Category: फिचर

  • भारतमा सरकारको बढी आलोचना गर्ने दैनिक भास्कर र भारत समाचार टिभीमा आयकर विभागको छापा

    भारतमा सरकारको बढी आलोचना गर्ने दैनिक भास्कर र भारत समाचार टिभीमा आयकर विभागको छापा

    नयाँ दिल्ली । भारतमा सरकारले आफ्नो विरोधी संचारमाध्यममाथि आक्रमण शुरु गरेको छ । कोरोनाभाइरस महामारीका बेला सरकारको कामको सबैभन्दा बढी आलोचना गरेका संचारमाध्यममा त्यहाँको आयकर विभागले छापा मारेको हो । भारतीय संचारमाध्यमका अनुसार भारत समाचार टेलिभिजन च्यानल र दैनिक भास्कर पत्रिकाको कार्यालयमा आयकरले छापा मारेको छ । उनीहरुमाथि कर छलीको उजुरी परेको भन्दै अनुसन्धान थालेको अधिकारीहरुले बताएका छन् ।

    ती संस्थामा काम गर्ने कर्मचारीहरूको घरमा पनि छापा मारिएको छ । कतिपयको मोबाइल फोन समेत जफत गरिएको छ। आम सञ्चारबारे वकालत गर्ने थुप्रै संस्था तथा विपक्षी दलका नेताहरूले उक्त कदमलाई प्रेस स्वतन्त्रता माथि जानिबुझी गरिएको हमला भनेको बीबीसीले लेखेको छ । भारतका सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले भने पछिल्लो प्रकरणमा सरकारको संलग्नता अस्वीकार गरेका छन्। उनले सरकारी निकायले आफ्नो काम गरेको भन्दै त्यसमा सरकारको हस्तक्षेप नभएको उनको दावि छ ।

    हिन्दी भाषामा प्रकाशित हुने दैनिक भास्कर पत्रिका भारतमा सबैभन्दा बढी पढिने पत्रिकामा गनिन्छ । कोरोनाभाइरस महामारीकामा पत्रिका र भारत सञ्चारले अक्सिजनको अभाव, अस्पतालमा शय्याको अभाव भएका विषयलाई प्राथमिकताका साथ उठाएका थिए । यसले आम मानिसका आवाज उजागर गरेको थियो । तर, सरकारको भने ठूलो आलोचना भएको थियो ।

    कोरोनाभाइरसका कारण मृत्यु भएको ठानिएका गङ्गा नदीमा तैरिरहेका मृत शरीरबारे समेत यी संचारमाध्यमले सबैभन्दा पहिले लेखका हुन् । दुवै सञ्चारमाध्यमले सरकारले समाचार सम्प्रेषण गरेकै आधारमा नियोजित रूपमा आफूहरूलाई निसाना बनाइएको प्रतिक्रिया दिएका छन् ।

  • यातायातसँग सम्बन्धित कर अब अनलाइन प्रणालीबाटै तिर्न सकिने

    यातायातसँग सम्बन्धित कर अब अनलाइन प्रणालीबाटै तिर्न सकिने

    काठमाडौं । नेपालमा अब यातायातसँग सम्बन्धित सबै प्रकारका कर अनलाइन प्रणालीबाट तिर्न सकिने भएको छ । यससँगै अब यातायात कार्यालयमा हुने अत्यधिक भिडभाड नियन्त्रण हुने अपेक्षा गरिएको छ । बाग्मती प्रदेशका यतायात सम्बद्ध कर राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको हो । यसमा लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवानालगायत राजस्व रहेको बाग्मती प्रदेश सरकारले जनाएको छ ।

    बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इवालेट र बैंकिङ एपबाटै तिर्न सकिने बताएका न् । ब्लुबुक नवीकरण लगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने छैन । अब क्रमशः अन्य कागजात समेत अनलाइनबाटै वितरण गर्न सकिने गरी व्यवस्था मिलाउने तयारी छ ।

  • ओलीको कदमलाई साथ दिएको जसपाको महन्थ ठाकुर पक्ष पार्टी भित्र पनि संकटमा

    ओलीको कदमलाई साथ दिएको जसपाको महन्थ ठाकुर पक्ष पार्टी भित्र पनि संकटमा

    काठमाडौं । पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई साथ दिँदै सरकारमा गएको जसपाको महन्थ ठाकुर पक्ष राजनीतिक कोर्ष बदलिउपछि भने अब पार्टी भित्र कमजोर अवस्थामा पुगेको छ । निर्वाचन आयोगले १२ असार २०७७ मा कायम कार्यकारिणी समितिमा बहुमत पुर्‍याउने पक्षलाई नै जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता दिने निर्णय गरेको छ ।

    यसका लागि अब आयोगले समितिका सदस्यहरुको संख्या जोड्ने भएको छ । आयोगले कार्यकारिणी समितिका सदस्यलाई आगामी ११ साउनमा सनाखत गर्न बोलाएको छ । कार्यकारिणी समितिमा बाबुराम भट्टराई र उपेन्द्र यादवको बहुमत छ । सोहीकारण जसपामा आधिकारिका उपेन्द्र यादवले पाउने निश्चित जस्तै बनेको छ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भउप्ीछ जनता समाजवादी पार्टी, नेपाल दर्ता भएको हो ।

    त्यसबाट ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्य तोकिएको थियो । उनीहरुलाई नागरिकताको सक्कल र मतदाता परिचय पत्रको सक्कल लिएर उपस्थित हुन आयोगले आग्रह गरेको छ । शुरुमा ओलीको कदमलाई साथ दिएका महन्थ ठाकुर र राजेन्द्र महताले वर्तमान सरकारलाई समेत समर्थन गरेका छन् । यसले पार्टी अब कसरी अगाडी बढ्छ भन्ने चाँही ११ साउनपछि प्रष्ट हुने छ ।

