Category: फिचर

  • सहमतिमा देउवा र प्रचण्ड, ओलीले जेठ ८ पछि गरेका नियुक्ति खारेज गरिने

    सहमतिमा देउवा र प्रचण्ड, ओलीले जेठ ८ पछि गरेका नियुक्ति खारेज गरिने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसअघिको केपी शर्मा ओली सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने सहमतिमा पुग्नु भएको छ ।

    मंगलबार नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्तापछि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच ओली सरकारले गरेका नियुक्ति खारेज गर्ने सहमति भएको हो ।

    जेठ ७ गते मध्यरातमा तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । तर त्यसलाई सर्वोच्च अदालतले बदर ठहर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

  • आइतबारदेखि निरन्तर उकालो लागेको सेयर बजारमा सामान्य करेक्शन

    आइतबारदेखि निरन्तर उकालो लागेको सेयर बजारमा सामान्य करेक्शन

    काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । यससाता आइतबारदेखि निरन्तर उकालो लागेको बजारमा आज सामान्य करेक्शन आएको हो ।

    पछिल्लो दुई दिनमा नेप्से ११० अंकले बढेको थियो भने आज ९ अंक्ले करेक्शन आएको हो । आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ अर्बले घटेर पौने ८ अर्बमा सीमित भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा आइपुगेको छ । आज २१९ कम्पनीको ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँ बराबरको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएको छ ।सामूहिक लगानी कोष समूह सबैभन्दा धेरै ६.२९ प्रतिशतले बढेको छ भने फाइनान्स समूह १.३७ प्रतिशतले घटेको छ ।

    आज कारोबारमा आएका २१९ कम्पनीमध्ये ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज अरुण काबेली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३९ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अरुण भ्याली २७ करोड र नेपाल इन्स्योरेन्स २४ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    घट्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लक्ष्मी उन्न्ति कोष र लक्ष्मी म्युचुअल फण्डको मूल्य १० प्रतिशतले बढेको छ ।

    यस्तै, वरुण र माउन्टेन हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने ग्लोबल आइएमई सम्मुनत स्कीम, एनआइसी एशिया ब्यालेन्स फण्ड, सानिमा इक्वीटी फण्ड, एनआइसी एशिया ग्रोथ फण्ड र सिटिजन्स् म्युचुअल फण्डको मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

  • इराकको राजधानी बगदादमा बम विस्फोट, कम्तिमा २५ को मृत्यु

    इराकको राजधानी बगदादमा बम विस्फोट, कम्तिमा २५ को मृत्यु

    बगदाद । इराकको राजधानी बगदादमा बम विस्फोट भएको छ । घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ । विस्फोटन एउटा व्यस्त बजारमा भएको हो । सर्वसाधारणहरूले मङ्गलवार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोट भएको हो। पछिल्लो छ महिनामा त्यहाँ भएको यो सबैभन्दा घातक विस्फोट हो। इस्लामिक स्टेट (आईएस) समूहले घटनाको जिम्मेवारी लिएको छ।

    इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो। तर, यो समूह अझै सक्रिय छ । गत अप्रिलमा चार जनाको मृत्यु हुने गरी गरिएको कार बम हमलामा पनि आफ्नो हात रहेको आईएसले जनाएको थियो। उसले गत जनवरीमा ३२ जनाको ज्यान जाने गरी गरिएको आक्रमणको समेत जिम्मा लिएको थियो ।

  • संविधान बचाउन देउवालाई भोट दिएका २२ सांसदमाथि कारवाही गर्ने एमालेको तयारी

    संविधान बचाउन देउवालाई भोट दिएका २२ सांसदमाथि कारवाही गर्ने एमालेको तयारी

    काठमाडौं । संविधानको रक्षार्थ प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका नेतालाई कारवाहीको तयारी गरिएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तर, अदालतले ह्वीप नलाग्ने भनेका कारण २२ सांसदले स्पष्टिकरण नबुझाउने भएका छन् । उनीहरुमाथि तत्काल कारवाहीको माग उठेको थियो । तर, एमाले भित्रै नराम्रो सन्देश जाने भन्दै आजसम्मका लागि समय दिइएको थियो ।

    एमालेको केन्द्रीय कमिटी बैठक आजसमेत तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बोलाइएको छ । अपरान्ह ३ बजे बैठक बस्नेछ । अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनासहित कुल २२ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। माधव पक्षका १० नेता भने अनुपस्थित भए । भीम रावलले भने राजिनामा घोषणा गरेका छन् । अनुपस्थित भएका नेतालाई भने एमालेले कारवाही नगर्ने भएको छ । अब माधव कुमार नेपाल बीनै एमाले एकता प्रक्रिया अगाडी बढाउने तयारी ओली पक्षीय नेताले गरेका हुन् । यसमा भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेतासमेत सहमत हुने संकेत देखिएको छ ।

