Category: फिचर

  • डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

    डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सदस्यताबाट अमेरिका औपचारिक रुपमा बाहिरिएको छ । ट्रम्प सरकारले यस अघि नै डब्लूएचओबाट अलग हुने घोषणा गरेको थियो । अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिका औपचारिक रुपमै डब्लुएचओबाट अलग भएको हो ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाले महामारी लिन थालेसँगै यो संस्थाको कडा विरोध गर्दै आएका थिए । उनले संगठनले चीनलाई मात्र सहयोग गरेको र अमेरिकालाई समयमै उचित सुझाव दिन नसकेको बताउँदै आएका थिए । यो संयुक्त राष्ट्रसंघ मातहतको एक निकाय हो ।

    संगठनमा यसअघि अमेरिकाले सबैभन्दा ठूलो धनराशी सहयोग गर्दै आएको थियो । अमेरिकाले हात झिकेपछि संगठनमा अहिले चीनको सहयोग बढेको छ । राष्ट्रपति ट्रम्पले विश्वभर कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणमा समेत प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको आरोप डब्लुएचओमाथि लगाएका छन् ।

    अमेरिकाको यो आरोप र असन्तुष्टि तथा उसका कदमप्रति विश्वका अन्य मुलुक भने सहमत छैनन् । संगठनले समेत अमेरिकाको यो कदमलाई दुखदः भनेको छ ।

    डब्लुएचओबाट अमेरिका बाहिरिने र डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने बारे अमेरिकाले औपचारिक रुपमै निर्णय गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् । अमेरिका संगठनबाट बाहिरिने सम्बन्धी पत्र अमेरिकाले राष्ट्रसंघका महासचिव समक्ष पठाएको छ ।

  • हतार-हतार संसद बन्द गर्ने सरकारी निर्णयको विरुद्धमा विपक्षी दल

    हतार-हतार संसद बन्द गर्ने सरकारी निर्णयको विरुद्धमा विपक्षी दल

    काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल त परै आओस, आफ्नै दलमा समेत छलफल नगरी संसदको बजेट अधिवेशन बन्द गरेको थियो । यसको जानकारी सभामुख अग्नी प्रसाद सापकोटालाई समेत थिएन । सरकारले हतारमा बन्द गरेको संसदमा थुप्रै विधेयक अड्किएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी दलसमेत सरकारको यस निर्णयको विपक्षमा उभिएका छन् ।

    संसद अधिवेशन अन्त्य भएपछि उनीहरुले विशेष अधिवेशन आह्वान गर्नुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दुई पार्टीका शीर्ष नेताबीच छलफल भएको छ । छलफलमा संसदमा दर्ता गरेको संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई तत्कालै अगाडि बढाउन माग गर्दै विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।

    संसदमा विशेष अधिवेशन आह्वान गर्न कुल सांसदको २५ प्रतिशत सदस्य आवश्यक पर्छ। कांग्रेससँग २२ प्रतिशत सांसद रहेका छन् । एमसीसी पास गराउने सवालमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवाको एक मत थियो । तर, सत्तारुढ दल भित्रैबाट दवावमा आएका प्रधानमन्त्रीले संसद बन्द गर्दा नेपालमा एमसीसीको भविश्य नै अन्यौलमा छ ।

    त्यसकारण प्रमुख प्रतिपक्षी दल कांग्रेस प्रधानमन्त्रीसँग संशकित बनेको हो । यसअघि प्रधानमन्त्रीले बर्खे अधिवेशनमै अमेरिकी परियोजना एमसिसी संसदबाट अनुमोदन हुने आश्वासन दिएका थिए । तर, उनले पार्टीमा यसबारे सहमति जुटाउन सकेनन् । एमसीसीबारे नेकपा भित्र भने ठूलो विवाद रहेको छ ।

  • के नियन्त्रण उन्मुख छ नेपालमा कोरोना ? नयाँ संक्रमण र डिस्चार्ज बराबर

    के नियन्त्रण उन्मुख छ नेपालमा कोरोना ? नयाँ संक्रमण र डिस्चार्ज बराबर

    काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमण र डिस्चार्ज हुने संख्या करीव बराबरीमा आएको छ । पछिल्लो २४ घण्टामा देशभर २ सय ५५ जना कोरोना संक्रमित थपिए । यस अवधिमा कोरोनालाई जितेर घर फर्कने संक्रमितको संख्या समेत २ सय ५३ रहेको छ । यस प्रकार नयाँ थपिने र कोरोनालाई जित्ने दर अब भने करीव बराबरीमा झरेको हो । यसले सरोकारवालामा सकारात्मक संचार उत्पन्न गरेको छ ।

    सरकारले यसबीचमा कोरोना परीक्षणको संख्या भने घटाएको छैन । देशका विभिन्न प्रयोगशालामा ४ हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म कोरोना जित्नेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । बुधबारसम्म नेपालमा कुल संक्रमितको संख्या भने १६ हजार ४ सय २३ पुगेको छ।

    बुधबार ४ हजार ६ सय ९६ गरी अहिलेसम्म नेपालमा पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ । यो जनसंख्याको अनुपातमा दक्षिण एसियाकै सबैभन्दा धेरै हो । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन्। क्वारेन्टिनहरुमा २५ हजार ४० रहेको तथ्यांक छ । अहिले क्वारेन्टिनमा बस्ने मानिसको संख्या समेत उल्लेख्य घटेको छ ।

  • अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे

    अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे

    न्युयोर्क

    इमिग्रेसन एण्ड कस्टम एजेन्सीले अनलाईनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई अमेरिका बस्न नपाउने नीति लागू गर्ने निर्णय उपर चर्चित युनिभर्सिटीहरु हार्भर्ड र एमआइटिले ट्रम्प प्रशासन बिरुद्ध मुद्धा दायर गरेको छ । सोमबार अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले महामारीको समयमा भौतिकरुपमा अध्यापन गराउन सम्भव नभएपछि अनलाईन मार्फत अध्ययन गरेर बसेका लाखौं अन्तरराष्ट्रिय विद्यार्थी लक्षित नयाँ आप्रबासन नीति सार्वजनिक गरेको थियो । सोही निर्णयको सम्वन्धमा हार्भर्ड र म्यासिचुइस्टेट्स ईन्स्टिचुट अफ टेक्नोलोजीले बुधबार उक्त नीति बिरुद्ध मुद्धा दायर गरेका हुन् । ती दुई चर्चित विश्वबिद्यालयले ट्रम्प प्रशासन बिरुद्धको मुद्धामा यदि आफुले अध्ययन गर्दै आएको विश्वबिद्यालयले भौतिक कक्षा संचालन गर्न असमर्थ भएको खण्डमा अमेरिका छोड्नु पर्ने नीतिलाई तत्कालका लागि अस्थयीरुपमा फिर्ता लिन माग गरेको हार्भर्ड विश्वबिद्यालयका प्रेसिडेन्ट लरेन्स बाकाउले बुधबार जनाएका छन् ।

