Category: फिचर

  • यो साता कोरोनाबाट विदेशमा थप ३ नेपालीको मृत्यु

    यो साता कोरोनाबाट विदेशमा थप ३ नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको संक्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ ।

    गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४ सय १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक संक्रमण देखिएको हो।

    यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ६१ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७४ हजार ६५ जना भने २ लाख ७० हजार ३ सय २५ जना अर्थात ९८ दशमलव ६ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

    खोप लगाएपछि के हुन्छ ?

    स्वास्थ्य समितिमा आबद्ध स्वास्थ्यकर्मीहरु भने विश्वमा हाल परिक्षण पश्चात आएका विभिन्न खोप प्रयोगमा आएको छोटो समय भएको र खोप लगाएपछि यसबाट सुरक्षित हुने निश्चित समय एवं समग्र प्रभावकारिताका विषयमा अध्ययन अझै जारी नै रहेकोले खोप लगाए पश्चात कति समयसम्म शरीरमा एन्टीबडी रहन्छ भन्ने बारे यकिन रुपमा बताउन नसकिने बताएका छन् ।

    खोप लगाइसकेकाहरुमा विशेषतः ३ सातापछि एन्टीबडी विकास भएको पाइएको छ । तर सबै व्यक्तिमा उस्तै किसिमले एन्टीबडी विकास नहुन पनि सक्छ । हाल खोप कम्पनी एवं वैज्ञानिकहरुका अनुसार खोपको दुवै मात्रा लगाएपछि शरीरमा प्राकृतिक एन्टीबडी विकास भई ५ देखि ६ महिना वा एक वर्षैसम्म पनि एन्टीबडी रहीरहने दाबी गरेका छन् । यद्यपी यसबारे पनि अनुसन्धान जारी छ । साधारणतया खोपको पहिलो डोज लगाएपछि एन्टीबडी विकास हुन थाल्ने र दोस्रो डोज पछि सो स्वतः बढ्दै जाने स्वास्थ्य विज्ञ बताउँछन् ।

    शरीरमा एन्टिबडी बनेपछि मेमोरी सेलले निकै लामो समयसम्म कोरोना भाइरसलाई पहिचान गर्ने तथा त्यस्तो भाइरस शरीरमा आएमा एन्टिबडी सक्रिय भएर भाइरसलाई नष्ट गर्ने गर्छ । एकपटक कोरोना संक्रमण भइसकेका मानिसमा त्यसैले पनि संक्रमणको सम्भावना कम हुन सक्छ किनकी उनीहरुमा प्राकृतिक एन्टीबडी विकास भइसकेको हुन्छ । तर कति समयसम्म सो एन्टीबडी शरीरमा रहन्छ, यो भने अनुसन्धानको क्रममै रहेको छ । तसर्थ स्वास्थ्य समितिले एकपटक संक्रमण भइसकेका र खोप लगाएकाले पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने जनाएको छ ।

    कोभिडको खोप लगाएपछि मृत्यु हुन्छ, दीर्घकालीन असर हुन्छ, यो खोपले डीएनएलाई असर वा नष्ट गर्छ, प्रजनन क्षमता ह्रास हुन्छ लगायतका विभिन्न भ्रम फैलिएका छन् । यद्यपी यी सबै गलत भएको स्वास्थ्य समितिले जनाएको छ । खोप लगाएका मध्ये केही मानिसमा ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांशपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाक्वाकी लाग्ने, बान्ता हुने, पखाला हुने समस्या देखिन सक्छ । तर गम्भीर समस्या देखिएका घटना न्यून छन् ।

    पहिलो मात्रा खोप लगाएका व्यक्तिले चार हप्तामा दोस्रो मात्रा लगाउनुपर्छ । दोस्रो मात्रा तीन हप्तादेखि १२ हप्ताको समयमा लगाउन मिल्ने बताइएको छ ।

    दीर्घ रोगीले पनि खोप लगाउन सकिन्छ तर रगत पातलो बनाउने औषधी खाइरहेका, स्नायू सम्बन्धी औषधी सेवन गरेका, गर्भवति स्तनपान गरिरहेकाहरुलाई भने खोपको सिफारिस नगरिने गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाले जनाए । लामो परिक्षणपछि ल्याइएकोले पनि यी खोपहरु सुरक्षित रहेको स्वास्थ्य विज्ञहरुले उल्लेख गरेका छन् ।

  • सेतो मच्छिन्द्रनाथको प्रवलीकरण सुरु

    सेतो मच्छिन्द्रनाथको प्रवलीकरण सुरु

    काठमाडौं । काठमाडौं महानगरपालिका–३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणको कार्य सुरु भएको छ । आइतबार बिहान मन्दिर परिसरमा आयोजित कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले प्रवलिकरण कार्यको संयुक्त रुपमा शिलान्यास गरे । २०७२ को भूकम्पबाट क्षतिग्रस्त यो मन्दिरको भारत सरकारको ६ करोड २६ लाख रुपैयाँ अनुदान सहयोगमा प्रवलीकरण हुन लागेको हो ।


    सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारको करिब पाँच अर्ब ८० करोड रुपैयाँ (५० मिलियन अमेरिकी डलर) आर्थिक अनुदानअन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो । शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानै प्रविधि, परम्परागत निर्माण सामग्री प्रयोग गरेर मन्दिरको प्रवलीकरण गरिने बताए ।

    भूकम्पबाट क्षतिग्रस्त ४६५ पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको उल्लेख गर्दै उनले भारत सरकारको सहयोगमा पुनर्निर्माण हुने सम्पदाहरुको काम अगाडि बढ्ने जानकारी दिए । भारतीय राजदूत क्वात्राले नेपालका पुरातात्विक सम्पदा दुई देशको सम्बन्धमा आधारशीला भएको उल्लेख गर्दै यी सम्पदा संरक्षणमा गर्न पाउनु भारतका लागि खुशीको कुरा भएको उल्लेख गरे ।

