Category: अर्थतन्त्र

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो ।

    मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो वर्गमा रु एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८.५०, दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु एक सय ५१ कामय भएको छ ।

    निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।

  • नेपालमा मूल्यवृद्धि दर चार प्रतिशत भन्दा तल

    नेपालमा मूल्यवृद्धि दर चार प्रतिशत भन्दा तल

    काठमाडौं । नेपालमा भदौ महिनामा उपभोक्ता मूल्य वृद्धिदर ३.८५ प्रतिशत कायम भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि दर गत भदौको तुलनामा आधा खुम्चिएको हो । गत भदौमा उपभोक्ता मूल्यवृद्धिदर ८.१९ प्रतिशत थियो ।

    खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.०३ प्रतिशत छ भने गैर खाद्य अर्थात् सेवा समूहको मूल्य वृद्धि ३.१९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ९.७७ प्रतिशत र सेवा समूहको ७.१९ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहमा पनि दाल तथा गेडागुडीको मूल्यवृद्धि केही धेरै देखिन्छ ।

    दाल तथा गेडागुडी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत र फलफूलको ४.९४ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.६९ प्रतिशतले घटेको छ ।

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.७१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ भने विमा तथा वित्तीय सेवा उप– समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन ।

    प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६६ प्रतिशत, मधेश प्रदेशको ३.८२ प्रतिशत, बागमती प्रदेशको ३.२९ प्रतिशत, गण्डकी प्रदेशको ३.५० प्रतिशत, लुम्बिनी प्रदेशको ३.५३ प्रतिशत, कर्णाली प्रदेशको ३.५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.९० प्रतिशत रहेको छ ।

  • नेपालबाट विद्यार्थीले दुई महिनामा लगे २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी मुद्रा

    नेपालबाट विद्यार्थीले दुई महिनामा लगे २८ अर्ब रुपैयाँ भन्दा बढी विदेशी मुद्रा

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै २८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ ।
    नेपाल राष्ट्र बैंकका अनुसार शिक्षामा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष साउन र भदौमा शिक्षामा २३ अर्ब ३३ करोड रुपैयाँमात्र विदेशिएको थियो । शिक्षामा अधिक रकम विदेशिँदा सेवा आय निरन्तर घाटामा छ । भदौसम्म खुद सेवा आय २८ अर्ब २० करोडले घाटामा देखिन्छ । अघिल्लो वर्ष सेवा आय २५ अर्ब २३ करोडले घाटामा थियो ।

    राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.१ प्रतिशतले बढेर १० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सेवा आय ९ अर्ब ४० करोड रुपैयाँ थियो । पर्यटक आगमनको सकारात्मक प्रभाव भ्रमण आयमा पर्छ । उता, भ्रमण व्यय भने ४३ अर्ब ४९ करोड पुगेको छ ।

    यसमध्ये शिक्षा बाहेकको भ्रमण व्यय १५ अर्ब ३३ करोड रुपैयाँ थियो । यस आँकडा अनुसार नेपाल आउने पर्यटकको तुलनामा नेपालबाट विदेश भ्रमणमा जाने नेपालीले धेरे खर्च गरिरहेको देखिन्छ । अघिल्लो वर्ष भ्रमण व्यय ३५ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय २३ अर्ब ३३ करोड थियो ।

  • चाडबाडको मुखमा दुई महिनामै विदेशबाट नेपालीले घरमा पठाए पौने ३ खर्ब रेमिट्यान्स

    चाडबाडको मुखमा दुई महिनामै विदेशबाट नेपालीले घरमा पठाए पौने ३ खर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्ष पहिलो दुई महिना (साउन–भदौ) मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । भदौमा मात्र १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साउनमा १ सय ३६ अर्ब भित्रिएको थियो । चाडबाडका बेला विदेशमा रहेका नेपालीले बढी रकम नेपाल पठाउने गरेको पाइन्छ । राष्ट्र बैंकका अनुसार भदौसम्मको रेमिट्यान्स आप्रवाह अघिल्लो आवको यसै महिनाको तुलनामा १८.७ प्रतिशतले बढी हो ।

    अमेरिकी डलरमा रेमिट्यान्स १ अर्ब ९६ करोड आएको छ । अघिल्लो वर्षको यसै महिनामा डलरमा रेमिट्यान्स १ अर्ब ७३ करोड थियो । यस महिनासम्म ७६ हजार ४ सय ८५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । ४० हजार ५ सय ८३ जनाले पुनः श्रम स्वीकृति लिएको देखिन्छ । अघिल्लो आवको सोही अवधिमा यो संख्या क्रमशः ७४ हजार ४ सय ५५ र ३२ हजार ४ थियो ।

    यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्यामा समेत केही वृद्धि देखिन्छ । समीक्षा अवधिमा खुद द्वितीय आय (ट्रान्सफर) २ खर्ब ८६ अर्ब ४५ करोड रुपैयाँ बराबर भएको देखिएको छ । अघिल्लो वर्ष खुद ट्रान्सफर २ खर्ब ५१ अर्ब ६५ करोड थियो ।

  • विदेशी मुद्रा सञ्चिति साढे २१ खर्ब माथि, १४ महिनाको आयात धान्न पुग्ने

    विदेशी मुद्रा सञ्चिति साढे २१ खर्ब माथि, १४ महिनाको आयात धान्न पुग्ने

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को दुई महिनामै विदेशी विनियम सञ्चिति १ खर्बभन्दा बढीले वृद्धि हुँदा साढे २१ खर्ब पुगेको छ । असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ५.५ प्रतिशतले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    केन्द्रिय बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांकका आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन मार्फत उक्त तथ्यांक सार्वजनिक गरेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५ प्रतिशतले बढेर १६ अर्ब ४ करोड पुगेको छ ।
    कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब २३ अर्ब ५३ करोड कायम भएको छ । २०८१ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ । विदेशी विनियम सञ्चिति निरन्तर वृद्धि भएको र आयातमा वृद्धि नहुँदा सञ्चिति पर्याप्तता सूचक पनि बढ्दै गएको छ ।

