Category: फिचर

  • आज दशैको अन्तिम दिन, कोजाग्रत पुर्णिमा मनाइदै

    आज दशैको अन्तिम दिन, कोजाग्रत पुर्णिमा मनाइदै

    काठमाडौं । मंगलबार दशैको अन्तिम दिन अर्थात, कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गर्ने दिनका रुपमा कोजाग्रत पुर्णिमालाइ मनाउने प्रचलन रहेको छ ।५ दिन सम्म दशैको टीका जमरा लगाउने प्रचलन रहेको स्थानमा आज अन्तिम दिन टीका र जमरा लगाइन्छ ।

    आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पुर्णिमाका दिन पूरा हुन्छ ।आज बेलुकी सबै बलिपूर्ति नभएसम्म देवीको प्रसादको रुपमा टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ ।

    कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडादशैं सकिन्छ । कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत एवं कात्तिके स्नान भने बुधबारदेखि सुरु हुने समितिले जनाएको छ ।

  • म्यानमारले एकसाथ ५ हजार जनालाई रिहा गर्ने

    म्यानमारले एकसाथ ५ हजार जनालाई रिहा गर्ने

    काठमाडौं । म्यान्मारमा देशको शासनसत्ता सेनाले लिने कदमको विरोध गर्दा पक्राउ परेका साढे पाँच हजारभन्दा बढी मानिसलाई मुक्त गरिने भएको छ । बीबीसीका अनुसारसैन्य सरकारले यस्तो घोषणा गरेको हो । गत फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि रक्तपातपूर्ण विरोधप्रदर्शनहरू भएका थिए। त्यस क्रममा हजारौँ मानिसहरू पक्राउ परेका थिए भने सयौँ जनाको मृत्यु भएको थियो।

    म्यान्मारका सैन्य नेता जेनरल मिन ओङ ह्लाइङले मानवीय कारणले ५,६३६ बन्दीलाई रिहा गरिने बताएका छन्। सेना प्रमुखलाई राजनीतिक सङ्कट अन्त्य गर्नका लागि पर्याप्त कदम नचालेको भन्दै एउटा वार्षिक क्षेत्रीय सम्मेलनमा आमन्त्रण नगर्ने निर्णय गरिएको केही दिनमा नै यस्तो घोषणा भएको हो। दक्षिण पूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान)ले जेनरल मिन ओङ ह्लाइङको सट्टा म्यान्मारबाट एकजना गैरराजनीतिक व्यक्तिलाई निम्तो गर्ने निर्णय गरेको थियो।

    एउटा निगरानी समूहका अनुसार म्यान्मारमा आङ सान सू चीलाई सत्ताबाट हटाइएपछि गरिएको दमनका क्रममा कम्तीमा १,१७८ जनाको मृत्यु भएको छ भने ७,३५५ जनलाई पक्राउ गर्नेदेखि अभियोग लगाउने र सजाय दिने काम भएको छ। सेना प्रमुख मिन ओङ ह्लाइङले अक्टोबर महिनाको अन्त्यतिर पर्ने एउटा महत्त्वपूर्ण बौद्ध पर्वलाई ध्यान दिएर उनीहरूलाई रिहा गरिन लागेको बताएकाछन् ।

  • भारतको उत्तराखण्डमा तीन नेपाली श्रमिकको मृत्यु

    भारतको उत्तराखण्डमा तीन नेपाली श्रमिकको मृत्यु

    उत्तराखण्ड । भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर तीन नेपाली श्रमिकको ज्यान गएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार घटनामा दुईजना घाइते छन् । जिल्लाधिकारी विजयकुमार जोगदान्डेका अनुसार होटल निर्माणमा खटिएका श्रमिकहरु समखल भन्ने स्थानमा टेण्टमा बसेका थिए । लगातारको वर्षाका कारण माथिल्लो भागबाट जमिन खस्दा उनीहरु पुरिएको संचारमाध्यमले लेखेका छन् । घटनामा घाइते दुईजनालाई अस्पताल भर्ना गरिएको छ । राज्य सरकारले मौसममा सुधार नआउँदासम्म हिमालय क्षेत्रका मन्दिरमा नजान आग्रह गरेको छ ।

  • हाईटीमा १६ अमेरिकन र एक क्यानिडियन नागरिकको अपहरण

    हाईटीमा १६ अमेरिकन र एक क्यानिडियन नागरिकको अपहरण

    काठमाडौं । हाइटीमा १६ जना अमेरिकन र एक जना क्यानेडिन धर्म प्रचारक (मिसनरी)को अपहरण भएको छ । अपहरण अत्यन्तै शक्तीशाली अपराधी गिरोहबाट भएको हुन सक्ने अनुमान गरिएको छ । अपहरण यही सप्ताहन्तमा गरिएको क्यारेबियन देशका सुरक्षा निकायको हवाला दिदै संचार संस्था सि एन एन ले जनाएको छ । अपहरणमा ‘४०० मोवजो’ नामक अपराधीक समुहले मिसनरीहरु शनिबार एक स्थानिय अनाथालयमा गएको समय पारी अपहरण गरिएको सुरक्षा निकायले जनाएको छ ।

    अनाथालयदेखी तितान्यन नामक शहर तर्फ जाँदै गर्दा त्यो समुहका मानिसले बाटोमा गाडी रोकी बन्दुक देखाएर अपहरण गरेका हुन्न् । गत जनबरीदेखी यता मात्र हाईटीमा २६ जना विदेशी सहित ६ सय २८ जनालाई अपहरण गरीएको छ । शनिबार गरिएको अपहरणमा पनि उक्त्त समुहले २० हजार अमेरिकि डलर फिरौती माग गरेको सुरक्षा निकाय श्रोतले जनाएको छ ।

  • अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावलको निधन

    अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावलको निधन

    काठमाडौं । अमेरिकी पूर्वविदेश मन्त्री कोलिन पावलको ८४ बर्षको उमेरमा निधन भएको छ । पावलको पारिवारिक श्रोतका अनुसार कोभिड संक्रमण पछी स्वास्थमा आएका जटिलाका कारण उनको निधन भएको हो । पावलको सोमबार बिहान निधन भएको उनको परिवारले फेसबुकमा लेखेको छ । उनको पारिवारिक श्रोतले फेशबुकमा लेखेको छ, ‘हामीले सम्झन लायक र प्रिय पती पिता र एक सच्चा अमेरिकनलाई सदाको लागि गुमाएका छौ ।’


    आर्मी जनरलदेखी अमेरिकि बिदेश मन्त्रीका रुपमा काम गरेका पावल तत्कालिन अवस्थाका निकै प्रभाबशाली राजनीतिज्ञ मानिन्छन । अश्वत समुदायबाट पहिलो पटक बिदेशमन्त्री बन्दै ईतिहास रचाएका पावलक कारण सन् २०२० र २०२१ का केही बर्षमा अमेरिकि बिदेश नितीले एउटा स्पस्ट चित्र तयार गर्न मद्दत गरेको विश्वास अमेरिकामा छ । उनले तत्कालिन अवस्थामा रिपब्लिकन पार्टीका केही प्रसाशनमा काम गरेका थिए ।

  • नेपालमा थप ५९१ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

    नेपालमा थप ५९१ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५९१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ५४ पीसीआर परीक्षण गर्दा ५२३ जना र २०४३ एन्टिजेन परीक्षण गर्दा ६८ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण भाइरस संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५ हजार ५६० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८२ हजार ३९३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ११ हजार ८७४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार २ सय ९३ पुगेको छ ।

  • रोकिएन नेपाली शेयर बजारको पहिरो, एकैदिन नेप्से ६९ अंकले घट्यो

    रोकिएन नेपाली शेयर बजारको पहिरो, एकैदिन नेप्से ६९ अंकले घट्यो

    काठमाडौं । साताको कारोबारको दोस्रो दिन शेयर बजारमा पहिरो गएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.५१ अंकले घटेर २५८७.४५ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१८ कम्पनीको २ अर्ब ९६करोड ६८ लाख ९९ हजार ७९० रुपैयाँ बराबरको ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्स र हाइड्रोका लगानीकर्ता रहेका छन् ।

    बैंकिङ समूहको शेयर ३८ अङ्कले, विकास बैंकको एक सय ६७, होटलको ८८, फाइनान्सको ९८, माइक्रोफाइनान्सको एक सय ८५ र जलविद्युत् समूहको शेयर एक सय दुई अङ्कले घटेको छ ।

