Category: अर्थतन्त्र

  • वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने

    वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने

    काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ ।

    वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि वैदेशिक रोजगार विभागले स्वघोषणापत्र भर्नुपर्ने व्यवस्था गरेको हो।

    तत्कालका लागि साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हंगेरी, माल्दोभा र बेलारुसमा भिजिट भिसा तथा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने व्यक्तिले स्वघोषणापत्र अनिवार्य रुपमा भर्नुपर्ने विभागमा महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।

    वैदेशिक रोजगारीमा व्यक्तिगतरुपमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै त्यस्तो स्वघोषणा भर्नुपर्नेछ। उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने विभागले जनाएको छ। विभागले ‘व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका–२०६९’ अनुसार सो व्यवस्था लागू गरेको हो।

    व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने श्रमिकले राहदानीको प्रतिलिपि, सम्बन्धित सरकारबाट जारी प्रवेशाज्ञाको प्रतिलिपि, रोजगार सेवा, सर्त, सुविधा र तलब (पारिश्रमिक) स्पष्ट उल्लेख भएको करार वा सम्झौतापत्रको प्रतिलिपि दूतावासमा पेस गर्नुपर्नेछ।

    रोजगारदाताको इजाजत दर्ता प्रमाणपत्रको प्रतिलिपि वा स्पोन्सरको परिचयपत्रको प्रतिलिपि, रोजगारदाता कम्पनीको ट्रेड लाइसेन्सको प्रतिलिपि वा निजी कामदारको हकमा रोजगारदाताको राहदानी वा परिचयपत्रको प्रतिलिपि, संस्थामा जाने कामदारका हकमा कम्पनीको संक्षिप्त विवरण र गन्तव्य मुलुकको सरकारले रोजगारादता संस्थालाई वा स्पोन्सरलाई दिएको पत्र स्वीकृतिपत्र पेस गर्नुपर्ने विभागले जनाएको छ।

    व्यक्तिगत श्रममा जाने व्यक्तिले रोजगारदाता कम्पनी वा स्पोन्सरमार्फत अङ्ग्रेजी भाषामा अनुवाद गरिएका कागजात प्रमाणीकरणका लागि दूतावासमा दिनुपर्नेछ।

  • बतासको पक्षमा अन्तरकालिन आदेश, पशुपति धर्मशालामा चलाएको होटल बन्द गर्नु गैरकानूनी

    बतासको पक्षमा अन्तरकालिन आदेश, पशुपति धर्मशालामा चलाएको होटल बन्द गर्नु गैरकानूनी

    काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गर्नु गैरकानूनी भनेको छ ।

    बतास समूह अन्तर्गतको होटेल आनन्दसँग भएको करार सम्झौता एकलौटी रूपमा भङ्ग गर्ने कोषको निर्णयका विरुद्ध अदालतमा पेस भएको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौंले शुक्रवार अन्तरकालीन आदेश दिएको हो ।

    बतास समूहका तर्फबाट अञ्जली रायमाझीले दिएको निवेदनमा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलालसले मुद्दाको टुंगो नलागेसम्म व्यवसायमा असर पर्ने काम नगर्न आदेश दिएको हो।

    पर्यटन मन्त्रालयको निर्देशनमा पशुपति क्षेत्रविकास कोषले बताससँग गरेको सम्झौता रद्द गर्दै खाली गराउन ताकेता गरेपछि रायमाझी अदालत पुगेकी हुन्।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालाको मूल गेटमा शुक्रवार बिहान ताला लगाएको थियो ।

    यसरी करार भङ्ग भएको भन्दै ताला लगाइएपछि अदालतले कोषलाई त्यस्तो गैर कानुनी कार्य नगर्न भन्दै करार भङ्ग गर्नुको कारण सहित उपस्थित हुन आदेश दिएको छ ।

    जिल्ला अदालतले जारी गरेको आदेशमा उल्लेख गरिएको छ, ‘निवेदकले अन्तरकालिन आदेशको समेत माग गरेको सन्दर्भमा विचार गर्दा, लिखित जवाफ परी प्रस्तुत निवेदनको ढुंगो नलागेसम्मको लागि निवेदकको व्यवसायमा गैरकानूनी रुपमा असर पर्नेगरी कुनै पनि कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम विपक्षीहरुमा नाममा अन्तरकालिन आदेश जारी गरीदिएको छ।’

  • निफ्रासहित ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमति

    निफ्रासहित ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमति

    काठमाडौं । काठमाडौं, २५ चैत । नेपाल धितोपत्र बोर्डले थप ८ संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको छ।

    बुक बिल्डिङ्गमा सहभागिता जनाउन बोर्डसमक्ष निवेदन पेश गरेको मध्ये ८ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको हो ।

    बोर्डबाट क्यूआइआइको मान्यता पाउने संस्थाहरूमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), सानिमा लार्ज क्याप फन्ड, नेपाल दूरसञ्चार कम्पनी, प्रभु सेलेक्ट फन्ड, अल्फा इन्भेस्टमेन्ट, स्काई टच इन्भेस्टमेन्ट एन्ड कन्सल्टेन्ट, टेलिभेन्चर पार्टनर्स र महालक्ष्मी विकास बैंक रहेका छन् ।

    यी ८ सहित बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पाउने कम्पनीको संख्या ९५ पुगेको छ। यसअघि ८७ कम्पनीले विभिन्न मितिमा योग्य संस्थागत लगानीकर्ताको मान्यता पाएका थिए ।

    यसअघि नै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको छ।

    बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीतिलगायत विवरणको अध्ययनका आधारमा सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेस गर्न सक्नेछन् ।

    खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ।

    जसले प्रारम्भिक सार्वजनिक निष्कासनको मूल्य निर्धारणमा दक्ष तथा व्यावसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने अपेक्षा रहेको बोर्डले जनाएको छ ।

    के हो बुक बिल्डिङ

    बुक–बिल्डिङ धितोपत्रको निष्कासन मूल्य पत्ता लगाउने विधि हो । यसमा सर्वप्रथम कुनै मूल्यांकन विधिका आधारमा धितोपत्रको वित्तीय मूल्यांकन गरिन्छ ।

    यो मूल्यांकन रकममा केही प्रतिशतले थपघट गरेर निष्कासन मूल्यको दायरा तोकिन्छ । सम्भावित लगानीकर्ताबाट उनीहरूले खरिद गर्न चाहेको आशय मूल्य र संख्यामा आवेदन माग गरिन्छ ।

