Category: फिचर

  • नेपालमा रसुवाबाहेक सबै जिल्लामा फैलियो कोरोना

    नेपालमा रसुवाबाहेक सबै जिल्लामा फैलियो कोरोना

    काठमाडौं । नेपालमा रसुवाबाहेक सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । केही दिन अगाडीसम्म अधिकांश हिमाली जिल्ला सुरक्षित रहेकोमा अब भने हिमाली भेगका समेत रसुवाबाहेक सबै जिल्लामा कोरोना भेटिएको हो । पछिल्लो समय ओखलढुंगामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै अब रसुवा मात्र सुरक्षित देखिएको छ ।

    नेपालमा एक सातामा ३ हजार २ सय ६६ जना सङ्क्रमित थपिए । अहिले नेपालमा देशभर ९ हजार २६ जना कोरोना भाइरसको संक्रमित पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ ।

    नेपालमा २३ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । ३२ जेठमा रुकुमपश्चिममा संक्रमण देखिएसँगै माथिल्लो भेगमा संक्रमण पुष्टि हुन थालेको थियो । त्यसपछि क्रमशः मनाङ, मुस्ताङ र ओखलढुंगामा समेत कोरोना भेटिएको छ । मुस्ताङमा ८३ वर्षिय वृद्धमा शनिबार कोरोना सङ्क्रमण देखिएको हो ।

    आइतबार ओखलढुंगामा एक जनामा पुष्टी भएको छ । अब नेपालभर ७६ जिल्लामा कोरोना भाइरस पुगेको छ । नेपालमा अहिलेसम्म १ हजार ७ सय ७२ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

  • आइतबार एकै दिन विदेशबाट फर्किए ११५० नेपाली

    आइतबार एकै दिन विदेशबाट फर्किए ११५० नेपाली

    काठमाडौं । आइतबार विभिन्न मुलुकबाट नेपालमा एकै दिन ११५० जना नेपाली घर फर्किएका छन् । कारोना भाइरसको महामारीका कारण संकटमा परेका नेपालीको उद्दारको काम अहिले भइरहेको छ । यसै क्रममा आइतबार मात्र एक शिशुसहित ११५० जना नेपाली घर फर्किएका हुन् ।

    कोभिड १९ संकट व्यवस्थापन सेन्टरको तथ्यांक अनसार आइतबार यूएईबाट ३३८ जना नेपाल आएका छन् । उनीहरु दुई वटा उडानबाट नेपाल आएका हन् । एक उडानमा १५३ र अर्को उडानमा १८५ जना थिए ।

    बंगलादेशबाट २५० जना आएका छन् । साउदी अरबबाट एक शिशुसहित २४७ जना, कुवेतबाट १६६ जना र कतारबाट १४९ जना स्वदेश फर्किएको तथ्यांक छ ।

    यूएई र मलेसियाबाट १५०, १५० जना घर फर्किएका छन् । उनीहरुलाई एक दिन होल्डिंग सेन्टरमा राखेर अर्को दिन सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा पठाइनेछ ।

  • स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक

    स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक

    काठमाडौं । सरकारले लकडाउन अवधिभर कुनै पनि प्रकारको शूल्क नलिन विद्यालय सञ्चालकलाई निर्देशन दिएको छ । तर, त्यसविपरित विद्यालय संचालकहरुले भने लकडाउन अवधिको समेत शुल्क बुझाउन अभिभावकलाई दवाव दिएका छन् । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका हुन् ।

    उनीहरुले संयुक्र विज्ञप्ती जारी गर्दै २०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्न र २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्न अभिभावकलाई आग्रह गरेका छन् । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले विज्ञप्ती जारी गरेका हुन् । कोरोना भाइरसको महामारी शुरु भएपछि ११ चैतयता सबै विद्यालय बन्द छन् । सरकारले चैत महिनाको शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिइसकेको छ ।

    यसबीचमा विद्यालयले अनलाइन कक्षा चलाएका छन् । उक्त अनलाइन कक्षाको समेत शुल्क लिन नपाइने सरकारको निर्देशन छ । तर, त्यसविपरित विद्यालय संचालकले भने अभिभावकसँग शूल्क मागेका हुन् । लकडाउनले गर्दा विद्यालयको आम्दानी शून्य भएको भन्दै यसले देशभर करिब दुई लाख शिक्षक कर्मचारीको जीवनयापन कठिन भएको उनीहरुको तर्क रहेको छ ।

    सरकारले निजी विद्यालयलाई राहत प्याकेज नल्याएपछि विद्यार्थीसँग शुल्क उठाउनुको विकल्प नभएको समेत उनीहरुले बताएका छन् । यस सम्बन्धमा भने सरकारले कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

  • सुनको मूल्य तोलाको ९० हजार नाघ्यो

    सुनको मूल्य तोलाको ९० हजार नाघ्यो

    काठमाडौं । नेपालमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । अब सुन प्रतितोला मूल्य ९० हजारभन्दा माथि पुगेको छ । लकडाउनको अवधिमै तोलामा १० हजारभन्दा माथिको वृद्धि भइसकेको छ । शनिबारको तुलनामा भने आइतबार तोलामा ७ सय रुपैयाँ बढ्यो । छापावाल सुनको मूल्य ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको छ ।

    आइतबारको मूल्य नेपाली बजारको अहिलेसम्मकै सर्वाधिक रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । शुक्रबार छापावाला सुनको भाउ तोलामा ८९ हजार ९ सय र तेजाबी ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    आइतबारकालागि महासंघले चाँदीको भाउ भने ९४० रुपैयाँ तोकेको छ । चाँदीको भाउ शुक्रबारको तुलनामा १० रुपैयाँ तोलामा बृद्धि भएको छ । सरकारले सुनको आयातमा भन्सार बढाएको र अन्तर्राष्ट्रिय मूल्य समेत निरन्तर बढ्दा सुनको मूल्यको आकास छोएको हो ।

  • नागरिकता विधेयक संसदीय समितिबाट पारित, विपक्षी दलको असहमति

    नागरिकता विधेयक संसदीय समितिबाट पारित, विपक्षी दलको असहमति

    काठमाडौं । नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी नागरिकलाई नेपालमा सात वर्ष लगातार बसेपछि मात्र अंगीकृत नागरिकता दिनेसम्बन्धी व्यवस्था संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको छ । यो व्यवस्था संसदीय समितिमा बहुमतले पारित भएको हो । आइतवार बसेको समितिको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र समाजवादी जनता पार्टीले भने फरक मत राखे ।

