Category: फिचर

  • इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै

    इण्डोनेसिया-काठमाडौं सिधा हवाई सम्पर्कमा जोडिदै

    काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा हवाई सम्पर्कमा जोडिने भएका छन् । इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले त्यहाँको राजधानी जकार्ताबाट नेपालको राजधानी काठमाडौंमा सिधा उडानको योजना सार्वजनिक गरेको हो ।

    कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गर्दै यस्तो तयारी थालेको हो । कम्पनीका अनुसार आगामी जुन, जुलाईबाट गरुडा इन्डोनेसियाले नेपालमा उडान बिस्तारको योजना बनाएको छ । अहिले इन्डोनेसियामा मलेसियाबाट मालिन्दो एयरले उडान गर्छ ।

    यो कम्पनीले क्वालालाम्पुरमा ट्रान्जिट गरी इन्डोनेसिया सेवा दिइरहेको छ । गरुडा आएपछि क्वालालाम्पुर ट्रान्जिट हुनुपर्दैन । नेपालबाट जाकार्ता, बालीलगायत गन्तब्यमा नेपाली यात्रुको चाप बढेसँगै वायुसेवा कम्पनीको विजनेश पनि उत्तिकै बढेको छ ।

    कम्पनीले नेपालबाट जापान र अष्टे्लिया जाने यात्रुलाई समेत लक्षित गरी उडान गर्ने बताइएको छ । यी मुलुकका लागि गरुडाले जाकार्तामा ट्रान्जिट गरी सेवा दिने भएको छ । इन्डोनेसियामा नेपाली नागरिकले अनअराइभल भिसा सुविधा प्राप्त गर्छन् । सोहीकारण समेत इण्डोनेसिया यात्रामा धेरै नेपाली जाने गरेका छन् ।

  • ओली-रावल बाझाबाझ : को हो भगौडा ?

    ओली-रावल बाझाबाझ : को हो भगौडा ?

    काठमाडौं । शुक्रबार धनगढी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिए । त्यसको जवाफमा भीम रावलले ओलीलाई भगौडा भन्दै कटाक्ष गरेका छन् । दुई नेताबीचको रोमाञ्चक बाझाबाझ भने दुई छुट्टाछुट्टै कार्यक्रममा भएको हो । खासगरी प्रधानमन्त्रीको बोली रावलतर्फ नै लक्षित थियो । सुदुरपश्चिममा रावललाई आफ्नो पक्षमा पार्न असफल ओलीले प्रचण्ड समुहका नेता लेखराज भट्टलाई मन्त्री पद दिएर फकाइरहेका छन् ।

    काठमाडौंमा शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै रावलले ओलीको भनाईप्रति लक्षित गर्दै उनलाई भगौडा भनेका हुन् ।

    नेपालको कम्युनिस्ट आन्दोलनलाई गोर्भाचोबको बाटोमा हिँडाउन खोज्ने, नेपाली देशभक्त जनताको शिर झुकाउने गरी अँधेरी रातमा समान्तहरुलाई भेट्ने, नेपाल कम्युनिस्ट पार्टीको चनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने भगौडा नम्बर एक नै केपी ओली भएको उनको आरोप छ ।

    शयन कक्ष नजिकै बालुवाटारको अर्को भवनमा पार्टी स्थायी कमिटीको बैठक राख्दा समेत ओली नआएको तर्फ उनले इंगित गरे । पार्टीले बैठक बोलाएपछि पनि तथ्यहिन आरोपसहित ओली अनुपस्थित हुने गरेको भन्दै उनलाई भगौडा भनेका हुन् । उता ओलीले भने प्रचण्ड-नेपाल समुहका नेता भगौडा भएको भन्दै त्यतातर्फ नलाग्न आग्रह गरेका थिए ।

  • नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, ५८५ जना डिस्चार्ज

    नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, ५८५ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ५ सय ८५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै अहिलेसम्म २ लाख ५७ हजार २ सय २९ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ५ हजार २१ जना रहेको छ ।

  • ‘हामीलाई गालीगलौज गर्ने फुर्सद छैन, देश बनाउनु छ’

    ‘हामीलाई गालीगलौज गर्ने फुर्सद छैन, देश बनाउनु छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गाली गलौजमा उत्रिने फुर्सदै नभएको बताएका छन् ।

    शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले प्रचण्ड–माधव नेपाल समूहका नेताले शीर्ष नेतृत्वलाई गाली गलौज गरेर हिँड्ने गरेको भन्दै आफूहरुलाई काम गर्नमा व्यस्त भएकाले गालीगलौजमा उत्रिने फूर्सद नभएको बताएका हुन् ।

    नेकपा दाहाल–नेपाल समूहलाई कटाक्ष गर्दै भने, ‘केही भगौडाहरु सडकमा गएर अश्लील गालीगलौज गरेर बसेका छन् ।

    हामीलाई त देश विकास गर्नु छ, गालीगलौज गर्ने फुर्सद छैन ।’ उनले केही भगौडाहरु केन्द्रीय कमिटीको बैठकमा नआएर अन्त गएर गालीगलौजमा समय बिताएको भन्दै चर्को आलोचना गरे । उनले भने, ‘बाटामा बसेर भन्छन्, हामी यहाँ छौँ । मुख छाडेर हिँडेका छन् ।’

    उनले भीम रावलले मन्त्री भएको बेला मात्र आफूलाई ठिक भन्ने तर, मन्त्री नबन्दा विरोधी बनेको बताए ।
    ‘बाहिर–बाहिर राष्ट्रवादी देखिने, नक्सा छाप्दा सरकारको विरोध गर्ने । मैले मन्त्री बनाएका बेला मात्र केपी ओली ठिक थियो भन्ने । उहाँलाई पिर पर्यो’, उनले भने ।

