Category: अर्थतन्त्र

  • १५ अर्ब लागतमा दुई पेट्रोलियम पाइपलाइन भारतले बनाइदिने

    १५ अर्ब लागतमा दुई पेट्रोलियम पाइपलाइन भारतले बनाइदिने

    काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमार बीच पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण सम्बन्धी सम्झौता भएको हो ।

    बीटूबी फ्रेमवर्क एग्रिमेन्ट भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतिस कुमारको उपस्थितिमा बिहीबार भएको हो । सम्झौता अनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।

    नेपालको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन परियोजना समेत भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ । चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने भएको छ । यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहने निगमले जनाएको छ । यसअघि यो परियोजनामा भारतले अनुदान लगानी गर्ने वा ऋण भन्ने टुंगो नलाग्दा लामो समयसम्म सम्झौता हुन सकेको थिएन् ।

    पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा अघिल्लो वर्ष नेपाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनुदानमा यी पाइपलाइन बनाउने बारे छलफल भएको थियो । यसअघि नेपाल र भारतबीच अन्तर देशीय पहिलो पेट्रोलियम पाइपलाइन मोतिहारी–अमलेखगञ्ज भदौ २०७६ मा उद्घाटन भई सञ्चालनमा छ । यो पाइपलाइनको लम्बाइ ६९.१ किलोमिटर छ ।

  • दशैं अगाडी विपी राजमार्ग खुलाउन नसकिने भन्दै सरकारले उठायो हात

    दशैं अगाडी विपी राजमार्ग खुलाउन नसकिने भन्दै सरकारले उठायो हात

    काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने भन्दै हात उठाएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’

    वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन । त्यसैले नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास हुनेछ ।

    सचिव शर्माका अनुसार अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिन्छ । तर तीन चार ठाउँमा खोला पहाडसम्म जोडिएर बगेकाले पुल हाल्नुपर्ने पनि हुन सक्छ । उनले अगाडि भने, ‘अस्थायी रुपमा पनि यही दिनबाट सार्वजनिक गाडी चल्छ भन्ने अवस्था छैन ।’ सचिव शर्माका अनुसार बाढी तथा पहिरोले राजमार्ग क्षतिग्रस्त भएपछि पूर्वबाट आउने गाडीहरु वीपी राजमार्गमा सित्खासम्म आउने र पुल तरेर रामेछापको मन्थली र दोलखाको चरिकोट भएर काठमाडौं आउने विकल्प खोजिएको थियो । ‘तर त्यो साह्रै घुमाउने हुने भयो’, उनले भने, ।

    सित्खाबाट मध्यपहाडी राजमार्गबाट दोलालघाट आउने र अरनिको राजमार्गबाट काठमाडौं आउने रुट तुलनात्मक रुपमा छोटो पर्ने देखिएको उनले बताए । सचिव शर्माले अगाडि भने, ‘अहिलेका लागि विकल्प यो छ ।’

    पूर्व जाने गाडीहरुका लागि कान्ति राजपथ र दक्षिणकाली छैमले सडक विकल्प रहेको उनले बताए । भौतिक पूर्वाधार सचिव शर्माले भने, ‘यो बाटोबाट हेटौंडा र त्यहाँबाट भिमान जान सकिन्छ । सिन्धुली एक्लिएर अन्यत्र जाँदा भयो ।’ भोलि वा पर्सिसम्म कान्ति राजपथ र दक्षिणकाली छैमले सडक सञ्चालन गर्ने प्रयासका साथ काम भइरहेको उनले बताए । उनका अनुसार काठमाडौंबाट नौबिसे हुँदै हेटौंडा जाने बाइरोडको बाटो पनि सञ्चालनमा छ । त्यस्तै थानकोट –चित्लाङ भएर पनि हेटौंडा जान सकिन्छ ।

    सडक विभागका महानिर्देशक रामहरि पोखरेलले पनि वीपी राजमार्गमा अलपत्र गरेका गाडीहरुलाई भने कुनै उपाय लगाएर दशैं अगाडि नै सिन्धुली वा काठमाडौं ल्याउने विकल्पमा काम गर्ने जानकारी दिए ।

  • नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत खरीद- बिक्रि सम्झौता हुँदै

    नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत खरीद- बिक्रि सम्झौता हुँदै

    काठमाडौं । नेपाल र बंगलादेशबीच आज ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । बंगलादेशले नेपालको बिजुली भारतको बाटो हुँदै लैजाने भएकाले त्रिपक्षीय सम्झौता हुनेछ । आज अपराह्न चार बजे होटल याक एण्ड यतीमा नेपाल र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा विद्यत् व्यापारसम्बन्धी सम्झौता पत्रमा अपराह्न हस्ताक्षर हुने छ ।

    ‘सीमा जोडिएको भारतसँग मात्र विद्युत् व्यापार गर्दै आएकोमा अब सीमा नजोडिएको बंगलादेशसँग पनि विद्युत् व्यापार गर्दै छौं,’ नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘दुईपक्षीय विद्युत् व्यापारबाट त्रिपक्षीय व्यापारमा प्रवेश गर्नु नेपालको समग्र ऊर्जा क्षेत्रका लागि यो कोशेढुंगा हो ।’

    नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) र बंगलादेशको बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी रहेका सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षायामबाट बंगलादेश विद्युत् निर्यात गर्ने गरी काम सुरु गरिसकिएको बताए ।

    प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् ।

    प्राधिकरणले वर्षायामको ६ महिना (हरेक वर्षको १५ जुन– १५ नोभेम्बरसम्म) पाँच वर्षका लागि ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युतबिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ ।

    नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर(मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत–भेरमारा–बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएनले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु बंगलादेशले नै बेहोर्ने बताए । घिसिङले बंगलादेशको सीमासम्म पुग्दा विद्युतको प्रति युनिट दर करिब ७.६ सेन्ट पुग्ने उल्लेख गरे । ‘हामीले मुजफ्फरपुर विन्दुमा ६.४० सेन्ट पाउने हो, डलरमा भुक्तानी पाउने हुँदा मुद्रा सटहीको जोखिम हुँदैन, वर्षायामको विद्युत् बिक्रीका लागि हामीले पाएको दर उचित हो’, उनले भने ।

