Category: अर्थतन्त्र

  • अब देशैभर सरकारी कार्यालयमा सेयर कारोबार बन्द

    अब देशैभर सरकारी कार्यालयमा सेयर कारोबार बन्द

    काठमाडौं । अब देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ चलाउन नपाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यस्तै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

    टीएमएस नचलाउनका लागि सबै प्रदेशमा परिपत्र गर्न प्रधानमन्त्री कार्यालय मातहत रहेको प्रादेशिक समन्वय महाशाखालाई निर्देशन दिइएको छ । यसअघि सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थियो ।

    कार्यालय समयमा सरकारी स्रोत साधनको प्रयोग गरी व्यक्तिगत कारोबार गर्न नमिल्नेगरी व्यवस्था गर्न अख्तियारले भनेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सरकारी कार्यालयमा सरकारी काम मात्र गर्न आह्वान गरेका छन् ।

  • खुल्यो जग्गाको कित्ताकाट

    खुल्यो जग्गाको कित्ताकाट

    काठमाडौं । सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो ।

    यसअघि देशभरका सात सय ५३ मध्ये एक सय ९३ वटा पालिकाले मात्र जग्गा वर्गीकरण गर्दा कित्ताकाटमा समस्या हुँदै आएको थियो । आजदेखि भने देशभरका मालपोत कार्यालयमा कित्ताकाटको काम शुरू भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनः समस्या नआउने गरी काम गर्न पालिकाहरूलाई आग्रह गरेका छन् । तोकिएको यो आर्थिक वर्षभित्र सबै पालिकाले प्रक्रिया पूरा गरेर कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री अधिकारीले आग्रह गरेका छन् ।

  • पाँचथर विष्फोटका घाइतेको सरकारले नि:शूल्क उपचार गर्ने

    पाँचथर विष्फोटका घाइतेको सरकारले नि:शूल्क उपचार गर्ने

    काठमाडौं । सरकारले पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाउँमा युद्धकालको बेवारिसे बम विस्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले बेवारिसे बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ ।

    डाँडागाउँमा यही भदौ १३ गते द्वन्द्वकालको ह्यान्डमेड सकेट बम विस्फोट हुँदा ११ वर्षीय दिप्सन सावा र अढाइ वर्षीया प्रिन्सा सावाको मृत्यु भएको थियो । मृतकका परिवारलाई जनही ५५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

  • आज कति छ विनिमय दर ?

    आज कति छ विनिमय दर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ ।

    आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा र युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा कायम छ ।

    स्वीस फ्रयाङ्क एकको खरिददर १५७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ५४ र बिक्रीदर १०३ रुपैयाँ ०० पैसा कायम भएको छ ।

    चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

    थाई भाट एकको खरिददर ३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३ रुपैयाँ ९६ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।

    मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा छ ।

    हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६९ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २० पैसा कायम भएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    rss

  • मेलम्चीमा भ्रष्टाचार, ४ जना दोषि ठहर

    मेलम्चीमा भ्रष्टाचार, ४ जना दोषि ठहर

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार उक्त मुद्दामा १० जनालाई सफाइ दिएको छ । अदालतले तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको छ ।

    विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ बिगो माग गरेको छ । त्यस्तै, देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो माग गरेको छ । इप्टिसा र बेट्स (बीइटीएस) सँग ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो माग गरेको छ । इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी ठहर भएको छ भने सीएसीले २६ करोड ११ लाख ६ हजार ९९१ रुपैयाँ बिगो बुझाउनुपर्ने भएको छ । विशेष अदालतले उनीहरुमाथि सजाय र जरिवानाका लागि अर्को पेशी तोक्नु भनी आदेश दिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलेम्चीमा भ्रष्टाचार भएको आरोप लगाउँदै तीन पूर्वसचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले परामर्शदाता र निर्माण कम्पनीलाई पनि मुद्दामा प्रतिवादी बनाएको थियो । उक्त मुद्दामा मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षहरु डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र मुकुन्द प्रसाद पौडेलले सफाइ पाएका छन् ।

  • अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता आवश्यक

    अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता आवश्यक

    काठमाडौं । अमेरिकामा निर्यात बढाउन भन्सार रहित सुविधाको निरन्तरता आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, तयारी पोसाक संघ, नेपाल–अमेरिका चेम्बर अफ कमर्स, यूएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना गरेको नेपाल–अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखी आगामी दिनमा बढाउन भन्सार रहित सुविधाको निरन्तरता आवश्यक रहेको बताए ।

    अमेरिकाले सन् २०१६ मा भूकम्पपछि ७७ वस्तुमा दिएको भन्साररहित सुविधा आगामी वर्ष सकिन लागेको र आगामी साता आयोजना हुने ‘व्यापार एवं लगानी सम्बन्धी सम्झौता’ (टिफा) परिषद् बैठक महत्त्वपूर्ण रहेको उनको धारणा छ । बैठकमा सुविधाको निरन्तरता र हाल निलम्बनमा रहेको जीएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।

    नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको समयमा भन्सार रहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड थियो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझाव अनुरूप अमेरिकासँग छलफल गरिने बताए ।

    प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने बताए । यस अवसरमा, महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको बताए । नेपाल तयारी पोसाक उद्योग संघ अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएका कारण सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए ।

    नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताए । निर्यात व्यवसायी महासंघ नेपाल अध्यक्ष शंकर पाण्डेले अमेरिका तर्फको निर्यातको मात्रा बढाउन आवश्यक भएकोमा जोड दिए । नेपाल र अमेरिकाबीच सन् २०११ मा टिफा सम्झौता भएको थियो । यो सम्झौताको खाका भएको हुँदा द्विपक्षीय लगानी र व्यापारका लागि सम्झौता गर्न यसले आधार तयार पार्ने अपेक्षा गरिएको थियो ।

