Category: फिचर

  • जनकपुर-जयनगर रेलको परीक्षण हुँदै, ट्र्याक नजिक नबस्न आह्वान

    जनकपुर-जयनगर रेलको परीक्षण हुँदै, ट्र्याक नजिक नबस्न आह्वान

    जनकपुर । आज जनकपुर–जयनगर रेलको रेल्वे ट्र्याकको गति परीक्षण हुने भएकाले ट्र्याक नजिक नबस्न आह्वान गरिएको छ । प्रतिघण्टा १२० किलोमिटरको गतिमा रेलको परीक्षण हुने भएको छ । रेल व्यवसायिक रुपमा सञ्चालनको तयारी अन्तिम चरणमा छ । सोहीक्रममा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्न लागिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

    कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले ट्र्याक नजिक नबस्न र परीक्षणमा सहयोग गर्न स्थानीयलाई आह्वान गरेका छन् । सो क्रममा कुनै क्षति भएमा व्यक्ति स्वयमः जिम्मेवार हुनपर्नेछ । आज परीक्षणका क्रममा रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’को काम गरिनेछ । भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलले ‘ट्र्याक स्पिड’ परीक्षण गर्दैछ ।

    यो रेलमा एक पटकमा एक हजार तीन सय मानिसले यात्रा गर्न सक्छन् । जनकपुर–जयनगर–कुर्थासम्म ३५ किलोमिटर दूरीमा रेल चल्ने छ । यो रेल महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्म बिस्तारको योजना छ ।

    परीक्षणपछि रेल जयनगरबाट जनकपुर आउँदा–जाँदा रेल्वे ट्र्याकमा समस्या नभए जनकपुर–जयनगर रेल्वे ट्र्याक रेल सेवा सञ्चालनका लागि उपयुक्त र सुरक्षित भनी नेपाल रेल्वे कम्पनी लिमिटेडले प्रमाणपत्र पाउने छ । त्यसपछि रेल नियमित संचालनमा आउने छ । आज रेल्वे ट्र्याक वरपर व्यक्ति, पशु चौपाया, साइकल, मोटरसाइकल छाड्दा दूर्घटनाको जोखिम हुन्छ ।

  • पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

    पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक विघटन गरेपछि सर्वोच्च अदालतबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने गरि बोलाइएको छ । यो बैठकमा अब नेकपा एमाले प्रमुख प्रतिपक्षी र अन्य दल सत्तापक्षका रुपमा रहँदैछन् ।

    ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासबाट असार २८ मा परमादेश आएको थियो । परमादेशबाट ओलीको पदसमेत गुमेको छ । संघीय संसद सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लैजाने कार्यक्रम छ । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश ल्याएको थियो ।

    बजेट अध्यादेशसमेत यसमा समावेश छन् । यो अधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुपर्नेछ । संविधानतः उनले नियुक्त भएका एक महिना भित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ । यहाँ उनले विश्वासको मत नपाएमा भने संसद विघटन गर्न सक्ने अधिकार सरकारसँग हुन्छ । यो अवस्थामा मुुलुक निर्वाचनमा जान सक्छ ।

  • कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन

    कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन सामाजिक सञ्जालबाट कोरोना भाइरसको महामारीबारे भइरहेका मिथ्या प्रचारप्रति भड्किएका छन् । अमेरिकामा खोप लगाउन बाँकि मानिसमा मात्र कोरोनाको जोखिम रहेको भएपनि सामाजिक संजालले आतंक फैलाएको भन्दै उनले आपत्ति प्रकट गरेका छन् । उनले कोभिड १९ विरुद्धको मिथ्या सूचनाले मानिसहरूको ज्यान लिइरहेको समेत आरोप लगाए ।

    अमेरिकी संचारमाध्यमहरुका अनुसार उनले फेसबुक सहितका सामाजिक संजालमाथि निसाना साँधेका छन् । खोप र महामारीका सन्दर्भमा गलत सूचना फैलिरहेको बारे पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उनले शुक्रबार यस्तो दावि गरेका हुन् । ह्वाइट हाउसको चिन्ता मिथ्या सूचना नियन्त्रणमा सामाजिक संजालको ससहयोगप्रति रहेको उनको भनाई छ ।

    अमेरिकामा भने अब मृत्यु र सङ्क्रमण दरको जोखिम कोरोना भाइरसका सुरक्षा विधि नअपनाएका मानिसमा मात्र रहेको सरकारी अधिकारीहरुको भनाई छ । अमेरिकामा सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने भनिएको छ । तर, बजारमा भिड बढ्दा जोखिम समेत उत्तिकै बढ्ने चिन्ता अधिकारीहरुमा छ ।

