Category: अर्थतन्त्र

  • नयाँ श्रम स्वीकृति समेत अब अनलाइनबाटै लिन सकिने

    नयाँ श्रम स्वीकृति समेत अब अनलाइनबाटै लिन सकिने

    काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ। वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ। कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको थियो ।

    सेवा प्रवाह व्यवस्थित बनाइएसँगै कार्यालयमा दैनिक हुने हजारौंको भीड हटेको छ। हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत् हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्णरूपमा अनलाइन प्रणालीबाट मात्र सेवा प्रवाह गर्ने भएको छ।

    आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रूपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन गरेसँगै सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख रमेश अर्यालले बताए। गत आवमा वैदेशिक रोजगारीका लागि एक लाख ६७ हजार जनाको श्रम स्वीकृति भएकामा चालु आवको १० महिनामा पाँच लाख बढीको श्रम स्वीकृति जारी भएको कार्यालयले जनाएको छ।

    रासस

  • रुस-युक्रेन युद्ध : विश्वव्यापी खाद्यान्न संकट निम्तन सक्ने राष्ट्रसंघको चेतावनी

    रुस-युक्रेन युद्ध : विश्वव्यापी खाद्यान्न संकट निम्तन सक्ने राष्ट्रसंघको चेतावनी

    काठमाडौं (बीबीसी) । युक्रेनमाथि रुसले गरेको अतिक्रमणका कारण आउँदा महिनाहरूमा विश्वव्यापी खाद्यान्न अभाव निम्तिन सक्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले बढ्दो महँगीले अति विपन्न देशहरूमा खाद्य सुरक्षाको स्थितिलाई झन् दयनीय बनाइदिएको बताएका छन्। न्यूयोर्कमा एउटा राष्ट्रसङ्घीय शिखर बैठकलाई सम्बोधन गर्दै उनले युद्ध अघिको अवस्थामा युक्रेनी निर्यातलाई पुर्‍याउन नसकिए विश्वले वर्षौँसम्म भोकमरीको सामना गर्नुपर्ने हुन सक्ने पनि बताए।

    युद्धका कारण युक्रेनी बन्दरगाहहरूबाट विश्वमा ठूलो मात्रामा गहुँ, मकै र सूर्यमुखीको तेल लगायतका वस्तुको निर्यात रोकिन पुगेको छ। रुसले अतिक्रमण गर्नु अगाडि युक्रेनले विश्वलाई १२ प्रतिशत गहुँ, १५ प्रतिशत मकै र आफ्नो उत्पादनको आधाभन्दा बढी सूर्यमुखी तेल निर्यात गर्ने गर्थ्यो। युक्रेनबाट निर्यात रोकिँदा एकातर्फ विश्वव्यापी आपूर्तिमा कमी आएको छ भने अर्कोतर्फ वस्तुहरूको भाउ आकासिएको छ।


    राष्ट्रसङ्घका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष खानेकुराको मूल्यमा करिब ३० प्रतिशतले वृद्धि भएको छ। बैठकमा महासचिव गुटेरसले भनेः ‘हामी एक भएर अहिले नै कदम चाल्न सक्यौँ भने हामीसँग पर्याप्त खाद्यान्न छ। तर आज हामीले यो समस्यालाई हल गर्न सकेनौँ भने आउँदा महिनाहरूमा हामीले विश्वव्यापी खाद्यान्न सङ्कट झेल्नुपर्ने हुन्छ।’

    युक्रेनको अन्न उत्पादनलाई पूर्ववत् अवस्थामा नफर्काएसम्म र रुस तथा बेलारुसले उत्पादन गर्ने रासायनिक मल विश्व बजारमा नपुर्‍याएसम्म समस्याको हल नहुने पनि उनले बताए। खाद्यान्न आपूर्तिलाई सामान्य अवस्थामा फर्काउने प्रयासमा आफूले रुस, युक्रेनका साथै संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घसँग संवाद सघन बनाएको गुटेरसले बताएका छन्। विश्व ब्याङ्कसहितका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले खाद्यान्न आपूर्तिलाई सहज बनाउने उद्देश्यका साथ १० अर्ब डलर उपलब्ध गराउने घोषणा गरेका छन्।

  • सार्वजनिक बिदाका दिन सरकारी सवारी चलाउन नपाइने

    सार्वजनिक बिदाका दिन सरकारी सवारी चलाउन नपाइने

    काठमाडौं । सरकारले सातामा दुई दिन बिदा घोषणा गरेसँगै अब सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी गरिने र सोही आधारमा मात्र गाडी चलाउन पाइने भएको छ । पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।

  • केही सुधार आएको नेपाली शेयर  बजार फेरि ओरालो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    केही सुधार आएको नेपाली शेयर बजार फेरि ओरालो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)२३.५१ अंकले घटेर २२५०. ९१ विन्दुमा पुगेको छ । यो साता आइतवार र सोमवार सार्वजनिक बिदा रहेको थियो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २१९ कम्पनीको १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँ बराबरको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । त्यसदिन १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    यद्यपि कारोबार दिनहुँ घटेकोले लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहेका छन् । आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको परिसूचक राताम्मे भएका छन् । भने एक वटाको बढेको छ ।

    जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ७.४५ प्रतिशतले बढेको छ ।

    त्यस्तै, आज लुम्बीनी जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ७.०८ प्रतिशतले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रोमोटर शेयर भएको छ । यस कम्पनीको आज १२ करोड ८१ लाख भन्दा बढीको कारोबार भएको छ ।

    त्यसैगरी, एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको प्र्रमोटर सेयर ५ करोड,अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट र अरुण काबेली पावरको ३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ र हिमालयन डिस्टीलरी २ करोड ९६ लाख बढीको कारोबार हुँदै शीर्ष पाँचमा रहे ।

  • संसदमा उपस्थित हुन सभामुखको अर्थमन्त्रीलाई निर्देशन

    संसदमा उपस्थित हुन सभामुखको अर्थमन्त्रीलाई निर्देशन

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् ।

    आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा संसदमा छलफल हुँदा पनि अर्थमन्त्री प्रत्यक्ष सहभागी नभएको भन्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद्मा उपस्थित हुन अर्थमन्त्री शर्मालाई निर्देशन दिए ।

    यसपछि छलफलमा सहभागी कांग्रेस सांसद मिनेन्द्र रिजालले पनि अर्थमन्त्री शर्माको अनुपस्थितिको विरोध जनाए ।

    बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी भइरहेको छ ।

  • निर्वाचनका दौरान लापरवाही गर्ने कर्मचारीमाथि कारवाही हुने

    निर्वाचनका दौरान लापरवाही गर्ने कर्मचारीमाथि कारवाही हुने

    काठमाडौं । स्थानीय तह निर्वाचनका दौरान लापरवाही गर्ने कर्मचारीमाथि कारवाही हुने भएको छ । निर्वाचन आयोगले पालिका चुनाव–२०७९ को मतदान तथा मतगणनामा लापरबाही गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण सङ्कलन सुरु गरेको जनाएको छ । मतदान सम्पन्न गराउन खटाइएका केही कर्मचारीले निर्वाचन निर्देशिका र मतदान निर्देशिका–प्रतिकूल हुने कामकारबाही गरेको गुनासोपछि आयोगले त्यस्ता कर्मचारीको विवरण सङ्कलन गर्न लागेको बताएको छ ।

    निर्वाचन अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल विज्ञप्ति जारी गरि दस्तखत नै नगरि तथा अर्धकट्टीसहित मतपत्र दिने, स्ट्याम्प प्याडको सट्टा मसी, मतदाताको सही विवरण उल्लेख नगर्ने जस्ता कार्यमा संलग्न कर्मचारीको विवरण सङ्कलन भइरहेको उल्लेख छ । मतदान कार्यमा खटाइएका जिम्मेवार मतदान अधिकृत कर्मचारीबाट भएका गल्तीले चुनावका क्रममा विवाद र धाँधली उत्पन्न भएर मतदान तथा मतगणना स्थगित र चुनाव प्रभावित भएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ।

  • खगराज अधिकारीले अर्थमन्त्रीलाई सोधे-‘गभर्नरमाथि कारबाही गर्नेले न्यायिक प्राणालीमार्फत पुनः फर्किएपछि राजीनामा दिनुपर्दैन?’

    खगराज अधिकारीले अर्थमन्त्रीलाई सोधे-‘गभर्नरमाथि कारबाही गर्नेले न्यायिक प्राणालीमार्फत पुनः फर्किएपछि राजीनामा दिनुपर्दैन?’

    काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई गभर्नरमाथिको कारबाही घटना कोट्याएका छन् ।

    प्रतिनिधिसभामा बजेटका सिद्दान्त र प्राथमिकता विधेयकमाथि बोल्ने क्रममा अर्थमन्त्री शर्मालाई पुनरबहाली हुँदा पनि राजीनामा किन नगरेको भन्दै प्रश्न गरेका हुन् ।

    अधिकारीले भने, ‘गलत नियतबस गभर्नरमाथि कारबाही गर्ने र न्यायिक प्राणालीमार्फत पुनः फर्किएपछि नैतिकताका हिसाबले राजीनामा दिनुपर्दैन ?’ यतिमै रोकिएनन् उनले यस्तो गैर जिम्मेवार व्यक्तिबाट मुलुकले कस्तो आर्थिक सुधारको अपेक्षा गर्ने ? भनेर प्रश्न समेत गरे ।

    उनले जलस्रोत, दातृ निकायलगायतका विषयमा राष्ट्रिय सहमति आवश्यक भए पनि अर्थमन्त्रीका रुपमा शर्माले नियम तोडिरहेको बताए ।

    ‘गठबन्धनका नाममा धावा बोलेर अर्थतन्त्रका नियम तोड्दै हुनुहुन्छ, कार्यकर्ताको भर्ती केन्द्र बनाउने अनि वित्तीय संस्था र संवैधानिक निकायमाथि धावा बोलेर ब्रम्हलुट गर्न खोज्ने ?’ उनले भने, ‘अर्थमन्त्री शर्माले वित्तीय अनुशासनका आधारभूत नियम तोडिरहनु भएको छ ।’

