Category: फिचर

  • माधव नेपाल पक्षले निर्णय दिन नसक्दा मन्त्रीपरिषद् बिस्तार अलमल

    माधव नेपाल पक्षले निर्णय दिन नसक्दा मन्त्रीपरिषद् बिस्तार अलमल

    काठमाडौं । सरकार गठन भएको तीन साता बितिसकेको छ । तर, प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीपरिषद् बिस्तार गर्न सकेका छैनन् । यसबाट उनको आलोचना बढेको छ । सत्ता साझेदार दलहरुमध्ये नेकपा एमालेको माधव नेपाल पक्षले ठोस निर्णय दिन सकेको छैन । सोहीकारण देउवाले मन्त्रीपरिषद् बिस्तार गर्न नपाएका हुन् । माधव नेपाल पक्षमा दुई धार छ ।

    एउटा धार सरकारमा जानुपर्ने पक्षमा छ । अर्कोधारका नेताहरु भने एकताको पक्षमा छन् । उता, एमाले अध्यक्ष केपी ओली समेत माधव नेपाल पक्षलाई निरन्तर फकाइरहेका छन् । उनको जोड माधव नेपाल बीनाको पार्टी एकतामा छ । एमालेका दोस्रो नेताका तेताहरुले समेत अब एमालेमा माधव नेपालको स्थान नभएको भन्दै उत्तेजित भाषण दिइरहेका छन् ।

    यता, सरकारलाई पूर्णता दिन नसक्दा भने देउवाको आलोचना शुरु भएको छ । अहिले मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित ६ सदश्यीय रहेको छ । स्वास्थ्य मन्त्रालयमा पूर्ण मन्त्री छैनन् । यहाँ देउवाले राज्य मन्त्रीमा व्यापारी पृष्ठभूमिका सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेपनि यो निर्णय आलोचित बन्न पुग्यो । अन्य दलबाट थप मन्त्रीको नाम आएको छैन ।

    यसमा माधव नेपाल पक्षलाई कति मन्त्री दिने वा सो समूह आउने, नआउने निश्चित नभएका कारण अन्य दलले समेत नाम दिन सकेको छैनन । यसैबीच बुधबार माधव नेपाल पक्षका केन्द्रिय सदस्यहरुको बैठक आज राजधानीमा बोलाइएको छ । यो बैठकले ठोस निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।

  • यूएईले हटायो नेपालमाथिको यात्रा प्रतिवन्ध

    यूएईले हटायो नेपालमाथिको यात्रा प्रतिवन्ध

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालसहित विभिन्न मुलुकमाथि लगाएको यात्रा प्रतिवन्ध हटाएको छ । कोभिड १९ सङ्क्रमणको जोखिम रहेको भन्दै सो मुलुकले नेपाल र भारतलगायत विभिन्न ६ वटा मुलुकका यात्रुमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । कोभिड १९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउने-जाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको हो ।

    नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डाका नागरिकले यूएईको भ्रमण गर्न सक्ने छन् । यसबाट नेपाली कामदार समेत लाभान्वित हुने भएका छन् । यूएईस्थित नेपाली दूतावासका अनुसार अब कोभिड १९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीले सो मुलुक छिर्न सक्ने छन् । उनीहरुले कोभिडविरूद्धको दोस्रो खोप लगाएको १४ दिन भने कटेको हुनुपर्छ । यहाँ कार्यरत चिकित्सक, नर्स, सरकारी कर्मचारीहरु भने खोप नलगाए पनि यो मुलुकमा छिर्न पाउने भएका छन् ।

  • अब भरतपुरबाट भैरहवामा नियमित जहाज चल्ने

    अब भरतपुरबाट भैरहवामा नियमित जहाज चल्ने

    काठमाडौं । अब चितवनको भरतपुरबाट रुपन्देहीको भैरहवासम्म नियमित जहाज चल्ने भएको छ । बुद्ध एयरले क्षेत्रिय विमानस्थललाई जोड्ने गरि रुट तय गरेको छ । भरतपुर–भैरहवा रुटमा हागामी १५ अगष्टबाट उडान गर्ने भएको हो । कम्पनीका अनुसार यो रुटमा सातामा तीन उडान हुने छ । शनिबार, बुधबार र शुक्रबार जहाज चल्ने गरि उडान तालिका तय भएको कम्पनीले जनाएको छ ।

    यसअघि बुद्धले पोखरा–नेपालगन्ज रुटमा उडान गरेको थियो । अहिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डमा सडक बिस्तारको काम जारी छ । त्यसकारण सडकमार्गमा हुने विभिन्न अवरोधका कारण यात्रा अवरुद्ध हुने यात्रुले अब भरतपुर पुगेर त्यहाँबाट जहाज चढी भैरहवा पुग्न सक्ने कम्पनीको भनाई छ ।

  • ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज, रेलका हाकीमलाई स्पष्टीकरण

    ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज, रेलका हाकीमलाई स्पष्टीकरण

    काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । केपी शर्मा ओलीको नेतृत्वको सरकारले एमाले नेता देवीप्रसाद ज्ञवालीलाई संयोजक राखेर आयोग बनाएको थियो । आयोगको देशका ७५ वटै जिल्लामा स्थानीय एमाले नेतालाई संयोजक तोकिएको थियो । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको जानकारी दिएका हुन् ।

    सरकारले अघिल्लो सरकारले एकलौटी गरेका निर्णयहरु धमाधम सच्याइरहेको छ । सरकारले आजै रेल विभागका महानिर्देशक गुरुप्रसाद भट्टराईसँग समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । कानुन मन्त्री कार्कीका अनुसार रेल विभागका महानिर्देशक भट्टराईले आचरण विपरित कार्य गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको हो । रेल विभागमा बसेर उनले सरकारको आलोचना गर्ने गरेका छन् । उनलाई समेत केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति दिएको हो ।

  • नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको तयारी

    नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको तयारी

    काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने तयारी गरेको छ । उनी प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी निर्देशक हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएसँगै उनको नियुक्ति प्रक्रिया अगाडी बढ्ने भएको हो ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सिफारिसमा उनको नियुक्ति हुन लागेको हो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले उनलाई पुननियुक्ति नदिएर प्राधिकरणकै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा नियुक्ति दिएको थियो । उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुषालले मंगलबार नै शाक्यलाई प्रधानमन्त्रीसँगै राखेर राजिनामा दिन आग्रह गरेकी छिन् । उनले मार्गप्रशस्त गर्न भनेकी हुन् ।

    प्रधानमन्त्रीबाट समेत निर्देशन आएका कारण अब मन्त्रालयले नियुक्ति प्रक्रिया थाल्ने छ । चार वर्ष प्राधिकरणको नेतृत्व गरेका कुलमानले नेपालबाट लोडसेडिङ्ग हटाउन महत्वपूर्ण भूमिका खेलेका थिए । आम मानिसले समेत उनको पुननियुक्तिको खबरलाई उत्साहजनक रुपमा लिएका छन् ।

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

    ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

    यसअघि हिजो विपक्षी गठबन्धनमा आवद्ध दलका नेताहरुले नवनियुक्त प्रदेश प्रमुखलाई भेटेर नयाँ सरकार गठनको प्रकृया थाल्न आग्रह गरेका थिए । शंकर पोख्रेलको नेतृत्वको सरकार अल्पमतमा परेको उनीहरुको भनाइ छ ।

  • नेपाली सेयर बजारले बनायो कीर्तिमान, यी ९ कम्पनीका लगानीकर्ता मालामाल

    नेपाली सेयर बजारले बनायो कीर्तिमान, यी ९ कम्पनीका लगानीकर्ता मालामाल

    काठमाडौं । सेयर बजारले ऐतिहासिक कीर्तिमान बनाएको छ । माइक्रोफाइनानस समूहको सेयरमा चमक आउँदा नेप्सले आज सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो ।

