Category: फिचर

  • सेप्टेम्बरका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन गन्तब्यमा कति ?

    सेप्टेम्बरका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन गन्तब्यमा कति ?

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नयाँ तालीका अनुसार नेपालले उडान खुला गरेका र नेपालबाट हुने उडानलाई अनुमति दिएका मुलुकमा करीव साविककै हाराहारीमा उडान हुन थालिसकेको छ । अर्थातः अब वायुसेवा कम्पनीले यात्रुको माग अनुसार नै उडान अनुमति लिन थालिसकेका छन् । यसले उडान संख्या समेत वृद्धि भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सातामा १० उडान हुनेछ । नेपाल एयरलाइन्सले दैनिक एक उडान र एयर इण्डियाले सातामा तीन (आइतबार, मंगलबार र शुक्रबार) उडानको अनुमति पाएको छ । यूएईको सारजहा विमानस्थलमा एयर अरेवियाले हरेक दिन दुई उडान गर्नेछ ।

    एयर अरेवियाले आबुधाबीमा समेत हरेक दिन उडान गर्न अनुमति पाएको छ । फ्लाई दुबईले दुबई इन्टरनेसनल एयरपोर्टबाट सातामा १० उडान गर्नेछ । हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा साताको ६ उडान (सोमबारबाहेक) र दुबई विमानस्थलमा शुक्रबारबाहेक साताको ६ उडान गर्नेछ । कतारको हमाद इन्टरनेशनल विमानस्थटलमा हिमालयको जहाजले सातामा कुल ७ उडान गर्नेछ । जजिरा एयरवेज कुवेतबाट हरेक दिन काठमाडौं आउने छ ।

    कोरियन एयरले हरेक बुधबार काठमाडौं उडानको अनुमति लिएको छ । मालिन्दो एयरले क्वालालाम्पुरबाट साताको चार (सोमबार, बुधबार, शुक्रबार, शनिबार) काठमाडौं उडान गर्नेछ । मलेसिया एयरलाइन्स हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौं आउने छ । नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेसनलमा हरेक दिन एक उडान गर्नेछ ।

    दुबई इन्टरनेसनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामार चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्ने तालिकामा उल्लेख छ । मलेसियाको क्वालालाम्पुर विमानस्थलमा समेत नेपाल एयरलाइन्सले सातामा चार (आइतबार, मंगलबार, बिहीबार र शुक्रबार) उडान गर्ने तालीका छ । जापानको नारितामा नेपाल एयरलाइन्सले हरेक बिहीबार उडान गर्नेछ । हङकङमा हरेक मंगलबार नेपाल एयरलाइन्स जाने छ ।

    कतार एयरवेजले कतारको हमाद इन्टरनेसनल विमानस्थलमा दैनिक तीन उडान गर्नेछ । सलाम एयरले मस्कट विमानस्थलबाट साताको तीन दिन (आइतबार, मंगलबार र बिहीबार) काठमाडौं उडान गर्नेछ । टर्कीस एयरले सोमबार, बिहीबार र शनिबार काठमाडौंमा उडान गर्नेछ । सिंगापुर एयरलाइन्सले हरेक आइतबार र श्रीलंकन एयरलाइन्सले मंगलबार र शनिबार गरि सातामा दुई उडान गर्न अनुमति पाएको छ ।

  • महिला फुटबल: नेपालले बंगलादेशलाई हरायो

    महिला फुटबल: नेपालले बंगलादेशलाई हरायो

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल खेलमा नेपालले बंगलादेशलाई हराएको छ । ्बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २१ गोल अन्तरले हरायो । दुई खेलाडीले आज राष्ट्रिय टिममा डेब्यु गरेका थिए । दुबै खेलाडीले मुलुकका लागि गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले डेब्यु खेलमै गोल गर्नए सफल भए । आज नेपालले सात नयाँ खेलाडीलाई टीममा राखेको थियो । त्यसमध्ये ४ खेलाडीले डेब्यु गरे ।

    घरेलु मैदान र दर्शकको अगाडि नेपालले २३ मिनेटभित्र नै दुई गोल गर्यो । टिमका मुख्य स्ट्राइकर सावित्रा भण्डारी चोटका कारण मैदान बाहिर छिन् । उनको स्थानमा नेपालले सबिता रानालाई अग्रपंति उतार्यो । खेलको १४ औं मिनेटमा डेब्यु खेलाडी सबिता रानाले विमला चौधरीको पासमा गोल गरिन् । २३ औं मिनेटमा अर्की डेब्यु खेलाडी प्रिती राईले सरु लिम्बुको पासमा गोल गरिन् । बंगलादेशका लागि तोहुरा खातुनले ८३ औं मिनेटमा सान्त्वना गोल गरिन् । नेपाल र बंगलादेश आइतबार मैत्रीपूर्ण खेल खेल्ने छन् ।

  • एमसीसी उपाध्यक्षसँग ओलीले भने ‘पास गर्ने-नगर्ने जिम्मा सरकारको,हामी त प्रतिपक्षी भइसक्यौँ’

    एमसीसी उपाध्यक्षसँग ओलीले भने ‘पास गर्ने-नगर्ने जिम्मा सरकारको,हामी त प्रतिपक्षी भइसक्यौँ’

    काठमाडौं । चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेकी छन् ।

    फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् । भेटवार्तामा ओलीले वर्तमान सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने बारे सरकार पहिले स्पष्ट हुनुपर्ने बताएका छन् ।

    भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसीका बारेमा एमालेको बुझ्न खोजेकी थिइन् । एमसीसी अनुदानको विषय भएकाले यसमा विवाद हुनुनपर्ने सुमारको भनाइ थियो । भेटपछि एमसीसी उपाध्यक्ष सुमारले संक्षिप्त प्रतिक्रिया दिदै नेपालमा आउदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

    ओलीले भेटघाटका लागि धन्यवाद दिँदै आफू सरकारमा हुँदा बढाउने प्रयास गरेको तर सभामुखसहितका केही व्यक्तिले सफल हुन नदिएको बताए ।

    हामी सरकार हुँदा एमसीसी पास गर्न प्रयास गरेको कुरा तपाईंहरुलाई थाहै छ। अहिले एमसीसी जसका कारण रोकिएको हो, पहिले उनीहरुले पोजिसन क्लियर गर्नुपर्छ।

    छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी भएका थिए । एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भएको थियो।

    एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गर्नुपर्ने अमेरिकाको दबाबका बीच फातिमाको नेपाल भ्रमण भएको हो । एमसीसी संसदबाट पारित गर्ने विषयमा राजनीतिक दलहरूबीच फरक फरक मत रहेका बेला फातिमा नेतृत्वको टोलीको नेपाल भ्रमण भएको हो ।

    एमसीसी प्रतिनिधि मण्डलले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ ।

  • महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

    महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

    काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    विहिबार बीपी स्मृति दिवसको अवसरमा सुन्दरीजल पुगेर शर्माले संस्थापक बीपी कोइरालालाई सम्झँदै पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    यसअघि गगन थापाले पनि महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

  • दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ टोलीद्वारा पुष्टी, चार हजार मिटर ड्रिलिङ हुने

    दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ टोलीद्वारा पुष्टी, चार हजार मिटर ड्रिलिङ हुने

    काठमाडौं। चिनियाँ प्राविधिक टोलीले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टी गरेको छ।

    नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टी गरेको हो।

    चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको उल्लेख छ।

    चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डा। सुधीर रजौरेले बताए।

    ‘सर्भे गरिएको स्थानमा ग्यास र पेट्रोल छ भन्ने प्रमाणित भयो’, उनले भने, ‘अब कुन भू–भागमा कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्यास छ भनेर अन्तिम सर्भे हुनेछ।’

    कोरोना भाइरस संक्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन। अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको उनको भनाइ छ।

    ‘चारवटा क्षेत्रमा गरिएको सर्भेको नतिजा सकारात्मक देखिएको छु, उनले भने, ‘टोली आउनासाथ धमाधम काम सुरु हुन्छ ।’

    दुबै देशका सरकारबिच जीटुजी सम्झौताअनुसार काम सुरु भएकाले यसलाई निरन्तरता पाउने विभागले जनाएको छ।

    ‘विस्तृत सर्भे र ड्रिलिङको काम पनि अहिलेसम्म सकिन्थ्यो होला। कोभिडका कारण झन्डै डेढ वर्ष अन्वेषणको काममा ढिलाइ भएको छ’ भूगर्भविद् रजौरेले भने।

    दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको जनाएको छ।

    करिब १० वर्षअघि पनि दैलेखमा बलेको ग्यासकै कारण नेपालको कुनै भू–भागमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै केही अन्तर्राष्ट्रिय कम्पनीले नेपालका विभिन्न १० वटा जिल्लामा अन्वेषण सुरु गरेका थिए।

    विभिन्न कारणले अन्वेषणका काम हुन नसकेपछि सरकारले सम्झौता रद्द गरेर चीनसँग नयाँ सम्झौता गरेको थियो। तत्कालीन समयमा ७२ लाख बढी अमेरिकी डलर खर्च गरिएको खानी तथा भूगर्भ विभागको तथ्यांकमा उल्लेख छ।

    चार हजार मिटर ड्रिलिङ हुने

    अन्वेषणको अन्तिम चरणमा जमिनमुनि चार हजार ५०० मिटर गहिरो ड्रिलिङ गरिने भएको छ। विभागले दिएको जानकारी अनुसार यही ड्रिलिङपछि मात्र कति परिमाणमा ग्यास वा पेट्रोल छ भनेर थाहा हुनेछ।

    यो काम पहिलो सर्भे गरिएको कुनै स्थानभित्र हुनसक्छ, अहिले स्थान भन्न मिल्दैन खानी तथा भूगर्भ विभागले जनाएको छ। अन्वेषणको पछिल्लो प्रतिवेदनलाई आधार मान्ने हो भने दैलेखको कुनै भूभागभित्र ग्यास वा पेट्रोल छ भनेर सहजै अनुमान गर्न सकिने देखिएको हो।

    नेपाल र चीन सरकारले भने पेट्रोलियम पदार्थको उत्खननका लागि सन् २०१७ मा सम्झौता गरेको थियो । सोहीअनुसार विभिन्न चरणमा काम सुरु भइरहेका छन् । रासस

