Category: फिचर

  • निषेधाज्ञा घोषणापछि ५ लाख भन्दा बढीले छाडे उपत्यका

    निषेधाज्ञा घोषणापछि ५ लाख भन्दा बढीले छाडे उपत्यका

    काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि ५ लाख भन्दा बढी मानिसले उपत्यका छाडेका छन् । सडक र हवाई मार्गबाट उक्त संख्यामा मानिसहरु बाहिरिसकेको सरकारी संचारमाध्यम गोरखापत्रले लेखेको छ ।
    कोरोना भाइरस महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

    सरकारले शुरुमा ७ दिन निषेधाज्ञा गर्ने भनेपछि यसलाई दुई साता पुर्याउने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यस पटक समेत गत सालजस्तै निषेधाज्ञा लम्बिने डरसँगै सर्वसाधारणले काठमाडौं छाडिरहेका छन् । उनीहरुका लागि आज एक दिनको समय रहेको छ ।

    देशका विभिन्न स्थानबाट काठमाडौँ उपत्यका भित्रिएका बस, माइक्रोबस र मिनीबसलाई तत्कालै सम्बन्धित गन्तव्यमा पठाउने काम भइरहेको छ । गोरखापत्रले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई उदृत गर्दै लेखेअनुसार मङ्गलबार दशैं तिहारमा जस्तै गरी भीड बढेको छ ।

    नागढुङ्गा, भक्तपुरको जगाते, बल्खु–फर्पिङ, चन्द्रागिरि, ललितपुरको लेले, टोखा छहरे, मुड्खु, जरसिंहपौवा र रामकोटलगायतका नाकाबाट भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर रहेको छ । नागढुङ्गा नाकाबाट मात्र मङ्गलबार १५ हजार सार्वजनिक सवारी साधन बाहिरिएका छन् ।

  • भारतमा कोरोनाबाट भएको मृत्युको आंकडामा नयाँ रेकर्ड

    भारतमा कोरोनाबाट भएको मृत्युको आंकडामा नयाँ रेकर्ड

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसका कारण भएको मृत्युको आंकडामा नयाँ रेकर्ड बनेको छ । मंगलबार २४ घण्टामा यहाँ कोरोनाभाइरसका ३ हजार बढी संक्रमितको ज्यान गयो । यो घटना कोरोनाकाल यताकै सबैभन्दा बढी हो । भारतीय संचारमाध्यमले जनाएअनुसार मंगलबार भारतमा ३ हजार २ सय ८६ जना संक्रमितको ज्यान गएको आंकडा आएको छ ।

    अब भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ लाख भन्दा माथि पुगेको छ । बढ्दो संक्रमणका बीच यहाँ मानवीय क्षति समेत उत्तिकै बढी भइरहेको छ । भारतमा कोरोनाबाट २ लाख १ हजार १ सय ६ जनाको ज्यान गएको छ।

    कोरोनाबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने मुलुकमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ। यहाँ ५ लाख ७२ हजार मानिसले ज्यान गुमाएको आंकडा रहेको छ । दोस्रो नम्बरमा ब्राजिल (३ लाख ९२ हजार) र तेस्रो नम्बरमा मेक्सिको (२ लाख १५ हजार) रहेको छ ।

  • माओवादी केन्द्रका सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य

    माओवादी केन्द्रका सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गर्ने निर्णय गरेको छ । पार्टीको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी अन्तरिम विधान पास गरेको छ । जसअनुसार केन्द्रीय समितिदेखि मातहतका सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरएको छ । यो नियम तत्काल लागु हुने गरी ल्याइएको हो ।

    यसअघि सत्तारुढ नेकपा एमालेको कमिटिमा महिला एक जना पनि नपरेपछि आलोचना भइरहेको छ । माओवादी केन्द्रले भने पार्टीका सबै समितिमा ४० वर्षसम्मका युवा कम्तीमा २० प्रतिशत हुने गरी विधानमा संशोधन गरेको छ ।

    दलित समुदायबाट केन्द्रीय समितिमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिका कमिटीमा त्यहाँ रहेको जनसंख्याको प्रतिशतमा २ प्रतिशत थपेर अनिवार्य प्रतिनिधित्व गराइने समेत उल्लेख छ । केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बन्नेछ । केन्द्रमा अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टिम रहने भएको छ ।

  • निषेधाज्ञाको समयमा ढुवानी र आपूर्ति सहज बनाउन र्यापिड रेस्पोन्स टिम तयार

    निषेधाज्ञाको समयमा ढुवानी र आपूर्ति सहज बनाउन र्यापिड रेस्पोन्स टिम तयार

    काठमाडौं । बिहीबार बिहानैबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु हुँदैछ । अत्यावश्यबाहेक सबै काम कारवाही यो अवधिमा रोकिने छन् । सार्वजनिक र निजी यातायात बन्द हुने छ । यस अवस्थामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न उच्चस्तरीय ¥यापिड रेस्पोन्स टिम तयार पारेको छ ।