    आज नेप्सेले ३१११ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३१०० विन्दु माथि पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि साउन १३ गते नेप्सेले इतिहासकै सर्वाधिक ३०९४ विन्दुको रेकर्ड बनाएको थियो ।

    सूचकले नयाँ रेकर्ड बनाउँदा कारोबार रकम पनि उत्साहजनक नै रहेको छ । आज साढे ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से २६.०२ अंकले बढेर ३१११.०९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७५रुपैयाँ बराबरको २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये विकास बैंक र सामाूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ३.८५ प्रतिशतले बढेको छ । यस्तै, हाइड्रोपावर समूह २.०४ प्रतिशतले बढेको छ ।

    आज कारोबारमा आएका २२३ कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ६९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा ङादी पावर ४३ करोड र फर्स्ट माइक्रोफाइनान्स झन्डै ३४ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा आज ८ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । पाँचथर पावर र रुरु जलविद्युतकोसेयरमूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यसैगरी, जीवन विकास लघुवित्त, युनियन लाइफ, घलेम्दी हाइड्रो, लिबर्टी इनर्जी र स्वाबलम्वन लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । यस्तै, घलेम्दी हाइड्रोपावर र अपी पावरको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

  • एक महिनामा अमेरिकाबाट नेपाल आए ८१९ पर्यटक

    एक महिनामा अमेरिकाबाट नेपाल आए ८१९ पर्यटक

    काठमाडौं । नेपालमा पछिल्लो एक महिनाको अवधिमा अमेरिकाबाट पर्यटक आगमन बढेको छ । जुलाई महिनामा अमेरिकाबाट मात्र ८१९ जना नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । जुलाईमा कुल २९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् । नेपालमा कुटनीतिक नियोगमा काम गर्ने कर्मचारी, विभिन्न परियोजनामा काम गर्ने कर्मचारी र गैरआवासीय नेपालीलाई समेत पर्यटक मानिन्छ । यो महिनामा नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै भने भारतीय छन् ।

    भारतबाट ११४३ जना पर्यटक नेपाल आएका छन् । भारतबाट हवाई मार्गबाट नेपाल भित्रिने भारतीयलाई मात्र पर्यटक मानिन्छ । दक्षिण कोरियाबाट सबैभन्दा धेरै ५८ जना भित्रिएका छन् । चीनबाट ५० जना पर्यटक नेपाल आएका छन् । युरोपको बेलायतबाट १८५ पर्यटक नेपाल आएका छन् । बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, जर्मनबाट ३४ पर्यटक नेपाल आएको तथ्यांक छ । क्यानडाबाट ७८ र अस्ट्रेलियाबाट ५२ जना पर्यटक नेपाल
    आएका छन् ।

  • उपत्यकामा बढ्दो भिडले चिन्ता, अनुगमन गर्न टोली खटिने

    उपत्यकामा बढ्दो भिडले चिन्ता, अनुगमन गर्न टोली खटिने

    काठमाडौं । कोरोना महामारीका बीच काठमाडौं उपत्यकामा बढेको मानिसहरुको अत्यधिक भिडले अधिकारीहरुको चिन्ता बढाएको छ । स्वास्थ्य मन्त्रालयले तेस्रो लहर आउने चेतावनी दिइरहेको समयमा कोरोना सङ्क्रमण समेत बढिरहेको छ । भीडभाड नरोकिएपछि काठमाडौं उपत्यकामा अब अनुगमन टोली नै खटिने भएको छ । अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन गरिएको छ ।

    समितिले आजबाट उपत्यकामा अनुगमन थाल्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बढी भीडभाड हुने क्षेत्र र सार्वजनिक गाडीलाई प्राथमिकतामा राखेर अनुगमन गरिने भएको छ । अनुगमनका क्रममा मास्क नलगाइएको पाइए कारबाही हुनेछ ।

    मास्क नलगाएकाहरुलाई पहिला मास्क लगाउन प्रोत्साहन गर्ने र अटेर गरेमा कारबाही हुने भएको छ । उपत्यकामा अहिलेकै प्रकृतिको निषेधाज्ञा केही समय लम्ब्याउने तयारी छ । त्यसले पनि नियन्त्रण नभए कडाई गर्ने तयारी सरकारको छ । यस विषयमा मंगलबार कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको बैठक बस्दैछ ।

  • अफगानिस्तानमा प्रान्तीय राजधानी कब्जा गर्ने प्रयासमा तालिवान, लडाई जारी

    अफगानिस्तानमा प्रान्तीय राजधानी कब्जा गर्ने प्रयासमा तालिवान, लडाई जारी

    काबुल । अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने प्रयासमा रहेको तालिवान र सरकारी फौजबीच लडाई जारी छ । तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण लडाइँ भइरहेको बीबीसीले लेखेको छ । अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मन्ड प्रान्तको सहर लश्कर गाहमा तालिबानले कडा प्रतिवाद गरिरहेको समाचारमा जनाइएको छ ।

    सो सहरमा तालिबानले एउटा टेलिभिजन स्टेशनलाई कब्जा गरेको छ । ग्रमीण क्षेत्रबाट भागेका कैयौँ मानिसहरूले कतिपय भवनहरूमा शरण लिएको समाचार छ । विद्रोहीहरूसँग लड्न सयौँ थप अफगान सैनिकहरूलाई परिचालन गरिएको समेत जनाइएको छ । बीस वर्षपछि अमेरिकी सैनिकहरू त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानमा तालिबानले तीव्र रूपमा कैयौँ भूभाग कब्जा जमाइरहेको छ ।

    यो प्रान्त अमेरिकी र ब्रिटिश सैन्य अभियानको केन्द्रविन्दु रहेको थियो । उक्त क्षेत्रलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो अफगान सरकारका लागि ठूलो झड्का हुनेछ। यदि लश्कर गाहलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो सन् २०१६ पछि तालिबानले नियन्त्रणमा लिएको पहिलो प्रान्तीय राजधानी हुनेछ। तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारमा पनि कब्जा गर्ने कोसिस गरिरहेको समेत जनाइएको छ ।

  • पारस खड्काले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

    पारस खड्काले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

    काठमाडौं । नेपालका सर्वाधिक सफल कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट राष्ट्रिय टीमबाट सन्यासको घोषणा गरेका छन् । उनले मंगलबार आफ्नो आधिकारिक सामाजिक संजालबाट यस्तो घोषणा गरेका हुन् । पारस १० वर्ष भन्दा बढी समय नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका थिए । उनले २०७६ असोज २८ गते कप्तानबाट राजीनामा गरेका छन् । अकस्मात आएको उनको सन्यासले नेपाली समर्थकलाई भने निरास बनाएको छ । पारसले सन् २००४ मा मलेसियाविरुद्ध राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका थिए ।

    सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हालेका थिए । १० वर्षको बीचमा नेपाली क्रिकेटलाई उनले निकै उचाईमा लगेका थिए । पारस नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान मानिन्छन् । नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि ट्वान्टी–२० विश्वकप र एकदवसीय अन्तार्रष्ट्रिय मान्यता दिलाउन पारसले खेलाडी र कप्तानको रूपमा उनले महत्वपूर्ण भूमिमा निभाएका छन् ।


    यस्तो छ पारसले दिएको सन्देश
    सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।

    २००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरू प्रति म सदैव ऋणी रहनेछु

    क्रिकेटरका रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरें । मेरो जीवनमा मैले देखेको सपना भनेकोनै नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउनेछौं।

    अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन् ।

    मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनेछौं भन्ने विश्वास लिएको छु ।

  • सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किए, दुई जनाको मृत्यु

    सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किए, दुई जनाको मृत्यु

    सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । थप दुई जना घाइते छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा२ख ५६८२ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको स११प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकलको बायाँ साइडको ह्यान्डिल बसको बीच भागमा ठोकिएको थियो ।

    मोटरसाइकल बसमा ठोक्किएर अनियन्त्रित भएकै समयमा विपरीत दिशाबाट आउँदै गरेको प्र.२ ०१, ००१ प ९५५६ नम्बरको अर्को मोटरसाइकल उक्त मोटरसाइकलसँग ठोक्किएर दुर्घटनामा परेको हो ।

    प्रहरीका अनुसार दुर्घटनामा स११प ४०३८ नम्बरको मोटरसाइकलका चालक सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षीय बुद्धसागर चौधरी र प्र.न.२.०१.००१ प ९५५६ नम्बरको मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका १७ बस्ने २८ वर्षीय रामशंकर यादवको मृत्यु भएको छ ।

    चौधरीको घटनास्थलमै र यादवको सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो । सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षीय आन्नद चौधरी र सिरहाको लहान नगरपालिका २० बस्ने २३ वर्षीय सोनम चौधरी घाइते छन् ।

  • आफ्नो अभिव्यक्ति आलोचित बनेपछि फुटबल टीमका कोच अल्मुताइरीले माफी मागे

    आफ्नो अभिव्यक्ति आलोचित बनेपछि फुटबल टीमका कोच अल्मुताइरीले माफी मागे

    काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो भनाई आलोचित बनेपछि माफी मागेका छन् । उनले केही दिन अगाडी राजिनामा घोषणा गरेका थिए । त्यसअगाडी उनले नेपालमा खेलाडी र पदाधिकारीमा राजनीतिक मानसिकता रहेको भन्दै आलोचना गरेका थिए । यो अभिव्यक्तिको आलोचना भएसँगै उनले सार्वजनिक रुपमा माफी मागेका हुन् ।

    मुख्य प्रशिक्षकले आफ्नो जिम्मेवारी भन्दा बाहिर गएर बोल्नु अनुशासन उल्लंघन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङसहितले उनीमाथि कारवाही गर्न माग गरेका थिए । सोहीका कारण कोच अल्मुताइरीले नेम्वाङका कारण राजिनामा दिने भन्दै सामाजिक संजालमा समेत लेखेका थिए ।


    प्रशिक्षक अल्मुताइरीले भने आफूले पछिल्लो तीन दशकमा नेपाल र अरु एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउन चाहेको समेत स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा आफ्नो भनाइको गलत अर्थ लागेको महसुस भएको र त्यसप्रति क्षमा माग्ने बताएका हुन् ।

    आफूले कोही कसैप्रति पनि गलत नियत नराखेको र नेपाली फुटबल टिमसँग जोडिन पाएकोमा खुसी रहेको पनि उल्लेख गरेका छन् । उनको प्रशिक्षणमा नेपालले साफ फुटबलको तयारी गरिरहेको छ ।

  • अगष्टमा अन्तर्राष्ट्रिय उडानको तालीका सार्वजनिक, कुन मुलुकमा कति उडान ?

    अगष्टमा अन्तर्राष्ट्रिय उडानको तालीका सार्वजनिक, कुन मुलुकमा कति उडान ?

    काठमाडौं । नेपाल नागरिक प्राधिकरणले अगष्ट महिनाका लागि उडान सार्वजनिक गरेको छ । अगष्ट २०२१ भर सातामा कुल ६७ उडान गर्ने गरी उडान तालीका तोकेको छ । पछिल्लो तालीका ३१ अगष्ट २०२१ सम्म कायम हुने छ । प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले दोहाको कतारमा दैनिक एक उडान गर्ने गरी अनुमति पाएको छ ।

    दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुई (सोमबार र बुधबार), मलेसियाको क्वालालाम्पुरमा साताको दुई (मंगलबार र शुक्रबार), भारतको नयाँ दिल्लीमा साताको तीन (सोमबार, बुधबार र शनिबार) र जापानको नारितामा हरेक बिहीबार उडान गर्ने गरी अनुमति पाएको प्राधिकरणको तथ्यांक छ ।

    हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा आइतबार, बुधबार, बिहीबार, शुक्रबार र शनिबार गरी पाँच उडान गर्ने छ । दुबईमा हिमालयले साताको तीन (सोमबार, बुधबार र शनिबार) उडाउने गरि अनुमति पाएको छ । हिमालयले कतारको राजधानी दोहामा भने साताको पाँच (सोमबार, शुक्रबारसम्म) उडान गर्न अनुमति पाएको हो ।

    एयर इण्डियाले भारतको राजधानी नयाँ दिल्लीबाट हरेक आइतबार, मंगलबार र शुक्रबार नेपाल उडान गर्नेछ । फ्लाई दुबईले भने दुबईबाट मंगलबार, बुधबार र शुक्रबार गरि सातामा तीन उडान गर्न अनुमति पाएको छ । जजिरा एयरवेजले कुवेतबाट हरेक दिन नेपाल उडान गर्नेछ । कोरियन एयरले हरेक बुधबार काठमाडौं उडान गर्ने भएको छ ।

    मालिन्दो एयरको जहाज क्वालालाम्पुरबाट सोमबार, बुधबार र शनिबार काठमाडौं आउनेछ । मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौंमा उडान गर्ने गरि अनुमति पाएको छ । कतार एयरवेजले कतारको दोहाबाट काठमाडौंमा दैनिक २ उडान गर्ने गरि अनुमति पाएको छ ।

    सलाम एयरले ओमानको मस्कटबाट आइतबार, मंगलबार र बिहीबार नेपालमा जहाज ल्याउने छ । टर्किस एयरलाइन्सले सोमबार, बिहीबार र शनिबार नेपाल उडान गर्ने भएको छ । सिंगापुर एयरलाइन्सले भने हरेक आइतबार नेपाल उडानको अनुमति पाएको छ ।

  • सांसद पद गुमेका पूर्वमाओवादी नेतालाई पुनर्बहाली गर्न सर्वोच्चको अश्वीकार

    सांसद पद गुमेका पूर्वमाओवादी नेतालाई पुनर्बहाली गर्न सर्वोच्चको अश्वीकार

    काठमाडौं । सर्वोच्च अदालतबाट माओवादी केन्द्रले सांसद पदबाट निकालेका चार नेताको सांसद पद अन्ततः फिर्ता नहुने भएको छ । सर्वोच्च अदालतबाट उनीहरुको पद पुनर्बहाली गर्न अस्वीकार गरेको हो । आफूलाई दल त्यागमा पार्टीले गरेको कारबाही खारेज गरी सांसद पदमा पुनर्बहाली माग गर्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी सर्वोच्च पुगेका थिए । उनीहरूको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले उनीहरूले माग गरेअनुसारको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    उनीहरु अध्यक्ष केपी ओलीले प्रमाणित गरेको पार्टीको दस्तावेजमा एमालेका पार्टी सदस्य रहेको खुलेको भन्दै सर्वोच्चले उनीहरुको पद फिर्ता गर्न अश्वीकार गरेको हो । उनीहरूले दल त्याग गरेको जानकारी चैत २६ गते प्रतिनिधिसभा बैठकमा दिइएको देखिएको थियो । आदेशमा भनिएको छ, ‘माओवादीले आफ्नो विवेक वा तजविज प्रयोग गरी दल त्यागमा गरेको निर्णयको औचित्य वा अन्तरवस्तुमा प्रवेश गरी अहिले नै अन्तरिम आदेशकै सन्दर्भमा प्रश्नहरूको निरूपण गर्नु मनासिव देखिँदैन ।’

    फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। त्यसपछि उनीहरुलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका थिए।

  • नेपालमा पछिल्लो २४ घण्टामा ३१२५ जनामा कोरोना पुष्टी, २३ संक्रमितको निधन

    नेपालमा पछिल्लो २४ घण्टामा ३१२५ जनामा कोरोना पुष्टी, २३ संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१२५ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ६१३ पीसीआर परीक्षण गर्दा २२७९ र ३१९८ एन्टिजेन परीक्षणमा ८४६ जना गरी ३१२५ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ६४९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १९२५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ ।

  • युनिफाइड अस्पतालको प्रमुखबाट हटाइए डा. जागेश्वर, थापाथलीको स्त्री रोग अस्पतालमा सरुवा

    युनिफाइड अस्पतालको प्रमुखबाट हटाइए डा. जागेश्वर, थापाथलीको स्त्री रोग अस्पतालमा सरुवा

    काठमाडौं । कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख पदबाट डा. जागेश्वर गौतमलाई हटाइएको छ ।

    स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा. गौतमलाई हटाएको हो । उनको ठाउँमा डा. रुद्र मरासिनीलाई ल्याइएको छ।

    गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । त्यतिबेला स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहेका डा. गौतमलाई गत जेठमा युनिफाइड अस्पतालमा सरुवा गरिएको थियो ।

    डा.गौतमले कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप पनि लगाइएको छ।

  • यस वर्ष मनसुनजन्य विपद्का कारण हालसम्म ६७ जनाको मृत्यु, ४० बेपत्ता

    यस वर्ष मनसुनजन्य विपद्का कारण हालसम्म ६७ जनाको मृत्यु, ४० बेपत्ता

    काठमाडौं । यसवर्षको मनसुन सुरु भएयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।

    विशेषगरी बाढीपहिरोका कारण ५५ जिल्लामा अकल्पनीय क्षति भएको छ। जेठ मसान्तदेखि हालसम्म बाढीपहिरोमा घटनामा परेर ६७ जनाले ज्यान गुमाएको राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले बताए ।

    जसमा ४० जना बेपत्ता भएका छन् भने ८१ जना घाईते भएका छन् । सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको उनले बताए । बढी मात्रामा खसेको पहिरो र सक्रिय मनुसनका कारण दर्जनौं मानिसले ज्यान मात्र गुमाएका छैनन्, भौतिक क्षति पनि उत्तिकै भएको छ।

    विभिन्न ४० जिल्लामा ६१९ निजी घर पूर्ण क्षति, १६२ वटा घरमा आंशिक क्षति भएको पनि उनले उल्लेख गरे । उनले असार १ गते मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्केमा आएको बाढीमा परी ५ जनाको मृत्यु, २० बेपत्ता र ६ जना घाइते भएको बताए । ३३८ घर पूर्ण रुपमा क्षति भएको, ७ वटा पुल, १४ वाट झोलुंगे पुल, १ वटा माछा फार्म र ३२ वटा सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको समेत क्षति उनले जानकारी दिए ।

    यसपालि अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै रहेको विज्ञले बताउँदै आएका छन् । नेपालमा जेठमा मनसुन भित्रिएको थियो । मनसुन भित्रिएकै भोलिपल्ट सिन्धुपाल्चोकका बाढीले अकल्पनीय क्षति गरेको थियो ।

  • स्वास्थ्य राज्यमन्त्रीको २३ बुँदे कार्ययोजना सार्वजनिक, माघसम्म ५ करोड २२ लाख खोप सुनिश्चित

    स्वास्थ्य राज्यमन्त्रीको २३ बुँदे कार्ययोजना सार्वजनिक, माघसम्म ५ करोड २२ लाख खोप सुनिश्चित

    काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा श्रेष्ठले २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्।

    सार्वजनिक कार्यक्रममा उनले असोज महिनाको अन्त्यसम्म २ करोड ४३ लाख डोज खोप आपूर्ति हुने सुनिश्चित भएको जनाकारी दिए ।

    कोभ्याक्स सुविधा अन्तर्गत १ करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा १ करोड १० लाख खोप गरी २ करोड २३ लाखको खोप खरिद प्रक्रियामा रहेको बताए ।

    कुल जम्मा ४ करोड ६६ लाख खोप प्राप्त हुने अवस्था छ । खोप आपूर्ति र प्रभावकारी वितरण गरी निकट भविष्यमा महामारी नियन्त्रण गरी जनजीवनलाई सहजता र सामान्यीकरणको दिशातर्फ फर्काउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण प्रयास केन्द्रित भएको जानाकारी दिए ।

    चीनले अनुदान स्वरुप दिएको १६ लाख डोज खोप र जापानले दिएको १६ लाख डोज खोप दुई साताभित्र आउने बताए ।

    भुटानले स्वतस्फुर्त रुपमा दिएको ३ लाख डोज खोप केही समयमा नै आउने उनको भनाई छ । खोपको प्रयोग अवधि थोरै समयको लागि मात्रै भएका कारण खेर नजाओस भनेर भुटानले नेपाललाई दिन लागेको बताए ।

    आइतबारसम्म ६२ लाख १७ हजार ९ सय ९२ मात्रा खोप लगाइसकिएको र असोज महिनाको अन्त्यसम्म २ करोड डोज खोप आपूर्ति हुने सुनिश्चित भइसकेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

    कोभ्याक्स सुविधाअन्तर्गत १ करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा १ करोड ५० लाख (जसमध्ये ४० लाखको भुक्तानी भैसकेको र १ करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको) र बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको राज्यमन्त्री श्रेष्ठले बताए ।

    हालसम्म ९७ लाख ८२ हजार डोज खोप नेपाल आइसकेको मन्त्रालयको भनाइ छ।

    सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना

    मुलुक अहिले विश्वव्यापी कोभिड-१९ महामारीबाट सिर्जित जनस्वास्थ्य सङ्कटको कठिन परिस्थितिबाट गुज्रिरहेको छ । ‘महामारीबाट बाँचौ र बचाऔं’ हामी सम्पूर्ण नेपालीको मूलमन्त्र भएको छ । सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा गठित पाँच दलीय गठबन्धन सरकारले आम नागरिकको जीवन रक्षा, महामारी नियन्त्रण, रोकथाम तथा उपचार, खोप व्यवस्थापन र कोभिड-१९ सङ्क्रमितको निशुल्क तथा सर्वसुलभ उपचारलाई सर्वोच्च प्राथमिकता निर्धारण गरेको छ ।

    त्यसैले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले प्रतिबद्धता व्यक्त गरेअनुसार मैले खोप आयात, भण्डारण र सहज ढङ्गले वितरण गरी नेपाली नागरिकको जीवन रक्षा गर्ने गहन जिम्मेवारीलाई राष्ट्रिय अभियानको रूपमा अगाडि बढाईरहेको जानकारी सम्पूर्ण नेपाली नागरिकलाई गराउन चाहान्छु । शनिबारसम्म ५६ लाख ८२ हजार ६ सय २७ मात्रा खोप लगाइसकिएको छ भने असोज महिनाको अन्त्यसम्म २ करोड ४३ लाख डोज खोप आपूर्ति हुने सुनिश्चित भइसकेको छ । कोभ्याक्स सुविधाअन्तर्गत १ करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा १ करोड १० लाख खोप गरी २ करोड २३ लाखको खोप खरिद प्रक्रियामा रहेको छ । कुल जम्मा ४ करोड ६६ लाख खोप प्राप्त हुने अवस्था छ । खोप आपूर्ति र प्रभावकारी वितरण गरी निकट भविष्यमा महामारी नियन्त्रण गरी जनजीवनलाई सहजता र सामान्यीकरणको दिशातर्फ फर्काउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण प्रयास केन्द्रित भएको छ ।