    ईमिग्रेसन एन्ड कस्टम एजेन्सीले अनलाईन मात्र अध्ययन गर्ने त्यस्ता विद्यार्थीहरुको भिषा फिर्ता लिइने जनाएको थियो । साथै अटेर गरे अमेरिकाबाट स्वदेशसम्म फर्काउन सकिने चेतावनी समेत एजेन्सीको रहेको छ । अमेरिकाको यो नयाँ आप्रवासन नीतिबाट धेरै विदेशी समस्यामा पर्ने चिन्ता बढेको छ । यकिन तथ्यांक नभए पनि १० लाख भन्दा धेरै अन्तरराष्ट्रिय विद्यार्थी अमेरिकी विश्वबिद्यालयहरुमा अध्ययन गर्दै गरेको अनुमान छ । अमेरिकी अर्थतन्त्रमा वार्षिक ४४ दशमलब ७ अरब अमेरिकी डलर योगदान बिदेशी विद्यार्थीले दिने गरेका छन् ।

  • सडकमा प्रधानमन्त्री पक्षधरको तमासा, कोरोना वेवास्ता गर्दै जयजयकार जुलुस

    सडकमा प्रधानमन्त्री पक्षधरको तमासा, कोरोना वेवास्ता गर्दै जयजयकार जुलुस

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताप्रति उत्तरदायी बन भन्दै केही दिन अगाडी एक स्वतन्त्र अभियान शुरु भयो । इनफ इज इनफ अभियानबाट युवाहरु स्वतःस्फुर्त रुपमा सडकमा आइ सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसबेला सरकारले प्रहरी लगाएर शान्तीपूर्ण आन्दोलनमा दमन गरेको थियो । अश्रु ग्यास र पानीको फोहोरा हानेर तमासा देखाइएको थियो ।

    उक्त आन्दोलनको माहौल सुक्नै नपाउँदै सडकमा प्रधानमन्त्री केपी ओलीको समर्थनमा भन्दै जुलुस देखिन थालेका छन् । चोकचोकमा केही दर्जन मानिस भेला भएर प्रधानमन्त्रीको समर्थन र पार्टी भित्रैकै अन्य नेताको विरोधमा नारा लगाउँछन् ।

    प्लेकार्डमा प्रधानमन्त्रीको देवत्वकरण गरिएको हुन्छ । एकतर्फ शीर्ष नेताको पहलमा वार्ताबाट समस्या समाधानमा प्रयास जारी रहँदा सडकमा भइरहेको यो तामासालाई भने धेरैले नौटकींको संज्ञा दिएका छन् ।

    आफ्नै नेता सरकारमा रहेको, आफ्नै पार्टी भित्र सरकारका कामको व्यापक आलोचना भइरहेको, प्रधानमन्त्रीमाथि नेताहरुमाथि गम्भीर धोकाको आरोप लागिरहँदा उनको समर्थनमा भन्दै निस्किएका जुलुसले प्रधानमन्त्रीको तानाशाही शैलीको झल्को फेरी एकपटक दर्शाएको छ ।

    कोरोनाको वेवास्ता गर्दै सडकमा प्रधानमन्त्रीको जयजयकार किन ? भन्दै आइरहेका प्रश्नको भने जवाफ स्वयमः प्रदर्शनकारीसँग समेत छैन ।

  • उपत्यकाका थप २३ जनामा कोरोना पुष्टि,पाँच जिल्लामा संक्रमण मुक्त

    उपत्यकाका थप २३ जनामा कोरोना पुष्टि,पाँच जिल्लामा संक्रमण मुक्त

    काठमाडौं । काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    त्यसैगरी देशभरका ७७ जिल्लामा फैलिएको कोरोना संक्रमण पाँच जिल्लामा संक्रमण शून्य देखिएको छ ।

    मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिएको हो ।

  • नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण

    नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप २ सय ५३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

    यो सहित डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ। मृतकको संख्या ३५ पुगेको छ ।

  • मालपोत कार्यालय डिल्लीबजारका प्रमुख अख्तियारको नियन्त्रणमा

    मालपोत कार्यालय डिल्लीबजारका प्रमुख अख्तियारको नियन्त्रणमा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्द अधिकारीलाई नियन्त्रणमा लिएको छ । २ असारमा घुससहित रंगेहात पक्राउ परेका ६ जना कर्मचारीको बयानपछि अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो । २ असारमा डिल्लीबजार मालपोत कार्यालय अधिकृत रघुवंश कँडेल सहित ६ जना कर्मचारी ८ लाख ५० हजार घुस सहित रंगेहात पक्राउ परेका थिए ।

    जग्गाको कित्ताकाट गर्ने आदेश गराईदिए बापत उनीहरुले सेवाग्राहीसँग घुस लिएको अख्तियारको भनाई छ । ती कर्मचारीको बयानपछि अधिकारी अख्तियारको फन्दामा परेका हुन् । आफु मातहतका कर्मचारी पक्राउ परेपछि अधिकारीलाई डिल्लीबजार मालपोतबाट भूमि व्यवस्थापन तथा अभिलेख विभागमा काजमा फिर्ता गरिएको थियो।

    अख्तियारले घुस प्रकरणबारे थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रवक्ता प्रदीप कोइरालालाई उदृत गर्दै नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् । सामाखुसीस्थित स्टार पार्टी प्यालेशबाट अधिकृत रघुवंश कँडेल, खरिदार दिपक खनाल, नासु उद्धव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे र गोपाल खड्का अख्तियारबाट रंगेहात पक्राउ परेका थिए ।

  • नेकपा स्थायी कमिटि बैठक आज पनि स्थगित

    नेकपा स्थायी कमिटि बैठक आज पनि स्थगित

    काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक आज पनि स्थागित भएको छ । बैठक असार २६ गते ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उल्लेख गरेका छन् । आज विहान ११ बजेका लागि बैठक राखिएको थियो । त्यसअगाडी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल हुने कार्यक्रम थियो ।

    नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति कायम गर्नका लागि भन्दै बैठक स्थगित भइरहेको छ । तर, सहमति भने जुट्न सकेको छैन । सोमबार र मंगलबार दुई अध्यक्षबीच करीव ६ घण्टा वार्ता भएपनि टुंगोमा भने पुग्न सकेन ।

    असार १० गतेदेखि सुरु भएको बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीले सत्ता र पार्टी दुवैको नेतृत्व छाड्नुपर्ने माग गरिरहेका छन् । सोहीकारण प्रधानमन्त्री बैठक आलटाल गर्ने पक्षमा छन् । प्रचण्ड र ओलीबीच बुधबारसमेत छलफलको तयारी रहेको बताइएको छ । तर, त्यसको समय भने तय भइसकेको छैन ।

  • दोस्रो कार्यकाल राष्ट्रपति बन्ने ट्रम्प सपना ;साँघुरिँदै सम्भावना

    दोस्रो कार्यकाल राष्ट्रपति बन्ने ट्रम्प सपना ;साँघुरिँदै सम्भावना

    प्रभात भट्टराई /अमेरिका

    अमेरिकामा राष्ट्रपतिको चुनाव आउन चार महिना मात्र बाँकी छ । डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिने जुन तयारीमा पछिल्ला तीन बर्ष संघर्षरत थिए चुनाव नजिकिँदै जाँदा उनको संभावना थप न्यून बन्दै गएको छ । कोरोना भाइरस महामारी माथिको सुरु देखिको वेवास्ता र काला जातीका नागरिक माथि सामाजीक न्यायका लागि भएका आन्दोलनप्रतिको बक्र दृष्टिले उनको लोकप्रियता थप धरापमा परेको हो ।