    यो टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ती मार्फत जनाएको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न सम्पर्क व्यक्ति समेत तोकिएको छ ।

    आपूर्ति व्यवस्थापनको हकमा प्रेम कुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताको हकमा जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा. श्रीराम घिमिरे र उत्पादनशील उद्योगको हकमा नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा. नारायण प्रसाद रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको छ ।

    मन्त्रालयले सम्बन्धित व्यक्तिहरुको मोबाइल नम्बरसमेत दिएर वस्तु तथा सेवाको उत्पादन, वितरण तथा आपूर्ति प्रणालीमा केही समयमा सम्पर्क गर्न पनि भनेको छ ।

  • मध्यराती काठमाडौंमा भूकम्पको धक्का

    मध्यराती काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं । काठमाडौंमा मध्यरातमा धूकम्पको धक्का महसुस भएको छ । कलंकी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । गएराति १ बजेर ५९ मिनेटमा भूकम्पको मापन गरिएको छ । यद्दपी यसले कुनै क्षति भएको भने जानकारी आइसकेको छैन । २०७२ वैशाख १२ को गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्पयता ५ सय भन्दा बढी पराकम्पको महसुस भइसकेको छ । नेपाल संसारमै भूकम्पको जोखिमयुक्त मुलुकमध्ये एकमा पर्छ ।

  • अमेरिकामा मंगलबारदेखि घर बाहिर फेस-मास्क लगाउनु नपर्ने

    अमेरिकामा मंगलबारदेखि घर बाहिर फेस-मास्क लगाउनु नपर्ने

    न्युयोर्क

    अमेरिकामा भ्याक्सिनको डोज पुरा गरेका मानिसहरुले मुखमा मास्क बिना नै घर बाहिरका सबै कृयाकलाप गर्न पाउने भएका छन् । मंगलबार सेन्टर फर डिजिज कन्ट्रोलले उक्त निर्णय सार्वजनिक गरेको हो । सि डि सिको नयाँ नियमपछि अब अमेरिकामा दोश्रो डोज भ्याक्सिन लिएको दुई हप्तापछि त्यस्ता ब्यक्तिहरु घर बाहिर हुने स-साना समुहको जमघट तथा भेटघाटमा बिना मास्क सहभागी हुन पाउने छन् । गर्मीयाम सुरु हुँदै गर्दा अब वकिङ् हाईकिङ साईकिलिङ् रनिङ् आदिको लागि मास्कको प्रयोग गर्नु नपर्ने भएको छ ।
    अमेरिकामा हालसम्म २३ करोड १० लाख मानिसले पहिलो डोज भ्याक्सिन लिईसकेका छन् भने ९ करोड ५९ लाखले दोस्रो डोज पनि प्राप्त गरिसकेका छन् ।
    दोश्रो डोज प्राप्त गर्नेहरुको यो संख्या कुल जनसंख्याको झन्डै ३० प्रतिशत हो ।

  • विमानस्थलसम्म यात्रु लैजान साझा यातायातका बस चलाइने

    विमानस्थलसम्म यात्रु लैजान साझा यातायातका बस चलाइने

    काठमाडौं । निषेधाज्ञाको समयमा हवाई यात्रुको आवतजावत सहजिकरण गर्न विमानस्थलसम्म साझा यातायातका बस चल्ने भएका छन् । आन्तरिक तथा बाह्य यात्रुको सुविधालाई ध्यानमा राखी वैशाख १६ देखि काठमाडौं उपत्यकामा साझा यातायातले हवाई यात्रुलाई विमानस्थलसमम लैजाने भएको हो । सोही दिनबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु हुँदैछ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने बन्द गरेको छैन ।


    निषेधाज्ञामा सार्वजनिक यातायात नचल्दा हवाई यातायात मात्र चलाउन कठिन हुने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले थप निर्णय गरेको हो । प्राधिकरणले यात्रुका लागि साझा यातायातका बसहरू उक्त समयमा परिचालन गर्ने निर्णय गरेको छ। साझाका बसबाट यात्रु गन्तव्यमा पुग्नेछन्। त्यस्तै, एयरलाइन्सका लागि पनि सवारी सञ्चालनको अनुमति दिइने छ। आन्तरिक हवाई यात्रुका सवालमा टिकट र परिचयपत्रका आधारमा सहिजकरण गर्ने तयारी रहेको छ ।

  • चीनले करीव १ अर्ब बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहायता दिने

    चीनले करीव १ अर्ब बराबरको स्वास्थ्य सामग्री नेपाललाई सहायता दिने

    काठमाडौं । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी (चिनियाँ मुद्रा ५० लाख) बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ। मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेको नेपाली संचारमाध्यमले जनाएका छन् ।

    उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी रोकथाम र आर्थिक पुनरुत्थानका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने बताएका थिए । उनले कोरोना महामारीविरुद्धको लडाइ, आर्थिक पुनरुत्थान र नागरिकको जीविका र जीवन रक्षाका लागि ठोस सहकार्य अगाडि बढाउनुपर्ने समेत बताए ।

