Category: फिचर

  • आजबाट मोटरसाइकललाई समेत जोर-विजोर प्रणाली

    आजबाट मोटरसाइकललाई समेत जोर-विजोर प्रणाली

    काठमाडौं । आजबाट देशभर दुई पांग्रे सवारी साधनलाई समेत जोर विजोर प्रणाली लागु हुने भएको छ । सोबारबाट सबै प्रकारका निजी सवारी साधनमा जोर विजोर प्रणाली लागु हुने गृह मन्त्रालयले स्पष्ट पारेको छ । यसअघि सवारीसाधानमा जोर विजोर लागू गर्नेबार गृह मन्त्रालय र ट्राफिक प्रहरी अन्यौलमा थिए ।

    सोहीकारण चार पांग्रे सवारीमा मात्र यसको नियम लागु भएको थियो । सोमबारबाट भने ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन सबैमा जोर विजोर प्रणाली लागु हुने भएको हो । मोटरसाइकल र स्कुटरमा पनि जोरबिजोर प्रणाली लागू गर्न गृहले सरोकारवाला निकायलाई निर्देशन दिएको छ।

    मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा एक जना मात्रै सवार हुनुपर्ने निर्णय गरेको थियो । बैठकले निजी सवारी साधनमा जोर विजोर प्रणाली लागु हुने भने पनि दुई पांग्रेको हकमा के गर्ने भन्ने स्पष्ट पारेको थिएन् ।

    मन्त्रिपरिष्दको निर्णय अनुसार गृहले स्पष्ट पारेको हो । यस्तो प्रणाली अनुसार जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पाइन्छ । सरकारले लकडाउन खुकुलो बनाउने क्रममा पहिलो चरणमा निजी सवारी साधन खोल्ने निर्णय गरेको हो ।

    त्यो पनि जोर विजोर प्रणालीमा चलाउन पाइन्छ । सवारी साधन एक जिल्लाबाट अर्को जिल्लामा चलाउन भने पाइदैन ।

  • रुकम घटना : ६ जनाको नियोजित हत्या भएको प्रहरीको निष्कर्ष, ३४ विरुद्ध मुद्दा दायर

    रुकम घटना : ६ जनाको नियोजित हत्या भएको प्रहरीको निष्कर्ष, ३४ विरुद्ध मुद्दा दायर

    रुकुम । ६ जनाको ज्यान जाने गरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा भएको घटना नियोजित हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । गाउँबाट भाग्दै गरेका युवालाई बाटो छेकेर नियोजित तरिकाले आक्रमण गरिएको र आक्रमणका क्रममा उनीहरुको ज्यान गएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

    जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा जाजरकोटबाट गएका १८ जना युवाको टोलीमाथि गाउँलेले आक्रमण गरेका थिए । ती युवा गाउँकी मल्ल थरकी एक युवतीलाई भगाउन गएका थिए । घटनामा संलग्न भएको आरोपले प्रहरीले आइतबार ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दायर गरेको छ ।

    मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका हुन् । एक जना भने मतियारका रुपमा दर्ता भएको छ । ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत रुकुम पश्चिमका श्रेस्तेदार कृतबहादुर बोहराले आइतबार मुद्दा दर्ता भएको जानकारी दिएका छन् । सोमबारबाट थुनछेक बहस सुरु हुने भएको छ ।

    मुद्दा लागेकामध्ये पाँच जना फरार छन् । अरु सबैलाई प्रहरीले पक्राउ गरिसकेको छ । जाजरकोट भेरी नगरपालिकाका नवराज विककी प्रेमिकालाई भगाउन १८ जनाको टोली रुकुम गएको थियो । उनकी प्रेमिका र उनीबीच शुरुमा राम्रो सम्बन्ध भएपनि पछिल्लो समय सम्बन्ध बिग्रिएको र धेरै जना युवा जाँदा भगाउन सकिने उद्देश्यले नवराजले युवाहरुलाई रुकुम लगेको पाइएको छ ।

     

     

    तर, सो क्रममा जातीय विषय समेत उठेपछि विवाद भएका कारण प्रहरीले जातीय विभेदको कसुरमा समेत मुद्दा दर्ता गरेको छ ।

    यो घटनामा नवराजसहित गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको ज्यान गएको छ । उनीहरुको शव भेरी नदीमा भेटिएको हो । प्रहरीका अनुसार गाउँलले लखेट्दै ढुंगा प्रहार गर्दा युवाको ज्यान गएको पाइएको छ ।

  • स्वास्थ्यकर्मीसहित तीन जनामाथि क्वारेन्टिनमा बसेकी महिलालाई बलात्कारको आरोप

    स्वास्थ्यकर्मीसहित तीन जनामाथि क्वारेन्टिनमा बसेकी महिलालाई बलात्कारको आरोप

    कैलाली । कैलालीमा एक जना स्वास्थ्यकर्मीसहित तीन जना पक्राउ परेका छन् । उनीहरुमाथि क्वारेन्टिनमा बसेकी एक महिलाई बलात्कार गरेको आरोप लागेको छ । कैलालीको लम्कीचुहामा क्वरेन्टिनमा बसेकी एक महिलाले स्वास्थ्यकर्मीबाट आफूमाथि बलात्कार भएको आरोप लगाएकी हुन् ।

    लम्कीचुहा नगरपालिका १ पूर्वलम्कीस्थित शहिद स्मृति माध्यमिक विद्यालयकोक्वारेन्टिनमा एक स्वास्थ्यकर्मी र उनका दुई सहयोगीले आफूमाथि बलात्कार गरेको महिलाको आरोप छ । महिला जेठ २०मा गौरीफन्टा नाका हुँदै नेपाल आएर क्वरेन्टिनमा बसेकी थिइन् ।

