Category: फिचर

  • अमेरिकाले भन्यो नेपाल आतंकबादी संगठनको गतिबिधिका लागि ठुलो अखडा

    अमेरिकाले भन्यो नेपाल आतंकबादी संगठनको गतिबिधिका लागि ठुलो अखडा

    न्युयोर्क

    आतङ्कवाद संवन्धि संयुक्त राज्य अमेरिकाको वार्षिक प्रतिवेदनले ‘नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने’ खतरा औँल्याएको छ।

    अमेरिकी विदेश मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ‘कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८’ मा नेपालबारे पनि चर्चा गरिएको छ।

    प्रतिवेदनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएका घटनालाई ‘आन्तरिक आतङ्कवादी गतिविधि’को रूपमा प्रस्तुत गरेको छ।

    सन् २०१८ मा नेपालमा कुनै अन्तर्राष्ट्रिय आतङ्कवादी गतिविधि नभए पनि आन्तरिक आतङ्कवादका घटनाहरू भएको प्रतिवेदनमा जनाइएको बि बि सी नेपालीमा लेखिएको  छ ।  

    सन् २०१७ को अन्त्यतिर सम्पन्न प्रान्तीय र सङ्घीय चुनावका बेला मतदातालाई तर्साउने अथवा सरकारी अधिकारीहरूलाई निसाना बनाउने घटना भए पनि सन् २०१८ मा आन्तरिक आतङ्कवादका घटना कमै देखिएको प्रतिबेदनमा उल्लेख्य गरेको पनि बि बि सिले लेखेको छ ।  

    प्रतिवेदनमा नेपालबारे उल्लेख गरिएकाका मुख्य बुँदा यस्ता छन्:

    • सन् २०१८ मा अन्तर्राष्ट्रिय आतङ्कवादी घटना नभएको
    • सन् २०१७ को तुलनामा सन् २०१८ मा आन्तरिक आतङ्कवादका कम घटना भएको
    • सन् २०१८ मा भएका अधिकांश घटनाका लागि नेपाल सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई जिम्मेवार ठहर्‍याएको
    • ‘विप्लव समूह’ का गतिविधिमाथि नेपालका सुरक्षा निकायहरूले निगरानी राख्ने क्रम जारी राखेको
    • खुला सिमाना र काठमाण्डूस्थित देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा व्यवस्थाका कारण नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने
    • इण्डियन मुजाहिद्दीन नामक सङ्गठनले नेपालमा पनि आफ्ना गतिविधि विस्तार गरेको र उसका गतिविधि सञ्चालनका लागि नेपाल अहिले सबैभन्दा ठूलो अखडा बनेको
    • नेपालमा विमानस्थलमा सुरक्षा व्यवस्था कमजोर र अपर्याप्त
    • काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीहरूको प्रि-स्क्रीन नहुने गरेको र डेटाबेसमा ल्यान्डिङ डेटा समावेश नगर्ने गरिएको
    • यात्रीहरूको शरीरको सुरक्षा जाँच सामान्य खालको भएको
    • यात्रासम्बन्धी कागजपत्रको सुरक्षा जाँच गर्ने ‘अल्ट्राभाइलेट लाइट’ को व्यवस्था विमानस्थलमा नभएको
    • सूचनाका लागि नेपाली अध्यागमनका अधिकारीहरूसम्म पहुँच सजिलो भए पनि उनीहरूसँग नगण्य सूचना हुने
    • भारतसँगको खुला सिमानाका सुरक्षा जाँच चौकी थोरै भएको र एउटा जाँच चौकीमा एक जना मात्र सुरक्षा  अधिकारी पनि  हुने गरेको उदाहरण
    • सीमा काट्नेहरूलाई न त रोकिने गरिएको न त सुरक्षा जाँच गर्ने गरिएकोले निगरानीलाई उनीहरूले छल्न सक्ने अवस्था रहेको

    संयुक्त  राज्य अमेरिकाकी प्रतिबेदनपछि नेपाल स्थित पूर्वगृहसचिव श्रीकान्त रेग्मीको भनाई “प्रतिवेदनमा भएका कुरालाई ठाडै खारेज गर्ने अवस्था छैन । किनभने विगतमा इण्डियन मुजाहिदीनका मानिसहरूलाई पक्राउ गरी भारतलाई बुझाएको उदाहरण पनि हामीसँग छन्।” भन्दै बि बि सि नेपालीले उल्लेख्य गरेको छ ।  

    प्रतिबेदनका बारेमा गृह सचिब प्रेमकुमार राईलाई संपर्क गर्दा प्रबक्तालाई देखाँउदै पन्छिएको, प्रबक्ताको फोन अफ गरिएको तथा शान्ती सुरक्षा तथा अपराध नियन्त्रण शाखाका अधिकारी उमाकान्त अधिकारिले प्रतिबेदन बारे अनभीज्ञता प्रकट गरेको समेत उल्लेख गरेको छ ।

  • सागमा नेपालको सहभागिता शतप्रतिशत खेलमा, भारतले क्रिकेट नखेल्ने

    सागमा नेपालको सहभागिता शतप्रतिशत खेलमा, भारतले क्रिकेट नखेल्ने

    काठमाडौं । संसारकै उत्कृष्ट टोली मानिने भारतीय क्रिकेट टीमले नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदमा भने सहभागिता नजनाउने भएको छ ।

    सामान्यतया क्षेत्रीय खेलहरुमा दोस्रो, तेस्रो डिभिजनका खेलाडी पठाउने प्रचलन छ । तर, भारतले यस पटक क्रिकेटमा भाग नै नलिने भएको छ । सागमा कूल २७ खेल हुने नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।

    सागमा कूल २७ खेल आयोजना हुँदैछन् । यी सबै खेलमा नेपालले भने भाग लिने छ । शतप्रतिशत खेलमा भाग लिने नेपाल एक मात्र मुलुक बनेको छ । भारतले १७ खेलमा मात्र भाग लिने गरी नेपाललाई सूचि पठाएको छ ।

    भारतले क्रिकेट,आर्चरी, गल्फ, कराँते, कबड्डी, प्याराग्लाइडिङ, टेबुलटेनिस, लनटेनिस, तेक्वान्दो र कुस्तीमा भाग नलिने बताएको हो । यी सबै खेलमा भारतको अब्बल दर्जा कायम छ ।

    ऊ अब क्रमशः दक्षिण एसियालीस्तरभन्दा माथिको स्तरमा मात्र आफ्ना खेलाडी भिडाउने गर्छ । सागमा बंगलादेश र श्रीलंकाले २५ खेलमा सहभागि हुने निश्चित गरी नेपाललाई सूचि पठाएका छन् ।

    पाकिस्तान १८ र भुटान १४ खेलमा सहभागि हुनेछन् । माल्दिभ्स ११ खेलको प्रतिस्पर्धामा उत्रिने छ । सागका खेलहरु पोखरा र काठमाडौंमा संचालन हुनेछन् ।

  • सकियो डीभी भर्ने समय, हजारौं नयाँ पासपोर्ट थपिए

    सकियो डीभी भर्ने समय, हजारौं नयाँ पासपोर्ट थपिए

    काठमाडौं । सन् २०२१ का लागि डाइभर्सिटी भिसा (डिभी) कार्यक्रममा सहभागी हुन फारम भर्ने समय सकिएको छ ।

    यस वर्षदेखि अमेरिकाले डीभीमा पासपोर्टको विवरण अनिवार्य गरेपछि एक महिनाको अवधिमै हजारौं नयाँ पासपोर्ट थपिएका छन् । एक महिनाको अवधीमा २१ हजार ३ सय ४० जनाले दू्रत गतीमा नयाँ पासपोर्ट निकालेका छन् ।

    यो प्रक्रियाबाट धेरै रकम तिरेर छिटो पासपोर्ट निकाल्न सकिन्छ । डिभी खुलेको एक महिनाको अवधिमा कूल ३८ हजार २ सय ७२ आवेदन प्राप्त भएको राहदानी विभागको तथ्यांकमा उल्लेख छ ।

    त्यसमध्ये आधाभन्दा बढी नेपालीले फास्ट ट्र्याक माध्यमबाट पासपोर्ट निकालेका छन् । यसको मतलव ती पासपोर्ट डीभीको प्रयोजनका लागि निकालिएका थिए ।

    यस वर्षबाट डिभी भर्दा पासपोर्ट नम्बर र पासपोर्टको एक्सपायर डेट अनिवार्य लेख्नु पर्ने प्रावधान ल्याइएको थियो । अमेरिकामा स्थायी बसोबासका लागि जाने लोभमा धेरै नेपालीले डीभी भर्छन् । तर, आफूले सोचेजस्तो नभएपछि धेरै नेपाली अमेरिका पुगेपछि पनि सन्तुष्ट भने देखिदैनन् ।