    उनका अनुसार यसरी सरकार-सरकार तहमा बंगलादेशसँग साङ्केतिक रुपमा पहिलो चरणमा हुन लागेको विद्युत् व्यापारले आगामी दिनमा क्षेत्रीय रुपमा ठूलो परिमाणमो व्यापारलाई सहयोग र सहजीकरण गर्नेछ । साथै यसले विद्युत् व्यापारका अरु धेरै बाटाहरु खुलाउने उनले विश्वास व्यक्त गरे ।

  • अर्थतन्त्रमा ५.१ प्रतिशतको सुधार हुने विश्व बैंकको प्रक्षेपण

    अर्थतन्त्रमा ५.१ प्रतिशतको सुधार हुने विश्व बैंकको प्रक्षेपण

    चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । अघिल्लो आव (सन् २०२४) मा ३.९ प्रतिशत रहेको आर्थिक वृद्धिदर यस वर्ष ५.१ प्रतिशत पुग्ने विश्व बैंकले जनाएको छ । उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादन वृद्धिले अर्थतन्त्र विस्तारमा सहयोग पुग्ने विश्व बैंकको बुधबार सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदनमा उल्लेख छ ।

    नेपालको अर्थतन्त्र आगामी आव २०२६ मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान छ । केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने विश्व बैंकले जनाएको छ ।

    प्रतिवेदनमा अर्थतन्त्रमा रहेका जोखिम समेत पहिचान गरिएको छ । जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिम सहित निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पूँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक माग कम गर्न सक्ने जस्ता जोखिम छन् ।

    बुधबार प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले नेपालको अर्थतन्त्र क्रमिक सुधारको मार्गमा रहेको बताए । बजेटरी प्रक्रियामा सुधार ल्याउँदै पूरा हुने चरणमा रहेका परियोजनालाई सम्पन्न गरी पूँजीगत खर्च बढाउने नेपालको प्राथमिकताले बृहत अर्थतन्त्रको स्थायित्व सुदृढ गर्ने उनले बताए । यसले आन्तरिक उत्पादन बढाउने र धेरै रोजगारी सिर्जना हुने उनको भनाइ छ ।

    आप्रवासी श्रमिक प्राप्त गर्ने खाडी मुलुक र मलेसियामा आएका झट्काले पनि वृद्धिलाई धिमा गर्न सक्ने उनले बताए । खासगरी घरपरिवारको उपभोग, गरिबी निवारण र मानव पूँजी विकासमा भूमिका खेल्ने अन्तर्राष्ट्रिय विपे्रषणमा यसले असर पु¥याउने देखिएको छ । नेपालको आप्रवासन अत्यन्त महँगो, असमान अवसर र धेरैका लागि प्रक्रिया नै चुनौतीपूर्ण रहेको अवस्था कायम देखिएको छ ।

    प्रतिवेदनले नेपालको आप्रवासनको फाइदा र लागतका पछिल्ला तथ्य प्रस्तुत गर्दै दिगोपन र प्रतिफल विस्तार सुनिश्चितता गर्ने उद्देश्यले समावेशी आप्रवासन व्यवस्थापन प्रणाली निर्माणका लागि आवश्यक प्रमुख नीतिगत हस्तक्षेपलाई प्राथमिकता साथ उल्लेख गरेको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले वृद्धिको गति कायम राख्नु नेपालको विकासका लागि महत्त्वपूर्ण रहेको बताए ।

    उनले पूर्वाधार, सुशासन, मानव पूँजी विकास र निजी क्षेत्रमा निरन्तर सुधारको आवश्यकता रहेको उल्लेख गरे । ‘नेपालले विदेशी कामदारहरूबाट रेमिट्यान्स मार्फत धेरै फाइदा हासिल गरेको छ र यी प्रवाहको व्यवस्थापनमा सुधार, विदेशमा काम खोज्ने नेपालीलाई राम्रोसँग सहयोग गर्न र नेपालमा दक्षलाई उत्पादनशील बनाउन वातावरण सिर्जना गर्ने जीवन्त घरेलु अर्थतन्त्र निर्माण नेपालको भविष्यका लागि महत्त्वपूर्ण छ,’ उनले भने ।

    उनले सुदृढ र थप समावेशी आप्रवासन व्यवस्थापन प्रणालीले पारदर्शी भर्ना प्रक्रिया स्थापित गर्ने बताए । श्रमिकलाई विदेश जान राम्रो तयारी गराउने र श्रम बजारमा आप्रवासीको सुरक्षा र आवतजावत सुनिश्चित गर्ने उनको भनाइ छ ।

  • राष्ट्रपतिले बाढी पिडितका लागि एक महिनाको पारिश्रमिक दिने

    राष्ट्रपतिले बाढी पिडितका लागि एक महिनाको पारिश्रमिक दिने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
    उनको सचिवालयले भनेको छ, ‘‘राष्ट्रपति रामचन्द्र पौडेलले हालै आएको बाढी पहिरो पीडितको राहतको लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने हुनुभएको छ।’’ यसैगरी उनका विज्ञ सल्लाहकारले एक हप्ताको तलब सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। असोज ११ र १२ गतेको भारी वर्षाले मुलुकभरमा बाढी र पहिरोले ठुलो क्षति गरेको छ।

  • बाढी र पहिरोका कारण १७ अर्ब बराबरको क्षति भएको सरकारको अनुमान

    बाढी र पहिरोका कारण १७ अर्ब बराबरको क्षति भएको सरकारको अनुमान

    काठमाडौं । बाढी र पहिरोका कारण १७ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन्। विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ।

    कुलेखानी जलाशयको पानी खोल्दा गएको बाढी र पहिरोका कारण मकवानपुरको इन्द्रसरोवर–३ मा रहेको वत्सलादेवी माविमा सञ्चालित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीमा अध्ययनरत छ जना विद्यार्थीको मृत्यु भएको छ । पहिराले पुरिँदा मकवानपुरका तीन र अन्य जिल्लाका तीन गरी बालकले ज्यान गुमाए।

    बाढीका कारण सबैभन्दा बढी समस्यामा विपी राजमार्ग परेको छ। रोशी खोला किनारका बस्ती क्षतविक्षत भएको छ। हालसम्मको विवरणअनुसार बाढीपहिरोबाट सडक र पुलमा मात्रै रु दुई अर्ब ५२ करोड बराबरको क्षति भएको छ। बाढीले पाँच वटा पक्की पुल र दुई वटा बेलिब्रिजमा क्षति पुगेको छ।