    आव २०८१\८२ को दुई महिनाको आयात आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । २०८१ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको अनुपात ३७.७ प्रतिशत, कुल आयातसँगको अनुपात ११४.४ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३०.८ प्रतिशत छ

  • आजबाट सरकारी कार्यालय खुल्दै

    आजबाट सरकारी कार्यालय खुल्दै

    काठमाडौं । दशैंमा बन्द भएका सरकारी कार्यालय आजबाट खुल्दैछन् । सरकारी कार्यालयमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको हो । आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा खुल्ने छन् । आज दशैंको त्रयोदशी हो । बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारी छ । कुनैकुनै स्थानमा दशैंको दिनमात्र टीका लगाउयने चलन भए पनि कतैकतै पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ ।

    खासगरी मान्यजनबाट टाढा भएकाहरु कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टीका थाप्न पुग्छन् । यस वर्ष कोजाग्रत पूर्णिमा असोज ३० गते बुधबार परेको छ । कोजाग्रत पूर्णिमामा दशैंघर वा पूजाकोठामा राखिएको जमरा र पूजा सामग्री बिसर्जन गरेपछि दशैं सकिन्छ । दशैं सकिने संघारमा रहेको र सरकारी कार्यालय पनि खुलिसकेकाले गाउँघर गएकाहरु आफ्नो कर्मथलो फर्किने क्रम ह्वात्तै बढेको छ । त्यसैले सडक क्षेत्रमा मानिस र सवारी साधनको चाप पनि बढेको छ ।

  • अमेरिकाको कोलोराडोमा सुन खानीमा फसे १० मजदुर

    अमेरिकाको कोलोराडोमा सुन खानीमा फसे १० मजदुर

    काठमाडौं । अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण कम्तीमा १० जना व्यक्ति एक हजार फिट (३०५ मिटर) जमिनमुनि फसेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

    कोलोराडोको क्रिपल क्रिकको मोली क्याथलीन सुन खानीमा उपकरणमा खराबी भएको थियो । स्थानीय समाचार अनुसार खानीबाट ११ जनालाई उद्धार गरिएको र बाँकीको उद्धार भइरहेको छ । खानी क्रिप्पल क्रिक, कोलोराडो नजिकैको पर्यटकीय गन्तव्य हो । रासस

  • कीर्तिपुरमा एमालेको मूख्यालय शिलान्यास

    कीर्तिपुरमा एमालेको मूख्यालय शिलान्यास

    काठमाडौं । कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्याश गरिएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको शिलान्याश गरेका हुन् ।

    कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा रहेको उक्त जग्गा भटभटेनीका सञ्‍चालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले एमाले पार्टी कार्यालय बनाउन दान दिएको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । उनका अनुसार गुरुङ दम्पतीले दिएको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक भवन बन्नेछ । साथै उनले उक्त भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको बताए ।

    एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो । यता, पत्रकारको प्रश्नमा व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमाले निकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताए । उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए ।

  • एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा बनाउने

    एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा बनाउने

    काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीको नयाँ केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिका १४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको बताए ।


    च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेको बताए । शुक्रबार कीर्तिपुर नगरपालिका(२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास हुने जानकारी दिए । बैठकले विपद्पछिको पुनः निर्माण, पुनः स्थापना र राहत कार्यमा जुट्न पार्टीका नेता–कार्यकर्ता र जनप्रतिनिधिलाई आह्वान गरेको छ।

    उपनिर्वाचन हुने ठाउँमा सम्बन्धित ठाउँको पार्टी कमिटी र त्यस वरपरका कमिटीले समेत सक्रिय रूपमा परिचालित भएर कामको नेतृत्व प्रदेश कमिटीले गर्नेगरी उपनिर्वाचनमा एमालेको विजयलाई सुनिश्चित गराउन तदनुरूप तयारी गर्न आह्वान गरेको बताए । पार्टीले वडा दसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरेको छ। पार्टीले केन्द्रीय सदस्य रामश्रवण बस्नेत र भीम केसीको आमाको निधन भएकोमा श्रद्धाञ्जली अर्पण गरेको छ।

  • दशैंमा काठमाडौंमा  नेपाल प्रहरीले बस सेवा दिने

    दशैंमा काठमाडौंमा नेपाल प्रहरीले बस सेवा दिने

    काठमाडौं । नेपाल प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क चलाउने भएको छ । दशैंमा सार्वजनिक यातायात कम चल्दा सर्वसाधारण्लाई समन्य हुने गरेको छ । प्रहरीका अनुसार एक बस रिङरोडभित्र चल्ने छ भने अर्को बस बाहिर चलाउने योजना छ ।

    काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवाको एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।

    यसैगरी, अर्को २ नम्बरको रुटमा नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधानकार्यालय नक्साल आइपुग्नेछ ।

  • विश्वप्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन

    विश्वप्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन

    काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उनको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् ।


    उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले एक्समा लेखेकी छन्– रतन टाटाको निधनबाट भारतले यस्तो आइकनलाई गुमायो जसले पुँजी वृद्धिलाई देशको निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोड्यो ।

    यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिको रुपमा सम्झिएका छन् । रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनलाई भारत सरकारले प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो ।

