Category: फिचर

  • कोरोना नियन्त्रणमा भइरहेका कामबारे नवनियुक्त प्रधानमन्त्रीले लिए जानकारी

    कोरोना नियन्त्रणमा भइरहेका कामबारे नवनियुक्त प्रधानमन्त्रीले लिए जानकारी

    काठमाडौं । कारोना भाइरसको रोकथाम र नियन्त्रणमा भइरहेका प्रयासबारे नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले जानकारी लिएका छन् । बुधबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक डाक्दै उनले कोरोना महामारी नियन्त्रणमा लिन अहिलेसम्म भएका र भइरहेका कामबारे जानकारी लिएका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा केन्द्रिय हुन समेत निर्देशन दिए ।

    उनले सामाजिक संजालबाट यसबारे जानकारी गराएका छन् । उनले भनेका छन्, ‘कोभिड १९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका काम कारवाहीका विषयमा कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग जानकारी लिएको छु ।’ आफुले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको समेत बताएका छन् ।

  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भाउ बढेपछि विद्यार्थी संगठनहरु संयुक्त आन्दोलनमा उत्रिएका थिए । त्यसपछि संगठन र निगमसँगको वार्तापछि मुल्य घटाइएको निगमले जनाएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलनको घोषणा गरेका थिए ।

    निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको छ । अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले निगमको लागत बढी रहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यता रहेको समेत बताएको छ ।

  • बुधबारका दुई चर्चित भेट, देउवा-नेपाल र प्रचण्ड-विप्लव

    बुधबारका दुई चर्चित भेट, देउवा-नेपाल र प्रचण्ड-विप्लव

    काठमाडौं । बुधबार नेपालको राजनीतिमा अर्थपूर्ण दुई भेट भएका छन् । आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा उनको कोटेश्वरस्थित निवासमा पुगेका छन् । सामान्यतया प्रधानमन्त्रीसँग अन्य नेताको भेट सरकारी निवास, प्रधानमन्त्री कार्यालय वा प्रधानमन्त्रीको निजी निवासमा हुने गर्छ ।

    अझ केपी शर्मा ओलीको कार्यकालको लामो समय त ओली बालुवाटारबाट कतै निस्किएका थिएनन् । तर, आफ्नो सरकार बनाउन निर्णायक भूमिका खेलेका माधव कुमार नेपाललाई भने देउवाले उनकै निवासमा पुगी भेट गरेका छन् । नेपालको निम्तोमा प्रधानमन्त्री देउवा नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासहित नेपाल निवास पुगेका हुन् ।


    उनीहरूबीच करिब एक घन्टा कुराकानी भएको छ । भेटमा सरकार सञ्चालन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । अब देउवाको ध्यान एक महिना भित्र संसदबाट विश्वासको मत लिनुमा हुनेछ । त्यसका लागि पुनः उनलाई एमाले नेता माधव कुमार नेपाल र उनको समूहको साथ चाहिन्छ । यता नेपाल नेपालको गतिविधिलाई भने एमाले अध्यक्ष ओलीले अस्वभाविक भन्दै अब एमालेमा ढोका बन्द हुने चेतावनी दिएका छन् ।


    उता, आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । २१ फागुन २०७७ मा सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लव पार्टी नेता धर्मेन्द्र बास्तोलासँगै प्रचण्ड निवास खुमलटार पुगेका हुन् । प्रचण्डसँग छुट्टिएर नयाँ पार्टी बनाई भूमिगत जिवन बिताएका विप्लवले २०७१ सालपछि पहिलो पटक आफ्ना पूर्वसुप्रिमोसँग भेटेका हुन् ।

    अहिले विप्लव समेत शान्तिपूर्ण राजनीतिमा फर्किएका छन् । दुई नेताबीचको भेटमा विप्लवले एमाले अध्यक्ष ओलीको समयमा विप्लवसँग भएका सहमतिको कार्यान्वयनबारे चासो राखेका थिए । त्यो सम्झौता ओली व्यक्तिसँग नभई सरकारसँग भएको भन्दै कार्यान्वयनमा प्राथमिकता दिनुपर्ने भनाई उनले प्रचण्डसँग राखेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि अहिले परिस्थिति फेरिएको छ । तर, राजनीतिको मियो भने प्रचण्ड छन् । सोहीकारण आज उनीसँगको विप्लवको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • पोखराको पर्यटकीय ब्राण्ड नेम ‘पोखरा, पियोर एज प्याराडाइज’

    पोखराको पर्यटकीय ब्राण्ड नेम ‘पोखरा, पियोर एज प्याराडाइज’

