Category: फिचर

  • धुलिखेल जिपलाइनमा प्रचण्ड सरर…

    धुलिखेल जिपलाइनमा प्रचण्ड सरर…

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् ।

    नाति नातिनी सहित पुगेका प्रचण्ड आफैले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् ।

    सहासिक गतिविधिमा आफुलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफुले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ ।

    सिन्धुपाल्चोकका केदार थापा र काठमाडौका भुपेश श्रेष्ठले वल्ड वाइड एड्भेन्चर प्रा. लि. मार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सन्चालनमा ल्याएका छन् ।

    जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मीटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ।

    काठमाडौबाट करिब ३५ किलोमीटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सुरु भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ।

    खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।

  • भारत, पाकिस्तान र अफगानिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा रहेका ११ मुलुकभित्र

    भारत, पाकिस्तान र अफगानिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा रहेका ११ मुलुकभित्र

    वासिंटन डिसी । नेपालका तीन छिमेकी मुलुक भारत, पाकिस्तान र अफगानिस्तान जलवायु परिवर्तनका कारण सबैभन्दा जोखिममा रहेका ११ वटा मुलुकको सूचिमा परेका छन् । समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार अमेरिकी गुप्तचर एजेन्सीको एक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनमा यी ११ मुलुक जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा पर्नेछन् । साथमा उनीहरुसँग सो समस्यासँग जुध्ने क्षमता समेत हुने छैन ।

    रिपोर्ट अनुसार भारत, अफगानिस्तान, पाकिस्तान सार्क क्षेत्रबाट संवेदनशील देशको सूचिमा परेका हुन् । खासगरी जलवायु परिवर्तनको असरसँग लड्ने पूर्वतयारी नै नगरेका कारण यी मुलुक बढी जोखिममा पर्ने कारण औल्याइएको छ । अमेरिकाको सो एजेन्सीले बताए अनुसार बढ्दो तापमानका कारण यी भेगमा भुराजनीतिक तनाव समेत बढ्ने छ । यस रिर्पोटमा भारत, पाकिस्तान, अफगानिस्तान, म्यान्मार, इराक, उत्तर कोरिया, ग्वाटेमाला, हाइटी, होन्डुरस, निकारागुआ र कोलम्बिया रहेका छन् ।

  • प्रदेश १ का मूख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत माग्दै

    प्रदेश १ का मूख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत माग्दै

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मतका लागि प्रस्ताव गर्ने भएका छन् । प्रदेशसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । बैठकमा आचार्यले विश्वासको मत माग्ने भएका हुन् । प्रस्तावमा शुक्रबार नै मतदान हुने सम्भावना भने कम रहेको नेताहरुले बताएका छन् । सोहीकारण विपक्षी दलले भने एमालेले सत्ता लम्ब्याउन चाहेको आरोप लगाएका छन् । यता, सत्तारुढ दलले भने दसैँ मनाउन गएका प्रदेशसभा सदस्य विराटनगर नफर्किएकाले प्रस्ताव आज टेबुल मात्र हुने बताएका छन् ।

    मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते संसद् सचिवालयमा सूचना दर्ता गराएका थिए । त्यसपछि संसद बैठक स्थगित गराईएको थियो । दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोहीकारण आचार्यले विश्वासको मतको सामना गर्नुपर्नेछ । उनी भदौ १० मा मुख्यमन्त्री बनेका थिए ।

    संसदको बहुमतबाट विश्वासको मत पारित नभए मुख्यमन्त्री पदमुक्त हुनेछन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ मत आवश्यक छ । तर एमालेसँग मात्र ४१ मत छ । उता, विपक्षी गठबन्धनसँग भने कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद् छन् ।

  • दुबईमा अलपत्र सात नेपालीलाई घर फर्काइयो

    दुबईमा अलपत्र सात नेपालीलाई घर फर्काइयो

    पर्सा । वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुगेर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवाको उद्धार गरिएको छ । उनीहरु घर फर्केका छन्। राससका अनुसार बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो। दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन्।

    एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए। दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका हुन्। नगरप्रमुख साहले दसैँ बिदामा दुबई घुम्न गएका बेला त्यहाँ आफ्नै गाउँका युवा अलपत्र परेको थाहा पाएपछि आफ्नो भ्रमण समयवाधि छोट्याएर उनीहरुलाई उद्धार गरी घर फर्काएका हुन्। नगरप्रमुख साहले अझै पनि आफ्नो गाउँका चार युवा दुबईमै अलपत्र परेको आफूले थाहा पाएकाले उनीहरुलाई पनि घर फर्काउन पहल गर्ने बताए।

  • ३२ जना नेपाली अझै अफगानिस्थानमा रोकिए

    ३२ जना नेपाली अझै अफगानिस्थानमा रोकिए

    काबुल । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएसँगै विदेशी नागरिक धमाधम फिर्ता भइरहेको छन् । तर, त्यहाँ अवैधानिक रुपमा पुगेका ३२ जना नेपाली भने कानूनी रुपमा नेपाल आउन नपाएपछि उतै रोकिएका छन् । बुधबार अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघका निकायमा खटिएका नेपालीको एक समुहलाई घर फर्काउन जहाज काठमाडौं आएको थियो । विमानस्थल स्रोतका अनुसार यो जहाजमा वैधानिक कागजात भएका नेपाली मात्र आउन पाएका छन् । अफगानिस्तानमा अझै ३२ जना नेपाली छन्, उनीहरुको भिसाको अवधि सकिएको छ । सोहीकारण उनीहरुले चार्टर्ड जहाजमा उडान अनुमति पाएनन् ।

    अफगानिस्तान रोकिएका ३४ मध्ये २ जना भने सोही समुहरुमा नेपाल आएको छ । दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा ३२ जना नै एक स्थानमा बसेका छन् । उनीहरुलाई बेलायती संस्था आईडीजीले संरक्षण गरेको छ । आईडीजीले नेपालबाट पनि सुरक्षाकर्मी आपूर्ति गर्छ । राष्ट्रसंघीय निकायमा कार्यरत नेपाली सुरक्षाकर्मीमध्ये ८६ जना बुधबार बिदा मनाउन काठमाडौं आएका छन् । इरानको महान एयरमा ८८ नेपाली र अन्य भारतीय नागरिक गरी १ सय ५ जना सवार रहेका थिए ।

  • कोरोनाबाट विश्वभर करीव २ लाख स्वास्थ्यकर्मीको निधन भएको डब्लूएचओको अनुमान

    कोरोनाबाट विश्वभर करीव २ लाख स्वास्थ्यकर्मीको निधन भएको डब्लूएचओको अनुमान

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले कोभिडले स्वास्थ्यकर्मीमा नराम्ररी प्रभाव पारेको बताएको छ । यस संक्रमणबाट विश्वभर ८० हजारदेखि १,८०,००० को बीचमा उनीहरूको मृत्यु भएको हुन सक्ने संगठनको अनुमान छ । सन् २०२० को ज्यानुअरीदेखि सन् २०२१ को मे महिनाको बीचमा सो सङ्ख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताएको बीबीसीले लेखेको छ ।

    खोपको अन्यायपूर्ण वितरणलाई लिएर उनले आलोचना पनि गरेका छन्। यसअघि डब्ल्यूएचओका अर्का वरिष्ठ अधिकारीले कोभिड खोपको कमीका कारण कोभिड महामारी अर्को वर्षसम्म लम्बिन सक्ने चेतावनी दिएका थिए। विश्वभरि अनुमानित १३ करोड ५० लाख स्वास्थ्यकर्मी छन्।