  • दुई महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात

    दुई महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ ।
    नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ । प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख र भदौमा ३ अर्ब ५५ करोड ५ लाखको विद्युत् निर्यात भएको जनाएको छ ।

    साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारततर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ ।
    दुई महिना विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा छ । साउनको प्रतियुनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा छ ।

    भदौ तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौ दोस्रो साता (९–१५ गते) मा ६९ करोड ८ लाखको विद्युत् निर्यात गरिएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ ।

    त्यसैले चालू आव दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरू र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताएका छन् ।

    ‘चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पु¥याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ,’ घिसिङले भने । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दर र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

    प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ आयोजनाबाट उत्पादित ९ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । बाढी–पहिरोभन्दा पहिले दैनिक ९ सय मेगावाट हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । अहिले दैनिक डेढ सय मेगावाटमात्र निर्यात भइरहेको छ । बाढी–पहिरोका कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी सहित करिब ७ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द छ ।

    गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

  • विपद्सँग जुध्न विश्व बैंकले नेपाललाई २० अर्ब रुपैयाँ ऋण दिने

    विपद्सँग जुध्न विश्व बैंकले नेपाललाई २० अर्ब रुपैयाँ ऋण दिने

    काठमाडौं । विश्व बैंकले नेपालको विपद् प्रतिकार्यका लागि १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँभन्दा बढी) सहायता रकम स्वीकृत गरेको छ ।
    नेपालको विपद् प्रतिकार्य र लचिलोपन बलियो बनाउन विश्व बैंकको कार्यकारी निर्देशक बोर्ड बैठकले उक्त सहायता रकम स्वीकृत गरेको विश्व बैंकले जनाएको छ ।

    नेपालमा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम र स्वास्थ्य आपतकालीन अवस्थासँग जुध्न यो सहायता प्रयोग हुने जनाइएको छ । ‘नेपाल डिजास्टर रिजिलेन्स डेभलपमेन्ट पोलिसी क्रेडिट विथ क्यास्टास्ट्रोफ डिफर्ड ड्रडाउन अप्सन’ (क्याट डीडीओ) सञ्चालनले प्रकोप प्रतिरोधात्मक क्षमता बढाउन नीति र नियामक सुधार हुने र प्रभावकारी विपद् प्रतिकार्यका लागि संस्थागत संयन्त्र बलियो बनाउने विश्व बैंकको भनाइ छ ।

    यसले सरकारलाई प्रारम्भिक चेतावनी प्रणाली सुधार गर्न र जोखिम न्यूनीकरण गर्न आवश्यक नीति, संस्था र नियामकीय संरचना निर्माण र महत्त्वपूर्ण पूर्वाधारमा जोखिम सूचित लगानी साथै सार्वजनिक स्वास्थ्य आपतकालका लागि तयारी बढाउन सहयोग पुग्ने बैंकले जनाएको छ ।

    विश्व बैंकका अनुसार क्याट डीडीओ मार्फत प्रकोपपछि तत्काल तरलतामा पहुँच प्रदान गर्न आकस्मिक वित्त पोषण, सरकारलाई विपद् प्रतिक्रिया र पुनः प्राप्तिका लागि थप एक उपकरण प्राप्त गर्छ । त्यस्तै नेपालको संघीय प्रणालीका तीन तहमा विपद् प्रतिक्रिया र पुनस्र्थापनाका लागि विपद्पछिका स्रोत महत्त्वपूर्ण हुन्छन् ।

    ‘हालै आएको बाढी–पहिरोले नेपालले प्राकृतिक र जलवायु प्रेरित खतरा र स्वास्थ्य आपतकाल बहुसंकटको सामना गरिरहेको देखाएको छ, जसले नेपाललाई गम्भीर आर्थिक झट्काको बढ्दो जोखिममा पारेको छ,’ माल्दिभ्सका लागि विश्व बैंकका क्षेत्रीय देशीय निर्देशक डेभिड सिस्लेनले भने । विश्व बैंकका अनुसार क्याट डीडीओ विपद् जोखिम वित्त पोषण उपकरण हो जसले सरकारका विकास कार्यक्रमबाट स्रोत नफर्काइ आपतकालीन आवश्यकतामा छिटो प्रतिकार्य गर्न सहयोग पुग्छ ।

  • मेलम्चीको पानी काठमाडौं आयो, दैनिक २२ करोड लिटर आउने

    मेलम्चीको पानी काठमाडौं आयो, दैनिक २२ करोड लिटर आउने

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची नदीबाट पठाएको पानी काठमाडौं आइपुगेको छ। दैनिक २२ करोड लिटर आउने गरी पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए। उनकाअनुसार बर्खायाममा मेलम्चीको बहाव बढी भएकोले दैनिक २२ करोड लिटरभन्दा धेरै पानी ल्याउन सकिनेछ। तथापि अहिले दैनिक २२ करोड लिटर मात्रै पानी पथान्तरण गरिएको छ।

    मेलम्चीको पानीलाई सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हालेर वितरण प्रणालीमा जोडिसकिएको छ। प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी बागमती नदीमा पठाइएको छ। ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी मात्रै प्रशोधन गर्न सक्ने रहेछ, अर्को प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छैन, त्यसैले बढी भएको पानी अहिले बागमती नदीमा बगाइएको छ,’ उनले भने।

    उनकाअनुसार मेलम्चीको पानी मंगलबारदेखि काठमाडौंमा वितरण सुरू भइसकेको छ। आन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सोमबार राति सहमति भएपछि मंगलबारबाटै सुरूङमा पानी हालिएको थियो। स्थानीयवासीले आन्दोलन गर्न थाले पनि मेलम्ची खानेपानी विकास समितिले भित्रभित्रै तयारी भने गरी नै रहेकाले पानी पथान्तरण गर्न छिटो सम्भव भएको हो।

