Category: फिचर

  • मेलम्चीको सपना, घरघरमा पानी आउन अझै पुरै एक वर्ष लाग्ने

    मेलम्चीको सपना, घरघरमा पानी आउन अझै पुरै एक वर्ष लाग्ने

    काठमाडौं । मेलम्चीको पानी घरघरमा थापेर प्यास मेटाउने राजधानी बासीको अपेक्षा पुरा हुन अर्को थप एक वर्ष कुर्नु पर्ने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा बुधबार मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे जानकारी गराउँदै खानेपानी मन्त्री बीना मगरले थप एक वर्ष काठमाडौैंमा पानी नआउने स्पष्ट पारिन् ।

    बैठकमा खानेपानीमन्त्री बिना मगर, मन्त्रालयका सचिव माधव बेल्बासे, खानेपानी आयोजना प्रमुख तिरेशप्रसाद खत्री लगायत उपस्थित थिए । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले मेलम्चीको पानी घरघरमा कहिले आइपुग्छ भनेर ठ्याक्कै भन्न नसकिने उल्लेख गरे । विगतमा मिति तोक्दा तोकिएको समयमा काम पुरा नहुँदा ‘फेसबुकमा भाइरल’ बनाउने काम मात्रै भएको भन्दै उउनी तर्सिए पनि ।

    यसपटक मिति तोक्ने भन्दा छिटोभन्दा छिटो काम गर्नेतिर केन्द्रित भएको बताए । मन्त्री बीना मगरले भने अहिलेसम्म ९९ प्रतिशत भौतिक काम पूरा भएको बताइन् । आयोजनाको भौतिक निर्माणको काम सम्पन्न भएपछि उद्घाटनको मिति तोक्ने मन्त्री मगरले उल्लेख गरिन् ।

    मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले समेत ९९ प्रतिशत काम सम्पन्न भएको जानकारी गराए । उनका अनुसार सुरुङको ९९ प्रतिशत काम सकिएको छ । डीआइपाइपसहितको वैकल्पिक पानी पथान्तरण प्रणालीको काम शतप्रतिशत सकिएको छ । सुरुङ तथा पानी प्रसोधन केन्द्रबीचको जडान कार्य ९८ प्रतिशत सकिएको छ ।

    पानी प्रसोधन केन्द्रमा समेत काम पुरा भएको छ । कोकर ड्याम, हाइड्रोमेकानिकल गेट ६ गोटा जडान कार्य पनि सम्पन्न भएको पनि उनले जानकारी दिए । हेडबर्क्सको काम भने ६५ मात्रै प्रतिशत सकिएको उनले बताए ।

    बाँकी भौतिक काम पुस मसान्तसम्म सकिने उनले बताए । त्यसपछि परीक्षणको काम सुरु हुने आयोजना प्रमुख खत्री बताउँछन् । पानी परीक्षण सुरु भएपछि परीक्षण सम्पन्न गर्नका लागि अर्को तीन महिना लाग्ने उनको भनाई छ ।

  • नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, गण्डकीमा थपिए ११ संक्रमित

    नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, गण्डकीमा थपिए ११ संक्रमित

    पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचार गराइरहेका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको हो । स्याङ्जा सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गतरात ११ः३५ मा निधन भएको अस्पतालले जनाएको छ ।

    अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २५ पुगेको छ । उनी असार ८ मा अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनी डायबिटिजका बिरामी रहेको समेत अस्पतालले जानकारी दिएको छ ।

    पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् । यसअघि सोही अस्पतालमा स्याङ्जाकै ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

    उता गण्डकी प्रदेशमै बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, म्याग्दी, बाग्लुङ र नवलपुरमा नयाँ संक्रमित पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको छ । संक्रमण पुष्टि हुनेमा स्याङ्जाका एक जना, बागलुङका २ जना छन् ।

    त्यस्तै, म्याग्दीका २० देखि ३२ वर्ष उमेर समूहका ६ जना पुरुष छन् । नवलपुरमा संक्रमण पुष्टि हुने २ जना छन् । गण्डकी प्रदेशभर बिहीबारसम्म ७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।

  • कोरोना संक्रमणमा अमेरिकामा नयाँ रेकर्ड;  एकै दिन ३६ हजार ३ सय ५८ संक्रमित

    कोरोना संक्रमणमा अमेरिकामा नयाँ रेकर्ड; एकै दिन ३६ हजार ३ सय ५८ संक्रमित

    न्युयोर्क

    अमेरिकामा आज बुधबार आजसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । बुधबार मात्र अमेरिकामा ३६ हजार ३ सय ५८ संक्रमित भेटिए । यो संख्या गत अप्रिल २६ तारिख एकै दिन भेटिएका ३६ हजार २ सय ८५ संक्रमितलाई उछिने पछि अमेरिकामा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य बिज्ञहरुले अमेरिकाको दक्षिण र पश्चिम राज्यहरुले गत मेमोरियल डे पछि राज्यहरुको अर्थतन्त्र क्रमश: खुल्ला गर्दै गएको कारण यति ठुलो संख्यामा संक्रमितहरु बढन थालेको बताएका छन् । अमेरिकाकै उत्तर पूर्वी राज्यहरुमा भने कोरोना संक्रमितको संख्यामा गिरावट आईरहेको राज्यका अधिकारीहरुले बताएका छन् । अनुहारमा मास्क हातमा पंजा र सामाजिक दुरीको पालन गरेका कारण उत्तर पूर्वीय राज्यहरुमा संक्रमण घटेको उनिहरुको दाबी छ ।  

    बुधाबार न्युयोर्क न्युजर्सी र कनेक्टिकट राज्यका गभर्नरहरुले अमेरिका कै संक्रमितहरु बढ्दै गएका दक्षिण र पश्चिम राज्यहरुबाट भ्रमण गर्ने सबैलाई अनिबार्य २ हप्ताको क्वेरन्टिन गर्नु पर्ने घोषणा गरेका छन् । अमेरिकामा बुधबारसम्म २३ लाख ८० हजार ४ सय ५२ संक्रमित र १ लाख २१ हजार ९ सय ६९ को मृत्‍यु भै सकेको जोन हप्किन्स युनिभर्सिटीको डाटाले जनाएको छ ।

  • बुधबार १ हजार नेपाली घर फर्किए

    बुधबार १ हजार नेपाली घर फर्किए

    काठमाडौं । बुधबार विभिन्न मुलुकबाट १ हजार जना नेपाली घर फर्किएका छन् । ६ देशबाट ९ सय ९९ जना नेपाली स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणका बीच विदेशमा रोकिएका र अलपत्र परेका नेपालीको उद्दारको काम अहिले भइरहेको छ ।

    बुधबार साउदीको दमामबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना नेपाली घर फर्किए । साउदीकै जेद्दाबाट नेपाल एयरलाइन्सले २५५ जनालाई नेपाल ल्याएको छ । जेद्दाबाट एउटा शव पनि नेपाल आएको छ । हिमालय एयरलाइन्समार्फत यूएईको आबुधाबीबाट ३ बालबालिकासहित १४९ जना घर फर्किए ।