  • काठमाडौं-दिल्ली रुटमा अब साताको ६ उडान

    काठमाडौं-दिल्ली रुटमा अब साताको ६ उडान

    काठमाडौं । नेपाल र भारतबीचमा आवाज जावतको एक मात्र औपचारिक रुट काठमाडौं-दिल्लीमा अब उडान संख्या थप हुने भएको छ । २४ जुलाईबाट नेपाल एयरलाइन्सले तीन र भारतको ध्वजाबाहक एयर इण्डियाले तीन गरि सातामा कुल ६ उडान गर्ने भएका हुन् । अहिले भारतको नयाँ दिल्लीमा साताको दुई उडान भइरहेको छ । नेपाल एयरलाइन्सका अनुसार नयाँ दिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार नेवानिको उडान हुने छ । भारतबाट एयर इण्डियाले उडान तालिका तय गर्नेछ ।

    यो उडान शुरु भएपछि भारतमा हवाई भाडा सस्तो हुने अपेक्षा छ । साविकमा ९ हजारसम्म तोकिएको भाडा अहिले एकतर्फी नै ३० हजार माथि पुगेको छ । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुसार उडान भइरहेको छ । सो सम्झौतामा उडान थप गर्न नेपालले प्रस्ताव गरेको थियो । प्रस्ताव स्वीकृत भएसँगै उडान संख्या बढेको हो । भारतको बैंलौर र मुम्बईमा भने तत्काल उडानको सम्भावना छैन ।

  • प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता, के विषयमा भयो कुराकानी ?

    प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता, के विषयमा भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सोमबार दिउँसो प्रधानमन्त्री देउवा र मोदीबीच कुराकानी भएको प्रधानमन्त्री स्वयमःले सामाजिक संजालबाट जानकारी गराएका छन् । फोनवार्तामा मोदीले प्रधानमन्त्री देउवालाई कोभिड १९ विरूद्धको खोप भारतबाट नेपाल आउने आश्वासन दिएका छन् । देउवाले आज दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता गरेको भन्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेबारे छलफल गरेको जनाएका छन् ।

    आइतबार प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाएसँगै मोदीले टुइटमार्फत बधाई दिएका थिए । उक्त बधाईको देउवाले धन्यवाद रिप्लाई समेत गरेका छन् । भारतले लगातार दुई दिन देखाएको सदासयताबाट नयाँ सरकारसँग समेत भारत सुमधुर सम्बन्ध बनाउन चाहेको रुपमा हेरिएको छ । भारतीय कम्पनीसँग नेपाल सरकारले किनेको खोप नआउँदा करीव १४ लाख जेष्ठ नागरिकले दोस्रो डोज खोज लगाउन पाएका छैनन् ।

  • सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

    सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

    काठमाडौं । सरकारले बाढी र पहिरोबाट ठूलो मानवीय क्षति भएका सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यी दुई जिल्ला असोज मसान्तसम्म विपद संकटग्रस्त क्षेत्र घोषित भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए । उनका अनुसार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय सरकारले गरेको हो ।

    यो वर्ष बाढी र पहिरोले यी दुई जिल्ला सबैभन्दा बढी प्रभावित भए । सिन्धुपाल्चोकमा २६ परिवारको घर पूर्णरुपमा बगेको छ । ५६९ जना विस्थापित भएका छन् । मनाङमा बाढीमा ५३ घर पूर्ण र २६ मा आंशिक क्षति पुगेको छ । यो वर्ष जारी मनसुनका कारण अहिलेसम्म ६३ जनाको मृत्यु भएको छ । ३५ जना अझै बेपत्ता छन् ।

  • भेरोसेल खोप पत्रिकामा बेरेर काठमाडौंका घरघरमा ?

    भेरोसेल खोप पत्रिकामा बेरेर काठमाडौंका घरघरमा ?

    काठमाडौं । सामान्यतया २ देखि ८ डिग्री सेल्सियस तापक्रम कायम गरि निश्चित समय भित्र लगाइसक्नु पर्ने चिनियाँ खोप भेरोसिलको काठमाडौं उपत्यकामा असुरक्षित तरिकाले चुवावट हुने गरेको फेला परेको छ । काठमाडौंमा भेरोसिल खोप पत्रिकाले बेरेर प्लास्टिकको झोला भित्र केही टुक्रा आईसभित्र राखेर लगाउन हिँडेको विश्व न्युजले फेला पारेको छ । काठमाडौंको जिल्लाका एक प्राबिधिकले आफु खोप लगाउनु पर्ने प्राथमिकतामा रहेको भन्दै स्वास्थ्य मन्त्रालयबाटै खोप ल्याएको स्वीकार गरे । नाम नबताउने शर्तमा उनले यो तथ्यको खुलासा गरेका हुन् ।

    उनी जस्तै धेरै प्राबिधिक तथा औषधी व्यवसायीले यसैगरि खोप चुवाहट गरेको उनी स्वीकार गर्छन् ।आफुले यसैगरी ५० जना जतिलाई खोप लगाएको उनले जानकारी दिए । यसरी खोप लगाउनेमा आफ्नो चिनजानका रहेको उनको भनाई छ । यसरी चुहावट भएको खोप कतिपय औषधी व्यवसायीले समेत लगाउने गरेको आफ्नो जानकारीमा रहेको उनले बताए ।


    अहिले नेपालमा खोप अभियान चलिरहेको छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सनको खोप लगाइएको छ । चीनबाट सरकारले खरीद गरि ल्याएको पछिल्लो खोप काठमाडौं उपत्यकामा केही दिनमै सकिएको भन्दै अभियान बन्द गरिएको थियो । तर, औषधी पसलेहरु र प्राबिधिकहरुले भने स्वास्थ्य मन्त्रालयबाटै र कती पय खोप केन्द्रबाट ल्याएर सामान्य मापदण्ड समेत पुरा नगरी लगाउने गरेको खुलेको हो ।

    पालो कुर्दा सकिएको खोप झोलामा कसरी ?