    सो अवसरमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले विभिन्न सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माणमा सहयोग गरिरहेको जानकारी दिए । सम्पदा पुनर्निर्माण तथा प्रवलीकरणको डिजाइन तथा पुरातात्विक अनुगमन पुरातत्व विभागले गर्दछ भने प्राधिकरणमातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले ठूला सम्पदाको कार्यान्वयन गराउँछ ।

    यी सम्पदाहरु नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्डअनुरूप प्रवलीकरण गरिने छन् । सेतो मच्छिन्द्रनाथको मन्दिर १० औँ शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । यो मन्दिर सामाजिक, धार्मिक सहिष्णुताका लागि प्रख्यात छ । सेतो मच्छिन्द्रनाथलाई हिन्दू र बौद्घ धर्मावलम्बीले समान आस्थाका साथ पूजाआजा गर्दै आएका छन् ।

  • संसद बैठक अगाडी नै सांसद र कर्मचारीलाई कोरोना खोप लगाइने

    संसद बैठक अगाडी नै सांसद र कर्मचारीलाई कोरोना खोप लगाइने

    काठमाडौं । सांसद र संसद सचिवालयका कर्मचारीलाई कोरोना खोप लगाइने भएको छ । संसद बैठक २३ फागुनमा बोलाइएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यसै साता सांसद तथा संसद सचिवालयका कर्मचारीलाई खोप लगाइने भएको हो । सचिवालयका अनुसार सांसद र कर्मचारीले फागुन १९, २० र २१ मा सिभिल अस्पताल पुगी खोप लगाउन सक्ने भएका छन् ।

    २३ फागुनबाट भने नेपालमा दोस्रो चरणको खोप अभियान शुरु हुँदैछ । उक्त अभियानका दौरान जेष्ठ नागरिकलाई खोप वितरण गरिने भएको छ । सरकारले भारतबाट २० लाख डोज खोप खरीद गर्दैछ । त्यसमध्ये १० लाख डोज खोप नेपाल आइसकेको छ ।

  • दमकमा औद्योगिक पार्कको शिलान्यास, ५ वर्ष भित्र बनिसक्ने लक्ष्य

    दमकमा औद्योगिक पार्कको शिलान्यास, ५ वर्ष भित्र बनिसक्ने लक्ष्य

    दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा औद्योगिक पार्कको शिलान्यास गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा ६४ अर्ब रुपैयाँ लागतको औद्योगिक पार्कको शिलान्यास गरेका हुन् । ‘चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्क’ नाम दिइएको यो पार्क दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा पर्छ । पार्क २१ सय बिगाहा क्षेत्रफलमा फैलिएको हुने बताइएको छ । भौतिक पूर्वाधारको काम ५ वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।


    चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभेलपमेन्ट जोन जिङ पिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभेलपमेन्ट कम्पनी लिमिटेडले पार्क निर्माणको जिम्मा पाएको छ । पार्कमा सवारीसाधन, मोबाइललगायतका विद्युतीय सामग्री उत्पादन गर्ने उद्योग रहने बताइएको छ । पार्क शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको विकास देखेर विरोधीहरु आत्तिएको बताए । उनले आफुले राजिनामा समेत नगर्ने उल्लेख गरे ।

  • नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज

    नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९८४ १४३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ४०७ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ९६२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित मृतको संख्या २७७४ पुगेको छ ।

  • काठमाडौंको ६० किमी सडकमा ‘हाइमास्ट लाइट’ राखिँदै, कहाँ-कहाँ जडान गरिँदैछ ?

    काठमाडौंको ६० किमी सडकमा ‘हाइमास्ट लाइट’ राखिँदै, कहाँ-कहाँ जडान गरिँदैछ ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र बढी प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान कार्य शुरु हुने जनाएको छ ।

    महानगरपालिकाले शहरका मुख्यमुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ती जडान गर्नका लागि अहिले बोलपत्र आह्वान गरिसकेको छ । आगामी २ महिनाभित्र प्रक्रियागतरुपमा सबै कार्यसक्ने र बत्ती जडान शुरु हुने महानगरको शहरी पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए ।

    गत मङ्सिर २५ गते महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर गरेसँगै प्रक्रिया अघि बढाइएको हो । प्रमुख उज्यालो अभियानअन्तर्गत आधुनिक सडक बत्ती जडान कार्य अघि बढाइएको हो । महानगरपालिकााले आफ्नो क्षेत्रभित्रका करीब ८० स्थानमा बढी प्रकाश दिनसक्ने आधुनिक बत्ती (हाइमास्ट लाइट) जडान गर्ने लागेको हो ।

    सडकमा करीब १ हजार ७५० आधुनिक बत्ती जडान गर्न महानगर र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहनेछ । जहाँ महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ । प्रमुख थापाका अनुसार पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिने छ ।

    पुतलीसडकदेखि बालुवाटारसम्म र त्रिभूवन विमानस्थलदेखि हायत होटलसम्म पनि पहिलो चरणमै जडान गरिनेछ । थापाले नयाँ बानेश्वर, माइतीघरलगायतका स्थानमा अहिलेकै खम्बा प्रयोग गरेर आधुनिक बत्ती जडान गरिने बताए । पहिलो चरणको बत्ती जडानका लागि ११ करोड रुपैयाँ खर्च हुने भएको छ ।

    नयाँ पोल थप्नुपर्ने स्थानमा स्वीकृति दिने, नयाँ बत्ती जडानका क्रममा बिग्रिएका फुटपाथलगायतका संरचनाको निर्माण सडक विभागले गर्ने पनि सहमति भएको छ । अहिले काठमाडौँका मुख्य सडक राष्ट्रपति कार्यालय आसपासका सडक, कालिमाटीका सडकमा बत्ती नहुँदा पैदल यात्रु र सवारी चालकले समस्या भोगिरहेका छन् ।