    यस्तै उत्पादन समूहको शेयर एक सय ७७ अङ्कले, जीवन बीमा समूहको तीन सय ५८ अङ्कले, निर्जीवन बीमा समूहको चार सय २७ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ ।

    आज दुई सय १८ कम्पनीको शेयर कारोबार भएकोमा १० वटाबाहेक सबैको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर १० प्रतिशतले घटेको छ ।

  • पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

    पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

    न्युयोर्क

    अमेरिकास्थित पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन् । मुत्र नलीमा सँक्रमण भई रगतमा फैलिएपछि क्लिन्टनलाई अस्पताल भर्ना गरिएको चिकित्सकको हवाला दिदै समाचार संस्था सिएनएनले जनाएको छ । पूर्व राष्ट्रपति क्लिन्टनको अहिले युनिभर्सिटी अफ क्यालिफोर्निया अर्भिङ मेडिकल सेन्टरको आईसीयुमा भर्नागरी उपचार भैरहेको छ । क्लिन्टनलाई तरल रुपमा एन्टिबायोटिक दिईरहेको चिकित्सकद्वारा बिहीवार जारी बिज्ञप्तिमा जनाईएको छ ।
    क्लिन्टनका निजी चिकित्सकले उनलाई आईसियुमा भर्ना गर्नै पर्ने भएर नगरिएको, तर सुरक्षा र गोप्यताको लागि भर्ना गरेर उपचार गरिएको जनाएका छन् ।
    अस्पताल जानु अगाडि पूर्व राष्ट्रपति क्लिन्टन आफ्नो निजी फाउण्डेसनको एक कार्यक्रममा क्यालिफोर्नियामा नै भएको अवस्थामा अकस्मात सन्चो नभएपछि उनलाई अस्पताल लगिएको थियो । अहिले क्लिन्टनको अवस्था स्थिर रहेको र एन्टिबायोटिकले राम्रो काम गरेको बताईएको छ । चिकित्सकहरुले पूर्व राष्ट्रपति क्लिनटनलाई छिट्टै घर पठाईने बताएका छन् ।

    #photo:ABC27

  • अमेरिकामा राष्ट्रपति बाइडेनको पार्टी डेमोक्र्याटिकप्रति घट्दो विश्वास

    अमेरिकामा राष्ट्रपति बाइडेनको पार्टी डेमोक्र्याटिकप्रति घट्दो विश्वास

    न्युयोर्क

    अमेरिकामा डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति चुनिएको १ बर्ष पुरा नहुँदै बहुसंख्यक अमेरिकी जनता रिपब्लिकन पार्टी नै ठीक भन्न थालेका छन् । गत नोभेम्बरमा अत्यन्त बिवादास्पद पृष्‍ठभुमी र चरित्रका देखाएका रिपब्लिकन पार्टीका तात्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक पार्टीको तर्फबाट बर्तमान राष्ट्रपति जो बाइडेनले बिजय हासिल गरेको एक बर्ष पुरा नहुँदै अमेरिकी जनता रिपब्लिकन तर्फ मोडिने संकेत गर्न थालेका हुन । उक्त कुरा अमेरिकी राजनीतिको सर्बेक्षणमा अब्बल मानिएको ग्यालपले प्रकाशित गरेको नयाँ आँकडाले बताएको हो । ग्यालपको नयाँ सर्बेक्षणका अनुसार अन्तर्रास्ट्रिय खतराबाट सुरक्षाका लागि ५४ प्रतिशत्त अमेरिकीले रिपब्लिकन ठीक भनेका छन् भने ३९ प्रतिशत अमेरिकीले मात्र डेमोक्र्याटिक पार्टीलाई विश्वाश गरेका छन्।
    अमेरिकी सुख भोगका लागि ५० प्रतिशत अमेरिकीले रिपब्लिकनलाई विश्वास गरेका छन् भने ४१ प्रतिशतले मात्र यो बिषयमा डेमोक्र्याटिक पार्टी ठीक भनेको ग्यालपको नयाँ सर्बेक्षणले जनाएको छ । यि दुबै बिषयमा आएको सर्बेक्षणको नतिजा रिपब्लिकन पार्टीका लागि सन् २०१५ र २०१४ पछाडिको सबैभन्दा उच्च भएको ग्यालपले जनाएको छ ।
    सर्बेक्षण गत सेप्टेम्बर १ देखि १७ भित्र गरिएको हो ।

  • मुगु बस दुर्घटनामा ३२ को मृत्‍यु

    मुगु बस दुर्घटनामा ३२ को मृत्‍यु

    काठमाण्डौ
    मुगुमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको नयाँ पत्रीका दैनिकका  लागि मुगुबाट अच्युत राज भण्डारीले लेखेका छन् ।  मृतकमध्ये २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप चारजनाको उद्धार गरी रारा विमानस्थलमा पुर्‍याई जहाजमा राख्ने क्रममा र चारजनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) चित्रबहादुर भट्टराइले जानकारी दिएको पनि नयाँ पत्रीकाको उक्त रिपोर्टमा जनाईएको छ ।  

    घाइतेमध्ये तीनजनालाई हेलिकाेप्टर र १२ जनालाई हवाई जहाजमार्फत उपचारका लागि पठाइएकोमा थप चारजनाको अस्पतालमा मृत्यु भएको हो। डिएसपी भट्टराईका अनुसार कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा एक र नर्सिङहोममा थप तीनजनाको मृत्यु भएको हो। 

    नेपालगन्जदेखि मुगु सदरमुकाम आउँदै गरेको भे.१ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो करिब १ बजेतिर छायानाथ रारा नगरपालिका– ७ तपने खोलामा दुर्घटना भएको थियो। बस सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो। दसैँ मनाउन घर फर्केका स्थानीय बासिन्दा घर पुग्न नपाउँदै दुर्घटनामा परी ज्यान गुमाएका छन्। बसमा सवार ४३ यात्रुमध्ये अधिकांश विद्यार्थी रहेका बुझिएको छ।

    मृतकहरूको सनाखतका लागि आर्मीको ट्रक र निजी गाडीहरूमा राखेर शव जिल्ला अस्पताल पठाइएको उनले जानकारी गराए। चालकको साइडतिरको टायर पंचर भएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    ( यो समाचार नेपालस्थित नयाँ पत्रीका दैनिकको लागि अच्युत राज भण्डारीले मुगूबाट लेखेका हुन । समाचार हुबहु सभार गरी हामीले पुन प्रकाशित गरेका हौ ) 

  • एनआरएनएको महाधिवेशन स्थगित : ६ महिनासम्म कार्यकाल थप्ने तयारी

    एनआरएनएको महाधिवेशन स्थगित : ६ महिनासम्म कार्यकाल थप्ने तयारी

    विश्व न्युज संवाददाता 

    गैरआवासीय नेपाली संघ एनआरएनएको महाधिवेशन तोकिएको समयमा नहुने भएको छ । दशौँ महाधिवेशन निर्धारित समयमा हुन नसक्ने भएपछि एनआरएनए आइसिसी सचिवालयको आकस्मिक बैठकले विश्व सम्मेलन तथा अधिवेशन तत्कालका लागि स्थगित गरिएको एनआरएनएका नेताहरुले बताएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएको विधानमा तोकिएको समयमा अधिवेशन हुन नसक्ने अवस्थामा एक पटकका लागि ६ महिना कार्यकाल थप्न सकिने उल्लेख छ  । विधानको त्यहीँ व्यवस्थाको प्रयोग गर्दै एनआरएनए आइसिसीले महाधिवेशनको नयाँ मिति तय गर्ने तयारी गरेको छ । आइसिसी बैठकका लागि जर्मनीबाट एनआरएनए आइसिसीका अध्यक्ष कुमार पन्त आकस्मिकरुपमा नेपाल फर्किएका छन् । विवादका कारण तोकिएको समयमा चुनाव सम्पन्न हुनसक्ने आधार नदेखिएपछि अधिवेशनको नयाँ मिति ६ महिना कार्यकाल थपेर तय गरिनेछ  । त्यसका लागि एनआरएनए आइसिसीको बैठक बस्नेछ । यहीँ अक्टोबर २३देखि २५ तारेखसम्म एनआरएनएको दशौँ महाधिवेशन काठमाडौंमा हुने तय गरिएको थियो । यद्यपी चुनाव भने अनलाइन सिस्टममा गर्ने तयारी गरिएको थियो । 