    ह्वाइट हाउसकी प्रवक्ता जेन सकीले समेत फेसबुक र अन्य माध्यमलाई खोपबारे मिथ्या सूचना नियन्त्रण गर्न आह्वान गरेकी थिइन् । राष्ट्रपति र ह्वाइटहाउसको पछिल्लो भनाईबारे फेसबुकले भने स्पष्टिकरण जारी गरि १ करोड ८० लाखभन्दा बढी कोभिडसम्बन्धी मिथ्या सूचना हटाएको बताएको छ ।

    अमेरिकामा ६७.९ प्रतिशतले खोपको पहिलो डोज लगाएका छन् । ५९.२ प्रतिशतले दुई डोज पुरा गरेका छन् । कतिपय मानिस भने अहिले पनि खोपमा विश्वास नभएको भन्दै लगाउन मानिरहेका छैनन् ।

  • अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना

    अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना

    लण्डन । अमेरिकाले अन्तरिक्षमा अन्य मुलुकले गरिरहेका गतिविधिको निगरानी बढाउने भएको छ । बीबीसीका अनुसार अमेरिकाले अन्तरिक्षका वस्तुहरूको निगरानी गर्न बेलायतमा एक ठूलो राडार प्रणाली राख्ने योजना बनाएको छ । अमेरिकाको अन्तरिक्षसम्बन्धी बलले विकास गरिरहेको एउटा विश्वव्यापी प्रणालीले ३६,००० किलोमिटर परसम्मका सम्भावित निशानालाइ पहिचान गर्न सक्ने क्षमताको भएको समाचारमा उल्लेख छ ।

    अमेरिकाले यस्तो प्रणाली टेक्सास र अस्ट्रेलियामा समेत राख्ने योजना बनाएको बीबीसीले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयले नयाँ रडारको क्षमताले अन्तरिक्षलाई अझ बढी सुरक्षित गराउने बताएको छ । यद्दपी यो योजनालाई भने रुस र चिनियाँ गतिविधिको निगरानी गर्नु रहेको अनुमान गरिएको छ । अन्तरिक्षमा भूउपग्रहहरू धेरै हुँदा भिडभाड बढेको साथै शस्त्रको प्रतिस्पर्धा बढिरहेको वैज्ञानिकहरुले दावि गर्छन् ।

    अमेरिका र बेलायत दुबै मुलुक रुस र चीनसँग सशंकित छन् । उनीहरुले भूउपग्रहलाई यी दुई मुलुकले हानि पुर्‍याउन सक्ने हतियार विकास गरिरहेको आरोप समेत लगाएका छन्। गतवर्ष मात्र १,००० भन्दा धेरै नयाँ भूउपग्रह अन्तरिक्षमा पठाइएको थियो ।

  • संसद बैठक अगाडी आइतबार कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने

    संसद बैठक अगाडी आइतबार कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने

    काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । केपी शर्मा ओलीले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनस्र्थापित भएसँगै राष्ट्रपति विद्यादेवि भण्डारीले आइतबारका लागि बैठक बोलाएकी छिन् । उक्त बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । संसद बैठक अगाडी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन् ।

    माओवादी केन्द्रले आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको छ । संसद अधिवेशनको सन्दर्भमा बैठक डाकिएको पार्टीले जनाएको छ । कांग्रेस संसदीय दलको बैठक भने आइतबार दिउँसो २ बजे बस्ने छ । संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बैठक डाकिएको छ । संसद बैठक ४ बजे बोलाइएको छ ।

  • जसपाका चार सांसदले छाडे ठाकुर-महतो गुट

    जसपाका चार सांसदले छाडे ठाकुर-महतो गुट

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले महन्त ठाकुर र राजेन्द्र महतो गुट छाडेका छन् । उनीहरु अब अध्यक्ष उपेन्द्र यादव तथा बाबुराम भट्टराई पक्षमा समावेश भएका छन् । अदालतले संसद विघटनलाई असंवैधानिक भनेसँगै यसअघि ठाकुर र महतो पक्षमा लागेका चार सांसदले कित्ता परिवर्तन गरेका हुन् ।

    शनिबार पार्टी कार्यालय, बालकुमारीमा बसेको संसदीय दलको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका छन् । ठाकुर पक्षका यी नेता शुक्रबार पार्टी कार्यालयमा भएको छलफलमा भने अनुपस्थित भए । अब ३२ सदस्यीय संसदीय दलमा दुवै पक्षको १६, १६ सांसद भएको छ । ठाकुर पक्षका थप केही सांसद यादव पक्षमा आउने दावि नेताहरुले गरेका छन् ।

    यसले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त गर्न अझ सहज हुने छ । महतो र ठाकुर पक्ष भने ओलीको कदमको समर्थन गर्दै सरकारमा सहभागी भएको थियो । तर, उनीहरुको मन्त्री पदलाई अदालतले असंवैधानिक मानेसँगै मन्त्रीपद गुमेको थियो ।