  • ‘आफ्नो पद नबच्‍ने भएपछि पार्टी विधान र संविधान मान्दिनँ भन्न पाइँदैन’

    ‘आफ्नो पद नबच्‍ने भएपछि पार्टी विधान र संविधान मान्दिनँ भन्न पाइँदैन’

    काठमाडौं । राष्ट्रियसभा सदस्य तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कार्य भएको बताएका छन् ।

    शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै श्रेष्ठले अहिलेको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको बताएका छन् ।

    श्रेष्ठले लोकतन्त्रका लागि जेल बसेको दाबी गर्ने प्रधानमन्त्रीले आफ्नो पद सुरक्षित नदेखेपछि प्रतिनिधिसभा नै भंग गर्ने दुस्साहस गरेको बताए ।

    ‘अहिलेको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिएको छैन् । त्यही भएर यो असंवैधानिक छ । सरकार सञ्चालनका निम्ति पार्टीमा छलफल हुँदै थियो । छलफलले कुनै निष्कर्ष । संविधानको हत्या गर्न पाइँदैन । पार्टीमा छलफल हुँदैथियो । स्थायी कमिटीको बैठकको बस्दैथियो’, उनले भने ।

    सांसद श्रष्ठले सर्वोच्च अदालतले पनि संसद विघटनको मुद्दाको फैसला संविधानमा टेकेर फैसला गर्ने अधिकार दिएको बताए ।

    ‘संसद विघटनको मुद्दा अदालतमा विचाराधीन छ । सर्वोच्च अदालतले संविधानमा टेकेर फैसला गर्ने अधिकार दिएको छ ।

    संविधान कागजको खोस्टोमा परिणत र संविधान च्यातिएको अवस्थामा हुन्छ’, राष्ट्रियसभा सदस्य श्रेष्ठले भने, ‘आफ्नो पदको सुरक्षा नहुने भयो भने पार्टी एकता पनि भंग लोकतन्त्र पनि भंग, पार्टी विधान पनि मान्दिनँ संविधान पनि मान्दिनँ भन्न पाइँदैन ।’

    उनले प्रधानमन्त्री अ‍ोलीलाई अहिले पनि अवसर रहेको भन्दै प्रतिनिधिसभा पुर्नस्थापना भए पार्टी एकता हुन सक्ने बताए ।

    ‘अहिले पनि अवसर छ । असंवैधानिक घोषणाप्रति आत्मआलोचना गर्दै प्रतिनिधिसभा घोषणा होस भन्ने प्रधानमन्त्रीबाट आयो भने पार्टी एकतालाई एकताबद्ध बनाएर अगाडि जान सकिन्छ’, उनले भने ।

  • अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकारे हार, सत्ता सुम्पने घोषणा

    अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकारे हार, सत्ता सुम्पने घोषणा

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनमा पराजय स्वीकार गरेका छन् । अमेरिकी संसदमा बुधबार भएको अप्रिय हमलापछि ट्रम्पप्रति विश्वरभरबाट चर्को आलोचना भइरहेका समयमा उनले हार स्वीकार गरेका हुन् । संसदमा समेत उनलाई राष्ट्रपति पदबाट तत्काल हटाउनु पर्ने माग चर्किएको छ ।

    उनले चुनावमा धाँधली भएको दाबी गर्दै आएका छन् । विहीबार ट्वीटरमा एक भिडियो सन्देश राख्दै कंग्रेसले चुनावी नतिजा प्रमाणित गरिसकेको अवस्थामा आफुले शान्तीपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने उनको घोषणा छ । नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्ने समेत उनले जनाएका छन् ।

    आफ्नो ध्यान शान्तिपूर्ण र विधिपूर्वक रुपमा सत्ता हस्तान्तरमा केन्द्रित हुने प्रतिवद्धता समेत ट्रम्पले व्यक्त गरेका छन् । उनले वासिङ्टनको हिंसात्मक प्रदर्शनप्रति दुख व्यक्त गर्दै यसबाट आफू आक्रोशित भएको समेत बताएका छन् । अमेरिका सधैँ कानुन र व्यवस्थाको देशका रुपमा रहेको उल्लेख गर्दै क्यापिटल हिल्समा भएको हिंसात्मक प्रदर्शन र आक्रमणमा सहभागी व्यक्तिले अमेरिकालाई प्रतिनिधित्व नगर्ने समेत ट्रम्पले बताएका छन् ।

  • बालुवाटारको घेराबाट सरकार चलाएका प्रधानमन्त्री पार्टी फुटाएपछि देशदौडाहामा

    बालुवाटारको घेराबाट सरकार चलाएका प्रधानमन्त्री पार्टी फुटाएपछि देशदौडाहामा

    काठमाडौं । करीव साढे दुई वर्षसम्म सरकार संचालनका दौरान वालुवाटार भित्रको चौघेरामा बसेका प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन र पार्टी फुटाएपछि भने देश दौडाहामा निस्कने भएका छन् । यसअघि कोरोना महामारीको कारण देखाउँदै उनी पार्टी कार्यालय जान समेत आनाकानी गर्थे ।

    प्रधानमन्त्रीका रुपमा सिंहदरवार नटेकेको धेरै भइसकेको छ । ओली पार्टीको कार्यक्रममा सहभागी हुन आज धनगढी जान लागेका हुन् । नेकपाको ओली पक्षीय सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन ओली धनगढी जान लागेका हुन्।

    सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीको खुल्लामञ्चमा दिउँसो १२ बजे जनसभा आयोजना गरेको छ। पार्टी फुटाएपछि भने ओली एकाएक बाह्य कार्यक्रममा सक्रिय बनेका छन् । शुक्रबारको कार्यक्रम तयारी गर्न संघीय सरकारका चार मन्त्री चार दिनअघि नै धनगढी गएका छन्।

    ओली समूहका सुदूरपश्चिम संयोजक एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वन मन्त्री प्रेम आले, श्रममन्त्री गौरीशंकर चौधरी र सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना सुदुरपश्चिममै रहेका छन् ।

  • महोत्तरीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

    महोत्तरीमा चिसोका कारण एकै परिवारका तीनको मृत्यु

    काठमाडौं । महोत्तरीमा चिसोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार धुर्मुस सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन जनाको निधन भएको हो । बीस दिनको अवधिमा रामरती सदाका घरमा बुहारी, नाति र एक नवजात नातिनीको मृत्यु भएको छ ।

    बिहीबार पत्रकारको एक समूह मुसहरको एकीकृत बस्तीमा पुगेपछि यसबारे खुलेको राससले उल्लेख गरेको छ । ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डसना) तथा तातो खानेकुरा नभएपछि पुस ९ मा रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसोले सताएको थियो ।

    त्यसपछि अत्यधिक रक्तश्राव भएको उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो। उनी बिरामी भएकै अवस्थामा छोरी जन्माएकी थिइन्। केहीबेरको अस्पताल बसाइपछि उनको मृत्यु भएको परिवारले जनाएको छ । नवजात शिशुको समेत जन्मेको ६ घण्टामै मृत्यु भएको छ ।

    एकसाथ बुहारी र नातिनीको मृत्युपछि रामरतिका घरमा शोक छाएको थियो। गत मङ्गलबार १३ औं दिनका पुण्यतिथिका दिन उनका अर्का आठ महिने नाति (हरिनारायण सदाका माहिला छोरा) आठमहिने प्रभासको समेत चिसोकै कारण मृत्यु भएको छ । यस बस्तीमा ३५० परिवार दलित मुसहर रहेका छन् ।

  • ट्रम्पलाई फेसबुकको कारवाही, राष्ट्रपति छउन्जेल लेख्न नपाउने

    ट्रम्पलाई फेसबुकको कारवाही, राष्ट्रपति छउन्जेल लेख्न नपाउने

    वासिंटन डिसी । सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कारवाही गरेको छ । फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गका अनुसार राष्ट्रपति रहुन्जेल फेसबुकमा ट्रम्पले फेसबुकमा कुनै पनि पोष्ट गर्न नपाउने गरी कारवाही गरिएको हो । जुकरबर्गले बुधबार संसद भवनम ट्रम्पको उक्साहटमा उनका समर्थक फैलाएको हिंसापछि उनलाई फेसबुकको सेवा दिइरहनु चुनौतीपूर्ण हुने उल्लेख गरेका छन् ।


    ुराष्ट्रपतिलाई बाँकी समय पनि हाम्रो सेवा दिइरहनु निकै चुनौतीपूर्ण छ भन्ने लाग्छ, उनले भनेका छन्, शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण नभएसम्म फेसबुक र इन्स्टाग्राममा उनीमाथि लगाइएको प्रतिबन्ध जारी रहनेछ। अर्को सामाजिक सञ्जाल ट्वीटरले बुधबारको संसद हिंसापछि ट्रम्पको ह्यान्डल १२ घन्टाका लागि लक गरिदिएको छ ।

    त्यसपछि भने उनको ह्यान्डल खोलिएको छ । त्यसपछि उनले ट्वीटरमा भिडिओ पोष्ट गरेका छन् जहाँ जनवरी २० मा आफूले बाइडेन प्रशासनलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने उल्लेख छ ।

  • अमेरिकी संसद भवनमा भएको घटनाले स्तब्ध बनायो : देउवा

    अमेरिकी संसद भवनमा भएको घटनाले स्तब्ध बनायो : देउवा

    काठमाडौं । अमेरिकी संसदमा राष्ट्रपति ट्रम्प समर्थकले गरेको हंगामाको संसारभर आलोचना भइरहेको छ । यस घटनाबारे नेपाली नेतामध्ये नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो धारणा सार्वजनिक भएको छ । उनले बुधबार अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

    अमेरिकी संसद भवनको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको भन्दै उनले शान्तिपूर्ण सत्ता हस्तान्तरणको पक्षमा जोड दिएका छन् । अमेरिकी जनताले आफ्नो मत जाहेर गरिसकेको सन्दर्भमा अर्को सरकारलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्नु पर्ने उनको भनाई छ ।

    सबै अमेरिकी नागरिकका आगामी दिन शान्तिपूर्ण होऊन् भन्ने कामना समेत देउवाले गरेका छन् । राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणित अमेरिकी संसदको संयुक्त बैठक बसेका बेला बुधबार ट्रम्प समर्थकले संसद भवनमा छिरेर तोडफोड गरेका थिए। हिंसामा परी कम्तिमा ४ जनाको मृत्यु भइसकेको छ ।

  • अन्तर बैंक एटीएम प्रयोग गर्दा अब शुल्क लाग्ने

    अन्तर बैंक एटीएम प्रयोग गर्दा अब शुल्क लाग्ने

    काठमाडौ । अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क तिर्नु पर्ने भएको छ । आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको हो । नेपाल राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गरेको छ । जसअनुसार अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरिएको हो।

    तर, महिनामा दुई पटक मात्र प्रयोग गरेको अवस्थामा भने निःशुल्क हुने भएको छ । दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ । कोरोना महामारी भन्दा अगाडी भने यस्तो शुल्क लाग्ने गरेको थियो ।

    गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुबाट नै निशुल्क भएको थियो । त्यसपछि राष्ट्र बैंकले निर्देशन जारी गरी अर्को व्यवस्था नभएसम्म अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था ल्याएको थियो । आज भने शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ तोक्दै शूल्क लिन पाउने व्यवस्था गरिएको हो ।

    उता, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे समेत अब ग्राहकलाई जानकारी गराएर मात्रै लिन पाइने व्यवस्था गरिएको छ ।

  • अमेरिकी संसदले प्रमाणित गर्‍यो राष्ट्रपतिमा बाइडेनको जित

    अमेरिकी संसदले प्रमाणित गर्‍यो राष्ट्रपतिमा बाइडेनको जित

    अमेरिका । अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ ।

    स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो ।

    बिहिबार बिहान ट्रम्प समूहले गरेको हिंसात्मक आक्रमणका कारण इलेक्टोलर कलेज मत केही समयका लागि रोकिएको थियो ।

    उनका प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्लले २३२ इलेक्टोरल मत पाए ।

    सुरूदेखि नै चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पका समर्थकले बैठक चलिरहेको बेला संसद भवनमा हिंसा मच्याएका थिए। चार जनाको ज्यान गएको हिंसाका कारण बैठक अवरूद्ध भएको थियो ।

    स्थितिलाई नियन्त्रणमा लिएपछि बसेको बैठकले बाइडेनले जितेको प्रमाणित गरेको हो ।

    उपराष्ट्रपति माइक पेन्सले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन हुने घोषणा गरे । बाइडेनले जनवरी २० मा राष्ट्रपतिको सपथ लिनेछन् ।

  • जे मन लाग्यो त्यही गर्ने, प्रधानमन्त्री को हो ? हिटलर हो ?

    जे मन लाग्यो त्यही गर्ने, प्रधानमन्त्री को हो ? हिटलर हो ?

    काठमाडौं । राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओेलीलाई हिटलरको संज्ञा दिएका छन् ।

    राष्ट्रियसभा बैठकमा विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका रायमाझीले ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको आरोप लगाएका हुन् ।

    उनले असंवैधानिक काम गर्ने व्यक्तिलाई प्रधानमन्त्री भन्ने कि नभन्ने भन्दै यस्तो प्रश्न गरे । प्रधानमन्त्री ओलीले चुनाव हारेका मान्छेलाई मन्त्री बनाएर र मन्त्रिपरिषद् विस्तार गरेर संविधानको खिल्ली उडाउको आरोप पनि लगाए ।

    ‘संविधान प्रधानमन्त्रीले मान्नुनपर्ने । प्रधानमन्त्री हिटलर हो ? जे मन लाग्यो त्यही गर्ने ? म ओलीलाई मात्र भन्दिनँ सारा कम्युनिस्ट पार्टी दोषी छ यो मुलुकमा । मुलुकलाई यो दिशामा पुर्‍याउन,’ उनले भने ।

    त्यस्तै, रायमाझीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्नेगरी प्रधानमन्त्री ओलीले बोलेको भन्दै आलोचना पनि उनले गरे । प्रधानमन्त्री र मन्त्रीहरुलाई सर्वोच्च अदालतलाई प्रभावित गर्ने गरी नबोल्न पनि उनले चेतावनी दिए ।

  • ‘अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो’

    ‘अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो’

    काठमाडौं । नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको ठाउँमा आफू भएको भए राजीनामा दिने बताएका छन् ।

    राष्ट्रियसभा बैठकमा पहिलोपटक बोल्दै गौतमले पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । उहाँले राजीनामा दिएको भए मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो गौतमले भने । ’

    राष्ट्रियसभामा नेता गौतमले आफू प्रधानमन्त्री ओलीको आलोचक भएको पनि बताए ।

    प्रधानमन्त्रीको म कटु आलोचक हुँ । उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराएको हो, उहाँलाई मैले शैली सुधार गर्नुपर्छ भनेर धेरैपटक भनेको छु,” उनले भने, “प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्रीले सोध्नुभएन । मलाई थाहा थिएन ।”

  • ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु, १५ दिनसम्म आपतकाल घोषणा

    ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु, १५ दिनसम्म आपतकाल घोषणा

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको छ।

    मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जना (एक महिला र दुई पुरूष) को अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ।

    अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको आरोपमा समातिएको हो।

    हिंसात्मक प्रदर्शनको क्रममा मारिएकी महिलाको पहिचान खुलेको स्थानीय प्रहरीले जनाएको छ। उनी सान डियागोमा बस्ने एश्ली बैबिट रहेको प्रहरीले बताएको छ। अमेरिकी मिडियाका अनुसार एश्लीले अमेरिकी हवाई सेनामा काम गरिसकेकी छन्।

    रिपोर्टअनुसार अमेरिकी संसद् भवन (क्यापिटल बिल्डिङ)मा प्रवेश गर्न लागेको बेला एश्लीलाई गोली लागेको हो। उनी अन्य प्रदर्शनकारीसँगै उक्त भवनमा प्रवेश गर्न लागेकी थिइन्। उनी ट्रम्प समर्थक रहेको अमेरिकी टेलिभिजन फक्स न्यूजले जनाएको छ।

    अमेरिकी राजधानीका मेयरले वासिंटनमा थप १५ दिनका लागि सार्वजनिक आपत्‌काल जारी हुने बताएका छन् ।

