Category: फिचर

  • जापानले अनुदानमा दिएको थप ८ लाख डोज खोप शनिबार र सोमबार आउने

    जापानले अनुदानमा दिएको थप ८ लाख डोज खोप शनिबार र सोमबार आउने

    काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोपमध्ये आउन बाँकी आधा (करिब ८ लाख डोज) शनिबार र सोमबार आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । बाँकी रहेको ८ लाख खोप छिट्टै आउन लागेको दुतावासको सूचनामा उल्लेख गरेको छ ।

    जापान सरकारले १६ लाख १४ हजार ७४० खोप सहयोग गरेको थियो । त्यसमध्ये आधा खोप (करिब ८ लाख डोज) साउन २३ र २४ गते दुई खेप गरि काठमाडौं आएको थियो । नेपालका लागि जापानी राजदूत किकुता युताकाले खोप सहयोग दुई मुलुक बीचको मित्रताको विम्ब भएको उल्लेख गरेका छन् । उक्त खोप कोभ्यासको सुविधा अन्तर्गत जापान सरकारबाट नेपालले पाएको हो ।

  • रसुवामा पहिरोले घर पुर्दा एकै घरका ४ जनाको मृत्यु

    रसुवामा पहिरोले घर पुर्दा एकै घरका ४ जनाको मृत्यु

    रसुवा । रसुवामा पहिरोले घर पुर्दा एकै घरका चार जनाको मृत्यु भएको छ । गतराती अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्‍यु भएको राससले जनाएको छ । मृत्‍यु हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष गलान रहेको बताइएको छ । प्रहरीका अनुसार राति करिब ३ बजे घरभन्दा ५० मिटरमाथिबाट पहिरोसँगै झरेको लेदोले घर पुरिँदा सुतिरहेका अवस्थामा चारै जनाको घटनास्थलमै मृत्‍यु भएको हो ।

    घरभित्र सुतेका श्रीमती, छोरा, छोरी सबै पुरिएको र बाहिर सुतेका श्याम गलान घाइते अवस्थामा भेटिएका थिए । घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको छ । शव परीक्षणका लागि नुवाकोटस्थित त्रिशूली अस्पताल पठाइएको छ । आज बिहानैदेखि स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना विष्णु दलगण र सशस्त्र प्रहरीसमेतको खोजीमा जुटेका थिए ।

  • शुक्रबारबाट काठमाडौंमा विद्यार्थीले खोप पाउने

    शुक्रबारबाट काठमाडौंमा विद्यार्थीले खोप पाउने

    काठमाडौं । काठमाडौंमा शुक्रबारबाट कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले खोप पाउने जानकारी गराएका छन् । उनका अनुसार शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई समेत भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।

    खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने भएको हो । काठमाडौं उपत्यकामा ३२ वटै वडा कार्यालयमा पुगेर खोप लगाउन सकिने छ । कक्षा ११ र १२ का विद्यार्थीले खोप पाएपछि भने परीक्षा संचालनको तयारी छ ।

    काठमाडौंमा वडा कार्यालयबाहेक सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी, राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, वानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र शिक्षण अस्पताल, महाराजगञ्जमा खोप लगाउन सकिने भएको छ ।

    काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्र तथा अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्रमा खोप लगाउन सकिने भएको हो ।

  • एमाले फुट्नासाथ माधव नेपाललाई भाग, यादव शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस

    एमाले फुट्नासाथ माधव नेपाललाई भाग, यादव शर्मा वागमती प्रदेश प्रमुखमा सिफारिस

    काठमाडौं । सरकारले बागमती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

    मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रमुखका लागि सिफारिस गरेको हो ।

    राष्ट्रपतिबाट नियुक्त भएर सपथ खाएपछि उनले आफ्नो पद सम्हाल्ने छन्।

    शर्मा माधवकुमार नेपाल निकट हुन्। नेपालले एमाले विभाजन गर्दै एमाले समाजवादी पार्टी दर्ताको लागि निवेदन दिएको भोलिपल्टै प्रधानमन्त्री देउवाले उनलाई पनि भागबण्डा सुरु गरेका छन्।

    शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव थिए ।

    पदमुक्त भएका विष्णु प्रसाई पनि एमालेकै नेता हुन् । झापा जिल्लाका पुराना नेता प्रसाई मेची नगर नगरपालिकाको मेयरमा पराजित भएका थिए । उनी २०५४ सालमा झापा जिल्ला विकास समितिको उपसभापति थिए ।

  • ‘एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्छु’ वामदेव गौतम

    ‘एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्छु’ वामदेव गौतम

    काठमाडौं । विभाजनतर्फ अघि बढिरहेको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले समाजवादी दर्ता गराउन लागेका माधव नेपाललाई साथ दिने बताएका छन्।

    पार्टी एकता अभियानको भर्चुअल बैठकलाई बिहीबार सम्बोधनका क्रममा उपाध्यक्ष गौतमले अब आफूले नेपाल नेतृत्वको एमाले समाजवादीलाई साथ दिने बताएका हुन्।

    तत्कालीन नेकपा फुट्दादेखि नै आफूले चलाउँदै आएको पार्टी एकता अभियान बैठकलाई सम्बोधनका क्रममा गौतमले आफू नेपालतिर लाग्ने कार्यकर्तालाई बताएका हुन्।

    अब पार्टी एकता अभियानलाई तीव्र बनाउने योजनामा छु’ उनले भने यससँगै अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्छु।

