काठमाडौं । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका एमाले सांसदहरुलाई पार्टीले कारवाही गर्न नसक्ने भएको छ । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेसँगै उनीहरुमाथि पार्टीले कारवाही गर्न नसक्ने भएको हो । सोमबार संवैधानिक इजलासले फैसलामा यस्तो आदेश आएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसारको सरकार गठन प्रक्रिया शुरु गरेपछि शेरबहादुर देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका गरी १४६ सांसदले प्रधानमन्त्रीमा समर्थन गरेका छन् । सर्वोच्चको फैसला अनुसार अब देउवालाई समर्थन गर्ने एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले संसदमा देउवालाई विश्वासको मत दिन सक्नेछन् । देउवालाई भने २८ घण्टा भित्र प्रधानमन्त्री बनाउन सर्वोच्चले आदेश गरेको छ ।
Category: फिचर
-

धारा ७६ (५) अनुसार सांसदलाई पार्टीको ह्विप नलाग्ने सर्वोच्चको फैसला, एमाले सांसदमाथि कारवाही नहुने
-

देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको परमादेश
काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस सभापति शेर बहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको सर्वोच्चले उक्त आदेश गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको हो । फैसलामा देउवालाई भोलि २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न भनिएको हो । सर्वोच्चले संविधानको धारा ७५ (४) को प्रक्रियामा नगएकाले केपी शर्मा ओलीले ७५(५) अनुसार गरेको दाबी भने संविधानसम्वत नभएको उल्लेख गरेको छ । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ मा प्रतिनिधिसभा विघटन गरेकी हुन् । प्रधानमन्त्रीले मार्गप्रशस्त गरेको भन्दै राष्ट्रपति भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आहृवान गरेकी थिइन् ।राष्ट्रपतिले तोकेको समयभित्र नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र एमाले संसदीय दलका नेता ओलीको दाबी परेको थियो । देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेको माधवकुमार नेपाल समूहका २६, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षर बुझाएका थिए । अब देउवाले एक महिनापछि संसदबाट विश्वासको मत लिनुपर्छ ।
-

संसद विघटन बदर, ७ दिन भित्र संसद बोलाउन आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको छ । यससँगै सरकारको कदम बदर भएको छ । प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिँदै संसद विघटनको निर्णय बदर भएको फैसला सुनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । राष्ट्रपतिले तोकेको समयभित्र नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र एमाले संसदीय दलका नेता ओलीको दाबी परेको थियो । देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेको माधवकुमार नेपाल समूहका २६, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षर बुझाएका थिए । ओलीले एमाले र जसपाको समर्थन आफूलाई भएको दाबी गरेका थिए । अदालतले सात दिन भित्र संसद बोलाउन समेत विपक्षीका नाममा आदेश गरेको छ । सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो । -

उत्तर प्रदेशमा चट्यांग लागेर कम्तिमा २८ जनाको मृत्यु
कानपुर । नेपालको सीमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा चट्यांग लागेर कम्तिमा २८ जनाको मृत्यु भएको छ । यो घटना आइतरबारको हो । भारतीय संचारमाध्यमहरुका अनुसार डेढ दर्जन मानिस घाइते छन् । उत्तर प्रदेशमा आइतबार भारी वर्षा भएको थियो । सो दौरान परेको चट्यांगले ठूलो मानवीय क्षति गरेको हो । यो संख्या उत्तर प्रदेशको फरक फरक स्थानबाट आएको तथ्यांक छ । मर्नेको संखया अझ बढ्न सक्ने बताइएको छ ।
सबैभन्दा बढी मानिस प्रयासराजमा रहेको छन् । यहाँबाट मात्र १३ जनाको मृत्यु भएको खबर छ । घाइतेहरु गम्भीर अवस्थामा छन् । ती स्थानमा घरपालुवा जनवार समेत मरेको खबर छ । मुख्यमंत्री योगी आदित्यनाथले आइतबार मृतकका परिवारलाई प्रतिपरिवार ४ लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका छन् ।
उनले ज़िला प्रशासनलाई तत्काल घटनास्थल पुगी सहायता वितरण गर्न समेत निर्देशन दिएका छन् । प्रयागराज, कानपुर, फ़िरोज़ाबाद, कौशांबी, मिर्ज़ापुरमा यस्तो घटना भएको हो । उता, राजस्थानका विभिन्न स्थानमा समेत चट्यांग परेको खबरछ । जयपुरमा आइतबार भारी वर्षाले जनजिवन प्रभावित बनाएको छ । राजस्थानको कोटामा चार र धौलपुरमा तीन बच्चाको ज्यान गएको छ ।
-

