Category: फिचर

  • नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण,६९७ जना डिस्चार्ज

    नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण,६९७ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ५ हजार ९० जनाको नमुना परिक्षण गरिएकोमा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप ६ सय ९७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ।

    कुल संक्रमितमध्ये ३९ जनाको मृत्यु भएको छ।

  • आजबाट फेरी शुरु हुँदैछ नेपालीको उद्दार उडान

    आजबाट फेरी शुरु हुँदैछ नेपालीको उद्दार उडान

    काठमाडौं । दुई दिन बन्द भएपछि आजबाट विदेशमा अलपत्र नेपालीको उद्दारको काम फेरी प्रारम्भ हुँदैछ । पछिल्लो एक महिनायता विदेशबाट धमाधम नेपालीलाई स्वदेश फर्काउने अभियान जारी रहेको छ । यसक्रममा करीव २६ हजार नेपाली स्वदेशी फर्किसकेका छन् । यसअघि दुई चरणमा भएको उद्दार उडानको काम अब तेस्रो चरणमा प्रवश गरेको छ ।

    यस क्रममा कुल ४२ उडानको तयारी छ । यो एक सातामा सकिने भएको छ । त्यसपछि नयाँ रणनीति बनाउने सरकारको तयारी छ । आजदेखि साउन ६ गतेसम्म एक हप्ताका लागि उद्धार उडान तालिका सार्वजनिक गरिएको छ । बुधबार कुल ६ उडान तथा अवतरणको तालीका तय भएके छ । बुधबार नेपाल एयरलाइन्स कुनमिङ्ग, सिल्क एयर सिङ्गापुर र र मलेसियन एयरलाइन्सको जहाज क्लालाम्पुरबाट काठमाडौं अवतरण गर्दैछन् ।

    आज यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एयरलाइन्सका दुई जहाज जाने भएको छ । हिमालयको अर्को जहाज आजै कुनमिङ्ग जाने गरी तय भएको छ । एक हप्ताको अवधिमा विदेशमा समस्यामा परेका नेपाली ल्याउनका लागि हिमालय र नेपाल एयरलाइन्सले १६, १६ उडान गर्दैछन् । एयर अरेबियाले २, फ्लाई दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएको विमानस्थल कार्यालयले जनाएको छ ।

    जजिरा एयरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ । नयाँ तालिकाअनुसार यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मलेसिया लगायतका ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् ।

  • महानायक काण्डमा बोले राजेश हमाल : दीपाश्रीलाई क्षमा गरिदिनुस

    महानायक काण्डमा बोले राजेश हमाल : दीपाश्रीलाई क्षमा गरिदिनुस

    काठमाडौं । नायक राजेश हमालले महानायकका सन्दर्भमा कलाकार दीपाश्री निरौलालाई क्षमा गरिदिन आफ्ना फ्यानहरुलाई आह्वान गरेका छन् । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाल प्रति लक्षित गर्दै उनलाई महानायक केही संचारकर्मीले मात्र बनाएको धारणा राखेकी थिइन् । अहिले सिनेमा उद्योगमा राजेश हमाल नभएको समेत उनको तर्क थियो ।

    यो तर्क सार्वजनिक भएपछि फ्यानहरुले उनको विपक्षमा गालिगलौज जारी राखेका छन् । त्यसपछि दीपाश्रीले सार्वजनिक रुपमै उक्त अभिव्यक्तिबारे माफी मागेकी छिन् । तर, उनीविरुद्ध गाली आउन छाडेको छैन । यसले आफु तनावमा पुगेको उनले बताइसकेकी छिन् । लामो समयसम्म यस काण्डमा मुख नखोलेका राजेशले बुधबार राती बोकेका हुन् ।

    उनले मध्यरातमा एक भिडियो सार्वजनिक गरेका छन् । जहाँ हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आफ्ना समर्थकसँग आग्रह गरेका हुन्। आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिकाविरुद्ध दर्शकले गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन समेत उनले आह्वान गरे ।

    मानवीयताको हिसावले यस्ता प्रतिक्रियामा आफुले खासै चासो नदिने र काममा मात्र ध्यान दिने उनको भनाई छ । राजेशले दर्शकलाई सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई मानवीय हिसावले आत्मसममानमा ठेस नपुग्ने गरी संयमित भएर प्रतिक्रिया जनाउन अपिल गरेका छन्। कलाकारिता कुनै व्यक्तिको नभई राष्ट्रको सम्मानको विषय भएको भन्दै सबै कलाकारलाई सम्मानित दृटिले हेर्न आह्वान समेत उनले गरेका छन् ।

  • नवलपरासी र चितवनमा थपिए १९ संक्रमित

    नवलपरासी र चितवनमा थपिए १९ संक्रमित

    चितवन । कोरोना भाइरसको संक्रमणको दर केही कम भएको छ । खासगरी भारतबाट आउने मानिसको संख्या घटेको र विदेशबाट फर्कनेको पिसिआर परीक्षण अनिवार्य गरिएका कारण कोरोना भाइरसको संक्रमण कम भएको छ । समुदायस्तरमा भने अहिलेसम्म भयानक रुपमा कोरोना फैलिएको पाइएको छैन । यसैबीच, बुधबार नवलपरासी पूर्व र चितवनमा थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    भरतपुर अस्पताल प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ११ र चितवनका ८ जनामा संक्रमण पुष्टि भएको हो। नवलपरासी पूर्वको बुलिङटार गाउँपालिकाका ९ र कावासोती नगरपालिकाका २ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले उल्लेख गरेकी छिन् ।

    चितवनका संक्रमित सबै माडी नगरपालिका १, ७ र ८ नम्बर वडाका रहेको प्रयोगशालाले जनाएको छ। दुवै जिल्लाका सबै संक्रमित क्वारेन्टाइनमै रहेका छन्।
    पछिल्लो समय शहरी इलाकामा संक्रमणको दर बढ्दो क्रममा रहेको छ ।

  • ‘अत्यावश्यक नपरेसम्म सार्वजनिक बसमा नचढ्नु’

    ‘अत्यावश्यक नपरेसम्म सार्वजनिक बसमा नचढ्नु’

    काठमाडौं । सरकारले अत्यावश्यक नपरेसम्म सार्वजनिक यातायातमा नचढ्न सर्वसाधारणलाई सचेत गराएको छ । सार्वजनिक यातायात खुला गरेपनि यसले कोरोना भाइरसको संक्रमणलाई बिस्तार गर्न सहयोग पुग्ने भन्दै अति आवश्यक काम नपरेसम्म सार्वजनिक यातायात नचढ्न सरकारले सचेत बनाएको छ । सडकमा केही सार्वजनिक सवारी साधनले सेवा थालिसकेका छन् ।

