Category: अर्थतन्त्र

  • थामिएन शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    थामिएन शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्राले निरन्तरता पाएको छ ।

    साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २३.८३ अंकले घटेर १८१५.१३ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२८ कम्पनीको १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ बराबरको ४० लाख १४ हजार ४१९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन् । इन्भेष्टमेन्ट समूह सबैभन्दा धेरै २.८२ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स, हाइड्रोपावर समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३४७.६० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज तेह्रथुम पावर कम्पनी र कुमारी धनवृद्धि योजनाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

    यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यसैगरी, कुमारी धनवृद्धि योजना ७, सामुदायिक लघुवित्त ६.६५, निफ्रा ६.४१, बुद्धभूमि नेपाल, अरुण भ्याली, ग्रीनलाइफ हाइड्रोपावर, मन्दकिनी हाइड्रोपावर, मल्टिपर्पस फाइनान्स र खानीखोला हाइड्रोपावरको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरै घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २६ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ ।

  • कच्चा तेलको मूल्यमा उच्च गिरावट, ९ महिना यताकै सस्तो

    कच्चा तेलको मूल्यमा उच्च गिरावट, ९ महिना यताकै सस्तो

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । कच्चा तेलको मूल्यमा उच्च गिरावट आएसँगै ९ महिना यताकै सस्तो भएको छ ।

    विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८ डलरसम्म आइपुगेको छ । आइतबार अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआइ)क्रुड आयलको भाउ ५.६९ प्रतिशतले घटेर प्रतिब्यारेल ७८.७४४ डलरमा आएको छ । जुन ९ महिना अर्थात् सन् २०२२ जनवरी यताकै सस्तो हो ।

    त्यस्तै, ग्लोबल ब्रेन्ट बेन्चमार्क ४.३१ प्रतिशतले घटेर ८६.१५ डलरमा झरेको छ । अमेरिकी अर्थतन्त्रमा मन्दी आउने हल्ला र डलरको भाउ आकाशिएसँगै कच्चा तेलको भाउमा उच्च गिरावट आएको हो ।

    अन्तर्राष्टिय बजारमा डलरको भाउ बढ्दा माग घट्ने डरले तेलको भाउमा गिरावट आएको विश्लेषकहरु बताउँछन् । बलियो अमेरिकी डलरले विदेशमा तेलको मागलाई कमजोर बनाउने गरेको छ ।

    विश्वव्यापी आर्थिक मन्दी आउने हल्लाका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउमा लगातार गिरावट आइरहेको छ ।

    रुसले युक्रेनमा आक्रमण सुरु गरेसँगै अमेरिका र युरोपेली देशहरुले रसियन तेलमा प्रतिबन्ध लगाएसँगै विश्व बजारमा तेलको भाउ प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो । तर, पछिल्लो समय युद्ध कायमै रहे पनि अन्य उत्पादक देशहरुले उत्पादन बढाउँदा मूल्यमा केही गिरावट आएको थियो ।

    पछिल्लो दुई महिना यता विभिन्न अध्ययनहरुले विश्वभर आर्थिक मन्दी आउने प्रक्षेपण गरेपछि तेलको खपतमा समेत केही गिरावट आएको छ । जसकारण कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको छ ।

    यदि विश्वव्यापी आर्थिक मन्दी आएमा यस वर्षको अन्त्यसम्म कच्चा तेलको भाउ प्रतिब्यारेल ६५ डलरसम्म आउने अमेरिकाको सिटी बैंकले चेतावनी दिएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै नेपाललाई पनि केही राहत मिल्ने देखिन्छ । नेपाल भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । विश्व बजारमा तेलको भाउ घटेपछि भारतमा पनि घट्ने हुँदा नेपालमा पनि केही सस्तोमा आउने छ ।

    यद्यपि, गत महिना लगातार तीनपटकसम्म इन्धनको भाउ घटेर आए पनि नेपाल आयल निगमले भने मूल्य घटाएको थिएन ।

  • वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपाल भ्रमण दशक मनाउने निर्णय

    वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपाल भ्रमण दशक मनाउने निर्णय

    काठमाडौं । नेपालमा वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्यसहित सरकारले नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय भएको हो । यसले कोभिडबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानमा समेत सहयोग गर्नेछ । नेपालले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको सचिव अधिकारीले जानकारी दिए ।

    सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो । तर, कोभिडका कारण यो अभियान रोकिएको थियो । कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकको रुपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने उद्देश्य लिइएको छ । यसले पर्यटनको जीडीपीमा योगदान १५ प्रतिशत पु¥याउन समेत लक्ष्य लिएको छ ।

  • आजदेखि काठमाडौंबाट बाहिरीने सवारी साधनको अनिवार्य यान्त्रिक परिक्षण

    आजदेखि काठमाडौंबाट बाहिरीने सवारी साधनको अनिवार्य यान्त्रिक परिक्षण

    काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो ।

    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार  रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । उनका अनुसार यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ ।

    यो नियम सबै प्रकारका सार्वजनिक सवारी साधन र भाडामा प्रयोग गरिएका निजी गाडीहरुमा आजैदेखि लागू भएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको छ ।
    यात्रुको बिमा गरिएको हुनुपर्ने, लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्था पनि मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

  • दशैंका लागि दार्चुलाका च्याङग्रा काठमाडौं पठाइंदै

    दशैंका लागि दार्चुलाका च्याङग्रा काठमाडौं पठाइंदै

    काठमाडौं । यस वर्षको बडादशैँमा काठमाडौंका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो । कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिनुभयो ।

    कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो रु एक हजार १५० मा खरिद गर्न लागेको जानकारी दिएको छ । कम्पनीको उक्त प्रयासले बजारमूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ । यसैबीच, स्थानीय पालिका जनप्रतिनिनिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्याँस गाउँपालिको छाङरु र तिङ्करका लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ । कम्पनीले चामल, दाल, पीठो, नुन, चिनीलगायत खाद्य सामग्री हेलिकोप्टरबाट दशैँ अघि नै उक्त क्षेत्रमा उपलब्ध गराउने तयारी गरेको छ । ती सामग्री ढुवानीका लागि हेलिकोप्टर भाडामा लिन टेन्डर प्रक्रिया अघि बढिसकेको कम्पनीले जानकारी दिएको छ ।

    रासस

  • दुई परियोजनाका लागि दक्षिण कोरियाले नेपाललाई १ करोड ६० लाख डलर अनुदान दिने

    दुई परियोजनाका लागि दक्षिण कोरियाले नेपाललाई १ करोड ६० लाख डलर अनुदान दिने

    काठमाडौं । दक्षिण कोरियाले आप्रवासी कामदारहरूको पुनःएकीकरणका लागि र साइबर ब्यूरो स्थापना गर्न अनुदान उपलब्ध गराउने भएको छ ।

    दुईवटै आयोजना कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुक पार्कले हस्ताक्षर गरे ।