    प्राप्त आशय मूल्य र सेयर संख्याका आधारमा लगानीकर्ताले तिर्न चाहेको ‘भारित औसत मूल्य’ गणना गरिन्छ । यही मूल्य नै धितोपत्रको निष्कासन मूल्य (कट-अफ प्राइस) हुन्छ । लगानीकर्तालाई यही निष्कासन मूल्यमा समानुपातिक हिसाबले धितोपत्रको बाँडफाँट गरिन्छ ।

    बुक–बिल्डिङले धितोपत्रको चुस्त मूल्य निर्धारण गर्ने भएकाले अन्तर्राष्ट्रिय अभ्यासमा यसको व्यापक प्रयोग हुन्छ । यस विधिमा लिड-अन्डरराइटरको भूमिका महत्वपूर्ण हुन्छ । धितोपत्र निष्कासन गर्ने कम्पनीले कुनै इन्भेस्टमेन्ट बैंकलाई लिड–अन्डरराइटर नियुक्ति गरेपछि बुक–बिल्डिङको प्रक्रिया सुरु हुन्छ ।

  • ‘नेपाल र श्रीलंकाबीच तुलना गर्नेलाई धन्यवाद, अर्थतन्त्र धरासयी बनाउने रहर पूरा हुँदैन’

    ‘नेपाल र श्रीलंकाबीच तुलना गर्नेलाई धन्यवाद, अर्थतन्त्र धरासयी बनाउने रहर पूरा हुँदैन’

    काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने दाबी गरेका छन् ।

    शुक्रबार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए ।

    ‘अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ, किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ,’ उनले भने, ‘कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, त्यो सपना पूरा हुँदैन ।’

    नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने भएकाले अर्थतन्त्र श्रीलंका जस्तो नहुने उनको भनाइ छ । ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायता लगाायत तथ्यांक हेर्‍यौं भने श्रीलंकासँग हाम्रो तुलना नै हुन नसक्ने उनले बताए ।

    श्रीलंकासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धरासयी हुन्छ भन्दै बहस गर्नेहरुलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले अपील गरे ।

    ‘हाम्रा प्राथमिकता, लिनुपर्ने नीति, आवश्यकतालगायतका विषयमा बहस गरेर दबाबमा रहेको हाम्रो अर्थतन्त्रलाई माथि उठाउन बहस गरौं’ उनले भने ।

    क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगाायतका कारण नेपालबाट पूँजी पलायन भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको उनले बताए । यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैद्य रुपमा पैसा बाहिरिन थालेको उनको भनाइ छ ।

    अर्थतन्त्र यतिबेला दबाबमा रहेको बताउँदै उनले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको उल्लेख गरे । काम गर्ने परम्परागत शैलीलाई परिवर्तन गरेर मात्रै अर्थतन्त्रमा सुधार ल्याउनसक्ने उनको भनाइ छ ।

    मुलुक भित्र भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने, मुलुक भित्रै उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधारको निर्माण थालेर रोजगारी सृजना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने चुनौती रहेको उनले बताए ।

    वैदेशिक रोजगारीमा जाने नेपालीबाट रेमिट्यान्स प्राप्त गरेपछि उनीहरुलाई पनि विभिन्न सहुलियत दिनुपर्ने बिषयमा सरकारले आवश्यक गृहकार्य अघि बढाएको उनको भनाइ छ । कोभिड-१९ का कारण सुस्ताएको पर्यटन क्षेत्रलाई वृद्धि गर्न सरकारले विशेष पहल थालेको उनले भनाइ छ ।

  • रेमिट्यान्स बढाउन श्रम मन्त्रीले दिए १२ सुझाव

    रेमिट्यान्स बढाउन श्रम मन्त्रीले दिए १२ सुझाव

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे एक दर्जन प्रस्ताव गरेका छन् । अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको वैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिट्यान्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताए । नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र बैंकहरूसँग लगानीयोग्य पुँजी अभावको समस्या हट्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

    यस्तो छ मन्त्री श्रेष्ठले दिएका सुझाव

    वैदेशिक रोजगारीमा गएका श्रमिकलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने


    विदेशबाट पैसा पठाउदा लाग्ने सेवा शुल्क हटाउनुपर्ने


    विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने


    विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने


    औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरे नेपाल आउँदा ल्याउन पाउने सामान टिभि, गरगहनालगायतमा सहुलियत दिने


    औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुनः श्रम स्वीकृति लिदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने

    वार्षिक रुपमा सवैभन्दा धेरै विप्रेषण पठाउनेमध्येलाई राष्ट्रिय सम्मान गर्ने


    औपचारिक माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउनेलाई राज्यबाट सेवा शुल्क लिएर प्रदान गरिने सेवामा ५० प्रतिशत सहुलियत दिने


    नेपाल फर्केर उद्यम गर्नेलाई विदेशमा हुँदा पठाएको रकम बराबर नै रकम निश्चित समयका लागि विना ब्याज उपलब्ध गराउने

    वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने


    सरकारले तोकेबाहेक अन्य तरिकाबाट वैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाउने


    वैदेशिक रोजगारीमा जान विद्यमान प्रक्रियालाई सहज र सरल बनाउने

  • दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, २ अर्ब १२ करोडको करोबार

    दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, २ अर्ब १२ करोडको करोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकको बढेको छ ।

    साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ३५.६६ अंकले बढेर २४६४.३१ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२४ कम्पनीको २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँ बराबरको ५४ लाख ४४ हजार ४३८ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

    बुधवार १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज दुइ कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७०० रुपैयाँ पुगेको छ भने हिमालयन पावर पार्टनरकाे शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४६२ रुपैयाँ पुगेको छ ।

    नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ७.७१ र ६.६१ प्रतिशतले घटेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढीनबिल बैंकको भएको छ । यस कम्पनीको ७ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।

    त्यसैगरी, प्राइम बैंक ६ करोड ७१ लाख र हिमालयन डिष्ट्रिलरी लिमेटेडको ८ करोड १७ लाख बढीको कारोबार भएको छ ।

  • अमेरिकाले पुटिनका छोरीहरुलाई लक्षित गरि लगायो प्रतिवन्ध

    अमेरिकाले पुटिनका छोरीहरुलाई लक्षित गरि लगायो प्रतिवन्ध

    काठमाडौं । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्धहरू लागु गरेको छ। उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख ब्याङ्कहरू पनि समावेश छन्। युक्रेनमा रुसी सेनाले गरेको अत्याचारबारे विवरणहरू सार्वजनिक भएसँगै पछिल्लो प्रतिबन्धहरूको घोषणा गरिएको हो। यसैसाता राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा सर्वसाधारणहरूको शव छरप्रस्ट भेटिएको थियो।