    काठमाडौं उपत्यकासहित देशभर सबै नागरिकले खोप सजिलै पाउने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अगाडी एक विज्ञप्ती निकालेको थियो । मन्त्रालयले उपत्यकामा छुट्याइएको कोटा सकिएको भन्दै छिट्टै थप खोप आउने बताएको थियो । तर, विश्व न्यूजले सोमबार नै खोप वितरण गरिरहेको अवस्थामा फेला पारेको छ । यस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग प्रतिक्रिया माग्दा भने मन्त्रालयका अधिकारीले अनविज्ञता प्रकट गरेका छन् ।

    Photo : Vishwanews

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले कुनै पनि पसलमा खोप बेचविखन गर्न नपाइने बताउँछन् । उनी भन्छन्, हल्लाहरु धेरै आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारेमा सचेतना जगाउने गरी भिडियो नै बनाएको छ । त्यस्तो पाइएमा तत्काल स्वास्थ्य मन्त्रालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेका छौँ । मन्त्रालयको फेसबुकपेजमा पनि अवैधरुपमा बेचबिचन भएमा कारबाही हुने र लुकाइछिपाई गरेर बजारमा बेच्न राखेका खोप नक्कली हुनसक्ने सन्देश राखिएको छ । कोरोनाविरुद्धको खोप सरकारले निःशुल्क उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

    Photo : Vishwanews


    कहाँ पुग्यो नेपालमा खोप अभियान ?

    नेपाल आफै खोप उत्पादक मुलुक होइन । सोहीकारण उसले अन्य मुलुकसँग खोपमा भर पर्नु परेको छ । नेपाललाई भारतले पहिलो पटक १० लाख डोज कोभिसिल्ड अनुदानमा दिएको थियो । भारतबाट नेपाली सेनाका लागि थप एक लाख डोज खोप समेत अनुदानमा आएको थियो । त्यसपछि नेपाल सरकारले २० लाख डोज खरीद गर्न भारतलाई रकम दियो । भारतबाट खरीद गरेको १० लाख डोज खोप डेलिभरी भएपछि भारतबाट थप खोप आएन । त्यसबीचमा कोभ्याक्स कार्यक्रममार्फत ३ लाख डोज खोप नेपाल आएको थियो ।

    यो खोप करीव २१ लाख मानिसलाई पहिलो डोज लगाइएको थियो । त्यसमध्ये करीव १४ लाख जेष्ठ नागरिकले कोभिशिल्डको दोस्रो डोज लगाउनबाट बन्चित छन् । भारतबाट खोप आउन नपाएपछि सरकारले चीनतर्फ पहल थाल्यो शुरुमा १० लाख डोज खोप अनुदानमा दिएको चीनले ४० लाख डोज खोप बिक्रि गरेको छ । ४० लाखमध्ये पहिलो चरणमा ८ लाख डोज आएपछि सरकारले खोप अभियान चलाएको हो ।

    पछिल्लो समय अमेरिकाबाट १५ लाख ४० हजार डोज खोप नेपाल आएको छ । सो खोप लगाउने कार्य सोमबारबाट शुरु भएको छ । चीनले थप १८ लाख डोज खोप अनुदान दिने घोषणा गरेको छ । नेपाललाई जापानले समेत १६ लाख डोज खोप दिने बताएको छ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाल पठाउन बाँकि रहेको खोप पठाउने आश्वासन दिएका छन् ।

    खोप केन्द्रमा थामिनक्सनु भिड
    सरकारले प्राथमिकतामा वितरण थालेको खोप प्राथमिकता भन्दा बाहिरका मानिसले पाउँदा वितरण अव्यवस्थित बनेको छ । सरकारले उमेर र पेशा अनुसार कोरोना बिरुद्धको भ्याक्सिन लगाउने बुथहरु तोके पनि अधिकांश बुथमा टोकन लिएर भ्याक्सिन लगाउन लाईन लाग्दा लाग्दै खोप सकिएको भन्दै फर्काउने गरिएको छ । उमेरको हद बन्दी तोकेर जेष्ठ नागरिकलाई खोप लगाउन तोकिएका बुथमा युवाहरु लाइनमा देखिएका छन् । खोप वितरणको अव्यवस्थित अवस्थाबारे धेरै गुनासो आएपछि सोमबार स्वयमः प्रधानमन्त्री शेर बहादुर देउवा खोप केन्द्रको अवलोकनमा निस्किए ।