  • ‘जनतालाई सुसूचित गराउन धारणा राखेको हुँ, अवहेलना गरेको छैन’

    ‘जनतालाई सुसूचित गराउन धारणा राखेको हुँ, अवहेलना गरेको छैन’

    काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वाेच्च अदालतमा आफ्नो लिखित जवाफ पेश गरेका छन् ।

    आफूविरुद्ध लागेको अदालतको अवहेलना सम्वन्धी मुद्दाका सम्बन्धमा सर्वोच्चको आदेश अनुसार उनी अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् । आइतबार विहान ११ बजे सर्वोच्च अदालतमा जवाफ बुझाएर दाहाल फर्केका हुन् ।

    नेकेपा विभाजनपछि आयोजित विरोध सभामा दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्‍याउने काम भयो भने लाखौं लाख जनता सडकमा उतारेर गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

    उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

    सो मुद्दामा बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले दाहाललाई सात दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

  • एक दशकमा कतारमा मात्र १६४१ नेपालीको मृत्यु

    एक दशकमा कतारमा मात्र १६४१ नेपालीको मृत्यु

    काठमाडौं । वैदेशिक रोजगारीका लागि पुगेका श्रमिकमध्ये नेपालमा औसतः दैनिक दुई जनाको शव आउने गरेको छ । यसमा पनि खाडी मुलुकको तथ्यांक डरलाग्दो छ । त्यसो त खाडी मुलुकमै नेपालीको संख्या पनि अधिक छ । बेलायती पत्रिका द गार्जियनले एक रिर्पोटमा आधारित हुँदै भनेको छ, पछिल्लो एक दशकमा कतारमा मात्र १ हजार ६ सय ४१ जना नेपाली नागरिकको ज्यान गएको छ ।

    कतारको निर्माण क्षेत्रमा बढी जसो नेपाली श्रमिक खटिएका छन् । नेपालजस्तो शितल ठाउँबाट कतार पुगेका नेपालीले कतारको चर्को गर्मीमा काम गर्दा ज्यान गुमाउने गरेका छन् । कतारले २०२२ मा आयोजना गर्न लागेको विश्वकप फुटवल प्रतियोगिताका लागि रंगशाला निर्माण धमाधम गरिएको छ ।

    खासगरी रंगशाला निर्माणकै दौरान बढी आप्रवासी श्रमिकको ज्यान गएको गार्जियनको दावि छ । कतारमा सन् २०११ देखि २०२० को बीचमा ६ हजार ५ सय भन्दा बढी आप्रवासी श्रमिकले ज्यान गुमाएको गार्जियनको दावि छ । यहाँ प्रत्येक साता १२ आप्रवासी श्रमिकले ज्यान गुमाएको देखिएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी भारतीय छन् ।

    १० वर्षमा २ हजार ७११ भारतीय, १ हजार १८ जना बंगलादेशी, ८२४ जना पाकिस्तानी र ५५७ जना श्रीलङ्कन नागरिक छन् । गार्जियनका अनुसार नेपालीमध्ये ४८ प्रतिशतको प्राकृतिक मृत्यु भएको छ । १६ प्रतिशत नेपालीको सडकमा दुर्घटना, १० प्रतिशतको काम गर्ने ठाउँमा दुर्घटनामा र ९ प्रतिशतको रोग, रक्तस्राव, मृगौला फेलका कारण ज्यान गुमाउने बाध्य छन् । १० प्रतिशतले आत्महत्या गरेका छन् । एक प्रतिशतको हत्या भएको छ भने ७ प्रतिशतको मृत्युको कारण खुलेको छैन ।

  • औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री गृहजिल्ला झापा जाँदै

    औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री गृहजिल्ला झापा जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलापछि आज पहिलो पटक उपत्यकाबाहिर निस्कदैछन् । यसअघि संसद विघटन गरेपछि उनले काठमाडौं बाहिरको दौडधुप बढाएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आज गृहजिल्ला झापा जाने कार्यक्रम तय भएको छ । त्यहाँ उनले औद्योगिक पार्कको शिलान्यास गर्नेछन् ।

    झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन नेपाल मैत्री औद्योगिक पार्क’ भनिएको छ । पार्कमा ६४ अर्ब रुपैयाँ लगानी गर्ने योजना छ ।

    औद्योगिक पार्क निर्माण पीपीपी मोडलमा गर्ने सम्झौत समेत भएको छ । यसअघि प्रधानमन्त्रीले आफ्नो कदमको बचाउ गर्न मानिसहरु भेला गराउँदै आएका थिए । आफ्नो कदम गलत भएसँगै राजिनामा गर्न उनीमाथि तिब्र दवाव छ । तर, प्रधानमन्त्री भने राजिनामाको मुडमा छैनन् ।

  • जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप एक डोज लगाए पुग्ने, अमेरिकाले दियो प्रयोगमा अनुमति

    जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप एक डोज लगाए पुग्ने, अमेरिकाले दियो प्रयोगमा अनुमति

    काठमाडौं । जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्धको खोप अमेरिकामा प्रयोगको अनुमति पाएको छ । यो खोप एक डोजमात्र लगाए पुग्ने भएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप आम आम मानिसले प्रयोग गर्ने फ्रिजमा समेत भण्डारण गर्न सकिने र एक डोजमात्रै लगाए मात्र पुग्ने अमेरिकी संचारमाध्यमले जनाएका छन् । यो खोपलाई अनुमति दिने अमेरिका संसारको पहिलो देश बनेको छ ।