    पछिल्लो पटकको बाढीपहिरोमा परी हालसम्म २२४ जनाको निधन भएको छ भने २४ जना बेपत्ता छन्। १५८ जना घाइते छन्। उच्च जोखिममा रहेका चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको मुख्यसचिव अर्यालको भनाइ छ। कृषि क्षेत्रमा करिब रु छ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क छ। कूल ५८ हजार ४७६ हेक्टरमा लगाइएको रु तीन अर्ब ५० करोड बराबर धानबालीमा क्षति पुगेको छ। किसानका २६ हजार दुई सय पाँच वटा पशुपन्छीमा क्षति पुगेको छ।

    भौतिक क्षतितर्फ खानेपानी संरचनामा रु तीन अर्ब ५५ करोड, सडक पूर्वाधारमा रु दुई अर्ब ५२ करोड, ऊर्जातर्फ रु चार अर्ब र जलस्रोत तथा सिँचाइतर्फ एक अर्ब ३५ करोड बराबरको क्षति भएको छ। बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकामा नौ वटा सञ्चालन आइसकेका छन्। त्यस्तै ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण सडक विभागअन्तर्गतका झण्डै २२ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ। त्यसमा सडकतर्फ रु एक अर्ब ५० करोड ५० लाख, पुलतर्फ रु ८२ करोड र बेलीब्रिजतर्फ रु २० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण छ। सो मन्त्रालयका अनुसार १४ वटा सडकको ४२ स्थानमा बाढीपहिरोका कारण क्षति पुगेको छ।

    बाढीपहिरोका कारण अरनिको राजमार्ग, बिपी राजमार्ग कान्ति राजमार्ग, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग मदन भण्डारी राजमार्ग र कालिगण्डकी कोरिडोरमा क्षति पुगेको छ। सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङ्गटारको पुल पूर्णरूपमा क्षति पुगेको छ। अरनिको राजमार्गअन्तर्गत लिपिङ पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाउँदा यातायात सञ्चालनमा असुविधा उत्पन्न भएको छ।

    लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज बाढीले बगाएको छ। सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङटारको पुल पूर्णरूपमा क्षति भएको विवरण छ। अरनिको राजमार्गअन्तरगत लिपिङ्ग पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाएको छ। यस्तै लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज समेत बाढीले बगाएको छ। ऊर्जा र जलस्रोततर्फ समग्रमा रु चार अर्ब ३५ करोड बराबरको क्षति भएको छ।

    नदी नियन्त्रणका लागि बनाइका तटबन्धमा करिब एक अर्ब १६ करोड २० लाख बराबरको क्षति पुगेको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा निर्माणाधिन ‘कफर ड्याम’ पानीमुनी परेको छ। त्यसमा के कति क्षति भयो भन्ने कुराको मूल्याङ्कन भइरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले जानकारी दिए।

    यस्तै, खानेपानी आयोजनामा रु तीन अर्ब ५५ करोड ७० लाख बराबरको क्षति पुगेको छ। नेपाल खानेपानी निगम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र खानेपानी मन्त्रालयअन्तर्गत साना–ठूला आयोजनामा बाढीले समस्या पैदा गरेको छ। काभ्रेपलाञ्चोक, भक्तपुर र रामेछापका खानेपानी आयोजनामा क्षति पुगेको छ। कूल ६६ जिल्लाका खानेपानी आयोजनामा क्षति भएको छ। अविरल बर्षापछिको बाढीपहिरोले खानेपानीको पाइपलाइन, बोरिङ प्रशोधन केन्द्र, ट्याङ्कीलगायतका संरचनामा क्षति पुगेको छ।

    सरकारले खोज तथा उद्धारमा ३० हजार ७३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका नागरिकका घरपरिवारलाई राहत वितरण सुरु भइसकेको सरकारको भनाइ छ।बाढीपहिरोबाट अवरुद्ध भएका सडकलाई थप तदारुकताका साथ सञ्चालनमा ल्याउने, पहिरोबाट अवरुद्ध सडक खोल्ने, बेलिब्रिज जडान गर्ने, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सन जस्ता वैकल्पिक माध्यमबाट सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

  • बाढी–पहिरो लक्षित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले के भने ?

    बाढी–पहिरो लक्षित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले के भने ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यति ठूलो विपदको पूर्वतयारी नरहेको स्वीकार गरेका छन् । असोज ११ र १२ गते भारी वर्षासँगै आएको बाढी पहिरोले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ठूलो विपत्ति आइलागेको बताए ।

    ‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन’, उनले भने, ‘यस प्रकारको वर्षा होला, पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन ।’ भारी वर्षा हुनसक्छ भन्ने जल तथा मौसम विज्ञान विभागको सूचनाका आधारमा अरु बेलाजस्तै पूर्व तयारी गरेको उनले बताए । उनले भने, ‘पहिला यस प्रकारभन्दा कमै हुने गर्थे, त्यसैअनुसार पूर्व तयारी थियो । ठूलै विपत्ति आइलाग्यो ।’

    बाढी पहिरो आएको बेला प्रधानमन्त्री ओली अमेरिका थिए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका ओली सोमबार मात्र स्वदेश फर्किएका हुन् । आफू ९देश० बाहिर भएपनि यहाँको अवस्थाबारे जानकार रहेको भन्दै ओलीले भने, ‘मलाई पनि यसप्रकारको होला भन्ने अनुमान थिएन ।’

    विपद आइसकेपछि सरकारले राहत तथा उद्दारमा सक्दो काम गरेको प्रधानमन्त्री ओलीले बताए । ‘केही गर्दै नगरेको होइन, सक्दो गरेको छ । केही कमजोरी भएको हुनसक्छ’, सबैतिर समस्या भएकाले एकातिर प्राथमिकता दिँदा अर्कोतिर ढिला भएको हुनसक्ने भन्दै उनले भने, ‘जानीजानी लापरबाही त कसरी भयो होला र १’