  • कोरोनाको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

    कोरोनाको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

    काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी सरकारले दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउन सक्ने भन्दै सचेत रहन भनेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढेको बताएका छन् । यसले तेस्रो लहरको जोखिम बढेको उनको भनाइ छ । तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शैया लगायत पूर्वाधार तयारी अवस्थामा राख्न सेमेत अनुरोध गरिएको छ ।

    मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले उल्लेख गरेका छन् । सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न सरकारले निर्देशन दिएको छ । तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने संभावना रहेको विज्ञहरुले बताएका छन् । नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भइसकेको छ । ६ लाख ३६ हजार ४०२ व्यक्तिले कोरोना जितेका छन् । ९ हजार ६३७ जनाको मृत्यु भएको छ ।

  • कांग्रेसको बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबस्ने

    कांग्रेसको बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबस्ने

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अब पार्टीको बैठक नराखिने भएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारको चरम दूरुपयोग गरिएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएर आएपछि पहिलो बैठक बालुवाटारमा बोलाएपछि उनको समेत आलोचना भएको थियो । पार्टी कार्यालयमा धर्ना रहेका कारण बालुवाटारमा बोलाउनु परेको उनले बताएका थिए । तर, शुक्रबार र शनिबार बोलाइएको पार्टी पदाधिकारी बैठक भने प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने भएको छ ।

    कांग्रेसले १४ औँ महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाइएको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नगर्ने स्पष्ट पारे । उनले विगतको गलत–गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने भनी ट्वीट गरेका छन् ।

  • खोप किन्न एडीबीले दिने भयो करीव २० अर्ब ऋण

    खोप किन्न एडीबीले दिने भयो करीव २० अर्ब ऋण

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई कोरोना खोप किन्न १६ करोड ५० लाख डलर (करिब २० अर्ब रुपैयाँ) ऋण दिने निर्णय गरेको छ । नेपालको कोरोना खोप अभियान सञ्चालन र आपूर्ति प्रणालीमा सहयोग पुग्ने एडीबीको भनाई छ । यो रकमले करीव १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने भएको छ ।

    एडीबीका अध्यक्ष मासात्सुवु आसाकावाले एडीबीको यो सहयोगले अत्यावश्यक कोरोना खोप किन्दै आफ्ना नागरिकको सुरक्षा गर्न र संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने उनले बताएका छन् । छिट्टै खोप किन्दै अवस्था सामान्य बनाउनु अहिलेको आवश्यकता रहेको उनले उल्लेख गरेका छन् । यसअघि सन् २०२० डिसेम्बर एडिबीले एसिया प्यासेफिक क्षेत्रमा खोप खरिद गर्न ९ अर्ब डलर दिने निर्णय गरेको थियो । सोही अन्तर्गत नेपालले यो सहयोग पाएको हो ।

  • देशभर २७१४ जनामा कोरोना संक्रमण पुष्टी, १२८८ जना संक्रमण मुक्त

    देशभर २७१४ जनामा कोरोना संक्रमण पुष्टी, १२८८ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७१४ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९१२२ पीसीआर परीक्षणमा १८५५ र ३७०७ जनाको एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १२८८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९०जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ ।

  • अमेरिकाको ‘जोन्सन’ र चीनको ‘भेरोसेल’ खोपमा के छ फरक ?

    अमेरिकाको ‘जोन्सन’ र चीनको ‘भेरोसेल’ खोपमा के छ फरक ?

    काठमाडौं । नेपालमा अहिले विभिन्न देशबाट ल्याइएका र अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको खोप लगाइँदै छ। अनुदानमा प्राप्त विभिन्न कम्पनीका खोपहरू नागरिकलाई दिइन लागिएको हो।

    जसमध्ये अहिले चीनले उपलब्ध गराएको भेरोसेल र अमेरिकाले उपलब्ध गराएको जोन्सन खोपबारे मानिसको चासो बढेको पाइन्छ। यी दुई मध्ये कुन खोप लगाउने नागरिकमा केही अन्यौलता पनि देखिएको छ। जोन्सन र भेरोसेल खोपमा के फरक छ ? जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले नागरिकको जिज्ञासा मेटाउने प्रयास गर्नुभएको छ।

    १. जोन्सन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो।

    २. जोनसन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ।

    ३. जोनसन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबोडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि एन्टिबोडी तयार हुन्छ।

    ४. जोनसन खोपले दुर्लभ रूपमा रगत जम्ने वा स्नायु प्रणालीसम्बन्धी समस्या देखिएको छ भने भेरोसेल खोपका साइड इफेक्ट पारदर्शी रूपमा बताइएको छैन।

    ५. जोन्सन खोप सामान्य लक्षण रोक्न ७२ %, सिकिस्त नबनाउन ९६ % र कोभिडबाट मृत्यु रोक्न १०० % प्रभावकारी छ भने भेरोसेल खोप संक्रमण रोक्न ५०-७९ % तथा सिकिस्त कोभिडबाट गम्भीर नबनाउन तथा मृत्यु रोक्न ९० % प्रभावकारी भनिएको छ।

    ६. जोन्सन खोपलाई अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरबियन / अफ्रिकन देशमा मान्यता दिइएको छ। खोपको व्यापारिक तथा राजनैतिक प्रतिष्पर्धाको कारण अहिले मान्यता जे भए पनि केही समयपछि सबै खोपको मान्यता सबैतिर हुनेछ।

    ७. दुवै खोपले कोरोना संक्रमण सरेपनि गम्भीर हुने वा मृत्यु हुने सम्भावनालाई नगण्य बनाउँछन्।

    ८. ज्वरो आउने, शरीर दुख्ने, झुम्म हुने लगायतका साइड इफेक्ट दुवै खोपमा हुन्छ। जुन ३-४ दिनमा ठिक हुन्छ।

    ९. रगतमा प्लेटलेटको समस्या, रगत जम्ने समस्या तथा स्नायु प्रणालीका बिरामीले जोनसन भन्दा भेरोसेल लिनु बढी सुरक्षित हुन्छ।

