Category: अर्थतन्त्र

  • लक्ष्मीपूजाको दिन विद्युत्‌को उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात

    लक्ष्मीपूजाको दिन विद्युत्‌को उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात

    काठमाडौं । यस वर्षको तिहारमा लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १३०५ मेगावाट पुगेको छ। गत वर्ष लक्ष्मीपूजाको दिन विद्युत्‌को पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको छ।

    नेपाल विद्युत् प्राधिकरणले यसवर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो। प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युत्‌गृहरुबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरुबाट ७६७.५ मेगावाट विद्युत उत्पादन गरी आपूर्ति गरिएको छ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो। बिनाअवरोध देशभरी विद्युत आपूर्ति गर्न प्राधिकरण सफल भएको छ।

    विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको छ। प्राधिकरणले यसवर्ष लक्ष्मीपूजाको पिक डिमाण्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत केन्द्र समेत सञ्चालन गरेन। कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ।

    यसवर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत् भारत निर्यात गरिएको र २०० मेगावाट विद्युत खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री गरिरहेको छ।

    ‘विगतमा लोडसेडिङ हुँदा लक्ष्मीपूजाको दिनको विद्युत् खपतलाई पिक डिमाण्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरु बेला नै पिक डिमाण्ड आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘तिहारमा उद्योग कलकारखानाहरु र कार्यालयहरु सबै बन्द छन् फेरी तराईमा गर्मी छैन र काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भइनसकेकोले अहिले विद्युत् माग नआउने समय हो।’

    प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमाण्ड सबैभन्दा बढी १७४७.५३ मेगावाट रेकर्ड गरेको थियो। देशभित्रको विद्युत् खपत र भारततर्फको निर्यासहित लक्ष्मीपूजाको दिन प्रणालीको पिक डिमाण्ड १६८५ मेगावाट रेकर्ड गरिएको छ। यसवर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३४२ मेगावाट छ। गत वर्ष ३२०.६४ मेगावाट थियो।

    प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो। प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो।

  • रसुवागढी नाकाबाट भित्रियो साढे ५ अर्बको सामान, १५० विद्युतीय गाडी जाँसपास हुन बाँकी

    रसुवागढी नाकाबाट भित्रियो साढे ५ अर्बको सामान, १५० विद्युतीय गाडी जाँसपास हुन बाँकी

    रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कन छिटोछरितो भइरहेको छ । तिहार लागि आयात भएका स्याउ, ओखर, किवी स्याउपातीजस्ता फलफूल छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने उद्देश्यले त्यस्ता सामग्री सकभर आयात आएकै दिन जाँचपास गराउन भन्सार प्रशासन अग्रसर भएको हो ।

    प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार चीनबाट आयात भएका सामग्री परीक्षण एवं नियमानुसार भन्सार शुल्क कायम गराउन पर्याप्त जाँचकी परिचालन गरिएको र फलफूललगायत कुहिने चीज राजमार्गमै र अन्य सामग्री खोला बगरमा रहेको आफ्नै कम्पाउण्डबाट छिटोछरितो परीक्षण भइरहेको छ ।

    तिहारलाई केन्द्रित गरी गत असोज २५ देखि कात्तिक ५ गतेसम्म रसुवागढी नाकाबाट चिनियाँ ठूला टिपरमार्फत दाँतेओखर १९ टिप, स्याउ ३० तीस टिप, स्याउपाती एवं किवीचार/ चार टिप आयात भएको सीमा क्षेत्रका सुरक्षाकर्मीले जनाएका छन् ।

    प्रसादको रूपमा चढाइने र मानिस बिरामीलाई उपभोग गराउन महत्वपूण मानिनेस्याउको माग आपूर्ति सहज बनाउन नेपाली व्यवसायीले गरेको लगानी आम उपभोक्ता सामु हितकारी बन्दै गएको स्थानीय बासिन्दाले बताएका छन्।

    रसुवागढी आइपुग्दा फुजी स्याउको मूल्य प्रतिकेजीरू ७५/र अन्य जातका स्याउ प्रतिकेजी रू ५५ पर्ने भन्सार कर्मचारी बताउँछन् । स्याउजस्ता फलफूलको भन्सार दस्तुर प्रतिट्रकको हिसाबले मात्र शुल्क लिने गरिएको बताइएको छ । वर्षायाममा सडक मार्ग अवरूद्व हुने र हावा नपस्ने कन्टेनर डिब्बामा राखिएको स्याउ पाँच/ सात दिन सडकमै रोकिनुपर्ने अवस्था आए कुहिएर नोक्सान हुने विगतको समस्यालाई मनन गरी वर्षा रोकिए लगत्तै फलफूल आयात गर्न थालिएको हो ।

    नेपाली बजारको मागका आधारमा व्यापारीले फलफूलका साथै महिला तथा पुरुष एवं बालबालिकाका लागि विविध तयारी पोसाक रसुवागढी नाकाबाटै आयात हुने गरेको भन्सार अधिकृत रेशम खड्का बताउँछन् ।

    टिमुरेस्थित रसुवा भन्सार कार्यालयले दिएको विवरणअनुसार पुरूषका लागि ज्याकेट ,पञ्जा, टोपी, टाउजर, पाइन्ट सुरूवाल तथा महिलाका लागि ब्रा, पेन्टी, टिसर्ट ,सुइटर, बच्चाका लागि बेविसेटजस्ता दर्जनौँ विविध तयारी पोसाकसमेत आयात गर्ने गरिएकोे व्यवसायी धर्म पौडेल जानकारी दिए ।