    ४ हजार बढी मानिसको उद्दार गरेको भन्दै उनले सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनुपर्ने बताए । साथै अहिले कमी कमजोर देखाउनेभन्दा राहत तथा पुनर्निर्माणमा जुट्ने बेला भएको प्रधानमन्त्री ओलीले बताए । ‘यो बेला भनेको जनताले भोगिरहेको पीडामा उद्धार, राहत सहयोग र पुनर्निर्माणका कामहरु गर्ने हो’, उनले भने, ‘यो साझा राष्ट्रिय पीडा हो । एक भएर साझा विपत्तिको सामना गर्नुपर्छ ।’

    प्रधानमन्त्री कार्यालयका अनुसार बाढी, पहिरोमा परेर २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएका छन् । २१ जिल्ला प्रभावित भएका छन् । त्यसमा पनि काभ्रे, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित भएका छन् ।

    खानेपानी, सडक, ऊर्जा तथा सिँचाई र पशुपक्षी गरेर १७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । साथै कृषि बाली भएको क्षतिबारे एक महिनाभित्र लगत निकाल्ने मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।

    खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना छ । घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्य सचिव अर्यालले जानकारी दिए । साथै अवरुद्ध भएका राजमार्गहरुलाई तत्काल अस्थायी रुपमा सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको समेत उनले बताए ।

  • हिलाम्य पार्टी कार्यालय अवलोकनमा पुगे प्रधानमन्त्री

    हिलाम्य पार्टी कार्यालय अवलोकनमा पुगे प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् । बसेरा होटलमा सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओली च्यासल पुगेका थिए । महासचिव शंकर पोखरेल र केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले प्रधानमन्त्री ओलीलाई केन्द्रीय कार्यालयको अवस्थाबारे जानकारी दिएका थिए ।

    गत शुक्रबारको बाढीले एमाले मूख्यालय डुबानमा परेको थियो । तर प्रधानमन्त्री ओली सोमबार मात्र अमेरिकाबाट स्वदेश फर्किएपछि आज केन्द्रीय कार्यालय अवलोकन गर्न च्यासल पुगेका हुन् ।

  • अब बाटोको सुनिश्चितता हेरेर मात्र थप अग्रिम टिकट काटिने

    अब बाटोको सुनिश्चितता हेरेर मात्र थप अग्रिम टिकट काटिने

    काठमाडौं । दशैं लक्षित गरी काटिएका अग्रिम टिकट कायमै रहने भएका छन् । अब नयाँ अग्रिम टिकट भने बाटोको सुनिश्चितता हेरेर मात्र काट्ने निर्णय सरोकारवालाको बैठकले गरेको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकले धेरै यात्रुले टिकट लिइसकेका कारण अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता साथ गन्तव्य पुर्‍याउने सुनिश्चितता गर्ने निर्णय गरेको छ ।

    थप अग्रिम टिकट बुकिङ गर्ने सन्दर्भमा गृह मन्त्रालयको विपद् सम्बन्धी सूचना समेत आधार मानेर बाटोको सुनिश्चितता हेरेर मात्र सम्बन्धित रुटको अग्रिम टिकट काट्न यातायात व्यवसायीलाई बैठकले अनुरोध गरेको छ ।

    बैठकले काठमाडौंबाट छुट्ने यात्रुवाहक बसले सार्वजनिक यातायातबाट सेवा दिँदा अहिले जोखिमयुक्त रहेको काठमाडौं–नारायणगढसम्मको सडक खण्डको अवस्था मध्यनजर गर्दै काठमाडौंबाट सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारीसाधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको छ । सुरक्षा निकायले सोही अनुरूप यातायात व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय समेत भएको छ ।

    मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथमिक उपचार सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा राखेरमात्र सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गरिएको छ । वैकल्पिक मार्ग पहिचान गरी ठूला सवारी चल्ने र साना सवारी चल्ने प्राथिमकताका बाटो छनोट गरी सञ्चालन गर्ने र वैकल्पिक मार्गको जानकारी यातायात व्यवस्था विभागले सार्वजनिक गर्ने निर्णय समेत गरिएको छ ।

    अत्यधिक वर्षाका कारण रेडजोनमा परेका सडक खण्ड तथा सडकमा हेभी इक्विपमेन्ट तैनाथ राख्न सडक विभागलाई अनुरोध समेत गरिएको छ । वर्षातका कारण अवरुद्ध सडक खुलाउने सम्बन्धमा स्थानीय तहले आफूसँग भएका हेभी उपकरण प्रयोग गरी बाटो खुलाउन सहयोग गर्न अनुरोध समेत बैठकले गरेको छ । देशभरिको विपद् सम्बन्धी र बाटोको अवस्थाबारे आवश्यक सूचना नेपाल प्रहरीले नियमित रूपमा फेसबुक पेजमा राख्ने निर्णय समेत भएको छ ।

  • दाउन्ने सडक आज रातभर बन्द

    दाउन्ने सडक आज रातभर बन्द

    काठमाडौं । एकतर्फी सञ्चालनमा आएको महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि नै पूर्ण रूपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले मंगलबार एक सूचना प्रकाशित गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने जनाएको छ । बर्दघाट नगरपालिका-४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ वाल भत्किएको छ । साथै करिब ४ सय मिटर सडक भास्सिएको छ ।

    सडक भास्सिँदा विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ । सोमबार साँझबाट अवरुद्ध बाटो रातभर काम गरी मंगलबार बिहान पौने ९ बजे एकतर्फी खुला गरिएको थियो । सडक मर्मत गरी सहज यातायात खुलाउने प्रयोजनका लागि मंगलबार रातभरि बन्द गरिने प्रशासनले जनाएको छ । बर्दघाट बजारबाट दाउन्ने बजारसम्म अत्यावश्यकबाहेकका सबै सवारी साधन बन्द हुने प्रशासनले उल्लेख गरेको छ ।

  • विपत् कोषमा सरकारले राख्यो १ अर्ब

    विपत् कोषमा सरकारले राख्यो १ अर्ब

    काठमाडौं । सरकारले बाढी र पहिरो प्रभावित नागरिकको राहत, उद्धार एवं पुनस्र्थापनाका लागि विपत् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सम्पन्न मन्त्रीपरिषद् बैठकले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनबमोजिमको विपत् व्यवस्थापन कोषमा बाढी र पहिरो प्रभावितको तत्काल राहत र उद्धारका लागि अर्थ मन्त्रालयबाट एक अर्ब रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

    बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढी र पहिरोका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति नेपाल सरकारका तर्फबाट दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गर्ने र तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको बताए । सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपियाँ प्रदान गर्ने निर्णय पनि गरेको छ ।