  • भारतको नयाँ नक्सा विवादित, नेपालको भूभागलाई भारतमा राखियो

    भारतको नयाँ नक्सा विवादित, नेपालको भूभागलाई भारतमा राखियो

    काठमाडौं । भारतको नयाँ नक्सा विवादित बनेको छ । नेपालको ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन भारततर्फ राख्दै नयाँ राजनीतिक नक्सा भारतले सार्वजनिक गरेपछि त्यसले नेपाल र भारतबीचको सीमा विवाद पुनः सतहमा आएको हो ।

    भारतले शनिबार आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । नक्साको विश्लेषण गर्दा नेपालको भूभागसमेत भारतका पारिएको फेला परेको छ ।

    नेपालका सुदुरपश्चिम प्रदेशमा पर्ने दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले आफ्नो भूभागमा राखेको छ । त्यसो त यी भूमि आफ्नो भएको भन्दै भारतले निकै समयदेखि नेपालसँग बखेडा झिक्दै समेत आएको छ ।

    जम्मू–कश्मीर औपचारिक रूपमा केन्द्र शासित राज्यमा विभाजित भएसँगै भारत सरकारले नयाँ नक्सा सार्वजनिक गरेको हो र भारतीय नक्सामा कालापानी क्षेत्रको ६२ वर्ग किलोमिटर क्षेत्र भारततर्फ पारिएको छ ।

    लिपुलेक क्षेत्रको समेत झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र भारतमा पारिएको छ । यहाँ भारतको अतिक्रमण रहेको छ । यसअघि नक्सामा नभएपनि भारतले भौतिक रुपमा अतिक्रमण तिब्र बनाएको थियो ।

    भारतले आफ्नो भनेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको नक्सामा पनि समावेश छन् । नेपालले गत साल फागुनमा मात्र नयाँ नक्सा सार्वजनिक गरेको हो ।

    यो क्षेत्र भारतले अतिक्रमण गरेपनि नेपालकै भूभाग भएको नेपाली सरकारी अधिकारीहरु बताउँछन् । नेपालको भूभाग भारतले नक्सामा राखेपछि नेपालमा भने त्यसको व्यापक विरोध शूरु भएको छ ।

    कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतले यसको विरोध गरेका छन् । यो समस्याको सिघ्र समाधान खोज्न नेपाल सरकारको ध्यानाकर्षण समेत गराइएको छ ।

  • भूटानी ग्रामिण भेगमा पुगे विराट र अनुष्का, स्थानीयले चिनेनन्

    भूटानी ग्रामिण भेगमा पुगे विराट र अनुष्का, स्थानीयले चिनेनन्

    भूटान । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली आफ्नी जीवनसंगिनी अनुष्का शर्माका साथमा बिदा मनाउन निस्किएका छन् । मंगलबार उनको ३१ औं जन्मोत्सव ।

    यसैक्रममा उनी श्रीमतीका साथ भूटान पुगेका हुन् । भूटान यात्राका केही तस्वीर अनुष्काले सामाजिक संजालमार्फत सार्वजनिक गरेकी छिन् । उनले रमाइलो अनुभव समेत साटेकी छिन् ।

    उनले टुइट गर्र्दै विराट र आफ्नो भ्रमणको बयान गरेकी हुन् । उनीहरु भूटानको एक साना गाउँमा पुगेका छन् । जहाँको आतिथ्यले आफूहरु निकै प्रभावित भएको उनले उल्लेख गरेकी छिन् ।

    भारतका जारी बंगलादेशसँगको टी२० अंतर्राष्ट्रीय सिरिजमा आराम पाएसँगै बिराट घुमघाममा निस्किएका हुन् । यी दुई जोडीको तस्वीरले मंगलबार भारतीय संचालमाध्यम छाएको छ ।

    मंगलबार उनीहरु करीव ८ किलोमिटरको पैदल यात्रा गरेको हनुष्काले उल्लेख गरेकी छिन् । गाउँमा उनीहरु घरपालुवा जनावरसँग खेल्ने र भूल्ने मौका पाएका छन् ।

    स्थानीयले निकै आत्मियता देखाएपनि आफूहरुको बारेमा उनीहरुले केही थाहा नपाएको अनुष्काले उल्लेख गरेकी छिन् ।

    नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपालले पनि यस्ता सेलिब्रेटीलाई आकर्षित गर्न सक्ने हो भने मुलुकको प्रवद्र्धनमा निकै महत्वपूर्ण भूमिमा खेल्ने थियो ।

  • दैलेखमा सफल होला पेट्रोलियम अन्वेषण ?

    दैलेखमा सफल होला पेट्रोलियम अन्वेषण ?

    दैलेख । दैलेख पेट्रेलियम पदार्थको उच्च सम्भावना भएका क्षेत्र मानिन्छ । खासगरी प्राकेतिक ग्यासका कारण बल्ने दियोले यहाँ पेट्रोलियम पदार्थको भण्डार रहेको देखिएको छ ।

    यही सम्भावनालाई अब नेपाल र चीनले संयुक्त रुपमा अन्वेषण गर्ने भएका छन् । नेपाल सरकार र चीन सरकारबीच दैलेखको पेट्रोलियम अन्वेषण गर्ने सम्झौता भएको थियो ।

    पेट्रोलियम पदार्थको सम्भावना देखिएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम शुरु भएको हो । चिनियाँ टोली अहिले दैलेखमा क्याम्प खडा गरी बसेको छ । डुगेश्वर गाउँपालिका–१ चुप्राबजार नजिकै क्याम्प बनाइएको छ ।

    अब सर्वेको काम शुरु हुने बताइएको छ । दैलेख सदरमुकाममा सर्भे कार्यालय स्थापना भएको छ । अन्वेषणले पेट्रोलियम पदार्थ रहेको भूभाग र परिणामको आंकलन हुने बताइएको छ ।

    यो आयोजनाले सफलता पाए नेपालको इन्धन व्यवस्थापनमा ठूलो सहयोग पुग्नेछ । किनकी अहिले भारतबाट नेपालले २ खर्बभन्दा बढी रकम पेट्रालियम पदार्थमा मात्र पठाउने गरेको छ ।

  • देउवाको गृह जिल्ला पुगेर गोविन्द केसीले थाले अनसन

    देउवाको गृह जिल्ला पुगेर गोविन्द केसीले थाले अनसन

    डडेलधुरा । विगतका सहमति सरकारले पालना नगरेको भन्दै डा. गोविन्द केसी अनसनमा बसेका छन् । उनले यस पटक सरकारी निकाय नभई एक सर्वसाधारणको घरलाई छनोट गरेका छन् ।

    पूर्वसहमति कार्यान्‍वयनको माग गर्दै उनी कांग्रेस सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर अनसन थालेका हुन् । यो उनको १७ औं अनसन हो ।

    उनले सरकारी जागिरबाट अवकास पाएपछि भने पहिलो पटक अनसन बस्न लागेका हुन् । उनले आफ्ना माग पुरा गर्न भन्दै सरकालाई १३ कार्तिकसम्मको समय दिएका थिए ।

    त्यसबेला तिहार परेपछि केही समय सारेर उनी अनसनमा बसेका हुन । अनसन थाल्नु अघि केसीले पत्रकार सम्मेलन गरेका थिए । उनले १० साउन २०७५ मा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न माग गरेका छन् ।

    विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्थाको समेत माग गरेका छन् ।

    आंदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने उनको माग छ ।

    अर्बौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गर्न समेत उनले माग गरेका छन् ।

    नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्थाको माग समेत उनको छ ।

    संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गर्न उनले आह्वान गरेका छन् ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याउन समेत उनले माग गरेका छन् । प्रदेश नं दुई र चार तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन समेत उनले माग गरेका छन् ।

    क्यान्सरलगायतका महंगा औषधि भारतभन्दा ४, ५ गुणा महंगो भएको भन्दै उनले सुपथ मूल्यमा उपलब्ध गराउनु पर्ने समेत बताएका छन् ।

  • नेपाल र यूइएबीच वार्ता, कामदारको पक्षमा के भयो सहमती ?

    नेपाल र यूइएबीच वार्ता, कामदारको पक्षमा के भयो सहमती ?

