Category: फिचर

  • मोटरसाइकलमा लागुऔषध राखी प्रहरीले फसाउन खोजेका पत्रकारलाई सीसी क्यामराले बचायो, प्रहरी निलम्बित

    मोटरसाइकलमा लागुऔषध राखी प्रहरीले फसाउन खोजेका पत्रकारलाई सीसी क्यामराले बचायो, प्रहरी निलम्बित

    रौटहत । मोटरसाइकलमा आफैले लागुऔषध राखेर पत्रकारलाई फसाउन खोजेका प्रहरीको कर्तुत सीसीटीभी क्यामराका माध्यमबाट पर्दाफास भएको छ । घटना रौतहतको हो । पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोजेका प्रहरीका दुई घुमुवालाई संगठनले निलम्बन गरेको छ । प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साह निलम्बनमा परेका छन् । उनीहरुमाथि अनुसन्धान समेत शुरु भएको छ ।

    निलम्बन अघि घटनाको सूक्ष्म अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले २ नम्बर प्रदेश कार्यालयलाई निर्देशन दिएको हो । त्यसपछि प्रदेश प्रहरी कार्यालयले असई यादव र जिल्ला प्रहरी कार्यालय रौतहटले जवान यादवलाई निलम्बन गरि अनुसन्धान अगाडी बढाएको जानकारी गराएका छन् ।

    साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत खटिएका दुई घुमुवा प्रहरीको योजनामा मोहम्मद मोजिबुल्लाह र शेख अतिउल्लाह सवार बिआर ३० एस–१८८७ नम्बरको मोटरसाइकलमा लागूऔषध नाइट्रोभेटका १५० ट्याबलेट राखिएको थियो । घुमुवा प्रहरीको संलग्नता र योजनामा धिरज यादव र जितकुमार यादवले मोटरसाइकलमा लागू पदार्थ राखेको सीसीटीभी फुटेजमा भेटिएको थियो ।

    दुवै जनालाई आपराधिक षड्यन्त्र गरेको कसुरमा जिल्ला अदालत रौतहटबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको रौतहट प्रहरीले जानकारी गराएको छ । पत्रकारले प्रहरीका गलत कामको भण्डाफोर गर्ने गरि समाचार लेखिरहेका थिए । सोही रिसिवीका कारण पत्रकारलाई फसाउन खोजिएको आरोप लागेको छ ।

  • माधव नेपालसहितका नेताहरु चन्द्रागिरी रिसोर्टमा

    माधव नेपालसहितका नेताहरु चन्द्रागिरी रिसोर्टमा

    काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितको टोली चन्द्रागिरी पुगेकाे छ ।

    निर्वाचन आयोगले भदौ ९ गते सनाखतका लागि बोलाएका बेला नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपालसहित ३१/३२ जनाको समूह चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेका हुन् ।

    बैठकमा सहभागी एक नेताकाअनुसार नयाँ पार्टीको दस्तावेजका विषयमा छलफल गर्न नेताहरुको समूह चन्द्रागिरी पुगेको हो । साथै आयोगले सनाखतका लागि बोलाएकाले माधव नेपालले आफ्नो पक्षमा बहुमत जुटाउनका लागि कसरत गरेका हुन् ।

    उनले पार्टी विभाजनमा तटस्थ बसेका आफू पक्षका नेताहरुलाई नयाँ पार्टीमा ल्याउनका लागि कसरत थालेका छन् । एमालेमा हुँदा नेपाल समूहमा रहेका भीम रावल, घनश्याम भुसालसहितका प्रभावशाली नेताहरु नयाँ पार्टीमा नजाने भन्दै तटस्थ बसेका थिए ।

    सांसदद्वय प्रेम आले र किसान श्रेष्ठको अगुवाईमा नेताहरु चन्द्रागिरी पुगेको स्रोतले जानकारी दियो । केहीदिअगाडि निर्वाचन आयोगमा नेकपा एमालेबाट विभाजन भएर नयाँ पार्टी दर्ता गरेको नेपाल समूह पार्टी निर्माण र संगठन विस्तारलगायतका काममा जुटेको छ ।

    आयोगले नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललाई सनाखतका लागि भदौ ९ गते बोलाएको हो ।

    प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनालसहित ११५ जना केन्द्रीय सदस्य छन् ।

  • नेपालमा थप १८०१ जनामा कोरोना पुष्टी, १९२४ जना संक्रमण मुक्त

    नेपालमा थप १८०१ जनामा कोरोना पुष्टी, १९२४ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षणमा १५४८ र २६२२ एन्टिजेन परीक्षणमा २५३ गरी १८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १९२४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।

  • लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

    लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत पाएका छन् ।

    सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत पाएका हुन् ।

    आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको छ ।

    मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो । त्यसैले विपक्षमा मत नपरेको हो ।

    संविधानको धारा १६८ को उपधारा (२) अनुसार नियुक्त संयुक्त सरकारको मुख्यमन्त्री, उपधारा (३) अनुसार नियुक्त अल्पमतको मुख्यमन्त्री र उपधारा (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार पेश गरी नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

    मतदानमा उपस्थित ४३ जना मध्येमा ४२ मत परेको छ । लुम्बिनी सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन्। एमाले ३८ जना छन्।
    उनले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेका थिए ।

  • अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप

    अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप

    काठमाडौं । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप दिइने भएको छ । अफगानिस्तानबाट नेपाल फर्किएका नेपालीलाई सोमबारबाट त्रिभुवन विमानस्थलमै पोलियो खोप दिने तयारी भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण तथा खोप महाशाखाले जानकारी दिएको छ ।

