Category: फिचर

  • बेलायतमा आजबाट जनगणना, नेपालीलाई समेत भाग लिन आह्वान

    बेलायतमा आजबाट जनगणना, नेपालीलाई समेत भाग लिन आह्वान

    लण्डन । संयुक्त अधिराज्य (बेलायत)मा आजबाट राष्ट्रिय जनगणना शूरु हुँदैछ । यस अवसरमा त्यहाँ रहेका नेपालीलाई समेत सक्रिय सहभागिता जनाउन विभिन्न संघसंस्थाले आह्वान गरेका छन् । यसले पहिचान स्थापित गर्न सहयोग गर्ने बताइएको छ । संयुक्त अधिराज्यका चार राज्यमध्ये इङ्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा राष्ट्रिय जनगणनामा हुन लागेको हो ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूके, इङ्ल्यान्ड राज्य समन्वय परिषद्ले समेत यस जनगणनामा भाग लिन नेपाली समुदायलाई आह्वान गरेका छन् । जनगणनामा कोही पनि नछुटुन् भनेर हेल्पलाइन समेत एनआरएनएले सञ्चालनमा ल्याएको छ ।

    घरमै बसेर अनलाइनमार्फत फाराम भर्न सकिने भएको छ । यसले नेपालीको सहभागिता बढ्नेछ । पछिल्लो जनगणनामा इङ्ल्यान्ड र वेल्समा ६० हजार २०२ र स्कटल्यान्डमा एक हजार २६८ जना नेपालीले नाम लेखाएका थिए ।

  • राष्ट्रपति बाइडेन जहाज चढ्दा भर्‌याङमा चिप्लिएपछि…

    राष्ट्रपति बाइडेन जहाज चढ्दा भर्‌याङमा चिप्लिएपछि…

    वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाजको भर्‌याङमा चिप्लिएका छन् । उनी भर्‌याङ चढ्दाचढ्दै लडेका हुन् । वासिंटनबाट एटलान्टाका लागि जान जहाज चढ्ने क्रममा बाइडेन भर्‌याङमा चिप्लिएर लडेका थिए । यो क्षणलाई भने संचारमाध्यमले खिचेका थिए ।

    चिप्लिएर लडेका उनी उठ्ने कोसिस गर्दा गर्दा फेरि चिप्लिएका थिए । यद्दपी उनी अहिले शतप्रतिशत फिट रहेको ह्वाइटहाउसले जनाएको छ । उनको साथमा उपराष्ट्रपति कमला ह्यारिस पनि थिइन् ।

  • भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर, नेपालमा बढ्यो जोखिम

    भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर, नेपालमा बढ्यो जोखिम

    काठमाडौं । भारतमा कोराना भाइरसको दोस्रो लहर नियन्त्रण बाहिर गएको छ । भारतका विभिन्न राज्यमा कोरोनाको तिब्र लहर देखिएको त्यहाँका संचारमाध्यमले जनाएका छन् । नेपाल र भारतका बीच अहिले आवत जावत सामान्य जस्तै बनेको छ । यसले नेपालमा समेत कोरोना भाइरसको दोस्रो वेव आउने जोखिम बढेको छ । किनकी अहिले नेपालमा परीक्षण शून्यप्रायःको अवस्थामा छ ।

    भारतीय संचारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ ।

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ५३ जना निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १९६ जनाको ज्यान गएको छ । योसँगै ज्यान जानेको सङ्ख्या १ लाख ५९ हजार ७ सय ९० भन्दा धेरै पुगेको छ । भारतले अहिलेसम्म २३ करोड २४ लाखभन्दा धेरै व्यक्तिमा परीक्षण गरेको छ । कोरोनाको सङ्क्रमण अस्वाभाविक रुपमा बढेसँगै भारतका विभिन्न ठाउँमा लकडाउनको घोषणा गरिएको छ ।

  • मनाङमा ट्रक दुर्घटना, ६ जनाको मृत्यु

    मनाङमा ट्रक दुर्घटना, ६ जनाको मृत्यु

    काठमाडौं । मनाङमा भएको ट्रक दुर्घटनामा ६ जनाको ज्यान गएको छ । ध १ ख ५९२ नम्बरको मालबहक ट्रक शनिबार दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार तीन जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममाः ज्यान गएको हो ।

    मनाङको नासों गाउँपालिका वडा नम्बर ४ स्थित खोत्रोमा शनिबार अपरान्ह ३ बजेतिर ट्रक दुर्घटनामा परेको थियो । लमजुङको बेशीसहरबाट सिमेन्ट बोकेर मनाङ जाँदै गरेको ट्रकमा यात्रु समेत बसेको पाइएको छ ।

    दुर्घटनामा मनाङको नासों गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षिया मनिषा गुरूङ, ३० वर्षिया जलकाशी गुरूङ र मनिषाका छोरा डेढ वर्षिय लियोन गुरूङको घटनास्थलमै मृत्यु भएको थियो ।

    घाइतेमध्ये मनाङको चामेका २८ वर्षिय राजु विक र लमजुङ मर्स्याङ्दी खोरियाखेतका २१ वर्षिय लक्ष्मण नेपालीलाई उपचारका लागि लैजाँदै गर्दा लमजुङमा शनिबार राती मृत्यु भएको हो । नासों गाउँपालिका १ तालका ३ वर्षिय थियोन गुरूङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते भएका दुई जनाको उपचार भइरहेको छ । मालबाहक सवारीले यात्रु ओसार्न पाइदैन । तर, प्रहरीको निगरानी नहुँदा ग्रामिण भेगमा यस प्रकारको जोखिम मोलेर यात्रु यात्रा गर्न बाध्य भएका छन् ।

  • चितवनमा जंगली हात्तिको आक्रमणमा एक जनाको मृत्यु

    चितवनमा जंगली हात्तिको आक्रमणमा एक जनाको मृत्यु

    काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ। राससका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल छिन् ।

    इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै ज्यान गएको छ । हात्तीले सो स्थानका तीन घर पूर्णरूपमा क्षति पुर्‍याएको छ । हात्तीले आक्रमण गर्न थालेपछि मानिसहरु भाग्न थालेका थिए । सोहीक्रममा भुजेललाई हात्तिले आक्रमण गरेको हो । क्षतिको थप विवरण आउने क्रममा रहेको प्रहरीको भनाई छ ।

  • दक्षिण एसियाको सबैभन्दा खुसी मुलुक नेपाल

    दक्षिण एसियाको सबैभन्दा खुसी मुलुक नेपाल

    काठमाडौं । नेपाल दक्षिण एसिया मै सबैभन्दा खुशी नागरिक बस्ने मुलुक बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत दिगो विकास समाधान नेटवर्कले गरेको सर्वेक्षणमा यस्तो नतिजा आएको हो । सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको छ ।

    सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा ९२ औँ स्थानमा रहेको थियो । यसपटक पाँच स्थान माथि उक्लिएर दक्षिण एसियाकै खुशी देश बनेको छ । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुशी हुने देश बनेको हो ।

    राष्ट्रसंघले कोरोनाभाइरस महामारी पछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ देशमा अध्ययन गरेको बताइएको छ । कूल ग्राहस्थ्य उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको थियो ।