    विश्वका ११९ मुलुकबाट प्राप्त विवरणले विश्वभरि औसतमा पाँचजना स्वास्थ्यकर्मीमध्ये दुई जनाले मात्र कोभिड खोप लगाउन पाएको महानिर्देशक टेड्रोसले जानकारी दिए । उनका अनुसार अफ्रिकामा दशजना स्वास्थ्यकर्मीमध्ये एक जनाभन्दा कमले पूर्ण मात्रा खोप लगाउन पाएका छन् जबकि उच्च आय भएका देशमा दशमध्ये आठ जानले खोप लगाइसकेका छन्।

  • प्रकोप पिडितलाई थप राहत प्याकेज ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

    प्रकोप पिडितलाई थप राहत प्याकेज ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

    धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितलाई राहत तथा पुनस्र्थापनाको प्याकेज आउने आवश्वासन दिएका छन् । त्यसका लागि योजनाबद्ध ढंगले कार्यक्रम अगाडि बढाइने उनले बताए । बिहीबार बाढी र पहिरोले प्रभावित भएको जिल्लाहरुको भ्रमणका लागि सुदुरपश्चिममा निस्किएका प्रधानमन्त्रीले बाढीका कारण देशभरि ठूलो मात्रामा जनधनको क्षति भएकाले सरकार गम्भीर रहेको बताए । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ९ मा आयोजित कार्यक्रममा देउवाले बाढी प्रभावितलाई सम्बोधन गरिने आश्वासन दिएका हुन् ।

    उनले आफु काठमाडौं फर्किएपछि उचित सम्बोधनसहित राहत प्याकेज ल्याउने उनले बताए । प्रधानमन्त्री बिहीबार धनगढीमै बास बसेका छन् । बिहीबा दिउँसो भने उनी विभिन्न पहाडी भेगको भ्रमणमा गएका थिए । उनी नेपाली सेनाको विशेष हेलिकोप्टरमा सो भेगको भ्रमणमा गएका हुन् । उनको साथमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आलेसहितका मन्त्रीसमेत सहभागी भए । उनले आजै पहाडी जिल्ला बझाङ, डोटी, बैतडी र डडेलधुरा निरीक्षण गरेका हुन् । कञ्चनपुर पुगेका देउवाले महाकाली तटीय क्षेत्रको भने हेलिकप्टरबाट निरीक्षण गरे ।

  • दक्षिण कोरिया पनि अन्तरिक्ष होडमा, पहिलो रकेट परीक्षण

    दक्षिण कोरिया पनि अन्तरिक्ष होडमा, पहिलो रकेट परीक्षण

    सोल । अन्तरिक्ष होडमा अब दक्षिण कोरिया समेत समावेश भएको छ । दक्षिण कोरियाले देशमै निर्मित पहिलो रकेट परीक्षण गरेको हो । बीबीसीका अनुसार
    नुरी भनिने कोरियन स्याटलाइट लन्च भीइकल टु राजधानी सोल भन्दा ५०० किमी दक्षिणको गोहुङबाट प्रक्षेपण गरिएको छ । राष्ट्रपति मून जे-इनले रकेटले उडान सम्पन्न गरे पनि कक्षमा नमुना भूउपग्रह राख्ने उद्देश्य पूरा नगरेको बताएका छन्। यस्ता प्रक्षेपणहरू अन्तरिक्ष कार्यक्रमका लागि अपरिहार्य भए पनि सैन्य प्रयोगहरू समेत हुनसक्ने बताइन्छ। सैन्य प्रतिस्पर्धामा रहेका छिमेकीहरू दक्षिण र उत्तर कोरिया दुवैले हालै नयाँ अस्त्रहरूको परीक्षण गरिरहेका छन्।

    उत्तर कोरियाले सन् २०१२ मै पृथ्वीको कक्षमा भू उपग्रह छोडेको थियो। स्वदेशी रकेट नुरीको निर्माणका लागि दक्षिण कोरियाले एक अर्ब ६० करोड डलर बढी खर्च गरेको थियो। तरल इन्धनबाट सञ्चालन हुने सो रकेटको तौल २०० टन र लम्बाई ४७.२ मिटर भएको बताइएको छ। राष्ट्रपति मुनले रकेटले लक्ष्य प्राप्ति नगरेको स्वीकार गर्दै ठ्याक्कै लक्ष्य भेट्ने गरी फेरि प्रक्षेपण गर्ने बताएको समाचार संस्था रोएटर्सले जनाएको छ।

    दक्षिण कोरियाले रकेटको विश्वसनीयता बढाउन सन् २०२७ भित्र थप चार नुरी रकेटहरूको प्रक्षेपण गर्ने योजना बनाएको कोरियन एरोस्पेश रिसर्च इन्स्टिच्युटले जनाएको छ। प्रविधि क्षेत्रको शक्तिकेन्द्र मानिने दक्षिण कोरिया अन्तरिक्ष अन्वेषणको विकासमा अरू देशहरू भन्दा पछि रहेको छ। यसअघि सन् २००९ र २०१० मा रकेट परीक्षण गर्ने उसको प्रयास असफल भएको थियो। दोस्रो रकेट प्रक्षेपणको केही समयमै विस्फोट भएको थियो। दक्षिण कोरियाले सन् २०३० भित्र चन्द्रमामा यान पठाउने लक्ष्य राखेको छ।

  • बेमौसमी वर्षाले ८ मुख्य सडकमार्ग अझै अवरुद्ध,कहिले खुल्छ अझै अनिश्चत

    बेमौसमी वर्षाले ८ मुख्य सडकमार्ग अझै अवरुद्ध,कहिले खुल्छ अझै अनिश्चत

    काठमाडौं । कार्तिक महिनाको २ गते यता लगातार २ दिन पानी पर्दा १२ स्थानमा सडक पहिरो गएको छ । सडकमा पहिरो जाँदा पूर्वदेखि पश्चिम सबैतिरका सडक हाल अवरुद्ध अवस्थामा रहेका छन् । केही सडक खुल्ने अनिश्चत रहेको छ । केही सडकहरु २/४ दिनमा खुलाउने सडक विभागले जनाएको छ ।

    लगातार परिरहेको पानीले सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको भालु पहाडमा पहिरो गएको छ । उक्त सडक खण्डमा बिहीबार बिहान पहिरो जाँदा बेलहिया–भैरहवा–ब्टवल–बर्तुङ–राम्दी–स्याङ्जा–पाखेरा सडक खण्डको यात्रा अबरुद्ध हुन पुगेको छ ।

    पुष्पलाल राजमार्ग अन्तर्गत सिन्धुलीको सुर्कोट घुर्मी खण्डको अक्करे भिर तथा सोखु खोलामा पहिरो गएको छ । कार्तिक २ गते मंगलबारदेखि पहिरोका कारण बन्द सडक अझै सञ्चालनमा ल्याउन सकिएको छैन ।

    पुष्पलाल राजमर्गको ओखलढुंगाको हिलेपानी जयराम घाट हलेसीमा समेत लगातार वर्षाका कारण पहिरोले सडक बन्द अवस्थामा रहेको छ ।