    सरकारले २०८१ असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्दै सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने, शोक सन्तप्त परिवारजनहरूमा हार्दिक समवेदना व्यक्त गर्ने र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


    सरकारले विपत्बाट भएको क्षतिको सम्बन्धित मन्त्रालयहरूले आकलन गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा यथाशीघ्र प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ । विपत् जोखिम न्यूनीकरण ऐन २०७४ को दफा २२ बमोजिम विपत् व्यवस्थापन कोषमा बाढीपहिरो प्रभावितलाई तत्काल राहत र उद्धारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीपरिषद्का सबै सदस्यको एक महिना बराबरको पारिश्रमिक दिने निर्णय भएको छ ।


    सरकारले खोज, उद्धार, तत्काल राहत र घाइतेको निःशुल्क उपचारमा उच्च प्राथमिकता दिने निर्णय गरेको छ । साथै बाढीपहिरोबाट प्रभावित एवं विस्थापित परिवारलाई तत्काल अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने निर्णय भएको छ ।

  • आजबाट तीन दिन राष्ट्रिय शोक मनाइदै

    आजबाट तीन दिन राष्ट्रिय शोक मनाइदै

    काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा हुने छैन ।

    प्रधानमन्त्री ओली सोमबार साँझ मात्र अमेरिका भ्रमणबाट फर्किएका थिए । उनी आइपुगेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् ।

  • अग्रिम टिकट लिनेको चाप कम, दुई दिनमा ३० हजारले मात्र काटे

    अग्रिम टिकट लिनेको चाप कम, दुई दिनमा ३० हजारले मात्र काटे

    काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो संख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको गतहप्ता बसेको बैठकले गत शनिबारदेखि लामो दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।


    नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार असोज १२ गते १८ हजार तीन सय ६५ र असोज १३ गते ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका थिए । सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो ।

    पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारीसाधनको टिकट भने चाँडै खुला गर्ने सरकारको तयारी छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँ मनाउन घर जाने यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलमा लैजान महासंघ लागिपरेको बताए ।

    वर्षाका कारण तीन दिनदेखि काठमाडौँमा रोकिएका सार्वजनिक सवारीसाधान क्रमशः नयाँ बसपार्कबाट गन्तव्यस्थलतर्फ जान थालेका छन् । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक छ ।

  • इन्धनको मूल्य घट्यो

    इन्धनको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ ।

    त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको आयल निगमले जनाएको छ ।

  • आजैबाट भयो देशभर रुट परमिट खुला

    आजैबाट भयो देशभर रुट परमिट खुला

    काठमाडौं । सरकारले आजैदेखि देशभरि रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार रुट परमिट दशैंको पूर्णिमासम्म कायम रहने छ । यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो ।

    तर, अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले आजैदेखि रुट परमिट खुला गर्ने निर्णय भएको प्रवक्ता दत्तले जानकारी दिए ।

    अहिलेकै रुट परमिटलाई आधार मान्दा असहजता उत्पन्न भएका कारण नेपालभर रुट परमिट खुला गरिएको उनको भनाइ छ । अहिले दशैंसहितका ठूला चाडपर्वमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुको संख्या ह्वात्तै बढ्ने गर्छ ।

  • चुस्त व्यवस्थापनमा चुकेपछि धादिङ र काभ्रेका सीडीओ फेरिए

    चुस्त व्यवस्थापनमा चुकेपछि धादिङ र काभ्रेका सीडीओ फेरिए

    काठमाडौं । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी फेरेको छ । धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्य प्रसाद सेढाइँ प्रमुख जिल्ला अधिकारी थिए । उनीहरुलाई गृहमन्त्रालयमा तानिएको छ । मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष छ ।


    मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिँदा मानवीय क्षति धेरै भएको छ । नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म नौबिसे-नागढुंगा सडक खण्डको झ्याप्ले खोलानेर पहिरोले सवारी साधनसहित पुर्दा ३५ जनाको मृत्यु भइसकेको छ । काभ्रेमा ५० जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ । यसैगरी धादिङ-काठमाडौं सडकखण्ड र काभ्रेतर्फ बीपी राजमार्ग खण्डमा क्षति पुग्दा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

  • प्राकृतिक विपद्पछि यस्तो छ सर्वदलीय बैठकको निर्णय

    प्राकृतिक विपद्पछि यस्तो छ सर्वदलीय बैठकको निर्णय

    काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने छ । अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण १५१ जनाको मृत्यु भएको छ भने ५६ जना हराइरहेका छन् ।

    बाढीका कारण भएको क्षतिको विवरण संकलन भइरहेको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढी पहिरोबाट परी प्रभावित भएकाहरुको तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

    राजमार्गहरुमा अलपत्र यात्रुहरुलाई जिल्ला विपद व्यवस्थापन समिति, यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याउने पनि निर्णय भएको छ । राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गको अवरोध हटाई आवागमन सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्ने पनि निर्णय छ ।

    ऊर्जा मन्त्रालयले क्षति ग्रस्त प्रसारण लाईन र विद्युत गृहहरुको मर्मत संभार गरी विद्युत आर्पूति, संचार मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन तथा खानेपानी मन्त्रालयले खानेपानी प्रणालीको मर्मत सम्भार गर्ने पनि बैठकको निर्णय छ ।

    साथै खाद्यान्न, तरकारी, फलफूल, ग्यास लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरु सूपथ मूल्यमा सजिलैसँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने पनि बैठकको निर्णय छ । बाढीका कारण क्षतिग्रस्त पूल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायतको विवरण संकलन गरि पुनर्निर्माणका लागि आवश्यक प्रकृया अघि बढाउने पनि सर्वदलीय बैठकले निर्णय गरेको छ ।

    बैठकले विपतको मसयमा सबै दल, तीनै तहको सरकार र निजी क्षेत्रको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार,राहत र पुनर्स्थापना गर्नुपर्नेमा जोड दिएको छ । साथै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न निजी क्षेत्र, संघसंस्था र आम नागरिकलाई अपिल गर्ने निर्णय पनि सर्बदलीय बैठकले गरेको छ ।

  • बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या १४८ पुग्यो

    बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या १४८ पुग्यो

    काठमाडौं । गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुगेको छ। शुक्रबार आएको बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुगेको नेपाल प्रहरीले जनाएको छ। त्‍यस्तै ५५ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको छ। यसैबीच नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले ३ हजार ६६१ जना भन्दा बढीको उद्धार गरेको छ।

    उद्धारको क्रममा १०१ जना घाइते समेत छन्। विभिन्न ठाउँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत पनि उद्धारको काम भइरहेको छ। त्यसैगरी मुख्य राजमार्गहरू पनि अझै अवरूद्ध कै अवस्थामा छन्। काठमाडौं भित्रिने नाका पृथ्वी राजमार्गस्थित धादिङको झ्याप्ले खोलामा पहिरो जाँदा अवरूद्ध छ। त्यहाँबाट मात्रै दुई दिनमा ३५ जनाको शव फेला परेको हो। त्यहाँ चार वटा गाडी पहिरोमा पुरिएका हुन्।

  • धादिङको झ्याप्ले खोला पहिरो हटाइयो, यातायात सूचारु

    धादिङको झ्याप्ले खोला पहिरो हटाइयो, यातायात सूचारु

    काठमाडौं । धादिङको झ्याप्लेमा दुईतर्फी बाटो खुलेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आइतबार साढे सात बजेबाट यहाँ दुई तर्फी बाटो खुला भएको हो। धुनीबेशी नगरपालिका(९ झ्याप्ले खोलामा पहिरोले चार वटा गाडी पुरेको थियो। हालसम्म ३५ जनाको शव फेला परेको छ।

    पुरिएका चारै वटा गाडीको नम्बर खुलेको सहप्रवक्ता थापाले जानकारी दिए। उनका अनुसार बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप पहिरोमा पुरिएको थियो। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएको थियो।

    त्यस्तै गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस र बा १ प १३८८ नम्बरको बसमा क्षति पुगेको थियो। विंगर जिपमा सवार ८ जना पुरूष, ५ जना महिला र एक जना बच्चा गरी १४ जना, हायसमा सवार १२ जना पुरुष र ४ जना महिला तथा बसमा सवार ५ जना पुरुष यात्रुहरू पहिरोमा पुरिएका थिए।

    पहिरोमा पुरिएकाहरुको सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य गरिरहेको छ। उद्धार कार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. १८ निलबाराही गण काठमाडौंबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले तीन वटा जेसिबीको सहायताले पहिरो पन्छाएर खोजी तथा उद्धार कार्य गरिरहेको छ।

  • वायुसेवा कम्पनीले बुधबारसम्म माथिल्लो दरको टिकट नलिने

    वायुसेवा कम्पनीले बुधबारसम्म माथिल्लो दरको टिकट नलिने

    काठमाडौं । वायुसेवा कम्पनीहरूले आगामी बुधबारसम्म हवाई भाडामा तोकिएको माथिल्लो दरमा टिकट नबेच्ने निर्णय गरेका छन् । वायुसेवा सञ्चालक संंघ अध्यक्ष मनोज कार्कीका अनुसार सोमबारदेखि बुधबारसम्म लागु हुने गरी सरकारले तोकेको माथिल्लो दरको भाडादरमा टिकट नबेच्ने निर्णय भएको छ ।
    आन्तरिक हवाई टिकटमा सरकारले माथिल्लो सीमा तोकिदिएको हुन्छ ।

    वायुसेवा कम्पनीले टिकट अभाव भएको समयमा सोही दरको माथिल्लो बिन्दुमा टिकट बेच्ने गर्छन् । आइतबार वायुसेवा कम्पनीले सबै टिकट माथिल्लो दरमा बिक्रीमा राखेपछि आलोचना भएको थियो । वायुसेवा कम्पनीले विषय परिस्थितिमा हवाई इन्धनमा सरकारले छुट दिने हो भने कम मूल्यमा यात्रुलाई उडान सेवा दिन सकिने भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

  • नेवानिले टिकट काटेर उड्न नपाएका यात्रुसँग थप शूल्क नलिने

    नेवानिले टिकट काटेर उड्न नपाएका यात्रुसँग थप शूल्क नलिने

    काठमाडौं । नेपाल एयरलाइन्सले शुक्रबार (२७ सेप्टेम्बर) देखि बुधबार (२ अक्टोबर) सम्म उड्ने गरी टिकट काटेर उड्न नपाएका अन्तर्राष्ट्रिय हवाई यात्रुसँग अतिरिक्त शुल्क नलिने भएको छ । अविरल वर्षा र बाढी पहिरोका कारण काठमाडौं आउन नपाएका यात्रुको सुविधालाई मध्यनजर गर्दै मिति परिवर्तन गर्दा थप शुल्क नलिन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको थियो ।

    सोही अनुसार यात्रुसँग थप शुल्क नदिने निर्णय भएको नेवानिका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार सो सुविधा ११ अक्टोबर (२६ असोज) सम्म उपयोग गरिसक्नु पर्ने समेत निर्णय भएको छ ।

  • बाढी–पहिरोले ऊर्जामा मात्र साढे २ अर्बको क्षति

    बाढी–पहिरोले ऊर्जामा मात्र साढे २ अर्बको क्षति

    काठमाडौं । ऊर्जा क्षेत्रमा बाढी र पहिरोका कारण २ अर्ब ४५ करोड रुपैयाँ हाराहारी क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताएको छ । ऊर्जामन्त्री दीपक खड्काका अनुसार अहिले ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ । सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबर क्षति आकलन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले तामाकोसी जलविद्युत् आयोजना बन्द भएको छ ।

    पछिल्लो तीन दिनयता बन्द रहेको तामाकोसी लामो समय बन्द गर्नुपरे लोड व्यवस्थापनमै समस्या हुने देखिएको उनले बताए । उनका अनुसार काबेली करिडोरमा दुई टावरमा क्षति भएको छ । इलाम र पाँचथर फिदिममा बिजुली सेवा अवरुद्ध छ । त्यहाँ सेवा सुचारु गर्ने प्रयास भइरहेको छ ।