    स्वास्थ्य जनसंख्या मन्त्रालयले सार्वजनिक सवारीमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको हो । कोरोनाको जोखिम टरिनसकेको भन्दै सर्वसाधारणको जनजीवन सहज होस भन्‍ने उद्देश्यले मात्र सार्वजनिक यातायात सञ्चालन गर्न दिइएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले बताए । कोभिड१९ को समस्या समाधान भइसकेर सार्वजनिक यातायात सुचारु गरेको भन्ने नबुझ्न समेत उनले सर्वसाधारणलाई सचेत गराए ।

    जनजीवनलाई कठिनाइका बाबजुत सावधानी अपनाएर अगाडि बढ्नुपर्ने अवस्था आएको उनको भनाई छ । सार्वजनिक यातायातको यात्रा कोभिडभन्दा पहिलाको अवस्था जस्तै सामान्य हो भन्ने रुपमा नबुझ्न उनले आग्रह गरे ।

    सार्वजनिक यातायातमा यात्रा गर्नु पर्दा दूरी कायम गर्न र मास्क अनिवार्य प्रयोग गर्न समेत उनले आग्रह गरे । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

  • मेलम्ची परिक्षणका दौरान दुई कर्मचारी वेपत्ता

    मेलम्ची परिक्षणका दौरान दुई कर्मचारी वेपत्ता

    सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणका दौरान दुई कर्मचारी वेपत्ता भएका छन् । पानीले बगाएर उनीहरुलाई वेपत्ता पारेको छ । जसले गर्दा तत्कालका लागि सुरुङ परिक्षणको काम समेत स्थगित हुन पुगेको छ । मंगलबार आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक परेको समयमा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर ४ जनालाई बगाएको थियो । त्यसक्रममा दुई जनाको उद्दार भएको छ । दुई जनालाई भने पानीले बगाएको छ ।

    उनीहरुको अवस्था अज्ञात रहेको छ । दुर्घटनापछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको आयोजनाले जनाएको छ । उनीहरु मंगलबार दिउँसो परीक्षणका क्रममा रहेको सुरुङको फ्लसिङ गेटमा पानी चुहावटको दर निरीक्षण गर्न गएका थिए । आयोजनाकाअनुसार गेटको निरीक्षणमा गएका एकजना इन्जिनियर र आयोजनाका सवारी चालक मेलम्चीको सुरुङमा बेपत्ता भएका हुन् ।

    परमर्शदाता इप्टिसा र मेलम्ची खानेपानी बोर्डका एक–एक जना इन्जिनियर घाइते भएका छन् । सुरुङमा पानी चुहावटको अवस्था अध्ययन गर्न अम्बाथानको अडिट टनेल (मुख्य सुरुङमा जान बनाइएको सुरुङ) हुँदै फ्लसिङ गेटमा पुगेका बेला सुरुङमा पानीको चाप अत्यधिक भएर गेटको मेकानिकल नटहरु फुस्किएको बताइएको छ ।

    प्रहरीका अनुसार बेपत्ताको खोजी भइरहेको छ । दुर्घटनापछि मेलम्चीको अस्थायी बाँधबाट सुरुङमा पानी हाल्न बन्द गरिएको छ । अब सुरुङ खाली गरी गेटहरुको अवस्था निरीक्षण गरेपछि मात्रै पुनः पानी हालिने भएको छ । २१ असारदेखि मेलम्ची सुरुङमा पानी हालेर परीक्षण सुरु भएको थियो ।

  • प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रको स्पष्टीकरण : कसैको भावनासँग चोट पुर्याउने उद्देश्य होइन

    प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रको स्पष्टीकरण : कसैको भावनासँग चोट पुर्याउने उद्देश्य होइन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामबारे दिएको अभिव्यक्तिमा व्यापक आलोचना भएपछि परराष्ट्र मन्त्रालयले स्पष्टिकरण सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति कसैको भावनामाथि चोट पुर्याउने उद्देश्यले नआएको स्पष्ट पारेको छ । प्रधानमन्त्रीको भारतसहित नेपाल भित्र समेत आलोचना भइरहेको छ ।

    सोही सन्दर्भमा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेको हो । मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको स्पष्ट पारेको छ । विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन ।’ ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गरेका थिए ।

    परराष्ट्रले प्रधानमन्त्रीले श्रीराम र उहाँसँग सम्वद्ध स्थानबारे धेरै किंवदन्ती रहेको र नयाँ तथ्यहरु प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन, अनुसन्धानको महत्वमाथि जोड मात्र दिएको उल्लेख गरेको छ । प्रधानमन्त्रीको टिप्पणीले अयोध्याको महत्व र साँस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य नराखेको मन्त्रालयले बताएको छ ।

    विवाह पञ्चमीमा प्रत्येक वर्ष भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने तथा २०१८ मा दुुई देशका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको स्मरण गर्दै परराष्ट्रले यस्ता तथ्यबाट दुई देश र जनताबीचको सांस्कृतिक समानता झल्कन उल्लेख गरेको छ ।

  • नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो

    नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय१६जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ४ हजार ३ सय ४१ वटा नमुना परिक्षण गरिएकोमा १ सय १६जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप ३४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ।

    कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

  • धरहरा निर्माणमा १० औं तला सम्पन्न, अब ११ औं तला निर्माण गरिने

    धरहरा निर्माणमा १० औं तला सम्पन्न, अब ११ औं तला निर्माण गरिने

    काठमाडौं । धरहराको १० औं तलासम्मको निर्माण काम सम्पन्न भएको छ । अब ११ औं तला र टावर निर्माणको काम थालिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । टावर निर्माणको काम दुई÷तीन दिनमा सुरु हुने बताइएको छ । लकडाउनका बेला धरहरामा टावरबाहेक अरु काम हुँदै थियो । झण्डै साढे तीन महिनापछि टावरको काम थाल्न लागिएको प्राधिकरणले जनाएको छ ।

    टावर निर्माणको काम गर्ने कामदार अहिले क्वरेण्टीनमा छन् । लकडाउनका बेला घर गएका १ सय १० जना कामदार काठमाण्डौ फर्किसकेको प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार धरहराको ३९ प्रतिशत काम सम्पन्न भएको छ । धरहरामा अहिले पार्किङस्थलको काम भइरहेको । धरहरामा अवलोकन कक्षका साथै म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्ट, अत्याधुनिक पार्किङ बन्दैछ ।

