Category: फिचर

  • लुम्बिनीमा शंकर पोखरेलको कुर्सीको टुंगो आज लाग्दै, राजिनामाको तयारीमा पोखरेल

    लुम्बिनीमा शंकर पोखरेलको कुर्सीको टुंगो आज लाग्दै, राजिनामाको तयारीमा पोखरेल

    बुटवल । लुम्बिनीमा लामो समयदेखिको सत्ता परिवर्तनको रस्साकसीको आज निर्णायक दिन हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

    मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ मा तेस्रो पटक अविशवास प्रस्ताव दर्ता गराएका हुन् । उनीविरुद्ध यसअघि वैशाख ६ र २६ मा समेत अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट राजिनामा दिएका पोखरेलले एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा सपथ लिएका थिए ।

    सोही दिन विपक्षीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदहरुको हस्ताक्षर सहित दाबी पेश गरेका थिए । तर, प्रदेश प्रमुखले पोखरेललाई नै नियु्क्ती दिएका थिए । वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान नगरेपछि यस प्रस्तावमा प्रक्रिया नै अगाडी बढेको थिएन ।

    लुम्बिनीमा सत्तारुढ दल एमालेसँग ३८ सीट छ । बहुमत पुर्याउन भने ४१ सांसदको समर्थन चाहिन्छ । विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४१ मत चाहिन्छ । विपक्षी दलमा एकता कायम रहेमा शंकर पोखरेलको कुर्सी ढल्छ । उता पोखरेल भने पुनः अविश्वासको प्रस्ताव भोग्नु भन्दा राजिनामा दिने तयारीमा छन् ।

  • धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु

    धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु

    जनकपुर । धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ३ बस्ने ५४ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादवको मृत्यु भएको प्रहरीले बताएको छ । मंगलबार साँझ ६ बजेतिर करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा टोल निवासी बुलन यादवको घरमा भजनकिर्तन गर्न जोडेको माइकमा करेन्ट प्रवाह हुँदा उनीहरुको मृत्यु भएको प्रहरीको भनाई छ । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषणा गरे । घटनाबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।

  • यूएईले स्वास्थ्य मापदण्ड छिनछिनमा परिवर्तन गर्दा यात्रु विमानस्थलबाटै फर्कन बाध्य

    यूएईले स्वास्थ्य मापदण्ड छिनछिनमा परिवर्तन गर्दा यात्रु विमानस्थलबाटै फर्कन बाध्य

    काठमाडौं । सोमबार राती संयुक्त अरव इमिरेट्स (यूएई) उडानका लागि तयार भएको हिमालय एयरलाइन्सले अचानक उडान बन्द भएको घोषणा गर्यो । यूएई जान विमानस्थल आएका सयौं यात्रु आक्रोसित बने र विमानस्थलमा तनावपूर्ण अवस्था सिर्जना भयो । यस्तो अवस्था आउनुमा एयरलाइन्स वा विमानस्थल प्रशासनको भने दोष थिएन । गन्तब्य मुलुकले कोभिड–१९ को परीक्षणमा थप कडाइ गरेसँगै यात्रुको यात्रा प्रभावित बनेको हो ।

    यूएई सरकारले ७२ घण्टासम्मको पोजेटिभ पिसिआर रिपोर्टलाई मान्यता नदिने निर्णय गरेको छ । युएइ सरकारले ५ अगष्ट देखि लागु हुने गरी ४८ घण्टाको पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, नेपालको विमानस्थलमा र्यापिड टेष्ट, एन्टीजेन टेष्ट गरेको हुनुपर्ने प्रावधान अनिवार्य गरेको छ । यो प्रावधान विमानस्थलमा नभएपछि यात्रु फर्कन बाध्य भएका हुन् ।

    यूएई सरकारले यूएईको आवासीय भिसा भएको र यूएई भित्रै दुई मात्रामा कोभिड विरुद्धको खोप लगाएकालाई मात्र प्रवेश दिने जनाएको छ । तर प्रवेशका क्रममा यूएई विमानस्थलमा ओर्लिएपछि पुनः पिसीआर टेष्ट गर्नुपर्ने, क्वारेन्टीन र स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने गरि कडा नियम ल्याइएको छ । जसले गर्दा नेपाली यात्रुको यात्रा प्रभावित बनेको हो ।

  • मेसी पिएसजीमा आवद्ध, बन्यो संसारकै शक्तिशाली टीम

    मेसी पिएसजीमा आवद्ध, बन्यो संसारकै शक्तिशाली टीम

    पेरिस । अर्जेन्टाइन स्टार लियोनल मेसी अब फ्रेन्च लीग क्लव पिएससीमा आवद्ध भएका छन् । यससँगै पिएससी संसारकै शक्तिशाली क्लव बनेको छ । यो क्लवको अग्रपंक्तीमा अब मेसी, नेयमार र एम्बाप्पे रहने छन् । यसै सिजन रियल म्याड्रिडबाट बिदा भएका सर्जियो रामोस समेत यसै टीममा आवद्ध भएका छन् । अर्का अर्जेण्टाइन स्टार एन्जल डीमारिया समेत यसै टीममा रहेका छन् ।

    समकालिन फुटबलका महान खेलाडी मानिने मेसी भने बार्सिलोनाबाट बिदा भएका हुन् । पिएसजीको राखेको प्रस्तावमा सोमबार सहमति जनाएका उनी दुई वर्षका लागि सो टोलीमा आवद्ध भएका छन् । आपसी सहमतिमा सम्झौता २०२४ सम्म लम्बिन सक्ने भएका छन् । उनी वार्षिक ३५ मिलियन यूरो पारिश्रमिक पाउने गरि पीएसजी भित्रिएको बताइएको छ । मेसी आजै फ्रान्स पुगेका छन् । उनलाई समर्थकले भब्य स्वागत गरेका छन् ।