    ट्रम्प यस्ता अमेरिकी राष्ट्रपति हुन् जसले निर्वाचित भएपछि विश्वासिला मत सर्भेक्षणहरुमा कहिल्यै ५० प्रतिशत लोकप्रियता (जब एप्रुभल रेटिङ) आर्जन गर्न सकेका छैनन् । सिनेटमा महाभियोग प्रस्ताव फेल भएपछि गत फेब्रुअरीमा उनको लोकप्रियता केही उकालो लाग्न थालेको थियो । मार्च अन्त्यमा उनले राष्ट्रपति पद सम्हाले यताकै उच्च एप्रुभल रेटिङ आर्जन गरेका थिए । रियल क्लियर पोलिटिक्सले प्रकाशित गरेको तथ्यांक अनुसार त्यसबेला उनको औषत लोकप्रियता ४७ प्रतिशतसम्म पुगेको थियो । उनको औषत अलोकप्रियता पनि साढे ४९ प्रतिशतसम्म झरेको थियो । तर, कोरोना भाइरस संक्रमण र मृत्युदर बृद्धिसँगै उनको लोकप्रियता खस्किन थाल्यो । अप्रिल अन्तिम साता मिनिसोटा प्रहरीले निशस्त्र अवस्थामा पक्राउ गरि काला जातीका जर्ज फ्लोयडको हत्या गरेपछि सुरु भएको नागरिक आन्दोलनप्रतिको ट्रम्पको रवैयाले उनको लोकप्रियता ४० प्रतिशतमा खुम्च्याइदिएको छ भने अलोकप्रियता ५५ प्रतिशत हाराहारी पुगेको छ ।

    राजनीतिक सर्भेक्षणहरुको तथ्यांक संकलन गरेर औषत आँकडा निकाल्ने रियल क्लियर पोलिटिक्स र फाइभथर्टीएट दुबै साइडमा अहिले ट्रम्पको लोकप्रियता न्यून बिन्दुमा छ । रियल क्लियर पोलिटिक्सको मंगलबारको औषत तथ्यांक अनुसार ४१.७ प्रतिशत सर्वसाधारणले ट्रम्पको काम कारबाही मन पराएका छन् भने ५६.२ प्रतिशतले ट्रम्पप्रति असन्तुष्टि जनाएका छन् । सन् २०१७ को डिसेम्बर यता ट्रम्प सबैभन्दा अलोकप्रिय अवस्थामा आइ पुगेका हुन् । त्यसबेला उनको काम नरुचाउने अमेरिकीको संख्या ५७ प्रतिशत थियो ।

    यस्तै फाईभ थर्टी एटको औषत तथ्यांक अनुसार मंगलबार ट्रम्पको जब एप्रुभल रेटिङ ४०.६ प्रतिशत एवं उनको काम नरुचाउने संख्या (डिस्एप्रभुल) ५५.८ प्रतिशत रहेको छ । दोस्रो कार्यकालका लागि चुनाव हारेका पूर्व अमेरिकी राष्ट्रपति जर्ज एचडब्लु बुसको अलोकप्रियता चुनावको चार महिना अघि ट्रम्पकोभन्दा सन्तोषजनक थियो भने जिम्मी कार्टर यही अवस्थामा थिए । अरु कुनै पनि राष्ट्रपतिको अवस्था यति अलोकप्रिय थिएन ।

    सोमबार सार्वजनिक ग्यालप न्यूजको सर्वेक्षण अनुसार ट्रम्पको लोकप्रियता ३८ प्रतिशतमा खस्किएको छ भने उनको अलोकप्रियता ५७ प्रतिशत रहेको छ । ग्यालपको सर्भेक्षणमा ट्रम्पको लोकप्रियता लामो समय ४० प्रतिशतभन्दा कम या हाराहारी रहेको थियो । गत जनवरीमा पहिलो पटक उनको काम मन पराउनेको संख्या ४९ प्रतिशत पुग्यो । त्यसबेला उनको कामप्रति ऋणात्मक नम्बर दिने भने ५० प्रतिशत थिए । मार्चमा फेरि ४९ प्रतिशतले ट्रम्पको काम मन पराएको जवाफ दिए । त्यसबेला उनको काम कारबाही मन नपराउनेको संख्या ४५ प्रतिशतमा झरेको थियो । ग्यालपको सर्भेक्षणमा ट्रम्पको सबैभन्दा राम्रो नतिजा नै त्यही सावित हुन पुग्यो । सन् १९४५ देखि अमेरिकी राष्ट्रपतिको लोकप्रियता सर्वे गर्दै आएको ग्यालपमा ट्रम्पको एप्रुभल रेटिङले कहिल्यै ५० प्रतिशत पासमार्क छुन सकेन ।

    ट्रम्पप्रति निराश मतदाता बढेसँगै उनी डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग पनि ठूलो अन्तरमा पछि परेका छन् । रियल क्लियर पोलिटिक्सको औषत तथ्यांक अनुसार अहिले बाइडेनलाई ४९.६ प्रतिशत अमेरिकीको समर्थन रहेको छ । पोलिटिक्सले पछिल्लो साता सार्वजनिक बिभिन्न सात सर्भेक्षणहरुको औषत विवरण प्रकाशित गरे अनुसार ट्रम्पप्रतिको समर्थन ४०.९ प्रतिशत मात्र रहेको छ । यस्तै फाइभथर्टीएटको औषत विवरणमा पनि बाइडेन समान अनुमातमा अगाडि छन् । बाइडेनले ५१.१ प्रतिशत समर्थन पाउँदा साढे ४१ प्रतिशतले ट्रम्पलाई मतदान गर्ने बताएका हुन् ।

    २०१६ र अहिलेको अवस्थामा के फरक ?

    द्वितिय विश्वयुद्ध यता लोकप्रियता यति न्यून बिन्दुमा खस्किएका कोही पनि अमेरिकी राष्ट्रपति दोस्रो कार्यकालका लागि निर्वाचित हुन सकेका छैनन् । ट्रम्प समर्थकहरु २०१६ मा पनि सर्भेक्षणमा उनी पछि देखिएको तर नतिजा विपरित आएको दावी गर्दै आएका छन् । तर , अहिलेको अवस्था र २०१६ मा ठूलो अन्तर देखिएको छ । मुलतः अहिले ट्रम्प वहालवाला राष्ट्रपति हुन् । चार बर्ष अघि बाहिरको व्यक्ति थिए र वासिंटनको राजनीतिमा लामो समय सकृय पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई चुनौति दिँदै थिए । यस अनुरुप सत्ताको वहालवाला राजनीतिज्ञको वेफाइदा क्लिन्टनलाई थियो जुन अहिले ट्रम्पलाई रहेको छ । ट्रम्पको काम कारबाहीप्रति बहुमत जनता खुसी नभइ उनले दोस्रो कार्यकालको जिम्मेवारी पाउन सक्दैनन् । अनेक विवादमा परे पनि निर्वाचित भएयता अमेरिकी अर्थतन्त्र निरन्तर उकालो लागेको थियो । बाराक ओबामाले २००८ को मन्दीबाट उठाएर सबल अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाएका थिए । ट्रम्प निर्वाचित भएपछि पनि बेरोजगारीदरमा निरन्तर गिरावट आयो ।