  • प्रदेश २ मा माओवादी केन्द्र सरकारमा गयो

    प्रदेश २ मा माओवादी केन्द्र सरकारमा गयो

    जनकपुर । प्रदेश नं २ मा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र समावेश भएको हो । शनिबार मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

    मधेश भवनमा आयोजित कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ र राज्यमन्त्री कर्णले मुख्यमन्त्री राउतसमक्ष पद तथा गोपनियताको शपथ लिए । माओवादी केन्द्रका सांसदहरुलाई मन्त्री नियुक्त गर्नुअघि दुईमन्त्रीले राजीनामा दिए । जनता समाजवादी पार्टीबाट आन्तरिक मामिलामन्त्री बनेका ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंह कुसवाहले शनिबार राजीनामा दिएका छन् । जसपामा पूर्व राजपा खेमामा एक मन्त्री र तीन राज्यमन्त्रीलाई यसअघि नै बर्खास्त गरिएको थियो । अब प्रदेश २ मा कांग्रेस र माओवादी सत्तारुढ दल बनेका छन् ।

  • कोरोनाबाट थप २१ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९५२७

    कोरोनाबाट थप २१ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९५२७

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा मानिसहरुको ज्यान गएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५२७ पुगेको छ । नेपालमा कुल संक्रमितको १.५ प्रतिशत मानिसको ज्यान गएको छ । नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ । ६ लाख ३० हजार ४०७ जनाले कोरोना जितेका छन् । अब देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ ।

  • नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २१६४ ले जिते

    नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २१६४ ले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आंकडामा उक्त संख्यामा कोरोना पुष्टी भएको छ । आज ६,८५८ जनामा पीसीआर परीक्षण गर्दा १३१० र ३,२०८ जनामा एन्टिजेन परीक्षण गर्दा ५६५ जना गरी १८७५ जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ ।

    आज २१६४ जनाले कोरोना जित्न सफल भएका छन् । अब कोरोना जित्नेको संखया ६ लाख ३० हजार ४०७ जना पुगेको छ । अब देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ । जसमध्ये २३ हजार ४७७ जना होम आइसोलेसनमा र २ हजार ४७५ जना अस्पतालमा उपचाररत छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२८ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९९, ललितपुरमा ७७ र भक्तपुरमा ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस अवधिमा सुनसरीमा १२५, मोरङमा ११५, कास्कीमा १०१, झापामा ६९, मकवानपुरमा ५९, चितवनमा ५४, नवलपरासी पूर्वमा ४४, काभ्रेमा ३७, रामेछापमा २८, रुपन्देहीमा २१, नुवाकोटमा २०, धादिङ र सिन्धुपाल्चोक, बाग्लुङमा १७र१७, दोलखामा १४, स्याङ्जामा १२ जनामा संक्रमण पुष्टि भएको आंकडा छ ।

  • यूरोपमा बाढी : ज्यान गुमाउनेको संख्या १२० भन्दा माथि

    यूरोपमा बाढी : ज्यान गुमाउनेको संख्या १२० भन्दा माथि

    काठमाडौं । यूरोपका विभिन्न मुलुकमा आएको भिषण वर्षा र बाढीका कारण ज्यान गुमाउनेको आंकडा १२० भन्दा माथि पुगेको छ । पश्चिम युरोपका विभिन्न मुलुक बाढीको चपेटामा आएका छन् । ज्यान गुमाउनेमा ठूलो संख्या जर्मनीमा छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहका अनुसार बाढीले पश्चिम र दक्षिण जर्मनीमा दुई गाउँ ध्वस्त बनेका छन् । त्यहाँका सयौँ घर बगेको र अझै सयौँ सर्वसाधारण हराएका छन् । यसले मृतकको संख्या बढ्न सक्ने आंशका छ ।

    बाढीको प्रभाव जर्मनीसँगै बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्ससम्म परेको छ । जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक सम्पर्कमा आएका छैनन् । उनीहरुको खोजि कार्य जारी छ । अधिकारीहरुका अनुसार पछिल्लो एक सय वर्ष यस प्रकारको बाढी त्यहाँ आएको थिएन । जर्मन चान्सलर एन्जेला मर्केलले विनासकारी बाढीबाट भएको क्षति न्यून गर्न, उद्धारमा तिब्रता र रहात बढाउन निर्देशन दिएकी छिन् ।