    गौतमले अब ओलीको पक्षमा लागेर एमाले पार्टीका लागि केही गर्न नसकिने पनि जिकिर गरेका छन्।

    अब ओलीको पक्षमा लागेर उनीसँग हिँडेर केही गर्न सकिँदैन कहीँ पुग्न सकिँदैन उनले भने अब हामीसँग विद्रोह नै विकल्प हो। नयाँ पार्टीलाई अहिलेको एमालेभन्दा शक्तिशाली बनाउने अभियानमा लाग्छौँ। त्यसपछि पार्टी एकतामा जोड दिन्छौँ।

    गौतमले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताउँदै त्यो जिम्मेवारी आफूलाई दिन नेता नेपाललाई पनि आग्रह गर्ने बताएका छन्।

  • नेपालमा थप ३०७५ जनामा कोरोना पुष्टी, ३३ जना संक्रमितको मृत्यु

    नेपालमा थप ३०७५ जनामा कोरोना पुष्टी, ३३ जना संक्रमितको मृत्यु

    काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३०७५जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा २३२१ र ४४९२ एन्टीजेन परीक्षणमा ७५४ जना गरी कुल ३०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २१२६जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ९१ हजार २९९ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४० हजार ५०० रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ ।

  • ‘नेपालले निहुँ खोजेपछि एमाले चोइटियो, विभाजन भएको होइन’

    ‘नेपालले निहुँ खोजेपछि एमाले चोइटियो, विभाजन भएको होइन’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विभाजन भएको दाबी गरेका छन् ।

    बिहीबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले माधवकुमार नेपालले निहुँ खोज्दा चोइटिएको बताउँदै ओलीले एमाले विभाजन नभएको दाबी गरेका हुन् ।

    ‘एमाले फुटेको होइन,’ ओलीले भने, ‘चोइटिएको होइन । एमाले कमजोर पनि बनेको छैन । एमालेबाट केही अलग हुँदैमा एमाले सिद्धियो भनेर भन्न मिल्दैन ।’ओलीले भने, ‘मैले एकताको कोसिस नै नगरेर भन्ने कुरा होइन।

    ५१ वर्ष अगाडि कम्युनिष्ट पार्टी पार्टीजस्तो थिएन त्यसै आन्दोलनबाट एकताको आह्वान ३१ सालमा गरेको थियो। त्यसपछि विभिन्न समूह सामेल भएर ३५ सालमा माले बन्यो पार्टी विस्तार एकिकरण र एकताको प्रयासहरु मेरै नेतृत्वमा भएको हो।’

    माओवादी र एमाले पनि आफै नेतृत्वमा एकता भएको बताए। एमालेबाट केही मान्छे बाहिरिएपछि पार्टी निर्माण गर्न कोसिस गरेन भन्नु पूर्वाग्राही मात्रै भएको बताए।

    नेपालले विपक्षीसँग मिलेर आफ्नै पार्टी सिद्ध्याउन लागेको ओलीको आरोप छ । ‘उहाँ ९नेपाल० ले विपक्षीहरुसँग मिलेर आफ्नै पार्टीलाई कमजोर बनाउ लाग्नुभयो,’ ‘तर पार्टी कमजोर बनेको छैन । यस्ता गतिविधिले मुलुककै प्रमुख पार्टीलाई हल्लाउन पनि सक्दैन ।’

    नेपालले आफूलाई २ वर्षयता फोन नगरेको बताउँदै ओलीले भने, ‘मैले पटक–पटक भेटौँ भनेर फोन गरेँ, म बालुवाटार आउँदिनँ भन्दैगर्दा तपाईंकै ठाउँमा आएर भेट्छु भनेर गएँ । तर उहाँले नमान्दा पार्टीमा यस्तो भयो ।’

    आफूले पार्टी एकता बचाउनको लागि सक्दो लचकता अपनाएको ओलाको भनाइ छ । ‘मैले अध्यक्ष हैसियतले लचकता अपनाएँ,’ ओलीले भनेका छन्, ‘उहाँको दम्भले दिएन । मलाई भेट्नुभएन । पार्टी अन्ततः यस्तो भयो ।’

    ओलीले आफूले कहिल्यै बेइमानी नगरेको दाबी गरेका छन् । ‘माधव नेपालजस्तो बेइमानी मैले कहिल्यै गरिनँ,’ ओलीले भने, ‘कतै अस्वस्थताको प्रतिस्पर्धा गरिनँ । म र मेरो पार्टी सधैं देश र जनताका लागि खटिरहने पार्टी हो । म र मेरो पार्टी बेइमानीबाट टाढा छ ।’

    आफ्नो पार्टीविरुद्ध नेपालले विश्वासघात गरेको ओलीको आरोप छ । ‘त्यस्तो खालको राजनीतिक प्रवृत्तिले देशलाई अस्थिरतातर्फ लान्छ ।’

  • भागेका अफगानी राष्ट्रपति गनीलाई अन्ततः यूएईले दियो शरण

    भागेका अफगानी राष्ट्रपति गनीलाई अन्ततः यूएईले दियो शरण

    यूएई । काबुलमा तालिबानले कब्जा जमाएपछि देश छाडेर भागेका अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीलाई संयुक्त अरब इमिरेट्सले शरण दिएको छ । यूएईको विदेश मन्त्रालयले एक बयान जारी गरि यसबारे जानकारी गराएको हो । मानवीयताका आधारमा गनी र उनको परिवारलाई शरण दिइएको मन्त्रालयको भनाई छ । आइतबार तालिबानले काबुल कब्जा गरेपछि उनी मिछेमी मुलुकतर्फ भागेका थिए । उनी भागेसँगै पश्चिमा देशमा भने गनीका आलोचना भएको छ ।

