Category: फिचर

  • दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

    दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

    तुलसीपुर (दाङ), १८ जेठः दाङ तुलसीपुर उपमहानगरपालिकाले दोस्रो पञ्चवर्षे आवधिक विकास योजना निर्माण थालेको छ । आइतबार उपमहानगरपालिकाले दोस्रो आवधिक योजनाबारे छलफल गरेको छ । उपमहानगरपालिकाका पाँच शाखा तथा सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गरेको छ । यसअघि पहिलो पञ्चवर्षीय योजना आर्थिक वर्ष २०८२\८३ मा सकिएकाले दोस्रो पञ्चवर्षीय योजना बनाउन लागिएको हो । त्यस क्रममा विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले एक वडा, एक पार्क, मुहान सुकाउने बिरुवा विस्थापन, स्थानीय उद्योगीलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।

    त्यसैगरी, आर्थिक विकास शाखाअन्तर्गत घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले स्थानीय उद्योगलाई प्रवर्द्धन गर्नुपर्ने, कालोबजारी ऐन संशोधन गर्नुपर्नेजस्ता सुझाव दिए । कृषि तथा पशुपन्छी समितिको तर्फबाट पशु शाखा प्रमुख डा मनोज वलीले कौशीखेती कार्यक्रम, कृषक सञ्जाल कार्यक्रम, इन्डोर एग्रिकल्चरजस्ता कुराहरू थप गरिएको भन्दै यसले कृषि क्षेत्रलाई प्रभावकारी बनाउने बताए ।


    शिक्षा शाखा प्रमुख चक्र भण्डारीले राष्ट्रिय खेलाडीलाई प्रोत्साहन, उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न कोष निर्माण गर्ने कुरा सकारात्मक रहेको बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख माया श्रेष्ठले वडावडामा महिला सेल बनाउने, महिला उद्यमीको तथ्याङ्क सङ्कलन गर्नेजस्ता कार्यक्रम हुनुपर्ने बताए ।
    त्यस्तै, सुशासन समितिको तर्फबाट अधिकृत शिवकुमार शर्माले ‘हेलो जनता’ कार्यक्रम, ‘जनताको कर, जनतालाई खबर’ कार्यक्रम पनि प्रभावकारी हुने बताए ।

    पूर्वाधार विकास समितिको तर्फबाट इन्जिनियर श्रीनारायण चौधरीले टुक्रे योजनाभन्दा पनि ठूला योजनालाई प्रथमिकता दिनुपर्ने बताए । साना योजना हुँदा बजेट खर्च हुने तर, उपलब्धि नदेखिने उनले बताए । त्यस अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा नहकुल केसीले योजना बनाएरमात्रै नहुने बताए । उनले कार्यान्वयन नै महत्त्वपूर्ण पाटो रहेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताए ।


    तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सङ्घीय सरकारसँग टरिगाउँ एयरपोर्टलाई विस्तार गर्न पहल गर्ने, तुलसीपुरमा चक्रपथ निर्माण गरी नगरबस सञ्चालन गर्ने, दङ्गीशरण राजा बसेको स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, चमेरे गुफालाई पर्यटनको केन्द्र बनाउने, मानव इतिहास बोकेको फूलबारीलाई पर्यटनका रूपमा विकास गर्ने, जलाशय निर्माण गरी सिँचाइ व्यवस्थापन गर्ने, नगरस्तरीय मेघा अस्पताललाई व्यवस्थित बनाउने योजना रहेको बताए । हाल उक्त मस्यौदामाथि छलफल भएर सुझाव सङ्कलन गरिएको भन्दै त्यसलाई केही समयपछि अन्तिम रुप दिने तयारी रहेको समेत नगरप्रमुख खड्काले बताए ।

  • नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

    नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

    राँझा (बाँके), १८ जेठः जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनका अनुसार शनिबारमात्रै कोहलपुर नगरपालिका–७ लखनहवा र बैजनाथ गाउँपालिका–२ जब्दहवा क्षेत्रमा अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानीमा संलग्न तीन सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले एक थान जेसिबी, एक थान टिपर र एक थान ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए । नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन र ढुवानी भइरहेको जनगुनासोका आधारमा जिल्ला प्रहरी कार्यालयले प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानीलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ।

  • पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

    पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

    म्याग्दी, १८ जेठः बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल, पहाडी भूगोलको अवलोकनका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

    स्थानीय पूर्वाधार आयोजना पोखरामार्फत पात्लेखेत–वाखेत–टोड्के सडकअन्तर्गत गहतेचोकदेखि वाखेत हुँदै राम्जाली मन्दिर खण्डमा ढलान गरेर सडकलाई पक्की बनाएको बेनी नगरपालिका–१० का वडाध्यक्ष मसवीर रोकाले जानकारी दिए । “सडक ढलान गरेर पक्की बनाएपछि यसअघि २० मिनेट लाग्ने गहतेचोक–राम्जाली मन्दिर खण्डको यात्रा पाँच मिनेटमा छोटिनुका साथै स्थानीयवासी र टोड्के आवातजावत गर्ने पर्यटकलाई सहज भएको छ”, उनले भने, “राम्जाली मन्दिरदेखि बराहथान हँुदै टोड्के जोड्ने सडक स्तरोन्नति योजनालाई निरन्तता दिन नगरपालिका, प्रदेश र सङ्घीय सरकारसँग पहल गरेका छौँ ।”

    वाखेत–टोड्के सडक स्तरोन्नति योजना निर्माणका लागि गत माघ १० गते दुप्चेश्वर शुभम् बिल्डर्सले रु दुई करोड ३६ लाख २३ हजार १५२ मा ठेक्का सम्झौता गरेको थियो । एक किलोमिटर ७०० मिटर सडक स्तरोन्नति गर्ने आगामी असार ३० गतेसम्म ठेक्काको म्याद रहेको योजना निर्माण कम्पनीले लक्ष्यभन्दा दुई महिनाअघिनै सम्पन्न गरेको हो ।

    निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्रीको व्यवस्थापन गरेर इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुुद लक्ष्यअघिनै काम सम्पन्न गरेको बताउनुभयो । निर्माण सकिए पनि प्राविधिक नापजाँच र भुक्तानीको काम बाँकी रहेको उनले बताए । तीन दशमलव पाँचदेखि चार मिटर फराकिलो सडकमा ढलान गरेर पक्की बनाइएको छ । बेनी नगरपालिका–१० का वडासदस्य बेगम पाइजाले २०६६ सालमा मार्ग खुलेको सडक १६ वर्षपछि पक्की भएको बताए ।


    पक्की सडक बनेपछि स्थानीयवासी उत्साही भएका छन् । आवतजावत सहज भएको वाखेतका बासिन्दा अर्जुुन पुुनले बताए । “साँघुुरो र कच्ची सडकमा यात्रा गर्न असहज भएको थियो”, उनले भने, “सडक ढलान भएपछि यात्राअवधि छोटिनुका साथै सहज भएको छ ।” बेनी नगरपालिका–१० वाखेत, रघुगङ्गा गाउँपालिका–५ झिँ, बेनी नगरपालिका–५ डडुवा, मङ्गला गाउँपालिका–१ पूर्णगाउँ र कुहुँ–भिरकटेरा हुँदै टोड्के जोड्ने सडक छन् ।

    गुर्जा, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो । हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमीका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ ।

    डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्धारी, शिष्यहरू पुजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि छ ।

  • बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो होः अर्थमन्त्री वाग्ले

    बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो होः अर्थमन्त्री वाग्ले

    काठमाडौँ, १७ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट महत्वाकांक्षी नभएको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटको आकार सानो नभएको बताए । “विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन, बान्छित सीमाभित्रै बजेट आएको छ”, उनले भने । उनका अनुसार आगामी आवको बजेट प्रत्क्षेपित जिडिपीको सापेक्षतामा २८ दशमलव पाँच प्रतिशत मात्रै हो ।

    अर्थमन्त्री डा वाग्लेले आफू सन् २०१४ देखि नेपालको बजेट निर्माणमा संलग्न भएको उल्लेख गर्दै सन् २०१५ को भूकम्पपछि बजेटको आकार बढ्न थालेको बताए । “भूकम्प अगाडि हाम्रो बजेटको आकार जिडिपीको तुलनामा औसतमा २५ देखि २९ प्रतिशत र वास्तविक खर्च २२ देखि २५ प्रतिशत हुन्थ्यो”, उनले भने, “भूकम्पपछि भने बजेटको आकार बढ्यो, कुनै वर्ष जिडिपीको तुलनामा बजेटको आकार ३७ प्रतिशतसम्म पुगेको थियो ।” सरकारले आगामी आवका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

  • आज संसद्मा के के भयो ?