    कुवेतबाट १५५ जना र मलेसियन एयरको कार्गो लिएर आएको जहाजमार्फत चार जना नेपाली घर आए । टर्कीको राजधानी इस्तानाबुलबाट टर्किस एयरलाइन्सको चार्टर्ड जहाजमार्फत २८२ जना नेपाली घर आएका छन् । बुधबार मात्र कुल १४ अन्तर्राष्ट्रिय उडान भएका छन् ।

    ६ वटा चार्टर्ड जहाज नेपाली लिएर काठमाडौं आए । बुधबार नै कतारको दोहा, यूएईको आबुधाबी, कुवेत र जापानको नारितामा नेपाली लिन जहाज उडेका छन् । बुधबार कुल १३ वटा अन्तर्राष्ट्रिय उडानको तालिका तय भएको छ ।

  • परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

    परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

    काठमाडौं । बुधबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेश मन्त्री माइक पोम्पियोबीच टेलिफोन वार्ता भएको छ । कोरोना कहरका बीच यी मुलुकका विदेशमन्त्रीबीच भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनकी यतिबेला नेपालमा अमेरिकी सहायतामा संचालन हुने एमसीसी पास गर्ने वा नगर्ने विषयमा विवाद जारी रहेको छ ।

    मन्त्री ज्ञवाली र पोम्पियोबीच बुधबार टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले पुष्टी गरेको छ । कोरोना महामारीको सन्दर्भमा दुई देशले भोगेका अनुभव साटासाट भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । दुवै देशले कोरोनाको कारण ज्यान गुमाएकाप्रति समवेदना प्रकट गरेका छन् ।

    परराष्ट्र मन्त्री ज्ञवालीले अमेरिकाबाट निरन्तर प्राप्त सहयोगको प्रशंसा गरेका थिए । नेपालमा बुधबारबाट नेकपाको स्थायी कमिटि बैठक शुरु भएको छ ।

    यो बैठकले एमसीसी पास गर्ने वा नगर्ने भन्ने टुंगो लगाउने छ । सोही सन्दर्भमा दुई मुलुकका विदेश मन्त्रीबीच टेलिफोन वार्ता भएको हो । यद्दपी वार्तामा एमसीसीबारे छलफल भयो या भएन भन्ने खुलाइएको छैन ।

  • रुकुम घटनाका २३ अभियुक्त पुर्पक्षका लागि कारागार चलान

    रुकुम घटनाका २३ अभियुक्त पुर्पक्षका लागि कारागार चलान

    रुकुम । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका, सोती गाउँमा भएको नरसंहारमा आरोपित २३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत रुकुमले जेठ १० मा ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्ये २३ जनालाई कारागार चलान गर्ने आदेश दिएको हो ।

    वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो । शुक्रबारदेखि शुरु भएको थुनछेक बहस बुधबार सकिएको हा । जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले यस्तो आदेश गरेका छन् ।

    २ जनालाई १ लाख धरौटी र ३ जना अभियुक्तलाई साधारण तारेखमा छाड्न आदेश दिइएको छ । साधारण तारेखमा छुट्ने प्रतिवादीहरुमा इन्द्रबहादुर मल्ल, तुल बहादुर मल्ल र दिपेन्द्र चन्द छन्।

    यसअघिको दुई जना नाबालक भने पुर्पक्षका लागि सुधारगृहमा पठाउने आदेश आएको थियो ।

    अन्तरजातीय प्रेममा रहेका एक युवकले युवतीलाई भगाउन गाउँ गएका बेला गाउँलेले युवाको जमातलाई लखेट्ने क्रममा यो घटना भएको हो । घटनामा जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान गएको थियो ।

  • आज आयो स्थानीय तहको बजेट, ६ महानगरमा ३९ अर्ब १४ करोड

    आज आयो स्थानीय तहको बजेट, ६ महानगरमा ३९ अर्ब १४ करोड

    काठमाडौं । आज देशभरका स्थानीय तहले बजेट ल्याउने दिन अधिकांश स्थानीय तहको बजेट सार्वजनिक भएको छ । महानगरपालिका र उपमहानगरपालिका सबैले बजेट ल्याए । ७५३ स्थानीय सरकारमध्ये कुन सरकारको बजेट सार्वजनिक भयो भन्ने तथ्यांक भने आइसकेको छैन ।

    काठमाडौंमा एक महिनाको घर भाडा छूट दिने घरबेटीलाई वार्षिक बहाल करमा छूट, तीनकुनेमा बुद्ध पार्क निर्माणजस्ता नीति समेटेर महानगरपालिकाले १६ अर्ब ४२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । काठमाडौंले चालु आवमा बजेटमा राखेका केही असम्भव परियोजना भने अहिले झिकेको छ ।

    मोनोरेल परियोजनालाई बजेटमा पारिएको छैन । काठमाडौंले कवाडीमा पनि कर उठाउने गरी बजे ल्याएको छ । पोखरामा शहरी सौन्दर्यलाई प्राथमिकता दिने गरी बजेट आएको छ । महेन्द्रपुलमा अत्याधुनिक पुल निर्माणको योजना समेत पोखरामा समेटेटिएको छ ।

    विराटनगरले प्रजातन्त्र सेनानीलाई मासिक २५ सय रुपैयाँ भत्ता दिने गरी नीति तथा बजेट ल्याएको छ । भरतपुरले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा संयुक्त कोष स्थापना गर्ने भएको छ ।

    ललितपुरले समेत शहरी सौन्दर्यलाई प्राथमिकता दिँदै विकासको जग वडा वडामा बसाउने घोषणा गरेको छ । वीरगञ्जले शिक्षामा पर्याप्त बजेट राखेको छ । ७५३ स्थानीय तहका बजेटमध्ये सबैभन्दा ठूलो काठमाडौंले ल्याएको छ ।

    काठमाडौंसहित ६ वटै महानगरपालिकाको बजेट भने ३९ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

  • पूर्वराजा भन्छन् : युवा सधै सडकमा आउनुपर्ने अवस्था किन सिर्जना गरिन्छ ?

    पूर्वराजा भन्छन् : युवा सधै सडकमा आउनुपर्ने अवस्था किन सिर्जना गरिन्छ ?

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण आफ्नो जन्मोत्सव नमनाउने घोषणा गरेका छ । यसअघि हरेक जन्मदिनमा उनलाई शुभकामना दिन समर्थकको ठूलो भिड लाग्ने गर्छ । सोहीकारण शाहले बुधबार एक विज्ञप्ती निकाल्दै जन्मोत्सव नमनाउने घोषणा गरेका हुन् । उनले कोरोना भाइरसका कारण जनताले भोग्नुपरेको समस्या समाधान गम्भीर हुन सरकारको भने ध्यानाकर्षण गराएका छन् ।

    कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धा व्यक्त गरेका उनले संक्रमितको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । उनले चुनौतीसँग अवसर पनि आएको भन्दै विभिन्न कारणले स्वदेश फर्किएकाहरुलाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउन आग्रह गरे ।

    उनले राष्ट्रियता तथा अन्य विषयमा समेत चासो राखेका छन् । हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारबारकिन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ भन्ने प्रश्न राख्दै उनले जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ भन्ने सवाल समेत खडा गरेका छन् ।

    रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि संझौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ भन्दै उनले शासकहरुबाट जवाफ मागेका छन् ।

