Category: फिचर

  • चर्चित अमेरिकी अनुदान एमसिसि बारे कनकमणी दिक्षितले २० बुँदाको वास्तविकता यस्तो लेखे

    चर्चित अमेरिकी अनुदान एमसिसि बारे कनकमणी दिक्षितले २० बुँदाको वास्तविकता यस्तो लेखे

    कनकमणी दिक्षित   

    संयुक्त राज्य अमेरिकाले विपन्न मुलुकको गरिबी उन्मूलनका लागि सन २००४ देखि सुरु गरेको ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अर्थात् एमसिसी नेपालमा कस्को स्वार्थमा र किन रोकिन खोजिदै छ ? भन्ने २० बुँदाहरु;

    – तीन तर्फबाट आज एमसिसीको विरोध भइरहेछ । विरोधको मियो हुन्, पुष्पकमल दाहाल, जो पर्दा पछाडिबाट गोटी चलाइरहेछन् ।

    – एमसिसीको विरोधको दोश्रो हिस्सा हो, केपी शर्मा ओलीले अपहेलित गरेको महसुस गर्ने पूर्वएमाले तप्का । जहाँ ओलीका स्वभाव र सरकार सञ्चालन दुवैप्रति यत्रो वितृष्णा छ कि एमसिसीको विरोध एकखालको ‘धर्म’ नै बन्न गएको छ।

    – तेश्रो पंक्ति हो, निरन्तर नयाँ संविधानलाई ढाल्ने मनसाय बोकेका, नसके यसको कार्यान्वयन कमजोर बनाउने जुनसुकै मौका नछोड्ने मनस्थितिका दक्षिणपन्थी ‘राजावादी’हरू, जो दर्शन र कार्यनीति दुवैमा असहमत भएपनि पुष्पकमल दाहालसँग हातेमालो गर्न तयार छन्।

    – सरकारको ढंग नपुगेको र प्रम केपी ओलीको अहंकारी शैलीका कारण एमसिसी धरापमा परेको भन्ने कुरामा राम्रै दम छ । तर, बृहत् नेपाली अर्थतन्त्र र समाजको हितलाई बिर्सेर ओली र उनको सरकारलाई कमजोर बनाउन अर्थतन्त्रलाई संकटमा पार्ने गरी यो प्रपञ्च किन ?

    – एमसिसीको वार्ता थालनी र सम्झौतासम्म प्रधानमन्त्री तथा अर्थमन्त्रीको सूची यस्तो छ: बाबुराम भट्टराई, झलनाथ खनाल, शेरबहादुर देउवा, खिलराज रेग्मी, सुशील कोइराला र पुष्पकमल दाहाल; अनि वर्षमान पुन, शंकर कोइराला, रामशरण महत र ज्ञानेन्द्र कार्की । अहिले केहीको तीब्र विरोध छ।

    – कोही एमसिसी बिगार्न तल्लीन छन्, सरकारी पदाधिकारी ‘बिग्रे बिग्रोस्’मा पुगेका छन् । अन्य राजनीतिक र भूराजनीतिक मुद्दामाझ राति उज्यालो पाउने, इन्डक्सन चुलो चलाउने, अनेकन् तरिकाले रोजगारी वृद्धि गर्ने जनताको अधिकारको लागि बोलिदिने थोरै भए ।

    – कोभिड–१९का कारण पश्चिमा दातृराष्ट्रहरु ठूलै मन्दीमा पस्दै गर्दा विदेशी सहायता ह्वात्तै सुक्ने स्थितिमा छ । यस्तो बेला पाँच वर्षका लागि हरेक वर्ष १० करोड अमेरिकी डलर (अनुदान) खर्च हुने चानचुने परियोजना होइन यो, यसले नेपाली अर्थतन्त्रलाई चाहिएकै बेला ‘लिक्विडिटी’ दिलाउने छ ।

    – एमसीसी बिरुद्धको अभियान सफल हुने हो भने संसारको आँखामा नेपालले ताकेर नै आफ्नै खुट्टामा बन्चरो हानेको ठहर्ने छ । हामीलाई चोट त पर्ने नै भयो, एमसिसीको अनुदान लिएर काम थालेका र सम्पन्न गरेका अन्य ५० मुलुकले हामीलाई ‘पत्याइनसक्नु’ भन्दै कर्के नजरले हेर्नेछन् ।

    – के, अमेरिकी सेनाले नेपालमा चीनलाई लक्षित ‘मिसाइल बेस’ बनाउनै खोजे नेपाली नागरिक चुप बस्लान् ? कुनै कारण अमेरिकी रणनीतिक पूर्वाग्रह नेपालमा लाद्न खोजियो भने त्यसको खिलाफमा उभिने क्षमता नेपालीमा छैन ? फेरी एक महिनाको सूचना दिएर सम्झौताबाट बाहिरिन सकिने त छँदै छ ।

    –  ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ नामको रणनीति सन् २०१७मा अमेरिकी परराष्ट्र मन्त्री माइक पम्पेओले घोषणा गरेका हुन भने नेपाल-अमेरिकाले एमसिसी सम्झौतामा काम थालेको सन् २०११ मा हो। अमेरिकीले नै आएर पछि ‘यो आइपिएस अन्तर्गत हो’ भन्दैमा हामी किन मान्ने? बरु आफ्नो हित हेरेर प्रतिवद गर्ने!

    – केपी ओली सरकार र प्रतिपक्ष नेपाली कांग्रेस एमसिसीको पक्षमा रहँदारहँदै परियोजनाको प्रतिरक्षामा गर्नुपर्ने जति कसरत गरिरहेका छैनन् । कांग्रेसका केही नेतालाई ‘डलर खाइस् र एमसिसीको पक्षमा बोलिस्’ भनेर निःसन्देह आउने आरोपको त्रास छ ।

    – तर, कांग्रेसभन्दा बढी स्थितिलाई यो अवस्थामा पु-याउनमा प्रम केपी ओली जिम्मेवार छन् । कतिपय महत्वपूर्ण काम उनको तयारीको कमजोरीका कारण अलपत्र परेका छन् भने धेरै विषयमा उनी र उनको सरकारले ध्यान नदिँदा कुरा बिग्रेको छ । उदाहरण सर्वत्र छन्, जस्तै संक्रमणकालीन न्यायको कुरा…

     – प्रसारण लाईनको कुरा गर्नेहो भने- भारतसँग त्यत्रो दुश्मनी पनि गर्नुपर्दैन कि उसको नाम लिने बित्तिकै परियोजना गलत ठहरियोस् र जनता भड्किऊन्। नेपाली माग पूरा नगरी जलविद्युत् उत्पादन भारत निर्यात गर्न राष्ट्रिय, प्रान्तीय र स्थानीय राजनीतिले दिन्छ भन्ने विश्वास लिनु नै जगहँसाइ हो।

    – उग्रराष्ट्रवादको डर र पुष्पकमल दाहालको एमसिसी बिरुद्धको भूमिकाका कारण जलविद्युत व्यवसायी समेत सुनिने गरी एमसीसीका लागि आवाज उठाइरहेका छैनन्। यस्तै- उद्योग वाणिज्य महासंघ, सिआइआई, नेरु र डलर ‘बिलोनेर’, अर्थतन्त्र वरिपरि काम गर्ने संस्थाहरुबाट मात्र मन्द खासखुस सुनिन्छ।

    – एमसिसीबाट सीधै फाइदा पाउने प्रान्त-प्रान्तका सरकार, जनप्रतिनिधि तथा बौद्धिकवर्गले आफ्नो आवाज मुखर गर्न नसकेको अवस्था छ । नेपालमा नयाँ संविधानको आसय र जनचाहना बमोजिम देशको पुनर्संरचनासहित विकेन्द्रीकरण नभएको प्रमाण पनि अफसोच मिलेको छ ।

    – पहिलेका सरकारमै सहभागी नेताहरूको तर्फबाट सरकारले गरेको सम्झौता ग्रहण गर्नेभन्दा उल्टिने अवस्था छ । त्यो पनि नेकपा ‘सचिवालय’का नेताहरूले राजकाजलाई सिद्धान्तहीन, आफुखुसी खेलवाडको फुटबल बनाएका छन् ।

    – “बिआरआई”मा सहभागी भएर नेपालको उत्तरपट्टिको प्राचीन व्यापार सम्बन्धलाई पुनर्जागरण, तर यसको अर्थ नेपालले आफ्नो हितअनुसार र अरू कसैसँग अनुदान सहयोग लिनुहुँदैन भन्ने होइन। नीति–निर्माता र विश्लेषकले देशको हितमा एमसिसीलाई नेपाल–चीन सम्बन्धबाट पूर्णतः अलग राखेर हेर्नुपर्छ।

    – प्रतिनिधिसभाको सभामुखले आफ्नो दलीय सदस्यता त्याग्नुपर्छ किनकि पूरै राज्यको जनप्रतिनिधिको नेतृत्व त्यो पद धारण गर्नेले गर्छन् । तर पहिला कृष्णबहादुर महरा र अहिले अग्नि सापकोटाले अमर्यादित हिसाबले सरकारले एक वर्षअघि दर्ता गराएको विधेयक दराजमा ताला लगाएर राखेका छन् ।

    – बृहत् भूराजनीतिक मैदानमा नेपालले कसैको सामरिक गठबन्धनमा सामेल नभई सबैसँग राम्रो सम्बन्ध राख्नुपर्छ, कसैको प्रतिस्पर्धाको जालोमा फस्नुहुँदैन । चीन र भारतबीच समदूरी राख्दाराख्दै पश्चिमा मुलुकसँग पनि राम्रो सम्बन्ध कायम राख्ने पुरानो नीति त्याग्नु हुँदैन।

    – एमसिसीलाई उग्र–लोकरिझ्याइँको भासबाट उद्धार गर्नुपर्छ र यस खेलका प्रमुख गोटी चालक पनि पछि हट्नुपर्छ । कुनै एउटा सरकारको खिलाफमा जाने क्रममा नेपाल राज्यमाथि दुश्मनी नसाँध ।

    (एमसिसिको बर्तमान अवस्था र वास्तविकताको बारेमा कनक मणी दिक्षितले लेख्नु भएको २० बुँदा हामीले प्राप्त ईमेलबाट साभार गरेका हौं)

  • नेकपामा बुधबार छुट्टाछुट्टै भेला र दौडधुप, बिहीबार के नतिजा आउला ?

