Category: फिचर

  • नेपालमा लकडाउनको एक वर्ष, अझै सकिएन स्वास्थ्य चूनौति

    नेपालमा लकडाउनको एक वर्ष, अझै सकिएन स्वास्थ्य चूनौति

    काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउनको आज ठ्याक्कै एक वर्ष पुगेको छ । सरकारले गत वर्ष चैत ११ गतेबाट लकडाउन थालेको थियो । यसबीचमा नेपालले पटकपटक गरी चार महिनाभन्दा बढी समय पूर्ण देशव्यापी लकडाउन गर्यो । तर, एक वर्षसम्म पनि स्वास्थ्य सुरक्षा सम्बन्धी चूनौति भने कायम नै रहेको छ ।

    नेपालमा भदौबाट लकडाउन सहज हुन थालेको हो । लकडाउनको एक वर्षकै बीचमा विश्वभर कोरोना भाइरसको दोस्रो लहर शुरु भएको छ । यसको असर नेपालमा समेत देखिन थालेको छ । मङ्गलबार मात्र १८८ जना नयाँ सङ्क्रमित थपिए । यो पछिल्लो एक महिनायताकै बढी हो ।

    खासगरी छिमेकी मुलुक भारतमा बढ्दो संख्याले नेपालमा पनि चूनौति थपिएको छ । मानिसहरुले कोरोनालाई सामान्य रुपमा लिएर सतर्कताका काम छाड्दा भने नेपालमा समेत जोखिम बढेको छ । अहिले सार्वजनिक यातायात र शहर बजारमा समेत मास्क लगाउने मानिसको संख्या घट्दो क्रममा रहेको छ ।

    नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७६ हजार २४४ पुगेको छ ।निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ९७ पुगेको छ । देशभर सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार १२८ छ । अहिले विभिन्न क्वारेन्टाइनमा ४८ जना रहेका छन् । कोरोना सङ्क्रमितबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १९ पुगेको छ ।

  • दिल्लीमा सार्वजनिक रुपमा होली मनाउन रोक

    दिल्लीमा सार्वजनिक रुपमा होली मनाउन रोक

    नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीले सार्वजनिक रुपमा होली मनाउन रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच भारतका विभिन्न राज्यमा प्रतिवन्ध शुरु भएका छन् । यसै क्रममा नयाँ दिल्लीमा सार्वजनिक स्थानमा होली, सबै प्रकारको विवाह उत्सव तथा नवरात्रिको उत्सव मनाउन समेत रोक लगाइएको छ । दिल्ली आपतकालिन प्रवन्धन प्राधिकरण (डीडीएमए)ले औपचारिक आदेश जारी गर्दै यस्तो जानकारी गराएको छ ।

    भारतमा बढेको संक्रमणको जोखिम नेपालमा समेत उत्तिकै रहेको छ । यद्दपी नेपाल आउन पिसिआर रिर्पोट भने अनिवार्य गरिएको छ । दिल्ली सरकारले महामारी नियन्त्रणमा गंभीर हुनुपर्ने भन्दै यस्तो आदेश जारी गरेको बताएको छ ।

    दिल्लीको सार्वजनिक जग्गा, पब्लिक ग्राउन्ड, पार्क, बजार या धार्मिक स्थानमा सार्वजनिक उत्सव, भिडभाड तथा उत्सव मनाउन रोक लगाइएको जनाइएको छ । यो आदेश पालना गराउन प्रहरी खटिने भएको छ । आदेश उल्लंघन गर्नेहरुमाथि कडा कारवाही गर्नै चेतावनी समेत दिइएको छ । दिल्लीमा मंगलवारमात्र ११ सय नयाँ संक्रमित पुष्टी भएको छ ।

  • आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने

    आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने

    काठमाडौं । आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने भएका छन् । ट्राफिक प्रहरीले नै यस्तो निर्णय गरेसँगै पठाओले आफ्नो राइडरलाई यसबारे जानकारी गराएको छ । पठाओले राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन रोक लगाएको जनाएको छ ।

    विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाई छ । राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र सोहीकारण ज्यानकै असुरक्षा हुने जोखिम समेत बढेपछि बुधबारबाट लागु हुने गरी यस्तो निर्णय भएको हो ।

    पठाओ सञ्चालन भने निरन्तर हुने छ । राइडर र पठाओमा चढेका यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो । यो नियमपछि अफलाइन यात्रु बोक्ने प्रचलन हट्ने र राइडरको सुरक्षा बढ्ने अपेक्षा कम्पनीको छ । अफलाइन यात्रु बोक्दा यात्रुको बिमा नहुने र आक्रमणको समस्या समेत पछिल्ला दिनमा बढेका छन् ।

  • चीनले दिएको अनुदानको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने

    चीनले दिएको अनुदानको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने

    काठमाडौं । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप लिन नेपाल वायुसेवा निगमको जहाज बेइजिङजाने भएको छ । निगमको वाइड बडी ए ३३० जहाज १५ चैतमा चीन जान लागेको हो ।


    बेइजिङबाट कोरोना खोप लिएर निगमको जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौँ अवतरण गर्ने भएको छ । सरकारले १ चैतको मन्त्रिपरिषद्को बैठकबाट मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत कोरोना खोप स्वीकार गर्ने निर्णय गरेको हो ।

  • ट्याक्टरबाट खसेर घाइते सहचालकलाई जब आफ्नै साथिले नदीमा बगाइदिए…

    ट्याक्टरबाट खसेर घाइते सहचालकलाई जब आफ्नै साथिले नदीमा बगाइदिए…

    काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका आफ्नै साथीलाई नदीमा बगाएको आरोपमा एक जना पक्राउ परेका छन् । यस घटनामा दुई जनाको हात रहेपनि एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार गल्याङ नगरपालिका ९ पारीचौरमा ढुंगा बोकेर आएको लु अ फ १०२० (अस्थायी) नम्बरको ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का १९ वर्षका गणेश गाहा घाइते भएका थिए। उनलाई ट्याक्टरका चालक र अर्का सहचालकले कालीगण्डकी नदीमा बगाइदिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार यो घटना ५ चैतको भएपनि पछि मात्र खुलेको हो । प्रहरीले ट्याक्टरका सहचालक गल्याङ नगरपालिका–८ का २२ वर्षका सुनिल रानालाई पक्राउ गरेको । चालक अमित परियार फरार रहेको बताइएको छ । घटनापछि दुवै जना ट्याक्टर छाडेर भागेको प्रहरीले जनाएको छ ।