    गतरात उक्त क्वारेन्टिनमा खटिएका एक स्वास्थ्यकर्मी र दुई जना सहयोगीले सवा १२ बजेतिर सामुहिक बलात्कार गरेको उनको आरोप छ । आरोपित तीनै जनालाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । घटनामा दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले आइतबार लम्की बजारमा विरोध प्रदर्शन समेत गरेका छन् ।

  • अफगानिस्तानबाट आए संयुक्त राष्ट्रसंघका १८ नेपाली कर्मचारी, बंगलादेशबाट फर्किए १५८ विद्यार्थी

    अफगानिस्तानबाट आए संयुक्त राष्ट्रसंघका १८ नेपाली कर्मचारी, बंगलादेशबाट फर्किए १५८ विद्यार्थी

    काठमाडौं । अफगानिस्तानबाट संयुक्त राष्ट्रसंघका कर्मचारी नेपाल फिर्ता भएका छन् । अफगानिस्तानबाट १८ जना नेपाली कर्मचारी आइतबार काठमाडौं आएका हुन् । उनीहरुलाई संयक्त राष्ट्रसंघ आफैले चार्टर्ड जहाज काठमाडौं पठाएको काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ । उक्त जहाज काठमाडौंबाट अफगानिस्तान फर्कदा भने एक जना यात्रु बोकेर गएको छ ।

    उता, आइतबार नेपाल एयरलाइन्सले बंगलादेशबाट १ सय ५८ जना नेपालीलाई स्वदेश फर्काएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १ सय ५८ जना नेपाली स्वदेश फर्किएका हुन् । उनीहरु सबैको पीसीआर परीक्षण गरिएको छ । सोहीकारण उनीहरु काठमाडौंमा एक दिन होल्डिङ सेन्टरमा बसेर त्यसपछि सम्बन्धित स्थानीय तहमा पठाइनेछ । सरकारले विभिन्न मुलुकबाट अलपत्र नेपालीको उद्धार थालेको छ । उद्धार गरी करीव ३० हजार नेपाली घर फर्कने छन् ।

  • निजी प्रयोगशालामा गरेको कोरोना परीक्षणको खर्च सरकारले व्यहोर्ने

    निजी प्रयोगशालामा गरेको कोरोना परीक्षणको खर्च सरकारले व्यहोर्ने

    काठमाडौं । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ ।

    पछिल्लो समय सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।

    यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९ वटा निजी प्रयोगशालाहरूले परीक्षणको लागि आवदेन दिएका थिए। तर कुन-कुन निजी प्रयोगशालालाई परीक्षण अनुमति दिने कुरा टुंगो लागेको छैन।

  • नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

    नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । आइतबार ६१ जना डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको छ। जसमध्ये पुरुष ८७७ र महिला ९७ जना छन्।

  • काठमाडौं प्रवेशमा कडाइ, स्थानीय तहको स्वीकृति अनिवार्य

    काठमाडौं प्रवेशमा कडाइ, स्थानीय तहको स्वीकृति अनिवार्य

    काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि झन् कडाइ गरेको छ । आइतवार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले पासहरू बन्द गर्दै नयाँ व्यस्था गरेको हो ।

    नयाँ व्यवस्था अनुसार काठमाडौं बाहिरबाट उपत्यका प्रवेश गर्न चाहनेले अब पास लिन सम्बन्धित स्थानीय तहको स्वीकृति लिनुपर्नेछ।

    जेठ २८ गतेको निर्णयले जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने निर्णय गरेपछि पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    ‘काठमाडौं जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमतिसहित यात्रा सुरू गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु हुन,’ प्रशासकीय अधिकृत मानबहादुर बुढाले आइतबार निकालेको सूचनामा उल्लेख छ।

    त्यसपछि जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिम निर्धारण, फर्किनुको औचित्य आदिको विश्लेषण गरेर पास उपलब्ध गराउने जानकारी गराएको छ।

    काठमाडौँबाट बाहिर जानको लागि भने व्यक्तिगत र संस्थागत आवश्यकता देखाएर कागजपत्र पेश गर्न अनुरोध गरेको छ।

  • अघिल्लो साता विदेशमा कोरोनाबाट नेपालीको मृत्यु शुन्य

    अघिल्लो साता विदेशमा कोरोनाबाट नेपालीको मृत्यु शुन्य

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा नेपालीको ज्यान जाने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले साप्ताहिक अपडेट जारी गर्दै यस्तो बताएको हो । एनआरएनएका अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीको ज्यान गएको थियो । तर, अघिल्लो साता भने कोरोना भाइरस संक्रमणबाट विदेशमा कुनै पनि नेपालीले ज्यान गुमाएका छैनन् ।

    एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दर समेत उल्लेख्य घटेको छ । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

    एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो ।

    कोरोना संक्रमणले हालसम्म विदेशमा १ सय २७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् । नेपालमा भने १९ पुगेको छ । यद्दपी संघको अपडेटमा १८ रहेको छ । आज बिहान ज्यान गुमाएका गुल्मीका युवकको समेत कोरोना थियो ।

    नेपालमा ५ हजार ३ सय ३५ सहित विश्वभरका ३५ देशमा २३ हजार १ सय २७ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको सं३ले उल्लेख गरेको छ । कोरोना भाइरसका कारण बेलायत, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो ।

  • पर्वतमा भीषण पहिरो, ५ को मृत्यु, ४ बेपत्ता

    पर्वतमा भीषण पहिरो, ५ को मृत्यु, ४ बेपत्ता

    पर्वत । पर्वतमा गतरातीको भीषण पहिरोमा परी अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । ४ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको हो । आइतबार बिहान पहिरोबाट दुई जनाको शव निकालिएको छ ।

    जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार शनिबार राती नै तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो । घटनामा अझै चार जना बेपत्ता रहेको बताएको छ । अबिरल वर्षा पछि पहिरो गएको हो । अहिले पनि उद्घारको काम जारी रहेको छ ।

  • कोरोना सङ्क्रमितको गुल्मीमा ज्यान गयो, १९ पुगे ज्यान गुमाउने

    कोरोना सङ्क्रमितको गुल्मीमा ज्यान गयो, १९ पुगे ज्यान गुमाउने

    काठमाडौं । नेपालमा कोरोना सङ्क्रमित थप एक जनाको ज्यान गएको छ । गुल्मी धुर्कोट गाउपालिकाका ३६ वर्षका युवाको उपचारका क्रममा ज्यान गएको हो । यससङ्गै अब नेपालमा कोरोनाबाट ज्यान गुमाउने मानिसको सङ्ख्या १९ पुगेको छ ।

    उपचारको क्रममा गुल्मीको धुर्कोट गाउँपालिका जैसीथोकका ३६ वर्षीय युवकको कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको हो।

    उनमा जेठ १२ कोरोना संक्रमण पुष्टि भएसँगै रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार गरिएको थियो। उनी २ वर्षदेखि क्यान्सर रोगले पीडित थिए। केही दिनदेखि उनको स्वास्थ्य अबस्था गम्भीर थियो । उनी आइसोलेशनको बेडमा जान र झर्न नसक्ने भएपछि उनको भुँइमै राखेर उपचार गरिएको थियो।

    स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ। तीन साता अघि गुल्मीकै मदाने गाउँपालिका–६ का ४१ वर्षीय पुरुषको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

  • यस्ता छन् डेमोक्र्याटिक पार्टीका सम्भावित राष्ट्रपति उम्मेद्वार बाईडेनका उपराष्ट्रपति छनौट

    यस्ता छन् डेमोक्र्याटिक पार्टीका सम्भावित राष्ट्रपति उम्मेद्वार बाईडेनका उपराष्ट्रपति छनौट

    न्युयोर्क

    अमेरिकाको आगामी निर्वाचनको लागि डेमोक्र्याटिक पार्टीबाट सम्भाबित राष्ट्रपतीय उम्मेद्वार जो बाईडेन आफ्नो उपराष्ट्रपति छनौटको दोश्रो चरणमा प्रवेश गरेका छन् । बाईडेन ह्वाईट हाऊस दौडको लागि आफ्नो सहयात्री छनौटको दोश्रो चरणमा प्रवेश गरेको र यस अगाडिका सम्भाबितहरुको  फराकिलो घेरा साँघुरो बनेको अमेरिकी मुलधारका संचार माध्यमले शुक्रबार जनाएका छन् ।  

    समाचार श्रोतका अनुसार बाईडेनले उपराष्ट्रपति पदका लागि अन्तिम ६ जनाको सुची दोस्रो चरणमा टुङो लगाएका छन् ।  बाईडेनको पछिल्लो रोजाईमा म्यासाच्युसेट्सकी सिनेटर एलिजाबेथ वारेन, क्यालिफोर्निया राज्यकी सेनेटर कमला  ह्यारिस, पूर्व राष्ट्रपति बाराक ओबामाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुजन राईस परेका छन् । बाईडेनले गत मार्चमा नै आफुले आफ्नो उपराष्ट्रपति महिलालाई बनाउने घोषणा गरेका थिए । फ्लोरिडाकी सांसद भल डेमिङ, एट्लान्टाकी मेयर केश ल्यान्स बटम्स, न्यु मेक्सिकोकी गभर्नर मिसेल लुजम ग्रिसम पनि बाईडेनको पछिल्लो सुचीमा अटाएका छन् ।  

    महिलालाई आफ्नो उपराष्ट्रपति बनाउने घोषणा गरी सकेका पूर्व उपराष्ट्रपति बाईडेन माथि जर्ज फ्लोएड मृत्‍यु प्रकरण पछि उनलाई अश्वेत महिललाई उपराष्ट्रपति छनोट गर्नु पर्ने दबाब बढ्न थालेको समाचार श्रोतहरुले बताएका छन् । बाईडेन अश्वेत मतदाता बीच लोकप्रिय मानिदै आएका छन् । उनले छनोट गरेका पछिल्लो ६ जनाको सुचीमा म्यासाच्युसेट्सकी सेनेटर वारेन र न्यु मेक्सिको गभर्नर ग्रिसम बाहेकका ४ जना अश्वेत जातीका हुन् ।

  • अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री

    अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा जारी भएसँगै अब अतिक्रमित भूभाग फिर्ता गर्न भारतसँग वार्ता प्रक्रिया अगाडी बढ्ने बताएका छन् । शनिबार संविधान विधेयक प्रतिनिधिसभाबाट पास भएको छ । उक्त बैठक सकेर निस्कने बेला संचारकर्मीलाई दिएको संक्षिप्त प्रतिक्रियामा उनले अब भारतसँग वार्ता थाल्ने बताएका हुन् ।

    अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब भारतसँग वार्ताको काम अघि बढ्ने उनले उल्लेख गरे ।

    प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट भएको यो क्षण राम्रा पक्ष भएको भन्दै भारतसँग चाँडै वार्ता गरिने बताए । आज सिंगो देश एक भएको प्रधानमन्त्रीको भनाई छ ।

    महाकाली सन्धीका प्रखर पक्षधर ओलीलाई उक्त समयमा भएको गल्ची सच्याउने मौकाका रुपमा पनि नयाँ नक्साको विषय आएको छ । यसलाई राजनीतिक दाउपेचको मात्र मुद्दा नबनाउन प्रधानमन्त्रीलाई सबैले सुझाव दिइरहेका छन् ।