    तर, हालसम्म कुनै उपलब्धि हुन सकेको छैन । हाल सुविधा गुम्ने अवस्था आएको हुँदा अमेरिकाको निर्यात घट्न सक्नेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो ।

  • सरकारी कार्यालयमा खाजा समय आधा घण्टा मात्र, गुनासो भए सेवाग्राहीले फोन गरेर उजुरी गर्न सक्ने

    सरकारी कार्यालयमा खाजा समय आधा घण्टा मात्र, गुनासो भए सेवाग्राहीले फोन गरेर उजुरी गर्न सक्ने

    काठमाडौं । सरकारले सरकारी कार्यालयहरुमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरुलाई परिपत्र गर्दै खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म मात्रै छुट्याएर कार्यान्वयन गर्न निर्देशन दिएको हो । १२ पुस २०८० को मन्त्रिपरिषदको निर्णयअनुसार २९ माघ २०८०मा प्रकाशित राजपत्रले सबै सरकारी कार्यालयको खाजा सयम तोकेकाले त्यसअनुसासर नै गर्न पत्रमा भनिएको छ ।


    मन्त्रिपरिषदको निर्णयअनुसार तोकिएको खाजा समयबारे सूचना सूचनापाटीमा टाँस्ने र अन्य समयका सेवा प्रवाह र कार्यालयको काम नरोक्ने व्यवस्था गर्न सम्बिन्धकत कार्याएलय प्रमुखले मिलाउनुपर्ने परिपत्रमा उल्लेख छ । पत्रमा अनुगमनका क्रममा कतिपय निकायमा खाजा समय तोकिएभन्दा बढी निर्धारण गरिएको र खाजा समय पालना नभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मन्त्रालय र अन्तरगतका निकायमा तोकिएअनुसार खाजा समयको परिपालना गर्न पत्रमा भनिएको छ ।

    सरकारले सार्वजनिक विदाबारे हरेक वर्ष प्रकाशित गर्ने राजपत्रमा यसअघि सरकारी कार्यालयको सेवामा बाधा नपर्ने गरी आलोपालो मिलाएर सम्बन्धित कार्यालयले आधा घण्टाका लागि खाजा समय तोक्ने व्यवस्था गर्थ्यो । तर, गतवर्षदेखि सरकारले १ः३० देखि २ः ०० बजेसम्म खाजा समय उल्लेख गरेपनि आलोपालो मिलाउने कुरा उल्लेख गरेन । यसकै कारण सरकारी कार्यालयहरुले खाजा समयमा कर्मचारीहरुबीच आलोपालो मिलाउनेतर्फ ध्यान दिएका छैनन् ।

  • चाडबाड अगाडि सडकका खाल्डा पुर्न भौतिक मन्त्रीको निर्देशन

    चाडबाड अगाडि सडकका खाल्डा पुर्न भौतिक मन्त्रीको निर्देशन


    काठमाडौ । दशै, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्युनिकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ ।


    चाडपर्वको समयमा काठमाडौबाट बाहिरिने यात्रुको चाप अत्याधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने भएकाले त्यसको नियन्त्रणका मन्त्रालयले अग्रसरता लिएको हो ।

    आईतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरुबिचको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाडपर्व शुरु हुनु अघिनै सडकका खाल्डाखुल्टीहरु तत्काल पुरि सक्न निर्देशन दिए ।

    जोखिम रहेका स्थानहरुमा सडक सुरक्षाका पूर्वाधारहरु निर्माण र मर्मत गर्न निर्देशन दिनु हुँदै उनले सवारी नियम उल्लङ्घन नियन्त्रण, दुर्घटना भई हाले उद्धार र अस्पताल सम्म पु¥याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरे ।


    सडक सुरक्षाको दिर्घकालिन व्यवस्थापनका लागि नीतिगत र कानूनी व्यवस्था गर्न मन्त्रालयले अगुवाई लिने भन्दै उहाँले सडक सुरक्षा परिषदलाई क्रियाशिल र प्रभावकारी बनाईने समेत बताए । सुरक्षित सडक, चुस्त सवारी साधन, दक्ष चालक र सचेत यात्रुहरु भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै मन्त्री दाहालले यसका लागि तीनै तहका सरकार र सम्वद्ध निकायहरु विच सहकार्यको खाँचो रहेकोमा समेत जोड दिए ।
    मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्वहरु नजिक आई रहेकाले सडक तथा सवारी सुरक्षा र दुर्घटना न्युनिकरणका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए । लामो दुरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्ने, सवारी नियमको पालना गर्ने जस्ता कार्यलाई प्रभावकारी कार्यान्वयन गराउन समेत उहाँले जोड दिए ।

  • हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय समिति बनाइने

    हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय समिति बनाइने

    काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानविन समितिले औंल्याएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय  छानबिन समिति बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।

    सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झना तथा ४५ औं दिनको पुण्य तिथिको सन्दर्भमा आईतवार राजधानीमा आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा विषयक अन्तरक्रिया बोल्दै मन्त्री पाण्डेले उक्त कुरा  बताएका हुन ।
    मन्त्री पाण्डेले भने, हवाई दुर्घटनाबारे विगतमा थुप्रै अलगअलग अध्ययन र अनुसन्धान भएका छन् । तिनीहरूलाई  कम्पायल गरेर, एकिकृत गरेर एक ठाउँमा राख्नु पर्ने छ ।” उनले अगाडि भने, नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित पार्नका लागि न्यायिक क्षेत्रको व्यक्तिको संयोजकत्वमा उच्च स्तरीय छानवीन समिति बनाउने छौं । त्यस समितिले अध्ययन गरेका कुरालाई सरकारले समेत शिरोधार्य गर्ने छ।”

    उनले  सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भईसकेको उल्लेख गर्दै प्रतिवेदन सत्य,तथ्य नजिक पुगेको बताए ।  मन्त्री पाण्डेले हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरि ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको बताए । उनले  उक्त विधेयक मन्त्रिपरिषद मार्फत संसदमा पेश गरिने विश्वास दिलाए ।