    यस्तै, धनगढी–सहजपुर–वुडर–स्याउले, सतबाँझ–थाकतोली–दार्चुला–टिङ्कर दार्चुला बोडरको ३ किलोमिटर पर किम्तडीमा पहिरो गएको हो । कार्तिक २ गतेबाट बन्द अवस्थामा रहेको उक्त सडक खण्ड खुल्न अझै ३ दिन समय लाग्ने अनुमान गरिएको छ ।

    बझाङको खोड्पे–चैनपुर सडक खण्डमा जालिबगर नारुगाडमा पहिरो गएर सडक बन्द भएको छ । उक्त सडक खुलाउन २० दिन जति लाग्ने अनुमान गरिएको छ । सो सडक बन्द भएको ३ दिन भइसकेको छ ।

    लगातार वर्षाका कारण धनकुटाको लेउती खोलामा समेत पहिरो गएको छ । ७ गते लगातार वर्षापछि पहिरो गएको सो सडक ३ दिनभित्र सञ्चालनमा आउने अनुमान गरिएको छ । उक्त सडक बन्द हुँदा रानी–विराटनगर–इँटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्टार–खाँदवारी–नुम–किमाथाङ्का सडक खण्डका यात्रुहरु बाटोमै रोकिएका छन् ।

    यस्तै कार्तिक २ गते प्युठानको गनाहा चकचके खण्डमा पहिरो गएर सडक खण्ड बन्द रहेको छ । भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर–दारबोट खण्डका सडकहरु हाल अवरोध रहेका छन् । हालसम्म उक्त सडक खुल्ला गर्ने अनिश्चित रहेको सडक विभागले जनाएको छ ।

    सल्यानको अरिंग्लेफेदीमा पहिरो गएर सडक बन्द अवस्थामा रहेको छ । २ गते वर्षापछि बन्द रहेको उक्त पहिरोले अमेलिया–तुल्सिपुर–शितलपाटी–थारमारे–मुसीकोट सडकका यात्रुहरु बाटोमै बिच्ल्लीमा परेका छन् । उक्त सडक ३ दिनभित्र खुल्ने अनुमान गरिएको छ ।

    मनाङको बेंशीसहर–चामे सडकको खात्रो, निगालाघारी र दानाक्युमा पहिरो गएको छ । उक्त स्थानमा कार्तिक २ गते लगातार पानी परेपछि पहिरो गएर सडक बन्द भएको हो । उक्त सडक ४ दिनभित्र खुल्ने अनुमान गरिएको छ ।

    सिन्धुलीको कमेरे फांटमा कार्तिक २ गते पहिरो गएर सडक बन्द भएको छ । उक्त खण्डमा २ दिन भित्र सडक खुल्लाउने अनुमान गरिएको छ । उक्त पहिरोले विपी राजमार्ग अन्तर्गको वर्दिवास–सिन्धुली–खर्कोट–धुलिखेल सडक खण्ड अवरोध गरेको छ ।

    कालिकोटको हुल्म, शेरिघाट, मोल्फा, पिली, राँचुलीमा पहिरो गएको छ । कार्तिक २ गते गएको पहिरोले सुर्खेत तल्लो हुङगेश्वर–सातखम्बा–दुल्लु–पिलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक खण्डको यात्रा अवरोद गरेको छ । उत्त, सडक ३ दिन भित्र खुल्ला गर्ने अनुमान गरिएको छ ।

    चालु आर्थिक वर्षमा कुल २३९ सडकहरुमा बाढी, पहिरोले सडक अवरुद्ध भएका छन् । सो मध्ये ८ वटा सडक पूर्ण अवरुद्ध अवस्थामा रहेका छन् । १३३ सडक खण्डहरुमा एकतर्फी सडक सुचारु गरिएको सडक विभागले जनाएको छ । ९८ वटा सडकमा भने दुवैतर्फ सडक सुचारु गरिएको छ ।

  • माओवादी केन्द्रले तोक्यो ३३ विभाग र प्रतिष्ठानका प्रमुख (सूचीसहित)

    माओवादी केन्द्रले तोक्यो ३३ विभाग र प्रतिष्ठानका प्रमुख (सूचीसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ३३ वटा विभाग, सम्पर्क समिति र नीति प्रतिष्ठान गठन गरेको छ।

    बिहीवार पेरिसडाँडामा बसेको बैठकले ३३ वटा केन्द्रीय विभागलाई पूर्णता दिँदै ३५ सदस्य रहने गरि विभागका प्रमुख चयन गरेको हो ।

    प्रवक्ता कृष्णबहादुर महराका अनुसार विभागबाहेक एउटा नीति अध्ययन प्रतिष्ठान गठन भएको छ । त्यसको प्रमुख रामचन्द्र झा छन् भने स्कूल विभागको इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं छन् ।

    पूर्व सभामुख महराले राष्ट्रिय सुरक्षा विभाग र प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी पाएका छन्।

    माओवादीका विभाग प्रमुखहरू :

    सम्पर्क समिति : डिलाराम आचार्य

    नीति अध्ययन प्रतिष्ठान : रामचन्द्र झा

    अर्थ तथा योजना विभाग : वर्षमान पुन

    सङ्गठन विभाग : जनार्दन शर्मा

    विदेश मामिला विभाग : नारायणकाजी श्रेष्ठ

    प्रचार तथा प्रकाशन विभाग : कृष्णबहादुर महरा

    विपद् व्यवस्थापन विभाग : सूर्य सुवेदी (प्रस्तावित)

    उद्योग मामिला विभाग : वामदेव क्षेत्री

    कृषि तथा भूमिसुधार विभाग : हरिबोल गजुरेल

    उपभोक्ता हित संरक्षण विभाग : मातृका यादव

    कोष तथा आर्थिक विभाग : डोरप्रसाद उपाध्याय

    खानेपानी विभाग : विना मगर

    जलस्रोत तथा ऊर्जा विभाग : लीलामणि पोखरेल

    निर्वाचन विभाग : खिमलाल देवकोटा

    कानून विभाग : मुक्तिनारायण प्रधान

    पर्यटन विभाग : झक्कुप्रसाद सुवेदी

    प्रादेशिक मामिला विभाग : पर्शुराम तामाङ

    पार्टी स्कूल विभाग : गिरिराजमणि पोखरेल

    पुस्तकालय तथा अभिलेख विभाग : नारायणप्रसाद शर्मा

    भौतिक पूर्वाधार विभाग : हरि अधिकारी

    युवा तथा खेलकुद विभाग : गणेशमान पुन

    राजकीय मामिला विभाग : रेखा शर्मा

    राष्ट्रिय सुरक्षा विभाग : कृष्णबहादुर महरा

    वन तथा वातावरण विभाग : शक्तिबहादुर बस्नेत

    विज्ञान तथा प्रविधि विभाग : गणेशप्रसाद साह

    शिक्षा तथा मानवस्रोत विभाग : मायाप्रसाद शर्मा

    श्रम तथा रोजगार विभाग : रामेश्वर राय यादव

    संघीय संसदीय विभाग : देवप्रसाद गुरुङ

    समाज कल्याण विभाग : सत्या पहाडी

    सहकारी तथा गरिबी विभाग : धर्मदत्त देवकोटा

    शहरी विकास विभाग : देवेन्द्र पौडेल

    सामान्य प्रशासन विभाग : टेकबहादुर बस्नेत

    साहित्य तथा कला विभाग : गोपाल ठाकुर

    स्थानीय तह विभाग : उर्मिला अर्याल

    स्वास्थ्य तथा जनसङ्ख्या विभाग : कल्पना धमला

  • नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

    नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

    काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । ब्याजदरमा नेपाल राष्ट्र बैंकक हस्तक्षेपपछि बुधबार ६० अंकले बढेको बजार आज फेरि दोहोरो अंकले घटेको हो ।