    आज संसद्मा के के भयो ?

    काठमाडौँ, १७ जेठः प्रतिनिधिसभाको बैठक विपक्षी सांसदको अवरोधपछि स्थगन गर्नु परेको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्नु परेको थियो । सभामुखले प्राप्त संशोधन प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रम अघि बढाएसँगै विपक्षी वेञ्चका सांसदहरुले उठेर विरोध गरेका थिए ।


    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद वासना थापाले सभामुखसँग समय मागेर नियमावलीको मस्यौदामाथिको छलफलमा सहभागी सांसदहरुले मस्यौदालाई समितिमा टुङ्ग्याएर पूर्ण छलफलका लागि सदनमा ल्याउन माग गरेको सन्दर्भ उल्लेख गर्दै सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत नगर्न आग्रह गरे ।


    सभामुखले कार्यसूचीअनुसार प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न थालेपछि विपक्षी कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले ‘वेल’ घेराउ गरे । सभामुखले सभाको मर्यादा पालना गर्न पटक पटक विपक्षी सांसदलाई आग्रह गरे ।

    विपक्षी सांसदसँग भिड्न सत्ता पक्षका सांसद पनि आसनबाट उठेर ‘वेल’मा पुगेका थिए । सो क्रममा सांसदहरुबीच घम्साघम्सी भएको थियो । विपक्षीको अवरोध जारी रहेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगन गरे । त्यसअघि बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘समितिको प्रतिवेदन, २०८३ माथि दफावार छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।

    बैठकमा सभामुख अर्यालले सो नियमावलीको मस्यौदामाथि ३५ वटा संशोधनको सूचना प्राप्त भएको जानकारी गराए । सांसदहरु नरेन्द्रकुमार केरुङ, भरतबहादुर खड्का, राधिका रम्तेल, आरेन राई, महेन्द्रबहादुर शाही, शम्भुप्रसाद ढकाल, प्रमिलाकुमारी गच्छदार, गीता गुरुङ, रिना उप्रेती, सुशीला ढकाल आचार्य, सरस्वती लामा, मातृका यादव, भरत गिरी, पार्वती विक, गोपाल शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, गङ्गादेवी श्रेष्ठ, साजिदा खातुन सिद्धिकी, यशोदाकुमारी बराल, भूमिका लिम्बू सुब्बा, नीता घतानी, गङ्गालक्ष्मी अवाल, कृपाराम राना, लक्ष्मीप्रसाद पोखरेल, गुरुप्रसाद बराल, क्षितिज थेबे, कुलभक्त शाक्य र सागर ढकालले उक्त नियमावलीमाथि आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिए ।


    यस्तै सांसद प्रकाशचन्द्र परियार, समीक्षा बाँस्कोटा, राम लामा, विपिनकुमार आचार्य, ऐनबहादुर महर, बलावती शर्मा, पद्माकुमारी अर्याल, वासना थापा, निश्कल राई, भीमकुमारी बुढा, प्रेमबहादुर बयक, खुश्बु ओली, रमेशकुमार मल्ल, पुष्पराज कँडेल र गणेश कार्कीले छलफलमा सहभागिता जनाए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै नियमावली मस्यौदा समितिका सभापति पराजुलीले संविधान, कानुन र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्सात गर्दै विगतका अनुभव, अभ्यास र परम्पारलाई परिमार्जन गरेर मस्यौदा तयार गरिएको स्पष्ट पारे ।


    प्रतिनिधिसभाको गत चैत २३ गतेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता पराजुलीको संयोजकत्वमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसद सम्मिलित १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो । समितिमा ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला शमीम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधुकुमार चौलागाईँ, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल थिए । समितिले गत वैशाख ८ गते नियमावलीको मस्यौदा तयार गरेको थियो । मस्यौदा समितिका सभापति पराजुलीले गत वैशाख २८ गते नियमावलीको मस्यौदा प्रतिनिधिसभा बैठकमा पेस गरेका थिए ।

  • संसदमा निरन्तर विपक्षीलाई पेल्दै सभामुख, विरोधका बीच पास गरियो प्रतिनिधिसभा नियमावली

    संसदमा निरन्तर विपक्षीलाई पेल्दै सभामुख, विरोधका बीच पास गरियो प्रतिनिधिसभा नियमावली

    काठमाडौँ, १७ जेठः प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट उक्त नियमावली पारित भएको हो । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म उक्त नियमावलीको अङ्ग बनेको घोषणा गरे ।

    बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो । आज दिनभरजसो संसदमा विपक्षीले विरोध कायम राखे । उनीहरुले नियमावलीमा राखेको सांसदलाई विशेधिकार दिने विषयको विरोध गरेका थिए । तर, रास्वपाले पेलेरै यो नियम नियमावलीमा घुसाएको छ ।

  • कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ, १७ जेठः प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद पद्मा अर्यालले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर व्यापार गर्न सडक निर्माणलगायत संरचना बनाएको सन्दर्भमा प्रतिनिधिसभाको आजको बैठकमा गर्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले उक्त जवाफ दिएका हुन् ।

    प्रधानमन्त्रीले नेपाल र भारतबीचको सीमा विवादमा इतिहासविद्सहितको संलग्नतामा समाधानको प्रयत्न भएको सदनलाई जानकारी दिँदै सम्बन्धितसँग बसेर वार्ताबाट निकास खोजिने जानकारी दिए । यस विषयमा बेलायत सरकासँग पनि छलफल गर्नुपर्ने प्रधानमन्त्री शाहले बताए ।


    “नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा कालापानी क्षेत्रको भूभागका सम्बन्धमा नेपाल सरकारले औपचारिक रुपमा कूटनीतिक ‘नोट’ भारत सरकारलाई पठाइसकेको छ । त्यसको जवाफ पनि आएको छ । त्यो जवाफमा दुवै सरकारले आफ्ना इतिहासविद्, ‘सर्भेयर’ र आफ्नो भूमिसम्बन्धी जानकारी भएका व्यक्ति राखेर संवादमार्फत यस कुरालाई समाधान गर्ने कुरा भएको छ,” प्रधानमन्त्री शाहले भने, “यस सम्बन्धमा भारत र चीनलाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौँ । ब्रिटिस इन्डियाले भारत छाडेको समयका समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा यसमा इङ्ल्याण्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यी सबै कुरा टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउँछु ।”

    सांसदले राखेको धेरैजसो कुरालाई सल्लाह र सुझावका रुपमा लिने बताउँदै प्रधानमन्त्री शाहले नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन मात्र नभएर विभिन्न कालखण्डमा भएका आन्दोलनका प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

    “विभिन्न कालखण्डमा भएका आन्दोलनको सम्बन्धमा धेरै प्रतिवेदन छन् । एउटा मात्रै प्रतिवेदन छैन । विभिन्न कालखण्डमा विभिन्न आयोग गठन भएका छन् । आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरु छन् ती सबै प्रतिवेदनलाई एकमुष्ट नेपाल सरकारले अध्ययन गर्छ, त्यही अनुसार कामकारबाही गर्छ ।’’

  • सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

    सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

    अमरगढी (डडेल्धुरा), १७ जेठः डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् ।

    प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका दुवै जना मामाभान्जा नाता पर्ने बताइएको छ । महाकाली नदी किनारमा उनीहरुले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी सुरु भएको उनले जानकारी दिए ।

  • म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

    म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

    म्याग्दी, १७ जेठः म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटलहरु भरिभराउ भएका छन् । म्याग्दीको बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगर, भुरुङ्ग–तातोपानी र मुस्ताङका सबै पर्यटकीयस्थलमा रहेका होटल पाहुनाले भरिभराउ भएका हुन् । म्याग्दीको गलेश्वर, भुरुङ्ग–तातोपानी, रुप्से, महभिर झरना र अन्धगल्छीमा पर्यटकको घुइँचो लागेको छ ।

    गर्मी छल्न र मुक्तिनाथ तीर्थयात्राका लागि आएका भारतीय तथा लगातार चार दिनको सार्वजनिक बिदाका कारण आन्तरिक पर्यटकको आगमन बढेपछि होटल भरिभराउ भएका अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीका होटल व्यवसायी राजु हमालले बताए ।


