Category: फिचर

  • शुक्रबारबाट निजी सवारी जोर विजोर प्रणालीमा

    शुक्रबारबाट निजी सवारी जोर विजोर प्रणालीमा

    काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएको छ । यससँगै अब शुक्रबारबाट सर्वसाधारणले निजी सवारी साधन लिएर सडकमा निस्कन पाउने भएका छन् । जोर बारका दिन जोर नम्बर प्लेट र बिजोर बारका दिन बिजोर नम्बर प्लेटका सवारी चलाउन पाइने गरी सरकारले नियम बनाएको छ । शुक्रबार जोर दिन भएकाले जोर नम्बर प्लेटका सवारी साधन चल्नेछन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार एक जिल्लाबाट अर्को जिल्लामा जान नपाईने गरी निर्णय भएको छ । जिल्ला भित्र पनि जोर र बिजोर प्रणालीमा मात्र सवारी चलाउन पाइने भएको छ ।

    उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानिएको छ । पास लिएका निजि सवारी साधनले पनि अब जोर विजोर प्रणालीमा मात्र सवारी चलाउन पाउनेछन् । सरकारले चार पाङ्गे सवारी साधनमा चालकसहित ३ जना र दुई पाङ्गे सवारी साधनमा चालक मात्र हुनु पर्ने नियम समेत ल्याएको छ । अब एउटै परिवारका मानिस पनि मोटरसाइकलमा जोडी चढ्न नपाउने भएका छन् ।

    अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधन बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म भने चलाउन नपाइने नियम बनाइएको छ । सरकारले निजी सवारीलाई मात्र चल्ने अनुमति दिएका कारण सार्वजनिक यातायातका साधन भने चलाउन पाइने छैन । उपत्यका भित्रने वा जिल्लाको नाका काट्न भने पास अनिवार्य रहेको छ ।

  • नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो, कुल मृत्यु हुनेको संख्या १६

    नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो, कुल मृत्यु हुनेको संख्या १६

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिकामा क्वारेन्टिनमा रहँदै बिरामी परेका एक व्यक्तिको क्वारेन्टिनमै ज्यान गएको थियो । उनमा मृत्युपछि गरिएको स्वाव संकलनमा कोरोना पुष्टी भएको हो ।

    मालारानी गाउँपालिका ४ ब्याडापाटास्थित एक सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा राखेका बेला उनी बिरामी परेका थिए । त्यसपछि उपचारका लागि बुटवल लगिएको थियो । बुटवलमा उपचारपछि घर फर्कने क्रममा उनको बाटोमै ज्यान गएको थियो । मृत्यु हुने ५७ वर्षका पुरुष रहेको बताइएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार उनको जेठ २३ मा स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । उनको मृत्यु र कोरोना पुष्टीबारे स्वास्थ्य मन्त्रालयले औपचारिक घोषणा गर्न भने बाँकि रहेको छ ।

  • सरकारी कार्यालय बिहान र दिउँसो गरी दुई सिफ्टमा चल्ने

    सरकारी कार्यालय बिहान र दिउँसो गरी दुई सिफ्टमा चल्ने

    काठमाडौं । सरकारले भौतिक दूरीलाई व्यवस्थित गर्न र भिडभाड कम गर्नको लागि निजी र सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा। युवराज खतिवडाले यो जानकारी दिएका हुन्।

    खतिवडाका अनुसार असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय तत्कालका लागि बिहान आठबजेदेखि दिउँसो एक बजेसम्म र दिउँसो १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

    सरकारी कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी प्रोटोकलको पालना गर्नुपर्ने खतिवडाले जानकारी गराएका छन् ।

  • थप १८७ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ८६१

    थप १८७ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ८६१

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट थप १ सय ८७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

    नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन् । जसमा ८७ जना महिला रहेका छन् ७७४ पुरुष रहेका छन् ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

    यसको संक्रमणका कारण हालसम्म नेपालमा १५ जनाको भने मृत्यु भइसकेको छ।

  • नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिए

    नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    उनका अनुसार नयाँ संक्रमित थपिनेमा २३० पुरुष रहेका छन् भने २० महिला रहेका छन् । देशभर कुल कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

    हालसम्म देशभरबाट कोरोना संक्रमितको उपचारपछि ८६१ डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका हुन्। जसमा ८७ जना महिला रहेका छन् ७७४ पुरुष रहेका छन् । नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन्।

    प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

  • १७ जुनमा अमेरिकाबाट नेपालीलाई घर फर्काइँदै, कहिले कहाँबाट हुँदैछ रेस्क्यू उडान (विस्तृतमा) ?

    १७ जुनमा अमेरिकाबाट नेपालीलाई घर फर्काइँदै, कहिले कहाँबाट हुँदैछ रेस्क्यू उडान (विस्तृतमा) ?

    काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि विदेशका विभिन्न गन्तब्यमा अलपत्र नेपालीको उद्दारको काम आजबाट पुनः शुरु हुँदैछ । आज कुवेतबाट दुई वटा जहाजमा महिला श्रमिक काठमाडौं आउँदैछन् । उनीहरुलाई जजिरा एयरवेजका दुई उडानले काठमाडौं छाड्नेछ । लकडाउन तथा व्यवसायिक उडान बन्द भएपछि विदेशमा समस्यामा परी अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा उद्दार थालिएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा हुने रेस्क्यू उडानको तालीका तय गरेको छ । तालिका अनुसार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई नेपालबाट परिचालित गरिनेछ । यसबाहेक विदेशी जहाजले समेत नेपालीलाई उद्दार गरी काठमाडौं ल्याउँदैछन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै प्रकारका जहाज लामो र छोटो दूरीमा प्रयोग हुँदैछन् ।

    हिमालय एयरलाइन्ससँग न्यारो बडी जहाज रहेका छन् । बिहीबार कुवेतबाट करिब ३ सय महिला श्रमिक नेपाल आइरहेका छन् । मन्त्रालयका अनुसार रेस्क्यू उडानका दौरान नेपाल एयरलाइन्सले २४ र हिमालय एयरलाइन्सले १९ वटा उडान गर्ने भएका छन् ।

     

     

    यसबीचमा थप २४ वटा विदेशी एयरलाइन्सले नेपालमा नेपालीलाई छाड्नेछन् । मन्त्रालयको तालीका अनुसार बंगलादेशको ढाकाबाट जुन १४ तारिखमा दुई वटा उडान हुने भएको छ । यी दुवै उडानमा उतैबाट जहाज आउनेछ ।

    जुन १५ मा नेपाल एयरलाइन्स माले र क्वालालम्पुर जानेछ । उक्त दिन हिमालय एयरलाइन्स साउदी अरब र सिंगापुर जानृ तय भएको छ ।