    सूचकसँगै जस्तै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार करिब साढे २ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

    सेयर बजार मापक सूचक नेप्से आज १४.७० अंकले घटेर २५५६.९६ विन्दुमा आइपुगेको छ । यसदिन २१६ कम्पनीको २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँ बराबरको ६१ लाख ६ हजार ४५२ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने १० वटा समूह्को परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै १.३० प्रतिशतले बढेको छ व्यापार समूह २.१९ प्रतिशतले घटेको छ ।

    आज सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ । यसको २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, माछापुच्छ बैंक साढे ११ करोड र नबिल बैंक ९ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    दोहोरो अंकले घटेको बजारमा आज जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ५.८७ प्रतिशत गुमाएका छन् ।

    यस्तै, गुडविल फाइनान्स ५.०९ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंक, रैराङ हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट, फर्स्ट माइक्रोफाइनान्स, महुली सामुदायिक लघुवित्त र सेन्टर फाइनान्सको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    घट्दो बजारमा आज मेरो माइक्रोफाइनान्सको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

  • फिफा बरियताः नेपाल एक स्थान तल झर्‍यो, बेल्जियम शीर्ष स्थानमा यथावत

    फिफा बरियताः नेपाल एक स्थान तल झर्‍यो, बेल्जियम शीर्ष स्थानमा यथावत

    काठमाडौं । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ ।

    विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६९ औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल १६८ औं स्थानमा थियो ।

    दक्षिण एसियाली देशमा भारत सबैभन्दा माथि १०६औं स्थानमा रहेको छ ।

    त्यस्तै, अफगानिस्तान १५२ औं, माल्दिभ्स १५६, बङ्गलादेश १८७, भूटान १८६ पाकिस्तान १९७ औं र श्रीलङ्का २०४ औं स्थानमा रहेका छन् ।

    एसियाली मुलुकहरूमा २२ औं स्थानमा इरान, २८ औं स्थानमा जापान ३४ अष्ट्रेलिया र ३५ औं स्थानमा दक्षिण कोरिया छन्।

    नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ ।

    यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौ स्थानमा इंग्ल्यान्ड छन्। अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन्।

  • प्राकृतिक विपत्तीमा ज्यान गुमाएकाका परिवारलाई कांग्रेसले २५ हजार दिने

    प्राकृतिक विपत्तीमा ज्यान गुमाएकाका परिवारलाई कांग्रेसले २५ हजार दिने

    काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई २५ हजार रूपैयाँ दिने भएको छ । पार्टीको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले विज्ञप्ती निकाल्दै यस्तो जानकारी गराएको हो । संयोजक मोहनबहादुर बस्नेतका अनुसार बाढीपहिरोमा परेर मृत्यु भएका प्रति मृतक परिवार २५ हजार राहत उपलब्ध गराइने भएको छ । कांग्रेसले यसअघि पनि विपदमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

    संयोजक बस्नेतले बाढीपहिरो पीडितको उद्धार तथा राहतमा जुट्न सबैमा आह्वान समेत गरेका छन् । नेपालमा मंगलबारयताको बाढी र पहिरोले देशभर ठूलो मानवीय तथा भौतिक क्षति गरेको हो । यसअघि सरकारले पनि मृतक परिवारलाई २ लाख दिने निर्णय गरिसकेको छ । सरकारी सहयोगको हस्तान्तरण आजबाटै शुरु हुने भएको छ ।

  • आजबाट खुल्यो मौसम, यस्तो छ पूर्वानुमान

    आजबाट खुल्यो मौसम, यस्तो छ पूर्वानुमान

    काठमाडौं । नेपालमा आज अधिकांश स्थानमा बिहानैबाट घाम लागेको छ । तीन दिनसम्मको अविरल वर्षाले करीव १ सय मानिसको ज्यान लिएको मौसमले अब भने थामिने संकेत गरेको हो । गतराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अबको दुई\तीन दिन लगातार झरी पर्ने छैन । भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय भएसँगै नेपालमा समेत मौसम खुलेको हो ।

    अब तत्काल ठूलो वर्षाको समेत सम्भावना छैन । बिहीबार प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक, दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । ‘आजदेखि देशका धेरै ठाउँमा मौसम सफा हुने भएको हो । पानी नपरे पनि लगातारका वर्षाका कारण पहाडी भेगमा पहिरोको जाोखिम भने अझै पनि रहने भएको छ ।

  • बाढी पसेको विराटनगर विमानस्थल आज पनि नचल्ने

    बाढी पसेको विराटनगर विमानस्थल आज पनि नचल्ने

    काठमाडौं । बुधबार बाढी पसेर अवरुद्ध भएको विराटनगर विमानस्थल बिहीबार समेत नचल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार साढे ५ बजेसम्मका लागि विमानस्थल बन्द घोषणा गरेको छ । यसले करीव दुई दर्जन उडानमार्फत हरेक दिन यात्रा गर्ने सयौं यात्रु प्रभावित बनेका छन् । एयरलाइन्सहरुले आजका लागि निर्धारित सबै उडान रद्द भएको सूचना जारी गरिसकेका छन् । विराटनगर नेपालको व्यस्त विमानस्थलमध्ये एक हो । उता, बाढीका कारण सो विमानस्थलमा फसेका दुई जहाज समेत अड्किएका छन् । श्री एयरलाइन्सको एक र बुद्ध एयरको एउटा जहाज अहिले विराटनगर विमानस्थलमा रोकिएका छन् । विमानस्थल सूचारु नभएसम्म यी जहाज उड्ने छैनन् ।

  • कोरोना महामारी सन् २०२२ भर नै रहन सक्ने डब्लूएचओको भनाई

    कोरोना महामारी सन् २०२२ भर नै रहन सक्ने डब्लूएचओको भनाई

    काठमाडौं । खोप वितरणमा धनी र गरिब मुलुकबीचको असमानताका कारण कोरोना भाइरसको महामारी आगामी वर्ष समेत लम्बिन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विपन्न मुलुकले आफूलाई चाहिने कोभिड खोप नपाइरहेकाले कोभिड महामारी सोचेभन्दा एक वर्ष बढी समय रहन सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको हो । बीबीसीका अनुसार डब्ल्यूएचओस्थित वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले त्यसको अर्थ कोभिड सङ्कट सन् २०२२ को अन्त्यसम्मै लम्बिने देखिएको बताएका छन् ।

    अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोभिड खोप पाएको छ । अरू अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन्। डा. एल्वर्डले सम्पन्न देशहरूलाई खोपका लागि दिएको अर्डर छोड्न आग्रह गरेका छन् । यसले उत्पादक कम्पनीहरूले कम आय भएका मुलुकलाई प्राथमिकतामा राख्न सक्ने समेत उनको भनाई छ । सम्पन्न देशहरूले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी ७ लगायतका बैठकमा कोभिड खोप सहयोगबारे आफूहरूले जनाएको प्रतिबद्धताबारे समीक्षा गर्न आवश्यक रहेको उनले औँल्याए।