आज सरकारको अग्नी परीक्षा, प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला आउने
काठमाडौं । दोस्रो पटक प्रतिनिधिसभा विघटन गरि मध्यावधी निर्वाचन घोषणा गरेको विरुद्धमा परेको रिटको इजलास आजका लागि बोलाइएको छ । दुबै तर्फको बहस २१ असारमै सकिएको थियो । अघिल्लो पटक तत्काल फैसला दिएको सर्वोच्चले यो पटक भने एक साताको समय राखेको थियो । यसबीचमा सत्तारुढ एमालेको एकता प्रयासमा अधिकतम प्रयास गरिएपनि विचाराधिन मुद्दा प्रभावित हुने गरि एमालेका २३ सांसदको हस्ताक्षर फिर्ता गराउन भने प्रधानमन्त्री केपी शर्मा ओली असफल बनेका छन् ।
संसद विघटन मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा भइरहेको छ । प्रतिनिधिसभाका १४६ सांसदहरुले प्रतिनिधिसभा विघटन बदर गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दैै सर्वोच्चमा रिट दायर गरेका छन् । ७ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।
उनले कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी छन् । प्रधानन्यायाधीश जबराको नेतृत्वमा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई संवैधानिक इजलासमा रहेका छन् ।
-

सहमतिको बुँदालाई प्रधानमन्त्रीका सल्लाहकारले गरेको कु-प्रचारप्रति माधव नेपालको कडा आपत्ति
काठमाडौं । नेकपा एमालेको कार्यदलस्तरमा भएको सहमति आइतबार राती सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब शेरबहादर देउवालाई १२३ जनाको मात्र समर्थन रहेको र सर्वोच्चले संसद पुनर्स्थापना र प्रधानमन्त्री नियक्तिका लागि परमादेश दिन नसक्ने भन्दै सामाजिक संजालमा लेखे । उनको यो दाविप्रति वरिष्ठ नेता माधवकुमार नेपाल भने आक्रोसित बनेका छन् । विचाराधिन मुद्दाको पेसी आज तोकिएको छ ।
सम्भवतः आजै फैसला आउने छ । यस्तो अवस्थामा अदालतलाई प्रभावमा पार्ने गरि रातारात सहमति भएको प्रचारप्रति नेपाल संन्तुष्ट थिएनन् । त्यसमाथि सूर्य थापाको कुप्रचारपछि उनी स्वयमःले मुख खोलेका छन् । नेता नेपालले पार्टीका २३ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा कायम रहेको स्पष्ट पारेका छन् । नेपालले सहमति विपरीत गलत व्याख्या भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लाहकारले गलत व्याख्या गरेको र त्यो अस्वीकार्य भएको उनको भनाई छ । उनले लेखेका छन् , ‘अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’
-

इटलीलाइ यूरोकपको उपाधी
लण्डन । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएको इटलीले युरोकप २०२० माथि कब्जा जमाएको छ । सोमबार बिहान इंग्ल्याण्डको घरेलु मैदानमा भएको खेलमा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट समेत १-१ गोलको बराबरीमा गएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । यो खेल इटलीले ३-२ ले जित्यो । सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले दुई प्रहार बताए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए ।
तर इंग्ल्याण्डका एक खेलाडीको प्रहार बाहिरिएको थियो । खेलको दोस्रो मिनेटमै इंग्लिस टोलीले लुक शको गोलमार्फत अग्रता लिएको थियो । ६७औं मिनेटमा लियोनार्दो बोनुचीले इटलीलाई बराबरीमा ल्याए । त्यसपछि भने गोल हुन सकेन । पेनाल्टीमा इटलीका डोमेनिको बेरार्डी, लियोनार्दो बोनुची र र फेडेरिको बर्नाडेसी गोल गरे । आन्द्रे बेलोट्टी र जर्जिन्होको पेनाल्टी इंग्लिस गोलकिपर पिकफोर्डले बचाएका हुन् ।
इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरको प्रहार मात्र गोलमा परिणत भयो । जाडोन सान्चो र बुकायो शाकाको बचाउ इटलीका गोलकिपर डोनारुम्बाले बचाए । मार्कुस रासफोर्डको प्रहार भने पोष्टमा लाग्यो । इटलीले १९६८ पछि पहिलो पटक यूरोपकको उपाधी जित्यो । उता, इंल्याण्ड भने पहिला पटक उपाधी जित्नबाट बन्चित भयो ।
-

अन्तत: एमाले विवादमा आइसब्रेक, १० बुदे सहमतिमा हस्ताक्षर
काठमाडौं । नेकपा एमालेभित्रको विवाद अन्ततः टुंगोमा पुगेको छ । कार्यदल स्तरको बैठकले १० वटा बुदामा सहमी गर्दै विवाद टुङ्ग्याएको हो । आइतबार राती साढे १० बजे अर्थ मन्त्रालयबाट एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सहमति पत्र पढेर सुनाए । उनका अनुसार कार्यदलको बैठकमा १० बुँदे सहमति पत्रमा हस्ताक्षर भयो । यो सहमतिपत्र सोमबार नेतृत्व तहमा पेस गरिने भएको छ । सहमति अनुसार नेकपा एकीकरण सर्वोच्च अदालतको आदेशबाट रद्द भएपछि दुबै गुटबाट भएका निर्णय खारेज हुने भएको छ । एमाले बनेका पुर्व माओवादी नेताको उचित व्यवस्थापन गर्ने निर्णय समेत भएको छ । -

