम तापक्रम मापन

    आज काठमाडौंमा सबैभन्दा कम तापक्रम मापन

    काठमाडौं । आइतबार बिहान काठमाडौंमा यो वर्षको सबैभन्दा कम तापक्रम मापन भएको छ । काठमाडौंमा न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शनिबार न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस थियो । आइतबारको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसम्म मात्र रहने छ ।

    न्यूनतम र अधिकतम तापक्रम घट्दा बिहान बेलुका चिसो बढेको छ । मुलुकका धेरै ठाउँमा बिहानको समयमा हुस्सु लागेको छ । तराई क्षेत्रलाई समेत बाक्लो हुस्सुले ढाक्न थालेको छ । देशका धेरै ठाउँको मौसम आंशिक बद्ली रहने महाशाखाले जनाएको छ । चिसोका कारण हिमाली भेगमा भने हिमपातको सम्भावना छ ।

  • कांग्रेसमा झण्झटिलो मतदान, एक जनालाई १ घण्टासम्म लाग्ने

    कांग्रेसमा झण्झटिलो मतदान, एक जनालाई १ घण्टासम्म लाग्ने

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा हुने निर्वाचनको मतदानमा झण्झटिलो प्रक्रियाका कारण लामो समय लाग्ने भएको छ । एक जना मतदाताले पदाधिकारी सहित १३४ जना उम्मेदवारका लागि कुल २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । सोहीकारण एक जना महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न आधा घण्टादेखि एक घण्टासम्म समय लाग्ने छ । निर्वाचन समितिका अनुसार ूसभापति, हरेक पदाधिकारी र फरक समूहबाट उम्मेदवार बन्नेहरूका लागि छुट्टाछुट्टै मतपत्र बनाइएको छ ।

    सोहीकारण २९ वटा मतपत्र हुने भएका हुन् । मतपत्र खसाल्ने ठाउँ समेत २९ वटा नै बनाइएको छ । कांग्रेसको पार्टी विधान अनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्छ । ५० प्रतिशत भन्दा बढी मत नआए सबैभन्दा बढी मत आउने दुई जना उम्मेदवारबीच पुनः मतदान हुन्छ । शुरुमा सभापतिको मतगणना हुने र त्यसपछि अन्यको गर्ने तयारी छ ।

    महाधिवेशनस्थलमा सोमवार बिहान ८ बजेबाट मतदान सुरु हुनेछ । मतदान स्थलमा एक पटकमा करिब एक हजार जना अटाउन सक्ने व्यवस्था गरिएको छ। तीन फरक ठाउँबाट मतदाताहरू मतदान स्थलमा प्रवेश गर्नेछन् । महाधिवेशनमा ४ हजार ७०० भन्दा बढी मतदाता छन् ।

  • कर्णालीमा एमबीबीएस पढाई शुरु, राष्ट्रपतिले शुभारम्भ गर्दै

    कर्णालीमा एमबीबीएस पढाई शुरु, राष्ट्रपतिले शुभारम्भ गर्दै

    जुम्ला । आज राष्ट्रपति विद्यादेवि भण्डारी कर्णालीको जुम्ला जाने कार्यक्रम तय भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएसको औपचारिक रुपमा शुभारम्भ गर्न राष्ट्रपति जुम्ला जाने भएकी हुन् । एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले जनाएको छ । एमबीबीएस कार्यक्रम शुभारम्भका लागि बिहान ११ बजे हेलिकोप्टरमा राष्ट्रपति भण्डारी जुम्ला पुग्नेछिन् ।

    राष्ट्रपतिले ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने छिन् । एमबीबीएस, बीएनएस, बीफार्मा लगायतका शैक्षिक कार्यक्रमको समेत शुभारम्भ आजै हुने छ । राष्ट्रपति जुम्ला आउने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खातुन जुम्ला पुगेका छन् । एमबीबीएसमा १९, बीपीएचमा ८, बीएनएसमा १६, बीफार्मामा ८ र बीएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । यहाँ छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएका छन् ।