    परोपकारी संस्थाहरूको एउटा गठबन्धन द पिपुल्स च्यारिटिजले कोभिड खोपसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ। उसको तथ्याङ्क अनुसार उत्पादक कम्पनी र सम्पन्न राष्ट्रहरूले प्रतिबद्धता जनाएका कोभिड खोपका सातमध्ये एउटा मात्रा मात्रै अति गरीब देशहरूमा पुग्न सकेको छ।

  • बाढी र पहिरोबाट बुधबार मात्र ५० जनाको मृत्यु, ज्यान गुमाउने ७७ पुगे

    बाढी र पहिरोबाट बुधबार मात्र ५० जनाको मृत्यु, ज्यान गुमाउने ७७ पुगे

    काठमाडौं । पछिल्लो दुई दिनमा नेपालमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ । गृह मन्त्रालयका अनुसार यसमध्ये बुधबार मात्र ५० जनाको मृत्यु भएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् । २७ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् । बुधबार साँझसम्म सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका विपद् व्यवस्थापन महाशाखाका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एकरएक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् ।

    गएको असोज ३१ गते वर्षा हुने प्रणाली सक्रिय भई नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो । यो क्रम आज पनि जारी छ । सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । एकै परिवारका दुई जनाको निधन भएमा भने रु तीन लाख दिइनेछ । आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल १५ हजार रुपैयाँ दिइने र सोभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँ दिइने र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ ।

  • बाढी पहिरोले घर भत्किएका प्रतिपरिवारलाई ५० हजार दिने सरकारको निर्णय

    बाढी पहिरोले घर भत्किएका प्रतिपरिवारलाई ५० हजार दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी घर भत्केकाका परिवारलाई तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको छ ।

    बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले सो निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

    उनका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा २० घर भत्केका तथ्यांक प्राप्त भएको छ । यस्तै उद्धार र राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने निर्णय भएको पनि पोखरेलले बताए ।

    यस्तै अन्य कृषिबालीलगायतका क्षतीका सन्दर्भमा आवश्यक अध्ययन गरेर त्यसका आधारमा क्षतिपूर्ति दिने निर्णय भएको छ । त्यसका लागि कृषि मन्त्रालयको संयोजकत्वमा देशभर भएका क्षतिको लकत संकलन गरिनेछ ।

    यस्तै प्रधानमन्त्री पनि बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने तय भएको पोखरेलले बताए ।

  • राष्ट्र बैंकको निर्देशनको सकारात्मक प्रभावले नेपाली शेयर बजार हरियाली

    राष्ट्र बैंकको निर्देशनको सकारात्मक प्रभावले नेपाली शेयर बजार हरियाली

    काठमाडौं । साताको कारोबार चौथो दिन आज शेयर बजारमा हरियाली छाएको छ ।

    साताको कारोबारको पहिलो दिन दोहोरो अंकले बढेता पनि दोस्रोदिन ६९.५१ अंक र तेस्रोदिन ७७ ले घटेर बन्द भएको थियो ।

    बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६०.५६ अंकले घटेर २५७१.६६ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१७ कम्पनीको २ अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ रुपैयाँ बराबरको ६१ लाख १ हजार ४१४ कित्ता शेयर किनबेच भएका छन् ।

    बैंकिङ समूहको शेयर ३२ अङ्कले, विकास बैंकको एक सय ४१, होटलको ९१ फाइनान्सको एक सय २१,माइक्रोफाइनान्सको ९९ र जलविद्युत् समूहको शेयर एक सय ८ अङ्कले बढेको छ ।

    यस्तै उत्पादन समूहको शेयर एक सय २२ अङ्कले, जीवन बीमा समूहको एक सय ८९ अङ्कले, निर्जीवन बीमा समूहको दुई सय ४८ र अन्य समूहको शेयर ६३ अङ्कले बढेको छ ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएका छन् । धेरै कमाउनेमा फाइनान्स र हाइड्रोका लगानीकर्ता रहेका छन् । बुधबार तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको सर्किट लेभलले नै मूल्य बढेको छ ।

    आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड र मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे शेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

    आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर २ सय ९९ रूपैयाँ २० पैसा पुगेको छ । युनिभर्सल पावर कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय २७ रूपैयाँ ८० पैसा पुगेकाे छ ।

    मैलुङ खाेला जलविद्युतकाे शेयरमूल्य १० प्रतिशतले बढेर ४ सय २२ रूपैयाँ ४० पैसा पुगेकाे छ । यसका साथै, सिइडिबी हाइड्राेपावरकाे शेयरमूल्य ९.९९ प्रतिशत र नेशनल हाइड्राेपावरकाे शेयर मूल्य ९.९७ प्रतिशतले बढेकाे छ ।

    त्यसैगरी, बुधबार एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक शेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।

  • नेपालमा बेमौसमी बाढी पहिरोले मृत्यु हुनेकाे संख्या ४८ पुग्याे, ३१ जना बेपत्ता

    नेपालमा बेमौसमी बाढी पहिरोले मृत्यु हुनेकाे संख्या ४८ पुग्याे, ३१ जना बेपत्ता

    काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन्। विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन्।

    गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना छन्। दुई जिल्लामा पहिरोले मानवीय क्षति गराएको हो।

    यस्तै पहिरोमा परी हुम्ला, धनकुटा र पाँचथरमा ६-६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले राससलाई जानकारी दिए। पहिरोमा परेर सबैभन्दा बढी बझाङ्मा २३ जना बेपत्ता भएका छन्।

    डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन्। विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन्। असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो।

    यो क्रम आज पनि जारी छ। हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्धार कार्य जारी रहेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए।

  • यी हुन् देउवा नेतृत्व सरकारले १०० दिनमा गरेका २४ काम

    यी हुन् देउवा नेतृत्व सरकारले १०० दिनमा गरेका २४ काम

    काठमाडौं । : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ। यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी विकास, शान्ति र सुव्यवस्था तथा सुशासन कायम गरी अघि बढ्नका लागि आधारशीला खडा गरेको महसुश भएको छ।

    यो अवधिमा सरकारले गरेका धेरै कार्यमध्ये कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उल्लेखनीय देखिएको छ। देउवा सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेर कोरोनाको रोकथाम, नियन्त्रण र उपचार गरेपछि अहिले कोरोना सङ्क्रमण लगभग नियन्त्रणको चरणमा पुगेको छ।

    पछिल्लो तथ्याङ्कले कोरोना नियन्त्रण उन्मुख भएको पुष्टिसमेत गरेको छ। एकैदिन तीन लाख मात्रासम्म खोप लगाउन सक्नुलाई पनि सफलताको मापन मान्न सकिन्छ।

    प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवाले नेपाली नागरिकलाई कोभिड–१९ को प्रकोपबाट जोगाउने सरकारको पहिलो प्राथमिकता हुने उद्घोष गरेका थिए।

    सरकारले आगामी चैतसम्म खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई खोप दिइसक्ने प्रतिबद्धतासमेत जनाएको छ। सरकारले १८ वर्षमुनिका बालबालिकालाई समेत खोप दिइने सुनिश्चितता गरेको छ।

    छोटो अवधिमै वर्तमान सरकारले सफल खोप कूटनीतिमार्फत एक करोड ५० लाख खोप व्यवस्थापन गर्नुका साथै लक्षित नागरिकमध्ये ३२ दशमलव ६ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएको छ।