    उता, तामाकोसी नदीले खिम्ती लामोसाँघु टावर बगाएका कारण २ सय मेगावाट ऊर्जामा समेत अवरोध भएको छ । त्यहाँबाट बिजुली काठमाडौं ल्याउने गरिएको छ । तामाकोसीले थप ८ सय मेगावाट बिजुली प्रसारण गर्ने टावर जोखिममा रहेको समेत ऊर्जा मन्त्रालयले जनाएको छ । १ हजार १० मेगावाट विद्युत् जडित क्षमताका १५ निर्माणाधीन आयोजनामा समेत क्षति पुगेको छ ।

  • झ्याप्ले खोलामा थप एउटा बस पुरिएको अवस्थामा फेला

    झ्याप्ले खोलामा थप एउटा बस पुरिएको अवस्थामा फेला

    काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । बसको केही भाग मात्र देखिएको र बसको नम्बर नखुलेको प्रहरीले जनाएको छ । डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम जारी छ ।

    गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएकोछ । यो पहिरोका कारण काठमाडौं भित्रने सवारी साधन रोकिएका छन् ।

  • बाढी-पहिरोको क्षतिबारे छलफल गर्न सरकारले बोलायो सर्वदलीय बैठक

    बाढी-पहिरोको क्षतिबारे छलफल गर्न सरकारले बोलायो सर्वदलीय बैठक

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् ।

    कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उनको सचिवालयले जनाएको छ ।

  • जहाज छूटेका अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट सार्दा थप शूल्क नलाग्ने

    जहाज छूटेका अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट सार्दा थप शूल्क नलाग्ने

    प्रतिकुल मौसकका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान उडान छुटेका यात्रुले टिकटको मिति सार्दा शुल्क नलाग्ने भएको छ । यसको व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

    शनिबार पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको तत्काल उद्धार गर्ने र त्यसका लागि पर्यटन विभाग र पर्यटन बोर्डबीच समन्वय गर्ने निर्णय भएको बैठकका एक सहभागीले जानकारी दिए ।

    हेलिकप्टरबाट उद्धार उडान गर्दा नियमित र सहुलियत शुल्कमा नै गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको छ । वायुसेवा कम्पनीका हेलिकप्टर र र्‍याफ्टिङ एशोसिएशनका जनशक्ति र उपकरण अधिकतम परिचालन गर्ने निर्णय भएको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।

    नेपालका सबै विमानस्थल सञ्चालनयोग्य अवस्थामा रहेका कारण मौसमको अनुकुलता हुने वित्तिकै अन्तर्राष्ट्रिय र आन्तरिक उडान अधिकतम सञ्चालन गर्ने निर्णय समेत भएको छ । होटेल संघ नेपालले अतिरिक्त समय बस्नुपर्ने बाध्यताका पर्यटकलाई नियमित र सहुलियत शूल्कमा सेवा दिने निर्णय समेत सरोकारवालाको बैठकले गरेको छ ।

  • काठमाडौं जोड्ने सबै नाका पहिरोका कारण अवरुद्ध, टुट्यो सम्पर्क

    काठमाडौं जोड्ने सबै नाका पहिरोका कारण अवरुद्ध, टुट्यो सम्पर्क

    काठमाडौं । पछिल्लो दुई दिनयताको अविरल वर्षाका कारण देशभर मूख्य राष्ट्रिय राजमार्गमा ठूलो क्षति भएको छ । राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मूख्य राजमार्गमै बाढी र पहिरोले क्षति गरेको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । सडक विभागका अनुसार शनिबार साँझसम्म उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने सबै नाका ठप्प भएका छन् ।

    अहिलेसम्म २३ राजमार्गका ६६ भन्दा धेरै स्थानमा बाढी र पहिरोले क्षति पुगेकाले यातायात बन्द गर्नु परेको छ । यसमध्ये पनि आधा दर्जन पुल बाढी र पहिरोले बगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गबाट दुई मुलुकबीचको सडक सम्पर्क समेत विच्छेद हुन पुगेको छ ।

    सडक विभागका अनुसार शनिबार वीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाका विभिन्न स्थान र सिन्धुलीमा सडक अवरुद्ध छ । कान्ति राजमार्गको मकवानपुर खण्ड, त्रिभुवन राजपथको धादिङ र मकवानपुर खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध रहेको छ ।

    पुष्पलाल रामार्गको ओखलढुंगा, सिन्धुली, खोटाङसहितका जिल्लामा सडक अवरुद्ध रहेको छ । राप्ती राजमार्गको सल्लान, सिद्धार्थ राजमार्थको पाल्पा, तानसेन–रिडी–कोरला राजमार्गको मुस्ताङ, पृथ्वी राजमार्गको धादिङ र तनहुँका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको छ ।

    सालझण्डी–ढोरपाटन खण्डको अर्घाखाँची र स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड समेत अवरुद्ध रहेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार यस सडक खण्डमा मात्र विभिन्न ६ स्थानमा पहिरो गएको छ । यी पहिरोग्रस्त क्षेत्रमा पैदल यात्रु समेत पास हुन नसक्ने अवस्था छ ।

    महानिर्देशक पोखरेलका अनुसार शनिबार साँझसम्म देशभर करीव आधा दर्जन सडक पुलमा क्षति पुगेको छ । मेची राजमार्गको हेवाखोलामा गत वर्ष मात्र बनाइएको बेली व्रिज आज पुनः भत्किएको छ । इलामको सन्दकपुरस्थित राता खोलामा निर्माणाधिन पुल भत्किएको छ ।

    सिन्धुलीको खुर्कोटमा सुनकोशी नदीमाथिको पुलमा क्षति पुगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गका पुलहरुमा समेत क्षति पुगेको महानिर्देशक पोखरेलले जनाएका छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ तातोपानीका वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार लार्चाको बेली ब्रिज बगेको छ ।

    १० किलोबाट पाङसिर्पु जाने बेली ब्रिज समेत बगेको छ । तातोपानी नाका जाने लिपिङको पुल समेत बगेको छ । कान्ति लोकपथमा पर्ने बागमति नदीमाथिको पुल समेत बाढीले बगाएको छ ।