  • नेपालमा एकैदिन ४५२४ जनामा कोरोना संक्रमण पुष्टी, १८ जनाको मृत्यु

    नेपालमा एकैदिन ४५२४ जनामा कोरोना संक्रमण पुष्टी, १८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ७८ हजार ५०६ जना पुगेको छ ।

    संक्रिय संक्रमितको संख्या २६ हजार २ सय २५ पुगेको छ । १८ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार १९४ पुगेको छ ।

  • ठूलो संख्यामा खोप स्टक राखेको अमेरिकाले अरु देशलाई ६ करोड डोज खोप दिने

    ठूलो संख्यामा खोप स्टक राखेको अमेरिकाले अरु देशलाई ६ करोड डोज खोप दिने

    अमेरिका । अमेरिकाले आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

    सो विज्ञप्तिका अनुसार अमेरिकाले करिब ६ करोड मात्राको खोप केही महिनाभित्र निर्यात गर्न सक्ने बताइएको छ । विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भए पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले सो खोपलाई भने अझै पनि स्वीकृति दिएको छैन ।

    विश्वका कतिपय देश र संघसंस्थाहरुले अमेरिकाले ठूलो संख्यामा खोप राखेको बताइएको छ । यसकारण पनि अमेरिकाको आलोचना भइरेहको बताइएको छ ।उता अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकाले आस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित नभएको बताएका छन् ।

    अघिल्लो महिनामा मात्र राष्ट्रपति बाइडेनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने वाचा गरेका थिए । यी दुई देशले भने आस्ट्राजेनेकाको प्रयोगलाई अनुमति दिएका छन् । अमेरिकाका छिमेकी देशहरु क्यानडा र मेक्सिको तथा अन्य दर्जनौँ देशले पनि अमेरिकी खोपको आपूर्तिमा पहुँच पाइयोस भनेर अनुरोध पनि गरिरहेका छन् ।

  • नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध

    नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध

    काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमनको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ ।

    अध्यागमन विभागले मंगलबार एक सूचना निकाल्दै १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको हो ।

    नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही बैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको विज्ञप्तिमा जनाइएको छ ।

    त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले जनाएको छ ।

  • नेपाली सेयर बजारमा ९२ अंकको उछाल, यी हुन् धेरै मूल्य बढेका कम्पनी

    नेपाली सेयर बजारमा ९२ अंकको उछाल, यी हुन् धेरै मूल्य बढेका कम्पनी

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । गत सातादेखि लगातार घटेको बजार आज दोहोरो अंकले लयमा फर्किएको हो ।

    मंगलबार शेयर बजार मापक सूचक नेप्से ९२.४६ अंकले बढेर २५९९.०८ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१६ कम्पनीको ५ अर्ब १० करोड ९० लाख ६९ हजार ९७५ रुपैयाँ बराबरको १ करोड २० लाख २ हजार २१९ कित्ता शेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये सबै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५५८.६३ अंकले बढेको छ ।

    बैंकिङ ४५, ब्यापार १९०, होटल तथा पर्यटन ३९, विकास बैंक ९३, जलविद्युत १५३, फाइनान्स ३५, निर्जीवन बीमा ५४३, उत्पादन २३९, अन्य ६९, माइक्रोफाइनान्स २३७, जीवन बीमा ५५८ र लगानी समूह ४ अंकले बढेका छन्।

    आज कारोबारमा आएका २१६ कम्पनीमध्ये जम्मा २० कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा निफ्रा २१ करोड र नेपाल पुनर्बीमा कम्पनीको १४ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    आज कारोबार भएका एउटा सबै समूह हरियाली भएका छन् भने ११ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त, विशाल बजार, माथिल्लो तामाकोशी, युनाइटेड फाइनान्स, समिट लघुवित्त, मल्टी प्रपोज फाइनान्स र ग्लोबल आइएमई लघुवित्तका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

    यसैगरी, छ्याडदी हाइडोपावर, अरुण भ्याली, उन्नति सहकार्य लघुवित्त, युनाइटेड इदी मार्दी हाइडोपावरका लगानीकर्ता पनि ९ प्रतिशत बढी कमाएका छन् ।

  • निषेधाज्ञामा समेत नेप्से कारोबार नरोकिने, लगानीकर्तालाई अवसर

    निषेधाज्ञामा समेत नेप्से कारोबार नरोकिने, लगानीकर्तालाई अवसर

    काठमाडौं । निषेधाज्ञापछि घरमै बस्नुपर्ने लगानीकर्ताका लागि खुसीको खबर छ । नेपाल स्टक एक्स्चेन्ज(नेप्से) ले ब्रोकरहरूलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गराएर शेयर कारोबार गर्न परिपत्र गरेको छ । यससँगै निषेधाज्ञाका बीचमा समेत कारोबार निरन्तर जारी रहने भएको छ ।