    तर, शनिबार नेकपाले यो प्रावधानको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । सोहीकारण बहुमतले विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव पारित भएको हो । प्रस्तावको पक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद देखिए । प्रमुख प्रतिपक्ष कांग्रेस र जनता समाजवादीका सांसद विपक्षमा रहे ।

    उनीहरुले बिहे भएर नेपाल आउनासाथ वा महिलाले चाहेको समयमा नागरिकता पाउनु पर्ने अडान राखेका छन् । समितिबाट पारित भ्एको विधेयक प्रतिनिधिसभामा पेश हुन्छ । विपक्षीले भने विदेशी महिलालाई सात वर्ष पछिमात्रै अंगीकृत नागरिकता दिने विषय व्यवहारिक नहुने र संविधानको मर्म विपरीत हुने तर्क राखेका छन् ।

    तराई मधेसमा अधिकांश व्यक्तिको विवाह भारतमा हुने भएकले यसले नेपाल र भारतबीचको भगिनी सम्बन्धमै असर पर्न सक्ने विपक्षी सांसदहरुको तर्क रहेको छ । यता, सत्तारुढ दलले बहुमतिको बलमा विधेयक पारित गरेपछि विपक्षी दल भने मोर्चाबन्दीमा उत्रिएका छन् । उनीहरुले एक स्वरमा यो प्रावधानको विरोध गरेका हुन् ।

  • मिनियापोलिसमा गोली चल्दा १ को मृत्‍यु ११ घाईते

    मिनियापोलिसमा गोली चल्दा १ को मृत्‍यु ११ घाईते

    न्युयोर्क

    अमेरिकाको मिनियापोलिसमा आईतबार बिहान गोली चल्दा १ जनाको मृत्‍यु र ११ जना घाईते भएको प्रहरीले आईतबार बिहान ट्विट् मार्फत जनाएको छ । घाईते ११ जना खतरा मुक्त अवस्थामा रहेको  समेत प्रहरीले जनाएको छ । हेनिपिन साउथको २९०० ब्लकमा आईतबार बिहान साँढे बाह्र बजे गोली चलेको प्रहरीले जनाएको छ भने मृतकको मृत्‍यु घटनास्थलमा नभएर अस्पतालमा भएको प्रहरीले दैनिक ब्रिफिङमा बताएको छ । आईतबार बिहानसम्म सन्धिग्द ब्यक्ती कोही पनि पक्राऊ परेको छैन । 

    घटनाका  प्रत्यक्षदर्शी एरिक थोमसनले  सिएनएनलाई बताए अनुसार सुरुमा पटका पड्किएको जस्तो सुनिए पनि पछि लगातार गोली चलेको थियो ।

  • नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ९०२६ पुगे संक्रमित

    नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ९०२६ पुगे संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आज थपिएका सहित ४२१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७७२ पुगेको छ।

    कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ।

    प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार गुल्मीमा होम-क्वारेन्टिनमा बसेकाबेला मृत्युु भएका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको हो ।

    करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आई होम क्वारेन्टिनमा बसेका छत्रकोट गाउँपालिकाका ती पुरूषको बिहीबार राति मृत्यु भएको थियो।

    मुम्बईबाट आएका उनलाई प्यारालाइसिसको समस्या रहेपछि गाउँपालिकाको वडा नम्बर ५ मैनडाँडामा रहेको घरमै रेखदेख गर्नेगरी राखिएको थियो।

    उनलाई घरमा ल्याएपछि नै आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको भए पनि पिसिआर परीक्षणको लागि भने शुक्रवार बिहानमात्र उनको स्वाब संकलन गरिएको थियो। यो सहित नेपालमा कोेरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

  • साउदीबाट बिहानै फर्किए २४६ नेपाली, अन्य मुलुकबाट पनि आधा दर्जन उडानको तयारी

    साउदीबाट बिहानै फर्किए २४६ नेपाली, अन्य मुलुकबाट पनि आधा दर्जन उडानको तयारी

    काठमाडौं । साउदीको रियादबाट आइतबार बिहानै २४७ जना नेपाली काठमाडौं अवतरण गरेका छन् । नेपाल एअरलाइन्सको वाइडबडी जहाजबाट उनीहरु काठमाडौं आएका हुन् । यस उडानमा एक नाबालकसहित २४७ जना नेपाली थिए । साउदीस्थित नेपाली दूतावासका अनुसार यस उडानमार्फत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिलासहित १२ जना महिला र बाँकी पुरुष घर फर्किएका हुन् ।

    आज यूएईबाट तीन उडानमार्फत नेपाली स्वदेश फर्कनेछन् । कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कंने भएका छन् । कतारको दोहाबाट पनि नेपाली आउनेछन् । मलेसियाबाट पनि नेपाली फर्कने कार्यक्रम रहेको छ ।

    यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको जहाज काठमाडौंका लागि उडिसकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । यो जहाजमा २ जना नाबालक सहित २६ जना महिला र १ सय २३ जना पुरुष छन् ।

    नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेका नेपाली छन् ।

  • आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट ९८ प्रतिशतसम्म देखिने

    आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट ९८ प्रतिशतसम्म देखिने

    काठमाडौं । नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सूर्यग्रहण सुरु हुने भएको छ । यो ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुनेछ । मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिने भएको छ । यस बेला भूसतहको तापक्रम घटेर चिसो हुने भएको छ ।

    नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद्हरुले बताएका छन् । बीपी कोइराला मोमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालय, विकास समितिका अनुसार पोखरामा विहान १० बजेर ५२ मिनेटमा, महेन्द्रनगरमा १० बजेर ५४ मिनेटमा, जनकपुरमा १० बजेर ५६ मिनेटमा र भद्रपुरमा ११ बजेर ५२ मिनेटमा सूर्यग्रहण सुरु हुने भएको छ ।

    जनकपुरबाट ८२ प्रतिशत, पोखराबाट ८८ प्रतिशत, झापाको भद्रपुरबाट ८१ प्रतिशत र कन्चनपुरको महेन्द्रनगरबाट ९३ प्रतिशत सूर्य ढाकेको देखिने भएको छ । नेपालका लागि यो सूर्यग्रहण महत्वपूर्ण रहेको छ । अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण नेपालमा देखिने भएको छ ।

    सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्नु नै सूर्य ग्रहण हो । धर्मशास्त्रका अनुसार सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । सूर्यग्रहण नाङ्गो आँखाले हेर्नु हुँदैन ।