  • बाढी–पहिरोले नेपालमा व्यापक मानवीय क्षति

    बाढी–पहिरोले नेपालमा व्यापक मानवीय क्षति

    काठमाडौं । बाढी पहिरोका कारण काठमाडौं उपत्यकासहित देशभर व्यापक मानवीय क्षति भएको छ । काठमाडौंका तीन जिल्लामा मात्र ३४ जनाको मृत्यु भएको छ ।
    काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी विनोद घिमिरेले बताएका छन् । १७ जना घाइते भएका छन् । जसअनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका हुन् । यी तीन जिल्लाबाट १ हजार ४१५ जनाको उद्दार गरिएको छ । १७ जना वेपत्ता छन् । १ हजार ९२४ घरहरु डुबानमा परेको एसएसपी घिमिरेले बताए ।
    बागमती प्रदेशका १० जिल्ला (उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरबाहेक) मा ११ र १२ असोजको दुई दिनमा विपदका घटनाबाट २१ जनाको मृत्यु भएको छ । विपद्का घटनाबाट २५ जना बेपत्ता र ३१ जना घाइते भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुई दिनमा बाढी, पहिरोलगायतका विपदका घटनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा काभ्रेका १० जना रहेका छन् ।बाढीपहिरोबाट काभ्रेमै ११ जना बेपत्ता र ११ जना घाइते भएका छन् ।

    सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ६ जनाको मृत्यु ४ जना बेपत्ता र १६ जना घाइते, दोलखामा पहिरो खसेर ३ जनाको मृत्यु १ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी नायव उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार धादिङ र सिन्धुलीमा १–१ जनाको मृत्यु र १–१ जना घाइते भएको छ । धादिङमा ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । मकवानपुरमा ७ जना बेपत्ता भएका छन् । शनिबार मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, स्थितबत्सलादेवी माविको एन्फा एकेडेमीमा रहेका बालक पहिरोले पुरिएको विवरणबाहेक प्रदेशका १० जिल्लामा २१ जनाको मृत्यु भएको हो ।

    इन्द्रसरोबरमा पहिरोले पुरिएका ६ जनामध्ये ३ जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । उनीहरुको सनाखत हुन बाँकी छ । पहिरोमो पुरिएर बेपत्ता भएकाका अन्य ३ जनाको अवस्था अझै अज्ञात छ । चितवन, नुवाकोट, रसुवा र रामेछापमा विपदबाट हालसम्म मानवीय क्षति नभएको डीएसपी बस्नेतले जानकारी दिए । विपदका घटनाबाट १५ वटा पशुचौपायाको मृत्यु भएको प्रहरी तथ्यांक छ । ६६ वटा घरमा पूर्ण र २ वटा घरमा आंशिक क्षति पुगेको डीएसपी बस्नेतले जानकारी दिए । १९२ परिवार प्रभावित क्षेत्रबाट स्थानान्तरण भएको उनले बताए । २ वटा पक्की पुल र एउटा बेलिब्रिजमा क्षति पुगेको छ । ५९ वटा घर तथा कार्यालय उच्च जोखिममा रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । विपद्तका घटनामा उद्दारका लागि ४ हजार ११९ जना प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ ।

  • शनिबारसम्म सबै आन्तरिक उडान स्थगित

    शनिबारसम्म सबै आन्तरिक उडान स्थगित

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ । प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।

    ‘प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ,’ प्राधिकरणको सूचनामा उल्लेख छ । आज आन्तरिक उडानहरु अधिकांश रद्द भएका छन् ।

  • कुलेखानी भरिनै लाग्यो, तटिय क्षेत्रमा सचेत रहन आह्वान

    कुलेखानी भरिनै लाग्यो, तटिय क्षेत्रमा सचेत रहन आह्वान

    काठमाडौं । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल) भरिनै लागेको भन्दै प्रशासनले सचेत गराएको छ । कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टका अनुसार अबको केही घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना छ । कुलेखानी जलविद्युत आयोजना समुद्री सतहबाट १ हजार ५३० मिटरको तहमा भरिन्छ । अहिले १ हजार ५२६ मिटरको तहमा पानी आइसकेको भट्टले बताए ।

    ‘प्रति तीनघण्टमा एक मिटरसम्म पानीको सतह बढिरहेको छ, जलाधार क्षेत्रमा भारी वर्षा भएकाले बाढी आएर कुलेखानी भरिने चरणमा पुगेको हो,’ उनले भने,‘जलाशय भरिएपछि माथिबाटै ओभरफ्लो भएर पानी जान्छ, तर आकस्मिक अवस्था आए बाँधको गेट पनि खोल्नुपर्ने हुनसक्छ ।’

    कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भए बाँधको गेट पनि खोल्न पर्ने हुनसक्ने भएकाले तल्ला तटीय क्षेत्रमा सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणका सहसचिव बसन्त अधिकारीका अनुसार विगतमा पनि कुलेखानीको बाँध खोल्नु परेको र सतर्कता नअपाउँदा जनधनको क्षति भएकाले अहिले पनि तल्ला तटीय क्षेत्रमा सतर्कता जरुरी रहेको बताउँछन् ।

    कुलेखानीको पानी कुलेखानी र सिस्मेरी खोला हुँदै बाग्मती खोला भएर बग्छ । त्यसैले मकवानपुरका भीमफेदी, इन्द्रसरोबर, बाग्मती गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी क्षेत्र रौतहटको नुनथर, चन्द्रपुर, सर्लाहीको तटीय क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

    केही घण्टापछि कुलेखानी भरिएर खोलामा बढी आउनसक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता जरुरी रहेको सहसचिव अधिकारीले बताए । उनका अनुसार सतर्कताको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवश्यक तयारीसहित तल्लो तटीय क्षेत्रमा माइकिङ सुरु गरेको छ । कुलेखानी आयोजनालाई सुख्खायाममा लागि ‘पावर ब्याक अप’का रुपमा राखिने गरेको छ । हिउँदमा रित्ताइने यो जलासय वर्षामा भरेर राख्ने गरिन्छ ।

  • नारायणगढ–मुग्लिन सडकमा आज रातभर सवारी चलाउन रोक

    नारायणगढ–मुग्लिन सडकमा आज रातभर सवारी चलाउन रोक

    काठमाडौं । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोकिने भएको छ ।
    जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ ।

    समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक्ने जानकारी दिए । अत्यावश्यक सवारी भने सञ्चालन हुनेछन् ।

    नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए । शुक्रबार दिनभर खासै सडकखण्ड अवरुद्ध नभए पनि सम्भावित जोखिम भने छ । गत असार २८ गते राति यही सडकखण्डको सिमलतालमा रातिमा पहिरोले बस बगाउँदा ६२ जनाको मृत्यु भएको थियो ।