    दुवै आयोजनाका लागि ८० लाख अमेरिकी डलरका दरले कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर (लगभग दुई अर्ब रुपैयाँ) अनुदान सहायता उपलब्ध गराउनेछ ।

    कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्थाले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायहरूसँगको सहकार्य र समन्वयमा आयोजनाहरू कार्यान्वयन गर्ने जनाइएको छ ।

    कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना गर्न उक्त अनुदान प्रयोग हुने अर्थमन्त्रालयले जनाएको छ ।

    कोरियाबाट फर्कने आप्रवासीलाई सहयोग गर्ने उक्त आयोजनाले नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने र कोरियाबाट फर्केका आप्रवासीहरूको स्थिर पुनःएकीकरण र उनीहरूको उद्यमशीलता क्षमता अभिवृद्धि गरी रोजगारी वृद्धि गर्ने लक्ष्य राखेको छ ।

    आयोजनाले नेपालमा कोरियाबाट फर्केका आप्रवासीहरूको सूचनाको पहुँचमा वृद्धि गर्न र कृषि विकास बैंक लिमिटेड मार्फत आर्थिक सहयोगमा पहुँच बढाउनका लागि एक सकारात्मक चक्र र सहयोग प्रणाली पनि सिर्जना गर्नेछ।

    त्यसैगरी साइबर ब्यूरो परियोजनाको मुख्य उद्देश्य नेपाल प्रहरीको साइबर अपराध विरुद्धको क्षमतालाई सुदृढ पार्नु हो जसमा साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण गर्ने, सम्बन्धित उपकरण उपलब्ध गराउने परियोजनाको मुख्य अंग रहेको छ । साइबर अपराध अनुसन्धान र डिजिटल फरेन्सिक प्रयोगशाला र नेपाल प्रहरीको सान्दर्भिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने रहेको छ ।

    अर्थ सचिव कृष्णहरि पुष्करले आफ्नो संक्षिप्त टिप्पणीमा साइबर अपराधका बढ्दो घटनालाई नियन्त्रण गर्न साइबर ब्यूरोलाई सक्षम र सक्षम बनाउनका साथै कोरियाबाट फर्केका आप्रवासी कामदारहरूलाई आफ्नो समाजमा स्थापित गर्नका लागि यी दुई परियोजनाको महत्त्व व्यक्त गरे । नेपालमा उनीहरुको रोजगारी बढाउने समहमति भएको छ ।

    कार्यक्रममा ले विश्वभर र नेपालमा पनि व्यापक रूपमा बढ्दो साइबर अपराधको दरमा चिन्ता व्यक्त गर्दै साइबर अपराध नियन्त्रण परियोजनाले नेपाल प्रहरीको साइबर अपराध नियन्त्रण गर्ने क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

  • अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो, नेपाली रुपैयाँ प्रभावित

    अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो, नेपाली रुपैयाँ प्रभावित

    काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको विनिमय दर १२९.६८ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।

    यसअघि गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो ।

    त्यसपछि घट्न थालेको विनिमय दर गत साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो । त्यसयता डलरको भाउ फेरि उकालो लाग्न थालेको छ । सोही क्रममा शुक्रबारसम्म डलरको भाउ १२८.६८ रुपैयाँ पुगेको हो ।

    पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

    डलरको भाउ अझै माथि जाने संकेतहरु देखिएको छ। पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ ।

    पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै अमेरिकी डलरको बलियो बन्दै गइरहेको छ । रुस–युक्रेन युद्धका कारण अमेरिकी डलरको माग उच्च हुँदा यसको भाउ पनि बढ्दै गएको हो ।

    नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको भाउ उतारचढाव हुँदा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ ।

    विदेशमा रहेका नेपाली कामदारहरुले रेमिट्यान्स डलरमा पठाउँछन् । डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि केहि बृद्धि हुन्छ । त्यस्तै डलरको भाउ बढेसँगै पर्यटन क्षेत्र पनि राम्रो हुनेछ । नेपालमा आउने विदेशी पर्यटकले डलर बोकेर आउँछन् र खर्च गरेर जान्छन् ।

    अब डलरको भाउ बढ्ने वा घट्ने भन्ने कच्चा तेलको मूल्यमा भर पर्ने विज्ञ बताउँछन् ।

    त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

    स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुन्छ । डलरको भाउ बढ्दा वस्तु तथा सेवाको आयातबापत हुने भुक्तानीमा असर पर्छ ।

    अहिले दशैँ/तिहार जस्ता मुख्य चाडपर्वका बेला नेपाल भित्रिने रेमिट्यान्समा सकारात्मक प्रभाव परे पनि आयात बढ्दो हुँदा त्यसबापतको भुक्तानीमा दायित्व बढेको छ।

  • म्यादी प्रहरीमा दोब्बर आवेदन

    म्यादी प्रहरीमा दोब्बर आवेदन

    काठमाडौं । म्यादी प्रहरीमा मागभन्दा दोब्बर भन्दा बढीले आवेदन परेको नेपाल प्रहरीले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि भन्दै १ लाख १५ हजार म्यादी प्रहरी माग गरिएको थियो । आवेदन भने २ लाख ३२ हजार ८८ जनाको परेको छ । म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो ।

    आवेदन दिने म्याद बिहीबार सकिएको छ । यो अवधिमा देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी गराएका छन् । सबैभन्दा धेरै मधेस प्रदेशमा आवेदन परेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा परेको छ ।

    मधेस प्रदेशबाट ६६ हजार ८ सय ८४, वाग्मतीबाट २१ हजार १ सय ६, गण्डकीबाट १५ हजार ९ सय ९, लुम्बिनीबाट ४३ हजार ९ सय ५, कर्णालीबाट १४ हजार ९ सय ३६, सुदूरपश्चिमबाट २४ हजार ४ सय ५०, प्रदेश १ बाट ३५ हजार ८ सय २६ र काठमाडौं उपत्यकाबाट ९ हजार ७२ जनाले आवेदन दिएका छन् ।

    दरखास्त दिने सबैलाई शुक्रबार सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ । ९ गतेदेखि १४ गतेसम्म भर्ना छनोट हुनेछ । दरखास्त दिनेमध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् । म्यादी प्रहरीले ४० दिने कार्य अवधिमा तलब र रासनबापत ४१ हजार ९ सय ६० रुपैयाँ पाउँछन् ।

  • नेप्सेमा झिनो अंकको गिरावट, कारोबार ६५ करोडमै सीमित

    नेप्सेमा झिनो अंकको गिरावट, कारोबार ६५ करोडमै सीमित

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्राले फेरि निरन्तरता पाएको छ ।