    “भारतबाट गर्मी छल्न आएका र बिदा मनाउन देशका विभिन्न ठाउँबाट आएका पाहुनाले होटल भरिएका छन्”, उनले भने, “मुस्ताङका होटलमा अटाउन नसकेका पाहुनाहरू म्याग्दी, बागलुङ, कुश्मा र पोखरासम्म व्यवस्थापन गरिएको छ ।” भुरुङ्ग–तातोपानी कुण्डका सञ्चालक हेमनारायण पुनले मुस्ताङ जाने आउने पर्यटकहरुको चापले भ्याइनभ्याई भएको बताए ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बेनी–जोमसोम सडक भएर पछिल्लो चार दिनमा ३० हजार जनाभन्दा बढी पर्यटक भित्रिएका छन् । घाँसा प्रहरी चौकीको अभिलेखअनुसार बुधबार पाँच हजार ५८६, बिहीबार सात हजार ८२७ र शुक्रबार नौ हजार ८६ जना पर्यटक मुस्ताङ भित्रिएका थिए ।

    शुक्रबारकै हाराहारीमा शनिबार पनि पर्यटक भित्रिएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए । प्रहरी चौकी घाँसामा सवारीसाधन र पर्यटकको अभिलेख प्रविष्ट गर्ने गरिएको छ । मुस्ताङका होटलमा एक दिनमा १० हजार पाहुना राख्न सक्ने क्षमता रहेको छ । म्याग्दीका होटलमा दैनिक दुई हजार जना बास बस्न सक्ने क्षमता छ ।

    मुस्ताङ भित्रिने अधिकांश स्वदेशी पर्यटक घाँसादेखि चीनको सीमा क्षेत्र कोरलासम्म पुग्ने गरेका छन् । माथिल्लो क्षेत्रमा जाने पर्यटकलाई लेक लाग्ने समस्या हुनसक्ने भएकाले सचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको छ । आन्तरिक पर्यटकको बसाइ सामान्यतया दुईदेखि चार दिनसम्म हुने गरेको छ ।

    भारतको बिहारबाट आएका शम्भु साहले गर्मी छल्न र तीर्थयात्राका लागि परिवार तथा छिमेकीहरू मिलेर बस रिजर्भ गरेर मुस्ताङ घुम्न आएको बताए । चार दिनको सार्वजनिक बिदाको सदुपयोग गर्न परिवार र साथीभाइ मिलेर मुस्ताङ तथा ढोरपाटन घुमेर फर्किएको काठमाडौँका हरि न्यौपानेले बताए ।


    बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा बाढीपहिरो र स्तरोन्नतिका लागि सवारीसाधन बन्द हुँदा यात्राका क्रममा दुःख भएको पर्यटकहरूले गुनासो गरेका छन् । मुक्तिनाथ, कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल, उजाड पहाड, तालतलैया हेर्न, हिमाली जनजीवन र संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरलानाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको हो ।

  • गलैँचा बुन्न व्यस्त महिलाहरू

    गलैँचा बुन्न व्यस्त महिलाहरू

    तुलसीपुर (दाङ), १७ जेठः तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो । तर, हिजोआज गलैँचा बुन्न व्यस्त छिन् । उनी गलैँचा बुनेर घरखर्च चलाउने योजनामा छिन् । “पहिले भाँडा माझ्ने, वस्तुभाउलाई घाँस दिनेमात्रै काम हुन्थ्यो, तर अहिले गलैँचा बुन्न थालेकी छु, अब घरखर्च चलाउन सजिलो हुनेछ”, चौधरीले भनिन् ।

    त्यसैगरी, सोही ठाउँकी मनकला बुढामगर पनि गलैँचा बुन्नका लागि तान मिलाउँदै थिइन् । विगतमा गलैँचा हातले बुन्छन् भन्नेसमेत थाहा थिएन । तर, अहिले आफैँले हातले गलैँचा बुन्न थालेकी छिन् । “पहिला हातले गलैँचा बुन्छन् भन्ने पनि थाहा थिएन”, बुढामगरले भनिन्, “तर अहिले आफैँले बुन्न थालेका छौँ ।” छोराछोरीलाई विद्यालय पठाउने र त्यसपछि त्यत्तिकै घरमै टिकटक चलाएर बस्नुपर्ने अवस्था थियो । अहिले गलैँचा बुन्न व्यस्त हुन थालेकी छिन् ।

    घरेलु तथा साना उद्योग कार्यालय दाङले ६५ दिने तालिम प्रदान गरेपछि उनीहरू अहिले यसरी गलैँचा बुन्न व्यस्त भएका हुन् । महिलाहरूलाई आम्दानीमा जोड्नका लागि यसरी तालिम प्रदान गरेपछि उनीहरू यसरी आफैँ गलैँचा बुन्न थालेका हुन् । आफूहरूले बुनेका गलैँचाको बजारीकरण कसरी गर्ने भन्ने चिन्ता पनि छैन ।

    “गलैँचा बुनेपछि सबै काठमाडौँका उद्योगमा लगेर बिक्री गरिदिनुहुन्छ रे”, सोही ठाउँकी दीपा बाँठामगरले भने, “त्यसैले पनि हामीलाई गलैँचा बुन्न हौसला मिलेको छ ।” सोही ठाउँका २० जनालाई गलैँचा बुन्ने तालिम प्रदान गरिएको थियो । उनीहरू सबैलाई गलैँचा बुन्नका लागि मेसिन प्रदान गरेपछि अहिले आफैँले यसरी गलैँचा बुन्न थालेका घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माले बताए ।


    “हामीले तालिम प्रदान गरेर मेसिन पनि उपलब्ध गराएका छौँ, उहाँहरूले उत्पादन गरेका गलैँचा बेच्न व्यवस्था मिलाएका छौँ”, उनले भने, “यसले उहाँहरूको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरेका छौँ ।” काठमाडौँबाट मनोजकुमार श्रेष्ठ र सरस्वती तामाङले तालिम प्रदान गरेका हुन् ।

  • सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

    अमरगढी (डडेल्धुरा), १७ जेठः सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ । डडेलधुरामा आयोजित प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५८ पदकसहित कैलालीले उपाधि जितेको हो । कैलालीले ३२ स्वर्ण, १७ रजत र नौ कास्य पदक जितेको छ । त्यसैगरी, कञ्चनपुर ४३ पदकसहित द्वितीय तथा आयोजक डडेलधुरा ३० पदकसहित तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

    डडेलधुराले ६ स्वर्ण, सात रजत र १७ कास्य पदक जित्यो । बैतडी चौथो, दार्चुला पाँचौँ, बझाङ छैटौँ, बाजुरा सातौँ, डोटी आठौँ र अछाम नवौँ स्थानमा रहे । प्रतियोगिताभर कुल २३२ पदक वितरण गरिएको थियो । जसमा ६६ स्वर्ण, ६६ रजत र १०० कास्य पदक समावेश रहेका थिए ।

    समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले खेलकुद क्षेत्र युवाको प्रतिभा प्रस्फुटन गर्ने महत्त्वपूर्ण माध्यम भएको बताउँदै प्रदेश सरकारले खेलकुद विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    यही जेठ १४ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ जिल्लाका खेलाडीबीच एथलेटिक्स, तेक्वान्दो, उस्सु, कराते, भलिबल, कबड्डीलगायत खेलमा प्रतिस्पर्धा भएको थियो । छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यही वर्ष हुने राष्ट्रपति रनिङ शिल्डका लागि सिफारिस गरिनेछ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताले प्रदेशभरका खेलाडीबीच आपसी सद्भाव, प्रतिस्पर्धात्मक भावना तथा खेल संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।

  • मुस्ताङमा यस वर्ष लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

    मुस्ताङमा यस वर्ष लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

    मुस्ताङ, १७ जेठः पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् । यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साढे १० महिनामा हाइअल्टिच्युडका कारण लेक लागेर १३ पर्यटकको मृत्यु भएको बताए । मृत्यु हुनेमध्ये नेपाली पर्यटकतर्फ तीन पुरुष र एक महिला तथा विदेशी पर्यटकतर्फ सात पुरुष र दुई महिला रहेका छन् । धार्मिक तीर्थाटनका लागि मुस्ताङ आएका पर्यटक सबै वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा लेक लागेर प्रदेश अस्पताल जोमसोममा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे ।


    मुस्ताङमा हाइअल्टिच्युडका कारण लेक लागेर बढी मात्रामा भारतीय पर्यटकको मृत्यु हुने गरेको प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बेँसीको समथरिलो स्थानबाट हिमाली जिल्ला मुस्ताङको पर्वतीय क्षेत्रमा आउने पर्यटकलाई पर्याप्त रूपमा आवश्यक स्वास्थ्य सावधानी र सतर्कता अपनाउन नसक्दा लेक लागेर मृत्यु हुने समस्या देखिएको हो ।