  • स्वास्थ्य मन्त्रालयले भन्यो : सबैले खोप लगाउन पाइन्छ, पालो नमिच्नुहोस

    स्वास्थ्य मन्त्रालयले भन्यो : सबैले खोप लगाउन पाइन्छ, पालो नमिच्नुहोस

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रमा भएको अत्यधिक भिडभाडप्रति चासो व्यक्त गरेको छ । १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना अनुसार धमाधम खोप आइरहेको भन्दै मन्त्रालयले खोप केन्द्रमा आफ्नो उमेर समूहभन्दा बाहेकमा मानिसलाई भिडभाड नगर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका अनुसार साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने भएको छ ।

    सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोप किनेको हो । जसमध्ये ८ लाख डोज खोप आएपछि सरकारले खोप अभियान चलाएको हो । साउन ६ गतेदेखि थप खोप आउने छ । मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार सबै नेपालीले खोप लगाउन पाउने छन् । उनका अनुसार कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि समेत दोस्रो डोज खोपको जोहो भइसकेको छ । यो खोप छिट्टै नेपाल आउने छ । यो खोप जापानले अनुदानमा दिने बताएके छ ।

  • आगामी तीन दिन ठूलो वर्षाको सम्भावना

    आगामी तीन दिन ठूलो वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा आगामी तीन दिन मनसुनी वायुको प्रभावले ठूलो वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

    सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षा हुने छ । मौसम पूर्वानुमान महाशाखाले यस अवधिमा सचेत रहन भनेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

    पहाडी भू भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत विभागले अनुरोध गरेको छ ।

    आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।

  • बढ्यो चिनियाँ राजदूतको सक्रियता, सत्तारुढ दलका नेतासँग भेट

    बढ्यो चिनियाँ राजदूतको सक्रियता, सत्तारुढ दलका नेतासँग भेट

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । उनले शुक्रबार एकै दिन प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग उनको भेटवार्ता भएको हो । सत्तामा केपी शर्मा ओली हावी भएको समयमा उनी मौन बसेकी थिइन् ।

    पछिल्लो दिनमा चीनले खोपका माध्यमबाट प्रभाव बढाइरहेको छ । भारतले खोप रोकेर चिढाइरहेको समयमा चीनले भने नेपाललाई ठूलो मात्रामा खोप दिइरहेको छ । राजदूत यान्छीसँगको भेटमा प्रधानमन्त्री देउवाले आफू चीनसँगको सम्बन्ध प्रगाढ बनाउनु पर्ने पक्षमा रहेको बताए । चिनियाँ राजदूतले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई थप सहयोग गर्न चीन साथमै रहेको बताइन् । प्रचण्ड र एमाले नेता नेपालसँग चिनियाँ राजदूतले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गरेको बताइएको छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चीन र भारतबाट औपचारिक धारणा भने आइसकेको छैन ।

  • चीनको नेपाललाई सरप्राइज उपहार, थप १६ लाख डोज खोप अनुदान दिने

    चीनको नेपाललाई सरप्राइज उपहार, थप १६ लाख डोज खोप अनुदान दिने

    काठमाडौं । चीनले नेपाललाई सरप्राइज उपहारस्वरुप १६ लाख कोरोना भाइरस विरुद्धको खोप दिने भएको छ । यसअघि १८ लाख डोज खोज अनुदानमा दिइसकेका कारण चीनबाट नेपालले थप अनुदानको अपेक्षा गरेको थिएन । तर, नयाँ सरकार गठन भएसँगै चीनले उदारता देखाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले यस्तो जानकारी गराएकी छन् ।

    चीनबाट नेपालले ४० लाख डोज खोप खरीद समेत गरेको छ । यसमध्ये पहिलो खेप ८ लाख डोज नेपाल आइसकेको छ । प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ राजदूतले कोरोना महामारीविरुद्धको लडाइँमा चीनले नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । चिनियाँ सहयोगप्रति प्रधानमन्त्री देउवाले धन्यवाद ज्ञापन गरेका छन् ।

  • थप २६७६ जनामा कोरोना संक्रमण पुष्टी, १७७५ जना संक्रमण मुक्त

    थप २६७६ जनामा कोरोना संक्रमण पुष्टी, १७७५ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९३६ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९६१३ पीसीआर परीक्षणमा २००६ र ४५६९ जनाको एन्टिजेन परीक्षणमा ९३० जना गरी २९३६ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजार ५७६ पुगेको छ । पछिल्लो २४ घण्टामा १७७५ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख २८ हजार २४३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा४३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ ।

  • ‘शेयर बजार देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकूल बनाइने छ’- अर्थमन्त्री

    ‘शेयर बजार देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकूल बनाइने छ’- अर्थमन्त्री

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकूल बनाइने बताएका छन्। अर्थमन्त्रीमा नियुक्त भएपछि शुक्रवार अर्थमन्त्रालयमा पत्रकारहरुसंग छलफल गर्दै शर्माले शेयर बजारमा देखिएका समस्या समाधान गरेर सर्वसाधारण अनुकूल बनाइने बताएका हुन ।