    बुधवार झिनो अंकले रोकिएको शेयर बजारमा साताको कारोबारको अन्तिम दिन झिनो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से ९.८३ अंकले घटेर १८३८.९६ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२९ कम्पनीको ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै १.५६ प्रतिशतले घटेको छ । त्यस्तै, माइक्रोफाइनान्स समूह पनि १.०४ प्रतिशतले घटेको छ ।

    आज कारोबार भएका कम्पनीमध्य एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५३१.१० रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज प्रभु बैंक डिबेञ्चर र गरिमा डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज २ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ ।

  • गुल्मीका युवालाई यूएईमा पर्यो ३५ करोडको चिट्टा

    गुल्मीका युवालाई यूएईमा पर्यो ३५ करोडको चिट्टा

    काठमाडौं । नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्। गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन्। मासिक १,३०० मात्रै कमाउने उनी सबैभन्दा कम कमाउने विजेता मध्येका एक बनेका छन् ।

    मजुजले साप्ताहिक रूपमा खुलाउने यो चिठ्ठामा भरतले दुई वर्षदेखि काटिरहेका थिए। अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भए। यो चिठ्ठा जित्नुअघिसम्म दुबईमा बैंक खातासमेत थिएन। चिट्टा जितेपछि उनले खुसी व्यक्त गरेका छन् । उनले भने, ‘शनिबार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ।’

    यो पैसाले भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन्। आफ्ना तीन र पाँच वर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ। साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् । चिठ्ठा जिते पनि कार धुने काम नछाड्ने उनको भनाई छ ।

    युएईको दी नेशनल न्यूजसँग उनले भने, ‘युएईले मलाई धेरै अवसरहरू दिएको छ, त्यसैले म यहाँ बस्न चाहन्छु, अहिले छुट्टि लिएर परिवारलाई भेटेर आउँछु।’ तीन वर्षअघि दुबई आएका भरत त्यसअघि वैदेशिक रोजगारीकै सिलसिलामा साउदी अरबको पावर प्लान्टमा काम गर्थे। मजुजका सिईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीले यसमा सहभागिता जनाउँदै आएको भन्दै भरतको जीतले नेपाली समुदायमा खुसी छाएको बताए।

    ‘अहिलेसम्म करिव ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिठ्ठा जितिसकेका छन्, जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जितेका छन्,’ सीईओ सामजीले भने।

    लामो समयदेखि चिठ्ठा किनिरहेका उनको यसपालिको लक्की नम्बर १६, २७, ३१, ३७ र ४२ हुन्। उनले हरेक पटक चिठ्ठा किन्दा दुई वटा नम्बर कहिल्यै छुट्टाउँदैन्। किनकि, भरतले जितेका दुई नम्बरमध्ये २७ आफ्नो जन्मदिन र १६ आफ्नो विवाह गरेको दिन हो।

    आफूले पाएको पुरस्कारले अब जीवननै परिवर्तन हुने उनले अपेक्षा गरे। धेरै मानिसहरूका लागि, डिएच ३५ पैसा कमाउने राम्रो अवसर हो, त्यसैले भरतजस्ता पात्रहरूले यो चिठ्ठा किन्ने मजुजका सिईओ फरिद सामजीले भने। ‘भरत हाम्रा विजेतामध्ये सबैभन्दा कम कमाउनेहरू मध्ये एक हुन्, त्यसैले यसले उनी र उनको परिवारमा ठूलो फरक पार्नेछ’, उनले भने, ‘हामीले यी विजेताहरू उत्पादन गरिरहनुको एउटै कारण छ, यो निष्पक्ष र विश्वसनीय, त्यसैले मानिसहरू भाग लिन चाहन्छन्। हामी सपना साकार बनाउँछौं।’

  • कांग्रेसको घोषणा पत्र लेखन उपसमितिमा स्वर्णिम वाग्ले संयोजक

    कांग्रेसको घोषणा पत्र लेखन उपसमितिमा स्वर्णिम वाग्ले संयोजक

    काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र मस्यौदा गर्न डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन भएको छ । जसमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, डा. कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र डा. प्रीति मण्डल सदस्य रहेका छन् । बुधबार बसेको घोषणापत्र तयारी समितिले सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा मदन कट्टेल र शंकर तिवारी सदस्य रहको अध्ययन र विश्लेषण उपसमिति गठन गर्ने निर्णग गरेको छ।

    उक्त उपसमितिले स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्रहरु अध्ययन गरेर त्यसको भावनात्मक सार ग्रहण गर्नेछ ।
    यस्तै छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नविनता’ को दृष्टि केन्द्रमा राखेर ‘नेपाली कांग्रेसको घोषणापत्र’ निर्माण गर्ने घोषणापत्र तयारी समितिले जनाएको छ । बैठकले घोषणापत्र तयारीका लागि आवश्यक विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको सदस्य सचिव डा.प्रदिप पराजुलीले जानकारी दिए ।

  • एडीबीले भन्यो -‘नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा खुम्चिन्छ’

    एडीबीले भन्यो -‘नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा खुम्चिन्छ’

    काठमाडौं । एसियाली विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको छ।

    सरकारले ८ प्रतिशतको लक्ष्य लिएको बेला एसियाली विकास बैंकले डेभलपमेन्ट आउटलुकमा प्रकाशित गर्दै नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने अनुमान गरेको हो ।

    यो गत अप्रिलमा गरेको ५ प्रतिशतको अनुमान भन्दा पनि कम हो । अर्थतन्त्रमा देखिएका दबाबले चालु वर्षमा प्रभाव पार्ने बैंकको विश्लेषण छ।

    बाह्य क्षेत्रको सन्तुलनका लागि भन्दै सरकारले आयातमा लगाएको प्रतिबन्ध, मूल्यवृद्धि तथा भुक्तानी सन्तुलनका लागि राष्ट्र बैंकले बढाएको ब्याजदर लगायतका कारणले गर्दा आर्थिक गतिविधिमा उल्लेखनीय विस्तार नदेखिएको बैंकले प्रक्षेपण गरेको छ।

    चालु आर्थिक वर्ष नेपालको मुद्रास्फीति ६.३ प्रतिशतबाट केही सामान्य अंकले घटेर ६.१ प्रतिशत कायम हुने उसको आकलन छ। संकुचनकारी मौद्रिक नीति, विश्व अर्थतन्त्रमा आएको मन्दी तथा पेट्रोलियम पदार्थको मूल्यम आएको गिरावटले मुद्रास्फीति वाञ्चित सिमाभित्र रहने एसियाली विकास बैंकले भनेको छ।

    स्थिर रेमिट्यान्स आप्रवाह र आयातमा भएको कमी चालु खाता घाटा यस आर्थिक वर्ष कुल गार्हस्थ उत्पादनको ८.१ प्रतिशतमा सीमित ‍हुने एडीबीले प्रक्षेपण गरेको छ