    नेपालमा ५ वर्षमुनिका बालबालिकालाई मात्र पोलियो खोप लगाइन्छ। अफगानिस्तान पोलियो रोगको जोखिम भएको मुलुक हो । अफगानिस्तानबाट फर्किएका नेपालीमा पनि पोलियो संक्रमणको जोखिम हुने भएकाले खोप दिन लागिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

  • एमाले विवाद सहमति नजिक, दश बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार

    एमाले विवाद सहमति नजिक, दश बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच भएको छलफल सहमति नजिक पुगेको छ ।

    अध्यक्ष ओलीको निवास बालकोटमा भएको छलफलमा कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्ने सहमति भएको हो । त्यसको लागि नेकपा एमालेले मंगलबार स्थायी कमिटीको बैठक बोलाएको छ ।

    मंगलबार २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठकमा तेस्रो धारका नेताहरु पनि सहभागी हुनेछन् ।

    सहमतिअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ, जुन भोलि स्थायी कमिटीमा पेश हुनेछ ।

    बालकोटमा भएको छलफलमा सहभागी एक नेताका अनुसार पार्टी एकता हुन्छ कि हुन्न भन्ने विषय उक्त प्रस्तावमा भर पर्नेछ ।

    ‘अहिले नै कुरा मिल्यो भनिहाल्न त मिल्दैन तर सकारात्मक वातावरण बनेको छ ती नेताले भने ।’ ‘हामी एमाले फुट रोक्न चाहन्छौं, दस बुँदे सहमतिको प्रस्ताव कार्यान्वयनमा गएपछि त्यो विभाजन रोक्छ । माधव नेपालसहितका नेताहरूमाथि गरिएको कारवाही भोलिकै बैठकबाट फिर्ता हुने संभावना छ,’ उनले थपे ।

    नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए । उनीहरु सोमबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

  • कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलायो

    कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलायो

    काठमाडौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाएको छ । प्राविधिक विषय मिलिसकेका कारण सोमबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरिएको छ । तीन जना केन्द्रीय सदस्य रहेको क्रियाशील सदस्यता छानबिन समितिले आइतबार यस विषयलाई अन्तिम रूप दिएको हो । सो क्रममा नेताहरुले शीर्ष नेतासँग परामर्श लिएका थिए ।

    रमेश लेखक, कृष्णप्रसाद सिटौला र डा. मीनेन्द्र रिजाल यो समितिमा थिए । समितिले सोही प्रयोजनका लागि आइतबार साँझ सभापति देउवालाई प्रधानमन्त्री निवास वालुवाटारमा भेटेको थियो । समितिले आइतबार नै सभापति देउवालाई प्रतिवेदन बुझाउने भनेको थियो । तर, प्राविधिक काम बाँकि रहेको भन्दै अन्तिम समयमा स्थगित गरिएको थियो । पार्टीमा बारा, सप्तरी, सर्लाही, धनुषा, रसुवा र सिन्धुपाल्चोक जिल्लाको विवाद मिलाउन बाँकी थियो । अन्य जिल्लामा भने विवाद छैन । क्रियाशील सदस्यको समस्या समाधान भएपछि पार्टी अब महाधिवेशनमा जुट्ने नेताहरूको भनाई छ ।

  • मनसुन सक्रिय, एक साता जोखिम

    मनसुन सक्रिय, एक साता जोखिम

    काठमाडौं । नेपालमा मनसुन सक्रिय भएको छ । यसले कम्तिमा एक साता ठूलो वर्षा गराउने भएको छ । जसले गर्दा पहाडमा पहिरो र नदी किनार तथा तराई भेगमा डुबानको समस्या निम्त्याउने जोखिम रेको छ । यो पटक मनसुनको समयमा औसतभन्दा धेरै वर्षा भएको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद्हरुको भनाई छ । यस्तो जोखिम साता भरी नै रहने बताइएको छ ।

    गएरातिदेखि नै काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो केहीबेर पानी पर्न रोकिने सम्भावना छ । बेलुकापखदेखि फेरि पानी पर्नेछ । भोलि पनि मौसम यस्तै रहने छ । पर्सि र बिहीवार भने देशभर नै लगातारजसो झरी पर्ने सम्भावना रहेको छ । वर्षाले पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रानसहितको बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • गाइजात्रा प्रारम्भ, उपत्यकामा बिदा

    गाइजात्रा प्रारम्भ, उपत्यकामा बिदा

    काठमाडौं । गाइजात्रा पर्व आजबाट शुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ शुरु भएको हो । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ आफ्ना क्षेत्रमा परिक्रमा गराउने प्रचलन रहेको छ । उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

    राससका अनुसार यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् धार्मिक विश्वास रहेको छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ(आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको हो ।

    यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हांस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ ।

    देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ । कोरोनाका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउन सरकारले भनेको छ ।

    गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ । सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायाई सार्वजनिक बिदा दिएको छ । गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा समेत सार्वजनिक बिदा छ ।

  • अफगानिस्तानमा उद्धार उडानका लागि अब गैरसैनिक जहाज पनि खटिने

    अफगानिस्तानमा उद्धार उडानका लागि अब गैरसैनिक जहाज पनि खटिने

    काबुल । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट मानिसहरूको उद्धार गर्न अब गैरसैनिक वायुसेवाका विमान समेत प्रयोग गर्न सक्ने गरि अनुमति दिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने उल्लेख गरेको बीबीसीले लेखेको छ । अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा भएका छन्।