  • अफगानी पूर्वराष्ट्रपतिले भने : ६० लाख काबुलबासीलाई जोगाउन देश छाडे

    अफगानी पूर्वराष्ट्रपतिले भने : ६० लाख काबुलबासीलाई जोगाउन देश छाडे

    काठमाडौं । अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले ६० लाख काबुलबासीलाई हिंसाबाट जोगाउन आफुले देश छाडेको बताएका छन् । देश छाड्नुको कारणबारे उल्लेख गर्दै विज्ञप्ति निकालेका उनले तालिबान देशको राजधानी काबुल प्रवेश गर्दै गर्दा आफू देश छाडेर भाग्नुको कारणबारे व्याख्या गरेका हुन् । बीबीसीका अनुसार दुई पटक राष्ट्रपति बनिसकेका गनीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेको बताएका छन् ।

    विज्ञप्तिमा गनीले माफी पनि मागेका छन् । अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर लिएर आफूले देश छाडेको आरोपको भने उनले सिधै अश्वीकार गरेका छन् । उनले तालिबान वा तालिबान सरकारबारे कुनै टिप्पणी नगरेको समेत समाचारमा उल्लेख छ । अशरफ गनी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित भएका थिए। उनी पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बनेका हुन् ।

  • महिलाहरुको महान पर्व तीज आज, महादेवको व्रत र पूजा गरिँदै

    महिलाहरुको महान पर्व तीज आज, महादेवको व्रत र पूजा गरिँदै

    काठमाडौं । नेपाली हिुन्दु महिलाहरुको महान पर्व हरितालिका तीज आज देश तथा विदेशमा रहेका नेपालीले मनाउँदैछन् । नेपाली महिलाले भगवान महादेवको पूजा आराधना तथा निराहार व्रत बसी यो पर्व मनाउने प्रचलन रहेको छ । यस दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गर्दा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । अघिल्लो दिन राति दर खाएर महिलाहरुले आज निराहार व्रत राख्छन् । तीजको दिन शिव पार्वतीको पूजा आरधनासँगै नाचगान समेत हुने गर्छ ।

    आज साविकमा जस्तै पशुपतिनाथ मन्दीर परिसरमा दर्शन गर्न पाइने छैन । तर, सामुहिक रुपमा भेला भई नाचगान र रमाइलो गर्न भने छूट छ । सत्ययुगमा आजको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको विश्वास छ । अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको बताइन्छ ।

    दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीजमा महिलालाई सार्वजनिक बिदा हुन्छ ।

  • एमसीसी उपाध्यक्ष फतिमा आज नेपाल आउँदै

    एमसीसी उपाध्यक्ष फतिमा आज नेपाल आउँदै

    काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार आज नेपाल भ्रमणमा आउने भएक िछिन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी बिहीबार बिहान कतार हुँदै नेपाल आउन लागेको अमेरिकी दूतावासले जनाएको छ । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा चर्को बहस जारी छ ।

    यो भ्रमणले एमसीसी अगाडी बढाउने वा रोक्ने भन्नेमा पनि ठोस निर्णय हुन सक्ने बताइएको छ । उनी चारदिन नेपाल बस्ने छिन् । सो अवसरमा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने बताइएको छ । नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट गर्नेछिन् । उनले एमसीसीमा रहेका भ्रम चिर्न प्रयास गर्नेछिन् ।

  • एमसीसीबारे अमेरिकाले नेपाललाई पठायो जवाफ, के दियो स्पष्टिकरण ?

    एमसीसीबारे अमेरिकाले नेपाललाई पठायो जवाफ, के दियो स्पष्टिकरण ?

    काठमाडौं । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्यापक विरोध भइरहेको समयमा अर्थ मन्त्रालयले सोधेका ेप्रश्नको जवाफ अमेरिकाले नेपाललाई पठाएको छ । नेपालले सोधको प्रश्नको जवाफमा एमसीसीले यो सहयोग सैन्य रणनीतिको हिस्सा नरहेको स्पष्ट पारेको छ । सन् २०१७ मा हस्ताक्षर भएको यो सम्झौता अनुमोदन गर्ने समय ढल्कनै लागेको छ ।

    एमसीसी अब संशोधन समेत नहुने अमेरिकाले बताएको छ । मन्त्रालयले यो सहयोग इन्डो प्यासेफिक रणनीति अन्तर्गत भए नभएको, नेपालको संविधान माथि रहने वा नरहने, बौद्धिक सम्पत्ति को सँग रहने ?सहितका ११ वटा प्रश्न र १७ सहायक प्रश्न मिलेनियम च्यालेन्ज कर्पोरेसन, अमेरिकामा पठाएको हो ।

    अमेरिकाले ति सबै प्रश्नको जवाफ दिएको छ । बुधबार त्यसको जवाफ एमसीसीले सरकारलाई पठाएको छ । अमेरिकाले एमसीसी नेपाल कम्प्याक्ट हिन्द प्रशान्त रणनीति मातहतको सम्झौता नभएको भन्दै एमसीसी कम्प्याक्टहरु एमसीसी र साझेदार सरकारबीचका सम्झौता भएको बताएको छ । अमेरिका र नेपालबीचको बलियो सम्बन्ध हिन्द प्रशान्त रणनीति भन्दा धेरै अघि देखिको भएको समेत उसले बताएको छ ।

    एमसीसी लागू हुने अमेरिकी कानुन (मिलेनियम च्यालेन्ज ऐन २००३) ले कुनै पनि सैन्य प्रयोजनका निम्ती अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरेको भन्दै अमेरिकाले कानुनी बन्देजका बारेमा कप्याक्ट स्पष्ट रहेको बताएको छ । इन्डो प्यासिफिक रणनीतिको सम्बन्धमा नेपालको कुनै पनि निर्णय एमसीसी नेपाल कम्प्याक्टबाट अलग र स्वतन्त्र रहने एमसीसीले बताएको छ ।

  • पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

    पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

    काठमाडौं । लगानी बोर्डले आगामी पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने सहितका लक्ष्य राखेको छ । ती लक्ष्य समेटिएको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको छ ।

    बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औँ वार्षिकोत्सव समारोहमा उक्त योजना सार्वजनिक गरेका छन् । उक्त योजनमा कम्तीमा एक लाख रोजगारी सिर्जना गर्न सहयोग गर्ने र प्रभावकारी लगानी प्रवर्द्धनका लागि वातावरण निर्माणमा योगदान पुर्‍याउने उल्लेख छ । रणनीतिक योजनामा लगानी बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्ट केन्द्रका रुपमा विकास गर्न महत्वपूर्ण पाँच मूल लक्ष्यसमेत लिइएको छ ।

    परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारीसहित चारखम्बे योजनासहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच पनि योजनामा छ । बोर्डले पूर्वाधारको विकास महत्वपूर्ण रहेको निष्कर्षका साथ काम गरिरहेको छ ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पूर्वाधार विकासलाई तीव्ररुपमा अघि बढाउन लगानी बोर्डले लगानीयोग्य परियोजनाको सूची तयार गरेको जानकारी दिए । बोर्डका अनुसार सरकारले अहिले मुख्यतः सिमेन्ट र विद्युत् उत्पादन लगायतलाई बढावा दिइरहेको छ ।

  • संसदमा एमालेको नाराबाजी, राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

    संसदमा एमालेको नाराबाजी, राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

    काठमाडौं । संसदमा आज नेकपा एमालेले नाराबाजी गरेको छ । संसदको नियमित बैठक अवरुद्ध गरेको पार्टीका सांसदहरुले रोष्ट्रम घेराउ गरि सभामुखविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले एमाले फुटाउन सभामुखले षडयन्त्र गरेको भन्दै विरोध गहिरहेका छन् । विरोधको माहौलका बीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।

    नेकपा एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएपनि एमाले आक्रोसित बनेको हो । बुधबार प्रतिनिधिसभा बैठक बस्नासाथ एमालेले अवरुद्ध गरेको हो । एमालेको अवरोध गरेकै समयमा सभामुखले गृहमन्त्री बालकृष्ण खाँडलाई अध्यादेश पेश गर्न अनुमति दिए । मन्त्री खाँडलाई रोक्न एमालेका सांसद तछाडमछाड गरेका थिए । उनीहरुलाई मर्यादापालकले अगाडी बढ्न दिएनन् ।

  • रोकिएन् नेपाली सेयर बजारको पहिरो, दुई दिनमै नेप्से १०५ अंकले घट्यो

    रोकिएन् नेपाली सेयर बजारको पहिरो, दुई दिनमै नेप्से १०५ अंकले घट्यो

    काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम जारी छ । यससाता आइतबार १०८ अंकले घटेको बजार सोमबार १६२ अंकले कमब्याक गरे पनि त्यसयता फेरि ओरालो लागेको हो ।

    पछिल्ला दुई दिनमै नेप्से १०५ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गरेपछि शुरु भएको नेप्सेको ओरालो यात्रा अझै जारी रहेको हो । पछिल्ला ३ सातामा मात्रै नेप्से करिब साढे ३ अंकले घटिसकेको छ ।

    सूचकसँगै कारोबार रकममा पनि दैनिक गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम १ अर्बले घटेर साढे ६ अर्बमा सीमित भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ रुपैयाँ बराबरको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ३.२९ प्रतिशतले घटेको छ । यस्तै, अन्य समूहको परिसूचक पनि ३.२३ प्रतिशतले घटेको छ ।

    आज कारोबारमा आएका २२५ कम्पनीमध्ये जम्मा ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १७८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, अरुण भ्याली साढे २४ करोड र स्वरोजगार लघुवित्त २४ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    उच्च अंकले घटेको बजारमा आज लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर मूल्य सबैभन्दा धेरै ६.०६ प्रतिशतले घटेको छ । यसैगरी, गुडविल फाइनान्स, एनआइबीएल समृद्धि १ फण्ड, सिभिल लघुवित्त र गुह्येश्वरी मर्चेन्टको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    घट्दो बजारमा पनि आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

  • बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री थपिए (सूचीसहित)

    बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री थपिए (सूचीसहित)

    काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गरेकी छन् ।

    मुख्यमन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री थप्दै १२ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेकी हुन् ।

    नवगठित मन्त्रिपरिषद्मा एमालेको माधव नेपाल समूह छोडेकी रचना खड्का अर्थमन्त्री बनेकी छन् । डा। अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

    बुधबार नियुक्त भएकासँगै बागमती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ।

    केही सांसदहरुले माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोजेसँगै बागमती सरकार अल्पमतमा छ। बागमतीमा एमालेका ५६ सांसदमध्ये १३ जना एकीकृत समाजवादीमा गएका हुन्।

    भदौ २ गते मुख्यमन्त्री बने लगत्तै शाक्यले २ जना मन्त्री नियुक्त गरेकी थिइन् ।

    २ जना मन्त्रीमध्ये सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले माधव नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्दै पदबाट राजीनामा दिइसकेका छन् भने अर्का मन्त्री केशव राज पाण्डेले सरकारको प्रवक्ताको जिम्मेवारीसहित आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका छन् । अन्य मन्त्रालय भने मुख्यमन्त्री शाक्य आफैले सम्हाल्दै आएकी थिइन् ।