    रुसले भने प्रमाणबिना किएभले त्यस्तो तस्बिर सार्वजनिक गरेको जनाएको छ। भूउपग्रहबाट खिचिएका तस्बिरहरूले बुचा सहर रुसीहरूको नियन्त्रणमा हुँदा सर्वसाधारण मारिएका देखिए पनि बुधवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने घटनालाई ूकिएभको सत्ताले गरेको अशिष्ट अनि स्वार्थपूर्ण उत्तेजनाू को संज्ञा दिएका छन्। बुचामा भएको हत्याबारे आफ्नो धारणा राख्दै बुधवार अमेरिकी राष्ट्रपति जो बाइडनले ठूलो युद्ध अपराधभन्दा अरू केही नभएको टिप्पणी गरेका छन्।

    अमेरिकाले पुटिनका छोरीहरू लक्षित पछिल्ला प्रतिबन्धहरू किन लागु गर्‍यो भन्ने प्रश्नमा बाइडन प्रशासनका एकजना वरिष्ठ अधिकारीले पुटिनको केही सम्पत्ति उनका छोरीहरूको नियन्त्रणमा रहेको हुनसक्ने आफूहरूको बुझाइ रहेको बताएका छन् । अमेरिका र ब्रिटेनले सार्वजनिक गरेका पछिल्ला प्रतिबन्ध प्रमुख रुसी ब्याङ्क अनि त्यहाँका धनाढ्यप्रति लक्षित रहेको बताइएको छ। रुसको सबैभन्दा ठूलो वित्तीय संस्था स्वीएरब्याङ्कको अमेरिका र यूकेमा रहेको सम्पत्ति रोक्का गरिएको छ।

    रुसमा थप ब्रिटिश अनि अमेरिकी लगानीमा पनि प्रतिबन्ध लागु छ। युक्रेनका राष्ट्रपतिले रुस माथि लगाइएको थप प्रतिबन्धहरूको स्वागत गरेका छन्। तर त्यो अझै पर्याप्त भने नरहेको उनले टिप्पणी गरे। आफ्नो पछिल्लो सम्बोधनका क्रममा भोलोदिमिर जेलेन्स्कीले रुसले उत्पादन गर्ने तेल बहिस्कार गर्न पश्चिमा मुलुकहरूलाई आग्रह गरे।

    रुस विरुद्ध प्रतिबन्ध लगाउने विषयमा तत्काल सहमति नजुटेका कारण थप युक्रेनीहरूले ज्यान गुमाइरहेको उनले बताएका छन्। जेलेन्स्कीले तेल निर्यातबाट राम्रो आर्जन गरिरहेका कारण रुसलाई शान्ति वार्ता गम्भीर रूपमा लिन आवश्यक नरहेको धारणा व्यक्त गरेका छन्। उनले रुसी ब्याङ्कहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट पूर्ण रूपमा अलग्गै राख्नुपर्नेमा युक्रेनले जोड दिइरहने बताए । बीबीसी

  • भारतीय नागरिक बाहेक दक्षिण एसियामा विनोद चौधरी एक्लो अर्बपति

    भारतीय नागरिक बाहेक दक्षिण एसियामा विनोद चौधरी एक्लो अर्बपति

    काठमाडौं । फेब्र्सले सार्वजनिक गर्ने विश्वका अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी १९२९ औं स्थानमा रहन सफल भएका छन् । यो सूचिमा अट्ने उनी नेपालका मात्र नभएर भारतीय नागरिकबाहेक दक्षिण एसियाका अन्य मुलुकका एक्लो अर्बपति हुन् । अर्थातः भारत र नेपालबाहेक दक्षिण एसियाली मुलुकबाट कुनै पनि नागरिक अर्बपतिको सूचिमा अटाएनन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍यांकिङ अनुसार चौधरीसँग कुल १.५ अर्ब डलर सम्पत्ति रहेको छ । चौधरी सन् २०२१ मा २१४१औं स्थानमा थिए ।

    एक वर्षको अवधिमा चौधरीको सम्पत्ति समेत १० करोड डलरले वृद्धि भएको छ । म्याग्जिनका अनुसार गत वर्ष उनको सम्पत्ति १.४ अर्ब डलर रहेको थियो । फोर्ब्सको अर्बपतिको सूचीमा पहिलो नम्बरमा अमेरिकी अर्बपति एलन मक्स छन् । उनको सम्पत्ति २१९ अर्ब डलर रहेको छ । दोस्रो नम्बरमा अमेरिकी अर्बपति जेफ बेजोस रहेका छन् । अर्बपतिहरुको सूचीमा सबैभन्दा धेरै अमेरिकी, दोस्रोमा चीन र तेस्रो स्थानमा भारतीय नागरिक छन् ।

  • भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायो अनुमति

    भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायो अनुमति

    काठमाडौं । नेपालले भारतीय बजारमा थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा प्रतिस्पर्धामार्फत थप ३२५ मेगावाट बिजुली विक्री गर्न अनुमति दिएको हो ।

    ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारत निर्यात गर्न अनुमति पाएको जानकारी दिएको हो ।

    योसँगै अब नेपालले कुल ३६४ मेगावाट बिजुली भारत निर्यात गर्न पाउने भएको छ । यसअघि गत कात्तिकमा नेपालले ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो ।

    गत साता प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा नेपालको थप बिजुली विक्रीका लागि बाटो खुलाउने बताएका थिए । लगत्तै भारतको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिरकण र निजी क्षेत्रले बनाएका आयोजनाको बिजुली विक्री गर्न अनुमति दिएको हो ।

    मन्त्रालयका अनुसार नेपालले दोस्रो चरणमा प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको ‘कालीगण्डकी ए’बाट १४० मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दीबाट ६८ मेगावाट, ६९ मेगावाटको मस्र्याङ्दीबाट ६७ मेगावाट र निजी क्षेत्रको ग्रीन भेन्चर्स लिको ५२.४ मेगावाटको लिखु–४ बाट ५१ मेगावाट गरी कुन ३२६ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको हो ।

    यसअघि नेपालले पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत्गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा विक्री गर्न अनुमति पाएको थियो ।

    प्राधिकरणले योसँगै ६ वटा विद्युत्गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा विक्रीका लागि स्वीकृति पाएको हो । देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुने छ ।