    नेपालका लागि एडीबीका क्षेत्रीय निर्देशक अर्नाउड काउकोइसले भनेका छन्, ‘कोभिड संक्रमणको रोकथामका लागि लगाइएको लडकाउनका र पुनरुत्थान, कमजोर स्वास्थ्य प्रणालीलाई तनाव दिने डेंगु ज्वरोको तीव्रता, प्राकृतिक प्रकोपहरूबाट उत्पन्न प्रकोपहरू र भूराजनीतिक उथलपुथलले आर्थिक वृद्धिको सम्भावनालाई अझ कम गर्न सक्छ।’

    अपडेटले सामान्य मनसुनका कारण कृषिको वृद्धि हुने सम्भावना देखिए पनि मलको निरन्तर अभावले धान उत्पादनमा प्रतिकूल असर पार्न सक्ने बताइएको छ। जलविद्युतको बढ्दो उत्पादन र उद्योगहरुमा जलविद्युतको बढ्दव उपयोगले आर्थिक बृद्धिदरमा केही भरथेक गर्ने बताइएको छ।

  • नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको चौंथो दिन बजार झिनो अंकले बढेको हो ।

    बजार मापक सूचक (नेप्से)११.२२ अंकले बढेर १८४८.८२ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२६ कम्पनीको ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको २५ लाख ३१ हजार ३७० कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । मंगलवार १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये एक वटाको परिसूचक घटेको छ भने अन्य सबैको हरियो भएको छ ।

    फाइनान्स समूह सबैभन्दा धेरै १.७९ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक समूह पनि १.३८ प्रतिशतले बढेको छ ।

    आज कारोबार भएका कम्पनीमध्य एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले बढेको हो ।

    नेप्सेका अनुसार वीन नेपाल लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड र राप्ती हाइड्रोको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ३ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।

    रिडी पावरको २ करोड ४१ लाखको कारोबार भएको छ ।

  • नेपाल र जापानबीच दुई आयोजना कार्यान्वयन लागि १६ अर्ब सहुलियतपूर्ण ऋण सम्झौता

    नेपाल र जापानबीच दुई आयोजना कार्यान्वयन लागि १६ अर्ब सहुलियतपूर्ण ऋण सम्झौता


    काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न दुई सम्झौतामा हस्ताक्षर भएको छ ।

    जापानी येन २२५.६० करोड (करिब रु. २ अर्ब) अनुदान सहायता र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन १५९.०१ करोड (करिब रु १४.२ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्वन्धी दुई छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भएको हो ।

    अनुदान सहायता मुख्यतया पूर्वी तराई क्षेत्रमा भरपर्दो र निरन्तर सिँचाइ सुविधाका लागि चन्द्र नहर सिँचाइ प्रणालीको मर्मत सम्भार एवम् सुधारका लागि प्रयोग गरिनेछ ।

    त्यसैगरी,वार्षिक ०.०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी अवधि र १० वर्षको ग्रेस अवधि रहेको सहुलियतपूर्ण ऋण काठमाडौं र पोखरा लगायतका सहरमा प्रसारण चुहावट घटाउन र वितरण प्रणालीको विश्वसनीयता बढाउनका लागि प्रयोग गरिनेछ।

    नेपाल सरकारका तर्फबाट अर्थ सचिव श्री कृष्णहरि पुस्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका महामहिम राजदूत श्री किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गरे ।

    त्यसैगरी, अनुदान तथा ऋण सम्झौतामा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरे ।

    अर्थ सचिवले आफ्नो मन्तव्यमा यी दुई आयोजनाको कार्यान्वयनबाट नेपालमा सिँचाइ सुविधाको सुधारगर्न तथा विद्युत आपूर्तिको विश्वसनीयता बढाउन र प्रशारण चुहावट कम गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।

    उक्त अवसरमा अर्थ सचिवले नेपालको सामाजिक(आर्थिक एवम् मानव संसाधन विकासमा जापान सरकारबाट प्राप्त भैरहेको निरन्तर सहयोगको प्रसंशा गर्दै दुई देशवीचको लामो र सुमधुर सम्बन्ध तथा विकास साझेदारी अझ नयाँ उचाइमा पुग्ने विश्वाससमेत ब्यक्त गरे ।

  • काठमाडौं महानगरपालिकाले भन्यो : अनुमति बीना होर्डिङ बोर्ड नराख्नु

    काठमाडौं महानगरपालिकाले भन्यो : अनुमति बीना होर्डिङ बोर्ड नराख्नु

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड नराख्न सूचित गरेको छ । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको छ । ‘असोज ५ गतेबाट अनुमति बीना बाह्य विज्ञापन सञ्चालन नगर्नर नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ।

    उच्च अदालत पाटनबाटले दिएको भदौ ३० गतेको आदेशका आधारमा आजैका मिति (२०७९ साल असोज ५ गते) बाट बाह्य विज्ञापन सञ्चालन नगर्न–नगराउन भनेको छ। नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि महानगरले दिएको छ ।

  • नेपालमा लगानी गर्न इण्डोनेसियासँग प्रधानमन्त्रीको आह्वान

    नेपालमा लगानी गर्न इण्डोनेसियासँग प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन्। मंगलबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त आग्रह गरेका हुन्।

    ‘प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको लगानी भित्र्याउन र नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवर्द्धन गर्न आग्रह गर्नुभयो’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै सो भेटमा सहभागी नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारलाई आग्रह पनि गरे।

    प्रधानमन्त्री देउवाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपाल भ्रमणका लागि राजदूत सुबोलोमार्फत इन्डोेनेशियाली जनतालाई आग्रह गरेको ढकालले जानकारी दिए। उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको र प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशियाली सरकारसमक्ष पुर्‍याउने बताए।

    राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकलाई भिसा सहजीकरणका लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताए। आगामी अक्टोबरमा इन्डोनेशियामा आयोजना हुने ‘ट्रेड एक्स्पो’ प्रवद्र्धनका क्रममा राजदूत सुबोलोले नेपाल र इन्डोनेशियाबीच द्विपक्षीय व्यापार तथा लगानीका लागि भूमिका निर्वाह गर्ने बताए।

  • दशैंमा हवाई टिकट पाउनै मुस्किल, आन्तरिक उडानका ८० प्रतिशत बुकिङ

    दशैंमा हवाई टिकट पाउनै मुस्किल, आन्तरिक उडानका ८० प्रतिशत बुकिङ

    काठमाडौं । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् ।

    केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् ।

    हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

    यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन् । दशैं आउन एक साता बाँकी हुदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ ।

    हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन् । विगतमा काठमाडौँ–धनगढी हवाई भाडा ७ हजार ५००रुपैयाँ रहेकामा अहिले अधिकतम रु १७ हजार कायम गरिएको छ ।

    सबैभन्दा कम टिकटको मूल्य विराटनगर–काठमाडौँ रहेको छ । विराटनगर–काठमाडौँ एकतर्फी भाडा न्यूनतम रु चार हजार पाँच सय अधिकतम भाडादर रु १० हजार कायम गरिएको छ ।