    उनले  दुर्घटनाका पीडितहरूले पाउनु पर्ने बीमाका विषयमा बीमा सम्बन्धि ऐन निर्माण गर्नु पर्ने र पछिल्लो सन्धिहरूको मस्यौदाको क्रममा रहेको बताउँदै हवाई ऐनलाई समेत समय सापेक्ष हुने गरि  परिमार्जन गरिने बताए ।

  • चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

    चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा


    काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।


    रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका अन्तिम चरणका कामहरु भइरहेका छन् ।
    प्रसारण लाइन निर्माणका बाँकी कामहरु सम्पन्न गरी दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी निर्माण धमाधम भइरहेको छ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतनै २२०÷१३२÷३३ केभीका चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् ।
    प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ । एउटा टावर जडान कार्य अन्तिम चरणमा छ । २८ किलोमिटर प्रसारण लाइनमध्ये पाँच किलोमिटर मात्र तार तान्न बाँकी छ । टावर जडान र बाँकी रहेको तार तान्न करिब २ सय जना श्रमिकहरु परिचालित छन् ।
    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार प्रसारण लाइन निर्माण कार्यको स्थलगत अनुगमन गरी दशैंअघि नै काम सक्ने समयसीमा तय गरेको छ ।
    आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तिब्रता दिन आग्रह गर्दै टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको छ । टोलीले अन्तिम टावरको जडान कार्य भइरहेको र तार तान्न बाँकी रहेको ठाउँको अनुगमनसमेत गरेको थियो ।
    प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ । दुवै आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । यसले गर्दा पनि प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नु पर्ने दवावमा प्राधिकरण छ ।
    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा निर्माणाधीन प्रसारण लाइन निरन्तरको प्रयासपछि अब सम्पन्न हुने अवस्था पुगेको बताए । ‘यो लाइन बन्न नसक्दा दुई जलविद्युत आयोजनाहरुले विद्युत् उत्पादन सुरु गर्न सकिरहेका छैनन्, विकट भौगालिक अवस्थालाई पार लगाउँदै लाइन निर्माण अन्तिम चरणमा पुगेको छ, बाँकी काम सम्पन्न गर्न सबैले अन्तिम प्रयास गरौं र दशैं अगाडि जसरी पनि निर्माण सम्पन्न गरौं’,घिसिङले भने ।


    उत्तरगया गाउँपालिका–१ तिरुबाट सोही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मि. लम्बाइमा तार तान्नु पर्ने छ । मैलुङखोलामाथि पर्ने उक्त खण्डमा ड्रोनको प्रयोग गरी तार तानिने छ । मैलुङ क्रसिङका लागि लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।
    भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदारको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ । निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले लाइन निर्माणमा मौसमको पनि प्रतिकूल प्रभाव पर्दै आएको छ ।
    प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मि.सम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ ।

    आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक बनाएको छ ।
    खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरणहरु ढुवानी गरी ९ वटा टावर निर्माण गरिएको छ । २ वटा टावर हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी निर्माण गरिएको छ ।
    प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ ।


    कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ ।
    प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीज २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो ।

  • इपीएस सम्झौताको १७ वर्ष पुरा, १ लाख भन्दा धेरै नेपालीले पाए रोजगारी

    इपीएस सम्झौताको १७ वर्ष पुरा, १ लाख भन्दा धेरै नेपालीले पाए रोजगारी

    काठमाडौं । दक्षिण कोरियामा इपीएस प्रणालीबाट पछिल्लो १७ वर्षमा एक लाख भन्दा धेरै नेपालीले आकर्षक रोजगारी पाएका छन् । निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ ।

    इपिएस सुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको तथ्याङ्कानुसार हालसम्म नौ लाख १९ हजार छ सय ३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।

    सन् २०२४ का लागि मात्रै हालसम्मकै बढी एक लाख ९९ हजार एक सय १३ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । हालसम्म पाँच लाख ४८ हजार सात सय ७१ जना भाषा परीक्षामा सहभागी भएका छन् । इपिएसअन्तर्गत वैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने सङ्ख्या लगातार वृद्धि हुँदै गइरहेको छ । हालसम्म ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिला गरी एक लाख पाँच हजार पाँच सय ४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका इपिएस शाखाका प्रमुख मैयाँ कँडेल बताउँछिन् ।


    इपिएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जान थालेको १७ वर्षका अवधिमा सबैभन्दा बढी सन् २०२३ मा १९ हजार छ सय ८९ जना दक्षिण कोरिया प्रस्थान गरेका छन् । सन् २०२३ मा नेपाल कामदार बढी पठाउने मुलुक बन्न सफल भएको थियो । सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार दुई सय ८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् ।

    दक्षिण कोरियाले इपिएसअन्तर्गत नेपालसहित इण्डोनेसिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, श्रीलङ्का, मङ्गोलिया, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बङ्गलादेश, कीर्गिस्तान, म्यानमार, टिमोर–लेस्टे, लाओस र ताजकिस्तानबाट श्रमिक भित्र्याउँदै आएको छ । नेपालले सन् २०१५ मा ‘वेष्ट प्राक्टिस आउटस्टयान्डिङ एवार्ड’समेत प्राप्त गरिसकेको छ ।

    नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत नेपाली कामदार दक्षिण कोरिया पठाउन मन्त्रीस्तरीय सम्झौता भएको थियो । सन् २००८ देखि नेपाली श्रमिक रोजगारीका लागि दक्षिण कोरिया जान थालेका हुन् ।

    अहिले पनि दक्षिण कोरियामा करिब ५० हजार नेपाली श्रमिकले काम गरिरहेका शाखाका निर्देशक कँडेल बताउँछन् । दुई देशबीचको रोजगार सम्झौता प्रत्येक दुई–दुई वर्षमा नवीकरण हुँदै आएको छ । पछिल्लोपटक सन् २०२२ मा सो सम्झौता नवीकरण भएको थियो ।
    राससको सहयोगमा