    विद्युत् निर्यात गर्ने बाटो खुलेसँगै वर्षायाममा उत्पादित विद्युत मुलुकभित्र खपत गरी अतिरिक्त विद्युत्को निर्यात भई दुई देशबीचको व्यापार घाटामा कमी आई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने मन्त्रालयले जनाएको छ ।

  • रोकिएन सेयर बजारको पहिरो, चार दिनमा ११५ अंकले घट्यो

    रोकिएन सेयर बजारको पहिरो, चार दिनमा ११५ अंकले घट्यो

    काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइबारदेखि लगातार दोहोरो अंकले घटेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । यस साताको चार दिनमा नेप्से झन्डै ११५ अंकले घटेको हो ।

    सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६६ करोडले घटेर २ अर्बभन्दा कममा सीमित भएको छ ।

    बुधबार सेयर बजार मापक सूचक नेप्से २३.३२ अंकले घटेर २४२८.७५ विन्दुमा आइपुगेको छ । यसदिन २२६ कम्पनीको १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँ बराबरको ४३ लाख ७२ हजार १७१ कित्ता सेयर किनबेच भएको छ ।

    आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल, अन्य र सामूहिक लगानी कोष समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । होटल समूह सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै २.७६ प्रतिशत घटेको छ ।

    आज करोबारमा आएको २२६ कम्पनीमध्ये जम्मा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, राष्ट्र उत्थान लघुवित्त ९ करोड र नबिल बैंक साढे ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

    उच्च अंकले घटेको बजारमा आज नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत बढेको छ ।

    घट्दो बजारमा आज इमर्जिङ नेपालको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

    त्यसैगरी, राष्ट्र उत्थान लघुवित्तको ५.४७, बुद्धभूमि नेपाल ४.०१७, नयाँ सारथी लघुवित्त ३.९२, शिखर इन्स्योरेन्स ३.७५, माउन्टेन हाइड्रो, स्वाभिमान लघुवित्त, सबैको लघुवित्त, गोर्खा फाइनान्स, आइसीएफसी फाइनान्सको सेयर मूल्य ३ प्रतिशतले घटेको छ ।

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाने पकाउने ग्याँसमा २५ रुपैयाँ वृद्धि

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाने पकाउने ग्याँसमा २५ रुपैयाँ वृद्धि

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले गत रातीबाटै लागु हुने गरि मूल्य वृद्धि भएको जानकारी गराएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढेको हो । अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ । डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

    निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । मंगलबार अर्थमन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको थियो । अब सञ्चालक समितिले निर्णय गरेर एकमहिनाभित्रै स्वचालित बनाउने तयारी छ । यसो भएमा इन्धनको मूल्य थप बढ्ने बताइएइको छ । निगमलाई पेट्रोलको मूल्यमा प्रति लिटर १८२ रुपैयाँ ९८ पैसा लागत छ । मट्टितेलको १३६ रुपैयाँ ३१ पैसा र डिजेलको १७१ रुपैयाँ लागत रहेको निगमले जनाएको छ ।

  • हिमाल चढ्न अनुमति लिने बढ्दै, कुन हिमालमा कति ?

    हिमाल चढ्न अनुमति लिने बढ्दै, कुन हिमालमा कति ?

    काठमाडौं । हिमाल चढ्न अनुमति लिने विदेशी तथा स्वदेशी आरोहीको संख्या निरन्तर बढ्दैछ । मंगलबारसम्म सगरमाथा आरोहणका लागि मात्र यो सिजनमा १६ समूहका १३८ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्यांकले देखाएको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म ३३ महिला र १०५ जना पुरुष गरी १३८ जनाले सगरमाथाका लागि अनुमति लिएका हुन् । यी आरोही विभिन्न १६ वटा समूहमा सगरमाथामा जाने भएका छन् ।

    सगरमाथा चढ्ने आरोहीबाट मात्र सरकारले १७ करोड १९ लाख ६४ हजार ८५० रुपैयाँ रोयल्टी उठाएको छ । सगरमाथापछि अमादब्लम हिमालका लागि बढी आरोहीले अनुमति लिएका छन् । तथ्यांक अनुसार मंगलबारसम्म सो हिमालका लागि ३९ जनाले अनुमति लिएका छन् । जसमा ७ जना महिला छन् । तथ्यांक अनुसार मंगलबारसम्म कुल १५ वटा हिमालका लागि आरोहण अनुमति जारी भइसकेको छ । यसमा ६ हजार मिटर भन्दा अग्ला हिमालहरु रहेका छन् ।

    विभागका अनुसार ल्होत्सेका लागि ३३, अन्नपूर्ण प्रथमका लागि २६, नुप्त्सेका लागि २३, द्यौ धौलागिरिका लागि २१ र मकालुका लागि १५ जनाले अनुमति लिएका छन् । ती हिमालमा कुल ३ सय ६६ जना आरोहीले अनुमति लिएका छन् । जसमा ८५ जना महिला रहेका छन् । पुरुषको संख्या २८१ रहेको छ ।

  • टेस्लाका मालिक एलन मस्क बने ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी

    टेस्लाका मालिक एलन मस्क बने ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी

    काठमाडौं । विश्वकै धनाढ्य व्यक्ति तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी बनेका छन् ।

    मस्कले सामाजिक सञ्जाल ट्‍वीटरको ९.२ प्रतिशत सेयर स्वामित्व किन्दै सबैभन्दा ठूलो सेयरधनी बनेका हुन् । टेस्लाका प्रमुख कार्यकारी अधिकृत मस्कले ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर किनेका हुन् । उक्त सेयरको मूल्य शुक्रबार २ अर्ब ८९ करोड अमेरिका डलर थियो।

    मस्कले सेयर खरिद गरेसँगै सोमबार न्यूयोर्क ट्रेडिङमा ट्‍वीटरको सेयर मूल्य २७ प्रतिशतले बढेको थियो। मस्कले २ अर्ब ८९ करोड डलरमा किनेको ट्वीटरको सेयर मूल्य बढेर ३ अर्ब ७ करोड डलर पुगेको छ ।

    ट्‍वीटरका संस्थापक ज्याक डोर्सेसँग २.२५ प्रतिशत सेयर छ । मस्कसँग उनीभन्दा चार गुणा बढी सेयर पुगेको छ । यस्तै, ट्वीटरको ८.८ प्रतिशत सेयर स्वामित्व म्युचुअल फण्ड कम्पनी भ्यानगार्डको रहेको छ ।

    मस्कसँग ८ करोड फलोअर्स छन्। उनले केही दिन अघि नयाँ सामाजिक सञ्जाल निर्माण गर्ने प्रतिक्रिया दिएका थिए।