    सेयर बजार सञ्चालन गर्ने गतिविधिमा सजकता अपनाउन धितोपत्र व्यवसायीलाई ७ बुँदे निर्देशन दिएको छ । निर्देशनमा सकेसम्म अनलाइन कारोबार गर्न र अनलाइन प्रयोगलाई प्रोत्साहन गर्न कारोबारको खरिद विक्री रकम सहज ढंगले उपलब्ध गराउन भनिएको छ ।

    सदस्य दलाल तथा व्यापारीलाई यथासम्भव भौतिक आवगमनलाई कम गर्न आग्रह गरेको छ । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै शेयर बिक्रीको रकम लिन भौतिक रूपमा ब्रोकर कार्यालय उपस्थित हुनुपर्दैन ।

    धितोपत्र व्यापारीले नेप्सेसँग गर्नुपर्ने कामकारवाहीका लागि भौतिक उपस्थितिलाई सम्भव भएसम्म कम गर्नुपर्ने छ । नेप्सेमा पेश गर्नुपर्ने, कागजातहरु सकेसम्म इमेल मार्फत अभौतिक रुपमा पीडीएफ फाईल पठाउन नेप्सेले अनुरोध गरेको छ ।

    संस्थापक शेयरको कारोबार गर्न तथा गराउन सदस्य दलालले आवश्यक सम्पूर्ण कागजात संकलन गरिसकेपछि मात्र नेप्सेमा पेश गर्न अनुरोध गरेको छ ।

    त्यसैगरी, सदस्यले नेप्सेबाट पाएको पत्रहरुको प्रत्युत्तर एवं सदस्यसँग सम्बन्धित अन्य कुनै पनि विवरण एवं जानकारी गराउँदा वा पत्राचार गर्दा यो इमेलमा पठाउनु पर्ने नेप्सेले जनाएको छ ।

  • पोर्चुगलमा कोरोना नियन्त्रण भित्र, कसरी प्राप्त भयो सफलता ?

    पोर्चुगलमा कोरोना नियन्त्रण भित्र, कसरी प्राप्त भयो सफलता ?

    काठमाडौं, एजेन्सी । ससारभर कोरोना भाइरसको दोस्रो लहर चलिरहँदा पोर्चुगलमा भने नियन्त्रणउन्मुख देखिएको छ । सोमबार यहाँ कोरोनाबाट एक जना पनि मानिसले ज्यान गुमाउनु परेन, यो यूरोप भरीकै सबैभन्दा सुखदः समाचार हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार पोर्चुगलमा महामारी सुरु भएयता दोस्रोपटक कोभिडबाट एकदिनमा शून्य मृत्यु भएको आँकडा सोमवार आएको हो ।

    बीबीसीले लेखे अनुसार जनवरी महिनाको अन्त्यतिर पोर्चुगलमा विश्वकै सबभन्दा उच्च दरको सङ्क्रमण तथा मृत्यु रेकर्ड भएको थियो । त्यहाँको सरकारले कडा र लामो समयको लकडाउनलाई निरन्तरता दियो । यसको प्रभाव अब कोरोना नियन्त्रणतर्फ देखिएको छ ।

    संचारमाध्यमहरुका अनुसार त्यहाँ सङ्क्रमण दर उच्चस्तरमा पुगेको बेलाभन्दा अहिले असी भागको एक भागमा झरेको छ। पोर्चुगल यूरोपभरकै सबैभन्दा सुरक्षित मुलुक बन्न सफल भएको छ । यससँगै त्यहाँ लकडाउन विस्तारै खुकुलो पार्न थालिएको बताइएको छ ।

    पोर्चुगलमा हालसम्म कोभिडका कारण १६,९६५ जनाको ज्यान गइसकेको छ। कुल संक्रमित भने ८३४,००० रेकर्ड भएको छ । एक त धेरै जनामा कोरोना भइसकेपछि यसले थप क्षति नगर्ने र अर्कोतर्फ खोप अभियान समेत प्रभावकारी भएका कारण पोर्चुगलले पछिल्लो समय कोरोनासँग सजिलै लड्न सकेको बताइएको छ ।

  • अमेरिकाले ६ करोड डोज कोरोना खोप अन्य मुलुकलाई सहयोग गर्ने

    अमेरिकाले ६ करोड डोज कोरोना खोप अन्य मुलुकलाई सहयोग गर्ने

    वासिंटन डिसी । अमेरिकाले करीव ६ करोड डोज कोरोना खोप अन्य मुलुकहरुलाई सहयोग गर्ने भएको छ । त्यहाँको खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई बाँड्ने घोषणा अमेरिकाले गरेको हो ।

    बीबीसीका अनुसार ह्वाइटहाउसले एक विज्ञप्ति निकालेर यसको पुष्टी गरेको हो । केही महिना भित्रै यो मात्रामा खोप निर्यात हुनेछ । विश्वभर आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको छ । तर, अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले सो खोपलाई अझै स्वीकृति दिएको छैन।