    १०. तेस्रो लहरबाट बचाउन दुवै खोप सक्षम छन्।

    ११. दुवै खोपले कति समयसम्म काम गर्छन् भन्ने निश्चित छैन। समय बित्दै जाँदा मात्र खोपले काम गर्ने अवधि थाहा हुन्छ।

    १२. आफ्नो उत्पादनलाई सबैले राम्रो भन्ने तर अरूको उत्पादनमा दोष देख्ने विश्वव्यापी परम्परा भए पनि यी दुवै खोप WHO बाट मान्यता प्राप्त र दर्जनौं देशमा लगाइएका खोप हुन्।

    १३. डेल्टा भेरिएन्टको लागि दुवै खोप प्रभावकारी छन्।

    १४. दुवै खोप करोडौं व्यक्तिले लगाएका छन् भने क्लिनिकल ट्र्याल पास गरेर विकास भएका हुन्।

    १५. हाम्रो जस्तो देशमा मान्यता प्राप्त जुन खोप पाउन सम्भव छ, त्यही लगाउनु बुद्धिमानी हुन्छ।

  • राष्ट्र बैंकले भन्यो-‘बैकिङ्ग सिस्टम ठिक छन्, ह्याकर खोज्दैछौं’

    राष्ट्र बैंकले भन्यो-‘बैकिङ्ग सिस्टम ठिक छन्, ह्याकर खोज्दैछौं’

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालका सबै बैंक तथा वित्तीय संस्थाका प्रणालीहरू सुरक्षित रहेको जनाएको छ ।

    ह्याकरहरुले बैंकको सिस्टम ह्याक गरेर पैसा चोर्न धम्की दिएपछि राष्ट्र बैंकले बैंकिङ प्रणाली सुरक्षित रहेकाले आतंकित र त्रसित नहुन सबैलाई आग्रह गरेको हो ।

    ह्याकरहरुले आतंक फैलाउन यस्तो फण्डा मच्चाएको भन्दै राष्ट्र बैंकले सबैलाई ढुक्क हुन आग्रह गर्दै यसबार थप अनुसन्धान अघि बढाइए जनाएको छ ।

    ह्याकरहरुले बैंकहरुलाई बुधबार दिउँसो ३ः२८ बजे इमेलमार्फत अफलाइन र अनलाइन दुवै तरिकाबाट पैसा चोरी गर्ने भन्दै सन्देश पठाएपछि बैंकिङ क्षेत्र तरंगित बनेको थियो ।

    बैंकले आफ्नो र ह्याक गर्ने भनेर किटान गरिएका बैंकहरुकोसमेत सबै प्रणाली परीक्षण गरिसकेको छ।

    अहिलेसम्म राष्ट्र बैंकको आन्तरिक सिस्टम, आरटीजीएस, बैंक तथा वित्तीय संस्थाको कोर बैंकिङ सिस्टम, नेपाल क्लियरिङ हाउसलगायत सबै सिस्टम सुरक्षित रहेको बताएको छ । बैंक तथा वित्तीय संस्थाको व्यावसायिक कारोबारमा कुनै समस्या देखिएको छैन ।

    ह्याकरले नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल, राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, एनएमबी, एनआइसी एशिया, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल, सानिमा, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकलाई इमेल गर्दै पौसा चोर्न धम्की दिएका थिए ।

  • बैंक चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

    बैंक चम्किँदा नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । विहिबार शेयर बजार मापक सूचक नेप्से १८.७६ अंकले बढेर ३००४.३३ विन्दुमा पुगेको हो ।

    आज २२२ कम्पनीको ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँ बराबरको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर किनबेच भएका छन् ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन लगानीकर्ताको रोजाइका बैकको शयेर परेको छ ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएको छ । आज कृषि विकास बैंकको सर्वाधिक कारोबार भएको छ । कृषिको ४६ करोड २७ लाख ६४ हजार ६४० रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ ।

    सामूहिक लगानी कोष समूह सबैभन्दा धेरै ५.२७ प्रतिशतले बढेको छ भने बैंकिङ समूह पनि १.७२ प्रतिशतले बढेको छ । व्यापार समूह सबैभन्दा धेरै २.०२ प्रतिशतले घटेको छ ।

    कोरोबारको दोस्रो नम्बरमा नेपाल बैंकको शेयर परेको छ । नेपाल बैकको ३६ करोड ५ लाख ८० हजार ७२८ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

    एनआइसी एशिया बैंकको शेयर तेस्रो स्थानमा रहेको छ । एनआइसी एशिया बैंकको ३६ करोड ४ लाख ४८ हजार ४४६ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

    चौथो नम्बरमा ङादी ग्रुप पावरको शेयर परेको छ । ङादी ग्रुप पावरको ३४ करोड ३४ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

    पाँचौं नम्बरमा सिद्धार्थ बैंकको शेयर परेको छ । सिद्धार्थको ३२ करोड ८ लाख ५२ हजार ७२८ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

  • नेपाल राष्ट्र बैंकसहित १५ बैंकको सिस्टमबाट पैसा चोर्ने ह्याकरको चेतावनी, अमेरिकाबाट आयो फोन

    नेपाल राष्ट्र बैंकसहित १५ बैंकको सिस्टमबाट पैसा चोर्ने ह्याकरको चेतावनी, अमेरिकाबाट आयो फोन

    काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकमा ह्याकरले पैसा चोरी गर्न सक्ने भन्दै चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्तालाई फोनमार्फत नै धम्की दिइएको छ भने अन्य बैंकमा भने इमेल पठाइएको छ । ह्याकरले बैंकको प्रणाली ह्याक गरि पैसा निकाल्ने धम्की दिएका छन् । ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख छ ।