नेपाल टेलिकमको डाटामा चिनियाँ ह्याकरको आक्रमण
काठमाडौं । नेपालको बैंकिंग प्रणालीमा निरन्तर आक्रमण गरि क्षति पुर्याइरहेको चिनियाँ ह्याकरको समूहले नेपाल टेलिकमको महत्वपूर्ण डाटा ह्याक गरेको दावि गरेको छ । डाटा ह्याक भएको चेतावनीपछि नेपाल टेलिकमले समेत आफ्नो एउटा सर्भर बन्द गरेको जनाएको छ । चिनियाँ ह्याकर समूहले सर्भरमा आक्रमण गरेर डाटा हृयाक गरेको दावी गरेपछि टेलिकमले शंकास्पद सर्भर सर्ट डाउन गरेको प्रवक्ता राजेश जोशीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएका छन् । उनका अनुसार ह्याक भएको पुष्टि भने भएको छैन । तर, उक्त समूहले आक्रमण गरेको सूचना टेलिकमलाई दिएको छ ।
चीनको ट्याग २२ ग्रुपले नेपाल टेलिकमको सर्भरमा ‘ग्लास फिस’ सर्भरका माध्यमबाट ‘कोल्भटस्ट्राइक’ मार्फत सर्भर हृयाक गरेको दावी गरेको हो । नेपाल टेलिकमको महत्वपूर्ण डाटा यो समुहले बिक्रिमा समेत राखेको बताइएको छ । जसमा लाखौं प्रयोगकर्ताको कल डिटेल्स र अन्य विवरण छन् । साथै सूमहले ताइवान र फिलिपिन्सका टेलिकमसम्बद्ध डाटा समेत ह्याक गरेको बताएको छ । -

निधारमा एमाले अध्यक्ष ओलीको चित्र बनाएका युवासंघका कार्यकर्ता विपक्षी गठबन्धनविरुद्ध सडकमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र निधारमा कोरेका एमालेको भातृसंगठन युवा संघका कार्यकर्ता विपक्षी गठबन्धनविरुद्ध सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले आज काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार र नेकपा एमालेविरुद्धको घेराबन्दी गरेको र काम गर्न नदिएको भन्दै विपक्षी गठबन्धनविरुद्ध आन्दोलन गर्नुपरेको समेत बताए ।
सरकारविरुद्ध विपक्षी गठबन्धनका दलका भातृ सङ्गठनले चरणबद्ध आन्दोलन शुरु गरेसँगै सडकमा केपी ओलीको समर्थनमा जुलुस निकालिएको हो । सत्तारुढ दलबाट भएको यो हर्कतलाई भने धेरैले पंचायतकालिन शैलीको समर्थन भनेका छन् । आन्दोलनकारीले भने चारैतिरबाट घेराबन्दीमा परेका कारण प्रतिकारमा उत्रनु परेको बताएका छन् । प्रदर्शनकारीले चुच्चेनक्सा सहितको नेपालको झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीको ठूलो फोटो अंकित ब्यानर बोकेका थिए ।
-

जसपा एकिकरण गैरकानूनी भन्दै सर्वोच्चमा रिट दायर
काठमाडौं । फुटको अन्तिम तयारीमा रहेको जनता समाजवादी पार्टीको एकिकरण नै गैरकानूनि रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको थियो । तर, एकिकरण प्रक्रियाको प्रारम्भ नै त्रुटीपूर्ण, कपटपर्ण र संविधान तथा कानूनविपरीत रहेको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।
राजपाका तत्कालीन उपाध्यक्ष राजपकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले रिट दायर गरेका छन । उनले जसपा एकीकरण खारेज गरी साविकको राजपा र समाजवादी पार्टी कायम गर्न गराउन परमादेशको माग गरेका छन् । जनता समाजवादी पार्टी भने अहिले विभाजनको अन्तिम चरणमा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दै एक समुह सरकारमा गएको थियो । तर, सर्वोच्चले मन्त्रिपरिषद् बिस्तारलाई गैरकानूनि भनेपछि उनीहरु सरकारबाट बाहिरिन बाध्य भए । तर, शुरुबाटै सरकारमा जान नहुने अडानमा रहेको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका नेता भने विपक्षी गठबन्धनमा छन् ।
-