    समुद्री सतहको तीन हजार मिटरमाथिको उच्च उचाइको पर्वतीय क्षेत्रमा अक्सिजनको लेवल कम भई यहाँ आएका पर्यटकलाई लेक लाग्ने समस्या रहने गरेको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे ।


    यहाँका सरोकारवाला सरकारी कार्यालयले हाइअल्टिच्युडका कारण लेक लाग्ने समस्या कम गर्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने गरेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय, एक्याप, मुक्तिनाथ विकास समिति, स्थानीय तह र सुरक्षा निकायलगायतले हाइअल्टिच्युडसम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ ।

    राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना थासाङ–४ घाँसामा लेक लाग्ने समस्यासम्बन्धी सचेतनामूलक साइन बोर्ड राखिएको छ । एक्यापले चालु वर्ष घाँसादेखि मुक्तिनाथसम्म पर्यटकीय चहलपहल हुने स्थानमा बोर्ड टाँस गरेको एक्याप प्रमुख राजेश गुप्ताले जानकारी दिए । त्यसैगरी, प्रदेश जनस्वास्थ्य कार्यालयले पनि हाइअल्टिच्युडसम्बन्धी साइन बोर्ड तथा ब्रोसर छपाएर पर्यटकलाई वितरण गर्ने गरेको वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङले बताए ।


    हाइअल्टिच्युडको जोखिम कम गर्न तथा पर्यटकको स्वास्थ्य रक्षाका लागि वारागुङ–१ मुक्तिक्षेत्रका सबै होटलमा प्रोटेबल अक्सिजन सिलिन्डरसहित लेक नलाग्ने औषधिको व्यवस्थापन गरिएको मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले जानकारी दिए । मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई सम्बन्धित ट्राभल एजेन्सी र होटलहरूले पर्याप्त हाइअल्टिच्युडसम्बन्धी जानकारी दिन नसक्दा लेक लाग्ने घटना न्यूनीकरण हुन नसकेको हो ।

    विभिन्न पर्यटक ट्राभल्स कम्पनीहरूले यहाँ आउने पर्यटकलाई होल्डिङ नगरी एकसाथ गन्तव्यमा पुर्याउने परिपाटीका कारण पनि लेक लाग्ने समस्या जटिल बनेको हो । उच्च स्थानमा हाइअल्टिच्युडको जोखिमबाट सुरक्षित रहन ठाउँठाउँमा होल्डिङ गर्दै यात्रा गर्नुपर्ने यहाँका स्वास्थ्यकर्मीहरू बताउँछन् ।

    मुक्तिनाथ दर्शनार्थीहरूको स्वास्थ्य रक्षाका लागि प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्रले मुक्तिनाथ मन्दिरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ व्यवस्थापन गरिएको वारागुङ मुक्तिक्षेत्रका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए ।

    मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने सिँढीबाटो नेपाली सेनाले निर्माण गरेको विश्रामस्थलमा गरी दुई ठाउँबाट उक्त सेवा प्रदान गरिएको संयोजक बोहोराले उल्लेख गरे । बेँसीको समथर ठाउँबाट हिमाली जिल्लाको उच्च क्षेत्रमा यात्रा गर्ने पर्यटकमध्ये शारीरिक रूपमा अशक्त, अपाङ्गता, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई हाइअल्टिच्युडको समस्या देखिने गरेको छ ।

  • असामान्य जोडीको कथामा ‘गौँथली’

    असामान्य जोडीको कथामा ‘गौँथली’

    काठमाडौँ, १७ जेठः असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार गरिएको छ । चलचित्रको प्रचारप्रसारका लागि सार्वजनिक गरिएको श्रव्यदृश्यमा अभिनेता अरुण क्षेत्री असामान्य देखिएका छन् । अभिनेता क्षेत्रीको असामान्य व्यवहार हेर्दा उहाँ कुनै रोगले पीडित देखिन्छन् । उनको विवाह कम उमेरकी युवतीसँग भएको देखाइएको छ । स्कुले विद्यार्थीझैँ देखिने उक्त युवतीको भूमिका अभिनेत्री सिम्रन खड्काले निर्वाह गरेकी छिन् ।

    हेर्दा असामान्य लाग्ने जोडीले विवाहपछि सामना गर्ने चुनौतीकै कथामा चलचित्र तयार गरिएको अभिनेता क्षेत्रीले बताए । उनले भने, “पढ्ने रहर हुँदाहुँदै कम उमेरमै विवाह गर्नुपरेकी युवती र असामान्य व्यवहार देखाउने जोडीको कथामा चलचित्र तयार भएको छ । झट्ट हेर्दा असामान्य देखिने जोडीले जीवनमा भोग्ने उतारचढावमा शिक्षाले पार्ने प्रभाव चलचित्रमा देखाइएको छ । गम्भीर विषयमा सरल चलचित्र बनाउने कोसिस गरेका छौँ ।”

    चलचित्र सामाजिक विषयमा तयार गरिएको छ । उक्त चलचित्रमा अभिनेता क्षेत्रीसँगै सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गरेका छन् । डा भोला रिजालको कथामा आधारित उक्त चलचित्रलाई डा कपिल रिजालले निर्देशन गरेका छन् ।

    निर्देशक रिजालकै पटकथा रहेको उक्त चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । निर्देशक रिजालले ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको बताए । “हामीले चलचित्रमा घर र परिवारको महत्व देखाउन खोजेका छौँ, जहाँ शिक्षाको महत्त्वपूर्ण भूमिका छ”, निर्देशक रिजालले भने ।


    उक्त चलचित्रलाई सुमन गिरी र निर्देशक रिजालले संयुक्त रूपमा निर्माण गरेका छन् । सङ्गीतकार शम्भुजीत बाँस्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीले सङ्गीत सृजना गर्नुभएको चलचित्र ‘गौँथली’मा एलिस कार्कीले पाश्र्वसङ्गीत सृजना, मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

  • विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा

    काठमाडौँ, १७ जेठः आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ०ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो ।

    डब्ल्युएचओ सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थको महामारी तथा यसबाट हुने रोक्न सकिने मृत्यु र रोगप्रति ध्यानाकर्षण गराउन यो दिवसको सुरुआत गरेका हुन्। सन् १९८७ मा विश्व स्वास्थ्य सभाले पारित गरेको प्रस्ताव डब्लुएचए ४०–३८ ले सन् १९८८ अप्रिल ७ लाई ‘विश्व धूमपानरहित दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो। त्यसपछि सन् १९८८ मा पारित प्रस्ताव डब्लुएचए ४२–१९ अनुसार हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाउन थालिएको हो ।

    डब्ल्युएचओका अनुसार हाल विश्वभर करिब ८८१ अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन् । तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन् । पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका पाँचमध्ये एक वयस्क कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेको छ । सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब १२ लाख जनाको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको छ ।

    यस वर्षको दिवसको अवसरमा डब्ल्युएचओेले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ । सङ्गठनका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका कम्तीमा ८८चार करोड बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छ भने विद्युतीय चुरोट (ई–सिगरेट) र निकोटिन पाउचको प्रयोग युवा पुस्तामाझ निरन्तर बढिरहेको छ ।

    डब्ल्युएचओले सुर्ती तथा निकोटिन उत्पादन गर्ने कम्पनीहरूले आफ्ना उत्पादनलाई अझ आकर्षक, प्रयोग गर्न सहज र छोड्न कठिन बनाउने गरी विकास गरिरहेका जनाएको छ । विशेषगरी स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनमार्फत तिनले किशोर र युवालाई अम्मली बनाएका सङ्गठनको भनाइ छ ।

    डब्ल्युएचओका स्वास्थ्य निर्धारक, प्रवद्र्धन तथा रोकथाम विभागका निर्देशक डा। एटिएन क्रुगले सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष लाखौँ मानिसको मृत्यु भइरहे पनि ठूला कम्पनीहरूले आफ्नो व्यापारिक रणनीति परिवर्तन गर्दै नयाँ पुस्तालाई निकोटिनको लतमा फसाउने प्रयास गरिरहेको बताउनुभएको छ । उहाँका अनुसार स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच र अन्य निकोटिनजन्य उत्पादनको आक्रामक बजार विस्तारले युवापुस्तालाई लक्षित गरिरहेको छ ।

    निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुनसक्ने डब्लुएचओले जनाएको छ । हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गर्ने अनुमान गरिएको छ भने किशोर उमेर समूहमा यसको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ।