    ट्रम्प अत्यन्त कमजोर अवस्थाको अर्थतन्त्र आफुले एक्लो पहलमा उठाएको शैलीमा उपलब्धिको बखान लगाउन व्यस्त थिए । तर, कोरोना भाइरस संक्रमणले उनको आर्थिक उपलब्धिको दावीमा नराम्रो ब्रेक लगाइदियो । अहिले अमेरिका सन् १९३७ को गम्भिर आर्थिक मन्दीपछिकै धेरै बेरोजगारी ( ११ प्रतिशत बढि) को अवस्थामा रहेको छ । सन् २०२० को अन्त्यसम्म बेरोजगारी दोहोरो अंकमै रहने अमेरिकी फेडरल रिजर्भ बैंकको प्रक्षेपण रहेको छ । कोरोना भाइरस संक्रमण र मृतकमा संसारकै एक नम्बर, सामाजीक न्यायको आन्दोलन प्रति बहुमत अमेरिकीभन्दा फरक धारणा र कमजोर आर्थिक आँकडाबीच सर्भेक्षणमा ठुलो अन्तरले पछि परेको कारण यसपाली २०१६ दोहोरिने सम्भावना नगन्य रहेको विश्लेषकहरुको राय छ ।

    अझ चार बर्ष अघिको प्रतिश्पर्धा दुई अलोकप्रिय उम्मेद्वारको बीचमा रहेको थियो । तर, अहिले त्यसको ठिक विपरित अवस्था छ । सन् २०१६ मा हिलारी क्लिन्टनको तुलनामा अहिले जो बाइडनेको लोकप्रियता धेरै उच्च देखिएको छ । रियल क्लियर पोलिटिक्सको औषत आँकडा अनुसार सन् २०१६ को जुन अन्त्यमा हिलारी क्लिन्टन ट्रम्पभन्दा साढे चार प्रतिशत बिन्दुले अघि थिइन् । अहिले बाइडेन त्यसको दोब्बर अग्रताको अवस्थामा छन् । कुनै कुनै सर्भेक्षणमा क्लिन्टनले ट्रम्पलाई दोहोरो अंकले पनि उछिनेकी थिइन् । तर, त्यती हुँदा पनि हिलारीलाई मत हाल्ने बताउने संख्या ४५ प्रतिशत हाराहारी मात्र थियो । अर्थात् निर्णय गर्न बाँकी मतदाताको संख्या धेरै थियो । ट्रम्पले तिनै मतदाता केन्द्रित प्रचार नीति बनाए र सफल पनि भए । तर, अहिले बाइडेनलाई मतदान गर्ने बताउनेको संख्या ५० प्रतिशत या त्यसको आसपास छ । कुनै उम्मेद्वारले आधा मत पाइ सकेपछि विपक्षीले जति भोट ल्याए पनि या जति मतदाता अनिर्णित रहेपनि निर्वाचन परिणामलाई फरक पर्दैन ।

    बाइडेनको अहिलेको अग्रता २००८ मा जोन म्याकेन बिरुद्ध बाराक ओबामाको भन्दा पनि सहज छ । सन् २००८ को जुन अन्त्यमा ओबामा म्याकेनभन्दा साढे पाँच प्रतिशत बिन्दुले अघि थिए ।

    बाइडेनका लागि सबैभन्दा सवल पक्ष उनीप्रति सकारात्मक (फेवरेवल) भाव राख्ने अमेरिकीको संख्यामा देखिएको छ । अघिल्लो साता सार्वजनिक प्यु रिसर्चको सर्भेक्षण अनुसार ४८ प्रतिशत अमेरिकीले बाइडेनलाई इमान्दारको संज्ञा दिएका छन् । ट्रम्पलाई इमान्दार मान्नेको संख्या ३६ प्रतिशत मात्र छ । प्राय सबै सर्भेक्षणमा बाइडेनलाई इमान्दार मान्नेको संख्या ४५ देखि ५० प्रतिशत रहेको छ भने ट्रम्प ३५ प्रतिशत आसपासमै छन् । चार बर्ष अघि पनि ट्रम्पको अवस्था यही थियो तर उनका प्रतिश्पर्धी पनि उनीभन्दा खास लोकप्रिय थिइनन् । त्यसबेला क्लिन्टनलाई इमान्दार मान्ने पनि ३६ प्रतिशतको आसपास थिए ।

    रियल क्लियर पोलिटिक्सको औषत आंकडा अनुसार अहिले ट्रम्पप्रति सकारात्मक भाव राख्ने अमेरिकी ४० प्रतिशत छन् भने उनलाई मन नपराउने ५६ प्रतिशत । बाइडेनको औषत फेवरेवलिटी भने साढे ४४ प्रतिशत छ । उनीप्रति नराकात्मक भाव राख्नेको औषत संख्या भने ४६ प्रतिशत छ । यसरी ट्रम्पको फेवरिवलिटी ऋणात्मक १५ प्रतिशत हुँदा बाइडेनको ऋणात्मक साढे एक प्रतिशत रहेको छ । बाइडेनप्रति तटस्थ अमेरिकी १० प्रतिशत हाराहारी छन् । अझ रिपब्लिकन झुकावको फक्स न्यूजको पछिल्लो सर्भेक्षणमा ५३ प्रतिशत अमेरिकीले बाइडेनप्रति सकारात्मक धारणा बताएका थिए । जबकी चार बर्ष अघि क्लिन्टनको फेवरिविलिटी ऋणात्मक १३ प्रतिशत थियो ।

    सुरु देखिनै अलोकप्रिय रहेकी क्लिन्टनलाई जब चुनावको मुखमा तात्कालिन एफबिआई निर्देशक जिम कोमीले इमेल काण्डमा छानविन जारी रहेको बताए त्यसले अन्तिम समयमा ट्रम्पलाई भोट हाल्नेको संख्या बढ्न पुगेको विश्लेषकहरुको राय छ । धेरैले त्यसबेलाको नतिजा पछि सर्वेक्षणहरुलाई गाली गरे पनि अवस्था त्यस्तो होइन । चुनावको मुखमा गरिएका मत सर्वेक्षणहरुमा हिलारी क्लिन्टन तीन प्रतिशत बिन्दुले ट्रम्पभन्दा अघि थिइन् । नभन्दै निर्वाचनको लोकप्रिय मतमा क्लिन्टन ट्रम्पभन्दा दुई प्रतिशत बिन्दुले अघि रहिन् । डेमोक्र्याटले जित्दै आएका मिसिगन, पेन्सिलभेनिया र विसकनसन गरि तीन राज्यमा ७८ हजार मतान्तरको जितले ट्रम्पलाई चाहिने जति इलेक्टोरकल कलेज मत प्राप्त भयो र उनी राष्ट्रपति निर्वाचित भएका थिए । यी राज्यमा त्यसबेलाको मत सर्वेक्षणमा पनि बलियो प्रतिश्पर्धा हुने देखिएको थियो । अहिले यी तीन राज्य सहित एरिजोन, फ्लोरिडा, नर्थ क्यारोलिना जस्ता राज्यमा पनि बाइडेनको अवस्था क्लिन्टनभन्दा सहज देखिएको छ । डेमोक्रेटिक मतदातामा चुनाव प्रतिको उत्साह त कोरोना भाइरस महामारीबीच प्राइमरी निर्वाचनमा भोट हाल्नेको संख्या बृद्धिले नै पुष्टि गरि सकेको छ । त्यसैले २०१६ मा जसरी आम अनुमान विपरित ट्रम्प राष्ट्रप्रति निर्वाचित भए यसपाली त्यो  ‘चमत्कार’ दोहोरिने संभावना करिब करिब शुन्य रहेको सबै प्रक्षेपणहरुले देखाएका छन् ।

  • कोरोना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहेका ब्राजिलका राष्ट्रपतिलाई लाग्यो कोरोना