    २१ वर्ष स्पेनको बार्सिलोनाबाट खेलेका उनी लालिगाको नियम र क्लव आर्थिक समस्यामा परेका कारण बाहिरिनु परेको हो । त्यहाँ उनी सबैभन्दा बढी तलव खोन खेलाडी थिए । उनी १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका थिए । मेसी अहिले ३४ वर्षका भए । मेसी बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरि कीर्तिमानधारी ेखेलाडी बनेका छन् । बार्सिलोनामा उनले कुल ३५ उपाधि उचालेका छन् । जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधि समेत छन् ।

  • नेपालमा २६ लाख मानिसले लगाए कोरोना खोपको डबल डोज, १ करोड डोज भित्रियो

    नेपालमा २६ लाख मानिसले लगाए कोरोना खोपको डबल डोज, १ करोड डोज भित्रियो

    काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको १ करोड डोज खोप भित्रिएको छ । नेपाल खोप उत्पादक मुलुक होइन । सोहीकारण नेपालले अनुदान वा खरीदमा भर पर्नु परेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार नेपाल भित्रिएको खोपको विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

    नेपालमा अहिलेसम्म १ करोड डोज खोप भित्रिएको छ । नेपालमा अमेरिका, भारत, चीन, भुटान र जापानबाट खोप आएको छ । नेपालमा १४ माघ २०७७ बाट कोरोना विरुद्धको खोप लगाउन थालिएको हो । तर, खोपको आपूर्ति कम भएका कारण नेपालले खोप अभियानलाई तिब्र बनाउन भने सकेको छैन । सरकारले चैत भित्र खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

  • सरकारको स्वेतपत्र सार्वजनिक : अर्थतन्त्रका परिसूचक सकारात्मक देखिएनन्

    सरकारको स्वेतपत्र सार्वजनिक : अर्थतन्त्रका परिसूचक सकारात्मक देखिएनन्

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले केपी ओलीले नेतृत्व गरेको सरकारका पालामा भएका काम र त्यसले अर्थतन्त्रा छाडेको छाप समटेर तयार पारेको स्वेतपत्र सार्वजनिक गरेका छन् । यसअघि पूर्ववर्ती सरकारको कामको आलोचना गर्न भने तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले सिकाएका हुन् । उनले तत्कालिन नेपाली कांग्रेस नेतृत्वको सरकारले देशको अर्थतन्त्र निकै कमजोर अवस्थामा छाडेको दावि गरेका थिए । अहिले कांग्रेस र माओवादी केन्द्रको सरकार छ । वर्तमान सरकारले समेत ओलीको पालामा अर्थतन्त्र निकै कमजोर अवस्थामा पुगेको भन्दै स्वेतपत्र ल्याएको हो ।

    कोभिड महामारीको उचित व्यवस्थपन गर्न नसक्दा अर्थतन्त्र सही दिशामा नगएको र यसले मानव जिवन समेत बढी क्षति भएको सरकारको विश्लेषण छ । ओली सरकारले हरेक वर्ष राखेका आर्थिक वृद्धिका लक्ष्य पुरा गर्न नसकेको, पूँजित खर्च कम भएको देखिएको छ । ओलीले नेतृत्व गर्दा ७ खर्ब सार्वजनिक ऋण रहेकोमा यो बढेर १७ खर्ब पुगेको देखिएको छ । पूर्व सरकारले स्रोत सुनिश्चितता करीव ३ खर्ब ५७ अर्बका आयोजना अगाडी बढाएको देखिएको छ । यसमा रेल र सडकका आयोजनाको हिस्सा बढी छ । श्वेतपत्रमा सरकारले वैदेशिक स्रोतको परिचालन गर्ने विषयमा सरकार असफल भएको बताएको छ ।

    सरकारले हरेक साल लिने वैदेशिक ऋण परिचालनको लक्ष्यमा ५० प्रतिशत समेत प्रगति प्राप्त गर्न सकेको नदेखिएको तथ्यांक् छ । सरकारको बजेट निर्माण र कार्यान्वयनको क्षमतामाथि समेत प्रश्न उठाइएको छ । वैदेशिक लगानी भित्राउन ओली सरकारले ठोस पहल नगरेको समेत वर्तमान सरकारको आरोप छ । यसबीचमा रेमिट्यान्स बढेको र निर्यातमा समेत उल्लेख्य वृद्धि भएको देखिएको छ । मूल्य वृद्धि समेत नियन्त्रणमै रहेको छ । अर्थमन्त्री शर्माले स्वेतपत्र संसदमा प्रस्तुत गरेका हुन । यसअघिका अर्थमन्त्री खतिवडाले मन्त्रालयबाट सार्वजनिक गरेका थिए ।

  • उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा लम्बियो, बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने

    उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा लम्बियो, बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने

    काठमाडौं । काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइने भएको छ । बिहीबारदेखि लागू हुने गरी उपत्यकामा बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

    मंगलबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि अत्यावश्यक सेवाका सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।

    कोरोना संक्रमण बढ्दै गएसँगै रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । निजी तथा सार्वजनिक सवारीसाधन संचालनमा रोक लगाइए पनि अत्यावश्यक सवारीसाधन भने जुनसुकै बेला पनि संचालन गर्न पाइने जनाइएको छ ।
    यस्तै, बैठकले हाल कायम निषेधाज्ञा भदौ ८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