  • शिक्षाबिद अंगुर बाबा जोशीको निधन

    शिक्षाबिद अंगुर बाबा जोशीको निधन

    काठमाडौं

    सामाजिक अभियन्ता एवम् शिक्षिबिद अंगुर बाबा जोशीको शनिबार साँझ ८९ बर्षको उमेरमा निधन भएको छ ।
    पारिवारिक श्रोतका अनुसार जोशीको न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो । उनी १७ वर्षदेखि घाँटीको क्यान्सबाट पिडित थिइन भने उनमा केही समय अघि ‘ब्रेष्ट क्यान्सर’ समेत देखिएको थियो ।

    उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख  समेत हुन् । बिसं २०१९ सालमा बेलायतबाट अध्ययन पुरा गरि फर्केपछि उनी पद्मकन्या क्याम्पस प्रमुख बनेकी थिइन ।

    महिला शिक्षा, हकहित तथा अधिकारका लागि अनवरत लाग्दै आएकी जोशी प्रखर बक्ता समेत थिइन् ।

  • सांसद सरिता गिरीलाई जन्मकैदको माग गर्दै तीन युवा वकिलले गरे जाहेरी दर्ता

    सांसद सरिता गिरीलाई जन्मकैदको माग गर्दै तीन युवा वकिलले गरे जाहेरी दर्ता

    काठमाडौं

    जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध जन्मकैदको माग गर्दै जाहेरी परेको छ । महानगरीय प्रहरी टेकुमा शुक्रबार साँझ अधिवक्तात्रय सन्तोष भण्डारी, सुजन नेपाल, नवराज पाण्डेले संयुक्तरुपमा जाहेरी दर्ता गरेको अधिवक्ता सन्तोष भण्डारीले बताए । जाहेरी दर्ता पछि अधिबक्ता भण्डारी भन्छन्; ‘सांसद सरिता गिरीका अभिब्यक्ती पूर्णत राज्यद्रोह कै लागि भएको हुँदा हामीले जन्म कैद माग गरेका छौं । गिरीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ को ५ (क) उपदफा (१) वा (२) बमोजिमको कसुरमा कारबाही गर्न माग गरिएको छ । उक्त कानूनी व्यवस्था अनुसार राज्यविरुद्धको कसुर ठहर भएमा सांसद गिरीलाई जन्मकैदको सजाय हुनेछ । जाहेरीमा उक्त कानून व्यवस्थाविरुद्ध गिरीले षडयन्त्र गरेको भनिएको छ । सांसद गिरीलाई तत्काल पक्राउ गर्न माग समेत गरिएको छ।

    नेपालको कानूनमा राज्य बिरुद्धको कसुर अन्तर्गत सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने शीर्षक अन्तर्गत कसैले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक, प्रादेशिक वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले मानिस, हात-हतियार वा खरखजना जम्मा गर्ने हातहतियार सहित सैनिक वा संगठन गर्ने वा यस्तो कार्य नगर्न नहुने कानूनमा उल्लेख गरिएको छ ।

    दफा ४९ को २ मा नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्न सक्ने गरी कुनै विदेशी राज्य, सरकार वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षडयन्त्र गर्ने वा गराउने गर्न नहुने व्यवस्था छ।

    गिरीले आधार र प्रमाणबिना कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा जारी गरिएको भन्दै सरकारको संशोधन विधेयकमाथि प्रतिनिधिसभा बैठकमा संशोधन दर्ता गरेकी थिइन् । उनको संशोधन प्रस्ताव नियमावली विपरीत रहेको भन्दै सभामुखले खारेज गरिदिएका थिए। उनले नयाँ नक्साको निर्णय र संविधान संशोधानविरुद्ध विभिन्न माध्यमबाट वक्तव्यवाजी समेत गर्दै आएकी छिन् । गिरी बिरुद्ध जाहेरी दर्ता गर्ने तिनै जना अधिबक्ता हुन् । अधिबक्ता सन्तोष भण्डारी काठमाडौं कपनका स्थानीय हुन् भने सुजन नेपाल काठमाडौस्थित मुलपानीका स्थानीय हुन् । अर्का अधिबक्ता नवराज पाण्डे नुवाकोटका स्थनीय ब्यक्ती हुन् ।

  • सोमबारदेखि दोश्रो चरणमा खुल्दै छ न्युयोर्क; न्युजर्सी र कनेक्टिकट पनि खुल्दै

    सोमबारदेखि दोश्रो चरणमा खुल्दै छ न्युयोर्क; न्युजर्सी र कनेक्टिकट पनि खुल्दै

    न्युयोर्क

    गत मार्च महिनाको मध्यदेखि बन्द रहेको न्युयोर्क सहरमा अब सोमबार दोश्रो चरणको अर्थतन्त्र खुला हुँदैछ । गत ८ तारिख पहिलो चरणमा खुल्ला भएको न्युयोर्क अब सोमबार थप ब्यापार ब्यवसाय संचालन गर्न मिल्ने गरी खुल्ला गर्न लागिएको हो । सोमबार दोश्रो चरणमा न्युयोर्क खुल्ला भएसंगै अब बार्बर शप, सबै प्रकारका ब्युटी ब्यबसाय (नेल्स), रियल स्टेट ब्यापार, गाडी बिक्री केन्द्र तथा भाडा गाडी ब्यवसाय, खुद्रा पसल र साथमा रेस्टुरेन्टहरु पनि खुल्ने छँन् । रेस्टुरेण्टको हकमा भने भित्र बसेर खाने छुट दिईने छैन ।  रेस्टुरेन्टले बाहिर सिटिङको ब्यबस्था मिलाएको अवस्थामा मात्र ग्राहकलाई बसेर खाने ब्यबस्था हुनेछ । न्युयोर्क सिटीले दोश्रो चरणको अर्थतन्त्र खुल्ला गरेसँगै अब न्युयोर्क सहरमा काम गर्ने करिब ३ लाख मानिस रोजगारीमा फर्किने छन् ।  

    न्युजर्सी : 

    न्युजर्सी गभर्नर फिल मर्फीले पनि सोमबारदेखि राज्यमा बार्बर शप र ब्युटी पार्लरहरु खुल्ने बताएका छन् । तर उनले राज्यमा बसोबास गर्नेहरुलाई होसियारी पूर्वक सुरक्षाका सबै सँयन्त्र प्रयोग गर्न पटक पटक सुचित समेत गरेका छन् । न्युजर्सीमा जुन २१ तारिख आईतबार बाबुको मुख हेर्ने दिनदेखि नै नर्सिङ होम, पर्सनल केयर होममा आफन्त भेटघाट गर्न खुल्ला हुनेछ । न्युजर्सी राज्यमा हालसम्म १२ हजार ८३५ जनाको कोभिड -१९ का कारण मृत्‍यु भै सकेको छ ।  