    यससँगै बैंकहरुले पनि आफ्नो आइटी विभागलाई चनाखो हुन भनेका छन् । यसबारे अनुसन्धान समेत शुरु गरिएको छ । ह्याकरले यो चेतावनीलाई सामान्य रुपमा नलिन भन्दै धम्की समेत दिएका छन् । पछिल्ला दिनमा नेपालको बैंकिण प्रणालीमा निरन्तर प्रहार भइरहेको छ । यसले नेपालको वित्तीय प्रणालीको सुरक्षामा प्रश्न चिन्ह उठिरहेको समयमा यस्तो धम्की आएको हो ।

    नेपाली संचारमाध्यमहरुका अनुसार ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई इमेल गरेको थियो । जसमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । यो पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलाई समेत गएको छ । प्रवक्ता ढकाललाई बिहीबार बिहान राष्ट्र बैंकसहित नेपाल र नबिल बैंकको सिस्टम ह्याक गर्ने भनी अमेरिकाबाट फोन आएको समेत समाचारमा उल्लेख छ ।

  • चितवनमा नहरमा डुबेर दुई किशोरको ज्यान गयो

    चितवनमा नहरमा डुबेर दुई किशोरको ज्यान गयो

    भरतपुर । चितवनमा नहरमा डुबेर दुई जना किशोरको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित नहरमा डुबेर स्थानीय १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको मृत्यु भएको हो । उनीहरु स्थानीय चौरमा क्रिकेट खेलेर सफा हुन नहर पुगेका थिए । त्यसक्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेका थिए। प्रहरीका अनुसार उनलाई बचाउने क्रममा अंकित समेत नहरमा डुबी बेपत्ता भएका थिए।

    त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले डुबेको स्थानबाट २ सय मिटर पर नहरमा दुवै जनाको उद्धार गरेको थियो । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको थियो । अस्पतालले तत्काल मृत घोषणा गरेको हो । बुधबार नै बाँकेमा समेत तीन किशोरको डुबेर ज्यान गएको थियो ।

  • गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी रिले अनसन शुरु

    गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी रिले अनसन शुरु

    लण्डन । गोर्खाले उठाइरहेको माग पुरा नगरेको भन्दै बेलायतको लण्डनमा रिले अनशन थालिएको छ । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको राससले जनाएको छ । बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईको भनाई छ ।

    बुधबारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र हरेक दिन एक, एक जना अनशन बस्ने योजना रहेको आयोजकको भनाई छ । १३ दिनभित्र बेलायत सरकारले वार्ताको पहल नगरेमा भने भोक हड्तालमा जाने योजना छ । गत महिना गोर्खाहरूका मागसँग सरोकार राख्ने पाँचवटा संस्था र गैरआवसीय नेपाली सङ्घ युकेलगायतले नेपाल सरकार र बेलायत सरकार दुवैलाई पत्र पठाएका थिए । पत्रमा भूपू गोर्खाहरूको समान पेन्सनलगायतका माग राखेर वार्ताका लागि आग्रह गरिएको थियो । यो अनशनलाई गोर्खा हकहितका लागि काम गर्दै आइरहेको गेसो नामक संस्थाले भने साथ दिएको छैन ।

  • चीनमा भुमिगत रेल स्टेशनमा छिर्यो बाढी

    चीनमा भुमिगत रेल स्टेशनमा छिर्यो बाढी

    जङ्जो । चीनमा बाढीको कहर जारी छ । मङ्गलवार त्यहाँ एक व्यस्त भूमिगत रेल स्टेशनमा बाढी पसेको छ । यसले ठूलो भौतिक क्षति गरेको छ । यात्रुमा भने भागाभाग भएको बीबीसीले लेखेको छ । केही मानिसलाई बाढीले बगाएर प्लेटफर्म भन्दा टाढासम्म पुर्‍याएको छ । रेलको एउटा खण्डमा पानी छिरेर मानिसहरूको घुँडाबाट कम्मर हुँदै पछि घाँटीसम्म पुगेको समाचारमा उल्लेख छ । कैयौँ घण्टापछि त्यहाँ फसेका मानिसहरुलाई उद्धार गरिएको थियो ।

    यो जङ्जो सहरुको घटना हो । जङ्जो सहरमा क्रमिक रूपमा सयौँ मानिसहरूलाई बाढीका कारण डुबेको सबवेबाट बचाउन उद्धारकर्ताहरू सफल भएको समाचारमा जनाइएको छ । खनान प्रान्तस्थित एल्लो रिभरको किनारमा रहेको उक्त सहरमा १ करोड २० लाख मानिस बस्छन् । पछिल्लो घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको समाचार छ ।

  • नेपाल समुहले दवाव बढाएपछि ओलीले भने : दोस्रो अध्यक्ष दिन तयार छु

    नेपाल समुहले दवाव बढाएपछि ओलीले भने : दोस्रो अध्यक्ष दिन तयार छु

    काठमाडौं । नेकपा एमालेमा करीव एक वर्ष देखि बल्झिएको विवाद अझै जारी छ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले निरन्रत अडानसहित पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दवाव बर्ढापछि ओलीले आफु वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको घोषणा गरेका छन् । एमालेको केन्द्रीय कमिटीको बुधबार बसेको बैठकमा उनले यस्तो घोषणा गरेका हुन् ।

    तर नेता नेपालले बहुमत नभएको कमिटीमा नजाने भन्दै अडान राखेपछि सहमति जुट्न नसकेको उनको भनाई छ । पार्टी एक्ताका लागि आफु हदै लचिलो बनेको भन्दै उनले अझै पनि एकताको प्रयास जारि रहेको बताएका हुन् । केही समय अगाडी निकै आक्रामक ओली अब रक्षात्मक अवस्थामा पुगेका छन् । सत्ताच्यूत भएसँगै एमालेको दोस्रो खेमाले उनलाई अध्यक्षबाट समेत हटाउने बताएको छ ।

    पार्टीमा एकता कायम भए सबै संरचना ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने समेत उनको भनाई छ । एमालेबाट कांग्रेस सभापति देउवालाई विश्वासको मत दिएका सांसदसहितको बैठकमा नेताहरुले अब ओलीलाई हटाएर मात्र एकता हुने भन्दै आक्रामक रुपमा लाग्ने गरि छलफल अगाडी बढाएका छन् ।