  • ‘तपाईको मास्क खै’ अभियानसहित ट्राफिक प्रहरी सडकमा

    ‘तपाईको मास्क खै’ अभियानसहित ट्राफिक प्रहरी सडकमा

    काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथामका लागि तपाईको मास्क खै भन्दै ट्राफिक प्रहरी सडकमा आएको छ ।

    ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले उक्त रिबन न्युरोड गेटमा खटिएका ट्राफिक प्रहरीहरुलाई लगाइ दिएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

    उपत्यकाको ४४ ट्राफिक कार्यालयका ९०० जना ट्राफिक प्रहरीहरुलाई आजैबाट ड्उटीको समयमा अनिबार्य उक्त रिबन प्रयोगमा ल्याउन शुरु गरेको महाशाखाले जनाएको छ ।

    कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले यस अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित समेत गर्ने बताए ।

    यस अघि ट्राफिक प्रहरीले प्ले कार्ड प्रदर्शन, सार्वजनिक स्थानमा मास्क वितरण, सार्वजनिक यातायातमा अनिबार्य मास्कको प्रयोग गर्न सचेतना जगाउने, सामाजिक दुरी कायम गर्न र सिट क्षमता भन्दा बढि यात्रु नचढाउन र अनिबार्य मास्कको प्रयोग गर्न गराउन सचेत गराउँदै आएको छ ।

  • नेपालमा थप ४९०४ जनामा कोरोना पुष्टी, ३५ जना संक्रमितको निधन

    नेपालमा थप ४९०४ जनामा कोरोना पुष्टी, ३५ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १३ हजार २१७ पीसीआर परीक्षणका क्रममा ३१९४ र ५९०६ एन्टीजेन परीक्षणका क्रममा १७१० जना गरी ४९०४ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २० हजार ६८० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २११५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७१ हजार १९८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३५जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।

  • अफगानिस्तान युद्ध : तीन दिनमा मारिए २७ बालबालिका

    अफगानिस्तान युद्ध : तीन दिनमा मारिए २७ बालबालिका

    काबुल । अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच लडाइँ जारी रहेको छ । पछिल्लो युद्धको तीन दिनमा २७ जना बालबालिका मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। बीबीसीका अनुसार राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको समेत उल्लेख गरेको छ । दुई पक्षको लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौँ सर्वसाधारणले घर छाडेर राजधानी काबुलतर्फ गइरहेको विवरण सार्वजनिक भएका छन् ।


    विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबानले देशभरि आफ्नो नियन्त्रण फैलाइरहेको छ। सोहीक्रममा भिषण युद्ध जारी छ । गत शुक्रवारयता उसले आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको बीबीसीले लेखेको छ । अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ। त्यहाँ गत महिनाको हिंसामा मात्र एक हजारभन्दा बढी सर्वसाधारण मारिएका छन्। सोमवार युनिसेफले जारी गरेको वक्तव्यमा बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे बढिरहेको समेत जनाएको छ । कान्दाहार, खोस्त र पाक्तिया प्रान्तमा मात्र २७ बालबालिका मारिएका हुन् । विगत तीन दिनमा ती क्षेत्रहरूमा १३६ भन्दा बढी बालबालिका घाइते भएका छन् ।

  • विश्वका चर्चित क्रिकेटरले  खेल्ने ‘इपीएल’को ट्रफी सार्वजनिक, अफ्रिदीसहित को-को आउने छन् नेपाल ?

    विश्वका चर्चित क्रिकेटरले खेल्ने ‘इपीएल’को ट्रफी सार्वजनिक, अफ्रिदीसहित को-को आउने छन् नेपाल ?

    काठमाडौं । विश्वका चर्चित क्रिकिेटरहरुको जमघट केही समयपछि नेपालमा हुने छ । यसको तारतम्य मिलाएको हो एभरेस्ट प्रिमियर लिग (इपीएल)ले । यो प्रतियोगिता ९ असोजबाट सुरू हुनेछ । आयोजकले इपीएलको ट्रफी सोमबार सार्वजनिक गरेको छ । प्रतियोगिताको हंशराज हुलासचन्द एण्ड कम्पनीको उत्पादन बजाज पल्सरले मुख्य प्रायोजन गर्दैछ ।

    इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका छन् । सो अवसरमा अख्तर र गोल्छाबीच मुख्य प्रयोजनका लागि सम्झौता समेत भयो । मुख्य प्रायोजन भएवापत बजाज पल्सरले लिगलाई २ करोड ५० लाख रुपैयाँ दिनेछ । यो नेपालमा आयोजना भएका खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो प्रयोजन रकम हो ।

    यसअघि ए डिभिजन फुटबल लिगमा कतार एअरवेजले १ लाख ५० हजार अमेरिकी डलर दिनु नै सर्बभन्दा ठूलो प्रयोजन थियो । ईपीएलको चौथो संस्करण विश्वका १५० देशमा प्रत्यक्ष प्रशारण हुने भएको छ । यो प्रतियोगितामा विश्वचर्चित खेलाडीहरु शाहिद अफ्रिदी, शोयब मलिक, कार्लोस ब्राथवेट जस्ता खेलाडी सहभागी हुने भएका छन् ।

    प्रतियोगिता कीर्तिपुरको त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा आयोजना हुनेछ । प्रतियोगिता १४ दिनसम्म चल्ने छ। प्रतियोगितामा विराटनगर वारियर्स, काठमाडौं किङ्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सले उपाधीका लागि भिड्ने छन् ।