    भ्रष्टाचार, लापरवाही, पक्षपात जस्ता विषय पनि आइरहेको भन्दै उनले यी विषयलाई लिएर हाम्रा होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिक सडक संघर्षमा उत्रिरहनु किन परेको भन्ने प्रश्न उनले राखेका छन् ।

    आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजाले गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने उल्लेख गरेका छन् ।

  • न्युजर्सीस्थित पटेल परिवारका तिनै जना आफ्नै स्विमिङ पुलमा मृत फेला परे

    न्युजर्सीस्थित पटेल परिवारका तिनै जना आफ्नै स्विमिङ पुलमा मृत फेला परे

    एजेन्सी

    अमेरिकाको न्युजर्सी राज्यको इष्ट ब्रन्सविकस्थित एक प्राईभेट घरको करेसा (ब्याक यार्ड) को स्विमिङ पुलमा एक नाबालक सहित तीन जना मृत फेला परेका छँन् । पटेल थर भएका एकै परिवारको घरमा घटेको उक्त घटनामा ८ बर्षीया बालिका ३२ बर्षीया आमा निषा पटेल र ६२ बर्षीय नातेदार भरत पटेल सोमबार अन्दाजी ४ बजे दिउँसो  स्विमिङ पुलमा मृत फेला परेको प्रहरीले जनाएको छ । सोमबार करिब ४ बजेर १५ मिनेट जाँदा छिमेकीले ९११ मा फोन गरेको प्रहरीले जनाएको छ । फोनबाट खबर आए पछि घटनास्थलमा प्रहरी पुग्दा तिनै जना जमिन माथि निर्माण गरिएको पौडी पोखरीमा अचेत अवस्थामा भेटिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले अचेत तीनै जनालाई सि पि आर बिधि मार्फत बचाउने कोसिस गरे पनि प्रयास निरर्थक भएको थियो ।  

    घटना घटेको घरबाट चिच्याएको आवाज सुने पछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । छिमेकीले सुनेको चिच्याएको आवाज मृतक ३२ बर्षीया आमाको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  

    ईस्ट ब्रन्सविकस्थित प्रहरी प्रमुख फ्र्यांक लोसाकोले बिज्ञप्तीमा भनेका छन्; “यो हाम्रो सिंगो समुदायको लागि बिनासकारी दिन हो । अहिले नै घटना कसरी घटेको हो भनेर भन्नु हतार हुने छ” । घटनाको अनुसन्धान भै रहेको मिडिलसेक्स काउन्टी अभियोजकको कार्यालयले जनाएको छ । डब्लु एन बि सि समाचारका अनुसार कतिपयले घटना बिद्युतीय लाईन गडबडीको कारण भएको हुन सक्न्ने अनुमान गरेका छन् । पटेल परिवार गत मेई महिनामा मात्र उक्त स्थानमा सरेको थियो ।

  • २४ घण्टामा ११४ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २३३८

    २४ घण्टामा ११४ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २३३८

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभरबाट १ सय १४ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट ८ महिला र १०६ जना पुरुष संक्रमण मुक्त भएर घर फर्किएका हुन् ।

    जलेश्वर अस्पताल महोत्तरीबाट १ महिला र १८ पुरुष, कोभिड अस्पताल सपही जनकपुरबाट २० पुरुष, सिन्धुली अस्पतालबाट ३ पुरुष, भरतपुर अस्पतालबाट ३ पुरुष, चितवनबाट ५ महिला १३ पुरुष, कपिलबस्तुबाट १ महिला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका ४ पुरुष, मोरङका १८ पुरुष र सुनसरीका १ महिला ४ पुरुष, तेह्रथुमका १ पुरुष, दमौली अस्पताल तनहुँबाट १ पुरुष डिस्चार्ज भएका छन्।

    त्यसैगरी, धौलागिरी अस्पताल बागलुङ बाट ४ पुरुष, गोरखा अस्पतालबाट १ पुरुष, विपी कोइराला शुक्ला गण्डकी अस्पताल तनहुँबाट ६ पुरुष, कालिका अस्पताल स्याङजाबाट १० पुरुष संक्रमण मुक्त भएका छन्।

    देशभरबाट हालसम्म २ हजार ३३८ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला १९७ र २ हजार १४१ जना पुरुष रहेका छन्।

    नेपाल पछिल्लो २४ घण्टामा ६२९ कोरोना संक्रमित थप भएका छन्। योसँगै कूल संक्रमितको संख्या १० हजार ७सय २८ पुगेको छ। जसमध्ये २४ जनाको मृत्यु भएको छ।

  • नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७२८

    नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७२८

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आज थपिएका ६२९ सहित नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।

    पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । जसमा यो सहित संक्रमण मुक्त हुनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ । कुल संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ।

  • आज नेकपा स्थायी कमिटि बैठक, एमसीसीबारे निर्णय होला ?

    आज नेकपा स्थायी कमिटि बैठक, एमसीसीबारे निर्णय होला ?

    काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । यसअघि मंगलबार राती अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अनौपचारिक छलफल भएको थियो । उक्त बैठकमा एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने जस्ता एजेण्डा तय गरेको छ ।

    यी एजेण्डामा आज स्थायी कमिटि बैठकमा छलफल हने भएको छ । नेकपा भित्र एमसीसीलाई लिएर तिब्र विवाद छ । बहुमत सदस्य एमसीसीका केही प्रावधान संशोधन नगरी पारित गर्न नहुने पक्षमा छन् । नेकपा स्थायी कमिटीको बैठकले एमसीसी सम्झौताबारे सरकारलाई एक निर्णय दिनेछ ।

    एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदै गर्दा अहिले छलफलले तिब्रता पाएको छ । उक्त दिन संसदले एमसीसी पास नगरे यसको म्याद थप्नु पर्छ । म्यादा थप भएन भने यो कार्यक्रम स्वतः निश्क्रिय हुन्छ । एमसीसी कार्यक्रममा अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान सहयोग दिने उल्लेख छ ।

    बुधबारको नेकपा स्थायी कमिटी बैठकले गर्ने निर्णय नै निर्णायक हुनेछ । बैठकले दिने निर्देशन नेकपा संसदीय दलले मान्नुपर्छ । एमसीसीको पक्षमा एकमत नभएपछि सुझाव दिन भन्दै नेकपाले भलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय अध्ययन कार्यदल बनाएको थियो ।

    कार्यदलको बहुमतले एमसीसी सम्झौता हुबहु पारित गर्न नमिल्ने मतसहितको प्रतिवेदन तयार पारेर पार्टी नेतृत्वलाई बुझाएको छ । विपक्षी दल कांग्रेस भने एमसीसीको पक्षमा रहेको छ ।

  • भतिजीको किताब प्रकाशन रोक्न अदालत गुहारे ट्रम्पले

    भतिजीको किताब प्रकाशन रोक्न अदालत गुहारे ट्रम्पले

    न्यूयोर्क

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भतिजीको किताब प्रकाशन हुनबाट रोक्न माग गर्दै अदातल पुगेका छन् । ट्रम्पको चाहना बमोजिम उनका भाइ रोबर्ट एसले भतिजी मेरी एल ट्रम्पको किताब प्रकाशन रोक्न माग गर्दै मंगलबार अदालतमा जाहेरी दिएका हुन् ।