    काठमाडौं । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले नेपालको सबैभन्दा चर्चित गन्तव्य पोखराको पर्यटकीय ब्रान्ड नाम तय गरेको छ । यसअघि प्याराडाइज पोखराको नामबाट चिनिएको पोखरालाई अब ‘पोखरा, पियोर एज प्याराडाइज’ भनिने छ । सोही अनुसार प्रचार सामग्रीमा पोखरालाई चिनाइने भएको छ ।

    नेपालका विभिन्न पर्यटीय गन्तव्यहरुलाई ब्राण्डिङ गर्दै लैजाने योजना अनुरुप बोर्डले पोखराको पनि ब्राण्ड बनाएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई उदृत गर्दै पर्यटन बोर्डले जनाएको छ । उनले गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्राण्डिङ आवश्यकता महशुस गरी ब्राण्डिङको शुरुवात गरिएको बताए । यस्तो ब्राण्डिङले पोखरालाई थप आकर्षक गन्तव्य बनाई राष्ट्रिय(अन्तर्राष्ट्रिय रूपमा चिनाउन थप बल पुग्ने उनको भनाइ छ । बोर्डले यसको शुरुवात गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको थियो ।

    ब्राण्ड तयार गर्ने विज्ञ र्फमको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय ब्रान्डलाई पोखराका सरोकारवालाहरु माझ विभिन्न चरणमा प्रस्तुत गरि उनीहरुबाट राय तथा सुझावहरु संकलन गरी नयाँ पर्यटकीय ब्रान्डलाई अन्तिम रुप दिइएको बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले जानकारी दिए ।

    कोभिड १९ ले अत्यन्त प्रभावित भएको नेपालको पर्यटनलाई प्रभाव कम भएपछि पोखराको नयाँ पर्यटकीय ब्रान्डलाई आन्तरिक तथा बाह्रय पर्यटन बजारमा नयाँ उर्जाका साथ प्रवर्द्धन गर्नका लागि सरकारी तथा निजी क्षेत्र, संचारकर्मीहरु लगायतका सबै सरोकारवालाहरुको साथ मिल्ने नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशले अपेक्षा राखेको समेत उनले बताए ।

  • कोरोना खोप किन्न अर्थले दियो ५ अर्ब बजेट सहमति

    कोरोना खोप किन्न अर्थले दियो ५ अर्ब बजेट सहमति

    काठमाडौं । अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा ५ अर्ब रुपैयाँ बजेट सहमति प्रदान गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । उनले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट सहमति अनुसार फाइल सदर गरेका हुन् ।

    आजै अर्थले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तह स्तरका स्वास्थ्य संस्थालाई समेत बजेट स्वीकृत गरेको छ । स्वास्थ्यबाट आईसीयू, एचडीयू तथा भेन्टिलेटर खरीद भई भुक्तानीका लागि माग आएको ९६ करोड १२ लाख रुपैयाँ उपलब्ध गराउने सम्बन्धी फाइल समेत सदर भएको छ । प्रादेशिक र स्थानीय अस्पतालाई यसअघि सहमति दिए अनुसार ५२ करोड ४६ लाख रुपैयाँ उपलब्ध गराउन समेत अर्थले फाइल सदर गरेको छ ।

    कोभिड सम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोधभर्ना र जोखिमभत्ता समेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जाने गरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइल समेत अर्थमन्त्री शर्माले सदर गरेको उनको सचिवालयले जनाएको छ ।

  • नेपालमा थप २९०५ जनामा कोरोना संक्रमण पुष्टी, १८ जना संक्रमितको मृत्यु

    नेपालमा थप २९०५ जनामा कोरोना संक्रमण पुष्टी, १८ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९०५ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८११८ पीसीआर परीक्षणमा २०१० र ४९१६ जनाको एन्टिजेन परीक्षणमा ८९५ जना गरी २९०५ जनामा संक्रमण पुष्टी भएको हो ।

    आज देशभर एक हजार ६०६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको छ।

    देशभर २६ हजार ६४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • नयाँ अर्थमन्त्रीलाई सेयर बजारले देखायो हरियो झन्डा

    नयाँ अर्थमन्त्रीलाई सेयर बजारले देखायो हरियो झन्डा

    काठमाडौं । नयाँ अर्थमन्त्रीलाई सेयर बजारले हरियो झन्डा देखाएर स्वागत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेको पहिलो दिन बुधबार सेयर बजारमा ठूलो उत्साह नदेखिए पनि झिनो अंकले बढेर बन्द भएको हो ।

    सूचकसँगै कारोबार रकममा भने सुधार आउन सकेन । यसअघिका दिनहरुमा जस्तै साढे ५ अर्ब हाराहारीमा कारोबार भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से १.०१ अंकले बढेर २८७२.०५ विन्दुमा पुगेको छ । आज २१४ कम्पनीको ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ रुपैयाँ बराबरको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ साूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.७१ प्रतिशतले बढेको छ भने फाइनान्स समूह पनि १.४८ प्रतिशतले बढेको छ ।