    गैरआवासीय नेपाली संघ एनआरएनएको विधानमा हरेक एनसिसीबाट मनोनित हुने ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्य समिति कस्ले मनोनित गर्ने प्रष्ट व्यवस्था छैन । नेपाल सरकार परराष्ट्र मन्त्रालयले यो विषयमा पूर्वअभ्यासअनुसार गर्ने भनेर फेरि एक पटक एनआरएनए आइसिसीलाई पत्राचार गरेपछि महाधिवेशन सर्ने निश्चित बनेको हो । एनआरएनएका भावि अध्यक्षका दावेदार डा. बद्री केसी र कुल आचार्यबीच नेतृत्व हत्याउने उद्देश्यले अहिलेको विवाद निम्ताएको धेरैको अनुमान छ । डा. केसीसहितको टोलीले विगतको अभ्यासविपरित पुरानै कार्य समितिबाट मनोनित हुनुपर्ने तर्क गरेका छन् र धेरै एनसिसीको नेतृत्व त्यसैअनुसार चयन भएको छ । तर, आचार्य पक्षले भने नयाँ कार्यसमितिले मनोनित गर्न पाउनुपर्ने तर्क गरिरहेको छ । पुरानोले मनोनित गर्दा डा. केसी र नयाँले मनोनित गर्दा आचार्य बलियो हुने अवस्थाले गर्दा एनआरएनएभित्रको विवाद उत्कर्षमा पुगेको छ । पन्त नेतृत्वको वर्तमान कार्यसमितिविरुद्ध उजुरी लिएर आचार्य समूहले परराष्ट्रमा उजुरी दिएको थियो । त्यसैका आधारमा परराष्ट्रले निर्वाचनका सबै कार्यक्रम तत्कालका लागि रोक्न एनआरएनएलाई पत्राचार गरेको थियो ।

    परराष्ट्रको दोस्रो पत्रमा के छ ?

    परराष्ट्र मन्त्रालयले शुक्रबार एनआरएनए आइसिसीलाई पत्र पठाएर चार बुँदामा ध्यानाकर्षण गराएको छ । मन्त्रालयले अहिलेसम्म उठेका प्रश्नको सम्बोधन गरेरमात्र निर्वाचन प्रक्रियालाई अगाडि बढाउन निर्देशनात्मक पत्र पठाएको एनआरएनएका एन नेताले बताएका छन् । मन्त्रालयका  सचिव भरतराज पौड्यालको हस्ताक्षर रहेको पत्रमा एनसिसीको निर्वाचन तथा महाधिवेशन प्रतिनिधि चयनका विषयमा थप प्रष्ट हुनुपर्ने उल्लेख छ । नियमावली बनाउँदा विधानको पालना नभएको र विधानसँग बाझिने नियमावली स्वत खारेजीमा पर्ने परराष्ट्रको ठहर छ । विधान विपरित सदस्यता वितरण, एनसिसीको चुनावी प्रक्रिया पनि अपारदर्शी र विधान विपरित नियमावली बनाएर महाधिवेशन प्रतिनिधि चयन गरिएको भन्दै संघकी पूर्वसचिव जानकी गुरुङ, मानार्थ आइसिसी सदस्य नवराज ओली सनी र एनसिसी अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेलले मन्त्रालयमा झण्डै एक महिनाअघि उजुरी गरेका थिए ।

    मन्त्रालयले बनाएको सहसचिव भरत रेग्मी संयोजकत्वको समितिको सुझावका आधारमा दोस्रो पत्र पठाएको हो । समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई प्रतिवेदन बुझाएको थियो । त्यसैका आधारमा सचिवले एनआरएनए आइसिसीलाई पत्र पठाएका थिए । प्रतिवेदनमा ६५ प्रतिशत प्रतिनिधि चयनमा विवाद देखिएको र नियमावली विधानसँग मेल नखाने रहेको परराष्ट्रको ठहर छ । मन्त्रालयले ६५ प्रतिशत प्रतिनिधि चयन गर्न विगतको परम्पराअनुसार नयाँ एनसिसीले पाउनुपर्ने कुरालाई स्मरण गराएको छ । त्यस्तै एनसिसीको अधिवेशन तोकिएको मितिमा अधिवेशन गरेका एनसिसीका प्रतिनिधिलाई चुनावमा सहभागी गराउन दिन भनिएको छ । विधानअनुसार जुलाई १ देखि ३१ भित्रमात्रै एनसिसीको निर्वाचन हुनुपर्छ । त्यस्तै अगष्ट १५भित्रै महाधिवेसन प्रतिनिधि सिफारिस भइसक्नुपर्छ । विद्यार्थीलाई सदस्य दिएर  प्रतिनिधि चयन गरिएकोमा पनि मन्त्रालयले प्रश्न उठाएको छ । मन्त्रालयले प्रष्ट पार्नुपर्ने व्यवस्थामा थप प्रष्ट पारेरमात्रै चुनावमा जान एनआरएनएलाई निर्देशन दिएको छ ।

    वार्ता र संवादमा एनआरएनए नेतृत्व

    तोकिएको समयमा अधिवेशन गर्न असम्भव भए पनि सकभर छिट्टै चुनाव गर्नेगरी दुवै पक्षबीच वार्ता सुरु भएको छ । अध्यक्ष पन्तको पहलमा दुवै पक्षबीच वार्ताको तयारी भएको छ । अध्यक्ष पन्तले वार्ता र संवादबाट निकास निस्कनेमा आफू आशावादी भएको बताएका छन् । त्यस्तै अध्यक्षका आकांक्षी कुल आचार्यले पनि वार्ता र संवादको माध्यमबाट एनआरएनए भित्रको विवाद तत्काल समाधान गर्न सकिने बताएका छन् । आइसिसी बैठकले कार्यकाल नै ६ महिना थप्ने तयारी छ । सचिवालयले गरेको निर्णयलाई आइसिसीको बैठकमा पेश गरिनेछ । सचिवालयले कार्यकाल ६ महिना थप्ने निर्णय गरिसकेकोे पन्त निकट एक पदाधिकारीले बताएका छन् । दुवै पक्षबीचको विवाद चर्किएपछि एनआरएनएको अधिवेशन पहिलो पटक तोकिएको समयमा नहुने निश्चित भएको थियो ।

    एनआरएनएका एनसिसीले मनोनित गर्ने ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमितिले मनोनित गर्ने भन्नेमा नेतृत्वबीच विवाद छ । यसमा परराष्ट्रले पूर्वअभ्यासअनुसार गर्ने भनेर निर्देशन दिएको छ । एनसिसीको अधिवेशन जुलाई १ देखि ३१ भित्रैको समयमा सम्पन्न भएको हुनुपर्ने र अगष्ट १५मा सचिवालयमा पठाइएका प्रतिनिधिलेमात्रै चुनावमा भाग लिनपाउनुपर्नेमा मन्त्रालयको जोड छ । त्यस्तै विद्यार्थीलाई सदस्यता दिइएकाले त्यस्ता एनसिसीको सहभागिता पुनरावलोकन गर्न निर्देशन दिइएको छ । पहिलेको अभ्यासलाई आफू अनुकूल बनाउन खोजेका वर्तमान महासचिव डा.हेमराज शर्माले परराष्ट्र मन्त्रालयको पत्रको औचित्य नभएको बताएका छन् । विभिन्न सञ्चारमाध्यमअनुसार उनले ६५ प्रतिशत मनोनित गर्न पाउने पुरानो कार्यसमितिले भएको प्रष्ट पारेका छन् । महासचिव शर्माले परराष्ट्रको मनोनित गर्ने प्रावधानमा गरिएको तर्कलाई विधान विपरित भएको बताएका छन् ।