    रिपोर्ट अनुसार फिनल्याण्ड यसपटक पनि विश्वकै सबैभन्दा खुशी देशको रुपमा पहिलो स्थानमा छ । सबैभन्दा बेखुशी देशको रुपमा सार्क सदस्य राष्ट्र अफगानिस्तान रहेको छ । भारत १ सय ४४ औँ स्थानमा छ ।

    नेपाल, बंगलादेश र पाकिस्तानभन्दा भारत तल रहेका छन् । खुशी देशको शीर्ष सूचीमा फिनल्याण्डपछि क्रमशः डेनमार्क, स्विजरल्याड, आइसल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन, लक्जेम्बर्ग, न्युजिल्याण्ड र अष्ट्रिया रहेको छन् ।

  • भारतीय जेलबाट ४० वर्षपछि छूटे दुर्गाप्रसाद

    भारतीय जेलबाट ४० वर्षपछि छूटे दुर्गाप्रसाद

    कोलकाता । इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि भारतीय जेलबाट छुटेका छन् । भारतीय जेलबाट थुनामुक्त भएका इलामका तिम्सिनालाई आफन्त र वकिलले माला लगाएर स्वागत गरे । उनलाई कोलकाताको दमदम कारागारबाट निकालिएको हो ।

    कारागारको सुरक्षामा खटिएका प्रहरीका अनुसार दूर्गाप्रसादले गीत गाउँथे । ‘रेशम फिरिरी’ गीत बढी समय गाउने गरेका थिए । शुक्रबार कारागारमा भएको काउन्सिलिङका क्रममा आफूले नेपाल गएर बिहे गर्ने बताएको नेपाली संचारमाध्यमले जनाएका छन् ।

    दुर्गाप्रसादलाई भाई प्रकाशचन्द्रले आफ्नो साथमा लिएका हुन् । बुधबार साँझ उच्च अदालत कोलकाताबाट उनलाई प्रकाशको रोहबरमा छाड्न आदेश दिएको हो । त्यसपछि कानुनी प्रक्रिया पूरा गरेसँगै शनिबार छाडिएको हो ।


    दूर्गाप्रसाद १९ वर्षको हुँदा इलामको घरबाट निस्किएका हुन् । उनलाई दार्जिलिङमा हत्या आरोपमा पक्राउ गरिएको थियो । अदालतले मानसिक स्वास्थ्य जाँच गरेर उनलाई ल्याउन भनेपनि जाँच गरेर नलगेका कारण ४० वर्षसम्म उनी विनासुनुवाइ भारतीय जेलमा बस्न बाध्य भएका हुन् ।

  • एमालेले पाँच नेतालाई स्पष्टिकरण सोध्ने

    एमालेले पाँच नेतालाई स्पष्टिकरण सोध्ने

    काठमाडौं । नेकपा एमालेले आफ्ना पाँच नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको । उनीहरुमाथि पार्टीहितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप लगाइएको छ । यो गतिविधिलाई एमाले फुटका रुपमा लिइएको छ ।

  • नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी

    नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी

    काठमाडौं । नेपालमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २६३७ मा पिसिआर गरिएको थियो । यसमध्ये ७९ जनामा कोरोना पुष्टि भएको हो ।

    अब नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ। पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन्। अब कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ८१५ पुगेको छ। नेपालमा कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत रहेको छ।

  • राष्ट्रपतिको बंगलादेश भ्रमणमा के छन् एजेण्डा ?

    राष्ट्रपतिको बंगलादेश भ्रमणमा के छन् एजेण्डा ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबारबाट दुई दिने बंगलादेश भ्रमण गर्दैछिन् । चैत ९ मा ढाका जाने राष्ट्रपतिको टोली १० चैतमा स्वदेश फर्कने छ । यो राजकीय भ्रमण हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपतिको भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । उनका अनुसार भ्रमणका क्रममा महत्त्वपूर्ण एजेन्डामा सहमति हुनसक्नेछ ।

    यस पटकको भ्रमणमा बंगालदेशले नेपाललाई एक नयाँ पारवहन मार्ग दिन सक्ने अपेक्षा नेपाली पक्षले गरेको छ । सांस्कृतिक आदानप्रदान र पर्यटन विकासमा समेत यो भ्रमण महत्वपूर्ण हुने बताइएको छ । हाल नेपालले बंगलादेशसँग काँकडभिट्टा-फुलबारी-बङ्गलाबन्ध पारवहन मार्ग प्रयोग गर्न पाउँछ ।

    बिरल-राधिकापुर मार्ग उपलब्ध छ । तर, यो मार्गको प्रयोग भने हुन सकेको छैन । बीबीसीका अनुसार यस पटक रोहनपुर सिंहबाद रेलरुट पारवहन मार्गको अनुमतिबारे औपचारिक घोषणा हुन सक्ने सम्भावना छ । यो रुट नेपालले सन् २०११ देखि नै मागेको थियो ।

    बंगलादेशको मन्त्रिपरिषद्‌ले गत अक्टोबरमै यसबारे अनुमति दिइसकेको थियो। अहिलेको भ्रमणमा औपचारिक दिन लागिएको बीबीसीले जनाएको छ । बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीको अवसरमा त्यहाँ आयोजना हुने विशेष कार्यक्रममा भाग लिन राष्ट्रपति ढाका जान लागेकी हुन् । राष्ट्रपति भण्डारीले त्यहाँ विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

  • अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध

    अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध

    लण्डन । यूरोपेली यूनियन (इयू)ले म्यानमारमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । १ फेब्रुअरीमा त्यहाको सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गरी कु गरेको थियो । सत्ता हातमा लिएपछि त्यसको विरोधमा भइरहेका प्रदर्शनलाई सेनाले हिंसाको माध्यमबाट दवाउन खोजेको छ । यसक्रममा सयौं प्रदर्शनकारीको ज्यान गइसकेको छ । शान्तिपूर्ण प्रदर्शनहरुमा सैनिकले गरेको अत्यधिक बल प्रयोगबाट हालसम्म २३४ जनाको मृत्यु भएको तथ्यांक आएको छ ।

    दुई हजारभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । यसै सन्दर्भमा इयुले म्यानमारमाथि विभिन्न प्रतिबन्ध लगाएको हो । इयुका विदेशमन्त्रीहरुको बेठकले म्यानमारका ११ अधिकारीमाथि युरोप भ्रमणमा प्रतिबन्ध लगाएको छ । म्यानमारलाई आर्थिक सहयोग तथा हतियार बिक्री रोक्ने निर्णय समेत इयूले गरेको हो ।

    इयुअन्तर्गत २७ देशका विदेशमन्त्रीको बैठकले म्यानमारको जननिर्वाचित सरकारलाई अपदस्थ गरेको सैनिक शासकले सत्ता हस्तान्तरण नगरेसम्म विभिन्न क्षेत्रमा प्रतिबन्ध थप्दै जाने निर्णयसमेत गरेको अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् । म्यानमारमाथि यसअघि अमेरिकाले प्रतिवन्ध लगाएको छ ।

  • ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने

    ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने

    ललितपुर । ललितपुर महानगरपालिका भित्र अब पम्प्लेट तथा पोस्टरहरु टास्न नपाइने भएको छ । सहरलाई सुन्दर र सफा बनाउन यस्तो अभियान चलाइएको महानगरपालिकाले जनाएको छ । घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बामा पम्प्लेट र पोष्टर टाँस्न पाइने छैन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले खम्बामा टाँसिएका पम्प्लेट, पोष्टर उप्काएर शुक्रबार यस अभियानको प्रारम्भ गरेका हुन् ।