    आज कारोबारमा आएका २१४ कम्पनीमध्ये ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको मूल्यमा गिरावट आएको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज गोर्खा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे २९ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा छिमेक लघुवित्त २२ करोड र हिमालयन डिस्ट्रलरीको साढे १९ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    बढ्दो बजारमा आज हिमालयन पार्टनर पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.१० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्स र कालिका पावरको ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    यसैगरी, रसुवागढी, साञ्जेन हाइड्रोपावर, ङादी पावर, मल्टिप्रपोज फाइनान्स, सिनर्जी पावर र रैराङ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशभन्दा धेरैले बढेको छ । यस्तै, हिमाल दोलखा, रिडी, सिंगटी हाइड्रोपावर, युनिभर्सल पावर, सेन्टर फाइनान्स र माउन्टेन हाइड्रोको सेयर मूल्य ४ प्रतिशभन्दा धेरैले बढेको छ ।

    यसैगरी, एनआइसी एशिया बैंक डिबेञ्चर, कृषि विकास बैंक डिबेञ्चर, सिद्धार्थ बैंक डिबेञ्चर, रिलायन्स फाइनान्स, नेपाल बंगलादेश बैंक, छ्याङ्दी हाइड्रोपावर, जानकी फाइनान्सको सेयर मूल्य ५ प्रतिशभन्दा धेरैले बढेको छ ।

    बढ्दो बजारमा आज नबिल ब्यालेन्स फण्डको सेयर मूल्य सबैभन्दा धेरै २.८३ प्रतिशतले घटेको छ ।

  • जाँदाजाँदै ओली सरकारको उपहार, गाडी भाडा २८ प्रतिशतसम्म वृद्धि

    जाँदाजाँदै ओली सरकारको उपहार, गाडी भाडा २८ प्रतिशतसम्म वृद्धि

    काठमाडौं । जाँदाजाँदै निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ ।

    असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर २८ प्रतिशतसम्म वृद्धि गरेको हो ।

    सरकारले पेट्रोलियम पदार्थ र गाडीका पार्टर्पूााको मूल्यवृद्धिलाई आधार बनाएर २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

    यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईको बाटोमा गुड्ने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

    बढेको भाडा अन्तर प्रदेशमा संचालन हुने सवारी साधनमा असार २९ गतेदेखि लागू हुने गरी वृद्धि गरिएको विभागले जनाएको छ ।

  • कालीगण्डकी डाइभर्सन आयोजनाको कामरोक्न सर्वोच्चको अन्तरिम आदेश

    कालीगण्डकी डाइभर्सन आयोजनाको कामरोक्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको छ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्तरण (डाइभर्सन) गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक वहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनै काम नगर्न नगराउन अन्तरिम आदेश दिएको हो।

    सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन लागेपछि वातावरण संरक्षणकर्मी र कानुन व्यवसायीले रिट दायर गरेका थिए। उक्त रिटमाथि मंगलबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकाले यो रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्म कालीगण्डकीको बहाव रोक्ने र पर्यावरण प्रतिकुल हुने गरी काम नगर्न अन्तरिम आदेश दिएको हो।

    कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्त्वको देखिएकाले प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त नदीको प्राकृतिक बहावलाई पथान्तरण गरी रिजर्भवायल बनाउने, प्रदुषण गर्ने, नदीजन्य पदार्थहरू निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनाश गर्ने लगायत प्रकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्यहरू नगर्नू, नगराउनू, यथास्थितिमा राख्नू,’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ। साथै सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ।

  • ‘माधवको गद्दारीको कारण कहिँ नभएको जात्रा भयो, अब कुनै पनि हालतमा स्वीकार गरिन्न’

    ‘माधवको गद्दारीको कारण कहिँ नभएको जात्रा भयो, अब कुनै पनि हालतमा स्वीकार गरिन्न’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई स्वीकार नगर्ने बताएका छन् ।

    बुधबार बालुवाटारबाट बालकोट पुगेका अध्यक्ष ओलीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै विपक्षीलाई प्रधानमन्त्री बनाउन जाने नेपाललाई पार्टीमा स्वीकार नगर्ने बताएका हुन् ।

    कार्यकर्तालाई सम्बोधन गर्दै अहिलेको अवस्था नेता नेपालको गद्दारीकै कारण आएको आरोप लगाए । उनले भने, ‘माधवकुमार नेपाल गद्दार हुन्। उनकै कारण अहिलेको अवस्था आएको हो।