अदालतमा विचाराधिन मुद्दामा नबोल्ने माधव नेपालको अडानपछि एमालेमा अझै जुटेन सहमति
काठमाडौं । एमालेलाई विभाजनको मुखबाट जोगाउन अन्तिम कसरतमा लागेका नेताले मिलीसक्यो भन्न लागेको दुई साता भयो । पछिल्लो समय शनिबार एमाले नेता सुवास नेम्वांगले आइतबार बिहानै एमालेका सुभचिन्तकले सुखदः खबर सुन्न पाउने बताएका थिए । तर, उनले भनेजस्तो भएन । सत्तारुढ नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलको वार्ता सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा अड्किएको छ ।
यस विषयमा वरिष्ठ नेता माधव कुमार नेपालले चट्टानी अडान राखेका छन् । कार्यदलका नेता आइतबार बिहानै देखि अर्थ मन्त्रालयमा जुटेका छन् । छलफल चल्दाचल्दै कार्यदलका सदस्य घनश्याम भुसालले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेटेका छन् । ओली पक्षले अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा पार्टीको भावना कायम हुने गरी निर्णय लिने भनी बुँदा थप्न चाहेको छ ।
तर वरिष्ठ नेता नेपाल भने अदालतमा विचाराधिन मुद्दामा कुनै पनि शब्द राख्न नहुने अडानमा छन् । सोहीकारण एमालेमा कुरा मिलेको छैन । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा शेरबहादुर देउवासहित १४६ सांसदले रिट दिएका छन् । यसमा एमालेका २३ सांसदको हस्ताक्षर छ । यो मुद्दाको संवैधानिक इजलासमा बहस सकिएको छ । मुद्दाको पेशी सोमबार राखिएको छ ।
-

नेपालमा थप १८३३ जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८३३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५५३५ पीसीआर परीक्षणमा १२३७ र ३६८३ जनाको एन्टिजेन परीक्षणमा ५९४ जना गरी १८३३ जनामा संक्रमण पुष्टी भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५५ हजार ४४९ पुगेको छ । पछिल्लो २४ घण्टामा १५३३ जना संक्रमण मुक्त भएका छन् ।
यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख १९ हजार ८९४ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार १७३ रहेको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ ।
-

एमालेको बादल समूहलाई झड्का, माओवादी केन्द्रको दल दर्ता खारेज अस्वीकृत
काठमाडौं । निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ।
पूर्वमाओवादी केन्द्रका नेताहरु टोपबहादुर रायमाझीलगायतका नेताहरुले दल दर्ता खारेजीको माग गर्दै दिएको निवेदन अस्वीकार गर्दै आयोगले प्रचण्डको नेतृत्वको माओवादी केन्द्र बैधानिक रहेको बताएको हो ।
आइतबार बसेको आयोगको बैठकले दर्ता भएका निवेदन र दाबी दुवैलाई खारेज गरी दल दर्ता खारेजीको माग अस्वीकार गरेको हो ।
रामबहादुर थापा बादललगायत माओवादी केन्द्र छाडेर एमालेमा गएका नेताहरू निकट समूहले आयोगमा माओवादीको हैसियत गुमिसकेको भन्दै दल दर्ता खारेजी माग गरेका थिए।
-

गोरखा र स्याङ्जामा भेटियो कोरोनाको नयाँ भेरियन्ट
काठमाडौं । गण्डकी प्रदेशमा पनि कोरोना भाइरसको नयाँ डेल्टा भेरियन्ट बी.१.६१७.२ फेला परेको छ ।
स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशले स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका २ पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३ महिलामा डेल्टा भेरियन्ट देखिएको पुष्टि गरेको छ। गत जेठ ३१ गते प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट उक्त ५ जनाको नयाँ भेरिएन्ट जाँचका लागि जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको थियो।
डेल्टा भेरियन्ट यसअघिको अल्फा भेरियन्ट भन्दा बढी संक्रमित हुने भएकोले सचेतना अपनाउन निर्देशनालयले आग्रह गरेको छ ।
-