    कनेक्टिकट :   

    न्युयोर्क नजिकैको अर्को राज्य कनेक्टिकट बुधबारदेखि दोश्रो चरणमा खुला भै सकेको छ । मार्च १७ तारिगदेखि बन्द भएका रेस्टुरेण्ट, जिम, सिनेमा घर समेत कनेक्टिकटमा खुला गरिएका छन् ।  बुधबारदेखि कनेक्टिकटका करिब ९५ प्रतिशत ब्यापार खुल्ला भै सकेका छन् ।  कनेक्टिकटमा शुक्रबारसम्म ४ हजार २ सय ३८ को मृत्‍यु भै सकेको छ ।

  • भारत र चीनलाई नेपालको सुझाव : शान्तिपूर्ण निकास खोज

    भारत र चीनलाई नेपालको सुझाव : शान्तिपूर्ण निकास खोज

    काठमाडौं । भारत र चीनबीच चर्किएको सीमा विवादका बीच यी दुई मुलुकको बीचमा रहेको मुलुक नेपालले औपचारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै समस्या समाधानमा शान्तिपूर्ण उपायको खोजी गर्न दुबै मुलुकलाई आग्रह गरिएको छ ।

    दुई देशबीचको विवाद शान्तिपूर्ण तरिकाबाट समाधान हुनुपर्ने नेपालको अडान यहाँ दोहोर्याइएको छ । नेपाल जहिले पनि क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको मन्त्रालयको भनाई छ । परराष्ट्र मन्त्रालयले गलवान उपत्यकामा देखिएको विवाद दुवै देशले शान्तिपूर्ण तरिकाबाट समाधान खोज्ने विश्वास लिएको छ ।

    भारत र चीनको सीमा विवादका दौरान लद्दाखमा २० भारतीय सैनिक मारिएका छन् । यसबाहेक अन्य कैयौं घाइते भएको बताइएकोे छ । चीनतर्फको क्षति भने सार्वजनिक भएको छैन ।

  • तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?

    तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?

    काठमाडौं । कोरोना भाइरसको संक्रमण अब तराई भन्दा बढी पहाड र हिमाली भेगमा फैलन थालेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २४ घण्टामा नेपालमा ३ सय ३१ जना नयाँ कोरोना संक्रमित भेटिए । उनीहरु धेरैजसो पहाडी भेगका मानिस हुन् । भारतबाट आएका मानिसहरु आआफ्नो घरमा गएसँगै पहाड र हिमालमा समेत कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएकामध्ये ४९ जना महिला हुन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २ जना र सुनसरीका १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    उता, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका २४ जना र सर्लाहीका ३ जनासमेत कोरोना संक्रमित पाइएका छन्। नारायणी अस्पतालको प्रयोगशालामा बाराका ३ जना समेत संक्रमित पाइएका छन्।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बाराका १, बाग्लुङका १४ जना, बैतडीका १८, गुल्मीका १८ जना, डडेल्धुरा १२ जना, डोटीका ६१ जना, कैलालीका १ जना, काठमाडौंका १, नवलपरासी पूर्वका १७ जना, नवलपरासी पश्चिमका १ जना, पाल्पाका १, रामेछापका ३ जना, रौतहटका २, सर्लाहीका ६ जना र रुपन्देहीका १ जनामा समेत कोरोना संक्रमण पाइएको मन्त्रालयको तथ्यांक छ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा धादिङका ८ जना, पाल्पाका १६ जना र भक्तपुरका ७ जनामा समेत कोरोना संक्रमण पाइएको छ। भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पूर्वका ४ जना र स्याङ्जाका १ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

    कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा रौतहटका ५ जना, त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका २ जना, पोखरा प्रतिष्ठानको प्रयोगशालामा बाग्लुङका ६ जना, पोखराकै क्षयरोग केन्द्र प्रयोगशालामा नवलपरासी पूर्वका ११ जना र तनहुँका २३ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका १६ जनासमेत संक्रमित पाइएका छन्। बाँकेको भेरी अस्पतालको प्रयोगशालामा बाँकेका १४ जना र बर्दियाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्धारा जारी तथ्यांकमा उल्लेख छ ।

    नेपालमा २४ घण्टामा १ सय ७६ जना निको भए । अहिलेसम्म नेपालमा २४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

  • थप १७६ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १५७८

    थप १७६ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १५७८

    काठमाडौं  । पछिल्लो २४ घण्टामा थप १७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट उनिहरु संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अध्यावधिक विवरणअनुसार सिराहा अस्पतालबाट २६ जना र आइसोलेशन सेन्टर बाँकेबाट ५४ जना जनाले कोरोना जितेको छन् ।

    कोशी अस्तपाल विराटनगरबाट ११ जना, सल्यानका ११ जना, सुर्खेतका १३ जना, दाङका ५ जनासमेत उपचार पछि निको भएर घर फर्किएका हुन्।

    यस्तै, डडेल्धुराका २ जना, अछामका ५ जना, दार्चुलाका २ जना, डोटीका ९ जना, धनगढीमा उपचाररत ८ जना, कैलालीको टीकापुरमा उपचाररत ४ जना, कैलालीकै १ जना, कञ्चनपुरका ६ जना, कैलालीकै ८ जना, चितवनमा उपचाररत ३ जना र नवलपरासी पूर्वमा उपचार गरी निको भएर ४ जना घर फर्कीएको मन्त्रालयले जानकारी दिएको हो।

    डिस्चार्ज हुनेमा १८ महिला र १५८ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

    योसहित नेपालमा हालसम्म १ हजार ५ सय ७८ जना उपचारपछि निको भएका छन्।

    नेपालमा हालसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

  • नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५

    नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित संक्रमितको संख्या ८६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १७६ रहेको छ ।

  • नेकपा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने पक्षमा

    नेकपा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने पक्षमा

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विदेशी बुहारीको सन्दर्भमा ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उभिने भएको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा आफ्नो अडानका सम्बन्धमा औपचारिक निर्णय गरेको हो ।

    नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने गरी पार्टीमा सहमति जुटेको छ । नागरिकता विधेयक राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको छ ।

    विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग थियो । त्यो माग भने अस्वीकृत भएको छ । विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दल भने सहमत र्भका छैनन् । संसदमा नेकपाको बहुमत छ ।