    अमेरिकाले खोप थुपारेको आलोचना भएपछि यस्तो निर्णय आएको बताइएको छ । राष्ट्रपति बाइडनका प्रमुख मेडिकल सल्लाहकारले भने अमेरिकाले आस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित् नभएको बताएका छन् । छिमेकी क्यानडा र मेक्सिको तथा अन्य दर्जनौँ देशहरूले अमेरिकी आपूर्तिमा पहुँचको अनुरोध गरिरहेका छन्।

    गत महिना राष्ट्रपति जो बाइडनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने वाचा गरेका थिए। ती दुवै देशले आस्ट्राजेनेकाको प्रयोगलाई अनुमति दिएका छन्। सोमवार ह्वाइट हाउसले आगामी साताहरूमा एफडिएले सो खोपलाई अनुमति दिनासाथ करिब १ करोड मात्रा उसले बाँड्न सक्ने बताएको छ। ५ करोड मात्राको खोप उत्पादनका विभिन्न चरणमा रहेको बताइएको छ।

  • कास्कीमा बुधबारबाट निषेधाज्ञा, संक्रमित ६ सय नाघे

    कास्कीमा बुधबारबाट निषेधाज्ञा, संक्रमित ६ सय नाघे

    पोखरा । कास्की जिल्लाभर बुधबारबाट लागु हुने गरी निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले बुधबारदेखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गते बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    गण्डकी प्रदेशमा अहिले ९ सय ३७ जना संक्रिय संक्रमित छन् । त्यसमध्ये कास्कीमा मात्र संक्रिय संक्रमित ६ सय ६४ नाघेको छ । सरकारले ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको शहरमा निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय अधिकारीहरुलाई दिएको छ ।

    कास्कीमा सवारी साधन जोर विजोर प्रणालीमा चलाउनु पर्नेछ । अत्यावश्यक सेवाका सवारीमा भने यो लागु हुने छैन । सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुद स्थान, ब्युटीपार्लर, सैलुन, फुटपाथ सेवा तथा स्थान बन्द गरिएको छ । विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न बन्द गरिएको छ ।

    घरमा अधिकतम १५ जनासम्मको सहभागीतामा गर्न सकिने छ । दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामाग्रीका पसलहरु विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न सकिनेछ । बैंक तथा वित्तीय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नुपर्नेछ । होटल तथा रेष्टुराँले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा दिन सक्ने गरी आदेश तोकिएको छ ।

  • काठमाडौं छिर्नेहरु अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

    काठमाडौं छिर्नेहरु अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

    काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने सबैले अनिवार्य क्वारेन्टिन बस्नु पर्ने भएको छ । काठमाडौं आउनेहरुले होम आइसोलेसन वा स्थानीय तहले तोकेको सेन्टरमा बस्नु पर्ने नियम सरकारले ल्याएको छ ।

    काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गर्दै यस्तो जानकारी गराएका हुन् । स्थानीय सरकारले १६ वैशाखबाट लागु हुने गरी निषेधाज्ञा घोषणा गरिसकेको छ । नेपालमा घना जनसंख्या रहेको उपत्यका कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

  • काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागु

    काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागु

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यो निषेधाज्ञा कार्यान्वयन भने वैशाख १६ गते विहान ६ बजेदेखि शुरु हुनेछ । पहिलो चरणमा वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको हो ।

    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको जनाएका छन् । प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेश अनुसार वैशाख १६ देखि एक हप्तासम्म खाद्य सामग्री औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् ।

    काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिएको छ ।

    अत्यावश्यक सेवा दिनेबाहेकका सार्वजनिक र निजी सवारी साधन वैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्म बन्द हुनेछ । यस अवधिमा खाद्य सामग्रीको पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

    सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।

    विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

    एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन पनि चल्न पाउनेछन् ।

    सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाउनेछन् । विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले दिनेछन् ।

    अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा एयरपोर्ट जाने गाडी चलाउन पाइनेछ ।

  • बन्द भए देशभरका स्कुल, उडान जारी रहने

    बन्द भए देशभरका स्कुल, उडान जारी रहने

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच देशभरका स्कुल बन्द गरिएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्कुल बन्द गर्न सिफारिस गरेको थियो । विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्ने गरी निर्णय भएको छ ।

    मंगलबारदेखि तोकिएको सबै प्रकारका परीक्षा समेत रोकिएको छ । बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई, मधेस तथा हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने भएका छन् ।

    यसै अनुसार काठमाडौं उपत्यकामा समेत निषेधाज्ञा घोषणा भएको छ । उपत्यकासहित बाँके, बर्दिया र सुर्खेतमा पनि निशेषज्ञा जारी भएको छ । निषेधाज्ञाका बीचमा पनि अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान भने जारी रहेको छ । अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपाली अनिवार्य १० दिन होम क्वारेन्टिन र विदेशी नागरिक होटल क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

  • सर्वोच्चद्वारा नेपाल समूहको मागमा अन्तरिम आदेश दिन अस्वीकार

    सर्वोच्चद्वारा नेपाल समूहको मागमा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