    उनले अर्थमन्त्री शर्मा बदनाम भइरहेको समेत आरोप लगाए ।

  • शेयर बजारमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    शेयर बजारमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ८.९० अंकले बढेर २२७४.४२ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२७ कम्पनीको १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँ बराबरको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहमध्ये ५ परिसूचक राताम्मे भएको छ । भने ८ वटाको बढेको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

    यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । आज राद्यी विद्युत कम्पनीको शेयरमूल्य ६.२ प्रतिशतले बढेर प्रतिकित्ता ६५२ रुपैयाँ पुगेको छ ।

    त्यसैगरी, सिनर्जी पावर, वरुण हाइड्रोपावर, इमर्जिङ नेपाल, नेशनल हाइड्रोपावर, सामलिङ पावर, कालिका पावर, युनिभर्सल पावर, आँखुखोला र युनियन हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    त्यस्तै, आज सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ५ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ । त्यसैगरी, जाल्पा लघुवित्त पौने ५ करोड र हिमालयन डिस्टीलरी ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • गाडी भाडा ५ प्रतिशतसम्म बढ्यो

    गाडी भाडा ५ प्रतिशतसम्म बढ्यो

    काठमाडौं । सरकारले सार्वजनिक यातायातमा भाडा बढाएको छ । यातायात व्यवस्था विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको बताएको हो । नेपाल आयल निगमले इन्धनको मूल्यमा एकै पटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो ।

    भाडा बुधबारबाटै लागु हुने भएको छ । विभागका अनुसार यात्रुबाहक सवारीको हकमा ३.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ४.६ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ५.१ प्रतिशत मूल्य बढेको छ । छोटो दूरीको भाडा भने बढेको छैन ।

  • शेयर बजारमा उच्च अंकको गिरावट, बजेट कुर्ने मुडमा लगानीकर्ता

    शेयर बजारमा उच्च अंकको गिरावट, बजेट कुर्ने मुडमा लगानीकर्ता

    काठमाडौं । साताको कारोबारको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ ।

    मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ । आइतवार र सोमवार सार्वजनिक बिदाको कारण शेयर बजार बन्द रहेको थियो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२१ कम्पनीको १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रुपैयाँ बराबरको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहकै परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्स र अन्य लगानीकर्ता रहेका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.९६ प्रतिशतले बढेको छ ।

    त्यस्तै, आज युनाईटेड इन्स्यारेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स र सुयोदय वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

    यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज ९ करोड ७९ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा अरुण भ्यालीको ५ करोड ६९ लाख र तेस्रोमा सानिमा माइको ५ करोड ५६ लाको कारोबार भएको छ ।

  • अरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर

    अरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं । सङ्खुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्तरुपमा निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

    नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

    प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध सञ्चालक नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

    गत चैतमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणपत्र बमोजिम सरकारी स्वामित्वका संस्थाको संयुक्त लगानीमा अरुण–४ को निर्माण अगाडि बढाउन लागिएको हो।

    कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट जतिनै अरुण–४ बाट नेपालले मासिकरुपमा २१।९ प्रतिशत निःशुल्क ऊर्जा पाउनेछ। अरुण–४ सतलज जलविद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको माथिल्लो तटीय क्षेत्रमा पर्दछ। अरुण तेस्रोको तल्लो तटीय क्षेत्रमा पर्ने ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाबाट नेपालले २१ प्रतिशत निःशुल्क विद्युत् पाउने गरी सतलजलाई नै दिइएको छ।

    अरुण–४ मा अरुण तेस्रोमा जस्तै नेपालले २१.९ प्रतिशत निःशुल्क विद्युत् पाउने छ। यसका अतिरिक्त आयोजना निर्माण गर्न प्राधिकरण र सतलजको संयुक्त लगानीमा स्थापना हुने कम्पनीमा दुईवटा संस्थाको क्रमश: ४९ र ५१ प्रतिशत सेयर स्वामित्व रहनेछ।

    आयोजनाबाट उत्पादित विद्युत् बिक्री गर्न र आवश्यक पर्ने ऋण जुटाउन प्रवद्र्धक कम्पनीकातर्फबाट सतलज जलविद्युत् निगमले नै पहल गर्ने छ।

    यो आयोजनाबाट उत्पादित विद्युत् नेपालमै खपत गर्न सक्ने अवस्था रहेमा विद्युत् प्राधिकरणलाई नै किन्ने अधिकार प्राप्त हुनेछ। नेपालले खपत नगरेमा मात्र भारत अथवा बङ्गलादेशमा निर्यात गरिने छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७८ को कात्तिकमा अरुण–४ आयोजनाको सर्भेक्षण अनुमतिपत्र प्राधिकरणलाई दिएको थियो। आयोजनाको अहिले जडित क्षमता ४९०.२ मेगावाट रहेको छ।

    आयोजनाबाट उत्पादित विद्युत् भारततर्फ निर्यात गर्ने गरी डिजाइन गर्दा आयोजनाको क्षमता विस्तार भई ६९५ मेगावाट पुग्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। आयोजनाको क्षमता ६९५ मेगावाटको २१.९ प्रतिशतले हुन आउने १५२ मेगावाट विद्युत् नेपालले निःशुल्क पाउने कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