  • नेपालमा ‘क्याफे कल्चर’ भित्राउने प्रसिद्ध व्यवसायी कक्षपतिको निधन

    नेपालमा ‘क्याफे कल्चर’ भित्राउने प्रसिद्ध व्यवसायी कक्षपतिको निधन

    काठमाडौं । नेपालमा क्याफे कल्चरलाई प्रख्यात बनाउने सफल व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । उनी नाङ्ग्लो रेष्टुराँका सञ्चालक हुन् । कक्षपतिको सोमबार उपचारका क्रममा थाइल्याण्डमा निधन भएको हो । उनका श्रीमति, एक छोरी र एक छोरा छन् । उनी लामो समयदेखि मुखको क्यान्सरसँग जुधिरहेका थिए । कक्षपति शुभतारा स्कुलका संस्थापक समेत हुन् । कोरोनाका कारण यो स्कुल बन्द गर्ने निर्णय भएपछि धेरै जनाले यसबारे चासो समेत राखेका थिए । दरबारमार्गमा ४५ वर्षअघि कक्षपतिले नाङ्ग्लो थालेका हुन् ।

    नेपालमा रेष्टुराँमा पुगेर खाजा खाने प्रचलनलाइै स्थापित गराउन उनको ठूलो भूमिका रहेको छ । नाङ्ग्लोले अहिले देशभर सेबा बिस्तार गरिसकेको छ । कक्षपतिको जन्म पाल्पामा भएको हो । कक्षपति परिवारले नेपालमा सुन्दरी प्रतियोगिता थालेर मिस नेपाल छनोट गर्न थालेको हो । पृथ्वी राजमार्गको किनारमा पोखरा र काठमाडौं जोड्ने गरि रिभर साइड रिर्सोट स्थापना गरेका उनी होटेल संघ नेपालका पूर्व अध्यक्ष हुन् । रेष्टुरेन्ट व्यवसायी संघका भने उनी संस्थापक अध्यक्ष हुन् ।

  • सडकमा हिडिँरहेका प्रहरी इन्सपेक्टरको मोटरसाइकलको ठक्करबाट मृत्यु

    सडकमा हिडिँरहेका प्रहरी इन्सपेक्टरको मोटरसाइकलको ठक्करबाट मृत्यु

    बुटवल । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको ज्यान गएको छ । सडकमा हिँडिरहेको समयमा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । तनहुँको म्याग्दे गाउँपालिका ४ का ४३ वर्षीय कपिल वाग्लेको गत राती रुपन्देहीको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज हुन् । उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गतराती आठ बजेतिर ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो । उनको राति १० बजेर ५७ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • कर्मचारीको बढेको तलवमान लागु

    कर्मचारीको बढेको तलवमान लागु

    काठमाडौं । निजामति कर्मचारी तथा सबै सरकारी कर्मचारीको बढेको तलवमान कार्यान्वयनमा आएको छ । सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका लागि सो तलबमान लागू हुने बैठक पछि कानुन, न्याय तथा संसदीय ममिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    मन्त्रिपरिषद् बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८, छलफलका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा, विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय गरेको समेत उनले जानकारी दिए ।

    परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरु घनश्याम लम्साल, सुशील भट्टराई, तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्राङ्कित प्रथम श्रेणीको बढुवा नियुक्ति दिई परराष्ट्र सेवा अन्तर्गत पदस्थापन गर्ने निर्णय समेत सरकारले गरेको छ । नेपाल कृषि तथा बन सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको सिफारिस अनुसार साउन २४ को सिफारिस अनुसार प्रथम श्रेणीका सहसचिव गोविन्द प्रसाद शर्मालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पदस्थापना गर्ने निर्णय समेत सरकारले गरेको छ ।

  • साफ च्याम्पियनसिप आयोजना जिम्मा माल्दिभ्सलाई,आयोजनाको अवसर नेपालले पाएन

    साफ च्याम्पियनसिप आयोजना जिम्मा माल्दिभ्सलाई,आयोजनाको अवसर नेपालले पाएन

    काठमाडौं । १३ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ । सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो ।

    प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म हुनेछ । कोरोना महामारीका कारण बंगलादेशले साफ आयोजना गर्न नसक्ने बताएपछि नयाँ आयोजकका रूपमा माल्दिभ्सलाई छनोट गरिएको हो ।

    प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नयाँ आयोजक राष्ट्र चयन गरिएको हो ।

    प्रतियोगिताको आयोजनाका लागि नेपालले पनि दावेदारी पेस गरेको थियो । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ ।

    १३ औं साफमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको छ । नेपालमा साफ आयोजना गर्न सरकारले ५ करोड दिने निर्णय गरिसकेको थियो ।

  • एमालेमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी केन्द्रीय सदस्यले चुन्ने

    एमालेमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी केन्द्रीय सदस्यले चुन्ने

    काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

    तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल गठन गरेको थियो ।

    कार्यालय सचिव शेरबहादुर तामाङ्ले पारित गरिएको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने बताउनुभयो । उहाँका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

    स्थायी कमिटीले पारित गरेको विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।

    हाल एमालेमा अध्यक्षसँगै ५ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिव निर्वाचित हुने प्रावधान छ ।

  • हाइड्रो र फाइनान्स चम्किँदा नेपाली सेयर बजारमा १४ अर्बको कारोबार

    हाइड्रो र फाइनान्स चम्किँदा नेपाली सेयर बजारमा १४ अर्बको कारोबार

    काठमाडौं । सेयर बजारमा झिनो अंकको बढोत्तरी भएको छ । आज विकास बैंक र फाइनान्सको समूहको सेयरमा चमक आए पनि अरु समूहको परिसूचकमा गिरावट आउँदा बजारले गति लिन नसकेको हो ।

    सूचकमा झिनो बढोत्तरी आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज पनि १४ अर्ब बढीको कारोबार भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से १.५४ अंकले बढेर ३१०९.६६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२४ कम्पनीको १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ रुपैयाँ बराबरको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर र फाइनानस समूह सबैभन्दा धेरै समान ३.३५ प्रतिशतले बढेको छ भने व्यापार समूह १.०७ प्रतिशतले घटेको छ ।