    उनका अनुसार उपभोक्ताको चाहना, खपतको आँकलन, मूल्यको अवस्थासमेतलाई मध्यनजर गर्दै आयात गर्नका लागि अनुमति प्राप्त नेपाली व्यवसायी फर्मले चिनियाँ उत्पादक कम्पनीसँग सामग्री माग गर्ने गरेका छन् । यस्तै चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म रसुवागढी नाकामा हालसम्मको मूल्याङ्कनअनुसार कुल रु ५ अर्ब ६६ करोड ३० लाख ८३ हजार बराबरको आयात भएको देखाएको छ ।

    व्यापार व्यावसायीले मगाएको १५० भन्दाबढी विद्युतीय सवारीसाधन जाँसपास हुन बाँकी रहेको र ती सवारी साधनबाट प्राप्त हुने राजस्व भने जाँचपासपछि मात्र दाखिला हुने भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारी जानकारी दिए । राजस्व बुझाउन आयातकर्ता अनुपस्थित रहेका कारण डोजर, कार, स्कुलबसलगायत सवारीसाधन भन्सार हातामा थन्किएको छ ।

    गत साउनदेखि असोज मसान्तसम्म कूल रु एक अर्ब ४८ करोड ९९ लाख ८७ हजार राजस्व दाखिला भएको प्रमुख भन्सार अधिकृत भण्डारी उल्लेख गरे । जाँचपास हुन नसकी टिमुरेदेखि रसुवागढीसम्म ठाउँ–ठाउँमा रोकिएका सबै सामग्री सिमा प्रहरी टिमुरेलगायत सुरक्षा अङ्गले रेखदेख सुरक्षा गरिरहेको सिमा प्रहरी प्रमुख गम्भीरजङ्ग थापा बताउँछन् ।

    साउनदेखि हालसम्म ८४८ कन्टेनरबाट विविध सामग्री नेपाल भित्रिएको छ । विगतमा कोरोना सङ्क्रमणका कारण आर्थिक मन्दिमा परेका सबै ट्रक तथा कन्टेनर व्यवसायी अहिले चलायमान भइसकेका छन् ।

    आयात भएका सामग्रीमा स्याउ, ओखर रेडिमेट कपडाका साथै हाइड्रो पावरका उपकरण र सवारी साधनको पार्टपूर्जा , मेडिकल सामग्रीका साथै चिनियाँ ठूला दुई कन्टेनरमार्फत ताससमेत आयात भएको जनाइएको छ ।

  • तिहार र छठमा निःशुल्क मोबाइल बैंकिङ फण्ड ट्रान्सफर, दैनिक दुई लाखसम्म नि:शुल्क

    तिहार र छठमा निःशुल्क मोबाइल बैंकिङ फण्ड ट्रान्सफर, दैनिक दुई लाखसम्म नि:शुल्क

    काठमाडौं । कनेक्ट आइपीएस मार्फत दैनिक २ लाख रुपैयाँसम्म फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ ।

    नेपाल क्यिलरिङ हाउस (एनसीएचएल)ले तिहार तथा छठको अवसरमा मोबाइल बैंकिङबाट कनेक्ट आइपीएसमार्फत दैनिक २ लाख रुपैयाँसम्म फण्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो ।

    एनसीएचएलले तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रबद्र्धन गर्नका निम्ति यस्तो अफर ल्याएको हो । यो अफर कात्तिक ७ गते देखि १३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

    चाडपर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्सफर गर्न थप प्रोत्साहन गर्नका निम्ति बैंक वित्तीय संस्थासँगको समन्वयमा यो अफर लागू गरिएको एनसीएचएलले जनाएको छ ।

    फण्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी, फण्ड ट्रान्सफर वा सेन्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसलाई छनोट गर्नुपर्नेछ ।

    हाल मोबाइल बैकिङमा रहेको कनेक्ट आइपीएसमार्फत प्रतिदिन प्रतिकारोबार २ लाखसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

  • प्राधिकरणका आधादर्जन चार्जिङ स्टेशन निर्माण पूरा, गाडी चार्ज गर्न जाँदा यी काम गर्नुपर्ने

    प्राधिकरणका आधादर्जन चार्जिङ स्टेशन निर्माण पूरा, गाडी चार्ज गर्न जाँदा यी काम गर्नुपर्ने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण निर्माण थालेको ५० वटा चार्जिङ नेटवर्क क्रमिक रूपमा निर्माण सम्पन्न हुँदै गएका छन् । हालसम्म आधादर्जन चार्जिङ स्टेशन निर्माण सम्पन्न भएका छन् भने अन्य निर्माणाधीन अवस्थामा छन् ।

    प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेशन संचालनमा ल्याइसकेको छ । त्यस्तै, काठमाडौंको बल्खु र उपत्यकाबाहिर
    चितवन बसपार्क, बर्दिवास, बनेपा, खुर्कोट जस्ता स्थानमा पनि निर्माणको काम सकिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले चिनियाँ कम्पनी वाङबाङ डिजिटल इनर्जीलाई निर्माणको जिम्मा दिएको थियो । अहिले धमाधम नेटवर्क निर्माणको काम भइरहेको छ ।

    प्राधिकरणले निर्माण सुरू गरेको चार्जिङ स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस २.० गन भएको डीसी फास्ट र जीबी/टी गन भएको ६० किलोवाट क्षमताको डीसी फास्ट चार्जर नै राखिएको छ । साथै, २२ किलोवाट क्षमताको एसी चार्जर पनि उपलब्ध छ ।

    जीबी/टी गन सुरूमा नै जडान भएको भए पनि सीसीएस २ गन भने केही दिनअघि मात्रै जडान भएको हो । रत्नपार्कमा रहेको चार्जिङ सेन्टरमा सीसीएस २ चार्जर जडान भएपछि प्राधिकरण चार्जिङ इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट प्रोजेक्टका प्रमुख सागरमणी ज्ञावालीले सबै किसिमका गाडी चार्ज गर्न सकिने जानकारी दिएका हुन् ।