    आइतबार राष्ट्रपति बाइडनले अमेरिकाले अघिल्लो हप्ता झन्डै २८ हजार जनाको उद्धार गरिएको जानकारी गराएका थिए । काबुल विमानस्थल बाहिर हजारौँ लामबद्ध भइरहँदा कम्तीमा २० जना मानिस मारिएको समेत रोएटर्सले लेखेको छ । अघिल्लो हप्ता अमेरिकाले २८ हजार जनाको उद्धार गरेको बताइएको छ । बेलायती सशस्त्र बल सम्बन्धी मन्त्री जेम्स हिपीले तालिबानहरूले हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसहरूलाई व्यवस्थित गरिदिइरहेको र त्यसले देश छाड्ने अपेक्षा गरिरहेकालाई सहज भइरहेको बताएका छन् ।

    बेलायतले अगस्ट १३ यता ५ हजार ७ सय २५ जनाको उद्धार गरिसकेको छ । काबुलमा बेलायतका १ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । आइतबार अमेरिकाको रक्षा मन्त्रालयले सीआरएएफ भनिने सिभिल रिजर्भ एअरफ्लिट नियमलाई उद्धारका निम्ति क्रियाशील गराउने घोषणा गरेको हो । यसले सङ्कटको समयमा अमेरिकालाई गैरसैनिक विमानहरू उद्धारमा खटाउन सघाउँछ।

    सन् २००३ मा इराकमा आक्रमण गर्दा र सन् १९९० देखि १९९१ सम्मको खाडी युद्धमा पनि गैरसैनिक विमान खटाइएका थिए। अहिले खटाइने १८ वटा विमानमध्ये चारवटा युनाइटेड एअरलाईन्सका छन्। अमेरिकी एअरलाईन्स, एट्लस एअरलाइन्स, डेल्टा एअरलाईन्स र ‌ओम्नी एअरका तीन, तीनवटा र दुईवटा हवाइयन एअरलाईन्सका जहाज छन् ।

  • अफगानिस्तानबाट अमेरिकी सैन्य जहाज चढेकी महिलाबाट जहाजमै सन्तान पैदा

    अफगानिस्तानबाट अमेरिकी सैन्य जहाज चढेकी महिलाबाट जहाजमै सन्तान पैदा

    लण्डन । अफगानिस्तानबाट अमेरिकी सैन्य जहाज चढेकी एक महिलाले जहाजमै सन्तान पैदा गरेकी छिने । बीबीसीका अनुसार उनी अफगान नागरिक हुन् । उद्धारका लागि परिचालन गरिएको अमेरिकी उडानका क्रममा उनले जर्मनीमा बच्चा जन्माएकी हुन् । आइतवार सामाजिक सञ्जाल ट्विटरमा यूएस एअर मोबीलीटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला प्रसव पीडा सुरु भएको उल्लेख गरेको छ ।

    उनको अवस्था जटिल हुँदै गएपछि विमानका कमान्डरले विमानमा हावाको चाप बढाउन उडानको उचाइ कम गर्ने निर्णय गरेका थिए । यसले उनलाई स्थिर बनाउन र आमाको ज्यान बचाउन मद्दत गरेको थियो । जर्मनीको विमान अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आइपुग्यो र बच्चा जन्माउन सहयोग गरेको समाचारमा उल्लेख छ । बच्चा र आमा दुवैको अवस्था राम्रो रहेको बताइएको छ । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।

  • क्रान्तीकारी शक्तिसँग एकता प्रक्रिया अगाडी बढाउने माओवादी केन्द्रको निर्णय

    क्रान्तीकारी शक्तिसँग एकता प्रक्रिया अगाडी बढाउने माओवादी केन्द्रको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणमा जाने निर्णय लिएको छ । पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। बैठक पेरिसडाँडामा शनिबार र आइतबार दुई दिनसम्म चलेको थियो ।

    श्रेष्ठका अनुसार कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । क्रान्तिकारी धाराका सबैलाई एकै केन्द्रमा ल्याउन पार्टीले पहल गर्ने उनले बताए । बैठकले हालै बसेको केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको जिम्मेवारी पूरा गर्न समेत छलफल अगाडी बढाएको छ ।

    पार्टीको राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने पनि निर्णय गरेकोछ । पार्टी निर्वाचन समितिले निर्वाचन नियमावली र निर्देशिका तयार पार्ने काम गरेको र उक्त निर्देशिका पार्टीका तल्ला कमिटीमा पठाउने निर्णय समेत गरेको श्रेष्ठले बताए ।

  • निर्वाचन आयोगद्धारा एमाले अध्यक्ष ओलीले पठाएको २६० केन्द्रीय सदस्यलाई मान्यता दिन अस्वीकार

    निर्वाचन आयोगद्धारा एमाले अध्यक्ष ओलीले पठाएको २६० केन्द्रीय सदस्यलाई मान्यता दिन अस्वीकार

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर पठाएको केन्द्रीय सदस्य संख्यालाई निर्वाचन आयोगले तत्काल मान्यता नदिने भएको छ ।

    गत मंगलबार पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ बाट २६० पारेर आयोगलाई विवरण दिएको थियो । स्रोतका अनुसार आयोगले कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने तयारी गरेको छ ।

    सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । सो अवस्थामा आयोगले एमालेको २०३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो ।

    आयोगले नेपाल पक्षलाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ । सनाखतका क्रममा नेपाल पक्षले अब २६० को २० प्रतिशत नभई २०३ बाटै २० प्रतिशत पुर्‍याउँदा हुने भएको छ ।

  • दोस्रो धारका नेताबारे गोकुल बाँस्कोटाको टिप्पणी-‘जानेलाई बाटो छ, मंगलबारपछि बुधबार आउँछ’