    यता बागमती प्रदेश सरकारको नेतृत्व गरेको एक सातामै उनी अल्पमतमा परेकी छन् ।

    नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको जिम्मेवारी यस प्रकार तोकिएको छ :

    १. अष्टलक्ष्मी शाक्य,मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
    २.केशवराज पाण्डे, मन्त्री, भौतीक पूर्वाधार विकास मन्त्रालय
    ३. रचना खड्का, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
    ४. विजय सुबेदी, मन्त्री, सामाजिक विकास मन्त्रालय
    ५. शान्तिप्रसाद पौडेल, मन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
    ६ . प्रदिप कुमार कटुवाल क्षेत्री, मन्त्री, स्वास्थ्य मन्त्रालय
    ७. डा.अजय क्रान्ति शाक्य, मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
    ८.चन्द्र लामा,मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
    ९ .जिवन खड्का, राज्यमन्त्री, भौतीक पूर्वाधार विकास मन्त्रालय
    १० .सरस्वती बाटी, राज्यमन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
    ११. जुनेली श्रेष्ठ, राज्यमन्त्री, सामाजिक विकास मन्त्रालय
    १२. बद्रि मैनाली, राज्यमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

  • ‘एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ’-प्रचण्ड

    ‘एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ’-प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु भिन्नै विचार, प्रवृति र एजेण्डाबाट आएको बताएका छन् ।

    बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोखरेल ‘वैरागी’को२२औं स्मृतिमा आयोजित कार्यक्रममा उनले आफूहरु भिन्नै शैली, संस्कार र संस्कृतिबाट आएको र त्यसलाई अझ सुदृढ, विकसित र परिमार्जित गरेर जानुपर्ने बताएका हुन् ।

    उनले यो पटक आफूहरु माओवादी केन्द्रलाई रुपान्तरण र क्रान्तिकारी दिशामा अगाडि बढाई छाड्ने भनेर सङ्कल्पको साथ केन्द्रीय समिति र स्थायी समितिका बैठकहरु अगाडि बढाइएको बताए । तल्लोस्तरसम्म योजनाबद्ध ढंगले पार्टीलाई पुनर्निर्माण गरी व्यवस्थित गर्न लागिपरेको उनको भनाइ छ ।

    एमालेले डलर भित्र्याएर पार्टीभित्र गुट उपगुट बलियो बनाउन खोजेको भन्दै प्रचण्डले सूर्य चिन्ह र मदन भण्डारीको नाम प्रयोग गरेर एमालेका नेतृत्वले पदका लागि मात्र राजनीति गरेको उल्लेख गरे । एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने उनको भनाइ थियो । ‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुन्छ,’ उनले भने ।

    अहिले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताए । उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने पनि स्पष्ट पारे ।

    आफूहरु गठबन्धनलाई बचाएर सकारात्मक रुपमा अघि बढ्न तयार रहेको तर अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने र प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको उनको आरोप छ ।

  • कारवाहीमा परेका १४ जना सांसद उपस्थित भए संसद चल्न दिदैनाैं : अध्यक्ष ओली

    कारवाहीमा परेका १४ जना सांसद उपस्थित भए संसद चल्न दिदैनाैं : अध्यक्ष ओली

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएको छ ।

    प्रतिनिधिसभाको बैठक आज बुधबार (२३ भदौमा) बोलाइएको छ । त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइन्छ कि फर्काइँदैन हेर्ने बताए ।

    उनीहरु उपस्थित भए बैठक नै शुरु हुन नसक्ने भन्दै उनले भने, ‘नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निष्कासन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं ?’ उनले अघि थपे, ‘यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भै हुन दिँदैनौं ।

  • मेक्सिकोमा गर्भपतनलाई अब कानूनि मान्यता

    मेक्सिकोमा गर्भपतनलाई अब कानूनि मान्यता

    काठमाडौं । मेक्सिकोमा गर्भपतनले कानूनि मान्यता पाएको छ । त्यहाँको सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । गर्भपतन अपराध नभएको ठहर गर्दै अदालतले ऐतिहासिक फैसला गरेको हो । बीबीसीका अनुसार गर्भपतन गराएकालाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक हुने फैसला अदालतले गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश लुइ मारिया याग्वीलाले यस्तो फैसला सुनाए ।

    उत्तरी राज्य खोवीलासँग सम्बन्धित फैसलाले अब गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्ने भएको छ। न्यायाधीश याग्वीलाले यो फैसला महिला अधिकारका दृष्टिले ऐतिहासिक भएको बताएका छन् । सर्वसम्मत गरिएको अदालतको यो फैसलापछि उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई कानुनी मान्इता दिन बाध्य बनाउने छ। मेक्सिकोका केही राज्यमा मात्रै गर्भपतनलाई कानुनी मान्यता छ। कतिपय राज्यले अझै गर्भपतनलाई अपराधको रुपमा लिँदै आएमा यो फैसलालाई ऐतिहासिक भनिएको हो ।

  • एमाले फुटपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सकियो, केही दिनमै निर्णय आउने

    एमाले फुटपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सकियो, केही दिनमै निर्णय आउने