  • भगवान रामबारे प्रधानमन्त्रीको अभिव्यक्तिको भारतमा कडा निन्दा र आलोचना

    भगवान रामबारे प्रधानमन्त्रीको अभिव्यक्तिको भारतमा कडा निन्दा र आलोचना

    काठमाडौं । भगवान राम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबारे भारतमा व्यापक निन्दा र आलोचना शुरु भएको छ । पौराणिक कालदेखि मान्यताप्राप्त इतिहासलाई बीना कुनै तथ्य बोलिदिएपछि ओलीको पुनः एक पटक निन्दा शुरु भएको हो । ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति सोमबार दिएका थिए ।

    भारतको सत्तारुढ दल तथा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै कडा शब्दामा आलोचना गरेको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नपाइने उल्लेख गरेका छन् । ओलीको आलोचना गर्दै शास्त्रीले भगवान राम आस्थाको प्रतीक भएको र यसमा कसैले पनि खेलवाड गर्न नपाउने उनको भनाई थियो ।

    प्रभानमन्त्रीको अभिव्यक्तिलाई भारतीय संचारमाध्यमले समेत कच्चा कुटनीति भन्दै आलोचना गरेका छन् । ऐतिहासिक तथ्यबारे बोल्दा यथेस्ष्ट प्रमाण अगाडी सार्नु पर्ने र नभए आस्थामाथि प्रहार गर्न नपाउने उनीहरुको तर्क रहेको छ । त्यसमाथि धर्म नमान्ने कम्युनिष्ट नेताले धार्मिक तथ्यमाथि बोल्नु अझ तर्क संगत नभएको उनीहरुको भनाई रहेको छ ।

  • सिद्धार्थ राजमार्ग अवरुद्ध, दोभानमा खस्यो पहिरो

    सिद्धार्थ राजमार्ग अवरुद्ध, दोभानमा खस्यो पहिरो

    बुटवल । पटक पटक पहिरोका कारण अवरुद्ध हुने सिद्धार्थ राजमार्गमा फेरी पहिरो खसेको छ । जसले गर्दा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध हुन पुगेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै पहिरो खसेको छ । रातीको समयमा सवारी साधन भएको बेला खसेका कारण मानवीय क्षति भने हुन पाएन ।

    पहिरोसँगै ठूला–ठूला ढुंगा सडकमा खसेको छ । सोमबार रातीबाट साधन आवतजावत पूर्णरुपमा बन्द गरिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । वर्षा निरन्तार भइरहेका कारण पहिरो पन्छाउन सकिएको छैन । सडक अबरुद्ध भएपछि सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । सिद्धार्थ राजमार्ग पहिरोबाट बढी प्रभावित सडक हो ।

  • राम नेपाली हुन, भारतले नक्कली अयोध्या बनायो : प्रधानमन्त्री

    राम नेपाली हुन, भारतले नक्कली अयोध्या बनायो : प्रधानमन्त्री

    काठमाडौं । भारतसँग शब्दयुद्ध लडिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अर्को प्रहार गरेका छन् । प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मेको र नेपाली रहेको उल्लेख गरे । उनले भारतले  नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको समेत आरोप लगाएका छन् ।

    २०७ औं भानु जयन्तीका अवसरमा आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको बताए । सांस्कृतिक तथ्यहरूमाथि भारतले अतिक्रमण गरेको भन्दै उनले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने उल्लेख गरे ।

    भारतले विवादित अयोध्या खडा गरेको उनको तर्क छ । नेपालकी छोरी सिता भारतका रामलाई नभई अयोध्याका रामलाई दिएको भन्दै उनले अयोध्या नेपालमा पर्ने उल्लेख गरे । उनले भने, ‘अयोध्या वीरगन्जभन्दा अलि पश्चिम पट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। अयोध्या भीषण विवाद छ है त्यहाँ, हाम्रोमा विवाद नै गर्नुपर्दैन ।’

    अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मीकि आश्रम यही (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रिष्टी यज्ञ लगाउने पण्डितजी रिडीका भएकाले राम नेपाली नै रहेको उनको तर्क छ । संचारको कुनै सुविधा नभएको समयमा भारतले भनेको अयोध्याबाट छोरी माग्न कुनै पनि व्यक्ति जनकपुर आउन नसक्ने प्रधानमन्त्रीको तर्क छ ।

  • चार च्यानलबाहेक भारतीय न्यूज च्यानलको प्रतिवन्ध खुला

    चार च्यानलबाहेक भारतीय न्यूज च्यानलको प्रतिवन्ध खुला

    काठमाडौं । नेपालमा प्रतिवन्धमा परेका भारतीय न्यूज च्यानलहरु फेरी देखिन थालेका छन् । केवल अपरेटरहरूले चार वटा भारतीय समाचार च्यानलबाहेक अन्यको प्रसारण खुला गर्ने निर्णय लिएका हुन् । केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलको प्रसारण प्रतिवन्ध भने यथावत राखेका छन् ।

    यी च्यानल नेपालबारे उग्र तथा कपोलकल्पित समाचार प्रसारण गर्नेमा पर्छन् । केही च्यानलका कारण सबै टिभिको प्रसारण रोक्नु उपयुक्त नहुने भन्दै केवल अपरेटर च्यानल खुलाउने निष्कर्षमा पुगेका हुन् । नेपालले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाल चीनको गुलाम भएको भन्दै च्यानलहरुले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे आपत्तिजनक सामग्री प्रसारण गरेका थिए । एबीपी न्यूजले भने अभिनेत्री मनिषा कोइरालाको अपमान गरेको थियो ।

  • मंगलबारदेखि काठमाडौंमा ४ वटा विद्यूतीय सार्वजनिक बस चल्ने

    मंगलबारदेखि काठमाडौंमा ४ वटा विद्यूतीय सार्वजनिक बस चल्ने

    काठमाडौं । सरकारले ५० प्रतिशत यात्रु राखेर सार्वजनिक यातायात चलाउन खुला गरेको छ । तर, यातायात व्यवसायीले भने सर्वसाधारणलाई सेवा दिन मानिरहेका छैनन् । यसैबीच, सुन्दर यातायातले मंगलबारबाट चार वटा विद्यूतीय बस संचालन गर्ने भएको छ । सरकारले ५० प्रतिशत यात्रु राखेर सवारी संचालन गर्ने दिने निर्णय गरेसँगै ५० प्रतिशत भाडा समेत बढी उठाउन पाउने सुविधा दिएको छ ।

    तर, सुन्दर यातायातले भने लकडाउन अगाडिकै भाडादरमा ४ वटा विद्यूतीय बस संचालन गर्न लागेको हो । आधा मात्र यात्रु हाल्न पाइने हुनाले सरकारले ५० प्रतिशत धेरै भाडा लिन पाउने निणर्य गरे पनि आफूहरू पुरानै भाडामा गाडी चलाउने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले बताएका छन् ।