  • चोभार सुख्खा बन्दरगाहको उद्घाटन, आयात तथा निर्यातकर्ता दुवैलाई सहज

    चोभार सुख्खा बन्दरगाहको उद्घाटन, आयात तथा निर्यातकर्ता दुवैलाई सहज

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन्।

    मंगलवार वीरगञ्जबाट डिजिटल लक लगाएर आएको मालबाहक कन्टेनर बहुप्रतिक्षित बन्दरगाहमा प्रवेश गराई उद्घाटन गरेका हुन्।

    गत असारमा निर्माण सम्पन्न भएको चोभारको सुख्खा बन्दरगाह हालसम्म सञ्चालनमा आउन सकेको थिएन।

    सञ्चालनमा आएसँगै वीरगञ्ज भन्सारमा ‘डिजिटल लक’ गरेर आन्तरिक परिवहन सुविधा अन्तर्गत काठमाडौं आएका ती कन्टेनरसँगै अब स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो खुलेको छ ।

    विश्व बैंकको ऋण सहयोगमा बनेको बन्दरगाहको लागत एक अर्ब ५३ करोड रूपैयाँ हो।

    दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक पार्किङ गर्न सकिन्छ। त्यस्तै, परियोजनाअन्तर्गत पाँच सयसम्म कन्टेनर राख्न मिल्ने गरी यार्ड बनाइएको छ।

    यातायात विकास समिति र भन्सार विभागको संयुक्त सहकार्यमा सञ्चालनमा ल्याउने तयारी भइरहेको हुनाले आयातकर्ता तथा निर्यातकर्तालाई सहज हुनेछ।

  • काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाह आजबाट संचालनमा आउने

    काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाह आजबाट संचालनमा आउने

    काठमाडौं । काठमाडौंको चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आउने भएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गर्ने छन् । बन्दरगाह नेपाल इन्टरमोडल यातायत विकास समितिमार्फत संचालनमा आउन लागेको हो । काठमाडौं सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि समुन्द्री बन्दरगाह हुँदै व्यवसायीहरुले भित्र्याएको माल वस्तु सिधै काठमाडौंमै जाँच पास गर्न सकिन्छ । यसले आयात तथा निर्यात लागत कम हुने बताइएको छ ।

    वीरगञ्ज नाकाबाट मालवस्तु बोकेर डिजिटल लकिङ लगाएर काठमाडौं आएका कन्टेनरलाई बन्दरगाहमा भित्र्याउँदै आज बन्दरगाह सञ्चालनको घोषणा गरिने भएको छ । यसअघि सरकारले बन्दरगाह सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरेको थियो । बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा, आन्तरिक पारीबहनको सुविधा, चार किल्ला निर्धारण, भन्सार प्रमुख नियुक्ति र सुरक्षाको प्रबन्ध बन्दरगाहमा भइसकेको छ । बन्दरगाहभित्र रहने भन्सार, क्वारेन्टिन र प्रशासन संरचनामा जनशक्ती परिपूर्ति भइसकेको छ ।

    अब मंगलबारदेखि नेपाली व्यवसायीले समुन्द्री बन्दरगाह हुँदै तराईका पाँच नाकाबाट आयात गर्ने माल वस्तु बोकेको कन्टेनर सीमा क्षेत्रमा आवश्यक प्रक्रिया पुर्‍याएपछि सिधै काठमाडौं आउनेछन् । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६० करोड लागतमा बन्दरगाह र करिब २० करोडमा इन्टरमोडल यातायात विकास समितिको प्रशासनिक संरचना निर्माण गरिएको हो ।

  • अर्थमन्त्रीले भने : एमसिसी परियोजनाको कार्यान्वयन छिटो शुरु गरौं

    अर्थमन्त्रीले भने : एमसिसी परियोजनाको कार्यान्वयन छिटो शुरु गरौं

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउन आग्रह गरेका छन् । सोमबार साँझ अर्थमन्त्री शर्माको नेतृत्वमा एमसिसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसिसीको नेपालस्थित राष्ट्रिय निर्देशक (निमिक्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दुतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्रालयका प्रतिनिधिबीच भर्चुअल बैठकमा उनले यस्तो आह्वान गरेका हुन् ।

    बैठकमा अर्थमन्त्री शर्माले परियोजनाको कार्यान्वयन अवधि एक बर्ष बाँकी रहेको देखिएकाले त्यति ढिला गर्न नहुने बताएको अर्थ मन्त्रालयले जानकारी गराएको छ । ‘एक बर्षे कार्यान्वयन अवधि मेरा लागि धेरै लामो समय भयो, हामी छिटो भन्दा छिटो काम शुरु गर्न चाहन्छौं । त्यसका लागि एमसिसीले पनि आवश्यक तयारी गरोस् भन्न चाहन्छु’ उनले भने ।


    संसद्बाट अनुमोदन भएपछि एमसिसी र अर्थमन्त्री शर्माबीच पहिलो पटक बैठक भएको हो । त्यसक्रममा उनले एमसिसी अनुमोदन प्रकृयामा केही समस्या देखिएपनि कार्यान्वयन चरणमा गएपछि कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता पनि जनाएका छन् । ‘एमसिसी आर्थिक परियोजना हो र यो चाँडै अगाडी बढ्छ भन्ने कुरामा आम नेपालीलाई विश्वास भइसकेको छ ।

    त्यसैले अब एक बर्ष भित्र कार्यान्वयन गर्ने भनेर समय तोक्ने होइन, जतिसक्छो छिटो परियोजना कार्यान्वयन गर्न थाल्नुपर्छ’ उनले भने । एमसिसी बिशुद्ध आर्थिक परियोजना भएको विषयमा सरकार स्पष्ट भएपनि विभिन्न कारणले राजनीतिकरण भएको उनको भनाई छ ।


    धेरै समस्या र चुनौतीका बाबजुत एमसीसी स्वीकार गर्ने निर्णय भएको भन्दै उनले परियोजना कार्यान्वयनमार्फत नेपालको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिएको बताए ।सो क्रममा एमसिसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्सले नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडी बढाउन परियोजनाले सघाउने बताए । उनले एमसिसी अनुमोदनका लागि अर्थमन्त्रीले गरेको नेतृत्वका लागि धन्यवादसमेत दिए ।

