Category: फिचर

  • भारतमा साढे ४२ हजारमा संक्रमण, हरेक दिन २ हजार संक्रमित थपिँदै

    नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाले महामारीको रुप धारण गर्न थालेको छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिले हरेक दिन दुई हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको पुष्टी भइरहेको छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ५३ संक्रमित भारतभरमा थपिए ।

    यसअवधिमा ६७ जनाको निधन भएको छ । भारतमा अहिलेसम्म ४२ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

    यस मुलुकमा एक हजार तीन सय ७३ जनाले ज्यान गुमाएका छन् । भारतमा उपचारपछि ११ हजार सात सय सात जना घर फकिएका छन् ।

    भारतले २५ माचैबाट लकडाउन शुरु गरेको थियो । अहिले यहाँ लकडाउन केही खुकुलो भएको छ ।

  • महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता

    महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता

    काठमाडौं । सांसदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा उजुरी दर्ता भएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार दिउँसो उजुरी दर्ता भएको हो ।

    यी तीन जनामाथि जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप छ ।

    त्यसपछि पनि उनलाई होटेलमा बन्धक बनाएर राखेको आरोप लगाइएको छ । समाजवादी पार्टीले भने यो अपहरण प्रधानमन्त्रीकै निर्देशनमा भएको आरोप लगाएको छ ।

    उजुरी दर्ता भएसँगै सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्ने बाटो खुलेको छ । त्यसपछि आवश्यकताअनुसार थप प्रक्रिया शुरु हुनेछ ।

    यसअघि यो उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन् । जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने प्रावधान रहेको छ ।

    उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनुपर्ने छ ।

    अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरू महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए ।

    तर, प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए । तर, उक्त दिन कार्यालयले पनि उजुरी लिन मानेको थिएन ।

    त्यसपछि सा‌ंसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका छन् ।

    सोही उजुरीको बलमा कार्यालयले उजुरी दर्ता गर्न राजि भएको बताइएको छ । दल विभाजनको प्रयोजनका लागि सांसद अपरहण भएको समाजवादीको आरोप छ ।

  • कर्णाली प्रदेश सिल, नेपालगन्जमा कर्फ्यु

    कर्णाली प्रदेश सिल, नेपालगन्जमा कर्फ्यु

    नेपालगन्ज । कर्णाली प्रदेश अहिलेसम्म कोरोनामुक्त रहेको प्रदेश हो । तर, कर्णाली प्रदेशको तल्लो बेल्ट नेपालगन्जमा भने एकसाथ ठूलो संख्यामा कोरोना संक्रमित देखिएका छन् ।

    सोहीकारण कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेशमा प्रवेश गर्ने सबै नाका बन्द गर्ने भएको छ ।

    अबको एक हप्तासम्म कर्णाली प्रदेश पूर्ण रुपमा बन्द हुने भएको छ । प्रदेश विपद व्यवस्थापन केन्द्रको सोमबारको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन कार्यान्वयन गर्ने निर्णय भएको हो ।

    भारतलगायत तेस्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउने निर्णय समेत भएको छ ।

    सोही तथ्यांकको आधारमा प्रदेश सरकारले भारत र तेस्रो देशबाट आएका सबैको कोरोना जाँचको व्यवस्था गर्ने निर्णय गरेको हो ।

    प्रदेशको दुर्गम स्थानमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्‍याउन नसक्ने अवस्था भए हेलिकप्टरबाट समेत पठाउने निर्णय भएको छ ।

    प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको प्रयोग गरी मेसिन उपकरणबाट सञ्चालन हुन सक्ने विकास निर्माणका आयोजना भने सञ्चालन गर्ने निर्णय भएको प्रदेश कार्यालयले जनाएको छ ।

    उता, कोरोना संक्रमितको संख्या निरन्तर बढेपछि बाँकेको नेपालगन्जमा भोलिबाट कर्फ्यु लाग्ने भएको छ ।

    सोममबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जमा पूर्णतः निषेधित क्षेत्र घोषणा गरिएको हो ।

    संघीय सरकारले जारी राखेको लकडाउनसँगै नेपालगन्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र लागु गरिन लागिएको हो ।

    कर्फ्यु लागेसँगै नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने भएको छ ।

    नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय व्यक्तिमा वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो ।

    त्यसको दुई दिनपछि उनीसँग सम्पर्कमा रहेका १५ जनामा पनि कोरोना संक्रमणको पुष्टी भएको छ ।

    कोरोना संक्रमितको संख्या बढेपछि बाँकेका संघीय सांसदहरूले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर बाँकेमा कोरोना परीक्षण किट पठाउन, उपकरण र प्राविधिक टोली पठाउन र नेपालगन्जवासीको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन समेत माग गरे ।

  • कुवेतमा एकै दिन ९ नेपालीमा संक्रमण पुष्टी

    कुवेतमा एकै दिन ९ नेपालीमा संक्रमण पुष्टी

    कुवेत । कुवेतमा एकै दिन थप ९ जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । अब कुवेतमा कूल ८४ जना नेपालीमा कोरोनाको संक्रमण भएको त्यहास्थित नेपाली दूतावासले जनाएको छ ।

    दूतावासका अनुसार पछिल्लो समय कुवेतमा कोरोना संक्रमण बढ्दो क्रममा छ । यसले नेपालीहरुमा पनि निरन्तर जोखिम बढाएको छ ।

    आइतबारसम्मको तथ्यांक अनुसार कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भइसकेको छ ।

    कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन तथा कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन दूतावासले नेपालीहरुलाई आह्वान गरेको छ ।

    कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले उल्लेख गरेको छ ।

    यस मुलुकमा कीव ३५ हजार नेपाली रहेको अनुमान छ । कामको सिलसिलामा धेरै नेपाली यहाँ पुगेका छन् ।

  • नेपालका होटेलहरुको आक्रामक निर्णय, ६ महिना बन्द हुने

    नेपालका होटेलहरुको आक्रामक निर्णय, ६ महिना बन्द हुने

    काठमाडौं । नेपालका होटेल प्रतिष्ठानले ६ महिना सेवा बन्द हुने गरी निर्णय लिएका छन् ।

    कोरोना भाइरसको संक्रमणका कारण पर्यटक आगमन तत्काल सम्भव नभएका कारण १ वैशाखदेखी आगामी असोजसम्म होटेलले सेवा दिनका लागि पर्याप्त पर्यटक नहुने प्रक्षेपण व्यवसायीले गरेका हुन् ।

    यसअवधिमा समै मजदुरले न्यूनतम तलवको १२.५ प्रतिशत मात्र तलव पाउने भएका छन् ।

    यसअघि वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले होटलमा कार्यरत मजदुरको लकडाउन अवधिभरिको तलबमध्ये ५० प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्नुपर्ने र बाँकी ५० प्रतिशत लागि बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिन सक्ने निर्णय गरेको थियो ।

    तर, यो निर्णय अनुसार रकम भुक्तानी गर्न व्यवसाय नभएका कारण सम्भव नभएको भन्दै होटेल व्यवसायीको आक्रामक निर्णय आएको हो ।

    खासगरी सरकारले अविभावकत्व लिएर समस्या समाधान गर्नुको साटो पेल्न खोजेका कारण होटेल व्यवसायीले समेत यस्तो निर्णयमा पुग्न बाध्य भएको बताएका छन् ।