    सोमबार न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले नेपाल समूहको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले पार्टीबाट स्पष्टीकरण सोधेको र कारबाही गरी नसकेको अवस्थामा अन्तरिम आदेश दिन बाध्य नपर्ने निर्णय गरेको छ ।

    ‘विवादको विषयवस्तुको प्रकृतिबाट निवेदनको निर्णय चाँडो हुनुपर्ने देखिएकाले प्रस्तुत निवेदनलाई सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिई नियमानुसार पेश गर्नू’, फैसलामा भनिएको छ ।

    साथै अदालतले १५ दिनभित्र प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख अग्नी सापकोटा, निर्वाचन आयोग, एमालेका महासचिपव ईश्वर पोखरेल र संसद सचिवालयलाई लिखित जवाफ बुझाउन आदेश दिएको छ ।

    नेता नेपाल, घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेले १४ बुँदे मागसहित अदालतमा रीट दर्ता गरेका थिए ।

  • नेपालमा थप ३५५६ जनामा संक्रमण पुष्टी, कुन जिल्लामा कति भेटिए ?

    नेपालमा थप ३५५६ जनामा संक्रमण पुष्टी, कुन जिल्लामा कति भेटिए ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय जनाको पीसीआर परीक्षणबाट ३४४२ जना र ८९३ एन्टिजेन परीक्षणबाट ११४ जनाको रिपोर्ट पोजेटिभ हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ७७ हजार ९९५ जना पुगेको छ ।

    संक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ३४ पुगेको छ । १२ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार १७६ पुगेको छ ।

    प्रदेश १ को इलाममा ५, उदयपुरमा ४, खोटाङमा १, झापामा ४३, ताप्लेजुङमा २, धनकुटामा २, पाँचथरमा ३, भोजपुरमा २, मोरङमा १३४, सुनसरीमा ४२ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।

    प्रदेश २ को धनुषामा ३१, पर्सा ९८, बारामा १४, महोत्तरीमा ६, रौतहटमा १४, सप्तरीमा ७, सर्लाहीमा १३ र सिरहामा १० जनामा कोरोना पाइएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ५ सय ६७ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा २७, चितवनमा ९६, दोलखामा ३, धादिङमा ५२, नुवाकोटमा १४, भक्तपुरमा १२२, मकवानपुरमा ३२, रामेछापमा ४, ललितपुरमा २२३, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६२, गोरखामा २३, तनहुँमा ७, नवलपरासी पूर्वमा ३०, पर्वतमा ७, मुस्ताङमा १, म्याग्दीमा ४, लमजुङमा ६, बागलुङमा ६ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९, कपिलवस्तुमा १५, गुल्मीमा २०, दाङमा २६, नवलपरासीमा ४, पाल्पामा ३४, प्युठानमा ४, बर्दियामा २३, बाँकेमा ३०७, रुकुम पूर्वमा २, रुपन्देहीमा ९५ र रोल्पामा ५ जनामा कोरोना पाइएको छ।

    गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा २, रुकुम पश्चिममा २, सल्यानमा ४, सुर्खेतमा ३ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ।

    सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ४१, कैलालीमा २८, डडेल्धुरामा १८, डोटीमा १४, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा ३२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

  • बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी

    बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी

    नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको बाँकेमा एक साता लामो निषेधाज्ञा जारी भएको छ । नेपालगन्जमा कोरोनाले मानिसहरुको ज्यान लिइरहेको छ । पछिल्लो एक सातामा यहाँ २५ जना भन्दा ढबीको ज्यान गएको छ । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणभन्दा बाहिर जान थालेपछि बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जनाएका छन् ।

    प्रशासनले सोमबार रातिदेखि लागू हुने अर्को सूचना जारी नहुँदासम्म जिल्लाभरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट निस्कन पाइने छैन । एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई भने सवारी साधन प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    यसअघि स्थानीय प्रशासनले नेपालगन्ज, कोहलपुरमा मात्र लकडाउन गरेको थियो । तर, यो प्रभावकारी नभएपछि जिल्ला भर नै निषेधाज्ञा लगाइएको हो । यस आदेशको अवज्ञा वा अवहेलना गर्ने वा कामका वाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजीम कारबाही हुने भएको छ ।

  • गण्डकीका मूख्यमन्त्री गुरुङविरुद्व अविश्वास प्रस्ताव टेबुल हुँदै

    गण्डकीका मूख्यमन्त्री गुरुङविरुद्व अविश्वास प्रस्ताव टेबुल हुँदै

    पोखरा । आज गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्वको अविश्वास प्रस्ताव टेबुल हुँदैछ । प्रदेशसभाको विशेष अधिवेशन सोमबार शुरू हुँदैछ। यससँगै उनीविरुद्ध अविश्वास प्रस्ताव अगाडी बढ्ने भएको हो । दिउँसो २ बजे अधिवेशन शुरू हुँदैछ । पहिलो दिन दलीय आधारमा नेताले बोल्ने कार्यसूची परिवर्तन गरी अविश्वास प्रस्ताव पेश गर्न आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको छ ।