    नेकपामा बुधबार छुट्टाछुट्टै भेला र दौडधुप, बिहीबार के नतिजा आउला ?

    काठमाडौं । बुधबार नेकपाको स्थायी समिति बैठक छोटो समय बस्यो । ५ जना मात्र वत्ताले आज बोले । बोलेका मध्ये धेरैले प्रधानमन्त्रीको राजिनामा माग गरे । संकटमा परेको सरकारलाई पार्टी भित्रैबाट राजिनामा माग भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान आफु निकटका मन्त्री र नेकपाका दोस्रो तहका नेतासँग छलफल गरे ।

    छलफलमा नेताहरुले नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई एकता प्रक्रियामा प्रभाव नपर्ने गरी नेतृत्वसँग सहमति गनए सुझाव दिएका थिए । सत्ता संकटमा परेपछि पछिल्ला केही दिन प्रधानमन्त्रीले दौडधुप बढाएका छन् । बुधबार नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यको समेत छुट्टै भेला भएको छ ।

    उनीहरु ललितपुरको एक होटलमा भेला भएका हुन् । बिहीबार बस्ने स्थायी समितिमा बनाउने रणनीतिबारे छलफल गर्न यो भेला भएको बताइएको छ । भेलामा प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा लगायत नेता पुगेका छन् । नेकपाको बैठक असार १३ गतेदेखि जारी छ ।

    मंगलबार बसेको स्थायी समितिमा १८ स्थायी समिति सदस्यमध्ये १७ सदस्यले ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि प्रधानमन्त्रीको पद संकटमा परेको हो ।

    यसअघि प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा एक कार्यक्रममा आफूलाई भारतको इसारामा हटाइन लागेको र त्यसमा नेपालका नेताले साथ दिएको अभिव्यक्ति दिएपछि उनीविरुद्ध पार्टी भित्रै आलोचना शुरु भएको हो । स्थायी समिति बैठक बिहीबार समेत बस्नेछ ।

  • नेपालमा ४८२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४ हजार नाघ्यो

    नेपालमा ४८२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जसमा ११७ महिला र ३६५ पुरुष रहेको प्रवक्ताले गौतमले जानकारी दिएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३० पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३० पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

    ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वरेण्टीनमा बसिरहेका थिए।

    असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारको लागि बयालपाटा अस्पतालमा लगिएको थियो ।

    आकस्मिक कक्षमा उपचारको क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

  • बुधबार बिहान थपिए कोरोनाका ४२ संक्रमित

    बुधबार बिहान थपिए कोरोनाका ४२ संक्रमित

    काठमाडौं । नेपालमा बुधबार बिहानै ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । गण्डकी प्रदेशमा २८ नयाँ संक्रमित थपिए ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वका १२ जना, गोरखाका ३ जना, कास्कीका एक जना थप भएका छन् । यसैगरी स्याङ्जाका आठ जना, बाग्लुङका ३ जना र तनहुँका एक जना रहेको निर्देशनालयको विज्ञप्तीमा उल्लेख गरेको छ ।

    अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगको छ। चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १३ जना र झापाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

    चितवनको भरतपुर महानगरपालिकाका ११ र माडीका दुई जना रहेको भरतपुर अस्पतालको तथ्यांकमा उल्लेख छ । नेपालमा १३ हजारभन्दा बढीमा कोरोना देखिएको छ । पछिल्ला दिनमा कोरोना तिब्र रुपमा फैलिरहेको छ ।

  • योगेश भन्छन् : बुधबार राम्रो दिन हो, परिस्थिति सही दिशामा मोडिनेछ

    योगेश भन्छन् : बुधबार राम्रो दिन हो, परिस्थिति सही दिशामा मोडिनेछ

    काठमाडौं । नेकपा भित्रको अन्तरसंघर्षका कारण संकटमा परेको सरकारका एक मन्त्री योगेश भट्टराईले पुनः एक पटक आस्थामा भरोसा गर्दै आजको दिन राम्रो हुने कामना गरेका छन् । सामाजिक संजालमा स्टाटस राख्दै योगेशले भनेका छन्, ‘सबै दिन राम्रै हुन्छन्, राम्रै मानिन्छन्, बुधबारलाई अलि बढी राम्रो मान्ने नेपाली चलन छ । आज बुधबार आशा छ, परिस्थिति सहि दिशामा मोडिनेछ, धन्यवाद ।’

    उनको यो स्टाटसलाई धेरैले रहस्यमय मानेका छन् । बुधबार नै प्रधानमन्त्रीले मन्त्रीहरुसँग परामर्श थालिसकेका छन् । उता, नेकपा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनाामा दिन सबैजसो शीर्ष नेताले आग्रह गरिसकेका छन् । पार्टीले नै राजिनामा मागेको सन्दर्भमा अझ उनी कमजोर हुने निश्चित छ ।

  • मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री

    मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीहरुसँग छलफल शुरु गरेका छन् । पार्टी भित्र र बाहिरबाट सरकारको तिब्र आलोचना तथा राजिनामा माग भइरहेका बेला उनले मन्त्रीहरुसँग परामर्श गर्न लागेका हुन् । प्रधानमन्त्रीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा डाकेका छन् ।

    नेकपाको स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा छन् । सत्ता बचाउन उनले प्रयोग गरेको भारतीय षडयन्त्रको कार्डसमेत असफल भएपछि प्रधानमन्त्रीले मन्त्रीहरुसँग परामर्श थालेका हुन् । यसअघि मंगलबार स्थायी कमिटी बैठकमा जानु अगाडि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए ।

  • मंगलबार विदेशबाट फर्किए १५३० नेपाली

    मंगलबार विदेशबाट फर्किए १५३० नेपाली

    काठमाडौं । मंगलबार दिनभरमा १५ सय ३० जना नेपाली घर फर्किएका छन् । नेपाल एयरलाइन्सले चार वटा मुलुकबाट नेपालीलाई घर ल्याएको छ । सबैभन्दा धेरै कतारबाट ४९८ जना नेपाली स्वदेश फर्किए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आजमात्र विभिन्न देशबाट आठवटा उडान भएको हो ।

    नेपाल एयरलाइन्सले कतारको दोहाबाट २६२ जना नेपाली घर ल्याएको हो । कतारबाट १० वटा शव समेत नेपाल ल्याइएको छ । कतार एयरले दोहाबाट ९ बच्चासहित २३६ जना नेपाली घर ल्याएको छ । कुवेतमा समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन मंगलबार तीन उडान भएका छन् ।

    तीन उडानमार्फत ४७१ जना स्वदेश आइपुगे । नेपाल एयरलाइन्सको जहाजले १४९ जना ल्याएको छ । कुवेत सरकारले त्यहाँ आममाफी पाएका ३२२ जनालाई जजिरा एयरका दुई उडानमा नेपाल पठायो ।

    आज नेपाल एयरलाइन्सले यूएईको दुबईबाट एक बच्चासहित २६२ जना नेपालीलाई घर ल्यायो । यस मुलुकबाट एउटा शव पनि ल्याइएको छ । नेपाल एयरलाइन्सले मलेसियाको क्लालाम्पुरबाट १४६ जनालाई घर फर्काएको छ ।

    आज साउदीको दमामबाट हिमालय एयरले १५३ जनालाई नेपाल ल्याएको छ । आज नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स खाडीका विभिन्न देशमा नेपाली लिन ती मुलुकतर्फ प्रस्थान गरेका छन् ।

  • बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देउ : संसदीय समिति

    बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देउ : संसदीय समिति

    काठमाडौं । संसदीय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आवतजावत सहज बनाउन सरकारलाई निर्देशिन दिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउने वातावरण सहज बनाउन सरकारलाई निर्देशन दिएको हो ।