    राष्ट्रपति ट्रम्पका वकिल चार्ल्स हार्डर मार्फत रोबर्टले दायर गरेको मुद्दामा मेरीले गोपनियता भंग गर्दै किताब प्रकाशन गर्न लागेको हुँदा रोकि पाउन माग गरिएको अमेरिकी मिडियाले जनाएका छन् । मेरीले ट्रम्प पारिवारिक भूमिकाबारे किताबमा चर्चा गरेको जनाइएको छ । उनका वकिल टेड बोउट्रोउसले सार्वजनिक जानकारीका लागि अत्यावश्यक सूचना लुकाउन ट्रम्पले अदालत गुहारेको बयान दिएका छन् । उनी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सफल वकिल मानिन्छन् ।

    ‘उनीहरुले अदालतबाट यो गैर कानूनी आदेश माग्नुको तात्पर्य उनीहरु अमेरिकी जनतालाई सत्य जान्ने अधिकारबाट टाढा राख्न चाहन्छन्, उनले भनेका छन्- अदालतले संविधानको पहिलो संसोधनमाथि यति ठूलो प्रहार स्वीकार्ने छैन ।’ प्रकाशक सिमन एण्ड स्हुस्टरका अनुसार किताबमा ट्रम्पको परिवार भित्रको उद्यण्ड चित्रण गरिएको छ । मनोवैज्ञानिक मेरी ट्रम्पकी एक मात्र भतिजी हुन् । जुलाईमा सार्वजनिक हुने उनको किताब ‘टु मच एण्ड नेभर इनफः हाउ माई फेमिली क्रिएट द वर्ल्ड’स मोष्ट डेन्जरस मेन’ अहिले नै प्रकाशोन्मुख कृती सूचीमा एमाजोनमा एक नम्बरमा रहेको छ । एमाजोनमा किताब जुलाई २८ मा उपलब्ध हुने जनाइएको छ ।

    किताब प्रकाशन हुँदा परिवारको अन्धकार इतिहासमा चकिलो प्रकाश पर्ने प्रकाशकको भनाइ छ । किताबले लेखकका काका कसरी आज संसारकै जनस्वास्थ्य, आर्थिक सुरक्षा र सामाजीक सद्भावका लागि गम्भिर चुनौती बन्ने गरि उदाए भनेर प्रष्ट्याउने जनाइएको छ । मेरी राष्ट्रपति ट्रम्पका एकमात्र दाजु फ्रेड जुनियरकी छोरी हुन् । फ्रेड जुनियरको रक्सीको कुलतका कारण सन् १९८२ मा ४२ बर्षकै उमेरमा मृत्यु भएको थियो । मेरीले आफ्ना हजुरबुबा फ्रेड र काका डोनाल्डले पिता फ्रेड जुनियरप्रति गरेको अन्याय एवं दुर्व्यवहार किताब मार्फत उजागर गर्न चाहेको बताइएको छ ।

    क्वीन्स सिटी सरोगेट अदालतमा रोबर्ट ट्रम्पले दायर गरेको रिटमा मेरीले किताब लेखेर पिताजी फ्रेड ट्रम्पको सम्पत्ति बाँडफाँड सम्बन्धि गोप्य पारिवारिक सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । आफ्ना दाजु डोनाल्डको सफलता प्रति मेरी बाहेक परिवारका सबै खुसी रहेको र उनले पैसाका लागि पारिवारिक सूचना सार्वजनिक गर्न खोजेको समेत उनको दावी छ ।

    अमेरिकामा अदालतले किताब प्रकाशन रोकेको उदाहरण छैन । यसअघि ट्रम्पले आफ्ना पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको किताब प्रकाशन रोक्न अदालत गुहारेका थिए । तर, अदालतले त्यसलाई स्वीकारेन र बोल्टनको किताब ‘द रुम ह्वेर इट ह्याप्पेण्ड’ मंगलबार बजारमा आइ सकेको छ ।

    (तस्वीरः बिजनेश इनसाइडर)

  • मंगलबार विभिन्न देशबाट फर्किए ७८३ नेपाली, हिमानी शाह समेत थाइल्याण्डबाट स्वदेश फिर्ता

    मंगलबार विभिन्न देशबाट फर्किए ७८३ नेपाली, हिमानी शाह समेत थाइल्याण्डबाट स्वदेश फिर्ता

    काठमाडौं । मंगलबार विदेशमा अलपत्र परेका नेपालीमध्ये ७ सय ८३ जनाले नेपालको भूमि टेक्न पाए । जसमा दुई यात्रु पूर्वराजकुमारी हिमानी शाह र उनका पुत्र हृदयेन्द्र शाह थिए । विभिन्न पाँच देशबाट चार्टर्ड उडानमार्फत ७८३ जना नेपाली स्वदेश फर्किएका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्ध देवेन्द्र केसीका अनुसार थाइल्यान्डबाट आएको नेपाल एयरलाइन्सको जहाजबाट हिमानी शाह र उनका पुत्र आएका थिए ।

    मंगलबार कतारको दोहाबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४४ जना नेपाली घर फर्किए । कतारबाट नेपालीका लागि दोस्रो उडान भएको छ । कुवेतको जजिरा एअरलाइन्सले आममाफी पाएका १६० जना नेपालीलाई निःशुल्क काठमाडौं ल्यायो । यसको खर्च कुवेत सरकारले बेहोरेको हो ।

    गैरकानुनी श्रमिकलाई आममाफी दिँदै कुवेत सरकारले हरेक दिन निःशुल्क कामदार काठमाडौं पठाइरहेको छ । थाइल्याण्डबाट भने आज ७८ जना स्वदेश फर्किए । सोही समुहमा हिमानी समेत थिइन् ।

    अस्ट्रेलियाको सिड्नीबाट पनि त्यहाँ रोकिएका नेपालीहरु स्वदेश फर्किएका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड वाइडबडी जहाजमार्फत २५८ जना आज स्वदेश फर्किए । माल्दिभ्ससबाट १४३ जना नेपाली घर फर्किएका छन् । बुधबार विभिन्न आधा दर्जन गन्तब्यबाट उडान हुने भएको छ ।

  • भारत-पाकिस्तान सीमा क्षेत्रमा एक गौर्खा सैनिकको मृत्यु

    भारत-पाकिस्तान सीमा क्षेत्रमा एक गौर्खा सैनिकको मृत्यु

    काठमाडौं । सोमबार भारत–पाकिस्तान सीमा क्षेत्रमा भएको तनावमा भारतीय सेनामा कार्यरत एक गोर्खा सैनिकको ज्यान गएको छ । भारतीय सेनामा कार्यरत नेपालीको ज्यान गएको भारतीय संचारमाध्यमले सैनिक स्रोतलाई उदृत गर्दै पुष्टी गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार जम्मु कश्मीरको रजौरी जिल्लामा रहेको लाइन अफ कन्ट्रोलमा भएको घटनामा उनको ज्यान गएको हो ।