    काठमाडौं । एमाले विभाजन भएपछि बनेको नयाँ पार्टी एकिकृत समाजवादी दलमा जान चाहने स्थानीय र प्रदेश तहका जनप्रतिनिधिलाई मंगलबारसम्मको समय सीमा दिइएको थियो । सो समय भित्र सनाखत गरेका जनप्रतिनिधिको पद सुरक्षित रहने छ । साथै उनीहरु नयाँ दलमा रहने छन् । अन्यको भने एमाले मै रहने छन् । यो जनता समाजवादी दलमा समेत लागु हुने छ ।

    निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीका प्रदेश तथा स्थानीय जनप्रतिनिधिहरूलाई नयाँ गठन भएका पार्टी छनोटका लागि दिइएको म्याद मंगलबार सकिएको हो । एमालेका जनप्रतिनिधिहरुलाई माधवकुमार नेपाल नेतृत्वको नयाँ दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जनप्रतिनिधिलाई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गर्ने समय तोकिएको थियो ।

    सबै जिल्लाहरुसँग समन्वय गरी सनाखतहरु प्रदेशको निर्वाचन कार्यालयमार्फत ल्याउन आयोगले निर्देशन दिएको छ । नयाँ दलमा सनाखतका लागि नागरिकता, मतदाता नामावली वा स्थानीय तहमा निर्वाचित प्रमाणपत्रको प्रतिलिपि लगायतका बुझाइएका कागजपत्रहरु ई–मेलमार्फत पनि पठाउन सकिने थियो । केही दिनमै आयोगले सनाखत सार्वजनिक गरि जनप्रतिनिधिको सूचि सार्वजनिक गर्नेछ । यससँगै संघदेखि स्थानीय तहसम्म दुई नयाँ दल अस्तित्वमा आउने छन् ।

  • तीजको दर खाने दिन आज, चेलीहरु पुग्नेछन् माइतीमा

    तीजको दर खाने दिन आज, चेलीहरु पुग्नेछन् माइतीमा

    काठमाडौं । महिलाहरुको महान चाड हरितालिका तीज बिहीबार परेको छ । त्यसको अघिल्लो दिन आज दर खाने दिनका रुपमा मनाइदैछ । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने गरिनछ । दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गरिन्छ । आज बिहे गरेर गएका चेली आज माइतीमा फर्कने छन् । आज दर खाएर चेलीहरु तीजको दिन निराहार व्रत बस्छन् । सो दिन शक्ति प्राप्त होस भनी अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिएको हो ।

    सामान्यताय आज तीजको दर खाने गरिए पनि शहर बजारमा भने एक महिना अगाडीबाटै तीजका कार्यक्रम राख्ने फेसन शुरु भएको छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाइन्छ ।

  • संसदको अधिवेशन आजबाट शुरु

    संसदको अधिवेशन आजबाट शुरु

    काठमाडौं । प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो बैठक आज बस्ने भएको छ । बुधबार अपराह्न चार बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाइने भएको छ । सभामुख अग्नि सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने समेत कार्यसूची रहेको छ । एक दर्जन बढी अध्यादेश स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने पनि आजको बैठकको सम्भावित कार्यसूची छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश बैठकमा पेश गर्ने कार्यक्रम छ ।

    नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश स्वीकृतिका लागि पनि प्रस्ताव पेश हुने भएको छ ।

    सपथ सम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी पहिलो संशोधन अध्यादेश, तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

  • काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, छानो राख्न शुरु

    काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, छानो राख्न शुरु

    काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक सम्पदा बसन्तपुरस्थित काष्ठमण्डप पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । अब छानो छाउने काम सुरु गरिएको हो । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण गरि छानो राख्न थालिएको हो ।

    सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई उदृत गर्दै राससले लेखेको छ । उनका अनुसारकाष्ठमण्डप सम्पदाको पुनःनिर्माणको काम निरन्तर छ । काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर काष्ठमण्डपको पुनःनिर्माण हुने उनले बताएका छन् ।

    काष्ठमण्डप सम्पदा पुरानै प्रविधिबाट निर्माण गर्नु विश्वका लागि नमूना भएको उनले बताए । काष्ठमण्डप सम्पदा पुनःनिर्माणका लागि हालसम्म रु ११ करोड ५० लाख खर्च भएको छ । काठैकाठको प्रयोग, झिङ्गटीका छाना, चारकुने इँटाका गरा, लेसाइलो माटोको लिपाइ, मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना काष्ठमण्डपमा पाइन्छ ।

  • अफगानिस्तानमा तालिबानले बनायो सरकार

    अफगानिस्तानमा तालिबानले बनायो सरकार

    काबुल । अफगानिस्तानमा तालिबानले सरकार घोषणा गरेको छ । तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको बीबीसीले जनाएको छ । समूहका अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने भएका छन्। उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने समूहका प्रवक्ता जबिहुल्ला मुजाहिदले बताएका छन्। अब्दुल गनी बरादर तालिबान समूहका उपसंस्थापक पनि हुन्। उनी विगतमा अमेरिकासँग दोहामा भएको शान्तिवार्तामा सहभागी हुँदै आएका थिए।