  • नेपालमा २३६ जनामा कोरोना पुष्टी, ३०७ जनाले जिते

    नेपालमा २३६ जनामा कोरोना पुष्टी, ३०७ जनाले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार एक सय ७८ जनाको नमूना परीक्षण गर्दा दुई दशमलव ५७ प्रतिशत अर्थात दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा तीन सय सात जना कोरोना सङ्क्रमित निको भएका छन् ।

    यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६ हजार पाँच सय ४४ जना पुगेको छ । थप एक जनासहित कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५३ जना पुगेको छ । नेपालमा पाँच हजार आठ सय ८३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा दुई लाख ६६ हजार नौ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म दुई करोड पाँच लाख एक हजार आठ सय १० मात्रा कोरोना विरुद्धको खोप प्रयोग भएकोमा ९२ लाख ४१ हजार दुई सय ६१ जनाले पूर्ण मात्रा र एक करोड १२ लाख ६० हजार पाँच सय ४९ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।

  • कांग्रेसको चुनावी होडमा विनोद चौधरी पनि

    कांग्रेसको चुनावी होडमा विनोद चौधरी पनि

    काठमाडौं । नेपाली कांग्रेसको चुनावी होडमा विनोद चौधरी समेत होमिएका छन् । अर्वपति उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । उनी पहिलो पटक पार्टीको आन्तरिक राजनीतिमा निर्वाचनमा लड्दैछन् । उनी मधेसी क्लस्टरको खुला केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन् । कांग्रेसमा आज मनोनयन दर्ता सम्पन्न भएको हो । कांग्रेसको १४ औं महाधिवेशनका दौरान कुल ६ जना सभापति पदमा लडेका छन् ।

  • कांग्रेस सभापतिका लागि ६ जना उमेदवार, रामचन्द्र पौडेल लडेनन्

    कांग्रेस सभापतिका लागि ६ जना उमेदवार, रामचन्द्र पौडेल लडेनन्

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । यसका लागि आज भएको उम्मेदवारी मनोनयनमा कुल ६ जनाले सभापतिका लागि आवेदारी दिएका छन् । शनिबार अपरान्ह ५ बजेसम्म मात्र उम्मेदवारी दर्ता गर्न पाउने समय थियो । त्यसअवधिसम्म सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराए ।

    सभापतिको दौडबाट रामचन्द्र पौडेल भने बाहिरिएका छन् । उनले देउवा इत्तर समूहमा सहमति नजुटेपछि दावेदारी छाडेका हुन् । उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराए । गच्छदार र खड्का देउवाको प्यानल, गुरुङ र भण्डारी कोइरालाको प्यानल, सुजाता कोइराला प्रकाशमान सिंह प्यानल र दिव्यश्वरी शाहले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिए । महामन्त्रीमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीको मनोनयन परेको छ ।

    ८ सहमहामन्त्रीका १९ जना भिड्दैछन् । देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर ९बारा० र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार छन् ।

    शेखर कोइराला समूहबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट शेख वकिलले उम्मेदवारी दिएका छन् ।

    सहमहामन्त्रीमा यीबाहेक सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालको उमेदवारी परेको छ । खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ । कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

  • युक्रेनमा सैन्य हमला नगर्न रुसलाई बेलायतको चेतावनी

    युक्रेनमा सैन्य हमला नगर्न रुसलाई बेलायतको चेतावनी

    लण्डन । बेलायतले युक्रेनमाथि हमला नगर्न रुसलाई चेतावनी दिएको छ । बेलायती विदेशमन्त्री लिज ट्रसले रुसले युक्रेनमाथि हमला गरे उसले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएकी हुन् । बीबीसीका अनुसार यो साता लिभरपूलमा हुने जी-सेभेन राष्ट्रका विदेशमन्त्रीको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम चालेमा रणनीतिक गल्ती हुने उक्त बैठकबाट स्पष्ट पारिने बताएकी छन् । ट्रसले यूके र उसका साझेदारहरूले युक्रेनमा रुसी हमला रोक्नु पर्ने बताइरहेका छन् ।