    नेपाल र यूएईबीच द्धीपक्षीय बैठक राजधानीमा सम्पन्न भएको छ । आइतबारबाट दुई दिनसम्म चलेको बैठकले नेपाली कामदारको पक्षमा महत्वपूर्ण निर्णयहरु गरेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालय स्रोतका अनुसार अब कामदारले म्यानपावरमा लाग्ने सेवा शुल्क, भिसा शुल्क, हवाई टिकट र मेडिकल शुल्क कुनै पनि तिर्नु नपर्ने गरी सहमती भएको छ ।

    यस पटक दुई देशको श्रम सहसचिवस्तरीय बैठक बसेको हो । यसअघि मन्त्रीस्ततीय सहमतिलाई कार्यान्वयनको तहमा लैजान यो बैठक आयोजना भएको बताइएको छ ।

    दुई मुलुकबीच यसअघि भएको श्रम समझदारीअनुरुप सेवा शुल्क भुक्तानी र कामदार भर्ना प्रक्रियाको स्वरुप टुंग्याइएको मन्त्रालयले जनाएको छ ।

    अब नेपाली कामदारले सेवा शुल्क, भिसा शुल्क, हवाई टिकट र मेडिकल शुल्क र यूएईमा श्रमिक कार्ड बनाएबापतको रकम पनि तिर्नु नपर्ने गरी सहमति कार्यान्वयनमा आएको छ ।

    म्यानपावरको सेवा शूल्क रोजगारदाताले नै दिनु पर्नेछ । भिसा शुल्क यूएई सरकारले छूट दिएको छ । हवाई टिकट रोजगारदाता कम्पनी स्वयमले काटिदिनुपर्ने भएको छ ।

    मेडिकलको शुल्क म्यानपावर कम्पनीले तिरिदिनुपर्ने र्भको छ । यस्तो रकम भने रोजगारदाता कम्पनीले नै म्यानपावरलाई फिर्ता गर्छ । नेपाल र युएईबीच ३१ जेठ २०७६ मा श्रम समझदारी भएको थियो ।

  • आलमविरुद्ध ३२ वर्षको जेल सजाए माग, मुदा दर्ता

    आलमविरुद्ध ३२ वर्षको जेल सजाए माग, मुदा दर्ता

    रौतहट । इटा भट्टामा मान्छेलाई जिउँदै जलाउने जघन्य अपराधको अभियोगमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमविरूद्ध जिल्ला अदालत रौटहतमा अभियोग पत्र दर्ता भएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले रौटहत बमकाण्डका प्रमुख आरोपीआलमसहित १० जनाविरूद्ध अभियोग पत्र दर्ता गरेको हा । मूख्य आरोपी आलमसहित दस जनाविरुद्ध भिन्नाभिन्नै तीन कसूरमा अलग-अलग सजाय र एक जनालाई मतियार कायम गरी अदालतमा अभियोग पत्र दर्ता भएको हो ।

    आरोपीहरुविरुद्ध कूल ३२ वर्ष सजायको माग गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ । अभियोग पत्रमा उल्लेख अनुसार यी व्यक्तिहरुले एक दर्जन व्यक्तिलाई इँटाभट्टामा लगेर जिउँदै जलाएर मारेको उल्लेख छ ।

    बम विस्फोटबाट घाइते तथा त्यसको विरोध गर्ने गाउँलेहरुलाई समेत जिँउदै इटा भट्टामा पोलेर मार्ने धन्दा गरेका सांसदलाई प्रहरीले पक्राउ गरेको छ । अन्य प्रतिवादी भने फरार छन् ।

    रौतहट बमकाण्डको कसूरमा आलमसहित शेख भदई, मोबिन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन् भन्ने शेख मलकार, गौरीशंकर साह र मुक्ति साहलाई प्रतिवादी बनाइएर अभियोग पत्र दर्ता भएको छ ।

    अफताब कांग्रेसका सांसद हुन् । अन्य फरार प्रतिवादीहरुविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । अभियोग पत्र दर्ता भएसँगै मंगलबार थुनछेक बहस शुरु हुने भएको छ ।

    २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचन मूखमै रौतहटको तत्कालिन राजपुर गाविस, ४ फरहदवामा बम बिस्फोट गराइएको थियो ।

    सोही घटनामा व्यक्तिहरुलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप लागेको छ । यस क्रममा प्रहरीको समेत मिलेमतो देखिएको पिडितहरुले बताएका छन् ।

    रौतहट बम काण्डमा रुक्सना खातुन र श्रीनारायणसिंह राजपुतले आलमसहितका व्यक्तिमाथि किटानी जाहेरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।

    प्रहरीले प्रत्यक्षदर्शी र पीडकसमेतको बयान संलग्न गराई मानिसहरुलाई इँटाभट्टामा जलाएर मारेको देखिएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

    सोही प्रतिवेदनका आधारमा कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो । आलमले भने बम नै विस्फोट नभएको बताउँदै आएका छन् । तर, पिडितहरुको बयान अनुसार निकै दर्दनाक तरिकाबाट मानिसहरुलाई मारिएको थियो ।

  • अदालतले महरालाई पठायो जेल, अदालतबाट भावुक मुद्रामा निस्किए

    अदालतले महरालाई पठायो जेल, अदालतबाट भावुक मुद्रामा निस्किए

    काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

    यससँगै महराको सांसद पदसमेत गुमेको छ । अब उनी अन्तिम फैसला नआएसम्म कारागार चलान भएका छन् । सोमबार थुनछेक बहस सकिएपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको थियो ।

    आदेश आफूले सोचे विपरित आएपछि महरा निकै भावुक बनेका थिए । उनीमाथि आरोप लगाउने रोशनीले भने पटक पटक बयान फेर्दै महरा निर्दोष रहेको बताउँदै आएकी छिन् ।

    तर, अदालतले भने घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिने भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    अब मुद्धाको अन्तिम टुंगो लागेपछि निर्दोष सावित भए उनी घर फर्कन पाउने छन् नभए जेल सजाय भोग्नु पर्ने छ । प्रहरीले महरालाई डिल्लीबजार कारागार लगेको छ ।

    उनी पक्राउ पछि रोशनीले भने महराले आफूमाथि कुनै अपराध नगरेको बताउँदै आएकी छिन् । सोमबार पनि इजलासमा बोल्न खोजेकी उनलाई न्यायाधिसले बोल्ने अनुमति दिएनन् ।

    उनले घटना भएको राती नै सांसदहरुलाई एसएसएस गरेपछि यो घटना सार्वजनिक भएको थियो । त्यसलगत्तै एक संचरमाध्यमबाट उनको भिडियो सार्वजनिक भयो ।

    तर, लगत्तै उनले बयान फेर्दै महरा निर्दोष रहेको बताएकी थिइन् । तर, प्रहरीले अन्य प्रमाणका आधारमा महराबाट अपराध भएको निष्कर्षमा पुगी प्रतिवेदन बनाएको थियो ।

  • सरकारले सातै प्रदेशमा तोक्यो नयाँ प्रमुख

    सरकारले सातै प्रदेशमा तोक्यो नयाँ प्रमुख

    काठमाडौं । सरकारले सातवटै प्रदेशमा प्रमुख नियुक्ति गर्न नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साथै प्रदेशका लागि प्रमुखको नाम नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

    आइतबार सरकारले यसअघि नियुक्त सातै जना प्रदेश प्रमुखलाई बर्खात गरेपछि नयाँ नियुक्त गरेको हो ।

    सरकारले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

    यसअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले ७ जनाको नाम सरकारलाई सिफारिस गरेको थियो । सोही अनुसार सरकारले नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

    उनीहरुलाई मंगलबार पद तथा गोपनीयताको सपथ खुवाउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ । प्रदेश प्रमुखहरुमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भागबन्डा गरिएको छ।

    ओली पक्षका चार जना र प्रचण्ड पक्षका तीन जनाले नियुक्ती पाएका छन् । प्रदेश प्रमुख सिफारिस भएका अधिकारी, यादव, कलौनी र प्रसाईं पूर्वएमाले पार्टीमा आवद्ध थिए । शेरचन, परियार र त्रिपाठी पूर्वमाओवादी खेमाका हुन्।

  • नयाँ प्रदेश प्रमुख आजै नियुक्तीको सम्भावना

    नयाँ प्रदेश प्रमुख आजै नियुक्तीको सम्भावना

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सोमबारका लागि बोलाइएको छ । नेकपा स्रोतका अनुसार सोमबार नयाँ प्रदेश प्रमुखहरुको सिफारिस पार्टीका तर्फबाट हुनेछ ।

    बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । पार्टीले सिफारिस गरेका प्रदेश प्रमुखलाई त्यसपछि बस्ने मन्त्रीपरिषदले नियुक्त गर्ने सम्भावना रहेको बताईको छ ।

    सरकारले आइतबार मात्र सात वटै प्रदेशका प्रमुखलाई बर्खाीस्त गर्ने निर्णय गरेको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेकी थिइन् ।