  • ६ साउनमा सार्वजनिक बिदा, ११ राजदूतको नियुक्ति खारेज

    ६ साउनमा सार्वजनिक बिदा, ११ राजदूतको नियुक्ति खारेज

    काठमाडौं । सरकारले साउन ६ मा सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बुधबार बकर इदको अवसरमा बिदा दिने निर्णय भएको हो । सरकारले बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति खारेज गर्ने निर्णय समेत गरेको छ । सरकारले नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकलाई धन्यवाद ज्ञापन गरेको छ । निःशुल्क थप खोप उपलब्ध गराउन खोप उत्पादक मुलुकसँग आग्रह गर्ने निर्णय समेत आजको मन्त्रिपरिषद् बैठकले गरेको उनले जानकारी दिए ।

  • नेपालमा थप २४४५ जनामा कोरोना संक्रमण पुष्टी, १२५८ जना संक्रमण मुक्त

    नेपालमा थप २४४५ जनामा कोरोना संक्रमण पुष्टी, १२५८ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४४५ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७८३३ पीसीआर परीक्षणमा १६४२ र ३८३१ जनाको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २४४५ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६८ हजार ७५१ पुगेको छ । पछिल्लो २४ घण्टामा १२५८ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २५ हजार ८३७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।

  • फ्लोर क्रस गर्ने २२ जना सांसदलाई एमालेको २४ घण्टे स्पष्टिकरण

    फ्लोर क्रस गर्ने २२ जना सांसदलाई एमालेको २४ घण्टे स्पष्टिकरण

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

    ललितपुरको बालकुमारीस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकले विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

    बैठकमा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले सांसदलाई स्पष्टिकरण सोध्ने प्रस्ताव ल्याएका हुन् । बैठकमा सहभागी अन्य केन्द्रीय सदस्यहरुले पार्टीलाई धोका दिनेलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका थिए ।

    देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन् ।

    त्यसैगरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित रहेको बैठकले स्थायी कमिटीले अनुमोदन गरेको कार्यदलको गरेको १० बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ ।

  • नेपाली सेयर बजारको उकालो यात्रा कायमै

    नेपाली सेयर बजारको उकालो यात्रा कायमै

    काठमाडौं । सेयर बजारको उकालो यात्रा आज पनि निरन्तर रहेको छ । आइतबार झन्डै १०० अंकले बढेको बजार आज पनि दोहोरो अंकले बढेको छ ।

    आज सूचकसँगै कारोबार रकममा पनि उत्साहजनक नै रहेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १७ करोडले बढेर पौने १२ अर्ब पुगेको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से १३.८० अंकले बढेर २९९४.४२ विन्दुमा पुगेको छ । आज २१९ कम्पनीको ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रुपैयाँ बराबरको ३ करोड ७५ लाख १३ हजार ३५४ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै ५.२२ प्रतिशतले बढेको छ भने फाइनान्स समूह १.१७ प्रतिशतले घटेको छ ।

    आज कारोबारमा आएका २१९ कम्पनीमध्ये ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३५ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंकको ३३ करोड र नेपाल बंगलादेश बैंक ३१ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा आज सिनर्जी पावर कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

    यस्तै, आज विशाल बजार कम्पनी ९.२०, नेपाल इन्स्योरेन्स ७.५७, नागरिक लगानी कोष ६.४०, हिमालयन ऊर्जा ५.९८, अरुण काबेली ५.७०, हिमालयन पावर ५.२८, एनआरएन इन्फ्रास्ट्रक्चर, साल्ट ट्रेडिङ र कालिका पावरको सेयर मूल्य ४ प्रतिशभन्दा धेरैले बढेको छ ।

    बढ्दो बजारमा आज नेपाल इन्भेष्टमेन्ट बैंकको डिबेन्चरधनीले सबैभन्दा धेरै ५.८७ प्रतिशत गुमाएका छन् ।

  • देउवाले पनि बालुवाटारमै पार्टीका बैठक बोलाएपछि कांग्रेस भित्रै असन्तुष्टी, नदोहोर्याउने प्रतिवद्धता

    देउवाले पनि बालुवाटारमै पार्टीका बैठक बोलाएपछि कांग्रेस भित्रै असन्तुष्टी, नदोहोर्याउने प्रतिवद्धता

    काठमाडौं । नेपाली कांग्रेसले दुई दिन लगातार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राख्यो । यसअघि बालुवाटार दुरुपयोग गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले समेत सोही प्रवृत्ति दोहोर्याएपछि नेताहरुले नै यसको विरोध गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन् ।

    नेता गगन थापाका अनुसार पार्टीका काम बालुवाटारबाट नगर्न सभापतिसँग अनुरोध गरिएको छ । त्यसमा प्रधानमन्त्री सकारात्मक छन् । प्रधानमन्त्री देउवाले आफू सरकारी निवासमा सरेको भोलिपल्ट कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बोलाएका थिए । थापाका अनुसार प्रधानमन्त्रीले पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा गरेको जनाएका थिए । अबदेखि त्यस्तो नहुने भनेर समेत प्रधानमन्त्रीले विश्वास दिलाएका छन् । केपी ओलीले भने पार्टीका बैठकदेखि मन्त्रिपरिषद् बैठकसम्म बालुवाटारमा गरेका थिए ।

  • भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

    भारतीय रेल जनकपुर ल्याएर गरियो जनकपुर–जयनगर रेल्वे ट्रयाकमा गति परीक्षण

    जनकपुर । नेपालको एक मात्र रेल्वेलाइन जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण र सर्टिफिकेशन सम्पन्न भएको छ । भारतको जयनगरबाट भारतीय रेल्वेको रेल जनकपुरधामस्थित कुर्थाको मुख्य स्टेशनसम्म ल्याइएको छ । त्यहाँ स्पिड परीक्षण र सर्टिफिकेशन गरेसँगै रेल भारत नै फर्काइएको छ । सो क्रममा जनकपुरधामस्थित कुर्था रेल्वे स्टेशनमा पूजा समेत गरियो ।

    भारतीय डव्लु डि एम थ्रीडी नामको इञ्जिन तथा दुई मालवाहक डब्बासहित ट्रेन जनकपुर आएको थियो । ट्रेन नेपाल आउँदा ६० किमि प्रतिघण्टाको गतिमा ल्याइएको थियो । फर्कदा भने १२० किमि प्रतिघण्टामा फर्काइएको छ । भारतीय रेल्वेका ड्राइभरले नै रेल नेपाल ल्याएका हुन् । अधिकारीहरुका अनुसार परीक्षण सफल भएको छ । अब बाँकि तयारी पुरा भएपछि रेल संचालनमा आउने छ ।

  • प्रधानमन्त्री देउवाले आज खोप केन्द्र अवलोकन गर्ने

    प्रधानमन्त्री देउवाले आज खोप केन्द्र अवलोकन गर्ने

    काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान जारी छ । यस क्रममा अत्यधिक भिडभाड बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र थप्न निर्देशन दिएका छन् । खोप अभियानको प्रभावकारी अध्ययन गर्न आज उनी स्थलगत अनुगमनमा जाने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले सोमबार देखि शुरु हुने जोन्सन एण्ड जोन्सननको खोप लगाउने स्थानको अवलोकन गर्नेछन् ।

    काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायत खोप केन्द्र अवलोकनमा प्रधानमन्त्री देउवा पुग्ने भएका हुन् । उनले आइतबार स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागका अधिकारीसँग छलफल गर्दै खोप खरीद प्रक्रिया चुस्त बनाउन निर्देशन दिएका थिए ।

    प्रधानमन्त्री देउवाले आगामी चैत भित्र सबै नागरिकलाई खोप दिने घोषणा गरिसकेका छन् । अहिले धमाधम खोप आउने क्रममा छ । आइतबार उनले विश्वासको मत लिने क्रममा समेत सरकारको प्राथमिकता खोप नै रहेको बताएका थिए ।

  • अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाइंदै, यी हुन् खोप केन्द्र

    अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाइंदै, यी हुन् खोप केन्द्र

    काठमाडौं । अमेरिकाबाट अनुदानमा आएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप आजबाट देशभर लक्षित वर्गमा लगार्इंदैछ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकाबाट कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आएको छ ।

    यो खोप २८ असारमा काठमाडौं आएको हो । यो खोप एक डोज मात्र लगाए पुग्छ । सोहीकारण १५ लाख ३४ हजार मानिसका लागि यो नै पूर्ण खोप हो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी सहित पहिलो प्राथमिकतामा रहेका व्यक्तिलाई लगाइंदैछ । काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट खोप वितरण हुने छ ।

  • माधव नेपालको सैद्धान्तिक जीत, आवेगमा आउँदा रावलको गुम्यो सांसद पद

    माधव नेपालको सैद्धान्तिक जीत, आवेगमा आउँदा रावलको गुम्यो सांसद पद

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सैद्धान्तिक रुपमा विजयी भएका छन् । दोस्रो तहका नेताबाट निरन्तर आएको दवावका वावजुत उनले आफ्नो समूहलाई डगमग हुन दिएनन । यसको प्रतिक्रिया उनले विश्वासको मतपछि दिए । उनले यो दिन निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको प्रतिक्रिया दिए ।

    नेता नेपालसहित २२ एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए । यद्दपी उनको मत नपाए पनि देउवाको पक्षमा बहुमत जुटेको थियो । एमालेका कुल ३१ सांसदले फ्लोर क्रस गरे । भोट नहालेका सांसद अनुपस्थित भए । देउवाको पक्षमा १६५ मत परेको छ । यो झण्डै दुई तिहाई नजिक हो ।

    संसदमा एमालेका १२१ सांसदमध्ये विपक्षमा ८३ मत मात्र परेको छ । एक जना तटस्थ बसे । नेता नेपालले संसदको यो निर्णयले पटकपटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि भएको बताए ।

    उता, आवेगमा निर्णय गर्दा भीम रावलको भने सांसद पद गुमेको छ । संसदमा घिनलाग्दो खेल भएको भन्दै आइतबार दिउँसो राजिनामाको घोषणा गरे । सांसदहरुले रोक्न खोज्दा खोज्दै पनि आवेगमा आउँदा उनले दिएको राजिनामा भने करीव औचित्यहिन भएको छ ।

  • देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

    देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक रुपमा बधाई ज्ञापन गरेका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत पाउनासाथ भारतीय प्रधानमन्त्रीले ट्वीट गर्दै देउवालाई बधाई दिएका छन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने उनको विश्वास छ । नियुक्त हुनासाथ मोदीको बधाई नआएको भन्दै नेपालमा चर्चा भइरहेको थियो ।

  • विश्वासको मत अगाडी संसदमा रोचक बहस, प्रचण्ड हावी

    विश्वासको मत अगाडी संसदमा रोचक बहस, प्रचण्ड हावी

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिन चाहेपछि आज ५ बजेपछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्यो । त्यसपछि सभामुख अग्नी सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधनसहित विश्वासको मत माग्न समय दिए । सो क्रममा देउवाले आफु महामारी नियन्त्रणमा केन्द्रित हुने र जनताको जिउज्यान जोगाउन लाग्ने बताए ।

    आफ्नो नियुक्ति संविधान बमोजिम भएको भन्दै यसको रक्षामा लाग्ने उनको प्रतिवद्धता थियो । उनले विश्वासको मत मागेपछि सभामुखले एमाले नेता प्रदीप ज्ञवालीलाई बोल्न समय दिए । त्यतिन्जेल संसदमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका थिएनन् ।

    सम्बोधनमा ज्ञवालीले ओलीको भरपुर प्रसंशा गरे । त्यसक्रममा उनले न्यायाधिशहरुलाई श्रीमान ५ हरुले गलत व्याख्या गरि आदेश गरेको सम्म आरोप लगाए । उनले आफुहरु युद्धमा हारेर बाध्यभई सम्झौता गर्न नआएको भन्दै कटाक्ष गरे । त्यसक्रममा उनले केपी सरकारले सगरमाथाको उचाई बढाउने देखि चुच्चे नक्सा ल्याएर ऐतिहासिक काम गरेको बताए ।

    त्यसपछि सभामुखले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई रोष्ट्रमको जिम्मा दिए । उनले निकै परिपक्क भाषण गरे । संविधान जोगाउन गरेको प्रयासदेखि प्रदीप ज्ञवालीले गरेका कुतर्कहरुको उनले एक एक जवाफ दिए । युद्धको सन्दर्भमा अलि आक्रामक बनेका उनले आगोलाई नचलाउन र यसलाई विकासको काममा लगाउन सुझाव दिए ।

    विगतमा सबै पार्टीको पृष्ठभूमि युद्ध भएपनि सबैले त्यसलाई बिर्सिएर माओवादीको थाप्लोमा मात्र युद्धको पगरी गुथाउने गरेकोमा उनको आपत्ति थियो । माओवादी युद्ध नभएको भए वर्तमान राजनीतिक परिवर्तन असम्भव रहेको भन्दै अहिलेको संविधानलाई राजा महाराजासहितको २०४७ सालको संविधान जस्तै नठान्न समेत आह्वान गरे । उनको ओझिलो र तर्कपूर्ण भाषणले ज्ञवालीका तर्कहरु काटेको थियो ।

    त्यसपछि सभामुखले जसपाका अध्यक्ष महन्त ठाकुरसहित अन्य सत्तारुढ दलका नेतालाई बोल्न दिएसँगै बहस सकिएको थियो ।

  • एमालेका २२ सांसदले दिए देउवालाई भोट, योगेश, गोकर्णलगायत अनुपस्थित

    एमालेका २२ सांसदले दिए देउवालाई भोट, योगेश, गोकर्णलगायत अनुपस्थित

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा २२ जना एमाले सांसदबाट विश्वासको मत प्राप्त भएको छ । यसमध्ये कतिपय ओली खेमाका सांसद समेत छन् । तर, एमालेको एकता कार्यदलमा रहेका योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, धनश्याम भुसालसहितका नेता भने मतदानमा उपस्थित भएनन् ।
    देउवाले प्रतिनिधिसभामा १६५ मत पाएका छन् ।

    यसमा कांग्रेस, माओवादी केन्द्र र जसपाको पुरै मत आएको छ । नेकपा एमालेले भने २२ सांसदको मत आएको छ । देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान छन् ।

    गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनको भोट समेत देउवाले पाएका छन् ।

  • प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, एमाले ओली खेमाका सांसदको समेत समर्थन

    प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, एमाले ओली खेमाका सांसदको समेत समर्थन

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । यससँगै उनले वर्तमान संसदको पुरा कार्यकाल सत्ता चलाउन सक्ने भएका छन् । आज कुल २४९ जना सांसद उपस्थित थिए । त्यसमध्ये १६५ मत उनको पक्षमा पर्यो । उनको विपक्षमा ८३ र तटस्थमा एक मत मात्र परेको छ । अब डेढ वर्ष देशको जिम्मेवारी उनको काँधमा आएको हो ।

    कांग्रेस, माओवादी, जसपाको पुरै टीम र एमालेका केही सांसदले उनको पक्षमा मतदान गरे । यससँगै उनको पक्षमा बहुमत जुटेको हो । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भएपछि उनले आजै विश्वासको मत लिएका हुन् । बैठक आज राष्ट्रपतिबाट आह्वान भएको थियो । बैठकमा प्रधानमन्त्रीले आफुलाई विश्वासको मत मागेका थिए ।