    ‘परियोजना अनुमोदनका लागि तपाईले गरेको नेतृत्वदायी भूमिकाका लागि विशेष धन्यवाद दिन चाहन्छु । परियोजनाबाट धेरै राम्रा र ठूला काम गरेर देखाउनुपर्नेछ’ डेपुटी भाइस प्रेसिडेन्ट ब्रुक्सले भभने । उनले परियोजनाको कार्यान्वयन छिटो भन्दा छिटो अगाडी बढोस् भन्ने आफुहरुको पनि चाहना भएको र नेपालको तयारी अनुसार नै छिट्टै काम अगाडी बढाउने प्रतिबद्धता जनाएको समेत मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

  • शेयर बजारको ओरालो यात्रा कायमै, परिसूचक २४०० मा ओर्लियो

    शेयर बजारको ओरालो यात्रा कायमै, परिसूचक २४०० मा ओर्लियो

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

    साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.०९ अंकले घटेर २४९७.३२ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको १ अर्ब ५८ करोड ४६ लाख ९१ हजार ५६२ रुपैयाँ बराबरको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । आइतवार १ अर्ब ४६ करोड ७ लाख ७३ हजार २२९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक घटेको छ ।

    घट्दो बजारमा राष्ट्र उत्थान, नेष्डो लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    कारोबारको आधारमा सबैभन्दा बढी इमर्जिङ नेपाल शेयर किनबेच भएको छ । यस कम्पनीको ६ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा नबिल बैंकको ५ करोड ६६ लाख बढीको कारोबार भएको छ । नेप्सेका अनुसार आज सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ५.६६ प्रतिशतले घटेको छ ।

  • मार्चमा भारतीयपछि अमेरिकी पर्यटक बढी नेपालमा

    मार्चमा भारतीयपछि अमेरिकी पर्यटक बढी नेपालमा

    काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी भन्दा अगाडी भारतीयपछि चिनियाँ पर्यटक बढी घुमफिरमा जाने गर्थे । कोरोनाका कारण चीनले आफ्ना नागरिकलाई घुमफिरमा खुला गरेका छैन । सोहीकारण यो स्थान अहिले अमेरिकाले लिएको छ । नेपालमा मार्च महिनामा भारतीयपछि अमेरिकी नागरिक बढी संख्यामा आएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार मार्च २०२२ मा कुल ४२ हजार ६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यसमध्ये भारतबाट मात्र यो महिनामा १५,०१३ जना पर्यटक नेपाल आएका छन् ।

    अमेरिकाबाट ४,८९६, बेलायतबाट ४,०२९, बंगलादेशबाट २,१५२ र जर्मनीबाट १,८१७ जना पर्यटक आएको देखिएको छ । सन् २०२२ यता पर्यटक आगमनमा केही सुधार देखिएको छ । तथ्यांक अनुसार जनवरीमा १६,९७५ पर्यटक आएका थिए । फेब्रुअरीमा यसमा सुधाई भई १९,७६६ पुगेको थियो । मार्चमा कोरोना भाइरस शुरु भएयताको दुई वर्षको अवधिकै सबैभन्दा धेरै (एक महिनामा) ४२,००६ पर्यटक नेपाल आएका छन् ।

  • नेप्सेमा ३०.८९ अंकको गिरावट, कारोबार १ अर्ब ४६ करोडमा सीमित

    नेप्सेमा ३०.८९ अंकको गिरावट, कारोबार १ अर्ब ४६ करोडमा सीमित

    काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२८ कम्पनीको १ अर्ब ४६ करोड ७ लाख ७३ हजार २२९ रुपैयाँ बराबरको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ । विहीवार १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये १ स्थीर भएको छ । भने १२ वटा घटेको छ । धेरै गुमाउने फाइनान्सका र विकास बैंकका लगानीकर्ता रहेका छन् ।

    अन्य समूह सबैभन्दा धेरै ३१३ प्रतिशतले घटेको छ । घट्दो बजारमा राष्ट्र उत्थान, नेष्डो लघुवित्त वित्तिय संस्था र इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

    युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ ।

    कारोबारको आधारमा सबैभन्दा बढी सूर्य लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ । यस कम्पनीको ९ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।

    दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स, कारोबार भएको छ । यसको ५ करोड १ लाख भन्दा बढीको कारोबार भएको छ । तेस्रोमा नबिल बैंकको ४ करोड २४ लाख बढीको कारोबार भएको छ ।

  • आजबाट पेट्रोलियम ढुवानी यथावत हुने, आपूर्ति सहज

    आजबाट पेट्रोलियम ढुवानी यथावत हुने, आपूर्ति सहज

    काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका कारण आइतबारबाट ढुवानी र आपूर्ति सहज हुने भएको छ । नेपाल आयल निगम व्यवसायीका माग पूरा गर्न सहमत भएपछि ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लाइन लागेको थियो ।

    नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार भएको वार्तामा सहमति भएपछि व्यवसायी र नेपाल आयल निगमले चार बुँदे संयुक्त विज्ञप्ति निकालेका छन् । व्यवसायीले राखेका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको छ । तीबाहेक अरु मागका बारेमा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ ।

    नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल एलपी ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले सबै विरोधका कार्यक्रम फिर्ता लिएका छन् र उनीहरुले पेट्रोलियम पदार्थ र एलपी ग्याँसको ढुवानी र बिक्री वितरण यथावत सञ्चालन गर्ने भएका छन् ।

  • भारतसँग नेपालले माग्यो तीन हवाई रुट

    भारतसँग नेपालले माग्यो तीन हवाई रुट

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदी समक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन आग्रह गरेका छन् । पधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट उपलब्ध गराउन माग गरेका छन् । नयाँदिल्लीको हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो जानकारी गराएका हुन् ।

    भारतीय समकक्षी मोदीसँगको भेटवार्ता सो विषयमा छलफल भएको जानकारी गराउँदै उनले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट माग गरेका हुन् । त्यस्तै, भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि सहयोगका लागि पनि प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

  • आजबाट यात्रु राखेर गुड्ने छ नेपाली रेल, भाडा कति ?

    आजबाट यात्रु राखेर गुड्ने छ नेपाली रेल, भाडा कति ?