    नेकपाले आइतबार नै नयाँ नियुक्ती गर्न खोजेको थियो । सोही अनुसार साँझ मन्त्रीपरिषद् बैठक पनि डाकिएको थियो । तर, सहमति जुट्न नसकेपछि धकेलिएको थियो । सोमबार मन्त्रीपरिषदको बैठक भने दिउँसो १२ बजे बोलाइएको छ

  • नेपाल र एमसीसी आज भिड्दै, ज्ञानेन्द्रको कप्तानी

    नेपाल र एमसीसी आज भिड्दै, ज्ञानेन्द्रको कप्तानी

    काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा आज पहिलो पटक नेपाली क्रिकेट टोली मैदानमा उत्रदैछ । आज नेपाल र अष्ट्रेलियाको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)बीच प्रतिस्पर्धा हुँदैछ ।

    क्लव अहिले नेपाल भ्रमणमा छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल बिआन सवा ९ बजेबाट प्रारम्भ हुँदैछ । आइतबार क्लवले नेपाली जुनियर टोलीलाई हराएको थियो ।

    नेपाली टोली आइतबार मात्र ३८ रनले हारेको थियो । क्लवमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त चर्चित खेलाडीहरुको बाहल्य रहेको छ । यस खेलमा पहिलो पटक ज्ञानेन्द्र मल्ललाई कप्तानका रुपमा देख्न पाइने छ ।

    उनले यसअघि पारस खड्काको अनुपस्थितीमा टीम सम्हालेको भएपनि पहिलो पटक पूर्ण कप्तानका रुपमा टोली सम्हाल्दैछन् । पारसे हालै कप्तानीबाट राजिनामा गरेका थिए । उनी खेलाडीका रुपमा भने मैदानमा उत्रने छन् ।

  • अब घर किन्दा ७० प्रतिशतसम्म ऋण पाइने

    अब घर किन्दा ७० प्रतिशतसम्म ऋण पाइने

    काठमाडौं । पहिलो पटक घर किन्दै गरेका व्यक्तिलाई नेपाल राष्ट्र बैंकले खुसी बनाउने गरी नीति ल्याएको छ । अब कम पैसा भएपनि आफ्नै घरमा बस्ने तपाईको आँटमा बैंकले सजिलै साथ दिनेछ ।

    नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७६ जारी गरेको छ । जहाँ आवास वा घर कर्जा सम्बन्धमा नयाँ प्रावधान ल्याइएको छ । अब ३० प्रतिशत रकम बुझाएपछि ७० प्रतिशतसम्म बैंकबाट घर कर्जा लिन सकिने भएको छ ।

    यसअघि काठमाडौं उपत्यकामा घर किन्दा कम्तिमा ५० प्रतिशत रकम तिरेपछि मात्र ५० प्रतिशत बैंकले ऋण दिन्थ्यो । उपत्यका बाहिर भने ४० प्रतिशतसम्म तिर्नुपर्ने प्रावधान थियो ।

    ऋणीले किस्ताबन्दीमा ऋण तिर्नु पर्छ । अब भने देशभर नै ३० प्रतिशत रकमको जोहो गर्न सक्ने हो भने ७० प्रतिशत पैसा बैंकबाट निकाल्न सकिने छ ।

    यस्तो ऋण भने बैंकबाट घरकर्जा पहिलो पटक लिने ऋणीका लागि मात्र उपलब्ध हुने भएको छ ।घर ३ हजार वर्गफिट सम्मको क्षेत्रफलमा निर्माण भएको हुनसपर्ने प्रावधान राखिएको छ । त्यो भन्दा ठुलो क्षेत्रफल ओगटेको घरले यो सुविधा पाउने छैन ।

    आम्दानीको स्रोतको रुपमा घर भाडामा लगाएर आएको आम्दानीलाई बैंकले आम्दानीको स्रोत मानी पैसा नदिने भएको छ ।

  • सुकुटे बस दूर्घटनामा १७ को निधन, दर्जनौं घाइते

    सुकुटे बस दूर्घटनामा १७ को निधन, दर्जनौं घाइते

    सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दूर्घटनामा पर्दा कम्तिमा १७ जनाले ज्यान गुमाएका छन् ।

    आइतबार साँझसम्म घटनास्थल र अस्पतालमा गरी १७ को ज्यान गइसकेको प्रहरीले जनाएको छ । मृतकमध्ये ७ जनाको सनाखत भएको छ भने अन्यको विवरण संकलन भइरहेको बताइएको छ । १५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

    सनाखत भएकामध्ये दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ र दोलखाकी ५० वर्षीया रक्तकुमारी रावत रहेको प्रहरीले जनाएको छ ।

    धुलिखेल अस्पताल र श्री मेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङको निधन भएको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट बस काठमाडौंका लागि छुटेको थियो ।

    यात्रुहरुका अनुसार बस दूर्घटनामा पर्नुअघि पनि बिग्रिएर बनाइएको थियो । करीव आधा घण्टा लगाएर बनाएको बस ओरालो सकिएर सजिलो बाटोमा आएको थियो ।

    त्यसपछि बसले खाना ख्वाएको थियो । खाना खाएर गुडेको ५ मिनेट भित्रै सडकबाट सुनकोशी नदीमा झरेको घाइते यात्रुहरुले बताएका छन् ।

    तिब्र गति र बिग्रिएको बस भएकाले दूर्घटनामा परेको आंशका छ । बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको हो ।

    दूर्घटनास्थलबाट ५४ जनाको भने उद्धार गरिएको थियो । उनीहरुलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । बसका चालक धनबहादुर तामाङ समेत घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।

  • सातै प्रदेशका प्रमुख बर्खास्त

    सातै प्रदेशका प्रमुख बर्खास्त

    काठमाडौं । सरकारले सात वटै प्रदेशका प्रमुखलाई एकै साथ हटाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सात वटै प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरी सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले प्रदेश प्रमुख हटाउने निर्णय गरेको थियो ।
    सरकारले प्रदेश १ का प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाई पदमुक्त बनाएको हो ।

    अब सोमबार नयाँ प्रदेश प्रमुख नियुक्ती गर्ने तयारी सरकारले गरेको छ । ३ माघ २०७४ मा प्रदेश प्रमुखहरु नियुक्त भएका थिए ।

    केपी ओली नेतृत्वमा नयाँ सरकार गठन भएपछि सरकारले चुनावी सरकारले नियुक्त गरेका सबै नियुक्ती खारेज गर्ने निर्ण गरेको थियो । तर, अदालतको थमौतीले निर्णय कार्यान्वयन हुने सकेको थिएन ।

  • मालीमा बिद्रोही आक्रमणमा ५३ सैनिक मारिए

    मालीमा बिद्रोही आक्रमणमा ५३ सैनिक मारिए

    माली । मालीमा विद्रोहीको आक्रमणमा परी ५३ जना सैनिक मारिएका छन् । आक्रमणमा परी एक जना सर्वसाधारणको समेत ज्यान गएको छ ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मालीको एक सैन्य कार्यालयमा विद्रोहीले आक्रमण गरेका हुन् । आक्रमणमा ५३ जना सैनिक र एक सर्वसाधारणको मृत्युको पुष्टी भइसकेको छ ।

    यो संख्या अझै बढ्न सक्ने बताइएको छ । मालीको उत्तरपूर्वी क्षेत्रमा रहेको सैन्य कार्यालयमा आक्रमण भएको हो । सरकारी उच्च अधिकारीहरुले यस आक्रमणलाई आतङ्कवादी हमलाको संज्ञा दिएका छन् । इस्लामिक लडाकूबाट यस प्रकारको हमाला भएको बताइएको छ ।

    मालीमा पछिल्ला दिनमा भएको आक्रमणमध्ये यो सबैभन्दा हिस्रक रहेको समेत अधिकारीहरुले उल्लेख गरेका छन् ।

    नाइजेरियासँग सिमानामा जोडिएको मेनका क्षेत्रस्थित इन्डेलिमानको सैन्य कार्यालयमा आक्रमण भएको हो । मालीमा अलकायदामा आवद्ध जिहादी आतकंबादीहरु सक्रिय रहेका छन् ।

    मालीमा फ्रान्सको नेतृत्वमा अन्तर्राष्ट्रिय सैन्य संगठन सक्रिय रहेपनि आतंकाबादी आक्रमण निस्तेज पार्न भने असफल हुँदै आएको छ ।
    एजेन्सी

  • आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

    आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

    काठमाडौं । छठ पर्वको आज अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । यससँगै छठ पर्वसमेत समाप्त भएको छ । आज दिनभर खानपान र रमाइलो गरी यो चाडको समापन गरिन्छ ।

    आइतबार बिहानै नजिकको नदी, तलाउ, पोखरी तथा जलासयमा पुगेर उदाउँदै गरेको सूर्यको जूजा आरधनासहित अर्घ्य दिने प्रचलन रहेको छ । ब्रतालुहरुले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