    महानगरले सडकपेटीमा रोपिएको रुखमा ६ फिटसम्म हरियो रङ लगाउने भएको छ । यस्तो अभियान आइतबारबाट प्रारम्भ गरिने भएको हो । यसरी रंग लगाएको स्थानमा जथाभावी पम्प्लेट टाँस्न आउनेमाथि भने कारवाही हुने भएको छ ।

    महानगरले तत्काल यो काम बाग्मती पुलबाट जावलाखेल लगनखेलहुँदै सातदोबाटोसम्म, हिमालय होटेल, पाटनढोका, अशोक हल, क्वाल्खुहुँदै मंगलबजार, लगनखेलसम्म र पुल्चोक महानगरपालिका कार्यालयबाट मंगलबजार हुँदै ग्वार्कोसम्म गर्ने उल्लेख गरेको छ ।

    कसैले पोस्टर टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाइने भएको छ । महानगरले यसअघि महानगरपालिकाभित्र अव्यवस्थित मोटरसाइकल वर्कसप हटाएको छ । सडक पेटी व्यवस्थित बनाउने अभियान समेत जारी रहेको छ ।

  • आज एमाले संसदीय दल र केन्द्रिय कमिटी बैठक, माधव -झलनाथ पक्ष नजाने

    आज एमाले संसदीय दल र केन्द्रिय कमिटी बैठक, माधव -झलनाथ पक्ष नजाने

    काठमाडौं । नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । यो बैठक माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका नेताले भने बहिष्कार गर्दैछन् । संसदीय दलको बैठक विहान साढे १० बजे र केन्द्रीय कमिटीको बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ ।

    आज संसदीय दलको विधान संशोधन गर्ने कार्यसूची रहेको नेताहरुले बताएका छन् । संसदीय दलको विधान संशोधन केन्द्रीय कमिटीबाट अनुमोदन गरिने भएको छ । एमालेमा अहिले स्पष्ट दुई गुट भएका छन् । जसमा एक गुटले अर्को गुटको बैठक बहिष्कार गर्ने प्रवृत्ति बढेको छ ।

  • फेरी बढ्यो हवाई भाडा

    फेरी बढ्यो हवाई भाडा

    काठमाडौं । इन्धनको मूल्य बढेसँगै निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । वायु सेवा सञ्चालक संघले शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडानको हवाई भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएकोले निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेको जारी विज्ञिप्तमा जनाइएको छ । यस अघि वायुसेवा सञ्चालकहरुले फागुन २० गते हवाई भाडा वृद्धि गरेका थिए ।

    संघका अनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा साविकको तुलनामा ७० शूल्क बढेको छ । काठमाडौंबाट धनगढी जाँदा ९० रुपैयाँ बढी तिर्नुपर्नेछ । काठमाडौंबाट सिमराका लागि २० रुपैयाँ बढी तिर्नुपर्ने गरी हवाई भाडामा इन्धनको शूल्क बढेको छ ।

    माउन्टेन उडानमा २५ रुपैयाँ, काठमाडौं–भद्रपुर ६० रुपैयाँ, काठमाडौं– विराटनगर ५० रुपैयाँ, काठमाडौं–जनकपुर २५ रुपैयाँ, काठमाडौं– भरतपुर रुपैयाँ, काठमाडौं– पोखरा ३० रुपैयाँ, काठमाडौं–भैरहवा ४० रुपैयाँ बढेको छ ।

    त्यस्तै काठमाडौं–नेपालगञ्ज ६५ रुपैयाँ, काठमाडौं–धनगढी ९०रुपैयाँ, काठमाडौं–तुम्लिङटार ४० रुपैयाँ, काठमाडौं– सुर्खेत ६५ रुपैयाँ र काठमाडौँ–सिमराको उडानमा ३० रुपैयाँ भाडा बढेको छ ।

    त्यस्तै विराटनगर–तुम्लिङटार २० रुपैयाँ, पोखरा–भरतपुर २० रुपैयाँ, पोखरा–पोखरा–नेपालगञ्ज ५० रुपैयाँ, पोखरा माउन्टेन ६० रुपैयाँ, काठमाडौं–सुर्खेत ७० रुपैयाँ, विराटनगर–माउन्टेन ६५ रुपैयाँ, काठमाडौं–राजविराज ४० रुपैयाँ र विराटनगर–भोजपुरको उडानमा १५ रुपैयाँ भाडा बढेको छ ।

  • दक्षिणकालीमा एकै स्थानमा दुई किशोरको शव फेला

    दक्षिणकालीमा एकै स्थानमा दुई किशोरको शव फेला

    काठमाडौं । दक्षिणकाली नगरपालिका–१, खहरेमा आज दुई किशोरको शव एकै स्थानमा भेटिएको छ । काठमाडौं प्रहरी प्रभागका अनुसार नुवाकोटका १६ वर्षीया अर्जुन खड्का र काभ्रेका १८ वर्षीया मंगल तामाङको शव फेला परेको हो । प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् ।

    तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन्। दुवै जना बांगेमुढामा बस्ने गरेको पाइएको बताइएको छ । शुक्रबार दिउँसो दुई जनाको शव भेटिएको हो । त्यसपछि प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।

    केन्द्रीय प्रहरी कुकुर विद्यालयबाट विशेषज्ञ कुकुर ल्याएर घटनास्थलमा छाडिएर अनुसन्धान गरिएको छ । फरेन्सिक विज्ञसहितको टोलीले जाँच गरेपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलबाट सल्फस नामक विषादीको बट्टा बरामद भएको छ ।

  • भारत बायोटेकको खोपलाई नेपालमा प्रयोगको अनुमति

    भारत बायोटेकको खोपलाई नेपालमा प्रयोगको अनुमति

    काठमाडौं । भारत बायोटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति मिलेको छ । यो खोपलाई नेपालमा आकस्मिक प्रयोगको अनुमति दिइएको हो । आइतबार बसेको औषधी व्यवस्था विभागको बैठकले कोभ्याक्सिन खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको हो ।

    कम्पनीले सबै प्रक्रिया पूरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा विभागले खोपको प्रयोगको अनुमति दिएको हो । यसअघि नेपालमा भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड र चिनियाँ कम्पनीले उत्पादन गरेको सिनोफार्म नामक खोपले मात्र आकस्मिक अनुमति पाएका हुन् । अहिले नेपालमा करिब १७ लाख खोप कोभिशिल्डको प्रयोग भइसकेको छ ।

  • उद्योगी किशोर प्रधान ओली समुहको एमालेमा प्रवेश

    उद्योगी किशोर प्रधान ओली समुहको एमालेमा प्रवेश

    काठमाडौं । उद्योगी किशोर प्रधान ओली समुहको नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताएका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराएका छन् ।