    पाकिस्तानले लाइन अफ कन्ट्रोलमा युद्धविरामको उल्लंघन गर्दै गोलीबारी गरेको भारतीउ दावि छ । भारतीय सेनामा कार्यरत नेपाली दीपक कार्कीको मृत्यु भएको छ । उनी गुल्मीका स्थायी बासिन्दा हुन् । घटनामा परी गम्भीर घाइते भएको उनको उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।

    घटना सोमबार बिहान भएको थियो । भारत र पाकिस्तानको बीचमा तनाव जारी रहेको छ । यस भेगमा ठूलो संख्यामा गोर्खा सैनिक तैनाथ गरिएको छ । जुन महिनामा मात्र भारत–पाकिस्तान सीमा क्षेत्रमा ४ जना सैनिकको ज्यान गइसकेको छ । बढी संवेदनसिल क्षेत्रमा भारतले गोर्खा सैनिक खटाउने गरेको छ ।

  • कोरोनाको औषधी बनाएको बाबा रामदेवको दावी, प्रयोग र प्रचार-प्रसारमा सरकारको रोक

    कोरोनाको औषधी बनाएको बाबा रामदेवको दावी, प्रयोग र प्रचार-प्रसारमा सरकारको रोक

    नयाँ दिल्ली । भारतका चर्चित योग गुरु रामदेवले कोरोना भाइरससँग लड्ने आयुर्वेदिक औषधि पत्ता लगाएको दावि गरेका छन् । उनले मंगलबार औषधी सार्वजनिक गर्दै यसको प्रयोग भइसकेको र मानिसहरु निको भएको समेत दावि गरेका थिए । यता, भारत सरकारले भने बाबाको उक्त दाविसँगै पतञ्‍जली ग्रुपलाई औषधीको प्रयोग र प्रचार प्रसार रोक्न निर्देशन दिएको छ ।

    भारतीय संचारमाध्यमहरुका अनुसार भारत सरकारले यो औषधी कोरोना विरुद्ध आधिकारिक रुपमा परीक्षण नभएको भन्दै प्रचार प्रसार र प्रयोग रोक्न निर्देशन दिएको हो । भारतीय स्वास्थ्य मन्त्रालयले औषधिको आधिकारिक परीक्षण नभएसम्म प्रचार प्रसार नगर्न निर्देशन दिएको हो ।

    उता, उत्तराखण्ड सरकारको लाइसेन्सिङ्‍ग अथोरिटीबाट यस उत्पादनको अनुमतिपत्रको प्रतिलिपि माग भएको छ । मंगलवार बिहान पतञ्‍जलि आयुर्वेदका प्रमुख रामदेवले कोरोना भाइरसबाट बच्‍न कोरोनिल नामक आयुर्वेदिक औषधि तयार भएको बताएका थिए ।

    उनले यस औषधीबाट बिरामी ठीक भएको समेत दावि गरेका छन् । यता, मन्त्रालयले भने कोरोना भाइरस विरुद्ध औषधी निर्माणका बेला अपनाइएको विधि, अध्ययनको सम्पूर्ण विवरण समेत मागेको छ ।

    पतञ्‍जलिको कोरोना ट्याब्लेट बारे वैज्ञानिक परीक्षण नभएसम्म आधिकारिक पुष्टी नहुने स्पष्ट पारेको छ । कोरोना महामारीको औषधि बनाउन कम्पनीले मन्त्रालयबाट अनुमति अनिवार्य भएको र अनुमति पछि मात्र औषधी बनाउन सक्ने मन्त्रालयले जानकारी गराएको छ । रामदेवको औषधीले ७ दिनमा कोरोना संक्रमित ठिक भएको दावि गरिएको छ ।

  • काठमाडौं छिरेपछि १४ दिन होम क्वारेन्टिन

    काठमाडौं छिरेपछि १४ दिन होम क्वारेन्टिन

    काठमाडौं । अब काठमाडौं उपत्यकाबाट छिर्ने सबै मानिस १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले सरोकारवालालाई परिपत्र गरेको हो । अहिले घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा छिर्न नदिएको भन्दै परीक्षण गराउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्वसाधारणको भीड बढेको छ ।

    भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेपछि सरकारले यस्तो नीति ल्याएको हो । पीसीआर टेष्ट गर्न भन्दै भीड बढेका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै उपत्यका बाहिरबाट आउनेलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिए मात्र अस्पताल आउने व्यवस्था गर्न गृहलाई अनुरोध गरेको थियो । गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब बाहिर जिल्लाबाट काठमाडौं उपत्यकामा आएपछि १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्छ । डा. गौतमका अनुसार उपत्यका बाहिरबाट आउनेलाई घरबेटीले कोरोना परीक्षणको रिपोर्ट माग्ने गरेको प्रति समेत मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ ।

    ‘काठमाडौं उपत्यकामा उपत्यका बाहिरबाट भित्रिने घरडेरा गरी बस्ने मानिसहरुलाई केही घरभेटीहरुले कोभिड १९ को पीसीआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएको पाइएको उनले उल्लेख गरे ।

    यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकषर्ण भएको उनको भनाई छ । उनले उपत्यका बाहिरबाट काठमाडौं आउनेलाई कोरोना परीक्षणको दवाब नदिन समेत आग्रह गरे ।

  • नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १० हजार ९९ पुग्यो

    नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १० हजार ९९ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ५ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

    अहिलेसम्म देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म २ हजार २२४ जना कोरोना संक्रमित निको भइसकेका छन् भने २४ जनाको मृत्यु भएको छ ।

  • केही हप्ता भित्रै दोश्रो चरणको राहत रकम आउँछ; राष्ट्रपति ट्रम्प (भिडियो सहित)

    केही हप्ता भित्रै दोश्रो चरणको राहत रकम आउँछ; राष्ट्रपति ट्रम्प (भिडियो सहित)

    न्युयोर्क

    राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीका कारण अमेरिकी अर्थतन्त्र लगातार लर्बराए पछि दोश्रो पटक पनि ‘स्टिमुलस पेमेन्ट’ बितरण गरिने संकेत गरेका छन् । ट्रम्पले सोमबार एक टेलिभिजन अन्तर्वातामा अर्को पटक पनि स्टिमुलस पेमेन्ट पठाउने बारेमा भनेका हुन् । अन्तर्वार्ताकारले कोरोना महामारी पछि फ्लोरिडा, ओहायो, विस्कन्सिन, मिचिगन राज्यहरु आर्थिकरुपमा संघर्ष गरी रहेको र पहिलो चरणमा पठाएको रकम खर्च भै सकेको हुँदा पुन: दोश्रो चरणमा पनि स्टिमुलस पेमेन्ट निकासा गर्ने योजना छ ? भन्ने प्रश्नमा ट्रम्पले भने; “हो ! हामी पठाउँछौं पठाउँछौं । हामी अर्को पटक पनी पठाउँछौ । यो धेरै नै राम्रो हुने छ । यो निकै उदारको काम हुने छ” ।

    कति रकमको स्टिमुलस प्याकेज हुनेछ ? भन्ने प्रश्नमा उनले भनें; “तिमीहरुलाई थाहा हुन्छ यस्को बारेमा । तिमीहरुलाई थाहा हुन्छ” । राष्ट्रपति ट्रम्पले दोश्रो चरणको राहत रकम डेमोक्र्याट र रिपब्लिकनको दुई पक्षीय सहमतीको आधारमा केही हप्ता भित्रै पठाईने बताएका छन् । एनबिसि न्युजले ह्वाईट हाऊस अधिकारीको हवाला दिदैं यो बिषयमा ह्वाईट हाऊसस्थित आर्थिक टिमले अध्ययन गरी रहेको तर हालसम्म केही निर्णय नभएको जनाएको छ ।  