    तालिबानसँग घुँडा टेकेको भन्दै उनको आलोचना भएको हो । तर, आफुले मुलुकमा थप रक्तपात नचाहेको भन्दै देश छाडेको गनीले बताएका छन् । उनी यसअघि ताजिकिस्तान उडेको खबर थियो । त्यस क्रममा उनले १७ करोड डलर रकम लिएर उडेको खबर समेत सार्वजनिक भएको थियो । तर, उनले यो आरोपको भने खण्डन गरेका छन् ।

  • नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना तामाकोशी पूर्ण क्षमतामा संचालन

    नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना तामाकोशी पूर्ण क्षमतामा संचालन

    दोलखा । नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना पूर्ण क्षमतामा संचालनमा आएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सोमबारदेखि छ वटा युनिटबाट विद्युत उत्पादन थालिएको हो । यो आयोजनाको कुल क्षमता ४५६ मेगावाट हो । स्वदेशी लगानीमा निर्माण भएको आयोजनाको गत जेठमा उद्घाटन भएको थियो । यसअघि ५ वटा युनिटबाट उत्पादन थालेको आयोजनामा सोमबारबाट थप एक युनिट समेत संचालनमा ल्याइएको हो । आयोजनामा ७६, ७६ मेगावाटका छ युनिट छन् ।

    मङ्गलबारसम्म चारवटा युनिटबाट व्यावसायिक उत्पादन शुरु भएको छ । अर्थातः ती युनिटबाट निस्किएको विजुलीले आम्दानी समेत गर्न थालेको छ । दुई युनिट भने परीक्षणमै छन् । पाँचौँ युनिटले एक हप्ता र छैटौँ युनिटले १५ दिनपछि व्यावसायिक उत्पादन दिने आयोजनाको भनाई छ । उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीस्थित २२०, १३२ केभीको सब–स्टेसनमा जडान गरिएको छ । विद्युत् ढल्केबर र लामोसाँघु हुँदै राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण भएको हो ।

  • साफ फुटबल : नेपालको पहिलो खेल साविक विजेता माल्दिभ्ससँग

    साफ फुटबल : नेपालको पहिलो खेल साविक विजेता माल्दिभ्ससँग

    काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । कुल ५ मुलुकले सहभागिता जनाउने प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्ने छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले १३ औँ संस्करणमा पाँच देशलाई सहभागी बनाइ खेल तालिका सार्वजनिक गरेको हो । एक वर्ष अगाडी नै हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण पछाडी धकेलिएको हो ।

    माल्दिभ्स, भारत, नेपाल, बङ्गलादेश र श्रीलङ्काले यो पटक खेल्ने भएका हुन् ।
    यस संस्करणमा भुटान र पाकिस्तानले भाग लिएन । दक्षिण एसियाली मुलुक अफगानिस्ताले भने दुई वटा प्रतियोगिता पछि नै साफमा खेल्न छाडेको हो । पाकिस्तानको टीम फिफाको निलम्बनका परेका कारण सहभागी भएन । भुटानले भने कोरोना महामारीलाई कारण भनेको छ । प्रतियोगिता असोज १५ देखि २७ गतेसम्म आयोजना हुनेछ ।

    तालिकाअनुसार नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेल श्रीलङ्कासँग असोज १७ गते, तेस्रो खेलमा भारतसँग असोज २२ र लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग असोज २५ गते खेल्नेछ । प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज २७ मा भिड्ने छन् । साफ च्याम्पियनशिपका लागि नेपाल अहिले बन्द प्रशिक्षणमा छ । अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा पोखरा रङ्गशालामा तयारी भइरहेको छ ।

  • सामान्य बन्दै अफगानिस्तानको जनजिवन

    सामान्य बन्दै अफगानिस्तानको जनजिवन

    काबुल । २० वर्षको संघर्षपछि तालिवानले सत्ता कब्जा गरेसँगै अफगास्तिानमा देखिएको अनिश्चितता अब क्रमशः सहज बन्दै गएको छ । अफगानिस्तानको शक्तिमा आएको तालिबानले देशैभरि आफ्नो पकड बनाएको छ । बीबीसीका अनुसार केही शहरमा तालिवान विरोधी प्रदर्शन भएका थिए । ती प्रदर्शनमा गोली चलाएको खबर आएको छ ।

    तर, आम जनजीवन भने सामान्य बन्दै गएको छ । पूर्वी सहर जलालाबादमा हिंस्रक प्रदर्शन भएको र त्यसमा तालिवानले दमन गरेको बीबीसीले उल्लेख गरेको छ । काबुलमा भने तालिबानी हतियारधारी लडाकू गस्तीमा निस्कने गरेका छन् । सडकमा महिलाको सङ्ख्या कम देखिएको छ । तर, दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएका छन् ।

    काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था भने कायम छ। तालिबानका सदस्यहरूले विमानस्थल परिसर पस्न खोज्ने अफगानीलाई रोकिरहेका छन्। यात्राका लागि आवश्यक कागजात भएका व्यक्तिलाई भने जान दिइन्छ । अहिले अमेरिकाले खटाएको विशेष फौजले विमानस्थल कब्जा गरेको छ । तालिबानले गत आइतवार काबुल नियन्त्रणमा लिएको हो । सो मुलुकबाट अमेरिकी सेना फिर्ता हुन थालेको ४५ दिन भित्रै तालिबानले पकड जमाएको हो ।