    डब्ल्युएचआले हालै सार्वजनिक गरेको निकोटिन पाउचसम्बन्धी प्रतिवेदनमा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिमार्फत यसको व्यापक प्रचारप्रसार भइरहेको उल्लेख गरिएको छ । आकर्षक प्याकेजिङ, मिठाईजस्ता स्वाद तथा जीवनशैलीसँग जोडिएका विज्ञापन अभियानमार्फत युवालाई आकर्षित गर्ने रणनीति अपनाइएको प्रतिवेदनमा जनाइएको छ ।

    प्रतिवेदनअनुसार विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी तथा नियमनको व्यवस्था छैन । विश्वव्यापी रूपमा यसको बिक्री तीव्र गतिमा बढिरहे पनि पर्याप्त नियमन नहुँदा लाखौँ मानिस जोखिममा छन् ।

    डब्ल्युएचओले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन, प्रवद्र्धन तथा प्रायोजन रोक्न, सार्वजनिक भित्री स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न तथा कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ । सुर्ती तथा निकोटिनजन्य पदार्थको बढ्दो प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिँदै डब्ल्युएचओले स्वस्थ र सुरक्षित समाज निर्माणका लागि सबै पक्षको साझा प्रयासमा जोड दिएको छ ।
    तस्विरः डब्ल्युएचओ

  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

    काठमाडौँ, १७ जेठस् उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ । तराई क्षेत्रमा आंशिक बदली भएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ । यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही तथा लुम्बिनी प्रदेशको तराई र कोशी तथा बागमती प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि छ । महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

  • ट्राफिक कारबाहीमा २४ घण्टामा ५ लाख एकचालिस हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा २४ घण्टामा ५ लाख एकचालिस हजार राजस्व सङ्कलन

    काठमाडौँ, १७ जेठः बितेका २४ घण्टामा एक हजार ९९४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ४१ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०३ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३०, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२८, एकतर्फी सडकमा सवारी चलाउने ९५ र अन्य सवारी नियम पालना नगरेका ९६२ जनालाई कारबाही गरिएको हो ।

  • लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

    लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

    काठमाडौँ, १७ जेठः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित दुई, गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट नियन्त्रित लागूऔषध डाइजेपाम २१ एम्पुल, फेनारगन २० एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल र नगद रु २० हजारसहित दुई र बझाङको केदारस्युँ गाउँपालिका–९ झोता बजारस्थित अनिल होटलबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको हो ।

    यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कबाट ब्राउनसुगरसहित तीन, सल्ल्यानको बागचौर नगरपालिका–२ खरिबोटबाट ब्राउनसुगरसहित एक, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट खैरो हेरोइन बोकेका दुई जनालाई एउटा डिजिटल तराजु र नगद रु १२ हजार ७१० सहित शुक्रबार पक्राउ गरिएको हो ।

    यसैगरी मोरङ, बेलबारी नगरपालिका–१ सिसौली टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र डाइक्लोमाइन ३ सय ६० ट्याब्लेट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राई, सोही नगरपालिका–१ बस्ने २५ वर्षीय बिकल राई र सोही नगरपालिका–४ बस्ने ३० वर्षीय सुदेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले रोमनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

    यसैगरी, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक, नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१६ अमहवाबाट एक, मध्यपुर थिमि नगरपालिका–५ कमेरोटारबाट दुई, बर्दिया, गुलरिया नगरपालिका–८ थपुवाबाट चार, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१४ छेपारेबाट एक, चितवनको खैरहनी नगरपालिका–८ चौबिसकोठीबाट एक र सर्लाहीको ईश्वरपुर नगरपालिका–८ रामपुरबाट ५५ किलो गाँजासहित एक जनालाई शनिबार पक्राउ गरिएको हो ।

  • जापानको औद्योगिक उत्पादन अप्रिलमा ०.८ प्रतिशतले वृद्धि

    जापानको औद्योगिक उत्पादन अप्रिलमा ०.८ प्रतिशतले वृद्धि

    टोकियो, १७ जेठ (रासस–सिन्ह्वा) । जापानको औद्योगिक उत्पादन अप्रिल महिनामा अघिल्लो महिनाको तुलनामा ०.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । यससँगै लगातार दुई महिनादेखिको गिरावट अन्त्य भएको छ । जापानको अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयका अनुसार कारखाना र खानीहरूको मौसमी समायोजित उत्पादन सूचकाङ्क २०२० लाई आधार वर्ष मान्दा १०२.८ पुगेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

    सामान्य प्रयोजन तथा व्यवसायमुखी मेसिनरी, विद्युतीय मेसिनरी र सूचना तथा सञ्चार इलेक्ट्रोनिक्स उपकरण क्षेत्रको उत्पादन वृद्धि प्रमुख कारण बनेको छ । कुल सात क्षेत्रमा उत्पादन बढेको मन्त्रालयले जनाएको छ । यद्यपि मोटर वाहन, अकार्बनिक तथा कार्बनिक रसायन, साथै पेट्रोलियम तथा कोइला उत्पादन लगायत आठ क्षेत्रमा उत्पादन घटेको छ । निर्माताहरूको सर्वेक्षणका आधारमा मन्त्रालयले मे महिनामा उत्पादन ५.१ प्रतिशतले बढ्ने तथा जुन महिनामा ०.४ प्रतिशतले घट्ने अनुमान गरेको छ ।

  • अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

    अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

    वासिङ्टन, १६ जेठ (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा होर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा सम्भावित सम्झौताबारे छलफल गर्नुभएको भए पनि अन्तिम निर्णय अझै गरेका छैनन् । ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग करिब दुई घण्टा लामो बैठक सम्पन्न भएपछि पनि यस विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिए ।

    राष्ट्रपति ट्रम्पले अमेरिकाका सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चितता भएको अवस्थामा मात्र सम्झौता अगाडि बढाइने धारणा व्यक्त गरेको बताइएको छ । यसअघि अमेरिका र इरानका प्रतिनिधिहरूबीच प्रारम्भिक सहमति भएको खबर सार्वजनिक भएको थियो । प्रस्तावित सहमतिअनुसार हालको युद्धविरामलाई थप ६० दिनसम्म कायम राख्ने र इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने विषय समावेश छ ।


    राष्ट्रपति ट्रम्पले इरानले भविष्यमा आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउनुपर्ने, होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला राखिनुपर्ने तथा समुद्री मार्गमा रहेका बारुदी उपकरणहरू हटाइनुपर्ने धारणा राखेका छन् । उता, इरानका संसद् अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले विश्वास केवल व्यवहारिक कदमबाट स्थापित हुने बताएका छन् ।

    उनले दुवै पक्षबाट ठोस कार्यान्वयन भएपछि मात्र थप प्रगति सम्भव हुने धारणा व्यक्त गरे । अमेरिका र इरानबीचको वार्ता जारी रहे पनि सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही समय लाग्ने देखिएको छ ।

  • अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु

    अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु

    वासिङ्टन, १७ जेठ (रासस–एएफपी) । अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा एउटा डुङ्गामा शुक्रबार आक्रमण गर्दा तीन जना लागु औषध तस्करकोे ज्यान लिएको अधिकारीहरूले बताएका छन् । गएको हप्तामा भएको यो तेस्रो घातक आक्रमण हो भने ट्रम्प प्रशासनले सेप्टेम्बरमा आक्रमण सुरु गरे देखि मृत्यु हुनेहरूको सङ्ख्या कम्तिमा १९८ पुगेको एएफपिले जनाएको छ । सामाजिक सञ्जाल एक्सको पोस्टमा, युएस साउदर्न कमान्डले उक्त जहाज पूर्वी प्रशान्तमा नार्को–तस्करी अपरेसनमा संलग्न रहेको जनाएको छ ।

    सामाजिक सञ्जालमा पोष्ट गरिएको आक्रमणको भिडियो फुटेजमा खुला समुद्रमा बसिरहेको जहाज ठुलो विस्फोटले डुबाएको देखाइएको छ । अमेरिकी सेनाले सेप्टेम्बरको सुरुमा अपरेसन “साउदर्न स्पियर“ सुरु गरेको हो भने राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकाबाट सञ्चालित लागु औषध तस्करहरूसँग अमेरिका कडा युद्धमा रहेको बताएका छन् । कानुनी विज्ञहरू तथा अधिकार समूहहरूले स्पष्ट रूपमा अमेरिकाका लागि तत्काल खतरा पैदा नगर्ने नागरिकहरूलाई लक्षित अमेरिकी आक्रमणहरु गैरन्यायिक हत्याको कारण हुने बताएका छन् ।

