Category: फिचर

  • सहमतिका लागि भन्दै शनिबार रोकिएको एमाले स्थायी कमिटी बैठक आज

    सहमतिका लागि भन्दै शनिबार रोकिएको एमाले स्थायी कमिटी बैठक आज

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको निर्णायक भनिएको शनिबारको बैठक सहमतिको प्रयासका लागि भन्दै स्थगित भएको थियो । सो बैठक पुनः आज ३ बजे बस्ने गरि बोलाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको टकरावले पछिल्लो एक वर्षयता पार्टीमा आन्तरिक विवाद चुलिएको छ । एमाले ओली पक्षका केही नेता माधव नेपाल बीना नै पार्टीलाई अगाडी बढाउने जोडबलमा छ् ।

    तर, वार्ता कार्यदलमा रहेका नेताहरु भने अझै पनि सहमतिको प्रयासमा छन् । माधव नेपाल पक्षले भने अब केपी शर्मा ओलीको राजिनामापछि मात्र सहमती हुने अडानमा पुगेको छ । आजको बैठकमा समेत पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।

    पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम बैठकमा विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे समेत आज छलफल हुँछ । तुलुसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने बैठकअघि नेपाल पक्षलाई पनि सहमतिमा ल्याउन दोस्रो तहका नेता सक्रिय हुनेछन् ।

    शनिबार पार्टीको काठमाडौं जिल्ला कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा ठाउँ नरहेको दोहोर्‍याएका कारण नेता नेपाल आइहाल्ने सम्भावना भने छैन ।

  • मेलम्चीमा पुनः भिषण बाढी, थप घरमा क्षति

    मेलम्चीमा पुनः भिषण बाढी, थप घरमा क्षति

    मेलम्ची । बाढीले क्षतविक्षत पारेको सिन्धुपाल्चोकको मेलम्चीलाई पुनः बाढीले सताएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको मेलम्चीमा गतरातीदेखि बाढी आउन थालेको हो । बाढीका कारण केही घर पुरिएका छन् । मानिसहरु भने सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति हुन पाएन । तालामाराङस्थित प्रहरी चौकी समेत विस्थापित भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार १ असारमा जस्तै लेदो माटोसहितको बाढी आएको छ । यसले थप घरहरुमा क्षति पुगेको छ । गत राति नै रेडियो मेलम्चीको भवन बगाएको छ ।
    हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर नदी थुनिएको थियो । त्यसपछि फुटेको पानीले थप क्षति गरेको हो । चनौटे बजारमा समेत पानीले थप क्षति गरेको छ । १ असारमा आएको बाढीले ५ जनाको मृत्यु भएको थियो । १५ जना अझै बेपत्ता रहेको छन् ।

  • कोरोनाबाट थप २३ को मृत्यु, ३१०६ संक्रमित पुष्टी

    कोरोनाबाट थप २३ को मृत्यु, ३१०६ संक्रमित पुष्टी

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । कोरोना महामारीको दोस्रो लहरपछि नेपालमा औसतः मृत्युदरमा कमी आएको छैन । देशभर उक्त संख्यामा मानिसहरुको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा १९१६ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

  • नेपाललाई सम्बोधन गरि अकस्मात किन आयो मोदीको ट्वीट ?

    नेपाललाई सम्बोधन गरि अकस्मात किन आयो मोदीको ट्वीट ?

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अकस्मात एक ट्वीट गरे । जसमा नेपाल समेत सम्बोधन भएको छ । उनले हिन्दी भाषामा भनेका छन्, ‘भूटान हो, नेपाल हो, मालदीव हो, मॉरीशस हो, हम सभी सिर्फ पड़ोसी ही नहीं हैं, बल्कि हमारी सोच और सामाजिक तानेबाने में भी बहुत समानता है। हम सभी सुख दुख के साथी हैं। जब भी कोई आपदा आती है, विपत्ति आती है, तो सबसे पहले हम ही एक दूसरे की मदद करते हैं ।’

    बीना कुनै प्रसंग नेपालसहित छिमेकी मुलुकको नाम लिएर उनले गरेको यो ट्वीट दार्चुला घटनासँग जोडेर सामाजिक संजालमा चर्चा शुरु भएको छ । दार्चुलामा भारतीय सीमा सुरक्षा फौजले तुइन चढ्दै गरेका नेपाली युवा नदी पार नहुँदै तुइन निकालेपछि उनी अहिले वेपत्ता छन् । यो घटनाको नेपालमा व्यापक आलोचना भइरहेको छ । भारतको रवैयाविरुद्ध तिब्र विरोध भइरहेको समयमा मोदीले गरेको ट्वीटलाई घटना मत्थर पार्न गरिएको प्रयासका रुपमा अनुमान गरिएको छ । यो घटनाको छानविन गर्न गृहमन्त्री बालकृष्ण खाँडले सुरक्षा निकायलाई निकायलाई निर्देशन दिएका छन् ।

  • माधव नेपालविरुद्ध केपी ओलीको आक्रोस, लगाए ‘देशद्रोही’को गम्भीर आरोप

    माधव नेपालविरुद्ध केपी ओलीको आक्रोस, लगाए ‘देशद्रोही’को गम्भीर आरोप

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई देशद्रोहीको गम्भीर आरोप लगाएका छन् । ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल आन्दोलन विरोधी र देशद्रोही भएको भन्दै उनको एमालेमा अब कुनै ठाउँ नरहेको समेत बताए । वरिष्ठ नेता नेपाल पक्षले एमालेका अध्यक्ष ओलीको राजिनामा मागिरहेको समयमा उनको यस्तो उद्घोष आएको हो ।

    एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले भने ‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन, ‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने ।’