  • १२ सांसद, जो ऐतिहासिक मतदानमा छुटे

    १२ सांसद, जो ऐतिहासिक मतदानमा छुटे

    काठमाडौं । शनिबार प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । नेपालको प्रतिनिधिसभामा २ सय ७५ जना सांसद रहेका छन् । त्यसमध्ये शनिबार २ सय ५८ जनाले संविधान संशोधनको पक्षमा मतदान गरे । यो संख्या संसदमा तत्कालिन उपस्थित संख्याको शतप्रतिशत थियो । सोहीकारण विधेयक सर्वसम्मपतिले पारित भयो । कुल सांसदको अत्यधिक बहुमतबाट विधेयक पारित भएको हो ।

    भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेटेर त्यसलाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक पारित गर्ने यो ऐतिहाँसिक अवसरबाट १२ जना सांसद चुकेका छन् । त्यसमध्ये एक हुन सरिता गरी । जसले बैठक बहिष्कार गरिन् ।

    नेपालको संसदका ४ जना सांसद निलिम्बत छन् । त्यसकारण उनीहरु आउन सक्ने अवस्था थिएन् । सरिता गिरीसहित १२ जनालाई भने भोटको अधिकार थियो । सभामुख समेत सांसद हुन्छन् । तर, उनले भोट हाल्न पर्दैन । विधेयकमाथि मतदान गर्न छुटेका सांसदमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी र धनबहादुर बुढा रहेका छन् ।

    संसद सचिवालयका अनुसार नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, सरिताकुमारी गिरी र ज्ञानकुमारी छन्त्याल समेत भोट हाल्नबाट छुटेका हुन् ।

  • संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित, नयाँ नक्सा अनुमोदन

    संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित, नयाँ नक्सा अनुमोदन

    काठमाडौं । भारतीय कब्जामा रहेका लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटेर बनाइएको नेपालको नयाँ राजनीतिक नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मतले अनुमोदन भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको ऐतिहासिक बैठकले संविधान संशोधन विधेयकलाई सर्वसम्मत पारित गरेको हो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक अब पास भएको छ ।

    शनिबारको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो । उपस्थित सबैले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका कारण सर्वसम्मत भएको हो । संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

    संसदमा २ सय ७५ जना सांसद रहेका छन् । यो संशोधन विधेयकको विपक्षमा रहेकी सांसद सरिता गिरी आफुले बोल्न नपाएपछि शुरुमै निस्किएकी थिइन् । सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो । ७ गते उक्त नक्सा सार्वजनिक भएको थियो ।

    नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न जेठ ९ मा संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको हो । अब यो प्रस्ताव राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पास गरेपछि राष्ट्रपतिसमक्ष पुगेर यसले औपचारिकता पाउनेछ ।

  • नेपालमा २४ घण्टामा थपिए २७३ संक्रमित, अब नेपालमा ५३३५ संक्रमित

    नेपालमा २४ घण्टामा थपिए २७३ संक्रमित, अब नेपालमा ५३३५ संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७३ जना थप कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणबाट ती व्यक्तिमा कोरोना भेटिएका हो । अब नेपालमा कुल संक्रमितको ५ हजार ३३५ पुगेको छ। थपिएका कोरोना संक्रमित मध्ये २४७ जना पुरुष र ३६ जना महिला रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या १८ पुगेको छ। डिस्चार्ज हुनेको संख्या ९१३ पुगेको छ। नेपालमा कोरोनाबाट निको भएका व्यक्तिको संख्या ९१३ जना पुगेका छन् ।

    शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । १ लाख ५० हजार ५ सय ५० जनालाई क्वारेन्टिनमा रहेको समेत मन्त्रालयल जनाएको छ । मन्त्तालयका अनुसार शनिबारसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । अब मात्र ४ जिल्ला मात्र कोरोनाबाट सुरक्षित छन् ।

  • नेपालमा कोरोनाबाट थप दुई मृत्यु, ज्यान गुमाउने कुल १८ जना

    नेपालमा कोरोनाबाट थप दुई मृत्यु, ज्यान गुमाउने कुल १८ जना

    काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप दुई जनाले ज्यान गुमाएका छन् । यससँगै अब नेपालमा कोरोनाका कारण ज्यान गुमाउने मानिसको संख्या १८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले दुई जनाको मृत्यु भएको पुष्टी गरे ।

    उनका अनुसार नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणमा वीरगञ्जको घन्टाघरमा मृत फेला परेका एक ब्यक्ति र वीरगञ्ज हेल्थ केयर उपचारका क्रममा मृत्यु भएका बाराका पाँच वर्षीय बालकमा संक्रमण पुष्टि भएको छ ।

    वीरगञ्जको घण्टाघर स्थित खाली जग्गामा रहेको पार्किङस्थलमा मृत भेटिएका व्यक्तिको परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी हो । उनी अन्दाजी २५ वर्षका पुरुष छन् । बेवारिसे अवस्थामा शव फेला परेपछि उनको कोरोना परीक्षण गरिएको थियो । उनको पहिचान खुलेको छैन ।

    उता, वीरगञ्ज–१४ बहुअरीस्थित वीरगंज हेल्थ केयर अस्पतालमा शुक्रबार ज्यान गुमाएका पाँच वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

  • महाकाली सन्धिमा प्रधानमन्त्री र कांग्रेसले गरेको राष्ट्रघातप्रति माफी माग्नुपर्छ : उपेन्द्र यादव

    महाकाली सन्धिमा प्रधानमन्त्री र कांग्रेसले गरेको राष्ट्रघातप्रति माफी माग्नुपर्छ : उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धीमा गरेको राष्ट्रघातप्रति प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसले माफी माग्नुपर्ने बताएका छन् । महाकाली सन्धीका बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जोडतोडले लागेका थिए । कांग्रेसले समेत यसलाई समर्थन गरेको थियो ।