  • राज कुन्द्राको नेपाल कनेक्सन, पस्मिनाको व्यापारले अर्बपति

    राज कुन्द्राको नेपाल कनेक्सन, पस्मिनाको व्यापारले अर्बपति

    मुम्बई । बलिउडकी चर्चित नायिका शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको अश्लिल फिल्मको धन्धा बाहिरिएसँगै यतिबेला संचारमाध्यममा उनी छाएका छन् । पोर्न भिडियोबाटै दैनिक ५ लाख भन्दा बढी आम्दानी हुन थालेपछि उनी यो धन्धामा लागेको खुलेको छ । कुन्द्रा व्यापारी हुन् । उनी अर्बपति पनि हुन् । शिल्पासँग उनको दोस्रो विवाह हो । पोर्न सामग्री बनाउने धन्धामा श्रीमति शिल्पाको सहभागिताको पुष्टी भएको छैन ।

    प्रहरीले यसबारे समेत अनुसन्धान गरिरहेको भारतीय संचारमाध्यमले लेखेका छन् । राज कुन्द्राबारे आएका अनेक सामग्रीमध्ये एकमा उनको नेपाल कनेक्सनबारे खुलासा गरिएको छ । यो खुलासा बीबीसी हिन्दीले गरेको हो । २९ वर्षको उमेरमा बेलायतमा रहने सबैभन्दा धनी एसियाली नागरिकमध्ये उनी १९८ औं सूचिमा रहेका थिए । यो २००२ मा निकालिएको एक रिर्पोटको तथ्य हो । शिल्पा र राजका दुई पुत्र छन् ।


    के हो नेपाल कनेक्सन
    बीबीसी हिन्दीका अनुसार राज कुन्द्राका पिता बालकृष्णन कुन्द्रा केही बर्ष पहिले लन्डन गएका थिए । उनले सुरुमा कटन उद्योगमा काम गरेका थिए । त्यसपछि उनी बसको कन्डक्टर बने । लन्डनमा नै राज कुन्द्राको जन्म भएको हो । १८ बर्ष पुगेपछि राज कुन्द्रालाई उनका पिताले काम गर्न सल्लाह दिए । त्यसपछि पिताले लगानी गर्न दिएको पैसा लिएर उनी दुबई गए । त्यहाँ केही समय बसेपछि उनी नेपाल आए । उनलाई कसैले पश्मिना सलको व्यापार गर्न सुझाव दियो ।

    Photo : thehindubusinessline.com

    राज कुन्द्रा यो व्यापारबाट मालामाल भए । यो सन् १९९४ को कुरो हो । जब उनी नेपाल आए, नेपालबाट उनले एक कन्टेनर पश्मीना शल लण्डन लगे । शल ब्रिटिश फेसन हाउसमा सप्लाई गरे । पहिलो बर्षमा नै उनले करिब दुई करोड पाउन्डको फाइदा कमाए । यसपछि भने उनले पछाडी फर्केर हेर्नु परेन । यहाँबाट सुरु भएको उनको व्यापार अहिले भने सामाज्य बनिसकेको छ । त्यसपछि उनी दुबईबाट हिराको व्यापारमा चम्किए ।

    अभिनेत्री शिल्पा शेट्टीसँग विवाह गरेपछि यो जोडीले आइपीएलको टीम राजस्थान रोयल्सको सेयर खरीद गरेको छ । सन् २०१२ मा राजमाथि आइपिएलमा सट्टेबाजी गरेको आरोप लाग्यो । उनको टीमले दुई बर्षको प्रतिवन्ध भोग्यो । त्यसपछि भने राजले राजस्थान रोयल्सको आफ्नो सेयर बेचे ।

  • फेवातालमा पुनः डुंगा संचालन खुल्यो

    फेवातालमा पुनः डुंगा संचालन खुल्यो

    काठमाडौं । पोखराको मूख्य पर्यटकीय आकर्षण फेवातालको डुङ्गा शयर पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरसको महामारी बढेसँगै फेवातालमा ढुंगा व्यवसाय समेत रोकिएको थियो । निषेधाज्ञा लागु भएपछि १४ वैशाखबाट फेवातालमा डुंगा चलाउन बन्द भएको थियो । डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएको राससले लेखेको छ । डुङ्गा चढ्दा यात्रुले मास्क अनिवार्य लगाउनु पर्छ । भीडभाड हुन नदिन २० फुटे डुङ्गामा चार र १८ फुटेमा तीन जना राखेर सञ्चालन गरिएको छ ।

    यसअघि आठ\नौ जनासम्म राख्ने गरिएको थियो । दैनिक आठदेखि नौ वटा डुङ्गाले व्यवसाय शुरु गरिएको छ । यसबाट सो व्यवसायमा आश्रित मजदुरले काम पाउने अपेक्षा गरिएको छ । तालमा डुङ्गा सञ्चालनमा आएको भएपनि तालबाराही मन्दिर दर्शन भने अझै खुला गरिएको छैन । नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक पर्यटनमा पुनः चहलपहल शुरु भएको छ । शहर नजिकका रिर्सोटहरुमा पाहुनाको भिड लाग्न थालेको छ ।

  • कांग्रेस नेता अमरेश कुमार सिंह सभापति देउवासँग किन भड्किए ?

    कांग्रेस नेता अमरेश कुमार सिंह सभापति देउवासँग किन भड्किए ?