    एमाले प्रवेश गरेका प्रधान नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुईपटक पराजित भएका हुन् । उनी वर्तमान अध्यक्ष शेखर गोल्छा र वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसँग हारेका हुन् । प्रधानसहित सिताराम अग्रवाल, हितेश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाइँ, मदन मित्तल, अजय सरावगीसहितका उद्योगी व्यवसायी समेत एमालेमा छिरेको बताइएको छ । दुगडले प्रधानमन्त्रीको निकट रहेर उद्योगीहरुलाई पार्टी प्रवेश गराउन भूमिका खेलेका हुन् ।

  • प्रतिनिधिसभा विघटनको मुद्दालाई सक्रिय साथ दिएका बडाल महान्यायाधिवक्ता नियुक्त

    प्रतिनिधिसभा विघटनको मुद्दालाई सक्रिय साथ दिएका बडाल महान्यायाधिवक्ता नियुक्त

    काठमाडौं । अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिए लगत्तै अधिवक्ता बडाललाई नियुक्तिको सिफारिस गरेका हुन् ।

    महान्यायाधिवक्ताले सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा काम गर्नेछन् । प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदमलाई सक्रिय साथ दिएका बडाल श्रम मुद्दामा विज्ञ मानिन्छन्।

    खरेलको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेसँगै प्रधानमन्त्रीको सिफारिसमा उनलाई नियुक्ती गरेकी हुन् ।

    बडाल नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष हुन् । । जिफन्ट सत्तारुढ नेकपा एमाले निकट संगठन हो । प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालपछि सरकारको कानुनी सल्लाहकार पनि जिफन्टकै पोल्टामा परेको छ ।

    महान्यायाधिवक्ता अग्नि खरेलले आजै राजीनामा दिएका थिए। प्रतिनिधि सभा विघटन मुद्दामा खरेलको बहस फितलो भएको भन्दै सरकार पक्ष असन्तुष्ट थियो।

  • ‘प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेश लिने निर्णय संविधान विपरित थिएन्’

    ‘प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेश लिने निर्णय संविधान विपरित थिएन्’

    काठमाडौं । परराष्ट्रमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले ओली नेकपा एमाले समूह र माओवादी केन्द्रको आलोचना गरेका छ्न्।

    प्रतिनिधिसभाको शुक्रवारको बैठकमा उनले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने सरकारको निर्णय संविधान विपरित नभएको भन्दै सरकरको बचाउ समेत गरे।

    उनले स्थायित्वका लागि संसद विघटन गरिएको प्रष्टिकरण दिए। ‘सर्वोच्चका फैसला अनुसार अहिले संसद चलिरहेको छ। सरकारको दृष्टिकोण थियो ताजा जनादेशले सरकार र देश चलाउन सजिलो हुन्छ,’ उनले भने।

    उनले अब संसद भित्रैबाट राजनीतिक स्थायित्व खोज्न बाध्यात्मक स्थिति आएको बताए।

    संसद बैठकलाई सरकार विरोधीले राम्ररी चल्न नदिएको ज्ञवालीको आरोप थियो। भने,’सुरुका बैठकहरु जसरी अगाडी बढे तिनीहरुले राम्रो संकेत गरेको छैन्।’

    अत्यावश्यक र जनजीविकासँग जोडिएका विधेयकहरु, एसिड सम्बन्धि विधेयक छलफलमा लग्न नसकेको उनको दाबी थियो। खोपको विषयमा सहमति जुटाउन सकेनौं।’

  • महान्यायाधीवक्ता अग्नि खरेलद्वारा राजीनामा

    महान्यायाधीवक्ता अग्नि खरेलद्वारा राजीनामा

    काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन् ।

    खरेलले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार राजीनामा दिएको खरेलले बताए ।

    राजीनामापछि खरेल नेकपा एमालेको राजनीतिमा सक्रिय हुने बताइएको छ । विगतमा केन्द्रीय सदस्य भइसकेका खरेल फेरि केन्द्रीय समितिमा मनोनीत भएर काम गर्ने बताइएको छ ।

    यसअघि, पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद भएका खरेल दोस्रो संविधानसभामा मनोनीत सभासद बनेका थिए ।

    मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्या भण्डारीले २०७४ साल फागुनमा महान्याधिवक्ता नियुक्त गरेकी थिइन्।

  • नेपालसहित तीन मुलुकबीच चैत १० बाट फुटबल सिरिज, टिकट दर तोकियो

    नेपालसहित तीन मुलुकबीच चैत १० बाट फुटबल सिरिज, टिकट दर तोकियो

    काठमाडौं । नेपालसहित तीन मुलुकबीच फुटबल सिरिज आगामी चैत १० बाट दशरथ रंगशालामा शुरु हुँदै छ । थ्री नेसन्स कपका लागि टिकट दर समेत सार्वजनिक गरिएको छ । नेपाल, कीर्गिस्तान र बंगलादेशले खेल्ने यस प्रतियोगितामा दर्शकलाई समेत प्रत्यक्ष खेल हेर्ने सुविधा दिन लागिएको हो ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रत्येक खेलमा अधिकतम १२ हजार दर्शकलाई मात्र रंगशालामा पठाइने छ । रंगशालाको क्षमता भने १५ हजार हो । एन्फाले साधारण प्यारापिटतर्फ १० हजार पाँच सय सीट बेच्ने छ । भिआइपीतर्फ १ हजार ५ सय टिकट बिक्रि गर्ने भएको छ ।

    साधारणतर्फको टिकट मुल्य ७ सय रुपैयाँ र भिआइपीतर्फको टिकट मुल्य १५ सय रुपैयाँ राखिएको छ । नेपाल, बंगलादेश र किर्गिस्तानका यु २३ टिमबीच प्रतियोगिता हुन लागेको हो । विजेताले ५ हजार अमेरिकी डलर पुरस्कार पाउने छ । उपविजेताले ३ हजार डलर प्राप्त गर्ने छ।

    प्रतियोगितामा भाग लिन बंगलादेशको टिम बिहीबार नेपाल आइपुग्ने र कीर्गिस्तानको टिम आइतबार नेपाल आउने भएको छ । प्रतियोगितामा भाग लिन भारतको आइ लिग खेलिरहेका गोलकिपर किरण चेमजोङ र फरवार्ड अभिषेक रिजाल नेपाल आउने भएका छन् ।


    कपको पहिलो खेलमा आगामी चैत १० गते कीर्गिस्तान र बंगलादेश भिड्ने छन् । चैत १२ मा दोस्रो खेलमा नेपाल र कीर्गिस्तान भिड्ने एन्फाले जनाएको छ । चैत १४ गते नेपाल र बंगलादेश भिड्ने तालिका छन् ।

    तीन टिम एकआपसमा प्रतिस्पर्धा गरेसँगै अंक तालिकाको शीर्ष दुई टिमबीच चैत १६ मा फाइनल हुने कार्यक्रम छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक नेपालको राष्ट्रिय टीम प्रतिस्पर्धामा उत्रन लागेको हो ।

  • नेपालमा अवैध भित्रिएका मोवाइल सेट नचल्ने प्रणाली जोडिँदै

    नेपालमा अवैध भित्रिएका मोवाइल सेट नचल्ने प्रणाली जोडिँदै

    काठमाडौं । नेपालमा अब अवैध रुपमा भित्रिएका मोवाइल सेटले काम नगर्ने भएको छ । नेपाल दूरसञ्‍चार प्राधिकरणले आगामी जेठबाट अवैध मोवाइलको सेट लक गर्ने प्रणाली कार्यान्वयनमा ल्याउँदैछ । प्राधिकरणले यो प्रणाली कार्यान्वयन गराउन आवश्यक यन्‍त्र उपकरण नेपाल ल्याइसकेको र जडानको काम भइरहेको जनाएको छ। यो सिस्टम प्रयोगमा आएसँगै नेपालमा दर्ता नभई अवैध रुपमा भित्रिएका मोवाइल सेटले काम गर्ने छैन ।