    मन्त्रिपरिषद्‌ गठनलाई तालिबान सरकार स्थापनाको दिशामा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ। तालिबान सरकारले शुरूमा गर्नुपर्ने काममा देशको अर्थतन्त्रलाई स्थिर बनाउनु, अन्तर्राष्ट्रिय मान्यता खोज्नु र बढ्दो मानवीय सङ्कटलाई सम्बोधन गर्नु हुने समेत बीबीसीको भनाई छ । केही दिनयता तालिबानले जुनसुकै बेला सरकार गठनको घोषणा गर्न सकिने बताउँदै आएका थिए। तालिबानले तीन साताअघि अफगानिस्तानमाथि नियन्त्रण कायम गरेका थिए। राजधानी काबुलमा चाहिँ उनीहरूले अगस्ट १५ तारिखमा नियन्त्रण कायम गरेका थिए।

  • संखुवासभा हत्याकाण्ड: ६ जनाकै टाउकोमा प्रहार गरि हत्या भएको खुल्यो

    संखुवासभा हत्याकाण्ड: ६ जनाकै टाउकोमा प्रहार गरि हत्या भएको खुल्यो

    धरान । संखुवासभामा भएको सामूहिक हत्या काण्डमा मारिएका ६ जनालाई नै टाउकोमा प्रहार गरि मारिएको पाइएको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । चिकित्सकका गरेको प्रारम्भिक जाँचबुझ अनुसार टाउकोमा देखिएको गम्भीर चोटका कारण उनीअरुको मृत्यु भएको देखिएको छ । टाउकोमा पछाडीबाट लौरो वा मुंग्रो जस्तो वस्तुले प्रहार गरिएको र यसले टाउकोमा गम्भीर चोट लाग्दा ज्यान गएको पाइएको छ । प्रहरीले हत्यामा प्रयोग भएको वस्तु अझै बरामद गर्न सकेको छैन ।

    प्रहरीका अनुसार हत्या सोमबार बिहान भएको हुन सक्ने अनुमान छ । मृतकको खुट्टामा जुत्ता चप्पल समेत देखिएका कारण घटना अझ रहस्यमय बनेको हो । सोमबार बिहान संखुवासभाको मादी नगरपालिका–१, उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको छ ।

    ९३ वर्षीया बौद्धमान कार्की मात्र सकुशल छन् । बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की, नाति विपिन र नातिनी गोमा कार्कीको हत्या भएको छ । प्रहरीले मंगलबारबाटै घटनाबारे गम्भीर अनुसन्धान थालेको बताएको छ ।

  • रोहित र सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालको जित

    रोहित र सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालको जित

    काठमाडौं । पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ ।

    मंगलबार ओमानमा भएको खेलमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर गुमाएर भेटाएको हो ।

    नेपालको जितमा रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारी गरे । रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भएका थिए भने सोमपाल २२ रनमा अविजित रहे ।

    त्यस्तै आशिफ शेखले ३०, कुशल भुर्तेलले १५ र सोमपाल कामीले अविजित २२ रन बनाए । बलिङतर्फ पीएनजीका गौडी टोकाले तीन विकेट लिए । त्यस्तै दमेन राभु र चाद सोपरले दुई–दुई विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।

    बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए, १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई–दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।

  • नेपालमा थप १६७७ जनामा कोरोना पुष्टी, २०७२ जना संक्रमण मुक्त

    नेपालमा थप १६७७ जनामा कोरोना पुष्टी, २०७२ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ पीसीआर परीक्षण गर्दा १४२३ जना र ३९२३ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १६७७ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७२ हजार १८२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २०७२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख १३ हजार जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।

  • सभामुखविरुद्ध मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, निर्वाचन आयोगसँग लिखित जवाफ माग

    सभामुखविरुद्ध मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, निर्वाचन आयोगसँग लिखित जवाफ माग

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) लाई भदौ २८ गते छलफलका लागि बोलाएको हो ।

    ओलीको तर्फबाट बहस गरेका अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमेश बडालका अनुसार सांसद पदबाट मुक्त गर्ने कि नगर्ने भन्ने विषयमा छलफलका लागि प्रधानन्यायाधीश जबराको एकल इजलासले १४ जना संघीय सांसद र लुम्बिनी प्रदेश सभाका सदस्य र रिट निवेदक पक्षलाई बोलाउने आदेश गरेको हो ।

    एमालेले १४ सांसदलाई दलबाट निष्कासन गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएपछि अध्यक्ष ओलीले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

    पार्टीले २५ साउनमै सांसदहरुलाई दलबाट निष्कासन गरेको र सो निर्णय कार्यान्वयनका लागि संसदलाई भदौ १ मा जानकारी गराएको भन्दै रिटमा सभामुखले कानुन बमोजिम प्रक्रिया अवलम्बन नगरेको भन्दै सभामुखको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेको थियो ।

    त्यस्तै ह्वीप उल्लंघनमा पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदलाई पदमुक्तको सूचना टाँस नगरेको भन्दै सभामुख अग्नि सापकोटालाई पनि रिटमा विपक्षी बनाइएको छ ।

  • नेपाली सेयर बजारमा फेरि गयो पहिरो, कारोबार साढे ७ अर्बमा सीमित

    नेपाली सेयर बजारमा फेरि गयो पहिरो, कारोबार साढे ७ अर्बमा सीमित

    काठमाडौं । सेयर बजारमा फेरि पहिरो गएको छ । सोमबार एकैदिन कीर्तिमानी १६२ अंकले बढेको बजार आज फेरि उच्च अंकले घटेको हो ।

    यस साता सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । आइतबार एकैदिन १०८ अंकले घटेको बजार सोमबार १६२ अंकले बढेको थियो भने आज फेरि ४४ अंकले घटेको छ ।

    सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब बढीले घटेर साढे ७ अर्बमा सीमित भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ४४.१८ अंकले घटेर २९३६.६१ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२२ कम्पनीको ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँ बराबरको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड र अन्य समूहबाहेक बाँकी सबैको परिसूचक राताम्मे भएका छन् ।होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.९९ प्रतिशतले घटेको छ । निर्जीवन बीमा र माइक्रोफाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कारोबारमा आएका २२२ कम्पनीमध्ये जम्मा ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १७४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झण्डै ६२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, अरुण भ्याली ३४ करोड र अपी पावर १९ करोड सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

    दोहोरो अंकले घटेको बजारमा आज आरएमडीसी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.७३ प्रतिशतले घटेको छ । यसैगरी, रुरु जलविद्युत् ७.०१ प्रतिशत, प्रोग्रेसिभ फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, माउन्टेन इनर्जी, आरएसडीसी माइक्रोफाइनान्स र नयाँ सारथी लघुवित्तको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
    घट्दो बजारमा पनि आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

  • फेरिए काठमाडौं सिडिओ, गृहका सहसचिव गोविन्द रिजाललाई जिम्मेवारी

    फेरिए काठमाडौं सिडिओ, गृहका सहसचिव गोविन्द रिजाललाई जिम्मेवारी

    काठमाडौं । काठमाडौं जिल्ला प्रशासनका प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले यसअघि सिडिओ रहेका कालीप्रसाद पराजुलीलाई गृहमा तानेको हो। उनको ठाउँमा गृहका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको गृहले जनाएको छ।

    पराजुलीले गत मंसिरमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए।

    प्रमुख जिल्ला अधिकारीको पदावधि एक वर्षको हुने गर्छ। पछिल्लो समय सिडिओ पराजुलीले काठमाडौंको चन्द्रागिरि रिसोर्टलाई स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै स्पष्टीकरण सोधेका थिए।

  • आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन

    आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन

    काठमाडौं । हिन्दु धर्मावलम्बीहरु बुबालाई भगवानको रुपमा सम्मान गर्छन् । बुबालाई सम्मान प्रकट गर्ने दिनका रुपमा आज नेपाल तथा विदेशमा कुशे औंशी पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसीका दिन देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने प्रचलन रहेको छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राखेमा परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

    सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । आज छोराछोरीले आआफ्ना बुबालाई मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने प्रचलन रहेको छ । बाबु नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्छ ।

  • नेपाल र पपुवा न्यूगिनीबीच आज एक दिवसीय क्रिकेट

    नेपाल र पपुवा न्यूगिनीबीच आज एक दिवसीय क्रिकेट

    काठमाडौं । नेपाल र पपुवा न्यूगिनीबीच आज एक दिवसीय क्रिकेट खेल हुँदैछ । आईसीसी क्रिकेट विश्वकप लिग २ मा त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेको नेपालले सिरिज शुरु हुने अगाडी पपुवा न्यु गिनीसँग दुई खेलको सिरिजमा भाग लिँदैछ । जसमा पहिलाने खेल आज हुँदैछ । नेपाल र पीएनजीबीच मंगलबार बिहान नेपाली समय अनुसार ११ः१५ बजेबाट ओमान एकेडेमीस्थित अल अम्रित क्रिकेट मैदानमा खेल शुरु हुने तालिका छ । खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ । दोस्रो खेल भने शुक्रबार हुदैछ । सो खेल रातमा संचालन हुने छ । त्रिकोणात्मक सिरिज र पीएनजीसँगको खेलका लागि नेपाली क्रिकेट टोली अगष्ट २४ मा ओमान पुगेको हो ।

  • बेलायती महारानीले  राजा महेन्द्रलाई दिएको बग्गी सार्वजनिक प्रदर्शनीमा

    बेलायती महारानीले राजा महेन्द्रलाई दिएको बग्गी सार्वजनिक प्रदर्शनीमा

    काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयाले तत्कालीन राजा महेन्द्र शाहलाई उपहार दिएको सुनौली बग्गी अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । यो बग्गी तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा प्रयोग गर्न ल्याइएको थियो । नारायणहिटी दरबार सङ्ग्रहालयमा सोमबार बग्गीको औपचारिक सार्वजनिकीकरण गरियो । अब संग्रहालय घुम्न जानेहरुले यो बग्गी हेर्न सक्ने छन् । यसअघि हिटलरले राजा त्रिभुवनलाई उपहार दिएको कार समेत प्रदर्शनीमा राखिएको छ ।

    महारानी पहिलो पटक २०१६ सालमा नेपाल भ्रमणमा आउँदा बग्गी समेत साथमा ल्याएको इतिहास छ । २०३१ साल फागुन १२ गते राजा वीरेन्द्रको राज्याभिषेकका बेला पहिलो पटक बग्गी प्रयोग गरिएको थियो । २०४२ सालमा बेलायतकी महारानी पुनः नेपाल भ्रमणमा आउँदा यसै बग्गीमा राखेर उनको अभिनन्दन गरिएको थियो । उनलाइर्ए वसन्तपुरदेखि नारायणहिटी दरबारसम्म सोही बग्गीमा राखेर ल्याइएको थियो । यस्तो बग्गी संसारमा दुई वटा मात्र रहेको र एउटा बेलायतको बकिङ्घम दरबारमा मात्र रहेको समेत बताइएको छ । जहाँ महारानी अहिले पनि बस्ने गर्छिन् ।