    मेलम्चीको पानी काठमाडौंमा अस्थायी तवरले ल्याइएको छ। यसअघिका चार वर्षका हिउँद याममा पनि अस्थायी तवरबाट नै काठमाडौंमा पानी ल्याइएको थियो। २०७८ असार १, साउन १६ र १७ गतेको भेलबाढीपछि काठमाडौंमा अस्थायी तवरले पानी ल्याउने गरिन्छ। हिउँदयामभरि पानी ल्याउने र बर्खामा सुरूङ बन्द गर्ने गरिएको थियो।

    अघिल्लो पटक सुरूङमा लेदो पसेकाले सफा गर्न समय लागेको थियो। यसपटक नदीको बहाव व्यवस्थित गरिएको र सुरूङको मुखमा छेकबार राखिएकाले लेदो पस्न नपाएको कार्यकारी निर्देशक लामिछानेले जानकारी दिए। मेलम्ची बाढी प्रभावितले राख्दै आएका माग केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सोमबार राति सहमति भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ।

  • सरकारद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

    सरकारद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

    काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको संयोजकत्वमा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गरेको हो ।
    आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहनु भएको छ । आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षहरुसँग परामर्श समेत गर्नेछ ।


    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले सबै पक्षसँग परामर्श र छलफल गरी नेपालको अर्थतन्त्रलाई परिवर्तित समय अनुसार गतिशिल बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझावहरु दिने विश्वास व्यक्त गरे ।
    अर्थ मन्त्रालयले एक सय दिनमा सम्पन्न गर्ने कार्यहरुको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गर्ने बुँदा पनि समावेश थियो । आयोगले कार्यविधि आफै बनाउने छ ।

  • नेपाल एयरलाइन्सको भैरहवा उडानको टिकट एक रातमा सबै बिक्रि

    नेपाल एयरलाइन्सको भैरहवा उडानको टिकट एक रातमा सबै बिक्रि


    काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्रि भएको छ । नेवानिका प्रवक्ता रमेश पौडेलका अनुसार आज बिहान सबै टिकट बिक्रि भएको छ ।

    काठमाडौं भैरहवा रुटमा १५८ सिटनै बिक्रि भएको र भैरहवा काठमाडौं रुटका लागि भने टिकट बाकी रहेको उनले जानकारी दिए । फुलपातिको दिन नेवानिले १८५ सिटे न्यारोबडी जहाजले आन्तरिक उडान गर्दैछ ।

  • मेलम्चीको पानी आजबाट सुन्दरीजल पठाइदै

    मेलम्चीको पानी आजबाट सुन्दरीजल पठाइदै

    काठमाडौं । सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सहमति जुटेको छ । यससँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ भने मेलम्चीको पानीआजबाट काठमाडौंको सुन्दरीजल पथान्तरण गरिनेछ । आन्दोलनरत मेलम्चीका संघर्ष समितिसँग वार्ता गर्न खानेपानी मन्त्री प्रदीप यादव सहितको टोली सोमबार मेलम्ची पुगेको थियो ।

    हेलम्बु गाउँपालिकाको मेलम्चीमा भएको वार्तामा संघर्ष समितिका जायज मागहरु सम्बोधन गर्ने सहमति भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । उनले अगाडि भने, ‘भोलि मङ्गलबार मेलम्चीको पानी सुन्दरीजलमा पथान्तरण गरिने छ ।’

    वार्तामा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेको मेलम्चीको पानीबाट प्राप्त हुने रकमको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने मागमा मन्त्रलाय र सरोकारवाला निकायहरुबीच छलफल गरी तीन महिनाभित्र टुङग्याउने सहमति भएको छ । साथै हेलम्बु मेलम्ची एकिकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठनको प्रस्ताव यथाशिघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेश गरी कार्यन्वयनमा खानेपानी मन्त्रालयले पहल गर्ने सहमति छ ।


    संघर्ष समितिको माथअनुसार आयोजना पुनःर्निर्माण तथा स्थानीय सडक निर्माणको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा स्रोत सहमति लिएर अबको तीन महिनाभित्र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने घर पूर्णरुपमा क्षति भएका बाढी पीडितहरुलाई तत्काल घर पुनः निर्माण गर्न २० लाख उपलब्ध गराउनका लागि विशेष पहल गर्ने पनि सहमति भएको छ ।

    यसअघि सरकारले ३ लाख उपलब्ध गराएको थियो । हेलम्बु गाउँपालिका भवन निर्माणका लागि थप रकमसहित स्रोत सुनिश्चितताका लागि खानेपानी मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा एक हप्ता भित्र प्रस्ताव पेश गर्ने र प्रशासनिक भवन निर्माणको जिम्मेवारी मेलम्ची खानेपानी विकास समितिले लिने पनि सहमति छ । यस आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन भएको थियो ।

    सहमतिअनुसार तत्काल गर्नुपर्ने कामहरु अगाडी बढाउने र दीर्घकालमा गर्नुपर्ने काम आगामी आर्थिक वर्षहरुमा प्राथमिकताका आधारमा आयोजनाहरु समावेश गरी कार्यान्वयन गर्न पहल गर्ने कार्यकारी निर्देशक लामिछानेले बताए । मन्त्रालयसँग भएको सहमतिसँगै संघर्ष समितिका आन्दोलनका सबै कार्यक्रम सोमबारदेखि नै स्थगित भएको छ ।