  • अफगानिस्तानबाट कुल २८८ नेपाली नेपाल फर्किए

    अफगानिस्तानबाट कुल २८८ नेपाली नेपाल फर्किए

    काठमाडौं । वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका २८८ जना नेपाली नेपाल आएका छन् । यो तालिवानले सत्तामा पकड जमाएयता आएका नेपालीको संख्या हो । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो । भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते विहान ६१ जना र अपराह्न २५ जना काठमाडौं आइपुगेका हुन् ।

    अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रकृयामा रहेको समेत परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । उद्धार गरिएकाहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखि आवश्यक प्रक्रिया पुरा गरेर घर पठाउने व्यवस्था मिलाइएको छ । नेपाल आएपछिको व्यवस्थापन सेनाले गरिरहेको छ । मन्त्रालयको कन्सुलर सेवा विभागको वेब पोर्टलमा बुधबार साँझ ५ बजेसम्म २९६ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गराएका छन् ।

    दर्ता भएकामध्ये १६ जना नेपाली नागरिकको उद्धार भई नेपाल आइसकेका छन् । अफगानिस्तानमा उद्धारको पर्खाइमा रहेका नेपालीहरूले काबुलमा रहेका सुरेश चन्द्र शर्मालाई ं९३७८७८४५९९४ नम्बरमा भाइबर वा ह्वाट्सएप मार्फत् सम्पर्क गर्न सक्नेछन् । साथै भाइबर, ह्वाट्सएप सुविधा सहितको मोबाइल नम्बरहरु ं९७७ ९७४९३२६४५८, ं९७७ ९७४९३२६४५९, ं९७७ ९८४१७९२७७४ र ं९१ ८९२९६०१९२५ मा विवरण टिपाउन पनि सक्ने छन् ।

  • अष्टलक्ष्मी शाक्य बनिन् नेपालको पहिलो मूख्यमन्त्री

    अष्टलक्ष्मी शाक्य बनिन् नेपालको पहिलो मूख्यमन्त्री

    हेटौडा । प्रदेशको मूख्यमन्त्री पदमा पहिलो पटक महिलाको नेतृत्व पुगेको छ । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुक्त भएसँगै यो इतिहास कायम भएको हो । संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । यसअघि आजै शाक्य वाग्मती प्रदेशको एमाले संसदीय दलको नेतामा चयन भएकी थिइन् ।

    वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजै राजीनामा गरेका थिए । नेकपा नफुटेकै अवस्थामा नै उनी मूख्यमन्त्रीको दावेदार थिइन । तर, उनलाई केपी शर्मा ओली पक्षबाट धोका भएको थियो । तर, पार्टी विभाजनको मुखमा पुगेका बेला ओली पक्षले शाक्यलाई मुख्यमन्त्री पद दिएर आफुतिर तानेको हो ।

  • दल विभाजनसम्बन्धी अध्यादेशले ल्याएको भुइचालो, एकै दिन दुइ दल फुटे

    दल विभाजनसम्बन्धी अध्यादेशले ल्याएको भुइचालो, एकै दिन दुइ दल फुटे

    काठमाडौं । विगतमा सत्ता जोगाउन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा दल विभाजनसँग सम्बन्धित अध्यादेश ल्याएर प्रधानमन्त्री शेर बहादुर देउवाले अन्ततः केपी ओलीकै पार्टी फुटाइदिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सहज हुनेगरी ल्याएको अध्यादेश जारी भएकै दिन दुईवटा नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

    मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा बुधवार निवेदन दिए । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरी दल दर्ता स्वीकृत गर्नेछ । माधवकुमार समूहले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

    उता, जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहले पनि बुधवार नै नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको छ। ठाकुरको नेतृत्वमा नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) र चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ। वरिष्ठ नेता राजेन्द्र महतो रहनेगरी २४ सदस्यीय कार्यकारिणी समिति बनाइएको छ । विगतमा दलहरुको फुटले सरकार अस्थिर भएको भन्दै संविधानमा दल फुटाउन कडा प्रावधान राखिएको थियो । तर, यो प्रावधानलाई अध्यादेशमार्फत दलहरुले दुरुपयोग गरेका छन् ।

  • एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्य को-को छन् ?

    एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्य को-को छन् ?

    काठमाडौं । बुधबार निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएसँगै एमाले औपचारिक रुपमा फुटेको छ । यो पार्टीको नेतृत्व माधव कुमार नेपालले गरेका छन् । माधवकुमार नेपालको अध्यक्षतामा दर्ता भएको नयाँ पार्टीमा पार्टीको अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहेका छन् । पार्टीमा ९५ जना केन्द्रीय कमिटी सदस्य रहेका छन् । चुनाव चिन्हमा अभलै टुंगो लागिसकेको छैन । यसअघि किताव प्रस्ताव गर्ने बताइएको थियो ।

    एमालेमा अब माधव नेपाल पक्षमा रहेका दोस्रो तहका नेताको भविश्य भने अन्यौलमा परेको छ । उनीहरुले नयाँ पार्टीमा नजाने भन्दै बाहिरै बसेका छन् । पुरानो एमालेमा समेत उनीहरुले ओलीको नेतृत्व नमान्ने भनी यसअघि नै संघर्ष गरेका थिए । उनीहरुले नेकपा फुटाउन ओलीले खेलेको भूमिका पछि नै असन्तुष्ट रहँदै पार्टीभन्दा बाहिर बस्ने निर्णय लिएका थिए ।