    आज कारोबारमा आएका २२४ कम्पनीमध्ये ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ६७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा माथिल्लो तामाकोशी ५९ करोड र अपी पावर ५३ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    न्यून अंकले बढेको बजारमा आज ९ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । आइसीएफसी फाइनान्स, कर्पोरेट कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर, नेपाल हाइड्रो, युनियन हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यस्तै, युनियन लाइफ इन्स्योरेन्स, ङादी पावर र हिमालयन ऊर्जा कम्पनीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन ।

  • भूमि आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    भूमि आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने देउवा सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेशसँगै कारण देखाऊ आदेश पनि जारी गरेको हो ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ साउनमा देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

    आयोगलाई स्वामित्व ग्रहण नगरी राजनीतिक प्रेरणाबाट प्रभावित रही खारेज गरेको भन्दै अध्यक्ष देवी ज्ञवाली साउन २४ मा रिट लिएर सर्वोच्च पुगेका थिए । भूमिआयोग खारेजविरुद्ध अरु तीन वटा रिट पनि सर्वोच्चमा दर्ता भएका थिए ।

    सर्वोच्चले अन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न रिट निवेदक देवी ज्ञवाली र सरकार पक्षलाई पनि भदौ १ गतेका लागि झिकाएको छ।

  • त्रिवि मातहतका कुनै पनि परीक्षा नरोकिने

    त्रिवि मातहतका कुनै पनि परीक्षा नरोकिने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लिने सबै प्रकारका परीक्षा नरोकिने भएको छ । परीक्षाबारे अन्यौल उत्पन्न भइरहेको समयमा विश्वविद्यालयले यस्तो जानकारी गराएको हो । भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने त्रिविले जनाएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने छ ।

    विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय गरेको जनाएका छन् । विश्वविद्यालयमा हाल वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । यो परीक्षा २८ साउनमा सकिने छ । यो परीक्षा पठनपाठन शुरु भएको २० महिनापछि लिइएको छ ।

    उता, स्नातकोत्तर तहका विभिन्न सङ्कायका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षा कार्यक्रम पनि जारी छन् । भदौ ५ गतेपछिको परीक्षाबारे भने कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई दृष्टिगत गरी निर्णय गरिने भएको छ । विश्वविद्यालयले भदौ ११ गतेबाट स्नातक तहतर्फ एलएलबी प्रथम वर्षको परीक्षा कार्यक्रम राखेको छ ।

    त्यसैगरी भदौ २७ गतेबाट एलएलबी दोस्रो वर्षको परीक्षा गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ । भदौ २५ गतेबाट स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारी विश्वविद्यालयको भए पनि परीक्षा कार्यतालिका सार्वजनिक गरिएको छैन । राष्ट्रिय परीक्षा बोर्डले भने ३१ साउनमा निर्धारित पूर्वघोषित कक्षा १२ को परीक्षा स्थगित गरेसँगै त्रिविमा अन्यौल बढेको थियो ।

  • अफगानिस्तानमा पाँच वटा प्रान्तिय राजधानी तालिवानको कब्जामा

    अफगानिस्तानमा पाँच वटा प्रान्तिय राजधानी तालिवानको कब्जामा

    काबुल । अन्तर्राष्ट्रिय फौजसँगको भिषण युद्धका वावजुत तालिबानले अफगानिस्तानमा देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाएको छ । अफगानिस्तानका कुल पाँचवटा क्षेत्रीय राजधानीमा कब्जा जमाएको बीबीसीले लेखेको छ। अफगानिस्तानमा जारी हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेका बेला तालिबानले लडाइँ कायम राखेको हो। उसले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको समेत बीबीसीले लेखेको छ।

    तालिबानले आइतवार देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई आफ्नो नियन्त्रणमा लिएको छ । उसले सारएपोल र तालोकान सहरमा पनि कब्जा गरेको समाचारमा उल्लेख छ । तालिबानले गत शुक्रवारयता पाँचवटा क्षेत्रीय राजधानीमा आफ्नो नियन्त्रण कायम गरेको हो । त्यसमध्ये तालिबानका लागि कुन्दुज यो वर्षको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भएको समेत उल्लेख छ ।

    २० वर्ष लामो सैन्य अभियानपश्चात् अन्तर्राष्ट्रिय फौजले अफगानिस्तान छाड्न थालेपछि त्यहाँ हिंसा व्यापक रूपमा बढेको छ । तालिबानले पछिल्ला सातामा त्यहाँ तीव्र गतिमा आफ्नो नियन्त्रण विस्तार गरिरहेको छ। देशका बाहिरी क्षेत्रमा व्यापक नियन्त्रणपछि उसले अहिले मुख्य सहरहरूलाई लक्षित गर्दै हमला गरिरहेको छ।

  • कोभिशिल्डको पहिलो मात्रा लगाउन छुटेका जेष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा लगाउन शुरु

    कोभिशिल्डको पहिलो मात्रा लगाउन छुटेका जेष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा लगाउन शुरु

    काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाए लामो समय दोस्रो मात्रा कुरेका जेष्ठ नागरिकलाई आजबाट दोस्रो डोज खोप प्रदान गर्न थालिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाले यसबारे जानकारी गराएको हो । जापानले नेपाललाई दिएको कुल १० लाखमध्ये ८ लाख डोज नेपाल आएको छ । भुटानबाट ३ लाख डोज खोप आएसँगै अब कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकाले दोस्रो डोज पाउने भएका हुन् ।

    स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौं जिल्लामा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने जानकारी गराएका छन् । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाले खोप पाउने छन् ।