    आज अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र पोखरेल नेपालीले प्रस्ताव टेबुल गर्ने कार्यक्रम छ । त्यसपछि भने सांसदले बोल्न पाउने छन् । छलफलपछि अविश्वासको प्रस्ताव टुंगो लगाइने छ । मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सफल पार्न कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी र जनमोर्चा कसिएका हुन् ।

  • अमेरिका, बेलायतसहितका मुलुकबाट भारतलाई आउन थाल्यो मेडिकल सहयोग

    अमेरिका, बेलायतसहितका मुलुकबाट भारतलाई आउन थाल्यो मेडिकल सहयोग

    काठमाडौं । कोरोनाभाइरसको दास्रो लहरबाट सबैभन्दा बढी प्रभावित भारतमा मेडिकल सामग्रीको अभावले भयाभह अवस्था सिर्जना भएको छ । यस परिस्थितिमा उसलाई संसारका विभिन्न मुलुकले सहयोग अगाडी बढाएका छन् । महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपतकालीन मेडिकल सहायता शुरु गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    बीबीसीका अनुसार भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाएको छ । अमेरिकाले भारतलाई मेडिकल तथा सुरक्षा उपकरण पनि पठाउँदैछ। यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरण पठाउन शुरु गरेको छ ।

    युरोपेली युनियनका सदस्य राष्ट्रबाट समेत सहायता आउन थालेको जनाइएको छ । भारतको राजधानी दिल्लीमा भरिएका अस्पतालमा अहिले बिरामी राख्न थप स्थानको अभाव छ । अक्सिजन नपाएर लुटपाट हुन सक्ने जोखिम बढेको छ ।

    उता, भारत सरकारले अक्सिजन उत्पादन बढाउन देशभर ५०० वटा कारखाना खोल्न अनुमति दिएको छ। छिमेकी बाङ्लादेशले सङ्क्रमण फैलनबाट रोक्न सोमवारदेखि भारतसँगको सिमाना बन्द गरेको छ ।

  • नेपालमा प्रतिदिन मृत्युको संख्या कोरोना कालयताकै दोस्रो बढी

    नेपालमा प्रतिदिन मृत्युको संख्या कोरोना कालयताकै दोस्रो बढी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का कारण मृत्यु भएको आंकडा कोरोनाकाल यताकै दोस्रो सबैभन्दा बढी भएको पाइएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार २४ घण्टामा कुल २८ जनाको मृत्यु भएको छ । यो कोरोनाकाल यताकै दोस्रो सबैभन्दा ठूलो मानवीय क्षति हो ।

    यसअघि नेपालमा १९ कात्तिकमा सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको थियो । शनिबार समेत कोभिड१९ का कारण १४ जनाको मृत्यु भएको थियो । २,६१९ जना नयाँ सङ्क्रमित फेला परेका थिए। आज कुल १०,०७८ वटा परीक्षणबाट ३,१२२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

  • एक सातामा विदेशमा कोरोनाबाट २३ नेपालीको मृत्यु, सबैभन्दा धेरै भारतमा

    एक सातामा विदेशमा कोरोनाबाट २३ नेपालीको मृत्यु, सबैभन्दा धेरै भारतमा

    काठमाडौं । अघिल्लो एक साताको अवधिमा विदेशमा कुल २३ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । यसमा सबैभन्दा धेरै २० जना भारतमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । भारतमा २० जना नेपालीको मृत्यु भएको छ ।

    गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर समेत बढेको छ । यो साता भारतमा २०, कुवेतमा दुई र कतारमा एकजना नेपालीको कोरोनाका कारण ज्यान गएको छ ।

    भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्यसमेत रहेका अल इन्डिया इस्न्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो ।

    निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा सङ्क्रमणका कारण ३७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका रहेका छन् । अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण सङ्क्रमित हुने नेपालीको सङ्ख्या ६८ हजार ५०६ जना पुगेको छ ।

    कूल सङ्क्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ जना सङ्क्रमणमुक्त भएका छन् । यो साता भारत, कुवेत, कतार, युएई, रोमनिया, रुस, फिनल्यान्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्ड रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको गैरआवासीय नेपाली सङ्घ, कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन् ।

    नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ जना सङ्क्रमित पुगेकामा ९३ दशमलव तीन प्रतिशत अर्थात् दुई लाख ७७ हजार १२३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणका कारण शनिबार साँझसम्म तीन हजार १३६ जनाको निधन भएको छ ।

  • विदेशबाट आउनेलाई पुनः अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरिँदै

    विदेशबाट आउनेलाई पुनः अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरिँदै

    विदेशबाट नेपाल आउने सबै व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने सम्बन्धी निर्णय गर्न सिफारिस भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनमा राख्न सिफारिस गरेको हो । यसबारे मन्त्रीपरिषद्ले निर्णय गरेसँगै कार्यान्वयनमा आउने छ ।