  • नेपालमा थप ३४०३ जनामा कोरोना पुष्टी, २१०४ जना संक्रमण मुक्त

    नेपालमा थप ३४०३ जनामा कोरोना पुष्टी, २१०४ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २६१३ र ४९९९ एन्टीजेन परीक्षणमा ७९० जना गरी कुल ३४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३९ हजार ९०७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २१०४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८९ हजार १७३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ४२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् ।

  • एमाले विभाजित: माधव नेपालको नेतृत्वमा ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’

    एमाले विभाजित: माधव नेपालको नेतृत्वमा ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’

    काठमाडौं । नेकपा (एमाले) विभाजन भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले विभाजन भएको हो ।

    ओलीसँग मिल्न नसक्ने निष्कर्षसहित वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

    कम्युनिष्ट आन्दोलनमा लागेदेखि संस्थापन पक्षमा रहँदै आएका नेपालले पहिलाे पटक संस्थापनका बिरुद्ध विद्राेह गरेका हुन्।

    ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । नेपाल समूहको पार्टी दर्ता भएपछि सरकारमा जाने तयारीमा छ।

    पार्टी विभाजनका लागि तेस्रो तहका नेताहरुले नेता नेपाललाई साथ दिएको भए पनि दोस्रो तहका नेताहरु एकताको पक्षमा उभिएका छन्।

    एकताको माहोल बनाइरहेको बेलामा अध्यक्ष केपी शर्मा ओलीले १४ जना सांसदलाई पदमुक्त गरेपछि विवाद मिल्ने अवस्था टरेको हो। २०५४ सालमा विभाजित भएको एमाले ०५६ मा एक भएको थियो।

  • राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

    राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेस भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् ।

    नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार दिउँसो १:१० अध्यादेश प्रमाणीकरण गरेकी हुन् ।

    सरकारले सो अध्यादेश राष्ट्रपतिकहाँ मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी जारी गर्न सिफारिस गरेको थियो ।

    राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

    यसअघि कम्तीमा ४० प्रतिशत सदस्य पुगेमात्रै दल फुटाउन पाइने व्यवस्था थियो । योसँगै विभाजनको संघारमा रहेको नेकपा एमाले पार्टी विभाजन हुने निश्चित देखिएको छ ।

  • नयाँ दल दर्ता गर्ने अन्तिम तयारीमा माधव नेपाल पक्ष

    नयाँ दल दर्ता गर्ने अन्तिम तयारीमा माधव नेपाल पक्ष

    काठमाडौं । एमाले विभाजनको मुखमा पुगेको छ । लामो समयको असफल एकता प्रयासपछि एमाले फुटको संघारमा पुगेको हो । एकातर्फ सरकारले दल फुटाउन सक्ने गरी अध्यादेश ल्याएको छ । अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा सिफारिस भएको छ । अर्कोतर्फ एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ नेतालाई कारवाही गरि त्यसको पत्र संसद सचिवालय र निर्वाचन आयोगमा पठाएका छन् ।

    मंगलबार भएका यी दुई घटनाक्रमले अन्त्तः एमालेको फुटलाई औपचारिकता दिने छ । दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएसँगै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी छ । त्यसपछि सो दल सरकारमा समेत सहभागी हुने छ । विपक्षी गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने तयारी रहेको छ । नेताहरुका अनुसार नयाँ दल दर्ता गर्ने प्रक्रिया, सबै कागजात तयार गरिएका छन् ।

    एकताको सम्भावना सकिएको भन्दै नेताहरु नयाँ दल दर्तामा लागेका हुन् । अध्यादेश अनुसार अब २० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने छन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२ सांसद नयाँ पार्टीको पक्षमा हुने छन् । यसमा अझै नेता थपिने सम्भावना रहेको बताइएको छ ।

    विभाजनपछि यसअघि वार्ता टोलीमा सदस्य भने अन्यौलमा छन् । योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनयाम भुसालसहितका नेताहरुको भविय अन्यौलमा छ । उनीहरु ओलीविरुद्ध संघर्ष गरेका नेता हुन् । तर, अब नेता नेपालले पार्टी फुटाएपछि उनीरु के गर्छन भन्ने खुलेको छैन ।

  • सत्ता कब्जापछि तालिबानको पहिलो पत्रकार सम्मेलनमा के दियो सन्देश ?

    सत्ता कब्जापछि तालिबानको पहिलो पत्रकार सम्मेलनमा के दियो सन्देश ?

    काबुल । अफगानिस्तानबाट विदेशी फौज फिर्ता भएपछि मुलुकको सत्ता कब्जा गरेको विद्रोही समुह तालिबानले पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० वर्षे सङ्घर्षपछि देश मुक्त भएको र विदेशीलाई भगाउन सफल भएको बताए । यो देशका लागि गर्वको क्षण भएको उनको प्रतिक्रिया छ । उनले अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने भन्दै त्यसको सुनिश्चिता तालिबानले गर्ने बताए । उनले तालिबान विरुद्ध लडेका सबैलाई आममाफी दिएको समेत बताए ।

    उनले तालिबानले अब बाह्य वा आन्तरिक शत्रु नचाहेको समेत स्पष्ट पारे । उनले अब तालिबानका कारण कसैले पनि हानी बेहोर्नु नपर्ने समेत बताए । आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको भन्दै विश्वस्त हुन आग्रह गरे । अब महिलाले काँधमा काँध मिलाएर काम गर्न सक्ने उनको भनाई छ ।