    कम्पनीले २ वटा पुरानै रुटमा र २ वटा नयाँ रुटमा यातायात सेवा सञ्चालन गर्न लागेको छ । कम्पनीका अनुसार दुई वटा बस चक्रपथ परिक्रममा गर्नेछन् । २ वटा नयाँ गाडी सूर्यविनायक–जमल–रत्नपार्क रुटमा चल्न् भएका छन् । गाडीमा नेपाल सरकारले तोकेको भन्दा सुरक्षित स्वास्थ्य सुरक्षा अपनाइने कम्पनीको दावि रहेको छ ।

    यात्रुको लागि त सरकारले तोकेको बाहेक अतिरिक्त सुरक्षा र सुविधा दिने कम्पनीले जनाएको छ । चालक सह–चालकहरुले कम्पनीले उपलब्ध गराएको बुट, प्रोटेक्टिभ ग्लास, प्रोटेक्टिभ सुट, वासएबल ग्लब्स, मास्क लगाउने छन् । प्रत्येक यात्रुको तापक्रम जाँचिने भएको छ । मास्क नलगाउने यात्रुलाई चढ्न दिइने छैन।

    मास्क नलगाएका ६० वर्ष माथिकालाई भने कम्पनीले निःशुल्क मास्क दिने भएको छ । घातक किटाणुबाट जोगाउन प्रत्यक दिन गाडीलाई स्यानिटाइज गरिने र प्रत्येक ट्रिपपछि पनि हाते पम्पबाट स्प्रे गरिने कम्पनीको भनाई रहेको छ ।

  • नेपालमा कोरोना संक्रमित डिस्चार्जमा रेकर्ड ब्रेक, कसरी सम्भव भयो ?

    नेपालमा कोरोना संक्रमित डिस्चार्जमा रेकर्ड ब्रेक, कसरी सम्भव भयो ?

    काठमाडौं । संसारमा कोरोना महामारीले मानिसको स्वास्थ्य अवस्थालाई गम्भीर मोडमा पुर्याएको छ । धेरैजसो विकसित मुलुकले मानिसको ज्यान बचाउन ठूलो संघर्ष गर्नु परेको छ । त्यसको ठिक विपरित कमजोर स्वास्थ्य प्रणाली भएपनि नेपालमा भने कोरोनाको प्रभाव कमजोर देखिएको छ ।

    यसको प्रमाण सोमबार एकैदिन १७ सय जना कोरोना संक्रमितले कोरोनालाई जित्नु समेत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार रेकर्ड ब्रेक संख्यामा मानिसले कोरोनालाई जित्न सफल भएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ७ सय ५ जना संक्रमित डिस्चार्ज भएका हुन् । यो कोरोना भाइरसको महामारी केही कम भएको र अब जितउन्मुख भएको संकेतका रुपमा सरकारले लिएको छ ।

    विज्ञहरुले भने कोरोनाको दोस्रो लहर शहरी इलाकाबाट शुरु हुने भन्दै सचेत रहनु पर्ने सुझाव दिन्छन् । नेपालमा डिस्चार्ज हुने संक्रमितको संख्या १० हजार २ सय ९४ पुगेको छ। यो सक्रिय संक्रमितको संख्या भन्दा करीव दोब्बर हो । त्यसो पछिल्ला दिनमा नेपालका कोरोनाका नयाँ संक्रमित समेत कम फेला परिरहेका छन् ।

    मन्त्रालयका अनुसार अब आइसोलेसनमा ६ हजार ६ सय १३ जना संक्रमित रहेका छन्। नेपालमा कुल संक्रमितमध्ये ६१ प्रतिशतले कोरोनालाई जित्न सफल भएका छन् । नेपालमा कोरोनाको लक्षण बीना नै संक्रमण भएका बिरामीको संख्या धेरै छ । उनीहरुलाई १४ दिन आइसोलेसनमा बसेपछि डिस्चार्ज गर्ने नीति सरकारले लिएको छ । सोहीकारण एकसाथ धेरै संक्रमित डिस्चार्ज भएका हुन् ।

    सोमबार देशभर रहेका २५ वटा प्रयोगशालाबाट ५ हजार ८ सय ५६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । जसमा मात्र १ सय ४४ जना संक्रमित थपिएका छन्। अहिले देशभर क्वारेन्टिनमा बस्नेको संख्या भने २३ हजार ४ सय ७० छ।

  • नेपालमा एकैदिन १७०५ जना कोरोना संक्रमित डिस्चार्ज

    नेपालमा एकैदिन १७०५ जना कोरोना संक्रमित डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ डिस्चार्ज भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट थप १७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

    यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ।

  • नेपालमा थप १ सय ४४ जनामा कोरोना संक्रमण

    नेपालमा थप १ सय ४४ जनामा कोरोना संक्रमण

    काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ५ हजार ८ सय ५६ वटा नमुना परिक्षण गरिएकोमा १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप १७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ।

    कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

  • म्याग्दीमा पहिराले ज्यान गुमाएका १९ जनाको सामुहिक अन्त्येष्टी, ज्यान गुमाउने संख्या २८

    म्याग्दीमा पहिराले ज्यान गुमाएका १९ जनाको सामुहिक अन्त्येष्टी, ज्यान गुमाउने संख्या २८

    म्याग्दी । म्याग्दीमा पहिरोमा परी ज्यान गुमाउने मानिसको संख्या २८ पुगेको छ । आइतबार एक जनाको शव फेला परेको हो । उनीहरुमध्ये १९ जनाको भने सामुहिक अन्त्येष्टी गरिएको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परी दर्जनौं मानिस वेपत्ता भएका थिए । त्यसमध्ये २८ जनाको ज्यान गएको छ ।

    आइतबार मराङका खिमबहादुर जुग्जालीको शव भेटिएको हो । म्याग्दी प्रहरीका अनुसार यसअघि शनिबार २७ जनाको शव भेटिएको थियो । बाढी र पहिरोमा परेर मालिका–७, बिमकी एलिसा केसी, धवलागिरी–६, मराङ ९कल्लेनीका जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै वेपत्ता छन् ।

    पहिरोमा परेर घाइते भएका दुईजना गर्भवतीसहित १३ जनालाई प्रभु एअर र नेपाली सेनाको  हेलिकोप्टरमार्फत उद्धार गरेर बेनी, पोखरा र काठमाडौं पठाइएको छ । धवलागिरी–६ को मराङ, कल्लेनी, राम्चे र रिखा तथा मालिका–७ को विम, दुले र नुर्बाङमा पहिरो गएपछि ठूलो मानवीय क्षति भएको छ ।