    यद्यपि, पछिल्लो समय बढ्दो सङ्क्रमण र संभावित तेस्रो लहर हाम्रा अगाडि चुनौतीको रूपमा देखा परेको छ । उक्त चुनौतीसँग सामना गर्न हामीले जनस्वास्थ्य मापदण्डको प्रभावकारी पालना गरी आफू, परिवार र समुदायलाई जोगाउन हरेक नागरिकले निष्ठापूर्वक योगदान गर्न सम्पूर्ण नेपाली नागरिकलाई हार्दिक अपिल गर्दछु । तपाईं-हाम्रो सचेत व्यवहार र जनस्वास्थ्य मापदण्डको प्रभावकारी पालनाले महामारी फैलनबाट रोक्न सकिन्छ । महामारी नियन्त्रणका लागि सम्बन्धित निकायहरूबीच प्रभावकारी संयोजन र समन्वय स्थापित गर्दै लगेका छौं ।

    जनस्वास्थ्य सङ्कटको यस विषम परिस्थितिमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा मैले केही नीतिगत प्रतिबद्धताका साथै योजना र कार्ययोजना तय गरेको छु । त्यसैले मैले आज तपाईँहरू समक्ष ती प्रतिबद्धता, योजना र कार्ययोजनाहरू प्रस्तुत गर्न गइरहेको छु ।

    १) एक तिहाई नागरिकलाई असोज मसान्त र सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने सम्माननीय प्रधानमन्त्रीज्यूको प्रतिबद्धतालाई साकार बनाई नेपाली जनताको जीवन रक्षा गर्नु मेरो सर्वोच्च प्राथमिकता हुनेछ । त्यसैले खोप खरिद र उचित व्यवस्थापन गरी तथा वितरण प्रणालीमा अविलम्व आवश्यक सुधार गरी निर्धारित समय भित्रै सम्पूर्ण नेपाली नागरिकलाई खोप लगाइने प्रतिबद्धता व्यक्त गर्दछु । सरकारले पहिलो चरणमा कोभिशील्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको अष्ट्राजेनेका खोप प्राप्त हुनासाथ ३ दिनभित्र वितरण गरिनेछ । दोस्रो मात्रा खोपको प्रतिक्षामा रहनु भएका जेष्ठ नागरिकहरूलाई अविलम्व खोपको व्यवस्थापन गर्नेछु ।

    २) खोपको प्रभावकारी रूपमा समन्यायिक वितरण गरिनेछ । आर्थिक गतिविधिका दृष्टिले महत्वपूर्ण र बढी आवागमन हुने र जनसांख्यिक चाप रहेका प्रमुख शहरी केन्द्रहरू काठमाडौँ उपत्यका, बुटवल-भैरहवा, पोखरा, वीरगञ्ज, विराटनगर, धनगढी, नेपालगञ्ज, सुर्खेत, जनकपुर, दमक लगायतका सहरमा प्रदेश तथा स्थानीय सरकारसंग समेत परामर्श र समन्वय गरी खोप केन्द्र थप गरी अझै सुलभ, व्यवस्थित र सरल ढंगले खोप वितरण गरिनेछ ।

    मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोर-किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद सम्झौता भइसकेको जानकारी गराउन चाहन्छु । कोभिड-१९ विरुद्धको खोप नेपालमै व्यावसायिक उत्पादनका सम्भावनामाथि पनि हामीले अध्ययन अघि बढाएका छौं । खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलरको ऋण सहायताको स्वीकृतिको चरणमा छ । यसैगरी फाइजरको ६० लाख खोप खरिदका प्रारम्भिक काम सम्पन्न भर्इ उत्पादक कम्पनीसँग खरिद प्रक्रियाको थालनी भएको छ ।

    ३) विदेश जाने प्रयोजनका लागि खोप लगाएको प्रमाणपत्र सरकारी सम्पूर्ण अस्पतालबाट सहज तरिकाले वितरण गर्ने प्रबन्ध मिलाइएको छ । आवश्यकताअनुसार उक्त वितरण केन्द्र थप गरिने छ |

    ४) कोभिड-१९ को उपचारका लागि पूर्वाधारको विस्तार, जनशक्ति व्यवस्थापन, पीपीई लगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गरिएको छ । अतिरिक्त जनस्वास्थ्यकर्मीहरू परिचालन गरी कोभिड-१९ को एन्टीजेन र पीसीआर परीक्षणको दायरा व्यापक विस्तार गरिने छ । कोभिड-१९ को उपचारका लागि अस्पतालहरूमा रिक्त शैयाको विवरण तत्काल अद्यावधिक गरी बिरामी भर्ना प्रक्रिया सहजीकरण गरिनेछ ।

    ५) निकट भविष्यमा आउन सक्ने कोभिड-१९ को तेस्रो लहरको सामना गर्नका लागि समयतालिका सहितको विशेष रणनीति र कार्ययोजना अविलम्व सार्वजनिक गरिने छ | कोभिड-१९ को तेस्रो लहर फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्ड राम्रोसँग पालना गर्न सम्पूर्ण नेपालीहरूसँग हार्दिक अपिल गर्दछु । मित्र राष्ट्र, दातृ निकाय र गैरसरकारी संस्थाहरूबाट प्राप्त स्वास्थ्य सामग्रीको विवरण सार्वजनिक गरी मन्त्रालयमा मौज्दात रहेका मास्क स्थानीय सरकार तथा जनस्वास्थ्य सम्बन्धी संस्थाहरूसंग समेत समन्वय गरी नेपाल मास्क सप्ताह (श्रावण २३ देखि २९) मार्फत नागरिकहरू वितरण गरिनेछ ।

    ६) आइसीयू, एचडीयू, भेन्टिलेटरको उचित प्रबन्ध गरिनेछ । कोभिड-१९ बिरामीका लागि प्राणवायु अक्सिजनमा शून्य नाफा (जीरो मार्जिन) कायम गरी अविलम्व कार्यान्वयनमा ल्याइनेछ ।

    ७) सबै अस्पतालबाट कोभिड-१९ तथा गैर-कोभिड विरामीको उपचार सेवा सुचारु गर्ने कार्यका लागि यथोचित व्यवस्था गरिनेछ ।

    ८) प्रत्येक प्रदेशमा कोभिड-१९ कमाण्ड अस्पतालको अनुगमन र सुपरिवेक्षणका लागि मन्त्रालयबाट ११औं तहको कर्मचारी खटाइनेछ ।

    ९)स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रलाई छरितो बनाई जनस्वास्थ्यका सूचना, जानकारी जनसमक्ष सम्प्रेषण गरिनेछ । यसका अतिरिक्त सूचना तथा सञ्चार मन्त्रालयसँग समन्वय गरी जनस्वास्थ्य सम्बन्धी जागरण र सचेतना विस्तार गरिनेछ ।

    १०) कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचार सेवाको प्रभावकारिता वृद्धि, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता र स्वास्थ्य पूर्वाधार विस्तार मन्त्रालयमा संक्रामक रोग विज्ञ, जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य क्षेत्रको व्यवस्थापन विज्ञहरूको विशेषज्ञ समूह गठन गरी कार्यसम्पादन चुस्त र प्रभावकारी बनाइनेछ ।

    ११) कोभिड-१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ ।

    १२) सार्वजनिक स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा सम्पूर्ण नेपाली जनतामा सहज पहुँच, पूर्वाधार विस्तार र आवश्यक जनशक्तिको प्रबन्ध मेरो मूलमन्त्र हुनेछ ।