    तालिबानले आफ्नो सांस्कृतिक ढाँचाभित्र रहेर सञ्चारमाध्यमप्रति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको समेत उल्लेख गरेको छ । पत्रकार सम्मेलनका क्रममा प्रवक्ता मुजाहिदले निजी क्षेत्रका सञ्चारमाध्यमहरू स्वतन्त्र र निष्पक्ष रहिरहन पाउने बताए । उनले कसैसँग पनि बदला नलिइने भन्दै नडराउन आह्वान गरेका छन् ।

  • कतारमा रहेका तालिवानका उच्च तहका नेता अफगानिस्तान फर्किए

    कतारमा रहेका तालिवानका उच्च तहका नेता अफगानिस्तान फर्किए

    कतार । कतारमा निर्वासित अवस्थामा रहेका तालिबानका उच्च तहका नेताहरु स्वदेश फर्किएका छन् । अफगानिस्तानमा तालिबानले नियन्त्रण गरेसँगै समूहका उच्च तहका नेता कतारबाट स्वदेश फर्केको बीबीसीले जनाएको छ । तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल गनी बरादर पनि अफगानिस्तान पुगेका छन्।

    अमेरिकी सैन्य फिर्तीबारे भएका वार्ताहरूमा महिनौँ नेतृत्व गरेका उनको स्वदेश फिर्तीलाई एउटा नाटकीय पुनरागमनको सङ्केतका रूपमा लिइएको छ। उनी स्वदेश फर्कने क्रममा कान्दहार विमानस्थलनमा उत्रिएका हुन्। कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो। २० वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनु अघिसम्म कान्दहार उनीहरूको महत्त्वपूर्ण आधार क्षेत्र रहेको थियो।

    कान्दहार विमानस्थलबाट उनी कारमा बसेर बाहिरिँदा उनको स्वागत गर्न कैयौँ मानिसहरू आएको देखिने भिडिओ फुटेजहरू बाहिरिएका छन्। मुल्लाह अब्दुल गनी बरादर सन् १९९४ मा तालिबानको गठन गर्ने संस्थापक मध्येका एक हुन् । सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए।

    सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो। त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा राखेको समेत बीबीसीले जनाएको छ । सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गरेको हो ।

  • अफगानिस्तान घटनाक्रमबारे नेपालको प्रतिक्रिया : शान्ती र स्थिरता नखल्बलियोस

    अफगानिस्तान घटनाक्रमबारे नेपालको प्रतिक्रिया : शान्ती र स्थिरता नखल्बलियोस

    काठमाडौं । सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमन–चयनको सुनिश्चितता हुनुपर्ने नेपालको धारणा रहेको बताएको छ । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे सरकारको औपचारिक धारणा सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले यस्तो बताएको हो । मङ्गलवार प्रेस विज्ञप्ति निकालेर नेपालले अफगानिस्तान छाड्न चाहनेहरूलाई सडक मार्ग तथा हवाई मार्ग प्रयोग र सीमा पार गर्न दिन आग्रह समेत गरेको छ ।

    परराष्ट्र मन्त्रालयले सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको बताएको छ । अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएसँगै अब के हुने भन्ने अन्यौल बढिरहेको छ । अफगानिस्तानमा अमेरिकी संरक्षणको सरकारका राष्ट्रपतिले देश छाडिसकेका छन् । सोहीकारण त्यहाँ रहेका मानिसहरुमा त्रास बढेको हो ।

  • तालिबानले भन्यो : कर्मचारीलाई आममाफी हुन्छ, काममा फर्कनु

    तालिबानले भन्यो : कर्मचारीलाई आममाफी हुन्छ, काममा फर्कनु

    काबुल । अफगानिस्तान नियन्त्रणमा लिएको तालिबानले सबै सरकारी कर्मचारीहरूलाई आममाफीको घोषणा गरेको छ । तालिबानले उनीहरूलाई पूर्ण विश्वासका साथ काममा फर्कन समेत आह्वान गरेको छ । सबैका लागि आम माफी घोषणा गरिएको बीबीसीले जनाएको छ । तालिबानले विज्ञप्ति निकाल्दै यस्तो जानकारी गराएको हो । तालिबानको पछिल्लो घोषणा अफगानिस्तानमा छाएको त्रासकाबीच आएको हो ।

    सरकारी कर्मचारी, पश्चिमा राष्ट्रको संलग्नता रहेका संस्था र अमेरिकी सेनाका लागि दोभासेका रूपमा काम गरेकाहरू तालिबानले बदला लिन सक्ने सम्भावनाका कारण त्रसित रहेका छन्। तालिबान उसले दिने क्रूर सजायका लागि परिचित छ। युद्ध अपराध गरेको आरोप लगाइएको भए पनि उसले त्यो आरोप अस्वीकार गर्दै आएको समेत बीबीसीले लेखेको छ ।

    सोमबारबाट सैन्य विमानहरूले काबुलस्थित विमानस्थलबाट त्यहाँ रहेका कूटनीतिज्ञ र सर्वसाधारणहरूलाई अन्यत्रै लान पुनः सुरु गरेका थिए । सोमवार उक्त विमानस्थल अस्तव्यस्त देखिएको थियो। देश छोड्न व्यग्र दशौँ हजार अफगानहरू धावन मार्गसम्मै पुगेको र उडान भर्न लागेका विमान चढ्ने प्रयास गरेको तस्बिरहरू सार्वजनिक भएका थिए। अधिकारीहरूका अनुसार मंगलवार भने तुलनात्मक रूपमा अवस्था निकै शान्त छ। अधिकांश मानिस घर फर्किएका छन् ।