    घटनाबारे स्वयमः सुनिलले पाल्पा पुगेर दिदीलाई बताएपछि घटना बाहिरिएको हो । सुनिलले प्रहरी समक्ष अपराध स्वीकार गरेका छन् । नदीमा बगेका गाहा भने वेपत्ता छन् । उनको खोजी गर्न प्रहरीले गोताखोर मगाएको बताएको छ ।

  • भारतमा ४० वर्ष जेल बसेर फर्केका दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने

    भारतमा ४० वर्ष जेल बसेर फर्केका दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने

    विराटनगर । हत्याको आरोपमा ४० वर्षसम्म भारको जेलमा बिताएका दुर्गाप्रसाद तिम्सिनाको उपचारमा प्रदेश १ सरकारले सहयोग गर्ने भएको छ । आरोप प्रमाणित नभए पनि उनी ४० वर्ष जेलमा बस्नु परेको हो । यसबारे भारतीय संचारमाध्यमसम्म खबर पुगेसँगै उनको रिहाईको बाटो खुलेको थियो । अदालतले तत्काल उनलाई जेलमुक्त गर्न आदेश दिएपछि तिम्सिना अहिले इलामस्थित घरमा आइपुगेका छन् ।

    तर, उनको स्वास्थ्य अवस्था भने निकै कमजोर पाइएको छ । उनी भारतको कोलकातास्थित दमदम केन्द्रीय कारागारमा राखिएका थिए । प्रदेश १ मन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले उनको उपचार सरकारले गर्ने जानकारी गराएका हुन् । संचारमाध्यमहरुका अनुसार दुर्गाप्रसादको उपचारको सबै खर्च प्रदेश सरकारले बेहोर्ने भएको छ ।

    यसका लागि परिवारसँग समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले जानकारी दिएका छन् । मन्त्री कार्कीले भारतबाट दुर्गाप्रसादका लागि क्षतिपूर्ति दिलाउन समेत पहल गर्ने बताएका छन् । कोलकाताको उच्च अदालतले दुर्गाप्रसादको मुद्दामा फैसला गर्दै क्षतिपूर्ति दिन सरकारका नाममा आदेश दिइसकेको छ ।

  • प्रधानमन्त्री र जसपाबीचको छलफल ‘निष्कर्ष विहीन’

    प्रधानमन्त्री र जसपाबीचको छलफल ‘निष्कर्ष विहीन’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीचको भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

    मंगलबार बिहान प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच बालुवाटारमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

    उनले भने, ‘आजको छलफलमा पनि पुरानै कुरा दोहोरिए, कुनै सहमति हुन सकेन ।’ आजको छलफलमा प्रधानमन्त्री ओलीले जसपा नेताहरुलाई सरकारलाई संसदमा समर्थन गर्न र तत्काल सरकारमा सहभागी हुन आग्रह गरेको उनले बताए ।

    जसपा नेताहरुले भने आफ्ना माग पुरा हुनुपर्ने पुरानै अडान दोहोर्‍याएका थिए । नेता कर्णले आफूहरुले माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने स्पष्ट जवाफ दिएको बताए ।

    नेता कर्णले भने, ‘हामीहरुले रेशम चौधरीको रिहाइलगायतका हाम्रा ५ बुँदे माग राख्यौँ । हामीले प्रधानमन्त्रीलाई तपाईंलाई समर्थन गर्नुपर्ने भए हाम्रा माग पहिला पूरा गर्नुहोस् अनि सोचौंला, भन्यौँ ।’

    भेटमा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सहभागी थिए भने प्रधानमन्त्री ओलीसँग एमाले नेता सुवास नेम्बाङ, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार राजन भट्टराईलगायत उपस्थित थिए ।

  • नेपालमा कोरोना संक्रमणको संख्या बढ्यो, एकैदिन १८८ संक्रमित थपिए

    नेपालमा कोरोना संक्रमणको संख्या बढ्यो, एकैदिन १८८ संक्रमित थपिए

    काठमाडौं । नेपालमा थप १८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४०३२ जनाको पीसीआर परिक्षण गर्दा थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ९२ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार १ सय २८ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

  • काठमाडौं-तराई फास्ट ट्रयाकको १९ प्रतिशत काम पूरा

    काठमाडौं-तराई फास्ट ट्रयाकको १९ प्रतिशत काम पूरा

    काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)को भौतिक प्रगति वार्षिक लक्ष्यको १८ दशमलब ९५ प्रतिशत सम्पन्न भएको छ। यही अवधिमा वित्तीय प्रगति १९ दशमलब १२ रहेको छ।

    वि.सं. २०८० को असारसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको चौमासिक लक्ष्यअनुसार भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६४ दशमलब नौ प्रतिशत रहेको छ।

    गत आर्थिक वर्षसम्म समष्टिगत भौतिक प्रगति ११ दशमलब ११ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षमा थप पाँच दशमलब १० प्रतिशत गरी चालु आर्थिक वर्षको अन्त्यसम्म समष्टिगत प्रगति १६ दशमलब २१ प्रतिशत लक्ष्य हासिल हुने लक्ष्य लिइएको आयोजनाले जनाएको छ।