  • पूर्णरुपमा अवरुद्ध भयो कर्णाली राजमार्ग

    पूर्णरुपमा अवरुद्ध भयो कर्णाली राजमार्ग

    काठमाडौं । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । शनिबार रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका १ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास जारी छ ।

    गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालीकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् ।

  • आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रिदर १३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ १७ र बिक्रीदर १०३ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

    यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १० पैसा र बिक्रीदर १३ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९५ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४४० रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

  • इराक चाहन्छ नेपाली कामदार

    इराक चाहन्छ नेपाली कामदार

    काठमाडौं । आफूमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउँदै नेपालबाट दक्ष कामदार लैजान इराकले इच्छा देखाएको छ । उसले नेपालसँग श्रम समझदारी गर्ने प्रस्ताव पनि गरेको छ । कुनै समय द्वन्द्व र युद्धका कारण थलिएको इराक अब पूर्वाधार विकासमा अघि बढ्ने भन्दै नेपालबाट दक्ष जनशक्ति लैजान नेपालसँग श्रम समझदारी गर्न खोज्दै छ । इराकमा श्रम गर्न वा घुम्न जान पनि नेपाली नागरिकलाई प्रतिबन्ध लगाइएको छ ।

    नेपालले सुरक्षाको कारण देखाउँदै ०६१ सालदेखि आफ्ना नागरिकलाई इराक भ्रमण गर्न वा त्यहाँ गएर काम नगर्न प्रतिबन्ध लगाएको छ । ०६१ भदौ १६ मा १२ जना नेपालीलाई एक इराकी विद्रोही समूहले हत्या गरेपछि नेपाल सरकारले उक्त निर्णय गरेको थियो । इराकीहरूले पटक–पटक विभिन्न माध्यममार्फत उक्त प्रतिबन्ध हटाउन खोजिरहेका छन् । नेपालले भने सुरक्षाकै कारण इराकमा नेपाली पठाउन मानेको छैन ।

    नेपालबाट दक्ष कामदार लैजान नयाँदिल्लीस्थित कार्यवहाक राजदूत सुरेन्द्र थापालाई नयाँदिल्लीस्थित इराकको राजदूतावासका नियोग उपप्रमुख नजम मिर्जानले आग्रह गरेका छन् । दिल्लीमै रहेको इराकको दूतावासले नेपाललाई पनि हेर्ने काम गर्छ ।

    गत मंगलबार दिल्लीमा भएको भेटवार्तामा उनीहरूबीच इराकमा नेपालबाट दक्ष कामदार लैजाने सम्बन्धमा कुराकानी भएको नेपाली दूतावासले जनाएको छ । ‘हामी अब पूर्वाधार विकासमा लागिरहेका छौं । त्यसका लागि धेरै कामदारको आवश्यकता पर्छ,’ मिर्जानले भने, ‘नेपालीहरूको राम्रो कामको हामीले जताततै सुनेका छौं । त्यसैले इराक नेपालबाट पूर्वाधार विकासमा काम गर्न सक्ने दक्ष कामदार लान चाहन्छौं ।’

    इराकमा श्रम पठाउनेसम्बन्धमा आवश्यक प्रक्रियाबारे आवश्यक विषय बुझेर जानकारी दिने कार्यवाहक राजदूत थापाले बताए । थापाले इराकको आग्रहलाई परराष्ट्र मन्त्रालयमा पठाइसकेका छन् । अब परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँग सहकार्य गरेर इराकलाई जवाफ दिने जनाइएको छ । नेपाली पक्षले इराकको वर्तमान सुरक्षा र भविष्यमा हुन सक्ने खतराको अध्ययन र समीक्षा गरेर मात्र कुनै पनि निर्णय लिने बताइएको छ ।

  • फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका(३ फिस्लिङ नजिकै सुख्खा पहिरो खसेर राजमार्ग दुई तर्फी अवरुद्ध भएको हो । बिहान साढे ७ बजेदेखि अबरुद्ध सडक सडक विभागसँग समन्वय गरी खुलाउने प्रयास थालिएको प्रहरीले जनाएको छ ।

  • काठमाडौं महानगरपालिकामा सुरु भयो एकल सेवा केन्द्र प्रणाली

    काठमाडौं महानगरपालिकामा सुरु भयो एकल सेवा केन्द्र प्रणाली

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि एकल सेवाकेन्द्र प्रणाली सुरू गरेको छ । काठमाडौं प्लाजास्थित कार्यालयको ब्लक ‘क’को भुइँ तलाबाट एकल सेवा सुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले बताए । प्रमुख प्रशासकीय अधिकृत परियारका अनुसार महानगरपालिकाभित्र जुनसुकै सेवा लिन पनि यसकेन्द्रमा आएर टोकन लिनु पर्ने र त्यसैका आधारमा सेवा प्राप्त हुने विद्युतीय प्रक्रिया अगाडि बढ्ने छ।

    यो सेवा केन्द्रबाट आज वडा नम्बर ५ बाट विपन्न नागरिक सिफारिस लिन आएका सुरेश प्रजापती र राजस्वका दररेट सम्बन्धी जानकारी लिन आएका ३२ नम्बर वडाका समिर नेपाललाई टोकन प्रदान गरेर सुरु गरेको हो । उपप्रमुख सुनिता डंगोलका अनुसार केन्द्रलाई पहुँचयुक्त बनाउन सांकेतिक भाषा अनुवादक राख्नेसहितको योजना रहेको छ । महानगरपालिकाले गत साउनमा सेवाग्राही सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा सहभागी ५१७ मध्ये ६६ प्रतिशतले अनलाइन सेवाको अपेक्षा व्यक्त गरेपछि यो सेवा सुरु भएको हो ।