  • सरकारको लक्ष्य : खोप उत्पादन गर्ने ल्याव नेपालमा स्थापना गर्ने

    सरकारको लक्ष्य : खोप उत्पादन गर्ने ल्याव नेपालमा स्थापना गर्ने

    काठमाडौं । सरकारले नेपालमै कोरोना विरुद्धको खोप उत्पादन गर्ने ल्याव स्थापनाको घोषणा गरेको छ । अहिले नेपालले अन्य मुलुकमा बनिरहेको खोप विभिन्न माध्यमबाट ल्याउँदै नागरिकमा वितरण गरिरहेको छ । गठबन्धन सरकारले नेपालमै कोभिड–१९ को भ्याक्सिन उत्पादन गर्ने ल्याब स्थापनाको लक्ष्य साझा न्यूनतम कार्यक्रममा राखिएको छ ।

    सरकारले आइतबार कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रममा कोभिड–१९ बाट उपन्न महाविपत्तिबाट मुक्ति पाउन ल्याब स्थापनाको लक्ष्य राखेको बताएको छ । विश्वमा कुनै एक मुलुकले पत्ता लगाएको सुत्रका आधारमा सोही सुत्र प्रयोग गरि विभिन्न ल्यावमा खोप उत्पादन गर्न सकिन्छ । सरकारले असोज महिनासम्ममा एक तिहाई नागरिकलाई र चैत मसान्तसम्म खोप लगाउनयोग्य सबै नेपालीलाई निःशुल्क खोपको लगाइसक्ने लक्ष्य राखेको छ ।

    स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, एम्बुलेन्स चालक, सफाई मजदुर तथा सुरक्षाकर्मीहरूलाई प्रोत्साहन भत्ता र आवश्यकताअनुसार व्यक्तिगत सुरक्षा साधन उपलब्ध गराउने कार्यक्रममा उल्लेख छ । कोभिड नियन्त्रणका लागि आवश्यक पूर्वाधारमा प्राथमिकता दिने, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्था उपर कानुनी कारबाही गर्ने समेत लक्ष्य सरकारको छ ।

  • सकियो ओलम्पिक, अमेरिका बन्यो प्रथम, नेपाल पदकबिहिन

    सकियो ओलम्पिक, अमेरिका बन्यो प्रथम, नेपाल पदकबिहिन

    टोकियो । ३२ औं गृष्मकालिन टोकियो ओलम्पिक सम्पन्न भएको छ । अमेरिकाले ३९ स्वर्णसहित कुल ११३ पदक जित्दै प्रथम स्थान हाँसिल गरेको ओलम्पिकको समापन समारोह भने जापानको राष्ट्रिय रङ्गशालामा आइतबार साँझ आयोजित भएको हो । दर्शकको उपस्थिति बिना नै ओलिम्पिक समापन कार्यक्रम आयोजना गरियो । अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले सो अवसरमा भब्य आयोजनाका लागि जापानी नागरिकप्रति धन्यवाद ज्ञापन गरे ।

    महामारीका कारण १६ दिने कार्यक्रम यसपालि अभूतपूर्व भएको उनको प्रतिक्रिया छ । ओलिम्पिक्स खेलकुदले विश्वलाई एकसाथ ल्याएको र सबैभन्दा मूल्यवान्‌ उपहारका रुपमा आशा दिएर गएको बताए । आगामी ओलम्पक अब फ्रान्सले आयोजना गर्नेछ । समारोहमा ओलिम्पिकको झण्डा पेरिसका मेयरलाई हस्तान्तरण गरिएको छ ।

    ओलम्पिकको पदक तालिकामा संयुक्त राज्य अमेरिका ३९ स्वर्णसहित पहिलो स्थानमा रहँदा ३८ स्वर्ण जितेको चीन दोस्रो स्थानमा रह्यो । २७ स्वर्णसहित जापान तेस्रो र २२ स्वर्णसहित बेलायत तेस्रो स्थानमा रहन सफल भए । नेपालको छिमेकी मुलुक भारतले १ स्वर्णसहित ७ पटक भित्राउँदा नेपाल भने पदक बिहिन घर फर्किएको छ ।

  • २१ वर्षपछि बार्सिलोनाबाट बिदा भए मेसी, बिदाईमा बने भावुक

    २१ वर्षपछि बार्सिलोनाबाट बिदा भए मेसी, बिदाईमा बने भावुक

    काठमाडौं । ‘गत वर्ष म बार्सिलोना छाड्न चाहन्थे, तर यो वर्ष म यही बस्न चाहन्छु,’ करीयरको २१ वर्ष बिताएको क्लव बार्सिलोनाबाट बिदाई हुने क्रममा अर्जेन्टाइन स्ट्राइकर मेसीले यसो भन्दै गर्दा उनको गहभरी आँसु आयो । बार्सिलोना छाडेको औपचारिक घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित हुनासाथ मेसी भावुक बने । उनको आँखाबाट अविरल आँसु बगिरह्यो ।


    सम्बोधन सुरु गर्नुअगाडी नै उनको भावना छताछुल्ल भएको थियो । उनी १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका थिए । तर, अब उनी यो क्लवको हिस्सा रहेनन् । बार्सिलोना र मेसी एक अर्काको पर्यायवाची थिए । क्लव र मेसी बीच छिट्टै नयाँ सम्झौत हुने र पाँच वर्षका लागि मेसी बार्सिलोनामै रहने समाचारहरु सार्वजनिक भइरहेका बेला अचानक खेलाडी र क्लवबीचको वार्ता असफल भएको खबर बिहीबार सार्वजनिक भएको थियो ।