    सहमतिमात्रै एक विकल्प

    एनआरएनएको महाधिवेशन अब तोकिएको समयमा नहुनेमात्रै होइन, कहिले गर्ने भन्ने अन्यौलमा फसेको छ । त्यसका लागि एकमात्र विकल्प सहमतिमा नेतृत्व चयन नै हो । यस्तो अवस्थामा अहिले घोषणा भइसकेका मुख्य दुई प्यानलले आफ्नै समूह र उपगुटमा चित्त बुझाउन समस्या पर्ने निश्चित देखिन्छ । यस्तो अवस्थामा सहमति हुने सम्भावना पनि कमजोर छ । त्यसैले एनआरएनएलाई यो रोग दीर्घरोगकै अवस्थामा लैजाने अस्त्र बनेको छ । परराष्ट्रको पत्रलाई लिएर दुवै पक्षले आआफ्नो अनुकूल व्यख्या गरेपनि महासचिव शर्मासहितको समूहले पत्र नै विधान विपरित भएकाले अदालती प्रक्रियामा जानुपर्नेमा जोड दिएको छ । त्यसो त यो विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । मन्त्रालयको पत्रले अमेरिका, युके, पोर्चुगल, फ्रान्स, साइप्रस, डेनमार्क, ओमानलगायतका एनसिसीको चुनाव के हुने भन्ने अन्यौल देखिएको छ ।

    विधानअनुसार अधिवेशन नभएका देशका एनसिसीको चुनाव गर्ने वा नगर्ने भन्ने विषयमा पनि प्रष्ट पारेर अगाडि बढ्नुपर्ने हुन्छ । आसन्न अधिवेशन सहमतिमा गर्न भन्दै काठमाडौंमा दुवै पक्षबीच आइतबारदेखि संवाद सुरु भएको नेताहरुले बताएका छन् । विद्यार्थी सदस्य भएका एनसिसीहरुको अधिवेशन अमान्य हुँदा जापानलगायतका देशको अधिवेशन के गर्ने भन्ने अन्यौल फेरि बढ्ने देखिएको छ । यी विवादकै कारणले गर्दा कम्तिमा एक महिना सार्ने र सहमतिमा विवाद अन्त्य गर्नेगरी प्रस्ताव तयार गरिएको स्रोतको दावी छ । एनआरएनए अध्यक्ष पन्तले नेतृत्व हस्तान्त्रणका लागि भए पनि सहमति गर्नुपर्नेमा जोड दिन थालेका छन् भने उपाध्यक्ष डा. केसी र महासचिव डा. शर्मा भने राजनीतिक हस्तक्षेप बढेकाले अदालत जानुपर्ने पक्षमा छन् । यो विवाद यसअघि नै अदालतमा छ । 

    ललितपुर महानगरपालिका बुबहाल स्थायी घर भइ अमेरिकामा बस्ने रविनराज बज्राचार्यले अधिवक्ता नितिका ढुंगानामार्फत सर्वोच्च अदालतमा विभिन्न माग दावीसहित रिट दायर गरेपछि सर्वोच्चले कारणदेखाउ आदेश जारी गरेको छ । गैरआवासीय नेपाली संघ एनआरएनएलाई विपक्षी बनाएर दायर रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरे पनि अहिलेसम्म म्याद तामेल भने भएको छैन । बज्राचार्यले विभिन्न आधारसहित गैर कानुनी तरिकाले छानिएका प्रतिनिधि उत्प्रेषणका आदेशबाट बदर गरी नियमाअनुसार फेरि निर्वाचन सम्पन्नगरी हरेक सदस्यको हक रक्षा गर्न परराष्ट्र मन्त्रालयका नाममा आदेश जारी गर्न माग गरिएको छ । त्यस्तै विधान विपरीत नियुक्त तथा तथाकथित निर्वाचित भनिएका तथा कथित प्रतिनिधिले पनि अनाधिकार हैसियतमा कुनै पनि काय गर्न गराउन नपाउनेगरी विपक्षीको नाममा परमादेश आदेश माग गरिएको छ । रिटमा अमेरिकामा एनआरएनए आइसिसीले गरेको हस्तक्षेपको कुरा पनि उल्लेख गरिएको छ ।

    सर्वोच्चमा दायर रिटमा विधानको परिच्छेद १ को दफा २ मा संघको मूल मन्त्र नेपालका लागि नेपाली रहेको उल्लेख गर्दै विधान विपरीत कार्यको परिणाम पनि त्यत्तिकै दुष्प्रभावकारी तथा घातक हुने दावी गरिएको छ । त्यसले संघप्रति नकरात्मक भावना पैदा हुने र थप वितृष्णा उत्पन्न हुने तथा अन्य देशमा रहेका परिषद्हरुलाई पनि विधान विपरीत सञ्चालन हुन प्रोत्साहन हुने दावी बज्राचार्यको रहेको छ । अमेरिका सबैभन्दा धेरै नेपाली बस्ने मुलुक रहेको उल्लेख गर्दै रिटमा त्यहाँको गलत नजिरले अन्य देशका एनसिसीमा प्रभाव पर्न सक्ने उल्लेख गरिएको छ । 

  • कास्किमा जिप दुर्घटना, ८ जनाको मृत्यु

    कास्किमा जिप दुर्घटना, ८ जनाको मृत्यु

    कास्की । कास्कीको नयाँ पुलमा जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये ७ जना काठमाडौंबाट घान्द्रुक घुम्न आएका विद्यार्थी रहेको स्थानीय संचारमाध्यमले जनाएका छन् । अर्का मृतक भने जीप चालक कास्की अन्नपूर्ण गाउँपालिकाका वासिन्दा हुन् । दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका- ३ गोंगबुका विद्यार्थी र उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका जिपचालक दुर्घटनामा परेका हुन् ।
    नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका- ५ का ४२ वर्षीय खुसीमान क्षेत्री छन् ।

    यस्तै काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुशन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्री एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते २० वर्षीय देविका घिसिङको सकुशल उद्धार गरिएको छ ।  उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ ।

  • स्पञ्ज आइरनका बारेमा अध्ययन गर्न कार्यदल गठन गर्ने सरकारको निर्णय

    स्पञ्ज आइरनका बारेमा अध्ययन गर्न कार्यदल गठन गर्ने सरकारको निर्णय

    काठमाडौं । स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न बहसबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न अर्थमन्त्रालयले राजस्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

    अर्थ मन्त्रालयमा स्टिल उद्योगीसँगको छलफलमा अर्थमन्त्री शर्माले कार्यदल बनाई अध्ययन गर्ने जानकारी दिँँदै कार्यदलको अध्ययन प्रतिवेदन प्राप्त भएपछि डण्डी विवादका विषयमा आवश्यक निर्णय गरिने बताए ।

    कार्यदलले दुवैथरी स्टिल उद्योगका सम्बन्धमा मूल्य अभिवृद्धि, विद्युत् खपत, रोजगारीको अवस्था, श्रम शक्ति, कानूनी प्रावधान, छिमेकी देशको अभ्यास, प्रदूषणलगायत विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ ।

    मन्त्री शर्माले आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने उद्देश्यमा आधारित भएर स्पञ्ज आइरन आयातमा लाग्दै आएको भन्सार र अन्तःशुल्क हटाइएको स्पष्ट पारे।

    ‘म टुँडिखेलमा उभिएर चुनौती स्वीकार गर्न तयार छु कि यो निर्णय मैले राष्ट्रको हितमा गरेको हुँ । कतिपयले भनेजस्तो अन्य कुनै प्रभावमा परेर गरेको होइन,’ उनले प्रश्न गरे, ‘व्यापार मात्र गरेर खाने हो कि देशमा उद्योगधन्दा खोलेर आत्मनिर्भर बन्दै जाने हो ?’ देशलाई घाटा पर्ने निर्णय आफूले कदापि नगर्ने प्रतिबद्धता दोहोर्याए ।

    प्रतिस्थापन बजेटमार्फत सरकारले स्टिल उद्योगमा प्रयोग हुने कच्चापदार्थ आयातमा भन्सार दर हेरफेर गरेपछि त्यसको पक्ष विपक्षमा बाँडिएका स्टिल उद्योगीले आ–आफ्ना अडान दोहोर्याएका छन् ।

    तयारी बिलेट आयात गरी डण्डी उत्पादन गर्दै आएका उद्योगीहरुले स्पञ्ज आइरनमा भन्सार र अन्तःशुल्क छुट दिने निर्णयले २४ वटा उद्योग धरापमा परेको भन्दै आफूहरुको माग सुनुवाइ गर्न आग्रह गरे भने स्पञ्ज आइरन आयात गरी बिलेट र डण्डी उत्पादन गरिरहेका उद्योगीहरुले सरकारको निर्णयको स्वागत गरे ।