    सोहीकारण बहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने सहमति पार्टीले गरेको हो । नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि विचाराधिन अवस्थामा रहेको छ ।

  • वैदेशिक रोजगारी आंशिक खुला, विद्यार्थी समेत विदेश जान पाउने

    वैदेशिक रोजगारी आंशिक खुला, विद्यार्थी समेत विदेश जान पाउने

    काठमाडौं । सरकारले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने नेपाली नागरिकलाई सरकारले अनुमति दिने भएको छ । आंशिक रुपमा वैदेशिक रोजगारी खुला गर्ने निर्णय सरकारले गरेको हो । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबारको बैठकले नेपालमा बिदामा आएका र सम्बन्धित मुलुक तथा कम्पनीबाट अनुमति प्राप्त कामदारले रोजगारीमा जान पाउने भएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा उनीहरु विदेश जान सक्ने भएका छन् । सरकारले ३० फागुनदेखि श्रम स्वीकृति बन्द गरेको छ । बैदेशिक रोजगारीमा रहेका विदामा घर आएका बेला नेपालमै रोकिएका कारण उनीहरुको रोजिरोटी सुरक्षा गर्ने चूनौति सरकारसँग रहेको छ ।

    कामदार र कम्पनीले नेपाली कामदारलाई विदेश पठाउने अनुमति मागिरहेका छन् । तत्कालका लागि अहिले विदामा आएका र करार अवधि बाँकी रहेका कामदार मात्र पठाइने भएको छ ।

    नयाँ कामदारको हकमा भने निर्णय भएको छैन । विदेशमा अध्ययनरत विद्यार्थी समेत अब शिक्षा मन्त्रालयको सिफारिसमा विदेश जान सक्ने भएका छन् ।

  • गण्डकी प्रदेशमा शनिबार बिहानै ५८ संक्रमित थप

    गण्डकी प्रदेशमा शनिबार बिहानै ५८ संक्रमित थप

    पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहानै ५८ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेशका ७ जिल्लामा ५८ जना कोरोना संक्रमित पुष्टी भएको हो । शनिबार तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुने व्यक्तिको संख्या संख्या ४३८ पुगेको छ । देशभर भने करीव ९ हजार मानिसमा संक्रमण पुष्टी भइसकेको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार नयाँ संक्रमितहरुमध्ये तनहुँको ऋषिङ गाउँपालिकाबाट मात्र २१ जना भेटिएका छन् । उनीहरु १ वर्षका बालकदेखि ३७ वर्ष उमेर समूहका युवा छन् ।

    तनहुकै ब्यास नगरपालिकामा २४ र २८ वर्षका दुई जना पुरुष तथा शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षका दुई जना पुरुषमा कोरोना भेटिएको छ । नवलपुर जिल्लाका १६ संक्रमितहरुमध्ये बुलिङटार गाउँपालिकाका मात्रै ११ जना छन् । उनीहरु १७ वर्षदेखि ३७ वर्ष उमेर समूहका पुरुषहरु हुन् । यस्तै मध्यविन्दु नगरपालिकाका २५ र ४५ वर्ष उमेर समूहका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

    नवलपुरकै बौदीकाली गाउँपालिकाका ४७ वर्षीय पुरुष, विनयत्रिवेणी गाउँपालिका २१ वर्षीय पुरुष र देवचुली नगरपालिकाका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ ।
    बाग्लुङको काठेगाखोला गाउँपालिकामा ७ जना पुरुष र एक जना महिला गरी ८ जना नयाँ संक्रमित फेला परेका छन् । उनीहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।

    स्वास्थ्य निर्देशनालय पोखराले शनिबार बिहान जारी गरेको सूचनाअनुसार गोरखाको भिमसेन नगरपालिकामा ३६, ३३, २२, ३५ र २८ वर्षका पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कास्कीको मादी गाउँपालिका ४१ वर्षीय पुरुष र १९ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

    यसैगरी म्याग्दीको मालिका गाउँपालिकामा ३० वर्षीय पुरुष र स्याङ्जाको पालिका नखुलेको २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उल्लेख गरेको छ ।

  • अमेरिकी भेदभाव भर्सेस नेपाली भेदभाव

    अमेरिकी भेदभाव भर्सेस नेपाली भेदभाव

    योगेश आदी

    रामराज्यको परिकल्पना भित्र भेदभाव शब्द अटाएको थियो भने तिमी कस्को राज्यमा बस्छौ र भेदभाव रहित समाजको कल्पनामा गर्न ?  कुरा सुरु गरौं – अमेरिकाको । अमेरिकाको पनि न्युयोर्क सहरको । न्युयोर्क सहरका नेपाली चेलीबेटीहरुले लिइरहने नाम मध्येको एउटा नाम ‘रानीको पार्लर’ हो । ती भारतीय महिलाको न्युयोर्कमा १५/१६ ओटा जति ब्युटी पार्लरहरु छन् । उनले नेपाली वा भारतीय कामदारको नाम तुरुन्तै फेरेर बिदेशी जिब्रो मैत्री बनाइदिंदो रहेछिन् । कारण अर्कै बताएपनि कालिकोटको धनबहादुर काठमाडौं आएपछि धनज भएजस्तै रहेछ । 

    मेरो साथीको नाम अमेरिकामा आएपछि प्याट्रिक भए जस्तै थुप्रैको नाम फेरिएको रहेछ । यतै जन्मेका छोराछोरीको नाम बिदेशी राख्ने त सामान्य नै भइहाल्यो । नाम किन फेरेको ? भनेर सोध्दा ‘नाम सुन्ने वा पढ्ने बित्तिकै भेदभावको सामना गर्न नपरोस् भनेर’ भन्ने जवाफ पाएँ । बालबच्चाको नाम किन बिदेशी ? भन्दा ‘यिनीहरु यतै बस्ने भएपछि नामैको कारणले क्षमता र अवसरमा भेदभाव नहोस् भनेर’ भन्ने आसयको जवाफ पाएँ । सायद अमेरिकी कानूनले यस्तै किसिमको भेदभाव न्युनिकरणको लागि हुनुपर्छ; आप्रबासीले अमेरिकामा नागरिक बन्ने बेलामा नाम-थर पूर्ण रुपमा नै फेर्न पाइने प्रावधान राखेको छ । अमेरिका जस्तो देशमा नामैको कारण भेदभाव हुन्छ ? हुन्छ । नामको कारण हुन्छ । रंगको कारण हुन्छ । लिंगको कारण हुन्छ । कदको कारण हुन्छ । भाषाको कारण हुन्छ । आर्थिक कारणले हुन्छ । भेदभाव कानूनको नजरमा अक्षम्य अपराधको कोटीमा परेतापनि दोश्रो चोकमा पुग्ने बित्तिकै भेदभाव हुन थाल्दछ । संसारको सबैभन्दा बिबेकीहरु बस्ने देश नर्वेमा हुन्छ भने अमेरिकामा किन हुँदैन ? भेदभाव आँखाले फरक छुट्याउन्जेल हुँदो रहेछ ।