    श्रम ऐनअनुसार व्यापार नहुने अवस्थामा बन्द घोषणा गर्न सक्ने प्रावधान छ । असोजसम्म कर्मचारीलाई आधारभूत तलबको १२.५ प्रतिशत पाउने गरी व्यवसायीले निर्णय लिएका छन् ।

    सेवा शुल्क उपलब्ध गराउने होटलले सेवा शुल्क मौज्दातबाट प्रत्येक महिना उपलब्ध गराउनेछन् ।

    आधारभूत तलबको १२५ प्रतिशत तलब लिन नमान्ने कर्मचारीले भने जागिर छाड्नु पर्नेछ ।

    व्यापार बीना मजदुरलाई होटेलमा बोलाएर काम दिन नसक्ने भएकाले उनीहरुलाई बिदा दिने र घरमै राखेर १२ प्रतिशत तलव दिने निर्णय गरिएको हो ।

  • सरकारले भनेअनुसार पारिश्रमिक दिन नसक्ने निजी क्षेत्रको अडान

    सरकारले भनेअनुसार पारिश्रमिक दिन नसक्ने निजी क्षेत्रको अडान

    काठमाडौं । निजी क्षेत्रले लकडाउनको अवधिमा श्रमिकहरुलाई ५० प्रतिशतभन्दा बढी पारिश्रमिक दिन नसकिने भन्दै आफ्नो अडान दोहोर्याएका छन् ।

    निजी उद्योगी तथा व्यवसायीका दुई ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले संयुक्त विज्ञप्ती निकाल्दै ५० प्रतिशतभन्दा बढी तलब भुक्तानी गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

    दुई संस्थाले लकडाउनका कारण उद्योग व्यवसाय ठप्प भएकोले पारिश्रमिक उपलब्ध गराउन नसक्ने उल्लेख गरेका छन् ।

    अर्थ मन्त्रालयले यसअघि उद्योग कलकारखानामा कार्यरत कर्मचारी तथा श्रमिकलाई सतप्रतिशत तलब दिन र तलब दिने पैसा नभए ५० प्रतिशत तलब बराबरको रकम बैंकबाट सहुलियत दरमा कर्जाको रुपमा लिन सकिने व्यवस्था गरेको थियो ।

    तर निजी क्षेत्रले ५० प्रतिशत भुक्तानी दिन सकिने बताएका हुन ।

    विश्वभर फैलिएको कोभिड १९ को महामारीको रोकथाम गर्न नेपाल सरकारले देशभर लागू गरेको लकडाउनको कारण सम्पूर्ण उद्योग व्यवसाय क्षेत्र ठप्प हुन गएको स्थितिमा उद्योग व्यवसाय क्षेत्रले विभिन्न समस्याका साथै आफ्ना श्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न समेत अप्ठ्यारो परेको उनीहरुको भनाई छ ।

    श्रमिकहरूको पारिश्रमिक भुक्तानी सम्वन्धमा यस महासंघ लगायत नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट मिति २०७७ वैशाख १० गते नेपाल सरकार समक्ष पेश गरिएको संयुक्त सुझाव समेतलाई ध्यानमा राखी उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले उद्योगीहरुको माग रहेको छ ।

    निजी क्षेत्रको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी नेपाल सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्वन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्न पनि माग गरिएको छ।

  • सीमा नाकामा प्रहरीको तैनाथी बढाइने, महत्वपूर्ण क्षेत्रको सुरक्षा सेनाबाट

    सीमा नाकामा प्रहरीको तैनाथी बढाइने, महत्वपूर्ण क्षेत्रको सुरक्षा सेनाबाट

    काठमाडौं । सरकारले सीमा नाकामा प्रहरीको तैनाथी बढाउने भएको छ । महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने र त्यहाँ खटिएका सशस्त्र तथा नेपाल प्रहरीलाई सीमा सुरक्षामा खटाउने निर्णय सरकारले गरेको हो ।

    अब कारागार, विकास निर्माण आयोजनासहित संवेदनसिल क्षेत्रमा खटिएका प्रहरीलाई समेत सीमा सुरक्षामा खटाइने भएको छ ।

    ती क्षेत्रको सुरक्षाको जिम्मा भने नेपाली सेनालाई दिइने भएको छ ।

    आइतबार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुहरुको बैठक बसेको थियो ।

    कोभिड–१९ ले भारतमा उच्च गतिमा फैलावट लिएपछि नेपालमा हुन सक्ने जोखिम न्यूनिकरण गर्न सीमा क्षेत्रमा कडाई गर्न लागिएको हो ।

    यसअघि आइतबार नै मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट कुनै पनि व्यक्तिलाई नेपाल आउन नदिने वातावरण बनाउन निर्देशन दिएका थिए ।

    भारतमा ४० हजार भन्दा बढीमा संक्रमण फैलिसकेको छ । तर, नेपालको तराई क्षेत्रमा लुकिछिपी आवतजावत गर्ने उत्तिकै छन् ।

    बैठकले सीमाबाट लुकिछिपी प्रवेश गर्ने क्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानूनी कारवाही गर्नुपर्ने निर्णय समेत गरेको छ ।

    भारतमा रहेका नेपालीलाई भने कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तीव्रता दिने निर्णय भएको बताइएको छ ।

    कोरोना सङ्क्रमणको केन्द्र चीन, युरोप, अमेरिका हुँदै अब दक्षिण एशियातर्फ बढ्न लागेकाले खुला सीमानामा कडा सावधानी अपनाउनुको विकल्प नरहेको बताएका थिए । सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिए ।

  • भारतमा संक्रमित ४० हजार नाघे, जोखिम नेपालमा समेत

    भारतमा संक्रमित ४० हजार नाघे, जोखिम नेपालमा समेत

    नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४० हजार नाघेको छ । यसले नेपालमा समेत जोखिम बढाएको छ ।

    किनकी नेपाल र भारतमा खुला सीमाना रहेको छ । नेपाल सरकारले भारतसँगको सीमा नाका सिल गरेको छ ।

    तर चोर बाटो भएर अहिले पनि थुप्रै नेपाली र भारतीय आवात जावत गरिरहेका छन् ।

    भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म ४० हजार दुई सय ६३ जनामा कोरोना पुष्टि भएको छ ।

    संक्रमितमध्ये भारतमा १३ सय ६ जनाको ज्यान गएको छ । १० हजार आठ सय ८७ जना निको भएर घर फर्किएका छन् ।

    पछिल्लो २४ घण्टामा मात्र ८३ जनाको ज्यान गएको । दुई हजार चार सय ८७ जना नयाँ बिरामी थपिएको मन्त्रालयको तथयांक रहेको छ ।

    भारतमा पछिल्लो समय सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढ्दा त्यसले नेपालमा समेत जोखिम बढाएको हो ।

  • कोरोनाले विश्वभर ७३ गैरआवासीय नेपालीको ज्यान गयो

    कोरोनाले विश्वभर ७३ गैरआवासीय नेपालीको ज्यान गयो

    काठमाडौं । कोभिड–१९ संक्रमणका कारण विश्वभर ७३ जना गैरआवासीय नेपालीको निधन भएको छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिको शनिबार सम्मको तथ्यांक अनुसार उक्त संख्यामा गैरआवासीय नेपालीको ज्यान गएको हो ।

    यसरी ज्यान गुमाउनेमा सबैभन्दा बढी बेलायतमा छन् । यस मलुकको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा तीन जनाको ज्यान गएको छ ।

    संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ रहेको एनआरएनएले जनाएको छ ।

    अमेरिकाको न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको ज्यान गएको छ । संयुक्त अरब इमिरेट्स् (युएइ) मा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एकएक जनाको ज्यान गएको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिएका छन्।

    उनका अनुसार नेपाल भित्रबाहेक विश्वभर पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक हजार ५७० जना संक्रमणमुक्त समेत भइसकेका छन् ।

    मध्यपूर्वमा नेपालीहरु कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या बढेदो क्रममा देखिएको छ ।

    ती देशले दुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन्।

    विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडा अनुसार २७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन्।

    कुन देशमा कति संक्रमण ?