    सेनाले कतिपय काम आन्तरिक स्रोतबाट र कतिपय ठेक्का प्रक्रियामार्फत अघि बढाएको जनाइएको छ। खोकना क्षेत्रमा चोभार आर्कब्रिजबाट आयोजना सुरु विन्दु (जिरो किमी) एक दशमलव दुई किमी लिंकरोड निर्माण अघि बढाइएको आयोजना प्रमुख विकास पोखरेलले बताए।

    उनका अनुसार आयोजनाका विभिन्न खण्डमा ‘कटिङ र फिलिङ’को कामसमेत अघि बढाइएको छ। उनले भने, ‘मक्खुखोला, सिस्नेरी, महादेवटार, लेनडाँडा, बुदुने, राजदमारलगायतका ठाउँमा ट्र्याक निर्माण भइरहेको छ।’

    आयोजनाअन्तर्गत तीन सुरुङको निर्माण हुनेछ। पहिलो प्याकेजमा महादेवटारमा एक र दोस्रो प्याकेजमा धेद्रे र लेनडाँडामा एक सुरुङमार्ग निर्माण गरिनेछ।

    महादेवटारमा बनाइने सुरुङको लम्बाइ तीन दशमलव ३५ किमी, धेद्रेको एक दशमलव ६३ किमी र लेनडाँडा सुरुङको लम्बाइ एक दशमलव ४३ किमी हुनेछ। सुरुङ निर्माणका लागि आवश्यक भूगोलसम्बन्धी अध्ययन सम्पन्न भएको उनले बताए।

    सुरुङ निर्माणका लागि अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न पूर्वयोग्यता निर्धारणको सूचना गत वर्ष फागुनमा प्रकाशित भए पनि कोभिड–१९ का कारण पटक–पटक अवधि थप भएको थियो।

    सुरुङको पूर्वयोग्यता निर्धारणका लागि प्याकेज–१ मा २१ र प्याकेज–२ मा २२ गरी ४३ कम्पनीले आवेदन दिएकामा हाल दुई कम्पनी छनोट भएको आयोजनाले जनाएको छ। निर्माण कम्पनी छनोट गर्दा सार्वजनिक खरिद मूल्य, मान्यता र कानुनविपरीत प्रतिस्पर्धा सीमित गरिएको भनी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा गुनासो परेको थियो।

    आयोजनामा पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ। पुल निर्माणमा नेपाली र विदेशी दुवै कम्पनी रहेका छन्। पुल निर्माणका लागि आवश्यक सर्वेक्षण, डिजाइन र कागजपत्र मिलाउने काम (डकुमेन्टेसन) भइरहेको प्रमुख पोखरेलले बताए।

    मक्खुबेँसी र सिस्नेरी खण्डमा द्रुतमार्गको रेखांकनमा पर्ने बागमती किनारमा नदी तटबन्ध गर्न सर्वेक्षण र डिजाइन भइसकेको उनले बताए। यसका लागि सातवटा प्याकेजमा बोलपत्र आह्वान गरिएको छ।

    आयोजनाका लागि आवश्यक पहुँच सडकखण्डमा १४ बेलीब्रिज जडान गर्ने योजना बनाइएको छ। उहाँका अनुसार स्थानीयवासीको विवादका कारण खोकना खण्डको बागमती नदीमा बेलीब्रिज निर्माण अवरुद्ध भएको छ। उनले भने, ‘निजगढको लाल बकैयामा दुई, धेद्रेमा एक, सिस्नेरी एक गरी चार स्थानमा जोडेर सञ्चालनमा आइसकेका छन्।’

    आयोजनाका लागि पाँच हजार १७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने थियो। त्यसमध्ये ९१ दशमलव पाँच प्रतिशतले मुआब्जा लिइसकेका छन् भने आठ दशमलव पाँच प्रतिशतले मुआब्जा लिन बाँकी छ।

    ललितपुर, काठमाडौँ, बारा र मकवानपुर जिल्लामा गरी आयोजनाका लागि ३८ हजार ६६४ रुख कटान गर्नुपर्ने थियो। त्यसमध्ये अहिलेसम्म २७ हजार सात रुख काटिएको र ११ हजार ६५७ रुख काट्न बाँकी रहेको बताइएको छ।

    रुख काटिएका स्थानमा १:२५ को अनुपातमा रुख रोप्ने योजनाअनुसार वृक्षरोपण भइरहेको प्रमुख पोखरेलले बताए। ६ लाख ७५ हजार ६७५ रुख रोप्नुपर्नेमा हालसम्म एक लाख ७६ हजार ५१६ बिरुवा रोपिएको छ। उनले भने, ‘विभिन्न प्रजातिका रुख र फलफूलका बिरुवा रोपिइरहेको छ।’

    द्रुतमार्गमा नेपाल टेलिकमले ‘अप्टिकल फाइबर’ बिच्छ्याउनका लागि आयोजना र टेलिकमबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। त्यस्तै‚ विद्युत् प्रसारण लाइनका सन्दर्भमा नेपाल विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको आयोजनाले जनाएको छ।

    आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन गरिसकेको भए पनि रेखाङ्कन परिवर्तन भएको खण्डमा अध्ययनका लागि रक्षा मन्त्रालयले वन तथा वातावरण मन्त्रालयमा पत्राचार भइसकेको प्रमुख पोखरेलले जानकारी दिए।

    वन क्षेत्र र रुख कटान भएअनुसार वृक्षरोपण र त्यसको स्याहारका लागि वन विकास कोषमा रकम जम्मा गर्न प्रक्रिया अघि बढाइएको उनले बताए। उनले भने, ‘रकमका लागि रक्षा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ।’

    ललितपुरको खोकना र बुङ्गतीवासीले एउटै ठाउँबाट धेरै आयोजना निर्माण हुँदा त्यसले आफूहरुलाई असर गर्ने बताउँदै आएका छन्। यी ठाउँमा द्रुतमार्गसँगै बाहिरी चक्रपथ, वाग्मती करिडोर, स्मार्ट सिटी, १३२ केभिए प्रसारण लाइनलगायतका आयोजना निर्माणको योजना भएकाले समष्टिगत प्रभावको हल गर्न उनीहरुले माग गरेका हुन्।