    ज्ञावालीले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘रत्नपार्कमा सीसीएस २ चार्जरमा डीसी चार्ज गर्न आउन सक्नुहुन्छ । त्यसको लागि केही काम गर्नुपर्छ ।’

    ज्ञावालीका अनुसार गाडी चार्ज गर्न आउने मानिसले सबैभन्दा पहिला एप स्टोरबाट ‘एनइए चार्जर’ नामको एप डाउनलोड गरी आफ्नो एकाउन्ट बनाउनु पर्छ ।

    एकाउन्ट बनाएपछि तपाईंले खल्ती एप चलाउन भएको छैन भने त्यसको पनि एप डाउन लोड गरी आफ्नो एकाउन्ट बनाउनु पर्छ । त्यही खल्ती एप मार्फत अहिलेलाई क्यूआर कोड स्क्यान गरेर चार्ज गरेको रकम भुक्तानी गर्नुपर्ने हुन्छ । अहिले खल्ती मात्रै जोडिएको भए पनि निकट भविष्यमा नै अन्य पेमेन्ट गेटवेहरू जोडिने छन् ।

    साथै, ज्ञवालीले यो प्रक्रिया पूरा गरेपछि ४ जनाको नाम र मोबाइल नम्बर दिएका छन् । जसमा शिव अधिकारी ९८५११४२४४६, सजित पौडेल ९८४१२०१८२६, आशा खनाल ९८६५३६६७७० र दीपक लामिछाने ९८५१००१६९२ मा कल गरेर जान सकिने उल्लेख गरेका छन् ।

  • तिहारको अन्तिम कारोबार:दोहोरो अंकले बढ्यो बजार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    तिहारको अन्तिम कारोबार:दोहोरो अंकले बढ्यो बजार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजारको ओरालो यात्रा रोकिएको छ । आइतवार शेयर बजार मापक सूचक (नेप्से) १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२१ कम्पनीको ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँ बराबरको १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । विहीवार ५० करोड ७६ लाख ८९ हजार ५६० रुपैयाँ बराबरको कारोबार भएको थियो । दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १.२२ प्रतिशतले बढेको छ ।

    सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५९.१० रुपैयाँ पुगेको छ । भने रु रु जलविद्युत्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ ।

    त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड १’ को ७.८०, जनउत्थान लघुवित्त ४.१४, किसान लघुवित्त ४.०४, मिथिला लघुवित्त, सानिमा बैंक, अपर हेवाखोला र नेशनल हाइड्रोपावरको शेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार आज सिटिजन म्युचुलअल फण्ड २ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यसको आज पाँच करोड १६ लाख भन्दा बढीको कारोबार भएको छ । नविल बैंकको ३ करोड ३८ लाख र नेपाल बैंकको ३ करोड २० लाखको कारोबार भएको छ ।

    तिहारअघि शेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो ।

    भोलि सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ। तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ।

    अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ।

  • ३५ प्रतिशत घट्यो निर्यात, गलैँचा,अलैंची, मञ्जन लगायतको मागमा कमि

    ३५ प्रतिशत घट्यो निर्यात, गलैँचा,अलैंची, मञ्जन लगायतको मागमा कमि

    काठमाडौं । दुई महिनामा कूल वस्तु निर्यात ३४.९ प्रतिशतले घटेको छ।

    नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

    दुई महिनाको अवधिमा वस्तु निर्यात २८ अर्ब ६८ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.४ प्रतिशतले वृद्धि भएको थियो।

    गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.२ प्रतिशत र २१.६ प्रतिशतले कमि आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३.२ प्रतिशतले वद्धि भएको छ। वस्तुगत आधारमा जिंक शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधि (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, अलैंची, दन्त मञ्जन लगायतका वस्तुको निर्यात घटेको छ।

    यता, आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कूल वस्तु आयात १३.० प्रतिशतले कमि २७३ अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.९ प्रतिशतले बढेको थियो।

    वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत, १३.३ प्रतिशत र २०.७ प्रतिशतले कमि आएको छ।

    वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधि, हवाईजहाज तथा स्पेयर पार्टपूर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपूर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एमएस विलेट लगायतका वस्तुको आयात घटेको छ।

  • रेमिट्यान्स आयातमा वृद्धि, दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो

    रेमिट्यान्स आयातमा वृद्धि, दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो

    काठमाडौं । नेपालमा पछिल्लो दुई महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

    तथ्याङ्कअनुसार रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएको हो । उक्त तथ्याङ्कअनुसार रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएर १ खर्ब ८७ अर्ब ४ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ५.८ प्रतिशतले घटेको थियो ।

    अमेरिकी डलरमा रेमिट्यान्स ११.३ प्रतिशतले वृद्धि भएर १ अर्ब ४७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगारमा जानको संख्या बढेको कारण रेमिट्यान्स बढेको हो ।

    राष्ट्र बैंकका अनुसार पछिल्लो दुई महिनामा वैदेशिक रोजगारमा जनेको संख्या १६९.९ प्रतिशतले बढेको छ । दुई महिनामा १ लाख ३ हजार ८९८ जनाले स्वीकृति लिएका छन् ।

  • शोधनान्तर स्थिति २३ अर्बले घाटामा

    शोधनान्तर स्थिति २३ अर्बले घाटामा

    काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिनामा शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) २३ अर्ब ६८ करोडले घाटामा रहेको छ ।

    नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १०६ अर्ब ८ करोड रुपैयाँले घाटामा रहेको थियो।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड १७ लाख रुपैयाँले घाटामा रहेको छ।

    समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १६.९ प्रतिशतले वृद्धि भई १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० ९७ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

    अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १ अर्ब २५ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।