    स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा १२६, युएईमा एक सय, कुवेतमा ७८ र नेपालमा ५९ गैरआवासीय जनामा कोरोना देखिएको छ ।

    नेपाल भित्र पनि धेरैजसो संक्रमण विदेशबाट फर्कनेहरुमा रहेको छ । साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्रेलियामा १०, बेल्जियम र जापानमा ६–६, स्वीडरल्याण्ड र क्यानडामा पाँचपाँच, जर्मनीमा चार, साइप्रस, मलेसिया र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमार र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएनएले जनाएको छ ।

    एनआरएनले कोरोना भाइरसको महामारीबाट प्रभावितको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको एनआरएका महासचिव डा. हेमराज शर्माले जानकारी दिएका छन् ।

    उनका अनुसार विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको छ।

    यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड– १९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले अध्यक्ष पन्तले सबै गैरआवासीय नेपालीलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै विभिन्न देशका सरकारी निकायले जारी गरेका स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गरेका छन्।

  • नेपालगन्जमा थप ६ जना संक्रमित भेटिए, नेपालमा एकै दिन १६ जनामा कोरोना पुष्टी

    नेपालगन्जमा थप ६ जना संक्रमित भेटिए, नेपालमा एकै दिन १६ जनामा कोरोना पुष्टी

    काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएअनुसार भेरी अस्पतालमा परीक्षणका क्रममा एकै दिन १५ जनामा पुष्टी भएको हो ।

    यसअघि आइतबार नै वीरगन्जमा एक जनामा कोरोनो पुष्टी भएको थियो । यससँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

    आइतबार दिउँसोको पत्रकार नोटमा मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी सार्वजनिक गरेको थियो ।

    केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उनी धर्मगुरु भएको बताइएको छ उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दै जाँदा कूल ९० जनाको स्वाब संकलन गरिएको थियो ।

    ती नमुनामध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।  ती व्यक्तिको सम्पर्कमा रहेका अन्य व्यक्तिको समेत परीक्षण जारी रहेका कारण नेपालगन्जमा कोरोना संक्रमति अझै बढ्ने भएको छ ।

  • संसदको बजेट अधिवेशन बैशाख २६ बाट

    संसदको बजेट अधिवेशन बैशाख २६ बाट

    काठमाडौं । संसदको बजेट अधिवेशन २६ वैशखबाट शुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनको बैठक २६ वैशाखमा बस्ने गरी आह्वान गरेकी छिन् ।

    सरकारले बजेट अधिवेशनका लागि राष्ट्रपतिसँग सिफारिस गरेको थियो । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषदले बैशाख २६ गते दिउँसो ४ बजे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेअनुसार राष्ट्रपतिबाट संसद आह्वान भएको छ ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने संवैधानिक प्रावधान रहेको छ ।

    संसदमा सामाजिक दूरी कायम गरी अधिवेशन सञ्चालन गरिने भएकोछ । बजेट अधिवेशन आह्वान भएसँगै अब सरकारले बजेट समेत संसदबाटै ल्याउने पक्का भएको छ ।

    यसअघि लकडाउनका कारण संसद बस्न नसक्दा अध्यादेशबाट बजेट आउँछ कि भन्ने आशंका समेत धेरैमा थियो । नेपालमा १५ जेठमा बजेट ल्याउनै पर्ने प्रावधान रहेको छ ।

  • रुसमा एकै दिन १० हजार भन्दा बढी संक्रमित पुष्टी

    रुसमा एकै दिन १० हजार भन्दा बढी संक्रमित पुष्टी

    मस्को । रुसमा कोरोना भाइरसबाट एकै दिन १० हजारभन्दा बढी मानिसमा कोरोना फेला परेको छ ।

    रुसमा पछिल्लो २४ घण्टामा १० हजार ६ सय ३३ जना नयाँ संक्रमित फेला परेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यद्दपी उनीहरुमध्ये धेरैमा कोरोना संक्रमणको लक्षण नै देखिएको थिएन । अब रुसमा कोरोना भाइरसबाट संक्रमित बिरामीको संख्या १ लाख ३४ हजार ६ सय ८७ पुगेको तथ्यांक रहेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ५८ जनाको मृत्यु भएको तथ्यांक आएको छ ।

    रुसमा अहिलेसम्म कोरोना भाइरसबाट एक हजार दुई सय ८० जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनले समेत अब रुसलाई सचेत हुन आह्वान गरेको छ ।

    एकै पटक १० हजार मानिसमा संक्रमण पुष्टी हुनुलाई खतराको घण्टीका रुपमा ब्याख्या गरिएको छ ।

    रुसमा बितेको साता बढी संक्रमण फैलिएपछि त्यसले अधिकारीहरुलाई चिन्तित बनाएको छ । रुसमा राजधानी सहर मस्को कोरोनाबाट बढी प्रभावित बनेको छ ।

  • नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमणको पुष्टी, संक्रमितको संख्या ६९ पुग्यो

    नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमणको पुष्टी, संक्रमितको संख्या ६९ पुग्यो

    काठमाडौं । नेपालमा एकैदिन १० जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    संक्रमण देखिएकामध्ये ५ जना पुरूष र ४ जना महिला छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्।

    त्यस्तै आजै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ। वीरगन्ज ३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो।

    योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

  • साउदीमा एकै स्थानमा ३४ नेपालीलाई कोरोना संक्रमण

    साउदीमा एकै स्थानमा ३४ नेपालीलाई कोरोना संक्रमण

    काठमाडौं । साउदी अरबमा एर्कै स्थानमा ३४ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टी भएको छ । साउदीको प्रमुख व्यापारिक केन्द्र जेद्दा आसपासको क्षेत्रमा ३४ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका हुन ।

    संक्रमितमा दुई जना महिला रहेको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । इर्फान, जेद्दा नेशनल, किङ फाद, किङ अब्दुल्ला मेडिकल कम्पलेक्स अस्पतालमा नेपालीको उपचार जारी रहेको छ ।

    दूतावास सबै नेपालीसँग समन्वय र सम्पर्कमा रहेको बताइएको छ ।

    साउदीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामीको राष्ट्रियता पहिचान भने गर्दैन ।

    तर, महावाणिज्य दूतावासको सम्पर्कमा ३४ जना नेपाली आएका हुन् । बिरामीमध्ये एक जना ५० वर्षीय नेपाली रहेको र उनलाई विशेष निगरानीमा राखिएको दूतावासको भनाई छ ।

    अन्यलाई अस्पतालको सामान्य कक्षमा उपचार भइरहेको छ। साउदी र गैरसाउदीबीच भेदभाव नभएको समेत दूतावासको भनाई छ ।