  • काबुलबाट फर्किएका ११८ नेपाली काठमाडौं आए, अमेरिकी अधिकारीले गरे स्वागत

    काबुलबाट फर्किएका ११८ नेपाली काठमाडौं आए, अमेरिकी अधिकारीले गरे स्वागत

    काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका ११८ जना नेपाली मंगलबार काठमाडौं फर्किएका छन् । उनीहरुलाई अमेरिकी सेनाको जहाजले काबुलबाट उद्धार गरेको थियो । उनीहरूलाई नेपाली सेनाले राजधानीको सामाखुसीस्थित एक आइसोलेशन केन्द्रमा लगेर राखेको छ ।

    अमेरिकी सेनाले उनीहरूलाई उद्धार गरेर काबुलबाट कुवेत पठाएको थियो । त्यहाँबाट उनीहरू जजिरा एयरवेजको जहाज चढेर नेपाल आइपुगेका हुन् । उनीहरुलाई अमेरिकी दूतावासका कर्मचारीले विमानस्थलमै स्वागत गरे । उद्धार गरिएका नेपाली एक दिनअघि कुवेत पुगेका थिए। उनीहरुको आवश्यक कागजपत्रको परीक्षण गरिने, कोरोनाभाइरसको एन्टिजन जाँच गरिने र प्रक्रिया पुर्‍याएर होम आइसोलेशनमा जाने मिल्नेगरी सेनाले व्यवस्थापन मिलाउने भएको छ ।

    नेपालस्थित अमेरिकी दूतावासले सामाजिक संजालमा लेखेको छ, ‘काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरूमध्ये पहिलो उडानमार्फत् आउनु हुनेलाई सकुशल काठमाण्डूमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो, हामी यहाँहरूको सुरक्षा लगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौँ। धेरै धन्यवाद।’

  • माधव नेपालसहित १४ सांसद पार्टीबाट निष्काशन

    माधव नेपालसहित १४ सांसद पार्टीबाट निष्काशन

    काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।

    पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेपालसहित १४ जनालाई कारबाही गरेको सूचना संसद सचिवालयलाई दिएको छ ।

    राजनीतिक दलसम्बन्धी ऐन दफा २८ -१) बमोजिम कार्य नगरी दलको हृवीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको जनाइएको छ ।

    कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री लगायत रहेका छन् ।

    यी हुन् कारवाहीमा पर्ने सांसदहरू
    १. माधव नेपाल
    २. जीवनराम श्रेष्ठ
    ३. मुकुन्द न्यौपाने
    ४. विरोध खतिवडा
    ५. कृष्णलाल महर्जन
    ६. भवानी खापुङ
    ७. मेटमणी चौधरी
    ८. रामकुमारी झाँक्री
    ९. कल्याणी खड्का
    १०. लक्ष्मीकुमारी चौधरी
    ११. निरादेवी जैरु
    १२. पुष्पाकुमारी कर्ण
    १३. सरला यादव
    १४. कलिला खातुन

  • ‘अध्यादेश ल्याएपछिको परिणाम के आउँछ त्यसको जिम्मेवार सरकार हुनुपर्छ’

    ‘अध्यादेश ल्याएपछिको परिणाम के आउँछ त्यसको जिम्मेवार सरकार हुनुपर्छ’

    काठमाडौं । प्रमुख विपक्षी दल एमालेले सरकारले २० प्रतिशत भए पार्टी फुटाउन पाइने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याए कडा प्रतिपाद गर्ने जनाएको छ ।

    एमाले स्थायी कमिटी बैठकले अध्यादेश ल्याउने सरकारले योजना निन्दनीय र अस्वीकार्य भएको ठहर गर्दै उक्त निष्कर्ष निकालेको हो ।

    स्थायी कमिटी बैठकपछि जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले एमाले विभाजन गर्ने गरी अध्यादेश ल्याए एमालेले सशक्त प्रतिवाद गर्ने बताए । उनले भने, ‘त्यसपछिको परिणाम के आउँछ त्यसको जिम्मेवार सरकार हुनुपर्छ ।’

    ज्ञवालीले केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेश ल्याइएको तर, पछि गल्ती भएको स्वीकार गरेर फिर्ता गरिएको पनि दाबी गरे । ‘अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेश आएको थियो ।

    ‘एक दर्जन अध्यादेशमा निर्णय गर्नुपर्ने, कयौं विधेयक टुंगो लगाउनुपर्ने र जनसरोकारमा विषयमा बहस गर्नुपर्ने अवस्थामा १ महिनासम्म संसदलाई बिजनेस नदिइ हठात अधिवेशन अन्त्य गरिएको छ,’ एमालेले भनेको छ, ‘यसले विगतमा गठबन्धनमा आवद्ध पार्टीहरुबाट संसदका बारेमा भनिएका विषयहरु ढोंग र अवरण मात्रै थिए भन्ने पुष्टि हुन्छ ।’

  • अध्यादेश: २० प्रतिशतले पार्टी फुटाउन पाउने, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्ने अधिकार

    अध्यादेश: २० प्रतिशतले पार्टी फुटाउन पाउने, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्ने अधिकार