    उपत्यका आउने जाने नागरिकको सन्दर्भमा बिरामी, कर्मचारी र व्यावसायीलाई सरलीकृत गर्ने भनी मंगलबार समितिले सरकारलाई निर्देशन दिएको हो । आवश्यक सर्तकता अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

    समितिले प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन र अनुगमन गर्न समेत संघीय सरकारलाई निर्देशन दिएको छ । अहिले आफ्नो सवारी साधन हुनेहरु निर्वाध काठमाडौं आइरहेका छन् । तर, सार्वजनिक यातायात बन्द हुँदा आम सर्वसाधारण भने काठमाडौं आउन पाएका छैनन् । यसले काठमाडौंमा रोजगारी गर्नेहरुलाई समस्यामा पारेको छ ।

  • प्रधानमन्त्रीको अभिव्यक्तिको पार्टीभित्र तिब्र आलोचना, अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागियो

    प्रधानमन्त्रीको अभिव्यक्तिको पार्टीभित्र तिब्र आलोचना, अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागियो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउन भारतीय कार्ड फ्याँक्दा आफै समस्यामा परेका छन् । नेपाल कम्यूनिष्ट पार्टीको राजधानीमा जारी स्थायी कमिटिमा बोल्ने अधिकांश शीर्ष नेताले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने धारणा राखे । यसले नेकपा भित्र प्रधानमन्त्री अझ कमजोर बनेका छन् ।

    प्रधानमन्त्रीले यसअघि भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु नै लागेको गम्भीर आरोप लगाएका थिए । धेरैले यसलाई सत्ता बचाउने भारतीय कार्डका रुपमा प्रधानमन्त्रीको अभिव्यक्ति आएको बताएका थिए ।

    मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा शीर्षनेताले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाउँदै ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग समेत गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ओलीको अभिव्यक्तिका कारण अन्य विषयमा प्रवेश नै नभएको एक नेताले जानकारी दिए ।

    आजको बैठकमा सुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलेका थिए । उनले नियमित एजेण्डाअनुसार सीमा विवाद र नयाँ नक्साबारे छलफल गर्नुपर्ने भए पनि परिस्थिति बदलिएको भन्दै राजिनामा भारतले नभई पार्टीले माग्ने उल्लेख गरे । उनले मदन भण्डारी जयन्तीको दिन अध्यक्ष ओलीले दिएको अभिव्यक्तिले अवस्था गम्भीर बनाएको भन्दै यस्तो अभिव्यक्तिबाट नेपाल अझै पनि आत्मनिर्णयको अधिकार प्रयोग गर्न पाएको छैन भन्ने सन्देश विश्वभर जाने उल्लेख गरे ।

    उनले पार्टीका नेतामाथि प्रधानमन्त्रीबाट भएको अविश्वासको समेत समिक्षा हुनुपर्ने उल्लेख गरे । उता, आजको बैठकमा सोमबार निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको सम्बन्धमा समेत चर्चा भएको छ ।

    झापाका मान्छेले यस्तो दल दर्ता गरेका कारण पनि धेरैले यसलाई ओलीकै षडयन्त्रका रुपमा हेरेका छन् । मंगलबार आफुविरुद्ध उठेका प्रश्नबारे जवाफ दिँदै प्रधानमन्त्रीले भने भारतको विरोध गर्दा पार्टीका नेताको चित्त दुखेको भन्दै आलोचना गरेका थिए ।

    उनले भारतीय मिडियामा आएको पक्षलाई मात्र आफुलाई उल्लेख गरेको उनको स्पटोक्ती थियो । निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ता भएको बारे भने आफू अनविज्ञ रहेको प्रधानमन्त्रीको भनाई थियो । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टी र सरकार संचालनमा असफल भएको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।

    ओलीले सरकार एकलौटी चलाएको र पार्टी बैठकहरुको पनि उपेक्षा गरेको भन्दै खनालको आरोप थियो । वरिष्ठ नेता माधवकुमार नेपालले ओलीमा दम्भ, अहंकार र अरुलाई दास बनाउने प्रवृत्ति रहेको भन्दै उनको तिब्र आलोचना गरेका थिए ।

    ओलीलाई पार्टी भन्दा गुट चाहिएको भन्दै उनको सोही प्रवृत्ति नै पार्टी र सरकारका लागि समस्या भएको उल्लेख गरे । उपाध्यक्ष बामदेव गौतमले समेत प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग गरेका छन् ।

  • कोरोना एण्टिबडीले उब्जाएको भ्रममा; म

    कोरोना एण्टिबडीले उब्जाएको भ्रममा; म

    योगेश आदी 

    यसपटक लेख्नै पर्ने नैतिक दबाब परेपछि लेख्दैछु । मेरो कोभिड १९ एण्टिबडी टेष्टको रिजल्टले केही भ्रम उब्जाएको छ । न्यूयोर्क सहर कोरोनाभाइरसको एपिसेण्टर बनेको ३ महिनापछि पारिवारिक बटालिएन लिएर म कोभिड १९ एण्टिबडी टेष्ट गर्न गएँ । न्युयोर्कमा कोरोनाले ताण्डव मच्चाइराख्दा संसारको आँखाको तारो बनेको एल्महर्ष्ट हस्पिटल नै छानें । अझैपनि त्यो एरिया वरिपरी हिड्नै डराउनेहरु पनि छन् । त्यसताका म बसेको ज्याक्सन हाइट्स क्षेत्रलाई आगोको भुँग्रो संज्ञा दिएका थिए । अहिले अस्पताल परिसर सामान्य देखें । स्वास्थ्य कार्यकर्ताहरु पनि भाइजर विहिन र सामान्य मास्कमा मात्र थिए । ८ जनाले एण्टिबडी परिक्षण गरायौं । हाम्रो परीक्षणको नतिजाले हामीलाई नै चकित बनायो । धेरै प्रश्नहरु उब्जिए । हाम्रो एण्टिबडी टेष्टले कोरोनाभाइरसलाई थप कोतुहल बनायो ।

    के हो एण्टिबडी टेष्ट ?

    यो परिक्षण स्वस्थ अवस्थाको व्यक्तिलाई कोरोना भाइरसको संक्रमण बिगतमा थियो वा थिएन भनेर हेर्नको लागि गरिन्छ । एण्टिबडी टेष्ट भन्नाले भाइरसको बिरुद्धमा शरीरको लड्ने क्षमता नाप्नु हो । जुन भाइरससँग लड्नुपर्ने हो, शरीरमा पनि त्यही भाइरस हुनु जरुरी छ । मानव शरीरमा स्वस्फुर्त रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति बिद्यमान हुन्छ तर नौलो प्रकृतिको रोग आयो भने शरीरले नयाँ भाइरस चिन्दैन अनि बिरामी पर्दछ । जस्तो; हामीलाई सानोमा दादुरा, डिपिडी, बिसिजी, मलेरिया इत्यादीको सुई लगाइदिने गर्दछ, त्यो सुईभित्र हामीलाई त्यही भाइरस दिइएको हो किनकि भाइरससँग लड्न शरीरमा भाइरस नै हुनु जरुरी छ । त्यसको मतलव हाम्रो शरीरलाई सानैमा ती भाइरसमैत्री बनायो भने पछि त्यही भाइरसले समात्न सक्दैन, भन्ने उद्देश्य हो । हामीले हरेक बर्ष ‘फ्लु शट’लगाउने भनेर सुई लिनुको अर्थ त्यो रुघाखोकीको भाइरस सुई मार्फत लिनु हो । कोरोना भाइरस पुरानो भएपनि, यो हाल चलेको कोभिड १९ भन्ने चाँहि नयाँ हो । यो भाइरससँग हामी परिचित थिएनौं । हाम्रो शरीरलाई नौलो लागेकोले लड्न इन्कार गर्यो, हामी बिमारी पर्यौं । हाम्रो शरीर त्यो भाइरसमैत्री बनिसकेको भए बिरामी पर्ने थिएनौं । त्यसैले, एण्टिबडी परिक्षण गर्नु भनेको आफ्नो शरीरको तोकिएको रोगसँग लड्ने भाइरसको लेभल हेर्नु पनि हो ।

    कोभिड १९ टेष्टको रिजल्ट कसरी बुझ्ने ?

    त्यसो त एण्टिबडी टेष्ट जुनसुकै भाइरसको पनि हुन्छ । हामीले गरेको कोभिड १९ नतिजा भने अलि फरक छ ।

    हाम्रो शरीरमा ४ प्रकारका कोरोनाका भाइरसहरु हुनसक्ने भएकोले यो कोभिड १९ नामाकरण गरिएको भाइरसको एण्टिबडी टेष्ट गर्दा चाँहि त्यसको लेभल (इण्डेक्स भ्याल्यु) १.३९ को बोर्डर लाइन तोकिएको छ । यदि कोही व्यक्तिको नतिजा त्यो भन्दा माथि देखायो भने ‘पोजेटिभ’ र सो भन्दा कम आयो भने ‘नेगेटिभ’ मानिन्छ । पोजेटिभ देखिनुको अर्थ शरीरमा त्यो भाइरस आइसकेको थियो र अब शरीरले त्यो भाइरस बिरुद्ध लड्नको लागि आफ्नो शरीरमैत्री भाइरस बनाइसकेको छ, भन्ने बुझिन्छ । त्यसको अर्थ; अब सो भाइरसले सितिमिती बिरामी पार्न सक्दैन वा पचाउन सक्छ भन्ने हो । नतिजा नेगेटिभ आउनु भनेको शरीर सो भाइरससँग परिचित छैन भन्नु हो ।

    मेरो नतिजा र भ्रम के हो ?