    ‘आयोजनाको क्षमता विस्तार भएमा सोहीअनुसार नेपालले मासिकरुपमा निःशुल्क विद्युत् पाउने छ, आयोजनाबाट उत्पादित विद्युत् हामीलाई आवश्यक परेमा किन्न पाउँछौँ भने निःशुल्क विद्युत् भारत वा बङ्गलादेशमा बिक्रीका लागि खुल्ला हुनेछ,’ कार्यकारी निर्देशक घिसिङले भने।

    प्राधिकरणले पाउने ४९ प्रतिशत शेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित जिल्लाबासी र १५ प्रतिशत देशभरिका सर्वसाधारणलाई बिक्री गरिने छ।

    आयोजनाको अनुमतिपत्र लिँदा तिरेको करिब रु ५१ करोड र यससँग जोडिएका अन्य खर्च रकम आयोजना निर्माण गर्न खोलिने कम्पनीमा प्राधिकरणको शेयर लगानीमा पुँजीकरण गरिनेछ।

    कुल ९० दिनभित्रमा आयोजनाको सम्भाव्यता प्रतिवेदनको पुनरावलोकन गर्ने र १८ महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार तथा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनको अद्यावधिक गर्ने उल्लेख छ।

    अरुण–४ प्राधिकरणले निर्माण गर्न लागेको एकहजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विद्युत् गृहभन्दा तल्लो तटमा पर्दछ। विद्युत् विकास विभागले सुरुमा अरुण–४ लाई नदीको वहावमा आधारित आयोजनाको रुपमा पहिचान गरेको थियो। तर, माथिल्लो अरुण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरुण–४ लाई पनि अर्धजलाशययुक्त बनाउने प्रस्ताव गरिएको छ।

    अरुण–४को बाँधस्थल भोटखोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी र लेक्सेवा दोभानभन्दा करिब १३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्दछ। बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) मा लगिने छ। डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका–३ स्थित सजुवाबेसीमा भूमिगत विद्युत्गृहमार्फत विद्युत् उत्पादन गरिने छ।

    विद्युत्गृहबाट विद्युत् उत्पादन गरी ४७३.४ मिटर टेलरेस सुरुङमार्फत पानीलाई पुनःअरुण नदीमा खसालिने छ। आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ।

    संखुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युत्गृह र बाँध क्षेत्र क्रमश: करिब ६२ र ७७ किलोमिटर टाढा रहेका छन्। कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ। बाँध क्षेत्र कोसी राजमार्गमा नै पर्दछ। विद्युत्गृह क्षेत्र पुग्ने करिब दुई किलोमटर ग्रामिण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ।

    विभागले गरेको अध्ययनअनुसार आयोजनाको अनुमानित लागत करिब रु ७९ अर्ब १२ करोड बराबर छ। आयोजनाबाट वार्षिक औसत दुई अर्ब १४ करोड युनिट ऊर्जा उत्पादन हुने छ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो, जजिरा र नेपाल एयरलाइन्स अवतरण

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो, जजिरा र नेपाल एयरलाइन्स अवतरण

    भैरहवा । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । सोमबार कुवेतबाट आएको जजिरा एयरवेजको जहाज र नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट भैरहवा पुगेर अवतरण गरेका छन् । आज भैरहवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत आउँदैछन् । तर, उनी यो विमानस्थलमा भने अवतरण गर्ने छैनन् । हेलिकोप्टरमा आउने उनी सिधै लुम्बिनी जाने कार्यक्रम छ । काठमाडौं पछि नेपालमा ७ दशकपछि अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो ।

  • आजबाट नेपालमा सातामा दुई दिन बिदाको प्रावधान कार्यान्वयनमा

    आजबाट नेपालमा सातामा दुई दिन बिदाको प्रावधान कार्यान्वयनमा

    नेपालमा आइतबारबाट सातामा दुई दिन सार्वजनिक बिदाको प्रावधान कार्यान्वयनमा आएको छ । यस अनुसार अब शनिबार र आइतबार लगातार कार्यालय खुल्ने छैनन् । यस्तो प्रावधानका कारण अब सरकारी कार्यालय, शिक्षण संस्था तथा बैंकतथा वित्तीय संस्थामा बिदा थप भएको छ ।

    तर, अत्यावश्यक सेवा भने बिदाका कारण रोकिने छैन । कार्यालयहरुले कर्मचारीलाई दुई दिन बिदा दिएर सेवा भने सूचारु राखिराख्नु पर्नेछ । सरकारको पेट्रोलियम पदार्थको बढ्दो खपत कम गर्न यस्तो प्रावधान ल्याएको बताएको छ ।

  • पेट्रोल र डिजेलको भाउ उच्च दरले वृद्धि

    पेट्रोल र डिजेलको भाउ उच्च दरले वृद्धि

    काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ । नेपाल आयल निगमले यी तीन वटै इन्धनमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरुेको हो । सरकारले भारतबाट मूल्य बढेर आएको भए पनि निर्वाचनका कारण मूल्य बढाएको थिएन ।

    अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । शनिबार राति बाटै बढेको मूल्य लागु हुने छ ।

  • अत्यावश्यक र पास लिएका बाहेक देशभर सवारी साधन चलाउन पूर्ण निषेध

    अत्यावश्यक र पास लिएका बाहेक देशभर सवारी साधन चलाउन पूर्ण निषेध

    काठमाडौं । स्थानीय तहको निर्वाचन शुरु भएको छ । तर, देशभर मतदाता तोकिएको स्थानमा पैदल नै हिड्नु पर्ने भएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिएको छ । निर्वाचनमा आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनी सवारीसाधनमार्फत मानिसहरुको आवतजावत रोकिएको हो । यस अवधिमा अत्यावश्यक सवारी साधन चलाउन चाइने छ ।

    बेलुकी मतदान सकिएपछि मात्रै सवारीसाधन चलाउन पाइने छ । एकठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा गर्न समेत पाइने छैन । संचारमाध्यमले सूचना विभागको पासका आधारमा सवारी चलाउन पाउने छन् । अन्य सवारीको हकमा भने पास लिएको हुनुपर्छ । तर एम्बुलेन्ससहितका अत्यावश्यक सवारी निर्वाध चल्ने छन् ।

  • आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

    आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

    इलाम (रासस) । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । बुधबार राति गाउँपालिकाको वडानम्बर ५ को जमुनामा पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ छ । उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् ।

    मौन अवधिमा दुवै जनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले नियन्त्रणमा लिएको र होहल्ला गर्दै लखेट्न थालेपछि सुरक्षाका लागि उम्मेदवारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए ।

    मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरूले विरोध गरेका थिए । आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरूले माग गरेका थिए ।

  • शेयर बजारको उकालो यात्रा कायमै, कारोबार रकममा पनि सुधार

    शेयर बजारको उकालो यात्रा कायमै, कारोबार रकममा पनि सुधार

    काठमाडौं । साताको कारोबार चौंथो दिन शेयर बजार उच्च अंकले बढेको छ । बुधवार शेयर बजार मापक सूचक (नेप्से) ५६.६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२९ कम्पनीको २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँ बराबरको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । मंगलवार १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएको छ । दोहोरो अंकले बढेको बजारमा बैंकिङ २३ , होटल तथा पर्यटन ५२ अंक, माइक्रोफाइनान्स १५३ अंकले बढेको छ । निर्जीवन बीमा २४३, जलविद्युत १३० अंकले बढेको छ ।

    विकास बैंक १५०, फाइनान्स ७४, उत्पादन समूह ७०,जीवन बीमा समूह २१७ ,अन्य उपसमूह ३१ अंक र लगानी समूह २ अंकले बढेको छ ।

    ९ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको सर्किट लेभलमा बढेको छ ।

    नेपाल फाइनान्स, नेशनल हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट, राद्यी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    त्यस्तै, आज गणपति लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर, बरुण हाइड्रोपावर कम्पनी, इमर्जीङ नेपाल, अरुण काबेली पावर कम्पनी र पाँचथर पावर कम्पनीको पनि शेयरूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलेपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड ५९ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • विदेशी विनिमय सञ्चिति ११ खर्ब ६७ अर्ब मौज्दात, ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने

    विदेशी विनिमय सञ्चिति ११ खर्ब ६७ अर्ब मौज्दात, ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्ने

    काठमाडौं । विदेशी विनिमय सञ्चिति घटेको छ ।

    नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को ९ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो ।

    २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा रु.११६७ अर्ब ९२ करोड कायम भएको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र
    मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ ।

    द्दट। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आई रु.१०२१ अर्ब ४५ करोड कायम भएको छ ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५.१ प्रतिशतले कमी आई रु.१४६ अर्ब ४८ करोड कायम भएको छ ।

    २०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

    सञ्चिति पर्याप्तता सूचक द्दठ। आर्थिक वर्ष २०७८÷७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    २०७८ चैत्र मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.१ प्रतिशत, ५५.२ प्रतिशत र २१.९ प्रतिशत रहेका छन्।

    २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

  • रेमिट्यान्समा सामान्य सुधार, ९ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब

    रेमिट्यान्समा सामान्य सुधार, ९ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब

    काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्समा गिरावट आएको छ । गत वर्षको तुलनामा विदेशिनेको संख्यामा वृद्धि भए पनि रेमिट्यान्स भने घटेको हो ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ९ महिनाको तथ्यांक अनुसार चैत मसान्तसम्ममा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    तथ्याङक अनुसार समीक्षा अवधिमा रेमिट्यान्स ०.६ प्रतिशतले कमी आई रु.७२४ अर्ब ७४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ ।

    अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो । द्दण्। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,५६,०३१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २,०६,६२९ पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आई रु.८०८ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो ।

  • शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब घाटामा

    शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब घाटामा

    काठमाडौं । शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ ।

    नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले रुपैयाँ घाटामा रहेको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको छ ।