    जुन १६ मा युएई र कतारमा नेपाल एयरलाइन्स जानेछ । सो दिन कुवेत, श्रीलंका र मालेबाट नेपाली ल्याउन हिमालय एयरलाइन्स जाने भएको छ ।

    जुन १७ मा अष्ट्रेलिया, बैंकक र बहराइनमा नेपाल एयरलाइन्स जाने तय भएको छ । उक्त दिन हिमालय एयरलाइन्स बंगलादेश र कतार जानेछ ।

    जुन १७ मा अमेरिकाबाट एक विदेशी एयरलाइन्स आउनेछ । जुन १८ मा नेपाल एयरलाइन्स साउदी र युएई जानेछ । उक्त दिन हिमालय एयरलाइन्स क्वालालम्पुर र मस्कट जानेछ ।

    जुन १९ मा जापान र कुवेतबाट नेपाल एयरलाइन्सले नेपालीलाई ल्याउनेछ । साउदी र नाइजेरीयाबाट हिमालय एयरलाइन्सले नेपालीलाई फिर्ता ल्याउने तरी उडान तय भएको छ ।

    २० जुनमा साइप्रस, क्वालालम्पुर र कतारबाट नेपाल एयरलाइन्सले उडान गर्नेछ । सो दिन हिमालय एयरलाइन्सले युएई र बंगलादेशबाट नेपालीलाई फिर्ता ल्याउने भएको छ । २० जुनमा यूरोपबाट विदेशी कम्पनी नेपाल आउने छ ।

    २१ जुनमा दक्षिण कोरिया र मस्कटमा नेपाल एयरलाइन्स जानेछ । सो दिन हिमालय एयरलाइन्स भने कुवेत र क्वालालम्पुर जानेछ ।

    २२ जुनमा अष्ट्रेलिया र बैंककबाट नेपाल एयरलाइन्सले नेपालीलाई ल्याउनेछ । पाकिस्तान र कतारमा हिमालय एयरलाइन्स पठाइने भएको छ ।

    २३ जुनमा जापानको नारिता र मालेबाट नेपाल एयरलाइन्स जानेछ । युएई र युगान्डाबाट हिमालय एयरलाइन्सले उडान गर्ने तालिका तय भएको छ ।

    २४ जुनमा नेपाल एयरलाइन्सको मात्र फ्लाइट छ । सो दिन नेपाल एयरलाइन्सले साउदी र कुवेतका नेपालीहरुलाई उद्धार गर्ने छ ।

    २५ जुनमा नेपाल एयरलाइन्स फेरी जापान पुगेर थप नेपालीलाई घर ल्याउनेछ । यो दिन हिमालय एयरलाइन्स साइप्रस\इजरायल जाने भएको छ ।

  • बजार पसल खुल्ने, निजी सवारी जोर विजोर प्रणालीमा संचालन

    बजार पसल खुल्ने, निजी सवारी जोर विजोर प्रणालीमा संचालन

    काठमाडौं । सरकारले लकडाउन केही खुकुलो बनाएको छ । लकडाउनको मोडालिटीमा परिवर्तन गर्दै बजार पसल खोल्न दिने निर्णय गरेको हो । यसबारे विस्तृत जानकारी भने आज पत्रकार सम्मेलन मार्फत अर्थमन्त्री तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले गराउने छन् ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । यस बीचमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गरी कृषि, उद्योग, ब्यापार र आंशिक रुपमा यातायात समेत खुकुलो बनाउने निर्णय भएको छ ।

    काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणालीबाट निजी सवारी साधन संचलनमा ल्याउन दिने तयारी छ । विद्यालय, सिनेमा हल, खेल मैदान भने तत्काल खुल्ने छैनन ।

    रेष्टुरेन्टले प्याकिंग गरेर खाना सप्लाई गर्न सक्नेछन् । नेपालमा ११ चैतयता लकडाउन जारी रहेको छ । पछिल्लो समय ३२ जेठसम्म लकडाउन कायम छ । सरकारले त्यसअगाडी नै बजार पसल भने खुलाउने भएको छ । लकडाउनको मोडालिटीमा भएको परिवर्तन आज सार्वजनिक गनेए तयारी रहेको छ ।

  • यो वर्ष एसइइ परीक्षा दिनु नपर्ने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

    यो वर्ष एसइइ परीक्षा दिनु नपर्ने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

    काठमाडौं । यो वर्ष विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)  दिनु नपर्ने भएको छ । विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको ग्रेड निर्धारण गरिने उनीहरुलाई यस परीक्षाको मान्यता दिइने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बुधबार राती अबेर सकिएको छ ।

    निर्णय भने बिहीबार मात्र सार्वजनिक गर्ने मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । शिक्षा मन्त्रालयले बुधबारको मन्त्रिपरिषद् बैठकमा आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिने गरी तीन वटा विकल्प राखेको छ । नेपालमा अहिले विद्यालयलाई क्वारेन्टिन बनाइएपछि परीक्षा लिन भने सम्भव थिएन ।

    बैठकले विद्यालयबाट आन्तरिक रुपमा मूल्यांकन गरी प्राप्तंक मात्र परीक्षा बोर्डमा पठाउने गरी निर्णय भएको छ । सोही आधारमा आधारमा ग्रेड निर्धारण गरी बोर्डले परीक्षाफल सार्वजनिक गर्नेछ । ६ चैतमा तोकिएको परीक्षा कोरोना भाइरसको संक्रमणसँगै रोकिएको थियो ।

    बैठकले लकडाउन खुकुलो बनाउने सन्दर्भमा पसल खोल्ने र निजी सवारी साधन जोर बिजोर प्रणालीमा खुला गर्ने समेत निर्णय गरेको बताइएको छ । औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन ।

  • सडक अनुशासनको अभावले निम्त्यायो भयानक दूर्घटना

    सडक अनुशासनको अभावले निम्त्यायो भयानक दूर्घटना

    सुर्खेत । बुधबार बिहान कालिकोटको लालीघाटमा एक टिपर दूर्घटनामा पर्यो । दूर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गयो । कयौं बगे । बगेका मध्ये ८ जना घाइते अवस्थामा उद्दार भयो । २ जना अझै वेपत्ता छन् । टिपरमा ३९ जना यात्रु चढेका थिए । उनीहरु सबै भारतबाट मजदुरी गरी कोरोना भाइरसको सन्त्रासका बीच घर फर्किएका मजदुर थिए ।

    टिपरमा दुधे बच्चादेखि महिला तथा बालबालिका समेत थिए । प्रहरीका अनुसार यो दूर्घटनामा यात्रु र सवारी चालक दुबैले सवारी अनुसन्धानको गम्भीर उल्लंघन गरेको पाइएको छ । दुर्घटनामा टिपर चालकको भूमिका थियो । अर्थातः चालकले जानाजान टिपर नदीमा हुलेका थिए । आफु भने भागेका थिए ।