    ओलीले जनताको सरकार ढलेर दक्षिणपन्थीको पार्टी बनेको समेत आरोप लगाए । माधव नेपालले प्रतिक्रियावादीहरुसँग मिलेर एमालेको सरकार ढालेको उनको आरोप छ । पार्टीको सरकार ढल्दा अग्रगमनको आफ्नो सपनामै ढक्का लागेको उनको भनाई छ । पार्टीको सरकार ढल्दा जनताको सरकार ढलेको भन्दै अहिले दक्षिणपन्थीको सरकार बनेको ओलीको आरोप छ ।

    उनको यो उत्ताउलो भाषणले एमालेमा तत्काल एकताको सम्भावना क्षीण भएको देखिएको छ । किनकी आजै राजधानीमा आयोजना भएको अर्को एक कार्यक्रममा माधव नेपाल पक्षका नेताहरुले एकता चाहने भने हो भने ओलीले अध्यक्ष पदबाट राजिनामा दिनुपर्ने बताएका छन् ।

  • जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

    जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा संसदीय दलको नेता उपेन्द्र यादव चयन भएका छन्। शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो। बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा यादव दलको नेतामा चयन भएका हुन् । संसदीय दलको बैठकमा २२ जना सांसद उपस्थित थिए । २० जना प्रतिनिधिसभाका र २ जना राष्ट्रिय सभाका सांसदले यादवलाई नेता चयन गरेको हो । भट्टराई र यादव पक्षले आधिकारिकता पाएसँगै जसपाले संसदीय दलको नेता चयन गरेको हो ।

  • दार्चुला घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन

    दार्चुला घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएका छन् । उनले प्रहरी र स्थानीय प्रशासनलाई यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानबिन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिनु भएको उनको निजी सचिवालयले जानकारी गराएको छ ।

    तुइनबाट महाकाली पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी तान्दा स्थानीय ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको स्थानीयबासिन्दाले दावि गरेका छन् । स्थानीय प्रशासनबाट भने व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँडिएर महाकाली नदीमा बेपत्ता भएको जानकारी पाएको बताएको छ । भारतीय एसएसबीले डोरी चुँडालेको भन्ने कुराको आधिकारिक पुष्टी हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ । वेपत्ता युवाको खोजी भने आज पनि जारी रहने छ ।

  • निर्णायक भनिएको एमालेको स्थायी कमिटी बैठक बस्दै

    निर्णायक भनिएको एमालेको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा विवाद टुंग्याउने प्रयोजनका लागि निर्णायक भनिएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । अपरान्ह ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने छ । बैठकमा केन्द्रीय विभागलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण मुख्य एजेण्डा रहेको एमालेले जनाएको छ । एमालेले साउन २५ मा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

    एमाले अध्यक्ष ओलीले आजको बैठक निर्णायक हुने यसअघि नै बताएका थिए । बैठकमा विघटित कार्यदलका सदस्यहरुले पार्टी एकतामा गरिएको प्रगतिबारे बैठकमा व्रिफिङ गर्ने छन् । अध्यक्ष केपी शर्मा ओलीले एकताको प्रयासका लागि दिएको सहमतिको समयसीमा सकिएको छ ।

    बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बैठकलाई प्रगतिबारे जानकारी गराउने छन् । साथै बैठकले अब के गर्ने भन्ने तय गर्ने बताइएको छ । वरिष्ठ नेता माधव कुमार नेपाल १० बुँदे सहमतिमा असन्तुष्ट छन् । तर, ओली पक्ष भने यसमा लचिलो हुने संकेत गरेका छैन ।

  • चीनमा वुहानपछिकै खतरनाक तरिकाले कोरोना संक्रमण बढ्यो, नान्जिङ सहर बढी प्रभावित

    चीनमा वुहानपछिकै खतरनाक तरिकाले कोरोना संक्रमण बढ्यो, नान्जिङ सहर बढी प्रभावित

    बेइजिङ । विश्वकै सर्वाधिक धेरै जनसंख्या भएको मुलुक कोरोनाको उत्पत्ति भएको देश हो । तर, उसले निकै सावधानीका साथ महामारी नियन्त्रणमा राखेको थियो । कम क्षति र पर्याप्त सचेतनाका कारण विश्वका अन्य भेगको तुलनामा चीनको अर्थतन्त्र समेत कम प्रभावित बन्यो । तर, पछिल्लो दिनमा भाइरसको वितरण तिव्र हुँदा समेत चीनमा बढेको कोरोना संक्रमणले भने यहाँ चिन्ता बढाएको छ । चीनको नान्जिङ सहर अहिले सबैभन्दा बढी प्रभावित बनेको छ ।

    कोरोनाभाइरस प्रकोपका रूपमा अन्य पाँच प्रान्त र राजधानी बेइजिङसम्म विस्तार भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। बीबीसीका अनुसार उनीहरूले अहिलेको अवस्थालाई वुहानपछिको सबैभन्दा व्यापक महामारी भनेका छन् । जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोनाभाइरस फेला परेपछि झन्डै २०० जना सङ्क्रमित भइसकेका छन्। एउटा स्रोतलाई उद्धृत गर्दै चीनको ग्लोबल टाइम्सले आगामी अगस्ट ११ सम्म नान्जिङबाट हुने सबै उडान स्थगित गरिएको छ । अब सहरका ९३ लाख बासिन्दा र आगन्तुकहरूको परीक्षण गरिने भएको छ ।