    दोस्रो धारका नेताबारे गोकुल बाँस्कोटाको टिप्पणी-‘जानेलाई बाटो छ, मंगलबारपछि बुधबार आउँछ’

    काठमाडौं । एमाले नेता भीम रावललगायत दोस्रो धारका नेताहरुले मंगलबारसम्म दिएको अल्टिमेटमबारे गोकुल प्रसाद बाँस्कोटाले लागि कडा टिप्पणी गरेका छन् ।

    रावललगायतका नेताहरुले मंगलबारसम्म दश बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिएपछि नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

    मंगलबारे समयको रोईलो मैले बुझिन।बस्नेलाई राडी बिच्छ्यएको फलैचा जानेलाई बाटो।काग र कोईली कालै देखिन्छन र चलाख पनि।तर खास फरक गृष्मयाममा देखिन्छ।र,सबैलाई थाहा छ मंगलबार पछि बुधबार आउछ।

    नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत लेखेका छन्–‘मंगलबारे समयको रोईलो मैले बुझिन।बस्नेलाई राडी बिच्छ्यएको फलैचा जानेलाई बाटो।काग र कोईली कालै देखिन्छन र चलाख पनि।तर खास फरक गृष्मयाममा देखिन्छ। र,सबैलाई थाहा छ मंगलबार पछि बुधबार आउँछ ।

    मंगलबारे समयको रोईलो मैले बुझिन।बस्नेलाई राडी बिच्छ्यएको फलैचा जानेलाई बाटो।काग र कोईली कालै देखिन्छन र चलाख पनि।तर खास फरक गृष्मयाममा देखिन्छ।र,सबैलाई थाहा छ मंगलबार पछि बुधबार आउछ।

  • नेपालमा थप १९२० जनामा कोरोना पुष्टी, २४ जना संक्रमितको मृत्यु

    नेपालमा थप १९२० जनामा कोरोना पुष्टी, २४ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९२० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २,२४८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

  • शनिबार एकै पटक मलेसियाबाट ल्याइयो २४ नेपालीको शव र अस्तु

    शनिबार एकै पटक मलेसियाबाट ल्याइयो २४ नेपालीको शव र अस्तु

    काठमाडौं । शनिबार मलेसियाबाट एकै उडानमा २४ जना नेपालीको शव र अस्तु ल्याइएको छ । वैदेशिक रोजगारीमा जाँदा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव एकै पटक नेपाल ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट ती शव नेपाल ल्याइएको हो । वैदेशिक रोजगार बोर्डले यी शव नेपाल ल्याउन भूमिका खेलेको हो ।

    सचिवालयका अनुसार मलेसियाबाट ९ वटा शव र १५ वटा अस्थु गरी २४ जनाको शव नेपाल ल्याइएको हो । बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्थुमात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरिएको छ ।

    विमानस्थल आइपुगेका नौवटा शव शनिबारै मृतकको घरसम्म पठाइएको छ । विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था छ । पछिल्लो पटक कोभिडका कारण उडान नियमित नहुँदा विदेशमा सङ्कलन भएका शव १५ देखि महिना दिनको बीचमा एकैपटक ल्याउने गरिएको छ ।

    वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७, ०७८ मा मात्र एक हजार २४२ जनाले ज्यान गुमाएका छन् । विदेशमा कारण थाहा नभएको, प्राकृतिक, अन्य, अनुसन्धान भइरहेकोजस्तो बाट मृत्यु भएको विवरण आउँछ । यसमा खासगरी हृदयाघात, आत्महत्या, सडक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटनाबाट नेपालीको मृत्यु हुने गरेको छ ।

  • भारतले विश्व मै पहिलो पटक कोरोनाको डीएनए खोपलाई दियो स्वीकृति

    भारतले विश्व मै पहिलो पटक कोरोनाको डीएनए खोपलाई दियो स्वीकृति

    नयाँ दिल्ली । भारतले विश्वमै पहिलो पटक कोरोना भाइरस विरुद्धको डीएनए खोपलाई मान्यता दिएको छ । भारतको औषधि नियामक निकायले आपतकालीन प्रयोगका लागि कोरोनाभाइरसविरुद्ध निर्मित विश्वको पहिलो डीएनए खोपलाई स्वीकृति प्रदान गरेको भारतीय संचारमाध्यमले लेखेका छन् । तीन मात्रा दिनुपर्ने जाईकोभ-डी नामक उक्त खोप लिएका ६६ प्रतिशत मानिसमा लक्षणयुक्त सङ्क्रमण हुन नपाएको खोप उत्पादन गर्ने कम्पनी क्याडिला हेल्थकेअरले गरेको एउटा अध्ययनमा देखिएको समेत बताइएको छ । बीबीसीका अनुसार हरेक साल एक करोड २० लाख मात्रा खोप उत्पादन गर्ने क्षमता कम्पनीसँग छ । यो भारतमै निर्मित दोस्रो कोभिड खोप हो।


    यसअघि निर्माण गरिएका डीएनए खोपहरूले पशुमा मात्र राम्ररी काम गरेका थिए। भारतमा कोभिशील्ड, कोभ्याक्सीन र स्पुत्निक भी गरी तीन किसिमका खोप प्रयोगमा छन्। अहिलेसम्म ती खोपका ५७ करोड मात्रा दिइसकिएको छ। क्याडिला हेल्थकेअरका अनुसार उक्त खोपको भारतमा गरिएको सबैभन्दा ठूलो क्लिनिकल परीक्षणमा २८,००० जना स्वयंसेवी सहभागी भएका थिए। त्यसका लागि ५० वटाभन्दा बढी केन्द्रहरू सञ्चालित भएको समाचारमा उल्लेख छ ।