    अमेरिकाले फाइजर र मोडर्ना खोपको प्रयोग भने यस अघि नै खुला गरिएको छ । फाइजर र मोडर्ना खोपलाई भण्डारण गर्नमा भने उच्च स्तरको डिप प्रिmज आवश्यक पर्छ । ती खोप दुई पटक लगाउनु पर्छ । कम्पनीले जुन महिनाको अन्तिमसम्म अमेरिकामा १० करोड डोज खोप उपलब्ध गराउने बताएको छ । अमेरिकामा अहिले खोप अभियान जारी रहेको छ ।

  • अमेरिकी तल्लो सदनले पास गर्यो प्रतिव्यक्ति १४०० डलर दिने प्रस्ताव, बेरोजगार भत्ता साताको ४००

    अमेरिकी तल्लो सदनले पास गर्यो प्रतिव्यक्ति १४०० डलर दिने प्रस्ताव, बेरोजगार भत्ता साताको ४००

    न्यूयोर्क
    अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले देशबासीलाई प्रतिव्यक्ति १४ सय डलर राहत दिने प्रस्ताव पारित गरेको छ ।
    राष्ट्रपति जो बाइडेनले अघि सारेको १.९ ट्रिलियन डलरको आर्थिक प्याकेज पारित गर्दै सदनले नागरिकलाई राहत दिने कार्यक्रम एक कदम अघि बढाएको हो । बाइडेनले निर्वाचित भए लगत्तै कोरोना भाइरसको प्रभावसँग जुध्न यो प्याकेज प्रस्ताव गरेका थिए ।
    रिपब्लिकनहरु यो प्याकेज महंगो भएको भन्दै पारित गर्न नहुने पक्षमा छन् । हाउसबाट पास हुने क्रममा पनि रिपब्लिकनहरुले विपक्षमा मतदान गरेका थिए ।
    सबै डेमोक्रेटिक सिनेटरले राहत प्याकेजको पक्षमा मतदान गरेमा सिनेटबाट पनि यो प्रस्ताव पारित हुनेछ । त्यसपछि राष्ट्रपति बाइडेनको हस्ताक्षरसँगै सर्वसाधारणलाई राहत वितरण सुरु हुनेछ ।
    राहत प्याकेजमा साप्ताहिक बेरोजगार भत्तालाई पनि ३०० सय डलरबाट बढाएर ४०० डलर पुर्याइएको छ । यस्तै अविभावकमा निर्भर १७ बर्ष माथिका बयस्कलाई पनि १४ सय डलर राहत दिने जनाइएको छ । अमेरिकी सरकारले कोरोना भाइरस महामारी सुरु भएपछि जनतालाई एक पटक १२ सय र अर्को पटक ६ सय गरि १८ सय डलर राहत प्रदान गरि सकेको छ । अहिलेको १४ सय डलर थपिँदा प्रत्येक अमेरिकीले सरकारबाट पाएको राहत ३२ सय डलर पुग्नेछ ।

  • हाइटीमा कैदीले गरे जेल ब्रेक, २ सय भागे-२५ को मृत्यु

    हाइटीमा कैदीले गरे जेल ब्रेक, २ सय भागे-२५ को मृत्यु

    पोर्ट ओ प्रिन्स। हाइटीमा कैदीले गरेको जेल ब्रेक र झडपमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । २ सय भन्दा बढी कैदी भोगेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटना शुक्रबार भएको हो । झडपका क्रममा जेलका निर्देशक समेतको ज्यान गएको बताइएको छ । जेलमा झण्डै ४०० कैदी रहेका थिए। राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको ज्यान गएको बताइएको छ । मृत्यु हुनेमा ६ जना कैदी र अन्य सर्वसाधारण रहेका छन् ।

    दुई सय जना कैदी भने अझै पनि जेलमै रहेको अधिकारीहरुले जनाएका छन् । जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उनको भनाई छ। मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ छन् । भाग्नेहरुलाई प्रहरीले गोली हानी मारेको अधिकारीको भनाई छ ।

  • सन्दीपले खेल्ने भए पिसिएल, पाकिस्तान प्रस्थान गर्दै

    सन्दीपले खेल्ने भए पिसिएल, पाकिस्तान प्रस्थान गर्दै

    काठमाडौं । नेपाली स्टार सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने निश्चित भएको छ । उनी शनिबार पाकिस्तान प्रस्थान गर्ने भएका छन् । सन्दीप लाहोर कलन्दर्सबाट प्रतियोगितामा बाँकी खेल खेल्न पाकिस्तान गएका हुन् । शुक्रबार साँझ सन्दीपको सम्झौता पक्का भएको हो । उनी आज दोहा हुँदै कराची जान लागेको बताइएको छ ।

    लाहोरबाट खेलिरहेका स्पिनर राशिद खान अन्तर्राष्ट्रिय खेल खेल्न अफगानिस्तान फर्किएपछि लाहोरले सन्दीपलाई आवद्ध गरेको हो । पिएसएल ड्राफ्टमा सन्दीप बिक्रि भएका थिएनन् । लाहोर कलन्दर्सले जारी प्रतियोगितामा ३ खेल खेल्दै २ जित र १ हारको नतिजा प्राप्त गरेको छ । टीम अंक तालिकामा तेस्रो स्थानमा छ। सन्दीपसँग पिसिएल खेलेको अनुभव भने छ । उनी यसअघि सन् २०१९ मा लाहोरबाट पीएसएल खेलेका थिए।

  • ८१ जनामा कोरोना पुष्टी, २ को मृत्यु

    ८१ जनामा कोरोना पुष्टी, २ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार ८ सय २४ नमुना परीक्षण गर्दा ३५ महिला र ४६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।


    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । उनीहरुमध्ये शनिबार थप २ सहित २ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ६२ जना निको भएसँगै हालसम्म २ लाख ७० हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर ९६७ जना क्वारेन्टिनमा रहेको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख ६० हजार ४०४ नमुनाको पीसीआर परीक्षण भइसकेको छ ।