    अधिकारीहरूका अनुसार कोरोनाभाइरसको अतिसङ्क्रामक डेल्टा भेरिअन्टका कारण सङ्क्रमण तिव्र रुपमा फैलिएको छ । नान्जिङका एक स्वास्थ्य अधिकारीका अनुसार त्यहाँ फेला परेका सङ्क्रमितहरूको सम्बन्ध रुसबाट आएको एउटा विमान सफा गर्न गएका कर्मचारीसँग भएको बताएका छन्। उक्त विमान जुलाई १० मा रुसबाट आएको थियो। परीक्षणबाट भाइरस चङ्दू र बेइजिङसहित १३ वटा सहरमा फैलिसकेको पुष्टि भएको छ।

  • मापसे गरि हेलमेट नलगाई बाइक कुदाई रहेका पारस शाहले प्रहरीलाई गरे दुर्व्यवहार

    मापसे गरि हेलमेट नलगाई बाइक कुदाई रहेका पारस शाहले प्रहरीलाई गरे दुर्व्यवहार

    काठमाडौं । हेलमेट नलाई बाइक चलाइरहेका पूर्वयुवराज पारस शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेपछि उनको व्यापक आलोचना शुरु भएको छ । शुक्रबार राती महाराजगञ्जस्थित नारायणगोपाल चोकमा उनी चेकजाँचमा परेका थिए । ट्राफिक प्रहरीले रोकेपछि आक्रोसिनत बनेका उनले दुर्व्यवहार गरेका थिए । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनले हेलमेट समेत नलगाएका कारण प्रहरीले समातेको थियो । प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा उनी भिडिरहेको भिडियोमा देखिन्छ ।

    घम्साघम्सी र वादविवादमै उत्रिएर उनले प्रहरीको हुर्मत लिन खोजेका छन् । प्रहरीले उनलाई गाडीमा राखेर चौकीमा लैजान खोजेको थियो । उनले भने ‘जान्न, यहीं बस्छु’ भनिरहेका थिए । पारसको समर्थनमा केही युवाले नारा समेत लगाएका थिए । प्रहरीले सम्झाएर पठाएको भनेपनि उनलाई पक्राउ भने गरेन । पोखरामा हेलमेट नलगाई निस्फिक्रि डुल्ने गरेका उनलाई काठमाडौंमा भने प्रहरीले समातेको हो ।

  • जीपसहित कर्णालीमा हराइरहेका दम्पत्ति अझै वेपत्ता

    जीपसहित कर्णालीमा हराइरहेका दम्पत्ति अझै वेपत्ता

    कैलाली । शुक्रबार एकै परिवारका पाँच जना सवार रहेको जीप कैलालीको भजनी नगरपालिका–७ को चिसापानी–सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको थियो । सो क्रममा तीन जना छोराछोरी घाइते अवस्थामा उद्धार गरिएको छ भने दम्पत्ति नदीमा वेपत्ता भएका छन् । उनीहरुको खोजि कार्य जारी रहेपनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । उनीहरु सवार जीप भने भेटिएको छ । शुक्रबार दिउँसो ‘ब्याक’ गर्ने क्रममा खसेको बा ११ च ९३८ नम्बरको जीप कर्णाली नदीमै फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जीप ‘टुुक्रा–टुुक्रा भएको अवस्थामा फेला परेको छ । जीप नदीमा खसेर बेपत्ता भएका चालक समेत रहेका डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुवी जोशीको खोजि जारी छ । दुर्घटना जोशी दम्पतीका तीन छोरा–छोरी वर्ष १३ की लक्ष्मी, वर्ष ४ की सावित्री र वर्ष ३ को भुुवन घाइते भएक हुन् । उनीहरुको नेपालगञ्जमा उपचार जारी छ । भुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जानकाी गराएको छ ।

  • मदन पुरस्कारका लागि ९ पुस्तक प्रारम्भिक सूचिमा छनोट

    मदन पुरस्कारका लागि ९ पुस्तक प्रारम्भिक सूचिमा छनोट

    काठमाडौं । मदन पुरस्कारका लागि यो वर्ष ९ पुस्तक प्रारम्भिक सूचिमा छानिएका छन् । मदन पुरस्कार गुठीले हरेक वर्ष यो पुरस्कार प्रदान गर्छ । मदन पुरस्कार २०७७ का लागि संकलित दुई सय २२ पुस्तकमध्ये नौ पुस्तक प्रारम्भिक सूचीमा सूचीकृत भएका हुन् । सूचीमा परेका नौ पुस्तकमध्ये एकलव्यको देब्रे हात, करिया, कल्प–ग्रन्थ, नित्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् ।

    गुठीका अध्यक्ष कुन्दमणि दीक्षितकाअनुसार वर्षभरि प्रकाशित दुई सय बाइस पुस्तकमध्ये नौ पुस्तक प्रारम्भिक छनौटमा परेका हुन् । यी नौ मध्ये सर्वोकृष्ट एउटा पुस्तकले २०७७ सालको मदन पुरस्कार प्राप्त गर्नेछ । मदन शमशेर राणाको स्मृतिमा रानी जगदम्बाद्वारा २०१२ सालमा स्थापित मदन पुरस्कारबाट हालसम्म संयौं पुस्तक पुरस्कृत भइसकेका छन् । सो पुरस्कारको पहिलो घोषणा २०१३ साल र सम्मान कार्यक्रम २०१४ मा भएको थियो ।

    प्रारम्भमा सम्मान पुरस्कारको राशी चार हजार रुपियाँबाट शुरु भएको थियो । २०७५ सालदेखि अहिले पुरस्कारको राशी चार लाख रुपियाँ पुगेको छ । पहिलो पटक मदन पुरस्कार सत्यमोहन जोशीद्वारा लिखित ‘हाम्रो लोकसंस्कृति’, चित्तरन्जन नेपालीद्वारा लिखित ‘जनरल भीमसेन थापा’ र बलराम जोशीद्वारा लिखित ‘अधिकविभव स्थिरविद्युत्’ ले प्राप्त गरेको थियो ।