    विदेशबाट व्यक्तिगत रुपमा ल्याएका मोवाइल सेटलाई पनि बैध गराउन दर्ता गर्नु पर्ने भएको छ । प्रणालीको डेटाबेसमा नभएका डिभाइस ब्लक भएसँगै नेटवर्कले काम गर्ने छैन । आधिकारिक आयातकर्ताले भने डिभाइसको युनिक नम्बर दर्ता गराउने छन् । यसरी दर्ता भएका मोवाइल भने चल्नेछन् । सिस्टममा दर्ता भएका डिभाइसको डेटाबेस सेवा प्रदायकको नेटवर्कसँग जोडिएपछि काम गर्नेछ ।

    विदेशबाट फर्कदा समेत एउटा व्यक्तिले एक वर्षमा निश्चित डिभाइस मात्र दर्ता गर्न पाउने गरी नियम बन्ने छ । यद्दपी पहिलो ६ महिना भने यो प्रणाली परीक्षणका रुपमा संचालनमा ल्याउने तयारी प्राधिकरणको रहेको छ । नेपाली संचारमाध्यमहरुका अनुसार यसबीचमा प्राधिकरणले जनचेतनाको काम समेत गर्नेछ । ६ महिनापछि पनि बाध्यकारी बनाउने छ ।

  • बाइडेन र पुटिनबीच शब्दयुद्ध, अमेरिकी राष्ट्रपतिले हत्यारा भनेपछि रुसी राष्ट्रपतिले दिए चूनौति

    बाइडेन र पुटिनबीच शब्दयुद्ध, अमेरिकी राष्ट्रपतिले हत्यारा भनेपछि रुसी राष्ट्रपतिले दिए चूनौति

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शब्द युद्ध चलेको छ । एक अमेरिकी टेलिभिजनमा जो बाइडेनले पुटिनलाई हत्यारा भनेका छन् । त्यसको जवाफमा पुटिनले हिम्मत भए प्रत्यक्ष कुराकानी गर्न चूनौति दिएका छन् । पुटिनले रशियन टिभिमा बोल्दै यस्तो चूनौति दिएका हुन् । राष्ट्रपति बाइडेनले एबीसी टेलिभिजनमा बोल्दै पुटिनको सुरक्षा एजेन्सीले विपक्षी नेता एलेक्सी नवेलनीलाई मार्ने कोसिस गरेको आरोप लगाएका थिए ।

    यो आरोपको समेत पुटिनले ठाडै अश्विकार गरेका हुन् । उता, बाइडेनले सन् २०२० को चुनाव प्रभावित पार्न रुसले खेलेको भूमिकाको समेत ठूलो मूल्य चुकाउनु पर्ने चूनौति दिएका छन् ।

    हालै अमेरिकी इन्टिलीजेन्सको एक रिर्पोट सार्वजनिक भएको छ, जसमा अमेरिकी चुनाव प्रभाव पार्न रुसी राष्ट्रपतिले एक अभियानलाई अनुमति दिएको खुलेको छ । बाइडेनले सत्ता सम्हाले लगत्तै यी दुई शक्तिशाली मुलुकबीचको सम्बन्ध भने बिग्रिएको छ । किनकी रुसले पूर्व रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रंपको पक्षमा अभियान चलाएका थिए ।

  • अक्सफर्ड-आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी छ : इएमए

    अक्सफर्ड-आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी छ : इएमए

    लण्डन । युरोपेली सङ्घ ईयूको औषधी नियामक (ईएमए)ले कोरोना भाइरसको खोप अक्सफर्ड आस्ट्राजेनेका सुरक्षित रहेको बताएको छ । बीबीसीका अनुसार इएमएले गरेको एक समिक्षामा यो खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालिएको हो । यूरोपका १३ मुलुकले यो खोपको प्रयोग रोकेका छन् ।

    खोप लगाएमा रगत जम्ने समस्या भएको भन्दै खोप वितरण रोकिएको थियो । त्यसपछि इएमएले अध्ययन थालेको हो । इटली, स्पेन र जर्मनी सहितका केही देशले उक्त खोपको प्रयोगलाई शुक्रवारबाट पुनः सुरु गर्ने घोषणा समेत गरिसकेका छन् ।

    स्वीडेनले निर्णय लिन आफूलाई अझै केही दिन चाहिने उल्लेख गरेको छ । ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले बिहीवार अनलाइन पत्रकार सम्मेलनमा यस्तो निष्कर्ष सुनाएको बीबीसीले लेखेको छ ।


    ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले भनिन्, ‘यसले अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउनसक्ने जोखिम भएका मानिसहरूलाई जोगाउन सघाउँछ जुन सम्भावित जोखिमभन्दा निकै महत्त्वपूर्ण कुरा हो।’

    आफ्ना खोप कार्यक्रममा आस्ट्राजेनेका प्रयोग गर्ने नगर्ने विषयमा ईयू देशहरूले एक्लाएक्लै निर्णय गर्न सक्नेछन्। यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बिहीवार देशहरूलाई उक्त खोपको प्रयोग जारी राख्न आग्रह गरेको थियो। उक्त खोपको सुरक्षाका सम्बन्धमा शुक्रवार उसले आफ्नो समीक्षाका नतिजा सार्वजनिक गर्दैछ।

  • तान्जनियाका राष्ट्रपतिको कोरोनाका कारण मृत्यु ?

    तान्जनियाका राष्ट्रपतिको कोरोनाका कारण मृत्यु ?

    काठमाडौं । तान्जनियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको त्यहाँका उपराष्ट्रपतिले घोषणा गरेका छन्। राजधानी दारेसलाममा मुटुको समस्याबारे उपचारका क्रममा मगुफुलीको बुधवार मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् घोषणा गरेका हुन्।

    मगुफुली दुई साताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् र उनको स्वास्थ्यबारे विभिन्न हल्ला चलेका थिए। विपक्षी नेताहरूले उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको दाबी गरे पनि त्यसको पुष्टि हुन सकेको छैन। गतसाता देशका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको र राम्ररी काम गरिरहेको बताएका थिए। तान्जनियामा मगुफुलीको एकजना विवादित नेताको पहिचान थियो।

    भ्रष्टाचारसँग जुझ्ने र उच्च सरकारी खर्च घटाउने कामका लागि उनको प्रशंसा हुनेगर्छ। उनले खानीमा काम गर्ने विदेशी कम्पनीलाई बढी कर तिर्न लगाएका थिए।

    तर विपक्षी नेता र सञ्चारमाध्यमहरूप्रति कडा व्यवहार गर्दै बढ्दो रूपमा निरङ्कुश चरित्र देखाएको भन्दै उनको आलोचना हुने गर्दथ्यो। मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए । मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए । उनी सन् २०१५ को अक्टोबरमा आफ्नो ५६औँ जन्मदिनमा देशको राष्ट्रपति घोषित भएका थिए। गत वर्षको एउटा विवादित चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए।