    यसबारेमा आयोजना निकायहरुबीच आवश्यक समन्वय र छलफल भइरहको प्रमुख पोखरेलले बताए। त्यस्तै‚ रेखाङ्कनमा पर्ने जग्गाको मुआब्जा पनि स्थानीयवासीले लिन नमानेको उजको भनाइ छ। गत आवमा कोभिड–१९ का कारणसमेत बाधा पुगेको थियो। उनले भने, ‘समस्या भए पनि आयोजना निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य छ।’

    सरकारले काठमाडौँलाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा सडक निर्माण गर्न नेपाली सेनालाई दिने निर्णय वि.सं. २०७४ वैशाख २१ मा गरेको थियो।

    आव २०७४/७५ देखि सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी दिइएको थियो। वि.सं. २०७६ भदौमा सरकारले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको थियो। रासस

  • नाइजरमा बन्दुरधारीले लिए १३७ गाउँलेको ज्यान, घरघरमा आक्रमण

    नाइजरमा बन्दुरधारीले लिए १३७ गाउँलेको ज्यान, घरघरमा आक्रमण

    नाइजर । अफ्रिकी मुलुक नाइजरमा पुनः बन्दुकधारीले ग्रामिण भेगमा हिंसा मच्याएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बन्दुकधारीको आक्रमणबाट कम्तीमा १३७ गाउँलेको ज्यान गएको छ । बन्दुकधारीले घरघरमा पसि आक्रमण गरेका थिए । अपरिचित बन्दुकधारी स्थानीय समय अनुसार आइतबार राति मोटरसाइकलमा गाउँ पसेर आक्रमण गरेको स्थानीय अधिकारीहरूले जानकारी गराएका छन् ।

    यो घटना छिमेकी मुलुक मालीसँग सिमाना जोडिएको पश्चिमी क्षेत्रमा पर्ने ताहौआमा भएको हो । घटना र क्षतिका विस्तृत खुल्न बाँकि रहेको बताइएको छ । मानिसहरुलाई गोली हानेर मार्नुका साथै घरहरुमा आगजानी समेत गरिएको थियो । यो मुलुकमा गत साता मत्र आतङ्कवादीको आक्रमणमा ५८ जना सर्वसाधारणको मृत्यु भएको थियो । नाइजरमा हिंसा बढेको छ । चरम गरिबीबाट गुज्रिरहेको यस मुलुकमा विभिन्न आतंकवादी संगठन सक्रिय रहेका छन् ।

  • बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बस्ने शिविर आगलागीबाट नष्ट

    बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बस्ने शिविर आगलागीबाट नष्ट

    ढाका । बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बसिरहेको एक शिविरमा आगलागी हुँदौ एक हजार भन्दा बढी घर जलेर नष्ट भएका छन् । स्थानीय संचारमाध्यमका अनुसार त्यहाँको सबैभन्दा ठूलो शरणार्थी शिविरमा आगलागी भएको हो । बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको बताइएको छ ।

    अग्नि नियन्त्रक र स्वयंसेवकले घण्टौं प्रयासपछि मात्र आगो निभाउन सकेका थिए । शिविरका घर बाँस र काठको प्रयोग गरि बनाइएको छ । शिविरमा भएको आगलागीका कारण भएको मानवीय क्षतिको विवरण भने अहिलेसम्म आएको छैन । तर, हजारौं परिवार पुनः एक पटक घरबारबिहिन भएको कक्स बजारमा काम गरिरहेका राहत संस्थाका व्यक्तिहरुले उल्लेख गरेका छन् ।

    बढ्दो तापमानका बीच कमजोर संरचनाहरु हरेक वर्ष आगलागीको शिकार बन्ने गरेका छन् । तीन वर्ष पहिले म्यानमारमा हिंसा भड्किएपछि रोहिङ्ग्या मुसलमान त्यहाँबाट विस्थापित भई बंगलादेशमा आई शरण लिएका छन् ।

  • अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली चल्यो, कम्तिमा ६ जनाको मृत्यु

    अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली चल्यो, कम्तिमा ६ जनाको मृत्यु

    कोलोराडो । अमेरिकाको कोलोराडोमा एक बन्दुरधारीेले चलाएको गोली लागेर कम्तिमा ६ जनाको मृत्यु भएको छ । कोलोराडो राज्यका बोल्डर काउन्टीस्थित एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

    यसक्रममा एक प्रहरी अधिकारीसहित कम्तिमा ६ जनाको मृत्यु भएको खबर छ । स्थानीय समयअनुसार घटना सोमबार दिउँसो साढे तीन बजे भएको हो । बन्दुकधारी ग्रोसरी स्टोरमा छिरेर गोली चलाएका थिए । द न्युयोर्क टाइम्सले लेखे अनुसार शंकास्पद बन्दुकधारीलाई प्रहरीले पक्राउ समेत गरेको छ । उनलाई घाइते अवस्थामा पक्राउ गरिएको हो ।

    आक्रमणको कारण खुलेको छैन । यो घटनाबारे राष्ट्रपति जो बाइडेनले समेत ब्रिफिङ लिएका छन् । अमेरिकामा एक साता अगाडी समेत यस्तै घटनामा ७ जना मारिएका थिए । अमेरिकामा सर्वसाधारणले बन्दुक राख्न पाउने व्यवस्था रहेको छ । तर, सनकको भरमा अन्धाधुन्ध आक्रमणका घटना बढेसँगै यहाँ सुरक्षा चूनौति पनि उत्तिकै रहेको छ ।

  • कोरोनाको दोस्रो लहर भित्रन नदिन नेपाल-भारत सीमामा कडाई शुरु

    कोरोनाको दोस्रो लहर भित्रन नदिन नेपाल-भारत सीमामा कडाई शुरु

    काठमाडौं । भारतमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको छ । भारतका अधिकांश राज्यबाट नयाँ नयाँ संक्रमित पुष्टी भइरहेका छन् । यस अवस्थामा त्यो जोखिम नेपाल नआओस भन्ने उद्देश्यले नेपाल-भारत सीमानामा कडाई शुरु भएको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई सीमा नाकामा चेकजाँच हुने भएको छ ।

    कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएमा यात्रु क्वारेन्टिन बस्नु पर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा. कृष्ण पौडेलका अनुसार भारतबाट नेपाल आएका र कोरोना संक्रमणको शंका लागेका व्यक्तिलाई क्वारेन्टिनमा राखिने भएको हो ।

    सोमबारमात्रै विभिन्न नाकाबाट ३३०० जना व्यक्ति नेपाल प्रवेश गरेका छन् । यसरी भित्रने सबै यात्रुको हेल्थ डेस्कमा ज्वरो जाँचिन्छ । ज्वरो आएका यात्रुहरुको मलेरियाको आडीटी र सम्भव भएसम्म कोभिड १९ को एन्टिजिन टेष्ट गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।

    संक्रमित भेटिए स्वास्थ्य संस्थामा पठाइनेछ । महाशाखाले पालिकाहरुमा हट स्पटको पहिचान गर्न र समुदायस्तरमा एन्टिजिन परीक्षणसम्बन्धी मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ ।

  • आफ्नै सामाजिक संजाल खोल्दै अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प

    आफ्नै सामाजिक संजाल खोल्दै अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प

    काठमाडौं । ट्वीटर र फेसबुकसहितका साइटले आफ्नो प्लेटफर्ममा प्रतिवन्ध लगाएसँगै अमेरिकाका पूर्वराष्ट्रपति तथा अमेरिकी धनाढ्य डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक संजाल खोल्ने भएका छन् । उनका सल्लाहकारले यस्तो जानकारी सार्वजनिक गरेको अमेरिकी संचारमाध्यमले लेखेका छन् ।

    आगामी तीन महिना भित्र ट्रम्प आफ्नै लगानीको सामाजिक सञ्जालमार्फत सक्रिय भइसक्ने तयारीमा रहेको बताइएको छ । उनका सल्लाहकार जेसन मिलरले फक्स न्युजसँग यसको खुलासा गरेका हुन् । मिलरले यस्तो सामाजिक संजाल अन्य मिडियाको भन्दा फरक हुने समेत बताएका छन् ।

    जनवरी ६ मा अमेरिकाको वासिङटन डिसीस्थित क्यापिटलमा भएको हिंसापछि ट्रम्पलाई फेसबुक, ट्विटर, स्नापच्याटसहितका सामाजिक संजालले एक्सेस दिएका छैनन् । युट्यूवमा समेत उनी प्रतिवन्धित छन् । हिंसा ट्रम्प समर्थकले गरेका थिए । जहाँ ५ जनाको मृत्यु भएको थियो । ट्रम्प सामाजिक संजालमा सक्रिय हुने भिभिआइपी मध्ये एक हुन् ।

    राष्ट्रपति ट्रम्पका गतिविधिबारे आम नागरिकलाई उत्तिकै चासो हुने भन्दै आगामी दिनमा नयाँ प्लेटफर्ममा समेत उत्तिकै लोकप्रिय हुने उनका सल्लाहकारको भनाई छ । त्यसो त अन्य दर्जनौं कम्पनीले समेत ट्रम्पलाई आफ्नो प्लेटफर्म प्रयोग गर्न आह्वान गरिरहेको बताइएको छ । यसबारे ट्रम्पले निर्णय गरिसकेका छन् ।

  • २०७८ सालमा थपियो ४ दिन सार्वजनिक बिदा, तिहारको भोलीपल्ट पनि पाइने (सूचिसहित)

    २०७८ सालमा थपियो ४ दिन सार्वजनिक बिदा, तिहारको भोलीपल्ट पनि पाइने (सूचिसहित)

    काठमाडौं । सरकारले २०७७ सालको तुलनामा २०७८ सालमा चार दिन थप सार्वजनिक बिदा दिने भएको छ । सरकारले भाइटिकाको भोलीपल्ट, घटस्थापना, रक्षाबन्धन र माघेसंक्रान्तीमा समेत बिदा पाउने गरी नयाँ सूचि सार्वजनिक गरेको छ । आज गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै बिदा सार्वजनिक गरेको हो ।

    यस्तो छ २०७८ सालमा हुने सार्वजनिक बिदा

  • पुनर्निर्माण भएका घरमा थप संरचना बनाउन पाइने

    पुनर्निर्माण भएका घरमा थप संरचना बनाउन पाइने

    काठमाडौं । भूकम्पपछि सरकारी अनुदानमा पुनर्निर्माण भएका निजी आवासमा अब थप संरचना बनाउन पाइने भएको छ । अहिलेको मुल संरचनालाई आधार मानेर घरको दायाँ–बायाँ वा अगाडि–पछाडि भूकम्प प्रतिरोधी संरचना थप गर्न सकिने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यविधि बनाएको छ ।

    कार्यविधि प्राधिकरणको कार्यकारी समितिबाट पारित भएपछि कार्यान्वयनमा जाने प्राधिकरणका सिइओ सुशील ज्ञवालीले जनाएका छन् । प्राधिकरणका अनुसार प्राधिकरणको समय सकिएपछि स्थानीय सरकार र शहरी विकास तथा भवन निर्माण विभाग यसको मुख्य कार्यान्वयनकर्ता हुनेछन् ।

    कार्यविधि निर्माण गरी सोमबार प्राधिकरणले यसबारे विस्तृत छलफल गरेको छ । कार्यविधि अनुसार ढुंगामाटो तथा सिमेन्टको जोडाइ भएका घरहरुमा दायाँ–बायाँ वा अगाडि–पछाडि भूकम्प प्रतिरोधी ढंगले संरचना विस्तार गर्न सकिने भएको छ । तला थप गर्न भने यसअघि तयार भइसकेको ‘हाइव्रिड स्ट्रक्चर म्यानुअल’को उपयोग गर्नुपर्ने भएको छ ।