  • चीनबाट थप ६० लाख डोज खोप खरीद गर्दै सरकार

    चीनबाट थप ६० लाख डोज खोप खरीद गर्दै सरकार

    काठमाडौं । सरकारले चीनबाट थप ६० लाख डोज खोप खरीद गर्ने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिद गर्न सम्झौता अगाडि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढेको हो । कोभ्याक्स सुविधामार्फत चीनले अनुदालनमा उपलब्ध गराउने १६ लाख डोज खोप असोज मसान्त भित्र उपलब्ध हुने भएको छ ।

    भारतसँग खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप समेत असोज मसान्तभित्र प्राप्त भइसक्ने मन्त्रालयले जनाएको छ । असोज मसान्तभित्रमा कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने मन्त्रालयको भनाई छ । प्रवक्ता डा. पौडेलका अनुसार कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख र १२ वर्षमाथिका बालबालिकालाई फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया अगाडि बढेको छ ।

    १२ वर्षमाथिका बालबालिकाका लागि ६० लाख डोज फाइजर खोप ल्याउने प्रक्रिया समेत अगाडि बढाइएको छ । कोभ्याक्सबाट निशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने १ करोड १३ लाख डोज खोप पनि क्रमशः प्राप्त हुँदै जाँदा आगामी चैत मसान्तसम्म सबै नेपाली नागरिक पूर्ण खोपको पहुँचमा पुग्ने मन्त्रालयले जनाएको छ ।


    खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपहरु उत्पादन मूल्य र आयात खर्चमा अधिक्त्तम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति प्रदान गरिसकेको समेत मन्त्रालयले उल्लेख गरेको छ । नेपालमा अहिलेसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप आइसकेको तथ्यांक छ ।

    चीनबाट अनुदानमा १८ लाख र खरिद सम्झौता भएका ४० लाख डोजसहित कुल ५८ लाख डोज भेरोसेल खोप आएको हो । भारतबाट खरिद सम्झौता भएका १० लाख, अनुदानबाट ११ लाख, कोभ्याक्ससुविधानमार्फत ३ लाख ४८ हजार गरी कुल २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप आएको छ । अमेरिकाबाट अनुदानमा जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार ८५० डोज खोप आएको छ ।

  • विदेश जान भिसा लागेपछि काठमाडौं आउन लागेका युवा तुइनबाट झरेर वेपत्ता, भारतीय फौजले काटेको हो तुइन

    विदेश जान भिसा लागेपछि काठमाडौं आउन लागेका युवा तुइनबाट झरेर वेपत्ता, भारतीय फौजले काटेको हो तुइन

    दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को लापरवाहीका कारण दार्चुलामा एक नेपाली युवाको ज्यान गएको छ । तुइनबाट महाकाली नदी तरिरहेका ३० वर्षिय युजा जयसिंह धामी नदी पार नहुँदै तुइनको फलामे डोरी भारतीय सीमा सुरक्षा बलले निकालिदिंएपछि उनी नदीमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । महाकालीमा खसेर उनी पौडिन नसकेपछि खोलाले बगाएको छ । घटना शुक्रबार बिहान भएको हो ।

    दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा उनीमाथि सुरक्षाबलले जानाजान लापरवाही गरेको छ । धामीसँगै गएका तीन जना तुइन तरेर पार भएका थिए । ब्यास गाउँपालिका–२ का वडाध्यक्ष वीरेन्द्रसिंह बुर्‍ढाथोकीले नेपाली संचारमाध्यमलाई जनाए अनुसार धामी नदी छेउमा नपुर्‍ग्दै एसएसबीले फलामे डोरी निकालेको हो ।

    घटनाबारे जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको छ । पिथौरागढ डीएम कार्यालयलाई पत्रचार गर्दै यस्तो आग्रह गरिएको हो । धामी नेपाली सेनाको जागिर छाडेर विदेश जाने योजनामा थिए । सोही अनुसार भिसा आएपछि उनी काठमाडौं जान दार्चुलाको सदरमुकाम जान नदी पार गर्दैथिए ।

  • नेपालमा ३६११ जनामा कोरोना पुष्टी, २७ जना संक्रमितको मृत्यु

    नेपालमा ३६११ जनामा कोरोना पुष्टी, २७ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३६११ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २४६७ र ४८७८ एन्टिजेन परीक्षणमा ११४४ जना गरी ३६११ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १८१६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ ।

  • एमसीसी राष्ट्रका हितमा छैन्,सम्झौता नभई नुवाकोटमा जग्गा अधिग्रहण कसरी हुन्छ ?

    एमसीसी राष्ट्रका हितमा छैन्,सम्झौता नभई नुवाकोटमा जग्गा अधिग्रहण कसरी हुन्छ ?

    काठमाडौं। नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले अमेरिकी एमसीसीसँग सम्बन्धित सबै सम्झौता संसद्मा पेश गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद रावलले एमसीसीसँग सम्बन्धित सबै सम्झौताका विषयमा संसदले बुझ्न पाउनुपर्ने माग गरेका हुन्।

    एससीसीबारे सबैले थाहा पाउनु पर्ने उनको भनाइ थियो। यो राष्ट्रका हितमा नभएको उनको जिकिर थियो।

    रावलले भने, ‘एमसीसीका विषयमा जनप्रतिनिधिले गम्भीर भएर सोच्नुपर्छ। अनुदान हो भने निस्वार्थ अनुदान हुनुपर्छ। सामरिक विषयसँग साटिनु हुँदैन।’ राष्ट्रहित र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनले बताए।