  • नेइमार विश्वकपसम्म पिँडुलाको समस्याबाट मुक्त हुने : प्रशिक्षक

    नेइमार विश्वकपसम्म पिँडुलाको समस्याबाट मुक्त हुने : प्रशिक्षक

    टेरेसोपोलिस, ब्राजिल, १६ जेठ । रासस–एएफपी) । ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस जुनियर्स (नेयमार) पिँडुलाको समस्याबाट विश्वकपको पहिलो खेलका लागि पनि तयार हुन सक्ने ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले शनिबार बताएका छन् ।

    विश्वकप नजिकिँदै गर्दा ३४ वर्षीय ब्राजिलियाली प्रसिद्ध खेलाडी तीन हप्ताका लागि बाहिरिन सक्ने रिपोर्टपछि एन्सेलोट्टीले यसको सट्टा नेइमारले जुन १३ मा मोरक्कोविरुद्ध न्यु जर्सीमा हुने खेलका लागि निको हुने गरी उपचार भइरहेको बताएका हुन् ।


    “हामीलाई विश्वास छ कि उनी चाँडै मैदानमा फर्कनेछन्, यदि उनी पहिलो खेल खेल्न सकेनन् भनेपनि दोस्रो खेलका लागि तयार हुनेछन्,” इटालियन एन्सेलोट्टीले भने ।
    बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व स्टार नेइमारले विश्वकपअघि पानामा र इजिप्टविरुद्धको मैत्रीपूर्ण खेल भने खेल्ने छैनन् । ब्राजिलले पानामासँग आइतबार माराकाना रङ्गशालामा खेल्नेछ भने जुन ६ मा क्लिभल्याण्डमा इजिप्टसँग अन्तिम अभ्यास खेल खेल्नेछ ।

    विश्वकपका लागि एन्सेलोट्टीको २६ सदस्यीय टोलीमा नेयमारलाई समावेश गर्नु आश्चर्यको कुरा थियो किनभने उनी चोटपटक पछिल्लो समय खेलमा कमजोर प्रदर्शन कारण लगभग तीन वर्षदेखि राष्ट्रिय टोलीमा छनोट हुन सकेका थिएनन् । यद्यपि, नेयमार सेलेकाओका लागि १२८ खेलमा ७९ गोल गर्दै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । यो उनको विश्वकप खेलमा चौथो प्रवेश हो ।

  • नेकपा संयोजक दाहाल अस्पताल भर्ना

    नेकपा संयोजक दाहाल अस्पताल भर्ना

    काठमाडौँ, १६ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । उनलाई ज्वरो–रुघाखोकी बढेपछि आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द आचार्यले जानकारी दिए । संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उनले बताए ।

  • ‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

    ‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

    काठमाडौँ, १६ जेठः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत खर्च बढाउने सरकारको सकारात्मक पहलका रूपमा रहेको भन्दै यसले निजी क्षेत्र चलायमान हुने विश्वास व्यक्त गरेका छन् । नेपाल जग्गा तथा आवास विकास सङ्घद्वारा आज यहाँ आयोजित १९औँ वार्षिक साधारणसभामा उनले आगामी आर्थिक वर्षको बजेटमा थोरै भए पनि पुँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान हुने बताए ।


    अध्यक्ष श्रेष्ठले बजेटले पूर्वाधार क्षेत्रको खर्च बढाउनु, आयकर घटाउनु, प्रविधिलाई जोड दिनु सकारात्मक पक्ष भएको प्रतिक्रिया दिए । उनले रोजगारीका लागि विदेश जानुपर्ने र उपभोग्य वस्तु ७० प्रतिशत विदेशबाट आयत गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले बजेटले विदेशी नागरिकलाई लिजमा घर किन्न पाउने व्यवस्था गर्नु, व्यवस्थित सहरको कल्पना गर्नु यस क्षेत्रका व्यवसायीका लागि खुसीको विषय भएको उल्लेख गरे । घरजग्गा व्यवसायको समस्यालाई समाधान गर्न महासङ्घ सदैव सकारात्मक भएर लाग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । उनले हदबन्दीको समस्या समाधानका लागि महासङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गरिसकिएको जानकारी दिए ।


    नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बजेटले एकीकृत सहरी पूर्वाधारको कल्पना गरेको भन्दै त्यसलाई महासङ्घले सकारात्मक रूपमा लिएको बताए । जग्गा हदबन्दी र कित्ताकाटलाई सरकारले अध्यादेशमार्फत अगाडि बढाउने उनले विश्वास व्यक्त गरे । नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको समग्र अर्थतन्त्र सकारात्मक भएपनि लगानीको वातावरण नबन्दा समस्या परेको बताए । अर्थतन्त्र चलायमान बनाउनका लागि घरजग्गा व्यवसाय चलायमान हुनुपर्ने उनको भनाई छ । अर्थतन्त्र चलायमान बनाउन यस क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्नुपर्नेमा उनको जोड छ ।


    नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले लामो समयको अन्योलपछि स्थायी सरकार बनेको भन्दै यो सरकारसँग निजी क्षेत्र आशावादी रहेका बताए । घरजग्गा व्यवसायलाई माथि उकास्न सकेमात्र अन्य व्यवसाय अगाडि बढ्ने उनको भनाइ छ । नयाँ सरकारले भौतिक पूर्वाधारको क्षेत्रमा करिब रु चार खर्ब बजेट विनियोजन गर्नु निजी क्षेत्रका लागि खुसीको विषय भएको उनले प्रतिक्रिया दिए । नेपाल जग्गा तथा आवास विकास महासङ्घका संस्थापक अध्यक्ष मीनमान श्रेष्ठले विदेशी नागरिकले ‘अपार्टमेन्ट’ लिजमा किन्न पाउने सरकारको निर्णय सकारात्मक भएको बताए ।

    मुलुकको अर्थतन्त्र चलायमान बनाउने घरजग्गा व्यवसाय शिथिल बन्दै गएका आगामी आवको बजेटले सकारात्मक मार्ग देखाएको उनको प्रतिक्रिया छ । सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरले जग्गा हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा परेको बताए । उनले विस २०७६ सालदेखि लागू भएको जग्गा हदबन्दीसम्बन्धी व्यवस्थाले व्यवसायीलाई ठूलो मर्कामा परेको भन्दै यो समस्या सथाशीघ्र समाधान हुनेमा विश्वास व्यक्त गरे ।

  • सगरमाथा दिवसमा मस्कटमा शान्ति पदयात्रा

    सगरमाथा दिवसमा मस्कटमा शान्ति पदयात्रा

    काठमाडौँ, १६ जेठः ओमानस्थित नेपाली राजदूतावासले सगरमाथा दिवसका अवसरमा मस्कटको कुरुम समुद्र तटमा शान्ति पदयात्रा तथा समुद्र किनार सरसफाइ कार्यक्रम आयोजना गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा गैरआवासीय नेपाली सोसल क्लब, विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा नेपाली र विदेशी नागरिकको सहभागिता रहेको उक्त दूतावासले जनाएको छ ।

    त्यस अवसरमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले यस्ता गतिविधिले नेपाली समुदायबीच एकता र सद्भाव अभिवृद्धि गर्नुका साथै ओमानमा नेपाली समुदायको सकारात्मक छवि निर्माण गर्न सहयोग पुग्ने बताए । सगरमाथा र गणतन्त्र दिवस एकै दिन परेकाले राजदूतावासमा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । यसै अवसरमा दूतावासमा ई–सङ्ग्रहालय स्थापना गरिएको छ । सङ्ग्रहालयमा नेपाल–ओमान द्विपक्षीय सम्बन्धसँग सम्बन्धित ऐतिहासिक दस्तावेज राखिएका छन् ।

  • बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

    बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

    काठमाडौँ, १६ जेठ । मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ । नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण सम्पन्न भइसकेको छ । सो सुरुङमार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ । सिद्धबाबा सुरुङमार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

    काठमाडौँ तराई–मधेस द्रुर्तमार्गमा पनि छ वटा सुरुङ निर्माणको क्रममा छ । सहज यातायात सञ्चालनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुरुङमार्गलाई विशेष प्राथमिकतामा राखेको छ । आगामी आवको बजेटमा सरकारले टोखा–छहरे सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ । सो सुरुङमार्गको चिनियाँ पक्षले प्रारम्भिक तहको सबै अध्ययन गरिसकेको छ ।

    कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मुलमासदेखि जम्लाको टोपलासम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ । खुर्कोट–चियाबारी, थानकोट–चित्लाङ, मझिमटार–शक्तिखोर र चिसापानी–बबई सुरुङ निर्माणसम्बन्धी अध्ययन गर्ने उल्लेख छ । नागढुङ्गा–नौबिसे सिस्नेखोला सुरुङमार्गको कूल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ । सो सुरुङमार्ग निकट भविष्यमा नै सञ्चालनमा ल्याउने तयारी छ ।