    नेपालको सर्वोच्च अदालतमा कहिँ नभएको जात्रा भयो। मलाई जनमतले होइन अदालतमा मुद्दा हालेर निकालियो। जालझेर गरेर निकालियो। मर्न परे पनि शानले मर्छौँ।’

  • कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर

    कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि म्याद नबुझी फरार रहेका गच्छदार बुधबार बिहान विशेष अदालतमा हाजिर भएका हुन्।

    बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकणरमा मुछिएका गच्छदार फरार थिए।

    अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै विशेष अदालतमा हाजिर भएका छन् ।

    अहिले गच्छदारलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्ने भन्ने सम्बन्धमा थुनछेक बहस भैरहेको छ ।

    गच्छेदारसँगै पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई पनि मुद्दा दायर गरिएको थियो । श्रेष्ठ ५ हजार रुपैयाँ धरौटीमा छुनेका छन् भने जोशीलाई साधारण तारेखमा अदालतले छाडेको छ ।

  • दक्षिण अफ्रिकामा भड्कियो हिंसा, कम्तिमा ७२ को मृत्यु

    दक्षिण अफ्रिकामा भड्कियो हिंसा, कम्तिमा ७२ को मृत्यु

    दक्षिण अफ्रिकामा आन्दोलन चर्किएसँगै भड्किएको हिंसामा कम्तिमा ७२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै दक्षिण अफ्रिकामा हिंसा शुरु भएको हो । सोमवार राति सोवेटोस्थित एक सपिङ सेन्टरमा लुटपाट मच्चिएसँगै भएको भाग दौडमा कम्तिमा १० जना मारिएसँगै मर्नेको संख्या आकासिएको हो ।

    तल्लो तलामा रहेका पसलहरूमा आगजनी गरिएसँगै डर्बनस्थित एक भवनबाट बच्चालाई फ्याँक्दै गरिएको दृश्य बीबीसीले कैद गरेको समेत बताइएको छ । प्रहरीले परिस्थिती सामान्य बनाउन नसकेपछि दक्षिण अफ्रिकामा सेना परिचालन गर्नुपरेको छ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले गरे प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । दक्षिण अफ्रिकी प्रहरीका अनुसार १,२३४ जना पक्राउ परिसकेका छन् ।


    राष्ट्रपति सिरिल रामापोसाले दक्षिण अफ्रिकामा सन् १९९० को दशक यता देखिएको अप्रिय हिंसाका रूपमा पछिल्लो घटना भएको बताएका छन् । लुटपाटका घटना जारी रहे प्रदर्शन भइरहेका क्षेत्रहरूमा खाद्य सामाग्रीहरू सकिन सक्ने चेतावनी मन्त्रीहरूले दिएका छन् । पूर्वाराष्ट्रपति जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न आदेश दिइएको थियो । उनले आदेश नमानेपछि १५ महिना लामो जेल सजाय सुनाइएको छ ।

  • टोकियो ओलम्पिकमा ५ जना नेपाली खेलाडी भिड्ने, को को हुन ?

    टोकियो ओलम्पिकमा ५ जना नेपाली खेलाडी भिड्ने, को को हुन ?

    काठमाडौं । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिने निश्चित भएको छ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, ४ प्रशिक्षक र अन्य पदाधिकारी गरि कुल २६ सदस्यीय टोली ओलम्पिकमा भाग लिन जाने छ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टोली सहभागी हुने निश्चित भएको जानकारी गराएको छ ।

    कमिटीका अनुसार नेपालबाट पौडीबाट गौरिका सिंह, एलेक्जान्डर ग्याडिगाड शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् ।

    टोकियो ओलम्पिकमा नेपालको झण्डा भने पौडीकी गौरिका सिंहले बोक्नेछिन् । टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश कुमार सिलवाल रहने छन् । टोकियो ओलम्पिक २०२०, सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिक मै भाग लिएको थियो ।

  • कोरोना प्रभावित अर्थतन्त्र उकास्न एक साता भित्रै विशेष राहत प्याकेज

    कोरोना प्रभावित अर्थतन्त्र उकास्न एक साता भित्रै विशेष राहत प्याकेज

    काठमाडौं । सरकारले कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न एक साताभित्रै विशेष राहत प्याकेज ल्याउने भएको छ । मंगलबार राती बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । ओली सरकारले कोरोना महामारी र अर्थतन्त्रमा परेको प्रभावलाई पूर्ण वेवास्ता गरेको थियो । देउवा नेतृत्वको सरकारले भने यसमा मल्हम लगाउने निर्णय गरेको हो ।