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सांसद पदबाट राजिनामा गरेका छन् । उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सांसद पदबाट दिएको राजीनामा पत्र थमाएका छन् । कांग्रेसको महाधिवेशन नजिकिएको छ । यो असन्तुष्टी महाधिवेशनका सन्दर्भमा उठेको असन्तुष्टीको एक झिल्को मात्र हो ।

    क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्ना बसिरहेका छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको आरोप लगाएको छन । यो काम रोक्नुपर्ने उनीहरुको भनाई छ । धर्नामा बसेका नेता तथा कार्यकताको मागमा सहमति जनाउँदै आफुले सांसद पदबाट राजिनामा गरेको उनको तर्क छ ।

    प्रधानमन्त्रीलाई राजिनामा पत्र थमाउनु अगाडी उनले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कासँग भेटेका थिए । उनी सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् । उनको गुनासो कांग्रेसले ठेकेदार र व्यापारीलाई क्रियासिल सदस्यता दिएर कार्यक्रतामाथि अन्याय गरेको प्रति छ ।

  • थप २८३८ जनामा कोरोना संक्रमण पुष्टी, १४७५ जना संक्रमण मुक्त

    थप २८३८ जनामा कोरोना संक्रमण पुष्टी, १४७५ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८३८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८७१५ पीसीआर परीक्षणमा १९१८ र ३९०१ जनाको एन्टिजेन परीक्षणमा ९३१ जना गरी २८३८ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७१ हजार ८७१ पुगेको छ । पछिल्लो २४ घण्टामा १४७५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३४ हजार ४०२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।

  • नेपालमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३० जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ।

  • झलनाथको उपचारमा सरकारी खर्च प्रयोग गर्नु गैरकानुनी- गगन थापा

    झलनाथको उपचारमा सरकारी खर्च प्रयोग गर्नु गैरकानुनी- गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा गरिएको उपचार खर्च व्यहोर्न नमिल्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

    नेता थापाले नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने समाचार सार्वजनिक भएपछि नेता थापाले सरकारको निर्णय गैरकानुनी भएको भन्दै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।

    ‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने व्यवस्था छ र उक्त कान्न २०७५/६/२ गतेदेखि लागु भइसकेको छ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

    उनले लेखेका छन्, ‘यो कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानुनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।’

    उनले अहिले खनालको स्वास्थ्योपचारको चर्चा भइरहेको र त्यसमा उनको पार्टीले पहल गरिरहेको भन्दै अप्ठेरो अवस्था भए सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

    ‘जहाँसम्म पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ, हामी सबै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छौँ । नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्‍याउनुभएका झलनाथ खनालले पछिल्लोपटक निजी नाफा–घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनुभएको छ, यसले उहाँको कद अझ बढेको छ,’ उनले भनेका छन्, ‘झलनाथ खनालसमेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसद्मा सँगै काम गर्न हामी प्रतीक्षारत छौँ । मलाई विश्वास छ, हाम्रो चाहना छिटै पूरा हुनेछ ।’

    उनले खनालको उपचारको लागि परिवार, स्वजन, पार्टीपंक्ति लागिरहेको बताएका छन् । ‘उहाँलाई उपचार खर्च जुटाउनुपर्ने अवस्था नै आएमा त्यसको लागि देश–विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै,’ थापाले भनेका छन्, ‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाई उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ ।’

    थापाले खनालको उपचारका विषयमा अनावश्यक चर्चाले उनको कद घटाउने पनि बताएका छन् । ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी हो र अघिल्लो सरकारले कानु्नविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईंको भनाइ उद्धृत गर्दै आएका समाचार गलत हुन् भन्ने विश्वास छ,’ थापाले भनेका छन् ।

  • अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष यात्रा अनुभव कस्तो रह्यो ?

    अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष यात्रा अनुभव कस्तो रह्यो ?

    टेक्सास । अन्तरिक्ष वैज्ञानिक बाहेक आम सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा एक सपना मात्र हो । तर यो सपना पुरा गरेका छन् । अमेरिकी अर्बपति जेफ बेजोस र अन्य तीन यात्रुले । उनीहरुले मंगलबार अन्तरिक्षको सफल यात्रा पुरा गरि धर्तिमा ओर्लिएका छन् । अन्तरिक्ष पर्यटनलाई बढावा दिन यो अभियान शुरु गरिएको हो । बेजोसको आफ्नै कम्पनी कम्पनी ब्लु ओर्जिनले बनाएको अन्तरिक्ष यान ‘न्यु सेफर्ड’मा उनीहरूले यात्रा गरे ।

    मंगलबार साँझ १० मिनेटमा यो यात्रा पुरा गरेका उनीहरु सकुसल अवतरण भए । बीबीसीका अनुसार यो यात्रामा बेजोसका भाइ मार्क, पूर्वपाइलट ८२ वर्षिय महिला वाली फन्क र १८ वर्षीय किशोर ओलिभर डाइमेन पनि थिए । यसमध्ये ती महिला र किशोरले सबैभन्दा बढी र कम उमेरमा अन्तरिक्ष जाने रेकर्ड समेत बनाएका छन् । फन्क सन् १९६० तिरै नासामार्फत अन्तरिक्षमा जाने तयारीमा रहेको भएपनि सफल भएकी थिइनन् ।

    AP Photo/Tony Gutierrez

    यो यान पृथ्वीको सतहबाट ६६.५ माइल माथि गएर यान रोकिएको थियो । त्यहाँ गुरूत्व बल समाप्त भएको थियो । सोहीकारण जहाज केवल हावामा तैरिएजस्तै अनुभव भएको उनीहरुले बताएका छन् । करीव ४ मिनेट उनीहरुले संसारलाई नियाल्ने मौका पाए । त्यसबेला जहाजमा उनीहरुले रोमान्चित भई बोलेका शब्दहरु रेकर्ड भएका थिए । त्यसपछि उनीहरु जमिनमा फर्किए ।

    बेजोसको कम्पनीले कैयौं रकेट अन्तरिक्षमा पठाएपनि ती मानवरहित थिए । मंगलबार भने मानिससहितको रकेट अन्तरिक्षमा पठाइएको हो । जसको अनुभव मालिक आफैले पहिलो पटक गरे । न्यु सेफर्डको सीटमा फराकिला झ्याल राखिएको छ । जसकारण यात्रुले सजिलै पृथ्वीको नजर देख्न सक्छन् । यो रकेट अमेरिकाको टेक्सासबाट अन्तरिक्षमा पठाइएको थियो ।