    काठमाडौँ तराई–मधेस द्रुर्तमार्गको लेनडाँडा, धेद्रे, महादेवटारमा तीन वटा सुरुङ निर्माणको क्रममा छ । देवीचौर, सिसौटार र चन्द्रामभीरमा पनि सुरुङ निर्माण हुँदैछ । देशभित्र सडक सुरुङमार्ग निर्माणले गति लिइरहेको बेला अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्मा पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा थप नयाँ परियोजना अगाडि बढाउने उल्लेख गर्नुभएको छ । यसअघि आव २०७८–७९ को बजेटमा लामाबगर, धरान–लेउती सुरुङका लागि रकम विनियोजन गरिएको थियो । मझिमटार–शक्तिखोर–जोगिमारा सुरुङमार्ग निर्माणका बारेमा पनि चर्चा चलेको थियो ।

    सडक विभागका अनुसार सम्भाव्यता देखिएका १७ वटा सुरुङमार्गको पहिचान गरी भौगर्भिक अध्ययनको कार्य अगाडि बढाइएको छ । नेपालमा चन्द्रशम्शेरको समयमा नै मकवानपुरको चुरियामा ७६१ मिटर लामो सुरुङमार्ग निर्माण गरिएको इतिहास छ ।

  • मुक्तिनाथमा दर्शनार्थी खचाखच

    मुक्तिनाथमा दर्शनार्थी खचाखच

    मुस्ताङ, १६ जेठ । हिन्दू तथा बौद्धधर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड बढेको छ । लगातार चारदिने बिदाको मौका पारेर यहाँ दर्शनार्थी खचाखच छन् । दर्शनार्थीको बाँक्लो उपस्थितले व्यवस्थापनमा समेत हम्मेहम्मे परेको मुक्तिनाथ विकास समितिले जनाएको छ । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार बिहीबारदेखि शनिबार बिहानसम्म आन्तरिक तथा भारतीय दर्शनार्थीको बाक्लो उपस्थितिले व्यवस्थापनमा दबाब बढेको बताए ।

    उनका अनुसार दसैँ–तिहार र चैतै दसैँबाहेक यहाँ औसतमा पाँचदेखि सात हजारसम्म धार्मिक पर्यटकले दर्शन गर्ने गरे पनि सरकारी तथा सार्वजनिक बिदा परेका कारण पछिल्लो तीन दिनयता २० हजारदेखि २५ हजारले मन्दिर दर्शन गर्ने गरेका छन् ।

    “शुक्रबारदेखि मुक्तिनाथमा ठूलो सङ्ख्यामा धार्मिक पर्यटक आइरहेका छन् । भक्तजनले परिसर खचाखच भरिएर थेग्नै नसक्ने अवस्था भएकाले व्यवस्थापनका लागि सुरक्षाकर्मीको सहयोग लिनुपरेको छ”, व्यवस्थापक भुसालले भने, “हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्नुपरेको व्यवस्थापन गर्न थालिएको छ । धार्मिक पर्यटकहरु एकैसाथ ठूलो सङ्ख्यामा आएकाले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ ।”

    भिरालो सतहमा अवस्थित मुक्तिनाथ मन्दिरको परिसर साँघुरो भएकाले पनि व्यवस्थापनमा असहज देखिएको हो । पछिल्लो समय मुक्तिनाथ मन्दिर परिसर केही फराकिलो पारिए पनि धार्मिक पर्यटकको सङ्ख्या अपेक्षाकृत वृद्धि हुँदा मन्दिर परिसरको क्षमता कम हुँदै गएको हो । समितिले दर्शन कार्यमा सहजीकरण गराउन लाइन मिलाउने, तातोपानीको व्यवस्था र लेक लाग्नबाट जोगाउन उपचारलगायतको व्यवस्था मिलाएको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयले पछिल्लो तीन दिनयता २५ हजार बढी पर्यटक भित्रिएको जनाएको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै बुधबार पाँच हजार ५८६, बिहीबार सात हजार ८२७ र शनिबार नौ हजार ८६ जना पर्यटक घाँसाबाट मुस्ताङ प्रवेश गरेको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । प्रहरी चौकी घाँसामा सवारीसाधन र पर्यटकको अभिलेख प्रविष्ट गर्ने गरिएको छ ।

    पछिल्लो सयम सरकारले हप्तामा आइतबारसमेत सार्वजनिक बिदा थप गराएका कारण मुस्ताङमा पर्यटकको उपस्थिति बढ्न थालेको हो । यसपटक बिहीबारदेखि लगातार बिदा परेकाले पनि मुक्तिनाथदर्शन गर्न आउने पर्यटकको सङ्ख्या बढेको हो । पर्यटकले जिल्लाको लेतेदेखि माथि मुक्तिनाथसम्मका होटलहरू पर्यटकले भरिभराउ छन् । यहाँ होटलमा एक दिनमा १० हजार बढी पर्यटक राख्न सक्ने क्षमता छ । त्यसैले हाल बसोबासका लागि कुनै समस्या नदेखिएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ ।

    “हामीलाई बाँस पाइएन भन्ने गुनासो आएको छैन, दसैँ–तिहारको बेला केही समस्या देखिन्छ, तर हाल पर्यटकको उपस्थिति उल्लेख्य रहे पनि होटल पाइएन भन्ने खबर आएको छैन”, उनले भने । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक सहज हुँदै जान थालेपछि धार्मिक पर्यटकको उपस्थिति बर्सेनि वृद्धि हुन थालेको हो ।

  • नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति थापा

    नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति थापा

    पाटन (ललितपुर) १६ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू नेतृत्वको पार्टीको पहिलो प्राथमिकता भएकाले जनताका पक्षमा निरन्तर वकालत गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पार्टीको भातृ संस्था नेपाल थारु सङ्घको प्रथम महाधिवेशनमा उनले राष्ट्रको एकीकरण र राष्ट्रिय एकता कायम गर्ने सन्दर्भमा थारु समुदायको ठूलो योगदान महत्त्वपूर्ण भएको बताए । थारु समुदायका नागरिकका लागि राज्यका निकायमा सहज पहुँच पुर्‍याउन आफू लागिपर्ने उनको भनाइ छ ।

    “बिपी कोइरालाले थारु समुदायप्रतिको विश्वास र भरोसा गर्दै जिम्मेवारीमा प्रतिनिधित्व गराएका थिए । थारु सङ्घ पार्टीको भातृ संस्था हो, पार्टीको अभिन्न अङ्ग हो, सङ्घको यो अधिवेशनबाट निर्वाचित हुने नेतृत्वले पार्टीको नयाँ क्रियाशील सदस्यता अभिवृद्धिका लागि जोड दिनुपर्छ, थारु सङ्घको अबको नेतृत्वले संविधान संशोधनमा समेटिनुपर्छ”, सभापति थापाले भने ।


    कांग्रेसले नेपालको अर्थतन्त्रमा सुधार गर्नुपर्छ भनेर वकालत गरेको उल्लेख गर्दै उहाँले बजेटमा धेरै सुधारका कुराहरू समेटिएको भए पनि न्यून आय भएको समाजका वर्गप्रति बजेट मौन रहेको धारणा राखे । पार्टीका महामन्त्री प्रदीप पौडेलले थारु समुदायले नेपालको सीमा रक्षा र आर्थिक विकासमा ठूलो योगदान गरेको स्मरण गर्दै संविधानमा प्राप्त भएको अधिकारलाई रक्षा गर्दै थारु समुदायलाई मूलधारमा स्थापित गर्न मिलेर जानुपर्ने आवश्यकता रहेको बताए ।


    पार्टीका अर्का महामन्त्री गुरुराज घिमिरेले थारु जाति नेपालको मूलवासी भएको भन्दै थारु जातिको उत्थान राजनीतिक अधिकार स्थापित गराउनका लागि सबै एकताबद्ध लाग्नुपर्नेमा जोड दिँदै सबै पार्टी र जातजातिलाई एकताको सुत्रमा बाँध्ने भनेको कांग्रेस भएको दाबी गरे । पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले व्यक्तिवादी चिन्तनबाट अगाडि बढेर नेपालमा रहेका सम्भावनालाई पहिचान गर्दै समृद्धि, समुन्नति र राजनीतिक उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिए ।

    कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले नेपाल विविधता बोकेका नागरिकको देश भएको धारणा बताउँदै थारु समुदायको हकहितका साथै हरेक नेपालीलाई राजनीतिक, आर्थिक र सामाजिक अधिकारमा स्थापित गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।