    युक्रेनी सीमामा रुसले ठूलो मात्रामा सैनिकहरू एकत्रित गरेको छ । यसले तनाव बढेको हो । रुसले भने युक्रेन कब्जाको कुनै योजना नरहेको बताएको छ । अमेरिका र उसका साझेदार देशहरूको पहिलेकै चेतावनी दोहोर्‍याउँदै ब्रिटिश विदेशमन्त्रीले जी-सेभेन युक्रेनका सम्बन्धमा‘ आक्रमकताका विरुद्ध वास्तवमै कडा र बलियो रूपमा उभिन गइरहेको बताएकी छिन् । युक्रेन पूर्व सोभियत गणतन्त्र पनि हो। रुसले चाहिँ युक्रेनलाई उक्साएको आरोप लगाएको छ । उसले पूर्वतर्फ नेटोको विस्तार रोक्नुपर्ने तथा आफ्नो सीमा क्षेत्रमा हतियार र सैन्य उपस्थिति नबढाइने बारे ग्यारेन्टी खोजेको छ।

  • कांग्रेसमा आज १३४ पदमा मनोनयन दर्ता

    कांग्रेसमा आज १३४ पदमा मनोनयन दर्ता

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा चुनावी प्रंक्रिया शुरु भएको छ । यसअन्तर्गत नेतृत्व चयनको प्रक्रियामा आज मनोनयन दर्ता समेत हुँदैछ । अर्थातः उमेदवारको टुंगो आज लाग्दैछ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार बेलुका मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेका छ ।

    शनिबार केन्द्रीय सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित १३४ पदमा उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम रहेको छ । आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका छ ।


    उम्मेदवारले मनोनयन फिर्ता लिन चाहेमा आइबार बिहान ११ बजेसम्ममा फिर्ता लिन सक्नेछन् । मतदान राष्ट्रिय सभा गृह र भृकुटी मण्डपमा हुनेछ । कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता छन् ।

  • पुबुदु दसानायके दोस्रो पटक राष्ट्रिय टीमको प्रशिक्षक बने

    पुबुदु दसानायके दोस्रो पटक राष्ट्रिय टीमको प्रशिक्षक बने

    काठमाडौं । श्रीलंकन मुलका क्यानेडियन नागरिक पुबुदु दसानायके दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनेका छन् । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले शनिबार पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरेको हो । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी-२० विश्वकप खेलेको छ ।

    गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली क्रिकेट टिमले करीब तीन महिनापछि नयाँ मुख्य प्रशिक्षक पाएको हो । क्यानले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेकोमा ६० जनाले आवेदन दिएका थिए । जसमध्ये १५ जना सर्टलिस्ट गरेको क्यानले अन्तिम चरणमा पाँच जनाको अन्तर्वार्ता लिएको थियो । अब नेपालले २०२२ फेब्रुअरीमा टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।

  • कांग्रेसमा देउवा इत्तर समूहमा जुटेन सहमति, प्रकाशमानले छुट्टै दावेदारी दिने

    कांग्रेसमा देउवा इत्तर समूहमा जुटेन सहमति, प्रकाशमानले छुट्टै दावेदारी दिने

    काठमाडौं । नेपाली कांग्रेसमा सभापति देउवा इत्तर समूहले सभापतिको साझा उमेदवार खडा गर्न नसक्ने भएको छ । नेता प्रकाशमान सिंहले आज उमेदवारी दर्ता गराउने तयारी गरेका छन् । उनले नेत्री सुजाता कोइरालालाई उपसभापतिमा राखेर आफ्नो उम्मेदवारी दर्ता गराउने तयारी गरेको बुझिएको छ ।