    यस मुलुकमा बिरामी भएर सुरुमा अस्पतालमा भर्ना गर्ने बेला फर्म भर्दा नै राष्ट्रियता पहिचान गरिदैन । ३४ मध्ये २ जना निको भइसकेको बताइएको छ ।

    साउदीमा संक्रमितको संख्या २५ हजार ४ सय ५९ जना पुगेको छ । जसमध्ये ३७ सय ६५ जनालाई निको भएको छ। एक सय ७६ जनाको मृत्यु भएको छ ।

  • कोरोनाबाट अमेरिकामा मात्र ६७ हजारको मृत्यु

    कोरोनाबाट अमेरिकामा मात्र ६७ हजारको मृत्यु

    काठमाडौं । कोरोना भाइरसबाट अमेरिकामा मात्र ६७ हजार ४ सय मानिसको ज्यान गएको छ ।

    आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा यति संख्यामा मानवीय क्षति भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्र १६ सय ४७ जनाको ज्यान गएको छ। यस मुलुकमा संक्रमितको संख्या ११ लाख ५९ हजार ९ सय २३ पुगेको छ।

    अमेरिकामा १ लाख ६० हजार मानिस निको भएर घर फर्केका छन् । विश्वभर कोरोना संक्रमितको संक्रमितको संख्या भने ३४ लाख ८० हजार २ सय ३४ रहेके छ ।

    कोरोनाले २ लाख ४४ हजार ६ सय मानिसको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा संसारभर ८२ हजार १ सय ४० जना नयाँ संक्रमित भेटिए ।

    स्पेनमा २ लाख ४५ हजार ५ सय ६७ संक्रमित छन् । यहाँ २५ हजार एक सयको ज्यान गएको छ। इटालीमा २ लाख ९ हजार ३ सय २८ जनामा संक्रमण भेटिए । २८ हजार ७ सय १०को ज्यान गएको छ।

    बेलायतमा १ लाख ८२ हजार २ सय ६० जनालाई कोरोना भाइरसले संक्रमित बनाएको छ । बेलायतमा २८ हजार १ सय ३१ जनाको मृत्यु भएको छ।

    फ्रान्समा २४ हजार ७ सय ६० जनाको मृत्यु भएको छ । यहाँ १ लाख ६८ हजार ३ सय ९६ जनामा संक्रमण देखिएको छ। जर्मनीमा संक्रमितको १ लाख ६४ हजार ९ सय ६७ ।

    त्यहाँ ६ हजार ८ सय १२ जनाको ज्यान गएको छ। टर्कीमा ३ हजार ३ सय ३६ को मृत्यु भएको छ ।

    त्यहाँ १ लाख २४ हजार ३ सय ७५ जना संक्रमति छन्।

    भारतमा ३९ हजार ६ सय ९९ जना संक्रमित रहेका छन्। त्यहाँ १ हजार ३ सय २३ जनाले ज्यान गुमाइसकेका छन्।

    नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ। १६ जना घर फर्किसकेका छन् । नेपालमा लगातार दुई दिन नयाँ संक्रमित देखिएनन् ।

  • आगामी आवको बजेटले कर बढाउन सक्ने अर्थमन्त्रीको संकेत

    आगामी आवको बजेटले कर बढाउन सक्ने अर्थमन्त्रीको संकेत

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको बजेटले कर र यसको दायरा समेत बढ्न सक्ने संकेत गरेका छन् ।

    प्रिबजेट छलफलमा जुटेका अर्थमन्त्रीले हरेक व्यवसायिक संस्थासँगको छलफलमा आगामीका आवको बजेटले जोखिमको शेयर गर्न खोज्ने तर यदी त्यसो नगर्ने हो भने कर बढाउनुको विकल्प नरहेको बताएका छन् ।

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (म्यान)ले गएकै दिन गरेको भिडियो सम्मेलनमा समेत अर्थमन्त्रीले यसै विषयमा जोड दिए ।

    उनले लकडाउनका कारण उत्पन्न आर्थिक क्षतिको दायित्व सरकार एक्लैले बोक्न नसक्ने बताए । उनले सरकार एक्लैले दायित्व बोक्नुपर्ने भए कर बढ्ने स्पष्ट पारे ।

    सहकार्यका मोडालिटी बनाएर त्यही अनुसार सरकार र निजी क्षेत्र सबैको क्षतिको दायित्व बोक्नु पर्ने उनको भनाई रहेको छ ।

    उनले संकटको समयममा निजी क्षेत्रको वासलात बिग्रन सक्ने भन्दै चाटर्ड एकाउन्टेन्ट्सहरूलाई सचेत रहने आग्रह गरे ।

    अर्थमन्त्रीले सरकारसँग कोरोनाको संक्रमणको जोखिम न्यूनीकरण गर्नु, स्वास्थ्यजन्य तथा आर्थिक कदमहरूबाट अर्थतन्त्र शिथिल वा खुम्चिएको स्थितिबाट पार लगाउनु अहिलेको चूनौति रहेके उल्लेख गरे ।

    स्रोत कम भएका कारण धेरै स्रोतको जोहो गर्दै आर्थिक उन्नतीमा अगाडी बढ्न समेत चूनौति रहेको उनको भनाई छ ।

  • नेकपा नेतृत्वबाट कमी कमजोरी स्वीकार, तत्काल कुनै परिवर्तन नहुने

    नेकपा नेतृत्वबाट कमी कमजोरी स्वीकार, तत्काल कुनै परिवर्तन नहुने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सरकार र पार्टी संचालनका दौरान कमीकमजोरी भएकोमा शीर्ष नेतृत्वले आत्मआलोचना गरेको छ ।

    पार्टी भित्रको चर्को विवादका सम्बन्धमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मआलोचना सहित सच्चिएर जाने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    शनिबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकमा सरकारले गरेका कमी कमजोरी तथा पार्टीलाई बाइपास गरी भएका निर्णयलाई लिएर प्रधानमन्त्री ओलीले आत्मआलोचना गरेका थिए ।

    ओलीले सरकार सञ्‍चालनका दौरान कयौँ कम्जोरीलाई लिएर बैठकमा आत्मआलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    सरकार सञ्‍चालनका क्रममा भएका कमी कम्जोरीका कारण पार्टीलाई परेको असरका सम्बन्धमा आफूले आत्मआलोचना गर्ने ओलीको भनाई थियो ।

    सरकारका कामकारवाहीबारेमा आत्मआलोचित हुन तयार रहेको उनले बताए ।

    सरकार सञ्‍चालन गर्दा पार्टीसँग गर्ने समन्वयलाई अब जीवन राखेर अघि बढ्ने प्रतिवद्धता उनले व्यक्त गरे । कार्यकारी अध्यक्ष प्रचण्डले सरकारलाई पनि पार्टीबाट सक्दो साथ हुन नसकेको भन्दै आत्मआलोचना गरेका थिए ।

    नेकपाले आगामी २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । यससँगै तत्काल पार्टी र सरकारमा परिवर्तनको छनक नेताहरुले देखाएनन् ।

    जसअनुसार प्रधानमन्त्रीका लागि बामदेव गौतमलाई प्रधानमन्त्री ओलीले ललिपप मात्र देखाएको पुष्टी भएको छ ।