    समीक्षा अवधिमा चालु खाता रु.५१२ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२१० अर्ब ५१ करोडले घाटामा रहेको थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब २८ करोडले घाटामा रहेको छ ।

    द्दघ। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.५ प्रतिशतले कमी आई रु.७ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३.७ प्रतिशतले वृद्धि भई रु.१६ अर्ब ५१ करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१२ अर्ब ८६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१२ अर्ब ३५ करोड रहेको थियो ।

  • तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

    तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

    काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

    नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ९ महिनाको तथ्यांक अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ ।

    समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ । ०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ ।

    साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ ।

    समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

    द्ध। २०७८ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत रहेको थियो ।

    समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत रहेको छ ।

    २०७८ चैत महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ८.५२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.८९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ८.२७ प्रतिशतले बढेको छ ।

  • लुक्ला जान टिकट काटेका यात्रुलाई चुनावको दिन पनि नरोकिने

    लुक्ला जान टिकट काटेका यात्रुलाई चुनावको दिन पनि नरोकिने

    काठमाडौं । ३० वैशाखको दिन नेपालभर सार्वजनिक यातायात चल्ने छैनन् । जसले गर्दा आन्तरिक हवाई उडान समेत ठप्प हुने छ । यस दिन उद्धार उडान, मानवीय सहायताका उडान र सरकारको अनुमतिमा भने उडान हुनेछन् । समिट एयरका अनुसार यस दिन लुक्ला जान टिकट काटिसकेका यात्रुले उडान गर्न पाउने गरि व्यवस्था मिलाइएको छ ।

    सोहीकारण सम्बन्धित एजेन्सीले पर्यटकलाई होटेलबाट विमानस्थलसम्म लैजाने व्यवस्था मिलाउन कम्पनीले आग्रह समेत गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि भने उडान सूचारु हुनेछन् ।

  • मौन अवधिमा भोजभतेर र पैसा बाँडे तत्काल कारवाही हुने

    मौन अवधिमा भोजभतेर र पैसा बाँडे तत्काल कारवाही हुने

    काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा भोजभतेर,पैसा बाँड्नेहरूलाई तत्काल कारबाही गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी मौन अवधिमा भोजभतेर गर्ने, पैसा बाँड्ने, सभा सम्मलेन गर्नेहरूलाई तत्कालै कारबाही गर्ने प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आज मध्यराति देखि मौन अवधि सुरू हुँदैछ। त्यसबीच आचारसंहिताको उल्लंघन भएको पाइएमा तत्काल कारबाही गर्ने चेतावनी दिएको हो। त्यसको लागि कारबाही गर्न सक्ने अधिकार दिएर १९ वटा उच्चस्तरीय टोली गठन समेत गरिएको आयोग प्रवक्ता सहसचिव पौडेलले बताए।

    उनका अनुसार आयोगले तुलनात्मक रूपमा संवेदनशील स्थानहरूमा सो टोलीलाई परिचालन गरिसकेको छ। ‘निर्वाचन आचार संहिताको पूर्ण पालनाको लागि आयोगले उल्लंघनका घटनामा तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिई १९ वटा उच्चस्तरीय टोली विभिन्न तुलनात्मक रूपमा संवेदनशील स्थानहरूमा परिचालन गरिएको छ,’ उनले भने। उक्त टोलीले आवश्यकताअनुसार निर्वाचनको गोपनीयतामा असर नपर्नेगरी निर्वाचनसँग सम्बन्धित दृश्यको छायाँकन गर्ने, भिडिओ क्यामरा वा अन्य विद्युतीय उपकरण समेत प्रयोग गर्न अधिकार दिएको छ। आयोगले मौन अवधिमा भोजभतेर, पैसा बाँड्ने काम पनि हुनसक्ने भन्दै तत्काल कारबाही गर्ने चेतावनी समेत दिएको छ।

  • शेयर बजारमा हरियाली, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    शेयर बजारमा हरियाली, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । साताको कारोबार तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ ।

    मंगलवार शेयर बजार मापक सूचक (नेप्से) ४४.१६ अंकले बढेर २३१३.४७ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६८ रुपैयाँ बराबरको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक हरियो भएको छ । आज बरुण हाइड्रोपावर कम्पनी, न्यादी ग्रुप पावर कम्पनी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य शेयरमूल्यमा उच्च वृद्धि भएको हो । यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेका छन् ।

    नेप्सेका अनुसार एनआईबीएल समृद्धि फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी न्यादी ग्रुप पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ९ करोड ९८ लाख भन्दा बढीको कारोबार भएको छ ।

  • नेपालमा उर्जा क्षेत्रमा जापानले सहयोग बढाउने प्रतिवद्धता

    नेपालमा उर्जा क्षेत्रमा जापानले सहयोग बढाउने प्रतिवद्धता

    काठमाडौं । नेपालको उर्जा क्षेत्रमा जापानले सहयोग बढाउने प्रतिवद्धता व्यक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत किकुताले मन्त्री भुसाललाई जापानमा अप्रिल २३ र २४ तारिखमा भएको एसिया प्यासिफिक जल सम्मेलनमा भिडियो सन्देशमार्फत सहभागिता जनाएकोमा धन्यवाद ज्ञापन गरे ।