    यसअघि देउवा इत्तर समूहले छुट्टाछुट्टै लड्दा स्वतः देउवाले जित्ने भन्दै उमेदवारी साझा बनाउन ठूलो प्रस्ताव गरेका थिए । शुक्रबार अबेरसम्मको प्रयासमा पनि प्रकाशमान सहमत नभएपछि अब साझा उमेदवार नहुने भएको हो । कांग्रेसको निर्वाचन प्रक्रिया शुरु भइसकेको छ । आजै मनोनयन दर्ता हुने छ ।

  • भारतीय सेनाका सर्वोच्च कमाण्डर बिपिन रावतसहित मृतकको गरियो अन्तिम संस्कार

    भारतीय सेनाका सर्वोच्च कमाण्डर बिपिन रावतसहित मृतकको गरियो अन्तिम संस्कार

    नयाँ दिल्ली । भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शुक्रबार अन्तिम संस्कार गरिएको छ । रावत पत्नी मधुलिका रावतको समेत एक साथ अन्त्येष्टी गरिएको छ । दिल्लीस्थित बरार स्क्वायरमा रावत दम्पित्तिका दुई छोरी कृतिका र तारिणी रावतले बुबा तथा आमालाई दागवत्ती दिएका छन् । अंतिम संस्कार सैनिक सम्मानका साथ सम्पन्न भएको छ । सो क्रममा देशका तीन वटै सैन्य संगठनको संयुक्त टुकुडीले१७ तोपको सलामी दिएर आफ्नो सर्वोच्च कमाउण्डरको बिदाई गरेको हो ।

    अन्तिम संस्कारका दौरान सेनाका सबैजसो उच्च अधिकारी त्यहाँ उपस्थित रहे । अन्तिम संस्कार अगाडी उनको शव सरकारी निवासमा राखिएको थियो । जहाँ सर्वसाधारणलाई समेत अन्तिम दर्शनको मौका दिइएको थियो । बुधबार तमिलनाडुको कुन्नूरमा भएको भयानक हेलिकोप्टर दुर्घटनामा बिपिन रावत, उनकी पत्नीसहित १३ जनाको निधन भएको थियो । दुर्घटनामा बचेका एक मात्र व्यक्ति ग्रुप क्याप्टेन वरुण सिंहको उपचार जारी छ ।

  • अब आउने सरकार गाउँदेखि माथिसम्म कांग्रेसको हुन्छ : देउवा

    अब आउने सरकार गाउँदेखि माथिसम्म कांग्रेसको हुन्छ : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनपछि गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार हुने खावि गरेका छन् । शुक्रबार पार्टीको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो दावि गरेका हुन् । आफ्नो सरकार बनेपछि जनताले ओली शासनबाट मुक्ति पाएको प्रसंग निकाल्दै उनले निर्वाचनपछि सबै तहमा कांग्रेसको सरकार हुने दावि गरेका हुन् । कांग्रेसको उत्साह कायमै राख्ने वा नराख्ने भन्ने महाधिवेशनले तय गर्नुपर्ने उनको भनाई छ ।

    यसका लागि आफुलाई निर्वाचित गराउन समेत उनले आह्वान गरे । आन्तरिक निर्वाचनका कारण आगामी चुनावमा असर गर्न नहुने भन्दै देउवाले कांग्रेसको सरकार रहिरहने उल्लेख गरे । उनले आजै टुइट गर्दै महाधिवेशनमा राष्ट्रिय आकर्षण र उत्साह देखेर आफुलाई थप जिम्मेवारी बोध भएको बताएका छन् ।

  • पूर्वराजालाई माधव नेपालको चेतावनी:’राजतन्त्र फर्किदैन्, शक्तिमा आउने भए पार्टी खोल्नुस्’

    पूर्वराजालाई माधव नेपालको चेतावनी:’राजतन्त्र फर्किदैन्, शक्तिमा आउने भए पार्टी खोल्नुस्’

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा चलखेल नगर्न चेतावनी दिएका छन् ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्‌घान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।