    ज्ञवालीका अनुसार कार्यविधि कार्यान्वयनको केन्द्रबिन्दु स्थानीय तह हुने छ । माउघरको क्रमशः विस्तार मुलतः ग्रामीण क्षेत्रमा संस्कृति नै रहेको भन्दै उनले थपिएको हिस्सा समेत भूकम्प प्रतिरोधी होस् भन्ने उद्देश्यले कार्यविधि बनाइएको जानकारी दिए ।

    इन्जिनियर एवं निर्माण प्राविधिकलाई उपयोगी हुनेगरी विस्तृत इन्जिनियरिङ ड्रइङ र डिजाइनसहित कार्यविधिको मस्यौदा तयार गरिएको उनको भनाइ छ । कार्यविधि घरधनी एवं निर्माणकर्मीले बुझ्नेगरी नेपाली भाषामा लेखिएको कार्यक्रममा जानकारी दिइयो ।

    शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले आगामी दिनमा बन्ने घर विस्तारका लागि पनि यो कार्यविधि उपयोगी हुने विश्वास व्यक्त गरे । कार्यविधिलाई छिट्टै अन्तिम रुप दिने गरी काम भइरहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० का आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिए ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं प्रवक्ता गोपाल प्रसाद अर्यालले सम्भव भएसम्म पालिका नभए जिल्लास्तरमा एक–एकवटा घरहरुमा नमुना विस्तार गरी कार्यान्वयनमा लैजाँदा प्रभावकारी हुनसक्ने राय व्यक्त गरेका छन् । अमेरिकी सहायता नियोग (यूएसएड) का सन्तोष ज्ञवालीले कार्यविधि पुनर्निर्माण भएका घरका लागि मात्र नभएर आगामी दिनमा बन्ने घरहरुका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माउघर अर्थात् ‘कोर हाउजिङ युनिट’ पुनर्निर्माण गर्न तीन लाख रुपैयाँ अनुदान तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

  • महँगा गाडी आयात माथिको रोक हटाइयो

    महँगा गाडी आयात माथिको रोक हटाइयो

    काठमाडौं । सरकारले नेपालमा महँगा गाडी आयात गर्न लगाएको रोक हटाएको छ । यससँगै अब जुनसुकै मूल्यको गाडी समेत नेपालमा निर्धारित कर तिरेर ल्याउन पाइने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा २५ फागुनमा बसेको मन्त्रिपषिद् बैठकले यस्तो निर्णय गरेको हो ।

    यसअघि गत वर्ष नेपालमा कोरोना भाइरसको संक्रमण शुरु भएसँगै ५० हजार डलरभन्दा माथि मूल्यका सवारी साधन आयात गर्न नपाइने गरी रोक लगाइएको थियो । २०७६ चैत १६ को मन्त्रिपरिषद् बैठकले विदेशी मुद्रा सञ्चितिका लागि भन्दै महँगा सवारी र कृषि उपज आयात रोक्ने निर्णय लिएको थियो । कोरोनापछि पछिल्लो दुई महिनायता आयात कोरोनाभन्दा अगाडीकै अवस्थामा पुगेको छ ।

  • नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

    नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार २० जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको छ । पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । यो सहति मृत्यु हुनेको संख्या ३०१९ जना पुगेको छ ।

  • राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्रीबीच भेटवार्ता

    राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।

    आजै यहाँका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज यहाँ आइपुग्नुभएको हो ।

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट यहाँ आइपुगेकी राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् भने द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनेछन् ।

    दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ । राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित छन् । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् ।

  • नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

    नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

    काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्लो ३ कारोदिनमा करिब १४० अंकले बढेको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो ।

    सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ५० करोड रुपैयाँले गिरावट आएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से २४.०६ अंकले घटेर २५१४.४० विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २११ कम्पनीको ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँ बराबरको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता सेयर किनबेच भएका छन् ।

    मंगलबार कारोबारमा आएका १३ वटा समूहमध्ये जलविद्युत् र होटल तथा पर्यटन बाहेक बाँकी ११ वटा समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूह सबैभन्दा धेरै १०४.९७ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै ३१५.९६ अंकले बढेको छ ।

    कारोबारमा आएका २११ कम्पनीमध्ये ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ४६ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल बंगलादेश बैंक ३१ करोड र नेपाल लाइफ इन्स्योरेन्स २६ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । माथिल्लो तामाकोशी र चन्द्रागिरी हिल्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् । घट्दो बजारमा आज प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ४.७१ प्रतिशत गुमाएका छन् ।

  • भिसा सकिएपछि पनि घर फर्कन नमानेका अमेरिकीलाई दूतावासको जिम्मा लगाइने

    भिसा सकिएपछि पनि घर फर्कन नमानेका अमेरिकीलाई दूतावासको जिम्मा लगाइने

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बसिरहेका एक अमेरिकी नागरिकको पर्यटक भिसाको अवधि सकिएको छ । उनी भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि आफ्नो देश फर्कन नमानेको नेपालको राष्ट्रिय समाचार समितिलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।

    उनी संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्री जोइल हुन् । आफ्नो देश फर्कन अटेर गरेका उनको राहदानी ५२२४५ नम्बरको हो । भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाए भन्दा बढी समेत बस्न मिल्दैन । बाध्यात्मक कारण भए निश्चित शूल्क तिरेर अध्यागमन विभागबाट म्याद थप गराउनु पर्छ ।

    अवैध बसेको पाइएमा भने पक्राउ गरी जरिवाना तिराउने र अध्यागमन विभागमार्फत सम्बन्धित देशको दूतावासमा बुझाउने कानूनी प्रक्रिया रहेको छ । यी अमेरिकी नागरिकलाई समेत अब नेपालस्थित अमेरिकी दूतावासको जिम्मा लगाउने तयारी गाउँपालिकाले गरेको छ ।