  • नेपाल एयरलाइन्सले ठूलो जहाजबाट आन्तरिक उडान गर्दै, फूलपातिको दिन भैरहवा उड्दै

    नेपाल एयरलाइन्सले ठूलो जहाजबाट आन्तरिक उडान गर्दै, फूलपातिको दिन भैरहवा उड्दै

    काठमाडौं । काठमाडौंबाट बाहिर जाने यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्सले फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं रुटमा उडान गर्ने भएको छ ।
    नेपाल एयरलाइन्सका अनुसार २४ असोजका दिन न्यारोबडी जहाजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको हो । काठमाडौंबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै प्रतिव्यक्ति एकतर्फी ७ हजार रुपैयाँ भाडामा यो रुटमा उडान गर्न लागिएको नेपाल एयरलाइन्सले जनाएको छ ।

    आरए १७३३ उडान नम्बर रहेको जहाज बिहान ११ बजे काठमाडौंबाट उड्ने भएको छ । यस उडानमा ३० किलोसम्म लगेज निःशुल्क बोक्ने समेत नेवानिले जनाएको छ । सोही जहाज १२ः३० बजे भैरहवाबाट काठमाडौं उड्ने छ । जसको भाडा ३ हजार ८९० राखिएको छ । यस उडानका लागि निगमको कार्यालय, वेबसाइट र आफ्नो मोबाइलबाटै अनलाइन टिकट समेत लिन सकिने नेवानिको भनाइ छ । यो १५८ सिटे जहाज हो ।

  • महानगरको बजार अनुगमन तीव्र

    महानगरको बजार अनुगमन तीव्र

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरका अनुसार अनुगमन टोलीले १०–२० असोजसम्म मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुबहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको महानगरले जनाएको छ ।

    महानगरका अनुसार ८२ वटा पसलले मूल्य सूची नराखेको र ६२ वटाले व्यवसाय दर्ता नगरेको पाइएको हो । तौल र गुणस्तरका आधारमा मूल्य सूची नराख्नु, खरिद बिक्री बिलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएको महानगरले जनाएको छ ।

    पसलमा बेच्न राखिएका सामानहरूमध्ये प्याकेजिङ गरिएका जुस, कुकिज लगायत बिस्कुट, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसला, भिनेगर लगायतका खाद्य तथा पेय पदार्थहरु म्याद गुज्रेको पाइएको महानगरले जनाएको छ । महानगरको फुड टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट नेतृत्वमा रहेका ३ वटा अनुगमन टोलीले दैनिक अनुगमन गरिरहेको जनाएको छ ।

  • बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या २४६ पुग्यो

    बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या २४६ पुग्यो

    काठमाडौं । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी पहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् ।
    नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरण अनुसार आजसम्म एक सय ७८ घाइते भएका छन् । १८ बेपत्ता रहेको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। उनका अनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै एक सय ३९को मृत्यु भएको छ ।

    मृतकमध्ये एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उनले जानकारी दिए ।

    मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाम घरमा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ । आपतकालीन राहत, पुनःनिर्माण र पुनःस्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रीसहितको टोलीले विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरी राहत र पुनःनिर्माणलाई गति दिन निर्देशन दिएको उनले बताए ।

    विभिन्न राजमार्गका अवरोध हटाइ वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । लाभग्राहीको विवरण प्राप्त हुनासाथ प्रभावितलाई खाद्यान्नलगायत तत्काल गुजारा गर्न नगद र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तावापत् रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

  • हिमालपारीको जिल्ला मुस्ताङ र कर्णालीको डोल्पा सिधा सडक सञ्जालमार्फत जोडिँदै

    हिमालपारीको जिल्ला मुस्ताङ र कर्णालीको डोल्पा सिधा सडक सञ्जालमार्फत जोडिँदै

    काठमाडौं \रासस । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताए ।

    “जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ”, उनले भने, “गत वर्ष मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर चलाइएको थियो । यो सडकमा नियमित र सहज रूपमा यातायात सञ्चालनका लागि २० किलोमिटर सडक स्तरोन्नति र चार ठाउँमा मोटरेबल पुल निर्माण गर्न आवश्यक छ ।”

    भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले डोल्पाको सिमानामा पर्ने सुुकसाम्बामा बेलीब्रिज बनाउन चालुु आर्थिक वर्षमा रु ८५ लाख विनियोजन गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले थप तीनवटा बेलीब्रिज अथवा मोटरेबल पुल बनाउन र जोखिमयुक्त ठाउँको सडक स्तरोन्नति गरेर नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन स्घीय सरकारलाई प्रस्ताव गरिएको अध्यक्ष गुरुङले बताए ।

    सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५\७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङबाट साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो । रु २२ करोडको लगानीमा पाक्लिङबाट ५६ दशमलव पाँच किलोमिटर सडक खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

    डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघि नै सडक निर्माण भएको थियो । डोल्पा जोड्ने सडकको प्रवेशबिन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा दुई वर्षअघि प्रदेश सरकारमार्फत एक सय २० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो ।

    वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले याकखर्कसम्म सवारी चल्न थालेपछि उपल्लो डोल्पाका बासिन्दा, व्यापारी र किसानको दुई दिनको यात्राअवधि तीन घण्टामा छोटिएको बताए । “हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन थालेका छन्”, उनले भने, “छार्काताङसोङलगायत उपल्लो डोल्पाका बासिन्दाले दैनिक उपभोग्य सामान, निर्माण सामग्री ढुवानी, भेडाच्याङ्ग्रा र याक चाँैरी बिक्रीका लागि बजार लैजान यही सडक प्रयोग गर्छन् ।” डोल्पा र राजधानी काठमाडौँ जोड्ने यो छोटो दूरीको सडक हुने जनाइएको छ ।