    यसअघि कांग्रेस नेता प्रदीप गिरिले समेत प्रधानमन्त्रीलाई महाकाली सन्धीका बेला गल्ती भएको भन्दै माफी माग्न सुझाव दिएका थिए । शनिबार संसदमा संविधान संशोधन विधेयकका सम्बन्धमा बोल्दै समाजवादी पार्टीका अध्यक्ष यादवले महाकाली सन्धी राष्ट्रघात भएको उल्लेख गरे ।

    उनले त्यसबेला सांसद हुने र नेतृत्व गर्नेहरूले सुगौली सन्धीभन्दा पनि पछि हटेर महाकाली सन्धी गरेकोले माफी माग्नुपर्ने बताए । यादवले महाकाली सन्धी गर्दा सीमाबारे प्रष्ट किन खोजी नगरेको भन्दै प्रश्न गरे।

    महाकाली सन्धी गर्दा जे गरिएको थियो त्यसको समेत जवाफ दिनुपर्ने उनको भनाई छ । कांग्रेस र कम्युनिष्टले माफी माग्नुपर्ने उनको माग छ । महाकाली सन्धी हुँदा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।

  • संविधान विधेयकमाथि छलफल शुरु, सरिता गिरीको प्रस्ताव अस्वीकृत

    संविधान विधेयकमाथि छलफल शुरु, सरिता गिरीको प्रस्ताव अस्वीकृत

    काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ । बैठकमा अहिले नेताहरुले संविधान संशोधन विधेयकबारे पार्टिगत रुपमा धारणा राखिरहेका छन् ।

    नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस नेता शेरबहादुर देउवा, जसपाका नेता राजेन्द्र महतोलगायत नेताले आफ्नो धारणा राखेका छन् । उनीहरुले राष्ट्रियताको सवालमा देखिएको एकताले नेपाली हुनुको गरौव दर्शाउने उल्लेख गरे । यसअघि बैठकको प्रारम्भ मै सभामुख अग्नि सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीको संशोधन आफूले अस्वीकृत गरेको जानकारी गराएका थिए ।

    संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुनासाथ सांसद गिरी बोल्न खोजेकी थिइन् । तर उनलाई बोल्न दिइएन । सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको बताए । त्यसपछि उनले प्रचण्डलाई बोल्ने समय दिएकी थिइन् ।

  • कोरोना रोकथाममा १० अर्ब रुपैयाँ कहाँ खर्च भयो ?

    कोरोना रोकथाममा १० अर्ब रुपैयाँ कहाँ खर्च भयो ?

    काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खर्च गरेको १० अर्ब रुपैयाँको हिसाव सार्वजनिक गर्न माग गर्दै अहिले सडकमा आन्दोलन चलिरहेको छ । उनीहरुको एक माग १० अर्ब के मा खर्च भयो भन्ने रहेको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनसार ठूलो रकम स्वास्थ्य मन्त्रालयमार्फत विभिन्न उपकरण खरीद, स्वास्थ्य सामग्री र चिकित्सकको व्यवस्थापनका लागि भएको छ ।

    कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा यो रकम खर्च भएको मन्त्रालयको भनाई छ । नेपालमा गुणस्तरीय र व्यवस्थित प्रयोगशाला निर्माण गर्ने भन्दै यस अवधिमा देशभर २० भन्दा बढी प्रयोगशाला स्थापना भएका छन् । त्यहाँबाट दैनिक हजारौं नमुनाको परिक्षण गर्न सम्भव भएको छ ।

    भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारेन्टाइनमा रहेको समेत मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयको आंकडा अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा ९८ करोड ५० हजार रुपियाँ खर्च भएको छ। औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार खर्च भएको तथ्यांक छ ।

    क्वारेन्टाइन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपियाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपियाँ निकासा भएको छ । त्यसमध्ये एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपियाँ खर्च भइसकेको छ ।

    रक्षा मन्त्रालयमा दुई अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएको थियो । त्यसमा दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपियाँ खर्च भएको मन्त्रालयको विवरणमा उल्लेख छ । रक्षामा गएको रकममध्ये दुई अर्ब ३६ करोड ९५ लाख २७ हजार रुपियाँ औषधि तथा स्वास्थ्य सामग्री खरिदमा खर्च भएको हो ।

    क्वारेन्टाइन निर्माणमा एक करोड २९ लाख रुपियाँ र विविध अन्य ३५ लाख रुपियाँ खर्च भएको छ । अर्थको विवरण अनुसार गृह मन्त्रालयमार्फत दुई करोड ४५ लाख ८८ हजार रुपियाँ खर्च भएको छ । परराष्ट्र मन्त्रालयमा ६५ लाख निकासा भएको पाइएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ६ करोड निकासा भएको थियो । जसमा ५ करोड २० लाख रुपियाँ खर्च भएको छ। सहरी विकास मन्त्रालयमा एक करोड ४२ लाख, प्रदेशका सामाजिक विकास मन्त्रालयमा १५ करोड ७५ लाख रुपियाँ खर्च भएको छ ।

    सहरी विकास मन्त्रालयको बजेट क्वारेन्टाइन निर्माणमा खर्च भएको हो । प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा १४ करोड र औषधि तथा स्वास्थ्य सामग्री खरिदमा एक करोड ७५ लाख रुपियाँ खर्च भएको छ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत प्रविधि विकास र वैकल्पिक सिकाइका लागि २६ करोड ७५ लाख ७८ हजार निकासा भएकोमा दुई करोड ६९ लाख ७८ हजार रुपियाँ खर्च भएको छ ।

  • आज संविधान संशोधन विधेयक पास गरिने

    आज संविधान संशोधन विधेयक पास गरिने

    काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले संविधान संशोधन विधेयक पास गर्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची आजका लागि तय भएको छ । आजको संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछिन् । त्यसपछि छलफल हनेछ । अनि कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

    लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो ।

    विधेयकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको समर्थन रहेका कारण यो पारित हुने निश्चित भएको छ । जेठ २७ गते प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिवद्धतासहित मिचिएको भूमि फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका थिए । यो संशोधनको विपक्षमा सांसद सरिता गिरी मात्र रहेकी छिन् ।

  • सर्लाहीको नेपाल-भारत सीमामा फेरी तनाव, एक भारतीयलाई प्रहरीको गोली

    सर्लाहीको नेपाल-भारत सीमामा फेरी तनाव, एक भारतीयलाई प्रहरीको गोली

    काठमाडौं । नेपालले सीमा क्षेत्रमा कडा लकडाउन जारी राखेपछि नेपाल भारत सीमा क्षेत्रमा तनाव बढ्दो छ । यसै क्रममा शुक्रबार सर्लाहीको नारायणपुर नाकामा भारतीय नागरिकको एक समुह र नेपालको सशस्त्र प्रहरीबीच तनाव भएको छ । भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

    भारतीय नागरिकहरु बल प्रयोग गरेर नेपाल भित्र छिर्न खोजेका थिए । उनीहरुले सशस्त्रको हतियार नै खोस्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको बताएको छ । झडपमा एक जनालाई गोली लागेको र उनलाई उपचारका लागि भारत नै लगिएको बताइएको छ ।

    भारतीय संचारमाध्यममा उनको मृत्यु भएको प्रसारण भएको छ । नेपालमा भने प्रहरीले यसको पुष्टी गरेको छैन । झडपका क्रममा तीन जना प्रहरीसमेत घाइते भएको प्रहरी बलले जनाएको छ ।

    भारतीय नागरिक नारायणपुर नाका हुँदै शुक्रबार बिहान जबरजस्ती नेपाल आउने खाजेको थिए । शुरुमा सानो समूह छिर्न खोजेको र उनीहरुलाई प्रहरीले रोकेपछि ठूलो समुह आई प्रहरीसँग लफडा गर्न थालेको थियो ।

    झडपमा सशस्त्र प्रहरीले चलाएको गोली लागि भारतको प्रिपा प्रसाइन जानकीनगरका २७ वर्षीय विकेश कुमार घाइते भएका थिए । झडपमा घाइते सशस्त्र प्रहरीको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।

    झडपमा भारतीयले खोसेका हतियार समेत फिर्ता भइसकेको प्रहरीले जनाएको छ । सर्लाहीको सर्लाहीको विष्णु गाउँपालिकास्थित पकडी नाकामा पनि यसअघि भारतीयसँग झडप भएको थियो । अहिले भन स्थिति सामान्य रहेको र सीमा क्षेत्रमा प्रहरी बल बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • २ सय भन्दा बढी कोरोनाका बिरामी भएको जिल्ला लकडाउन गर्न सकिने

    २ सय भन्दा बढी कोरोनाका बिरामी भएको जिल्ला लकडाउन गर्न सकिने

    काठमाडौं । सरकारले २ सयभन्दा बढी कोरोना भाइरसका एक्टिभ संक्रमित भएको जिल्लालाई पुनः लकडाउन गर्न सक्ने भएको छ । करीव तीन महिना लामो लकडाउन केही खुकुलो भएकै दिन स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ । जसअनुसार एक जिल्लामा २ सय बढी एक्टिभ संक्रमित रहेको अवस्थामा जिल्लालाई सिल गर्न सकिने भएको छ ।

    जुन पहिलाको जस्तै पूर्ण लकडाउनको अवस्था हो । लकडाउन खुकुलो भएसँगै संक्तमण रोग तिब्र गतिमा बढ्न सक्ने सम्भावना रहन्छ । सोहीकारण मन्त्रालयले गर्न हुने र नहुने मापदण्ड तोकेको हो । अब सबै किसिमको जमघट र भेटघाटमा कम्तिमा ६ फिट अर्थातः २ मिटरको दूरी कम्तिमा कायम गर्नु पर्नेछ । बाहिर हिड्दा अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेछ ।

    साबुन पानीले अनिवार्य हात धुन समेत मन्त्रालयले सुझाव दिएको छ । कुनै पनि स्वास्थ्य समस्या देखिएमा तत्काल जाँच गर्नुपर्ने समेत मापदण्डमा उल्लेख गरिएको छ । उच्च जोखिमयुक्त ठाउँमा रहेका होटल र क्यान्टिनले खाना प्याकिङ गरेर मात्र लैजान सक्नेछन् । ग्राहकलाई सेवा प्रदान गर्दा भौतिक दूरी कायम गर्नुपर्ने भएको छ । मापदण्ड उल्लंघन गरेमा भने कारवाही हुने मन्त्रालयले जनाएको छ ।

    शुक्रबारबाट काठमाडौंसहित जिल्ला सदरमुकाममा निजी यातायात सेवा संचालनमा आएको छ । बजार पसल खुलेका छन् । कार्यालयहरु संचलनमा आएका छन् । निर्माण कार्य सूचारु भएको छ ।