    नेपालमा कोरोना भाइरस रोकथाम गर्न लकडाउन हुनु अगाडी नै अमेरिकाले दूतावासमार्फत आफ्ना नगरिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो । जहाज चार्टर गरेर नागरिकलाई आफ्नो देश लगेको थियो । लकडाउन हटेपछि भिसा सकिएका अधिकांश विदेशी नागरिक कानूनी प्रक्रिया पूरा गरेर आफ्नो देश फर्किएका थिए ।

    तर, उनी भने विसं २०७६ मंसिर महिनादेखि शिखको सीयु होटलमा बस्दै आएका छ । जोइलको राहदानीमा पछिल्लो पटक थप गरिएको भिसाको म्याद सन २०२० मार्च १८ मा सकिएको छ । होटेल संचालकका अनुसार समस्या बारे केही नबताउने उनले आफुले होटेलको पैसा भने चुक्ता गर्ने आश्वासन दिएको बताउँछन् ।

    एक्लै रहेका जोइलले असामान्य व्यवहार र गतिविधि गर्ने स्थानीयले जनाएका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आफैंले अमेरिकी दूतावासमा लगेर बुझाइदिने तयारी गरेको राससले जनाएको छ ।

  • नेपालमा आजबाट गैंडा गणना थालिने

    नेपालमा आजबाट गैंडा गणना थालिने

    काठमाडौं । नेपालमा आजबाट एक सिंगे गैंडाको गणना थालिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले यस कार्यको शुभारम्भ गर्ने कार्यक्र छ । उनले त्यहाँ वनदेवीको पूजा गर्ने कार्यक्रम रहेको जनाइएको छ । नेपालमा चार वटा निकुञ्जमा एक सिंगे गैंडा पाइन्छ । त्यसमध्ये सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।

    गणनाको नेतृत्व चितवन निकुञ्जले गर्दैछ । यस कार्यमा ३ सय भन्दा बढी मानवीय जनशक्ति र ६० वटा हात्तीसहितको टोली खटिने छ । चितवनमा मात्र २०० सय बढी मानवीय जनशक्ति र ४० वटा हात्ती खटिने छन् ।


    चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बर्दिया र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गैंडाको गणना हुने छ । यसअघि नेपालमासन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडाको गणना भएको छ । पछिल्लो गणनामा अनुसार देशभर ६सय ४५ वटा गैंडा फेला परेका थिए ।

  • राष्ट्रपतिको बंगलादेश भ्रमणमा चार समझदारी पत्रमा हस्ताक्षर

    राष्ट्रपतिको बंगलादेश भ्रमणमा चार समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं । आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको दुई दिने बंगलादेश भ्रमण शुरु हुँदैछ । यस भ्रमणका दौरान दुई देशबीच चार समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । भ्रमणमा नेपाल र बंगलादेश बीच पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हस्ताक्षर हुने कार्यक्रम छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार यो सम्झौतापछि बंगलादेश रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनमा प्रयोग गर्न सकिने छ । नेपाल र बंगलादेशबीचमा स्यानिटरी र साइटो स्यानेटरीसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुँदैछ ।

    यससम्बन्धी सम्झौताका लागि मन्त्रिपरिषदको वैठकले उद्योग, वाणिज्य र आपूर्ती मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ । राष्ट्रपतिकै भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने भएको छ ।

    नेपाल सरकार र बंगलादेश सरकारबीच सांस्कृतिक कार्यक्रम आदान प्रदान कार्यक्रम सम्बन्धी सहमति पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसबाहेक उर्जा सहकार्य , व्यापार प्रवर्द्धनजस्तो विषयले समेत छलफलमा प्राथमिकता पाउने बताइएको छ । राष्ट्रपति भण्डारी मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।

  • राष्ट्रपति भण्डारी आज ढाका जाँदै

    राष्ट्रपति भण्डारी आज ढाका जाँदै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेशको राजधानी प्रस्थान गर्ने भएकी छिन् । उनी दुई दिने राजकीय भ्रमणको सिलसिलामा बंगलादेश जान लागेकी हुन् । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो ।

    उनी नेपाल एयरलाइन्सको विशेष चार्टर जहाजबाट बिहान पौने ९ बजे बंगलादेश उड्ने कार्यक्रम छ । दुई दिने भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हुने छ । यस भ्रमणका दौरान कुल ४ वटा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

    राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुनेछिन् । भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा वार्ता गर्नेछिन् । भण्डारी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । ढाकास्थित नेपाली दूतावास भ्रमण गर्ने र नेपाली समुदायसँग भेट गर्ने कार्यसूची समेत रहेको छ । टोलीमा परराष्ट्रमन्त्रीसहित उच्च सरकारी अधिकारीसमेत रहने छन् ।

  • होटेल-रेष्टुरेन्टलाई लकडाउन अवधिको विद्युत डिमान्ड शूल्क छूट

    होटेल-रेष्टुरेन्टलाई लकडाउन अवधिको विद्युत डिमान्ड शूल्क छूट

    काठमाडौं । सरकारले होटेल तथा रेस्टुरेन्टलाई विद्यूत ‘डिमान्ड शुल्क’मा लकडाउन अवधिभर शतप्रतिशत छुट दिने निर्णय गरेको छ । होटेल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित रुपमा नवीकरण भएका र कर विवरण पेस गरेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

    उनका अनुसार सरकारले लकडाउन घोषणा गरेको अवधि २०७६ चैत ९ देखि २०७७ भदौ मसान्तसम्मको शतप्रतिशत डिमान्ड शुल्क छुट दिने निर्णय भएको हो । २०७७ असोज १ गतेदेखि २०७७ माघ मसान्तसम्मको डिमान्ड शुल्कमा भने ५० प्रतिशतले छुट दिने निर्णय सरकारले गरेको छ । होटेल व्यवसायीले अन्य उद्योगसरह आफुहरुले पनि डिमाण्ड शूल्कमा छूट पाउनु पर्ने माग गरेका थिए ।

  • नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले पायो अनुमति

    नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले पायो अनुमति

    काठमाडौं । नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले अनुमति पाएको छ । अघिल्लो शुक्रबार नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिन नेपाल ल्याउन निजी कम्पनीले अनुमति पाएको हो । भारत बायोटेकको नेपालस्थित आधिकारिक एजेन्ट इमराल्ड फर्मा काठमाडौँले खोप आयात गर्न औषधि व्यवस्था विभागबाट अनुमति पाएको हो ।

    अनुमति पाएसँगै करीव दुई सातामा यो कम्पनीले खोप ल्याउन सक्ने भएको छ । यद्दपी निजी क्षेत्रले ल्याएको खोप सरकारले खरिद गर्ने वा निजी क्षेत्रलाई नै प्रयोग गर्न दिने भन्ने विषय भने निर्धारण भएको छैन । अहिले नेपालमा सरकारी स्तरबाट मात्र खोप आइरहेको छ ।


    नेपालमा अहिलेसम्म अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरी भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग भएको छ । भारतले अनुदानमा दिएको, नेपालले खरिद गरेको र विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअनुसार पाएको गरी हालसम्म २३ लाख ४८ हजार डोज खोप नेपाल भित्रिसकेको छ । नेपालले किनेको १० लाख डोज खोप भने नेपाल आउन बाँकी छ ।

  • नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १०६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ९२१ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ९ सय ६९ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

  • तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधन धमाधम कारबाहीमा

    तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधन धमाधम कारबाहीमा

    काठमाडौं । यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ ।

    मालवाहक सवारीसाधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारबाही गर्न लागिएको विभागले जनाएको छ ।

    मालवाहक सवारीसाधनले निर्देशिकामा तोकिएको मापदण्डबमोजिम भार ओसारपसार गर्नुपर्ने भए पनि पछिल्लो समय त्यसको विपरीत हुने गरेको विभागमा गुनासो आएको प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए ।

    विभागले यसअघि नै चितवनको अपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । विभागको सडक सुरक्षाका लागि मुख्य सडकमा तौल पुल निर्माण गरी सवारी साधनको भारवाहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना रहेको छ ।

  • चम्किँयो नेपाली सेयर बजार, नेप्से ६३.३८ अंकले बढ्दा ९ कम्पनीका लगानीकर्ता मालामाल

    चम्किँयो नेपाली सेयर बजार, नेप्से ६३.३८ अंकले बढ्दा ९ कम्पनीका लगानीकर्ता मालामाल

    काठमाडौं । बीमा रमाइक्रोफाइनान्स कम्पनी चम्किँदा सेयर बजारमा उछाल आएको छ । गत बुधबारदेखि उकालो लागेको बजार यससाता पनि निरन्तरता दिएको हो ।

    पछिल्लो ३ कारोबार दिनमै नेप्से करिब १४० अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकम पनि २ अर्ब बढीले बढेको छ । गतसाता औसतमा करिब ४ अर्बको कारोबार हुँदै आएकोमा आज बढेर करिब ६ अर्ब रुपैयाँ पुगेको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ६३.३८ अंकले बढेर २५३८.४६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०६ कम्पनीको ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ रुपैयाँ बराबरको १ करोड २४ लाख ३० हजार २ कित्ता सेयर किनबेच भएका छन् ।

    मंगलबार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ७४२.७६ अंकले बढेको छ ।

    कारोबारमा आएका २०६ कम्पनीमध्ये १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ३९ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स ३१ करोड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक २१ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    उच्च अंकले बढेको बजारमा आज ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त र सूर्योदय लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

    यसैगरी, आज सामुदायिक, समिट, किसान, स्वाभिमान लघुवित्त, चन्द्रागिरी हिल्स र युनाइटेड इदीमार्दी हाइड्रोपावरको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

    बढ्दो बजारमा आज ग्रीन लाइफ हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ६.०६ प्रतिशत गुमाएका छन् ।

  • बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

    बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

    काठमाडौं । गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आ.व. २०७६/०७७ को नेपाल प्रहरीको कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

    गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गरेका छन् ।

    उक्त अवसरमा गृहमन्त्री थापाले पुरस्कृत पदाधिकारीहरुलाई बधाई दिँदै पुरस्कारले थपेको जिम्मेवारी र चुनौतीलाई सहर्ष स्वीकार गरी आगामी दिनमा अझै सक्रिय भई काम गरी सफलता हासिल गर्ने अपेक्षा रहेको बताए । देशको समृद्धि तथा विकास, सुशासन, नागरिकको आकाङ्क्षा र सरकारले आव्हान गरेको समृद्ध नेपाल र सुखी नेपालीको अपेक्षा पूरा गर्न लाग्नेतर्फ तत्पर हुनुपर्ने उनले उल्लेख गरे ।

    उक्त अवसरमा गृह सचिव महेश्वर न्यौपानेले पुरस्कृत भएपछि जिम्मेवारी थपिएको अन्तरआत्माबाट मनन गरी अझै उत्तरदायी भएर काम गर्ने बताए । बेरुजु फछर्यौटमा अझै समर्पित भएर काम गरी बेलाबेलामा समिक्षा गर्नुपर्नेमा उनले जोड दिए ।

    प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्‍यौट गर्ने वार्षिक लक्ष्य रहेकोमा नेपाल प्रहरीको तर्फबाट कूल कायम बेरुजुमध्ये लक्ष्य भन्दा बढी ९५.४६ प्रतिशत फर्छ्‍यौट गरी हाल सम्मकै सर्वोत्कृष्ट स्थान हासिल गर्न नेपाल प्रहरी सफल भएको हो ।

    आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्‍यौट कार्यमा नेपाल प्रहरीको लगनशिलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।

    बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा २०७३/०७४, २०७४/०७५ र २०७५/०७६ गरी ३ वटा आ.व. मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।