    समीक्षा अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोड रुपैयाँले घाटामा रहेको थियो।

  • विदेशी मुद्रा सञ्चिति निराशाजनक, ९ महिनाको आयात मात्र धान्ने

    विदेशी मुद्रा सञ्चिति निराशाजनक, ९ महिनाको आयात मात्र धान्ने

    काठमाडौं । विदेशी मुद्रा सञ्चिति निराशाजनक देखिएको छ ।

    नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा आउँदा कूल विदेशी विनियम सञ्चिति घटेको छ। २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११८९ अर्ब १६ करोड कायम भएको छ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ भदौ मसान्तमा २.० प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड कायम भएको छ।

    कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ भदौ मसान्तमा ०.५ प्रतिशतले कमी आई १०५१ अर्ब ५३ करोड कायम भएको छ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेकोमा २०७९ भदौ मसान्तमा १३.७ प्रतिशतले कमी आई १३७ अर्ब ६३ करोड कायम भएको छ।

    भदौ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ।

  • पर्यटनमन्त्री श्रेष्ठले मदिरा आयात खुलाउन लगे मन्त्रिपरिषद्मा प्रस्ताव

    पर्यटनमन्त्री श्रेष्ठले मदिरा आयात खुलाउन लगे मन्त्रिपरिषद्मा प्रस्ताव

    काठमाडौं । प्रतिबन्धित महंगा मदिराको आयात खुलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेका छन् ।
    बिहीबार बसेको मन्त्रीपरिषद् बैठकमा व्यवसायीको माग र मुख्य पर्यटकीय सिजनमा यसबाट पर्ने असरबारे छलफल भएको मन्त्री श्रेष्ठले बताएका छन् । मदिराको आयात लामो समय लम्ब्याउँदा पर्यटन क्षेत्रमा पर्ने असरबारे छलफल भएको समेत उनले बताए ।

    होटेल व्यवसायीले मदिराको आयात खुलाउने वातावरण बनाउन माग गर्दै आएका छन् । अहिले नेपालमा पर्यटकीय सिजन चलिरहेको छ । गत १३ वैशाखदेखि मदिरा लगायतका चार प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाइएको थियो । सरकारले पटक पटक गरी यो प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याइसकेको छ ।

  • कोरोना बीमाको पौने २ अर्ब दाबी भुक्तानी दिइँदै, पहिला आवेदन दिनेलाई प्राथमिकता

    कोरोना बीमाको पौने २ अर्ब दाबी भुक्तानी दिइँदै, पहिला आवेदन दिनेलाई प्राथमिकता

    काठमाडौं । बीमा समितिले पौने २ अर्ब कोरोना बीमाको दाबी भुक्तानी गर्ने भएको छ । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँमा बीमा समिति, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले ८१ करोड रुपैयाँ थपेर १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गर्न लागिएको हो ।

    सरकारले गत भदौमा १२ अर्ब ३२ करोड रुपैयाँ कोरोना बीमाको दाबी भुक्तानीको दायित्व स्वीकारेको थियो । जसअनुसार पहिलो चरणमा १ अर्ब रुपैयाँ निकासा गरेको छ ।

    समितिले सो रकम बीमा कम्पनीहरु मार्फत पहिले दाबी परेकाहरूको प्राथमिकताका आधारमा भुक्तानी गर्ने जनाएको छ । कोरोना बीमा १७ लाख ५८ हजार ३४३ जनाले गरेकोमा १ लाख ६५ हजार ५९ बीमितको १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दाबी परेको थियो ।

    जसमध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले ३ अर्ब ५० करोड दाबी भुक्तानी गरिसकेका छन् । कोभीडको समयमा बीमा गर्न सरकारले बनाइएको मापदण्ड अनुसार सरकारले तिर्नुपर्ने १२ अर्बभन्दा बढी दायित्व बाँकी छ । जसमध्ये १ अर्ब रकम निकासा गरेपछि ११ अर्ब रुपैयाँ अझै बाँकी रहन्छ ।

    डेढ वर्षदेख कारोना बीमा दाबी भुक्तानी गर्ने बिमीतले हालसम्म रकम पाएका छैनन् । सरकारले भुक्तानी दिने बताएपनि स्रोत सुनिश्चित गरेको थिएन् । २०७७ जेठमा बीमा कम्पनी,समिति र सरकारबीच कोरोना बीमाको दाबी भुक्तानी सबैले बेहोर्ने सहमति भएको थियो ।

    उक्त मापदण्ड अनुसार १ अर्ब रुपैयाँसम्मको दाबी बीमा कम्पनीहरू, १ अर्बदेखि २ अर्ब रुपैयाँसम्मको नेपाल पुनर्बीमा कम्पनी, २ अर्बदेखि साढे २ अर्ब रुपैयाँसम्मको बीमा कम्पनीहरूको महाविपत्ति कोषबाट दाबी भुक्तानी बेर्होनु पर्ने थियो ।

    साढे २ अर्बदेखि साढे ३ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बीमा समिति र साढे ३ अर्ब रुपैयाँ भन्दा माथिको दाबी भुक्तानी सरकारले बेहोर्ने सहमति भएको थियो  ।

    कम्पनीहरुले आफूले बेहोर्नुपर्ने दायित्व भुक्तानी गरिसकेका छन् भने सरकारले रकम नदिएपछि गत चैतदेखि बाँकी रहेको दाबी भुक्तानी दिन समेत बन्द गरेका छन् ।

    बाँकी रहेको रकम भुक्तानीका लागि १ लाख १३ हजार ३९० वटा दाबी परेको छ । कोभीड अवधिमा २० वटा निर्जीवन बीमा कम्पनीले १७ लाख ५८ हजार ३४३ बीमा लेख जारी गरेर १ अर्ब ५ करोड २७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