    मेरो परिवारमा ६ जना छन् । चर्पी, भान्छा, पानी बोतल, टावल तथा प्रायश सरसामान कमन प्रयोग गर्छौं । बहिनी ज्वाईको पनि सबै कमन देख्छु । हामी नजिकै भएकोले भेटघाट बाक्लै हुन्छ । ज्वाईले यो कोरोनाको महामारीभरी पनि सामान्य सरह नै पुरै काम गर्नु भो । ज्वाईको परिक्षणको नतिजा पहिल्यै कोभिड १९ डिटेक्टेड देखाएकोले भाइरस संक्रमित भैसकेको भन्ने बुझियो । हामी ८ जनाले एकै समय, एकै ठाउँमा परिक्षण गरायौं । ५ जनाको नेगेटिभ देखायो । ३ जनाको पोजेटिभ ।

    म नेगेटिभ । मेरो श्रीमती पोजेटिभ । ज्वाई पोजेटिभ, बैनी नेगेटिभ । बुवाआमा पोजेटिभ । छोरीछोराहरु नेगेटिभ । १८ बर्ष कम उमेरकाको नपर्ने भएकोले भान्जाको गरिएन ।

    म र मेरो श्रीमतीले यो कोरोना अवधिको कुनैपनि समय पहिले भन्दा फरक जीवनशैली अपनाएनौं । नतिजा किन यस्तो ? मैले अमेरिकाको प्रबिधि र बिज्ञान माथि प्रश्न गर्न नसकेपछि कारण आफैले खोजेर अनुमान लगाएँ ।

    संसारका ७ अरब मानिसको शरीरको प्रतिरोधात्मक गुण हरेकसँग फरक हुँदो रहेछ । चिनेका रोग बाहेक यस्ता नौलो रोगसँग हरेकको शरीरले फरकफरक किसिमले लड्ने देखियो । हाल संसारमा यो भाइरसको संक्रमण भएका मध्ये २ प्रतिशत मान्छे मर्नु । कोहीको ७ दिनमा लक्षण देखाउनु । कोहीको २/३ हप्तामा । कसैको सामान्य लक्षण देखाउँदै शरीरमा मिल्नु, जस्तै; मेरो श्रीमती, बुवाआमा । संसारका ८० प्रतिशत मान्छेले यो भाइरस पचाउन सक्न पनि भनिएको छ । न्युयोर्कस्थित स्वास्थ्यकर्मी तारा भट्टराईले एक लेख मार्फत लेखेकी छिन्; “एउटा १२X१४ साईज़काे काेठामा सँगै बस्ने तर छुट्टै बेडमा सुत्ने दुई पुरुषहरु मध्ये एकलाई काेराेना भाईरस हुँदा अर्काेलाई नसरेकाे ।

    दुई अलग १२X१४ साईज़काे काेठामा बस्ने तर चारजनाले एउटै बाथरूम प्रयाेग गरेकाे अवस्थामा एकलाई संक्रमण हुँदा अरु तीनजनालाई नसरेकाे अवस्था ।

    एउटै ६०० स्क्वायर फिटकाे काेठामा बसेका श्रीमान र श्रीमती मध्ये श्रीमानलाई भाईरस भएकाे तर एउटै बाथरूम प्रयाेग गरेर श्रीमानले मास्क लगाई ६ फिट डिस्ट्यान्स कायम गरेर कुराकानी गर्ने र खाना समेत पकाउने तर भॉडाकुँडा सेयर नगर्दा श्रीमतीलाई भाईरस नसरेकाे।”

  • नेपालका २४ जिल्लामा सलहको आक्रमण, मंगलबार उपत्यकामा छिर्यो

    नेपालका २४ जिल्लामा सलहको आक्रमण, मंगलबार उपत्यकामा छिर्यो

    काठमाडौं । नेपालका २४ जिल्लामा सलह पुगेको छ । मंगलबार दिउसोसम्मको तथ्याक अनुसार २४ जिल्लामा सलह पुगेको रिर्पोटिंग भएको छ । प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार मंगलबार काठमाडौं उपत्यकामा समेत सलह देखिएको छ । मंगलबार उपत्यकामा सानो झुन्ड देखिएको थियो । सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्‍याइरहेको छ ।

    अहिलेसम्म कुल क्षतिको अनुमान भने भएको छैन । प्रारम्भिक रुपमा बालीहरूमा सलहले असर पुर्‍याउन थालिसकेको केन्द्रको भनाई छ । नेपालमा शनिबारबाट सलह छिरेको हो । रुपन्देहीको भैरहवा, बारा, पर्सा तथा सर्लाही, मकवानपुर र कपिलवस्तुबाट भित्रिएको ठूलो झुण्ड अहिले नेपालभर बिस्तार हुने क्रममा रहेको छ ।

    बारा, पार्सा, रौतहट र सर्लाहीमा देखिएको सलहको झुण्डमा त्यहाँबाट उत्तरतर्फका पहाडी भेगमा उडिरहेको छ । महोत्तरीको बर्दिवास र मकवानपुरगढीसहित सिन्धुलीमा समेत सलह पुगिसकेको छ । उता, मकवानपुरको बकैया र हेटौंडामा पनि सलह पुगेको छ । चितवनमा समेत सलहको उपस्थिति छ काभ्रे र रामेछापमा समेत सलह पुगिसकेको छ ।

    रामेछाप, काभ्रे र काठमाडौं उपत्यकामा सानो संख्यामा सलह आएको हो । रुपन्देहीको कालीकानगर, वुटवल र सैनामैनामा ठूलो झुण्ड देखिएको हो । यसले कपिलवस्तु, पाल्पा र गुल्मीमा समेत प्रभाव पारेको छ । स्याङ्जा, दाङ प्युठान र रोल्पामा समेत सलह देखिएको छ । कास्की समेत यसबाट अछुतो छैन ।

  • नेपालमा मंगलवार थपिए ३ सय १६ संक्रमित  अब कुल संख्या  १३ हजार ५ सय ६४

    नेपालमा मंगलवार थपिए ३ सय १६ संक्रमित अब कुल संख्या १३ हजार ५ सय ६४

    काठमाडौ

    नेपालमा पछील्लो  २४ घण्टामा थप ३१६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

    यो वृद्धिसँगै मङ्गलवारसम्म  देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३,५६४ पुगेको छ।

    तीमध्ये ३,१९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या १०,३४१ छ।

    अहिलेसम्म प्रदेश नं ५ मा सर्वाधिक ३,८०७ जना र २ मा ३,७९४ जना कोभिड-१९ भएका व्यक्ति भेटिएका छन्।

    सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

    मङ्गलवार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १२१ जना र प्रदेश नं २ मा ८२ जना थप सङ्क्रमित पुष्टि भएको छ।

  • ट्रम्प अर्को विवादमा, रुसले अमेरिकी सेना मार्न सुपारी दिएको सूचना वेवास्ता गरेको आरोप

    ट्रम्प अर्को विवादमा, रुसले अमेरिकी सेना मार्न सुपारी दिएको सूचना वेवास्ता गरेको आरोप

    न्यूयोर्क

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रिय सुरक्षा सम्बन्धि गम्भिर विवादमा फसेका छन् । रसियाले अफगानिस्तानमा रहेका अमेरिका एवं अन्य सहयोगी मुलुकका सेना मार्न अलकायदा संगठनलाई आर्थिक सहायता गरेको जासुसी रिपोर्टलाई ट्रम्पले वेवास्ता गरेको आरोप लागेको हो ।

    अमेरिकी जासुसी संयन्त्रले गत मार्चमा नै अफगानिस्तानका आतंककारी संगठनसँग रसिया सहकार्यबारे राष्ट्रपति लगायत अमेरिकी नेतृत्वलाई  रिपोर्ट गरि सकेको सनसनीखेज समाचार गत शुक्रबार न्यूयोर्क टाइम्सले प्रकाशित गरेको थियो । त्यसपछि वासिंटन पोष्ट, सिएनएन एवं ट्रम्प प्रति नरम फक्स न्यूज, वालस्ट्रिट जर्नलले समेत आ-आफ्नो स्रोतबाट पुष्टि गर्दै उक्त समाचार प्रकाशन प्रशारण गरे । तर, ह्वाइट हाउस अधिकारी एवं ट्रम्प भने आफुलाई जानकारी नै नभएको दावी गर्दै आएका छन् ।