    गत मार्चमा डेमोक्र्याट नियन्त्रित हाऊसले वार्षिक १ लाख भन्दा कम आर्जन गर्नेलाई  प्रति ब्यक्ति १२ सय डलर राहत रकम कोरोनाको महामारीमा राहत स्वरुप पास गरेको थियो । जुन महिनासम्म पहिलो चरणको त्यो राहत रकम १६ करोड अमेरिकाबासीलाई पठाई सकिएको आईआरएसले जनाएको छ । पहिलो चरणको राहत प्याकेज डेमोक्र्याट नियन्त्रित हाऊस र रिपब्लिकन नियन्त्रित सिनेट एकै भएर पास गरेपनि गत महिना डेमोक्र्याट नियन्त्रित हाऊसले पुन: दोश्रो चरणको कोरोना महामारी राहतको लागि ३ खरब अमेरिकी डलरको ‘हिरोज एक्याक्ट’ पास गरेर रिपब्लिकन नियन्त्रित सिनेटमा पठाए पनि सिनेटले उक्त प्रस्ताबको प्रतिरोध गर्दै केही समय हेर्नु पर्ने भन्दै रोकेको थियो ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु,मृतकको संख्या २४ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु,मृतकको संख्या २४ पुग्यो

    काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। कर्णालीको सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षे पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको हो।

    विगत २ महिनादेखि क्षयरोगको औषधि सेवन गर्दै आएका ती पुरुष असार ३ गते प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्षमा उपचारका लागि भर्ना भएका थिए । उनमा असार ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यो सँगै कर्णालीमा कोरोना संक्रमण पुष्टि भएका मृत्यु हुनेको संख्या ५ पुगेको छ। दैलेख २, सुर्खेत २ र डोल्पा १ गरी ५ पुगेको हो।

    देशभर भने योसँगै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ।

  • पहिरोले तातोपानी नाका जाने बाटो थुनियो, स्वास्थ्य सामग्री बोकेका कन्टेनर अलपत्र 

    पहिरोले तातोपानी नाका जाने बाटो थुनियो, स्वास्थ्य सामग्री बोकेका कन्टेनर अलपत्र 

    सिन्धुपाल्चोक । तातोपानी नाका नजिकै पहिरोले बाटो अवरुद्ध गरेपछि चीनबाट स्वास्थ्य सामग्री लिएर फर्कने तयारीमा रहेका कन्टेर उतै रोकिएका छन् । सडक ठूलो पहिरो खसेर अवरुद्ध भएपछि चीन गएका ट्रक नाकामै अलपत्र परेका हुन् ।

    ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारेपछि तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनर बाटोमै अलपत्र परेको रेर थन्किएका इलाका प्रहरी कार्यालय कोदारीले जानकारी दिएको छ । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएको छ ।

    यहाँ १४ कन्टेनर बाटोमै रोकिएको बताइएको छ । चीनबाट फर्किएका कन्टेनरले कोरोनासँग लड्ने स्वास्थ्य सामग्री बोकेका छन् । नाकामा भने करिब ५० ट्रक र कन्टेनर रोकिएको प्रहरीले जनाएको छ ।

    यो स्थान पटक पटक पहिरो गइरहने भएकाले यस सडक खण्ड पटक पटक अवरुद्ध हुने गरेको छ । २६ माघबाट बन्द भएको तातोपानी नाका २६ चैतबाट खुलेको हो । अहिले चीनसँग यही नाका मात्र संचालनमा छ । रसुवागढी नाका भने बन्द रहेको छ ।

  • आज अष्ट्रेलियाबाट २५९ नेपालीको उद्दार गरिदै

    आज अष्ट्रेलियाबाट २५९ नेपालीको उद्दार गरिदै

    काठमाडौं । विदेशमा रहेका नेपालीको उद्दार गर्ने सिलसिलामा आज अष्ट्रेलियाबाट पहिलो चरणमा नेपालीहरु घर फर्कने भएका छन् । त्यसका लागि नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नी पुगिसकेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज अन्नपूर्णले २५९ जना नेपालीलाई बोकर काठमाडौं आउनेछ ।

    उनीहरु अधिकांश छोराछोरी भेट्न पुगी उतै अलपत्र परेका नागरिक रहेको बताइएको छ । यस उडानमा न्यूजिल्याण्डबाट समेत ११ जना नेपाली मिसिएका छन् । उनीहरु बिहान न्यूजिल्याण्डबाट अष्ट्रेलिया आइपुगेका छन् । अष्ट्रलियाबाट नेपाल फर्किन इच्छुक नेपालीको संख्या १३ सय रहेको छ ।

    पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाउन लागिएको छ । यस गन्तब्यबाट प्रतियात्रु २ हजार ३ सय ५० अष्ट्रेलियन डलरमा उडान भएको हो । सबै यात्रुको पीसीआर परीक्षण गरिएको र नतिजा नेगेटिभ आएको बताइएको छ ।

    यो जहाज सिड्नी आउने क्रममा भने २९ जना अष्ट्रेलियन नागरिक तथा अष्ट्रेलियन स्थायी बासिन्दालाई लगेर गएको थियो । अष्ट्रेलियाबाट दोस्रो उद्दार उडान भने २७ जुनमा मेलबर्नबाट तोकिएको नेपाली दूतावासले जनाएको छ ।

  • नर्थ क्यारोलाइनास्थित एक पार्टीमा गोली चल्दा दुईको मृत्‍यु १२ घाईते

    नर्थ क्यारोलाइनास्थित एक पार्टीमा गोली चल्दा दुईको मृत्‍यु १२ घाईते

    अमेरिकाको नर्थ क्यारोलाइनास्थित एक ब्लक पार्टीमा गोली चल्दा २ जनाको मृत्‍यु १२ जना घाईते भएका छन् । नर्थ क्यारोलाइना प्रहरीका अनुसार घटना सोमबार बिहान घटेको हो । केही ब्यक्तिहरुले भिडमा दर्जनौं गोली चलाएको सार्लेट मेक्लेनबर्ग पुलिस डिपार्टमेन्टको बिज्ञप्तीमा जनाईएको छ ।  घटनाको बारेमा स्थानीय प्रहरीले सोमबार बिहान साँढे बाह्र बजे फोनबाट जानकारी प्राप्त गर्दा गोली पड्किएको आवाज आईरहेको थियो । प्रहरी घटनास्थलमा पुग्दा एक महिला बेटिन फोर्ड रोडमा गोली लागेर घाईते अवस्थामा लडिरहेकी थिईन । पछि उनको मृत्‍यु भएको थियो, प्रहरीको बिज्ञप्तीमा भनिएको छ । स्थानीय डब्लु बि टिभिका अनुसार गोली चल्दा सडकमा झन्डै ४ सय ब्यक्ती पार्टी मनाईरहेका थिए ।