  • चार पूर्वमाओवादी नेताको मुद्दाको सुनुवाइ स्थगित

    चार पूर्वमाओवादी नेताको मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं । चार पूर्वमाओवादी सांसदहरूले पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ। शुक्रबारका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको पेसी रिट निवेदकको निवेदनबमोजिम स्थगित गरिएको हो।

    शुक्रबार रिट निवेदक प्रभु साहका वारेश वीरेन्द्रप्रताप साह अदालत पुगेर सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए।सर्वोच्च अदालत नियमावली-२०७४ मा मुद्दाको पक्ष वा कानुन व्यवसायीले आफ्नो काबुभन्दा बाहिरको परिस्थितिले गर्दा अदालतमा उपस्थित हुन नसक्ने कुराको अदालतलाई विश्वास हुने कारण देखाई मुद्दा पेसीको दिनभन्दा अघिल्लो दिन निवेदन दिएमा प्रधान न्यायाधीशले त्यस्तो मुद्दा दैनिक पेसी सूची प्रकाशन गर्दा नै स्थगित गर्न सक्नेछ। भनी उल्लेख छ।

    उक्त रिट निवेदनको अर्को पेसी आइतबार तोकिनेछ। यसअघि उक्त रिट निवेदन न्यायाधीश दीपककुमार कार्कीको इजलासमा बिहीबारका लागि पेसी तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको थियो।

    एमाले स्थायी कमिटीमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरीले माओवादी दलमा रहँदा निर्वाचित भएको सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्च बुधबार रिट दायर गरेका थिए।

    उनीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय संसद् सचिवालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए। सांसद पदबाट मुक्त गराउने विपक्षीका निर्णय बदरको माग गर्दै उनीहरूले रिट दायर गरेका थिए।

    माओवादी संसदीय दलका नेता दाहालले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए। त्यसको दुई दिनपछि सभामुखले उनीहरूको पद रिक्त भएको जानकारी सार्वजनिक गरेका थिए।

  • फास्ट ट्रयाकमा काम गर्न चिनियाँ प्राविधिक टोली नेपाल आयो

    फास्ट ट्रयाकमा काम गर्न चिनियाँ प्राविधिक टोली नेपाल आयो

    काठमाडौं । निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुतमार्गको पहिलो प्याकेज अन्तर्गत पर्ने सुरुङमार्ग र पक्की पुलको डिजाइन बनाउन चिनियाँ निर्माण कम्पनीका विशेषज्ञ प्राविधिक टोली नेपाल आएको छ । द्रुतमार्ग अन्तर्गत महादेवडाँडामा तीन किलोमिटरभन्दा लामो सुरुङमार्ग बन्ने छ । साथै पक्की पुल निर्माणको ठेक्का पाएको चीनको एमएस चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका २३ जना प्राविधिक नेपाल आइपुगेका हुन् । उनीहरु नेपाली सेनाको समन्वयमा नेपाल आएका हुन् ।

    सरकारले द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको छ । प्राविधिक टोलीको मुख्य काम सुरुङमार्ग र पुलको डिजाइन तयार गर्नु रहने छ । टोलीमा हाइवे इन्जिनियर, टनेल इन्जिनियर, जियोलोजिस्टसहितका प्राविधिकहरू रहेका छन् । निर्माण सम्झौता भएको छ महिनाभित्र प्राविधिकले डिजाइन तयार गर्ने छन् । त्यसपछि उनीहरु चीन फर्कने छन् । निर्माणका लागि भने अर्को प्राविधिक टोली नेपाल आउने छ ।

    द्रुतमार्गको दुइटै प्याकेजअन्तर्गतको सुरुङमार्ग र पुल (हाइब्रिज) निर्माण गर्न नेपाली सेना र चिनियाँ कम्पनीसँग वैशाख २९ गते सम्झौतामा हस्ताक्षर भएको हो । एक महिनाअघि द्रुतमार्गको दोस्रो प्याकेजअन्तर्गतको मकवानपुरको धेद्रे–लेनडाँडा खण्डमा सुरुङमार्ग र पुल (हाइब्रिज) डिजाइन गर्न सो खण्डको निर्माण ठेक्का पाएको चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनीका परियोजना प्रबन्धकसहितको १४ जनाको प्राविधिक टोलीले कार्यस्थलमा पुगी काम सुरु गरिसकेका छन् । पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपैयाँ हो ।

  • ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन सहभागितामै सिमित

    ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन सहभागितामै सिमित

    काठमाडौं । जापानमा राजधानी टोकियोमा जारी ३२ औं गृष्मकालिन ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन औसतः मात्र रह्यो । शुक्रबार बिहान नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी मैदानमा उत्रिइन् । तर, उनी समेत प्रारम्भिक चरणबाटै बाहिरिएकी छन् । शुक्रबार बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठौं स्थानमा रहेर दौड पुरा गरिन् । उनले व्यक्तिगत समयमा समेत सुधार ल्याउन सकिनन् ।

    साथै राष्ट्र्रिय कीर्तिमानबाट समेत टाढा रहिन् । उनले १२.९१ सेकेण्डमा १ सय मिटरको दूरी पार गरिन् । उनीको व्यक्तिगत सबैभन्दा बेस्ट समेत भने १२.५५ सेकेन्ड हो । प्रारम्भिक चरणमा कूल २७ खेलाडीले भाग लिए । जसबाट हरेक हिटको शीर्ष तीन र अर्को एक उत्कृष्ट समय हुने खेलाडी गरी १० जना महिला १०० मिटरको राउण्ड १ मा प्रवेश गरे ।

    यससँगै ओलम्पिकमा सबै नेपाली खेलाडीको प्रदर्शन सकिएको छ । यो पटक ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएका थिए । सुटिङकी कल्पना परियार र पौडी खेलाडीद्वय एलेक्स शाह र गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाए । जुडो खेलाडी सोनिया भट्ट र चौधरीको सहभागिता भने उल्लेखनीय रहन सकेन । ओलम्पिकको इतिहासमा नेपालले पदक जित्न सकेको छैन ।