    त्यस्तै किकुताले कुलेखानी जलविद्युतजस्ता आयोजनामा जापानको सहयोग रहेको स्मरण गर्दै नेपालको ऊर्जा क्षेत्र विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपालको दिगो विकास तथा आर्थिक वृद्धि स्तरोन्नतिका लागि जापानले आफ्नो नीतिमा पुनर्विचार गरेको उनले बताए । जापानले नेपालको ऊर्जा, मानव संशाधन विकास र विपत्ती तथा गरिबी न्यूनीकरणमा गर्ने सहयोगलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।

  • अष्ट्रेलियाबाट लगानी भित्राउन सहजीकरण गर्न परिसंघद्धारा राजदूतसँग आग्रह

    अष्ट्रेलियाबाट लगानी भित्राउन सहजीकरण गर्न परिसंघद्धारा राजदूतसँग आग्रह

    काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अस्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ । नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको सम्भावना रहेकाले त्यस्ता क्षेत्रमा अस्ट्रेलियाका लगानीकर्ता आउनेगरी सहजीकरण गर्न परिसंघले आग्रह गरेको हो ।


    कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा उत्पादन वृद्धिका लागि लगानी अभाव भएको भन्दै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको उल्लेख गरे । ‘नेपालमा स्वास्थ्य र शिक्षामा लगानीका अवसरहरू छन्,’ उनले भने । उनले नेपाल र अस्ट्रेलियाबीचको मैत्रिपूर्ण सम्बन्धलाई झनै बलियो बनाउनका लागि संस्थागत रूपमा व्यावसायिक क्षेत्रहरूको पहिचान र पहलमा ध्यान दिनुपर्ने बताए ।

    कार्यक्रममा राजदूत भोल्कले नेपालमा सहयोग र सहकार्य विस्तारका लागि आफूले पहल गर्ने बताइन् । उनले अष्ट्रेलियाका लगानीकर्ताले छिमेकी देशका परियोजनाहरूमा काम गरिरहेको भन्दै भावी दिनमा त्यस्ता कार्यक्रम नेपालमा विस्तार गर्न पहल गर्ने पनि उल्लेख गरिन् ।

  • आर्थिक संकट र राजनीतिक द्धन्द्धका बीच श्रीलंकाका प्रधानमन्त्रीले दिए राजिनामा

    आर्थिक संकट र राजनीतिक द्धन्द्धका बीच श्रीलंकाका प्रधानमन्त्रीले दिए राजिनामा

    कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षले व्यापक रूपमा सरकार विरोधी प्रदर्शन भइरहँदा राजीनामा दिएका छन्। राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई पठाइएको पत्रमा ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्। बीबीसीका अनुसार त्यस्तो नयाँ सरकारले गहिरिँदो आर्थिक सङ्कटबाट बाहिरिन देशलाई निर्देश गर्न सक्ने पनि उनले पत्रमा उल्लेख गरेका बताइएको छ। सरकार विरोधी प्रदर्शनकारी तथा राजपक्ष दाजुभाइका समर्थकबिच हिंसात्मक झडपहरू भएपछि कर्फ्यु लगाइए लगत्तै उनले राजीनामा दिएका हुन्।

    प्रहरी र अस्पतालका अधिकारीहरूका अनुसार उक्त हिंसात्मक झडपमा सत्तारुढ पार्टीका एक जना सांसदसहित दुई जनाको ज्यान गएको छ भने करिब एक सय ४० जना घाइते भएका छन्। गम्भीर आर्थिक सङ्कटसँग गुज्रिरहेको श्रीलङ्कामा मानिसहरूले औषधिसहित अत्यावश्यक सामग्रीहरू प्राप्त गर्न सङ्घर्ष गरिरहेका छन्। त्यहाँ महँगी अत्यिधक बढेको छ र विद्युत् आपूर्तिमा कटौती भएको छ। दुई करोडभन्दा बढी जनसङ्ख्या भएको यस टापु राष्ट्रले, सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयता सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।

    त्यहाँको सरकारले आपत्कालीन आर्थिक सहयोगको आह्वान गरिरहेको छ।गत अप्रिल महिनाको सुरुवातदेखि सरकारविरुद्ध प्रदर्शन जारी छ र प्रदर्शनकारीहरूले राष्ट्रपति राजपक्षको राजीनामा माग गरिरहेका छन्। त्यहाँ सङ्कटकाल लागू हुनुअघि राजधानी कोलम्बोमा प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालय बाहिर भइरहेको प्रदर्शन हिंस्रक भएपछि प्रहरी परिचालन गरिएको थियो। सत्तारुढ दलका समर्थकहरूले सुरक्षा घेरा तोडेर सरकार विरोधी प्रदर्शनकारीमाथि प्रहार गरेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो।