  • नेप्सेमा सामान्य गिरावट, सयपत्री हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट

    नेप्सेमा सामान्य गिरावट, सयपत्री हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ ।

    साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) १.३८ अंकले घटेर १८४४.१४ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२१ कम्पनीको ५० करोड ७६ लाख ८९ हजार ५६० रुपैयाँ बराबरको १५ लाख ४६ हजार ८७५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । बुधवार ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    विहीवार कारोबारमा आएका १३ वटा उपसमूह मध्ये इनभेष्टमेन्ट,विकास बैंक र ट्रेडिङ बाहेक सबै समूहको परिसूचक घटेको छ ।

    एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २५९.१० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार सेन्चुरी डिबेन्चर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्थाको भएको छ ।

    यसको आज तीन करोड ६९ लाख भन्दा बढीको कारोबार भएको छ । यसैगरी, गरिमा विकास बैंक,एभरेष्ट र नबिल बैंकको २ करोड रुपैयाँ बढकिो शेयर किनबेच भएको छ ।

  • १ अमेरिकी डलरको नेपाली मूल्य १३३.१४ रुपैयाँ, बन्यो कीर्तिमान

    १ अमेरिकी डलरको नेपाली मूल्य १३३.१४ रुपैयाँ, बन्यो कीर्तिमान

    काठमाडौं । अमेरिकी डलरको मूल्यले पुनः कीर्तिमान कायम गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ । खरिददर मूल्य १ सय ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । यसससँगै डलरको मूल्य सबैभन्दा माथिल्लो विन्ुदमा पुगेको हो । डलरको भाउ बुधबार १ सय ३२ रुपैयाँ ८ पैसा थियो ।

    डलर खरिदमा उच्च चाप बढेसँगै अहिले डलरको मूल्य निरन्तर बढिरहेको छ । जसका कारण नेपाली मुद्रा कमजोर बनेको छ । नेपाल आयातमूखी अर्थतन्त्र भएको मुलुक हो । सोहीकारण डलर बढ्दा आयातित सामानको मूल्य बढ्छ । डलरको भाउ उच्च रेमिट्यान्स पठाउनेलाई भने फाइदा हुन्छ । किनकी डलरको तुलनामा नेपालमा मूल्य अधिक प्राप्त हुन्छ ।

  • खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ

    खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित दुई जनालाई पक्राउ गरेको छ ।

    रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई मन्थली नगरपालिका-१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।

    उनीहरूबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ ।

  • काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

    काठमाडौंका रेष्टुरेन्ट र मिठाई पसलमा हुँदैन नियमित सरसफाई

    काठमाडौं । काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसलका भान्छामा सरसफाइको समस्या देखिएको छ। मंगलबार अनुगमनका क्रममा नयाँ बानेश्वर क्षेत्रका मिठाइ पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नम्बर-१० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्छा, वडा नम्बर(३१ मा सञ्चालित कोलकत्ता स्विट्स प्रालि, द बर्गर हाउस (सिएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालय र फलफूल पसलको अनुगमन गरिएको हो।

    स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार अनुगमन गरिएका सबैको भान्छामा सरसफाइ र स्वच्छताका दृष्टिले कमजोर छन्। परिकार बनाउने कच्चा पदार्थ चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकलाई चासो नदिएको उनले बताए। ‘भान्छामा काम गर्नेहरूको व्यक्तिगत सफाइ कमजोर छ,’ उनले भने, ‘एप्रोनको सही प्रयोग गरेका छैनन्। फ्रिजमा राखिने वस्तुको व्यवस्थापन कमजोर छ। खाद्य अनुज्ञा पत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका वस्तुको प्रयोग देखिन्छ।’ यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको छ।

    ‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो,’ निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डाक्टर अवधेश झाले भने, ुव्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर तीन दिनभित्र कार्यालयमा उपस्थित आदेश जारी गरिएको फारम दिइएको छ।’ ‘थकाली भान्छा घरको किचनमा खाना पकाउने ठाउँमै बसेर खाना खाइरहेको भेटियो। यसरी हेर्दा सामान व्यवस्थापन, पकाउने तथा भण्डारण गर्ने पद्धति र खाना तयारीसँग सम्बन्धित व्यक्तिको आचरणमा सुधार गर्नुपर्ने देखिन्छ’, उनले अगाडि भने।

  • ३ महिनामा विकास खर्च जम्मा १९ अर्ब, चालु खर्च भने सवा २ खर्ब

    ३ महिनामा विकास खर्च जम्मा १९ अर्ब, चालु खर्च भने सवा २ खर्ब

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ३ महिनासम्म विकास बजेटको जम्मा ५ प्रतिशत मात्र खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमास (साउन–असोज)सम्म सरकारले १९ अर्ब ६८ करोड पूँजीगत खर्च गरेको हो ।

    चालु आवमा कुल ३ खर्ब ८० अर्ब पूँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले ३ महिनामा कुल बजेटको जम्मा ५.१७ प्रतिशत मात्रै खर्च गर्न सकेको हो ।

    पूँजीगत खर्च गर्न नसकेको सरकारले चालू खर्च भने धेरै गरेको छ । ३ महिनाको अवधिमा सरकारले २ खर्ब २३ अर्ब ७५ करोड चालु खर्च गरेको छ । यो कुल लक्ष्यको १८.९१ प्रतिशत हो ।

    समग्र बजेट खर्च पनि लक्ष्यभन्दा कम रहेको छ । असोजसम्म सरकारले कुल बजेटको १५.९१ प्रतिशत खर्च गरेको छ । चालु आवमा १७ खर्ब ९३ अर्ब बजेट खर्च गर्ने लक्ष्य राखेको सरकारले ३ महिनामा २ खर्ब ७८ अर्ब रुपैयाँ खर्च गरेको हो ।

  • संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा पनि दर्ता गर्नु पर्ने

    संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा पनि दर्ता गर्नु पर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले संघ र प्रदेशमा दर्ता भएका व्यवसाय महानगरपालिकामा दर्ता गर्न ३० दिनको अल्टिमेटम दिएको छ ।

    महानगरपालिकाले मंगलवार सूचना जारी गर्दै महानगर क्षेत्रभित्र संचालन भएका व्यापार व्यवसाय महानगरपालिकामा पनि दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।

    अनुगमनको क्रममा दर्ता नगरी व्यवसाय गरेको पाइएमा व्यवसाय बन्द गरी जरिवाना गरिने चेतावनी समेत दिएको छ ।

    काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरू (सङ्घीय सरकार र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरू समेत) ले महानगरपालिकामा व्यवसाय दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएको हुँदा यस सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्नुहुन अनुरोध छ ।’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

  • नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख, एक वर्षका कति थपिए ?

    नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख, एक वर्षका कति थपिए ?

    काठमाडौं । नेपालमा फोरजी प्रयोगकर्ताको संख्या ६८ प्रतिशतले बढेका छन्।

    नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार २०७८ सालको साउनमा नेपालमा १ करोड १० लाख ३४ हजार फोरजी प्रयोगकर्ता थिए। जुन २०७९ को असारसम्म १ करोड ८५ लाख ५९ हजार पुगेको छ। एक वर्षमा ७५ लाख २५ हजार फोरजी प्रयोगकर्ता थपिएका छन्।

    २०७९ को असारसम्म नेपाल टेलिकमका फोरजी प्रयोगकर्ताको संख्या १ करोड १२ लाख पुगेका छन्। गएको साउनमा यस्तो संख्या ५३ लाख मात्र थियो। सतप्रतिशतले बढेका छन्। टेलिकमले गएको वर्ष देशव्यापी फोरजी कभरेज विस्तार गरेपछि प्रयोगकर्ता बढेका हुन्।

    एक वर्षमा एनसेलका १६ लाख ४ हजार २ सय ९२ फोरजी प्रयोगकर्ता थपिएका छन्। फोरजीसहित मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोड नाघेको छ।

  • बुधबार दिउँसो ४ घण्टा ग्लोबल आइएमई बैंकको एटीएम कार्ड नचल्ने

    बुधबार दिउँसो ४ घण्टा ग्लोबल आइएमई बैंकको एटीएम कार्ड नचल्ने

    काठमाडौं । कात्तिक २ गते (बुधबार) ४ घण्टा ग्लोबल आइएमई बैंकका कुनै पनि कार्ड तथा एटीएम सेवा नचल्ने भएको छ । बैंकका कार्ड र एटीएम दिउँसो १:३० बजेदेखि ५:३० बजेसम्म नचल्ने भएका हुन् ।

    बैंकको कार्ड स्वीचिङ सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको नेटवर्क स्वीचमा कार्ड नेटवर्कको म्यानडेट इन्स्टल गर्नुपर्ने भएकाले कार्ड र एटीम सेवा बन्द हुने भएको हो ।

    सो अवधिमा विद्युतीय कारोबारका अन्य माध्यम प्रयोग गर्न बैंकले ग्राहकमा अनुरोध गरेको छ ।

  • शेयर बजारको ओरालो यात्रा कायमै, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    शेयर बजारको ओरालो यात्रा कायमै, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ ।

    साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२१ कम्पनीको ५१ करोड ५८ लाख १८ हजार ९८९ रुपैयाँ बराबरको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    कारोबारमा आएका १३ उपसमूहमध्ये ६ समूहको मूल्य बढेको छ भने ७ उपसमूहको शेयर मूल्य घटेको छ ।

    यसदिन सबैभन्दा धेरै फाइनान्स समूहको सेयर मूल्य १.१ प्रतिशतले घटेको छ भने होटल र पर्यटन समूहका लगानीकर्ताले ०.४१ प्रतिशतले कमाएका छन् ।

    आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८०८ रुपैयाँ पुगेको छ भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४.२० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार पिपुल्स पावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज २ करोड ७९ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • भोकमरीविरुद्ध नेपालको उल्लेखनीय सुधार

    भोकमरीविरुद्ध नेपालको उल्लेखनीय सुधार

    काठमाडौं । विश्वव्यापी भोकमरी सूचीमा नेपालले आफुलाई उल्लेख्य सुधार गरेको पाइएको छ । ‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई)को आंकडा अनुसार विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल कुल १९.१ अंकसहित ८१ औं स्थानमा छ । सन् २०१४ मा नेपालको अंक २१.२ थियो । २०२२ को सूचीमा दक्षिण एसियाली देशमध्ये श्रीलंका मात्रै नेपालभन्दा अगाडि छ । नेपालका छिमेकी मुलुकहरुमा भोकमरी भयावह देखिएको छ । भारतमा यो अवस्था अझ डरलाग्दो पाइएको छ । १२२ देश समावेश सूचीमा भारत १०७ औं स्थानमा छ ।

    भारतको अवस्था छिमेकी श्रीलंका, बंगलादेश, नेपाल र पाकिस्तानभन्दा खस्किएको छ । सूचीअनुसार दक्षिण एसियामा अफगानिस्तान मात्र भारतभन्दा पछाडि १०९ औं स्थानमा छ । दक्षिण एसियाली देशहरूमा श्रीलंका ६४ औं, बंगलादेश ८४ औं र पाकिस्तान ९९ औं स्थानमा छन् ।