  • जनताले खोप लगाउन उत्साह नदेखाएपछि अमेरिकी राष्ट्रपतिले गरे एक सय डलर दिने घोषणा

    जनताले खोप लगाउन उत्साह नदेखाएपछि अमेरिकी राष्ट्रपतिले गरे एक सय डलर दिने घोषणा

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले खोप लगाउने व्यक्तिलाई १ सय अमेरिकी डलर दिने घोषणा गरेका छन् । अमेरिकामा पछिल्लो दिनमो कोरोनाको सङ्क्रमण बढिरहेको छ । तर, जनताले खोप लगाउन मानेका छैनन् । संक्रमण खोप नलगाएका मानिसमा तिब्र रुपमा बढेको छ । खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेको बीबीसीले जनाएको छ ।

    उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन्। अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो। सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन्। बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ। आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका छन्।

    बिहीवार ह्वाइट हाउसमा बोल्दै बाइडनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताएका छन् । उक्त भेरिअन्टले खोप नलगाएकाहरूमा महामारी निम्त्याएको छ। खोप नलगाउँदा हुनसक्ने जोखिमबारे उनले मानिसहरूको मृत्यु भइरहेको र जसको निधन नहुनु पर्ने हो उनीहरूको पनि हुनसक्ने भन्दै चेतावनी ुसमेत दिएका छन् । बाइडनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरूका लागि न्यायसङ्गत जस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताएका छन् ।

  • अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको शक्तिशाली भुकम्प

    अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको शक्तिशाली भुकम्प

    अलास्का । अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प गएको छ । ८.२ रेक्टर स्केलको यो भूकम्प पछिल्लो ५० वर्षयताकै शक्तिशाली मानिएको छ । अलास्काको समुद्री क्षेत्रमा गएको भूकम्पको क्षतिको विवरण भने संकलनको क्रममा रहेको बताइएको छ । सीएनएनका अनुसार अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण–पूर्वको समुद्री क्षेत्रमा ४६ किलोमिटर गहिराइमा भूकम्प गएको छ ।

    यसअघि यहाँ सन् १९६४ मा ८.७ रेक्टर स्केलको भूकम्प गएको रेकर्ड छ । भूकम्पपछि दुई वटा ठूला परकम्प समेत गएको छ । भूकम्पको केही समयपछि समुद्रमा ठूला छाल आउन थालेको छ । स्थानीय प्रशासनले सुनामीको चेतावनी समेत जारी गरेको थियो । तर, अहिले भने जोखिम नभएको भन्दै सुनामीको चेतावनी हटाइएको छ ।

  • कांग्रेसको क्रियासिल सदस्यता विवाद पाँच दिन भित्र मिलाउन शीर्ष नेतालाई जिम्मेवारी

    कांग्रेसको क्रियासिल सदस्यता विवाद पाँच दिन भित्र मिलाउन शीर्ष नेतालाई जिम्मेवारी

    काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद पाँच दिनभित्र टुङ्ग्याउन शीर्ष नेतालाई जिम्मेवारी तोकेको छ । बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै यस्तो निर्णय लिएको हो । क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुङ्ग्याउन नसकेको विषयलाई अब पार्टीका शीर्ष नेताले टुंगो लगाउने छन् । यस्तो काम पाँच दिनभित्र गरिसक्ने गरि मिति समेत तोकिएको छ ।


    विवादित विषयलाई पाँच दिनभित्र शीर्ष नेताले टुङ्ग्याएपछि महाधिवेशनका बाँकी प्रक्रिया प्रारम्भ हुने बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी गराए । क्रियासिल सदस्यताको विषय सकिएपछि भने निर्वाचन समितिका काम अघि बढ्ने भएका छन् । कांग्रेसमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएका, धनुषा क्षेत्र नं. ४, सर्लाही क्षेत्र नं. २, बारा र सप्तरीमा नयाँ क्रियाशील सदस्य बारे विवाद छ ।

  • चीनले परमाणु क्षमता बढाइरहेको अमेरिकाको दावि

    चीनले परमाणु क्षमता बढाइरहेको अमेरिकाको दावि

    काठमाडौं । चीनले परमाणु क्षेप्यास्त्र भण्डारण र प्रक्षेपणमा आफ्नो क्षमता बढाइरहेको अमेरिकाले दावि गरेको छ । अमेरिकी वैज्ञानिकलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले यस्तो जनाएका छन् । भूउपग्रहबाट खिचिएको चीनको पश्चिमी भूभागको तस्बिरले त्यहाँ परमाणु क्षेप्यास्त्रका लागि आवश्यक संरचना बन्दै गरेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट एफएएसको एउटा प्रतिवेदनमा जनाइएको बीबीसीले लेखेको छ ।

    अमेरिकी रक्षा अधिकारीले चीनको परमाणु क्षमता अभिवृद्धिप्रति चिन्ता व्यक्त गरेका छन्। यो चीनको पश्चिममा गत दुई महिनामा निर्माणाधीन देखिएको दोस्रो परमाणु क्षेप्यास्त्र क्षेत्र भएको बताइएको छ। निर्माणाधीन क्षेत्रमा ११० भूमिगत क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण स्थल रहेको बताइएको छ। गत महिना वाशिङ्टन पोस्ट समाचारपत्रले गान्सु प्रान्तको युमेनको मरुभूमिको एउटा क्षेत्रमा त्यस्तो १२० क्षेप्यास्त्र भण्डारण स्थल देखिएको विवरण प्रकाशित गरेको थियो।