    पूर्वअर्थराज्यमन्त्री डा रुप ज्योति, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ र पूर्वउपाध्यक्ष प्रदीपकुमार श्रेष्ठ, किरण प्रकाश साखःलगायतले ऐनमा आएको विषय तत्काल परिवर्तन गर्न सम्भव नहुने भए पनि विद्युत् महसुलमा छुट गरी बिलेट आयात गरी डण्डी उत्पादन गर्ने उद्योगहरुलाई राहत दिन माग गरे ।

    उनीहरुले स्पञ्ज आइरनमा अन्तःशुल्क छुट गर्ने निर्णय विश्व व्यापार सङ्गठनको सिद्धान्त विपरीत हुने भएकाले पुरानै व्यवस्था कायम गर्नुपर्ने माग दोहोर्याए । दुवै पक्षबीच जुहारी चलेको छलफल कार्यक्रममा पत्रु पगाल्ने उद्योगहरुले वातावरणीय प्रदूषण फैलाएको, भट्टी पड्किएर मजदुरहरुको ज्यान गइरहेको, गुणस्तरहीन डण्डी उत्पादन गरिरहेको जस्ता आरोप बिलेटवाला उद्योगीहरुले लगाए ।

    सरकारको निर्णयको स्वागत गर्दै उद्योगी विष्णु न्यौपाने, साहिल अग्रवाल, आनन्द नेपाललगायतले सरकारको नयाँ निर्णयले ४० अर्बको आयात प्रतिस्थापन हुने, थप २० हजार रोजगारी सृजना हुने, नेपालमा धौवाडी र फुलचोकीमा फलाम खानी सञ्चालनमा ल्याउन सकिने, ५०० मेगावाट विद्युत् खपत हुने तर्क गरे।

    संसारभर ६० देखि ७० प्रतिशत धातुजन्य वस्तुहरु रिसाइकल प्रविधिबाटै तयार हुने गरेको तथ्याङ्क सुनाउँदै उनीहरुले तयारी बिलेटबाट बन्ने र स्पञ्ज आइरनबाट बन्ने डण्डीको गुणस्तरमा कुनै फरक नरहेको दाबी गरे ।

    सरकारले नयाँ आर्थिक ऐनमार्फत स्पञ्ज आइरन आयातमा लाग्दै आएको ४.७५ प्रतिशत भन्सार महसुल र अन्तःशुल्क पूरै छुट दिएको छ भने तयारी बिलेट आयातमा लाग्दै आएको ४.७५ प्रतिशत भन्सार महसुल यथावत् राखी प्रतिमेट्रिक टन २ हजार ५०० अन्तःशुल्क लगाएको छ । यो निर्णयपछि ३० वटा स्टिल उद्योग पक्ष विपक्षमा विभाजित भएका छन् ।

  • नेपाल इन्फ्रास्ट्रकचर बैंकको लाभांश परिमार्जन, अब बोनस सेयर पनि दिने

    नेपाल इन्फ्रास्ट्रकचर बैंकको लाभांश परिमार्जन, अब बोनस सेयर पनि दिने

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।

    उक्त कम्पनीले नेपाल राष्ट्र बैैंकको निर्देशन बमोजिम लाभांश प्रस्ताव संशोधन गरेको जानकारी दिएको हो ।

    यसअघि ८ दशमलव ५ प्रतिशत करसमेत नगद लाभांश प्रस्ताव गरेको कम्पनीले अव भने ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रु. ८ करोड ४२ लाख १० हजार ५२७ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

    निफ्राले यसअघि ८.५ प्रतिशत नै नगद लाभांश दिने प्रस्ताव गरेको थियो । संशोधित लाभांश बैंकको आगामी साधरणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

    हाल २० अर्ब चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

  • साफ च्याम्पियनसिप : नेपाललाई भारतले हरायो

    साफ च्याम्पियनसिप : नेपाललाई भारतले हरायो


    काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाललाई भारतले हराएको छ । आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल भारतसङ्ग १-० गोलले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ मिनेटमा भारतले गोल गर्यो । सोही गोल निर्णायक बनेको छ । भारतका लागि कप्तान सुनील क्षेत्रीले गोल गरेका थिए। उनले सिक्स यार्ड बक्समा फारूख चौधरीले हेडमार्फत दिएको पास गोल गरेका थिए।
    जारी साफमा भारतको यो पहिलो जित हो। यसअघि भारतलाई श्रीलंका र बंगलादेशले बराबरीमा रोकेका थिए।
    नेपालको भने यो पहिलो हार हो। यसअघि नेपालले सुरुवाती दुई खेलमा जित हात पारेको थियो। नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो। साफको अंक तालिकामा माल्दिभ्स ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको पनि ६ अंक नै छ। भारत ५ अंक जोडेर तेस्रो स्थानमा छ। चौथो स्थानको बंगलादेशको ४ अंक छ। १ अंक जोडेर पाँचौ स्थानमा रहेको श्रीलंका भने बाहिरिसकेको छ। 
    अब समूह चरणको अन्तिम दिनको खेलमा नेपाल र बंगलादेश तथा भारत र माल्दिभ्सबीच खेल हुँदैछ। 

  • लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, यस्ताे छ मन्त्रीकाे सूची

    लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, यस्ताे छ मन्त्रीकाे सूची

    काठमाडौं । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्‍ले पूर्णता पाएको छ।

    आइतबार ६ मन्त्री र चार राज्यमन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै आजै प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् ।

    कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    त्यस्तै कांग्रेसबाटै बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि शपथ लिएका छन् ।

    यता माओवादी केन्द्रबाट मन्त्री बनेका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका बर्दियाका तिलकराम शर्माले पनि शपथ लिएका छन् ।

    माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बनेकी सुष्मा यादवले पनि शपथ लिएकी छन् ।

    साउन २८ गते गठबन्धन सरकार बनेपनि दलहरूबीच मन्त्रालयको भागबण्डामा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको थियो ।

  • ‘प्रजातन्त्रकाे विकल्प प्रजातन्त्र नै हाे, अरू हुन सक्दैन’- प्रधानमन्त्री देउवा

    ‘प्रजातन्त्रकाे विकल्प प्रजातन्त्र नै हाे, अरू हुन सक्दैन’- प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताएका छन्। साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरु कुनै हुन नसक्ने बताएका हुन्।

    उनले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्णरुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए। उनले देशमा छिटो छरितो विकासका कामहरु अघि बढाउन बाँकी रहेको बताए। प्रधानमन्त्री देउवाले जनताले भोटबाट प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको पुष्टि गर्ने बताए।

    ‘हाम्रो देशमा अरु धेरै कुराहरु गर्न बाँकी छ, अझै पूर्णरुपमा संघीयता कार्यान्वयन गर्न बाँकी छ, छिटो छरितो विकासका कामहरु अघि बढाउनुछ, यहाँ केही कुरा आएका छन्, जनताको नाम सबैले लिन्छन्, जनता यो हो, जनता ऊ हो भन्छन्, जनताले भोटबाट देखाइहाल्छन् नि,’ प्रधानमन्त्री देउवाले भने, ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु कोही हुँदैन, एउटा कुरा सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक कोही हुन सक्दैन। कसैले अरु दुई किसिमको सपना नदेखे हुन्छ, हामी सबै पार्टी प्रजातन्त्रको लागि लडेरै आएका हौँ। त्यसैले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो अरु हुन सक्दैन।’

    प्रधानमन्त्री देउवाले नेपालको कोरोना महामारीको नियन्त्रण गर्न सफल बनिरहेको भन्दै विदेशबाट प्रशंसा आइरहेको बताए। उनले कोरोना नियन्त्रण गर्न सफल भएकै कारण बेलायत सरकारले नेपाली नागरिकहरुलाई भिसा दिएको बताए। उनले नेपालले पूर्णरुपमा कोरोना नियन्त्रण गर्न नसके पनि क्रमिक रुपमा नियन्त्रण गर्न सरकार सफल भएको बताए।

    प्रधानमन्त्री देउवाले भने, ‘अहिले नेपालमा एउटा कुरा के छ भने कोभिड-१९ महामारीको जोखिमबाट अझै पनि पूर्णरुपमा नियन्त्रण भइसकेको छैन, तर पनि अन्तर्राष्ट्रिय जगतले, विश्व स्वास्थ्य संगठनले नेपाललाई धन्यवाद दिएको छ बधाइ दिएको छ, त्यसैले अहिले बेलायत सरकारले पनि कोभिडलाई धेरै नियन्त्रण गरेकोले नेपालीहरुलाई भिसा दिने निर्णय गरेको छ, नेपालीहरुलाई जानका लागि सजिलो बनाएको छ।’