    १३) नेपाली काँग्रेसको घोषणापत्रमा प्रस्ताव गरिएअनुसार प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्ने महान अभियानलाई प्रभावकारी र व्यवस्थित रूपमा लागू गरिनेछ । स्वास्थ्य बीमा दुरुपयोग गर्ने कार्यलाई कडाइँका साथ अनुगमन गरी निरुत्साहित गरिनेछ । गैरसरकारी क्षेत्रलाई सेवा प्रदायककारूपमा परिचालन गरिने छ | सर्वव्यापी स्वास्थ्य कभरेजको लक्ष्य हासिल् गर्न out off pocket expenditure लार्इ कम गर्दै बीमा मार्फत आम नागरिकको चिकित्सकीय स्वास्थ्य सेवाको आवश्कतालार्इ परिपूर्ति गर्न विशेष पहल गरिनेछ ।

    १४) स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दिगो विकास लक्ष्य हासिल गर्ने गरी रोग नियन्त्रण केन्द्र (CDC), प्रजनन स्वास्थ्य सेवा, खाद्य तथा औषधि प्राधिकरण (FDA) मा प्राथमिकता दिँदै तेस्रो पुस्ता स्वास्थ्य क्षेत्र सुधार गरिनेछ ।

    १५) नेपालको संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवा प्रवाह र कोभिड महामारीको कारणबाट अन्य स्वास्थ्य सेवामा परेको असरप्रति गम्भिरतापूर्वक सुधार गर्न उन्मुख हुनेछौं । स्वास्थ्य सेवाको आवश्यकता, संरचना, कार्यरत जनशक्तिबीच सामाजस्यता कायम गर्नु पर्ने भएकाले न्यायोचितरूपमा सम्‍बोधन गरिनेछ ।

    १६) सम्‍भावित कोभिड-१९ को तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै दक्षिणी छिमेकी भारतसँगको सीमामा होल्डिङ सेन्टर स्थापना गरी कोभिड-१९ को परीक्षणपछि संक्रमितलाई आइशोलेसन र उपचारका लागि पठाइने छ भने संक्रमित नभएकालाई सुरक्षित साथ गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाइने छ ।

    १७) गैर-नाफामूलक स्वास्थ्य संस्था, निजी अस्पताल, निजी मेडिकल कलेज र सरकारी अस्पतालसँगको समन्वयमा कोभिड-१९ को उपचार प्रभावकारी बनाइनेछ । यसैगरी अस्पतालहरूको ग्रेडीङ गरी शुल्क पारदर्शी बनाउने व्यवस्था लागू गरिने छ ।

    १८) एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गरी सहज रूपमा एम्बुलेन्स उपलब्ध हुने व्यवस्था मिलाइनेछ ।

    १९) Electronic Health Recording System को विकास गरी प्राथमिक अस्पताल, जनरल अस्पताल, विशिष्टिकृत र अति विशिष्टिकृत अस्पतालमा लागु गरिनेछ ।

    २०) जनशक्तिको आवश्यकता परिपूर्ति गर्न संघ (केन्द्र) मा पुल दरबन्दी सिर्जना गर्नका लागि लोकसेवा आयोगमार्फत प्रक्रिया अघि बढाउन आवश्यक समन्वय गरिनेछ । देशभरका अस्पताल, स्वास्थ्य संस्था, स्वास्थ्यचौकीमा आवश्यक जनशक्ति व्यवस्थापन कार्यलाई मैले उच्च प्राथमिकतामा राखेको छु ।

    २१) अस्पतालहरूको सेवा प्रवाह सुधार तथा सेवा विस्तारका लागि नियमित अनुगमन, सुपरिवेक्षणको प्रबन्ध मिलाइनेछ । स्वास्थ्यकर्मीहरूको सेवा, सुविधा र सुरक्षाका सम्बन्धमा उचित प्रबन्ध गर्नुका साथै भौतिक पूर्वाधार र मानव संशोधन विकास तथा व्यवस्थापनका लागि आवश्यक नीतिगत प्रबन्ध गरिनेछ ।

    २२) सरकारी स्वास्थ्य संस्थाहरूको सशक्तीकरण तथा निजी स्वास्थ्य संस्थालाई नियमन गरी उत्तरदायी स्वास्थ्य सेवा प्रणाली विकास गरिनेछ ।

    २३) स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैंले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार-व्यवसायमा म संलग्न नहुने यसै प्रतिबद्धतापत्रमार्फत सार्वजनिक गर्न चाहान्छु । हालसम्म म संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानुनी रूपमा नै त्याग गरिसकेको छु । सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मीबाहेक सवारीसाधन, आवास र तलबभत्ता लगायत कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु ।

    महामारीको कारणले सिर्जना भएको अत्यन्त प्रतिकूल अवस्थाका बाबजूद अग्रपंक्तिमा रहेर विशिष्ट काम गर्नु हुने चिकित्सक, नर्सलगायत सम्पूर्ण स्वास्थ्यकर्मी, सफाइकर्मी, स्वयंसेवक-स्वयंसेविकाका अतिरिक्त स्वास्थ्य क्षेत्र बाहिर पनि अग्रभागमा रहेर हरेक प्रकारका सेवा, शान्ति सुरक्षा, शव व्यवस्थापनमा खटिनुभएका सम्पूर्णमा हार्दिक आभार तथा नमन गर्दछु । यहाँहरूको अथक प्रयास र लगनशिलता तथा यहाँहरूले वहन गर्नुभएको जिम्मेवारीको मुक्तकण्ठले प्रशंशा गर्दछु । महामारी नियन्त्रण हामी सबैको साझा जिम्मेवारी भएकोले सबै सरोकारवाला निकायहरू तथा आम नेपाली जनसमुदायबाट सहयोगको अपेक्षा गरेको छु ।
    धन्यवाद !

    उमेश श्रेष्ठ
    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
    २०७८।०४। १८ सोमबार

  • अब नेपालमा पनि ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने, के हो अवधारणा?

    अब नेपालमा पनि ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने, के हो अवधारणा?

    काठमाडौं । अब नेपालमा समेत ‘ह्युमन मिल्क बैंक’ स्थापना हुने भएको छ । कसैका शिशुले आमाको दूध नखाने, कसैको दूध नआउने र कतिपय आमाले खुवाउनै नसक्ने समस्या भएको अवस्थामा सबै बालबालिकालाई आमाको पोशिलो दुध खुवाउन सक्ने अवधारणासहित नेपालमा ‘मिल्क बैंक’ स्थापना हुने भएको छ । आमाहरूले दान गर्ने दूध सुरक्षित रूपमा राखेर शिशुलाई खुवाउन मिल्ने गरी थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्न लागिएको छ ।

    अस्पतालकी निर्देशक डा. संगीता मिश्रलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार तीन महिनाभित्र मल्कि बैंक सञ्चालनमा ल्याइसक्ने योजना छ । उनका अनुसार मिल्क बैंकले आकस्मिक स्थितिमा शिशुहरूलाई आमाको दूध सुनिश्चित गर्नेछ । विभिन्न मुलुकमा यस्ता बैंक नवजात शिशुलाई पोषण पुर्‍याउन र रोक्न सकिने खालको मृत्युलाई कम गर्न प्रभावकारी भएको छ । जन्मेदेखि ६ महिनाको हुन्जेलसम्म स्तनपान गराउँदा शिशु मृत्युदर घटाउन सकिने अनुसन्धानहरुको निष्कर्ष रहेको छ । बिरामी शिशुलाई समयमै आमाको दूध दिँदा ज्यान जोगिने सम्भावना ६ गुणाले बढ्ने बताइन्छ ।