  • यी किशोरीले खिचेकी थिईन जर्ज फ्लोएड मृत्‍युको संसार हल्लाउने भिडियो

    यी किशोरीले खिचेकी थिईन जर्ज फ्लोएड मृत्‍युको संसार हल्लाउने भिडियो

    न्युयोर्क     

    १७ वर्षीय डार्नेला फ्रिजर गत मेई २५ तारिख मेमोरियल डेका दिन मिनियापोलिसस्थित एक पसलमा खाजा किन्न आफ्नो ९ बर्षीया भतिजीलाई लिएर बाटोमा हिंड्दै थिईन् ।   त्यतिकैमा उनले चार जना प्रहरी मिलेर एक जना काला मान्छेलाई गाडीबाट बाहिर घिच्याउँदै गरेको देखिन । डार्नेलाले आफ्नो सेल फोन झिकेर भिडियो खिच्न थालिन् ।  भिडियो खिच्दै गर्दा हाई स्कुल पढ्दै गरेकी डार्नेलालाई आफ्नो सेल फोनले जर्ज फ्लोएडको त्रासदीपूर्ण मृत्‍यु भएको उक्त घटनाको सम्पूर्ण विवरण कैद हुन्छ कि हुँदैन भन्ने कुराको एकिन थिएन । जुन भिडियो र फोटोको कारण हाल अमेरिका लगायत विश्वमा नै तहल्का पिटेको छ । त्यो आँफैमा कुनै योजनाबद्ध ढंगले खिचिएको भिडियो थिएन । डार्नेलाले भिडियोको बारेमा आफ्नो वकिल मार्फत अभिब्यक्ति दिं दै उक्त कुरा बताएकी हुन् ।


    उनले त्यो संसार हल्लाउने भिडियो खिच्दा न उनलाई त्यो भिडियोको कारण विश्व हल्लाउने अभियानको जन्म हुन्छ भन्ने थाहा थियो, न त उनले चर्चामा आउन कै लागि भिडियो खिचेकी थिइन् । त्यतिबेला उनले प्रहरीसँग सम्वन्धित यति उच्च कोटीको हत्या अभियोगको साक्षी बन्नु पर्नेछ भन्ने अनुमान समेत नगरेको बताउँछन्; वकिल सेथ कोबिन   । “एउटा सामान्य मलमा काम गर्ने १७ वर्षीया किशोरीको हात प्रहरीको त्यो ज्यादतीलाई खिचेर फेसबुकमा पोष्ट गर्ने हिम्मतको लागि नउठेको भए अहिले पनि ती प्रहरी हाम्रै समुदायको सडकमा आतंक मच्चाउँदै हिडिरहेका हुने थिए” भन्छन् वकिल सेथ कोबिन । डार्नेलाका वकिल कोबिनले उनलाई यो पुस्ताको रोजा पार्कको संज्ञा दिएका छन् । फ्लोएड मृत्‍यु प्रकरण पछि डार्नेलाले एक पटक मात्र स्टार ट्रिब्युनलाई सार्वजनिक अभिब्यक्ति दिंदै भनेकी छिन्; ‘मैले जे देखे त्यही कुरा यो विश्वले देख्नु जरुरी थियो । यस्ता घटना हरेक दिन गुपचुपमा घटने गर्दछन्’ ।  

    डार्नेलाले खिचेको भिडियोले चर्चा पाएसँगै यस अगाडि उनीसँग कहिल्यै संपर्कमा नआएका दुई महिलाले उनको साहसी कामको प्रशंसा गर्दै गो फण्ड मिमा खोलेको खतामा ५ लाख अमेरिकी डलर जम्मा भै सकेको छ । सहयोगको लागि खोलिएको उक्त खाताको अधिकारिकता पनि पुष्टी भै सकेको वकिल कोबिनले बताएका छन् ।  डार्नेलाको साहसको कदर स्वरुप पाँच लाख डलर संकलन भए पनि सामाजिक संजाल र गो फण्ड मि पेजमा थुप्रै प्रकारका ट्रोल बुली उत्पिडनहरु भै रहेको समेत वकिल कोबिनले बताएका छन् ।

  • जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने, के गर्छिन् सरिता गिरी ?

    जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने, के गर्छिन् सरिता गिरी ?

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले निसान छापमा रहेको नेपालको नक्सा परिवर्तन गर्ने प्रयोजनका लागि हुन लागेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने भएको छ । सरकारले संसदमा पेश गरेको नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा मतदान गर्ने निर्णय पार्टीले गरेको छ ।

    जसपा पदाधिकारीको शुक्रबारको बैठकले नेपालको संविधानको अनुसूची ३ संशोधन गर्न संसदमा प्रस्तुत भएको ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक’को पक्षमा मतदान हाल्ने निर्णय गरेको हो । दलको उक्त निर्णयसँगै अब सांसद सरिता गिरीतर्फ निसाना केन्द्रित भएको छ । उनले संविधान संशोधनको विपक्षमा प्रस्ताव दर्ता गरेकी छिन् ।

    पार्टीले यो प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ । तर, उनले मानेकी छैनन् । शुक्रबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले भने सांसदहरुलाई ह्वीप नै जारी गर्ने निर्णय गरेको छ । पार्टीले अब संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सदस्यहरुलाई ह्‍विप जारी गर्नेछ। शनिबार बिहान ११ बजे पार्टीको संसदीय दलको बैठक बस्दैछ ।

    भारतले मिचेको नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सालाई आधिकारिकता दिने सरकारको प्रस्ताव दुईतिहाइ बहुमतसहित पारित हुने निश्चित छ । किनकी नेकपासहित कांग्रेसले यसको पक्षमा मतदान गर्ने निर्णय लिइसकेका छन् ।

    तेस्रो ठूलो दलसमेत यसको पक्षमा आएको हो । सरिता गिरीले संशोधनको सूचना फिर्ता नलिए सांसद पदबाट नभई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सक्ने चेतावती पार्टीले दिइसकेको छ ।

  • नेपालका कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १६ पुग्यो

    नेपालका कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १६ पुग्यो

    काठमाडौं । नेपालका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्घाखाँची मालरानी ४ का ५७ वर्षीय पुरुषको उपचारपछि फर्कने क्रममा बुधबार मृत्यु भएको जानकारी दिए।

    भारतको महाराष्ट्रबाट १२ दिन अघि आएका उनी अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका थिए।