    प्रधानमन्त्री देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै शिक्षा आमनागरिकको मौलिक हक भएको बताए। उनले शैक्षिक व्यवस्थापनमा समयानुकूल सुधार गर्ने बताउँदै शिक्षालाई अनिवार्य निःशुल्क गर्दै जाने नीति सरकारले अवलम्बन गर्दै आएको बताए। उनले साक्षरताको लागि निरक्षर र साक्षरको तथ्यांक यकीन गरेर तदनुरुप थप कार्यक्रम सञ्चालन सरकारले गरिरहेको बताए।

  • उपत्यका छाड्ने ह्वात्तै बढे, साढे ८ लाख बाहिरिए

    उपत्यका छाड्ने ह्वात्तै बढे, साढे ८ लाख बाहिरिए

    काठमाडौं । दसैँका लागि उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ। यही असोज १ देखि ७ गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए। अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

    काठमाडौं भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विश्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन्। प्रहरीलेको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन्।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विस्तारै यात्रु बाहिरिनेक्रम बढिरहेका र दसैँ बिदा सुरु भएपछि भने यो सङ्ख्या अझै बढ्ने बताए। ‘अहिलेसम्म सामान्यरुपमा बढिरहेको छ, आजदेखि भने बाहिरिने यात्रुको चाप बढ्छ’, महाशाखाका प्रमुख भट्टराईले भने, ‘यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौँ, बाहिरिने यात्रुका सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको छ।’

    यही असोज १६ गतेसम्म यात्रु हाराहारीमा भित्रिने र बाहिरिने गरेका थिए। प्राप्त विवरणअनुसार १६ गते भित्रिने सङ्ख्या ४२ हजार २२६ थियो भने बाहिरिने सङ्ख्या ४१ हजार ४८४ थियो। त्यसपछि भने बाहिरिने यात्रुको चाप बढेको हो। असोज १६ गते भित्रिने ३८ हजार ७४९ रहेकामा बाहिरिने यात्रु बढेर ४३ हजार ४३९ पुगेका थिए। त्यसपछि क्रमशः बाहिरिने यात्रु बढ्न थालेका हुन्।

    यही असोज २१ गते सात हजार २८० सवारी साधनमा ३४ हजार १४६ यात्रु भित्रिएकामा सोही दिन सात हजार ८१४ सवारी साधनमा ४५ हजार ३६२ यात्रु बाहिरिए। महाशाखाले दिएको तथ्याङ्कअनुसार असोज २२ गते शुक्रबार छ हजार ७७८ सवारीमा ३२ हजार ९८४ यात्रु भित्रिएका थिए। सोही दिन सात हजार ३१५ सवारीमा झण्डै ५२ हजार यात्रु बाहिरिएका छ। त्यसपछि बाहिरिनेक्रम झन् बढिरहेको महाशाखाले जनाएको छ।

    असोज १ देखि २२ सम्ममा कूल एक लाख ४२ हजार २२७ सवारी साधनमा सात लाख ७६ हजार ३७१ यात्रु भित्रिएका तथ्याङ्क छ। सोही अवधिमा कूल एक लाख ४३ हजार ७७३ सवारी साधनमा आठ लाख ७० हजार ४९६ यात्रु बाहिरिएका महाशाखाले जनाएको छ। प्राप्त विवरणमा अहिलेसम्म यात्रु भित्रिने र बाहिरिने सङ्ख्याका हिसाबले एक लाख बढी यात्रु बाहिरिएका छन्।

    यद्यपि रिजर्ब गरेर जाने यात्रुको सङ्ख्या यसपाली बढी छ। त्यसरी जानेको सङ्ख्या भने प्रहरीको अभिलेखमा रहँदैन। साथी वा आफ्नो परिवार मिलेर साना गाडी रिजर्ब गर्ने अनि घर जाने प्रचलन यसपाली बढी देखिएको महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए।

    यसपाली असोज ११ गतेदेखि गाडीको अग्रिम टिकट बिक्री खुला गरिएको थियो। अहिले पनि अनलाइन वा प्रत्यक्ष भेटेर टिकट काट्ने यात्रुको चाप बढी छ। त्यस्ता काउन्टर तथा यात्रुको भिडभाड हुने क्षेत्रमा भिडभाड रोक्न प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ।

    प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा दिइरहेको छ। माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह गर्ने गरिरहेको छ। कोभिड १९ का कारण उपत्यकामा विगतका वर्षमा भन्दा मानिस कम रहेका जनाइएको छ।

    यद्यपि प्रहरीले चाडबाडका मौका छोपी चोरी तथा आपराधिक घटना घटाउनसक्ने हुनाले त्यसको निगरानीका लागि र शान्तिसुरक्षा कायम गर्न ७७ वटै जिल्लामा विशेष सुरक्षा योजना बनाएर लागू गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले साता पोशाकमा समेत प्रहरी परिचालन गरेर ठगी, कालोबजारी, चोरी आपराधिक क्रियाकलाप नियन्त्रण्मा प्रहरी खटाइएको जानकारी दिएका छन्।

    चाडबाडका बेला आफैँ पनि सावधान हुन र केही समस्या घटना परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले सबैमा अनुरोध गरेको छ।

  • चौतर्फी आलोचना खेपिरहेका उद्योग मन्त्री हमालले दिएको राजीनामा स्वीकृत

    चौतर्फी आलोचना खेपिरहेका उद्योग मन्त्री हमालले दिएको राजीनामा स्वीकृत

    काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरेका छन् ।

    आइतबार बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् ।

    देउवाले उनलाई मनत्री नियुक्त गरेपछि चौतर्फी आलोचना भएको थियो । चौतर्फी आलोचना खेपिरहेका हमालले थप विवादमा नफस्ने भन्दै पदबाट राजीनामा दिएका हुन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए।

    विभिन्न संचार माध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि पदबाट राजीनामा गरेको हमालले बताएका छन् ।

    हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल छन् । उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका व्यक्ति हुन् । हमाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठाजु समेत हुन् ।

  • उद्योगमन्त्री हमालले राजिनामा दिने

    उद्योगमन्त्री हमालले राजिनामा दिने

    काठमाडौं । आफ्नो मन्त्री पद नियुक्तीमा व्यापक विरोध भएपछि सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । नेपाली संचारमाध्यमले उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लगाएका थिए । यद्दपी नेताहरुले यसले खण्डन गर्दै आएको थिए । हमालले भने आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने तयारी गरेको स्थानीय संचारमाध्यमले लेखेका छन् । आफुले स्वविवेक प्रयोग गरि राजिनामा दिन लागेको उनको भनाई छ । नाताले प्रधानन्यायाधीष जबराका जेठान पर्ने उनलेआफु विवादमा आउन नचाहेको समेत बताएका छन् ।

  • नेपालले ८ महिना अगाडी किनेको कोभिशिल्ड भारतबाट बल्ल आयो

    नेपालले ८ महिना अगाडी किनेको कोभिशिल्ड भारतबाट बल्ल आयो

    काठमाडौं । नेपालले गत फागुनमा किनेको १० लाख डोज कोभिसिल्ड खोप शनिबार मात्र नेपाल आएको छ । नेपालले कुल २० लाख खोप किनेको थियो । जसका लागि रकम समेत बुझाइएको थियो । तर, भारतमा कोरोना महामारी फैलिएको भन्दै निर्यात रोकिएपछि नेपालले खरीद गरेको खोप आउन सकेको थिएन । सो खोप शनिबार मात्र काठमाडौं आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज बल्ल आएको हो । खरिदको खोप आएपछि मन्त्रालयले कोभिसिल्ड खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिइने भएको छ ।

  • साफ च्याम्पियनसिप : नेपालले चिरपरिचित प्रतिद्धन्द्धी भारतको सामना गर्दै

    साफ च्याम्पियनसिप : नेपालले चिरपरिचित प्रतिद्धन्द्धी भारतको सामना गर्दै

    काठमाडौं । साफ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र भारत भिड्दैछन् । नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्सको मालेमा शुरु हुने खेललाई निकै महत्वका साथ हेरिएको छ । जारी साफमा नेपाल पूर्ण फर्ममा छ । खुई खेलमा चार गोल गरिसकेको नेपाल समूहको शीर्ष स्थानमा छ । उता, भारतले भने गोलको खडेरी तोढ्न संघर्ष गरिरहेको छ । दुई खेलमा दुई बराबरी खेलेको भारतलाई फाइनल पुग्न आज जित्नै पर्ने दवाव छ ।