    ‘महानगरपालिकामा आउने कोही पनि सेवाग्राहीले सेवाका लागि कसलाई भेट्ने, कुन तलामा पुग्ने, कागज के चाहिन्छ, प्रक्रियाका लागि कति समय लाग्छ भनेर अल्मलिनु पर्दैन,’ प्रमुख प्रशासकीय अधिकृत परियारले भने। केन्द्रसँगै स्तनपान कक्ष छ । कक्षसँगै प्राथमिक स्वास्थ्य सेवा कक्ष छ । यस कक्षबाट सरकारले उपलब्ध गराएका ९८ प्रकारका निःशुल्क औषधि प्राप्त हुन्छ ।

    महानगरका स्वास्थ्य विभागका प्रमुख दिपक के। सीका अनुसार सेवा केन्द्रमा आएका सेवाग्राहीले केही समय पर्खनु पर्ने अवस्था रह्यो भने सुगर, प्रेसर जस्ता जाँच गराउन सक्नेछ । यस कक्षबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह हुनेछ ।’ निःशुल्क वाइफाइ सेवा, मोबाइल चार्जिङ् स्टेशन, प्रतिक्षालय, कफी केन्द्रका सुविधा हुन् ।

    एकल सेवा केन्द्रबाट पाइने सुविधाहरू

    एकल सेवा केन्द्र सञ्चालन कार्यविधि अनुसार सेवाग्राहीलाई माग भएबमोजिमका सेवाका विषयमा जानकारी प्रदान गरिनेछ । आवश्यकता अनुसार परामर्श र सेवामा सहजीकरण गरिने महनगरले जनाएको छ ।

    कसरी लिने सेवा ?

    महानगरको सेवा माग गर्ने व्यक्ति वा संस्थाको विद्युतीय अभिलेखबाट दर्ता नम्बर सिर्जना गरिनेछ । लिखित रुपमा सेवा माग गरिएको भए सोको पहिलो पाना स्क्यान गरेर विद्युतीय माध्यमबाट सम्बन्धित विभागमा पठाइनेछ । यसरी विद्युतीय माध्यमबाट पठाइएका सक्कल कागजपत्र विभागमा पठाइनेछ ।

    यसरी पठाइएको विभागका बारेमा सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी दिइनेछ । काम सकिएपछि यसको जानकारी एसएमएसबाट प्राप्त हुनेछ । अति गोप्य र गोप्य भनेर आएका मागका सन्दर्भमा बाहिरी विषयलाई अभिलेख गरेर सम्बन्धित विभागमा पठाइनेछ ।

    सेवाग्राहीले दर्ता नम्बर प्राप्त गरिसकेपछि आफ्नो काम कसरी भइरहेको छ भन्ने कुरा मोवाइल एप्लिकेसन वा वेब पेजबाट हेर्न सक्नेछन् ।

  • पूर्वपरामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढाउन अर्थ मन्त्रालयको पत्राचार

    पूर्वपरामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढाउन अर्थ मन्त्रालयको पत्राचार

    काठमाडौं । अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमतिको प्रकृया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ।


    अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरू र निकायहरूलाई पत्रकार गरेको जानकारी दिए ।


    अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा बहुवर्षिय ठेक्का सहमति माग गर्नु अघि उच्च प्राथमिकताको तत्काल नतिजा देखिने तथा तुलनात्मक रुपमा बढी रकम विनियोजन भएका आयोजनाहरूको सुची तयार पारी प्राथमिकीकरण गर्न आग्रह गरेको छ ।
    यसैगरी गत आर्थिक वर्षमा बहुवर्षिय खरिद प्रकृयामा गइ आगामी वर्षमा भुक्तानी दायित्व सिर्जना हुने आयोजना र दायित्वको रकमको विवरण समेत अद्यावधिक गरी उपलब्ध गराउन आग्रह गरेको छ ।


    पत्राचारमा आगामी आर्थिक वर्षका लागि मध्यमकालीन खर्च संरचना अन्तर्गत कति प्रतिशत रकम बहुवर्षिय दायित्वमा रहने हो त्यसको एकिन गरी निर्णय गर्नुपर्ने उल्लेख छ ।
    अर्थ मन्त्रालयले गत आर्थिक वर्षमा आयोजना सम्पन्न भएको, बजेट विनियोजन भएको रकम फ्रिज भएको वा अर्थ मन्त्रालमा रकमान्तर माग गरेकोमा निर्णय हुन नसकेको, चालु आर्थिक वर्षमा उक्त आयोजना तथा कार्यक्रम समावेश नभएको कारणले भुक्तानी दायित्व बाँकी रहेको विवरण र त्यसको व्यस्थापन गर्न सकिने स्रोतको विवरण तयार पारी उपलब्ध गराउन पनि आग्रह गरेको छ ।


    चालु आर्थिक वर्षको बजेटमा समावेश भएका आयोजना, कार्यक्रम तथा क्रियाकलापमा बजेट नपुग भएकोमा स्रोत सुनिश्चतता वा थप निकासका लागि अनुरोध गर्दा मन्त्रालय मातहतकै विनियोजनबाट रकमान्तर गरी स्रोत व्यवस्थापन गर्ने विकल्पसहित पठाउन समेत आग्रह गरेको छ ।


    त्यसैगरी चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम बजेटमा समावेश भएका आयोजना तथा कार्यक्रम मध्ये पूर्व तयारी पूरा नभएका, तत्काल कार्यान्वयनमा लैजान सम्भव नभएका, लागतको तुलनामा अतिकम बजेट विनियोजन भएका कारण खर्च प्रभावकारी नहुने प्रकृतिका आयोजना तथा कार्यक्रम पहिचान गरी तिनीहरूको कार्यान्वयन तत्कालका लागि स्थगित गरिएको विवरण उपलब्ध गराउन पनि पत्राचार गरेको छ ।
    अर्थ मन्त्रालयले आर्थिक वर्षको बजेट कार्यान्वयन मार्ग दर्शनको बुँदा नं. ५० बमोजिम भुक्तानी भएको रकम र सो अनुरुप भुक्तानी गर्न अपुग हुने रकमको विवरणका साथै त्यसरी गत आर्थिक वर्षको दायित्व भुक्तानी गरेको कारण चालु आर्थिक वर्षमा सोही आयोजनालाई थप आवश्यक पर्ने बजेट र सो व्यवस्थापन गर्न रकमान्तर गर्न सकिने स्रोतको विवरण उपलब्ध गराउन पनि पत्राचार गरेको छ ।