    सोमबार विहान एसोसिएट प्रेसले फेरि ट्रम्प उक्त प्रकरणको जानकार रहेको दावी साथ समाचार प्रकाशन गरेको छ । वासिंटन पोष्टले आइतबार पछिल्ला दुई बर्षमा अफगानिस्थानमा अमेरिकी सैनिक हत्यामा रुसी चाल भएको विश्वास अमेरिकी सुरक्षा संयन्त्रले गरेको अर्को समाचार प्रकाशित गरेको थियो । यो घटना सार्वजनिक भएपछि शनिबार र आइतबार दुबै दिन ट्रम्प गल्फ खेल्न भर्जिनिया स्थित आफ्नो गल्फकोर्स पुगेका थिए ।

    उनले अमेरिकी सैनिक आक्रमणमा रसियन संलग्नताभन्दा समाचारप्रति आशंका गरेका छन् । समाचार छापिएपछि पनि गम्भिरता देखाउनको सट्टा गल्फ खेल्न जानुले उनले यो सूचनालाई कत्तिपनि महत्व नदिएको पुष्टि गर्छ । आफ्नो सुरक्षा संयन्त्रले यो सूचना त्यती भरपर्दो नलागेर आफुलाई नसुनाएको दावी सहित उनले आइतबार राती ट्विट गरेका थिए । समाचार सार्वजनिक भएपछि पनि रसियाप्रति उनको मौनतालाई सुरक्षाविज्ञ एवं विपक्षिहरुले तारो बनाएका छन् । डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेनले ट्रम्पको राष्ट्रपति पदनै रसियाको उपहार रहेको टिप्पणी गरेका छन् ।

  • कोरोनाको औषधीको मुल्य तोक्यो कम्पनीले; प्राईभेट बीमा भएकालाई ३ हजार १ सय २० युएस डलर

    कोरोनाको औषधीको मुल्य तोक्यो कम्पनीले; प्राईभेट बीमा भएकालाई ३ हजार १ सय २० युएस डलर

     

    न्युयोर्क      

    क्यालिफोर्नियास्थित एउटा औषधी उत्पादक कम्पनी गिलिएड साईन्सले कोरोना संक्रमितको उपचारको लागि बजारमा आउँदै गरेको औषधी ‘रेमडिसिभिर’ को मुल्य सार्वजनिक गरेको छ । कोभिड -१९ उपचारको एण्टी भाईरल ‘रेमिडिसिभर’ को मुल्य अमेरिकी प्राईभेट ईन्स्योरेन्स बाहक  बिरामीको लागि प्रति डोज ५ सय २० अमेरिकी डलर र अमेरिकी सरकारको ईन्स्योरेस बाहकको लागि केही सस्तो ३ सय ९० डलर पर्ने कम्पनीले बताएको छ ।  

    कम्पनीले सोमबार सार्वजनिक गरेको औषधीको मुल्यको आधारमा प्राईभेट बीमा भएका बिरामीलाई पुरा डोजको ३ हजार १ सय २० र सरकारी ईन्स्योरेन्सको हकमा २ हजार ३ सय ४० अमेरिकी डलर मुल्य पर्नेछ ।  

    हालसम्म बजारमा कोभिड -१९ उपचारको लागि एफडिएले मान्यता दिएको औषधी उपलब्ध नभएको अवस्थामा रेमिडिसिभर मात्र त्यस्तो एण्टी भाईइरल औषधीको हो, जस्ले मानव शरीरमा गरिएको परिक्षणमा सफलता पाएको छ । गिलिएड सायन्सका सिईओ तथा अध्यक्ष ड्यनियल ओडेले खुला पत्रमा लेखेका छँन्; ‘यस्तो महामारीको समयमा कसरी औषधीको मुल्य निर्धारण गर्ने कुनै निर्देशिका छैन । कम्पनीले यस्को बास्तबिक मुल्य भन्दा कम राख्ने निर्णय गरेको छ” ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ लाख डोज रेमडिसिभिर औषधीलाई आगामी सेप्टेम्बरसम्म अमेरिकाका अस्पतालमा पुर्याउन छुट्याई सकेको युएस हेल्थ एण्ड  ह्युमन सर्भिस सेक्रेटरी एलेक्स अजरले सोमबार घोषणा गरेका छन् । सेक्रेटरी एलेक्सले भनेका छन्; “अहिले संघीय सरकारले औषधी वास्तबमै खाँचो परेको राज्यहरुको अस्पातलमा पुर्याउने बिषयमा काम भै रहेको छ” । अलेक्सले सोमबार एबिसि न्युजको गूड मर्निङ अमेरिकामा औषधीको बारेमा भनेका हुन्।  

    रेमडिसिभिरलाई सुरुमा गिलिएडले ईबोलाको उपचारको लागि उत्पादन गरेको थियो । गत मेई महिनामा एफडिएले अस्पताल भर्ना भएका बिरामीलाई आकस्मिकरुपमा उक्त औषधी प्रयोग गर्न स्वीकृति दिएको थियो ।

  • सरकारले लकडाउन लम्ब्यायो, अहिलेकै अवस्थाको लकडाउन ७ साउनसम्म

    सरकारले लकडाउन लम्ब्यायो, अहिलेकै अवस्थाको लकडाउन ७ साउनसम्म

    काठमाडौं । सरकारले लकडाउनको अवधि थप गरेको छ । लकडाउन केही खुकुलो भने भएको छ । अहिलेको लकडाउनको अवधि २१ असारसम्मको थियो । यो लकडाउनलाई सरकारले ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । स्रोतका अनुसार अहिलेकै अवस्थाको लकडाउन साउन ७ सम्म जारी रहनेछ ।

    यसअवधिमा हवाई तथा सार्वजनिक यातायात, विद्यालय र सार्वजनिक स्थलहरु बन्द रहनेछन् । अन्य क्षेत्र भने सरकारले यसअघि नै खुकुलो बनाएको थियो । अहिलेको लकडाउनलाई स्वरुप फेरबदल नगरी साउन ७ सम्म लम्ब्याउने निर्णय भएको बताइएको छ । अहिले देशभर कोरोना संक्रमण तिब्र गतिमा बढिरहेको छ ।

    सरकारले कोरोना फैलिन नदिन सामाजिक दुरी र स्वास्थ्यसम्बन्धी सतर्कता भने कडाईका साथ पालना गर्न आह्वान गरेको छ । बढी प्रभावित भएको क्षेत्रमा भन कडा लकडाउन हुनेछ । यो अधिकार तल्लो सरकालाक्ष्ई दिइसकेको छ । अहिले शहर बजारमा पसल खुलेका छन् । निजी सवारी साधन जोर विजोर प्रणालीमा चलिरहेका छन्। यो भने जारी नै रहनेछ ।

  • सुस्मिताका लागि जब आफ्नै भान्साकोठा र आफन्त काल बनेर आए…

    सुस्मिताका लागि जब आफ्नै भान्साकोठा र आफन्त काल बनेर आए…

    हेटौडा । दुई साता अगाडी मकवानपुरस्थित आफ्नै घरको भान्सा कोठामा मृत भेटिएकी सुस्मिता थापाको घरकै परिवारबाट क्रुर हत्या भएको खुलेको छ । परिवारका सदस्यको मिलेमतोमा हत्या भएको प्रहरीले सोमबार जानकारी गराएको छ । प्रहरीले दुई साता लामो अनुसन्धानपछि मकवानपुरबाट सुस्मिताका सासू, ससुरा र दुई नन्दलाई घटनामा संलग्न रहेको आरोपमा सार्वजनिक गरेको छ ।

    २२ वर्षिय सुस्मिताको परिवार मिलेर आफ्नै भान्सा कोठामा हत्या भएको खुलेको हो । प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दूर्गा र २३ वर्षीया नन्द सीता थापालाई पक्राउपछि सार्वजनिक गरेको छ ।

    प्रहरीका अनुसार सुस्मिताका श्रीमान रुपेन्द्र थापा कपिलवस्तु सशुराली पुगेर हेटौडा फर्कने क्रममा मोटरसाइकल दूर्घटनामा परेका थिए । यो २६ असोज २०७६ को दिन थियो । उनको मृत्युपछि बुहारीकै कारण छोराको मृत्यु भएको भन्दै हरेक दिन बुहारीमाथि परिवारले टोकसो गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

    त्यसक्रममा ससुराले बुहारीमाथि यौन दूब्र्यब्वहारसमेत गर्ने गरेको घिनलाग्दो हर्कतसमेत प्रहरीले अनुसन्धानका दौरान फेला पारेको छ । प्रहरीका अनुसार एकातर्फ छोराको मृत्युमा बुहारीको कारण देखेका परिवारले अर्कोतर्फ छोराको मृत्युपछि आउने बीमा रकममा समेत विवाद भएको प्रहरीको भनाई छ ।

    रुपेन्द्रको सवारी दुर्घटनामा मृत्युपछि क्षतिपूर्तिबापत दश लाख रुपैयाँ आएको थियो । यो रकम उनका बाबु प्रकाशले लिएको प्रहरीले जनाएको छ ।