    अग्रिम टिकट बुकिङसँगै हवाई भाडामा पनि उकालो लागेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले जानकारी दिए । उनका अनुसार काठमाडौँ फर्कनका लागि टिकाको भोलिपल्टदेखिका लागि पनि ७० प्रतिशत टिकट अग्रिम बुकिङ भइसकेको छ ।

  • एक महिनामा २ अर्ब ४२ करोडको विद्युत निर्यात, थप १०० मेगावाट निर्यात प्रस्ताव

    एक महिनामा २ अर्ब ४२ करोडको विद्युत निर्यात, थप १०० मेगावाट निर्यात प्रस्ताव

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।

    नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ ।

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

    सुरुमा दुइटा विद्युतगृहको ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ बाट दैनिक ६ वटा जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

    प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन भएको जनाएको छ ।

    भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँमा हुने भएकाले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भदौमा मात्रै विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ ।

    हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट नेपालको विदेशी मुद्रा सञ्‍चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

    ‘चालु आवमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं, मंसिरको पहिलो हप्तासम्म विद्युत निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं, घिसिङले भने, ‘अब चाडबाड पनि सुरु हुन लागेकाले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुन्छ । तर, हाम्रो उत्पादन भने पूर्ण क्षमतामा हुने हुँदा करिब २०० मेगावाट थप विद्युत निर्यातको सहमतिका लागि प्रस्ताव पठाएका छौं ।’

    उनले भारतीय पक्षबाट थप विद्युत निर्यातका लागि छिट्टै सहमति दिने विश्वास व्यक्त गरे ।

    आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा बल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक बल्कको मूल्य फरक–फरक हुन्छ । प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसतदर प्रतियुनिट ९ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसतदर प्रतियुनिट ९ रुपैयाँ २३ पैसा छ ।

    थप १०० मेगावाट निर्यात प्रस्ताव

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत आईएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ ।

    प्राधिकरणले केही दिनअघि ४ जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो ।

    यसअघि प्राधिकरणले ४ जलविद्युत आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । थप ४ जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत निर्यातका लागि प्रस्ताव पेश गरेको हो ।

    निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखु खोला ए, २५ मेगावाटको काबेली बी-१, २२ मेगावाटको माई खोला, १४.९ मेगावाटको हेवा खोला ए र १० मेगावाटको तल्लो मोदी-१ जलविद्युत गृहबाट उत्पादित १००.९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ ।

    यसअघि ४२ मेगावाटको मिस्त्री खोला, २४.२ मेगावाटको लिखु खोला ‘ए’, २३.५ मेगावाटको सोलु खोला, २२.१ मेगावाटको चिलिमेको विद्युत गृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।

  • अमेरिकासम्म पुग्छ नेपाली पानी, एक वर्षमा ३० करोडको निर्यात,

    अमेरिकासम्म पुग्छ नेपाली पानी, एक वर्षमा ३० करोडको निर्यात,

    काठमाडौं । नेपालबाट एक वर्षमा ३० करोडको पानी विदेश निर्यात भएको छ। नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८\०७९ मा नेपालबाट ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो।
    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट पीडित व्यवसायीले चाडपर्वको मुखमा तरलताको अभाव झेल्नुपरेको बताए ।

    कोरोनाको समयमा व्यक्तिको घरघरमा पुगेर सेवा प्रदान गरेका पानी व्यवसायलाई राज्यले बेवास्ता गरेको उनको भनाई छ । खानेपानीको गुणस्तर मापन गर्न खाद्य गुणस्तर विभागले लिँदै आएको शुल्क महङ्गो भएको भन्दै त्यसलाई चाँडो घटाउन उनले माग गरे । सङ्घका अध्यक्ष ध्रुवबहादुर गौतमले खाद्य स्वच्छता ऐन व्यवसायीमैत्री नभएको भन्दै यसलाई तत्काल सच्याउन माग गर्नुभयो। अति आवश्यक वस्तुका रूपमा रहेको पानी व्यवसायीलाई ऐनले अपराधीको रूपमा हेरेको उहाँको भनाइ थियो। अध्यक्ष गौतमले ट्राफिक प्रहरीले पानी व्यवसायीलाई दुःख दिने गरेको गुनासो गरे ।


    नेपालबाट चीन, हङकङ, कतार, दुबई, अमेरिका, अष्ट्रेलियालगायतका देशमा पानी बिक्रीवितरण हुँदै आएको सङ्घका सचिव एवं हिमालयन वेभरेज प्रालिका सञ्चालक भरत बुढाथोकीले जानकारी दिए । उनका अनुसार हाल बोटलर्स नेपाल कम्पनी तराईबाट उत्पादित ‘किन्ले’, रसुवा ब्राण्डको ‘हिमालयन अनटप’, वेभ नेपाल प्रालिबाट उत्पादित ‘नेपाल स्प्रिङ’लगायतका पानी विदेशमा निर्यात हुँदै आएका छन्। विसं २०६५ मा स्थापित नेपाल बोटल वाटर उद्योग सङ्घमा काठमाडौंभित्रका १८२ र देशभरका ६०० भन्दा बढी पानी उत्पादन गर्ने कम्पनीहरु आबद्ध छन्।

  • नेप्सेमा लगातार दोहोरो अंकको पहिरो यथावत, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    नेप्सेमा लगातार दोहोरो अंकको पहिरो यथावत, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि त्यसको प्रभाव पूँजी बजारमा परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि बढ्न थालेकोले शेयर बजार राताम्य भएको छ ।

    साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक (नेप्से) ३३.९७ अंकले घटेर १८७६.४१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२९ कम्पनीको १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । शुक्रवार दुईघण्टाको कारोकारमा ९० करोड ८१ लाख ८६ हजार ४८७ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा राताम्मे भएका छन् । व्यापार समूह सबैभन्दा धेरै ३.२४ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूह पनि ३ प्रतिशतले घटेको छ ।

    आज कारोबार भएका कम्पनीमध्य एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । ग्लोबल आइएमई समुन्नत स्किम १ को शेयरमूल्य ५.३५ प्रतिशतले बढेको छ ।

    नेप्सेका अनुसार बलेफी हाइड्रोपावर लिमिटेडका सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । आज बलेफी हाइड्रोपावरका शेयर धनीले सबैभन्दा धेरै ७.८५ प्रतिशत गुमाएका छन् ।

    त्यसैगरी, राप्ती हाइड्रो ७.३०, दोर्दी खोला ७.२३, माउन्टेन, युनाइटेड मोदी, दिव्यश्वरी, लिबर्टी इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २१ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • निजगढमा अन्तराष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, प्रधानमन्त्रीलाई बुझाइयो प्रतिवेदन

    निजगढमा अन्तराष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, प्रधानमन्त्रीलाई बुझाइयो प्रतिवेदन