विकास बैंक र फाइनान्स चम्किँदा नेपाली सेयर बजारमा उछाल
काठमाडौं । सेयर बजारमा उछाल आएको छ । करिब २२५ अंकको करेक्शनपछि गत बिहीबारदेखि उकालो लागेको बजारमा आज उछाल आएको हो ।
पछिल्लो दुई कारोबार दिनमै नेप्से करिब १०० अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य बढोत्तरी आएको छ । गतसाता औसतमा दैनिक सवा ४ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज झन्डै दोब्बरले बढेर ८ अर्ब नाघेको छ ।
झन्डै १ महिनाको करेक्शनपछि बजारले लय पकड्दा लगानीकर्ता उत्साहित भएका छन् । जसले कारोबार रकममा बढोत्तरी आएको हो ।
आज सेयर बजार मापक सूचक नेप्से ७४.७१ अंकले बढेर २८९९.८२ विन्दुमा पुगेको छ । आज २२५ कम्पनीको ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँ बराबरको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १३ वटै समूहको सूचकमा हरियाली छाएको छ । फाइनान्स र विकास बैंक समूह सबैभन्दा धेरै ८ प्रतिशतभन्दा धेरैले बढेका छन् । यस्तै, बैंक, हाइड्रोपावर, निर्जीवन बीमा, जीवन बीमा र माइक्रोफाइनान्स समूह पनि २ प्रतिशभन्दा धेरैले बढेका छन् ।
आज कारोबारमा आएका २२५ कम्पनीमध्ये २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४० करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंक साढे २५ र नेपाल बैंक २४ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
आज लगानीकर्ता फाइनान्स र विकास बैंकको सेयरमा झुम्मिएका छन् । यी समूहका अधिकांश कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ ।
उच्च अंकले बढेकोे बजारमा झन्डै २ दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश फाइनान्स र विकास बैंक रहेका छन् ।
आज गोर्खा, श्री इन्भेष्टमेन्ट र आइसीएफसी फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । यसैगरी, साइन रेसुंगा, मल्टिप्रपोज, समृद्धि, गुडविल फाइनान्स, महालक्ष्मी, सांग्रिला विकास बैंक, हिमाल दोलखा हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।
यस्तै, ज्योति विकास, सप्तकोशी, कर्णाली, ग्रीन डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ, बेस्ट, सेन्टर, रिलायन्स, जानकी, पोखरा फाइनान्स, नेशनल र खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ ।
-

आतइबार देशका अधिकांश स्थानमा वर्षा हुने
काठमाडौं । आइतबार देशका धेरै ठाउँमा वर्षा जारी रहने भएको छ । पछिल्लो तीन दिनयता वर्षा जारी छ । प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । आइतबार दिनभर धेरै स्थानमा वर्षा हुने छ । काठमाडौं उपत्यकामा समेत वर्षा जारी छ । नेपालमा आगामी तीन दिनसम्म नै मनसुन सक्रिय रहने महाशाखाको अनुमान रहेको छ ।
अहिले ठूलो पानी परेका क्षेत्र प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमको मध्यपहाडी तथा चुरे भइ बहने स–साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ। पहाडी भेगमा आउने वर्षा र भेलले तराई भेगका नदीमा पानीको बहाव बढ्ने गरेको छ ।
-

अर्जेण्टिना बन्यो कोपा अमेरिका च्याम्पियन, मेसीलाई ऐतिहासिक उपाधी
काठमाडौं । अर्जेण्टिना कोपा अमेरिकाको च्याम्पियन बनेको छ । चिरपरिचित प्रतिद्धन्द्धी ब्राजिललाई १-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको हो । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्यो । अर्जेण्टिनाले यो जित कप्तान लियोनल मेसीको नाममा समर्पित गरेको छ । उनी समकालिन फुटबलमा महान खेलाडी मानिन्छन् । तर, उनले देशका लागि कुनै उपाधी नजिताएको आरोप लाग्दै आएको थियो ।
अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गरेको एक मात्र गोल निर्णायक बन्यो । त्यसपछि कुनै टिमले थाप गोल गर्न सकेनन् । सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षपछि टीमले उपाधी जितेको हो । २००४ र २००७ मा अर्जेण्टिना फाइनल पुगेको थियो । त्यसबेला दुबै पटक फाइनलमा ब्राजिलले हराएको थियो । अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो । सन् २०१८ मा अर्जेण्टिनाले विश्वकप फुटबलको फाइनल पुगेर पराजित भएको थियो ।
-

मेलम्ची बाढीग्रस्त क्षेत्रमा एक महिनापछि पुगे प्रधानमन्त्री
सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीमा बाढी र पहिरोबाट भएको प्रलयकारी विनासको एक महिनापछि स्थलगत अनुगमन गरेका छन् । शनिवार दिउँसो बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुको अवलोकनमा पुगेका प्रधानमन्त्रीले सो वस्ती अब दीघर्कालिन रुपमा बस्न उपयुक्त नहुने बताए । अवलोकनपछि स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गरेका उनले विपदबाट जनधनको दीर्घकालीन सुरक्षा गर्न सुरक्षित ठाउँमा एकीकृत बस्ती निर्माण गरिनुपर्ने बताए ।
बगरमा रूपमा परिणत भएको स्थानमा बागबानी, बगैँचा, खेती, मत्स्यपालन गरि त्यसलाई उपयोग गर्न समेत उनले सुझाव दिए । प्रधानमन्त्रीले तीन सय ६६ घरका लागि १५ बन्डल जस्तापाता वितरण गरिने बताए । यो जस्तापाताले तत्काल अस्थायी बसोवासमा सहयोग गर्ने छ । सार्थ उनले प्रतिपरिवार ५० हजार रुपैयाँ तत्काल दिइने समेत जानकारी दिए ।