    यो अवस्था आउनुमा भने यात्रु र चालकबीचको झगडा भएको पाइएको छ । यात्रुसँग चालकको हात हालाहालसम्मको झगडा भएको प्रहरीले बताएको छ । तर, त्यसपछि गाडी चलाएका चालकले टिपरको स्टार्ट बन्द नगरी छोडेपछि टिपर खोलामा खसेको थियो ।

    ठाउँ बाटोमा अति कोचाकोच गरेर जाँदा बालबालिकालाई गाह्रो भएको गुनासो यात्रुले गरेका थिए । तर, चालकले नमानेपछि यात्रु हातपातमै उत्रिएका थिए । प्रहरीका अनुसार अनुसार टिपर कर्णाली करिडोरस्थित सडकबाट करिब ३० मिटर तल नदीमा खसेको छ ।

    चल्दाचल्दैको टिपर छाडेर भागेका चालक रास्कोट–८ का रंगनाथ धमाला प्रहरीको नियन्त्रणमा छन् । उनीलाई कालिकोटकै सान्नीगाडबाट पक्राउ गरिएको हो । धेरै मानिसलाई एउटै टिपरमा कोचाकोच गर्न खोजिएपछि विवाद भएको यात्रुले बताएका छन् ।

    भारतबाट आएका १३ महिला र २६ पुरुषलाई लालीघाट क्वारेन्टाइनमा राख्न टिपरमार्फत ओसारिएको हो । यस दूर्घटनामा गम्भीर घाइते २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएकामा त्यहाबाट काठमाडौं रिफर गरिएको छ । उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ ।

    घटनास्थलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै पुगेका थिए । दुर्घटनामा मृत्यु हुनेमा रास्कोट नगरपालिका–२ का २१ वर्षीया शर्मिला सार्की र २१ वर्षीया ठम्की साार्की छन ।

  • समाजवादी पार्टीले सांसद गिरीलाई दियो कारवाहीको चेतावनी

    समाजवादी पार्टीले सांसद गिरीलाई दियो कारवाहीको चेतावनी

    काठमाडौं । नेपालको निशान छापमा नयाँ नक्सा समावेश गर्ने सम्बन्धमा संविधान संशोधन प्रक्रिया संसदमा अगाडी बढेको छ । यो प्रस्तावमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले संशोधन प्रस्ताव दर्ता गरेपछि पार्टीमा विवाद शुरु भएको छ । पार्टीले व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन गिरीलाई दिएको हो ।

    बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छन् । उनका अनुसार प्रस्ताव फिर्ता नलिए कारबाही उनीमाथि पार्टीले कारवाही समेत गर्न सक्नेछ ।

    सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्न पेश गरेको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै गिरीले बुधबार संसदमा व्यक्ति संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी छन् । उनले स्रोत र प्रमाण नपुगेको भन्दै संविधान संशोधनको प्रस्ताव खारेज हुने पर्ने माग समेत गरेकी छिन् ।

    मंगलबार संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमति जनाएका छन् । यसमा समाजवादी पार्टीको समेत समर्थन रहेको थियो । सरिता गिरीले पछिल्लो समय दिएका अभिव्यक्तिको नेपालमा खुलेर विरोध भइरहेको छ । उनलाई संसदमा समेत कारवाहीको आवाज उठिसकेको छ ।

    बुधबार समेत उनले संसदमा विवादास्पद अभिव्यक्ति दिएकी छिन् । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा उनले निजगढमा सैन्य परेडका लागि किन विमानस्थल चाहियो भन्दै प्रश्न राखेकी थिइन् । जहाँकी निजगढमा व्यवसायिक विमानस्थल निर्माणको तयारी छ ।

  • प्रधानमन्त्रीको संसदमा २ घण्टे भाषण, अर्ति र उपदेशमा केन्द्रित

    प्रधानमन्त्रीको संसदमा २ घण्टे भाषण, अर्ति र उपदेशमा केन्द्रित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा दुई घण्टा लामो सम्बोधन गरे । उनको भाषण सदाजस्तै अरुलाई अर्ति उपदेश दिने र सरकारले कँही कतै गल्ती नै नगरेको दावीमा सिमित भयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेट र अन्य विविध विषयमा उठेका प्रश्नको जवाप दिन प्रधानमन्त्री रोष्ट्रममा उपस्थित थिए ।

    करीव २ घण्टा बोलेका उनले सांसदहरुको चित्त भने बुझाउन सकेनन् । कतिपय सांसदले उनको जवाफ पटक्कै मन नपरेको समेत बताए । प्रधानमन्त्रीले कोरोना भाइरसको संक्रमणसँग लड्ने क्रममा उठेका प्रश्न र नेपाल भारत सीमा विवादबारे आफ्नो धारणा राखेका थिए । कोरोना भाइरसले नेपालमा कुने क्षति गर्न नसकेको र यसमा नेपालीको रोग प्रतिरोधात्मक क्षमताले काम गरेको प्रधानमन्त्रीका दावि थियो ।

    प्रधानमन्त्री ओलीले सरकारले सावधानीका साथ लकडाउनको नीति लिएको र कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा अधिकतम उपलब्धि प्राप्त गरेको भन्दै कोरोनाविरुद्ध सरकारले जित हाँसि गरेको बताए । अन्य देशको तुलनामा नेपालमा संक्रमित हुने र मृत्यु हुनेहरूको संख्या कम भएको भन्दै उनले मृत्यु भएका १५ जनामध्ये पनि सबैले कोरोनाकै कारण ज्यान नगुमाएको उल्लेख गरे ।

    डब्ल्यूएचओको प्रोटोकलका कारण मात्र कोरोनाका कारण मृत्यु भएको घोषणा गर्नु परेको समेत उनले बताए । प्रधानमन्त्रीले पछिल्लो समय संक्रमित बढेको सम्बन्धमा समेत गैर जिम्मेवार जवाफ दिए ।

    नेपालमा भेटिएका संक्रमितमध्ये ८५ प्रतिशत बढी भारतबाट आएको र उनीहरू क्वारेन्टिनका कारणभन्दा पनि ट्रेनमा कोचिएर आउँदा वा यात्राको क्रममा नै संक्रमित भएको उल्लेख गरे । नेपालमा उपचार प्रभावकारी भएको र नेपालीले पचाउन सक्ने क्षमता बढी भएकै कारण यसलाई पराजित गर्न सकेको उल्लेख गरे ।