    सरकारले सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति, लगानीमैत्री वातावरणको सिर्जना, निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम, कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज, प्रभावकारी रुपमा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलगायत महत्वपूर्ण काम गरेको छ।

    यसैगरी, चुस्त सुरक्षा व्यवस्था, प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि, स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार, विद्युतीय लाइन विस्तार तथा विद्युत्को पहुँचमा वृद्धि, सडक तथा यातायातको पहुँच विस्तार, देशभर निःशुल्क कानूनी सहायता प्रदान गर्ने कानूनी मस्यौदा तयारलगायतका कार्यमा पनि सन्तोषजनक काम भएका छन्।

    वर्तमान सरकार गठन भएको छोटो समयमै सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको, विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको, सरकारी कागजातको ‘डिजिटल अर्काइभिङ’ सुरु गरिएको, दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि ‘डिस्टेन्स लर्निङ’को प्रक्रिया सुरु गरिएको छ।

    यस्तै क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक रु पाँच हजार भत्ता दिने निर्णय, अतिविपन्न गरिब घर परिवारलाई प्रतिघर परिवार रु दश हजारका दरले राहत दिने घोषणा, युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा, साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु पाँच लाख दिने घोषणालाई पनि वर्तमान सरकारका सकारात्मक कदमका रुपमा लिन सकिन्छ।

    कोरोनाको खोपसँगै अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई तुरुन्त जोखिम भत्ता उपलब्ध गराउने कदमलाई पनि सकारात्मक रूपमा लिन सकिन्छ।

    यो निर्णयले मुलुकभरका स्वास्थ्यकर्मीको मनोबल उच्च गराउने काम गरेको छ। कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनःरुत्थान गर्न सरकारले साझा न्यूनतम कार्यक्रममार्फत विशेष प्याकेज पनि सार्वजनिक गरिसकेको छ।

    सरकारले सीमित स्रोत, साधन र जनशक्तिले बाढी, पहिरो तथा डुबानमा परेका जनताको उद्धार, राहत तथा पुनः निर्माणमा गरेको काम, जनताको समृद्धिका लागि सरकारको साझा न्यूनतम कार्यक्रममार्फत अघि बढाएका कार्यक्रम र योजनाको कार्यान्वयन चरण, राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति महत्वपूर्ण कार्यक्रम हुन्।

    हाम्राभन्दा पनि योग्य र राम्रा मान्छे छानेर महत्वपूर्ण निकायमा नियुक्ति प्रक्रियाको थालनी भएको छ। सरकार गठनको प्रारम्भमै भएका त्यस्ता निर्णयले विकास एवं सुशासनका लागि जनमानसमा सकारात्मक सन्देश गएको छ।

    आन्दोलनमा घाइते भई यथोचित उपचार नपाएकाको उपचार व्यवस्था, अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्ने योजना अघि बढेको छ।

    सङ्कटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेरोजगार आदिको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने कार्यक्रमले कोभिड सङ्कटले थला परेका बेला अर्थतन्त्रले सन्तोषको सास फेर्ने वातावरण सिर्जना भएको छ। कोरोनाबाट प्रभावित पेसा-व्यवसाय र सर्वसाधारणका लागि कार्यक्रमअनुसार बजेट विनियोजन भइसकेको छ।

    युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रमसमेत घोषणा भएको छ। यो कार्यान्वयनमा आएपछि विद्यार्थी र महिलाका लागि उद्यमशीलताको ढोका खुल्ने मात्र होइन सँगसँगै आत्मनिर्भरता पनि वृद्धि गर्नेछ।

    यसरी नै अफगानिस्तानमा तालिवानको पुनरोदयपछि सङ्कटमा परेका आफ्ना नागरिकलाई समयमै सकुशल उद्धार गर्न सरकार सफल भएको छ।

    खासगरी विकास निर्माण र मुलुक समृद्धिको आधार तय गर्नुका साथै पूर्ववर्ती सरकारका गतिविधिले सङ्कटमा परेको संविधान, संसद् र लोकतन्त्रलाई सही ट्रयाकमा ल्याउनु नै यस सरकारको प्रमुख उपलब्धिका रुपमा लिन सकिन्छ।

    वर्तमान सरकारले आर्थिक कूटनीतिका माध्यमबाट नेपालमा खोप भित्र्याएको मात्र नभएर वैदेशिक लगानीका लागि पनि लगानीमैत्री वातावरण निर्माणको नीति लिएको छ। उता सन्तुलित र सफल परराष्ट्र नीतिका लागि सरकार अग्रसर भएको छ।

    जस्तो कि अघिल्लो सरकारका समयमा सहज बन्न नसकेको देखिएको नेपाल भारत सम्बन्धमा सुधारका प्रयास सरकारले थालेको छ। यसका लागि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमण होस् या भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणामा हालै नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वको नेपाली कांग्रेसको टोलीले भारतको भ्रमण गरेको विषयलाई पनि लिन सकिन्छ।

    परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मङ्गलबार मात्र द्विपक्षीय फोनवार्ता भएको छ। त्यस क्रममा नेपाल चीन सम्बन्धका धेरै आयामका साथै व्यापार र अन्य साझेदारीका विषयमा पनि कुराकानी भएको छ।

    यसलगत्तै हिजो नै चीनले नेपाललाई अनुदानस्वरुप कोरोनाविरुद्धको २० लाख डोज खोप दिने प्रतिबद्धता सार्वजनिक गरेको छ। यसरी नेपाल सरकारले भारत र चीनसँग असल छिमेकी सम्बन्धका रुपमा अघि बढ्ने नीति अख्तियार गरेको छ।

    यी हुन सचिवालयले सार्वजनिक गरेका सरकारका काम

    १) सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति
    २) सफल खोप कुटनीति
    ३) एक करोड ५० लाख खोप व्यवस्थापन
    ४) लक्षित मध्य ३२ दशमलव ६ प्रतिशतले पूर्ण खोप लगाए
    ५) लगानीमैत्री वातावरणको सृजना
    ६) नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम
    ७) कोभिडको मारमा परेका उद्योगी–व्यावसायीलाई राहत प्याकेज
    ८) प्रभावकारी रुपमा कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन
    ९) चुस्त सुरक्षा व्यवस्था
    १०) प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
    ११) राजस्व संकलनमा उल्लेख्य वृद्धि
    १२) स्टार्टअप व्यावसायलाइ प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार
    १३) विद्युतीय लाइन विस्तार तथा विद्युतको पहुँचमा वृद्धि
    १४) सडक तथा यातायातको पहुँच विस्तार
    १५) देशभर निःशुल्क कानुनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार
    १६) सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको
    १७) विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको
    १८) सरकारी कागजातहरुको डिजिटल अर्काइभिङ सुरु
    १९) दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि डिस्टन्स लर्निङको प्रक्रिया सुरु
    २०) प्रकृतिक विपत्तिमा तत्काल रेस्पोन्स
    २१) क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय
    २२) अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाँका दरले राहात दिने घोषणा
    २३) युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा
    २४) साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन स्वरुप जनही रु ५ लाख दिने घोषणा