    उनलाई उपयुक्त समय मिलाएर प्रतिनिधिसभामा लैजाने निर्ण भएको समेत बताइएको छ ।

  • सार्क मुलुकमा कोरोना रोकथाम गर्न भुटानपछि नेपाल सफल

    सार्क मुलुकमा कोरोना रोकथाम गर्न भुटानपछि नेपाल सफल

    काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको अहिलेसम्मको अवस्थाका सार्क मुलुकमध्ये भुटान र नेपाल सफल देखिएका छन् ।

    सार्कमा कोभिड– १९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि राम्रो रहेको निकष्कर्षमा सरकारले पुगेको हो ।

    नेपाल र भुटानमा अहिलेसम्म कोरोनाका कारण बिरामीले ज्यान गुमाउनु परेको छैन । यी दुबै मुलुकमा मानिसलाई संक्रमण समेत निकै कम छ ।

    सार्कका आठ देशमध्ये छ मुलुकमा भने कोरोना सङ्क्रमणका कारण मानिसको ज्यान गइसकेको छ ।

    तथ्यांक अनुसार भारतमा शनिबारसम्म एक हजार २२३ व्यक्तिले ज्यान गुमाएका छन् । पाकिस्तानमा ४१७, बङ्गलादेशमा १७५, अफगानिस्तानमा ७२, श्रीलङ्कामा सात र माल्दिभ्समा एक जनाको कोरोनाका कारण ज्यान गएको छ ।

    भारतमा ८९ प्रतिशत भागमा कोभिड– १९ को सङ्क्रमण फैलिएको छ । मन्त्रालयका अनुसार सार्क राष्ट्रमा कोरोना रोकथाममा भूटान, माल्दिभ्स र नेपाल सफल देखिएका छन् ।

    माल्दिभ्समा परीक्षणको दायरा सबैभन्दा बढी रहेको छ । नेपालको प्रति १० लाखमा दुई हजार २९ जनाको परीक्षण गरिएको छ ।

    भूटानमा प्रति १० लाखमा १३ हजार ९१ र माल्दिभ्समा १४ हजार ८१५ जनामा परीक्षण भएको तथ्यांक रहेको छ ।

    जनसङ्ख्याका हिसाबले भने सबभन्दा बढी परीक्षण नेपालमा रहेको मन्त्रालयले जनाएको छ । भारतमा भ प्रति १० लाखमा ६५४ जनामा मात्र परीक्षण भएको छ ।

    अन्य मुलुकमा पनि प्रति १० लाख परीक्षणको मात्र कम रहेको छ ।

    दक्षिण एशियाली मुलुकमा नेपालमा पहिलो पटक कोभिड– १९ को सङ्क्रमण देखिएको हो । नेपालमा ९ माघमा चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा कोभिड– १९ को सङ्क्रमण देखिएको थियो ।

    तर, शनिबारसम्म मात्र ५९ जनामा मात्र कोरोना पुष्टी भएको छ ।

    नेपालमा पीसीआरबाट १३ हजार ९८ र आरडिटीबाट ४८ हजार ५२९ मा परीक्षण गरी जम्मा ६१ हजार ६२७ जनामा परीक्षण गरिएको छ । १६ जना निको भएर घर फर्किएका छन् ।

  • प्रचण्ड र ओलीको समान आशन बनाई शुरु भयो नेकपा सचिवालय बैठक

    प्रचण्ड र ओलीको समान आशन बनाई शुरु भयो नेकपा सचिवालय बैठक

    काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार आज आशनमा नयाँपन दिइएको छ ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओली अगाडी बसेर प्रचण्डसहित अन्य नेताहरु लहरै बस्थे । यस पटक भने प्रचण्ड र ओलीको आशन समान छ ।

    नेकपामा प्रचण्डलाई कार्यकारी अध्यक्ष भनिएपनि व्यवहारमा प्रधानमन्त्री ओलीले पेल्दै आएका थिए ।

    तर, पार्टी भित्र बढेको द्धन्द्ध र त्यसको व्यवस्थापनमा भइरहेका प्रयासका बीच नयाँ दृष्य देखिएको हो ।

    यसलाई धेरैले नेकपा भित्रको विवाद तत्कालका लागि मिल्दै गएको सकेतका रुपमा समेत लिएका छन् ।

  • महोत्तरीमा ११ जनाको मृत्युको कारण अझै खुलेन

    महोत्तरीमा ११ जनाको मृत्युको कारण अझै खुलेन

    महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा पछिल्लो केही दिनयता मानिसहरु बिरामी पर्ने र ज्यानै जाने भइरहेको छ ।

    नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका अनुसार यस स्थानमा अज्ञात रोगका कारण मर्ने मानिसको संख्या ११ पुगेको हो ।

    शनिबार बर्दिवास १२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र भङ्गाहा ६ जमुनियाँका ४८ वर्षीय पलट साहको ज्यान गएको छ ।

    यसलाई जिल्ला प्रहरी कार्यालय महोत्त्तरीले समेत पुष्टी गरेको छ ।

    बर्दिवास, १२ मेघरोल र भङ्गाहा, ७ मेघनाथ गोरहन्नामा गत मंगलबारयता शुक्रबारसम्म आठजनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ।

    मृत्यु हुनेमा बर्दिवास, १२ का चार, भङ्गाहा, ७ का छ र भङ्गाहा, ६ का एक जना छन् । ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका हुन ।

    भङ्गाहा नगरपालिकाका उच्च अधिकारीहरुले घरेलु मदिरा सेवनका कारण स्थानीयको ज्यान गएको हुन सक्ने अनुमान गरिएको प्रतिक्रिया दिएका छन् ।

    शव परीक्षण र मृत्युको कारण पत्ता लगाउन चिकित्सकहरु जुटिसकेको बताइएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट शनिबार डा. अमृत पोखरेल, विश्व स्वास्थ्य सङ्गठनका डा. सुदीपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली बस्तीमा पुगिसकेको छ ।

    टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षमा समेत अनुसन्धान गर्ने भएको छ ।

    जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ संक्रमण हो या होइन यकिन गर्न स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि प्रयोगशाला समेत पठाएको छ ।

    मृतकहरुको आरडीटी जाँच परीक्षणमा भने कोरोना देखिएको छैन । यो थारु, मुसहर, चमार, बाँतरसहित जनजाति र दलित समुदायको उच्च जनघनत्व रहेको क्षेत्र हो ।

    यस क्षेत्रमा एक साता अगाडी सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको बताइएको छ ।

  • कोरोनाविरुद्धको लडाईमा डा. रुना झाको अन्तराष्ट्रिय चर्चा

    कोरोनाविरुद्धको लडाईमा डा. रुना झाको अन्तराष्ट्रिय चर्चा

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध संसार लडिरहेको छ। विश्वभरका लाखौं डाक्टर र नर्स यस रोगलाई परास्त गरी मानव जीवनको रक्षामा अहोरात्र खटिएका छन् ।

    सुरक्षाकर्मी, सफाईकर्मी र अन्य प्रत्यक्ष संलग्नको सूचि लामो छ । यस अभियानमा खटिएका मध्ये नेपालकी चेली डा. रुना झाको नाम यतिबेला अन्तर्राष्ट्रिय चर्चामा आएको छ ।

    कोभिड १९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघ, यूएन वुमेनले सार्वजनिक गरेको छ ।

    जसमा उनी अटाउन सफल भएकी हुन् । डा. झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक हुन् ।

    नेपालमा कोभिड १९ परीक्षणमा उनले नेतृत्व गरिरहेकी छिन्।

    देशभरबाट आउने नमुनालाई अन्तिम परीक्षण गरी कोभिड भए नभएको प्रमाणित गर्ने निकायमा रहेर उनले निडरका साथ निर्वाह गरिरहेको भूमिकाले अन्तर्राष्ट्रिय चर्चा पाएको हो ।

    उनी र उनको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्छ । रातमा अबेरसम्म प्रयोगशालामा बसेर काम गर्नु चानचुने हिम्मतले पुग्दैन ।

    प्राविधिक काममा आफै खटिने उनले आफ्नो टोलीको यातायात, खानेकुरा र अन्य बन्दोवस्तीको व्यवस्थापनमा समेत जुट्नुपर्छ ।

    चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनबाट उनको टोलीले परीक्षण थालेको थियो त्यसयता निरन्तर उनी काममा जुटेकी छिन् ।

    यस सूचिमा जोर्डनमा नयाँ प्रविधिको प्रयोग गरी चर्चामा आएका अमल अल महाईराह र महाडील दबाइबेहको नाम रहेको छ ।

    चीनको ग्रामीण क्षेत्रमा सार्वजनिक सेवा प्रदान गर्ने यान शेङ्लियानको नाम समेत यस सूचिमा जोडिएको छ ।

    काजकस्तानमा हिंसामा परेकालाई सहयोग गर्ने डिना स्माइलोभाको नाम सूचीमा रहेको छ ।

    क्यारेबियन समुदायको आशा जीवित राख्ने प्रयासमा र्‍याङ्किया हेनरीको नाम समेत यस सूचिमा जोडिएको छ ।

  • ‘प्रधानमन्त्रीका मान्छे’ले धम्की दिएको सांसद भट्टको दावी

    ‘प्रधानमन्त्रीका मान्छे’ले धम्की दिएको सांसद भट्टको दावी

    काठमाडौं । राष्ट्रिय सभा सांसद शारदा भट्टले नेकपामा विवाद चर्किरहेका बेला बालुवाटारले चलाएको हस्ताक्षर अभियानमा सहभागी नभए ‘जे पनि हुन सक्छ’ भन्दै प्रधानमन्त्रीका मान्छेले धम्की दिएको दावि गरेकी छिन् ।

    शुक्रबार र शनिबार विभिन्न नेपाली संचारमाध्यमसँगको बयानमा उनले यस्तो दावि गरेकी हुन् । उनका अनुसार नेकपा केन्द्रीय सदस्य गौरी ओलीले फोनबाट यस्तो धम्की दिएको उनको भनाई छ ।

    ओली प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । प्रधानमन्त्रीलाई ढाल्ने तयारी भएको र एउटा हस्ताक्षरले ठूलो काम गर्ने भन्दै ओलीले भट्टलाई हस्ताक्षरका लागि दवाव दिएको भट्टले संचरमाध्यमसँग बताएकी छिन् ।

    आफुलाई सन्चो नभएकाले हस्ताक्षर गर्न नगएको बताउँदा समेत ओलीले चर्को स्वरमा गालीजन्य भाषा प्रयोग गरेको उनले बताएकी छिन् ।

    आफु राष्ट्रिय सभाको सदस्य भएको र त्यहाँ प्रधानमन्त्रीलाई ढाल्ने र जोगाउनेमा कुनै भूमिका नहुने बताउँदा समेत ओलीले संयमता अपनाउन नसकेको उनको भनाई छ । ७० वर्षिय सांसद भट्टलाई ओलीले भोलीका दिनमा जे पनि हुने भन्दै धम्की दिएको उनको दावी छ ।

    नेपालमा यतिबेला प्रधानमन्त्रीमाथि दवाव बढेको छ । विगतका सहमति पालना नगरी दुबै पद ओगटेर बसेका उनीमाथि एक व्यक्ति एक पद लागु हुने पर्ने दवाव छ ।

    त्यसमाथि उनले पार्टीमा सल्लाह नगरी सरकारबाट धमाधम लिएका निर्णय जनताबीच अलोकप्रिय बनेपछि नेताहरु ओलीको विकल्प खोज्ने अभियानमा छन् ।

    यता, प्रधानमन्त्री भने आफ्नो पद जोगाउन हरसम्भव प्रयत्न गरिरहेका छन् ।

  • ताप्लेजुङ बजारमा रातभरी आगलागी, ७ घर जले

    ताप्लेजुङ बजारमा रातभरी आगलागी, ७ घर जले

    ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार पुनः एकपटक आगलागीको चपेटामा परेको छ । शुक्रबार राती करीव १० बजेबाट शुरु भएको आगो रातभरसम्म बलिरह्यो । यसले ठूलो भौतिक क्षति गरेको छ । यद्दपी मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेसम्म पनि रहेको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीले सात वटा घर जलेर नष्ट भएका छन् ।

    पाँच वटा घुम्ती पसलसमेत जलेका छन् । भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । ट्याक्सी काउन्टर लाइनमा रहेको यस पसलबाट यहाँका नयाँ बनेका घरसमेत जलेका छन् ।

    दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    घरहरुमा सल्किएको आगोले घर भित्रका ग्यास सिलिन्डर विस्फोट हुँदा रातको समयमा अझ बढी जोखिम बढेको प्रहरीले जनाएको छ ।

    आगलागी फैलन नदिन केही घर सेनाले आफैले भत्काउनु परेको थियो । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार नियमित आगलागीका घटनाबाट पिडित क्षेत्र हो ।

    यहाँ २०७१ सालमा लागेको आगोले ३५ घर जलेर नष्ट भएका थिए ।

  • आज बस्दैछ नेकपा सचिवालय बैठक, बामदेव प्रधानमन्त्री बन्ने निर्णय होला ?

    आज बस्दैछ नेकपा सचिवालय बैठक, बामदेव प्रधानमन्त्री बन्ने निर्णय होला ?

    काठमाडौं । बुधबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक राजनीतिक कार्ड फ्ँयाकेका छन् ।

    जसमा बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने उल्लेख छ । यो निर्णय पनि कोरोना भाइरसको सन्त्रास सकिएपछि कार्यान्वयनमा ल्याउने भन्ने उल्लेख छ ।

    माधव नेपाललाई अध्यक्ष घोषणा गर्न त कुनै समस्या भएन् । यद्दपी अहिले पनि नेकपामा दुई अध्यक्ष छन् । तर, बामदेवलाई प्रधानमन्त्री बनाउने भन्दै धेरै पापड पेल्न बाँकी छ ।

    यो अवस्थामा प्रधानमन्त्रीको कार्ड केवल आफ्नो सत्ता बचाउन मात्र हो या साच्चिकै उनी परिवर्तन चाहन्छन् भन्ने टुंगो भने आज लाग्नेछ ।

    किनकी शनिबारका लागि नेकपाको सचिवालय बैठक आह्वान गरिएको छ । बैठक अगाडी शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निक सक्रिय बने ।

    प्रधानमन्त्रीको नयाँ खेल पछि प्रचण्ड र माधव नेपालको समूह करीव एकै स्थानमा छ । यसको मतलव केपी ओली अहिले एक्लिएका छन् ।

    उनी बामदेवलाई फकाउने प्रयत्नमा छन् । सचिवालय बैठक अगाडी शुक्रबार चिनियाँ राजदुत होउ यान्छीले यी तीनै जना नेतालाई भेटेकी छिन् ।

    अर्थातः चीनले समेत केही न केही संकेत उनीहरुलाई दिइसकेको छ । ८ वैशाखमा दुई विवादित विधेयक ल्याएपछि प्रधानमन्त्रीसँग सहयोद्धा नेताहरु विच्किए ।

    एकातर्फ विगतका सहमति पालना नगर्ने, अर्कोतर्फ संचारमाध्यम,  आलोचक र विपक्षीको मुख थुन्दै तानाशाह प्रवृत्ति देखाएको भन्दै प्रधानमन्त्रीको आलोचना पनि उत्तिकै भइरहेको छ ।

    प्रधानमन्त्री ओलीले शुक्रबार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेता नेपालसँग बालुवाटारमा छलफल समेत गरिसकेका छन् ।

    प्रचण्ड र नेपालबीच पनि शुक्रबार छुट्टै छलफल भइसकेको छ । यसअघि बुधबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा गृहकार्य गरी शनिबारका लागि बैठक बोलाउने निर्णय गरेको थियो।

  • अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

    अन्ततोगत्वा अमेरिकाबाट आयो कोरोनाको औषधी

    न्युयोर्क

    अमेरिकामा फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड -१९ का सिकिस्त बिरामीलाई ‘रेमिडिसिभर’ नामक औषधी प्रयोग गर्न स्वीकृती दिएको छ । गिलिएड सायन्स नामक निर्माण कम्पनीले निर्माण गरेको रेमिडिसिभरलाई शुक्रबार एफडिएले स्वीकृती दिएको हो । एफडिएले रेमिडिसिभरलाई कोभिड -१९ का बिरामीको उपचारमा प्रयोग गर्न स्वीकृती दिएसंगै कोभिड उपचारका लागि चिकित्सकहरुलाई निकै सहज हुने बताइएको छ । यस अगाडि कोभिड-१९ का बिरामीको उपचारमा चिकित्सकहरु “क्लिनिकल ट्रायल” को रुपमा बिभिन्न औषधी प्रयोग गरी उपचार गर्दै आएका थिए भने अब चिकित्सकहरुले अस्पातलमा उपचारत  कोभिड बिरामीलाई “रेमिडिसिभर” लाई प्रेस्क्रिप्सनमा लेख्न पाउने छन् ।  यसको मतलब अस्पताल भर्ना भएका प्रत्येक बिरामीलाई भने रेमिडिसिभर सिफरिस गर्न पाईने छैन ।  

    यसै हप्ताको सुरुवातमा डक्टर एन्थोनी फुसिले रेमिडिसिभर औषधीको बृहत अध्ययनले कोभिड -१९ का बिरामीलाई छिट्टै निको पार्न सकिने प्रष्ट संकेत देखी सकेको बताएका थिए ।  

    रेमिडिसिभरलाई तात्कालिन अवस्थामा ईबोला उपचारको लागि गिलिएड सायन्सले निर्माण गरे पनि ईबोलाको उपचारको लागि उक्त औषधीको परिणाम सकारात्मक देखिएको थिएन । शुक्रबार बिहान गिलिएडका सिईओ डेनियल वोडेले;  “हामी अब भाईरसको लागि तयार छौं” भनेका छन् । रेमिडिसिभरलाई सुरुमा ईन्ट्राभेनस थेराफी (आई भि) मार्फत सिकिस्त बिरामीलाई प्रयोग गरिने वोडेले बताएका छन्  ।  

    एफडिएले रेमिडिसिभरलाई स्वीकृती दिनु अगाडि शुक्रबार ह्वाईट हाऊसमा राष्ट्रपति ट्रम्प सहित एफडिए कमिस्नर स्टेफन हाङ औषधी निर्माणकर्ता कम्पनी गिलिएड सायन्सका सिईओ डेनियल  वोडे हेल्थ एण्ड ह्युमन सर्भिस सेक्रेटरी एलेक्स अजर लगायतको मिटिङ भएको थियो ।

  • भारतमा लम्बियो लकडाउन, तर खुकुलो पार्दै लैजाने रणनीति

    भारतमा लम्बियो लकडाउन, तर खुकुलो पार्दै लैजाने रणनीति

    नयाँ दिल्ली । भारतमा लकडाउन दुई साताका लागि बढाइएको छ । कोरोना भाइरस फैलिन नदिन भारतमा लकडाउन थप्ने निर्ण भएको हो ।

    मे ३ तारिखमा सकिन लागेको अहिलेको लकडाउनको अवधि भारत सरकारले शुक्रबार १७ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।

    अब १४ दिन थपिएको लकडाउनको प्रवृत्ति भने विगतको भन्दा फरक हुने भएको छ । भारतले रेड, ओरेन्ज र ग्रीन जोन छुट्याएको छ ।

    जहाँ अतिप्रभावित क्षेत्रलाई रेड जोनमा राखिएका छ । यहाँ लकडाउन कडा हुनेछ । यसको पालना अनिवार्य गर्नुपर्ने भएको छ ।

    १४ दिनसम्म रेड जोन घोषित क्षेत्रमा कुनै किसिमको सुविधा र छुट पाइने छैन । लकडाउनमा पनि रेल र बस संचालनमा रोक लगाइएको छ ।

    स्कुल, कलेज तथा अन्य भेला हुने स्थान पनि बन्द हुने छन् । तर, ओरेन्ज र ग्रीन जोनमा भने लकडाउन केही खुकुलो हुने भएको छ ।

    ग्रीन र ओरेन्ज जोनमा ई कमर्समार्फत सुरक्षित रुपमा हुने व्यापारलाई अनुमति दिइएको छ। यी जोनमा अत्यावश्यक बाहेकका सामान पनि आपूर्ति हुने भएका छन् ।

    ग्रीन जोनमा आधा मात्र यात्रु राखेर बस समेत चलाउन सकिने भएको छ । ग्रीन जोनका बस डिपोमा ५० प्रतिशत मात्रै कर्मचारीले काम गर्नुपर्नेछ ।

    भारतमा पछिल्लो दिनमा कोरोनाको फैलावट तिब्र छ ।

    तर, चरम गरिबीको रेखामुनी ठूलो जनसंख्या रहेको यस मुलुकमा लकडाउनलाई लामो समय कायम राख्न भने ठूलो समस्या रहेको छ ।

    यहाँ अहिलेसम्म ३५ हजार ४३ जनालाई कोरोना देखिएको छ। ११ सय ५४ जनाले ज्यान गुमाएका छन् । भारतमा ९ हजार ६८ जनाले कोरोना जितिसकेका छन् ।

  • नेकपा कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन, इन्डो-प्यासिफिक रणनीति कै अंश भएको निष्कर्ष

    नेकपा कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन, इन्डो-प्यासिफिक रणनीति कै अंश भएको निष्कर्ष

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी) सम्बन्धी अध्ययन कार्यदल एमसीसी कार्यक्रम इन्डो-प्यासिफिक स्ट्राटेजी (हिन्द प्रशान्त रणनीति) कै अंश भएको निष्कर्षमा पुगेको छ ।

    आफ्नो अन्तिम प्रतिवेदन तयार पारेको कार्यदलले उक्त निष्कर्ष निकालेको हो ।

    पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल, नेताद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहेको कार्यदलले एमसीसीका कतिपय प्रावधान संशोधन नगरी पास गर्न नहुने सुझाव समेत दिएको छ ।