    बुरुन्डी, सोमालिया, दक्षिणी सुडान र सिरिया कुल ४९.९ अंकसहित सूचीको पुछार (१२२ औं स्थान) मा छन् । चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे, चिलीलगायत १७ वटा देशको अंक ५ भन्दा कम छ । सन् २०२१ मा ११६ देशको सूचीमा भारत ९४ औं स्थानमा थियो । उच्च भोकमरी रहेको भारतका बच्चाहरूमा ‘कुपोषणको अवस्था पनि गम्भीर’ रहेको छ । विश्वभर ८२ करोड ८० लाख मानिस कुपोषणको सिकार भएकामा त्यसमध्ये २२ करोड ४० लाख भारतीय रहेको प्रतिवेदनमा उल्लेख छ ।

  • झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा सर्किट

    झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा सर्किट

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ ।

    साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)९.६९ अंकले घटेर १८६०.९४ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२१ कम्पनीको ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । विहीवार ८२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ११ समूह्को परिसूचक घटेको छ भने २ समूहको बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.७८ प्रतिशतले घटेको छ ।

    एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार पिपुल्स पावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ । यसको आज ८ करोड ४७ लाख भन्दा बढीको कारोबार भएको छ ।

    ग्रामीण विकास वैंकको ४ करोड ८८ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ३२ लाखको कारोबार भएको छ ।

  • नेपालले एडीबीबाट साढे २६ अर्ब ऋण लिने

    नेपालले एडीबीबाट साढे २६ अर्ब ऋण लिने

    काठमाडौं । नेपालले एसियाली विकास बैंकबाट २० करोड अमेरिकी डलर (साढे २६ अर्ब रुपैयाँ) ऋण लिने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजना कार्यक्रमका लागि सो रकम बराबरको ऋण लिने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिएको छ ।

    सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुखको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिएको हो ।

  • विलासिताका वस्तुको आयातमा लागेको प्रतिवन्ध मंसिर मसान्तसम्म निरन्तर

    विलासिताका वस्तुको आयातमा लागेको प्रतिवन्ध मंसिर मसान्तसम्म निरन्तर

    काठमाडौं । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई मंसिर मसान्तसम्म निरन्तरता दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार प्रकारका वस्तुको पैठारीमा लगाइएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी गराएका हुन् । यस सम्बन्धी सूचना शुक्रबारको राजपत्रमा प्रकाशित भएको छ ।

    ढुकुटीमा विदेशी मुद्राको सञ्चिति माथिको दबाव कायमै रहेको अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको रायपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिबन्धलाई मंसिर मसान्तसम्म निरन्तरता दिन सिफारिस गरेको थियो । अब विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल तथा जीप, कार र भ्यानको आयातको प्रतिबन्ध २९ मंसिरसम्म कायम रहनेछ ।

    सरकारले ढुकुटीमा विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धलाई थप कडाई गर्दै सरकारले ३१ असारमा प्रतिबन्ध लम्याएको थियो । तर, १४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई यथावत राखेको थियो ।

  • वैदेशिक लगानीको न्यूनतम सीमा २ करोडमा झारियो, गैरआवासीय नेपालीको लगानी बढ्न सक्ने

    वैदेशिक लगानीको न्यूनतम सीमा २ करोडमा झारियो, गैरआवासीय नेपालीको लगानी बढ्न सक्ने

    काठमाडौं । सरकारले नेपालमा प्रत्यक्ष विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । यसअघि ५ करोड रुपैयाँ रहेको सीमा २ करोडमा झार्ने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

    शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारको पछिल्लो निर्णयले साना तथा मझौला उद्योगमा समेत अब विदेशी लगानी भित्राउन सम्भव भएको छ । यसले अब नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई समेत सहज भएको छ । यसअघि ठूलो पूँजी नभएसम्म नेपालमा लगानी भित्राउन सक्ने अवस्था थिएन ।

  • अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

    अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

    काठमाडौं । अर्थमन्त्री शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन् । अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो ।

    उक्त सत्रमा सहभागीले विश्वव्यापीरुपमा सिर्जना भएको समस्याको समाधान गर्न वित्तीय सहायता प्रदान गरेर नेपालजस्ता देशका समस्या सम्बोधन गर्नुपर्ने कुरामा जोड दिएको राससले जनाएको छ । यसैगरी अर्थमन्त्री शर्माले साइडलाइन कार्यकारी संवाद सत्रमा सहभागी भएर जलवायु उत्सर्जनको समस्यासँग जुध्न र सदस्य राष्ट्रहरुले चालेका कदमका बारेमा छलफल गरेका थिए ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीलगायत उच्च अधिकारी सहभागी थिए । विश्व बैंकको प्रक्षेपणअनुसार चालु वर्षमा नेपालको वृद्धि पाँच दशमलव एक प्रतिशतले हुने उल्लेख गरिएको छ । नेपालको पर्यटन र सेवा क्षेत्रको वृद्धि तथा जलविद्युत् क्षेत्रको उत्पादन वृद्धिले कोरोनापश्चातको आर्थिक वृद्धिदर सकारात्मक रहने उसको प्रक्षेपण छ ।

    नेपालको आर्थिक विकासका लागि संरचनागत चुनौती रहेको उल्लेख गर्दै विश्व बैंकले कर प्रणालीको आधुनिकीकरण, वैदेशिक प्रत्यक्ष लगानी र सङ्घीय बजेटको पूर्ण कार्यान्वयनले मात्र दिगो र समावेशी वृद्धिको मार्ग रहेको उसको ठम्याइ रहेको छ ।

  • अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुखबीच वाशिङ्गटन डिसीमा भेट

    अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोगका प्रमुखबीच वाशिङ्गटन डिसीमा भेट

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटवार्ता भएको राससले जनाएको छ ।

    युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगबारे प्रशंसा गरेका थिए ।अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालको आर्थिक विकासका लागि प्रभावकारी सहयोग गर्न अनुरोध गरे ।

    अर्थमन्त्री शर्माले सूचना प्रविधि, जलावयु परिवर्तनको चुनौती सामना गर्न र नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न आग्रह गरेको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्री शर्माले प्रमुख प्रशासक समान्ता पावरलाई उपयुक्त समयमा नेपाल भ्रमणको हार्दिक निमन्त्रणासमेत दिए ।

    पावरले नेपालका अर्थमन्त्रीसँगको भेटघाट फलदायी रहेको, नेपाल अमेरिका साझेदारी र नेपालको प्रजातान्त्रिक अभ्यासको प्रगतिका लागि सहयोग रहने बताइन् । सामाजिक सञ्जालमार्फत पावरले लेखेकी छन्, ‘तत्कालका चुनौतीको सामना गर्न दुवै देश मिलेर काम गर्न तयार भएका छौँ ।’

    यस्ता चुनौती जलवायु परिवर्तन र खाद्य सुरक्षा गरेको युएसएआइडीका प्रमुख प्रशासक समान्ता पावरले उल्लेख गरेकी छन् । उक्त भेटघाट कार्यक्रममा नेपालको तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा भ्रमणदलमा सहभागी अन्यको समेत उपस्थिति थियो ।

    नेपालको आर्थिक सामाजिक विकासमा युएसएआइडीको महत्वपूर्ण सहयोग रहेको छ । गत मे महिनामा मात्र उक्त नियोगले आगामी पाँच वर्षका लागि नेपाललाई ६५ करोड ९० लाख डलरको सहयोगको घोषणा गरेको थियो । उक्त सहयोग नेपालले आफूलाई अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्न उपयोग गर्नेछ ।

  • शेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    शेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ ।

    बुधबार नेप्से परिसूचक ११.३६ अंकले बढेर १८६६.५२ विन्दुमा पुगेको हो ।

    यसदिन २२३ कम्पनीको ६९ करोड १७ लाख रुपैयाँ बढीको २० लाख ८५ हजार २८४ कित्ता सेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष र व्यापार बाहेक अरु सबै समूहको बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.६८ प्रतिशतले बढेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ५५ करोड २८ लाख ९ हजार ९८४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ११ समूह्को परिसूचक बढेको छ भने २ समूहको घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.६८ प्रतिशतले बढेको छ ।

    एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६०७.२० रुपैयाँ पुगेको छ ।

    त्यसैगरी, महुली लघुवित्त ५.५१, प्रोग्रेसिभ फाइनान्स ५.३५, दिव्यश्वरी र जोशी हाइड्रोपावरको शेयर मूल्य साढे ४ प्रतिशत बढेको छ ।

    त्यस्तै, युनिभर्सल पावर, घलेम्दी हाइड्रोपावर र श्री इन्भेष्मेन्टका शेयर धनीले ४ प्रतिशत कमाएका छन् ।

    नेप्सेका अनुसार एभरेष्ट बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ ।

    यसको आज दुई करोड ४० लाख भन्दा बढीको कारोबार भएको छ । रिडी पावरको २ करोड बढीको कारोबार भएको छ ।

  • उपत्यकामा पानीको बोतल १६ र जार ४७ रुपैयाँ मात्र पर्ने गरी तोकियो मूल्य

    उपत्यकामा पानीको बोतल १६ र जार ४७ रुपैयाँ मात्र पर्ने गरी तोकियो मूल्य

    काठमाडौं । काठमाडौं उपत्यकामा बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ तोकिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल तथा जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य तोकेसँगै उपभोक्ताले यो भन्दा महंगो मूल्य तिर्नुपर्ने छैन ।

    उपत्यकाबाहिर एक लिटर बोतलको पानीको अधिकतम खुद्रा २० रूपियाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रूपियाँ निर्धारण गरिएको छ । संघीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसहमतिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य तोकिएको हो ।

    विभागले निर्धारण गरेको मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही गरिने चैतावनी समेत दिएको छ । विभागले तोकेको मूल्यभन्दा बढी रकम तिरेर पानी खरिदसमेत नगर्न र काहीँकतै कसैले जबरजस्ती बढी रकम लिन खोजेमा विभाग वा मातहतका कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन विभागले उपभोक्तालाई आह्वान गरेको छ ।

  • एकै पटक ४३३ उपसचिव र ११२ सहसचिव पदमा आवेदन खुल्यो

    एकै पटक ४३३ उपसचिव र ११२ सहसचिव पदमा आवेदन खुल्यो

    काठमाडौं । एकै पटक ठूलो सं्ख्यामा उपसचिव र सहसचिवको माग भएको छ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको हो । आयोगले सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलाएको छ । दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ । आर्थिक योजना तथा तथ्यांक सेवा, विविध सेवा र संघीय संसद सेवातर्फ सहसचिवमा विज्ञापन खुलेको छैन ।

    तर उपसचिव पदमा भने क्रमशः ३, ६ र ११ पदमा विज्ञापन खुलाइएको छ । इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जना कर्मचारी भर्ना गरिने छ । कृषि सेवातर्फ २ सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिवको लागि भर्ना खुलेको लोक सेवा आयोगले जनाएको छ ।

    लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा पनि ६, शिक्षा सेवातर्फ सहसचिवमा २ र उपसचिवमा २२, स्वास्थ्य सेवातर्फ सहसचिवमा ४३ र उपसचिवमा ५९, राष्ट्रिय मानव अधिकार सेवातर्फ सहसचिवमा ४ र उपसचिवमा ८ जनाका लागि लोक सेवा आयोगले भर्ना खुलाएको छ ।