    काठमाडौं । अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ ।

    आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक बीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

    सर्वोच्च अदालतको परमादेश अनुसार पूर्ण क्षमताको अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्‌को गत साउन २६ गतेको निर्णयानुसार गठित विज्ञ समूहले अध्ययन प्रतिवेदन तयार गरेको हो ।

    नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल आवश्यक रहेको विज्ञ समूहको निष्कर्ष रहेको छ ।

    प्रतिवेदन अनुसार पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थलका लागि उपयुक्त स्थान काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्र्याक) र पूर्व(पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र उपयुक्त रहेको छ । रुख कटानी तथा वातावरणीय क्षती न्यूनीकरण गर्न सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखी एयरपोर्ट सिटीको अवधारणालाई पुरै त्याग्नुपर्ने सुझाव विज्ञ समुहले दिएको छ ।

    करिब ९ हजार हेक्टरको विमानस्थल संरक्षण क्षेत्र घोषणा गरी विभिन्न चरणमा विमानस्थल निर्माण गर्ने गरी जम्मा करिब ४ हजार हेक्टर क्षेत्रफलमात्र विमानस्थल निर्माणको लागि उपयोग गर्ने र बाँकी क्षेत्रमा भएका रुखको संरक्षण लगायत नदी कटान रोकथाम तथा अन्य आवश्यक संरक्षण कार्य विमानस्थल व्यवस्थापनले गर्नुपर्ने र पहिलो चरणमा करिव पन्ध्र सय हेक्टर क्षेत्रफलमा मात्र रुख कटानी गर्ने र बाँकी क्षेत्रमा दोश्रो चरण सुरु नभएसम्म रुख कटान नगर्न भनिएको छ ।

    वातावरणमा प्रतिकुल असर नपर्ने गरी वातावरणीय व्यवस्थापन योजना तयार गर्ने गरी सोको कानुनी विधि र प्रक्रिया पुरा गरी आवश्यक स्विकृती प्राप्त गरी विमानस्थल निर्माण कार्य गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    वातावरण र विकासलाई सरकारले समुचित सन्तुलन तथा व्यवस्थापन गर्दै जान सक्ने अन्तराष्ट्रिय कानुन एवं सर्वोच्च अदालतवाट प्रतिपादित नजिर सिद्धान्त समेत रहेकोले देश विकास सम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानूनी व्यवस्था गर्न नेपालको संविधानले सरकारलाई संवैधानिक दायित्व दिएको प्रतिवेदनमा स्मरण गरिएको छ ।

    पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माणकालागि आवश्यक जग्गा प्राप्त गरी प्रभावित सरोकारवालाहरुलाई कानून बमोजिमको मुआव्जा, क्षतिपुर्ति तथा पुनर्वासको व्यवस्था गरी निर्माण कार्य गर्नु विज्ञ समुहको प्रतिवेदनमा उल्लेख छ ।

    पर्सा राष्ट्रिय निकुन्जको विस्तारित क्षेत्रभित्र हात्तीको प्रमुख जैविक मार्ग रहेको तर केहि हात्तीहरु निर्माणस्थलको नजिकै विचरण गर्न आउने क्षेत्र निर्माणस्थलभन्दा वाहिर रहेकोले सो क्षेत्र समेत सरकारले संरक्षण गर्न सक्ने साथै चराचुरुङ्गीहरुको हकमा लामो दूरीका अन्तराष्ट्रिय बसाई(सराई गर्ने तथा हवाई दुर्घटनाका कारक हुन सक्ने ठुला प्रजातिका चराहरु (हाँस, चिल, गिद्ध)को मार्ग निर्माणस्थल नजिक नदेखिएको साथै नेपालका संकटापन्न गिद्धहरुको उपस्थिति पनि सो क्षेत्रमा न्यून रहेको प्रतिवेदनमा उल्लेख छ ।

    पूर्ण क्षमताको अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा संचालन भएपछि नेपालको हवाई आकाशमाथिबाट उडने गरी प्रस्तावित हिमालय २ रुट (काठमाडौं( गुवाहाटी ( कुनमिङ्ग) र एल ६२६ (काठमाडौं( महेन्द्रनगर दिल्ली) लाई दुई तर्फी गर्न सकिने र यसबाट युरोप, मध्यपूर्व, पूर्वी एसिया प्रशान्त क्षेत्रका मुलुकहरुसम्म आउने जाने दुई तर्फी अन्तराष्ट्रिय हवाई उडानहरुको दूरी, समय र ईन्धन खपत उल्लेखनीय रुपमा घट्न जाने र ईन्धनको बचतबाट कार्बन उर्सजन कम हुन जाने प्रतिवेदनमा जनाइएको छ ।

    पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माण जति ढिला भयो, उति महँगो र जटिल हुँदै जाने र नेपालको विकासको प्रतिफल ढिलो हुँदै जाने हुँदा विशेष अधिकार सम्पन्न विकास संस्था गठन गरी यसलाई समयबद्ध तबरले छिटो निर्माण गर्नुपर्ने सुझाव समेत विज्ञ समूहले दिएको छ ।

    प्रधानमन्त्री देउवाले विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । निर्धारित समयमै विज्ञ समूहले अध्ययन गरी प्रतिवेदन बुझाएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद दिए। मन्त्री श्रेष्ठले विज्ञ समूहले दिएको प्रतिवेदन अनुसार काम अघि बढाउने बताए । पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य छिट्टै सुरु गरिने उनको भनाइ छ ।

    हवाई पूर्वाधार विज्ञ बीरेन्द्र बहादुर देउजाको संयोजकत्वमा रहेको विज्ञ समुहमा अर्थशास्त्री रामेश्वर खनाल, विकास योजना विज्ञ डा. सूर्यराज आचार्य, शहरी विकास विज्ञ प्राडा संगीता सिंह, वन्यजन्तु तथा वातावरण विज्ञ प्राडा प्रेम बहादुर बुढा, वनस्पती तथा वातावरण विज्ञ प्राडा सुरेश कुमार घिमिरे, समाजशास्त्री डा लछी सिंह, वरिष्ठ पाइलट कृष्णविक्रम पौडेल, वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र हवाईरुट विज्ञ महेशकुमार बस्नेत सदस्य थिए ।

  • विश्व बैंकले नेपाललाई दुई आयोजनाका लागि ५२ अर्ब सहुलियतपूर्ण ऋण दिने

    विश्व बैंकले नेपाललाई दुई आयोजनाका लागि ५२ अर्ब सहुलियतपूर्ण ऋण दिने

    काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच आइतबार ५२ अर्ब ९६ करोड सहुलीयतपूर्ण ऋण प्राप्ति सम्बन्धी सम्झौता भएको छ ।

    नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि तथा आवद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (रु. ३४ अर्ब ९६ करोड नेपाली रूपैंया) र डिजिटल नेपाल गतिवृद्धि आयोजनाका लागि १४ करोड डलर (रु. १८ अर्ब नेपाली रूपैंया) को सहुलियतपूर्ण वित्तिय सम्झौतामा हस्ताक्षर भएको छ ।