  • नेपाललाई जर्मनीले ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

    नेपाललाई जर्मनीले ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

    काठमाडौं । नेपाल सरकार र जर्मनी सरकारकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ।

    वार्तामा जर्मनी सरकारको तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ।

    सो सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवं नविकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन गर्ने, तहगत सरकारका विभिन्न निकायहरूको संस्थागत सुदृढीकरण गर्ने, आर्थिक सामाजिक विकास लगायतको क्षेत्रमा परिचालन गर्ने सहमति भएको हो।

    वार्ताको क्रममा नेपाली पक्षले सन् २०३० भित्र नेपालको दिगो विकास लक्ष्य हासिल गर्न र अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्ती भए पश्चात नेपालको विकास अभियानलाई निरन्तरता दिन विकास साझेदारको भूमिका महत्वपूर्ण हुने भएकोले जर्मनी सरकारको तर्फबाट प्राप्त हुने सहयोगलाई निरन्तरता दिन र थप सुदृढ बनाउन आग्रह गरेको छ। जर्मन सरकारले आगामी दिनमा नेपालको विकास प्रयासमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

    सो क्रममा जलवायु परिवर्तन, लैङ्गिक समता, वातावरणीय दिगोपना, गरिबी न्यूनीकरण लगायतका विविध विषयमा आगामी दिनमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ ।

    नेपाली प्रतिनिधिमण्डको तर्फबाट वार्ताको नेतृत्व अर्थमन्त्रालयका सहसचिव धनिराम शर्माले गरेका थिए । जर्मनी सरकारको तर्फबाट आर्थिक सहायता तथा विकास सम्बन्धी सङ्घीय मन्त्रालयको संसदीय राज्य सचिव वार्वेल कोफ्लरले गरेका थिए । अवसरमा जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काको उपस्थिति थियो।

  • चाडबाडमा किसानले पाउने भए दुधको भुक्तानी

    चाडबाडमा किसानले पाउने भए दुधको भुक्तानी

    काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डिडिसी) लाई ६० करोड रूपैयाँ ऋण स्वीकृत गरेको छ। मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्न सर्तसहित ६० करोड रूपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सचिवालयका अनुसार आफ्नो पहलमा अर्थ मन्त्रालयले भदौ १७ गते सर्त सहित ऋणका लागि सहमति दिएको थियो जुन बिहीबार बैठकले स्वीकृत गरेको हो।

    डिडिसीले यो रकम किसानको बक्यौता भुक्तानीमा प्रयोग गर्नुपर्नेछ। त्यस्तै पेरिस पारालिम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख रूपैयाँ, प्रशिक्षकलाई टिम व्यवस्थापनका लागि पाँच लाख ८५ हजार रूपैयाँ र पुरस्कार दुई लाख ९२ हजार रूपैयाँ दिने निर्णय पनि बैठकले गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूले बाँकी निर्णय भने शुक्रबार तीन बजे सार्वजनिक गरिने बताए।

  • अमेरिकी न्यूयोर्क राज्यका गभर्नरकी सहयोगी पक्राउ, चिनियाँ एजेण्ट भएको आरोप

    अमेरिकी न्यूयोर्क राज्यका गभर्नरकी सहयोगी पक्राउ, चिनियाँ एजेण्ट भएको आरोप

    काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर क्याथी होकलकी पूर्ववरिष्ठ सहयोगी लिन्डा सनलाई फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले चिनियाँ एजेन्ट भएको आरोपमा मंगलबार पक्राउ गरेको छ। चीनमा जन्मेर अमेरिकाको अंगिकृत नागरिकता लिएकी ४० वर्षीया लिन्डाले १४ वर्षसम्म न्यूयोर्क राज्य सरकारका लागि काम गरेकी थिइन्। गभर्नर होकल र उनी अघिका गभर्नर एन्ड्रयु कोमोसँग नजिक रहेर काम गरेकी लिन्डालाई एजेन्टका रूपमा चिनियाँ स्वार्थका लागि काम गरेको भनेर संघीय अभियोजनकर्ताले दर्ता गरेको अभियोगपत्रमा आरोप लगाइएको छ।

    त्यसको बदलामा लिन्डा र उनका व्यापारी श्रीमान क्रिस्टोफर हुले चीनबाट दसौं लाख डलर पैसा, भ्रमण लाभ, विभिन्न कार्यक्रमका टिकट र पटक पटक विशेष प्रकारले पकाइएको हाँसको मासु लगायत फाइदा लिएको अभियोगपत्रमा दाबी गरिएको छ। भिसा ठगी, सम्पत्ति शुद्धीकरण र अन्य अपराधमा उनीविरूद्ध १० वटा फौजदारी अभियोग लगाइएको छ। उनका श्रीमानलाई सम्पत्ति शुद्धीकरणको मात्रै अभियोग लगाइएको द न्यूयोर्क टाइम्समा उल्लेख छ।

    चिनियाँ सरकारी अधिकारीहरूलाई अमेरिका भ्रमण गर्न र न्यूयोर्कमा राज्यका अधिकारीहरूसँग भेट सजिलो बनाउन गभर्नर कार्यालयबाट लिन्डाले अनधिकृत निमन्त्रणा पत्र उपलब्ध गराएको आरोप छ। गभर्नर लगायत राज्य सरकारका अधिकारीहरूसँग ताइवानका अधिकारीहरूलाई भेट्न नदिएको समेत आरोप लगाइएको उल्लेख छ। ६५ पृष्ठको अभियोगपत्रमा लिन्डाले कुन कुन मितिमा चीनलाई फाइदा पुर्‍याउन के के गरिन् भन्ने मात्रै उल्लेख छैन। अभियोगपत्रमा विशेष तरिकाले पकाइएको हाँसको मासु कहिले(कहिले पाएकी थिइन् भन्ने समेत विस्तृत रूपमा वर्णन गरिएको छ।