-

एमालेमा सहमतिको भाका आइतबारलाई सर्यो
काठमाडौं । नेकपा एमालेको विवाद शनिबार समेत टुंगिन सकेन । विवाद हल गर्नको लागि गठन भएको कार्यदलको बैठक बीना निष्कर्ष सकिएको छ । शनिबार निर्धारित समयभन्दा ढिला गरी सिंहदरबारमा बैठक बसेको थियो। बैठकपछि कार्यदलका सदस्य सुवास नेम्वाङले कार्यदलको काम टुगिंएको र आइतबार बिहानै सार्वजनिक गरिने बताए । निकै मेहनत गरि सहमति टुंगेको उनको भनाई छ । कार्यदलमा अदालतलाई प्रभावित पार्ने गरि कुनै बुँदा उल्लेख नगर्ने सहमति जुटेको बताइएको छ । संसद विघटनको मुद्दा अदालतमा विचाराधिन रहेको छ ।
-

नेपालमा थप २१६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ ।
शनिबारसम्म मृतक संख्या ९ हजार ३६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् र हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ जना पुगेको छ । कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ जसमध्ये २३ हजार ५३९ जना होम आइसोलेसनमा र २ हजार ९५० जना संस्थागत आइसोलेसनमा छन् ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौंमा ३०३, ललितपुरमा ६० र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन्
-

विश्व बैंकले नेपाललाई दिने भयो थप १२ अर्ब ऋण
काठमाडौं । विश्व बैंकले नेपाललाई थप १२ अर्ब रुपैयाँ (१० करोड अमेरिकी डलर) ऋण दिने भएको छ । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै विश्व बैङ्कले थप १० करोड डलर ऋण सहायता अनुमोदन गरेको हो । विश्वै बैङ्कले शिक्षाका लागि पाँच करोड र स्वास्थ्यका लागि पाँच करोड डलर सहयोग दिन लागेको हो । विश्व बैङ्कले विद्यालय क्षेत्र विकास कार्यक्रमलाई थप प्रवद्र्धन गर्न सहयोग गर्न लागेको जनाएको छ ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीको सुदृढीकरणका लागि यो रकम उपयोग हुने उल्ल्ेख गरेको छ । विश्व बैङ्कका नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि देशीय निर्देशक फारिस हदाद जेरभोसका अनुसार यो सहायताबाट नेपालको शिक्षा क्षेत्रलाई सक्षम बनाउन तथा स्वास्थ्य प्रणालीलाई चुस्त बनाउन नेपाल सरकारलाई मद्दत पुग्नेछ ।
नेपालमा गरिब तथा विपन्न समुदायका लागि शिक्षा र स्वास्थ्यसम्मको पहुँच जटिल भएको भन्दै उनले यो सहायताबाट हामीले बीचमै विद्यालय छाडेका बालबालिकाका लागि विद्यालय फर्कन सक्ने वातावरण बन्ने अपेक्षा गरेका छन् । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पनि प्रभावकारी सुधार आउनेमा विश्व बैङ्कको विश्वास छ ।
विद्यालय क्षेत्र विकास कार्यक्रमले बालबालिकाको स्कुल अध्ययनलाई निरन्तरता दिने वातावारण निर्माण गर्ने लक्ष्य राखेको छ । यस्तै स्वास्थ्य क्षेत्रको सहयोगले कोभिड–१९ महामारीको अवस्थामा जटिल रहेको नेपालको स्वास्थ्य प्रणालीलाई सहयोग पुर्याउने लक्ष्य लिएको जनाएको छ ।
-

विश्वकै महंगो ट्राफिक जाम पार्ने पानीजहाज अब नियमित संचालनमा
कायरो । गत मार्च महिनामा सुइज नहरमा तेर्सो परेर अड्किँदा दैनिक करोडौं डलर घाटा लगाएको विशाल पानीजहाज अन्ततः पुनः व्यवसायिक संचालनमा फर्किएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सूइज नहरलाई अड्किएको यो पानीजहाजका कारण यूरोप र एसियाबीच समुन्द्रीमार्गबाट हुने व्यापार रोकिएको थियो । यसले विश्व व्यापारमै असर पारेको थियो । इजिप्टले उक्त पानीजहाजलाई नियन्त्रणमा लिएको थियो ।
तर, पानीजहाज कम्पनी र बिमक कम्पनीसँग क्षतिपूर्तिसम्बन्धी एउटा सम्झौता गरेपछि इजिप्टले जहाजलाई नियन्त्रणमुक्त गरेको छ । एभरग्रीन नाम दिइएको पानीजहाज बुधबार दिउँसोबाट संचालनमा आएको छ । जहाज भूमध्य सागरतर्फ लागेको छ । पानीजहाजलाई उक्त नहर पर्ने सहर इस्माइलिआमा तीन महिनासम्म नियन्त्रणमा राखिएको हो ।
क्षतिपूर्तिसम्बन्धी सम्झौताको सर्तहरू सार्वजनिक गरिएका छैनन् । बीबीसीका अनुसार इजिप्टले ५५ करोड अमेरिकी डलर माग गरेको थियो। १९३ किलोमिटर लामो सूइज नहरले भूमध्य सागरलाई उत्तरी पुछारमा र दक्षिणतर्फ लालसागरलाई जोड्दै एशिया र युरोपबीचको सबैभन्दा छोटो जलमार्गको काम गर्छ। यो जलमार्गलाई ४०० मिटर लामो एभरग्रीन उच्च वायुका कारण छड्के पर्दै पानीमुनिको सतहलाई छुँदा अड्किएको थियो ।
यसले नहरमा हजारौं पानीजहाज ट्राफिक जाममा परेका थिए । मालवाहक उक्त पानीजहाज छ दिनपछि पुनः तैरन सम्भव पारिएपछि नहर खुलेको हो । सो क्रममा एकजनाको मृत्यु समेत भएको थियो । एभरग्रीन जापानी कम्पनीको पानीजहाज हो । जहाजमा चालक दलका सदस्य भने भारतीय थिए । पानीजहाजमा अझै १८,३०० कन्टेनर छन्।
-