    उक्त कम्पनीले भारतमा पहिलो पटक १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा कोभिड १९ को खोपको परीक्षण गरिएको दाबी गरेको छ। उक्त खोप त्यो उमेर समूहका मानिसमा सुरक्षित र एकदमै सह्य भएको पाइएको क्याडिला हेल्थकेअरको दाबी छ। उक्त खोपको क्लिनिकल परीक्षणको तेस्रो चरण भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको बेला गरिएको थियो। त्यसबाट विशेषगरी अतिसङ्क्रामक डेल्टा भेरिअन्टजस्तो कोरोनाभाइरसको उत्परिवर्तित प्रकारविरुद्धू उक्त खोपको प्रभावकारिता सिद्ध भएको खोप निर्माताको विश्वास छ।

    डीएनए खोप लिएपछि त्यसले पनि अरू खोपले जस्तै शरीरको प्रतिरोध प्रणालीलाई भाइरससँग सङ्घर्ष गर्न सिकाउने बीबीसीले लेखेको छ । जाईकोभ डीमा प्लाज्मिड भनिने साना गोलाकार डीएनए प्रयोग गरिएको छ। खोपमा भएको आनुवंशिक सूचनावाहक त्यस्तो डीएनए मानिसको छालाको दुई तहको बीचमा पुग्छ। कोरोनाभाइरसले मानवकोषमा टाँसिन र भित्र प्रवेश गर्न प्रयोग गर्ने काँडेदार स्पाईक प्रोटीन बनाउन लगाउने सङ्केत ती प्लाज्मिडमा हुन्छ। अधिकांश कोभिड खोपहरूले मानवशरीरलाई स्पाईक प्रोटीन बनाउन लगाउने निर्देशन दिन्छन्। त्यसबाट मानिसको प्रतिरोध प्रणाली सक्रिय भई कोरोनाभाइरसविरुद्ध एन्टिबडी उत्पादन हुन थाल्छ र शरीरलाई उक्त भाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्छ।

  • आज रक्षा वन्धन, देश तथा विदेशमा मनाइदै

    आज रक्षा वन्धन, देश तथा विदेशमा मनाइदै

    काठमाडौं । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बीले धुमधामसाथ मनाउँदैछन् । जनै पूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा गरिन्छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरे नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास समेत रहेको छ ।

    सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

    रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षावन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी भनिएको हो ।

    वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । आज काठमाडौंमा मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा विशेष मेला लाग्छ । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

  • अफगानिस्तानबाट फर्कने नेपालीको संख्या ५०४ पुग्यो

    अफगानिस्तानबाट फर्कने नेपालीको संख्या ५०४ पुग्यो

    काठमाडौं । अफगानिस्तानबाट नेपाल फर्कने नागरिकको संख्या ५०४ पुगेको छ । परराष्ट्र मन्त्रालयको तथ्यांक अनुसार शनिबार टर्किस एयरको जहाजमा २६ र जजिरा एयरको जहाजमा थप ९ जना गरि कुल ३५ जना नेपाली घर आएका छन् । कन्सुलर सेवा विभागको वेव पोर्टलमा शनिबार साँझसम्म ३ सय भन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गरेको तथ्यांक छ ।

    उद्धारको लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्यसम्म पुगिसकेकाहरुको विवरण रुजु गरी बाँकी व्यक्तिहरूको उद्धार गरिने भएको छ । त्यसका लागि उद्धार उडान गरिरहेका देशहरुसँग समन्वय भइरहेको मन्त्रालयले जानकारी गराएको छ ।

    अफगानिस्तानमा विद्रोही समूह तालिवानले कब्जा गरेपछि विदेशीहरु धमाधम स्वदेश फर्किरहेका छन् । सोहीक्रममा नेपालीको समेत उद्धार भइरहेको छ । नेपालीलाई उनीहरु कार्यरत रहेको निकायले नै यूएई, कतारसहितका मुलुकमा ल्याउने गरेको छ । त्यहाँबाट उनीहरु जहाजबाट काठमाडौं आइरहेका छन् ।

  • अमेरिका र ओमनसँगको सिरिज खेल्ने नेपाली क्रिकेट टीम घोषणा, को-को परे ?

    अमेरिका र ओमनसँगको सिरिज खेल्ने नेपाली क्रिकेट टीम घोषणा, को-को परे ?

    काठमाडौं । अमेरिका र ओमानसँग नेपालले खेल्न लागेको सिरिजका लागि राष्ट्रिय क्रिकेट टीमको घोषणा भएको छ । आगामी सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको हो । नेपाल क्रिकेट संघले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ । टीममा गुल्शन झा पहिलो पटक छनोट भए ।

    रोहित पोडेलको पुनरागमन भएको छ । बन्द प्रशिक्षणमा रहेका १९ मध्ये कमल सिंह ऐरी र शहाब आलमलाई भने टीममा राखिएको छैन । नेपाली टिम आगामी मंगलबार ओमान प्रस्थान गर्नेछ । त्रिकोणात्मक सिरिजअघि नेपालले ओमानमै पपुवा न्यु गिनीसँग दुई एक दिवसीय सिरिज खेल्दैछ ।

    यस्तो छ नेपाली टीम : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषावकर, विक्रम सोव

  • नेपालमा थप २०७५ जनामा कोरोना, ३० जनाको मृत्यु

    नेपालमा थप २०७५ जनामा कोरोना, ३० जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप २,०७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सो बारे जानकारी गराइएको छ । पछिल्लो २४ घण्टामा थप ३० जनाको कोभिड १९ का कारणले मृत्यु भएको छ । मन्त्रालयका अनुसार अब नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख २५ हजार नाघेको छ । मृतकको सङ्ख्या १०,४८५ पुगेको छ। शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १३,०७५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। ५,३७२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २,३८२ जना सङ्क्रमणमुक्त भएका छन्।