    कोरोना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहेका ब्राजिलका राष्ट्रपतिलाई लाग्यो कोरोना

    न्यूयोर्क

    ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण देखिएको छ । दक्षिणपन्थी बिचारधाराका बोल्सोनारोले भाइरस संक्रमणलाई कमजोर आँक्दै आएका थिए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै उनले पनि सुरुमा भाइरस आफैँ हराएर जाने दावी गरेका थिए । अहिले ब्राजिल भाइरस संक्रमण र मृत्यु दुबैमा अमेरिका पछिको दोस्रो स्थानमा छ । भाइरसले देशभर गाँजीसक्दा पनि उनले आर्थिक गतिविधी रोक्न अस्वीकार गर्दै आएका थिए । उनले भाइरसलाई ट्रम्पले जस्तै ‘सामान्य फ्लू’ को संज्ञा दिएका थिए ।

    मंगलबार ब्राजिलियन टिभी च्यानलमा बोल्दै बोल्सोनारो आफैँले भाइरस लागेको जानकारी दिएका हुन् । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै भाइरसबाट बच्न भनेर बोल्सोनारोले हाइड्रोक्सिक्लोरिक्लिन र एजिथ्रोमाइसिन सेवन गर्दै आएका थिए । ट्रम्पले बिना बैज्ञानिक प्रमाण हाइड्रोक्सिक्लोरिक्लिनले भाइरस लाग्न नदिने एवं निको हुने दावी गरेपछि बोल्सोनारोले आफ्नो देशमा पनि ठूलो परिमाणमा उक्त औषधी मगाएका थिए । उनी आफैँले उक्त औषधी सेवन गरेको जानकारी भने राष्ट्रपतिको प्रेस अफिसले मंगलबार बिहान दिएको थियो ।

    ट्रम्पले हाइड्रोक्सिक्लोरिक्लिनले नै आफुलाई भाइरस लाग्नबाट रोकेको समेत दावी गरेका थिए । तर, उनका ब्राजिली समकक्षीको संक्रमणले उक्त रोगले भाइरस लाग्न नछेक्ने पुष्टि गरिदिएको छ । बोल्सोनारोलाई सोमबार ज्वरो आएको स्थानिय मिडियालाई उद्धृत गर्दै अमेरिकि सञ्चार माध्यमले जनाएका छन् । उनको घाँटीमा कुनै संक्रमण देखिएको थिएन ।

    ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या १६ लाख नाघेको छ भने ६५ हजारले ज्यान गुमाइ सकेका छन् । गत मार्चमा गरिएको परिक्षणमा उनको शरिरमा भाइरस देखिएको थिएन ।

     

  • प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो ।

    सरकारले यसअघि जस्तै बरियतामा पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै आईजी नियुक्त गरेको हो। यसअघि ठाकुर ज्ञवाली र त्यसअघि सर्वेन्द्र खनाल पनि पहिलो नम्बरमै थिए।

    आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश लिँदै छन्। २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई पछि पार्दै थापा आईजीपी बनेका हुन् ।

    नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

  • सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय

    सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय

    काठमाडौं । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ।

    मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।

    लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि उनले असहमति राखेकी थिइन्।

    पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि पार्टीले बनाएको कार्यदलले सिफारिस गरेको थियो।

    लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्।

  • पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

    पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवामा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएका गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का युवामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

    युवाले आत्महत्या गरेको अवस्थामा परिवारले फेला पारेका थिए। गम्भीर अवस्थाका उनलाई परिवारले यही असार २० गते पाटन अस्पतालमा भर्ना गरेका थिए।

    अस्पताल भर्ना गर्ने वित्तिकै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। मृतकको शव व्यवस्थापन कार्य नेपाली सेनाको राजदल गणको टोलीले गर्ने भएको छ। मृतक युवा मानसिक विरामी रहेको बताइएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

  • विज्ञ भन्छन् : जंगली जनावरलाई मारिरहे मानिस अझ खतरनाक संक्रमणको शिकार हुनुपर्छ

    विज्ञ भन्छन् : जंगली जनावरलाई मारिरहे मानिस अझ खतरनाक संक्रमणको शिकार हुनुपर्छ

    काठमाडौं । जंगली जनावरलाई मारिरहेमा मानिसले कोरोना भाइरसभन्दा पनि खतरनाक प्रकृतिका भाइरसको शिकार हुनुपर्ने चेतावनी विज्ञहरुले दिएका छन् । संयुक्त राष्ट्रसंघ मातहतका विशेषज्ञले यस्तो चेतावनी दिएका हुन् । मानिसले जंगली जनावरको ज्यान लिने र उनीहरुलाई उत्पीडन गरिरहे अझ बढी खतरनाक भाइरसको सामना समेत गर्न तयार रहनु पर्ने चेतावनी विज्ञहरुको रहेको छ ।

    महामारीबाट बच्ने हो भने पर्यावरणमा सबै जीव जन्तुको अस्तित्व रक्षा गर्नुपर्ने सुझाव समेत विज्ञले दिएका छन् । जीवजन्तुलाई नमार्न र प्राकृतिक स्रोतसाधनको दोहन नगर्न विशेषज्ञले सुझाएका छन् । पर्यावरणसँग सम्बन्धित संयुक्त राष्ट्रसंघीय इन्भाएरोमेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिसर्च इन्सटिच्युटका विज्ञबाट यस्तो सुझाव आएको हो ।

    इन्सटिच्युटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कोरोना भाइरस जस्ता महामारी आउनुमा पर्यावरणको क्षति, प्राकृतिक स्रोतसाधनमा अत्यधिक दोहन, जलवायु परिवर्तन र जंगली जनावरको उत्पीडनजस्ता कारण मुख्य हुन् । विशेषज्ञहरुका अनुसार केही वर्षयता जनावर र पक्षीबाट मानिसमा सर्ने बिरामी लगातार बढ्दै गएको छ । किनकी मानिसले प्रकृति र जीवजन्तुमाथि अधिक दोहन र उपयोग बढाएको छ ।

     

    त्यसको शिकार स्वयमः मानिस हुनुपरेको प्रतिवेदनमा उल्लेख छ । मानिसले पर्यावरण र जंगली जीवजन्तु नबचाउने हो भने महामारीको सामना गर्न समेत तयार भएर बस्नुपर्ने सुझाव विज्ञको रहेको छ । विशेषज्ञहरुका अनुसार जनावरबाट हुने अलग–अलग विरामीको कारण विश्वभर वार्षिक करिब २० लाख मानिसले ज्यान गुमाउँछन् ।

    पछिल्ला वर्षहरुमा देखिएका सबैजसो खतरनाका जंगली जनावरबाट मानिसमा सरेका हुन् । प्रतिवेदन अनुसार पछिल्लो ५० वर्षमा मासुको उत्पादन २६० प्रतिशतले वृद्धि भएको छ । कतिपय समुदाय घरपालुवा र जंगली जीवजन्तुको मासुमै आफनो जीवन निर्भर गराएका छन् । जंगली जनावरबाहेक बाँध, सिंचाइ, उद्योग कलकारखाना र खेतबारी पनि मानिसमा हुने संक्रामक रोगको लागि २५ प्रतिशत जिम्मेवार रहन्छन् ।
    एजेन्सी