  • पछिल्लो २४ घण्टामा थप ९० जनाले जिते कोरोना

    पछिल्लो २४ घण्टामा थप ९० जनाले जिते कोरोना

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमणमुक्त भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानाकारी अनुसार जनकपुरस्थित अस्पतालबाट ३७ जना, सिराहाबाट २० जना र दाङमा उपचार गराइरहेका ७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

    त्यस्तै कोशी अस्पताल विराटनगरबाट ६ जना, काठमाडौंको बलम्बुस्थित अस्पतालबाट १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना निको भएर फर्किएका छन् ।

    यीमध्ये २ महिला हुन् भने ८८ जना पुरुष हुन्। योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७४ पुगेका छन्। हालसम्म १५ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

  • नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या ४३६४ पुग्यो

    नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या ४३६४ पुग्यो

    काठमाडौं । नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका २७९ सहित नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ। संक्रमित मध्ये ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिला छन्।

    नेपालमा हालसम्म ६७४ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका हुन्।

    हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

  • ललितपुरमा घाटी रेटेर युवकको हत्या, धनुषमा गोली हानेर मारियो

    ललितपुरमा घाटी रेटेर युवकको हत्या, धनुषमा गोली हानेर मारियो

    काठमाडौं । पछिल्लो समय नेपालमा ऋंखलावद्ध रुपमा आपराधिक घटनामा वृद्धि भएको छ । सोमबार राती रुपन्देहीमा ५ जनाको सामुहिक हत्या भएको भोलीपल्ट ललितपुर र धनुषामा समेत एक\एक गरी राती दुई जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

    मंगलबार राती ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक जना युवक मृत भेटिएका छन् । उनी फ्रेस हाउस सञ्चालक भएको प्रहरीले जनाएको छ । २५ वर्षीय अमित शाहीको घाटी र हातमा गहिरो चोट देखिएको छ । घटनास्थलमा मासु काट्ने हतियार भेटिएको भन्दै प्रहरीले हत्यामा सोही हतियार प्रयोग भएको हुन सक्ने आंशका समेत गरेको छ ।

    घटनामा बुधबार बिहानसम्म कुनै पनि व्यक्ति पक्राउ भने परेका छैनन् । उता, धनुषामा समेत गतराती एक युवकको हत्या भएको छ । घरमै रहेका वेला राती घर बाहिर लगि गोली हानिएको प्रहरीले जनाएको छ ।

    सबैला नगरपालिका–७ मका २५ वर्षीय अरुण मण्डललाई घर बाहिर बोलाएर हत्या गरिएको हो । परिवारका अनुसार घरमा चिनजान भएकै व्यक्तिले उनलाई घर बाहिर बोलाएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

  • आज मन्त्रिपरिषद् बैठक, टुंगिएला लकडाउनको मोडालिटी ?

    आज मन्त्रिपरिषद् बैठक, टुंगिएला लकडाउनको मोडालिटी ?

    काठमाडौं । साविकको जस्तै लकडाउनले न संक्रमण रोक्न सक्यो, न जनजीविका सहज भयो । यस परिस्थितिमा लकडाउनको मोडालिटी तय गर्न आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । अपरान्ह २ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकको मूय एजेन्डा जारी लकडाउनलाई कसरी निरन्तरता दिने र जनजीविका सहज बनाउने भन्ने हुनेछ ।

    कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न चैत ११ गतेदेखि नेपालभर लकडाउन घोषणा गरिएको छ । लकडाउन घोषणा गर्दा एक जनामा कोरोना भाइरस देखिएकोमा अहिले यो संख्या ४ हजार नाघेको छ । जसले गर्दा कोरोना रोकथाममा सरकार पूर्णतया असफल भएको छ । उता, लामो समयदेखिको लकडाउनले अधिकांश मानिसको जीविकोपार्जन प्रभावित भएको छ ।

    यसले दैनिक कमाएर पेट पाल्नुपर्ने वर्गा अझ ठूलो समस्यामा रहेको छ । विभिन्न तहबाट लकडाउनको उंल्लघन गर्ने माहोल समेत बढेको छ ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई सातालाई एक चरण मान्दै पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा छ ।

  • प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

    प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बजेका लागि डाकिएको छ ।
    सांसदहले उठाएका बिभिन्न सन्दर्भको जवाफ प्रधानमन्त्रीले दिने भएका छन् ।

    संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिने उल्लेख छ ।

  • संविधान संशोधन विधेयक संसदको प्रक्रियामा अगाडी बढ्यो, विधेयकको पक्षमा सर्वसम्मत

    संविधान संशोधन विधेयक संसदको प्रक्रियामा अगाडी बढ्यो, विधेयकको पक्षमा सर्वसम्मत

    काठमाडौं । भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्रमा नेपालको अधिकार स्थापित गर्ने सन्दर्भमा प्रतिनिधिसभामा सर्वदलीय सहमति जुटेको छ । मंगलबार संसदबाट लिम्पियाधुरासहित भूभाग समेटेर तयार पारिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास समेत भएको छ ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित संसदमा उपस्थित सबै दलका सांसद विधेयकको पक्षमा उभिएपछि विधेयक सर्वसम्मतिले पास भएको अब अब यसले संविधान संशोधन प्रक्रिया अगाडी बढाउने बाटो समेत खुलेको छ ।

    संसदको तेस्रो ठूलो दलका रुपमा रहेको जनता समाजवादी पार्टीले संसदमा संविधान संशोधनसम्बन्धी अर्को प्रस्ताव पेश गरेको भएपनि नक्सासम्बन्धी संशोधन विधेयकको भने पक्षमा रहेको बताएको छ । आफूहरुको राष्ट्रियतामाथि शंका नगर्न समेत उनले आग्रह गरे ।

    सरकारले जेठ ७ मा लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । जेठ ९ मा नक्सा संशोधनसँग सम्बन्धी संविधानको निशान छाप परिवर्तन गर्न संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरिएको हो । जेठ १९ मा विधेयक प्रतिनिधि सभामा प्रस्तुत भयो । सोही दिन सर्वसाधारणको जानकारीका लागि नेपाल राजपत्रमा समेत प्रकाशित गरिएको हो ।

    जेठ २०मा सर्वसाधारणको जानकारीका लागि सरकारी पत्रिका गोरखापत्रमा समेत प्रकाशित गरिएको थियो । आज जेठ २७ मा विधेयकका सम्बन्धमा प्रतिनिधि सभामा सैद्धाान्तिक छलफल भएको हो । मंगलबार प्रतिनिधि सभामा विधेयकमाथि सैद्धान्तिक छलफल सकेर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत पास भएको हो ।