    अहिले क्वारेन्टिन व्यवस्थापनमा निगरानी हुन सकेको छैन । सोहीकारण विदेशबाट आउनेहरु निर्वाध घुमफिर गरिरहेका छन् । सीसीएमसीको आइतबार बसेको बैठकले नेपालमा ट्रान्सजिटका लागि मात्र आउनेहरुलाई समेत रोक्न सिफारिस गरेको नेपाली संचारमाध्यमहरुले जनाएका छन् । स्थलमार्गमा समेत कडाई गर्ने तयारी सरकारले गरेको छ ।

  • ५ सय सक्रिय संक्रमित नाघेको शहरमा लकडाउन गर्न सिफारिस

    ५ सय सक्रिय संक्रमित नाघेको शहरमा लकडाउन गर्न सिफारिस

    काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना भाइरसको अवस्था हेरी लकडाउनको निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । आइतबार बसेको सीसीएसीको बैठकले शहरी भेगमा ५ सय सक्रिय संक्रमित नाघेमा र पहाडी भेगमा २ सय सक्रिय संक्रमित नाघेमा लकडाउन गर्न सकिने गरी सिफारिस गरेको हो । यसबारे निर्णय भने मन्त्रीपरिषद्बाट हुनुपर्छ ।

    सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला तहलाई दिएको हो । नेपालमा काठमाडौं उपत्यकाका तीन वटै जिल्ला, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । कैलालीमा ४३४, चितवनमा ३९६, सुर्खेतमा ३७३ र बर्दियामा २७९ संक्रिय संक्रमित रहेको स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • नेपालमा एकैदिन ३१२२ जनालाई कोरोना संक्रमण, २८ जना संक्रमितको मृत्यु

    नेपालमा एकैदिन ३१२२ जनालाई कोरोना संक्रमण, २८ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २९२ जनाको पीसीआर परीक्षणबाट ३०३१ जना र ७८६ एन्टिजेन परीक्षणबाट ९० जनाको रिपोर्ट पोजेटिभ हो ।

    यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ११९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४५० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ७७ हजार ५७३ जना पुगेको छ ।

    संक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ । २८ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार १६४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

  • नेपाली शेयर बजारमा भीषण पहिरो, किन लाग्यो ओरालो ?

    नेपाली शेयर बजारमा भीषण पहिरो, किन लाग्यो ओरालो ?

    काठमाडौं । नेपाली शेयर बजारमा भीषण पहिरो गएको छ । गत साता करिब १०० अंकले घटेको बजार आज एकै दिन ७५ अंकले घटेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्दा पनि कुनै प्रतिक्रिया नदिएको शेयर बजारको करेक्सनलाई लगानीकर्ताहरुले चासोको रुपमा लिएका छन् ।

    कोरोनाको दोस्रो लहर शुरु भएसँगै लकडाउन हुने हल्लाले लगानीकर्ताको मनोबल गिर्दा बजारमा असर देखिएको आकलन गरिएको छ ।

    सरकारले पूर्ण लकडाउन नहुने बताउँदै आए पनि लगानीकर्ता निराशावादी हुँदा बजारमा गिरावट आएको लगानीकर्ताको भनाइ छ । सूचकमा ठूलो गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको उनीहरुको भनाइ छ ।

    यो बेला सकभर शेयर होल्ड गर्नुपर्ने विश्लेषकहरुको भनाई छ । अहिले राम्रा र बलिया कम्पनीको शेयर किन्ने अवसर भएकोले यस्तो बेला बजारबाट बाहिरिने भन्दा पनि भित्रिनु बुद्धिमानी हुने विश्लेषकहरुको दाबी छ ।

    शेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुनै नीतिनियम परिवर्तन नभएकाले बजार निरन्तर ओरालो लागे लागेपनि लगानीकर्ताहरु निराश हुनुपर्ने अवस्था छैन् ।

    साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ७५.७९ अंकले घटेर २५७२.२१ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँ बराबरको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये सबै परिसूचक राताम्मे भएका छन् ।

    आज कारोबारमा आएका २१५ कम्पनीमध्ये जम्मा ८ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    यस दिन बैंकिङ ४२, ब्यापार ११३, होटल तथा पर्यटन २२०, विकास बैंक ८६, जलविद्युत ११२, फाइनान्स ४३, निर्जीवन बीमा ४४०, उत्पादन १३६, अन्य ४७, माइक्रोफाइनान्स १६०, जीवन बीमा ४६० र लगानी समूह ३ अंकले घटेका छन्।

    चन्द्रागिरि हिल्सको मूल्य सबैभन्दा धेरै ८.४३ प्रतिशतले घटेको छ। आजको कारोबारपछि कम्पनीको मूल्य प्रतिकित्ता १९५५ रुपैयाँ कायम भएको छ।

    नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.१ प्रतिशतले घटेर ५२७ रुपैयाँमा झरेको छ। त्यस्तै रिडी हाइड्रोपावरको मूल्य ७.६ प्रतिशतले घटेर २०५ रुपैयाँ कायम भएको छ।