    चार दिनसम्म मनाइने छठमा शक्तिको स्रोतका रुपमा सूर्यको उपासना गरिन्छ । छठ नेपालको तराई भेगमा निकै धुमधामका साथ मनाइन्छ ।

    पछिल्लो समय काठमाडौंमा समेत छठ पर्व उत्तिकै महत्वका साथ मनाउन शुरु गरिएको छ । सूर्यदेवको आराधना र उपासना गर्न बिहानैदेखि जलासयको किनारमा भक्तजनको घुइँचो लागेको थियो।

    छठ पर्वको व्रतले दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वाससमेत यस पर्वको अवसरमा लिइन्छ । छठको समापनसँगै अब मूख्य चाडबाडको मौसम समेत सकिएको छ ।

  • बेलायतको हाउस अफ लर्डसबाट भ्रमण वर्षको घोषणा

    बेलायतको हाउस अफ लर्डसबाट भ्रमण वर्षको घोषणा

    काठमाडौं । बेलायतको माथिल्लो सदन हाउस अफ लर्डसमा नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरिने भएको छ ।

    नेपाल भ्रमण वर्षको आधिकारिक वेवसाइटले यस सम्बन्धमा जानकारी दिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई त्यसतर्फ प्रस्थान गरेका छन् ।

    मन्त्री भट्टराईको साथमा नेपाल भ्रमण वर्ष २०२० सचिबालय र नेपाल पर्यटन बोर्डका पदाधिकारी समेत सहभागी भएको वेवसाइटले उल्लेख गरेको छ ।

    प्रत्येक वर्ष हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम)को अवसरमा ७ नोभेम्बरमा नेपाल भ्रमण वर्ष प्रवर्धनका लागि विशेष कार्यक्रम राखिएको छ ।

    कार्यक्रमको मूख्य आकर्षण नेपालको पर्यटन विकास तथा प्रवर्धनमा योगदान दिने बेलायती नागरिकहरुलाई ‘दी हिमालयन ट्राभल अवार्ड २०१९’ बाट सम्मान गरिने भएको छ ।

    कार्यक्रममा बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियन्ता जोआन्ना लुम्ले, भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिप कुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने कार्यक्रम रहेको वेवसाइटमा उल्लेख गरिएको छ ।

    लामो समयदेखि नेपालमा पर्यटकहरु पठाउने प्रमुख बेलायती टुर अपरेटरलाई पनि कदर पत्र प्रदान गरिने भएको छ ।

    ट्राभल एजेन्ट तथा होटेल व्यवसायी रमेश अरोरा, नेपालको पर्यटनमा अढाई दशकदेखि लागि परेका मर्कस कट्टन, नेपालको वाइल्ड लाईफ टुरिजममा काम गर्दै आएका एभी जीम इडवार्ड, नेपालको पर्यटन गन्तब्यको प्रचारप्रसारमा लामो समयदेखि लागिपरेका रोबिन मार्सटन र नेपाल टुरिजमका पाइनियर ज्ञाता कोलोनेल जोमलाई दी हिमालयन अवार्ड वितरण गरिने भएको छ ।

    त्यसैगरी नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्ने माइकल वेट (म्यानेजिङ डाइरेक्टर, रिभिएरा ट्राभल) आस्ले टफ (सीईओ, की एड्भेन्चर ट्राभल), पटेर बुर्रेल (एमडी, एक्सोडुल ट्राभल), रोबर्ट गुडवीन (प्रोडक्ट एन्ड पर्चेजिङ डाइरेक्टर), जेरल्डिन स्टिन्सन (म्यानेजिङ डाइरेक्टर, मर्करी होलिडेज), आन्डे स्वार्रेल (म्यानेजिङ डाइरेक्टर, टीटान ट्राभल) र स्टेभ बेरी (म्यानेजिङ डाइरेक्टर, माउण्टेन किङडम)लाई प्रसंशा पत्र वितरण गरिने वेवसाइटले लेखेको छ ।

  • तराई र काठमाडौंमा छठको रौनक

    तराई र काठमाडौंमा छठको रौनक

    काठमाडौं । नेपालको तराई तथा काठमाडौंलगायत शहरी इलाकामा छठको रौनक छाएको छ । छठको दोस्रो दिन व्रतालुहरूले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरे ।

    नजिकको तलाउ, पोखरी, नदी किनारमा पुगेर अर्घ्यसहित अस्ताउँदो सूर्यलाई पूजाअर्चना गरी छठको दोस्रो दिनको पूजा सम्पन्न गरेका छन् ।

    घरमा बनाएका ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल तथा विभिन्न वनस्पतिसहित अर्घ्य बनाउने प्रचलन रहेको छ । घरमा निर्माण गरेका अन्नको पीठोबाट बनेका पकवान यस पूजामा प्रयोग हुन्छ ।

    केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोजस्ता सामग्रीको जोहो गरेर पूजामा जुट्ने प्रचलन रहेको छ ।

    छठीमाईको पूजा हुने यस पर्वमा भगवान् विष्णुको समेत आरधना गरिन्छ । आइतबार उदाउँदो सूर्यको पूजा गरी यो पर्व मनाइन्छ । छठमा उदाउँदो र अस्ताउँदो दुबै सूर्यको पूजा गर्ने प्रचलन रहेको छ ।

  • अदालतमा महराको बयान, आरोप अस्वीकार

    अदालतमा महराको बयान, आरोप अस्वीकार

    काठमाडौं । बलात्कारको प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वसभामूख कृष्ण बहादुर महराको शुक्रबार अदालतले बयान लिएको छ ।

    बयानमा उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफ्नो पुराना सामान बटुलेर फसाउन खोजिएको आरोप लगाएका छन् । महराले बलत्कार प्रयासको आरोप लगाउने महिलालाई २०४७ सालदेखि चिन्ने र उनी आफ्नो विद्यार्थीजस्तै भएको बयान दिएका छन् ।

    उनको विवाहमा समेत आफूले अविभावकत्व निभाएको उल्लेख गर्दै उनले त्यसपछि भने पछिल्लो तीन वर्षयता मात्र उनीसँग भेट भएको उल्लेख गरेका छन् ।

    आफू अस्वस्थ रहेको भन्दै संसद संसद सचिवालयमा काजमा जागिर मिलाइदिन आग्रह गरेको सन्दर्भ उल्लेख गर्दै त्यसपछि भने दुई परिवारका बीचमा पटक पटक भेटघाट हुने गरेको बताएका छन् ।

    घटना भएको दिन रोशनी आफ्नो अफिसमा आई समयोजनको बारेमा मिलाउन आग्रह गर्दै आक्रोसित हुँदै बाहिरिएको उनले उल्लेख गरेका छन् ।

    त्यसपछि आफूले सम्बन्धित निकायमा समेत भनिदिएको उनले स्वीकार गरेका छन् । अफिसबाट आक्रोसित मुद्रामा निस्किएको र उनी आक्रोसित भएपछि स्वास्थ्य अवस्था बिग्रने समस्या रहेको आफूलाई थाहा भएको उनले बताएका छन् ।

    सोहीकारण एक पटक सम्झाउनु पर्यो भनी आफू छोराले प्रयोग गर्ने गाडी लिएर रोशनीको कोठातर्फ लागेको उनले बताएका छन् । तर, रोशनीको फोन नलागेपछि र उनका श्रीमानसँग समेत सम्पर्क हुन नसकेपछि आफू कोठामा नपुगी घर फर्किएको बयान उनले अदालतसमक्ष दिएका छन् ।

    रोशनीको कोठामा भेटिएको चस्मा, जुत्ताको तलुवा आफूलाई सफाउन नियोजित तरिकाले लगिएको भन्दै उनले कोठामा नपुगेपछि कुटपिट गर्ने सन्दर्भ नै नउठ्ने बताएका छन् ।

    उक्त दिन रेकर्ड भई बाहिरिएको भिडियो पनि सुनियोजित घटना भएको बयान महराले दिएका छन् । शुक्रबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान भएको थियो ।

    बयान सकिएको छ । बयान सकिएपनि शुक्रबार थुनछेक बहस हुन भने सकेन । आइतबार बिहान १० बजेबाट थुनछेक बयान शुरु हुने भएको छ ।

    थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश दिन सक्ने प्रावधान रहेको छ ।

  • रिसाहा देउवा सामाजिक संजालमा भाइरल

    रिसाहा देउवा सामाजिक संजालमा भाइरल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एक तस्वीर शुक्रबार एकाएक भाइरल भएको छ ।

    अत्यन्तै रिसाहा मुद्रामा प्रस्तुत भएका पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको तस्वीरले शुक्रबार फेसबुक र टुइटरको भित्ता भरिएको छ ।