    घाईते १२ जना मध्ये ५ जना भने गोली चलेपछि सडकमा भाग दौड गर्दा गाडीको ठक्करले घाईते भएका थिए भने ७ जना गोली लागेर घाईते भएको प्रहरीले जनाएको छ ।  घटना कसरी र कस्ले घटाएको हो, सो सम्बन्धमा हालसम्म कुनै जानकारी नमिलेको बताइएको छ । सार्लेट मेयर भाई लाईल्सले घटनालाई ‘हिँसाको अर्थहिन कृयाकलाप’ भनेकी छिन् । २९ बर्षीषा केली मिलर र २८ बर्षीय एन्टोनियो ग्लेटनको मृत्‍यु भएको प्रहरीले सोमबार दिउँसो जानकारी दिएको छ ।  

    समाचार श्रोत : द सार्लेट अब्जर्भर

  • अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रका ६ सहर कोरोना संक्रमणको रेड जोन

    अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रका ६ सहर कोरोना संक्रमणको रेड जोन

    मेलबर्न

    दक्षिणपूर्वी अष्ट्रेलियाको भिक्टोरियामा  अकस्मात कोरोना संक्रमितको संख्या बढन थाले पछि त्यस राज्यका ६ वटा परिषद क्षेत्रलाई खतराको सुचीमा राखेर आवत जावतमा कडाई गर्न थालिएको छ । कोरोना संक्रमित बढेका ती ६ वटा क्षेत्र हुमे क्यासी, ब्रिमब्यांक, मोरल्याण्ड, कार्डिनिया र डरिबिन सबै मेलबर्न सहर भित्र छन् । अधिकारिहरुले ती ६ वटा परिषद क्षेत्रबाट टाढै रहन सुचित गरेका छन् । अष्ट्रेलियास्थित मुख्य स्वास्थ निकाय एस्ट्रेलियन हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटीले आईतबार एक सुचना प्रकाशित गर्दै भनेको छ; “संक्रमण नियन्त्रणमा नआएसम्म उक्त क्षेत्रमा भ्रमण गर्नु सुरक्षित छैन ।  यो अति सम्बेदनसिल छ तर हामी यो संक्रमणलाई नियन्त्रणमा लिन्छौ” ।

    कमिटीका अनुसार गत हप्ता भिक्टोरियामा देखिएको १ सय १६ संक्रमित मध्ये ८७ जनामा संक्रमण समुदाय भित्रबाटै भएको थियो । शनिबार भिक्टोरियामा २५ वटा नयाँ संक्रमित देखिएपछि त्यस राज्यका  प्रिमियर (प्रमुख) डेनियल माईकल एन्ड्रु माथि राज्य भित्रको आवत जावतमा कडाई गर्न दबाब परेको थियो । राज्य प्रमुख एन्ड्रुले कडाईका साथ घर भित्र बस्न्न निर्देशन गर्दै भनेका छन्; “साथी तथा परिवार भेट्न् नजाउ, छुट्टी मनाउन नजाउ, काममा पनि नजाउ, घरै बस”।  भिक्टोरियामा बस्टेट अफ ईमर्जेन्सी’ लाई लम्ब्याएर जुलाई २० सम्म पुर्याइएको छ ।

  • नेपालमा लकडाउन खुकुलो भएपनि महामारी नटरेको डब्लूएचओको चेतावनी

    नेपालमा लकडाउन खुकुलो भएपनि महामारी नटरेको डब्लूएचओको चेतावनी

    काठमाडौं । नेपालमा लकडाउन खुकुलो भएपनि कोरोना महामारीको जोखिम भने कम नभएको विश्व स्वास्थ्य संगठनले बताएको छ । संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेको भन्दै सतर्क सहत आम नागरिक र सरकारलाई सचेत समेत गराएको छ ।

    संगठनका नेपाल प्रमुख जोस भ्यान्डेलरले नेपाल सरकारले लकडाउन खुकुलो पारे पनि कोरोना महामारी नटरेको उल्लेख गरे । लकडाउन खुकुलो भएपछि शहर बजारमा सर्वसाधारणको क्रियाकलाप बढेको छ । कार्यालय सञ्चालनमा आएका छन् । यस अवस्थामा सबै जना चनाखो र सुरक्षित हुनुपर्ने उनको भनाई छ ।

    भ्यान्डेलरले सकेसम्म भिडभाडबाट टाढा रहन, जानै परे दूरी कायम गर्न, मास्क लगाउन र साबुन पानीले हात धुने सुझाव समेत दिएका छन् ।

    लकडाउन सबैका लागि मुस्किलको समय रहेको भन्दै तर महामारी भने अझै पनि रहेको र थप संक्रमणको डर रहेको समेत उनको भनाई छ । ज्वरो, खोकी वा कुनै शंकास्पद लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई देखाउन उनले आह्वान गरेका छन् ।

  • पर्यटनमन्त्री सहभागी वेवनारमा अश्लिल भिडियो बजेपछि…

    पर्यटनमन्त्री सहभागी वेवनारमा अश्लिल भिडियो बजेपछि…

    काठमाडौं । सोमबार सामाजिक संजाल एक रमाइलो समाचारका कारण तात्यो । त्यो थियो पर्यटन मन्त्री योगेश भट्टराईलाई कसैले अश्लिल भिडियो देखायो । सन्दर्भ हो, नेपाल पर्यटन बोर्डले आयोजना गरेको टूरिजम पोर्टोकल सार्वजनिक गर्न आयोजना भएको अनलाइन सम्मेलन ।

    जुम सफ्टवेयर प्रयोग गरी करीव २ सय जना सहभागी भएको बैठकमा जब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन थाले, त्यसपछि अकस्मात स्कृनमा अश्लिल भिडियो आइपुग्यो । भिडियो देखाउने मानिसले तथानाम म्यासेज लेख्यो, जुन सबै सहभागीले सजिलै पढ्न सक्थे । त्यसपछि आयोजकले बैठक सम्पन्न गर्यो ।

    देशको मन्त्री नै सहभागी भएको बैठकमा देखिएको यो हर्कतलाई धेरैले मजाक बनाएपनि यसले नेपालको सूचना प्रविधिमा सरकारी उदासिनताको एक उदाहरण भने पेश भएको छ । नेपाल पर्यटन बोर्डले वेवनारमा सहभागी हुन भन्दै आइतबारदेखि जुम बैठकको लिंक सामाजिक संजालमा राखेको थियो ।

    सम्भवतः सोही लिंकबाट एक्सेस लिएर ह्याकरले बैठकमा यो हर्कत गरेको हुन सक्ने आंशका गरिएको छ । बोर्डले यस घटनाप्रति माफी माग्दै छानविन प्रक्रिया शुरु भइसकेको बताएको छ ।

    पछिल्लो समय जुम सफ्टवेयरका सम्बन्धमा उपभोक्ताबाट यस प्रकारका गुनासा धेरै आएका छन् । लकडाउनका बेला यो सफ्टवेयर सामुहिक छलफलका लागि भने निकै उपयोगी सावित भइरहेको छ ।