    काठमाडौं । मन्त्रिपरिषद्‌ बैठकले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन अध्यादेश ल्याएको छ ।

    मंगलबार बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश जारी गरेको हो । यो अध्यादेशले फुट नजिक पुगेका प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) लाई पार्टी विभाजन गर्न सहज हुनेछ ।

    यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो ।

    यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको हो ।

    त्यस्तै अध्यादेशमा राजनीतिक दल विभाजन भएको २१ दिनभित्र प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोज्न चाहेमा सम्बन्धित सभामा सूचना दिन सक्ने व्यवस्था गरिएको छ ।

    त्यसो हुँदा प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधि जो माधव नेपाल पक्षमा लाग्छन् उनीहरुको पद जोगिने र प्रदेश सरकारहरु पनि परिवर्तन गर्न सहज हुनेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको योजना निन्दनीय र अस्वीकार्य भएको बताउँदै प्रतिवाद गर्ने घोषणा गरिसकेको छ ।

  • हैटी भूकम्पमा मर्नेको संख्या १३०० पुग्यो

    हैटी भूकम्पमा मर्नेको संख्या १३०० पुग्यो

    काठमाडौं । अघिल्ला साता हैटीमा आएको विनासकारी भूकम्पमा परि ज्यान गुमाउने व्यक्तिको संख्या १३०० पार भएको छ । अन्तराष्ट्रिय संचारमाध्यमले हैटीको नागरिक सुरक्षा एजेन्सीलाई उदृत गर्दै यस्तो जानकारी गराएका हुन् । हैटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको थियो । हैटीको सुद, ग्रान्ड एन्सलगायत क्षेत्र बढी प्रभावित बनेका छन् । समाचारमा जनाइए अनुसार शहरमा त्राहीमाम जारी छ अस्पतालहरु घाइते र बिरामीका कारण भरिएका छन् । भूकम्पपछि अहिले पनि परकम्पहरुको अनुभव भइरहेको छ ।

    दिनरात नै परकम्प गइरहेको बताइएको छ । अहिले क्षतिको आंकलनको काम जारी छ । त्यसपछि भने अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गर्ने तयारी रहेको छ । समाचार एजेंसी सिन्हुआका अनुसार प्रधानमन्त्री एरियल हेनरीले भूकम्पपछि मुलुकले निकै गम्भीर परिस्थितिको सामना गर्नु परेको छ । हैटीमा शनिबार ठूलो भूकम्प गएको हो । कोरोना महामारीका बीच आएको विनासकारी भूकम्पले यो मुलुकमा संकट थपेको छ । हैटी सन् २०१० मा आएको भूकम्पबाट माथि उठ्ने कोसिस गरिरहेको थियो ।

  • अफगानिस्तानबाट अमेरिकी सैन्य फिर्तीबारे बोले बाइडेन, ‘उपयुक्त समय यही थियो’

    अफगानिस्तानबाट अमेरिकी सैन्य फिर्तीबारे बोले बाइडेन, ‘उपयुक्त समय यही थियो’

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैन्य फिर्तीबारे सरकारको निर्णयको बचाउ गरेका छन् । अफगानिस्तानका लागि अमेरिकी सैनिकले नभई त्यहाँका सैनिकले नै लड्नु पर्ने भन्दै अमेरिकी बहिर्गमनको निर्णयमा आफू पूर्ण रूपमा कटिबद्ध रहेको बताए । युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अमेरिकाको चौतर्फी आलोचना भइरहेको छ ।

    बीबीसीका अनुसार उनले सरकारको निर्णयको बचाउ गरेका छन् । कति थप अमेरिकी जीवन त्यसको लागि अर्पण गर्नुपर्थ्यो ? राष्ट्रपतिले प्रश्न गरे ।
    उनले काबुलका अत्यन्त विदारक दृश्यका बावजूद अमेरिकी फौज हटाउने उपयुक्त समय कहिल्यै पनि नहुने बताएका हुन् । अफगान राष्ट्रपति अशरफ गनीले देश छाडेर उनको सरकार ढलेपछि आइतवार तालिबानले लडाइँ जितेको घोषणा गरेको छ ।

    सशस्त्र विद्रोहीहरू पुनः सत्तामा आउने अवस्थासँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थिति समेत सकिएको छ । राष्ट्रपति बाइडेनले क्याम्प डेभिडबाट सोमवार ह्वाइट हाउस फर्केर करिब एक सातापछि अफगानिस्तानबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले भनेका छन्, ‘अफगान फौजले उनीहरूकै लागि लड्न नचाहेको लडाइँ अमेरिकी सैनिकहरू लड्न सक्दैनन् र लड्नु र युद्धमा मर्नु हुँदैन।’

  • एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

    एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

    काठमाडौं । आज नेकपा (एमाले)ले स्थायी कमिटी र संसदीय दलको बैठक बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजेका लागि बैठक बोलाएका छन् । सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि ओलीले मध्यरातमा विज्ञप्ती निकालेका थिए । उनले सोही विज्ञप्तीमार्फत स्थायी कमिटी बैठक आह्वान गरेका हुन् ।

    सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी फुटाउने अनुमानका बीच बैठक बस्न लागेको हो । अहिले एमाले विभाजन वा एकता के हुने भन्ने टुंगो आगामी केही दिनमै लाग्ने भएको छ । त्यसपछि भने सरकार पूर्ण क्षमतामा चल्ने छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको आरोप समेत एमाले नेताहरुको छ ।