    यो आपत्‌काल घोषणापछि सहरभरिका बासिन्दाको सुरक्षाका लागि थप स्रोत-साधन र सेना खटाइने संकेत देखिएको छ । जसमा कर्फ्यु पनि जारी रहनेछ भने अतिआवश्यक उपभोग्य वस्तुहरु वितरण गर्नेलगायत आपत्‌कालीन कार्यको तयारी पनि गरिनेछ । यो आदेश आगामी जनवरी २१, बाइडेनको ह्वाइट हाउस प्रवेश कार्यक्रमको भोलिपल्ट, दिउँसो ३ बजेसम्म जारी रहनेछ ।

    बुधबार नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनको इलेक्टोर कलेज मतको अन्तिम परिणाम सार्वजनिक गर्न कंग्रेसको बैठक बसिरहेका बेला ट्रम्प समर्थक सुरक्षा बार तोड्दै भवनभित्र पसेका थिए।

    ट्रम्पले नै चुनाव जितेको बताउने उनीहरूले संसद भवनभित्र तोडफोड गरेका थिए। सुरक्षाकर्मीले सभामुख न्यान्सी पेलोसीलगायत सांसदहरूलाई सुरक्षित स्थानमा लगेका थिए।

  • अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको संसारभरबाट आलोचना

    अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको संसारभरबाट आलोचना

    वासिंटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले वासिंटन डीसीस्थित संसद भवनमा गरेको हिंसात्मक प्रदर्शनको विश्वभरबाट व्यापक आलोचना शुरु भएको छ । खासगरी विश्वका नेताहरुले यो कदमले संसारलाई नै लज्जित बनाएको प्रतिक्रिया दिएका छन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न कंग्रेसको बैठक बसिरहेका समयमा ट्रम्पको उत्तेजित भाषणसँगै समर्थक संसद भवनमा पुगेका थिए ।

    बैठक बिथोल्न ट्रम्प समर्थक सुरक्षा बार तोड्दै हलमै छिरेका थिए । हलभित्र तोडफोड समेत गरेका छन् । यस क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जनाको निधन भएको छ । ट्रम्पले निर्वाचन परिणाम नमान्ने बताउँदै आएका छन् । यो घटनाबारे प्रतिक्रिया दिँदै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले छिमेकी मुलुक अमेरिकाको प्रजातन्त्रमाथि हमला भएको बताएका छन् । यसबाट आफ्नो मुलुक निकै दुखी र निराश भएको उनको प्रतिक्रिया छ ।

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी कंग्रेसको यो दृष्य लज्जास्पद भएको उल्लेख गरेका छन् । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अमेरिकी परम्पराअनुसार सत्ता हस्तान्तरण हुनुपर्ने भन्दै यो घटना लज्जास्पद रहेको बताएका छन् । न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले प्रजातन्त्रको जीत हुनेमा कुनै शंका नहरेको उल्लेख गरेकी छिन् । निर्वाचित राष्ट्रपति बाइडेनले तनावको अवस्थाबाट अघि बढेर अमेरिकीलाई एकतावद्ध बनाउने प्रतिक्रिया दिएका छन् ।

  • कतारको नाकाबन्दी हटाएकोमा नेपालको स्वागत

    कतारको नाकाबन्दी हटाएकोमा नेपालको स्वागत

    काठमाडौं । कतारमाथि साउदी अरबले लगाएको नाकाबन्दी हटाएकोमा नेपालले त्यस कदमको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले साउदी अरब र कतारले जमिन, हवाई र सामुन्द्रिक सीमा खोल्ने बारे गरेको निर्णयको स्वागत गरेको हो । यो कदमलाई गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले लिएको महत्वपूर्ण कदम भएको समेत नेपाल सरकारको प्रतिक्रिया छ ।

    यो कदमले काउन्सिलका सदस्य मुलुकहरुको बीचमा रहेका महत्वपूर्ण विषय हल गर्न र सो क्षेत्रमा स्थायित्व र सहकार्यका लागि योगदान गर्ने सरकारको विश्वास रहेको छ ।

    मन्त्रालयले जिसीसीका सबै मुलुकहरुसँग राम्रो दुईपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै नेपालले जहिले पनि गल्फ क्षेत्रमा शान्ति, स्थायित्व र विकासको शुभेच्छा राखेको उल्लेख गरेको छ । साउदीले कतारमाथि तीन वर्षअघि लगाएको नाकाबन्दी खुलाएको छ ।

  • अमेरिकामा राष्ट्रपति ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शन, एक जनाको मृत्यु

    अमेरिकामा राष्ट्रपति ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शन, एक जनाको मृत्यु

    वासिंटन डिसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित प्रदर्शनकारीको हिंसात्मक प्रदर्शनका दौरान एक जनाको मृत्यु भएको छ । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने प्रयासमा ट्रम्प छन् । यसका लागि उनले सडकमा उग्र प्रदर्शन गर्न आफ्ना समर्थकलाई उक्साएको अमेरिकी संचारमाध्यमले लेखेका छन् । सोही क्रममा भएको हिंसामा गोली लागेर एक महिलाको मृत्यु भएको । अहिले राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लागेको छ । केही समयको प्रदर्शनपछि स्थिति नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।


    वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेका बेला यो घटना भएको हो । यो बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने अभियान रहेको थियो । त्यस क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनकारी क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरी अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग गरेका थिए । प्रदर्शनकारीलाई रोक्ने प्रयासमा नेशनल गार्डस्को कारवाहीमा एक महिलालाई गोली लागेको छ । मृत्यु हुनेको पहिचान खुलाइएको छैन ।