    तान्जनियाको संविधान अनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकालमध्ये अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले निर्वाह गर्नेछन्। गत जुन महिनामा मगुफुलीले तान्जनियालाई कोभिड १९ मुक्त घोषणा गरेका थिए। उनले मास्कको प्रभावकारिताका बिषयमा हलुका अभिव्यक्ति दिनुका साथै कोरोनाभाइरसको परीक्षणबारे शङ्का व्यक्त गरेका थिए।

    उनले महामारीसँग जुझ्न छिमेकी देशहरूले चालेका स्वास्थ्यका उपायको खिल्ली उडाएका थिए। मे महिनायता तान्जनियाले कोरोनाभाइरसका विवरण प्रकाशित गरेको छैन। उक्त देशले खोप खरिद गर्न समेत अस्वीकार गर्दै आएको छ।

    संवाददाताहरू भन्छन्उ, नको साखलाई जोडेर अब देशको नेतृत्व गर्नेले मगुफुलीकै शैली अपनाउँछ वा त्यसलाई परिवर्तन गर्नेछ भन्ने त्यहाँ निकै बहसको बिषय बन्नेछ।

  • एमाले नेपाल-खनाल समुहको राष्ट्रिय भेलाबाट १७ बुँदे प्रस्ताव पारित (विस्तृतमा)

    एमाले नेपाल-खनाल समुहको राष्ट्रिय भेलाबाट १७ बुँदे प्रस्ताव पारित (विस्तृतमा)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल-झलनाथ खनाल समुहको दुई दिने राष्ट्रिय भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ । बुधबार र बिहीबार राजधानीमा आयोजना भएको भेलाले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेको छ । प्रतिनिधिसभा ब्यूँताउने सर्वोच्च अदालतको स्वागत गरेको भेलाले नेकपा विभाजन गर्ने आदेशप्रति भने असहमति प्रकट गरेको छ । यस्तो छ राष्ट्रिय भेलाबाट पारित १७ बुँदे प्रस्ताव

    १. नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनका विभिन्न मोर्चामा क्रियाशील हुँदा आफ्नो अमूल्य जीवनको आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलाल, जननेता कमरेड मदन भण्डारी र कम्युनिष्ट पार्टी नेतृत्वको पहिलो सरकारका प्रधानमन्त्री कमरेड मनमोहन अधिकारी सहितका हाम्रो पार्टीका अग्रजहरुको स्मरण गर्दै उहाँहरु प्रति यो भेला हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।


    २. नेकपा (एमाले) लाई विधान, विधि र पद्धति अनुरुप देश तथा जनताको हितमा सञ्चान गर्नुपर्नेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वेच्छाचारी किसिमका गतिविधि गरी पार्टीको एकता र प्रणालीका सामु संकट उत्पन्न गरिरहेको बेला पार्टीको एकता तथा विधिसम्मत सञ्चालनको पक्षमा ऐक्यवद्धता प्रकट गर्न आफ्नो उमेर र स्वास्थ्यसमेतको पर्वाह नगर राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुनुभएका पार्टीका सम्मानित नेताको रुपमा भूमिका निर्वाह गरिसक्नुभएका नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल प्रसाद कोइराला, राधाकृष्ण मैनाली, शितल झा, केशरमणि पोखरेल प्रति कृतज्ञता प्रकट गर्दै उहाँहरुप्रति यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ । त्यस्तै, भेलामा सहभागी हुनुभएकोमा शिक्षक आन्दोलन र संगठनको निर्माणमा अगुवाई गर्दै नेपालको वामपन्थी आन्दोलनमा योगदान पु¥याउनु भएका बद्रीप्रसाद खतिवडाप्रति कृतज्ञता प्रकट गर्दै उहाँप्रति यो भेला धन्यवाद ज्ञापन गर्दछ ।


    ३. सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टीको दर्ता खारेज गर्नुका साथै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) पूर्ववत् स्थितिमा रहने फैसला गरेपछि नेकपा (एमाले) का सबै कमिटी, सम्बद्ध जनसंगठन र पेशागत संगठन लगायत सबै संरचनाहरु उक्त दुई कम्युनिष्ट पार्टीहरुको एकीकरण पूर्वको स्थितिबाट विधिसम्मत सञ्चालन र क्रियाशील तुल्याउनु कानूनसम्मत र पद्धतिसम्मत हुन्छ । यसरी पार्टीलाई विधान, विधि र पद्धति अनुरुप सञ्चालन गरेर मात्र नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकिन्छ । यसलाई क्षतविक्षत तुल्याउँदै राष्ट्रिय स्वाधीनतालाई समेत कमजोर बनाउने सबै प्रकारका षडयन्त्रहरुलाई विफल गर्दै नेकपा एमालेलाई एकताबद्ध र सुदृढ बनाउन सकिन्छ । यसको विपरीत सर्वोच्च अदातलको फैसलामा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का बीच पुनः एकीकरणको सम्भावनाबारे छलफल गर्न निर्वाचन आयोगले दिएको १५ दिनको समयको उपयोग गर्दै तत्सम्बन्धमा पार्टीको स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका बैठक बोलाई छलफल गर्नुको साटो गत फागुन २८ गते आफ्नो गुटका सीमित व्यक्तिहरु बाहेकका केन्द्रीय कमिटी सदस्यहरुलाई कुनै जानकारी नगराई प्रधानमन्त्रीको सरकारी निवासमा गुटको भेला गरी पार्टी विधान विपरीत स्वेच्छाचारी किसिमले पार्टी विधान संशोधन, केन्द्रीय कमिटीका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर र परिवर्तन तथा नेकपा ९एमाले० को सदस्य नै नरहेका केही व्यक्तिहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने जस्ता अवैध निर्णय र स्वेच्छाचारी कार्यकोे यो भेला तीब्र विरोध गर्दछ । यस प्रकारको कार्य सर्वोच्च अदालतको फैसलाको मर्म विपरीत तथा नेकपा (एमाले) को एकतामा भाँजो हाली पार्टीलाई विभाजन गर्दै अन्ततः नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउने र विसर्जन गर्नेतर्फ परिलक्षित रहेको छर्लङ्गै छ । अतः पार्टी विधान, पद्धति र नेकपा एमाले को सिद्धान्त, नीति र अभ्यास विपरीत अध्यक्ष पदमा रहनुभएका केपी शर्मा ओलीको तर्फबाट भएका कथित निर्णय र कामहरुलाई यो भेला पूर्णतः अस्वीकार गर्दछ ।