    मराङ पहिरोमा ज्यान गुमाएका १९ जनाको भने आइतबार सामुहिक अन्त्येष्टी गरियो । यहाँ अझै २ जना वेपत्ता छन् । गाउँ नै सखाप हुने गरी पहिरोले क्षति गरेपछि गाउँलेहरु शोकमा छन् । बिहीबार राति बस्ती माथिबाट खसेको पहिरोमा परी १९ को ज्यान गएको थियो । दुई परिवारका ७ जनाको एउटै चिहानमा राखी अन्त्येष्टि गरिएको छ ।

  • तनहुँमा समेत पहिरोको कहर, ११ जना वेपत्ता

    तनहुँमा समेत पहिरोको कहर, ११ जना वेपत्ता

    तनहुँ । नेपालको पहाडी भेगमा पहिरोले ठूलो जनधनको क्षति गर्ने क्रम जारी रहेको छ । सोहीक्रममा तनहुँमा समेत विभिन्न स्थानमा गएको पहिरोले ११ जना मानिसलाई वेपत्ता पारेको छ । अविरल वर्षापछि जिल्लाका थुप्रै स्थानमा पहिरो गएको छ । प्रहरीका अनुसार पहिरोमा ऋषिङ गाउँपालिकाका–८ पल्ट्याङका एकै घरका ५ जना वेपत्ता छन् ।

    व्यास नगरपालिका–९ माझकोटमा घर भत्किएर ४ जना र व्यास नगरपालिका–९ मा एक बृद्धा हराइरहेकोजिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । यसरी म्याग्दे गाउँपालिका–१ का एक सहित तनहुमा ११ जना बेपत्ता भएका हुन् । ऋषिङ गाउँपालिका–८का अनबहादुर थापाको ५ जना एकै घरका छोरा, बुहारी र नातिनी भएको प्रहरीले जनाएको छ ।

    उता, व्यास–९ माझकोटको केशरबहादुर थापाको घर भत्किदा ४ जना र सोही ठाउँका मान बहादुर घर्तीको ७० वर्षीया महिला हराइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र उद्दारको काम जारी रहेको बताइएको छ । गण्डकी प्रदेश यस वर्ष पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको छ । यस प्रदेशको म्याग्दीमा २० जनाको मृत्यु भइसकेको छ । ११ जना अझै वेपत्ता छन् । लमजुंग र कास्कीमा समेत पहिरोले मानवीय क्षति गरेको छ ।

  • न्युयोर्क सहरमा शनिबार पहिलो पटक कोरोनाबाट शुन्य मृत्‍यु

    न्युयोर्क सहरमा शनिबार पहिलो पटक कोरोनाबाट शुन्य मृत्‍यु

    न्युयोर्क      

    कुनै दिन राष्ट्र कै कोरोना एपिसेन्टर बनेको न्युयोर्क सहरमा गत शनिबार ११ तारिख पहिलो पटक कोरोनाको कारण मृत्‍यु तथ्यांक शुन्य रह्यो । कोरोनाको कारण मार्च ११ तारिख पहिलो एक जनाको मृत्‍यु भएको न्युयोर्क सहरमा गत अप्रिल ७ तारिख सबैभन्दा धेरै ५ सय ९७ को मृत्‍यु भएको थियो ।

    न्युयोर्क सहरमा कोरोनाको कारण शनिबार शुन्य मृत्‍यु भएपछि न्युयोर्क सिटी हलकी प्रबक्ता एभ्री कोहेनले एक बिज्ञप्तीमा भनेकी छिन्; ‘न्युयोर्क सहरबासीहरु कोरोना कहरमा  एक अर्कालाई सुरक्षित राख्ने कुरामा सबैभन्दा माथि रहेर नायक साबित भएका छन्’ ।

    न्युयोर्क सहरको ५ बोरोमा शनिबार कसैको पनि मृत्‍यु नभए पनि न्युयोर्क राज्यभरमा भने ५ जनाको मृत्‍यु भएको छ । न्युयोर्क सहरमा हालसम्म १८ हजार ६ सय ७० जनाको मृत्‍यु भई सकेको छ ।

  • न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा

    न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा

    न्युयोर्क

    न्युयोर्कमा कोरोनाभाइरस संक्रमण सम्बद्ध एउटा नयाँ आँकडा सार्वजनिक भएको छ ।आकस्मिक स्वास्थ जाँचको लागि चर्चित सिटिएमडिद्वारा सार्वजनिक आँकडाका अनुसार मार्चमा सुरु भएको महामारीले  सबै  भन्दा  धेरै  प्रभाबित  क्वीन्स  बोरोमा  बसोबास गर्नेहरुको ठुलो संख्यामा  एण्टिबडी  पोजेटिभ  देखिएको छ ।  तर त्यो आँकडाले जोसँग एन्टीबडी छ तिनीहरुको प्रतिरक्षा प्रणाली मजबुत नै भन्ने ग्यारेन्टि भने गरेको होईन ।

    गत बिहिबार न्युयोर्क टाईम्सले पहिलो पटक सार्वजनिक गरेको आँकडा अनुसार कुईन्समा  जाँच  गरिएका  मध्ये  ६८  प्रतिशत कुईन्सस्थित कोरोनाबासीमा एण्टीबडी पोजेटिभ भेटिएको छ भने केही पर ज्याक्सन हाईट्सको क्लिनिकमा जाँच गरिएका मध्ये ५६ प्रतिशतमा एन्टिबडी पोजेटिभ भेटिएको छ । सिटिएमडि न्युयोर्क भरी संचालित बिना अप्वाईन्टमेन्ट बिरामी जाँच्ने क्लिनिक हो ।  