    सरकारले ओली सरकारको पालामा कोरोना महामारीका नाममा भएको खर्चको विवरण समेत एक साता भित्रै सार्वजनिक गर्ने भएको छ । यसबीचमा विकास निर्माणको कामलाई तीव्रता दिने, आर्थिक स्रोतको अभाव हुन नदिने, राष्ट्रिय हितलाई सर्वोपरी राखी छिमेकी मित्रराष्ट्र लगायत सबै मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको सम्बन्ध र सहकार्यलाई थप सदृढ बनाउँदै जाने निर्णय समेत गरेको छ ।

    परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् तथा यसका विभिन्न समितिमा प्रक्रियामा रहेका सम्पूर्ण प्रस्ताव समेत अब सम्बन्धित मन्त्रालयमा फिर्ता जाने छन् ।

  • ओलीले बालुवाटार छाड्दै, यूथफोर्सले बालकोटसम्म स्कर्टिङ गर्ने

    ओलीले बालुवाटार छाड्दै, यूथफोर्सले बालकोटसम्म स्कर्टिङ गर्ने

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार अपरान्ह सरकारी निवास बालुवाटार छाड्दैछन् । त्यसपछि उनी निजी निवास बालकोटमा रहनेछन् । उनले बिहान ११ बजे सरकारी निवास छाड्ने योजना छ । प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार सर्ने समय भने तय भइसकेको छैन ।

    देउवा मंगलबारे राती सपथग्रहण, पदभार ग्रहण र मन्त्रिपरिषद् बैठक सकेर निजी निवास बूढानिलकण्ठ फर्केका छन् । उता, ओलीलाई निजी निवास फर्काउने क्रममा भने एमालेको भातृ संगठन युथफोर्सले आज काठमाडौंमा तामझाम देखाउने भएको छ ।

    ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर पुर्‍याउने तयारी गरेको हो । यो कामको नेतृत्व भक्तपुरका सांसद महेश बस्नेतले गर्नेछन् । ओलीलाई दुई हजार गाडी र तीन हजार मोटरसाइकलको लावालस्करको बीचमा राखेर बालुवाटारबाट बालकोट पुर्याइने भएको छ ।

  • देउवा सरकारको पहिलो निर्णय, चैतसम्म सबै नेपालीलाई खोप

    देउवा सरकारको पहिलो निर्णय, चैतसम्म सबै नेपालीलाई खोप

    काठमाडौं । शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले आगामी चैतभित्र सबै नागरिकलाई खोप पुर्याउने निर्णय गरेको छ । यो नयाँ सरकारको पहिलो निर्णय हो । मंगलबार राती सपथग्रहणपछि सिंहदरबार पुगी प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेका थिए । त्यसपछि बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र चैत मशान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको हो । बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई दिएको छ । बैठकले कोरोनाविरुद्ध अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।

    कोरोनाविरुद्ध अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता उपलब्ध गराउन सुरु गर्ने निर्णय समेत बैठकले गरेको छ । मन्त्रिपरिषद् बैठकले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शिघ्र पुनरुत्थान गर्ने विषय अब सरकारको प्राथमिकतामा रहने बताएको छ । स्थानीय तहको निर्वाचन समेत सरकारको प्राथमिकतामा रहने भएको छ ।

  • देउवा सरकारमा को को बने मन्त्री ?

    देउवा सरकारमा को को बने मन्त्री ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकको नेतृत्व गर्न पाँचौ पटक नियुक्त भएका छन् । उनले मंगलबार साँझ राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ ग्रहण गरे । यससँगै उनले आजै ५ सदस्यीय मन्त्रिमण्डल समेत बनाए । जसमा नेपाली कांग्रेसका दुई र माओवादी केन्द्रका दुई नेताले मन्त्रिका रुपमा सपथ लिए ।

    देउवाले बालकृष्ण खाँडलाई गृहमन्त्रीको जिम्मेवारी दिएका छन् । उनी देउवाका विश्वास मात्र मानिन्छन् । कांग्रेस संसदीय दलको प्रमुख सचेतक खाँड यसअघि प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्री थिए ।

    कांग्रेसबाट मन्त्री बन्ने दोस्रो नेता हुन् ज्ञानेन्द्रबहादुर कार्की । उनी कानून मन्त्रि बनेका छन् । उनी यसअघि अर्थमन्त्री बनिसकेका छन् । उनकै पालामा एमसीसी सम्झौतामा भएको हो ।

    नेकपा माओवादी केन्द्रबाट नेता जनार्दन शर्मा अर्थमन्त्री बनेका छन् । उनी यसअघि शान्ति तथा पुनर्निर्माण, ऊर्जा तथा गृह मन्त्री बनेर सफल कार्यकाल पुरा गरेका मन्त्री मानिन्छन् । माओवादी केन्द्रले अर्को शक्तिशाली मन्त्रालय उर्जामा नेतृ पम्फा भूसाललाई पठाएको छ । अन्य मन्त्रीको टुंगो भने सहयात्री दलहरुसँगको सहमतिमा गर्ने तयारी छ ।