    शेयर बजार वार्षिक करिब १४ अर्ब राजस्व उठ्ने क्षेत्र भएकाले यसमा आफुले ध्यान पुर्याउने शर्माको भनाई थियो । उनले अर्थतन्त्रको वास्तविक अवस्थालाई जानकारी दिन स्वेतपत्र समेत जारी गर्ने जानकारी दिए ।

    शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट भने संसदमा पेश गर्ने बताए । यद्यपि, आफू अहिलेको समग्र अर्थतन्त्रको अवस्थाबारे भने अध्ययनकै क्रममा रहेको उनले बताए । साथै, उनले अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर छिट्टै स्वेतपत्र ल्याउने घोषणा गरेका छन् ।

  • देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

    देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

    शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले नवनियुक्त प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई संसदमा विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    बैठकले देउवाको विपक्षमा उभिन सांसदहरुलाई निर्देशन दिएको छ । उनले माधव नेपाल समूहका सांसदले विश्वासको मत दिए उनीहरुको व्यक्तिगत निर्णय हुने बताए ।

    ‘अलोकतान्त्रिक र अस्वस्थ ढंगबाट गठित सरकारलाई एमालेको कुनै समर्थन हुनेछैन,’ प्रवक्ता ज्ञवालीले भने ।

  • आजबाट अवैध रुपमा भित्रने मोवाइल नेपालमा नचल्ने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

    आजबाट अवैध रुपमा भित्रने मोवाइल नेपालमा नचल्ने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

    काठमाडौं । आजबाट नेपालमा अवैध रुपमा भित्रने मोवाइल फोन सेट नचल्ने प्रणाली कार्यान्वयनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याएको हो । यो सिस्टम कार्यान्वयनमा आएसँगै बिहीबारसम्म आएका सबै सेट भने संचालनमा आउने छन् । प्राधिकरणका अनुसार देशभर यो प्रणालीले पूर्ण रुपमा काम गर्न सक्ने छैन । तर, शुरुवात गरिएका कारण क्रमशः देशव्यापी बनाइने छ ।

    कर प्रणाली छलेर भित्रिएका, नक्कल गरिएका र चोरीका मोबाइल अब दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने गरि यो प्रणालीले काम गर्नेछ । प्राधिकरणका अनुसार सफ्टवेयरले वैध मोबाइललाई ह्वाइट लिस्ट र अवैधलाई कालोसूचीमा राखिने छ । एमडिएमएसको सफ्टवेयरलाई जीएसएमएको प्रणालीमा ‘लिङ्क’ गरि हेर्नासाथ मोवाइल बैध वा अबैध के हो भन्ने पत्ता लाग्छ । दर्ता नभएका मोबाइल सेट कालोसूचिमा पर्छन् । भन्सार विभागले अब नेपाल भित्रने सबै मोवाइललाई दर्ता गर्नेछ ।

    भन्सार र सेवाप्रदायको पहुँचमा एमडिएमएस भएपछि सहजै अवैध मोबाइल, ब्ल्याक लिस्ट अथवा ह्वाइट लिस्टमा राख्ने काम हुने प्राधिकरणको भनाई छ । बिहीबारसम्म चलिरहेका बैध तथा अबैध सबै मोवाइल सेट भने यथावत चल्छन् । विदेशमा रहेका नेपालीले आफन्तलाई मोबाइल पठाएमा त्यसलाई दर्ता गर्नुपर्छ । त्यसपछि चलाउन पाइन्छ । पहिले नै नेपाल आइसकेका फोन भने बन्द हुने छैनन् । उनीहरुले पनि फोन दर्ता भने गराउनु पर्नेछ । यो प्रणालीले खासगरी भन्सारबाट भित्रने अवैध मोवाइलको व्यापार बन्द हुनेछ ।

  • विश्व स्वास्थ्य संगठनले भन्यो : विश्वभर खतरनाक भेरियन्ट फैलन्छ

    विश्व स्वास्थ्य संगठनले भन्यो : विश्वभर खतरनाक भेरियन्ट फैलन्छ

    काठमाडौं । विश्व स्वास्थ्य संगठनको इमर्जेन्सी कमिटिले विश्वभर कोरोना भाइरसको अझ खतरनाका भेरियन्ट फैलने चेतावनी दिएको छ । बिहीबार डब्यूएचओले यस्तो चेतावनी जारी गरेको हो । यो विश्वभर नै फैलने चेतावनी संगठनको छ । अअिलेसम्मका भेरियट भन्दा यो अझ बढी खतरनाक हुने चेतावनी समेत संगठनको रहेको छ । संगठनले भनेको छ, यो रोक्न समेत कठिन हुनेछ ।

    विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एडहनाम गिब्रयेससले संसारभर कोरोना नियन्त्रणमा आएको गलत बुझाई रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । अहिले केही शान्त भएको देखिए पनि कोरोना अझ बढी संक्रामक भएर आउने उनको भनाई छ । उनले भनेका छन्, कोरोना नियन्त्रण हुने तत्काल कुनै सम्भावना छैन । संगठनले स्वास्थ्य पूर्वाधारमा तयार रहन समेत मुलुकहरुलाई सचेत गराएको छ । धेरैजसो मुलुकमा एकसाथ गम्भीर प्रकृतिका बिरामी फैँलदा त्यसले ठूलो क्षति निम्त्याउने गरेको छ ।

  • जर्मनी र बेल्जियममा बाढीको वितण्डा : कम्तिमा ७० को मृत्यु

    जर्मनी र बेल्जियममा बाढीको वितण्डा : कम्तिमा ७० को मृत्यु

    काठमाडौं । यूरोपका दुई मुलुक जर्मनी र बेल्जियममा बाढीले वितण्डा मच्याएको छ । यहाँ अत्यधिक वर्षापछि आएको बाढीका कारण नदीमा बहाव बढेको र यसले कम्तीमा ७० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । समाचार अनुसार धेरै क्षति जर्मनीमा भएको छ। बेल्जियममा कम्तीमा ११ जनाको मृत्यु भएको खबर छ । दर्जनौं मानिस वेपत्ता छन् ।

    जर्मनीको राइनल्यान्ड पलाटि नट र नर्थ राइन वेस्ट फेलिया प्रान्तले बाढीको सबैभन्दा भयावह मार खेप्नुपरेको समाचारमा उल्लेख छ । नेदरल्याण्ड्समा समेत प्रभाव परेको छ। शुक्रवार उक्त क्षेत्रमा झन् धेरै पानी पर्ने पूर्वानुमान गरिएको सरकारी संयन्त्रले सूचित गरेका छन् । यूरोपमा आएको विनासकारी बाढीलाई भने जलवायु परिवर्तनका कारण भएको भनिएको छ ।

    हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपद्को संज्ञा दिएको समेत बीबीसीले लेखेको छ । जर्मनीका प्रभावित क्षेत्रहरूमा फसेकाको उद्धार गर्न प्रहरीको हेलिकोप्टर र सयौँ सेना परिचालन गरिएको छ।

  • आज एमालेको स्थायी कमिटी बैठक, सरकार परिवर्तनबारे आधिकारिक धारणा आउने

    आज एमालेको स्थायी कमिटी बैठक, सरकार परिवर्तनबारे आधिकारिक धारणा आउने

    काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक बस्दैछ । बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा बिहान ११ बजे बोलाइएको बैठकमा माधव कुमार नेपाल पक्षका नेतालाई समेत निम्ता छ । तर, उनीहरु जाने नजाने निश्चित छैन । एमाले नेताहरुका अनुसार उनीहरु आए पनि वा नआएपछि आजको बैठक भने बस्नेछ ।

    आजको बैठकमा प्रतिनिधि सभा विघटन र सर्वोच्च अदालतको फैसलाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने भएको छ । सोहीकारण समेत माधव नेपाल पक्ष सहभागी हुने सम्भावना कम छ । किनकी ओली पक्षले यो फैसलालाई बाध्यकारी रुपमा मात्र मान्दै गलत भनेको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले ८ जेठमा दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटनलाई रद्द गरि अदालतले ब्यूताइदिएको छ । साथै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश गरेको छ । आजको बैठकमा पार्टीको विवाद समाधान कार्यदलले तयार गरेको सहमतिको प्रस्तावलाई कार्यान्वयनमा लैजाने बारे समेत छलफल हुनेछ । स्थायी कमिटी बैठकपछि दिउँसो ३ बजे एमाले संसदीय दलको बैठक बोलाइएको छ ।

  • आज साउने संक्रान्ती, शुरु भए चाडबाड

    आज साउने संक्रान्ती, शुरु भए चाडबाड

    काठमाडौं । नेपालको मूख्य अनाज धान रोप्ने काम करीव सम्पन्न भएको छ । यससँगै अब हिन्दु धर्मावलम्बीका चाडबाडहरु शुरु हुनेछन् । सोही क्रममा आज देश तथा विदेशमा रहेका नेपालीले साउने संक्रान्ती पर्व मनाउँदैछन् । आज स्नान, दान गर्ने र आफन्त जम्मा भई मिठो मसिनो खाई यो पर्व मनाइन्छ । साउने संक्रान्तिको अवसर पारि कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत घोषणा गरेको छ ।

    सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज हो । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिंड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुने गर्छ । माघ १ गतेबाट भने उत्तरायण शुरु हुन्छ । त्यसबेला भने चाडबाड सकिएर मानिस काममा बढी केन्द्रित हुन्छन् । आज लुतो फाल्ने दिनका रुपमा समेत महत्व छ ।

    कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने प्रचलनलाई लुतो फाल्ने भनिएको हो । साउनमा महिलाले हरियो, पोते, मेहन्दी, चुरालगायत हरियो कपडा लगाउँछन् । भगवान शिवको ब्रत बस्ने गर्छन् । साउनका हरेक सोमबार शिवको सोमबार मानिन्छ । सोहीकारण शिवालयमा ठूलो भिड लाग्छ ।

  • प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्ने

    प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्ने

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दैछन् । बिहान १० बजेको साइत हेरेर उनी बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सर्न लागेका हुन् । उनी गत मंगलबार प्रधानमन्त्री नियुक्त भई सोही दिन सपथ लिएका थिए । त्यसपछि उनी मध्यरातसम्म कार्यभार सम्हालेर निजी निवास बुढानीलकण्ठ पुगेका थिए ।

    प्रधानमन्त्रीले नियमित कामकाज भने सिंहदरवारस्थित कार्यालयबाटै गरिरहेका छन् । यसअघि ओलीले सबै काम बालुवाटारबाट गर्दा आलोचित बनेका थिए । देउवाले भने साउने संक्रान्तिको शुभसाइत पारेर सरकारी निवासमा सर्न लागेका हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए ।

  • टोकियो ओलम्पिकमा जाने नेपाली टोलीको राष्ट्रपतिबाट बिदाई

    टोकियो ओलम्पिकमा जाने नेपाली टोलीको राष्ट्रपतिबाट बिदाई

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले टोकियो ओलम्पिकमा भाग लिन खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई बिदाई गरेकी छिन् । शीतल निवासमा बिहीबार राष्ट्रपति भण्डारीले जापानमा आयोजना हुने ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुने टोलीलाई सफलताको शुभकामना समेत दिइन् । ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा आयोजना हुने छ ।

    ओलम्पिकमा सहभागी हुन नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षकसहित २६ सदस्यीय टोली टोकियो जाने निश्चित भएको छ । नेपालबाट पौडीका दुई, एथ्लेटिक्स, सुटिङ र जुडोका एक, एक खेलाडी ओलम्पिकमा भाग लिन जादैछन् । पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स), सुटिङकी कल्पना परियार, जुडोका सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने छन् ।

    प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् । गौरिका सिंह र एलेक्जेन्डर शाहले ओलम्पिकको मार्चपासमा नेपालको झण्डा संयुक्त रुपमा बोक्नेछन् । गौरिका र एलेक्स भने अहिले जापानमै छन् ।

  • साउन ३ गते संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान

    साउन ३ गते संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान

    काठमाडौं । सरकारले संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन साउन ३ गते आइतबार अपरान्ह ४ बजे आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

    त्यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र पदाधिकारीको कार्यवधि एक बर्ष थप गर्ने निर्णय पनि बैठकले गरेको छ।

  • उपत्यकामा १० दिन निषेधाज्ञा थपियो, के–के सञ्चालन हुन्छ ?

    उपत्यकामा १० दिन निषेधाज्ञा थपियो, के–के सञ्चालन हुन्छ ?

    काठमाडौं । काठमाडौं उपत्यकामा फेरि १० निषेधाज्ञा थपिएको छ । विहिबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको छ।

    हाल सञ्चालनमा रहेका पसलहरु साँझ ७ बजेसम्म खोल्न दिने निर्णय भएको भएको छ । मनोरञ्जन स्थल, सैलून, ब्युटीपार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय र चिडियाखाना अझै सञ्चालन गर्न पाइने छैन।

    विभिन्न प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ ।

    यस्तै, खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न/गराउन पाइने छैन् ।

    विवाह, ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्नरगराउन, पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाउने, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठन-पाठन गर्न नपाउने उललेख गरिएको छ ।

  • नेपालमा थप २६७६ जनामा कोरोना संक्रमण पुष्टी, ३३ जना संक्रमितको मृत्यु

    नेपालमा थप २६७६ जनामा कोरोना संक्रमण पुष्टी, ३३ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६६७ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ जनाको एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजार ५७० पुगेको छ । पछिल्लो २४ घण्टामा १७५७ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ । पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको छ ।

  • लामो दूरीका बस चलाउने तयारी

    लामो दूरीका बस चलाउने तयारी

    काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै अहिले लामो दूरीमा सार्वजनिक यातायात चल्न सकेको छैन । जसले र्गा सर्वसाधारण निजी सवारीमा महंगो भाडा तिरेर यात्रा गर्न बाध्य छन् । सरकारले अब सार्वजनिक बसहरु लामो दूरीमा समेत चलाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने र लामो दूरीको यातायात खुला गर्ने विषयमा सम्भवतः आजै निर्णय आउने तयारी छ ।