    यद्यपी अमेरिकामा जातको कारणले हुने भेदभाव भने हुँदैन । त्यसो त नेपालमा रंगको कारणले हुँदैन, जुन अमेरिकामा हुन्छ । 

    भेदभाव जीवनको पर्याय हो । तुलना रहेसम्म भेदभाव हट्दैन । प्रतिस्पर्धा हुन्जेल भेदभाव बिद्यमान रहन्छ नै । कति अंशको ? कस्को किसिमको ? भन्ने अन्तर रहला वा, अथवा, न्युनिकरण होला तर निमिट्यान्न हुनैसक्दैन । 

    भेदभाव नहुने ठाउँ र विषय नै छैन । अमेरिकामा जुन अहिले छालाको रंगको कारणले भनेर रंगभेद बिरोधि आवाज उठिरहेका छन्  । त्यो वास्तवमा रंगको कारणले भएको आन्दोलन होइन । यो दृष्टिकोणको बिरुद्धमा उठेको आवाज हो । आर्थिक खाडलले पैदा गरेको स्वाभाव र हिनभाव बिरुद्धको आवाज हो । प्रबृत्तिको खिलाफको धावा हो । किनकि यो आन्दोलनमा कालो छालाको मान्छे मात्र छैनन् । त्यही हाराहारीमा सेतो, पहेंलो र गहुँको जस्तो छाला भएकाहरु पनि छन् । यस्तै आवाज लिंकन हुँदै मार्टिन लुथरले पनि उठाए अबको १०० बर्ष पछि पनि कुनै न कुनै रुपमा उठ्ने नै छ । सदियौं (सयौं सयौं वर्ष) लागेर मानवीय स्वाभावले बनाएको खाडल सजिलै पुरिदैन । रंगकै कारणले हुँदो हो त संसारमै हाल सवैभन्दा बढी मान्छे मारिरहेको रुवाण्डामा हुतु र तुत्सी दुबै हैर्दा कालो छालाको छन् । हिट्लर र जुइसकको छाला पनि उस्तै रंगको थियो ।

    मैले धर्मको कारणले हुने भेदभाव लेख्न थालें भने कहिल्यै पुरा हुँदैन । शक्तिको कारणले हुने भेदभावको पनि काव्य नै बन्दछ । भेदभाव मध्येमा सबैभन्दा सजिलो अन्त्य हुने भेदभाव भनेको जातको कारणले हुने भेदभाव हो । यसको प्रमाण हालको अमेरिका, अष्ट्रेलिया र युरोपलाई हेर्दा हुन्छ । शिक्षाको स्तर र आर्थिक सम्पन्नताले तराजु भरिएपछि यो जातको भेदभाव हराउँदै जान्छ । यी देशहरुमा पनि कुनै समय जातको भेदभाव हुन्थ्यो । अहिले अमेरिकामा स्मिथ, गोल्डस्मिथ, शुमेकर इत्यादि थरहरुलाई कसैले वास्तै गर्दैनन् । 

    अहिले पनि कतिपयले अमेरिकामा पतिको थर राख्छन् । कतिले राख्दैनन् । थरको स्वतन्त्रता हुनुपर्छ । अमेरिकामै मेरो एकजना प्रदीप थापा नाम गरेको अग्रजले श्रीमतीको थरबाट आफु प्रदीप थापा परियार बनेका छन् । यो एउटा स्वतन्त्रता र स्वच्छन्दताको अभ्यास पनि हो । नेपालमा पनि गायिका ममता दिपविमका पिता मदन बस्नेतले मदन दिपविम राखेजस्तै । साहित्यकार बालकृष्ण समशेरले आफु ‘शेर’ नभएको र सबैप्रति समता रहेकोले ‘सम’ मात्रै राखे जस्तै । यद्यपी हाल कतिपयले आफुलाई ‘शेर’ ठानेर नाममा ‘लायन’ जोडेको पनि देख्दछु । 

    खैर भेदभाव यस्तै कणकणबाट शुरु हुन्छ । नेपालीले अझैपनि छोराको बिहेमा ‘बुहारी भित्र्याउने’ भन्ने गर्दछन् । छोरीलाई चाँहि ‘अन्माउने’ अर्थात पठाउने शब्द प्रयोग गर्छन् । वास्तवमा दुबैले बराबरी नयाँ जीवन सुरु गर्न गइरहेका हुन्छन् । यो सामाजिक संरचनाले उत्पादन गरेको भेदभाव हो ।

    अन्त्यमा; के देख्दछु भने भेदभाव अनन्त छ । कणकणमा छ । यो आन्दोलनबाट हट्दैन । किनकि कानूनले त भेदभाव कहिल्यै गरेकै छैन । कानूनमा लेखिएका नैसर्गिक अधिकार र समताका अक्षरले त कसलाई छुटाएको छ र ? भेदभावको न्युनिकरण बिबेक र चेतनाले बिस्तारै हुन्छ ।

  • एमसीसीतर्फ संकेत गर्दै प्रचण्ड भन्छन् : सैन्य गठबन्धनसँग सम्बन्धित विदेशी सहायता अस्वीकार्य

    एमसीसीतर्फ संकेत गर्दै प्रचण्ड भन्छन् : सैन्य गठबन्धनसँग सम्बन्धित विदेशी सहायता अस्वीकार्य

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहायता स्वीकार गर्ने वा नगर्ने भन्ने सम्बन्धमा विवाद भइरहेका बेला सैन्य गठबन्धनसँग जोडिने कुनै पनि विदेशी सहयोग नेपालले स्वीकार नगर्ने बताएका छन् । एमसीसी सैन्य गठबन्धनको एक पाटो भएको नेकपा कार्यदलले निष्कर्ष निकालेको थियो ।

    नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) बीच शुक्रबार राजधानीमा संयुक्त भर्चुअल कार्यशाला सम्पन्न भयो । कार्याशालालाई शुक्रबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयबाट सम्बोधन गरेका प्रचण्डले नेपालले सैन्य गठबन्धनका लागि वितरण गरिएका कुनै पनि सहायता स्वीकार नगर्ने उल्लेख गरे ।