  • देउवाको सपथ ग्रहणमा ओली गएनन, माधव नेपाल उपस्थित

    देउवाको सपथ ग्रहणमा ओली गएनन, माधव नेपाल उपस्थित

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भाग लिएनन् । मंगलबार साँझ सम्पन्न भएको सपथ ग्रहणमा सामान्यतया पूर्वप्रधानमन्त्री उपस्थित भई नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिने प्रचलन रहेको छ । तर, ओली भने उपस्थित भएनन् ।

    सपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल समेत उपस्थित भए । उनीहरुले देउवालाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् । देउवाको सपथमा माधव कुमार नेपाल पुगेपछि एमाले कार्यकर्ता भने आक्रोसित बनेका छन् । उनीहरुले सामाजिक संजालमा आफ्नो नेताको सरकार गिराएर विपक्षी दलको नेता प्रधानमन्त्री हुँदा खुसीयाली मनाएको भन्दै नेता नेपालको चर्को आलोचना गरिरहेका छन् ।

  • प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनीयताको सपथ

    प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनीयताको सपथ

    काठमाडौं । आजै नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उनी पाँचौ पटक प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन् ।

    यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरि देउवालाई नियुक्ति गरेकी थिइन् । उक्त नियुक्तिको भासा सच्याएपछि देउवा सपथ लिन तयार भएका हुन् । राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलासँगै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको भासा राखेर दोस्रो नियुक्तिको बेहोरा सार्वजनिक गर्नुपरेको छ ।

    नियुक्तिमा राष्ट्रपतिको बदनियत देखिएको भन्दै प्रधानमन्त्रीले सपथ लिन अस्वीकार गरेका थिए । सोहीकारण निर्धारित समयभन्दा साढे दुई घण्टा ढिलाई गरि सपथ भएको हो ।

  • नेपालमा थप २३९८ जनामा कोरोना पुष्टी, २०७८ जना संक्रमण मुक्त

    नेपालमा थप २३९८ जनामा कोरोना पुष्टी, २०७८ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३९८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७०५८ पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनाको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २३९८ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख २३ हजार १०५ जना पुगेको छ ।

    संक्रिय संक्रमितको संख्या २६ हजार २६१ रहेको छ । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ ।

  • जापानले नेपाललाई  आफ्नो देशमा उत्पादन भएको १६ लाख डोज अष्ट्राजेनेका खोप दिने

    जापानले नेपाललाई आफ्नो देशमा उत्पादन भएको १६ लाख डोज अष्ट्राजेनेका खोप दिने

    काठमाडौं । जापानले नेपाललाई कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने भएको छ ।

    काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्डरअष्ट्राजेनेकाले बनाएको भ्याक्सिन दिने जानकारी दिएको हो । उक्त खोन जापानमा नै उत्पादन भएको हो ।

    यसअघि मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने बताएका थिए।

    उनले दिएको जानकारी अनुसार बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकलाई दिइनेछ।

    जापान सरकारको अनुदान सहायता कार्यक्रम अन्तर्गत ३०० जेनेरेटर, अल्ट्रासाउन्ड सहित ६ वटा एम्बुलेन्स समेत उपलब्ध गराउने जानकारी दिएको छ ।

    परराष्ट्र मन्त्रालयले जापानले दिएको खोप छिट्टै नेपाल ल्याउने तयारी भैरहेको जानकारी दिएको छ । यससँगै पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका १० लाख भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई यस खोप प्रदान गरिने जनाइएको छ ।

  • ‘जनादेश मेरो पक्षमा थियो, म परमादेशले सरकारबाट बाहिरिए-‘ ओली

    ‘जनादेश मेरो पक्षमा थियो, म परमादेशले सरकारबाट बाहिरिए-‘ ओली

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशले भन्दापनि परमादेशले सरकारबाट बाहिरिनु परेको बताएका छन् ।

    सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले चने जनादेशले होइन, परमादेशले सरकारबाट बाहिरिदैछु ।

    जनादेश मेरो पक्षमा नै थियो । तर संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताए ।

  • शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ ६ बजे

    शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ ६ बजे

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

    सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

    देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै राष्ट्रपतिको कार्यालयले शपथको तयारी गरेको छ । देउवाले प्रधानमन्त्रीको रुपमा ६ बजे शपथ लिँदैछन् ।

    देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० उपेन्द्र यादवसमूह सहभागी हुँदैछन् ।