    काम गरी खानु पर्ने बर्गको बाहुल्यता रहेको कोरोना र ज्याक्सन हाईट्सको क्लिनिकमा  यति ठुलो अनुपातमा एन्टीबडी पोजेटिभ भेटिदा ब्रुकलिनस्थित गोरा जाती र धनीहरुको बाहुल्यता रहेको कबल हिलको क्लिनिकमा भने जम्मा १३ प्रतिशतमा मात्र एन्टिबडी भेटिएको छ  । ब्रुकलिनस्थित  फ्ल्याटबुस  क्षेत्रमा  ४५  प्रतिशतमा एण्टीबडी  भेटिएको  छ ।  त्यसैगरी  ठुलो  संख्यामा  हिस्प्यानिक समुदायको  बसोबास  रहेको  र  मध्यम  प्रकृतिको आम्दानी भएको ब्रुकलिनस्थित  बुस्विकमा  ३५  प्रतिशतमा  एण्टीबडी भेटिएको छ । त्यसैगरी  महामारीको  अर्को  केन्द्र  बिन्दु  ब्रोंक्समा ३७ प्रतिशतमा एण्टीबडी  भेटिएको  सिटीएमडिले  जनाएको  छ ।  यो  आँकडाले जनाउँदछ कि अल्पसंख्यक र  काम गरी खानु पर्ने बर्गको बसोबास रहेको समुदाय जो नराम्रोसँग कोरोना महामारीको प्रभाबमा परे त्यति बेला उनीहरुमा प्रतिरक्षा प्रणालीको बिकास भै सकेको हुन सक्दछ ।  जुन २६ सम्म सिटीएमडिले न्युयोर्क शहर भित्र  ३ लाख १४ हजार मानिसमा एन्टीबडी जाँच गरी सकेको छ, जसमध्ये २६ प्रतिशतमा एन्टीबडी पोजेटिभ भेटिएको छ ।
    सिटीएमडिका मेडिकल अपरेसनका सिनियर भाईस प्रेसिडेन्ट डा डेनियल  फ्रोजेलले  न्युयोर्क  टाईम्सलाई  भनेका  छन्;  “जब जनसंख्याको ठुलो हिस्सालाई जाँच गरिन्छ र त्यो जनसंख्या मध्येको ठुलो हिस्सामा  प्राबिधिक  रुपमा  भाईरस  बिरुद्ध  प्रतिरक्षा प्रणाली भेटिन्छ  तब  हामीले  सोच्न  थाल्नु  पर्छ  कि,  के  ती  मानिसमा अब भाईरस  प्रबेश  गर्छ ?  र  ती मानिस कोरोनाको कारण अब  बिरामी हुन्छन् ? भन्ने कुरा लगभग असम्भब नै हो” ।

    एन्टिबडी पोजेटिभ देखिनुको मतलब के वास्तवमा नै यो समुदायको प्रतिरक्षा  क्षमता  बिकास  भएको हो त ? भन्दै डा फ्रोजेलले भनेका छन्; “के उनिहरु सुरक्षित छन् ? यो कति लामो समयको लागि हुने हो ? हामीले कस्तो किसिमको सुझाव यस्ता मानिसलाई दिईरहेका छौ ? त्यो कुरामा हामी धेरै सचेत हुनु पर्दछ” । डा फ्रोजेलले थप प्रस्ट पार्दै भनें; ‘हामीले यस्ता मानिसलाई हात धुनु पर्दैन? मास्क लगाउनु पर्दैन? तिमीहरुले आफुलाई सुरक्षित राख्नु पर्दैन? भनेर भन्न मिल्दैन र भन्न सक्दैनौ’ ।

    न्युयोर्कमा सम्भबित दोश्रो लहरको कोरोना संक्रमणको त्रास रहेको बेला सरुवा रोग बिशेषज्ञ किटो डिमिसीले टाईम्सलाई भनेका छन्; ‘भबिष्यमा कोरोना संक्रमणको खतरा अल्पसंख्यक समुदायमा भने निकै कम हुने छ’।

    न्युयोर्क सहरमा कन्ट्याक ट्रेसिङ प्रोग्रामका कार्यकारी निर्देशक डा टेड लङले पनि प्रतिरक्षा प्रणाली कति शक्तिशाली र कति लामो समयसम्म रहन्छ भन्ने कुरा प्रष्ट नभए पनि उनले आशा ब्यक्त गर्दै भनेका छन्; “महामारीको चपेटामा परिसकेका क्वीन्सको कोरोना जस्तो समुदाय जहाँ बसोबास गर्नेहरुको ठुलो संख्यामा देखिएको एण्टीबडीले समुदायलाई केही न केही कोणको रक्षा भने गर्दछ”।

    यता क्युनी स्कुल अफ पब्लिक हेल्थका सरुवारोग बिषयमा प्रोफेशर डेनिस न्यासले भनेका छन्; “गत महामारीमा कम प्रभाबित समुदाय भित्र अर्को पटक आउने महामारी ब्यापक हुने देखिन्छ” ।  

    क्लिनिक अवस्थित क्षेत्र आसपासका समुदायका मानिसले मात्र आएर त्यो क्लिनिकमा एण्टीबडी जाँच नगर्ने र अन्य ठाउँबाट पनि आएर जाँच गराउने हुँदा ठ्याकै कति जना त्यो समुदायका मानिसमा एन्टीबडी छ, यकिन आँकडा नआए पनि अधिकतम संख्या भने देखिने क्लिनिकले बताएको छ । अमेरिकामा सार्वजनिक भएका राष्ट्रियस्तरको आँकडाले देशभर अश्वेत र गँहु गोरो समुदाय कोरोनाबाट ज्यादा प्रभाबित भएको प्रष्ट भै सकेको छ । यही समुदायका मानिस अधिक मात्रामा अस्पताल भर्ना हुने र मृत्‍यु हुनेमा पर्दछन् । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जुलाई १२ सम्म अमेरिकामा गोरा जाती भन्दा ५ दोब्बर धेरैको अनुपातमा अश्वेत ,अमेरिकन ईन्डियन र अलास्का नेटिभ अस्पताल भर्ना भएका छन्  । गोरा जाती भन्दा हिस्प्यानिक र ल्याटिनो ४ दोब्बर धेरैको अनुपातमा अस्पताल भर्ना भएका छन् ।

    न्युयोर्कमा मार्चदेखि सुरु भएको महामारीमा धनी समुदायका मानिस महामारी लगत्तै कोही सुरक्षित क्षेत्रमा छुट्टी मनाउन गएका थिए भने अधिकांश घरमा नै बसेर काम गर्दै सामाजिक दुरीलाई कायम गर्न सफल भएका कारण संक्रमणबाट सुरक्षित भएका थिए । काम गरी खानु पर्ने बर्ग भने अधिकांश सार्वजनिक यातायात प्रयोग गर्दै काममा जाने र गुजारा चलाऊने गरेको थियो ।  

    (यो सामाग्री हामीले न्युयोर्क टाईम्सबाट लिएका हौं)

  • नेपालीको उद्दारका लागि तेस्रो चरणमा ४२ उडानलाई अनुमति, ६ देशमा जानेछन् जहाज

    नेपालीको उद्दारका लागि तेस्रो चरणमा ४२ उडानलाई अनुमति, ६ देशमा जानेछन् जहाज

    काठमाडौं । नेपालीको विदेशका विभिन्न मुलुकबाट भइरहेको उद्दारको तेस्रो चरण बुधबारबाट शुरु हुने भएको छ । सोमबार र मंगलबार कुनै पनि उडान हुने छैनन् । विमानस्थल, हवाईजहाज तथा अन्य स्थानको सरसफाईका लागि दुई दिन उद्दार उडान बन्द गर्न लागिएको हो । बुधबारबाट भने उडान प्रारम्भ हुनेछ ।