    नेपाल विकासको चरणमा रहेको भन्दै उनले यसबेला ठूलो सहयोग आवश्यक रहेको बताए । तर, सहयोगको नाममा नेपाल कुनै पनि सैन्य गठबन्धनमा भने जोडिन नसक्ने स्पष्ट पारे । नेकपाभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा गम्भीर विवाद कायम छ ।

    एमसीसी अमेरिकी इन्डो प्यासिफिक सैन्य रणनीतिको एक भाग रहेको नेकपाका नेताहरु नै बताउँछन् । नेकपामा प्रचण्डले एमसीसीबारे ठोस धारणा सार्वजनिक गरेका छैनन् । नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने एमसिसी जसरी पनि पास गर्ने पक्षमा छन् । उनी पार्टीमा एमसीसीको पक्षमा बहुमत जुटाउने प्रयासमा छन् ।

    शुक्रबार पनि अध्यक्ष दाहालले एमसीसी र अमेरिकाको नाम भने लिएनन् । तर, उनको संकेत संशोधन बीना एमसीसी पास नहुने भन्नेमै थियो । नेपालले असंलग्न विदेश नीति अवलम्बन गर्दै आएको उनले स्मरण गरे ।

    नेपालको संविधानसँग बाझिने गरी, कुनै पनि पनि सैन्य गठबन्धनमा आवद्ध हुनुपर्ने सहयोग नेपाललाई स्वीकार्य हुन नसक्ने उनको भनाई छ । उनले नेपाल दुबै छिमेकीसँग द्वन्द्व नचाहेको समेत स्ष्ट पारे ।

    नेपाल र भारतबीचको सीमा विवादबारे बोल्दै उनले छिमेकीहरुसँगको विवाद समाधानमा नेपाल वार्ताको पक्षमा रहने उल्लेख गरे । उक्त बैठकमा नेकपा स्कुल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्‍वर पोखरेल पनि सहभागी थिए । उनले कोभिड(१९ नियन्त्रणमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिए।

  • शुक्रबार काठमाडौं उतारियो विदेशमा मृत्यु भएका २३ नेपालीको शव

    शुक्रबार काठमाडौं उतारियो विदेशमा मृत्यु भएका २३ नेपालीको शव

    काठमाडौं । शुक्रबार त्रिभुवन विमानस्थल केहीबेर शोकमग्न भयो । किनकी शुक्रबार एकै उडानबाट २० वटा शव त्रिभुवन विमानस्थलमा झारियो । कतारको दोहाबाट कतार एयरवेजले २५ जना नेपाली यात्रुको साथमा कार्गोमा २० नेपालीको शव काठमाडौं ल्याएको हो ।

    नियमित उडान बन्द भएपछि विदेशमै रोकिएका शव नेपाल झारिएको हो । शुक्रबार नै साउदीबाट एक र कुवेतबाट २ जना नेपालीको शव काठमाडौं आएको छ । विदेशमा अलपत्र परेका नेपालीको उद्दारको काम अहिले धमाधम भइरहेको छ ।

    यसै क्रममा आउने चार्टर्ड उडानमा शवहरु समेत ल्याउन लागिएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार चार्टर्ड उडानबाट विदेशमा अड्किएका सबै शव नेपाल ल्याउने योजना छ । त्यसपछि उनीहरुको पहिचानसागै आआफ्नो गृह जिल्ला पठाइने छ । यसको खर्च भने बोर्ड आफैले बेहोर्छ ।

    शवलाई विदेशबाट नेपाल ल्याउने र काठमाडौंबाट जिल्ला पुर्‍याउनेसम्मको खर्च व्यवस्थापन बोर्डले गर्छ । शुक्रबार आफन्तको शव आउने दिन विमानस्थलमा भिड देखिएको थियो ।

  • ‘लकडाउन सम्बन्धी सुरक्षा मापदण्ड जारी, राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक’

    ‘लकडाउन सम्बन्धी सुरक्षा मापदण्ड जारी, राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक’

    काठमाडौं  । कोरोना भाइरस संक्रमण संख्या बढ्दैगएपछि उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ ।

    सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।

    जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णयगरेसँग राति सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट अर्को जिल्लामा अनुमति बिना यात्रु ओसारपसार हुन थालेपछि थप कडाई गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

    मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

    सरकारले असार १ गतेदेखि सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू गरेको छ ।

    मालसामान ढुवानी गर्दा चालक र सहचालक बाहेक कसैलाई पनि बोक्न नपाइने व्यवस्था ल्याइएको छ ।

    उद्योग/कलकारखानालगायत कार्यस्थलमा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन पाइने छैन । सामाजिकरसांस्कृतिक कार्यमा १५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ ।

  • नेपालमा थप २१६ जना डिस्चार्ज, निको हुनेको संख्या १४०२

    नेपालमा थप २१६ जना डिस्चार्ज, निको हुनेको संख्या १४०२

    काठमाडौं । शुक्रबार थप २१६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएका हुन् ।
    संक्रमण मुक्त हुनेमा ९ जना महिला र २ सय ७ जना पुरुष रहेका छन् ।

    योसहित नेपालमा हालसम्म १ हजार ४ सय २ जना उपचारपछि निको भएका छन्।

  • नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो

    नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४०२ पुगेको छ।

    कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ।

  • आज पाँच मुलुकबाट हुँदैछ नेपालीको उद्दार

    आज पाँच मुलुकबाट हुँदैछ नेपालीको उद्दार

    काठमाडौं । शुक्रबार विभिन्न पाँच मुलुकबाट नेपालीको उद्दार हुने भएको छ । विदेशमा समस्यामा रहेका, बेखर्ची बनेका र रोजगार गुमाएका नेपालीलार्य प्राथमिकताका साथ उद्दार भइरहेको छ । सोहीक्रममा शुक्रबार पाँच वटा मुलुकबाट नेपालीको उद्दार हुन लागेको हो । शुक्रबार साउदी अरेविया, यूएई, कुवेत, कतार र माल्दिभ्सबाट नेपालीलाई घर ल्याउने कार्यक्रम रहेको छ ।

    हरेक मुलुकबाट एक एक उडान तय भएका छन् । विहीबार साँझ यूएई उडेको नेपाल एयरलान्सले १४८ नेपालीलाई बोकेर आउनेछ । यस उडानमा अधिकांश गर्भवती महिला रहेको बताइएको छ । यो जहाजमा एउटा शव पनि नेपाल ल्याउन लागिएको छ ।