    मिल्क बैंक संचालन गर्न स्थान छनोट समेत भइसकेको छ । आगामी ६ महिना भित्र सातै प्रदेशमा मिल्क बैंक स्थापनाका लागि पहल गर्ने तयारी अस्पतालको छ । प्रसूति गृहमा स्थापना हुने मिल्क बैंकमा दूध दान गर्ने आमाहरूको एचआईभी, एचबीएसजी, डब्लूबीआरएल लगायत परीक्षण हुनेछन् । परीक्षणबाट कुनै समस्या नदेखिए ब्रेस्ट मिल्क पम्पको माध्यमले आमाको दूध संकलन गरिने भएको छ । दूधको गुणस्तर ‘मिल्क एनलाइजर’ को माध्यमले सुनिश्चित गर्ने तयारी छ । संकलित दूधमा कुनै रोगव्याधि नरहेको परीक्षणबाट सुनिश्चिततापछि पास्चराइजेसन गरेर एक सय मिलिलिटरको बोतलमा राखिने भएको छ । माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजरमा राखिने बोतलमा रहेको आमाको दूध नपाएका शिशुलाई उपलब्ध गराइने भएको हो ।

  • विदेश जाँदा कन्सुलर विभागबाट खोप लगाएको प्रमाणिकरण लिनु नपर्ने

    विदेश जाँदा कन्सुलर विभागबाट खोप लगाएको प्रमाणिकरण लिनु नपर्ने

    काठमाडौं । नेपालबाट विदेश जाँदा कन्सुलर सेवा विभागमा खोप लगाएको प्रमाणिकरण अब लिनु नपर्ने भएको छ । विभागले विदेशस्थित सम्पूर्ण नेपाली नियोगलाई समेत यसबारे जानकारी गराइएको बताएको छ । कन्सुलरमा गएर थप प्रमाणिकरण गर्नु पर्ने झन्झटबाट भने मुक्ति मिलेको छ । आइतबार सिसिएमसीले पत्रमार्फत स्वास्थ्य मन्त्रालयले तोकेका ४ अस्पतालबाट जारी भएका खोप प्रमाणपत्र कन्सुलर विभागमा थप प्रमाणीकरण गर्नु नपर्ने बनाउन निर्देशन दिएको थियो ।

    यसअघि विदेश जाने कामदार र विद्यार्थीहरूले खोप लगाएको प्रमाणपत्र अस्पतालबाट लिएपनि त्यसलाई पुनः कन्सुलर विभागबाट प्रमाणीकरण गराउनु पर्ने नियम थियो । पछिल्लो समय विभिन्न देशहरूले बाहिरबाट आउने कामदार र नागरिकलाई खोप अनिवार्य गरेपछि अहिले खोप लगाएको प्रमाण पत्र लिनेको संख्या बढेको छ। खोप लगाएपछि विदेशमा जाँदा क्वारेन्टिन बस्नुनपर्ने नियम अधिकांश मुलुकमा छ । सबै कामदारहरूले खोप लगाएको प्रमाण पत्र लिने गरेका छन् । यसले विदेश यात्रामा झन्झट कम हुन्छ ।

  • भिषण बाढीका कारण काठमाडौंको तिर्खा मेटाउने मेलम्चीको भविश्य अन्यौलमा

    भिषण बाढीका कारण काठमाडौंको तिर्खा मेटाउने मेलम्चीको भविश्य अन्यौलमा

    काठमाडौं । १ असारको प्रलयकारी बाढी र त्यसमा शनिबार राती थपिएको पहिराले काठमाडौं उपत्यकामा पानी ल्याउन ३० वर्ष अगाडी शुरु भएको मेलम्ची खानेपानी आयोजनाको भविष्य अन्यौलमा परेको छ । सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रमा आइतबार हेलिकोप्टरबाट दृष्य हेरिएको छ । जहाँ मेलम्चि खोलाको अधिकांश स्थानमा पहिरो झरेको छ । यो पहिरोले ल्याएको माटो खोलाले तत्काल बगाउन सक्ने अवस्था छैन ।

    तर, जुन दिन बगाउँछन्, त्यसले पुनः तटीय क्षेत्रमा ठूलो क्षति निम्त्याउन सक्छ । सोहीकारण विज्ञहरुले मेलम्चीको तटीय क्षेत्रमा तत्काल बस्ती नराख्न र बस्ती स्थानान्तरणको सुझाव दिएका छन् । साथै, यसले बहुप्रतिक्षित आयोजना मेलम्चीको भविश्व समेत अन्यौलमा पारेको छ । किनकी मेलम्ची खानेपानी आयोजनाको मुहान मानिने क्षेत्रलाई माथिबाट बगेर आएको माटो र ढुंगाले पुरेको छ । यसको मात्र ज्यादै धेरै छ । सोहीकारण तत्काल नदीबाट यो हटाएर आयोजना सूचारु गर्न सम्भव देखिएको छैन ।

    मेलम्ची क्षेत्रको हेलिकप्टरबाट रेकी गरिएको छ । त्यसपछि विज्ञहरुले आयोजनाबाट तत्काल पानी आउने सम्भावना नरहेको निष्कर्ष निकालेका छन् । मेलम्ची आयोजनाको माथि रहेको भ्रेमाथाङ चौर वर्षौंअघि हिमनदीले बगाएर ल्याएको थेग्रिनीबाट बनेको विज्ञहरुले बताएका छन् । २०७२ सालको भूकम्पपछि उक्त चौर कमजोर बनेको थियो । भ्रेमाथाङमा रहेको ठूलो चौर मेलम्चीमा आएको भेलबाढीले कटान थालेको हो । विज्ञहरुले आयोजना निर्माण शुरु गर्दा जोखिम आंकलन नभएका कारण आयोजनाको भविश्य नै संकटमा परेको हो की भन्ने आंशका समेत गरेका छन् ।

  • ओमानी तटमा रहेको इजरायली तेल ट्यांकरमा इरानले आक्रमण गरेको अमेरिका र बेलायतको दावि

    ओमानी तटमा रहेको इजरायली तेल ट्यांकरमा इरानले आक्रमण गरेको अमेरिका र बेलायतको दावि

    लण्डन । इजरेलको स्वामित्त्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक एक ट्याङ्करमा बिहीवार ओमानी तटमा आक्रमण भयो । यो आक्रमणमा दुई जना मारिएका छन् । घटनामा इरानको हात रहेको अमेरिका र बेलायतले दावि गरेका छन् । बीबीसीका अनुसार उनीहरूले घटना अन्तर्राष्ट्रिय कानुन विपरीत भएको भन्दै त्यसको जवाफ दिइने समेत चेतावनी दिएका छन् । इरानले घटनामा आफ्नो संलग्नता भने अस्वीकार गरेको छ। यो घटनामा एक जना बेलायती र एक जना रुमेनियाली नागरिकको ज्यान गएको थियो ।

    इजरेली प्रधानमन्त्री नाफ्ताली बेनेटले उक्त घटनामा आफ्नो चिरकालीन शत्रु इरानको हात रहेको प्रमाण रहेको बताएका थिए । त्यसपछि अमेरिका र यूकेको प्रतिक्रिया सार्वजनिक भएको हो । उता, इरानले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । उक्त ट्याङ्करमा भएको हमला इजरेल र इरान बीचको अघोषित छद्म युद्धमा तनाव बढाउने पछिल्लो घटनाका रूपमा देखापरेको समेत संचारमाध्यमले लेखेका छन् । गत मार्चदेखि इजरेल र इरानद्वारा सञ्चालित कैयौँ पानी जहाजहरूमा आक्रमण भइरहेका छन् ।

  • गत सिजन ३२ अमेरिकी नागरिकले चढे सगरमाथा, अन्य कुन देशका कतिले गरे आरोहण ?

    गत सिजन ३२ अमेरिकी नागरिकले चढे सगरमाथा, अन्य कुन देशका कतिले गरे आरोहण ?