    कार्यदलले कूल ११ बुँदा संशोधन गर्न सुझाव दिएको छ ।

    अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षा रणनीतिको एउटा महत्वपूर्ण बुँदाको रुपमा हिन्द प्रशान्त रणनीति ल्याइएको र यी सबै रणनीतिको अंगको रुपमा एमसीसी अन्तर्गतको कार्यक्रम सञ्चालन गरिएको नेकपा कार्यदलको निष्र्कष रहेको छ ।

    ‘एमसीसीको कार्यक्रम आर्थिक योजनासंग सम्बन्धित देखिए पनि यो अमेरिकी सरकारको सुरक्षा लक्ष्य र कार्यक्रमसँग घनिष्ट रुपमा जोडिएको बताइएको छ ।

    एमसीसी अन्तर्गत नेपाललाई प्राप्त हुने अनुदान अमेरिकी सामरिक र रणनीतिक लक्ष्य अन्तर्गत हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित नभएको र नहुने कुरा सुनिश्चित हुनेगरी नेपाल र अमेरिकाका बीच प्रष्ट नभएसम्म पास गर्न नहुने समेत सरकारलाई सुझाव दिएको छ ।

    कुनै पनि सैनिक वा राजनीतिक शक्ति गठबन्धनमा सामेल हुने वा कसैको सुरक्षा छाता अन्तर्गत रहने विषय नेपालको संविधान तथा नेपाल कम्युनिस्ट पार्टीको नीति र सिद्धान्तअनुसार अमान्य भएको समेत प्रतिवेदनमा उल्लो गरिएको छ ।

    यस प्रतिवेदनमा भने परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले भने फरक मत राखेका छन् ।

    उनले परियोजनाको सुरक्षाका नाममा अमेरिकी सेनाको प्रवेश हुने, शिविरहरू खडा हुने, यसले भूराजनीतिक द्वन्द्व सिर्जना हुने, यस परियोजनाले अन्य छिमेकी मुलुकहरूसँग नेपालले गरेका सम्झौताहरू अवरुद्ध हुने, सम्झौता अमूक सम्झौताभन्दा पनि बढी ‘राष्ट्रघाती भएको भन्दै गरिएका प्रचार भने भ्रामक रहेको उल्लेख गरेका छन् ।

    नेकपामा एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा विवाद चर्किएपछि नेकपा केन्द्रीय समितिको पूर्ण बैठकले कार्यदल गठन गरेको हो ।

    यस कार्यदलले ९ फागुनमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । कांग्रेस नेतृत्वको सरकारका पालामा सम्झौता भएका कारण एमसीसी पास हुनुपर्ने पक्षमा भने कांग्रेस रहेको छ ।

  • नेपालमा थपिए दुई संक्रमित, ५९ जनामा पुष्टी

    नेपालमा थपिए दुई संक्रमित, ५९ जनामा पुष्टी

    काठमाडौं । नेपालमा कोरोनाका दुई संक्रमित थपिएका छन् । शुक्रबार रुपन्देही र बाँकेमा कोरोना भाइरसका संक्रमित भेटिएका हुन् ।

    यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रूपन्देहीका संक्रमित युवक वैशाख ५ गते भारतबाट आएका थिए ।

    उनी चोर बाटोबाट प्रहरीको आँखा छलेर नेपाल आएका थिए । उनी नेपाल आउँदा सीमा नाका बन्द थियो । कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट घर आएका हुन् ।

    उनका दाजुले भारतीय सीमा क्षेत्रबाट घर नलगी क्वारेन्टाइन स्थलमा पुर्‍याएका कारण उनले धेरै जनाका कोरोना नसारेको पुष्टी भएको छ ।

    यहाँ पनि समुदायमा भने कोरोनाको भाइरस देखिएको छैन । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रदेश नं ५ मा पहिलो पटक संक्रमण देखिएको हो ।

  • कोरोना चिनियाँ प्रयोगशालाबाटै फैलिएको ट्रम्पको दावि

    कोरोना चिनियाँ प्रयोगशालाबाटै फैलिएको ट्रम्पको दावि

    वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको दावि गरेका छन् ।

    कोरोना भाइरस चीनको भाइरोलोजी प्रयोगशालाबाट फैलिएको र यसका लागि आधारहरु समेत रहेको उनले बताए ।

    यद्दपी उनले त्यसको आधार सार्वजनिक गर्न भने नमिल्ने उल्लेख गरेका छन् । कोरोना भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको पुष्टी हुने आधार रहेको तर, त्यसलाई सार्वजनिक भने गर्न नमिल्ने राष्ट्रपति ट्रम्पको दावि छ ।

    नियमित प्रेस भेटघाटका क्रममा उनले यस्तो दाव गरेका हुन् । त्यसअघि उनले बुधबार समाचार एजेन्सीलाई दिएको अन्तरवार्तामा समेत यसको दावि गरेका थिए ।

    तर, ट्रम्पको दाविलाई चीन सरकार मातहतको वुहान इन्सिटियूट अफ भाइरोलोजीले भने निराधार बताउँदै आएको छ ।

    विज्ञहरूले भने यो भाइरस ल्याबबाट नभएर मासु बजारबाट जनावर हुँदै मानिसमा सरेको बताइसकेका छन ।

    केही समय यता भाइरसका कारण चीन र अमेरिकाको सम्बन्ध चिसिएको छ ।

    चीनसँग निजक भएको भन्दै ट्रम्पले विश्व स्वास्थ्य संगठनको समेत सहयोग रोक्का गरिदिएका छन् । तर, कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिका नै बनेको छ ।

  • अफ्ठयारो मौका छोपेर अस्थिरता ल्याउन खोजियो : प्रधानमन्‍त्री

    अफ्ठयारो मौका छोपेर अस्थिरता ल्याउन खोजियो : प्रधानमन्‍त्री

    काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले अफ्ठ्यारो अवस्थाको मौका छोपेर मुलुकमा अस्थरता निम्त्याउन खोजिएको आरोप लगाएका छन् ।

    शुक्रबार मजदुर दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रधनमन्त्रीले अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका प्रयास भएको बताएका छन् ।

    यस्तो कमद दुःखद् भएको भन्दै आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य नहुने उनको भनाई छ ।

    त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्दै उनले आश्वस्त पार्न खोजेका छन् । प्रधानमन्त्रीले श्रमजीवी वर्ग दुःख गरेर सुखको सपना देख्ने वर्ग भएको समेत उल्लेख गरेका छन् ।

    श्रमजीवी वर्ग परिवर्तनको संबाहक भएको समेत उनको भनाई छ । सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैं अघि सरेर समस्याको सामना गर्न सक्ने वर्ग समेत श्रमजीवी वर्ग भएको उनले सन्देशमा उल्लेख गरेका छन् ।

    कोरोना भाइरसका कारण उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति दुःखी भएको उनको भनाई छ ।

    एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा शहर र बजार पसेका, तर शहर र बजारले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौं नेपाली युवा श्रमिक विभिन्न मुलुकमा कार्यरत रहेको उनले स्मरण गरेका छन् ।

    युवाहरु विदेशिने यी र अन्य विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति भएको भन्दै कोरोना भाइरसको महामारीका कारण सबैको रोजगारीमा समस्या आएको बताएका छन् ।

    न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिक छन् । यसबाट सिर्जना भएको पीडाप्रति आफु जानकार तथा संवेदनशील रहेको उनले बताएका छन् ।