    अब सांसदहरुले ७२ घण्टाभित्र यस प्रस्तावमा संशोधन हाल्न सक्ने भएका छन् । प्राप्त संशोधनमाथि छलफल गरेर विधेयक पारितको प्रक्रियामा जानेछ । यहि प्रक्रिया राष्ट्रिय सभामा समेत चल्छ । त्यो प्रक्रिया पूरा भएपछि दुबै सदनले पास गर्नुपर्छ । त्यसपछि प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइन्छ । प्रमाणिकरण भएपछि लिम्पियाधुरा नेपालको संविधानको अनुसूचीमा समेटिन्छ ।

  • इन्भेष्टमेन्ट बैंकले इटालीमा जित्यो तनहु हाइड्रोको २ अर्ब भुक्तानी मुद्दा

    इन्भेष्टमेन्ट बैंकले इटालीमा जित्यो तनहु हाइड्रोको २ अर्ब भुक्तानी मुद्दा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले इटालीमा तनहु आइड्रो जलविद्यूत आयोजनाका भुक्तानी मुद्दा जित्न सफल भएको छ । इटालीको अदालतमा करिब दुई अर्ब १० करोड रुपैयाँ बराबरको भुक्तानीसम्बन्धी मुद्दा बैंकले जित्न सफल भएको हो ।

    तनहुँ जलविद्युत आयोजनाका लागि राखिएको कार्यसम्पादन जमानत जफत भएपछि इटालियन बैङ्कले नेपाल इन्भेस्टमेन्ट बैङ्कलाई काउन्टर ग्यारेन्टीबापत सो रकम भुक्तानी गर्नुपर्ने इटालीको अदालतबाट फैसला आएको हो । अदालतबाट शुरुमा बैंकको विरुद्धमा फैसला भएको थियो । त्यसलाई उल्ट्याएर पुनः नेपाल इन्भेस्टमेन्ट बैङ्कको पक्षमा फैसला आएको बैंक स्रोतले जानकारी दिएको छ ।

    तनहुँ हाइड्रोको इटालियन ठेकेदार को अपरेटिभ मुराटोरी ई केमेन्टिस्टी (सीएमसी)ले स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोग्ना’ मा भुक्तानी सम्बन्धि मुद्दा दायर गरेको थियो । सीएमसीले मुद्दा जितेपछि इन्भेस्टमेन्ट बैङ्कले काउन्टर ग्यारेन्टीबापत नेपालमा तनहुँ हाइड्रोलाई दिएको दुई अर्ब रुपैयाँ असुलउपर गर्न सकेको थिएन । तनहुँले ८५ करोड नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो (एक अर्ब १८ करोड रुपैयाँ) बराबरको ग्यारेन्टी रकमबापतको भुक्तानी इन्भेस्टमेन्ट बैङ्कबाट जफत गरेको थियो ।

    शुरुको फैसलामा इटालीयन अदालतले जमानतबापत जफत भएको रकमको काउन्टर भुक्तानी स्थानीय इन्टेसा सानपओलो बैङ्कले इन्भेस्टमेन्ट बैङ्कलाई दिन नपर्ने फैसला गरेको थियो । फैसला उपर इन्भेस्टमेन्ट बैङ्कले अदालतमा अपिल गरेको थियो । अपिलमा सुनुवाई गर्दै बैंकको पक्षमा फैसला आएको हो ।

    यो फैसलापछि फसेको बैंकको पैसा फिर्ता हुने बैंकको भनाई छ । सीएससी सोही कम्पनी हो, जुन मेलम्ची खानेपानी आयोजनाबाट भागेको थियो । मेलम्चीबाट कम्पनी भागेपछि तनहुँ जलविद्युत आयोजनाले उक्त कम्पनीसँगको ठेक्का तोडेको थियो । जमानत ठेक्का तोड्दै आयोजनाले इन्भेस्टमेन्ट बैङ्कबाट जमानत जफत गरेको हो ।

  • सैन्य गठबन्धनमा बस्ने गरी सहयोग लिँदैनौं : परराष्ट्रमन्त्री

    सैन्य गठबन्धनमा बस्ने गरी सहयोग लिँदैनौं : परराष्ट्रमन्त्री

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुने गरी नेपालमा कुनै पनि देश र संगठनबाट सहयोग स्वीकार नगर्ने बताएका छन् । उनले दातृ राष्ट्र वा विकास साझेदारसँग सहयोग लिँदा सैन्य गठबन्धनमा सहभागी हुने शर्तमा सहायता स्वीकार नगरिने उनले बताएका हुन् । नेपालमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयमा बहस जारी छ ।

    प्रतिनिधि सभामा मंगलबार विनीयोजन विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफमा उनले राष्ट्रहित प्रतिकूल हुने गरी कुनै पनि सहायता स्वीकार नगरिने स्पष्ट पारेका हुन् । उनले विकास निर्माणको काम गर्दा नेपाल कुनै पनि रणनीतिक वा सैन्य गठबन्धनमा सहभागी नहुने बताए । एमसीसीको सन्दर्भमा बहस गर्दा आत्मविश्वासमा कमी देखिएको समेत उनको भनाई थियो ।

    ज्ञवालीले वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ भन्ने गरीको भइरहेको छलफलले राष्ट्रिय हित बलियो नबनाउने भन्दै आत्मविश्वास कमजोर नदेखाउन समेत आह्वान गरे । एमसीसीका सम्बन्धमा नेकपाले गठन गरेको अध्ययन समितिमा ज्ञवालीसमेत एक सदस्य थिए ।

    उक्त समितिले बीना संशोधन एमसीसी पास हुन नहुने सुझाव दिएको छ । एमसीसी इण्डो प्यासिफिक सैन्य गठनबन्धन अन्तर्गतको एक कार्यक्रम भएको समितिको निष्कर्ष रहेको छ । अमेरिकाले भने यसको खण्डन गरिसकेको छ ।

  • नेपालमा कोरोना जित्नेको संख्या ५८४ पुग्यो, एकैदिन ९६ जना डिस्चार्ज

    नेपालमा कोरोना जित्नेको संख्या ५८४ पुग्यो, एकैदिन ९६ जना डिस्चार्ज

    काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न आइसोलेसनबाट ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । धरानबाट झापाका २८ पुरुष, ,दाङबाट बर्दियाका ४ पुरुष र जिल्ला अस्पताल दैलेखबाट १ महिला कोरोना संक्रमण निको भएका छन्।

    जनकपुरबाट ६ महिलासहित २६ जना पुरुषहरु डिस्चार्ज भएका छन्।
    बाँके कोहलपुर २२ जना र राप्तिसोनारी आइसोलेसनबाट ७ जना डिस्चार्ज भएका छन्।