    एफएएसले सोमवारको प्रतिवेदनमा नयाँ क्षेत्र युमेनभन्दा ३८० किलोमिटर उत्तर(पश्चिमको हामिमा रहेको र त्यहाँ भर्खरै निर्माण सुरु गरिएको बताएको छ। सन् २०२० मा अमेरिकी रक्षा मन्त्रालयले चीनले आफ्नो परमाणु क्षेप्यास्त्र दोबर बनाउन लागेको बताएको थियो। यो विवरण अमेरिका र रुसबीच हतियार नियन्त्रणबारे छलफल सुरु हुने तयारी भइरहँदा आएको समेत बीबीसीले लेखेको छ ।

    अमेरिकी र रुसी विदेश उपमन्त्रीहरूको छलफल रोकिएको परमाणु हतियार नियन्त्रण वार्ता सुरु गर्ने पहिलो चरणको रूपमा हेरिएको छ। चीनले भने अहिलेसम्म हतियार नियन्त्रण वार्तामा भाग लिएको छैन। अमेरिकी रक्षा मन्त्रालयको एउटा विभागले एफएएसको प्रतिवेदनबारे ट्वीट गर्दै चिन्ता व्यक्त गरेको छ। सन् २०२० मा चीनमा २०० भन्दा बढी परमाणु क्षेप्यास्त्रहरू थिए। चीनले त्यसलाई दोबर बनाउन खोजेको अमेरिकाको दावि छ । अमेरिकामा भने त्यस्ता ३,८०० क्षेप्यास्त्र छन ।

  • पछिल्लो २४ घण्टामा ३३६५ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको मृत्यु

    पछिल्लो २४ घण्टामा ३३६५ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३६५ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ५५५ पीसीआर परीक्षण गर्दा २३३५ र ४७८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ४४२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १३७३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३० हजार ३९० रहेको छ ।

    पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।

  • सांसद पुनर्बहालीको माग गर्दै एमालेका नेताले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’मा

    सांसद पुनर्बहालीको माग गर्दै एमालेका नेताले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’मा

    काठमाडौं । सांसद पुनर्बहालीको माग गर्दै माओवादीका चार पूर्वसांसदले दिएको निवेदन ‘हेर्न नभ्याइने’मा राखिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी चढे पनि मुद्दा हेर्न नभ्याइनेमा परेको हो।

    नेकपा ९एमाले० प्रवेश गर्दा कारबाहीमा परेका माओवादीका पूर्वसांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह १३ साउनमा सर्वोच्च अदालत पुगेका थिए।

    आफूहरू माओवादीमै रहेको जिकिर गर्दै उनीहरूले सांसद पदमा पुनर्बहाली गर्न माग गरेका छन्।

  • सर्वाधिक विन्दुको कीर्तिमान बनाएको सेयर बजारमा दोहोरो अंकको करेक्शन

    सर्वाधिक विन्दुको कीर्तिमान बनाएको सेयर बजारमा दोहोरो अंकको करेक्शन

    काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्शन आएको छ । बुधबार इतिहासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको बजारमा आज करेक्शन आएको हो ।

    तीव्र उतरचढाव देखिएको बजार यस साता समग्रमा करिब २२ अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । यससाता औसतमा दैनिक १४ अर्ब माथि कारोबार हुँदै आएकोमा आज करिब ११ अर्बमा सीमित भएको छ ।

    प्रफिट बुक गर्ने हाबी हुँदा सूचकसँगै कारोबार रकम पनि घटेको अनुमान गरिएको छ । आज सेयर बजार मापक सूचक नेप्से १५.१३ अंकले घटेर ३०७९.८२ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१७ कम्पनीको १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ बराबरको २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल तथा पर्यटन र विकास बैंक बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएक छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१७ प्रतिशतले बढेको छ भनेफाइनान्स समूह १.९६ प्रतिशतले घटेको छ ।

    आज कारोबारमा आएका २१७ कम्पनीमध्ये ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालयन डिस्ट्रीलरी २९ करोड र युनाइटेड मोदी हाइड्रोपावरको २५ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    दोहोरो अंकले घटेको बजारमा आज रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

    यस्तै, आज जीवन विकास लघुवित्त ८.२२ प्रतिशत, सप्तकोशी विकास बैंक ७.६५, युनाइटेड इदीमार्दी हाइड्रोपावर ७.५५, चन्द्रागिरी हिल्स ६.०५, सिन्धु विकास बैंक, वरुण हाइड्रोपावर, लुम्बिनी र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

  • सर्वोत्तमको शेयर प्रकरण : धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अर्थमन्त्रालयले सोध्यो स्पष्टीकरण

    सर्वोत्तमको शेयर प्रकरण : धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अर्थमन्त्रालयले सोध्यो स्पष्टीकरण

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको बारेमा मिडियामा समाचार प्रकाशन तथा प्रसारण भएपछि अर्थमन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

    ढुंगानाले बुकबिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको शेयर छोरीको नाममा किनेको समाचार बाहिरिएसँगै मन्त्रालयले स्पष्टीकरण माग गरेको हो ।

    अर्थ मन्त्रलायका शाखा अधिकृत श्याम प्रसाद आचार्यले पत्रकाटी सञ्चार माध्यममा आएका विषयवस्तुहरु सत्य तथ्य के हो, सोको स्पष्ट तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

    अध्यक्ष ढुंगानाले स्वार्थ बाझिने गरी शेयर खरीद गरेको आरोप लागेको हो । तर विबाद भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले विहे गरेको छोरीले शेयर किन्न धितोपत्र बोर्डको कर्मचारी विनियमावली र कानूनले बन्देज नलगाउने दाबी गरेका छन् ।