  • नेपाल विकासशील मुलुकका रुपमा स्तरोन्नती हुन सिफारिस

    नेपाल विकासशील मुलुकका रुपमा स्तरोन्नती हुन सिफारिस

    न्यूयोर्क । संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसीले नेपाललाई स्तरोन्नतिको सिफारिस गरेको छ । यससँगै नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने ढोका खुलेको छ । अमेरिकास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका अनुसार यसका लागि पाँच वर्षको तयारी अवधि राखिएको छ ।

    यसअनुसार सन् २०२६ बाट नेपाल स्तरोन्नति बनिसक्ने छ । यसबीचमा अतिकमविकसित मुलुकका रुपमा पाउने सुविधा नेपालले आगामी पाँच वर्ष नै उपयोग गर्न पाउने छ । प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकमध्ये नेपालले पछिल्लो दुई मापदण्ड पूरा गरेर स्तरोन्नतिका लागि योग्य बनेको हो ।

    नेपालले आयको स्तरबाहेक अन्य दुई मापदण्डमा यसअघिका दुईओटा समीक्षादेखि नै मापदण्ड पूरा गरेको हो । समितिको सिफारिशपछि राष्ट्रसंघीय आर्थिक एवं सामाजिक परिषद् (इकोसोक) र राष्ट्रसंघको महासभाबाट स्वीकार भएमा नेपाल विकासशील मुलुक बन्ने छ । संयुक्त राष्ट्रसंघीय निकायको नीतिअनुसार, हरेक तीन वर्षमा हुने समीक्षामा लगातार दुई पटक तोकिएका मापदण्डमा सफल देश मात्र विकासशील देशमा उक्लन सक्ने प्रावधान छ ।

  • अमेरिकामा प्रतिघण्टा १५ डलर ज्याला पुराउने राष्ट्रपतिको योजनामा जुटेन सहमति

    अमेरिकामा प्रतिघण्टा १५ डलर ज्याला पुराउने राष्ट्रपतिको योजनामा जुटेन सहमति

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको महत्वकांक्षा योजनामध्ये एक अमेरिकामा ज्यालाको न्यूनतम मापदण्ड प्रतिघण्टा १५ सय डलर पुर्याउने थियो । उनले आफ्नो सरकारको कोभिड–१९ पुनरुत्थान प्याकेजमा यसलाई समावेश गरेका थिए । अहिले रहेको ७.५ डलर प्रतिघण्टा ज्यालालाई दोब्बरले बढाउने उनको प्रस्तावमा सहमति भने जुट्न सकेन ।

    सिनेटबाट पारित भएको कोभिड प्याकेजको प्रस्तावबाट ज्यालाको विषय निकालिएको छ । अमेरिकी सिनेटले कोभिड–१९ को प्याकेजमा न्यूनतम ज्याला राख्नु सान्दर्भिक नहुने भन्दै यो विषय हटाएको प्रतिक्रिया अधिकारीहरुले दिएका छन् । एएफपीका अनुसार यो एजेण्डा डेमोक्रेटिक पार्टीको प्रगतिशील एजेण्डा थियो ।

    बाइडेनले कोभिड प्याकेजका रुपमा१९ खर्ब डलरको राहत प्याकेजको प्रस्ताव गरेका थिए । यसले अमेरिकी अर्थतन्त्रलाई माथि उकास्ने अपेक्षा सरकारको छ । सिनेटमा रिपब्लीकन पार्टीका सदस्यबाट सहमति प्राप्त हुन नसकेपछि ज्यालाको विषय भने हटेको बताइएके छ । अमेरिकी सिनेटमा देशमा दूरगामी असर पार्ने प्रस्ताव पारित गर्न ६० प्रतिशत मत आवश्यक पर्छ ।

    सिनेटमा डेमोक्रेटको मत ५१ प्रतिशत मात्र रहेको छ । बाइडेनले कंग्रेस समक्ष कोभिड राहत प्याकेजलाई जतिसक्दो चाँडो पारित गर्न आह्वान गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । यो प्रस्तावमा अधिकांश अमेरिकीलाई १४०० अमेरिकी डलर राहत दिने उल्लेख छ । प्रस्तावमा कोरोनाभाइरसको महामारी नियन्त्रण र समाप्त गर्नेतर्फ मद्दत पुर्‍याउन खर्चको योजना समेत रहेको छ ।

  • साउदी पत्रकार खशोग्जीको हत्या युवराज सलमानको आदेशमा : अमेरिका

    साउदी पत्रकार खशोग्जीको हत्या युवराज सलमानको आदेशमा : अमेरिका

    न्यूयोर्क । अमेरिकाले साउदी अरवका पत्रकार जमाल खशोग्जीको हत्या साउदी अरबका युवराज सलमान बिन मोहम्मदकै आदेशमा भएको निष्कर्ष निकालेको छ । अमेरिकी गुप्तचर विभागले खशोग्जीको हत्याबारे रिपोर्ट सार्वजनिक गर्दै यस्तो दावि गरेको हो ।

    राष्ट्रपति जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गर्दै साउदी अरबका युवराज सलमान बिन मोहम्मदले खशोग्जीको अपहरण गरेर हत्याको आदेश दिएको खुलेको बताएको छ । उता, साउदीका युवराज मोहम्मदले भने यो आरोपको अस्विकार गर्दै आएका छन् ।

    खशोग्जीको हत्या हुनासाथ युवराजमाथि औला ठडिएको थियो । पत्रकार खशोग्जी सन् १०१८ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्र छिरेको केही समयमै उनको हत्या भएको थियो । दूतावास भित्रै उनको शव गायव समेत गराइएको छ ।