    उनको यो रुप आफ्नै विद्यार्थी सँंगठनका कार्यक्रर्तामाथि खनिदा देखिएको हो । शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बस्दै गर्दा नेपाल विद्यार्थी संघका नेताहरुले नाराबाजी गरेका थिए ।

    विद्यार्थी संघको नेतृत्वमा यूवा विद्यार्थी र्नै हुनु पर्ने मागसहित उनीहरु नाराबाजीमा उत्रिएका हुन । नेवि संघको अध्यक्षको उमेरका विषयमा असहमति जनाउँदै विरोधमा नारावाजी गर्न लागेपछि देउवा आफ्नै कार्यक्रता विरुद्ध रिसाहा रुपमा प्रस्तुत भए ।

    देउवा बैठकमा भाग लिन जाने क्रममा जब पार्टी कार्यालय पुगे, त्यसपछि विद्यार्थी संगठनका कार्यक्रताले चर्को स्वमा होहल्ला गरेका थिए ।

    त्यसपछि देउवा कार्यक्रतातर्प फर्केर निकै आक्रोसित मुद्रामा बोलेका थिए । उनले कार्यक्रतातर्फ औला ठड्याउँदै बोलेका थिए । त्यसक्रममा देउवाले अपशब्द बोलेको आरोप कार्यक्रताको रहेको छ ।

    आफ्नो रिसाहा शैलीका कारण देउवा पटक पटक आलोचित हुँदै आएका छन् ।

  • माथिल्लो त्रिशुली-१ मा ५० अर्ब विदेशी लगानी

    माथिल्लो त्रिशुली-१ मा ५० अर्ब विदेशी लगानी

    काठमाडौं । २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा ५० अर्ब रुपैयाँ हाराहारी विदेशी लगानी हुने भएको छ । कोरियाली कम्पनीले यो आयोजना निर्माण गर्दैछ ।

    स्रोतको जोहो भएसँगै शुक्रबार कम्पनी र लगानीकर्ता बैंक तथा वित्तीय संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम तय गरिएको छ ।

    उर्जा मन्त्रालयका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको उपस्थितिमा लगानी सम्बन्धी द्धिपक्षीय सम्झौता हुँदैछ । ४५ करोड ३२ लाख डलर विदेशी लगानी जुटेसँगै सम्झौता हुने भएको हो ।

    यस आयोजनाबाट उत्पादन भएको विजुली आन्तरिक प्रयोजनमा खपत हुने आयोजनाको दावि छ । यस आयोजनामा विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले १६ करोड १० लाख डलर ऋण लगानी गर्ने भएको छ ।

    कोरियाली निर्यात आयात (एक्जिमं)बैंकको १०० मिलियन डलर र चीनको नेतृत्वमा स्थापित एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी)ले ४० मिलियन अमेरिकी डलर लगानी गर्ने गरी लगानीको टुंगो लागेको हो ।

    यसका साथै एसियाली विकास बैंक (एडीबी)को ६० मिलियन डलर, कोरिया, नेदरल्यान्ड तथा फ्रान्सका विभिन्न तीन बैंक र युकेको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी)ले समेत लगानी गर्ने गरी सम्झौता हुन लागेको मन्त्रालयले उल्लेख गरेको छ ।

    आयोजनाको कुल लागत भने ६४ करोड ७४ लाख डलर अर्थात् ७० अर्ब रुपैयाँ हाराहारी हो । यसमध्ये १९ अर्ब संस्थापक सेयर र बाँकी लगानी ऋणस्वरुप जुटाउने लक्ष्य कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्टले जनाएको छ ।

    ऊर्जा मन्त्रालय र कम्पनीबीच १४ पुस २०७३ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।

  • आइएसएसले गर्यो बगदादी मारिएको पुष्टी

    आइएसएसले गर्यो बगदादी मारिएको पुष्टी

    सिरिया । यसअघि विकसित मुलुकहरुले इस्लामिक स्टेट (आईएस)का नेता अबु बक्र अल बगदादी मारिएको पटक पटक बताएका थिए । तर, उनीहरुको दाविलाई गलत सावित गर्दै बगदादी पुनः सार्वजनिक हुने गर्थे ।

    तर यस पटकको अमेरिकी सैन्य अपरेशनमा भने उनी मारिएको संगठन स्वयमले पुष्टि गरेको छ । बगदादी मारिएको भन्दै संगठनले नयाँ नेता समेत चयन गरेको सार्वजनिक गरेको छ ।

    अब इस्लामिक स्टेटलाई अबु इब्राहिम अल हाशमीले नेतृत्व गर्ने भएका छन् । २७ अक्टुबरमा अमेरिकी सेनाले सिरियामा बगदादी विरुद्ध अपरेशन चलाएको थियो ।

    अन्तिम १५ मिनेटको सफल सैन्य अपरेशनमा उनी मारिएका थिए । अमेरिकी सेनाका कुकुरले लखेटेपछि बगदादीले आत्मघाती बम विस्फोट गराएर आफैलाई उडाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका थिए ।

    इस्लामिक स्टेटले अडियो सन्देश मार्फत उक्त पुष्टी गरेको हो । यस कारवाहीका दौरान प्रवक्ता अबु अल हसन अल मुहाजिर पनि मारिएको पुष्टि संगठनले गरेको छ ।

    अबु हम्जा अल कुरैशीलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको संगठनले उल्लेख गरेको छ । यस संगठनले नयाँ नेताको तस्वीर सार्वजनिक गरिएको छैन । उनी परिचित नाम समेत नभएकाले यस संगठनले अझ बढी आक्रामक रणनीति लिन सक्ने आंशका पश्चिमी मुलुकहरुको रहेको छ ।

    एजेन्सी

  • महराविरुद्ध मुद्दा दर्ता, जबर्जस्ती करणी उद्योगको कसुर

    महराविरुद्ध मुद्दा दर्ता, जबर्जस्ती करणी उद्योगको कसुर

    काठमाडौं । बलत्कारको आरोपमा पक्राउ पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणी उद्योगको कसुरमा उनीविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो।

    महरामाथि आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको र नमानेपछि कुटपिट गरेको आरोप लागेको छ । आरोप लाग्नासाथ उनले पदबाट भने राजिनामा गरी अनुसन्धानलाई सघाएका थिए ।

    उनलाई आरोप लगाउने कर्मचारी रोशनी शाहीले पहिलो बयानपछि पटक पटक बयान फेर्दै उनी निर्दोष रहेको बताएपनि प्रहरीले अनुसन्धान रोकेको थिएन ।

    मुद्दा दर्ता भएपछि उनलाई बिहीबार हिरासतमै फर्काइएको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ । अब शुक्रबारबाट थुनछेक बयान र बहस शुरु हुनेछ ।

    धरौटीमा रिहा गर्ने वा पुर्पक्षको लागि थुनामा राख्ने निर्णय अदालतले नै फैसला गर्छ । प्रहरीले महरामाथि अनुसन्धानपछि कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ ।

    २० दिनभन्दा लामो अनुसन्धानले महराबाट संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणी उद्योग गरेको पुष्टि हुने निष्कर्षमा प्रहरी पुगेको हो ।

    प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने प्रक्रिया रहेको छ । महरामाथि लागेको आरोप पुष्टी भए उनीमाथि अदालतबाट सात वर्षदेखि दस वर्षसम्म कैद सजाय हुने सक्ने व्यवस्था रहेको छ।

    प्रहरीले रोशनीको कोठाबाट बरामद गरेको चस्मा र जुत्ताको तलुवा, उनले दिएको भिडियो बयानलगायतका आधारमा महरालाई दोषि सवित गरेको छ ।

  • कपिलवस्तुको कृष्णनगरमा भड्कियो हिंसा, प्रहरीको गोलीले एकको मृत्यु

    कपिलवस्तुको कृष्णनगरमा भड्कियो हिंसा, प्रहरीको गोलीले एकको मृत्यु

    कपिलवस्तु । बिहीबार कपिलवस्तुको कृष्णनगरमा हिंसा भड्किएको छ । बुधबारदेखि शुरु भएको विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउनु परेको छ ।

    घटनामा प्रहरीको गोली लागि सुरजकुमार पाण्डेको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । उनी कृष्णनगर नगरपालिका मडाहा गाउँमा बस्ने भारतीय नागरिक भएको खुलेको छ ।

    कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर स्थानीय दुई पक्षबीच विवाद भएको थियो । स्थानीय प्रशासनले बुधबार रातीबाटै कर्फ्यू आदेश जारी गरेको थियो।

    त्यसपछि पनि दुई सम्प्रदायबीचको हिंसा कम नभएपछि झडपको स्थिति सिर्जना भएको हो । हिन्दु र मुस्लिम समुदायबीचमा विवाद उत्पन्न भएको हो ।