एक महिना अगाडीको बाढी-पहिरोग्रस्त क्षेत्र हेर्न आज प्रधानमन्त्री सिन्धुपाल्चोक जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बाढी, पहिरोले क्षतिग्रस्त बनाएको क्षेत्र हेर्न सिन्धुपाल्चोक जाने भएका छन् । मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको छ ।
उनले मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा भाग दिने छन् । उनले बाढी र पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी रहेको बताइएको छ । असार पहिलो अविरल वर्षापछि आएको बाढी र पहिरोले मेलम्चीमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीका कारण राष्ट्रिय गौरवको आयोजना मेलम्ची अनिश्चित कालका लागि बन्द भएको छ ।
-

राजस्व उठाउन शनिबार पनि बैंक खुला
काठमाडौं । नेपालमा आर्थिक वर्षको अन्तिम साता चलिरहेको छ । यस अवस्थामा राजश्व संकलन र खर्चको चाप दुबै बढ्छ । सोही प्रयोजनका लागि आज शनिबार पनि बैंकका शाखा तथा काउन्टर भने खुला हुने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरुले राजश्व संकलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राखेका हुन् ।
त्रैमासको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिबार परे शाखा कार्यालय खुला राख्ने गरिएको छ । त्रैमासको २५ गते पछाडि शनिबार परे पनि खोल्न राष्ट्र बैंकले नै प्रोत्साहन गर्दै आएको छ । सरकारले यो आवमा ११ खर्ब हाराहारी राजस्व संकलनको लक्ष्य राखेको छ ।
-

रुसी साइबर हमलाकर्तामाथि कारवाही हुन्छ : बाइडेन
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी साइवर हमलाकर्तामाथि कारवाही हुने बताएका छन् । ह्वाइट हाउसका तर्फबाट जारी एक बयानमा उनले रूसका राष्ट्रपतिलाई अमेरिकामाथि साइवर हमला रोक्न आग्रह गरेका छन् । रुसले नरोके अमेरिका आफैले कारवाही गर्ने उनको चेतावनी छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटीन र बाइडेनबीचको फोनवार्तापछि ह्वाइट हाउसले यस्तो वयान जारी गरेको हो ।
बाइडेनले आफुले हमलाकारीमाथि कारवाही गर्ने बताएपछि रुसी राष्ट्रपतिले मन्जुरी दिएको बयान ह्वाइट हाउसले दिएको अमेरिकी संचारमाध्यमले लेखेका छन् । उता मस्कोले भने यो बयानको खण्डन गरेको छ ।
शुक्रवार राष्ट्रपति जो बाइडेनले रुसी समकक्षीसँग करीव एक घण्टा फोनवार्ता गरेका थिए । पछिल्लो केही समययता अमेरिकी कम्पनीहरुमा साइवर हमला भइरहेको छ । यसमा रुसी ह्याकरको हात रहेको आरोप अमेरिकाले लगाइरहेको छ । यसै महिना एकै पटक २ सय आइटी कम्पनीमाथि साइबर हमला भएको थियो ।
-