    नेपालले नेपालमा राजतन्त्र नफर्कने दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर राजनीतिमा आउन आग्रह गरेका गरे ।

    महाधिवेशनलाई सम्बोधन गर्दै भने, ‘राजाले पनि पार्टी खोले हुन्छ नभए व्यापार गरे हुन्छ । नेपालको रक्षा हामीले गर्न सक्छौँ । लोकतन्त्रलाई सुदृढ गर्ने काम हामी गर्न सक्नेछौँ ।’

    उनले एउटै परिवारको वंशवाद आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्रले टाउको उठाउन नखोज्न चेतावनी दिए ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राजतन्त्र आवश्यक रहेको बताएपछि जवाफ दिँदै नेपालले यस्तो चेतावनी दिएका हुन् ।

    अध्यक्ष नेपालले देशको राजनीतिमा कालो बादल मडारिएको बताएका छन् । उनले भने, ‘सावधान ! देशमा कालो मादल मडारिएको छ ।’

    राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए ।

    एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा रहेका उनले ओलीलाई इंगित गर्दै सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिले देशको राजनीतिलाई अस्थिरतामा ल्याएको आरोप लगाए ।

  • ‘नेपालका नेताको जस्तो संस्कार अन्यत्र देख्न पाइन्न’-भाजपा नेता हर्ष वर्धन

    ‘नेपालका नेताको जस्तो संस्कार अन्यत्र देख्न पाइन्न’-भाजपा नेता हर्ष वर्धन

    काठमाडौं । नेपाली कांग्रेसको १४ औँ कांग्रेसको महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन आएका भारतीय जनता पार्टीका प्रतिनिधि तथा पूर्व मन्त्री हर्ष वर्धन नेपालमा राजनीतिक दलबिचको संस्कारले धेरै पाठ सिकाउने बताएका छन् ।

    उनले नेपालमा राजनीतिक दलहरुबिचको सम्बन्ध एकदमै राम्रो भएको बताउँदै उक्त सम्बन्ध संसारका कुनै देशमा नभएको दाबी गरे । उनले भने, ‘म यस्ता धेरै राजनीतिक कार्यक्रमहरुमा सहभागी भएको छु तर देशका सबै पूर्व प्रधानमन्त्रीहरु एकै मञ्चमा यसरी कतै देखेको छैन ।’

    उनले केही अघिमात्र नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन पाएको बताउँदै त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवा ३ घन्टा बसेको प्रति पनि खुलेर प्रशंसा गरे । देशकै प्रधानमन्त्री भएर पनि पार्टीको महाधिवेशनमा त्यत्रो समय बताउनु एक दमै राम्रो भएको वर्धनले बताए ।

    उनले भने, ‘केपी ओलीजीको निमन्त्रणामा म आउन पाएको थिएँ। त्यहाँ फरक पार्टीका प्रधानमन्त्री शुभकामना दिन पुगेर ३ घन्टा बस्नु भयो। यस्तो संस्कार अन्यत्र देख्न पाइन्न ।’

    नेपाल-भारतबीच अद्भूत सम्बन्ध रहेको भन्दै उनले नेपाल संकटमा परेका बेला भारत सहयोग गर्दै आएको र आइरहने बताए । भूकम्प जाँदादेखि कोरोनाभाइरस संक्रमण महामारीका बेला पनि भारतले नेपाललाई सहयोग गरेको उनको भनाइ छ ।

    कोरोनाभाइरसविरुद्धको खोप तुरुन्त पठाएर महामारी नियन्त्रणमा नेपाललाई भारतले सहयोग गरेको भन्दै उनले दैनिक नेपाल भारतबीचको सम्बन्ध झनै घनिष्ट बन्दै गएको बताए ।

  • एमाले विभाजनपछि ओली- नेपाल र प्रचण्ड एउटै मञ्चमा

    एमाले विभाजनपछि ओली- नेपाल र प्रचण्ड एउटै मञ्चमा

    काठमाडौं । नेकपा एमाले विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली, नेकप (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक एउटै मञ्चमा देखिएका छन् ।