    ढुंगानाले आन्तरिक रुपमा अमेरिकामा बस्ने छोरी रेविका ढुंगानाका नाममा सर्वोत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता शेयर किनेको विवरण सार्वजनिक भएको थियो ।

  • कांग्रेसले क्रियासिल सदस्यको विषय टुंग्याउँदै, आज पदाधिकारी बैठक

    कांग्रेसले क्रियासिल सदस्यको विषय टुंग्याउँदै, आज पदाधिकारी बैठक

    काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले क्रियासिल सदस्यताको विषय टुंग्याउँदै छ । करीव साढे ४ लाख नयाँ सदस्य थप गरि सभापतिलाई प्रस्ताव गरिएको सदस्यताको विषयबारे छलफल गर्न आज सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा केन्द्रीत भएर छलफल हुने काँग्रेसको भनाई छ ।

    बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बोलाइएको छ । बैठकमा चौधौं महाधिवेशनको तयारीका सम्बन्धमा समेत छलफल हुनेछ । नेता रमेश लेखकको संयोजकत्वमा गठित कार्यदलले पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा गृहकार्य गरिरहेको छ । निर्धारित समय सकिदासमेत विवाद मिल्न नसकेपछि हिजो बसेको पदाधिकारी बैठकले एक दिनको थप समय दिएको थियो ।

    सोहीअनुसार आज दिउँसो २ बजे बैठक बस्न लागेको हो । काँग्रेसले आगामी भदौ १६ गतेदेखि काठमाडौंमा चौधौं महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ । तर, निर्धारित समेतमा महाधिवेशन हुने नहुने भन्ने निश्चित भने छैन । सभापति देउवा पक्षले कोभिड समस्या तथा पार्टीको आन्तरिक सांगठनिक समस्याका कारण महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन निर्धारित समयमै हुनुपर्ने अडानमा छ ।

  • इपीएसबाट नेपाली कामदार छिट्टै कोरिया लैजाने राजदूतको प्रतिवद्धता

    इपीएसबाट नेपाली कामदार छिट्टै कोरिया लैजाने राजदूतको प्रतिवद्धता

    काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले इपीएएस प्रणालीबाट छिट्टै नेपाली कामदार कोरिया जान सक्ने बताएका छन् । बुधबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटवार्तामा उनले यस्तो जानकारी गराएका हुन् । बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तिर्ण गरी कोरिया जान नपाएका युवालाई कोरिया जाने वातावरण बनाउन आग्रह गरेका थिए ।

    कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिवद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन आग्रह गरेका हुन् । ‘इपिएस अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तिर्ण गरेका हजारौं युवाहरु बेरोजगार बसेका छन्, यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु’ मन्त्री शर्माले भने।

    जवाफमा राजदूत सुकले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए। नेपालीहरुको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको प्रसंग उल्लेख गर्दै उनले भाषा परीक्षा उत्तिर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्रक्रिया अघि बढाइने बताए।

    भेटको क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे। उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे। कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ।

    कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण भएको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिकेक्निक कलेजको स्थापना हुँदैछ। उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ। मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोशिस गरिने बताए।

    भेटको क्रममा राजदूतले कोरियाली लगानी रहेको माथिल्लो त्रिसुली–१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाई बारे चासो राखे। आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए।

  • कमल थापा, महेश बस्नेत, गोकुल बास्कोटा खुसी नभए हुन्छ, प्रतिगमन स्वीकार्दैनौ : पाण्डे

    कमल थापा, महेश बस्नेत, गोकुल बास्कोटा खुसी नभए हुन्छ, प्रतिगमन स्वीकार्दैनौ : पाण्डे

    काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले कमल थापा, गोकुल बास्कोटा र महेश बस्नेतलाई प्रतिगमनको बाटो नलिन स्पष्ट संकेत गरेका छन् । दुई दिन अगाडी पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहको प्रस्ताव गरेका थिए । यो प्रस्तावमा कमल थापा, गोकुल बास्कोटा र महेश बस्नेतले सही थापेका थिए । तर, पार्टीका संयोजक मिलन पाण्डेले भने स्पष्टसँग विवेकशील साझाले प्रतिगमन स्वीकार नगर्ने बताएका छन् ।

    यसले विवेकशील भित्रको विवाद भने छताछुल्ल भएको छ । पाण्डेले पार्टीलाई सफल बनाउन स्पष्ट नीति तथा कार्यक्रम सहितको दस्ताबेज आउने र केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्ने समेत जानकारी गराए । संयोजक पाण्डेले आफ्नो धारणा सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, ‘मलाई धेरै साथीहरूले अब पार्टी कसरी अगाडि बढ्छ भनेर सोध्दै हुनुहुन्छ । पार्टीमा, अब, यो पार्टीको स्थापना कालदेखिको मर्म र आशालाई समेटेर पार्टीलाई कसरी सफल बनाउने र प्रोग्रेसिभ बनाउने स्पष्ट नीति र कार्यक्रमहरू सहितको दस्ताबेज आउने छ । ’

    संयोजक पाण्डेले पार्टीले र देशले प्रतिगमन नस्वीकार्ने भन्दै अगाडी लेख्छन्, ‘ढुक्क हुनुहोस्, पार्टीले अनि देशले प्रतिगमन स्विकार्ने छैन । फेरि देशलाई द्वन्द्वमा धकेल्ने नीति लिने छैन । समाजलाई विभाजित गर्ने छैन । देशलाई फेरि व्यवस्था परिवर्तनको नाउँमा २०–२५ वर्ष पछाडि धकेल्ने छैन ।’ ‘त्यसैले, कमल थापाजीहरू, महेश बस्नेतजीहरू र गोकुल बास्कोटाजीहरू खुसी हुन जरुरी छैन,’ उनले भनेका छन् ।