    उनले जनतालाई कोरोनाबाट बचाउँदै विकास निर्माणका कामलाई तिब्रता दिने आश्वासन दिएका छन् । उनी संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । यो उपधारा अनुसार दलिय ह्वीप नलाग्ने आदेश सर्वोच्चबाट भएसँगै एमालेका सांसदलाई पक्षमा मत हाल्न बाटो खुलेको हो । देउवालाई केपी शर्मा ओली खेमाका प्रेम आले समेतका सांसदको भोट देउवाको पक्षमा आएको छ ।

  • नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २३ जना संक्रमितको मृत्यु

    नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २३ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८०१ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९६२८ पीसीआर परीक्षणमा १२२३ र ३ हजार जनाको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १८०१ जनामा संक्रमण पुष्टी भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार १०९ पुगेको छ । पछिल्लो २४ घण्टामा १६६७ जना संक्रमण मुक्त भएका छन् ।

    यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २५ हजार ४८५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ ।

  • प्रतिनिधिसभा सदस्यबाट भीम रावलले दिए राजीनामा

    प्रतिनिधिसभा सदस्यबाट भीम रावलले दिए राजीनामा

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले अनैतिक राजनीतिको खेलबाट अलग हुने भन्दै आइतबार राजीनामा दिएका हुन्।

    सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने बताए ।

  • नेपाली सेयर बजारमा छलाङ,९७ अंकले बढ्यो नेप्से

    नेपाली सेयर बजारमा छलाङ,९७ अंकले बढ्यो नेप्से

    काठमाडौं । सेयर बजारमा छलाङ आएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा झन्डै १०० अंकको बढोत्तरी आएको हो ।

    मुख्यगरी बैंक, विकास बैंक, बीमा कम्पनी र माइक्रोफाइनान्स समूहको सेयरमा चमक आउँदा नेप्सेले ठूलो छलाङ मारेको हो । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सूचीकृत कम्पनीहरुले गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने र लगत्तै लाभांश घोषणा गर्ने भएकाले लगानीकर्ता आशावादी हुँदा बजारले एकै दिन ठूलो फड्को मारेको हो ।

    यस्तै, शुक्रबार नयाँ अर्थमन्त्री जर्नादन शर्माले सेयर बजारमा रहेका समस्या समाधान गर्दै सर्वसाधरण अनुकुल बनाइने बताएका थिए । अर्थमन्त्रलीले सेयर बजार सम्बन्धी सकारात्मक धारण राखेसँगै लगानीकर्ता उत्साहित हुँदा बजारले गति लिएको हो ।

    आज सूचकसँगै कारोबार रकममा पनि ठूलो बढोत्तरी आएको छ । गतसाता औसतमा दैनिकसाढे ५ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज दोब्बरले बढेर साढे ११ अर्ब बढीको कारोबार भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ९७.२१ अंकले बढेर २९८०.६१ विन्दुमा पुगेको छ । आज २२१ कम्पनीको ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूहसबैभन्दा धेरै ५.०५ प्रतिशतले बढेको छ भने बैंकिङ समूह पनि ४.७१ प्रतिशतले बढेको छ ।

    आज कारोबारमा आएका २२१ कम्पनीमध्ये १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज मञ्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४१ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंकको साढे ३३ करोड र अरुण भ्याली हाइड्रोपावर साढे ३७ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

    छलाङ मारेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर, हिमालयन पावर र सिंगटी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यसैगरी, सिद्धार्थ बैंक ८.५३ प्रतिशत, महालक्ष्मी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, पाँचथर पावर, एनआइसी एशिया र माछापुच्छे बैंकको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    यसैगरी, गोर्खा फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, नेशनल हाइड्रो डेभलपरको ५ प्रतिशतभन्दा धेरैले बढेको छ भने मिर्मिरे माइक्रोफाइनान्स, पञ्चकन्यामाइ र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    बढ्दो बजारमा आज कृषि विकास बैंक डिबेञ्चरको सेयर मूल्य सबैभन्दा धेरै ३।९० प्रतिशतले घटेको छ ।

  • संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन्।

    शनिबारको मन्त्रिपरिषद्को निर्णय एवम् सिफारिसमा भण्डारीले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश खारेज गरेकी हुन्।

    नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    दल विभाजन सम्बन्धि र संवैधानिक परिषद सम्बन्धि ऐन संशोधनको अध्यादेशलाई लिएर बिपक्षी दल तथा नागरिक तहमा मात्रै नभई तत्कालिन नेकपा भित्रै पनि ठूलो हलचल पैदा भएको थियो ।

  • विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ?

    विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ?