    उता, रुपेन्द्रले काम गर्ने क्लोजर सिस्टम इन्टरनेसनल नेपालबाट पाउने बिमा, बोनस र तलबवापतको ३८ लाख २८ हजार रुपैयाँमा समेत बुबा प्रकाशले एकलौटी दावी गरे । तर, यो रकमको हकदार भने बाबु प्रकाश, आमा तुलसा र पत्नी सुस्मिता समेत थिइन् । सुस्मितालाई रकम नदिने र सबै रकम हत्याउने नाममा परिवार नै मिलेर बुहारीको हत्याको योजना बनाएको निष्कर्षमा प्रहरी पुगेको छ ।

    सो क्रममा ससुरा प्रकाशले सुस्मितामाथि पटकपटक जबरजस्ती करणीको समेत प्रयास गरेको प्रहरीले जानकारी गराएको छ ।

    प्रहरीका अनुसार १ असारमा सुस्मितालाई खाना खाइरहेको समयमा ससुरा प्रकाशले लठ्ठीले टाउकोमा हिर्काएका थिए । त्यसपछि भुईमा लडेकी उनलाई नन्द सीता थापाले लोहोरो प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन् । बाबुछोरीले बुहारीको हत्यागरेपछि आत्महत्या भएको देखाउन रगत पुछ्नेदेखि कपडामा लागेको रगत सफा गरेको प्रहरी अनुसन्धानले खुलेको छ । कोठामा भित्रबाट चुकुल लगाएर झ्यालबाट बाहिर निस्केका बाबुछोरीले सुमिस्ताले आत्महत्या गरेको दावी गरेका थिए ।

  • एमसीसी पास गर्न अमेरिकाको दवाव, अनुमोदनमा ढिलाई भए आर्थिक वृद्धिमा फाइदा नपुग्ने भनाई

    एमसीसी पास गर्न अमेरिकाको दवाव, अनुमोदनमा ढिलाई भए आर्थिक वृद्धिमा फाइदा नपुग्ने भनाई

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले एमसीसी अनुदान स्वीकार गर्न नेपाललाई अप्रत्यक्ष दवाव दिएको छ । संसदमा विचाराधिन यो अनुदान स्वीकार गर्दा नेपालमा थप रोजगारी सिर्जना हुने तथा आर्थिक वृद्धि हुने भन्दै अमेरिकाले मनोवैज्ञानिक दवाव सिर्जना हुने गरी विज्ञप्ती निकालेको छ ।

    नेपालस्थित अमेरिकी दूतावासले निकालेको विज्ञप्तीमा यद्दपी अनुदान स्वीकार गर्ने वा नगर्ने भन्ने विषय भने नेपालमै रोजाईको विषय भएको उल्लेख गरेको छ । कोषको रकम सधैं उपलब्ध नहुने समेत दूतावासले उल्लेख गरेको छ । संसदबाट एमसीसी सम्झौता अनुमोदन अहिलेसम्म नभएको सम्बन्धमा समेत अमेरिकापूर्ण जानकार रहेको समेत दूतावासको भनाई छ ।

    अमेरिकाले यो कार्यक्रमको व्यवहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस कदम आवश्यक देखिएको समेत उल्लेख गरेको छ । अमेरिकाले एमसीसी सम्झौताका कार्यक्रम अघि बढाउन नेपालका सबै प्रमुख राजनीतिक दलको प्रतिनिधित्व भएका सरकारहरुले सन् २०१२ देखि लगातार प्रतिवद्धता जनाएको स्मरण समेत गराएको छ ।

    सम्झौताले विद्युत प्रसारण लाइन पूर्वाधारको निर्माण र सडक मर्मत सम्भारका क्रियाकलाप गरी २ करोड ३० लाख नेपालीलाई प्रत्यक्ष रुपमा लाभ दिने अमेरिकाको भनाई छ ।

    अमेरिका र नेपालबीचको ७३ वर्ष लामो साझेदारीमा दुवै देशको हित हुने गरी विभिन्न क्षेत्रमा सफल सहकार्य भएको स्मरण अमेरिकाले गराएको छ । एमसीसी अनुमोदन गर्नुपर्ने अवधि १७ असारमा सकिदैछ ।

    तर, नेकपा भित्रको आन्तरिक विवादका कारण यो पास हुन सकेको छैन । अमेरिकाले म्याद नथपे यो कार्यक्रम रद्द हुन्छ । एमसीसी अन्तर्गत अमेरिकाले ५० करोड डलर नेपाललाई उपलब्ध गराउने भनेको छ । जसमा प्रसारण लाइनका परियोजना रहेका छन् ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार ललितपुरको स्टार अस्पतालमा रौतहटका २९ वर्षीय पुरुषको शनिबार राति उपचारको क्रममा मृत्यु भएको हो ।

    कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको गौतमले बताए ।

    उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो। उनको मृत्यु भएपनि शनिबार राति नै स्वाब संकलन गरिएको थियो। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

  • थप १२१ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ३१३४

    थप १२१ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ३१३४

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट उनिहरु संक्रमणमुक्त भएका हुन् ।

    पछिल्लो पटक १३ महिला र १०८ जना गरी १२१ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म ३ हजार १३४ जना उपचारपछि निको भएका छन्।

  • काठमाडौंका ६ सहित नेपालमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण

    काठमाडौंका ६ सहित नेपालमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आइतबारसम्म कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ।

    कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ।

  • सर्लाहीमा नेकपा र कांग्रेस कार्यक्रताबीच हिंस्रक झडप, १८ घाइते, गोलीसमेत चल्यो

    सर्लाहीमा नेकपा र कांग्रेस कार्यक्रताबीच हिंस्रक झडप, १८ घाइते, गोलीसमेत चल्यो

    सर्लाही । सर्लाहीमा नेकपा र कांग्रेसका कार्यक्रताबीच हिंस्रक झडप भएको छ । सर्लाहीको धनकौल गाउँपालिकामा गत राती यस्तो झडप भएको हो । प्रहरीका अनुसार घटनामा गोली समेत चलेको थियो । घटनामा १८ जना घाइते छन्।

    घाइतेमध्ये केहीलाई गोली लागेको प्रहरीले जनाएको छ । सर्लाहीको रामनगर गाउँपालिकामा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्या भएको थियो । सोही विषयलाई लिएर नेकपाका युवा विद्यार्थीले आइतबार सर्लाहीका विभिन्न स्थानमा जुलुस प्रदर्शन जारी राखेका छन् । त्यसक्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ ।

    गोली लागेका घाइतेहरु समेत गम्भीर भने नरहेको प्रहरीले अस्पताललाई उदृत गर्दै जानकारी गराएको छ ।
    घाइते हुनेमा १५ जना कांग्रेस र तीन जना नकेपा कार्यकर्ता छन् । घटनामा संलग्न एक जना भने पक्राउ परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    रामनगरका नेकपा कार्यकर्ता ६० वर्षीय रामजल रायको एक साताअघि हत्या भएको थियो। उनको शव अझै उठेको छैन । नेकपाले यो घटनामा कांग्रेसको हात रहेको बताएको छ ।

  • विदेशबाट सोमबार बिहानै काठमाडौं आइपुगे २९० नेपाली, उद्दार जारी

    विदेशबाट सोमबार बिहानै काठमाडौं आइपुगे २९० नेपाली, उद्दार जारी

    काठमाडौं । सोमबार बिहानै २ सय ९० जना नेपाली काठमाडौं आइपुगेका छन् । आज कतारको दोहा र मलेसियाको क्लालाम्पुरबाट २९० जना नेपाली घर फर्किएका हुन् । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १५१ जना र मलेसियाको क्लालाम्पुरबाट १३९ जनालाई नेपाल ल्याएको हो । दोहाबाट एउटा शव पनि नेपाल ल्याइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

    आज कुवेतमा आममाफीमा सहभागी थप नेपाली घर फर्कदैछन् । मलेसियाबाट हिमालय एयरलाइन्सको जहाजले नेपालीलाई घर ल्याउँदैछ । कुवेतबाट सोही मुलुकको सरकारले जजिरा एयरबाट नेपालीलाई निःशुल्क घर पठाइदिएको छ ।

    आज हिमालय र नेपाल एयरलाइन्सका जहाज विभिन्न ६ गन्तब्यमा पुग्दैछन् । नेपाल एयरलाइन्सका चार वटै जहाज कतारको दोहा, मलेसियाको क्लालाम्पुर, यूएईको दुबई र कुवेतमा नेपालीको उद्दारको लागि पुग्दैछन् ।

    हिमालय एयरलाइन्सका जहाज साउदीको दमाम र छाङ्सा जाने कार्यक्रम तय भएको छ । अहिलेसम्म ११ हजार भन्दा बढीको उद्दार भइसकेको छ । पहिलो चरणमा करीव २७ हजार नेपाली घर फर्कने अनुमान सरकारको थियो ।

  • आज धान दिवस, दही च्यूरा खाँदै रोपाई गर्ने दिन

    आज धान दिवस, दही च्यूरा खाँदै रोपाई गर्ने दिन

    काठमाडौं । आज नेपाली कृषकका लागि महान दिन हो । सरकारले धान दिवसका रुपमा घोषणा गरेको यो दिन रोपेको मानो मंसिरमा मुरी भएर उब्जनी हुन्छ । सोहीकारण आज कृषकको सम्मानमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका दिन आज सरकारले रौटहटमा विशेष कार्यक्रम हुनेछ ।

    उक्त कार्यक्रममा भाग लिन कृषि मन्त्री धनश्याम भुषाल सो क्षेत्रमा लागेका छन् । आजै रोपाइँ गदौ खाजामा दही च्यूरा खाने प्रचलन समेत रहेको छ । सरकारले २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालेको हो । यस वर्ष कोरोना महामारीले गर्दा पूर्ण रौनकका साथ रोपाई गर्न पाइने छैन ।

    सामाजिक दूरी कायम गर्दै रोपाईमा भाग लिनु पर्ने भएको छ । कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी धान दिवस मनाइने कृषि विभागको तयारी छ ।

    असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

    मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

    यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागले जनाएको छ ।

  • देशका अधिकांश स्थानमा फैलियो सलह, अब के हुन्छ ?