    मृतक पाण्डेले ठेलामा चिया पसल चलाएर गुजारा चलाउँदै आएका थिए । हिन्दु समुदायले लक्ष्मीपूजामा स्थापना गरेको मुर्ति विसर्जन गर्न लैजाने रुटको विषयमा मुश्लिम समुदायसँग विवाद भएको प्रहरीले जनाएको छ ।

    तराईका कतिपय स्थानमा बडादशैं र तिहारको लागि हिन्दु समुदायले स्थापना गरेका दुर्गा र लक्ष्मीका मुर्ति स्थानीय नदी तथा तलाउमा विसर्जन गर्ने प्रचलन रहेको छ । सोही क्रममा फरक फरक समूदायबीचमा विवाद हुने गरेको छ ।

    यस स्थानमा गत वर्ष पनि यस्तै विवादमा प्रहरीले लाठिचार्ज गरी घटनालाई साम्य पारेको थियो । यस वर्ष भने प्रहरीले गोली नै चलाउनु परेको हो ।

    यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले घटनाप्रति चासो राख्दै सामाजिक सद्भाव कायम राख्न र शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा संयमित हुन सरकारलाई आग्रह गरेको छ ।

  • कांग्रेसले उपनिर्वाचनका उमेदवार आज टुंगो लगाउँदै

    कांग्रेसले उपनिर्वाचनका उमेदवार आज टुंगो लगाउँदै

    काठमाडौं । नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि आज उमेदवारको टुंगो लगाउन भएको छ । सोही प्रयोजनका लागि बिहीबार पदाधिकारी बैठक डाकिएको छ ।

    १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । देशभर करीव ५० पदमा उपनिर्वाचन हुनेछ । पदाधिकारी बैठकले उपनिर्वाचनका उमेदवारको टुंगो लगाउने कांग्रेसले जनाएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ ।

    बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला पनि सहभागी हुँदैछन् । बैठकले प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी अन्तिम टुंगो लगाउने भएको छ ।

    यसबाहेक समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनजस्ता विषयले पनि बैठकमा प्रवेश पाउने बताइएको छ ।

    कांग्रेसका अधिकाश जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहले पार्टीका उमेदवारको नाम सिफारिस गरिसकेका छन्। ती नाममाथि अन्तिम टुंगो मात्र पदाधिकारी बैठकले लगाउने भएको छ ।

  • किन लुकाइएको छ प्रधानमन्त्रीको वास्तविक स्वास्थ्य अवस्था ?

    किन लुकाइएको छ प्रधानमन्त्रीको वास्तविक स्वास्थ्य अवस्था ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार ग्राण्डी अस्पताल भर्ना भए । दिनभर संचारमाध्यम र अन्य सामाजिक संजालमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे निकै चासो व्यक्त भयो ।

    तर, साँझ अस्पताल र प्रधानमन्त्रीको निजी सचिवका तर्फबाट एक विज्ञप्ती जारी गर्दै भनियो, यो प्रधानमन्त्रीको नियमित स्वास्थ्य परिक्षण भएको र बुधबार साँझ नै या बिहीबारसम्म डिस्चार्ज हुने उल्लेख छ ।

    तर, समाचार स्रोतहरुका अनुसार प्रधानमन्त्रीको मृगौलाको डायलासिस गरिएको छ, सोहीकारण उनको अस्पताल बसाई लम्बिने क्रममा छ ।

    यसअघि प्रधानमन्त्री स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा रहँदा समेत सरकारले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनतालाई जानकारी दिइराख्नु पर्छ भन्ने आवश्यकता ठानेन।

    अहिले पनि सकभर प्रधानमन्त्रीलाई के भइरहेको छ र किन अस्पतालमा राख्नु परेको हो भन्ने यथार्थ लुकाइएको छ । प्रधानमन्त्रीको १२ वर्षअघि मृगौला प्रत्यारोपण हो ।

    सिंगापुरबाट फर्किएपछि पनि उनी त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर उपचार गराएका थिए ।

    त्यसपछि पनि उनी ग्राण्डी अस्पतालमा एक पटक उपचारमा पुगिसकेका थिए ।

    मृगौला प्रत्यारोपण गरेको लामो समय भइसकेको अवस्थामा प्रधानमन्त्रीको स्वास्थ अवस्थाबारे सर्वसाधारणको जिज्ञासा वेवास्था गर्नुले सरकारको नियतमाथि भने प्रश्न उठ्ने गर्छ । किनकी कार्यकारी पदमा आसिन व्यक्तिको स्वास्थले समग्र सरकारको गतिमै असर पुग्न जान्छ ।

  • नेपाली पर्वतारोहीले दक्षिण कोरियाको रेकर्ड तोड्दै कायम गरे नयाँ रेकर्ड

    नेपाली पर्वतारोहीले दक्षिण कोरियाको रेकर्ड तोड्दै कायम गरे नयाँ रेकर्ड

    काठमाडौं

    एक जना नेपालीले पर्वतारोहणको ईतिहासमा नयाँ किर्तिमान राखेका छन् । ३६ बर्षीय निर्मल पुर्जाले १८९ दिन भित्र विश्वका १४ वटा अग्ला हिमश्रृंखलाको सफल आरोहण सम्पन्न गरी नयाँ किर्तिमान राखेको हो । पुर्जाले ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गर्ने क्रममा मंगलवार चिनको सिसपङ्मा हिमालको आरोहण सफलता  पूर्वक सम्पन्न गरेपछि विश्वमा उनको नयाँ किर्तिमान कायम भएको हो । आरोहण गरिएका १४ वटा हिमश्रृंखलाहरु मध्ये सिसपङ् अन्तिम हिमश्रृंखला थियो ।

    यस अगाडिको १४ वटा हिमश्रृंखला आरोहण सम्वन्धि विश्व रेकर्ड ७ बर्ष १० महिना ६ दिनको थियो । यो रेकर्ड दक्षिण कोरियाका पर्बतारोही किम चाङ् होले सन् २०१३ मा बनाएका थिए । नेपालका पुर्जाले दक्षिण कोरियाका किमको रेकर्डलाई तोडेर नयाँ रेकर्ड  बनाएका हुन् । पुर्जाको पर्बतारोहणको सम्पूर्ण सामग्री ब्यबस्थापन गरेका सेभेन समिटका मिङ्मा शेर्पाले संचार माध्यमलाई बताए अनुसार पुर्जाको स्वास्थस्थिती राम्रो रहेको र चुचुरोबाट सफलता पूर्वक तल झर्न सफल भएका छन् । पर्बतारोही पुर्जा ब्रिटिश सेना हुन् । उनी सन् २००३ मा ब्रिटिश सेनामा भर्ती भएका थिए ।  

    यसै बर्षको अप्रिल २३ मा नेपालमा रहेको माउन्ट अन्नपूर्ण, धौलागिरी मे १२, कन्चनजंगा मे १५, सगरमाथा मे २२, लोत्से हिमाल मे २२, मकालु मे २४, मनास्लु सेप्टेम्बर २७ मा आरोहण गरेका थिए ।  चिनमा रहेको माउन्ट चो यु सेप्टेम्बर २३, माउन्ट सिसपङ्को आरोहण अक्टुबर २९ मा गरेका हुन् ।

    पुर्जाले यसै बर्ष खिचेको सगरमाथा आरोहणको क्रममा चुचुरो भन्दा केही तल आरोहीहरुको ट्राफिक जाम भएको दृष्यको तस्विर विश्वभर चर्चित भएको थियो ।

  • अमेरिकी पासपोर्ट बोकेर भ्रमण गर्दै हुनुहुन्छ भने यी देशहरुको भ्रमणपूर्व नै भिसा लिनु पर्छ है !

    अमेरिकी पासपोर्ट बोकेर भ्रमण गर्दै हुनुहुन्छ भने यी देशहरुको भ्रमणपूर्व नै भिसा लिनु पर्छ है !