    AP Photo
  • चीनबाट खोप ल्याउन नेवानिले आजबाट लगातार तीन उडान गर्दै

    चीनबाट खोप ल्याउन नेवानिले आजबाट लगातार तीन उडान गर्दै

    काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजले आजबाट चीनमा खरीद गरेको कोरोना भाइरसविरुद्धको ओप ल्याउँदैछ । सो प्रयोजनका लागि लगातार तीन दिन जहाज चीन जाने भएको छ । नेपाल एयरलाइन्सका अनुसार आज पौने ६ बजे चीन जाने जहाजले बिहीबार बिहान खोप ल्याउने छ । यो जहाज बिहीबार साँझ पुनः चीन उड्ने छ । सो जहाज शुक्रबार काठमाडौं आउने छ । तेस्रो उडान ९ साउनमा हुने छ । १० सउनमा जहाज नेपाल आउने छ ।

    यी तीन उडानबाट कम्तिमा ३० लाख डोज आउने छ । त्यसपछि नेपालमा पुनः प्राथमिकताका आधारमा खोप अभियानले तिव्रता पाउने भएको छ । सरकारले चीनबाट ४० लाख डोज खोप किनेको हो । यसमध्ये ८ लाख डोज खोप यसअघि नै नेपाल आइसकेको छ । चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने भनेको छ । सरकारले चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने भनेको छ ।

  • अमेरिकाको ओरेगनमा भिषण आगलागी, स्थिती भयावह बन्ने चेतावनी

    अमेरिकाको ओरेगनमा भिषण आगलागी, स्थिती भयावह बन्ने चेतावनी

    ओरेगन । अमेरिकी राज्य ओरेगनको जंगलमा लागेको आगोको फैलावटसँगै यहाँ स्थिति भयावह हुने चेतावनी जारी भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अहिलेसम्म आगोको चपेटामा तीन लाख एकड जमीन आइसकेको छ । भयानक आगोलागीसँगै आसपासका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । करीव दुई हजार भन्दा बढी फायरफाइटर्स आगो नियन्त्रणमा खटिएका छन् । सो राज्यमा इतिहासकै सबैभन्दा भयानक आगोलागी भएको संचारमाध्यमको भनाई छ । आगो ६ जुलाईबाट फैलन थालेको हो ।

    अहिले अमेरिकाका १३ अलग अलग क्षेत्रको ८० भन्दा बढी स्थानमा आगोलागी भएको छ । उच्च तापमानका कारण आगोको फैलावट तिब्र बनेको छ भने नियन्त्रणमा कठिनाई उत्पन्न भएको छ । आगोलागीका कारण ग्रामिण भेग नराम्रोसँग प्रभावित भएको अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म १६० वटा घर आगोमा जलेका छन् । २ हजार मानिसको उद्धार भएको छ । फायर एसिस्टेण्ड कमान्डर जो हेसेल ले सोमवार एक बयान जारी गरि आगो नियन्त्रणमा दिनरात टोली खटिएको जनाएका छन् । पोर्टल्याण्डको दक्षिण पूर्वमा समेत आगोलागी फैलिएको छ ।

  • चीनमा भिषण वर्षा र बाढीका कारण दर्जनौंको मृत्यु, शहरहरु डुबानमा

    चीनमा भिषण वर्षा र बाढीका कारण दर्जनौंको मृत्यु, शहरहरु डुबानमा

    काठमाडौं । चीनमा अविरल वर्षापछि आएको भिषण बाढीका कारण विभिन्न प्रान्त नराम्रोसँग प्रभावित बनेका छन् । बीबीसीका अनुसार मध्य चीनमा बाढीको बढी वितण्डा देखिएको छ । कैयौँ स्थानमा बाढी आएपछि मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काममा तिव्रता दिइएको छ । रेल स्टेशन र सडक डुबानमा परेका छन्। ख्वनान प्रान्तका १०,००० भन्दा बढी सर्वसाधारणलाई उद्धार गरी स्थानान्तरण गरिएको बीबीसीले लेखेको छ ।

    बाढी सुरु भएयता राजधानी जङ्जोमा मात्र कम्तीमा १२ जनाको मृत्यु भएको खबर छ । मुख्य सडक बन्द र उडान रद्द गरिएका छन् । चीनका एक दर्जनभन्दा बढी सहर डुबानमा परेको बताइएको छ । झन्डै ९ करोड ४० लाख जनसङ्ख्या रहेको ख्वनान प्रान्तले असामान्य रूपमा सक्रिय वर्षा देखिएसँगै मौसमसम्बन्धी कडा चेतावनी समेत जारी गरेको छ ।

  • आज बकर इद, नेपालमा सार्वजनिक बिदा

    आज बकर इद, नेपालमा सार्वजनिक बिदा

    काठमाडौं । आज संसारभर मुस्लिम धर्मावलम्बीले दोस्रो महान चाड बकर इद (इदुल जोहा) मनाउँदैछन् । यो पर्वको उपलक्ष्यमा नेपाल सरकारले समेत आज सार्वजनिक बिदा घोषणा गरेको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने प्रचलन अनुसार आज मुस्लिम समुदायमा यो चाड मनाइँदैछ । यो दिन मुस्लिम धर्मावलम्बीले स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने प्रचलन रहेको छ ।

    नमाज पढेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने गरिन्छ । नेपालमा दरबारमार्गको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदसहितका मस्जिदमा बढी भिड लाग्छ । यो वर्ष भने मस्जिदमा नगई घरमै चाड मनाउन आह्वान गरिएको छ । मुस्लिम आयोगले समेत घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेकोछ हो । यस पर्वका अवसरमा मक्का मदिनामा संसारभरबाट लाखौं धर्मावलम्बी पुग्ने गर्छन् ।

  • स्टार क्रिकेटर सन्दीपलाई बेलायतमा अपमान, १० दिन होटेल क्वारेन्टिन बसेपछि भनियो : भिषा अवैध छ