    देशका अधिकांश स्थानमा फैलियो सलह, अब के हुन्छ ?

    काठमाडौं । नेपालको तराई र पहाडका अधिकांश जिल्लामा सलह पुगेको रिपोर्ट आइतबार विभिन्न जिल्लाबाट आएको छ । सोही सन्दर्भमा आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विज्ञ समुहसँग छलफल गरेको छ । विज्ञहरुले सलह नेपालमै फैलन सक्ने सम्भावना नरहेपनि जोखिम भने कायम नै रहेको बताएका छन् ।

    यसअघि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाई नेतृत्वको कार्यदलले जेठ २३ मा एक प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको सारांश भने नेपालमा यो वर्ष सलह नआउने उल्लेख थियो । सलह नियन्त्रण गर्न विषादी प्रयोगको सुझाव कार्यदलको थियो । तर, विज्ञहरुले भने सलहलाई विषादी प्रयोग भन्दा जैविक विधिबाट नियन्त्रणको सुझाव दिएका छन् ।

    सोही अनुसार प्रदेश ५ र सुदुरपश्चिम सरकारले भने जैविक विधिको प्रयोग गर्न प्रोत्साहनको कार्यक्रम समेत ल्याएका छन् । प्रदेश ५ मा सलह समातेर लगेमा प्रतिकिलो २० रुपैयाँ र सुदुरपश्चिम प्रदेशमा प्रतिकिलो २५ रुपैयाँ मूल्य तोकिएको छ । प्रदेश ५ सरकारले त सोमबार करीव ८ किलो सलह बच्चाहरुबाट खरीद समेत गरिसकेको छ । यो किरा नियन्त्रण गर्न अपनाइएको उपाय थियो ।

    नेपालमा सलह प्रवेश गरेको भोलिपल्ट कृषि मन्त्रालय तथा पशु विकास मन्त्रालयले नेपाल आएको सलहको बथान सानो भएको भन्दै नआत्तिन आग्रह गरेपछि यसको फैलावट भने देशभर पुगिसकेको छ । यसले तराई, पहाड र हिमालको प्रमुख बाली मकैमा क्षति गर्ने अनुमान छ ।

    मन्त्रालयका अनुसार रुपन्देहीमा क्षतिको अनुमान गरिएको छ । मन्त्रालयले भने अको तीन दिनको मौसमी अवस्था हेरी सलहले लिने फैलावटबारे भन्न सकिने बताएको छ ।

  • विश्वभरका समलिंगीहरुको आस्थाको केन्द्र स्टोन वाल मदिरालयको अस्तित्व संकटमा

    विश्वभरका समलिंगीहरुको आस्थाको केन्द्र स्टोन वाल मदिरालयको अस्तित्व संकटमा

    न्युयोर्क

    न्युयोर्क म्यानह्याटनस्थित एक प्रतिकात्मक समलिंगी मदिरालय (मधुशाला) स्टोन वाल जँहाबाट ५१ बर्ष पहिले समलिंगी अधिकारको आन्दोलन सुरु भएको विश्वास गरिन्छ, आज त्यो मदिरालयको अस्तित्व संकटमा परेको छ । चर्चित पर्यटकीय क्षेत्र ग्रिनविच भिलेज क्षेत्रमा संचालित स्टोन वाल कोरोना महामारीको कारण खर्च अभाब भए पछि बन्द गर्नु पर्ने अवस्थामा पुगेको हो ।  

    महिनौं बन्द भएर पुन संचालन गर्न अहिले मदिरालयले चन्दा संकलनको बाटो रोजेको छ । अनलाईन चन्दा संकलनकर्ता एजेन्सी गो फण्डमीमा ‘स्टोन वाल ईन’ ले दुई वटा खाता सुरु गरेको छ । स्टोन वालले चन्दा उठाउन  गो फण्ड मिमा खोलेको दुई वटा खाता मध्ये ‘मदिरालय संचालन खर्च’ को एउटा खातामा २ लाख ३३ हजार अमेरिकी डलर उठाईसकेको छ भने ‘कर्मचारी सहयोग’ नाम दिईएको अर्को खातामा ३६ हजार डलर संकलन गरिसकेको छ ।  

    स्टोन वालकी सह-मालिक स्ट्यासी लेन्जले समलिंगिहरुको प्रतिकात्मक मदिरालयको अस्तित्व संकटको बिषयमा भनेकी छिंन्; ‘तिन महिनासम्म कुनै पनि आम्दानी बिना मदिरालय (बार) को अस्तित्व बचाउनुले भबिष्यमा के हुने हो थाहा छैन । यो  ऐतिहासिक मदिरालयले झेल्नु परेको कठिन परिस्थितीको बारेमा सबैले थाहा पाउनु पर्ने हाम्रो सोचाई छ । सन् १९६९ को समलिंगी अधिकारको आन्दोलन पछि स्टोन वाल मदिरालयले राष्ट्रिय मान्यता पाउँदै आएको छ ।  संसारभरका मानिस बीच परिचित स्टोन वाल एउटा मदिरालय र मनोरञ्जनको थलो भन्दा पनि समलिंगी आन्दोलनको एउटा सम्मानित स्थलको रुपमा चिनिन्छ ।  

    समाचार श्रोत : एबिसि ७ न्युयोर्क

  • प्रधानमन्त्रीले भने : मलाई भारतले हटाउन खोज्यो

    प्रधानमन्त्रीले भने : मलाई भारतले हटाउन खोज्यो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको बताएका छन् । खासगरी लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खोजिएको उनको दावि छ । भारतले शुरु गरेको यो चलखेलमा नेपालका नेताले साथ दिएको गम्भीर आरोपसमेत उनले लगाएका छन् । उनको यो संकेत आफ्नै पार्टीका नेतातर्फ फर्किएको छ ।

    मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटार आयोजना गरेको कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री ओलीले हप्ता, १५ दिनमै प्रधानमन्त्री परिर्वतन हुन्छ भन्न थालिएको समेत उल्लेख गरे ।

    भारतको राज्य संयन्त्र नै नेपालमा प्रधानमन्त्रीलाई लडाउन सक्रिय रहेको उनको आरोप छ । अघिल्लो पटक आफु प्रधानमन्त्री भएको समयमा चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेकै कारण आफ्नो सरकार ढलेको उनको दावि छ ।

    नेपालका होटलमा भइरहेका गतिविधि, एम्बेसीको सक्रियतालगायत समेत आफ्नो सरकार ढाल्न सक्रिय रहेको उनको भनाई छ । नेपालको नक्सा छापेरे कुनै गल्ती नगरेको दावि गर्दै प्रधानमन्त्रीले आफुलाई हटाउने सपना पूरा नहुने बताए । अब नेपालसँग भूमि फिर्ता लिनुको विकल्प नरहको उल्लेख गरेका छन् ।

  • सोमबारबाट खुल्ने भयो शेयर बजार

    सोमबारबाट खुल्ने भयो शेयर बजार

    काठमाडौं । लकडाउनका कारण करीव २ महिना ठप्प भएको शेयर बजार सोमबारबाट पुनः संचालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुलाउने निर्णय गरेको हो । बोर्ड सञ्चालक समितिको बैठक आइतबार बसेको थियो । बोर्डले सुरक्षा सतर्कता अपनाएर सोमबारबाट धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालनको निर्णय लिएको हो ।

    कोरोना महामारीका कारण गत चैत ११ बाट सेयर बजार बन्द भएको थियो । बीचमा वैशाख २ गते बजार खुलाइएको थियो । तर दुई दिन कारोबार भएकोमा दुई दिन नै लगातार नेगेटिभ सर्किट लागेपछि बजार अनिश्चितकालका लागि बन्द भएको थियो । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार सुरक्षा सतर्कता अपनाएर बजार संचालनमा ल्याउने निर्णय भएको हो ।

    सेयर कारोबार गर्दा लगानीकर्ताले सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोगमा जोड दिइने भएको छ । नियमित कारोबार सञ्चालनमा कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी नयाँ व्‍यवस्था हुने भएको छ ।