    ४. नेकपा (एमाले) केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) संग सम्झौता गर्नुका साथै २०७५ साल जेठ ३ गते नेकपा (माओवादी केन्द्र) संग पार्टी एकीकरणसम्बन्धी घोषणामा हस्ताक्षर गर्नुभएको थियो । यस तथ्यको स्मरण गराउँदै नेपालको कम्युनिष्ट आन्दोलनमा विगतमा देखिएका फुटको श्रृंखलालाई सधैंका निम्ति अन्त्य गर्ने प्रतिबद्धताका विपरीत उहाँले पार्टीको एकता तथा कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न गर्नुभएका विभिन्न गतिविधिहरु प्रति दुःख प्रकट गर्दै नेकपा (एमाले) को एकता जोगाउन सर्वोच्च अदालतको पैmसला अनुरुप नेकपा (माओवादी केन्द्र) संगको एकीकरण पूर्वको पार्टीको संगठनात्मक स्थितिलाई स्वीकार गरी फागुन २८ गते सरकारी निवास, वालुवाटारमा पार्टीको विधान, पद्धति र अभ्यास विपरीत गरिएका कथित निर्णयहरु रद्द गरी क्रमशः पार्टी स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीको बैठक बोलाई विधि र पद्धतिसम्मत छलफल गर्न यो भेला जोडदार माग गर्दछ ।


    ५. प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वेच्छाचारीरुपमा गरिएको प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले गरेको फैसलाको यो भेला स्वागत गर्दछ। सो फैसलाबाट प्रधानमन्त्रीद्वारा नेपालको संविधानको अपव्याख्या गर्ने कामलाई समेत रोकिएको थियो । तर अदालतले नेकपाको नामसम्बन्धी अर्को मुद्दामा फैसला गर्दा विघटनसम्बन्धी मुद्दाको फैसलामा अन्तरनिहित कतिपय कुराहरुसंग बाझिने गरी निवेदकले माग गर्दै नगरेको विषयमा प्रवेश गरी राजनीतिक किसिमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेज गर्ने निर्णय गर्यो । यस्तो सर्वोच्च अदालतको फैसलाप्रति यो भेला असहमति प्रकट गर्दछ । नेपालको संविधान र कानून अनुरुप दुई स्वतन्त्र राजनीतिक दलहरु निर्वाचन आयोगमा विधिवत् दर्ता भई नेपाल राजपत्रमा समेत सोही अनुरुप सूचना प्रकाशित हुनुका साथै झण्डै बितेका तीन बर्ष निरन्तर गतिविधि गर्दै निर्वाचनमा उम्मेदवारी दिएर जनताबाट अनुमोदन प्राप्त गरिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेज गरिनु संविधान प्रदत्त राजनीतिक दलको एकीकृत हुनपाउने अधिकार एवम् जनताको सार्वभौम अधिकारमाथिको समेत प्रहार हो । यस प्रकारका कार्यहरुले राष्ट्रको दीर्घकालिन हितमा समेत कुप्रभाव पार्ने हुँदा स्वतन्त्र न्यायपालिका र कानूनी शासनको अवलम्वनमा पुनः जोड दिदै अदालत तथा निर्वाचन आयोग लगायतका राज्यका सबै निकायहरुलाई संविधान, कानून र सुशासनका मान्यताअनुरुप अघि बढ्न यो भेला आग्रह गर्दछ ।


    ६. नेपालमा एकीकृत, सशक्त र सुदृढ कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ गठित नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई षडयन्त्रमुलक किसिमले छिन्नभिन्न गरिएको कार्यबाट शिक्षा लिदैै नेकपा (एमाले) लाई समेत फुटाई नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने र नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानलाई नै कमजोर तुल्याउने देशी, विदेशी प्रतिक्रियावादीहरुको षडयन्त्रको भत्र्सना गर्दै त्यस्तो षडयन्त्रलाई विफल तुल्याई राष्ट्रको अस्मिता तथा कम्युनिष्ट आन्दोलनको भविष्य सुरक्षित गर्न एकता र दृढताका साथ अग्रसर हुन नेकपा ९एमाले० पार्टी पंक्तिका साथै सम्पूर्ण देशभक्त तथा वामपन्थी शक्तिलाई यो भेला हार्दिक आव्हान गर्दछ । राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, समाजवाद उन्मुख शासनप्रणालीको विकास गर्दै सामाजिक रुपान्तरण, सामाजिक न्याय तथा समृद्धिका लागि एकता र सहकार्यको मार्गमा अग्रसर हुन यो भेला सम्पूर्ण कम्युनिष्ट पार्टी र समूहहरुलाई हार्दिक आव्हान गर्दछ ।


    ७. पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट पार्टीलाई समेत विधान, विधि, पद्धति अनुरुप अगाडि बढ्न नदिई तथा प्रतिनिधि सभालाई असंवैधानिक रुपमा विघटन गरी नेपालको राजनीतिमा सिर्जना गरिएको राजनीतिक अस्थिरता तथा पार्टीभित्रको अराजकता र अन्योललाई चिर्न नेकपा (एमाले) का घोषित सिद्धान्त, नीति र कार्यक्रम अनुरुप पार्टी र यससंग सम्बद्ध सबै जनसंगठन र पेशागत संगठनहरुलाई अगाडि बढाउन तथा अध्यक्ष केपी शर्मा ओलीस्वयंको गुटबन्दीबाट भएका र हुनसक्ने पार्टी विधान, पार्टी एकता र राष्ट्रिय हित प्रतिकूलका कुनैपनि काम कार्वाईका विरुद्ध दृढताका साथ अग्रसर हुन यो भेला नेकपा (एमाले) का सबै नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछ ।


    ८. पार्टीको विधान, विधि र पद्धतिविपरीतका कथित निर्णयहरु गरी नेकपा ९एमाले० को देश, पार्टी र जनताप्रति प्रतिबद्ध अनुशासित पंक्तिलाई राष्ट्रियता, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि अनिवार्य भएको यो राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थित हुनुभएका नेता कार्यकर्ताहरुलाई केपी शर्मा ओली पक्षबाट सार्वजनिकरुपमा दिइएको धम्की तथा यो राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी नहुन दिइएको कथित निर्देशनलाई अस्वीकार गर्दै हजारौंहजार पार्टी सदस्यहरुको अथक परिश्रमबाट निर्माण भएको नेकपा एमालेलाई गुट र सत्तास्वार्थमा दुरुपयोग नगर्न यो भेला सम्बन्धित सबैलाई सचेत गर्नचाहन्छ । देशका विभिन्न भागमा पार्टीका कार्यकर्ता र सदस्यहरुलाई धम्क्याउने, तर्साउने र प्रलोभन दिनेजस्ता निकृष्ट कार्यहरुको यो भेला निन्दा गर्दछ ।


    ९. प्रनिधिसभाको पुनःस्थापनाका लागि आन्दोलनमा उत्रने तथा सशक्त आवाज उठाउने पार्टीपंक्ति तथा सम्पूर्ण जनसमुदायप्रति कृतज्ञता प्रकट गर्दै उहाँप्रति यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ । उक्त आन्दोलनमा योगदान गर्नुका साथै नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा र सम्बद्र्धनका लागि निर्भय र अठोटका साथ अग्रसर हुनुहुने नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुप्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा अझ सशक्त रुपमा सक्रिय हुन यो भेला हार्दिक आव्हान गर्दछ ।