    खशोग्जी व्यक्तिगत कागजात लिने सिलसिलामा दूतावास छिरेका थिए । पत्रकार खशोग्जी साउदी सरकार र युवराज मोहम्मदका गतिविधिको कडा आलोचक थिए । खशोग्जी हत्या प्रकरणमा साउदीको एक अदालतले पाँच जनालाई फाँसीको सजाय सुनाएको छ ।

    यो सजायमा समेत गत वर्ष परिवर्तन भई २० वर्ष कैदमा झारिएको छ । यो घटनामा साउदी सरकारको योजनावद्ध षडयन्त्र रहेको आरोप लागेको छ ।

  • आज श्री स्वस्थानी व्रतकथाको समापन

    आज श्री स्वस्थानी व्रतकथाको समापन

    काठमाडौं । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथा आजबाट समापन हुँदैछ । पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज विधिवतरुपमा समापन गर्न लागिएको छ । श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनसम्म विसर्जन गर्ने प्रचलन रहेको छ । एक महिनाभर स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाए मनोकांक्ष पूरा हुने जनविश्वास रहेको छ ।

    सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउना विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको जनविश्वास रहेको छ । आज व्रत समाप्तिको दिन श्रीस्वस्थानीको पूजा गरी एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्री चढाइन्छ ।

  • नाइजेरियामा हतियारधारीले गरे ३ सय छात्राको अपहरण, अवस्था अज्ञात

    नाइजेरियामा हतियारधारीले गरे ३ सय छात्राको अपहरण, अवस्था अज्ञात

    जम्फारा\नाइजेरिया । एक साता अगाडी दर्जनौं विद्यार्थी अपहरणमा परी अवस्था अज्ञात रहेको नाइजिरियामा पुनः सयौं छात्रालाई हतियारधारीले अपहरण गरेका छन् । बीबीसीका अनुसार नाइजेरियाको उत्तर पश्चिमी जम्फारा राज्यबाट सयौँ स्कुले बालिका अपहरणमा परेको आशंका छ । रातको एक बजेको समयमा हतियारधारीले ति छात्रालाई अपहरण गरेको एकजना शिक्षकले पुष्टी गरेका छन् । यो घटना शुक्रबार बिहानको हो ।

    उक्त राज्यका गभर्नरका प्रवक्ताले समेत हमलाको पुष्टि गरेको बीबीसीले लेखेको छ । यद्दपी अवस्था भने अज्ञात छ । यो हालकै हप्ताहरूमा भएको सामूहिक अपहरणको सबैभन्दा ठूलो घटना मानिएको छ । यहाँ सशस्त्र समूहहरूले बालबच्चा अपरहण गरी तिनका अभिभावकबाट फिरौती माग्ने गरिन्छ । नाइजेरिया विश्वकै एक असुरक्षित मुलुक हो ।

    गत हप्ता छिमेकको नाइजर राज्यस्थित कगारा भन्ने स्थानबाट २७ जना विद्यार्थी सहित अपहरणमा परेका ४२ जना अझै हराइरहेको बताइएको छ । गत डिसेम्बरमा ३ सय भन्दा छात्रलाई काट्सिना राज्यको कन्काराबाट बन्दूकधारीले अपहरण गरेका थिए । उनीहरुलाई भने छाडिएको थियो ।

  • कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था गम्भीर

    कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था गम्भीर

    काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । मस्तिष्कघातका कारण उनको स्वास्थ्य अवस्था समेत गम्भीर रहेको चिकित्सकले जानकारी गराएका छन् । बिहीबार राती मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । त्यहाबाट उनलाई नर्भिक अस्पतालमा रिफर गरिएको थियो ।

    चिकित्सकहरुका अनुसार अस्पताल पुगेर सिटी स्क्यान गर्दा उनको टाउकोमा रगत जमेको पाइएको हो । त्यसपछि वीरले नर्भिक रिफर गरेको थियो । उनको उपचारमा संलग्न नर्भिकका न्यूरो सर्जन डा. राजीव झाका अनुसार जोशीलाई कोमामा राखिएको थियो । सास फेर्न गाह्रो हुने र बान्ता फोक्सोमा पुगिसकेको अवस्था रहेको उनले जानकारी दिए ।

    चिकित्सकले सास फेर्न सहज होस् भनेर पाइप राखेको र फोक्सोमा पुगेको वान्तासमेत निकालेको उनले बताए । सिटी स्क्यानबाट दिमागको बीचमा पानी जम्मा हुने ठाउँमा रगत पुगेका कारण ब्लक भएको पाइएको उनले बताए । सुगर, प्रेसरजस्ता समस्याबाट उनी यसअघि नै ग्रसित रहेको पाइएको छ । जोशीले रगत पातलो बनाउने औषधि खाइरहेको बताइएको छ । जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् ।

  • फागुन २३ मा संसद बैठक बोलाउन सरकारको सिफारिस

    फागुन २३ मा संसद बैठक बोलाउन सरकारको सिफारिस

    काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्च अदालतले १३ दिन भित्र बैठक बोलाउन आदेश गरेके थियो ।

    आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय सरकारले गरेको छ । ११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो । राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरेपछि बैठक बस्ने छ ।

  • ‘जनताको निर्णयभन्दा ठूलो सर्वोच्च होइन, हिम्मत भए अविश्वास प्रस्ताव ल्याउनु’

    ‘जनताको निर्णयभन्दा ठूलो सर्वोच्च होइन, हिम्मत भए अविश्वास प्रस्ताव ल्याउनु’

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड-माधव पक्षलाई हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन चेतावनी दिएका छन्।

    अनेरास्ववियुले काठमाडाैंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउ, प्रधानमन्त्री केपी ओली त्यसको संसदमा डटेर सामना गर्त तयार हुनुहुन्छ। हामी संसद् बोलाउँछौँ, कसको हिम्मत छ? अविश्वासको सामना गर्दा के परिणाम आउँछ त्यसलाई स्वीकार गछौँ।’