  • जाँदाजाँदै ओलीले वालुवाटारमै बोलाए एमाले स्थायी कमिटी बैठक

    जाँदाजाँदै ओलीले वालुवाटारमै बोलाए एमाले स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीकालमा मुस्किलले आधा दर्जन पटक मात्र सरकारी कार्यालय टेकेका छन् । सबै कामकाज उनले सरकारी निवास वालुवाटारबाटै गरे । सरकारी कामबाहेक उनले पार्टीका हरेक बैठकहरु समेत सरकारी निवासमै डाके । सोहीकारण उनीमाथि सरकारी निवासलाई पार्टी कार्यालय बनाएको आरोप समेत लाग्छ । उनले जाँदा जाँदै नेकपा एमालेको स्थायी कमिटीको बैठक समेत आज बालुवाटारमै बोलाएका छन् ।

    दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलबीच भएको १० बुँदे सहमतिलगायतका विषयमा छलफल हुने भएको छ । आज पार्टीको आधिकारिक धारणा समेत सार्वजनिक गर्ने तयारी छ ।

    आजको बैठकमा माधव नेपाल पक्षसमेत सहभागी हुने बताइएको छ । सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र विघटटित प्रतिनिधिसभालाई पुनःस्थापित गर्न परमादेश जारी गरेसँगै ओलीको राजनीतिक भविश्य भने अन्यौलमा छ ।

  • कतिबेला हुनेछ देउवाको नियुक्ति र सपथ ?

    कतिबेला हुनेछ देउवाको नियुक्ति र सपथ ?

    काठमाडौं । सर्वोच्च अदालतले सोमबार दिउँसो एक बजे गरेको फैसला अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्ति दिनु पर्नेछ । यो समय आज साँझ ५ बजे सकिने भएको छ । राष्ट्रपति कार्यालय अदालतको आदेश कार्यान्वयनको तयारीमा छ । कार्यालय स्रोतका अनुसार देउवा तोकिएको समय अगाडी नै प्रधानमन्त्रीमा नियुक्त हुने छन् । साथै उनलाई आजै सपथ ग्रहण गराउने तयारी समेत छ । सम्भवतः साँझ ५ बजे उनको सपथ हुने छ ।

    सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको हो । देउवा नेपालको प्रधानमन्त्रीका रुपमा पाँचौ पटक जिम्मेवारीमा पुग्दैछन् । अत्यधिक बहुमत प्राप्त सरकारको नेतृत्व गरेका ओली भने आफ्नै घमण्ड र सनकका कारण पतन भएपछि जनादेश नपाएपनि देउवा प्रधानमन्त्रीको कुर्सीमा पुग्न लागेका हुन् । देउवाले आजै दलहरुको समन्वयमा मन्त्रिमण्डल गठन गर्नेछन् ।

  • माओवादी केन्द्रले सरकारमा जाने मन्त्री तय गर्दै

    माओवादी केन्द्रले सरकारमा जाने मन्त्री तय गर्दै

    काठमाडौं । सरकारमा जाने मन्त्रीको नाम तय गर्न आज नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दैछ । मंगलबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकले सरकारमा माओवादीको नेतृत्व गर्ने नेताको नाम तय हुने भएको हो । शेरबहादुर देउवाको नेतृत्वमा आज सरकार गठन हुँदैछ । देउवाले आजै गठबन्धनका नेता सहभागी गराई सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी गरेका छन् ।

  • वैदेशिक रोजगारीमा जानेले प्राथमिकताका आधारमा खोप पाउने

    वैदेशिक रोजगारीमा जानेले प्राथमिकताका आधारमा खोप पाउने

    काठमाडौं । गन्तब्य मुलुकमा खोप अनिवार्य भएसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने जागरिक प्रभावित भएका थिए । अब भने सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकताका आधारमा खोप लगाउने भएको छ । मंगलबार देशभर खोप अभियान शुरु हुँदैछ । मंगलबारबाट चीनबाट खरीद गरेको भेरोसेल खोप दिन लागिएको हो ।

    यो प्राथमिकतामावैदेशिक रोजगारीमा जाने नेपाली समेत परेका हुन् । खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरूलाई भोलिदेखि चीनबाट ल्याइएको भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीलाई पासपोर्ट र भिसाको आधारमा खोप लाइनेछ ।

    सरकारले चीनबाट ल्याएको भेरोसेल खोप लगाउन शुरु गर्ने बताएको छ । मन्त्रालयका अनुसार भेरोसेल ५५ वर्ष र त्योभन्दा माथिका उमेर समूहका सबैलाई वितरण गरिने छ । विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्नहरूलाई पनि भेरोसेल खोप दिइने भएको छ ।