    यो खबरले समर्थकमा भने ब्यापक निरासा उत्पन्न भएको छ । आर्थिक अवस्था र ला लिगाको मापदण्डका कारण हस्ताक्षर हुन नसकेको क्लबले जनाएको छ । मेसीका अनुसार उनी ५० प्रतिशतसम्म तलव कटौती गरेर भएपनि बार्सिलोनामै बस्न चाहन्थे । तर, क्लवले ७० प्रतिशतसम्म कटौतीको शर्त राख्यो । गत वर्ष क्लवसँग विवाद हँुदा उनले कानूनी लडाईमा जान सक्थे ।

    तर, आफुले माया गर्ने क्लवविरुद्ध कानूनी लडाईमा नगएका उनलाई अन्ततः बार्सिलोनाबाट बाध्यतावशः निस्कनु परेको छ । बिदाई बारे आफ्नो धारणा राख्दै मेसीले भने ‘२१ वर्षपछि अब आफ्नो पत्नी र तीन क्याटलान –अर्जेन्टाइन सन्तानसहित जाँदै छु र मै सबै कुरा भन्न सक्दिनँ ।’ मेस्सीले बार्सिलोनाप्रति आफ्नो ठूलो सम्मान रहेको उल्लेख गरे । यो आफ्नो घर रहेको समेत उनको भनाई छ ।

    अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुका अनुसार संसारभरका धनी क्लवहरु अहिले मेसीलाई भित्राउन खोजिरहेका छन् । यसमा फ्रान्सको पेरिस सेन्ट जर्मेन सफल भएको समेत इएसपीएनले लेखेको छ । उक्त संचारमाध्यमका अनुसार सोमबार नै मेसीले सो क्लवका लागि मेडिकल जाँचसहितका प्रक्रिया पुरा गर्ने तयारी छ । यो क्लवमा नेयमारदेखि एम्बाप्पेसम्मका स्टार खेलाडी छन् ।

  • सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, कोभिडबाट उत्पन्न संकट प्राथमिकतामा

    सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, कोभिडबाट उत्पन्न संकट प्राथमिकतामा

    काठमाडौं । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

    सिंहदरबारमा आयोजित कार्यक्रममा गठबन्धन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

    कार्यक्रममा पहिलो प्रथामिकताका कोरोनाविरुद्धको खोप राखिएको छ । कोभिड–१९ विरुद्धको असोज मसान्तभित्र एक तिहाइ चैतभित्र सबै नागरिकलाई खोप लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म सबैलाई खोप उपलब्ध गराउने बताएका हुन् ।

    सार्वजनिक गर्ने क्रममा संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने बताइएको छ ।

    भ्रष्टाचार न्यून गर्न भन्दै इ बिडिङ मोडलमा काम गर्ने रहेको छ । कृषि बीमाको व्यवस्था गरी जोखिम न्यूनिकरण गर्ने,आन्तरिक लगानीमा नै ठूला जलाशय युक्त आयोजना निर्माण गर्ने र निर्यातका लागि वैदेशिक लगानी लिने कार्यक्रम रहेको छ ।

    पर्यटन क्षेत्रको विकासको लागि तत्कालै राहतका कार्यक्रम ल्याउने बताइएको छ । उत्पादन मुलक उद्योग स्थापनामा जोड दिने, आन्तरिक उत्पादनको प्रयोगमा जोड दिने नीति रहेको छ । संविधान अन्सार भूमिहिनलाई भूमि उपलब्ध गराउने रहेको छ ।

    यस्तै नेपालमै कोरोना खोप उत्पादनका लागि पहल गर्ने, लिम्पियाधुरा, लिपुलेक तथा कालापानीजस्ता सीमामा देखिएका समस्या कुटनीतिक तवरबाट हल गर्ने पनि कार्यक्रममा समावेश छ।

    यस्तै जसपाको मागअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम पनि समावेश छ। कार्यक्रममा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी भएका थिए ।

  • थप २५४८ जनामा कोरोना‚ २०२९ संक्रमणमुक्त

    थप २५४८ जनामा कोरोना‚ २०२९ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार ३३ पीसीआर परीक्षणका क्रममा २ हजार १ सय ३७ र ३ हजार ३ सय ४५ एन्टीजेन परीक्षणका क्रममा ४११ जनामा कोरोना पुष्टी भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ । त्यस्तै गत २४ घण्टायता कोरोनाका कारण थप ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण १० हजार ९३ जनाले ज्यान गुमाएका छन् ।

    थप दुई हजार २९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६९ हजार २९९ संक्रमित निको भएका छन् । अहिले ३५ हजार ४८५ सक्रिय संक्रमित आइशोलेशन र ४७५ जना क्वारेन्टाइनमा छन् ।

    हालसम्म नेपालमा ३६ लाख ८३ हजार ७३४ पीसीआर र ३ लाख ५७ हजार ५९५ वटा एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

  • नेपालमा पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ५५ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३पुगेको छ ।

  • कोभिशिल्ड खोपको दाेस्राे मात्रा ‘एस्ट्राजेनेका’ लगाउन काठमाडौँमा १४४ केन्द्र

    कोभिशिल्ड खोपको दाेस्राे मात्रा ‘एस्ट्राजेनेका’ लगाउन काठमाडौँमा १४४ केन्द्र

    काठमाडौं । कोरोना भाइरसविरुद्धको ‘एस्ट्राजेनेका’ खोप सोमबारबाट लगाइँदै छ । यो खोप सोमबार र मंगलबार लगाइनको लागि काठमाडौंमा १४४ खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

    यसअघि एस्ट्राजेनेकाले नै विकास गरेको तथा भारतमा उत्पादित ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएर बसेकाहरूले दोस्रो मात्राको रूपमा उक्त एस्ट्राजेनेका खोप लगाइन लागिएको हो ।