    उनले प्रधानमन्त्रीले राजीनामा नदिने पनि दाबी गरे। सर्वोच्च अदालतको निर्णयले मुलुकको राजनीतिलाई पुरानै फोहोरी खेलमा धकेलेको उनले बताए। ‘अदालतको निर्णय हामी कार्यान्वयन गछौँ। तर, सर्वोच्च अदालतको निर्णय सबैभन्दा ठूलो होइन’ उनले भने, ‘सबैभन्दा ठूलो अदालत भनेको जनता नै हो।’

    ओली नेतृत्वको नेकपा सग्लो भएकाले जस्तोसुकै परिस्थिती आएपनि लड्न सक्ने बताए। ‘केपी ओली लोकतन्त्रमाथि विश्वास राख्नुहुन्छ। सडकमा भुस्याहा कुकुरझैँ कराउँदैमा ओलीले राजीनामा दिनुहुन्छ भन्ने नसोचे हुन्छ’ उनले भने।

    अब पार्टीले चुनौतीका बीचमा नयाँ ढंगबाट अगाडि जाने उनले बताए। ‘पार्टी र सत्ता कब्जा गरेर आएका अब हुँदैनन्। अब नयाँ पुस्ताबाट कम्युनिस्ट पार्टी बन्छ’ उनले भने।

  • नेपालले कार्बन सञ्चिति बढाए बापत ५ अर्ब पाउने

    नेपालले कार्बन सञ्चिति बढाए बापत ५ अर्ब पाउने

    काठमाडौं । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब ५ अर्ब रुपैयाँ (४५ मिलियन अमेरिकी डलर ) रकम पाउने भएको छ ।

    वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौअनुसार नेपालले सो रकम प्राप्त गर्नेछ ।

    सो सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । यसरी वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ ।

    साथै समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवद्र्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि गरिनेछ । बैंकसँग यस्तो सम्झौता गर्ने नेपाल एशिया-प्रशान्तमा पाँचौँ र विश्वव्यापीरूपमा १२औँ देश हुन पुगेको छ ।

  • नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ५४ जना डिस्चार्ज

    नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ५४ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २७७ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित मृतको संख्या २७७१ पुगेको छ ।

  • ओली समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटायो, विशाल भट्टराईलाई जिम्मेवारी

    ओली समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटायो, विशाल भट्टराईलाई जिम्मेवारी

    काठमाडौं । ओली समूहले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको छ ।

    गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो । गुरुङ, प्रचण्ड–माधव समूहमा थिए ।

  • अब ट्रायल पास गरेको  महिना दिनमै चालक अनुमतिपत्र

    अब ट्रायल पास गरेको महिना दिनमै चालक अनुमतिपत्र

    काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ ।

    ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ ।

    अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ ।

    विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताए । उनका अनुसार यी कार्डको खरिद गर्न लागेको कम्पनीले अहिले थोरै सङ्ख्यामा कार्ड नमूना परीक्षणका लागिसमेत पठाइसकेको छ ।

    त्यो ठीक छ भन्ने जानकारी दिएपछि केही समयमा नै कार्ड आउने उनले जानकारी दिए । ‘हामीसँग थोरै कार्ड मात्रै बाँकी भएकाले थोरै छापिएको हो, नयाँ कार्ड आउनासाथ धमाधम एकैदिनमा धेरै छपाइ हुनेछ’, उनले भने ।

    विभागले गत वर्ष खरीद गरेको ‘मास प्रिन्टर’ को क्षमता एक घण्टामा ४५० अनुमतिपत्र छाप्न सक्ने रहेको छ । एक दिनमा १० घण्टा सञ्चालन गर्दा पनि चार हजार ५०० छापिने निर्देशक पौडेलले बताए । उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छापिने उनको भनाइ छ ।

    विभागले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा तीन ‘सिफ्ट’ मा उपकरण सञ्चालन गरेको थियो । उनले भने, ‘कति घण्टा चलाउने भन्ने चापमा निर्भर गर्छ ।’,

    कोभिड–१९ का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ अनुमतिपत्र सरकारले गत पुसमा पुनः खुलाएको हो ।

    देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेका छन् । तीमध्ये पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ गर्न सकिने विभागले जनाएको छ । नयाँ १४ लाख कार्ड एकैपटक आएपछि माग धान्न गाह्रो नहुने निर्देशक पौडेलले बताए ।

    ‘मास प्रिन्टर’ सँगै विभागमा साना क्षमताका उपकरण रहेका छन् । तत्कालका लागि तीनको प्रयोग नभए पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको विभागले जनाएको छ ।

    विगत दुई वर्षदेखि प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र वितरण गरिरहेका छन् । विभागले ‘सर्भर’ को काम र अनुमतिपत्र छपाइ गरिरहेको छ । रासस

  • तारकेश्वरमा फेरी बर्ड फ्लु पुष्टी, १२ हजार कुखुरा नष्ट

    तारकेश्वरमा फेरी बर्ड फ्लु पुष्टी, १२ हजार कुखुरा नष्ट

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्ड फ्लू पुष्टी भएको छ । बिहीबार मात्र यहाँ १२ हजार भन्दा बढी कुखुरा नष्ट गरिएको छ । पशुसेवा विभागका अनुसार तारकेश्वर नगरपालिका १ साङ्लाफाँटमा उक्त संख्यामा कुखुरा नष्ट गरिएको हो । विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको छ ।

    फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १४५० किलो दाना समेत नष्ट गरिएको छ । उता, सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ । उनको फार्ममा रहेका ७५० किलो दाना पनि नष्ट गरिएको छ । सम्झना ठकुरी तिवारीले पालेका २ हजार ७६ वटा ब्रोइलर र १००७ वटा लोकल कुखुरासमेत नष्ट गरिएको छ ।