    श्रीलङ्काको विदेशी मुद्रा सञ्चिति सङ्कुचित भएको छ र अब खाद्यान्न, औषधि र इन्धन लगायतका अत्यावश्यक वस्तुहरू किन्न पर्याप्त विदेशी मुद्रा छैन। सरकारले यस्तो परिस्थिति आउनुको कारण कोरोनाभाइरस महामारी भएको बताएको छ, जसका कारण त्यहाँको पर्यटन व्यवसाय ठप्प भयो। पर्यटन श्रीलङ्कामा विदेशी मुद्रा कमाउने ठूला माध्यमहरूमध्ये एक हो। तर धेरै विज्ञहरूले आर्थिक व्यवस्थापनको पाटोमा दोष देखाएका छन्।

  • राजस्व छलिमा दुई जनाविरुद्ध १७ करोडको मुद्दा

    राजस्व छलिमा दुई जनाविरुद्ध १७ करोडको मुद्दा

    काठमाडौं । अन्तरा इन्टरनेश्नल प्रालि काठमाडौंका सञ्चालकसहित दुईजना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिलमार्फत राजस्व चुहावट गरेको आरोपमा प्रालिका सञ्चालक डोटीका गणेशबहादुर केसी र कम्पनीका लेखापरीक्षक श्यामसुन्दर यादव विरुद्ध १७ करोड ७ लाख ५५ हजार रुपैयाँ विगो मागदावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागका अनुसार कम्पनीका आरोपितद्वयले राजस्व चुहावट गर्ने मनासायका साथ नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर विजक जारी गरेको अनुसन्धानमा पाइएको थियो ।

    आरोपितहरुले आयकर समेत छलेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विभागले मूल्य अभिवृद्धि करतर्फ २ करोड ५० लाख ४५ हजार, आयकरतर्फ ६ करोड ३ लाख ३२ हजार गरी कुल विगो ८ करोड ५३ लाख ७७ हजार कायम गरेको छ । यस्तै विगोको शतप्रतिशत जरिवानासमेत गरेर कुल १७ करोड ७ लाख ५५ हजार १०८ रुपैयाँ माग दावी गरिएको विभागले जनाएको छ ।

  • मनसुन शुरु भएपछि मेलम्चीको पानी रोकिने

    मनसुन शुरु भएपछि मेलम्चीको पानी रोकिने

    काठमाडौं । अस्थायी रुपमा काठमाडौंमा आइरहेको मेलम्ची खानेपानी आयोजनाको पानी मनसुन शुरु भएपछि भने रोकिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले वर्षा सुरू हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ। दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भए पनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिको भनाई छ ।

    राससका अनुसार अहिले दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ। गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। ‘सुरूङभित्रै बाढी नपसोस् भन्ने उद्देश्यले वर्षा सुरू हुनुअगावै बन्द गर्नुपर्ने छ’, उनले भने। काठमाडौं उपत्यकामा पुनः पानी आउन थालेपछि उपत्यकाबासी खुसी भएका छन्।

    कतिपय स्थानमा नागरिकले पानी नआएको वा कम आएको गुनासो गरे पनि गत वर्षभन्दा वितरणसम्बन्धी गुनासो कम भएको जनाइएको छ। वर्षाको अवधिभर मेलम्चीको पानी ल्याउन नसकिँदा सुन्दरीजलमा बागमतीको पानी नै प्रशोधन गरेर ल्याउने विषयमा पनि छलफल भइरहेको समितिले जनाएको छ। गत ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी खोलेर पुनःवितरण सुरू गरेका थिए।

    पहिलो दिन पाँच करोड लिटर पानी वितरण सुरू भएकामा क्रमशः आठ करोड हुँदै १७ करोड लिटर पानी वितरण गर्न थालिएको हो। गत वर्ष फागुनमा पहिलो पटक पानी पथान्तरण सुरू गरिएको थियो। उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरूङको परीक्षणका लागि असार १ गतेबाट सुरूङ बन्द भएको थियो। सोही दिनमा आएको बाढीले यहाँका हेडवर्कलगायतका विभिन्न संरचनामा क्षति पुगे पनि मुख्य सुरूङमा धेरै क्षति पुगेको थिएन।

    असारमा पटक-पटक बाढी आइरहँदा त्यहाँ रहेको निर्माण कम्पनीको संरचनामा समेत क्षति पुगेको थियो। वर्षा सकिएपछि पनि आयोजनास्थलको पहुँच सडक बगेकाले लामो समयसम्म मर्मत हुन सकेको थिएन। सडक अस्थायी मर्मतपछि आयोजना स्थलमा पुगेर त्यहाँका अवरोध हटाइएको थियो।

  • २७ वैशाखबाट काठमाडौंमा मदिरा बिक्रि रोक

    २७ वैशाखबाट काठमाडौंमा मदिरा बिक्रि रोक

    काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षालाई लक्षित गरी काठमाडौंमा वैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।
    जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गरी वैशाख २७ गते मंंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन नगर्न नगराउन आग्रह गरेको छ ।

    ३० वैशाखमा स्थानीय तहको निर्वाचनको दिन तोकिएको छ । प्रशासन कार्यालयले मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधानबाहेक अरुलाई विहान ६ बजेदेखि मतदान नसकिँदासम्म सञ्चालनमा रोक लगाएको जनाएको छ ।