    सडक निर्माण भएपछि साङ्ता, याकखर्क घुम्न पर्यटक आउन थालेका साङ्ताका बासिन्दासमेत रहेका वडासदस्य छिरिङपासाङ गुरुङले बताए । सडकमा थुप्रिएको हिउँ र पहिरो पन्छाएर गाउँपालिकाले याकखर्कसम्म नियमित यातायात सञ्चालनको व्यवस्था मिलाएको उनले बताए । समुद्री सतहबाट चार हजार मिटरभन्दा बढीको उचाइमा मानव बस्ती नभएको झमटङ डोल्मा हिमालको फेदीमा हुँदै निर्माण भएको सडकमा यात्रा गर्ने क्रममा वन्यजन्तु नाउरको बथान देखिन्छन् ।

  • अर्थले थाल्यो बाढी-पहिरो प्रभाव न्यूनीकरणका लागि स्रोत व्यवस्थापनको तयारी

    अर्थले थाल्यो बाढी-पहिरो प्रभाव न्यूनीकरणका लागि स्रोत व्यवस्थापनको तयारी

    काठमाडौं । अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्यमा लाग्न निर्देशन दिए ।

    अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढीपहिरोले गर्दा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक स‌स्था, कृषि, व्यवसाय लगायत क्षेत्रमा भएको क्षतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने भएपनि राहत र पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार पार्ने गरी काम गर्न आवश्यक रहेको बताए ।

    बाढीपहिरो जानु भन्दाअघि अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंक लगायतले नेपालको अर्थतन्त्र सुधारोन्मुख भएको बताएका थिए ।

  • आजबाट सरकारले बेच्दै छ खसी–बोका–च्याङ्ग्रा

    आजबाट सरकारले बेच्दै छ खसी–बोका–च्याङ्ग्रा

    काठमार्डौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले शनिबारसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा भित्रिसकेको जानकारी दिइन् । हेटौँडाबाट पहिलो लटमा २०८ खसीबोका आइपुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उनले जानकारी दिइन् । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याएको छ । चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ ।

    यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ । निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् । दसैँमा ठुलो सङ्ख्यामा खसीबोकाको खपत हुने हुँदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।

  • नेवानिका एयर होस्टेसको उमेर हद ५० वर्ष पुर्याइने

    नेवानिका एयर होस्टेसको उमेर हद ५० वर्ष पुर्याइने

    काठमाडौं । सरकारले विमान परिचारक–परिचारिकाको को ४५ वर्षे उमेर हदलाई बढाएर ५० वर्ष पुर्‍याउने भएको छ । शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रुहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायु सेवा निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाउन निर्देशन दिएका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले क्याबिन क्रुहरुले आफूहरुमाथि भेदभाव भएको, विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरुको सुनुवाइ राखेकामा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए ।

    हाल निगमको विनियमावलीमा क्याबिन क्रुको उमेर हद ४५ वर्ष छ, आफूले निगम व्यवस्थापनलाई त्यो व्यवस्था संशोधन गर्न निर्देशन दिएको मन्त्री पाण्डेले बताए । ‘उमेर हद ४५ वर्ष कायम गरिएको छ विनियमावलीमा । त्यसले मर्कामा परेको, त्यसपछि के गर्ने भन्ने समस्यामा परेको भन्ने कुरा राख्नुभयो । आजबाट हामीले केही कुरा सम्बोधन गर्ने भन्ने निस्कर्षमा पुगेर निगमलाई यो बाटो जानुस् भनेका छौं’, उनले भने ।

    क्याबिन क्रुको उमेर ५ वर्ष थप्दा उनीहरुको अनुभवबाट निगमले धेरै फाइदा लिन सक्ने मन्त्री पाण्डेले बताए । ‘उहाँहरुले विभिन्न अनुभव र तालिम गर्नुभएको हुन्छ, निगममा निगमका विभिन्न तालिमका माध्यमबाट लगानी ठूलो भइसकेको हुन्छ । ५ वर्ष अनुभवी एयरहोस्टेजले सेवा दिँदा देशलाई, निगमलाई राम्रै गर्छ भन्ने निष्कर्ष छ’, उनले भने । मन्त्रालयसँगको सहमतिसँगै छलफलमा सहभागी विमान परिचारक–परिचारिकाहरु आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्किने प्रतिवद्धता जनाएका मन्त्री पाण्डेले बताए ।

  • साढे ११ करोड मूल्य बराबरको सुनसहित दुई भारतीय नागरिक पक्राउ

    साढे ११ करोड मूल्य बराबरको सुनसहित दुई भारतीय नागरिक पक्राउ

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८ किलोग्राम अवैध सुनसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै हेटौंडा १५ स्थित रातोमाते प्रहरी चौकीबाट ८ केजी २४३ ग्राम ९७० मिलिग्राम अवैध सुनसहित उनीहरुलाई सार्वजनिक गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काको कमान्डर खटिएको प्रहरी टोलीले भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिंघची थाना पुजरबाडीका २५ वर्षका अभिषेक अजिनाथ र २७ वर्षका राहुल भिट्टिहाल बाडलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रहरीले उनीहरु सवार वाग्मती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ । प्रहरीले शनिबार बिहान ३ बजे उनीहरूलाई पक्राउ गरेको हो । सुनको मूल्य करिब ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

    खड्काका अनुसार उनीहरु जनकपुरबाट सुन लिएर काठमाडौंतर्फ जाँदै थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका दुवै जना यसअघि पनि सुन कारोबारमा संलग्न रहेको बुझिएको छ । नियन्त्रणमा लिइएको सुनको मूल्य साढे ११ करोडमाथि रहेको छ ।

  • दशैंका च्याङ्ग्राको यात्रा : रारादेखि फेवासम्म

    दशैंका च्याङ्ग्राको यात्रा : रारादेखि फेवासम्म

    रासस\काठमाडौं । पल्लो मुस्ताङदेखि च्यांग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए। साढे दुई सय च्यांग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको उनले बताए। मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आएका उनको साथमा दुई साथी पनि थिए। लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दसैँको मुखमा च्यांग्रा बेच्न लुम्ले पुगेका हुन्। च्यांग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ।

    लामाले दसैँमा च्यांग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन। विगत एक दशकदेखि नियमित जसो च्यांग्राको व्यापार गर्न उनी मुगुबाट पोखरा आउँछन्। ‘यसपाली दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ, उनले भने। लामो समयदेखि पोखरा आएर च्यांग्रा बिक्री गर्दै आएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ।

    मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उनले १८ वटा च्याङ्गा बिक्री भइसकेको बताए। लामाभन्दा अगाडि केही व्यापारीले च्यांग्रा पोखरा पुर्‍याइसकेका छन्। अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्यांग्राको माग बढेको उनको अनुभव छ। यही असोज २२ गतेसम्म सबै च्यांग्रा बिक्री गरेर गाउँ फर्कने उनको योजना छ।

    मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्यांग्रा व्यापारमा वर्षौँ बिताएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको उनले बताए। उनले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्यांग्रा ल्याउँछन्। ‘दसैँको बेला पोखरामा बस्ने दाजुभाइहरुले च्यांग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्यांग्रा लिएर उहाँहरुलाई मासु खुवान पाउँदा हामीहरुलाई पनि खुसी लाग्छ,’ लामाले भने, ‘राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने ?, केही न केही काम त गर्नु पर्‍यो।’

    अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब रु १० देखि १२ हजारले मूल्य घटाएको लामा बताउँछन्। मुस्ताङका कर्मा लामा छिरिङका व्यवसायिक साझेदार हुन्। उनले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताए। यस वर्ष च्यांग्राको अधिकतम मूल्य रु ४० देखि ४५ हजार रहेको कर्माले जानकारी दिए। आफूहरुले बथानमा रहेका रोज्जा ९रोजेको० च्यांग्रालाई रु ४२ हजारमा दिने गरेको उनी बताउँछन्।

    ‘देख्दा सुन्दा यसको मूल्य बढी भयो भन्ने लाग्नसक्छ तर तुलनात्मक रुपमा पोखरासम्म ल्याउँदा त्यस्तो महँगो होइन, पोहोर सालको दसैँमा ४८ देखि ५० हजार भन्थे अहिले ३८ देखि ४० हजारमा पाउनुहुन्छ, गाउँमा भन्दा सहर बजारमा च्यांग्राको माग बढी हुने हुँदा हामीहरुले हिमालमै पुगेर ल्याउने गरेका छौँ,’ उनले भने। दसैँका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्यांग्रा खरिद गरेर ल्याउने गर्छन्। यस वर्ष पनि धेरैको सङ्ख्यामा व्यापारी मुस्ताङ पुगी च्यांग्रा लिएर बजार पुग्न थालेका छन्।

  • बाढी-पहिरो प्रभावित जिल्लाका पालिकालाई संकटग्रस्त घोषणा गर्न सिफारिस

    बाढी-पहिरो प्रभावित जिल्लाका पालिकालाई संकटग्रस्त घोषणा गर्न सिफारिस

    काठमाडौं । विपद्‍बाट बढी प्रभावित जिल्लाका पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २६ औँ बैठकले असोज १० गतेदेखि १३ गतेसम्म परेको अबिरल वर्षाका कारण बाढीपहिरोले क्षति पुगेका स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी डा. डिजन भट्टराईले विभिन्न जिल्लाका तीन दर्जनभन्दा बढी पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको जानकारी दिए ।

    उनले भने, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २६ औँ बैठकले विपद्‍बाट बढी प्रभावित जिल्लाका पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको छ। हाल तीन दर्जनभन्दा बढी पालिका भनिएको छ, यकिन तथ्याङ्क मन्त्रीपरिषद्‍ले निर्णय भएपछि मात्र थाहा हुन्छ।

  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन तीन करोड प्रदान

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन तीन करोड प्रदान

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोड भन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।

    कोषमा कृषि विकास बैँकबाट रु एक करोड ५० लाख, नागरिक लगानी कोषबाट रु ५१ लाख, एसबिआइ बैँकबाट रु २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट रु ३१ लाख, नेपाल पूर्वाधार विकास बैँकबाट रु २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि ९बिवाइडी० कम्पनीबाट रु ५१ लाख रकम हस्तान्तरण भएको हो ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठुलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले किसानहरुको पाकिसकेको बालीसमेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताए । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट पनि सहयोगको क्रम जारी रहेको छ।

  • कतारका लगानीकर्ता नेपालमा अवसर खोज्दै

    कतारका लगानीकर्ता नेपालमा अवसर खोज्दै

    काठमाडौं । श्रमिक गन्तव्यको रूपमा मात्रै नभई कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरू, जलविद्युत्, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरूको रुचि देखिएको छ । ‘यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’ कतार चेम्बर अफ कमर्सका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने, ‘हामी थप लगानीकर्तालाई पनि प्रोत्साहित गर्नेछौं ।’

    नेपाल-कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरीय बैठकमा अध्यक्ष थानी र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न बैठकमा आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको हो । कतारका अमीर सेख तमीम बिन हमाद अल थानीको गत २३ र २४ अप्रिलमा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।

    काउन्सिलको पहिलो अध्यक्षस्तरीय बैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ–आफ्नो नेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राखेका छन् । आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि बैठकमा भएको महासंघले जनाएको छ ।

    बैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरूमा गरिएको सुधारले लगानीको अवसर जुट्दै गएको बताए । उनले कतारका लगानीकर्ताहरुलाई नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, सीप विकास लगायत क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आह्वान गरे ।

    कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता पनि जनाएका छन् ।

  • नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता, खुल्यो विद्युत निर्यातको बाटो

    नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता, खुल्यो विद्युत निर्यातको बाटो

    काठमाडौं । नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता भएको छ । सम्झौताले नेपालबाट बंगलादेशमा विद्युत निर्यातको बाटो खुलेको छ । बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएको छ । अब नेपाल तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्न सक्षम बन्ने भएको छ । नेपालले तीन वर्षदेखि नै भारतमा विद्युत निर्यात गर्दै आएको छ ।

    काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता (पीएसए) भएको हो । यससँगै नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने छ ।

    नेपालले विद्युत् बिक्री गर्ने, भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने र बंगलादेशले त्यो खरिद गर्ने भएकाले तीन देशका निकायबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो। रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगले हस्ताक्षर गरे ।
    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भएको हो । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि उपस्थित थिए । गत जुलाईमा त्रिपक्षीय सम्झौता हुने गरी दिन नै तय भए पनि बंगलादेशमा राजनीतिक प्रदर्शनहरू भएपछि त्यो सरेको थियो ।

    दक्षिण एसियाको ऊर्जा सहकार्यमा कोसेढुंगा भएको कुलमान घिसिङले ‍‍‍बताए । ‘यो हाम्रो साझा भिजनको परिणति हो । यसले सबरिजनल र रिजनल सहकार्यको ढोका खोल्ने छ,’ उनले भने । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा प्रतियुनिट (६.४० अमेरिकी सेन्ट) का दरले बंगलादेशको बीपीडीबीलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।

    बंगलादेश विद्युत् निर्यात गर्दा भारतको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेबापतको ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्नेछ । नेपालले भारतको मुजफ्फरपुरमा विद्युतको मिटर राखिनेछ, बंगलादेशमा कति विद्युत् निर्यात भयो भन्ने रेकर्ड त्यही मिटरमा हुनेछ । त्यहाँसम्मको प्राविधिक नोक्सानी भने प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट बंगलादेशको सीमाको प्राविधिक नोक्सानी पनि बंगलादेशी पक्षले नै तिर्ने सम्झौतामा उल्लेख छ । यसअनुसार नेपालले ६.४ सेन्टमा बिक्रीको विद्युतको मूल्य बंगलादेश पुग्दा प्रतियुनिट करिब ७.६ सेन्ट पुग्ने अनुमान गरिएको छ ।

    भारतबाट भने बेहरमपुर (भारत)–भेडामारा (बंगलादेश) ४ सय केभी प्रसारण लाइन हुँदै बंगलादेशले विद्युत् आपूर्ति लिनेछ । हाल भारतको एनटीपीसी विद्युत् व्यापार निगम ९एनभीभीएन० बाट बंगलादेशले सोही प्रसारण लाइन हुँदै विद्युत् आयात गरिरहेको छ । ५ वर्षसम्म विद्युत निर्यातका लागि यो सम्झौता भएको हो । यो सम्झौताअनुरूप हरेक वर्ष १४ करोड ४० लाख युनिट विद्युत् बंगलादेश निर्यात हुने जानकारी घिसिङले दिए । हरेक वर्ष करिब १ खर्ब २१ करोड रुपैयाँ (९० लाख २० हजार अमेरिकी डलर) को विद्युत् बंगलादेश निर्यात हुने जानकारी पनि घिसिङले दिए ।

    भारतको आवश्यक अनुमति पाएपछि निर्यात सुरु हुने उनले बताए । नेपाल तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने पहिलो मुलुक हुने जानकारी पनि उनले दिए ।
    १० हजार मेगावाट भारतलाई र ५ हजार मेगावाट बंगलादेशलाई विद्युत् निर्यात गर्ने लक्ष्य रहेको उनले बताए । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् ।

    प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । यसअघि बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने निर्णय गरेको थियो । गत वर्षको २० मंसिरमा बंगलादेशका तत्कालीन अर्थमन्त्री मुस्तफा कमलको नेतृत्वको मन्त्रिपरिषद्को आर्थिक मामिला समितिले ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेश पावर डेभलपमेन्ट बोर्डको प्रस्ताव स्वीकृत गरेको थियो ।

    प्राधिकरण र बीपीडीबीबीच विद्युतको दरमा गत फागुनको अन्तिममा सहमति भएको थियो । गत १३ साउनमा काठमाडौंमा त्रिपक्षीय सम्झौताको तयारी भएको थियो । तर, बंगलादेशमा चर्किएको आन्दोलनका कारण त्यो रोकिएको थियो ।

    त्यसबीचमा बंगलादेशमा राजनीतिक परिवर्तन भई प्रा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेपछि नेपालले पुनः सम्झौताका लागि पहल थालेको थियो । बंगलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीले अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. युनुसलाई भेटी ऊर्जा सहकार्यका विषयमा कुरा गरेका थिए । त्यसबेला प्रा। युनुसले यसलाई अघि बढाउन बंगलादेश तयार रहेको बताएका थिए । त्यसपछि सम्झौताको नयाँ मिति तय भएको हो ।