    आज दिउँसो १ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । यो बैठकले यातायात खुला गर्ने बारे महत्वपूर्ण निर्णय गर्न सक्ने सम्भावना छ । सम्पूर्ण हवाइ उडान खुलेको अवस्थामा सडक यातायात बन्द गर्न नहुने तर्क आएको छ । यातायात व्यवसायीले समेत यातयात खोल्न माग गरेका छन् । निषेधाज्ञा निकै खुकुलो बनेको छ । सोहीकारण पछिल्लो दिनमा संक्रमणको दर भने बढेको छ । तर, खोप अभियानसमेत जारी रहेका कारण अर्थतन्त्र चलायमान बनाउनु पर्ने माग उठिरहेको छ ।

  • अफगानिस्तानमा तालिवान राज : पुरुषले दारी नकाट्नु, महिला-पूरुषसँगै बजार नजानु

    अफगानिस्तानमा तालिवान राज : पुरुषले दारी नकाट्नु, महिला-पूरुषसँगै बजार नजानु

    काबुल । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सुरक्षा फौज फिर्ता हुने क्रमसँगै देशभर तालिवानले कब्जा जमाइरहेको छ । आफ्नो कब्जा जमाएको भेगमा तालिवानले आफ्नो नियमहरु समेत जारी गर्न थालेको छ । समाचार एजेंसी एएफपीलाई उदृत गर्दै संचारमाध्यमहरुले जनाए अनसार उत्तरी अफगानिस्तानको एक सुदूर क्षेत्रमा कब्जा जमाएसँगै कट्टरपन्थी इस्लामिक संगठन तालिवानले आदेश जारी गरेको छ ।

    जसमा महिलालाई अब पुरुषको साथमा बजार जान रोक लगाइएको छ । पुरुषलाई समेत अब दारी नकाट्न आदेश जारी गरिएको छ । पुरुषलाई धुम्रपान समेत नगर्न भनिएको छ । समाचार एजेन्सीले यसको जानकारी स्थानीयबासीसँगको कुराकानीमा आधारित रहेर बनाएको हो । तालिवानले स्थानीय प्रशासनलाई पत्र लेख्दै स्तो आदेश नमान्नेमाथि कारवाही गर्न समेत भनेको छ ।

    नेटो सैनिकोको फिर्तीसँगै अफगानिस्तानमा तालिवानको गतिविधि बढेको हो । केही दिन अगाडी शेर खाँ बान्देर क्षेत्रमा महिलालाई घर बाहिर ननिस्कन आदेश जारी भएको थियो । यसअघि विभिन्न पेशा व्यवसाय गर्ने महिलाले तालिवानको यो आदेशसँगै काम तथा रोजगारी गुमाउनु परेको छ । तालिवानले लगाएको यो नियम इश्लामिक रुढिवादी कानून अनुसारको हो ।

  • अफगानिस्तानमा अमेरिकी फौजको सहयोग गरेका दोभासेलाई उद्धार गरिँदै

    अफगानिस्तानमा अमेरिकी फौजको सहयोग गरेका दोभासेलाई उद्धार गरिँदै

    काबुल । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सैन्य फौज फिर्ता भएसँगै अधिकांश भूभाग तालिवानले कब्जा गरिरहेको छ । यस अवस्थामा अमेरिकी र नेटो सुरक्षा फौजलाई भाषाको अनुवादमा सहयोग गरेका अफगान दोभासेमाथि समेत जोखिम बढेको छ । सोहीकारण उनीहरूको अमेरिकाले उद्धार गर्ने भएको छ । अपरेसन एलाइज रिफ्युजी जुलाई महिनाको अन्त्यमा सुरु हुने ह्वाइट हाउसलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ तारिखसम्ममा आफ्ना सेना फिर्ता लिने समय सीमा तोकेसँगै ह्वाइट हाउसले पछिल्लो तयारी गरेको हो। उनले ती व्यक्तिहरु बहादुर भएको बताएकी छिन् । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले पत्रकार सम्मेलनका दौरान यस्तो जानकारी गराएकी हुन् ।

    बीबीसीका अनुसार सुरुवाती चरणमा झन्डै २,५०० जनालाई उद्धार गरिने र उनीहरूको भिसासम्बन्धी कामहरू भइरहँदा उनीहरूलाई अमेरिकामै वा अन्य कुनै राष्ट्रमा अमेरिकी सेनासँगै राखिने भएको छ । अहिले तालिवानले इरान, ताजिकिस्तान र तुर्केमेनिस्तानको सीमा नाकाका सबै चौकी कब्जा गरिसकेको छ ।