    अर्थमन्त्री जनार्दन शर्मा तथा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरको समुस्पथितिमा यस सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्ण हरी पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका थिए ।

    क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि आयोजना (ACCESS) अन्तर्गत पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकको ६९ किलोमिटर दुई लेनको खण्डलाई जलवायु अनुकुलित चार लेनको राजमार्गमा स्तरोन्नति गरिनेछ ।

    समावेशी रूपमा आर्थिक–सामाजिक विकासलाई सघाउन सुदृढ आबद्धता तथा व्यापार, सेवाग्राही र व्यवसायबीच सूचना प्रविधि मार्फत राम्रो सम्पर्क तथा क्षेत्रीय बजारहरूमा पहुँच आदिका माध्यमबाट नेपालको आर्थिक सम्भावनाहरू उजागर गर्न नेपाललाई यी आयोजनाहरूले सहयोग गर्ने अर्थ सचिव पुष्करले बताए ।

    राम्रो सडक सुरक्षा सुनिश्चित गर्नमा ध्यान केन्द्रित गर्दै, यस आयोजनाले भारतको पश्चिमी बन्दरगाहहरूसम्म राम्रो पहुँच प्रदान गर्दै यात्रा समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ। विशेष गरी महिला उद्यमी र व्यापारीहरूलाई आर्थिक अवसरहरू बृद्धि गर्नमा ध्यान दिँदै यस आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहितको कम्तीमा तीनवटा बजार क्षेत्रहरू निर्माण गर्नेछ।

    डिजिटल नेपाल गतिवृद्धि (DNA) आयोजनाले वि. सं.२०७६ मा नेपाल सरकारले घोषणा गरेको देशको डिजिटल अर्थतन्त्र रणनीति अन्तर्गत रहेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गर्न सघाउनेछ।

    हाल उच्च गुणस्तर र किफायती इन्टरनेटको सेवाबाट बञ्चित ग्रामीण क्षेत्रमा यस आयोजनाले ब्रोडब्यान्ड ईन्टर्नेट सेवाहरूको पहुँच बढाउन निजी क्षेत्रको पूँजी परिचालन गर्नेछ, जसले त्यहाँका बासिन्दा तथा व्यवसायहरूलाई फाइदा पुर्‍याउनेछ। यसले नेपालको सार्वजनिक डाटा पूर्वाधार र साइबरसुरक्षा क्षमतामा सुधार मार्फत सरकारी सेवाहरूलाई सुरक्षित तवरले डिजिटल प्रविधि मार्फत वितरण गर्न सघाउनेछ जसको फलस्वरूप महिला, आदिवासी तथा सामाजिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिहरू सम्म डिजिटल सेवाको पहुँच बृद्धि हुनेछ।

  • मिटरब्याज पिडित र सरकारबीच ५ बुँदे सहमति

    मिटरब्याज पिडित र सरकारबीच ५ बुँदे सहमति

    काठमाडौं । सरकार र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । सहमतिपछि संघर्ष समितिले काठमाडौंको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा गृह मन्त्रालयमा शनिबार बिहान भएको वार्तामा ५ बुँदे सहमति भएको हो । सहमतिमा मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहनु भएका सहसचिव भीष्मकुमार भुसाल तथा संघर्ष समितिको तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन् ।

    मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिसबमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पिडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ ।

    ऋणीले साँवा ब्याज चुक्ता गरेपछि फिर्ता गर्नेगरी साहु वा निजले इच्छाएको व्यक्तिका नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिएको तर कानुनसम्मत रूपले हुन आउने साँवा ब्याज पूरै चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म बिक्री गरेको भए पनि साहुले उक्त जग्गा फिर्ता गर्न अन्तरनिकाय समन्वय गरी कानुनी व्यवस्था गर्ने सहमति भएको छ ।

    संघर्ष समितिले राखेका मागका सम्बन्धमा कार्यदलको प्रतिवेदनमा उल्लेखित सिफारिसको कार्यान्वयनका लागि आन्तर निकाय समन्वय गरि मन्त्रिपरिषद्ले लिनु पर्ने आवश्यक निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने सहमति पनि भएको छ ।

  • लामो दूरीको बसमा अग्रिम टिकट बुकिङ खुल्यो

    लामो दूरीको बसमा अग्रिम टिकट बुकिङ खुल्यो

    काठमाडौं । काठमाडौंको गोङ्गबु बसपार्कमा बसको अग्रिम टिकट बुकिङ खुलेको छ । काठमाडौंबाट लामो दूरीको बसमा यात्रा गर्नेहरुले आजबाट अग्रिम टिकट लिन सक्ने भएका छन् । बिहानैबाट टिकट बुक गर्नेको भिड लागेको छ ।

    यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा छ । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । देशका विभिन्न स्थानमा दशैं मनाउन जानेहरुले अग्रिम टिकट बुक गर्ने गर्छन् ।

  • भारतले घटाएर पठायो पेट्रोलियम पद्धार्थको भाउ, प्रतिलिटर कति घट्यो ?

    भारतले घटाएर पठायो पेट्रोलियम पद्धार्थको भाउ, प्रतिलिटर कति घट्यो ?


    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    आइओसीले निगमलाई भदौ ३१ गते (सेप्टेम्बर १६ तारिख) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

    आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको भाउ घटेर आएको छ ।

    निगमका अनुसार पेट्रोल प्रतिलिटर ६.५५ रुपैयाँ, डिजेल ४४ पैसा र हवाई इन्धन प्रतिलिटर १.५० रुपैयाँ घटेर आएको छ ।

    नयाँ मूल्य अनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा हुने भएको छ भने डिजेलमा ५ रुपैयाँभन्दा बढी घाटा हुने निगमले जनाएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ र डिजेलको १७८ रुपैयाँ रहेको छ ।

    यसअघि लगातार ३ पटकसम्म मूल्य घटेर आउँदा पनि निगमले मूल्य समायोजन गरेको थिएन । भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने तत्काल सोअनुरुप लाभ नमिल्ने देखिन्छ । हाल निगमले घाटामा इन्धन बेचिरहेकाले भाउ घटेर आए पनि नघट्ने देखिन्छ ।

    भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

  • माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब ३४ करोड लगानी

    माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब ३४ करोड लगानी

    काठमाडौं । प्रस्तावित राष्ट्रिय गौरवको आयोजना १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् स्वदेशी र विदेशी दुवै ऋण लगानीमा निर्माण हुने भएको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैङ्क तथा वित्तीय संस्थाले ५३ अर्ब ३४ करोड रुपैयाँ बराबर लगानी गर्ने भएका छन् । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको यो परियोजनाको कुल लागत २ खर्ब १४ अर्ब ८६ करोड रुपैयाँ बराबर रहेको छ । आन्तरिक ऋण लगानी सम्बन्धी सम्झौतामा बिहीबार बेलुका हस्ताक्षर भएको हो।