    तेस्रो चरणमा नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न ६ देशबाट ४२ वटा उडानको तालिका तय भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाए अनुसार बुधबारदेखि एक सातासम्म तेस्रो चरणका उडानहरु हुनेछन् ।

    नेपालीको स्वदेश फिर्ती प्रयोजनमा हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, फ्लाई दुबई, एयर अरेबिया, जजिरा एयर र मालिण्डो एयरले उडान अनुमति पाएका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले १६, १६ उडान गर्ने भएका छन् ।

    एयर अरेबियाले २, फ्लाई दुबईले २ र मालिन्दो एयरले ४ वटा उडान गर्ने भएका छन् । जजिरा एयरको समेत दुई उडान निश्चित भएको छ ।

    आगामी साता यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मलेसियाबाट नेपालीहरुलाई घर ल्याउने कार्यक्रम तय भएको छ । शनिबारसम्म २६ हजार ३ सय ९६ जना नेपाली स्वदेश फर्किसकेको विमानस्थलको तथ्यांक छ । यसबीचमा कुल १ सय ४९ उडान भएका छन् ।

  • साझा पार्टीका दुई प्रभावशाली नेता सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी त्यागे

    साझा पार्टीका दुई प्रभावशाली नेता सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी त्यागे

    काठमाडौं । साझा पार्टीबाट दुई प्रभावशाली नेता सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गरेका छन् । दुई सचिवालय सदस्य पार्टीबाट अलग भएसँगै साझा पार्टीलाई भने ठूलो धक्का लागेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनीहरुले पार्टीबाट बाहिरिने जानकारी गराएका हुन् ।

    पार्टीका सहप्रवक्ता शरदराज पाठकले उनीहरूलाई अहिलेसम्मको योगदानका लागि धन्यवाद दिएर विदा गरिएको जानकारी गराएका छन् । पार्टी बाहिर बसेरै सहयोग गर्ने प्रतिवद्धतासहित दुई नेताले पार्टी त्याग गरेका हुन् ।

    पार्टीका संयोजक रवीन्द्र मिश्रसँग निरन्तर विवादमा रहेका उनीहरुले पार्टी त्याग गरेका हुन् । विगतमा नेताहरुलाई गाली गर्दै राजनीतिमा छिरेका मिश्रको पार्टी दुई पटक चोइटिसकेको छ ।

    यी दुई नेताले पार्टी संगठन भंग गरी नयाँ शिराबाट अघि जाने उपाय राखेका थिए । मिश्रसहित केही नेता भने साझाबाटै फुटेर चोइटिएको विवेकशीलमा मिल्ने पक्षमा थिए । सोही विषयमा असहमति भएपछि नेताहरु अलग भएको बताइएको छ ।

  • अन्ततः दोस्रो पटक नेपाल छिर्यो सलह

    अन्ततः दोस्रो पटक नेपाल छिर्यो सलह

    काठमाडौं । नेपालमा भारतबाट दोस्रो पटक सलहको ठूलो समुह छिरेको छ । आइतबार दाङमा भारतबाट सलहको ठूलो झुण्ड भित्रिएको हो । भारतसँग जोडिएको कोइलाबास हुँदै सलहको विशाल झुण्ड नेपालतर्फ छिरेको स्थानीयले जानकारी दिएका छन् । आइतवार छिरेको सलह राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा फैलिएको छ ।

    यसले बालीमा ठूलो क्षति पुर्याउने अनुमान छ । कृषले ठूलो आवाजमा विभिन्न भाडा बजाएर सलह लखेटेका छन् । यी दुई गाउँपालिकाबाट भागेका सलहको समूह पहाडी जिल्ला तर्फ लागेको छ । प्यूठानसम्म प्यूठानसम्म सलहको झुण्ड देखिएको छ ।

    कृषकलाई दोस्रो पटक सलह भित्रन सक्ने बारे भने यसअघि नै सचेत गराइएको थियो । यसअघि दुई साता अगाडी सलह भित्रिएको थियो । तर, नेपालमा प्रतिकुल मौसमका कोरण उक्त सलह एक सातामै निष्कृय भएको थियो ।

  • अवैध मृगौला प्रत्यारोपणमा प्रहरीसमेत मुछियो

    अवैध मृगौला प्रत्यारोपणमा प्रहरीसमेत मुछियो

    काठमाडौं । अघिल्लो जेठमा भएको एक मृगौला प्रत्यारोपणमा नक्कली नाता सम्बन्ध कायम गरी मृगौला किनबेच प्रकरणमा प्रहरीको समेत संलग्नता खुलेको छ । २०७६ जेठ २७ मा चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भएको मृगौला प्रत्यारोपणमा नक्कली भान्जा खडा गरी मृगौला दिएको खुलेको हो ।

    ललितपुरका एक जनामा गरिएको मृगौला प्रत्यारोपणबारे गत असोजमा प्रहरी समक्ष एक बेनामे उजुरी परेपछि भने यो प्रकरणको अनुसन्धान थालिएको थियो । २०७६ असोज २ मा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोमा नक्कली भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको ‘बेनामे उजुरी’ परेको थियो ।

    सोही अनुसन्धानका आधारमा प्रहरीले नक्कली भान्जा खडा गरी मृगौला लिएको तथ्य पुष्टी गरेको हो । सो अभियोगमा जनप्रतिनिधि, डाक्टरसहित १२ जना पक्राउ परिसकेका छन् । त्यसमा अब प्रहरीसमेत मुछिएको छ । मिर्गौला तस्करीमा चितवनको कलेज अफ मेडिकल साइन्सेजबाट नक्कली कागजात खडा गरी विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरिएको पाइएको छ ।

    जसमा तेस्रो व्यक्तिको मिर्गौला झिकेर राखिएको छ । अर्थातः सक्कली भान्जा विदेशमा रहेका बेला नेपालमा नक्कली भान्जाबाट मृगौला हालिएको छ । घटनामा मुछिएका गुल्मीको रेसुंगा नगरपालिका २ का प्रहरी सहायक निरीक्षक (असई) भीमप्रसाद ढकाल र निलम्बित प्रहरी नायव निरीक्षक (सई) योगेन्द्रराज थपलिया समेत पक्राउ परेका हुन् ।

    उनीहरुमध्ये थपलिया यसअघि पनि मृगौला प्रत्यारोपणकै प्रकरणमा मुछिएका व्यक्ति हुन् । उनी २०७६ साउनमा काभ्रे बाङ्थलीका विष्णु खड्काको भारतमा लगेर मिर्गौला निकाल्न लागिएको घटनामा पनि मुछिएका थिए । यस प्रकरणमा भरतपुर मेडिकल कलेजबाट डा. राकेश कुमार बर्मा, अस्पतालका सिइयो डा. सुप्रभात श्रेष्ठ, डा. बालकृष्ण कालाखेती पक्राउ परेका छन् ।