    नेपालले भने पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको थियो । नेपालले कम्तिमा एक बराबरीको नतिजाबाट पनि फाइनल पक्का गर्नेछ । भारतसँगको खेलअघि बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीसँग नडराउने उल्लेख गरेका थिए । भारत साफको सात पटकको विजेता हो ।

  • काठमाडौंबाट ७ लाख यात्रु सडकमार्ग हुँदै बाहिरिए

    काठमाडौंबाट ७ लाख यात्रु सडकमार्ग हुँदै बाहिरिए

    काठमाडौं । दशैँ मान्न यस वर्ष ठूलो संख्यामा यात्रु बाहिरिएका छन् । गत वर्ष कोरोना भाइरसको महामारीका कारण रोकिएका धेरै नेपालीले यो वर्ष गाउँमा दशैं मान्दैछन् । शनिबारसम्म सात लाखभन्दा धेरै यात्रुले सडक मार्गबाट काठमाडौं उपत्यका छाडेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । यो असोज महिनाको मात्र तथ्यांक हो । यसमा हवाईमार्ग र निजी सवारीमा बाहिरिनेको संख्या जोडिएको छैन । घटस्थापनापछि उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको हो । असोज ११ गतेदेखि अहिलेसम्म साढे ५ लाखभन्दा धेरै यात्रु काठमाडौंबाट बाहिरिएको प्रहरीको तथ्यांक छ ।

  • आज दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा-आरधना

    आज दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा-आरधना

    काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरि मनाइदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकका रुपमा मानिन्छ । देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतल हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।

    त्यसैले शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी त्यसैको बलिसमेत चढाउने गरिन्छ । कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्यलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

    घटस्थापनाको दिनदेखि नवरात्रसम्म दूर्गादेवीका नौ रुपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदूर्गा पनि भन्ने गरिन्छ । नवरात्रभर शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।

  • लगानी बोर्डले गर्यो ७३ अर्ब बराबरको लगानी स्वीकृत

    लगानी बोर्डले गर्यो ७३ अर्ब बराबरको लगानी स्वीकृत

    काठमाडौं । राष्ट्रिय लगानी बोर्डले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले दुईवटा जलविद्युत् परियोजनको निर्माण तथा विकासका लागि लगानी स्वीकृति तथा पूँजी वृद्धि गर्न अनुमति प्रदान रेको हो । राससका अनुसार लगानी स्वीकृति हुनेमा करिब रु १० अर्ब ५० करोड लागत रहने ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् आयोजना छ । आयोजना दोलखा जिल्लामा रहेको छ ।

    माथिल्लो तामाकोसीको बाँधस्थल लामाबगरभन्दा माथिल्लो तटमा रहने सो आयोजना निजी क्षेत्रले प्रवद्र्धन गर्न लागेको छ । सङ्खुवासभा जिल्लामा हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनामा थप रु ६२ अर्ब २६ करोड बराबरको पूँजी वृद्धिको प्रस्तावलाई पनि बैठकले स्वीकृति प्रदान गरेको बोर्डका प्रवक्ता सुरेन्द्र पौडेलले जानकारी दिए ।

    भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले प्रवद्र्धन गर्ने भनिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका सन्दर्भमा कुनै पनि प्रगति नभएपछि सरकारले एक अध्ययन समिति गठन गरेको छ । कूल ९०० मेगावाट क्षमताको सो आयोजनाको सन्दर्भमा पछिल्ला दिनमा कुनै पनि प्रगति भएको छैन ।

    लगानीकर्ता कम्पनी जिएमआरले बङ्गलादेश सरकारसँग विद्युत् खरिद सम्झौता गरेको बताए पनि आयोजनास्थलमा कुनै काम भएको छैन । आयोजना विकास सम्झौता ९पिडिए० भएको सात वर्षभन्दा बढी समय भए पनि कुनै प्रगति नभएपछि आयोजनामा अन्योलता सिर्जना भएको छ । प्रवद्र्धक कम्पनीले ५०० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने जनाए पनि काम नहुँदा थप जटिलता पैदा भएको छ ।

    बोर्ड बैठकले परियोजनाको पछिल्लो अवस्थाको अध्ययन गरी ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्डसमक्ष पेश गर्न निर्देशन दिएको छ । त्यसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

    समितिमा अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्य रहेका छन् भने लगानी बोर्ड कार्यालयका सहसचिव सदस्यसचिवको रूपमा रहेका छन् ।

    बैठकले लगानी बोर्डको आव २०७८\७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । यस्तै सम्राट सिमेन्ट र माथिल्लो त्रिशूली–१ जलविद्युत् परियोजनाको सेयर खरिद बिक्री सम्झौता स्वीकृत गर्नेलगायत निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री एवम बोर्ड अध्यक्ष शेरबहादुर देउवाले विद्युत् खपत वृद्धि गर्नेसम्बन्धी दीर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितोरूपमा कार्यसम्पादन गर्न सबै निकायलाई निर्देशन दिए ।

  • नेपालमा ७६० जनामा कोरोना पुष्टी

    नेपालमा ७६० जनामा कोरोना पुष्टी

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ३१ जनाको नमुना परीक्षण गरेकोमा सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख एक हजार ६ सय ३३ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९२ हजार नौ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ सय ९९ जना निको भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या सात लाख ७५ हजार ७२ जना पुगेको छ ।

    थप ११ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय २१ जना पुगेको छ । अहिले नेपालमा १५ हजार तीन सय ४० जना सक्रिय सङ्क्रमित रहेकोमा तीन सय १७ जनाको आईसीयू र एक सय १३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ९० हजार नौ सय ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६४ लाख ४६ हजार नौ सय ५७ जना पुगेको छ । ८१ लाख २७ हजार दुई सय ६२ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

  • टाटा समूहले एयर इण्डिया किनेर के फाइदा पायो ?

    टाटा समूहले एयर इण्डिया किनेर के फाइदा पायो ?

    नयाँ दिल्ली । घाटामा रहेको भारतीय राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी एअर इन्डियालाई देशकै सबैभन्दा ठूलो व्यावसायिक समूहमध्ये एक टाटाले खरिद गरेको छ। यो कम्पनी उसले लिनु आफैमा प्रतिष्ठाको विषय बनकेो छ । भारत सरकारले टाटालाई दुई अर्ब ४० करोड अमेरिकी डलर एअर इन्डिया बिक्री गरेको भारतीय संचार माध्यमले लेखेका छन् ।

    बिबिसीका अनुसार सन् १९३२ मा टाटा समूहले नै एअर इन्डियाको स्थापना गरेको थियो। तर भारत सरकारले यसलाई सन् १९५३ मा आफ्नो स्वामित्वमा ल्याई सञ्चालन गरिरहेको थियो। कुल ९।५ अर्ब अमेरिकी डलर घाटामा रहेको एअर इन्डियालाई भारत सरकारले लामो समयदेखि बेच्ने प्रयास गरिरहेको थियो।


    टाटाले घाटामध्ये कतिको जिम्मा लिनेछ भन्ने स्पष्ट छैन। एअर इन्डियाको स्वामित्व लिने सम्झौता भएको केही समयमै टाटा सन्सका अध्यक्ष रतन टाटाले उक्त कम्पनीका पूर्वअध्यक्ष जेआरडी टाटाले पृष्ठभूमिमा एअर इन्डियाको विमान पारेर धावनमार्गमा खिचाएको तस्बिर ट्विट गरेका थिए। पछिल्लो बिक्री वायुसेवा प्रदायकको सम्पूर्ण स्वामित्व बिक्री गर्न चाहिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि सुखद रहेको जनाइएको छ।

    एअर इन्डियासँग थुप्रै सम्पत्ति छ जसमा १३० भन्दा विमानदेखि हजारौँ प्रशिक्षित विमानचालक र चालक दलका सदस्य समेत छन्। भारतमा टाटा समूहले दुई वायुसेवा कम्पनी सञ्चालन गरिरहेको छ।