    तत्कालिन नेकपा भंग भएपछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित तीन समूहमा विभक्त कम्युनिष्ट पार्टीका प्रमुख नेता कांग्रेस महाधिवेशनमा शुभकामना दिन पहिलोपटक एउटै मञ्चमा भेला भएका हुन् ।

    सुरुमै प्रचण्ड र नेपाल महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेका भए पनि ओली ढिलोगरी पुगेका हुन् ।

    गत १० मंसिरमा भएको एमालेको १०औँ महाधिवेशनमा नेता नेपाल र उनको पार्टीलाई निमन्त्रण गरिएको थिएन । निमन्त्रण गरिएको माओवादी केन्द्रबाट प्रचण्ड आफू नगएर लिलामणि पोखरेललाई पठाएका थिए ।

  • ‘रामचन्द्रलाई प्रस्ताव गरे म बाधक बन्दिनँ, नभए मेरो उमेदवारी कायम रहन्छ’- विमलेन्द्र निधि

    ‘रामचन्द्रलाई प्रस्ताव गरे म बाधक बन्दिनँ, नभए मेरो उमेदवारी कायम रहन्छ’- विमलेन्द्र निधि

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउने अवस्था आए आफू बाधक नबन्ने बताएका छन्। शुक्रबार चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले गरेको कार्यक्रममा सभापतिका आकांक्षीसमेत रहेका निधिले यस्तो बताएका हुन्।

    उनले भने, ‘रामचन्द्र पौडेललाई सर्वसम्मत बनाउन सकिन्छ भने प्रयास गरौँ, सर्वसम्मति हुन्छ भने म बाधक बन्दिनँ। शेरबहादुर देउवाले रामचन्द्रलाई प्रस्ताव गरे म बाधक बन्दिनँ, नभए मेरो उमेदवारी कायम रहन्छ।’

    कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ।

  • झनै बढ्यो चिसो, काठमाडौंमा ६.५ डिग्री तापक्रम

    झनै बढ्यो चिसो, काठमाडौंमा ६.५ डिग्री तापक्रम

    काठमाडौं । देशभर चिसो झनै बढेको छ । मौसमविद्ले चिसो अझै बढ्ने भन्दै आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आह्वान गरेका छन् । चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ ।

    काठमाडौंमा आज न्यूनतम तापक्रम आज ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। बिहीबार ६ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएकाले अबको केही दिन पनि मौसम सफा हने भएको छ । आज प्रदेश(१, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भने मौसम आंशिक बद्ली हुने सम्भावना छ ।

  • धनि देशले पुनः कोरोना खोप अभाव गराउन सक्ने चिन्ता

    धनि देशले पुनः कोरोना खोप अभाव गराउन सक्ने चिन्ता

    काठमाडौं । संसारभर कोरोनाको ओमिक्रोन भाइरस तीव्र गतिमा फैलिएसँगै धनी देशले कोभिड विरुद्धको खोप भण्डारण गरि बजारमा अभाव सिर्जना गर्न सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ। बीबीसीका अनुसार यसले अझै धेरै मानिसहरूले खोप प्राप्त गर्न नसकेका राष्ट्रहरूमा खोप आपूर्ति प्रभावित हुन सक्ने सम्भावना समेत बढेको छ । ओमिक्रोन भाइरसबाट जोगिनका लागि कतिपय धनी राष्ट्रहरूले बूस्टर मात्रा सार्वजनिक गर्ने तयारी तीव्र पारेका छन्।