    शान्ता खनालको फार्मबाट १०० लोकल कुखुरा र २ वटा टर्की नष्ट गरिएको विभागले जनाएको छ । यसअघि पनि यहाँ बर्डफ्लु पुष्टी भएको थियो । केही साता अगाडी १४ सय भन्दा बढी हाँस मार्नु परेको थियो । विभागका अनुसार अहिले बर्ड फ्लूको सङ्क्रमण देखिएको स्थान पहिचानको काम जारी रहेको छ । बर्ड फ्लूको सङ्क्रमण देखिएपछि मारिएका कुखुराका किसानले भने क्षतिपूर्ति पाउने छन् ।

  • अमेरिकाद्धारा सिरियाको इरानसमर्थित मिलिसिया अखडामा हवाई आक्रमण

    अमेरिकाद्धारा सिरियाको इरानसमर्थित मिलिसिया अखडामा हवाई आक्रमण

    बगदाद । संयुक्त राज्य अमेरिकाले सिरियामा सक्रिय मिलिसियाको एक अखडामा हवाई आक्रमण गरेको छ । सिरियामा इरानले समर्थन गरेको समुहविरुद्ध अमेरिकाले आक्रमण गरेको हो । अमेरिकी संचारमाध्यमहरुका अनुसार बिहीबार राष्ट्रपति जो बाइडेनले आक्रमणको अनुमति दिएका थिए ।

    यसअघि अघिल्लो साता इराकमा रहेको अमेरिकी सेनाको ब्यारेकमा इरानले रकेक आक्रमण गरेको थियो । यसको बदलामा बिहीबा सिरियास्थित मिलिसिया अखडामा आक्रमणको अनुमति बाइडेनले दिएका हुने । रोयटर्सका अनुसार गत साताको आक्रमणविरूद्ध अमेरिकाको यो पहिलो जवाफी हमला हो ।

    हमलाबाट भएको क्षतिको भने विवरण आइसकेको छैन । १५ फेब्रुअरीका दिन इराकमा रहेको अमेरिकी बेसमा इरानले गरेको रकेट आक्रमणमा एकजना गैरअमेरिकी ठेकेदारको ज्यान गएको थियो । गत वर्ष इरानी सेनाका जनरल कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन हमलामा मारिदिएपछि अमेरिका र इरानको सम्बन्ध चिसिएको छ ।

  • भारत र चिनियाँ राजदूतद्धारा कांग्रेस सभापति देउवासँग छुट्टाछुट्टै भेट

    भारत र चिनियाँ राजदूतद्धारा कांग्रेस सभापति देउवासँग छुट्टाछुट्टै भेट

    काठमाडौं । बदलिँदो परिस्थितिमा नेपाली कांग्रेस केन्द्रमा छ । किनकी भावनात्मक रुपमा नेकपा विभाजित भइसकेको अवस्थामा नयाँ सरकारको बनाउने कसरतको केन्द्रमा कांग्रेस आइपुगेको छ । यसै सन्दर्भमा सभापति शेरबहादुर देउवाको सक्रियता समेत बढेको छ । उनलाई नेकपाका नेताहरुले भेटिसकेका छन् ।

    बिहिबार नेपालका लागि चिनियाँ र भारतीय राजदूतले समेत उनलाई भेटेका छन्। नेपाली संचारमाध्यमहरुका अनुसार बिहीबार छुट्टाछुट्टै समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले देउवासँग भेटेका छन् । दुबै राजदूत देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । उनीहरुबीचमा कुराकानी के भयो भन्ने बारेमा भने कुनै पनि पक्षबाट सार्वजनिक गरिएको छैन ।


    देउवा निवासमा बिहीबार नै कांग्रेसको पदाधिकारी बैठक राखिएको थियो । सो बैठक सकिएपछि राजदूतहरूले भेटेका हुन् । नेकपाका प्रचण्ड र माधव कुमार नेपाल तथा ओली समुहले देउवासँग छुट्टाछुट्टै सहकार्यको प्रस्ताव गरिसकेका छन् । यसमा भारत र चीनले देउवालाई दिएको सन्देश नै निर्णायक हुने देखिएको छ ।

  • संसद पुनर्स्थापना नेपालको आन्तरिक मामिला हो : भारत

    संसद पुनर्स्थापना नेपालको आन्तरिक मामिला हो : भारत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधी निर्वाचनको मिति तोक्दा धेरैले यसमा भारतले साथ दिएको आशंका गरेका थिए । सोहीकारण प्रधानमन्त्री अतिआत्मविश्वासका साथ प्रस्तुत भएको र यसमा अदालतले समेत प्रधानमन्त्रीकै साथ दिने अनुमान धेरैको थियो । त्यसविपरित सर्वोच्च अदालतले नेपालको संविधानको स्पष्ट व्याख्यासहित प्रधानमन्त्रीको कदमको विपरित फैसला सुनायो ।

    यो प्रकरणबारे भारतले पनि मुख खोलेको छ । भारतले यसलाई नेपालको आन्तरिक मामला भएको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनका दौरान यस्तो प्रतिक्रिया दिएका हुन् । अदालतको फैसलाबारे उनलाई पत्रकारले सोधेका थिए । उनले २३ फेब्रुअरीमा आएको सर्वोच्च अदालतको फैसला बारे भारत जानकार रहेको भन्दै नेपालको राजनीतिलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिए ।

    यद्दपी यो नेपालको आन्तरिक मामला भएको समेत उनको भनाई थियो । नेपालले आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्धारा टुंगो लगाउने विषय भएको उनले उल्लेख छ । सर्वोच्च अदालतको फैसला आउनु अगाडी नेकपा अध्यक्ष प्रचण्डले नेपालमा प्रजातन्त्रको रक्षार्थ भारतको समेत समर्थन हुनुपर्ने प्रतिक्रिया दिएका थिए ।