    काठमाडौं । गत सिजनको बसन्तु ऋतु (चैत जेठ)मा ४४ देशका चार सय ५९ जनाले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ । यसमा सबैभन्दा धेरै नेपाली आरोही छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ । तथ्यांक अनुसार शिखरमा चुम्न सफल आरोहीमध्ये सबैभन्दा धेरै नेपालका २ सय ८३ जना छन् । अमेरिकाका ३२ जना आरोहीले सफल आरोहण गर्न सफल भएको तथ्यांक छ । यसबाहेक चीनका २४ जना, भारतका २० जना, बेलायतका १३ जना र बहराइनका १० जना शिखरमा पुगेको विभागले जनाएको छ ।

    यो वर्ष बहराइनबाट भने त्यहाँका राजकुमार सहितको टोलीले सगरमाथा चढेको हो । बसन्तु ऋतु नेपालमा हिमाल आरोहणको मुख्य सिजन मानिन्छ । यो वर्ष सगरमाथामा अनुमति लिएका मध्ये आधा भन्दा धेरैले भने सगरमाथा चढ्न सकेनन् । यसरी असफल हुनुमा प्रतिकुल मौसम प्रमुख कारण थियो । कोरोना महामारी हुँदाहुँदै पनि उल्लेख्य संख्यामा आरोही आएका कारण यसले व्यवसायीमा भने उत्साह थपेको छ ।

  • इपीएस पास गरेकालाई कोरिया पठाउन संसदीय समितिको निर्देशन

    इपीएस पास गरेकालाई कोरिया पठाउन संसदीय समितिको निर्देशन

    काठमाडौं । संसदीय समितिले ईपीएस परीक्षा पास गरेर पनि कोरिया जान नपाएका नेपाली कामदारलाई कोरिया पठाउने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले ईपीएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा निर्देशन दिएको हो ।

    ईपीएस परीक्षा पास गरेर बसेका करिब १० हजार श्रमिक कोरिया जान पाएका छैनन् । श्रमिकले दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी दिएपछि समितिले सुनुवाई गर्दै सम्बन्धित मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिएको हो ।

    बैठकमा ईपीएस परीक्षा पास गरेका श्रमिकहरुलाई समेत दक्षिण कोरिया पठाउने काममा आलटाल गरेको भन्दै समितिका सदस्यले सरकारको आलोचना गरे । मुख्य सचिव शंकरदास बैरागीले आवश्यक प्रक्रिया पूरा गरी ईपीएस परीक्षा पास गरेकाहरुलाई छिटो दक्षिण कोरिया पठाउन आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • शहीद स्मारक ए डिभिजन लीगको पुरस्कार राशी बढ्यो

    शहीद स्मारक ए डिभिजन लीगको पुरस्कार राशी बढ्यो

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको पुरस्कार राशी बढेको छ । अब विजेताले ७५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यसअघि ए डिभिजन लिग विजेता क्लवको पुरस्कार राशी ५० लाख थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज आइतवार डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने निर्णय गरेको हो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउने एन्फाको भनाई छ ।

    एन्फाले क्लबलाई तयारी खर्चका लागि २०, २० लाख रुपैयाँसमेत उपलब्ध गराउने छ । एन्फाले लिग सुरु हुने मिति भने सारेको छ । परिवर्तन गरिएको तालिकाअनुसार लिग आउँदो कात्तिक २९ गतेदेखि हुनेछ । ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरिएको हो । यही छलफलबाट सहभागी क्लब लिग खेल्न सहमत भएको एन्फाको भनाई छ ।

    यसअघि ललितपुरका चार क्लबले कोरोना महामारीलाई कारण दिएर असोज ३ गतेदेखि लिग खेल्न नसक्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए । साथै, अक्टोबर पहिलो साता साफ च्याम्पियनशिपको आयोजनाको सम्भावना समेत रहेको छ ।

  • पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना पुष्टी, २०२० जना संक्रमण मुक्त

    पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना पुष्टी, २०२० जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५६८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २०२० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३१ हजार २९८ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।

  • कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन निर्देशन

    कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न निर्देशन दिएको छ ।

    वैदेशिक रोजगारी तथा अन्य कामको शिलशिलामा विदेश यात्रा गर्नुपर्ने नागरिकहरुलाई खोप लगाएको प्रमाणपत्र नि:शुल्क दिन मन्त्रालयले आइतबार परिपत्र जारी गरेको हो ।

    केही अस्पतालहरूले प्रमाणीकरण गरेबापत् शुल्क लिएको गुनासो आएकाले मन्त्रालयले उक्त निर्देशन दिएको हो । वैदेशिक रोजगारी तथा अन्य कामको सिलसिलामा विदेश जानुपर्दा खोप लगाएको प्रमाणीकरण गराउनुपर्ने हुन्छ ।

    साउन ७ गतेको मन्त्रालयको सचिवस्तरीय निर्णयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने भनिएपनि केही अस्पतालहरुले शुल्क लिइरहेको सूचनामा उल्लेख छ।

    खोप लगाएको प्रमाणीकरणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मीनभवन, पाटन अस्पताल लगनखेल र सशस्त्र प्रहरी अस्पताल बलम्बुले अनुमति पाएका छन् ।

    पहिले शुक्रराज अस्पताल टेकुबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो । प्रमाणीकरणका लागि भीड बढेपछि थप तीन अस्पतालहरूलाई पनि प्रमाणीकरण गर्नका लागि अनुमति दिइएको थियो ।

  • कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता

    कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता

    काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका–३, रागाँमलेखास्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा रागाँमलेखाकी २० वर्षीया उर्मिला सलामी मगर, १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा बेपत्ता भएका छन् ।

    डुंगामा १० जना सवार थिए । पाँच जना पौडी खेलेर बाहिर निस्किएका छन् भने दुई जना घाइते भएको कैलाली प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगर, एक महिने छोरा कर्ण सलामी रहेका छन् ।

    प्रहरीका अनुसार उनीहरू रागाँ मलेखाबाट बच्चालाई खोप लगाउन काठको डुंगामा सुर्खेतको चौकुने गाउँपालिका–४ मा रहेको स्वास्थ्यचौकी जाँदै थिए ।

    घटनास्थलमा प्रहरी टोली पुगेको र बेपत्ताको खोजी भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

  • भुटानबाट आउने भयो ३ लाख डोज खोप

    भुटानबाट आउने भयो ३ लाख डोज खोप

    काठमाडौं । भुटानले नेपाललाई कोरोना भाइरस विरुद्धको ३ लाख डोज खोप दिने भएको छ । नेपाली संचारमाध्यमले स्वास्थ्य मन्त्रालयका अधिकारीहरु उदृत गर्दै यसको पुष्टी गरेका छन् । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप दिने भएको छ । यो खोप नेपालले जेष्ठ नागरिकलाई एक डोज दिए पनि दोस्रो डोज दिन पाएको छैन ।

    यो प्रयोजनका लागि सहयोगी सावित हुने छ । भारतले खोप रोकेसँगै नेपालमा वृद्धवृद्धाले गत फागुनयता नै दोस्रो डोज पाएका छैनन् । भुटानबाट खोप छिट्टै ल्याउने तयारी भइरहेको र यसमा परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक माध्यममार्फत सरकारीस्तरमा पहल भइरहेको बताइएको छ । भुटानले वयष्क नागरिकमा ९० प्रतिशतभन्दा बढीलाई कोरोनाको दोस्रो डोज लगाइसकेको छ ।

    आफ्ना मुलुकका नागरिकलाई खोप लगाइसकेपछि बाँकि रहने खोप करिब ३ लाख नेपालले पाउने भएको हो । भुटानबाट खोप ल्याउने सम्बन्धमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा समेत छलफल भएको समाचारमा उल्लेख छ । यो बैठकको अध्यक्षता प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए ।