Category: अर्थतन्त्र

  • आज विश्व पर्यटन दिवस, विश्वभर मनाइदै

    आज विश्व पर्यटन दिवस, विश्वभर मनाइदै

    काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

    ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोजना गरिनेछ ।

    दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार दिवसलाई भव्य र सभ्य रूपमा मनाउनका लागि तीन तहका सरकारको सहकार्यमा निजी क्षेत्रका पर्यटन व्यवसायी, गैरसरकारी संस्था र समुदायको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

    मूल समारोह समितिले राष्ट्रिय नाचघरमा आयोजना गर्ने औपचारिक समारोहमा विभिन्न मन्त्री, सरकारी उच्च अधिकारी, विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहनेछ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिध्यतामा कार्यक्रम हुनेछ । पर्यटनसम्बद्ध विशिष्ट व्यक्तित्वहरूबाट शुभकामना आदनप्रदान गरिनेछ ।

    बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई स्वागत गरिने कार्यक्रम छ । यस्तै बिहान ठमेलमा प्रभातफेरी गरिनेछ । उक्त कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुनेछ ।

    दिवसकै सन्दर्भमा प्रसिद्ध पर्यटकीय क्षेत्र ठमेलमा आज ‘ठमेल नखः’ महोत्सव हुँदैछ । ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । ठमेल पर्यटन विकास परिषद् र दी काठमाडौँ पोष्टको सहकार्यमा हुने महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको अद्धितीय संयोजन रहने महोत्सवका संयोजक राजीव पाण्डेले बताए । पर्यटन दिवसलाई लक्षित गरेर ‘नेपाल हस्पिटालिटी कन्क्लेभ’को दोस्रो संस्करण काठमाडौँमा बिहीबार सुरु भएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले होटल सङ्घको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो ।

    विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ)ले सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ । दिवसको उद्देश्य अन्तर्राष्ट्रिय समुदायको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक मूल्यहरूलाई प्रभाव पार्न पर्यटनको महत्वबारे चेतना जगाउनु रहेको जानकार बताउँछन् ।

  • कुन-कुन नदीमा छ आज देशभर जोखिम ?

    कुन-कुन नदीमा छ आज देशभर जोखिम ?

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो ।

    असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ ।

    यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छभने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ ।

    यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।

    विपद् प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले नदी आसपासका बासिन्दा, डुबान हुने क्षेत्रका बासिन्दा र पहिरो खस्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयानुसार उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको पनि जानकारी दिए ।

  • अर्थमन्त्री र चिनियाँ उपप्रधानमन्त्रीबीच भेट, के भयो कुराकानी ?

    अर्थमन्त्री र चिनियाँ उपप्रधानमन्त्रीबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाईस प्रिमियर) दिङ स्वेयस्याङ् बीच बेइजिङस्थिति ग्रेट हलमा भेटवार्ता भएको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिँदै नेपालको आवश्यकता एवम् विशेषता अनुरुप भौतिक पूर्वाधार, आर्थिक समृद्धि र मानवीय विकासका क्षेत्रमा थप सहयोग गर्न आग्रह गरे । उनले पूर्वाधार विकास, गरिबी निवारण लगायत अर्थतन्त्रमा चीनले हासिल गरेको समृद्धिबाट नेपाल समेत लाभान्वित हुनपर्ने विचार व्यक्त गरे ।


    चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्ले नेपालले राजनीतिक क्षेत्रमा प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै आर्थिक विकासमा नेपालको प्रगतिका लागि शुभकामना व्यक्त गरे । उनले नेपालको विकास प्रयासमा चीन सधै साथमा रहेको र विगतका सहमति तथा समझदारीहरूको कार्यान्वयनलाई उच्च प्राथमिकता दिने जानकारी गराए ।


    उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र चाईना ईन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) अध्यक्ष लुओ चाओहुबीच भेटवार्ता भएको थियो । त्यस क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासमा सिड्काको योगदानको प्रशंसा गरे । उनले विगतमा भएका सहमति तथा सम्झौताहरूको कार्यान्वयनका लागि आपसी सहमतिमा समयबद्ध कार्यतालिका निर्माण गर्न जोड दिनुका साथै आगामी दिनमा अझ महत्वपूर्ण सहयोगका लागि अनुरोध गरे ।


    सिड्काका अध्यक्षले पूर्वसहमति कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्ने जानकारी दिए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले हिजो चीनका अर्का उपप्रधानमन्त्री हि लिफेङ भेटवार्ता गरेको मन्त्री पौडेलको सचिवालयले दिएको छ ।

  • मुद्रास्फीति ५ प्रतिशत भन्दा तल, गैरखाद्यमा छैन धेरै मूल्यवृद्धि

    मुद्रास्फीति ५ प्रतिशत भन्दा तल, गैरखाद्यमा छैन धेरै मूल्यवृद्धि

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको देखिएको छ । अघिल्लो वर्ष साउनमा मुद्रास्फीति ७.५२ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि बढी भए पनि गैरखाद्य समूहको मूल्य कम बढ्दा मुद्रास्फीति नियन्त्रणमा देखिएको छ ।

    नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत देखिन्छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशतमात्र छ । अघिल्लो वर्ष साउनमा यी समूहको मुद्रास्फीति क्रमशः ८.९० र ६.६२ प्रतिशत थियो ।

    खाद्य तथा पेय पदार्थभित्र पनि तरकारीको भाउ सबैभन्दा धेरै बढेको देखिन्छ । राष्ट्र बैंकका अनुसार तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता सूचकांक १९.०७ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडीको १२.०९, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ३.३६ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको मूल्य भने २.७५ प्रतिशतले मात्र बढेको देखिन्छ ।

    गैरखाद्य र सेवा समूह अन्तर्गत सबैभन्दा धेरै विविध वस्तु तथा सेवा उपसमूहको मूल्य धेरै ७.९४ प्रतिशतले बढेको छ । मदिरा ५.३८, कपडा तथा जुत्ताचप्पल ४.४८ र सुर्तीजन्य वस्तुको ३.५२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.२८ प्रतिशत र सहरी क्षेत्रको ४.०३ प्रतिशतले बढेको छ । प्रदेशगत हेर्दा कोसीको ४.६१, मधेश ४.१७, बागमती ३.४९, गण्डकी ३.९०, लुम्बिनी ३.८१, कर्णाली ३.४६ र सुदूरपश्चिमको ६.६९ प्रतिशतले बढेको छ ।

    काठमाडौं उपत्यकामा ३.६२, तराई ४.४९, पहाड ३.६७ र हिमालमा ४.५३ प्रतिशत महँगी बढेको छ । राष्ट्र बैंकले प्रकाशन गर्दै आएको उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष अब २०८०–८१ कायम गरिएको छ । यसअघि आधार वर्ष २०७१७२ थियो ।

  • विदेशी विनिमय सञ्चिति २१ खर्ब नजिक

    विदेशी विनिमय सञ्चिति २१ खर्ब नजिक

    काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८१ सम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर विदेशी विनियम सञ्चिति पुगेको हो । असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो । एक महिनामा २।५ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति अब १५ अर्ब ५८ करोड पुगेको छ । असार मसान्तसम्म १५ अर्ब २७ करोड डलर थियो ।

    आव २०८१–८२ को पहिलो महिनाको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । साउनसम्म रहेको विदेशी विनिमय सञ्चिति नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा ३६.७ प्रतिशत देखिन्छ । कुल आयातको ११२.५ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपातमा यसको हिस्सा ३०.३ प्रतिशत छ ।

  • एक महिनामै भित्रियो झण्डै १३७ अर्ब रेमिट्यान्स

    एक महिनामै भित्रियो झण्डै १३७ अर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) मै १ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडा अनुसार साउनमा भित्रिएको यो रेमिट्यान्स अघिल्लो आव साउनको तुलनामा १८ प्रतिशत धेरै हो । अमेरिकी डलरमा विप्रेषण १ अर्ब २ करोड भित्रिएको छ ।

    अघिल्लो वर्ष ८७ करोड ९८ लाख डलर बराबर रेमिट्यान्स आएको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या (संस्थागत र व्यक्तिगत) नयाँमा ३६ हजार ९ सय २८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ छ । यस वर्ष नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटेको छ भने पुनः श्रम स्वीकृतिमा विदेश जानेको संख्या बढेको देखिन्छ ।

  • चीन भ्रमणमा रहेका अर्थमन्त्रीले के भने ?

    चीन भ्रमणमा रहेका अर्थमन्त्रीले के भने ?

    काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउन यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दीगो एवम् भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताए । नेपालको भौगोलिक अवस्था अनुसार सडक सञ्जालका अतिरिक्त रेलमार्ग, हवाई यातायात तथा आधुनिक पोड–वेको महत्त्व रहेको उल्लेख गर्दै उनले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी तथा वैदेशिक लगानी विस्तार आवश्यक रहेको बताए ।

    यातायात पूर्वाधार विकासबाट आम नागरिकको जीवनयापन र आवागमनमा सहजता पुग्ने मात्र नभई नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रतिस्पर्धी बन्दै जाने, स्वदेशी उत्पादनले मुलुकभित्र तथा अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच प्राप्त गर्ने अर्थमन्त्री पौडेलले बताए । उनले व्यवस्थित सहरीकरण तथा बस्ती विकाससहित सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न योगदान पुग्ने बताए । अर्थमन्त्री पौडेलले वातावरणमैत्री एवम् दिगो यातायातका लागि विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने नेपालको नीति रहेको जानकारी गराए ।

    यसका लागि विद्युतीय सवारीको आयातमा राजस्व सहुलियत, पूर्वाधार निर्माण, मुलुकभित्रै विद्युतीय सवारीसाधनको उत्पादनका लागि अन्तर्राष्ट्रिय प्रविधि तथा लगानी आकर्षित गर्ने नीति रहेको उनले बताए । आजदेखि सुरु भएको ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमको कार्यक्रममा नेपाललगायत विभिन्न देशका उच्च राजनीतिक तहका प्रतिनिधि सहभागि छन् । नेपालबाट अर्थमन्त्री पौडेलसहित चीनका लागि नेपालका कार्यबाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश भट्टराई लगायत अधिकारी सहभागी छन् ।

  • एडीबीको प्रपेक्षण : नेपालको अर्थतन्त्र सुधारोन्मुख

    एडीबीको प्रपेक्षण : नेपालको अर्थतन्त्र सुधारोन्मुख

    काठमाडौं । नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्ने क्रममा एडीबीले चालु आर्थिक बर्ष २०८१\८२ मा नेपालको अर्थतन्त्र ४।९ प्रतिशतले विस्तार हुने बताएको हो । साथै सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत पुग्ने अनुमान समेत गरेको छ ।

    यसअघि अप्रिल २०२४ मा सार्वजनिक गरिएको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशत मात्र हुने अनुमान गरिएको थियो । ‘आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल गार्हस्थ उत्पादन जीडीपी बढ्नेछ’नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने ।

    एसियन डेभलपमेन्ट आउटलुक सेप्टेम्बर २०२४ का अनुसार, सामान्य मनसुनसँगै समयमै धान रोपाई सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि फसल संकलनको अनुकुलतामा निर्भर रहनेछ । विद्युत् उत्पादन क्षमतामा वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिनेछ। पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवाहरू लगायतका गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ।

    लचक मौद्रिक नीति, पुँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा गरिएको छ। कृषि उत्पादन, पर्यटक आगमनमा सुधार र विद्युत उत्पादनमा भएको वृद्धिसहितका कारणले जीडीपीमा सकारात्मक वृद्धि हुने अनुमान गरिएको छ ।

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१्–८२ मा मुद्रा स्फिति ५ प्रतिशतभित्रै सीमित गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य हासिल हुनसक्ने देखिन्छ । सरल फसल संकलन तथा नेपालको आयातको मुख्य स्रोत भारतमा मुद्रास्फितिमा सामान्य गिरावट आएसंगै मुद्रास्फिति केन्द्रीय बैंकले निर्धारण गरेको सीमामै रहने प्रक्षेपण गरिएको छ ।

    बाह्य जोखिमहरू भने सापेक्ष रूपमा नियन्त्रणमा रहने बताइएकोछ । त्यस्तै व्यापार घाटामा गिरावट, उत्साहवर्द्धक विप्रेपण आप्रवाह र पर्यटक आगमनमा वृद्धिले गत आर्थिक वर्ष २०८०\८१ मा नै बाह्य क्षेत्रमा सुदृढ देखिएको छ । यद्यपि, आर्थिक वर्ष २०८१्–८२ मा चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको एक प्रतिशतसम्म पुग्नसक्छ, जुन गत आर्थिक वर्षमा अर्थतन्त्र पुनरुत्थान तथा विप्रेषण आप्रवाहमा मध्यम सुधारसँगै ३.९ प्रतिशतले बचतमा रहेको थियो ।

    मध्यपूर्वमा कुनै पनि भूराजनीतिक तनाव गहिरिएको खण्डमा नेपालको विप्रेषण आयमा असर पर्नुका साथै इन्धन र खाद्यान्नको मूल्यमा वृद्धि हुनसक्छ । विश्वव्यापी आर्थिक मन्दीले पर्यटन आयलाई समेत असर गर्न सक्छ । प्राकृतिक विपद् तथा जलवायु प्रकोपहरू नेपालको आर्थिक वृद्धिमा चिरस्थायी जोखिमका रूमा रहेका छन् ।

    एडिवी समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया तथा प्रशान्त क्षेत्रको विकासमार्फत् चरम गरिवी निवारणको पहललाई जारी राख्न प्रतिवद्ध रहेको बताएके छ । सन् १९६६ मा स्थापना भएको एडिवीमा ६८ सदस्यहरूको स्वामित्व रहेको छ र ती मध्ये ४९ एसिया तथा प्रशान्त क्षेत्रमा छन् ।
    एडीबी नेपालले समेत बुधबार नेपाल सम्बन्धी विवरणहरु सार्वजनिक गरेको छ ।

    सन् २०२५ मा अर्थतन्त्रमा अझै सुधार हुने अनुमान एडीबीले गरेको छ । सो वर्ष ४.९ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान एडीबीको छ । अप्रिलको प्रक्षेपणमा ४.८ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान गरिएको थियो । सन् २०२३ मा २ प्रतिशतले मात्र अर्थतन्त्र विस्तार भएको थियो ।

  • दशैंमा बसका टिकट अनलाइनबाटै काट्न सकिने, दैनिक ४० हजार टिकट बुक गर्ने क्षमता

    दशैंमा बसका टिकट अनलाइनबाटै काट्न सकिने, दैनिक ४० हजार टिकट बुक गर्ने क्षमता

    काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको जनाएको छ । अहिले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्य र पोखराबाट नेपालका सबै प्रमुख सहरमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । बस व्यवसायी र सरकारबीच १२ असोजबाट अग्रिम टिकट काट्ने सहमति भएको छ ।

    विगतमा समेत दशैंमा यात्रुहरूलाई सहज रूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवाले अझ परिस्कृत रूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको दाबी गरेको छ । बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ । प्रत्येक वर्ष दशैंमा बससेवाले टिकटको संख्या बढाउँदै लगेको खनालले बताए । यो वर्ष पनि दैनिक टिकटको कोटा बढाउने तयारी भइरहेको उनले जानकारी दिए ।

    ‘बुकिङ खुलेपछि टिकटका लागि बसपार्क वा काउन्टरमा जानुपर्ने बाध्यता हटोस् भन्ने हाम्रो चाहना हो,’ खनालले भने, ‘अनलाइनबाट टिकट काट्दा बस र सिटसमेत छान्न पाउने भएपछि यात्रु र दोहोरो टिकटको विवाद आउने छैन ।’ बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौंको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याएको छ । बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जान सो लाउन्जबाट सेवा लिन सक्छन् । बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् ।

  • दशैलाइ अग्रिम बुकिङ १२ गतेबाट खुल्ने

    दशैलाइ अग्रिम बुकिङ १२ गतेबाट खुल्ने

    दशैका लागि सवारी साधनको अग्रिम बुकिङ १२ असोजबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा मङ्गलबार बसेको सरोकारवालाको बैठकले अग्रिम बुकिङ खुलाउने निर्णय गरेको हो । बैठकले सकेसम्म अनलाइनबाट बुकिङ गर्ने व्यवस्था मिलाउन समेत व्यवसायीलाई आग्रह गरेको छ । घटस्थापनादेखी पुर्णिमासम्म देशैभर रुटपरमिट खुला गरिएको छ । लापसे र मापसे गरेर सवारी चलाउन रोक लगाइएको छ ।

  • मेलम्ची भ्रष्टाचार : दोषि ठहरिएकालाई ८ वर्ष कैद

    मेलम्ची भ्रष्टाचार : दोषि ठहरिएकालाई ८ वर्ष कैद

    काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्र कुमार ठाकुरलाई ८ वर्ष कैद सजाय तोकेको छ । मेलम्ची भ्रष्टाचारको आरोपमा दुई साताअघि पाँच जनालाई दोषी ठहर गरेको विशेष अदालतले ठाकुरलाई आठ वर्षमा थप एक महिना कैद सहित १० करोड १० लाख जरिवाना गरेको हो ।

    अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सूर्यराज कँडेल र रामचन्द्र देवकोटालाई पनि गजेन्द्र ठाकुरलाई सरह नै कैद र जरिवाना तोकेको छ । विशेष अदालतले परामर्शदाता शिवकुमार शर्मालाई आठ वर्ष कैद र २ करोड ९५ लाख रुपैंया विगो सजाय सुनाएको छ । तर उनी ६५ वर्ष नाघेको देखिएको भन्दै विशेष अदालतले दुई वर्ष कैद छुट दिई छ वर्ष मात्रै कैद बस्नुपर्ने फैसला गरेको छ ।

    ठेकेदार कम्पनी इप्टिसालाई ६ करोड २१ लाख विगो फैसला गरेको छ । अर्को कम्पनी बीईटीएसलाई पनि त्यति नै विगो सजाय भएको छ । ठेक्का पाएको अर्को कम्पनी सीएमसीबाट २६ करोड ११ लाख रुपैंया विगो असुल्ने फैसला भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलम्चीमा भ्रष्टाचार भएको आरोप लगाउदै तीन पूर्वसचिव सहित १५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा कुल ८९ करोड ८ लाख रुपैंया रोज्यकोषमा नोक्सानी भएको निचोड सहित अख्तियारले मुद्दा दायर गरेको थियो । परामर्शदार्ता परामर्शदाता इप्टिसाका टिम लिडर शिव कुमार शर्मा दोषी ठहर भएका छन् भने इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी ठहर भएको छ ।

  • अर्थ मन्त्री पौडेल चीन जाँदै

    अर्थ मन्त्री पौडेल चीन जाँदै

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार राति चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ । उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एन्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ । अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कर्ने भएका छन् ।

  • झण्डै २ अर्ब लगानीमा बूढानीलकण्ठमा  लक्जरी रिसोर्ट बन्दै

    झण्डै २ अर्ब लगानीमा बूढानीलकण्ठमा लक्जरी रिसोर्ट बन्दै

    काठमाडौं । युरोपेली चेन होटल ब्रान्ड लुभ्र होटल्स ग्रुप अन्तर्गतको लक्जरी ब्रान्ड ‘रोयल ट्युलिप’ ले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । क्लासिक भ्यु रिसोर्ट लिमिटेडले काठमाडौं बूढानीलकण्ठमा निर्माण गरिरहेको रिसोर्ट व्यवस्थापन सरोवर होटल्सले गर्ने भएको हो । दक्षिण एसियामा रोयल ट्युलिपको व्यवस्थापन सरोवर होटल्सले गर्ने गर्छ । यसले नेपाललाई विश्व लक्जरी बजारमा महत्त्वपूर्ण योगदान दिने कम्पनीले जनाएको छ ।

    यो परियोजनाको नेतृत्व ग्लोबल इक्विटी फन्ड लिमिटेड अध्यक्ष मुकुन्दराज कुँवर र निर्देशक आशिष ढकालले गरेका छन् । रोयल ट्युलिपले नेपालमा नयाँ लक्जरी मापदण्ड स्थापना गर्ने दाबी कम्पनीको छ । बूढानीलकण्ठको शान्त वातावरणमा अवस्थित यो लक्जरी रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० मिनेट यात्रामा पुगिने छ । २६ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ७५ कोठा रहने छन् । आधुनिक सुविधा र नेपालको प्राकृतिक सौन्दर्य एकीकृत गर्ने गरी कोठा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

    यहाँ एकैपटक ५ सय जनालाई सेवा दिने ब्यांक्वेट हल, विश्वस्तरीय स्पा, स्टिम रुम, निजी ज्याकुजी र अन्य वेलनेस सुविधा उपलब्ध हुनेछन् । स्वदेशी तथा विदेशी पाहुनाका लागि शान्त र अद्वितीय ‘होलिडे’ अनुभव दिलाउने विश्वास लगानीकर्ताको छ । सरोवर होटल्सका प्रबन्ध निर्देशक अजय बाकायाले नेपालको लक्जरी बजारमा रोयल ट्युलिप ब्रान्ड प्रवेशले उत्साह थप्ने बताए ।

    ‘नेपाल भारतीय र अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य बन्दैछ, र हामी यस जीवन्त बजारमा सेवा विस्तार गर्न पाउँदा खुसी छौं,’ उनले भने । यस होटलमा १ अर्ब ८० करोड लगानी हुने भएको छ । रोयल ट्युलिप सरोवर होटल्सको औपचारिक हस्ताक्षर कार्यक्रम मंगलबार नयाँदिल्लीमा गर्ने योजना छ ।

    कम्पनी अध्यक्ष कुँवरले रोयल ट्युलिपलाई नेपाल ल्याउन पाउँदा गर्व महसुस भएको बताए । उनले यस रिसोर्टले देशमा लक्जरी आतिथ्यको नयाँ स्तर स्थापित गर्ने दाबी गरे ।

  • जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्दै

    जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्दै

    काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ । जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा पुनः नियमित उडान गर्न लागेको बताएको छ । प्राधिकरणले जजिरासँग विमानस्थल सञ्चालन हुने समय भित्रको सेड्युल मागेको थियो ।

    सोही अनुसार जजिराले जजिराले अनुमतिका लागि पत्र पठाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । विमानस्थल बन्द भइसकेको समय ९रात० को समयमा एउटा मात्र जहाजका लागि सबै समय दिँदा सञ्चालन खर्च अनावश्यक बढ्ने भएकाले प्राधिकरणले जजिरालाई विमानस्थल खुलेको समयमा उडान राख्न आग्रह गरेको थियो । सोही अनुसार ६ः२५ मा नेपाल आएर ७:३० मा उडान गर्ने गरी जजिराले अनुमति लिन पत्र पठाएको छ ।

  • सहकारी ठगी प्रकरण : रविका साझेदार छवि पक्राउ

    सहकारी ठगी प्रकरण : रविका साझेदार छवि पक्राउ

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका हुन् । उनी सहकारी ठगिमा मुछिएका पुर्वगृहमन्त्री रवि लामिछानेका साझेदार हुन । उनी गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक हुन् । उनी काठमाडौंको शङ्खमुलबाट पक्राउ गरेको हो ।

  • अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको मूल्यमा गिरावट

    अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको मूल्यमा गिरावट

    काठमाडौं । शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ। नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ। शुक्रबार यसको मूल्य एकको खरिददर १३३ रुपैयाँ ६० पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा कायम भएको थियो।

    यस्तै, युरोपियन यूरोको आजको मूल्य एकको खरिदर १४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा कामय भएको छ भने शुक्रबार यसको एकको खरिददर १४९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७४ पैसा निर्धारण भएको थियो। केन्द्रीय बैंकका अनुसार शुक्रबार युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३९ पैसा कामय भएकामा आज एकको खरिदर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ १२ पैसा कायम भएको छ।

    यस्तै, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७८ पैसा र बिक्रीदर ९१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २१ र बिक्रीदर १०३ रुपैयाँ ६७ पैसा कायम भएको छ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा कायम छ।
    राष्ट्र बैङ्ककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा कायम भएको छ। थाई भाट एकको खरिददर चार रुपैयाँ ०४ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा कायम छ। साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ।

    मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०५ पैसा छ।

    हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १२ पैसा र बिक्रीदर १७ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ २० पैसा र बिक्रीदर ४३९ रुपैयाँ १७ पैसा छभने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६१ पैसा कायम भएको छ।

    राष्ट्र बैङ्कले यस विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दरभने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

  • सहकारी छानविन समितिको प्रतिवेदन सार्वजनिक, रविले झुट बोलेको निष्कर्ष

    सहकारी छानविन समितिको प्रतिवेदन सार्वजनिक, रविले झुट बोलेको निष्कर्ष

    काठमाडौं । सहकारी छानबिन समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ । समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुने गरेको भनी उनले बयान दिएका थिए । तर, आर्थिक कारोवार हेर्दा रवि लामिछाने नै कारोवारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको हो ।

    समितिले प्रतिवेदनमा भनेको छ, ‘तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछानेले आर्थिक कारोबारमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवी लामिछानेले नै कारोबार गर्न गरेको पाइएको छ ।’

    समितिले १६ वटा कारोवारका विवरणहरु नै प्रतिवेदनमा समावेश गरेको छ, जसमा कुल २३ करोड ७९ लाखको कारोवार भएको देखिन्छ । समितिको पूर्ण प्रतिवेदन संसद सचिवालयले आज सार्वजनिक गरेको छ । ११ सय पेज भन्दा लामो प्रतिवेदनमा ४० भन्दा बढी समस्याग्रस्ता सहकारी र गोखा मिडियाबारे विस्तृतमा उल्लेख गरिएको छ ।

  • इपीएस कोरियामा उत्पादनमुलकतर्फको रिजल्ट, ८ हजार भन्दा धेरै पास

    इपीएस कोरियामा उत्पादनमुलकतर्फको रिजल्ट, ८ हजार भन्दा धेरै पास

    काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले उत्पादनमुलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिस्पर्धी क्षमता) टेस्टको नतिजा सार्वजनिक गरेको छ । यो परीक्षामा ८ हजार १५१ जना परीक्षार्थी पास भएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको भएको समझदारीअनुरुप रोजगार अनुमति प्रणाली अन्तर्गत प्रयोगात्मक परीक्षापछि कोरिया नेपाली कामदार पाउने गरी नतिजा सार्वजनिक भएको हो ।

    गत १८ देखि २४ भदौसम्म भएका सीप परीक्षणमा मा ८९३२ जना सहभागी भएका थिए । जसमा ८ हजार १५१ जना उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ । कोरियाको मानव संशासन विभागले ३ असोजमा यो नतिजा दिएपछि आज ४ असोजमा परीक्षाफल प्रकाशन भएको हो । अब कोरिया जानेहरुको रोस्टर तयार गर्नुअघि सबैको मेडिकल टेस्ट हुनेछ ।

  • गोर्खा मिडियामा रविको तलव मासिक ६ लाख माथि

    गोर्खा मिडियामा रविको तलव मासिक ६ लाख माथि

    काठमाडौं । गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षमा १ करोडभन्दा बढी तलब बुझेका छन् । सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनका अनुसार लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको पाइएको छ । आर्थिक वर्ष २०७७\७८मा लामिछानेको गोर्खा मिडियाबाट ३० लाख रुपैयाँ तलब बुझेका थिए । आर्थिक वर्ष २०७८\७९मा भने उनले ७४ लाख ३६ हजार ५८७ रुपैयाँ तलब लिएका थिए ।

    उनले १ माघ २०७७ देखि १ असार २०७९सम्म गोर्खा मिडियामा आवद्ध थिए । यअनुसार लामिछानले मासिक करिब ६ लाख २० हजार रुपैयाँ तलब बुझेको देखिन्छ । रास्वपाका सहममहामन्त्री रहेका विपिनकुमार आचार्यले पनि यो अवधिमा गोखर्च मिडियाबाट ५३ लाख ५३ हजार १६६ रुर्पैयाँ तलब बुझेको प्रतिवेदनमा उल्लेख छ । मिडिाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी)ले आर्थिक वर्ष २०७८\७९मा ३० लाख रुपैयाा तलबका रुपमा बुझेको विवरणमा उल्लेख छ ।

    गोर्खा मिडियाले सञ्चालन अवधिका १४ करोड ९३ लाख २२ हजार रुपैयाँ तलबकै रुपमा खर्च गरेको देखिएको छ । विभिन्न सहकारीबाट गोर्खा मिडियामा गैरकानुनी रुपमा आएको ६५ अर्ब रुपैयाँ अपचलन भएको ठहर गर्दै हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रबि लामछानेमाथि समेत कारवाही गर्न संसदीय समतिको सो प्रतिवेदनले सिफारिस गरेको छ ।

  • काठमाडौं छिर्ने सडक घटस्थापना अगाडी मर्मत गरिसक्ने सहमति

    काठमाडौं छिर्ने सडक घटस्थापना अगाडी मर्मत गरिसक्ने सहमति

    काठमाडौं । नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिन तीन वटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो । आयोजनामा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्षबीच सहमती भएको हो ।

    भौतकमन्त्री देवेन्द्र दाहालले बोलाएको छलफलमा कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डे, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जमरकट्टेल, प्रदेशका मन्त्री मधुकुमार श्रेष्ठ, विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । साथै निर्माण कम्पनीका प्रतिनिधि, कन्सल्ट्यान्ट लगायत समेत छलफलमा सहभागी थिए ।

    सहमति पत्रमा निर्माण सामग्री उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम राष्ट्रिय प्राथमिकता प्राप्त राजमार्ग निर्माणरविस्तारका लागि निर्माण व्यवसायीबाट स्रोत पहिचान गरी प्रस्ताव गरेमा पालिकाहरूबाट वा योजना पहिचानको बेलामा वातावरणीय अध्ययन प्रतिवेदनमा भएका खानी योजनाको निर्माणका लागि प्रयोग गर्ने गरी आवश्यक कच्चा निर्माण सामग्री उत्खनन गर्न सहयोग गर्ने र सो बारेमा सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गर्ने उल्लेख छ ।

    निर्माण व्यवसायीले स्रोत उपयोग गरेको पालिकालाई नियमानुसार राजस्व तिर्नु पर्ने तर ओसारपसारमा थप वा दोहोरो कर नलिने सहमति हुनका साथै योजना कार्यान्वयनको सन्दर्भमा निर्माण व्यवसायीले स्थापना गर्नुपर्ने क्रसर प्लान्टरअस्फल्ट प्लान्ट राख्नका लागि सम्बन्धित निकार्यले आवश्यक सहयोग गर्न पनि सम्बद्ध निकायले प्रतिबद्धता जनाएका छन् ।

    सडक विभागले तत्कालै सीतापाइला, धार्के, भिमढुंगा, लामीडाँडा, गल्छी तथा गल्छी परेवाटार ९त्रिशूली पारि पट्टि० भई रहेका सडकहरूको अवस्था अनुसार डाइभर्सन सडकको रूपमा प्रयोग गर्ने समेत सहमति पत्रमा उल्लेख छ ।

    आयोजनाको टिम, योजना कार्यालय, परामर्शदाता, निर्माण व्यवसायीले सबै पक्षहरूले डिजाइन कार्यान्वयन र गर्नुपर्ने सुधारका सम्बन्धमा स्थानीय पालिकाहरूसँग नियमित सम्पर्क र समन्वय पनि गर्नु पर्ने भएको छ ।

    सडक निर्माण गर्दा प्रचलनमा रहेका सिँचाइ र शाखा सडकहरूमा अवरोध नहुने गरी निर्माण कार्य गराउने विषय पनि सहमति पत्रमा समेटिएको छ ।

    छलफलको सहमति अनुसार निर्माण व्यवसायीले अल्पकालीन रूपमा आगामी चाडपर्वलाई लक्षित गरी १७ असोजभित्रमा सम्पूर्ण मर्मतको काम सक्नु पर्नेछ ।

    यस्तै आर्थिक वर्ष २०८१\८२ को लक्ष्य अनुसार काम नभए आयोजना सम्झौताका शर्त बमोजिम गर्ने भनिएको छ भने आयोजना कार्यान्वयन गर्दा गल्छी, महादेवबेंशी लगायतका स्थानमा छुट भएका थप घर, टहरा र संरचनाहरूको नियमानुसार क्षतिपूर्तिका लागि तत्काल प्रक्रिया अघि बढाउने पनि सहमति पत्रमा उल्लेख छ ।

    छफलका क्रममा मन्त्री दाहालले उक्त सडक खण्ड संघीय राजधानीलाई देशका विभिन्न भाग जोड्ने ‘लाइफलाइन’ भएकाले हेल्चेक्र्याइँ नगरी लक्ष्य अनुसार कार्य सम्पन्न गर्न निर्देशन दिए ।

    तत्काल समस्या समाधानको रूपमा चाडपर्वमा विनाअवरोध सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन र दीर्घकालीन रूपमा लक्ष्य अनुसार काम गरी नतिजा निकाल्न समेत उनले आग्रह गरे ।

  • घटस्थापना अगाडी नै मेलम्चीको पानी काठमाडौं फर्काउने तयारी

    घटस्थापना अगाडी नै मेलम्चीको पानी काठमाडौं फर्काउने तयारी

    काठमाडौं । दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने भएको छ। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। दशैंअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ। मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौँमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।

    ‘मेलम्चीको पानी असोज दोस्रो साता भित्रै काठमाडौँमा ल्याउने तयारीमा छौं,’ उनले भने। सोही योजनाअनुसार अहिले काठमाडौँमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत सम्हार गर्ने काम भइरहेको पनि लामिछानेले जानकारी दिए। वर्खायाम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षती गर्ने भएका कारण काठमाडौँ उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो। बाढीको सम्भावना कम भएसँगै काठमाडौँमा पानी वितरण गर्ने योजना अनुसार तयारी भइरहेको लामिछानेले बताए।

    काठमाडौँ उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको छ।

    काठमाडौँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा ८ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी छ। मेलम्ची खानेपानीका लागि काठमाडौँ उपत्यकामा एक हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिएको छ।

  • चाडबाडका लागि सुपथ मूल्यका पसल आजबाट सञ्चालन

    चाडबाडका लागि सुपथ मूल्यका पसल आजबाट सञ्चालन

    काठमाडौं । सरकारले दशैं सहित चाडपर्व लक्षित गरेर बिहीबारदेखि सहुलियत पसल सञ्चालन गरेको छ । ४२ जिल्लाका ६३ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । सहुलियत पसल सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २३ भदौमा निर्णय गरेको थियो । उपत्यकाका चार स्थान थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा बिक्री कक्ष छ ।

    ५० हजार क्विन्टल खाद्यान्न सहुलियतमा बिक्री गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दालमा बजार प्रचलित मूल्यमा किलोको ५ रुपैयाँ छुट दिने जनाएको छ । त्यस्तै तेल लिटरमा ५ रुपैयाँ तथा गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा किलोको ७ रुपैयाँ छुट दिइएको छ ।

    यस्तै कम्पनीले कर्णाली सिमीरगेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा किलोको ७ रुपैयाँ छुट दिएको छ । आवश्यकता अनुसार खाद्यान्नका लागि कम्पनीले ठेक्का लगाइसकेको जनाएको छ । चाडपर्व लक्षित गरेर कम्पनीले जिउँदो खसी–बोका र च्यांग्रा तथा डीडीसी घिउमा किलोको १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ ।

    कम्पनीले मकवानपुर, तुल्सीपुर लगायत स्थानबाट खसी–बोका १ हजार ५०० वटा ल्याएर बेच्ने जनाएको छ । यस्तै मुस्ताङको कालो च्यांग्रा ३०० वटा बेच्ने जनाएको छ । च्यांग्रा र खसी–बोका कम्पनीको प्रादेशिक कार्यालय थापाथलीमा मात्रै पाइने छ । च्यांग्रा र खसी–बोका घटस्थापना आसपासदेखि कम्तीमा नवमीको दिनसम्म बेच्ने कम्पनीले जनाएको छ । चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारले कम्पनीलाई ३ करोड बजेट विनियोजन गरेको थियो । सहुलियत पसल आगामी २ माघसम्म सञ्चालन हुनेछ ।

  • भक्तपुरमा अत्याधुनिक विर अस्पताल निर्माण प्रक्रिया अगाडी बढाउने तयारी

    भक्तपुरमा अत्याधुनिक विर अस्पताल निर्माण प्रक्रिया अगाडी बढाउने तयारी

    काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रूपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ ।


    परामर्शदाताले नेपालको आवश्यकता अनुसार विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माण अघि बढाउने सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री पौडेलले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताए ।

    स्वास्थ्य मन्त्री पौडेलले परामर्शदाता छनोट र अस्पताल निर्माण प्रक्रिया अघि बढाउने बताए । बैठकमा निर्माण सम्पन्न भइ सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालको सञ्चालन, स्वास्थ्य बीमा लगायतका विषयमा छलफल भएको छ । २०७३ सालमा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिव ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

  • कस्तो बन्यो सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम ?

    कस्तो बन्यो सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम ?

    काठमाडौं । सत्तारुढ कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । कार्यदलले बुधबार प्रधानमन्त्रीलाई न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेर सार्वजनिक हुने नेताहरुले बताएका छन् । न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यललमा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत थिए ।

    न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिइएको कांग्रेस महामन्त्री थापाले जानकारी दिए । सरकारको नीति तथा कार्यक्रम र बजेट आइसकेको अवस्थालाई ख्याल गरिएको भन्दै उनले अगाडि भने, ‘मुलतः कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिसहमतिमा व्यक्त भएका प्रतिबद्धतालाई आधार बनाएका छौं ।’

    संविधान जोगाउने, सुदृढ बनाउने दुई दलको जिम्मेवारी रहेको भन्दै उनले भने, ‘संघीयता कार्यान्वयनका सन्दर्भमा रहेका अफ्ठ्यारा कार्यान्वयनमा लैजान्छौं । बनाउनुपर्ने कानून तत्काल बनाउँछौँ । संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी प्रणाली अझै मजबुत बनाउन वस्तुनिष्ठ समीक्षा गरेर परिमार्जन गर्छौं ।’


    अर्थतन्त्र थप गतिशील बनाउने विषय पनि न्यूनतम साझा कार्यक्रम छ । पूर्वाधार निर्माणका अलपत्र आयोजनाहरुलाई पूर्णर्ता दिने, संक्रमणकालीन न्यायका बाँकी कुरा टुंग्याउने, युवा साझेदारीको कार्यक्रम अगाडि बढाउने विषय पनि न्यूनतम साझा कार्यक्रमको मस्यौदा समेटिएको छ । कांग्रेस महामन्त्री थापाले अगाडि भने, ‘जुनसुकै काण्डहरुको छानबिन गर्नेकुरामा हामीले जोड दिएका छौं ।’

  • सहकारी सम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

    सहकारी सम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताए ।

    सहकारी छानबिन समितिले सोमबार संसदमा आफ्नो प्रतिवेदन पेश गरेको थियो, जसलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देशन दिएका थिए । संसदीय विशेष समितिले सूर्य दर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचालन भएको निष्कर्षसहित जीबी राई, कुमार रम्तेल,, रवी लामिछाने र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

  • नेपाली राजदूतले भेटे बंगलादेशका सरकार प्रमुखलाई, के भयो कुराकानी ?

    नेपाली राजदूतले भेटे बंगलादेशका सरकार प्रमुखलाई, के भयो कुराकानी ?

    काठमाडौं । नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नत हुन लागेका दुवै देशले सहज एवं दिगो स्तरोन्नतिका निम्ति उत्कृष्ट अभ्यास र अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएको छ ।

    बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले त्यहाँको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग मङ्गलबार भएको शिष्टाचार भेटमा द्विदेशीय सम्बन्धलाई नवीकृत गर्दैै आर्थिक सहकार्य र साझेदारीमा जोड दिएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

    राजदूत भण्डारीले व्यापार, पारवहन र सम्पर्क सञ्जालका क्षेत्रमा सम्भाव्यताको खोजी तथा दुवै देश र जनतालाई लाभ हुने गरी ऊर्जा सहयोगमा केन्द्रित रहेर छलफल गरेका छन् । भारतीय प्रसारण लाइनमार्फत नेपालबाट ४० मेगावाट बिजुली निर्यातका सन्दर्भमा उनले द्विपक्षीय साझेदारीमा जोड दिए । दुई देशबीच चाँडोभन्दा चाँडो विद्युत् निर्यात सम्झौता कार्यान्वयन हुनुपर्नेमा दुवै पक्षले सहमति जनाएका थिए ।

    प्रमुख सल्लाहकार युनुस र राजदूत भण्डारीबीच द्विपक्षीय सम्बन्ध विस्तारका साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)लगायत क्षेत्रीय सङ्गठनलाई नवजीवन प्रदान गर्दै अन्य क्षेत्रीय एवं अन्तरराष्ट्रिय सङ्गठनहरूमा सहकार्य गर्ने सम्बन्धमा पनि विचारविमर्श भएको थियो ।

    त्यस अवसरमा राजदूत भण्डारीले सरकार प्रमुखको रुपमा नियुक्त भएकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको पत्र हस्तान्तरण गरेका थिए । नेपाल सरकारले बङ्गादेशप्रति दर्शाएको समर्थन र ऐक्यबद्धताको सरकार प्रमुख युनुसले प्रशंसा गर्दै दुई देशबीच राजनीतिक र जनस्तरमा सौहार्दपूर्ण सम्बन्ध रहेकोमा सन्तोष व्यक्त गरेको दूतावासले जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।

    बङ्गलादेश सरकारले हालैको आन्दोलनका क्रममा नेपाली नागरिक तथा विशेष गरी नेपाली विद्यार्थीको सुरक्षाका निम्ति गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै राजदूत भण्डारीले आगामी दिनमा पनि यो सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

  • भदौसम्म कस्तो रह्यो सरकारी वित्त ?

    भदौसम्म कस्तो रह्यो सरकारी वित्त ?

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिना (साउन–भदौ) मा सरकारले लक्ष्यको झन्डै १२ प्रतिशत राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौसम्म १ खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ बराबर राजस्व उठेको छ । यो लक्ष्यको ११.७२ प्रतिशत हो । सरकारले यसवर्ष १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

    भदौसम्म संकलित राजस्वमध्ये कर राजस्व १ खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ उठेको छ । यो लक्ष्यको ११.३१ प्रतिशत हो । यस अवधिमा २१ अर्ब १९ करोड गैरकर राजस्व उठेको छ । यो लक्ष्यको १५.६९ प्रतिशत हो । यस अवधिमा अनुदान र अन्य आम्दानी हुन नसकेको महालेखाको विवरणमा देखिन्छ ।

    खर्चतर्फ सरकारले दुई महिनामा १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी गरेको देखिन्छ । यो कुल बजेटको ७.३९ प्रतिशत हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यसमध्ये दुई महिनासम्म चालु खर्च ८२ अर्ब ९८ करोड रुपैयाँ भएको छ । यस वर्ष ११ खर्ब ४० अर्ब रुपैयाँ चालु प्रकृतिको खर्च गर्ने लक्ष्य रहेको छ । भदौसम्म पूँजीगत खर्च १४ अर्ब ८९ करोड रुपैयाँ भएको छ । यो लक्ष्यको ४.२३ प्रतिशत हो ।

    यस वर्ष सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । वित्तीय व्यवस्थामा भदौसम्म ३९८ अर्ब ६७ करोड रुपैयाँ खर्च भइसकेको छ । यो लक्ष्यको १०.८ प्रतिशत खर्च हो । यस वर्ष वित्तीय व्यवस्थामा ३ खर्ब ६७ अर्ब रुपैयाँ खर्च हुने लक्ष्य रहेको छ । यस वर्ष पूँजीगत खर्च र वित्तीय व्यवस्था गत वर्षको यसै अवधिको तुलनामा धेरै खर्च भएको छ । यसो हुनुमा यसवर्ष सरकारले सुरुवाती महिनाबाटै निर्माण व्यवसायीको भुक्तानी बढाएको देखिन्छ ।

  • तीन महिना भित्र सहकारी प्राधिकरण स्थापना गर्न सिफारिस

    तीन महिना भित्र सहकारी प्राधिकरण स्थापना गर्न सिफारिस

    काठमाडौं । सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिले ३ महिनाभित्र सहकारी प्राधिकरण स्थापना गर्नुपर्ने सुझाव दिएको छ । नियमनकारी निकायका रुपमा सहकारी सम्बन्धी विषय हेर्ने मन्त्रालय र राष्ट्र बैंकसँग प्रत्येक्ष समन्वयमा रहेर काम गर्नेगरी सहकारी प्राधिकरण स्थापना गरिनुपर्ने समितिको सुझाव छ । प्राधिकरण स्थापना भएपछि राष्ट्रिय सहकारी विकास बोर्ड र सहकारी विभागको आवश्यकता नरहने हुँदा तिनको सम्पत्ति तथा दायित्व सर्नेगरी कानुनी प्रवन्ध गर्नुपर्ने सुझाव समितिले दिएको छ ।

    प्राधिकरणले गर्ने कामबारे समेत समितिले केही बुँदाहरु प्रष्ट पारेको छ । सहकारीको सञ्चालन इजाजतपत्र दिने, नियमित रुपमा नियमन गर्ने, सुपरीवेक्षण गर्ने, सुपरीवेक्षणमा देखिएका कैफियत कार्यान्वयन गर्ने, कार्यान्वयन नगरेमा कारबाहीको अधिकार समेत दिनेगरी प्राधिकरण स्थापना गर्नुपर्ने समितिको सुझाव छ ।

    त्यस्तै प्राधिकरण सञ्चालक समितिमा विषय विज्ञ र अनुभवी व्यक्तिको आवश्यकता रहने हुँदा सरकार, राष्ट्र बैंक, सहकारी क्षेत्रका जानकार र विज्ञ व्यक्तिको प्रतिनिधित्व हुनेगरी नियुक्ति गर्नुपर्ने सुझाव दिइएको छ । २५ करोडभन्दा बढी सम्पत्ति भएका सहकारीले प्राधिकरण गठन भएको मितिले ६ महिनाभित्र वित्तीय कारोबार सञ्चालन इजाजतपत्र लिनुपर्ने गरी कानुनी प्रवन्ध गर्नुपर्ने सुझाव दिइएको छ ।

    प्राधिकरण गठन नभएसम्म नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त अनुगमन टोलीले ठूलो वित्तीय कारोबार गर्ने सहकारीलाई प्राथमिकतामा राखी सहकारीको अनुगमनलाई नियमितता दिनुपर्ने सुझाव समितिको छ । बैंक तथा वित्तीय संस्थाको बाक्लो उपस्थिति रहेका शहरमा भने सहकारीको संख्या कम हुनेगरी नीति बनाउनुपर्ने सुझाव छ । ‘सहकारीलाई पूँजी, वित्तीय परिचालन क्षमताका आधारमा क, ख र ग वर्गमा विभाजन गरी नियमन गर्नु उपयुक्त हुनेछ’ सुझावमा भनिएको छ ।

  • समस्यामा रहेका सहकारी सञ्चालकको सम्पत्ति रोक्का, विदेश भ्रमणमा रोक

    समस्यामा रहेका सहकारी सञ्चालकको सम्पत्ति रोक्का, विदेश भ्रमणमा रोक

    काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समस्यामा रहेका सहकारी संस्थाका सञ्चालकहरूको अचल सम्पत्तिदेखि विदेश यात्रामा समेत रोक लगाउन सिफारिस गरेको छ ।

    ‘समस्यामा रहेका सहकारी संस्थाका सञ्चालकलाई सरकारको निगरानीमा निज तथा निजको एकाघरका सदस्य समेतको नाममा रहेको अचल सम्पत्ति, बैंक खाता, पासपोर्ट र यात्रा अनुमति रोक्का राखी सहकारीको मुख्य कार्यालय रहेको सहरबाहेक बाहिर जानुपर्दा सरकारको सम्बन्धित निकायको अनुमति लिनुपर्ने गरी नियमित कार्यालय खोल्नुपर्ने सर्तसहित सेटलमेन्टका लागि निश्चित अवधि तोकी उक्त अवधिभित्र पूर्ण समाधान हुन नसकेमा पुनः कानुनी कारबाहीमा जाने गरी व्यवस्थापन गर्न समय दिने,’ समितिले सोमबार प्रतिनिधिसभा बैठकमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

    बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीका लागि कर्जा असुली न्यायाधीकरण रहेकै हुँदा सहकारी कानुनमा प्रबन्ध भए बमोजिम कर्जा असुली न्यायाधिकरण नहुँदा ऋणीहरूलाई जिम्मेवार बनाउन सकिएको छैन । यसका लागि भइरहेको ऋण असुली न्यायाधीकरणलाई जनशक्ति, कानुनी अख्तियारी र स्रोतयुक्त बनाई सहकारीको कर्जा समेत हेर्ने जिम्मेवारी विस्तार गर्नु उपयुक्त हुने समितिको सिफारिसमा छ।

    समस्याग्रस्त घोषणा भएपछि सहकारीको सम्पत्ति र दायित्व व्यवस्थापनका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट सहकारीपिच्छे फिल्डमा गई कार्यालय खोली ‘टेकओभर’ शैलीमा व्यवस्थापन गर्ने डेडिकेटेड टिम परिचालन गर्न समेत सिमितिले सिफारिस गरेको छ ।

    वर्तमान सहकारी संकट समाधानार्थ सरकारका तर्फबाट औचित्यपूर्ण हस्तक्षेप भई पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा आन्तरिक ऋणपत्र (बन्ड) जारी गरी प्राधिकरणमार्फत फिर्ता गर्ने र सरकारले पछि सरकारी बाँकी सरह असुलउपर गर्ने व्यवस्था तत्काल सुरू गर्न र क्रमशः ठूला बचतकर्ताहरूको बचत रकम कानुन बमोजिम स्रोत खुलाई करको दायरामा ल्याई फिर्ताको लागि सहजीकरण गर्न समेत समितिले सिफारिस गरेको छ ।

  • गाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखायो

    गाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखायो

    काठमाडौं । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको ४ दिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेल, विभागीय मन्त्री र निजी क्षेत्रसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । उनले उद्योगमन्त्री दामोदर भण्डारीसँगको भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधिक तथा आर्थिक लगानीको प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ ।

    परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा पनि जाम्बियासँग खानी उत्खननको विषयमा राम्रो ज्ञान भएको र नेपालमा पनि सो क्षेत्रमा लगानी गर्न जाम्बियाली लगानीकर्ता इच्छुक रहेको जानकारी गराएका छन् । आफूहरूका लागि नेपाल लगानीका लागि आकर्षक गन्तव्य हुने भन्दै सो विषयमा सहकार्य गर्न तयार रहेको उनले बताए ।

    भ्रमणका क्रममा प्याट्सले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी दुई देशका लगानीकर्ताबीच सहकार्य गरी अघि बढन् आग्रह गरेका थिए । उनले नेपाल उद्योग वाणिज्य महासंघ र जाम्बियाको उद्योग वाणिज्य संघबीच व्यावसायिक समझदारी पत्रमा हस्ताक्षर गरी अघि बढ्ने प्रस्ताव समेत राखेका थिए । प्याट्सको भ्रमणले नेपालमा जाम्बियाबाट लगानी भित्र्याउन मार्गप्रशस्त गरेको जाम्बियाका लागि नेपाली वाणिज्य दूत देशबन्धु बस्नेतले बताए ।