    कलेजका कानुनी सल्लाहकार अधिवक्ता रमेश काफ्ले, जिल्ला प्रशासन चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल, ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाश प्राप्त खरिदार नवराज केसीलाई समेत प्रहरीले यस प्रकरणमा पक्राउ गरेको छ । जिल्ला प्रशासनका कार्यालय सहायक नवराज केसीसमेत पक्राउ परेका हुन् । यसबाहेक जमुना राजभण्डारी र रेश्मा राई समेत यस प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।

  • भाइरस हावाबाट एकआपसमा कसरी सर्दछ ? कसरी बच्ने ? हेर्नुहोस् – एक खोज

    भाइरस हावाबाट एकआपसमा कसरी सर्दछ ? कसरी बच्ने ? हेर्नुहोस् – एक खोज

    न्युयोर्क

    कोरोना लगायत बिभिन्न किसिमका भाइरसहरु हावामा कसरी रहन्छन् ? एक व्यक्तिको शरीरबाट निस्काषित भाइरसयुक्त खकार-बिकार कसरी फैलन्छ ? भन्ने बिषयमा जापानका प्राध्यापकहरुले गरेको एक सुक्ष्म अध्ययन सार्वजनिक गरका छन् ।

    https://youtu.be/EPNBHuu755E

    यस अध्ययनका अनुसार मास्क, सामाजिक दुरी र हावा चलिराख्ने स्थान सुरक्षित हुने निस्कर्ष निकालेका छन् । कति समयसम्म भाइरसहरु हावामा कसरी रहन्छन्, अध्ययनमा देखाइएको छ ।
    भिडियो श्रोत: एनएचके वर्ल्ड, जापान

  • नेपालमा कोरोना संक्रमितको संख्या घट्यो, थप ८२ जनामा कोरोना संक्रमण

    नेपालमा कोरोना संक्रमितको संख्या घट्यो, थप ८२ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३९१६ वटा नमुना परिक्षण गरिएकोमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १ सय ४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ८हजार ५ सय ८९ रहेका छन्।

    कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

  • मार्चको महामारीपछि न्युयोर्कमा सबैभन्दा थोरै मानिस अस्पताल भर्ना

    मार्चको महामारीपछि न्युयोर्कमा सबैभन्दा थोरै मानिस अस्पताल भर्ना

    न्युयोर्क      

    न्युयोर्कमा कोरोना महामारी सुरु भए यता शुक्रबार सबैभन्दा कम बिरामी अस्पताल भर्ना भएका छन् । मार्चपछि शुक्रबार सबैभन्दा कम ७ सय ९९ जना मात्र न्युयोर्क राज्यभरका अस्पतालमा उपचारको लागि बिरामी भर्ना भएको गभर्नर कुमोले बताएका छन् । न्युयोर्क राज्यमा तीन दिनदेखि लगातार दैनिक ७ जनाको कोरोनाको कारण मृत्‍यु भएको छ भने शुक्रबार त्यो संख्या घटेर ६ जनाको मृत्‍यु भएको छ । न्युयोर्क राज्यमा दैनिक मृत्‍यु हुनेको यो संख्या मार्च १६ पछि सबैभन्दा कम हो । न्युयोर्कमा शुक्रबार ७ सय ३० जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार थपिएका मृतकको संख्यासंगै न्युयोर्क राज्यमा २४ हजार ९ सय ७४ को मृत्‍यु भएको छ ।  

    गभर्नर कुमोले न्युयोर्क राज्यमा संक्रमित अस्पताल भर्ना हुने र मृतकको संख्या घटे पनि सप्ताहन्तमा भाईरसले बिदा नमनाउने हुँदा सबैलाई मास्क लगाउन, हात धुन, सामाजिक दुरी कायम गरी होसियार रहन  अनुरोध गरेका छन् ।

  • विदेशमा ९२ प्रतिशत नेपालीले जिते कोरोना

    विदेशमा ९२ प्रतिशत नेपालीले जिते कोरोना

    काठमाडौं । विदेशमा कोरोनाबाट संक्रमित भएको ९२ प्रतिशत नेपालीले कोरोना जित्न सफल भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता कोरोनाका कारण विदेशमा कुनै पनि नेपालीको ज्यान गएको छैन । विदेशमा कोरोना भाइरसका कारण निधन हुने र संक्रमित हुनेको दर समेत उल्लेख्य घटेको छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले यसको जानकारी दिएका हुन् ।

    उनका अनुसार शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जनामा कोरोना देखिएको छ । त्यसमध्ये २७ हजार ३ सय ६२ जना नेपालीले कोरोनालाई जित्त सफल भएका छन् । अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ ।

    नेपालमा समेत गरेर विश्वभर ज्यान गुमाउने नेपालीको संख्या १ सय ८१ छ । ४६ हजार ३ सय ४६ जना संक्रमित भएका छन् । नेपालमा करीव १७ हजारमा कोरोना देखिएको छ ।

    उता, नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरिएको समेत संघले जनाएको छ ।

    यसैगस अवधिमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनको विज्ञप्तीमा उल्लेख छ ।

  • झापामा नदीले बगाउँदा एकको मृत्यु, एक वेपत्ता

    झापामा नदीले बगाउँदा एकको मृत्यु, एक वेपत्ता

    झापा । झापामा नदीमा बगेर एक जनाको ज्यान गएको छ । अर्को एक जना वेपत्ता रहेका छन् । कन्काई नदीमा आएको बाढीले बगाउँदा झापाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मलामी गएका थिए । त्यसक्रममा पौडी खेल्न नदीमा पसेका उनलाई बाढीले बगाएको बताइएको छ ।

    खोजी तथा उद्धारका क्रममा प्रहरीले उनको शव बाह्रदशी गाउँपालिका–२ मा फेला पारेको बताएको छ । उता झापाकै भद्रपुर नगरपालिका ३ मा मेची खोलाले बगाउँदा स्थानीय ३३ वर्षीय हिरण राई बेपत्ता भएका छन्‌। उनी नुहाउन नदीमा पसेको प्रहरीको भनाई छ । उनको खोजी भइरहेको बताइएको छ ।

    अहिले देशभर बाढी र पहिरोले ठूलो मानवीय क्षति गरिरहेको छ । पहाडी भेगमा ठूलो पानी परिरहेका कारण तराईका नदीमा समेत पानीको वहाव बढेको छ ।