    खोप तोकिएको लक्षित समूहलाई दोस्रो मात्रा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुनेगरी लगाउन अनुरोध गरिएको छ।

    जिल्लाभरका सबै नगरपालिका तथा महानगरपालिकाका सबै वडा कार्यालय र विशेषा तोकिएका स्वास्थ्य संस्थामा उक्त खोप लगाउन सकिनेछ । यो खोप विशेषगरी ५५ वर्षमाथिकालाइ र अन्य लक्षित समूहलाइ लगाइनेछ ।

    स्वास्थ्य कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण दर्ता भएकाहरुलाई मात्र खोप प्रदान गर्न भनेको छ ।

    अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरू नै जिम्मेवार हुनुपर्नेछ ।

    खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको प्रमाणपत्र र अन्य परिचय खुल्ने कागजपत्र साथमा लानुपर्नेछ।

  • जितेको रकमले शरणार्थी शिविरका लागि एम्बुलेन्स खरिद गर्ने किरण गजमेरको घोषणा

    जितेको रकमले शरणार्थी शिविरका लागि एम्बुलेन्स खरिद गर्ने किरण गजमेरको घोषणा

    काठमाडौं । गायन क्षेत्रको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का विजेता किरण गजमेरले भुटानी शरणार्थी शिविरका लागि एम्बुलेन्स खरिद गर्ने घोषणा गरेका छन्।

    उनले प्राप्त गरेको २५ लाख रुपैयाँमा एक हजार रुपैयाँ आफ्नी आमालाई लगेर दिने र बाँकी रहेको पैसा र अन्य पैसा थपेर भुटानी शरणार्थीका लागि एउटा एम्बुलेन्स किन्ने घोषणा गरेका हुन्।

    उनले पश्चिम नेपालका लागि पनि अर्को एम्बुलेन्स किन्ने घोषणा गरेका छन्।

    गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को ग्रान्ड फिनालेमा उनले उपाधि जितेका हुन्।

    शनिबार भएको फिनालेमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि चुमेका हुन्। उपाधिसँगै गजमेरले २५ लाख रुपैयाँ पाएका छन्।

    काेच प्रमोद खरेलकाे टिमका गजमेर अमेरिकाबाट भ्वाइसमै भाग लिन भनेर नेपाल आएका थिए ।

    झापाको खुदुनाबारी शिविरबाट उनी भुटानी शरणार्थीका रुपमा अमेरिका गएका थिए।

    किरणका अलावा फाइनलमा टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले पुगेका थिए।

  • टोकियो ओलम्पिकको अन्तिम दिन: चीन र अमेरिकाको पदक तालिकामा पहिलो हुने होडबाजी

    टोकियो ओलम्पिकको अन्तिम दिन: चीन र अमेरिकाको पदक तालिकामा पहिलो हुने होडबाजी

    काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक आज सकिदै छ । जुलाइ २३ मा शुरु भएको खेलहरुको आज अन्तिमदिन हो ।

    अन्तिम दिनसम्ममा पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन ३८ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ।

    चीनले ३८ स्वर्ण, ३१ रजत र १८ काश्य जितेको छ । चीनलाई अमेरिका र जापानले पछ्याइरहेका छन्।

    दोस्रो स्थानको अमेरिकाले ३६ स्वर्ण, ३९ रजत र ३३ काश्यसहित कुल १०८ पदक जितेको छ । तालिकको तेस्रो स्थानमा जापान रहेको छ । जापानले २७ स्वर्ण, १२ रजत र १७ काश्य गरि ५६ पदक जितेको छ ।

    चौथो स्थानमा रहेको आरओसीले २० स्वर्ण, २६ रजत र २३ कांस्य पदक रहेको छ भने पाँचौँ स्थानमा रहेको बेलायतले २० स्वर्ण २२१ रजत र २२ कांस्य रहेको छ। त्यसैगरि अष्ट्रेलियाले १७ स्वर्ण, ७ रजत र २२ कांस्यसहित छैटौँ स्थानमा रहेको छ।

    सातौं स्थानमा नेदरल्याण्ड्स १० स्वर्ण, १२ रजत र १२ कांस्य सहित रहेको छ। जर्मनी र इटली १०(१० स्वर्ण सहित क्रमशः आठौँ र नवौँ स्थानमा रहेका छन्। दशौँ स्थानमा ९ स्वर्णसहित फ्रान्स रहेको छ।

    कुल पदकमा अमेरिका १०८ पदक रहेको छ भने पहिलो स्थानमा रहेको चीनको कुल ८७ पदक रहेको छ। ओलम्पिक पदक तालिकामा स्वर्णका आधारमा स्थान छुट्टयाईन्छ । कुल पदकलाई मान्यता दिइनुपर्ने आवाजहरू पनि बेला(बेलामा उठिइरहेका छन्।

    दुई स्वर्ण पदकले अग्रता लिएको चीनका लागि केहि खेलहरू बाँकी रहेको अवस्थामा पहिलो हुने तनाव रहिरहने छ। अमेरिकाले महिला बास्केटबल र भलिबलको फाइनल खेल्न बाँकी रहेको छ भने दुई अमेरिकी बक्सरको फाइनल खेल बाँकी रहेको छ।

    त्यसैगरि चीनको पनि एक महिला बक्सिङ फाइनल खेल रहेको छ भने रिदमिक जिमन्यास्टिकको फाइनल पनि रहेको छ। म्याराथन र साईक्लिङका खेलहरू पनि बाँकी रहेका छन्।

    यसरी समग्रमा हेर्दा पदक तालिकामा पहिलो स्थानको होडबाजी अन्तिम दिनसम्म रहने छ।