    सन् २०१९ मा ताइवानकी तत्कालीन राष्ट्रपति साइ इंग(वेनले न्यूयोर्क राज्यको भ्रमण गरेकी थिइन्। चीनले व्यापक विरोध गरेको सो भ्रमणमा ताइवानले आयोजना गरेको भोजमा तत्कालीन गभर्नर कोमोलाई पठाइएको निम्ता लिन्डाले कोमोसम्म पुग्नै नदिएको आरोप लगाइएको छ। मैले रोकिसकेँ भनेर त्यसबारे उनले एक चिनियाँ अधिकारीलाई लेखेको समेत अभियोगपत्रमा भनिएको छ। त्यस्तै, २०२१ मा सार्वजनिक सम्बोधन गर्दा गभर्नर होकलले बोल्ने विषय प्रभावित गरेर उनलाई चीनको सिनजियाङ प्रान्तका वीगरले भोगेको उत्पीडनबारे बोल्न रोकेको दाबी गरिएको छ।

    १४ वर्षे सेवा अवधिमा तरक्की गर्दै लिन्डा सन् २०२१ मा वर्तमान गभर्नर होकलको डेपुटी चिफ अफ स्टाफ भएकी थिइन्। सन् २०२३ मार्चमा खराब आचरणका कारण उनलाई पदमुक्त गरिएको थियो। तर पनि उनी राज्य सरकारकी अधिकारी रहिरहेको भन्दै केही महिनासम्म सार्वजनिक कार्यक्रममा सामेल भइरहेकी थिइन्। पछि अगस्टमा सरकारले त्यस्तो कार्य बन्द गर्नू भनेर पत्र लेखेपछि मात्रै उनले त्यस्ता गतिविधि बन्द गरेको आरोप उनीमाथि छ।

    लिन्डाले भने सबै आरोपहरू गलत भएको दाबी गरेकी छन्। चिनियाँ दूतावासका प्रवक्ता लिउ पेन्ग्युले यस मुद्दाबारे विस्तृतमा जानकारी नभएको बताएका छन्। तर पछिल्ला वर्षहरूमा अमेरिकी सरकार र मिडियाले बारम्बार तथाकथित चिनियाँ एजेन्ट का कुरा उछालेको र तीमध्ये धेरै आरोप पछि गलत साबित भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

  • पलेशा गोवर्धनले ६५ लाख पुरस्कार पाउने

    पलेशा गोवर्धनले ६५ लाख पुरस्कार पाउने

    काठमाडौं । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनले नियम अनुसार ६५ लाख राशिको पुरस्कार पाउने छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यो पुरस्कारमा कर छूट दिने घोषणा गरेका छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

    प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताए । “नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ । पलेशाको जित नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ ।’’,

    प्रधानमन्त्री ओलीले भने, “यो कीर्तिमान इतिहासमा लेखिनेछ । हामीले पुुराना कीतिमानहरु तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुुझाएर बस्नुु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ ।’’ सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए ।

  • कस्तो छ आजको विनिमय दर ?

    कस्तो छ आजको विनिमय दर ?


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा कायम छ । साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ९६ पैसा बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा छ ।

    स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

    क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ८४ पैसा कायम भएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा कायम छ ।

    राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

    थाई भाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।

    मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा छ ।

    हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६४ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६४ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २४ पैसा कायम भएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनियय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित गर्ने रणनीतिमा छौं : अर्थमन्त्री

    प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित गर्ने रणनीतिमा छौं : अर्थमन्त्री

    काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनामा लगानी विस्तार गर्ने रणनीति रहेको बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले स्रोतको प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको समेत बताए ।

    सतर्कतापूर्वक सरकारले ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्ने उनको भनाइ थियो । उनले नेपालका लागि बिस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–इसीएफ) को चौथो अवधिको समीक्षासम्म भएका नीतिगत सुधारमा प्रतिवद्ध रहँदै सरकारले त्यसको कार्यान्वयन गर्ने र आगामी नोभेम्बरमा हुने पाँचौ समीक्षाका लागि आईएमएफसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

    आवासीय प्रतिनिधि सान्चेजले नेपालमा जलविद्युत् र पर्यटनको क्षेत्रमा धेरै राम्रो सम्भावना भएको र प्रतिफल दिने ठाउँमा पूँजीगत खर्च गर्दा आर्थिक वृद्धि र अर्थतन्त्रको आकार बढाउन सकिने सुझाव दिए । चालु आर्थिक वर्षको बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ ।

  • पर्यटन व्यवसायीको चुनावमा माओवादी विजयी, कांग्रेस–एमालेका साझा उम्मेदार पराजित

    पर्यटन व्यवसायीको चुनावमा माओवादी विजयी, कांग्रेस–एमालेका साझा उम्मेदार पराजित

    काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई भारी मतान्तरले पराजित गर्दै सापकोटा विजयी भए । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गरे । पाण्डे माओवादी केन्द्र निकट मानिन्छन् ।

    सापकोटा एमाले निकट मानिन्छन् । उनी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार थिए । तर, कांग्रेसको असन्तुष्ट समूहले भने पाण्डेलाई साथ दिएको छ । त्यसको फाइदा पाण्डेलाई भयो । निर्वाचित कार्यसमितिलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बधाई भनेका छन् ।