    शुक्रबार नै हिमालय एयरले साउदीबाट १८० जना नेपालीलाई काठमाडौं ल्याउनेछ । हिमालय एअरलाइन्सको जहाज पनि बिहीबार साउदी उडेको हो । माल्दिभ्सबाट शुक्रबार १५० जना नेपाली घर आउनेछन् ।

    कुवेत र कतारबाट पनि नेपाली आउने तय भएको छ । यद्दपी कति संख्यामा आउनेछन् भन्ने चाँही खुलेको छैन । अहिले धमाधम विदेशबाट नेपाली नागरिकको उद्दारको काम जारी रहेको छ ।

  • बेबी सावर गीत युट्युबमा सार्वजनिक

    बेबी सावर गीत युट्युबमा सार्वजनिक

    न्युयोर्क

    गीतकार दुर्गा खनाल घिमिरेको ‘बेबी शावर’ उत्सव लक्षित गीत बजारमा आएको छ । परिवारमा सबैभन्दा बढी खुसी त्यति वेला हुन्छ, जति वेला उत्तरदायित्व लिने सन्तान आमाको कोखमा छ भन्ने थाहा हुन्छ । अनि उत्सवको माहोल बन्ने गर्दछ । त्यही उत्सवको माहोललाई प्रतिनिधित्व गर्ने बेबी सावर सम्बन्धि गीत डि -४ युट्युबमा सार्वजनिक गरिएको हो ।

    दुर्गा खनाल घिमिरेको यस गीतमा प्रताप दास र मिलन नेवार अमात्यको स्वर रहेको छ । नेपालीहरू संसारभर पुगी सकेको बर्तमान परिप्रेक्षमा बेबी शावर मनाउँदै गर्दा बजाउने गीत समेत नेपाली शब्द र स्वरमा नभए पछि गीतकार खनाल बेबी शावर गित रचना गर्न पुगेको बताउँदछिन् । 

    गिताको म्युजिक एरेंज र कम्पोज हेम लामाले गरेका छन् भने मिक्सिगं मास्टरिगं विवेक शाक्यले विवेक साउण्ड स्टुटुडियोमा गरेका हुन् । यस गीतको प्रोडक्सन मेनेजर शम्भु श्रेष्ठ, मेकअप माही सिंह, कलाकारहरू आयुश रिजाल, अन्जली अधिकारी, रश्मी भट्ट, कमल कान्त मैनाली रहेका छन भने सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा, एडिट र कलर नविन निरौला, सहायक निर्देशक सुवोल थापा रहेका छन् । गीतको प्रडक्सन डि -४ प्रडक्सनले गरेको छ भने र निर्देशन गम्भिर विष्टले गरेका हुन् ।

  • बिहीबार चार देशबाट आए ५ सय बढी नेपाली, दिनभर १४ उडान-अवतरण

    बिहीबार चार देशबाट आए ५ सय बढी नेपाली, दिनभर १४ उडान-अवतरण

    काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य दिनको तुलनामा केही व्यस्त रह्यो । नेपाली नागरिकलाई विदेशबाट नेपाल ल्याउने अभियान अन्तर्गत विदेशबाट जहाज आउन गालेपछि विमानस्थलमा समेत चहलपहल बढेको हो । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले सार्वजनिक गरेको विवरण अनुसार बिहीबारमात्र आन्तरिक र बाह्य गरी कुल १४ वटा उडान-अवतरण भएका छन् ।

    बिहीबार हिमालय एयरलाइन्सले मलेसियाबाट ११७ जना नेपालीलाई नेपाल ल्याएको छ । यो जहाज मलेसिया जादा भने एकजना नेपाली र १५ विदेशी गरी १६ जना यात्रु मलेसिया लगेको छ । बिहीबार नै जजिरा एयरले कुवेतबाट नेपालीलाई घर फर्काएकोछ । सलाम एयरले ओमानबाट नेपालीलाई काठमाडौं ल्याएको हो ।

    यी दुई जहाजमा क्रमशः १५० र १४६ जना यात्रु आए । कतार एयरवेज समेत बिहीबार काठमाडौं आयो । यो जहाजले दोहाबाट एक जना नेपालीलाई बोकेर आएको थियो । उसले नेपालमा रहेका २६३ जना विदेशीलाई दोहा लगेको छ । बिहीबार साँझ हिमालय एयरलाइन्सको जहाज दमाम उठेको छ ।

    यो जहाज शुक्रबार फर्कने छ । बिहीबार साँझ नै नेपाल एयरलाइन्स दुबई उडेको छ । हिमालय एयरलाइन्सले साउदी उड्दा चार जना नेपालीलाई दमाम लगेको छ । आन्तरिकमा समेत केही उडानहरु भएको विमानस्थलले जनाएको छ ।

  • नेपालमा सुनसहित १० खानीको उत्खनन् गरिने

    नेपालमा सुनसहित १० खानीको उत्खनन् गरिने

    काठमाडौं । नेपालमा सुनसहित विभिन्न १० वटा खानीको अध्ययन तथा उत्खनन् गरिने भएको छ । खानी तथा भूगर्भ विभागले रोल्पामा सुन खानी उत्खनन् गर्ने भएको छ । यसबाहेक देशका विभिन्न १० वटा खानी अध्ययन तथा उत्खनन गर्न सरकारले लाईसेन्स प्रदान गर्ने प्रक्रिया थालेको छ ।

    सुन, तामा, चुनढुंगा, नुन, कोइला, ग्रेनाइट र केओलिनसहित १० वटा खानी क्षेत्रको अध्ययन र उत्खनन गर्न लाइसेन्स वितरण गर्न सार्वजनिक सूचना प्रकाशित गरिएको हो । विभागका अनुसार दुई वटा चुनढुंगा खानी र एक एक ओटा नुन तथा ग्रेनाइट खानी उत्खनन अनुमति दिन आवेदन मागिएको हो ।

    रोल्पाको सुनछहारी गाउँपालिकामा रहेको सुन खानीसहित दुईवटा चुनढुंगा खानी, नुन तथा ग्रेनाइट खानी एक एक, तीनवटा तामा खानी, एक केओलिन र कोइला खानीका लागि भने अध्ययनका लागि मात्र बोलपत्र आह्वान गरिएको हो ।

    खानी उत्खनन तथा अध्ययन गर्न इच्छुक कम्पनीहरूले ३५ दिनभित्र आवश्यक धरौटीसहित आवेदन दिनुपर्ने भएको छ । यो लाइसेन्स प्रक्रिया चालु आवको कार्यक्रमअनुसार अगाडी बढेको हो ।