    एएफपी । विश्वभर ३ अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा १ अर्ब ४३ करोड ७६ लाख २३ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    अमेरिकामा ३३ करोड ६० लाख ७१ हजार ६४० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ६४ लाख ८१ हजार ५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

    जर्मनी ८ करोड ५६ लाख १५ हजार ४३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड २६ लाख ४९ हजार ३३१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

    जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

    टर्कीमा ६ करोड २९ लाख ६४ हजार २४१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ११ लाख २ हजार ९८७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

  • देउवाको विपक्षमा मतदान गर्ने एमालेको निर्णय, नेपाल समूहलाई कारबाही गर्ने

    देउवाको विपक्षमा मतदान गर्ने एमालेको निर्णय, नेपाल समूहलाई कारबाही गर्ने

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदैछन् ।

    माधव नेपाल पक्षका सांसदले भने विश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीले देउवालाई विश्वासको मत दिने सांसदका विषयमा भोली बस्ने केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने जानकारी दिए ।

    ‘हामी प्रतिपक्षमा बस्छौं । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदैनौं,’ नेता ज्ञवालीले भने, ‘आफ्नै पार्टीको सरकार ढाल्ने अनि विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाएर विश्वासको मत दिने साथीहरू एमालेमा रहनुहुन्न ।’

    उनले माधव नेपालले एक्लै भएपनि विश्वासको मत दिने बताएको जानकारी दिए । प्रवक्ता ज्ञवालीले आज बिहान भएको भेटवार्तामा देउवाको प्रस्तावका पक्षमा एक्लै भएपनि मत हाल्ने कुरा गरेको बताए ।

  • प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

    प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरिएको छ । नेपाली संचारमाध्यमले प्रधानमन्त्री निकट स्रोतलाइ उदृत गर्दै यसको पुष्टि गरेका छन् । सर्वोच्च अदालतले २८ असारमा पुनस्र्थापना गरेको संसदको बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीले  आजकै बैठकमा विश्वासको मत लिने गरि तयारी थाल्न भनेका छन् । जसपाका चार साम्सद उपेन्द्र यादव खेमामा आएको र एमाले विवाद नसेलाएको समयमै विश्वासको मत लिइहाल्ने मुडमा प्रधानमन्त्री पुगेका छन् ।

  • एनआरएनएको १० औं साधारणसभा कात्तिकमा तय

    एनआरएनएको १० औं साधारणसभा कात्तिकमा तय

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ एनआरएन ग्लोबल सम्मेलन तथा १०औँ साधारणसभा आगामी अक्टोबर २३–२५ (२०७८ कात्तिक ६–८) मा आयोजना हुने भएको छ । संघको शनिबार बसेको ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले मिति तय गरेको हो । बैठकले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा मुल आयोजक समिति समेत गठन गरेको छ ।

    अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दैै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरेको छ । यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले तोकिएको शुल्क तिर्नुपर्ने प्रावधान थियो । बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय समेत गरेको छ ।

    बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ । बैठकले आर्थिक वर्ष २०७८,७९ को बजेट पनि पारित गरेको छ । कोरोना महामारीका कारण साधारणसभाको कसरी गर्ने भन्ने चाँही पछि तय हुने छ ।

  • उज्जवल थापाको उपचारका लागि उठाइएको रकम ७ संस्थालाई वितरण

    उज्जवल थापाको उपचारका लागि उठाइएको रकम ७ संस्थालाई वितरण

    काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचार गर्न सर्वसाधारणबाट रकम आह्वान गरिएको थियो । यसरी उठेको रकमबाट उनको उपचारमा खर्च गरि बचेको पैसा भने विभिन्न सात वटा संस्थालाई वितरण गरिएको छ। शनिबार उनको निजी आवासमा परिवार सदस्यले सो रकम हस्तान्तरण गरे । विवेकसिल साझा पार्टीक अनुसार उनको उपचारका लागि संसारभरबाट २,८०० मानिसले सहयोग गरेका छन् । त्यसमध्ये सबैभन्दा कम १० रुपैयाँ प्राप्त भएको थियो ।

    ती व्यक्तिहरूबाट रु ६७ लाख ८३ हजार ४ सय ८५ उठेको छ । उठेको रकमबाट २४ लाख २० हजार ३ सय ४९ रूपैयाँ थापाको उपचारमा खर्च भएको छ । बैंक तथा रकम स्थानान्तरण गर्न कुल १ लाख १० हजार ९ सय ३४ रूपैयाँ पैसा खर्च भएको छ । उपचार गरी बाँकी ४२ लाख ५२ हजार २ सय रूपैयाँ सात संस्थालाई बाँडिएको पार्टीले जनाएको छ । कोभिडको महामारीमा चिकित्सकीय तथा जीविकोपार्जन समस्या भोगिरहेकाहरूलाई सहयोग गरिरहेका संस्थाहरूलाई उक्त रकम प्रदान गरिएको बताइएको छ ।

    यो रकम पाउने संस्थामा भोरे नेपाल, सर्लाही रु. २,५०,०००, हार्टबिट, काठमाडौं रु २,००,०००, मधेश ह्युमन राइट्स होम, कपिलवस्तु रु। २,०२,२०१.७२, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौँ रु. ५,००,०००, राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौँ रु। १५,००,०००, ओडा फाउन्डेसन, कालिकोट रु. १०,००,००० र सानो पाइला, वीरगन्ज रु. ६,००,००० छन । यो रकम खर्च भएसँगै यसको प्रतिवेदन समेत सार्वजनिक बताइएको छ । थापाको उपचारका क्रममा १८ जेठमा निधन भएको छ ।