    प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले हिमाल, पहाड र तराईका हरेक मानिसहरूको अपेक्षा र चासोलाई सम्बोधन गर्दै पहिचानको मुद्दा राज्यको हरेक तहमा स्थापित गर्न कांग्रेसले ध्यान दिनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य गोपाल दहिदले राष्ट्रिय जनसङ्ख्याअनुसार देशभर ७ प्रतिशत जनसङ्ख्या रहे पनि कांग्रेसभित्र तीन प्रतिशत मात्रै क्रियाशील सदस्य रहेको जानकारी गराउँदै थारु सङ्घले थारुहरूमाथिको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक विभेद विरुद्ध आवाज उठाउँदै आएको बताए ।


    केन्द्रीय सदस्य जीवन रानाले भाषिक, सांस्कृतिक रूपमा सुन्दर इतिहास र पहिचान रहेको थारु समुदायको आर्थिक सामाजिक न्याय, राजनीतिक परिवर्तनका लागि खेलेको भूमिका महत्त्वपूर्ण भएको बताए । पूर्वमन्त्री तेजुलाल चौधरीले संविधान घोषणा भएको ११ वर्ष पूरा हुँदा पार्टीले पर्याप्त रूपमा थारुलाई सरकारी सेवा, प्रदेश सरकारमा मन्त्रिपरिषद्मा, राजनीतिक नेतृत्वमा समेट्न नसकेको धारणा राखे ।

  • व्यक्ति वा दम्पत्तीको हकमा न्यूनतम आयकरको सीमा १० लाख, अन्यलाई कति ?

    व्यक्ति वा दम्पत्तीको हकमा न्यूनतम आयकरको सीमा १० लाख, अन्यलाई कति ?

    काठमाडौँ, १६ जेठः सरकारले आर्थिक विधेयक २०८३ मार्फत् आयकर ऐनको व्यवस्थाअनुसार करयोग्य आय गणना गर्दा व्यक्ति वा दम्पत्ती दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था ल्याएको छ । यसअघि आयकरका दरहरु निर्धारण गर्दा ‘प्राकृतिक व्यक्तिको हकमा’ भनिएकामा अहिले त्यसलाई संशोधन गरी ‘प्राकृतिक व्यक्ति वा दम्पत्तीको’ भन्ने शब्दहरु राखिएका छन् । नयाँ व्यवस्थाअनुसार कुनै आय वर्षमा प्राकृतिक व्यक्ति वा दम्पत्तीको रु १० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्नेछ । यसअघि व्यक्तिको वार्षिक रु पाँच लाखसम्मको रोजगारीको करयोग्य आयमा एक प्रतिकर आयकर लाग्ने गरेको थियो ।

    तर, एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरण बापतको आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस बमोजिमको कर लाग्ने छैन । त्यस्तै, कुनै व्यक्ति वा दम्पतीको वार्षिक आय रु १० लाखभन्दा बढी तर रु १५ लाखसम्म करयोग्य आय भएमा रु १० लाखसम्म रु १० हजार र रु १० लाखभन्दा बढी करयोग्य आयमा १० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ । यसअघि रु पाँच लाखदेखि रु सात लाखसम्मको आयमा १० प्रतिशत कर लाग्ने व्यवस्था रहेको थियो ।

    आर्थिक विधेयकको व्यवस्थाअनुसार रु १५ लाखभन्दा बढी तर रु २५ लाखसम्म करयोग्य आय भएमा रु १५ लाखसम्म रु ६० हजार र रु १५ लाखभन्दा बढी करयोग्य आयमा २० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ । यस्तै, रु २५ लाखभन्दा बढी करयोग्य आय भएमा रु २५ लाखसम्म रु दुई लाख ६० हजार र रु २५ लाखभन्दा बढी करयोग्य आयमा २७ प्रतिशत आयकर लाग्नेछ । त्यसैगरी, रु ४० लाखभन्दा बढी करयोग्य आय भएमा बढी भए जति करयोग्य आयमा थप दुई प्रतिशत विन्दुले अतिरिक्त कर लाग्ने आर्थिक विधेयकमा उल्लेख छ ।

  • आयकर ऐनमा संशोधित कर निर्धारण गर्ने समय घटाइयो

    आयकर ऐनमा संशोधित कर निर्धारण गर्ने समय घटाइयो

    काठमाडौँ, १६ जेठः आयकर ऐनको व्यवस्थाअनुसार कर निर्धारण भएको व्यक्तिको कर दायित्व संशोधन गर्न सकिने साविकको समयसीमालाई आर्थिक विधेयक २०८३ मार्फत एक वर्ष घटाइएको छ ।

    यसअघि आयकर ऐनको दफा ९९ बमोजिमको कर निर्धारणका लागि आय विवरण पेश गर्नुपर्ने मिति तथा दफा १०० बमोजिमको संशय कर निर्धारणको सूचना दिएको मितिका आधारमा चार वर्षभित्र संशोधित कर निर्धारण गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो । त्यसलाई घटाएर अब तीन वर्षभित्रै संशोधित कर निर्धारण गरिसक्नुपर्ने व्यवस्था ल्याइएको हो ।

    त्यस्तै, कुनै व्यक्तिले आफुले दाखिला गर्नुपर्ने कर दायित्वभन्दा बढी हुनेगरी कर बुझाएमा त्यस्तो कर बुझाएको दुई वर्षभित्र रकम फिर्ता पाउनका लागि आवेदन दिइसक्नुपर्ने व्यवस्थालाई संशोधन गरेर पाँच वर्षभित्र आवेदन दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।

  • आर्थिक विधेयकमा जलविद्युत् प्रवद्र्धकलाई छुट

    आर्थिक विधेयकमा जलविद्युत् प्रवद्र्धकलाई छुट

    काठमाडौँ, १६ जेठः सरकारले जलविद्युत् आयोजनाका लागि आर्थिक विधेयक मार्फत् केही छुट तथा राहतको प्रबन्ध गरेको छ । जलविद्युत् आयोजनाको क्षमता अभिवृद्धि तथा डिजाइन परिवर्तन गर्ने सैद्धान्तिक सहमतिको आयोजना, सो को ठेकेदार वा आयोजनाको प्रवद्र्धकले उपकरणलगायतका सामग्री आयात गर्दा बैंक जमानत सुविधा दिइनेछ ।

    आयोजानको उत्पादन, प्रसारण तथा वितरणका लागि आवश्यक पर्ने पाटपूर्जा, औजार तथा सो को अत्यावश्यक सामग्री विष्फोटक पदार्थ, पेनस्टक पाइप तथा स्टिल प्लेट आयात गर्दा लाग्ने भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धिकर वापतको रकम विद्युत् विकास विभागको सिफारिशमा बैंक जमानत सुविधा दिन सकिने प्रबन्ध गरिएको छ । यसबाट जलविद्युत् आयोजना निर्माणमा सहज हुने विश्वास लिइएको छ ।

    क्षमता वृद्धि तथा डिजाइन परिवर्तन स्वीकृत भएपछि विद्युत् विकास विभागको सिफारिशसहित आयोजना, ठेकेदार वा प्रवद्र्धकले बैंक जमानत फुकवाका लागि आयात भएको भन्सार कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यस्तो निवेदन प्राप्त भएमा भन्सार कार्यालयले आवश्यक जाँचबुझ गरी पैठारीका बखत राखेको बैंक जमानतबाट एक प्रतिशत मशसुल असुल गरी बाँकी कर महसुल छुट दिई बैंक जमानत फुकुवा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    यसैगरी चालु आवमा सरकारले स्थापना गरेको राष्ट्रिय पुनः निर्माण कोषमा योगदान गरेको रकम सो आय वर्षको करयोग्य आय गणना गर्दा घटाउन सकिने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ । जेन्जी आन्दोलनका क्रममा प्रभावित उद्योग, व्यापार वा व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी वा तोडफोडबाट भवन, फर्नीचर, यन्त्र तथा उपकरणमा भएको क्षतिमध्ये बीमा सर्भेयरको प्रतिवेदनबाट यकिन भएको वस्तुको विवरणका आधारमा सो को पुनः स्थापनाका लागि त्यस्ता सामग्री आयात गर्दा लाग्ने भन्सार महशुल तथा अन्तःशुल्कमा ५० प्रतिशत बराबरको छुट दिइएको छ । जेन्जी आन्दोलनका क्रममा क्षति भएका क्यासिनो व्यवसाय सञ्चालन नभएको अवधिको रोयल्टी तथा नवीकरण शुल्कमा पनि छुट दिइएको छ ।