    न्युयोर्क

    अमेरिकी राहदानी बाहक अर्थात अमेरिकी नागरिकहरुले प्रायश: विश्वका थुप्रै देशहरुको भ्रमण गर्दा सम्बन्धित देशहरुको भिसा लिइरहनु पर्दैन । राहदानी बोक्यो, हवाईजहाज चढ्यो । तर अन्य थुप्रै देशहरु पनि छन् जहाँ जानको लागि अमेरिकी राहदानी बाहकले भिसा लिनै पर्छ । यसरी अमेरिकी पासपोर्ट  बाहकले भिसा लिनै पर्ने थुप्रै देशहरुको सुचीमा भिसा प्राप्त गर्ने तीन वटा फरक फरक ब्यवस्थाहरु छन् । त्यस मध्येका अधिकांश देशहरुले सम्बन्धित देशको विमानस्थलमा पुगेपछि भिसा लिने ब्यबस्था गरेका छन् । यस्तो ब्यवस्था भएका देशहरुको भ्रमणमा जाँदा हवाई टिकट भएपुग्छ । तर सम्बन्धित देशको बिमानस्थलमा भिसा लिँदा भिसा फि भने तिर्नै पर्छ ।  

    अर्को समुहका देशहरुले भने भिसा बिमानस्थलमा पनि दिंदैनन् । ति देशको भ्रमणमा जानुभन्दा पहिले नै भिसा लिएर जानु पर्छ । नत्र अलपत्र पारिएला ! तर यो समुहका देशहरुले अमेरिकी राहदानी  बाहकका लागि ई – भिसाको ब्यबस्था गरेका छन् । सम्बन्धित देशको सरकारी वेबसाईटमा गएर तोकिएको रकम तिरेर आफ्नो ब्यक्तिगत जानकारी भरेपछि कन्फर्मेसन प्राप्त हुन्छ । त्यही पर्चीलाई प्रिन्ट निकालेर राहदानीको साथमा बोकेर हिड्दा हुन्छ ।  

    यि दुई समुहका देश बाहेक अर्को समुह पनि छन् । त्यो समुहका देशहरुले अमेरिकी नागरिकलाई न बिमानस्थलमा भिसा दिन्छन् न ई – भिसा नै दिन्छन् । यी देशहरुको भ्रमणका लागि भिसा पहिला नै लिनु पर्दछ ।  त्यस्ता देशहरुको  भिसा लिन केही कागजी झन्झट हुन सक्छ । केही बढी समय लाग्न पनि सक्दछ । स्मरण रहोस्; अमेरिकाको पासपोर्ट छ भन्दैमा त्यतिकै हवाई टिकट किनेर एयरपोर्ट नदौडनुस् । अमेरिकी पासपोर्ट सबै देशको लागि “गोल्डेन टिकट” होईन । यी देशहरुको भ्रमण गर्न पहिले नै भिसा लिनु पर्दछ ।  

    १) म्यानमार :

    म्यानमारले पर्यटकका लागि टुरिस्ट भिसा र टुरिस्ट भिसा एक्स्प्रेस दिने गरेको छ । ई – भिसा $५० मा प्राप्त हुन्छ त्यस्को लागि ३ देखि ४ दिन लाग्दछ । तर ई -भिसा एक्स्प्रेसको लागि $५६ लाग्छ तर २४ घण्टा  भित्र भिसा प्राप्त हुन्छ । भिसा जसरी लिए पनि म्यानमार  भ्रमणमा जाँदा पहिले नै भिसा लिएर जानै पर्छ ।

    २) भियतनाम :

    भियतनाम जानका लागि ३ किसिमले भिसा लिन सकिन्छ । पहिलो तरिका हो वेबसाईटबाट अप्लाई गरेर प्राप्त गर्ने, अर्को अमेरिकास्थित भियतनामी दुताबासमा गएर भिसा लिने, र अर्को तरिका हो कुनै ट्राभल एजेन्सीमा गएर “लेटर अफ अप्रुभल” लिने ।  अनि त्यही ट्राभल एजेन्सीले दिएको लेटर अफ अप्रुभलको आधारमा भियतनामको बिमानस्थलमा अबतरण भएपछि अराईभल भिसा लिने । तर याद राख्नुस् “लेटर अफ अप्रुभल” भएन भने अराईभल भिसा प्राप्त गर्ने ब्यबस्था छैन । भियतनामको लागि ३० दिने भिसाको मुल्य $२५ पर्दछ ।  

    ३ ) ब्राजिल :

    केही समय अगाडिसम्म ब्राजिल घुम्न जानु पर्‍यो भने अमेरिकी नागरिकलाई निकै लामो प्रकृया पुरा गरेर ब्राजिलको दुतावास वा कन्सुलेटबाट भिसा लिनु पर्दथ्यो तर अहिले ब्राजिलले नियम परिवर्तन गरेर ई -भिसाको ब्यबस्था गरेको छ । ब्राजिलले अमेरिका, क्यानाडा अष्ट्रेलिया र जापानको लागि ई – भिसाको ब्यबस्था गरेको हो । ई – भिसाको लागि शुल्क बुझाएको १० दिन भित्र ईमेलबाट ई- भिसा आउँदछ र प्रिन्ट निकालेर पासपोर्टसंगै बोकेर जानु पर्दछ ।  ब्राजिलको ९० दिनको भिजिट भिसाको लागि ४४ डलर २४ सेन्ट शुल्क लाग्दछ ।  

    ४ ) भारत :

    अमेरिकी नागरिकले भारत भ्रमणमा जानको लागि वेब साईटबाट अनलाईन भिसा आबेदन दिन सक्छन् । यद्यपी थुप्रै ब्यापारी कम्पनीले भिसा लगाएर ल्याउने काम पनि गर्दछन् । तर ती कम्पनीले अतिरिक्त शुल्क लिने गर्दछन् । तर पनि सरकारको आधिकारिक वेब साईटबाट आँफैले आबेदन दिएर भिसा लिँदा पैसाको बचत र भरपर्दो पनि हुने गर्दछ । भारतको भिसा लिन आबेदन दिंदा पासपोर्ट ६ महिना म्याद हुनु पर्दछ भने पासपोर्टमा २ पेज खाली हुनै पर्द्छ । अमेरिकी नागरिकलाई ६० दिनको भिसाको $१०२ पर्दछ । भिसा प्राप्त गरेको १२० दिनसम्म भिसा प्रयोग भएन भने स्वत: रद्ध हुन्छ ।  

    ५ ) भुटान :

    भुटानको भिसा लिन त्यति सजिलो छैन । भुटानको भिसाको लागि सबैभन्दा पहिला टुर गाईड लिनु पर्दछ । गाईडसँग समन्वय गरेर कति दिन घुम्ने कता कता घुम्ने बताए पछि गाईडले आईटिनरी तयार गर्दछ । आईटिनरीको आधारमा मुल्य र भ्रमणको पुरा खर्च तयार हुन्छ । त्यो तय भएको भ्रमण अबधिको मुल्य बुझाएपछि गाईडले भिसा अप्लाई गरिदिन्छ । एक हप्ता भित्र ईमेलबाट भिसा आउंछ । त्यही भिसा लिएर पासपोर्टको साथमा भुटान जानु पर्दछ ।  

    ६ ) रसिया :

    रसियाको लागि ई-भिसाको ब्यबस्था छैन । अमेरिकी नागरिकले रसिया भ्रमण गर्नु पूर्व नै रसियन दुतावास वा कन्सुलेटबाट भिसा लिनु पर्दछ । तर थाहा पाउनै पर्ने कुरा के हो भने; रसियाको भिसा लिनको लागि स्पोनसरको पत्र अनिबार्य छ ।  यद्यपी यस्ता स्पोन्सर भने भ्रमणको क्रममा बस्ने होटल भ्रमण तालिका बनाउने ट्राभल एजेन्ट वा रसियामा बस्ने नातेदार वा साथी जो पनि हुन सक्छ्न ।  

    ७ ) चिन : 

    चिन भ्रमणको लागि ई-भिसाको ब्यबस्था छैन । चिनको दुताबास वा कन्सुलेटमा सशरीर उपस्थित भएर भिसा आबेदन दिनु पर्दछ ।  सामान्यतया सिङल ईन्ट्री भिसाको लागि १४० डलर शुल्क लाग्दछ । आबेदन दिएको ४ दिनमा भिसा प्राप्त हुन्छ भने एक्स्प्रेस गर्ने हो भने २ देखि ३ दिनको समय लाग्दछ ।  

    यि माथिका ७ वटा  देश बाहेक तल उल्लेख गरिएका अन्य देशहरुको भ्रमणमा जाँदा पनि पहिला नै भिसा लिनु पर्दछ । यि उल्लेख गरिएका देशहरुको पनि बिमानस्थलमा अराईभल भिसा दिने ब्यबस्था नभएको हुँदा भ्रमण पूर्व भिसा लिनु पर्दछ ।  

    – अफगानिस्तान, अंगोला, अजरबैजान, अल्जेरिया, चाड, क्युबा, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, ईरिट्रिया, गाम्बिया, घाना, गिनी, ईरान, ईराक, लाईबेरिया, लिबिया, माडागास्कर, मलावी, माली, नाईजर, नाईजेरिया, पाकिस्तान, अष्ट्रेलिया ।

    उपरोक्त सावधानि अपनाउनु भयो भने अनावश्यक झण्झटबाट बच्नुहुनेछ ।