    धरानबाट झापाका २८ पुरुष, दाङबाट बर्दियाका ४ पुरुष र जिल्ला अस्पताल दैलेखबाट १ महिला कोरोना संक्रमण निको भएका छन्। काठमाडौंबाट एक महिला डिस्चार्ज भएकी छन्।

    हलसम्म देशभरबाट कोरोना संक्रमण भई उपचार पछि निको हुनेको संख्या ५८४ जना पुगेको छ। जसमध्ये ५०७ र महिला ७७ रहेका छन्।

  • नेपालमा कोरोना संक्रमित ४ हजार माथि

    नेपालमा कोरोना संक्रमित ४ हजार माथि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

    यसैगरी निको भएर घर फर्कनेहरुको संख्या पनि ५सय ८४ पुगेको छ । कोरोना संक्रमणबाट नेपालमा १५ जनाले ज्यान गुमाएका छन् ।

  • नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु

    नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु

    भरतपुर । चितवनमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको ज्यान गएको छ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमण पुष्टी भएका एक जना व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु भएका व्यक्ती भरतपुर नगरपालिका ११ का भएको अस्पतालले जनाएको छ । उनी ६८ वर्षका पुरूष हुन् । अस्पतालका अनुसार उनको शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचार भइरहेको थियो।

    उनमा कोरोना संक्रमण देखिएपछि सोमबार साँझ ७ बजे भरतपुर अस्पताल ल्याइएको थियो । उक्त अस्पतालको कोभिड आइसियूमा राखेर उपचारका क्रममा उनको मंगलबार बिहान ७ बजेर ५ मिनेटमा ज्यान गएको हो । मृतक सुगर तथा प्रेसरको समस्याबाट ग्रसित रहेको बताइएको छ ।

    शरीरमा कोरोनाको संक्रमण देखिएको र निमोनियाले समेत च्यापेपछि उनको ज्यान गएको अस्पतालको भनाई रहेको छ । नेपालमा यो कारोनाको १५ औं मृत्यु हो । पछिल्लो दिनमा नेपालमा संक्रमित र यसबाट ज्यान गुमाउने मानिसको संख्या समेत बढ्दो क्रममा रहेको छ ।

  • रुपन्देहीमा ५ जनाको सामुहिक हत्या, एक जना पक्राउ

    रुपन्देहीमा ५ जनाको सामुहिक हत्या, एक जना पक्राउ

    बुटवल । रुपन्देहीमा एक निर्मम हत्याकाण्ड बाहिर आएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा ५ जनाको सामुहिक हत्या भएको हो । प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका झसेन्द्र सिंजाली छन् । उनलाई गाउँलेले पक्राउ गरी प्रहरीमा बुझाएको बताइएको छ । गाउँलेले पक्राउ गर्दा अचेत बनेका उनको तिलोत्तमास्थित प्रिन्सन अस्पताल उपचार भइरहेको छ ।

    यो घटना स्थानीय एक गाई फार्ममा भएको हो । यस फार्ममा ६ जना कार्यरत थिए । एक जनाले अन्य ५ जनाको हत्या गरेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । घटनामा माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरीको निर्मम हत्या भएको छ ।

    उनीहरुको शव पोष्टमार्टम गर्न अस्पताल पठाइएको छ । प्रहरीका अनुसार आरोपित सिंजाली लागु औषधी प्रयोगकर्ता समेत भएको बताइएको छ । यद्दपी प्रहरीले घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिसकेको छैन । हत्या सोमबार राती भएको हो ।

  • रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन

    रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन

    काठमाडौं । रुकुममा ६ जनाको ज्यान जाने गरी भएको घटना छानबिन तथा अनुसन्धानका लागि संसदीय विषेश समिति गठन भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको हो ।

    ‘चौरजहारी नगरपालिका, सोती घटना छानविन समिति’का नाममा गठित यो समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने सभाुमख अग्नी प्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार सांसदहरु एकवाल मिया, दुर्गा पौडेल, पार्वती विसुंखे, विमला विश्वशकर्मा, महेश्वरजंग गहतराज, मीन बिश्वकर्मा, रामसहायप्रसाद यादव र प्रकास रसाइली समितिमा सदस्य रहेका छन् ।

    संसदमा प्रतिनिधित्व गर्ने दलित समुदायका सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि उच्चस्तरिय संसदीय समितिको माग गरिरहेका थिए । यो घटनाबारे गृह मन्त्रालयले समेत अनुसन्धान गरिरहेको छ ।

    चौरजहारी घटना गैरजातिय विवाहको मामलाका कारण भएको दलित समुदायको दावि छ । उता, रुकुमका स्थानीय भने लकडाउनको समयमा ठूलो समूहमा युवा गाउँ छिरेपछि प्रतिकार गर्दा घटना भएको दावि गर्छन् । यस घटनामा नवराज विकसहत ६ जना जाजरकोटका युवा मारिएका थिए ।

    दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा उक्त घटना भएको हो । जेठ १० मा रुकुम घटनामा दलित युवा पक्षका मानिसमाथि केटी पक्षका मान्छेबाट भएको आक्रमणमा ६ जना मारिएका हुन् । घटनामा नवराज विक, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको ज्यान गएको थियो ।

  • अमेरिकामा संकटमा रहेका ६४६ नेपाली घर फर्कन चाहन्छन्, अन्य मुलुकमा कति ?

    अमेरिकामा संकटमा रहेका ६४६ नेपाली घर फर्कन चाहन्छन्, अन्य मुलुकमा कति ?

    काठमाडौं । अमेरिकाबाट बेखर्ची भई तत्काल नेपाल फर्कन चाहने नेपालीको संख्या ६४६ रहेको छ । सरकारले कोभिड–१९ महामारी र लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्दार गर्नुपर्ने सूचिमा अमेरिकाबाट मात्र ६४६ जनाको नाम परेको छ । उनीहरु नेपाल सरकारले उद्दार गर्नुपर्ने पहिलो प्राथमिकतामा परेका हुन् ।

    सोमबार परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई तत्काल उद्दारको पर्खाईमा रहेका नेपालीको सूचि उपलब्ध गराएको हो । यस सूचिमा बेखर्ची भई सरकारले उद्दार गर्नुपर्ने नागरिकको मात्र संख्या रहेको छ । यस्तो संख्या विभिन्न मुलुकमा रहेका २४ हजार १ सय ४८ जना रहेको परराष्ट्र मन्त्रालय स्रोतलाई उदृत गर्दै केही नेपाली संचारमाध्यमले सार्वजनिक गरेका छन् ।

    यस्तो सूचि परराष्ट्र मन्त्रालयले दूतावासहरुबाट संकलन गरेको हो । तथ्यांक अनुसार भारतलाई छाडेर अन्य ३० मुलुकबाट नेपाली तत्काल घर फर्कन चाहन्छन् । यसरी उद्दारको पर्खाईमा रहेका नेपालीमध्ये सबैभन्दा कम लाओस (२ जना) र सबैभन्दा बढी मलेसिया (साढे ६ हजार) मा रहेको पाइएको छ ।