    १०. नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पु¥याउने सबै प्रकारका असमान सन्धि–सम्झौता र कार्यहरुको विरोध गर्दैआएको छ । संविधान सभामा लामो छलफल र बहसपछि बनेको नेपालको संविधानले पनि सबै प्रकारका असमान सन्धि सम्झौताहरुको पुनरावलोकन गरी राष्ट्रिय हितलाई सर्वोपरी राखेर अन्य देशहरुसंग सन्धि सम्झौता र सहमति गर्ने एवम् संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशील एवम् असंलग्नताका सिद्धान्त तथा स्वतन्त्र परराष्ट्र नीतिको आधारमा नेपालको परराष्ट्र नीति सञ्चालन हुने स्पष्ट मार्ग निर्देशन गरेको छ । यसको विपरीत प्रधानमन्त्री समेत रहनु भएका केपी शर्मा ओलीको नेतृत्वमा भएका नेपालको हित प्रतिकूलका कतिपय सम्झौता, निर्णय र कामहरुको विरोध गर्दै यो भेला तिनलाई अस्वीकार गर्दछ । साथै नेपालको सीमा क्षेत्रमा देखा परेका समस्याप्रति नेपाल सरकारको मौनताको विरोध गर्दै अन्तर्राष्ट्रिय कानून, मान्यता र अभ्यास अनुरुप नेपालको भूभाग, सीमाको सुरक्षा गर्दै नेपालको भौगोलिक अखण्डतामा आँच आउन नदिन यो भेला सम्बद्ध जिम्मेवारहरुसंग माग गर्दछ ।


    ११. नेपालको संविधानको मार्ग निर्देशन अनुरुप नागरिकता, नेपाल सरकार र विभिन्न मुलुकहरुका बीचमा भएका सहयोग सम्झौता तथा नेपालका प्राकृतिक स्रोतहरुको उपयोगका सम्बन्धमा हुने कुनैपनि सम्झौता र सहमति नेपालको स्वतन्त्रता, स्वाधीनता र हित अनुकूल मात्र हुनुपर्नेमा जोड दिदै त्यसतर्फ यो भेला सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछ ।


    १२. देशलाई अस्थीर राजनीति, आर्थिक विश्रृंखलता, अन्योल र अशान्तिबाट जोगाउन सम्पूर्ण लोकतान्त्रिक राजनीतिक दलहरुलाई जिम्मेवारीवोधका साथ अग्रसर भई देशलाई उचित निकास दिने कार्यमा योगदान पु¥याउन यो भेला हार्दिक आव्हान गर्दछ ।


    १३. कोरोना विषाणुको महामारीबाट जनतालाई जोगाउनको लागि भरपर्दो खोपको व्यवस्था गर्न तथा विगतमा झैं औषधोपचारका सामग्री आयातमा भ्रष्टाचार हुननदिन यो बैठक माग गर्दछ । साथै सार्वजनिक भएका भ्रष्टाचारसम्बन्धी विभिन्न कार्यहरुको बारेमा तथ्यसंगत किसिमले छानबिन गरी दोषी उपर प्रभावकारीरुपमा कानूनी कार्वाई गर्न यो भेला सम्बन्धित निकायहरुसंग माग गर्दछ ।


    १४. कोराना विषाणुको महामारीबाट नेपालको अर्थतन्त्र र समाजमा पर्न गएको कुप्रभावको गहन अध्ययन गर्दै खोप लगायतका जनस्वास्थ्यसंग सम्बन्धित कामहरु सुव्यवस्थित किसिमले अगाडि बढाउन, आर्थिक क्रियाकलापलाई प्रोत्साहित गर्न र यससम्बन्धी सबै काम पारदर्शीरुपमा गर्न तथा भ्रष्टाचारीहरु माथि कानूनी कावाई गर्न यो भेला सम्बन्धित सबैसंग यो बैठक आग्रह गर्दछ ।


    १५. देशमा बढ्दो वेरोजगारी, जनताको दैनिक जीवनलाई कठीन बनाइरहेको बढ्दो महंगी र सामाजिक अपराधतर्फ ध्यान दिई त्यसको समाधान गर्न राज्ययन्त्र परिचालित हुनुपर्नेमा जोड दिदै गुट र सत्तास्वार्थमा राज्य स्रोत दोहन गर्ने कार्यको यो भेला भत्र्सना गर्दछ ।


    १६. नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक प्रक्रियाबाट आफुलाई अगाडि बढाउँदै नेपालको राष्ट्रिय स्वाधीनता र हितलाई सर्वोपरी राखेर क्रियाशील हुनेभनी गरेको सार्वजनिक प्रतिबद्धतालाई यो भेला हार्दिक स्वागत गर्दछ । साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई यसको क्रान्तिकारी र देशभक्तिपूर्ण चरित्र अनुरुप अगाडि बढाउन वामपन्थी एकताका लागि योगदान गर्न समेत यो भेला आव्हान गर्दछ ।


    १७. हाम्रो पार्टी नेकपा (एमाले) को यो राष्ट्रिय कार्यकर्ता भेलालाई भव्यरुपमा सफल पार्न नैतिक, भौतिक लगायत विभिन्न किसिमले सहयोग गर्ने सबैलाई यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

  • ब्यूँतियो वाइसिएल, राष्ट्रिय भेला गर्ने घोषणा

    ब्यूँतियो वाइसिएल, राष्ट्रिय भेला गर्ने घोषणा

    काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ब्यूँतिएको छ । केन्द्रमा माउ पार्टी ब्यूँतिएसँगै चर्चित भातृसंगठन वाइसिएल समेत ब्यूँतिएको हो । संगठनले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ । सर्वोच्च अदालतको आदेश पछि एमाले र माओवादी केन्द्र पार्टी अस्तित्वमा आएका छन् । यो संगठनको काठमाडौंमा चैत ४ र ५ गते बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले राष्ट्रय भेला आयोजना गर्ने निर्णय लिएको हो ।

    भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने भएको छ । संगठनलाई चलायमान गराउन राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटीसम्म भेला आयोजना हुने भएको छ । राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने छन् । बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ।

  • सार्वजनिक यातायातको भाडा बढाउन यातायात व्यवसायीको माग

    सार्वजनिक यातायातको भाडा बढाउन यातायात व्यवसायीको माग

    काठमाडौ । यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई ज्ञापन पत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा समायोजन गर्न आग्रह गरेको हो ।

    पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेको भन्दै महासंघले चैत्रको तेस्रो साताभित्र भाडा समायोजन नगरे सवारी साधन नचलाउने चेतावनीसमेत दिएका छन् ।

    महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन पनि माग गरेको छ ।

    वैकल्पिक व्यवस्था नभएसम्मका लागि प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग छ । २० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट दिनुपर्ने शर्त पनि महासंघले राखेको छ ।

  • नेपालमा ३ हजार २ सय परीक्षण गर्दा थप १ सय ७ जनामा कोरोना संक्रमण

    नेपालमा ३ हजार २ सय परीक्षण गर्दा थप १ सय ७ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ६१० जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या १ हजार रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ जना रहेको छ । त्यो सहित कोरोनाबाट मृत्यु ३०१५ पुगेको छ ।

  • एमाले संसदीय बोर्डमा झलनाथ र माधवसहित २७ जना मनोनित, यस्तो छ सूची

    एमाले संसदीय बोर्डमा झलनाथ र माधवसहित २७ जना मनोनित, यस्तो छ सूची

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गरेको छ । २७ सदस्यीय बोर्डमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पनि मनोनीत भएका छन् ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले पार्टीमा सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा निर्णय गर्नका लागि उक्त बोर्ड गठन गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा अ‍ोली प्रमुख रहेका बोर्डको सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनित भएका छन् ।

    बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहेका छन् ।