    सिङ्गापुर एयरलाइन्ससँगको सहकार्यमा सञ्चालन गरिएको भिस्टारा र मलेसियाको कम्पनी एअर एशिया बीएचडीसँगको सहकार्यमा सञ्चालन गरिएको सस्तो उडान सेवा उपलब्ध गराउने एअर एशिया इन्डिया उक्त कम्पनीले सञ्चालन गरिरहेको छ। एक सय ३० विमानबाहेक एअर इन्डियाका नयाँ मालिकले भारतभरिका विमानस्थलमा ४,४०० आन्तरिक र १,८०० अन्तर्राष्ट्रिय अवतरण र पार्किङ स्थल नियन्त्रण गर्नेछन्।

    भारत बाहिरका विमानस्थलमा ९०० त्यस्ता स्थल छन्। तीमध्ये लन्डनको हिथ्रो विमानस्थलको आकर्षक पार्किङ स्थलहरू पनि पर्छन्। त्यसबाहेक एअर इन्डियाका करोडौँ अमेरिकी डलरका घरजग्गा छन्। गत वर्ष यसका अचल सम्पत्ति छ अर्ब अमेरिकी डलर बराबरमा थिए।वायुसेवासँग ४०,००० भन्दा बढी कलाकृतिहरू रहेका छन्। तीमध्ये केही निकै बहुमूल्य रहेका छन्। भारतमा हवाई यात्रुको सङ्ख्या बर्सेनि २० प्रतिशतले बढिरहेको समयमा टाटा समूहका लागि एअर इन्डिया राम्रो लगानी हुनसक्ने विज्ञहरू बताउँछन्।

  • नेपाली  काँग्रेसको प्रतिनिधि मण्डल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

    नेपाली काँग्रेसको प्रतिनिधि मण्डल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

    नयाँ दिल्ली । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिभण्डलले शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । राससका अनुसार नेपाली कांग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले बिहीबार अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले जानकारी दिएका छन् । सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।

    वार्ता निकै फलदायी भएको र नेपाल भारत सीमा, हालै महाकाली नदीमा भएको तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । दुई देशबीचमा पछिल्लो समयमा देखिएको सीमासम्बन्धी समस्याको बारेमा आफूले विदेशमन्त्री जयशंकरलाई जानकारी गराएको र सीमा समस्याको समाधानका लागि तत्कालै कूटनीतिक माध्यमबाट वार्ता गरी समाधानको खोजी गर्न आफूले गरेको आग्रहलाई विदेशमन्त्रीले सकारात्मकरुपमा यसको समाधानका लागि भारततर्फबाट छिट्टै अग्रसरता लिइने बताएको डा. महतले बताएका छन् ।

    त्यसैगरी महाकालीको तुइन प्रकरणका विषयमा पनि आफूले विदेशमन्त्री जयशंकरसँग कुरा राखेको उनले बताए । यस विषयमा नेपाल सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई कूटनीतिक नोटसमेत पठाइएको र त्यस विषयमा अध्ययन गरेर निकास निकाल्न आग्रह गरेको उनले जानकारी दिए।

    सो भेटका क्रममा यसअघि भएको सहमति बमोजिम नेपाललाई कोरोना विरुद्धको कोभिसिल्ड खोप पठाउन आग्रह गरिएको र ती खोप भारत सरकारले जतिसक्दो चाँडै नेपाल पठाउने जानकारी विदेशमन्त्री जयशंकरले दिएको पनि डा महतले बताए ।

    उक्त द्धिपक्षीय भेटमा नेपालका तर्फबाट डा महतसहित नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा तथा भारतका तर्फबाट विदेशमन्त्री जयशंकरसहित भारतीय जनता पार्टीका नेताद्वय विजय चौथाइवाले र आश्विन जोहर थिए ।

    भारतीय जनता पार्टीको आमन्त्रणामा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा महत नेतृत्वको सो टोली बिहीबार भारत पुगेको हो ।

  • नोबेल शान्ति पुरस्कार फिलिपिनी र रसियाली पत्रकारलाई

    नोबेल शान्ति पुरस्कार फिलिपिनी र रसियाली पत्रकारलाई

    काठमाडौं । सन् २०२१ को नोबेल शान्ति पुरस्कार फिलिपिन्स र रूसका दुई जना पत्रकारले पाएका छन् ।

    नोबेल पुरस्कार कमिटीका अनुसार यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिनो(अमेरिकी पत्रकार मारिया रेसा र रुसी पत्रकार दिमित्री मुरातोभलाई प्रदान गरिने भएको हो।

    ती मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उनीहरूले गरेको साहसपूर्ण कामका लागि नोबेल पुरस्कार छनौट समितिले नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।

    स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिताले शक्तिको दुरुपयोग हुनबाट जोगउने, असत्य र युद्ध हुनबाट जोगाउने काम गर्ने बताइएको छ।

    रेसा फिलिपिन्सको पेसिगबाट सञ्‍चालन हुने समाचार वेबसाइट र्‍यापलरकी संस्थापक तथा सीईओ हुन्। त्यसअघि उनले झन्डै २० वर्ष सीएनएनका लागि दक्षिणपूर्वी एसियाबाट खोज पत्रकारका रूपमा काम गरेकी थिइन्।

    फेक न्युजविरुद्धको अभियानका लागि टाइम म्यागजिनले उनलाई सन् २०१८ मा वर्ष व्यक्तिसमेत घोषणा गरेको थियो। उनी फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेको कट्टर आलोचक हुन्।

    उनलाई सन् २०१९ साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो। उनी रिपोर्टर्स विदाउथ बोर्डर्सको सूचना तथा प्रजातन्त्र आयोगकी सदस्यसमेत हुन्।

    त्यस्तै मुतारोभ रूसी अखबार नोभाया ग्याजेटाका प्रधान सम्पादक हुन्। उनले सन् १९९५ देखि २०१७ सम्म अखबारको सम्पादन गरेका थिए। नोभाया ग्याजेटालाई कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले ‘आजको रूसमा एक मात्र राष्ट्रिय रूपमा प्रभाव पार्न सक्ने आलोचनात्मक अखबार’ को संज्ञा दिएको छ।

    सन् १९९३ मा रुसमा स्थापना भएको स्वतन्त्र पत्रिका नोभाजा गजेटका संस्थापकमध्ये उनी एक थिए। १९९५ देखि उक्त पत्रिकाको उनी प्रधान सम्पादक समेत रहँदैआएका छन्।

    १९९३ मा सुरु भएदेखि नै नोभाया ग्याजेटाले भ्रष्टाचार, प्रहरी हिंसा, गैरकानुनी गिरफ्तारी, चुनावी अनियमितताविरुद्ध थुप्रै आलोचनात्मक आलेख प्रकाशन गर्दै आएको छ।

    यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३२९ जनाको आवेदन परेको थियो ।

    यसअघि साहित्यतर्फ, रसायनशास्त्र, भौतिकशास्त्र र चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरिसकिएको छ ।

    यसबर्षको साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई प्रदान गरिएको थियो भने २०२१ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका वैज्ञानिक बेन्जामिन लिस्ट र अमेरिकी वैज्ञानिक डेविड म्याकमिलनलाई दिने घोषणा गरिएको छ ।

    त्यस्तै भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार सुकोरो मनाबे, क्लाउस हेसलमन र जर्जियो परिसीलाई दिने घोषणा गरिएको थियो भने चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी डाक्टर डेभिड जुलियस र लेबनानी डाक्टर अर्डम पाटापोटियनलाई संयुक्तरुपमा प्रदान गरिएको थियो ।

    स्नायु प्रणालीले तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने कुरा पत्ता लगाएका जुलियस र पाटापोटियनलाई नोबेल पुरस्कार दिइएको थियो ।

    अक्टोबर ४ देखि ११ सम्म चल्ने पुरस्कार घोषणा कार्यक्रममा सोमबार अर्थशास्त्रतर्फको पुरस्कार घोषणा गरिँदै छ।

  • नेपालमा थप ७६४ जनामा कोरोना पुष्टी, १० जना संक्रमितको निधन

    नेपालमा थप ७६४ जनामा कोरोना पुष्टी, १० जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ७६४ जनामा कोरोना भाइरसको संक्रमण भाइरस संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९९७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १०३३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७४ हजार १७३ पुगेको छ । संक्रिय संक्रमितको संख्या १५ हजार ८१४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार २ सय १० पुगेको छ ।