    श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो। उपचारपछि घर फर्किने क्रममा उनको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यो सहित नेपालमा हालसम्म १६ जना संक्रमितको मृत्यु भएको छ।

  • उपत्यकामा ८ सहित थप १६ जना कोरोना संक्रमणमुक्त

    उपत्यकामा ८ सहित थप १६ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा थप १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानाकारी अनुसार शुक्रबार काठमाडौं उपत्यकामा ८ जनासहित देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको हुन् ।

    पछिल्लो समय कोभिड युनिफाइड अस्तपाल बलम्बुबाट ३ जना, पाटन अस्तालबाट १ जना, केएमसी अस्पताल दुवाकोटबाट ३ जना, ह्याम्स अस्पतालबाट एक जना र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८ जना डिस्चार्ज भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

    योसहित नेपालमा हालसम्म ८७७ जना उपचारपछि निको भएका छन्।

  • नेपालमा कोरोना संक्रमित ५ हजार माथि, एकैदिन ४४८ जना थपिए

    नेपालमा कोरोना संक्रमित ५ हजार माथि, एकैदिन ४४८ जना थपिए

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । शुक्रबार एकै दिन ४ सय ४८ जना थप बिरामी भेटिएसँगै यो आंकडा पार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    अहिलेसम्म ५ हजार ६२ जना कुल संक्रमित पुगेका छन् । त्यसमध्ये ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

  • कुवेतबाट विहीबार ५३१ नेपाली महिला श्रमिक फर्किए, १५० जना आज आउने

    कुवेतबाट विहीबार ५३१ नेपाली महिला श्रमिक फर्किए, १५० जना आज आउने

    काठमाडौं । कुवेतबाट बिहीबार ५ सय ३१ जना नेपाली महिला श्रमिक काठमाडौं ओर्लिए । सरकारले उद्दारको सूचिमा प्राथमिकतामा रहेका उनीहरुलाई घर फर्कने वातावरण बनाइदिएको हो । उनीहरुलाई कुवेत सरकारले नै घर फर्काएको हो । जहाज भाडा समेत कुवेत सरकारले बेहोरेका कारण नेपाल सरकारको खर्च लागेन ।

    विहीबार जजिरा एयरवेजको दुई वटा उडानबाट नेपाली महिला श्रमिकलाई घर फर्काइएको हो । यस टोलीमा रहेकामध्ये थप १५० जना भने शुक्रबार काठमाडौं आउने विमानस्थल स्रोतले जानकारी दिएको छ । विमानस्थलमा विदेशबाट आउने नागरिकको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । बिहीबार ल्याइएका ५३१ जनामध्ये दुई जना गर्भवती महिला समेत बताइएको छ ।

    उनीहरुलाई एकरात होल्डिंग सेन्टरमा राखिएको छ । अब सम्बन्धित प्रदेशमा पठाइने छ । प्रदेशमा जान नसक्ने ४९ जना भने छहारी होममा छन् ।

    १० जना होटेलमा बस्ने भएका छन् । विदेशबाट फर्कने सबै १४ दिनको क्वारेन्टिनमा बस्नुपर्छ । कुवेतमा आम माफी पाएका, जागिर छाडेर अलपत्र परेका, भिसा सकिएर गैरकानूनी बनेका नेपाली श्रमिक महिलाई प्राथमिकताका आधारमा घर फर्काइएको हो ।

  • गण्डकीमा शुक्रबार बिहान थपिए ३७ संक्रमित

    गण्डकीमा शुक्रबार बिहान थपिए ३७ संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा शुक्रबार बिहान ३७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । यी सबै पुरुष रहेको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।

    गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार स्याङ्जाको गल्याङ नगरपालिकामा सबैभन्दा धेरै १८ जना संक्रमित फेला परेका छन् ।

    उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन् । वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ । स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको छ ।

    पर्वतको कुश्मा नगरपालिकामा ८ जना तथा पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा एक–एकजना संक्रमित फेला परेका छन् । पर्वतकै अर्का एक जना संक्रमितको पनि स्थानीय तह खुलेको छैन ।

    तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक–एक जना युवक पनि कोरोना देखिएको छ ।

  • प्रदर्शनमा उत्रिए कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

    प्रदर्शनमा उत्रिए कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

    काठमाडौं । पछिल्लो दिनमा सरकारविरुद्ध सडकमा प्रदर्शन चर्किदै आएको छ । कोरोना परिक्षण प्रभावकारी बनाउन, कोरोनामा भएको खर्च सार्वजनिक गर्नजस्ता माग राख्दै काठमाडौंसहित देशव्यापी सडकमा प्रदर्शन भइरहेको छ । यसलाई मध्यनजर गर्दै गृह मन्त्रालयले प्रदर्शन भए कारबाहीको चेतावनी दिएको छ।

    विगत केही दिनदेखि विभिन्न बहाना वा माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन गर्ने र शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्ति सहभागी गराउने, ज्ञापन पत्र दिन जानेजस्ता कामप्रति गृहले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

    विहीबार काठमाडौंमा विशाल समूह जम्मा भएर प्रधानमन्त्री निवास घेरेको थियो । लकडाउन आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित सिडिओले नगद जरिवाना र थुनामा राख्न सक्ने गृहले उल्लेख गरेको छ ।

    बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रू १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने गरी गृहले चेतावनी दिएको हो ।

    लकडाउनलाई बाधा पुग्ने गरी काम गरेमा प्रजिअले कारबाही गर्न सक्ने गृहको भनाइ छ। गृहले लकडाउनका बेला घरमै बसेर गरेको सहयोगप्रति नागरिकलाई धन्यवाद भनेको छ । विहीबार भिड हटाउन प्रहरीले पानीको फोहोरा तथा अश्रुग्यास समेत हानेको थियो ।