    सेयर कारोबार गर्दा लगानीकर्ता, ब्रोकर, नेप्से, सीडीएसी, मर्चेन्ट बैंकरले यसअघि बोर्डले जारी गरेको कोभिड १९ सुरक्षाका उपाय पालना गर्नुपर्ने भएको छ । धितोपत्र बजार सम्बद्ध संस्थाले स्वास्थ्य सुरक्षाका विधि नअपनाई कार्यालय खोलेमा भने बोर्डले कारबाही गर्ने भएको छ ।

  • लागुऔषध ओसार्ने प्रहरी निरिक्षक र खरिद-बिक्री गर्ने पूर्व पाइलट सहित पक्राऊ

    लागुऔषध ओसार्ने प्रहरी निरिक्षक र खरिद-बिक्री गर्ने पूर्व पाइलट सहित पक्राऊ

    काठमाडौं

    महानगरीय प्रहरी परिसर, ललितपुरमा कार्यरत पुलिस इन्सपेक्टर रुद्रबहादुर शाही लागूऔषध कारोवार गरेको आरोपमा पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोले एक प्रहरी निरीक्षकको संलग्नता देखेपछि बिहीबार नियन्त्रणमा लिएको हो । गत बुधबारदेखि ब्युरोले लागू औषधसम्बन्धी अपरेसन थालेको प्रवक्ता तथा एसपी प्रविन धितालले जानकारी दिए ।

    एसपी प्रबिन धिताल भन्छन्; “हामीले गत बुधबारदेखि केही सदस्य गठन गरी अपरेसन थालेका हौं, सोही अनुसार अनुसन्धान गर्नका लागि ललितपुरका एक प्रहरी निरीक्षकलाई पनि हामीले सोधपुछका लागि नियन्त्रणमा लिएका छौं” ।

    लागुऔसध ओसारपसार गिरोहमा इन्सपेक्टर शाहीको प्रमुख भूमिका देखिएको प्रहरीको दावी छ । सो समूहमा इन्सपेक्टर शाहीसँगै एक पूर्व पाइलट भूपेश शेरचन (साहित्य सर्जक भूपी शेरचन पुत्र) पनि पक्राउ परेको छ । शेरचन नेपाल एयरलाइन्सका पूर्वपाइलट हुन् । डिप्रेसनले गर्दा लागुऔषध कारोबारमा लागेको प्रहरी समक्ष उनले बताएका छन् । राजधानीको नक्सालमा बस्दै आएका ४८ वर्षीय नेपाल एयरलाइन्सका कर्मचारी भुपेशले जागिर सुरु गरेको केही वर्षमै राजीनामा दिएका थिए । प्रहरीको सुरुवाती सोधपुछमा भुपेशले ‘जागिर सुरु गरेपछि केही विमान दुर्घटनामा साथीहरु गुमाएपछि डिप्रेसनमा पुगेको’ बताएका छन् ।

    विश्वसन्देश सम्वाददाताले लागूऔषध नियन्त्रण व्यूरोका प्रवक्ता एसपी धितालसँग बृस्तित जानकारी माग्ने क्रममा बताए; “खासमा प्रहरीले सन्तोष कुमार साहलाई वाच गरि राखेको थियो । यस अघि पनि २०७३ सालमा लागूऔषध मुद्दामा सन्तोस साह धरौटीमा रिहा भएको व्यक्ति हो । सन्तोस प्रहरीको निगरानीमा नै थियो । स्थानीयको जानकारीको आधारमा र त्यसको गतिबिधि हेरेर हामीले ३ महिनादेखि पछि लागिराख्यौं । गत बुधबार हामीलाई सन्तोषको पेप्सीकोलास्थित कोठामा सामान आउने थाहा भएपछि तत्काल छापा मार्यौं । सबुत प्रमाण सहित सन्तोस पक्राऊ पर्यो । त्यसैबेला त्यहाँ लागूऔषध सेवन र खरिद गर्न भूपेश पनि पुगेका रहेछन् । पछि सन्तोसले नै ओसारपसारमा सहयोग गर्ने काम प्रहरी इन्सपेक्टर शाहीले गर्ने बताएका हुन् । इन्सपेक्टरलाई पक्राऊ गर्दा इन्सपेक्टरको कोठाबाट पनि लागूऔषध बरामद भयो” । 


    पक्राऊका सम्वन्धमा लागू औषध नियन्त्र ब्युरो काठमाडौंले प्रेस बिज्ञप्ति समेत जारी गरी सकेको छ । पक्राऊ पर्नेमा शाही र शेरचनसँगै ज्ञानेश्वरका अविनास थपलिया, बर्दीयाका सन्तोष कुमार साह र उदयपुरका एलिसन बस्नेत छन् । उनीहरुको साथबाट मनोद्दिपक लागुऔषध ६६० बोतल, नाइट्राभेट ११४० ट्याब्लेट, स्पास्मो प्रोक्स्भिोन क्याप्सुल ३३० थान र एक लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

  • ‘१६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो मलाई थाह छैन’

    ‘१६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो मलाई थाह छैन’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो थाह नभएको बताएका छन् ।

    ओलीले मदन भण्डारी फाउण्डेसनद्धारा आइतबार आयोजित कार्यक्रममा आफ्लाई नेपालमा १६ करोडको गाडी छ छैन त्यो पनि थाहाँ नभएको बताए ।

    राष्ट्रपतिलाई १६ करोडको गाडी किन्न लागेको भन्दै सामाजिक सञ्जालभरि विरोध भैरहेको बेला उनले उक्त कुराको प्रष्ट पारेका हुन् ।

    ओलीले मन्तव्य भने आजकल मान्छेहरु अक्सर भन्ने गर्छन्, ‘मदन भण्डारी साइकलमा हिंड्नुहुन्थ्यो, अहिलेका नेताहरु, उहाँकी श्रीमती १६ करोडको गाडीमा हिंड्ने ! ‘ भनेर भन्छन्।

    १६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो मलाई थाह छैन। १६ करोडको होइन, राष्ट्रपति हिंड्ने गाडी बाटामा जाँदाजाँदै स्टार्ट बन्द हुने खालको गाडी हुनुभएन। यो ईर्ष्याभावका कुरा नगरम्।

    राष्ट्रपति साइकलमा हिंड्दैनन्। हो, स्वेडेनका राजा साइकलमा हिंड्छन्। बडो चर्चा छ। मैले पनि कहिलेकाँहि चर्चा गर्छु। तर के गाडी नै नभएर साइकलमा हिँडेका हुन्।

    उनीहरु फङसनहरुमा जाँदा, गाडिमा हिँड्दा स्कर्टिङ हुदैन ? त्यस्तो होइन, स्कर्टिङ पनि हुन्छ सबै कुरा हुन्छ। तर, दरबार नजिकैको रेलवे स्टेशनमा जाने त्यो सोखको कुरा मात्र हो।

    कहिलेकाँही उनी साइक्लिङ गर्छन्। त्यो सोखको कुरा हो। गाडि नभएको होइन।

    मदन भण्डारीको धर्मपत्नी साइकल चलाउन जान्नु हुन्न। त्यो आलोचना गर्नेहरु केमा हिंड्छन्रु आम्दानी कति पारदर्शी छ, थाह छैन मलाई। तर हिंड्न चाहिँ राम्रै गाडिमा हिंड्छन्, ती आलोचना गर्नेहरु।

    मदन भण्डारीलाई यस्तै आरोप लगाएका थिए। मदन भण्डारी साइकलमा निस्कने, कहिले अर्को साथीले गाडी ल्याएपछि हिंड्ने। चुनावमा उमेदवार भएर प्रचारमा जाँदा गाडी छैन।

    साइकलमा हिंड्नु पर्ने अवस्थामा एकजना नक्शालका थापाजीले म आफै ड्राइभ गर्छु र तपाईलाई चुनाव भरी सघाउँछु भनेर आफै ड्राइभ गरेर मदनलाई गाडीमा लिएर हिंड्नुभो।

    त्यसपछि देशव्यापीरुपमा हल्ला चल्यो, पोस्टर टाँसिए, ‘ज्ञानेन्द्रले दिएको रातो गाडिमा मदन भण्डारी हिंड्ने गरेका छन्’ भनेर। दरबारसँगको कनेक्सन जोडेयो मदन भण्डारी जस्तो व्यक्तिसँग।

    भौतिकवादको एउटा खराबी छ किनभने त्यसले पाप धर्म भन्ने कुरा मान्दैन। पाप लाग्छ भन्ने ठान्दैन। सत्य निष्ठा छोड्दिए पछि जे भने पनि भयो, जे गरे पनि भयो।

    पापको डर छैन, नर्क जानुपर्ला भन्ने छैन। त्यसैले भौतिकवादीहरु भ्रष्ट भए भने खतरनाक हुन्छन्।

    इमान छाडेको भौतिकवादी बहुतै खतरनाक हुन्छ। जे पनि बोल्छ।

    भौतिकवादी पनि छाडा भौतिकवादी भयो भने खतरा हुन्छ।

    हामीले अनुसरण गर्न जरुरी छ। इमानसहितको अभियान र विचारमा हुनु जरुरी छ। आज यस सन्दर्भमा म यहि आग्रह गर्न चाहन्छु। इमानसहित उहाँलाई अनुसरण गरौं।