    सूचि अनुसार अतिविकसित मुलुकमध्ये अमेरिकाबाट ६४६, अष्ट्रेलियाबाट १३ सय, बेलायतबाट ४९ र क्यानडाबाट ७८ जनालाई तत्काल उद्दार गर्नुपर्नेछ । यो सूचि खान र बस्न समस्या भएको, रोजगारी गुमाएर टाट पल्टेको, घर फर्कन कम्पनीले टिकट नदिएका, अदालतले आममाफी दिएका, सुत्केरीलगायत अन्य विभिन्न संकटमा परेका नेपालीको हो ।

    कम्पनीले टिकट काटेर नेपाल पठाइदिने नेपालीलाई भने उद्दारको सूचिमा राखिएको छैन । सरकारले अब यी व्यक्तिहरुलाई नेपाली जहाज प्रयाग गरेर ल्याउने व्यवस्थापन मिलाउने बताइएको छ । सूचि अनुसार साउदीबाट ३३१२ जना नेपाली घर फर्कन चाहन्छन् । माल्दिभ्सबाट ७२४ जनाले नाम लेखाएका छन् ।

  • इच्छाशक्ति नै सबैथोक हो; तारा धामी

    इच्छाशक्ति नै सबैथोक हो; तारा धामी

    अन्तर्वार्ता: 

    नेपालमा रहँदा र अमेरिका आएपछि पनि विगत केही वर्षदेखि समाजसेवा गर्दै आएकी  तारादेवी धामी अहिले न्युयोर्कमा सुदूरपश्चिम समाजको पहलमा भइरहेको राहत संकलनमा अग्रणी भूमीका निभाई रहेकी छिन् । केही समय अगाडि चौलानी पुस्तक भण्डार तथा ह्युमिनेटि फ़ाउण्डेशनले गो फण्डद्वारा आयोजना गरेको कोरोना पिडितका लागि राहत संकलनमा पनि मुख्य भूमिका निभाएकी थिइन् । मानव सेवा र सहयोगी भावाना भएकी तारा धामी परिवारद्वारा स्थापना गरिएको “तारा-किशन फाउण्डेसन”की अध्यक्ष पनि हुन् । श्री तारा धामीले सोही संस्था मार्फ़त काठमाडौं र धनगढीमा गरि ५ बिध्यार्थीलाई सहयोग गरिरहेकी छिन् । नेपालको सुदूरपश्चिमबाट न्युयोर्कलाई कर्मथलो बनाई रहेकी धामीले नेपाली कम्युनिटीद्वारा न्युयोर्कमा निर्माण भइरहेको दुर्गा मन्दिरलाई पनि रिजउड सोसाइटीका बर्तमान अध्यक्ष मार्फत आर्थिक सहयोग गरेको रसिद देखाउदै भन्छिन्; ‘दुर्गा माताले गर्दा पनि होला हामी नजिक कोरोना आउन नसकेको’ । उसो त पहिलो पटक न्युयोर्कमा मनाइएको गो:रा पर्वका अगुवा तथा चाडपर्ब र नेपाली नारीहरूको महान तीजपर्वमा आफ्नो गच्छेनुसार सहयोग गरेको सम्झना दिलाउंछिन् । उनै समाजसेवी तारा धामीसंग विश्व सन्देशका योगेश आदीले गरेको छोटो वार्तालाप ।

    तँपाइले न्युयोर्कलाई  कहिलेदेखि कर्मथलो बनाउनु भयो ? नेपालदेखि यो बिसाल सहरसम्मको भोगाई अनि अहिले नेपालको कोरोना महामारी लक्षित आर्थिक सहयोगमा जुटि रहनु भएको छ रहेछ । कसरी काम हुँदैछ ?

    – जन्म घर र बिहे गरेको घर दार्चुला हो, पछि काठमाडौंमा ५१ सालदेखि बस्दै आएकी थिएँ । अहिले छ बर्षदेखि न्युयोर्कको कुइन्स सहरमा छोरीहरु र श्रीमानसंग बस्छु । यहाँ पनि कोरोनाले भयाभित बनाएको छ, काम ठप्प छ तर पनि यो धनी मुलुक भएकोले घर घरमा चाहिएको सामान मगाउन सकिन्छ,  प्रत्येक नागरिकलाई पैसा र बेरोज़गारी रक़म सहित दिइरहेको हुनाले कसैले पनि यो बिशालदेशमा कुनै अपठ्यारो महसुस गरेको छैन । 

    हो ! हप्ता दिनसम्म काम गरेर साताको अन्तिम दिन पाउने तलबले बिदाको दिन पारेर क्लब, डिस्को डान्सहरूमा गएर  पुरै तलब सिध्याउने अमेरिकनको बानीले त्यस्ता मानिसलाई केही अपठ्यारो त हुन्छ होला तर हामी ज्यादातर नेपालीको बानी केही बचत गरौं भन्नेमा नै हुन्छ र नेपालीहरूले केही न केही रक़म सन्चित गरेको नै हुन्छ, यसकारण पनि नेपालीहरूसंग पैसाको कमी हुदैन । धेरै जसो नेपालीहरूमा दयाको भावना हुन्छ, ती मनकारीहरू ग़रीब र असहायलाई सहयोग गर्न पाए हुने थियो भन्ने जमात पनि ठुलो छ |त्यो जमातलाई बिश्वास दिलाउन सक्नु पर्छ । मन रहेछ, चाहेपछि सकिंदो रहेछ । अरुले पनि मेरो काममा धेरै सहयोग पुर्याएका छन् ।

    तँपाइ लाई कसरी बिश्वास गर्ने त ? ती मनकारीहरूले दिएको राहत सम्बन्धित ठाउँमा पुग्छ भन्ने कुरा ? तपाई त अमेरिकामै हुनुहुन्छ ?