  • अफगानिस्तानबाट १३ हजार मानिसको गरियो हवाई उद्धार, अझै ६० हजार भन्दा बढी पर्खाइमा

    अफगानिस्तानबाट १३ हजार मानिसको गरियो हवाई उद्धार, अझै ६० हजार भन्दा बढी पर्खाइमा

    वासिंटन डिसी । अफगानिस्तानबाट अहिलेसम्म १३ हजार मानिसको हवाई उद्धार भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो आंकडा सार्वजनिक गरेका हुन् । ह्वाइटहाउसमा पत्रकारसँग कुरा गर्दै उनले यो अहिलेसम्मकै सबैभन्दा ठूलो उद्धार मिसन भएको समेत बताएका छन् । यसलाई उनले सबैभन्दा जोखिमपूर्ण उद्धार समेत भनेका छन् । बाइडनका अनुसार अमेरिकी फौजलाई सहयोग गरेका ६० हजार भन्दा बढी अफगानी नागरिकलाई समेत उद्धार गरिने छ ।

    उनीहरु अफगानिस्तान छाड्न चाहिरहेका छन् । तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि अमेरिकी फौजलाई सहयोग गरेका त्यहाँका नागरिकले असुरक्षित महसुस गरेका छन् । उता, तालिबानले समेत यनीहरुको घर घरमा पसेर तलासी लिएको खबर सार्वजनिक भइरहेका छन् । यो घटनामा अमेरिकाले ठूलो आलोचना बेहोर्नु परेको छ । बाइडेनले त्यहाँ रहेका सबै अमेरिकीले घर फर्कन चाहेमा उनीहरुलाई फर्काइने बताएका छन् ।

    पहिलो प्राथमिकतामा अमेरिकी नागरिक हुने र त्यसपछि अफगानिस्तान छाड्न चाहने अन्य मुलुकका नागरिकको समेत उद्धार हुने उनले बताएकाछन् । अफगानिस्तानमा फैजले निकै कठिन परिस्थतिको सामना गर्नुपरेको भन्दै यो मिसन सहज नभएको उल्लेख गरे ।

  • एनसेलमाथि प्राधिकरणले लगायो जरिवाना, १ अर्ब ११ करोड क्षतिपूर्ति तिर्नुपर्ने

    एनसेलमाथि प्राधिकरणले लगायो जरिवाना, १ अर्ब ११ करोड क्षतिपूर्ति तिर्नुपर्ने

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि कारवाही गरेको छ । यो दूरसञ्चार क्षेत्रको अहिलेसम्मकै ठूलो कारबाही हो । ग्राहकको मन्जुरी नलिई गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सर्भिस आफैँ नवीकरण गराएको र यसबाट रकम लिएको अभियोग एनसेलमाथि लागेको छ । प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलमाथि १ अर्ब ११ करोड २९ लाख रुपियाँ क्षतिपूर्ति भराउने निर्णय गरेको छ ।

    साउन ३२ गते बसेको प्राधिकरणको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । एपको स्वतः नवीकरण हुँदा प्रयोगकर्ताले थाहै नपाई ब्यालेन्स घट्ने समस्या रहेको पुष्टी भएको हो । प्राधिकरणले एनसेललाई तोकेको क्षतिपूर्ति कम्पनीले सम्बन्धित ग्राहकलाई नै उनीहरूको मोबाइलमा फिर्ता गगराउन भनेको छ । तीन महिनाभित्र एनसेलले क्षतिपूर्तिबापतको रकम ग्राहकलाई नै फिर्ता गरिसक्नु पर्ने छ ।

    फिर्ता गरिएको रकमको विवरण मासिक रूपमा उपलब्ध गराउन समेत प्राधिकरणले एनसेललाई भनेको छ । रकम फिर्ता गर्दा कुनै ग्राहकको सेवा बन्द भई वा अन्य कुनै कारणले ग्राहकको पहिचान हुन नसकेको अवस्थामा फिर्ता गर्नुपर्ने रकमलाई छुट्टै कोष खडा गरी सो कोषमा उक्त रकम जम्मा गर्नुपर्ने निर्णय प्राधिकरणले गरेको छ । एनसेल प्रयोगकर्ताले मोबाइलबाट आफैँ ब्यालेन्स घट्ने गरेको उजुरी गरेपछि प्राधिकरणले अनुसन्धान गरेको थियो ।

    अध्ययनबाट २०७५ असोज १५ देखि २०७७ जेठ १८ सम्म एनसेलले गेमलफ्ट नामको भ्यास सेवामार्फत ११ करोड ३७ लाख रुपियाँ आर्जन गरेको थियो । ह्वावे एप ग्यालरीको नाममा कम्पनीले सोही अवधिमा ९९ करोड ९२ लाख रुपियाँ आर्जन गरेको छ ।

  • झापामा पक्राउ परे तीन युट्युवर, के थियो कारण ?

    झापामा पक्राउ परे तीन युट्युवर, के थियो कारण ?