    स्टार क्रिकेटर सन्दीपलाई बेलायतमा अपमान, १० दिन होटेल क्वारेन्टिन बसेपछि भनियो : भिषा अवैध छ

    काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले बेलायतमा अपमान बेहोर्नु परेको छ । साथै उनले ‘द हन्ड्रेड’ प्रतियोगिता समेत गुमाएका छन् । बेलायतको क्रिकेट बोर्डले उनलाई तत्काल देश छोड्न समेत भनेको छ । यो सन्दीपले कुनै गल्ती गरेका कारण भने होइन । बेलायतले शुरुमा प्रवेश अनुमति दिएर १० दिन होटेल क्वारेन्टिन समेत बसिसकेपछि उनलाई भिषा अवैध भएको भन्ने जानकारी गराइएको छ । तर, यो कसरी भयो भन्ने बारे भने स्पष्ट नभनिएको सन्दीपले सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।

    ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न उनी ९ जुलाईमा बेलायत पुगेका थिए । बेलायत पुग्दा अध्यागमनमा आफुलाई कुनै समस्या नभएको उनले जानकारी गराएका छन् । सामान्यता भिषा अवैध भएमा अध्यागमनले नै रोक्ने गर्छ । त्यसपछि उनी सरकारले व्यवस्थापन गरेको क्वारेन्टाइनमा गएर बसेका थिए । नियमानुसार क्वारेन्टाइन सकिनुभन्दा दुईदिन अघि उनलाई बेलायतको क्रिकेट बोर्डले भिसा बैध नभएको र चाँडोभन्दा चाँडो देश छोड्न भनेको उनले जानकारी गराएका छन् ।

    तर, किन यसो भयो भन्ने बारे भने कसैले पनि जानकारी नगराएको उनको गुनासो छ । यसअघि समेत बेलायतले समयमै भिषा नदिएपछि उनले टी २० ब्लास्ट प्रतियोगिता समेत गुमाएका थिए । एक करोड रुपैयाँ भन्दा बढी मूल्यमा आवद्ध भएका उनी अब प्रतियोगितामा सहभागी नै हुन नपाई घर फर्कनु पर्ने भएको छ ।

    यस्तो छ सन्दीपको स्टाटस

    I am extremely gutted for missing out on The Hundred. I was so looking forward to play for my team Oval Invincibles and followed all the instructions that was given to me by the ECB officials.

    Briefly, when I applied for the Tier 5 visa, I was told that one Certificate of Sponsorship would be enough for my gig at Vitality Blast and The Hundred. Due to COVID-19 situation, there was a delay in my visa and Worcestershire pulled out but it was again communicated to me by officials that as long as I come into the UK before July 10, I would be okay as my COS was still active.

    I came in the UK by July 9, had no issues whatsoever at the immigration and moved into the government managed quarantine facility to complete my quarantine. On July 18, two days before my quarantine completion, I was told by ECB that may visa is not valid and I have to leave the country ASAP. I have been asking what went wrong but apparently no one at the ECB have the correct answer. I can totally understand that things can go south at anytime, however I at least deserve a clear answer on why my valid visa is not valid anymore.

    I left a lot to be the part of this exciting tournament and totally pray and wish the best for all teams out there. I always got love from the lovely people of UK and I would urge ECB to look into the matter so that no one else has to go through this ordeal. I can also feel for my people who were so looking forward to my participation in this amazing tournament. There will be better days ahead.

    #TeamSandeepLamichhane

  • विषाक्त रक्सी पिउँदा बाग्लुङमा चार जनाको मृत्यु

    विषाक्त रक्सी पिउँदा बाग्लुङमा चार जनाको मृत्यु

    बाग्लुङ । विषाक्त रक्सी पिउँदा बाग्लुङमा चार जनाको मृत्यु भएको छ । बाग्लुङ प्रहरीका अनुसार सोमवार बेलुकी विषाक्त रक्सी पिएका ६ मध्ये चार जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा गलकोट नगरपालिका ७ मल्ममा रहेको खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती छन् । उनीहरूको उपचारका क्रममा ज्यान गएको हो । उनीहरूसँगै रक्सी पिएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर छ ।

    उनीहरुको धौलागिरि अस्पतालमा प्राथमिक उपचारपछि गण्डकी अस्पताल पोखरा पठाइएको छ । प्रहरीले यो घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको हो । बाग्लुङमा पहिलो पटक यस प्रकारको घटना भएपछि प्रहरी गम्भीर बनेको छ । प्रहरीले अहिलेसम्म दुई जनालाई पक्राउ गरेको र मजदुरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडासमेत बरामद भएको बताइएको छ ।

  • कक्षा १२ को परीक्षा ३१ साउनबाट

    कक्षा १२ को परीक्षा ३१ साउनबाट

    काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने गरि मिति तय भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाको मिति तय गरेको हो । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउने भएका छन् । यो परीक्षा ९ भदौसम्म चल्ने छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन बिदा दिइने छ । तर, शनिबार भने परीक्षा चल्ने छ । यसअघि परीक्षा जेठ २६ मा तोकिएको थियो ।

    तर, कोरोनाको दोस्रो लहरसँगै परीक्षा स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षाको फाराम भरेका छन् । माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक १०० पूर्णांककै गराउने भएको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै परीक्षा गराउने तयारी गरेको बोर्डको भनाई छ । गतवर्ष भने परीक्षा समय र अंक भार घटाएर परीक्षा लिइएको थियो ।

  • नेपालमा फेरि बढ्यो कोरोना, ३१०८ जनामा संक्रमण पुष्टी, १५९५ जना संक्रमण मुक्त

    नेपालमा फेरि बढ्यो कोरोना, ३१०८ जनामा संक्रमण पुष्टी, १५९५ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१०८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८८३६ पीसीआर परीक्षणमा २२०२ र ४२९९जनाको एन्टिजेन परीक्षणमा ९०६ जना गरी ३१०८ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ । पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ४१९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।