  • पाल्पामा भिषण पहिरो, ४ गाडी पुरिए, तीन जनाको शव फेला

    पाल्पामा भिषण पहिरो, ४ गाडी पुरिए, तीन जनाको शव फेला

    बुटवल । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारी भन्ने स्थानमा सोमबार भिषण पहिरो गएको छ । पहिरोले दुई वटा गाडी बगाएको थियो भने दुई गाडीमा क्षति पुर्याएको छ । दूर्घटनामा अहिलेसम्म ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाएको छ ।

    दूर्घटनामा तीन जना पुरुषको ज्यान गएको छ । तीनजना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

    पहिरोले अगाडिको सडक अवरुद्ध भएपछि रोकिएर मिनी ट्रक र ट्यांकरमाथि पहिरो खसेको थियो । पहिरोले सडकमै रोकेको एउटा कार र कुखुरा बोक्ने जिपमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । रातभर परेको पानीले यस स्थानमा पहिलो गएको थियो ।

    सोहीकारण सवारी साधन रोकिएका थिए । त्यसै समय आएको पहिरोले ठूलो क्षति निम्त्याएको हो । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिएको छ । प्रहरीले थप क्षतिको विवरण अझै सार्वजनिक गरेको छैन ।

  • नेपालमा एकैदिन ३७० जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या २१४२

    नेपालमा एकैदिन ३७० जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या २१४२

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७० जना कोरोना संक्रमित  डिस्चार्ज भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट संक्रमितहरु निको भएर घर फर्किएका हुन् ।

    सोमबार थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । यो सहित कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ । कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ।

  • नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण, ९५६१ पुगे संक्रमित

    नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण, ९५६१ पुगे संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

    पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ३ सय ७० रहेको छ । जसमा यो सहित संक्रमण मुक्त हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ । कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ। गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ।

  • एन आर एन नागरिकताको ढोका खुल्यो तर लिखित प्रतिवद्धता-पत्रको प्रावधान राखियो

    एन आर एन नागरिकताको ढोका खुल्यो तर लिखित प्रतिवद्धता-पत्रको प्रावधान राखियो

    काठमाडौं

    नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुसार गैर-आवासीय नेपाली नागरिकता लिनका लागि लिखित प्रतिवद्धतापत्रको व्यवस्था गरिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लिखित प्रतिवद्धताको प्रावधानसहित समितिबाट बहुमतले नेपाल नागरिकता ऐन, २०६३ लाई  संशोधन गर्न बनेको विधेयक २०७५ पारित गरेको छ । यो विधेयक चालु अधिवेशनबाटै पारित गर्ने नेकपाको तयारी छ । 

    सदनबाट पारित भएसँगै गैरआवासीय नागरिकता लिनका लागि बाटो खुल्नेछ । संसदमा नेकपाको प्रष्ट बहुमत भएकाले यो छिट्टै पारित हुने अनुमान गरिएको छ । संसदीय समितिबाट पारित विधेयकमा गैरआवासीय नेपाली नागरिकता लिनका लागि नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको थियो । यसअघि छलफलका क्रममा सपथको व्यवस्था राख्ने विषयमा छलफल भए पनि अन्तिममा प्रतिवद्धतापत्रको व्यवस्था गरिएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् । संसदबाट पारित भएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि लागू हुनेछ । गैरआवासीय नेपाली नागरिकता लिनका लागि गृह मन्त्रालय र मातहतका निकायमा आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । 

    गैर आवासीय नेपाली नागरिकता लिनका लागि विदेशी मुलुकको नागरिकता प्राप्त गरेर सार्क बाहेकका देशमा बसोबास गरेको र साविकको वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेर पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेगरी आवश्यक कागजात संलग्न गरेर आवेदन दिन सकिने व्यवस्था समितिबाट पारित भएको छ । आवश्यक कागजातसहित निवेदन दिएपछि गृह मन्त्रालयले आवश्यक सबुद प्रमाण बुझी तोकिए बमोजिम गैर आवासीय नेपाली नागरिकता दिने प्रावधान राखिएको छ । 

    गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नका लागि निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकको नेपालको नागरिक रहेको प्रमाण पेश गर्नुपर्नेछ । त्यस्तै सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाणपत्र आवश्यक पर्नेछ । तर नागरिकता नलिएका व्यक्तिका हकमा अन्य प्रमाणका आधारमा दिने व्यवस्था मिलाइने भएको छ । अर्को कागजातका रुपमा विदेशी मुलुकको नागरिकता भएको प्रमाण र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण पनि पेश गर्नु पर्नेछ । आवेदनका लागि नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिवद्धतापत्र पनि आवश्यक पर्नेछ । 

    नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ दफावार छलफलका क्रममा झण्डै दुई वर्षदेखि प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको थियो । लामो प्रयासपछि समितिले आइतबार विधेयक बहुमतले पारित गरेको हो । गैरआवासीय नेपाली संघ एनआरएनएले भनेजस्तै विदेशका नियोग तथा दूतावास अर्थात कन्सुलर सेवा लिईरहेका नेपालका कन्सुलर सेवा कार्यालय मार्फत नागरिकता प्राप्त गर्न अब नसकिने भएको छ । अर्को गैरआवासीय नागरिकता प्राप्त  गर्ने व्यक्तिले नेपालको राहदानी प्राप्त गर्न सक्ने छैनन् । गैरआवासीय नागरिकता लिन नेपाल आउनु पर्ने भएको छ । 

    गैरआवासीय नेपाली संघ एनआरएनएले पनि यही प्रावधानका लागि सम्बद्ध सबै पक्षसंग भेटवार्ता गरेरै माग राखेको थियो । तर एनआरएनएको माग बमोजिम नागकिता प्राप्त गर्ने स्थान हुन सकेको छैन् । राहदानी दिने वा नदिने भन्ने विषयमा समेत समितिमा विवाद थियो । गैरआवासीय नागरिकता बाहकले राहदानी नपाउने व्यवस्था गरिएको छ  ।  

    नागरिकता विधेयकमा मुख्य विवादको विषय बनेको अंगीकृत नागरिकताको प्रावधानका विषयमा दलहरु सहमतिमा नपुगे पनि गैरआवासीय नेपाली नागरिकता लगायतका विषयमा एकमत भएका थिए । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई दिने अंगीकृत नागरिकता प्राप्त गर्न नेपालमा ७ वर्ष बसेको प्रमाण पेश गर्नुपर्ने प्रावधानका विषयमा दलहरु विभाजित देखिएका छन् । तर समितिले बहुमतले पारित गरेकाले अब यो विषय पनि संसदबाट पारित हुने निश्चित देखिएको छ । 

    बहुमतबाट पारित गर्ने सत्तारुढ नेकपाको तयारी छ भने विपक्षी दलले आफ्ना मुद्दामा बहस गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेस र मधेसवादी दलले अंगीकृत नागरिकता तत्काल नै दिनुपर्ने प्रस्ताव राखेका थिए भने नेकपाले ७ वर्षे नयाँ प्रावधान राखेको छ । नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदमा प्रतिवेदन प्रस्तुत भएपछि बहुमतले पािरत हुने र राष्ट्रपतिबाट प्रमाणिकरण गरेपछि गैरआवासीय नेपाली नागरिकता लिने बाटो खुल्ने विश्वसन्देश तथा विश्वन्युजलाई  जानकारी दिए ।