    खोप लगाउन जाँदा आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र वा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लैजानुपर्ने मन्त्रालयले जनाएको छ । सार्वजनिक यातायातका चालक, सहचालकहरूलाई आधिकारिक परिचय पत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीको आधारमा खोप दिइने छ ।

    शिक्षक तथा कर्मचारीहरूले संस्थाको आधिकारिक परिचय पत्रको आधारमा खोप पाउने छन् । खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरूले पासपोर्ट र भिसाको आधारमा खोप पाउने मन्त्रालयले जनाएको छ ।

  • देउवाको नेतृत्वमा संयुक्त सरकार बन्ने, मंगलबार नै सानो मन्त्रीमण्डल बनाउने तयारी

    देउवाको नेतृत्वमा संयुक्त सरकार बन्ने, मंगलबार नै सानो मन्त्रीमण्डल बनाउने तयारी

    काठमाडौं । विपक्षी गठबन्धनमा रहेका दलहरु कांग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउन सहमति भएका छन । सर्वोच्चको फैसलापछि सोमबार पाँच राजनीतिक दल सम्बद्ध गठबन्धनको बैठक बसेको थियो । बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको हो । यो बैठकमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समेत सहभागी थिए ।

    आजबाट भने उनी यो गठबन्धनमा रहने छैनन् । पार्टी एकताको प्रक्रियामा रहेको भन्दै अब आफु विपक्षी गठबन्धनमा रहनु उचित नहुने उनको भनाई छ । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । राष्ट्रपतिले मंगलबारसम्म उनलाई प्रधानमन्त्री बनाउनु पर्छ ।

    यससँगै मंगलबार नै सानो मन्त्रीमण्डल गठन गर्ने तयारी समेत गठबन्धनको रहेको छ । सर्वोच्चको आदेशले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई अग्रगमनको दिशामा लैजाने काम गरेको निष्कर्ष गठबन्धनले निकालेको हो । सकेसम्म एमालेलाई समेत समटेर सरकारको नेतृत्व गर्न देउवालाई नेताहरुले सुझाव दिएका छन् ।

  • एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप कसले पाउँछन् ?

    एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप कसले पाउँछन् ?

    काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज नेपाललाई उपलब्ध गराएको छ । आज नेपाल आइपुगेको यो खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ । सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको बैठकले जोन्सनको खोप पाउने प्राथमिकता निर्धारण गरेको हो । मन्त्रालयका अनुसार यो खोप एक डोज मात्र लगाए पुग्ने छ ।

    खोप ५०–५४ वर्ष उमेर समूहका नागरिकलाई दिइने भएको छ । यो उमेर समूहका नागरिक करिब १३ लाख छन् । यो खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकले समेत पाउने छन् । नेपालमा बसोबास गरिरहेका शरणार्थीले समेत यो खोप पाउने भएका छन् ।

    नेपालमा करीव २५ हजार शरणार्थी रहेको अनुमान छ । यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत यो खोपमा प्राथमिकता दिइएको छ । सोमबार अमेरिकाबाट १५ लाख ३४ हजार ८५० डोज खोप काठमाडौं आइपुगेको छ ।

  • मिसन पुरा भएसँगै विपक्षी गठबन्धनबाट अलग भयो एमालेको माधव समूह

    मिसन पुरा भएसँगै विपक्षी गठबन्धनबाट अलग भयो एमालेको माधव समूह

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको समूह विपक्षी गठबन्धनबाट अलग भएको छ । आज बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले यस्तो जानकारी गराएका हुन् । संविधानको रक्षा गर्ने मिसन पुरा भएको र परिस्थिति फेरिएको भन्दै उनले अब आफु गठबन्धनमा नलाग्ने बताएका हुन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएलगत्तै विपक्षी दलको बैठक आज कोटेश्वरमा बसेको थियो ।

    बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति फेरिएको भन्दै अब गठबन्धनमा नरहने जानकारी गराएका हुन् । पार्टीमा एकताका लागि प्रयास भएको भन्दै अब भने पार्टीको निर्णय अनुसार नै चल्ने संकेत उनले गरेका हुन् । एमाले अध्यक्ष ओलीले दुई पटक सम्म संविधान विपरित संसद विघटन गरेपछि नेता नेपाल विपक्षी गठबन्धनमा सहभागी भएका थिए ।

    प्रतिनिधिसभा र संविधान बचाउने अभियानमा भने आफु साथमै रहेको सन्देश उनले गठबन्धनलाई दिएका छन् । पार्टी एकता र संसद पुनर्स्थापनापछि गठबन्धन असान्दर्भिक भएको उनको निष्कर्ष छ । एमालेका २६ सहित १४९ सांसदको हस्ताक्षरलाई सर्वोच्चले वैधानिकता दिएको छ ।