    लगानी सम्बन्धी सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सहवित्तीयकरणका अगुवाइ गर्ने एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम तथा नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नागरिक लगानी कोषका प्रतिनिधिले हस्ताक्षर गरे । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र मन्त्रालयका उच्च अधिकारीको उपस्थितिमा भएको समझदारीअनुसार ऋण लगानी सम्बन्धी आवश्यक निर्णय हुनेछ ।

    कुल १ हजार ६१ मेगावाट क्षमताको यो आयोजनामा कुल लागतको ७० प्रतिशत ऋण लगानी हुनेछ भने ३० प्रतिशत स्वस्पुँजी रहनेछ । आयोजनामा कुल ऋण एक खर्ब ५० अर्ब ४० करोड रुपैयाँ बराबर रहनेछ । त्यसमा वैदेशिक ऋण ९७ अर्ब छ करोड रुपैयाँ बराबर रहनेछ । विश्व बैङ्क, युरोपियन इन्भेस्टमेन्ट बैङ्कलगायतका वैदेशिक ऋण लिने तयारी गरिएको छ ।

    सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको अर्ध जलाशय प्रकृतिको यो आयोजनाको अहिलेसम्मको अध्ययनअनुसार अरुण नदीमा एक सय ८३ मिटर लामो र एक सय मिटर उचाइको बाँध बाँधिनेछ । कुल आठ दशमलव पाँच किलोमिटर लामो सुरुङमार्फत पानी ल्याएर स्थानीय छोग्राकमा रहेको भूमिगत विद्युत् गृहमा खसालिनेछ।

  • शहरी श्रमिकको व्यवस्थापन गर्न बालेनलाई बाबुराम भट्टराईको सुझाव

    शहरी श्रमिकको व्यवस्थापन गर्न बालेनलाई बाबुराम भट्टराईको सुझाव

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन्। पछिल्लो समय मेयर शाहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै भट्टराईले स्वरोजगार श्रमिकको बाध्यता बुझ्न आग्रह गरेका हुन् ।

    ‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्,’ उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्। अतः निश्चित ठाउँरसमय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ।’

  • एक महिनामा विदेशमा रहेका नेपालीबाट भित्रियो ९२ अर्ब २१ करोड रेमिट्यान्स

    एक महिनामा विदेशमा रहेका नेपालीबाट भित्रियो ९२ अर्ब २१ करोड रेमिट्यान्स

    काठमाडौं । विदेशमा रहेका नेपालीले एक महिनाको अवधिमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स स्वदेश पठाएका छन् । साउनमा विप्रेषण आप्रवाह बढेको पाइएको हो । अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको साउनमा विपे्रषण आप्रवाह २०.३ प्रतिशतले बढेर ९२ अर्ब २१ करोड रुपियाँ पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।

    अमेरिकी डलरमा भने विपे्रषण आप्रवाह १२.८ प्रतिशतले मात्र बढेको छ । यसअवधिमा वैदेशिक रोजगारीका लागि जान खोज्ने नेपालीको सङ्ख्यामा उच्च वृद्धि भएको छ । साउनमा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति २२२.८ प्रतिशतले बढेर ४४ हजार ५४० पुगेको छ ।

  • एक वर्षमा दोब्बरले बढ्यो महँगी दर

    एक वर्षमा दोब्बरले बढ्यो महँगी दर

    काठमाडौं । नेपालमा एक वर्षमा महंगी दोब्बरले बढेको छ । गत वर्ष साउनको तुलनामा यस वर्षको साउनमा महँगी झन्डै दोब्बरले बढेको छ । राष्ट्र बैङ्कका अनुसार साउनमा उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत मात्र थियो ।

    साउनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य ९.१८ प्रतिशत रहेको छ । खाद्यतर्फ सबैभन्दा धेरै घिउ तथा तेलको १९.५८ प्रतिशत र गैरखाद्यतर्फ यातायात क्षेत्रको २३.८८ प्रतिशत मूल्य बढेको छ ।

  • विदेशी मुद्राको सञ्चितिबाट वस्तु तथा सेवा आयात गर्न सक्ने समय बढ्यो

    विदेशी मुद्राको सञ्चितिबाट वस्तु तथा सेवा आयात गर्न सक्ने समय बढ्यो

    काठमाडौं । विदेशी मुद्राको सञ्चिति घटे पनि वस्तु तथा सेवाको आयात धान्ने समय भने बढेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ हाल सञ्चित रहेको नौ अर्ब ४२ करोड डलर (११ खर्ब ९८ अर्ब रुपियाँ)बाट आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । यो असारको तुलनामा एक महिनाभन्दा बढीले वृद्धि हो । असार मसान्तसम्म सञ्चिति विदेशी मुद्राबाट ६.९४ महिनाको मात्र वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुन्थ्यो ।

    त्यस्तै साउनसम्म सञ्चित रहेको विदेशी मुद्राबाट ९.४ महिनाको वस्तु आयात धान्न सकिने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ । विदेशी मुद्रा सञ्चिति पर्याप्तता सूचकमा सुधार आए पनि विदेशी मुद्राको सञ्चित रकम भने घटेको छ । असारसम्म नौ अर्ब ५४ करोड डलर सञ्चिति रहेकामा साउनमा १२ करोड डलर घटेर नौ अर्ब ४२ करोड डलर कायम भएको छ । सरकारले वैशाखदेखि विभिन्न १० वटा वस्तुको आयातमा सर्तसहित कडाइ गरेको थियो । यसको प्रभावले आयातको परिमाण घटेको हो । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ३१ अर्ब २९ करोड रुपियाँ बराबरको मात्र भएको छ ।

    अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा आव २०७९÷८० को साउनमा कुल वस्तु आयात १३ प्रतिशतले घटेको छ । साउनमा निर्यात पनि घटेको छ । प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको साउनमा कुल निर्यातमा २८.७ प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड रुपियाँ मात्र भएको छ । आयात घट्दा व्यापार घाटा १०.४ प्रतिशतले घटेर एक खर्ब १६ अर्ब रुपियाँ कायम भएको छ ।

    आयात घट्दा मुलुकबाट बाहिरिने रकम पनि घटेकाले त्यसको प्रत्यक्ष असर चालू खाता र शोधनान्तर स्थितिमा परेको देखिएको छ । साउनमा चालू खाता घाटा १६ अर्ब २६ करोड रुपियाँ पुगेको छ जब कि गत वर्ष साउनमा यस्तो घाटा ४७ अर्ब २९ करोड रुपियाँ थियो । त्यस्तै शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो साउनमा यस्तो स्थिति ३८ अर्ब ७५ करोड रुपियाँले घाटामा थियो ।