    हालसम्म उपलब्ध कोभिडविरुद्धका खोपहरू नयाँ भेरियन्टविरुद्ध कम प्रभावकारी रहेको भन्दै चिन्ता व्यक्त भइरहेका छन्। खोप उत्पादक फाइजर बायोएनटेकले गरेको पछिल्लो अध्ययनमा फाइजर खोपले कोभिडको मुख्य स्ट्रेनको तुलनामा ओमिक्रोनविरुद्ध एन्टिबडी उत्पादन गर्ने पाइएको छ। तर त्यो कमी बुस्टर मात्राले पूर्ति गर्ने बताइएको छ। विश्व स्वास्थ्य सङ्गठनले भने सुरुवाती मात्रा उपलब्ध गराउने कार्य नै प्राथमिकतामा पर्नुपर्ने जनाएको छ।


    डब्ल्यूएचओकी खोप सम्बन्धी निर्देशक केट ओ ब्रायनले धनी राष्ट्रहरूलाई खोप दान गर्ने कार्य जारी राख्न आग्रह गरेकी छन्। ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट हो। अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा। एन्थोनी फाउचीका अनुसार प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोन निकै सङ्क्रामक हुनसक्ने तर यसले मानिसहरूलाई तुलनात्मक रूपमा धेरै गम्भीर अवस्थामा भने नपुर्‍याएको देखिएको छ।

  • कांग्रेसको १४ औं महाधिवेशन आजबाट

    कांग्रेसको १४ औं महाधिवेशन आजबाट

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको भृकुटिमण्डपमा महाधिवेशनको उद्घाटन हुनेछ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ मूल नारा तय गरिएको छ । दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटनको कार्यतालिका छ । उदघाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने  छन् । कोरोना संक्रमणका कारण कांग्रेसले शक्ति प्रदर्शन भने नगर्ने बताएको छ ।

    तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी करिब चार हजार तीन सय प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्दैछन् एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ । ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि समेत निर्वाचन हुनेछ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।

    कांग्रेसको बन्दसत्र र निर्वाचन प्रक्रिया आजैबाट सुरु हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन शुक्रबार बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ बजेदेखि ९ बजेसम्म हुनेछ ।

  • लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    लमजुङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    लमजुङ । लमजुङमा जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका ८ भुस्मे भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

    गाउँपालिकाको वडानम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा मस्र्याङदी गाउँपालिका वडा नं. ९ भलामचौरका प्रमिसा गुरुङ, मस्र्याङदी गाउँपालिका ९ सेग्लेका गणेश भण्डारी छन् । साथै, कपिलवस्तु घर भएका शिक्षक कमल थापामगरको पनि घटनास्थलमै मृत्यु भएको छ ।

  • भारतमा अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्म प्रतिवन्ध, नेपाली यात्रु समेत प्रभावित हुने

    भारतमा अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्म प्रतिवन्ध, नेपाली यात्रु समेत प्रभावित हुने

    काठमाडौं । भारत सरकारले कोरोनाको ओमिक्रोन भेरियन्टलाई लक्षित गर्दै यात्रा प्रतिवन्ध बढाएको छ । नियमित अन्तरराष्ट्रीय व्यापारिक उडान र त्यसबाट आउने यात्रुलाई भारतमा प्रतिवन्ध लागेको छ । यस्तो प्रतिवन्ध अब ३१ जनवरी २०२२ सम्म लम्ब्याइएको छ । यसमा कार्गो उडान र अनुमति प्राप्त सबै प्रकारका उडान भने खुला हुने छन् ।

    नेपाल र भारतबीच एयर बबल स्कीम अनुसार उडान भइरहेको छ । यो अनुमति प्राप्त उडान हो । तर, यस्तो उडानमा दुबै मुलुकका नागरिक र तेस्रो मुलुकका अनुमति प्राप्त नागरिकले मात्र उडान गर्न पाउँछन् । यो प्रावधानले दिल्ली ट्रान्जिट बनाई काठमाडौं आउन चाहने नेपाली यात्रुको यात्रा तालीका समेत प्रभावित बनेको छ । कोरोनाको नयाँ भेरियन्ट देखिनु अगाडी भारत सरकारले १५ डिसेम्बरबाट नियमित उडान खोल्ने निर्णय गरेको थियो ।