  • अनलाइन कक्षामात्र लिने विदेशी विद्यार्थीले अमेरिकी भिषा फिर्ता

    अनलाइन कक्षामात्र लिने विदेशी विद्यार्थीले अमेरिकी भिषा फिर्ता

    काठमाडौं । पूर्णरुपमा अनलाइन क्लास लिने र भौतिक रुपमा उपस्थित हुनु नपर्ने गरी अमेरिकी विश्वविद्यालयहरुमा आवद्ध विद्यार्थीले अब अमेरिकी भिषा नपाउने भएका छन् । अनलाईनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई अमेरिका बस्न नपाउने गरी नीति आएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले यो नीति सार्वजनिक गरेको हो ।

    एजेन्सीका अनुसार त्यस्ता विद्यार्थीहरुको भिसा फिर्ता लिइने छ । अटेर गरे अमेरिकाबाट स्वदेशसम्म फर्काउन सकिने चेतावनी एजेन्सीको रहेको छ । अमेरिकाको यो नयाँ आप्रवासन नीतिबाट धेरै विदेशी समस्यामा पर्ने चिन्ता समेत बढेको छ । यसको यकिन तथ्यांक भने छैन ।

    पछिल्लो समय सबैजसो विश्वविद्यालयको अनलाइनमा आधारित क्लासहरु संचालनमा छन् । अमेरिकी विश्वविद्यालयमा एक प्रमुख आयस्रोत विदेशी विद्यार्थी समेत हुन् । कोरोना भाइरसका कारण सबैजसो विश्वविद्यालय अनलाइन माध्यममा गएका छन् ।

    एजेन्सी

  • आजबाट ५० रुपैयाँको नयाँ नोट बजारमा

    आजबाट ५० रुपैयाँको नयाँ नोट बजारमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । नक्कली नोटको प्रयोग नहोस भन्ने उद्देश्यले पुरानो नोटमा परिमार्जितसहित नयाँ नोट बजारमा चलनचल्तीमा ल्याएको बैंकको भनाई छ । नोटसँग राष्ट्रबैंकले नयाँ नोटका विशेषता समेत सार्वजनिक गरेको छ ।

    नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

    केन्द्रीय बैंकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज\ ८९०००००१ देखि ट\३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ ।

    नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।

    नोटको अग्रभागमा

    १.नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको ।

    २.नोटको दायाँतर्फ लालीगुँरासको पानी छाप रहेको ।

    ३.नोटमा गभर्नरनको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर डा. चिरञ्जिवी नेपालको दस्तखत रहेको ।

    ४.नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा वि.सं. २०७५ लेखिएको ।

    नोटको पृष्ठ भागमा

    १.नोटको मध्यभागमा अंग्रेजीमा Nepal Rastra Bank लेखिएको ।

    २.नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको ।

    ३.नोटको तल्लो भागको बोर्डरमा अंग्रेजी Rupees Fifty लेखिएको ।

    ४. नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा 2019 AD लेखिएको ।

  • के काठमाडौंमा समुदायमा फैलिएको हो कोरोना ?

    के काठमाडौंमा समुदायमा फैलिएको हो कोरोना ?

    काठमाडौं । केही दिन अगाडी एक गैरसरकारी संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार काठमाडौंको ढलमा कोरोना भाइरसको नुमना भेटियो । यो खबरले सरकारलाई झस्काएको छ । कतै समुदायमा कोरोना त फैलिएन ? सोहीअनुसार सरकारले अब समुदायमा कोरोना परीक्षणको दायरा बिस्तार गर्न लागेको छ ।

    सोहीअनुसार काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको वा नफैलिएको भन्ने पत्ता लगाउन सरकारले सुरु गरेको परीक्षणका क्रममा तीनकुने र नख्खु क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जहाँ समुदायमा संक्रमण नफैलिएको पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीनकुने र नख्खु क्षेत्रबाट २२८ वटा नमुना लिएर परीक्षण गरिएको थियो । यी नमुना कुनै संक्रमितको नजिकका मानिसको नभएर समुदायमा गएर संकलन गरिएको थियो । त्यसक्रममा सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

    समुदायमा कोरोना संक्रमण भएको वा नभएको पत्ता लगाउन काठमाडौं उपत्यकाको १० ठाउँबाट सर्वसाधारणको नमुना लिइएको मन्त्रालयले जनाएको छ । अन्य स्थानको रिपोर्ट भने आइसकेको छ ।

    सबै स्थानको रिर्पोट आएपछि समुदायमा कोरोना फैलिएको वा नफैलिएको पुष्टी हुने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

    जनस्वास्थ्यका विज्ञहरुले विदेशबाट आएका व्यक्तिहरुको निगरानी राम्रोसँग नभएको, काठमाडौं उपत्यका बाहिरबाट पनि मानिसहरु आइरहेका हुनाले समुदायमा फैलिएको हुन सक्ने आशंका गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सरकारले समुदायबाट नमुना संकलन गरेको हो ।

  • पाइलटसहित नेपाल एयरलाइन्सका ७ कर्मचारीमा कोरोना, थप ७ जनाको पुनः परिक्षण गरिदै

    पाइलटसहित नेपाल एयरलाइन्सका ७ कर्मचारीमा कोरोना, थप ७ जनाको पुनः परिक्षण गरिदै

    काठमाडौं । नेपाल एयरलाइन्सका तीन जना पाइलटसहित ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अन्य ७ जनाको समेत पिसिआर पोजेटिभ आएपनि पुनः परिक्षण गरिदैछ । नेपाल एयरलाइन्सले ७ जनामा पुष्टी भएको र ७ जनामा पुष्टी हुन बाँकि रहेको बताएको छ । तर, स्रोतका अनुसार १४ जनामै पिसिआर पोजेटिभ आएको छ ।

    ७ जनाको दोस्रो परिक्षण गरिदैछ । यसबाट पोजेटिभ आएमा कोरोना संक्रमणको पुष्टी हुनेछ । उनीहरु सबै अहिले सोल्टी होटेलमा छन् । कर्मचारीलाई कोरोना लागेपछि निर्धारित उडान भने प्रभावित नहुने कम्पनीले जनाएको छ ।

    ५० जनामा पिसिआर परिक्षण गरिएकोमा १४ जनामा पोजेटिभ देखिएको हो । नेपाल एयरलाइन्सले पछिल्लो समय विदेशबाट नेपाली नागरिकलाई घर फर्काउने अभियानमा उद्दार उडानको काम गरिरहेको छ ।

    यसक्रममा कर्मचारीलाई कम्पनीले होटेलमा क्वारेन्टिनका रुपमा बस्ने सुविधा उपलब्ध गराएको छ । नेपाल एयरलाइन्सले ४ वटा जहाजबाट नागरिकलाई धमाधम घर फकाइरहेको छ ।

  • मास्क नलगाई घरबाट निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन

    मास्क नलगाई घरबाट निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन

    काठमाडौं । सरकारले अब मास्क नलगाई बाहिर निस्किनेमाथि कडाई गर्ने भएको छ । गृहमन्त्रालयले सोमबार मास्क नलगाई घरबाट निस्किएको पाए कडा कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । यो निर्देशन देशैभर लागू गर्न पनि भनिएको छ ।

    ‘कोरोना भाइरसको संक्रमण बढिरहेको छ । त्यसकारण सरकारले लागू गरेको पुरानै नियमलाई निरन्तरता दिन लागिएको हो । , ‘सरकारले दुई मिटरको दूरी कायम गर्नुपर्ने, मास्क लगाएर मात्र बाहिर निस्किनुपर्ने नियम ल्याएको छ ।

    पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभरी कोरोना संक्रमित बढिरहेका छन् ।

  • नेपालमा थपिए १८० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

    नेपालमा थपिए १८० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

    यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ। मृतकको संख्या ३५ पुगेको छ ।

  • काठमाडौंका २४ सहित उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण

    काठमाडौंका २४ सहित उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार काठमाडौंको २४ जना, ललितपुरको २० जना र भक्तपुरको १० जना संक्रमित थपिएका हुन् । मन्त्रालयले संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

  • ६ महिनापछि खुल्यो रसुवागढी नाका

    ६ महिनापछि खुल्यो रसुवागढी नाका

    रसुवा । नेपाल र चीन जोड्ने व्यापारिक रसुवागढी नाका ६ महिनापछि संचालनमा आएको छ । चीनमा कोरोनाले महामारीको रुप लिएपछि यो नाका गत माघदेखि बन्द थियो । यो नाका चीनले एकलौटी बन्द गरे थियो । अहिले चीनमा कोरोनाको जोखिम घटिसकेको छ । सोहीकारण नेपाल सरकारले चीन सरकारसँग नाका सुचारु गर्न आग्रह गरेको थियो । सोहीअनुसार सुरक्षा प्रवन्ध पछि आजदेखि नाका सञ्चालनमा आएको हो ।

    रसुवागढी भन्सार कार्यालयका अनुसार बिहान ८ बजेबाट नाका संचालनमा आएको छ । अब चीन र नेपालबीच यो नाका हुँदै पुनः व्यापार शुरु भएको छ । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनाइएको छ । नाका सञ्चालन गर्न बनाइएको सुरक्षा प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १ सय २० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने भएका छन् ।

    मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याउने गरी सहमति भएको छ । व्यवसायीहरु चीनतर्फ जान पाउँदैनन् । रसुवागढीसम्म पुग्न समेत जिल्ला प्रशासनको पास अनिवार्य गरिएको छ । चालक र सहयोगीको कोरोना परीक्षण गरिएको छ ।

  • आज निक्लेला नेकपा विवादको समाधाान ?

    आज निक्लेला नेकपा विवादको समाधाान ?

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आजका लागि बोलाइएको छ । यसअघि शुक्रबार बोलाइएको बैठक विवादले उग्र रुप लिएसँगै स्थगित भएको थियो । बैठक अगाडी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच निर्णायक वार्ता हुने बताइएको छ । उक्त वार्ता निष्कर्षमा पुग्न सके विवाद समाधान हुनेछ । नत्र पार्टी फूटको जोखिममा रहेको निष्कर्षमा स्वयम नेकपाका नेताहरु पुगिसकेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आइतबार भएको वाताले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज फेरी बैठक बस्ने निर्णय भएको छ । सहमतिका लागि प्रयास गर्ने सहमति सहित आइतबारको बैठक टुंगिएको थियो ।

    प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीले सरकार एकलौटी चलाएको, नेताहरुको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै पार्टी भित्रै उनको राजिनामा माग भइरहेको छ । अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव कुमार, झलनाथ खनाल र बामदेव गौतम एकातर्फ छन् भने ओली अर्को पक्षमा छन् ।

    सोहीकारण अहिले प्रधानमन्त्री ओली एक्लिएका छन् । पार्टीमा एक्लिएका उनले विपक्षी दल कांग्रेससँग हिमचिम बढाउन थालेपछि झन आलोचना बढेको छ । कांग्रेस नेता गगन थापाले जनताले दुई तिहाई बहुमतको साथ दिएको ५ वर्ष एकै पार्टीले सरकार चलाउन दिएको आदेश भएको भन्दै सरकार परिवर्तनको खेल घृणित भएको बताइसकेका छन् । सोहीकारण तत्काल कांग्रेसले समेत ओलीलाई साथ दिने सम्भावना कम छ ।

  • नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ६५४७

    नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ६५४७

    काठमाडौं । नेपालमा कोरोना भाइरसलाई पराजित गर्ने बिरामीको संख्या उल्लेख्य बढेको छ । आइतबारसम्म ६ हजार पाँच सय ४७ जना संक्रमितले कोरोनालाई जितेर घर जान सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार आइतबारमात्र नेपालमा दुई सय ९३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

    अहिले देशभर कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार सात सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना सङ्क्रमित भेटिएका छन् । चार सय ६९ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर २ मा चार हजार एक सय ६० जनामा सङ्क्रमण देखिएको छ । दुई हजार ३४ जना डिस्चार्ज भएका छन् ।

    वाग्मती प्रदेशमा पाँच सय ६३ जनामा सङ्क्रमण देखिएको छ । दुई सय ३४ जना डिस्चार्ज भएका छन् । गण्डकी प्रदेशमा एक हजार एक सय ४२ जनामा सङ्क्रमण देखिएको छ । दुई सय १४ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर ५ मा तीन हजार नौ सय ६८ सङ्क्रमित देखिएका छन् । एक हजार सात सय २५ जना डिस्चार्ज भएका छन् ।

    कर्णाली प्रदेशमा एक हजार पाँच सय ७९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६ सय ७८ जनामा सङ्क्रमण देखिएको छ । यी प्रदेशमा क्रमशः एक हजार एक सय ९१ र ६ सय ८० जना डिस्चार्ज भएको तथ्यांक छ । देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ ।

    आइतबार चार हजार सात सय १० जनाको कोरोना परीक्षण भएको मन्त्रालयको तथ्यांक छ । अहिले संक्रमितको दरमा केही कमी आएको छ । आइतबारसम्म दुई लाख ५१ हजार सात जनाको परीक्षण गरिएको तथ्यांक रहेको छ ।

    देशभर क्वारेन्टिनमा ३१ हजार पाँच सय ७३ जना रहेका छन् । ६ हजार पाँच सय ४७ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । नौ हजार दुई सय तीन जनाको आइसोलेशनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । नेपालमा ३४ जनाको ज्यान गएको छ ।

  • नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन

    नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादमा आइतबार समेत सहमतिको कुनै संकेत भेटिएन् । आइतबार थुपै्र भेटघाट र छलफल भएपनि कुनै पनि छलफल निष्कर्षमा भने पुग्न सकेनन् । आइतबार बिहान नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता माधव कुमार नेपाल र झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे ।

    भेटमा नेताहरुले राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव आउने भन्ने अफवाह मात्र भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउन सक्ने सम्भावित अध्यादेशको बारेमा मात्र सचेत रहेको बताएका थिए । यसअघि प्रधानमन्त्रीले शनिबार मन्त्रीहरुसँग राष्ट्रपति र आफुविरुद्ध षडयन्त्र भइरहेको बताएको थिए ।

    नेताहरुले भने यसलाई ओलीको सत्ता जोगाउने कार्ड मात्र भएको बताएका छन् । शीतल निवासको छलफलपछि प्रचण्ड ओलीसँग निर्णायक वार्ताका लागि भन्दै प्रधानमन्त्री निवास गएका थिए । प्रचण्ड र ओलीबीच दुई दुई जना दोस्रो तहमा नेतासमेत सहभागी थिए । ओलीको साथमा शंकर पोखरेल र विण्णु पौडेल तथा प्रचण्डको साथमा जनार्दन शर्मा र वर्षमान पुन सँगै थिए ।