    महसचिवममा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा (५५०) विजयी भएका छन् । उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरे । वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा ५५८ मतका साथ विजयी भए । प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल (५३५)र द्वितीय उपाध्यक्षमा सनम शेर्पा (५४४) विजयी भएका छन् ।

    सचिव पदमा रिञ्जी जाङबु शेर्पा (५९१), कोषाध्यक्षमा गौतम राज वाग्ले (५८३) र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए । सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् ।

  • अर्थ मन्त्रालयद्वारा शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति

    अर्थ मन्त्रालयद्वारा शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति


    काठमाडौं । अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ ।

    दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ ।
    चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो ।

    यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ । दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै किसानहरूले भुक्तानीका लागि माग गर्दै आएका छन् । किसानलाई दुधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, दुग्ध विकास संस्थानका अधिकारीबीच पटक पटक छलफल भएको थियो ।

  • तारा एअरले भोलि देखि पोखरा-जोमसोम उडान शुरु गर्दै

    तारा एअरले भोलि देखि पोखरा-जोमसोम उडान शुरु गर्दै

    १७ भदौ, काठमाडौं । प्रतिकुल मौसमसंगै बन्द भएको पोखरा-जोमसोम को नियमित उडान तारा एअरले भोलि  १८ गते मंगलबारबाट नियमित गर्ने भएको छ । पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय शुरु भएकोले उडान नियमित हुन लागेको हो ।

    जोमसोम को नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालकालागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाईएको छ । तारा एअरको उडान पोखराको पुरानो एअरपोर्ट बाटै संचालन हुनेछ । 

    मुस्ताङ जिल्लामा अवस्थित जोमसोम बिमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ । 

    यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप – लुक्ला- रामेछापका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्बजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकहरुका लागि विभिन्न वायुसेवा कम्पनिहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन  । 

    यो सिजनका लागि तारा एअरको २ वटा ट्वीनअटर विमानले  रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाईट गर्ने तालिका राखेको छ । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्री बिसान गरि डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी तारा एअरले दिएको छ ।

    ताराले रामेछाप देखी लुक्लाको साथै काठमाडौं देखी लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिंदै आएको छ ।

  • एकै दिन १२७ अंकले बढ्यो सेयर बजार

    एकै दिन १२७ अंकले बढ्यो सेयर बजार


    काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । यस दिन १२७ अंकले बजार बढेको छ । वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ । कारोबार सुरु भएको २३ मिनेटमा नेप्से २६७९ अंकसम्म झरेको थियो, जुन आजका लागि न्यूनतम अंक रह्यो ।


    सबै क्षेत्रका सूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक बढ्यो । बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, उत्पादन ३.३३, माइक्रोफाइनान्स ३.३३, निर्जीवन बीमा ४.८१, अन्य ४.१४ तथा व्यापार समूह २.८५ प्रतिशत बढे ।

    २३९ कम्पनीको मूल्य बढ्दा ५ को घट्यो । करिब एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिन्चोक दर्शन तथा मोदी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

    बुटवल पावरको ९.८, जोशी हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो । माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा गुडविल फाइनान्स, अपी पावर, हिमालयन रिइन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर र नेपाल फाइनान्स अगाडी रहे ।

  • विभिन्न निकायबाट सरकारले ५ अर्ब हाराहारी अनुदान लिने

    विभिन्न निकायबाट सरकारले ५ अर्ब हाराहारी अनुदान लिने

    काठमाडौं । युरोपेली युनियन (ईयू), जर्मनी र युनिसेफबाट नेपालले ५ अर्ब रुपैयाँ बराबर अनुदान लिने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ईयूबाट २ करोड ३० लाख युरो र युनिसेफबाट प्राविधिक सहायताका रूपमा २० लाख युरो गरी कुल २ करोड ५० लाख युरो (झन्डै ३ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ) बराबर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

    ईयूबाट लिइने अनुदान बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रमको तेस्रो चरणका कार्यक्रम कार्यान्वयनमा खर्च गरिने भएको छ । उता, जर्मनी सरकारबाट १ करोड युरो (करिब १ अर्ब ४६ करोड रुपैयाँ) अनुदान समेत स्वीकार गर्ने निर्णय सोही मन्त्रिपरिषद् बैठकले गरेको छ । यो ऊर्जा वितरणको सुदृढीकरणमा खर्च गर्ने योजना छ ।

  • राजस्व नियन्त्रण गर्न द्रुत गस्ती टोली गठन

    राजस्व नियन्त्रण गर्न द्रुत गस्ती टोली गठन

    काठमाडौं । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण सम्बन्धी दुई द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्म क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उपमहानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उपमहानिर्देशकले गर्ने भएका छन् । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुन अनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्ने छ ।

    यसैगरी आवश्यकता अनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेछ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको १ सय दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रण सम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख छ । साथै, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण सम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने निर्णय गरेको थियो ।

  • वर्षमा तीन जना अर्थमन्त्री फेरिने परिपाटी बन्द हुन्छ : अर्थमन्त्री

    वर्षमा तीन जना अर्थमन्त्री फेरिने परिपाटी बन्द हुन्छ : अर्थमन्त्री


    काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले मन्त्री फेरिने परिपाटी अब रोकिने बताएका हुन् ।

    अस्थिरताको मार अर्थतन्त्रमा पनि परेको भन्दै उनले अहिले बजारमा त्यसकै असर कायम रहेको बताए । ‘वाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसकेको गुनासो छ,’ उनले भने, ‘यो अस्थिरताकै असर हो । उनले निजी क्षेत्रलाई अब गुनासो छोडेर योगदानमा लाग्न समेत सुझाव दिए । सरकारले निजी क्षेत्रको सबै कुरा सुनिरहेको र सुन्ने भन्दै उनले अब गुनासो छाड्न आग्रह गरे । पहिलोपटक मौद्रिक नीतिलाई सबैले स्वागत गरेको भन्दै उनले सकारात्मक पहल यसबाटै शुरु भएको बताए ।