    संसारलाई लोकतन्त्रको पाठ सिकाउने अमेरिकामा ट्रम्पले लिएको यो बाटोको भने संसारभरबाट आलोचना भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै ट्रम्पले विनाप्रमाण आफ्ना समर्थकलाई उक्साएको आरोप उनीमाथि लागेको छ । उता राष्ट्रपतिमा निर्वाचिन जोय बाइडनले भने ट्रम्पलाई हिंसा रोक्न र संविधानको रक्षाका लागि आह्वान गरेका छन् ।

  • कोरोना महामारीका बीच भारतमा बर्डफ्लु आतंक, नेपालमा बढाइयो सतर्कता

    कोरोना महामारीका बीच भारतमा बर्डफ्लु आतंक, नेपालमा बढाइयो सतर्कता

    काठमाडौं । कोरोना महामारीका बीच भारतमा बर्डफ्लुको संक्रमण फैलिएको छ । अहिलेसम्म भारतका चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएको भारतीय संचारमाध्यमले लेखेका छन् । भारतमा यो रोगको संक्रमण देखिएपछि सचेतना भने नेपालमा समेत शुरु भएको छ ।

    नेपाल सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न मातहतका क्वरेन्टाइन कार्यालयलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्देशन दिएको छ ।

    पशुपन्छीको आयातमा स्यानिटरी सर्टिफिकेट अनिवार्य गर्न र पशुपन्छीको खुल्ला व्यापारमा कडाई गर्न समेत निर्देशन दिइएको छ । दक्षिणतर्फका सबै नाकामा उच्च सर्तकता अपनाउन, आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधन र जनशक्ति माग गर्न समेत मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

    काँकडभिट्टा, वीरगन्ज, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली तथा गड्डाचौकी नाकामा विशेष ध्यान दिन आग्रह गरिएको छ । देशमा ठूलो परिमाणमा कुखुरा मरेमा वा शंकास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ । नेपालमा भने अहिलेसम्म बर्ड फ्लू संक्रमणको पुष्टी भने भइसकेको छैन । भारतको मध्य प्रदेश, केरला, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्ड फ्लू पुष्टि भएको छ ।

  • सन् २०२० मा २ लाख ३० हजार मात्र पर्यटक आए, अमेरिकी पर्यटक पाँचौ स्थानमा

    सन् २०२० मा २ लाख ३० हजार मात्र पर्यटक आए, अमेरिकी पर्यटक पाँचौ स्थानमा

    काठमाडौं । सन् २०२० मा नेपालमा पर्यटक आगमनमा ठूलो कमी आएको छ । यस वर्ष सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थिया । तर, आगमन भने मात्र २ लाख ३० हजार ८५ जना रहेको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस वर्ष त्रिभुवन विमानस्थलबाट १ लाख ८३ हजार १३० र स्थलमार्गबाट ४६ हजार ९५५ पर्यटक नेपाल आएका छन् ।

    कोरोना भाइरसको महामारी र त्यसको रोकथामका लागि विश्वव्यापी रुपमा अपनाइएका प्रतिबन्धले गर्दा पर्यटन क्षेत्र बढी प्रभावित बनेको हो । सन् २०१९ मा इतिहासकै सबैभन्दा बढी ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक नेपाल भित्रिएका थिए । नेपालमा ११ चैतबाट लकडाउन शुरु भयो । त्यसपछि पर्यटक आगमन रोकिएको हो ।

    तथ्यांकअनुसार सन् २०२० मा भारतबाट सर्वाधिक ४० हजार ३ सय ३६ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा रहेको म्यानमारबाट २० हजार ९ सय ११ जना पर्यटक आएका छन् । तेस्रो स्थानमा रहेको थाइल्याण्डबाट २० हजार ७ सय ७८ जना पर्यटक आएको पाइएको छ । यो वर्ष चौथो स्थानमा चीन छ । चीनबाट १९ हजार २ सय ५७ जना पर्यटक नेपाल आएका छन् । पाँचौ स्थानमा रहेको अमेरिकाबाट १७ हजार ७ सय ६७ जना पर्यटक आएका छन् ।

  • नेपालमा थप ४०९ जनामा कोरोना संक्रमण, ४९५ जना डिस्चार्ज

    नेपालमा थप ४०९ जनामा कोरोना संक्रमण, ४९५ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ९५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै अहिलेसम्म २ लाख ५६हजार १ सय ६१ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ जना रहेको छ ।

  • लयमा फर्कियो नेपाली सेयर बजार,नेप्से १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा

    लयमा फर्कियो नेपाली सेयर बजार,नेप्से १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा

    काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । पछिल्ला दुई दिन लगातार ओरालो लागेको बजार आज दोहोरो अंकले बढेर लयमा फर्किएको हो ।

    सूचकमा सूधार आए पनि कारोबार रहम भने बढ्न सकेन् । मंगलबारको तुलनामा आज कारोबार रकम १४ करोड बढीले गिरावट आएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०५ कम्पनीको ४ अर्ब ४२ करोड ५४ लाख ७४ हजार ३३९ रुपैयाँ बराबरको १ करोड ५ लाख ३५ हजार २१६ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार र हाइड्रोपावर बाहेक अन्य सबै समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १२२.६६ अंकले बढेको छ भने व्यापार समूह २०.९९ अंकले घटेको छ ।

    कारोबारमा आएका २०५ कम्पनीमध्ये १३० कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै २१ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।कारोबार रकमकै आधार शिखर इन्स्योरेन्स २० करोड र नेपाल पुनर्बीमा कम्पनी १७ करोडसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    बढ्दो बजारमा पनि ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कालिका माइक्रोफाइनान्स, जनउत्थान लघुवित्त, स्वाभिमान लघुवित्त, नारायणी विकास बैंक र प्रभु लाइफ इन्स्योरेन्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    दोहोरो अंकले बढेको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमाटर सेयरधनीले सबैभन्दा धेरै ८.५५ प्रतिशत गुमाएका छन् ।

  • सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले दिए राजीनामा

    सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले दिए राजीनामा

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन रहेको घोषणा गर्दै राजीनामा दिएका हुन् ।

    पूर्वमाअ‍ोवादी नेतासमेत रहेका बोहरा उद्योगमन्त्री लेखराज भट्ट निकट मानिन्छन् । उनले अछामबाट चुनाव लडेका हुन् । पूर्वमाओवादीको कोटाबाट मन्त्री बनेको भट्टसमेत ओली नेतृत्वको नेकपामा आएका थिए ।

    उनले राजीनमापत्रमा प्रदेशभित्रको आर्थिक क्रियाकलापलाई प्रोत्साहन गर्न लगानीमैत्री कानून र संरचना तयार भएको बताएका छन् । मन्त्रध बोहराले देशको कूल गार्हस्थ उत्पादनमा आफ्नो प्रदेशको हैसियतलाई बढाउँदै लगिएको बताएका छन् ।

    उनले सात वटा प्रदेश सरकारहरु मध्ये वित्तिय अनुसाशसनको परिपालना गर्दै धेरै पूँजीगत खर्च गर्ने अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारलाई स्थापित गर्न अग्रणी भूमिका निर्वाह भएको उल्लेख गरेका छन् ।

  • संसद विघटनविरुद्ध परेको मुद्धाको अर्को सुनुवाई २९ गते हुने

    संसद विघटनविरुद्ध परेको मुद्धाको अर्को सुनुवाई २९ गते हुने

    काठमाडौं । संसद विघटनविरुद्ध परेको मुद्धाहरुको अर्को सुनुवाई २९ गते हुने भएको छ । संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्धाहरुको अर्को सुनुवाई आउने २९ गते बुधबार हुने निर्णय गरेको हो ।

    आजको सुनुवाइका क्रममा बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संवैधानिक इजलासले भन्दा पनि वृहत पूर्ण इजलासले यो विषयमा राम्ररी निर्णय गर्न सक्ने भन्दै वृहत पूर्ण इजलासमा पठाउनु पर्ने माग गरेका थिए ।

    आउने बुधबार संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ हुनेछ । सोही दिनको इजलासले नै वृहत पूर्ण इजलासमा मुद्दा पठाउने कि आफैं सुनुवाइ गर्ने भन्नेबारे निर्णय गर्ने छ ।

  • संसद विघटनसम्बन्धी मुद्दा हेर्ने इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा

    संसद विघटनसम्बन्धी मुद्दा हेर्ने इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा

    काठमाडौं । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलास मा नबस्ने भएका छन्। बहस गरिरहेका अधिवक्ताले कार्कीमाथि प्रश्न उठाए पछि कार्की बेञ्चमा नबस्ने भएका हुन्। कार्की ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा महान्यायाधिवक्ता थिए ।

    बुधबार अधिवक्ताहरुले न्यायाधीश कार्की इजलासमा बस्न नहुने तर्क पेश गरेका थिए । त्यसपछि कार्की इजलासमा नबस्ने निर्णयमा पुगेका हुन् ।

    वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतलाई अदालत जस्तै बनाउनुपर्ने भन्दै कार्की इजलासमा बस्न उचित नहुने भन्दै आपत्ति जनाएका थिए । त्यस्तै अर्का अधिवक्ता दिनेश त्रिपाठीले पनि हरिकृष्ण कार्कीमाथि गम्भीर प्रश्न उठेकाले बेञ्चमा नबस्न सुझाव दिएका थिए ।

  • खुल्न थाल्यो काठमाडौंको आकाश, प्रदुषण भने कायमै

    खुल्न थाल्यो काठमाडौंको आकाश, प्रदुषण भने कायमै

    काठमाडौं । आइतबारदेखि ढाकिएको काठमाडौंको आकास आजबाट खुल्न थालेको छ । आज बिहान काठमाडौंमा घाम लागेका छ । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । काठमाडौंको आकाश अहिले पनि धुम्म छ । तर, दिउँसोपछि भने अधिकांश भूभागमा घाम लाग्नेछ ।

    आज बेलुकाबाट भने काठमाडौंको आकाश पुरै खुल्नेछ । यद्दपी काठमाडौंको प्रदुषण भने कायमै रहेका कारण सतकर्ता अपनाउनु पर्ने सुझाव विज्ञहरुको छ । वायु प्रदुषणको असर खतरनाक हुने भन्दै सचेत हुन वातावरण मन्त्रालयले समेत आह्वान गरिसकेको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

    देशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपात समेत हुनेछ । हिउँदमा हावा नचल्ने समस्याका कारण काठमाडौं उपत्यकासहित शहरी इलाकाको आकासमा बढी प्रदुषण थुप्रिएको छ ।

    विराटनगर, नेपालगञ्ज, पोखरा, जनकपुर, महेन्द्रनगर, हेटौंडा, दाङ लगायतका क्षेत्रमा प्रदुषण अत्यधिक रहेको छ । विशेषगरी बालबाालिका, वृद्धवृद्धा एवं दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्कन वातावरण विभागले आह्वान गरेको छ । घरबाहिर निस्कनै पर्दा गुणस्तरीय मास्क लगाउँदा उपयुक्त हुन्छ ।

  • कांग्रेसमा अन्य पार्टीबाट प्रवेश गरेका नेताले प्रमुख पद नपाउने

    कांग्रेसमा अन्य पार्टीबाट प्रवेश गरेका नेताले प्रमुख पद नपाउने

    काठमाडौं । नेपाली कांग्रेसले अन्य पार्टी छाडेर आफ्नो पार्टीमा आएपनि नेताले सांगठनिक मूख्य पद नपाउने नियम बनाएको छ । १९ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले समायोजन सम्बन्धी प्रावधानमा सहमति जुटाएको हो । जसमा अन्य दलबाट आएर संगठनमा सिधै प्रमुख पद प्राप्त गर्न नसक्ने उल्लेख छ । अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिले पार्टीको सांगठनिक संरचनामा समायोजन हुँदा प्रमुख पदबाहेक अन्य पद भने पाउने छन् ।

    अन्य पार्टी छाडेर आएकालाई कांग्रेसभित्र समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाइएको थियो । समितिकै सिफारिसका आधारमा केन्द्रीय समिति बैठकले समायोजनको मापदण्ड समेत बनाएको छ । नेताहरुका अनुसार कांग्रेसले अन्य पार्टीमा सक्रिय नभएकालाई भने क्रियाशील सदस्यता दिन सकिने उल्लेख गरेको छ ।

    कांग्रेसमा प्रवेश गरेका र सम्बन्धित जिल्लामा केन्द्रबाट पठाइएका र पठाउने प्रक्रियामा रहेका नामावली टुंगो लगाई सम्बन्धित व्यक्तिले वडामा क्रियाशील सदस्यता फारम भरी तहगत सिफारिस सहित समायोजनको कार्य सम्पन्न गर्ने निर्णय समेत उक्त बैठकले गरेको हो ।

  • संसद विघटनको मुद्दामा आजबाट अन्तिम सुनुवाई सुरु

    संसद विघटनको मुद्दामा आजबाट अन्तिम सुनुवाई सुरु

    काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा गठित संवैधानिक इजलासमा आजबाट अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ । जनइच्छा विपरित र संविधानमा उल्लेख नै नभएको व्यवस्थालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट लालमोहर लागेपछि यो विषय अदालत पुगेको हो । आम मानिसले संविधान विपरित रहेको मानेको यो कदम अदालतबाट उल्टने अपेक्षा समेत गरेका छन् ।

    सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको हो । यद्दपी संवैधानिक इजलास भने हरेक बुधबार र शुक्रबार मात्रै बस्छ । सोहीकारण बहस लम्बिदा आदेश आउन भने ढिला हुने निश्चित छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेकी छिन् ।

    दुई तिहाइ बहुमत नजिक रहेको प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्न नसक्ने दावि सहित सर्वोच्चमा एक दर्जनभन्दा बढी रिट परेका छन् ।
    अन्तिम सुनुवाई प्रारम्भ गर्नुअघि सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतसँग लिखित जवाफ माग गरेको छ ।

  • सिन्धुपाल्चोकका दुई वस्ती स्थानान्तरण गर्न सिफारिस

    सिन्धुपाल्चोकका दुई वस्ती स्थानान्तरण गर्न सिफारिस

    सिन्धुपाल्चोक । विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएका सिन्धुपाल्चोकका दुई वस्ती स्थानान्तरण गर्न विज्ञले सिफारिस गरेका छन् । जिल्लाको जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको हो । गत असार र साउनमा गएको भीषण पहिराले लिदीमा ३९ जनाको मृत्यु भएको थियो ।

    सरकारले सो क्षेत्रलाई आधार बनाएर त्यस आसपासका जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन गर्न विज्ञको टोली खटाएको थियो । एक महिना अघिबाट फिल्डमा खटिएको टोलीले उक्त सिफारिस गरेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगलका चार जोखिम बस्तीको स्थलगत अध्ययन समेत गरेको थियो ।

    टोलीमा प्राधिकरणका तर्फबाट सहभागी जिल्ला आयोजना कार्यान्वयन एकाइ(भवन)का प्रमुख सन्तोष निरौलाले अध्ययन गरिएका बस्तीमध्ये दुई बस्ती उच्च जोखिममा रहेको निष्कर्ष निकालिएको बताए ।

    टोलीले जुगलका लिदी, बोल्दे, ठूलो नाम्फा, सानो नाम्फा र सञ्चगाउँको अध्ययन गरेको थियो । सरकारले सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । गत असारयता जिल्लाका विपद्का घटनामा ७३ ले ज्यान गुमाएका थिए । ३९ जना अझै बेपत्ता रहेका छन् ।

  • एनएसजेफ स्पोर्ट्स अवार्डका लागि खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक, को को परे ?

    एनएसजेफ स्पोर्ट्स अवार्डका लागि खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक, को को परे ?

    काठमाडौं । नेपाल खेलकुद पत्रकारले हरेक वर्ष प्रदान गर्ने विभिन्न खेल विधाको अवार्डका लागि मनोनयन सार्वजनिक गरिएको छ । १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन मंगलबार सार्वजनिक भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अनुसार चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक भएको छ ।

    साविकमा जस्तै मञ्चले वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको छ । वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ मनोनयनमा पर्न सफल भएका छन् ।

    वर्ष महिला खेलाडीमा करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेको मञ्चले जनाएको छ । वर्ष युवा खेलाडीमा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सीना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयनमा परेका छन् ।

    वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेको जनाइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित ११ सदस्यीय छनोट समितिले खेलाडी तथा प्रशिक्षकको छनोट गरेको जनाएको छ ।

    २०७६ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित गरिएको हो । मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन भने यसअघि नै सार्वजनिक गरेको थियो । यस विधामा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् ।

    उनीहरुबाट इ–सेवामार्फत भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुने भएको छ। कार्यक्रममा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिँदै आएको छ ।

    कार्यक्रम २८ पुसमा हुनेछ । वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्छन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने भएका छन् ।