    यो वार्तामा सोमबारको स्थायी समिति बैठक अगाडी पुनः सहमतिको प्रयास गर्ने सहमति भएको छ । तर, दुबै नेता आफ्नो अडानमा अडिग रहेपछि सोमबार समेत सहमति हुनेमा भने आशंका जारी नै छ । आइतबार नै प्रधानमन्त्रीको विशेष दूतका रुपमा नेता सुवास नेम्बांग काग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगे ।

    उक्त भेटमा संवैधानिक निकायमा नियुक्तिको विषयमा कुराकानी भएको बताइए पनि सत्ता साझेदारीका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने र देउवासँग मिलेर अर्को सरकार गठन गर्ने गरी ओलीको प्रस्ताव देउवासँग पुगेको समेत स्रोतको दावी रहेको छ ।

    यसले आइतबार पनि आशंका र अफवाहका बीच छलफल टुगिंएका छन् । तर, नेकपाको सन्दर्भमा अब के हुन्छ भन्ने सम्बन्धमा भने आइतबार कुनै निष्कर्ष आएन । छलफल सोमबार निर्णायक हुने नेताहरुको दावी रहेको छ ।

  • मेलम्चीको सुरुङमा पानी हालियो, निर्माणको अन्तिम चरणमा आयोजना

    मेलम्चीको सुरुङमा पानी हालियो, निर्माणको अन्तिम चरणमा आयोजना

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर सफल परीक्षण गरिएको छ । आइतबार २६ किलोमिटर लामो सुरुङमा पानी छाडिएको हो । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउने बहुप्रतिक्षित यो आयोजना अब भने अन्तिम चरणमा पुगेको दावी सरकारले गरेको छ ।

    आइतबार खानेपानी मन्त्री बीना मगरले आयोजना अर्को चरणमा प्रवेश गरिसकेको बताइन् । विभिन्न समस्या र चुनौतीहरू पार गर्दै काठमाडौंवासीको दुई दशकभन्दा लामो ब्यघ्र प्रतीक्षालाई सम्बोधन गर्ने क्रममा सुरुङमा पानी पथान्तरण गरिएको उनको भनाई छ । आजका मितिदेखि आयोजना नयाँ चरणमा प्रवेश गरेको मन्त्रालयको भनाई रहेको छ । सुरुङ परीक्षण गर्न आवश्यक सबै प्राविधिक तयारी सकिएको सरकारको भनाई छ ।

    अहिले परीक्षणमा प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी छोडिएको हो । यसरी पानी पठाउँदा २६ किलोमिटर सुरुङ भरिन करिब १५ देखि २० दिनसम्म लाग्ने भएको छ । पूर्ण रुपमा भरिएको सुरुङलाई करिब १० दिन थुनेर राखिने छ । त्यसपछि पानी भरिएकै परिमाणमा सुरुङबाट पानी छाडिनेछ । यसरी छाड्दा उत्तिकै दिन लाग्ने मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ ।

    सुरुङ खाली भएपछि सुरुङको अवस्थाबारे अध्ययन गरिनेछ । यसको र्ण परीक्षण गर्न अर्को ७ दिन लाग्ने छ । त्यसबेला केही समस्या देखिएमा समाधान गरिने भएको छ । समस्या नदेखिएको अवस्थामा भने नियमित रूपमा सुरुङमा पानी पठाउन थालिने भएको छ । यो आयोजनाको अधिकांश काम इटालियन कम्पनी सीएमसीले गरेको थियो ।

    सीएमसीले बीचमै काम छाडेपछि आयोजनाको बाँकि काम चिनियाँ कम्पनी सिनो हाइड्रोबाट भइरहेको छ । यो परीक्षण अनुसार सुन्दरीजलसम्म भने अब मेलम्चीको पानी आउने भएको छ । तर, घर घरमा भने मेलम्चीको पानी भने आइहाल्दैन । मेलम्चीको पानी वितरण गर्न सहरमा जोडिएका  लाइनमा परीक्षण गर्नुपर्ने छ । पानी जम्मा गर्न आठवटा नयाँ ट्यांकी समेत बनाइएका छन् । ती संरचनाको परीक्षण तथा सफाईको काम पानी आएपछि मात्र हुनेछ ।

  • नेपालमा थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

    नेपालमा थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १ सय ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ। मृतकको संख्या ३५ पुगेको छ ।

  • नेपालमा कोरोनाबाट थप एकको मुत्यु, क्वारेन्टिनमा मृत्यु भएका युवकमा संक्रमण पुष्टि

    नेपालमा कोरोनाबाट थप एकको मुत्यु, क्वारेन्टिनमा मृत्यु भएका युवकमा संक्रमण पुष्टि

    काठमाडौं । बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आइतबार बिहान मृत्यु भएका निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

    उनि परिवारका पाँच सदस्यसहित गत असार १ गते भारतबाट आएका थिए। मृतकको स्थायी घर निसीखोला गाउँपालिका भए पनि उनको ससुराली ढोरपाटनमा भएकाले त्यहीँ नजिकको क्वारेन्टिनमा बसेका थिए।

    लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

  • विदेशबाट १२५ शव ल्याइयो, अझै १ सय ५ ल्याउन बाँकी

    विदेशबाट १२५ शव ल्याइयो, अझै १ सय ५ ल्याउन बाँकी

    काठमाडौं । लकडाउनका कारण विदेशमा रोकिएका शव ल्याउने क्रम शुरु भएयता १ सय २५ वटा शव नेपाल ल्याइएको छ । सरकारले नेपालीको उद्दार थालेसँगै क्रमशः शवहरुसमेत नेपाल ल्याउन लागिएको छ ।

    खाडी र मलेसियाबाट एक हप्ताको अवधिमा मात्र ३८ जना नेपालीको शव स्वदेश ल्याइएको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । यी देशबाट अहिले धमाधम उद्दार उडान जारी छ । बोर्डका अनुसार कोरोनाको महामारी सुरु भएपछि विदेशमा विभिन्न कारणले ज्यान गुमाएका तर अन्तर्राष्ट्रिय उडान बन्द हुँदा उतै रोकिएका ३३७ शव नेपाल ल्याउनु पर्ने थियो । त्यसमध्ये शनिबारसम्ममा १२५ जनाको शव नेपाल आइसकेको छ ।

    आइतबारसम्म साउदीबाट ३९, मलेसियाबाट ३८, कतारबाट ३०, यूएईबाट ७, कुवेतबाट ७, बहराइनबाट ३ र ओमानबाट १ नेपालीको शव आएको छ । यी शव बुझ्न मृतकका परिवार काठमाडौं आउन नसकेमा बोर्ड आफैंले शव बुझेर घरसम्म पुर्‍याइदिने व्यवस्था समेत गरेको छ । यसअवधिमा १३२ जना नेपालीको भने सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिएको छ । त्यसवापत सरकारले मृतकका परिवारलाई नेपालमा किरियाखर्च उपलब्ध गराएको थियो ।

    बोर्डका अनुसार अझै खाडी तथा मलेसियासँगै विभिन्न देशमा गरी १०५ जना नेपालीको शव स्वदेश ल्याउन बाँकी रहेको छ । अहिले सबैभन्दा धेरै शव साउदीमा छन् । साउदीमा ५२, मलेसियामा १९, यूएईमा १३, कतारमा ७, कुवेतमा ५, बहराइनमा २ र अन्य विभिन्न देशमा ७ जना गरी १०५ नेपालीको शव गन्तव्य देशमै रोकिएका छन् ।