अफगानिस्तानको अधिकांश सीमा क्षेत्र तालिवान विद्रोहीको कब्जामा, सेना फिर्तिको प्रभाव
काबुल । अमेरिका र नेटासम्बद्ध सैनिक फिर्ता भएसँगै द्धन्द्धग्रस्त मुलुक अफगानिस्तानमा विद्रोहीको पकड बलियो भएको छ । तालिबान विद्रोहीहरूले इरानसँगको महत्त्वपूर्ण सीमानाका आफ्नो नियन्त्रण लिएको पश्चिम अफगानिस्तानस्थित अधिकारीहरूले पुष्टी गरेका छन्। बीबीसीका अनुसार इस्लाम काला नामक नाकाका सबै गतिविधि रोकिएको छ ।
अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै देशभित्र तालिबानले विभिन्न भूभाग कब्जा गरिरहेको हो । अफगानिस्तान र इरानबीचको एक प्रमुख सीमानाका तालिबानले कब्जा गरेको अफगान अधिकारीले बताएका छन् । तालिबान फौजले सीमा भन्सार कार्यालयबाट अफगान समेत निकालेका छन् ।
इस्लाम काला नामक उक्त नाका इरानसँगको सबभन्दा ठूलोमध्येको व्यापारिक नाका हो। त्यहाँबाट मासिक २ करोड डलर राजस्व उठ्छ । अमेरिकी सेनाको फिर्ती प्रक्रियासँगै तालिबानले भूभाग कब्जा गर्ने कारबाही तेज पारिरहेको छ। गत महिना तालिबानले अफगानिस्तानको अर्को छिमेकी ताजिकिस्तानसँगको मुख्य सीमानाका कब्जा गरेका थिए। तालिबानले अफगानिस्तानको ८५ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा रहेको बताएको छ। -

एमाले नेताहरुको दावि: एकताको सहमति भयो
काठमाडौं । नेकपा एमालेका नेताहरु एकताका लागि सहमत भएको नेताहरुले दावि गरेका छन् । पछिल्लो दुई साता लगातार बैठकमा जुटेका नेताहरुले शुक्रबार महत्वपूर्ण सहमति जुटेको दावि गरेका छन् । यद्दपी सहमतिका बुँदा के हुन भन्ने चाँही खुलाइएको छैन । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच एकताका लागि बनेको कार्यदलको शुक्रबार दिनभरको बैठकले समझदारी जुटाएको कार्यदलका सदस्य प्रदिप ज्ञवालीले बैठकपछि जानकारी दिए ।
उनका अनुसार सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन शनिबार पुनः बैठक बस्ने भएको छ । त्यसपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ । कार्यदलबीच शुक्रबार ७ घण्टा अर्थ मन्त्रालयमा छलफल भएको हो ।
-

बंगलादेशमा खाद्य उद्योगमा आगलागी, कम्तिमा ५२ जनाको मृत्यु
ढाका । बंगलादेशको एक खाद्य उद्योगमा भएको आगलागीमा कम्तिमा ५२ जना मारिएका छन् । राजधानी ढाकानजिक एउटा खाद्य प्रशोधन कारखानामा आगलागी भएको बीबीसीले जनाएको छ । त्यहाँ थुप्रै कामदार हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अग्निनियन्त्रकले बताएका छन् । मानिस भवनभित्रै रहेका बेला स्थानीय समयअनुसार बिहीवार राति आगलागी शुरू भएको थियो।
आगलागीको कारणबारे अहिलेसम्म स्पष्ट भएको छैन। आगो नियन्त्रणमा लिन दर्जनौँ अग्निनियन्त्रक एकाइले रातभरि प्रयास गरेका थिए। छ तले भवनमा आगलागी शुरू भएपछि ज्यान जोगाउन हाम फाल्दा कैयौँ कामदार घाइते भएको बताइएको छ ।
-

आइतबारबाट अन्तर्राष्ट्रिय उडान संख्या दोब्बर हुने
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरि दोब्बर पारेको छ । यसअघि उडान खुला गरेका गन्तब्यमा सिंगापुरमा सातामा एक उडान हुने गरि थप भएको छ । भारतमा भने साविककै सातामा दुई उडान कायम छ । यसबाहेकका मुलुकमा हुने उडान संख्या भने थप भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई छ ।
अब सातामा कुल ५३ वटा उडान हुने छन् । यसअघि सातामा दुई दर्जन मात्र उडान गर्ने गरी तालिका तोकिएको थियो । नयाँ तालीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा नेपाल एयरलाइन्स (बुधबार) र एयर इण्डिया (सोमबार) उड्नेछन् । यूएईको दुबईमा नेपाल एयरलाइन्सले मंगलबार र बिहीबार, हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार तथा फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एक, एक उडान गर्नेछन् ।
कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एक, एक उडान गर्नेछन् । दोहामा हिमालय एयरलाइन्स सोमबार, बुधबार र शनिबार जाने छ । साउदी अरेबियाको दमाममा हिमालय एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि साताको चार उडानको अनुमति पाएको छ । मलेसियाको क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार गरि सातामा दुई उडान गर्नेछ। हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ ।
टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार जहाज उडाउने छ । जजिरा एयरवेजले कुवेतमा सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार गरि कुल पाँच उडानको अनुमति पाएको छ । सलाम एयरले ओमानको मस्कटमा सोमबार, बुधबार र शनिबार गरी कुल तीन उडान गर्ने गरि अनुमति पाएको तालीकामा उल्लेख छ । एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबारको उडान तालिका पाएको छ । सिल्क एयरको जहाज हरेक आइतबार काठमाडौं आउने छ ।