  • मनसुन सकिएपछि आएको वर्षाले देशभर ३० को मृत्यु, ३२ बेपत्ता

    मनसुन सकिएपछि आएको वर्षाले देशभर ३० को मृत्यु, ३२ बेपत्ता

    काठमाडौं । मनसुन सकिएपछि देशभर आएको विनासकारी वर्षाले ३० जनाको मृत्यु भएको छ । यो तथ्यांक बुधबार बिहानसम्मको हो । यस अवधिका ३२ जना बेपत्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ । देशका विभिन्न जिल्लामा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मंगलबार मात्र ३० जनाको मृत्यु भएको हो । घटनामा ३२ जना बेपत्ता र १२ जना घाइते रहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक छ । केन्द्रका अनुसार बैतडीको मंगलबार राम पार्कीको घर भत्किँदा दुई महिला र एक बालकको पुरिएर मृत्यु भएको छ । बैतडीमा सुर्नैया गाउँपालिका ५, विष्टपालीमा पहिरो जाँदा ७१ वर्षीया पारुदेवी महराको मृत्यु भएको छ । घटनामा दुई जना घाइते छन् । धनकुटास्थित चौविसे गाउँपालिका१, गेडेरेमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । घरभित्र रहेका १२ जनामध्ये ६ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । डोटीको शिखर नगरपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिकामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र दुई घाइते छन् । प्रहरीका अनुसार जोरायल गाउँपालिका ३ मा जोगी सार्कीको घर पहिरोले पुरिँदा ६३ वर्षीय उनको मृत्यु भएको छ । वडा नं.४ मा शेरबहादुर विकसहित उनको परिवारका ४ जनाको मत्यु भएको तथ्यांक छ । शिखर नगरपालिका११ मा ३६ वर्षीया मन्धरा बलायर बाटोमा हिँडिरहँदा माथिबाट ढुंगासहितको पहिरो खस्दा उनको मृत्यु भएको छ । सायल गाउँपालिका ५ मा हिरुवा लोहारको मृत्यु भएको छ । उनको घरमा दुई जना घाइते छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका५, खरेलमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता छन् । इलाममा पहिरो जाँदा तीन जनाको मृत्यु र ५ जना बेपत्ता छन् । दउमाईमा खोलाले बगाउँदा ४५ वर्षीया सरिता आचार्यको मृत्यु भएको छ । फाकथोक थुङ गाउँपालिका१, ठिंगुरेमा घर पुरिँदा २ जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । सल्लेरीमा पहिरो जाँदा चार जना बेपत्ता छन् । पाँचथरमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । फाल्गुनन्द गाउँपालिका ३ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र ६ जना घाइते छन् । कुम्बाक गाउँपालिका १, लाक्टोपामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । फिदिम ४, जोरसालमा पनि दुई जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपािलका ५ मा एक जनाको मृत्यु भएको छ । उदयपुरमा बाढीले एक जना बगाएको छ । त्रियुगा नगरपालिका ५, खोरिया खोला तर्ने क्रममा ४० वर्षीया टुकबहादुर खड्कालाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • धनकुटामा घर भत्किदा ६ जनाको मृत्यु

    धनकुटामा घर भत्किदा ६ जनाको मृत्यु

    धनकुटा । पहिरोका कारण धनकुटामा घर भत्किदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।  मंगलबार राति खसेको पहिरोमा परि ६ जना घाइते छन् 
    मृत्यु हुनेमा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा भेषबहादुर श्रेष्ठ, लीला श्रेष्ठ, गणितकुमारी श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, उषा श्रेष्ठ र सञ्जाल श्रेष्ठ छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

  • विराटनगर विमानस्थलमा बाढी पस्यो, सबै उडान रद्द

    विराटनगर विमानस्थलमा बाढी पस्यो, सबै उडान रद्द

    विराटनगर । अविरल वर्षापछि आएको बाढी विराटनगर विमानस्थलमा पस्दा विमानस्थल पुरै डुबानमा परेको छ । नेपाल नागरिक उड्डयन कार्यालयका अनुसार अहिले  विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएकाे छ।

    बुद्ध एयरले विराटनगरको बुधवारका सवै उडान रद्द गरेको जानकारी गराएको छ । यतिको समेत सबै उडान रद्द भएको छ ।  यो विमानस्थल सन २०१७ मा पनि डुबानमा परेको थियो ।

  • आजबाट पुर्बी नेपालमा भारी वर्षा, यस्तो छ मौसम पुर्वानुमान

    आजबाट पुर्बी नेपालमा भारी वर्षा, यस्तो छ मौसम पुर्वानुमान


    काठमाडौं । नेपालमा जारी भारी वर्षाले आजबाट पुर्बी नेपालमा बढी प्रभाव देखाउने भएको छ । वर्षा  अझै केही दिन कायम रहने र क्रमश पश्चिमबाट पुर्वतर्फ सर्ने क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी गराएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

    महाशाखाका अनुसार बुधबार पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको थियो । आज वर्षा पूर्वी नेपालमा सरेको छ । यद्यपि पश्चिममा पनि हल्कादेखि मध्यम वर्षा कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज बुधबार प्रदेश प्रदेश १, २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरू र अन्य प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । जसमध्ये प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुनेछ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    भारी वर्षा हुने स्थानमा बाढीको सम्भावना हुने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेतसमेत गराएको छ ।

  • परराष्ट्र मन्त्री र चिनियाँ समकक्षीबिच वार्ता, थप २० लाख डोज खोप अनुदान दिने

    परराष्ट्र मन्त्री र चिनियाँ समकक्षीबिच वार्ता, थप २० लाख डोज खोप अनुदान दिने


    काठमाडौं । चीन सरकारले नेपाललाई थप २० लाख डोज  कोरोनाविरुद्धको खोप अनुदानमा दिने भएको छ । परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच मङ्गलवार भएको टेलिफोन वार्ताका क्रममा चीनले यस्तो घोषणा गरेको हो । चिनियाँ विदेश मन्त्री वाङले थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप नेपाललाई दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
    चीनले नेपाललाई यसअघि २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने सिनोभ्याक्सको १० लाख मात्रा उपलब्ध गराउने वचन दिएको छ ।
    आज भएको एक घण्टा लामो फोन वार्तामा द्विपक्षीय सहयोग, वाणिज्य, व्यापार, विकास निर्माण लगायतका क्षेत्रमा मिलेर अघि बढ्ने र यसका लागि चीनले सहयोग गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
    परराष्ट्र मन्त्री खड्काले चीनमा पढ्न जाने विद्यार्थी जान नपाएको, चीनबाट नेपालमा सामान कम मात्रामा ढुवानी भइरहेको, नाका सहज बनाउनुपर्ने, चीनसँग नियमित हवाई उडान हुनुपर्ने लगायतका विषय उठाएका थिए ।  सबै विषयमा मिलेर अघि बढ्न सकिने चिनियाँ विदेश मन्त्री वाङको भनाइ थियो ।

  • नेपालमा बाढी र पहिरोले ठूलो जनधनको क्षती, बझाङमा दुई दर्जन मानिस बेपत्ता

    नेपालमा बाढी र पहिरोले ठूलो जनधनको क्षती, बझाङमा दुई दर्जन मानिस बेपत्ता

    काठमाडौं । नेपालमा जारी वर्षा र त्यसले उत्पन्न गरेको बाढी-पहिरोका कारण ठूलो जनधनको क्षती भएको छ । सरकारी अधिकारीहरुले कम्तीमा ६ जनाको मृत्यु भएको पुष्टि  गरेका छन् । बझाङमा दुई दर्जन मानिस बेपत्ता भएको खबर आएको छ ।

    सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा एउटै गाउँका २२ जना पहिरोमा हराइरहेको स्थानीय तहबाट रिपोर्ट सार्वजनिक भएको छ । प्रहरी पुगिनसकेका कारण यकिन विवरण आइसकेको छैन । बिबिसीले गृह मन्त्रालय अन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेलाई उदृत गर्दै लेखे अनुसार डोटी र सुनसरीमा दुई-दुई जना र कालिकोट अनि डडेलधुरा जिल्लामा एक एक जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।
    अन्य पाँच जना घाइते भएको बताइएको छ।
    प्रहरीका अनुसार सुदुरपश्चिममा पहाडी जिल्ला जोड्ने लगभग सबै सडकहरू अवरुद्ध छन्। महेन्द्रनगरमा बढी डुबान देखिएको र महाकाली नदीमा पानीको सतह खतराको विन्दुमा पुगेको छ ।

    महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ओदालीस्थित निर्माणाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा क्षति पुर्‍याएको छ।

    त्यसबाहेक बैतडी जिल्लामा सेती नदीको किनारमा रहेको एउटा गाउँ जोखिममा रहेको विवरण आएपछि करिब ६० जनाको प्रहरी टोली घटनास्थलमा गएको छ ।
    बझाङ जिल्लाको सदरमुकाम समेत बाढीले प्रभावित भएको छ र त्यहाँको बसपार्कमा नदी पसेको छ ।
    बझाङ जिल्लाको थलहरा गाउँपालिका वडा नम्बर ४ मा पहिरोमा परी २२ जना हराइरहेको खबर गृह मन्त्रालयमा आएको छ ।
    डडेलधुरा र कञ्चनपुरमा महाकाली नदीमा फसेका गरि नौ जनाको सकुशल उद्धार गरिएको छ ।

  • रुबी खानले अनसन तोडिन्, माग सम्बोधन गर्न छानबिन समिति गठन

    रुबी खानले अनसन तोडिन्, माग सम्बोधन गर्न छानबिन समिति गठन

    काठमाडौं । रुबी खानले सरकारसँग माग सम्बोधनको सहमतिभएपछि अनसन तोडेकी छिन् ।

    उनका माग सम्बोधन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेपछि खानले अनसन तोडेकी हुन् ।

    उनलाई मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएका छन्।

    खानले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाहरूको जित भएको बताइन्।

    बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १५ जनाको टोली २० दिन हिँडेर काठमाण्डु आएको थियो । काठमाण्डु आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुबीले आमरण अनशन थालेकी थिइन् ।

    बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको थियो ।

  • रोकिएन नेपाली शेयर बजारको पहिरो, परिसूचक २५ सय विन्दु नजिक

    रोकिएन नेपाली शेयर बजारको पहिरो, परिसूचक २५ सय विन्दु नजिक

    काठमाडौं । साताको कारोबारको तेस्रोदिन पनि शेयर बजारमा पहिरो गएको छ । पहिलो दिन दोहोरो अंकले बढेता पनि दोस्रोदिन ६९.५१ अंकले घटेर बन्द भएको थियो । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७७.३३ अंकले घटेर २५१०.७३ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२१ कम्पनीको ३ अर्ब ७७ करोड ७७ लाख ९३ हजार ६६६ रुपैयाँ बराबरको ९५लाख ७२ हजार १६ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्स र हाइड्रोका लगानीकर्ता रहेका छन् ।

    बैंकिङ समूहको शेयर ५१ अङ्कले, विकास बैंकको एक सय ९४, होटलको ८८, फाइनान्सको एक सय १२, माइक्रोफाइनान्सको एक सय ३५ र जलविद्युत् समूहको शेयर एक सय १७ अङ्कले घटेको छ ।

    यस्तै उत्पादन समूहको शेयर एक सय ७५ अङ्कले, जीवन बीमा समूहको चार सय २८ अङ्कले, निर्जीवन बीमा समूहको तीन सय १४ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ ।

    आजको कारोबारमा पनि ७ कम्पनीका लगानीकर्ताले भने कमाएका छन्। तर, १७८ कम्पनीका लगानीकर्ता भने आजको कारोबारबाट निराश बन्नु परेको छ। दुई वटा कम्पनीको मूल्यमा भने परिवर्तन आएको छैन।

  • अफगानिस्तानका लागि अमेरिकी उच्च दूतले त्यागे पद, कारण के हो ?

    अफगानिस्तानका लागि अमेरिकी उच्च दूतले त्यागे पद, कारण के हो ?

    काबुल । अफगानिस्तानका लागि अमेरिकी उच्च दूतले आफ्नो भूमिका परित्याग गरेका छन् । बिबिसीका अनुसार अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता भएको दुई महिना पनि नहुँदै जालमाई खलिलजादले राजीनामा दिन लागेका हुन्। खलिलजादले तालिबानसँग हुने गरेका वार्ताहरूमा अमेरिकाको नेतृत्व गर्दै आएका थिए।यद्यपि महिनौँयताको कूटनीतिक वार्ताहरूले तालिबानलाई सत्ता कब्जा गर्नबाट रोक्न  नसकेको आरोप उनिमाथी लाग्छ ।

    राजधानी काबुलमाथि कब्जा गरेपछि गत अगस्टमा तालिबानले अफगानिस्तानमाथि पूर्ण रूपमा नियन्त्रण कायम गरेका थिए।सोमवार राजीनामाबारे एउटा वक्तव्यमार्फत्‌ घोषणा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले खलिलजादको पत्रलाई उद्धृत गर्दै भनेका छन्, “अमेरिकी नागरिकहरूलाई दशकौँ सेवा गर्न पाएकोमा म आभार व्यक्त गर्न चाहन्छु।
    ब्लिन्केनका अनुसार उक्त जिम्मेवारी अब थोमस वेस्टले सम्हाल्नेछन्। ब्लिन्केनलाई लेखेको पत्रमा खलिलजादले अफगान सरकार र तालिबानबीच गरिएको राजनीतिक व्यवस्थापन “परिकल्पना गरिए अनुरूप अगाडि बढ्न नसकेको” पनि स्वीकार गरेका छन्।

    “त्यसो हुनुका कारण एकदमै जटिल छन् र आउँदा दिन एवं साताहरूमा त्यसबारे म आफ्ना विचारहरू राख्ने नै छु,” पत्रमा उल्लेख गरिएको छ।

    अमेरिका अफगानिस्तान नीतिको “नयाँ चरणमा प्रवेश गर्न लागेकाले” आफूले पदबाट राजीनामा दिएको खलिलजादले बताएका छन्।

    अफगान नागरिकहरूले अहिलेको अवस्था देख्नु परेकोमा आफू “दुःखी” भएको उनले उल्लेख गरेका छन्।

    अफगानिस्तानमा जन्मेका ७० वर्षीय खलिलजाद काबुलमा हुर्किएका थिए। उनी लामो अनुभव भएका अमेरिकी कूटनीतिज्ञ हुन्। उनले पूर्वराष्ट्रपतिहरू डोनल्ड ट्रम्प, बराक ओबामा र जर्ज डब्ल्यू बुशको कार्यकालमा पनि काम गरेका छन्।