    –  हामीले संकलन गरिरहेको रक़म ब्यक्ति बिशेषको लागि होइन, कोरोनाको निहुंले भारतमा रोजीरोटी गरिरहेका हजारौं नेपाली दाजुभाइ र तिनका लाला-बालाहरू नेपालको नाकामा कस्टकर जीवन बिताइ रहेका छन् । कोरोनाको परिक्षण गर्ने साधनको अभावले परिक्षण गर्न ढिलाई भइरहेको प्रत्यक्ष जनसरोकार वालाहरूसंगको सम्बन्ध भएकोले र नेपालमा आफ्नै निजी खर्चले चलाई रहेको सामाजिक अभियन्ता, समाजसेवी चौलानी पुस्तक भण्डार, पत्रकार महासंघ, रोटरी क्लब, तथा ह्युमिनिटि फाउण्डेसनले अमेरिकामा बसेका सुदुरपश्चिमेलीहरूलाई सहयोगको अनुरोध गरेका छौं । सुदुर पश्चिम समाजले समन्वयन गरी अमेरिकामा लामोसमयदेखि बसोबास गरिरहेका नेपालीहरूबाट सहयोग गर्ने परोपकारी मनहरूलाई समिटेर आफ्नो एकपटकको एक कप चिया कम गरेर सहयोग दिन रूचाउने दिदीबहिनीहरूको स्वेच्छाले सहयोग गरेको रक़म नेपालमा मानव सेवामा अहोरात्र खटिरहेको संस्था ह्युमिनिटि फाउण्डेसले गरिरहेको कार्यसंग सम्मन्वयन गरेर तथा प्रदेश सरकारको आखॉ नपुगेको ठाउँमा तुरन्त आवाश्यक्ता भएको क्षेत्रलाई रक़म र सामान सहयोग गरिने छ ।

    कहिलेदेखि कुन कुन क्षेत्रमा सहयोग गर्नु भएको छ ? 

    – मेरो कुनै योजना हुदैन, भइपरि आउने जुन सुकै क्षेत्रमा पनि सहयोग गर्न मन पर्छ ।न्युयोर्कमा नेप्लिज सोसाइटीले बनाउन लागेको दुर्गा मन्दिरलाई सहयोग गरियो । धनगडी हस्पिटलमा गरिव परिवारको एकजनाले आफ्नो भएजतिको खेतबारी बेचेर एउटा खुट्टा काट्यो त्यसपछि दोस्रो खुट्टा पनि काट्यो । त्यसको लागि यहाँ साथीभाइबाट सहयोग संकलन गरेर थप रक़म मैले आफैले थपेर सहयोग गरें । बिभिन्न समयमा सुदूर पश्चिम होस् या काठमाडौं होस् वा नेपालको जुनसुकै ठाउंमा आएको समस्यामा आर्थिक वा जिन्सि सहयोग गर्दै आइरहेकी छु ।हुन त मलाई मेरो पसिनाले कमाईबाट राहत दिन रमाइलो लाग्छ तर यहाँ मनकारी साथीभाईहरूले त्यो देखेर हौसला दिदैं हातमा हात मिलाउनु हुन्छ । त्यसैले पनि झनै सहय‍ोग पुगेको छ ।

    घरपरिवारबाट कस्तो प्रतिकृया छ ? कसरी व्यवस्थापन भइराखेको छ ?

    – ठुलो कुरा भनेर इच्छाशक्ति रहेछ । श्रीमानले मेरो इच्छालाई कहिल्यै पनि नकार्नु भएन । उल्टै होसला दिएर जानेको ठाउँमा सिकाउने गर्नुहुन्छ । मेहेनत गरेर छोरीहरुलाई हुर्कायौं पढायौँ । अहिले त झन छोरीहरु पनि सिकाउँछन् । परिवारको सहयोग नहुँदो हो त म यसरी खटेर अगाडि बढ्ने कल्पना पनि गर्न सक्दैनथ्ये । 

  • थप २१ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ४८८

    थप २१ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ४८८

    काठमाडौं सोमबार थप २१ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार बाँकेबाट २० जना र काठमाडौंको बलम्बु अस्पतालबाट एकजना महिलाले कोरोना जितेर डिस्चार्ज भएका हुन् । योसहित निको हुनेको संख्या ४८८ पुगेको छ।

    प्रवक्ताका अनुसार निको हुनेमा पुरुष ४१९ र महिला ६९ छन्।

  • नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

    नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

    काठमाडौं । नेपालमा थप ३ सय १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा सय संख्यामा संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ९४ पुरुष र २० महिला छन् ।

    योसंगै नेपालमा संक्रमितको कुल संख्या ३ हजार ७ सय ६१२ पुगेको छ । यसैगरी निको भएर घर फर्कनेहरुको संख्या पनि ४ सय ८८ पुगेको छ । जस्मा पुरुष ४ सय १९ र महिला ६९ जना छन् ।

  • विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण र मृत्युदर दुबै घट्यो

    विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण र मृत्युदर दुबै घट्यो

    काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण र मृत्युदर दबै घटेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले साप्ताहिक कोरोना अपडेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । संघका अनुसार कोरोना भाइरस सङ्क्रमणले विदेशमा नेपालीको मृत्यु र सङ्क्रमण दर दुबैमा उल्लेख्य कमी आएको छ ।

    शनिबार साँझसम्म नेपालबाहिर १२५ नेपालीको ज्यान गएको छ । पाँच हजार ५९० जनाले भने कोरोनालाई जित्न सफल भएका छन् । सङ्क्रमण दर अघिल्लो साताको तुलनामा ७५ प्रतिशतले घटेको छ । अघिल्लो साता कतारमा चारजना, कुबेत र युकेमा एक÷एक गरी ६ जनाले ज्यान गुमाए ।

    विश्वभर ३४ देशमा नेपाली कोरोना भाइरसको संक्रमणमा छन् । बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुबेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनमा नेपालीको ज्यान गएको छ । संसारभर १४ हजार ४५४ जना नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

    संघले भारतसहित विदेशबाट नेपालीहरुलाई फिर्ता ल्याउने सरकारको निर्णयको समेत स्वागत गरेको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताएका छन् । नेपालमा लकडाउन भएको ७४ दिनपछि गत शुक्रबार म्यानमारबाट २६ र युएईबाट १६८ जना नेपाली घर फर्किएका छन् ।

  • नेपालमा कोरोनाबाट थप एकको मृत्यु

    नेपालमा कोरोनाबाट थप एकको मृत्यु

    पोखरा । नेपालमा कोरोना रोगको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्याङजा वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनको निधनबारे स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । उनमा आइतबार मात्र कोरोना पुष्टि भएको थियो । उनी जेठ २३ मा अस्पतालमा भर्ना भएका थिए ।

    आइसोलेसनमा राखेर उपचार गरिएकोमा आइतबार निधन भएको अस्पतालले जनाएको छ । उनी भारतको सुनौल नाकाबाट जेठ २२ मा स्याङ्जा आएको प्रहरीले बताएको छ ।

    नाकामा लामो समय बसेपछि घर फकाइएको मध्ये उनी पनि एक थिए । ती पुरुष भारतबाट आउँदा नै बिरामी रहेका अस्पतालको भनाई छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ औं पुगेको छ । यसलाई स्वास्थ्य मन्त्रालयबाट घोषणा हुन भने बाँकि छ ।