    झापा । नेपालमा युट्युवरका कारण पत्रकारिता बदनाम भइरहेको छ । पछिल्लो समय बिकृत युट्युवकारिता गरिरहेका केही व्यक्ति समाजको निसानामा पर्न थालेका छन् । झापामा चरित्र हत्या हुनेगरी भिडिओ खिचेको आरोपमा प्रहरीले युट्युबरसहित तीन जनालाई पक्राउ गरेको छ। होटलमा खाजा खाँदै गर्दा युट्युबरले अनुमति बिना कोठा भित्र प्रवेश गरी भिडिओ खिचेर सार्वजनिक गरेको उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन् ।

    अघिल्लो मंगलबार राति आठ बजे बिर्तामोड नगरपालिका वडा नम्बर ३स्थित सिमाना होटलको कोठामा खाजा खाँदै गर्दा युट्युबर खगेन्द्र घिमिरेलगायत केही व्यक्तिहरू त्यहाँ पुगेका थिए। उनीहरू एक्कासी होटलभित्र अनाधिकृत रूपमा प्रवेश गरी, गालीगलौज गरी बिना अनुमति भिडिओ बनाएका थिए। त्यसपछि उनीहरुले भिडिओ युट्युबमा हालेका थिए।

    प्रहरीका अनुसार शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी परेपछि अभद्र व्यवहारको मुद्दामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। प्रहरीले युट्युबर घिमिरे, हेमराज भट्टराई र सुवास कार्कीलाई पक्राउ गरेको छ । यसमा संलग्न थप व्यक्तिहरूको खोजी भइरहेको प्ररीले बताएको छ ।

  • गत वर्ष चीनबाट विद्यार्थी ल्याउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च

    गत वर्ष चीनबाट विद्यार्थी ल्याउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च

    काठमाडौं । गत वर्ष कोरोना भाइरसको उदगमस्थल चीनको बुहानबाट नेपाली विद्यार्थीलाई घर फिर्ता गराउँदा एकै उडानमा १३ करोड २८ लाख खर्च भएको पाइएको छ । यो उडान सरकारले निःशुल्क गरेको थियो । नेपाली नागरिकलाई उद्धार गरि काठमाडौं ल्याउँदा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च भएको पाइएको हो । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले यस्तो हिसाव देखाएको हो । चीनको वुहानबाट १ सय ८७ नेपाली नागरिकलाई उद्धार गरिएको थियो । यस क्रममा नेपाल एयरलाइन्सको जहाज प्रयोग गरिएको थियो ।

    यो उडानबाट आएकालाई २०७६ फागुन ४ देखि २० सम्म १७ दिन सेनाले क्वारेन्टाइनमा राखेको थियो । सो क्रममा ५५ लाख खानामा र औषधि खरिदमा ६६ लाख ७१ हजार खर्च भएको हिसाव महालेखाको प्रतिवेदनमा देखिएको छ । क्वारेन्टाइन निर्माण, निर्मित क्वारेन्टाइनका लागि आवश्यक सामग्री खरिद, इन्टरनेट, बेड खरिद तथा निर्माणलगायत सहरी विकास मन्त्रालयले ७ करोड ५६ लाख ९५ हजार खर्च गरेको थियो । हवाई उद्धार र स्थानीय यातायातबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ करोड ४९ लाख ७९ हजार खर्च गरेको छ ।

  • नेपालमा बेरुजु सवा ४ खर्बसहित हिसाव नमिलेको रकम साढे ६ खर्ब

    नेपालमा बेरुजु सवा ४ खर्बसहित हिसाव नमिलेको रकम साढे ६ खर्ब

    काठमाडौं । नेपालमा सवा ४ खर्ब बेरुजुसहित हिसाव नमिलेको रकम साढे ६ खर्ब भन्दा माथि पुगेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६\७७ को ५८ औँ वार्षिक प्रतिवेदन पेश गर्दै महालेखा परिक्षकको कार्यालले यस्तो जानकारी गराएको हो । प्रतिवेदनका अनुसार सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम रु ६ खर्ब ७६ अर्ब ४१ करोड बराबर रहेको छ ।

    महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६\७७ सम्म बेरुजु रकम रु ४ खर्ब १८ अर्ब ८५ करोड बराबर रहेको छ । आव २०७५\७६ मा रु चार खर्ब १८ अर्ब ३२ करोड रहेको बेरुजु आव २०७६र७७ मा थप रु ५३ करोडले बढेको हो ।

    लेखापरीक्षणबाट रु छ अर्ब १७ करोड बराबरको असुल भएको छ । सङ्घीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थाको समेत रु ५३ खर्ब २७ अर्ब ९१ करोड बराबरको लेखापरीक्षण गरिएको महालेखापरीक्षकको कार्यालयले जानकारी गराएको छ ।

    यसमध्ये तीन हजार ७९ सरकारी निकाय र एक हजार १९ कार्यालयको रु १५ खर्ब ५५ अर्ब ८१ करोड बराबरको लेखापरीक्षणबाट रु ४४ अर्ब ३९ करोड, प्रदेश निकाय र कार्यालय गरी कूल एक हजार १९ को रु दुई खर्ब ३७ अर्ब ४१ करोडको लेखापरीक्षणबाट रु ६ अर्ब ५० करोड बेरुजु देखिएको छ । महालेखाले स्थानीय तहको रु आठ खर्ब १५ अर्ब ९९ करोडको लेखापरीक्षणबाट रु ४० अर्ब ८३ करोड बराबरको बेरुजु देखिएको उल्लेख गरेको छ ।

    कूल ८१ सार्वजनिक संस्थातर्फ रु २५ खर्ब ५५ अर्ब १३ करोडको लेखा परीक्षण गरिएको छ । लेखापरीक्षणका क्रममा वित्तीय प्रशासन, आर्थिक अनुशासन, कोरोना महामारीमा सार्वजनिक खर्च कटौती र उपयोग, मितव्ययिता एवं कार्यदक्षता प्रवद्र्धन, भ्रष्टाचार न्यूनीकरण, विकास निर्माण र खरिद प्रक्रियामा मितव्ययिता र पारदर्शिता, सेवा प्रवाहमा समस्या रहेको ठहर गरेको छ ।

  • गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक समिति गठन

    गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन उच्चस्तरीय आयोजक समिति गठन

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को दसौं विश्व सम्मेलनको प्रयोजनका लागि उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ । परराष्ट्रमन्त्री अध्यक्ष रहेनगरी २० सदस्यीय उच्चस्तरीय आयोजक कमिटि गठन भएको मन्त्रालयले जनाएको छ । सम्मेलन कात्तिक ६–८ मा काठमाडौंमा हुँदैछ ।

    समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, गैर आवासीय नेपाली संघ लगायत अन्य सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधि रहने छन् ।

    नेपाल सरकारले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिएको समेत मन्त्रालयको भनाई छ । हरेक दुई वर्षको अन्तरालमा नेपालमा विश्व सम्मेलन हुने गर्छ ।

  • अमेरिकाले आफ्ना नागरिकलाई कोरोना विरुद्धको बुस्टर डोज लगाउँदै, सेप्टेम्बर २० बाट शुरु

    अमेरिकाले आफ्ना नागरिकलाई कोरोना विरुद्धको बुस्टर डोज लगाउँदै, सेप्टेम्बर २० बाट शुरु

    वासिंटन डिसी । अमेरिकाले आफ्ना नागरिकलाई कोभिड खोपको बूस्टर डोज सेप्टेम्बर २० बाट लगाउन शुरु गर्ने भएको छ यसलाई खोपको तेस्रो मात्रा समेत भनिएको छ । यो खोप सबै अमेरिकीले पाउने भएका छन् । सेप्टेम्बर २० तारिखदेखिसबै अमेरिकीका लागि बुस्टार डोज उपलब्ध हुने बीबीसीले जनाएको छ ।

    करिब ८ महिना अगाडि खोप दिइएका स्वास्थ्यकर्मी, नर्सिङ होममा बस्नेहरू र वृद्धवृद्धाले पहिलो चरणमा बूस्टर मात्रा पाउने भएका छन् । ह्वाइट हाउसले कोरोनाभाइरसको डेल्टा भेरिअन्टका कारण सङ्क्रमण बढेको र समयसँगै खोपको प्रभावकारिता घट्दै जानेू विवरणहरू प्राप्त भएकाले यस्तो कदम चाल्नुपरेको जनाएको छ। बूस्टर खोप लगाइने औपचारिक सिफारिस र अनुमति प्राप्त भएपछि अन्तिम निर्णय लिइनेछ।

    जुलाई महिनाको शुरूयता अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको दैनिक सङ्ख्या बढ्दै गएको छ। त्यसबेला दैनिक दश हजारभन्दा कम सङ्क्रमित थिए । अहिले देशभरमा दैनिक १ लाख ५० हजार भन्दा बढी सङ्क्रमित देखिने गरेका छन् । अस्पतालहरूमा बिरामीको सङ्ख्या बढेको छ। मृत्यु दर बढेपछि अधिकारीहरूले मास्क र सामाजिक दूरीको नियम पुनः लगाउन लागेका छन्।

    औषधी सम्बन्धी विभिन्न अमेरिकी निकायहरू सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन, ‍द फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन र न्याशनल इन्स्टिच्यूट अफ हेल्थ र राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डा एन्थोनी फाउची सबैजना बूस्टर मात्राको पक्षमा रहेको समेत बीबीसीले लेखेको छ ।

  • काठमाडौंमा राँगोलाई गोली हानेर मार्नु परेपछि…

    काठमाडौंमा राँगोलाई गोली हानेर मार्नु परेपछि…

    काठमाडौं । काठमाडौंमा भागेको एक राँगोलाई गोली हानेर मार्नु परेको छ । काठमाडौंको सडकमा आतंक मच्याएपछि राँगोलाई प्रहरीले गोली हानेर मारेको हो । यो घटना बिहीबार राति करिब १० बजेतिरको हो । कालिमाटी रामघाटस्थितबाट एक राँगो दौडेर सडकमा निस्किएपछि सडकमा भागदौड मच्चिएको थियो । त्यसक्रममा राँगोले सवारीसाधन तथा मानिसहरूलाई हान्न थालेको थियो । बधशालामा ट्रकबाट राँगोलाई ओरालेपछि भागेको थियो । प्रहरीको गाडीले राँगोलाई पच्छ्याएको थियो ।

    टेकूबाट दौडिएको राँगो सुरूमा त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर पुगेको थियो । त्यहाँबाट टेकु पुगेर परोपकार, बसन्तपुर, भीमसेनस्थान हुँदै क्षेत्रपाटी पुगेपछि राँगोमाथि प्रहरीले गोली हानेको हो । चार राउन्ड गोली चलाएपछि राँगो मरेको छ । राँगोले हानेर मानिसहरु घाइते भएको विवरण भने नआएको प्रहरीले जनाएको छ । काठमाडौंमा वधशाला व्यवस्थित नहुँदा यसरी राँगो र भैसीहरु सडकमा निस्कने गर्छन् ।

  • नेपालमा थप ३०४२ जनामा कोरोना पुष्टी, २२४४ जना संक्रमण मुक्त

    नेपालमा थप ३०४२ जनामा कोरोना पुष्टी, २२४४ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षणमा २०७९ र ७१२४ एन्टीजेन परीक्षणमा ९६३ जना गरी कुल ३०४२ जनामा संक्रमण पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४४ हजार ३०७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २२४४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४० हजार३०९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ४५५पुगेको छ ।