    काठमाडौं । आजबाट नेपाली रेलमा यात्रुले यात्रा गर्न पाउने भएका छन् । जयनगर–जनकपुर खण्डमा चल्ने रेलको शनिबार औपचारिक सञ्चालन गरिन लागेको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्ने छन् । नेपाल रेलवे कम्पनीका अनुसार शनिबार १२ बजेर २० मिनेटमा दुवै प्रधानमन्त्रीले भर्चुअल रुपमा नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर रेलको उद्घाटन गर्नेछन् । त्यसका लागि नेपालतर्फको सम्पूर्ण तयारी पूरा गरिएको छ ।

    उद्घाटनपछि जयनगरबाट कुर्थाका लागि रेल गुड्ने छ । रेल नियमित रुपमा सञ्चालनमा आएपछि नेपालबाट भारत जान चाहने यात्रु र भारतबाट नेपाल आउने यात्रुका लागि पहिचान खुल्ने परिचय पत्र अनिवार्य लिएर हिँड्न सक्ने छन् । भारतबाट नेपाल आउने यात्रुले पनि आफ्नो पहिचान खुल्ने परिचय पत्र बोक्नु पर्ने छ । नपालको भूमिसम्म जान भने कुनै परिचय पत्र आवश्यक पर्दैन ।

    दिनको दुईपटक जयनगरबाट रेल खुल्ने छ र कुर्थासम्मको ३५ किमि दूरीसम्म पुग्ने छ । एकपटमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्छन् । रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी सिटका लागि भने जनकपुर–जयनगर ३५० र कुर्था–जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको छ ।

  • भक्तपुरमा जग्गा प्लटिङको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

    भक्तपुरमा जग्गा प्लटिङको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

    काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ स्थित ताथलीमा जग्गा प्लटिङ गरिएको स्थानमा ढिस्को खस्दा पुरिएर दुई कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । खाल्डो खन्ने क्रममा ढिस्कोले पुरिएर काभ्रे स्थायी घर भएका ५० वर्षीय वर्षमान तामाङ र ३२ वर्षीय चतुरमान तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटनापछि स्थानीयले आन्दोलन समेत गरेका छन् । स्थानीय र पीडित पक्षले शुक्रबार अबेरसम्म मृतकको शव समेत उठाउन दिएका थिएनन् ।

    स्थानीयहरूका अनुसार उक्त स्थानमा करिब ३० रोपनीभन्दा धेरै जमिनमा अवैध रुपमा प्लटिङ गरिएको थियो । उक्त प्लटिङमा बिहीबार पनि पर्खाल लगाउने काम भइरहेको थियो । तर जग्गाधनीले खाडल नपुगेको भन्दै शुक्रबार पनि थप खाडल खन्न लगाएको बताइएको छ । शुक्रबार सोही स्थानमा पर्खालका लागि खाडल खन्ने क्रममा ढिस्को खसेर दुई जना कामदार पुरिएका हुन् ।

  • आइओसीको नयाँ मूल्यपछि नेपालमा इन्धनको भाउ के होला ?

    आइओसीको नयाँ मूल्यपछि नेपालमा इन्धनको भाउ के होला ?

    काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएपछि मूल्य बढ्ने भयका कारण शुक्रबार काठमाडौंका पेट्रोल पम्पमा लामो लाइन लागेको छ । अर्कोतर्फ आइतबारबाट व्यवसायीले बिक्रि वितरण समेत रोक्ने चेतावनी दिएका कारण समेत पम्पमा लामो लाइन लागेको हो । शुक्रवार पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य केही घटेको छ । डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेको नेपाल आयल निगमले उल्लेख गरेको छ ।

    निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ४८ पैसा घटेको छ । डिजल भने लिटरमा शून्य दशमलव ०२ पैसा बढेको छ । यस्तै मट्टीतेल २२ रुपैयाँ नौ पैसा र हवाई इन्धन चार रुपैयाँ २३ पैसा बढेर आएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर दुई सय ७३ रुपैयाँ ३८ पैसा बढेर आएको छ ।


    नयाँ मूल्य र अहिलेको मूल्य तथा खपतको हिसाब गर्दा निगमलाई अबको १५ दिनमा झन्डै पाँच अर्ब २१ करोड नोक्सान रहने छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ सात पैसा, डिजलमा ३२ रुपैयाँ १७ पैसा र ग्यासमा प्रतिसिलिन्डर नौ सय ५३ रुपैयाँ ६६ पैसा नोक्सान छ । मट्टीतेलको हकमा एक रुपैयाँ ९९ पैसा, हवाई इन्धनमा १२ रुपैयाँ ८४ पैसा फाइदा रहेको छ ।

  • देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प, २० गतेदेखि विक्री पनि रोक्ने

    देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प, २० गतेदेखि विक्री पनि रोक्ने

    काठमाडौं । देशभर पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएको छ । पेट्रोल पम्प व्यवसायीले नेपाल आयल निगमले कमिसन नबढाएको भन्दै निगमको डिपोबाट तेल नउठाएपछि आजदेखि ढुवानी ठप्प भएको हो ।

    आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ ।

    नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स, राष्ट्रिय एसोसिएसन तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरुले माग पूरा नभएको भन्दै ढुवानी रोकेका हुन् ।

    सरकारले आफूहरुको माग वेवास्ता गरेको भन्दै व्यवसायीले ढुवानी ठप्प पारेका हुन् । साथै, आफ्ना माग पूरा नगरे चैत २० गतेबाट पेट्रोलियम पर्दाथको विक्री समेत बन्द गर्ने महासंघले जनाएको छ ।

    राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष ६ बुँदे मागपत्र पेश गर्दै माग गत चैत ५ गतेदेखि आन्दोन गर्दै आएको छ । समितिले कमिसन बढाउनु पर्ने, पेट्रोलियम ऐन बनाई तत्काल लागू गर्नु पर्ने, एलपीजी विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायीक संस्थाको प्रतिनिधि सहितको सहभागीतामा परिमार्जनसहित संशोधन गर्नु पर्ने लगायत माग राखेको छ ।

  • मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर सफा गर्न थालियो

    मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर सफा गर्न थालियो

    काठमाडौं । बाढीपहिरोले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य अन्तिम चरणमा पुगेको आयोजनाले बताएको छ । मुख्य संरचनाको मर्मत र सफाइ अन्तिम चरणमा पुगेसँगै सुरुङ परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाको भनाई छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले हिजो मेलम्चीको मुख्य प्रवेशमा क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर माधवप्रसाद न्यौपानेले बताएका छन् ।

    उनका अनुसार आयोजनाको मुख्य ढोका खोलिएको र सफाइको काम अन्तिम चरणमा पुगेकाले परीक्षणका लागि पानी पठाउन थालिएको हो । असार १ र साउन १७ गतेको बाढीका कारण प्रमुखद्वार बफर ड्यामदेखि अम्बाथानसम्मको ८ सय ५ मिटर सुरुङ गेग्य्रानसहितको लेदोले पुरेको थियो । क्षतिग्रस्त ढोकाहरू खुला गरी सुरुङभित्र जमेको लेदो परीक्षणका क्रममा पठाएको पानीबाटै सफाइ गरिने आयोजनाले जनाएको छ ।

    सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना सफाइ तथा मर्मत गरी यही चैत मसान्तभित्र काठमाण्डौको सुन्दरीजलमार्फत उपत्यकामा पानी वितरण गर्ने लक्ष्य लिएको छ । आयोजनाको सुरुङ निर्माण गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाइ तथा मर्मतको काम तोकिएको समयभित्र पूरा गर्न अन्य तीनवटा नेपाली सहायक कम्पनीमार्फत २४ घण्टा नै काम गरिरहेको छ ।

  • वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण पारदर्शी बनाउने श्रम मन्त्रीको घोषणा

    वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण पारदर्शी बनाउने श्रम मन्त्रीको घोषणा

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था पारदर्शी र व्यवस्थित गराइने बताएका छन् । स्वास्थ्य परीक्षण गर्ने संस्थासँग मन्त्रालयले बिहीबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको सूचीकरण, नवीकरण र अनुगमन तथा निरीक्षणसम्बन्धी कार्यलाई प्रभावकारी, पारदर्शी, नियमित र व्यवस्थित गरिने बताएका हुन् । उनले विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य र सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै सरकारले तोकेको मापदण्ड नपुगेका स्वास्थ्य संस्थामार्फत रिपोर्ट बनाउने प्रवृत्ति अन्त्य गरिने उल्लेख गरे ।

    श्रममन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न निर्धारण गरिएको रकम समयानुकूल समायोजनका लागि मन्त्रालय तयार रहेको उल्लेख गरे । मन्त्रालयका सचिव एकनारायण अर्यालले गन्तव्य मुलुकमा गइसकेपछि श्रमिकलाई निम्तनसक्ने स्वास्थ्य समस्याबाट बच्न नयाँ मापदण्ड बनाएर कडाइका साथ अनुगमन गर्ने मन्त्रालयको योजना रहेको बताए । मन्त्रालयका सहसचिव राजीव पोखरेलले श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी नीतिगत, संवैधानिक तथा कानुनी व्यवस्था, स्वास्थ्य संस्थाको मापदण्ड र सरोकारवाला निकायको भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाका प्रतिनिधि तथा सरोकारवालाले यस क्षेत्रका चुनौती तथा समाधानका उपायबारे बताएका थिए । प्रयोगशाला, रेडियोलोजी र स्वास्थ्य परीक्षण कक्षमा हुनुपर्ने आवश्यक औजार तथा उपकरण अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउनुपर्ने सरोकारवालाको भनाइ छ । वैदेशिक रोजगार ऐन २०६४ ले जुनसुकै मुलुकमा जाने श्रमिकलाई स्वास्थ्य परीक्षण अनिवार्य गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थाको सूचीकरण, नवीकरण र अनुगमन तथा निरीक्षणसम्बन्धी काम गर्दै आएको छ ।

  • इन्धनको मूल्य घटाउन अमेरिकाले आफ्ना कुवाबाट अतिरिक्त मात्रामा तेल निकाल्ने

    इन्धनको मूल्य घटाउन अमेरिकाले आफ्ना कुवाबाट अतिरिक्त मात्रामा तेल निकाल्ने

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले उच्च ऊर्जा मूल्यलाई घटाउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन्। बीबीसीका अनुसार आउँदो ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकालिने बताइएको छ जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो। युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति सङ्कटमाझ बाइडनका त्यस्तो कदमका खबरहरू आउन थालेसँगै तेलको मूल्य घटेको छ।

    तर विश्लेषकहरूले दैनिक १० लाख ब्यारलजति तेल निकालेर ऊर्जा सङ्कट समाधान नहुने बताएका छन्। यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने बताइएको छ । राष्ट्रपति बाइडनले अमेरिकी तेल आपूर्ति बढाउन थप कदमहरू चालिने बाचा गरेका छन्। उनले यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि पछिल्लो कदम एउटा सेतुको रूपमा काम गर्ने बताएका छन्।

    रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो। बाइडनको घोषणा लगत्तै बजार मूल्यमा केही प्रभाव परेका छन्। वेस्ट टेक्सस इन्टरमिडिएट ७ प्रतिसतले झरेर प्रतिब्यारल १०० डलर पुगेको थियो। त्यस्तै ब्रेन्ट क्रुड झण्डै ५.४ प्रतिसतले झरेर १०७ डलर पुगेको थियो। ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा बनेको छ।

    अमेरिकामा नोभेम्बरमा सङ्घीय संसद्को चुनावहरू हुँदैछन्। राष्ट्रपति पुटिनले शुक्रवारबाट हुने रुसी प्राकृतिक ग्यास आपूर्तिको भुक्तानी रुबलमा गर्न दिएको समयसीमालाई पश्चिमा सरकारहरूले अस्वीकार गरेका छन्। भ्लादिमिर पुटिनले पश्चिमा वित्तीय प्रणाली रुसविरुद्ध हतियारको रूपमा प्रयोग भएको भन्दै त्यस्तो परिवर्तन आवश्यक परेको बताएका छन्। जर्मनी, फ्रान्स र अस्ट्रिया सबैले मस्कोको मागलाई धम्कीपूर्ण ब्ल्याकमेल भएको बताएका छन्।

  • अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढ्यो

    अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढ्यो

    काठमाडौं । इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिपछि यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडा बढाउन दवाव दिएका थिए । सोही अनुसार सरकारले सार्वजनिक गाडीको भाडा बढाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा भाडा बढाउन स्वीकृत गरेको हो । अहिले कायम भएको दरमा १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    बढेको भाडाको विस्तृत विवरण आउँदो आइतवार प्रकाशन गर्ने तयारी छ । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक गाडीमा मात्रै भाडा बढेको विभागले जनाएको छ । लोकल रुटको भाडा भने यथावत् नै छ । अब इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटबढ भएमा त्यसअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ ।

  • अर्थमा ११३८ मा फोन गरेर  बजेटका सुझाव दिन सकिने

    अर्थमा ११३८ मा फोन गरेर बजेटका सुझाव दिन सकिने

    काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको छ ।
    आगामी आवको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले बिषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक दूरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको हो ।

    मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ । मन्त्रालयको वेवसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लिक गरेर पनि सुझाव पेश गर्न सक्ने व्यवस्था गरिएको छ । इमेलमार्फत पनि सुझाव पेश गर्न सकिने व्यवस्था गरिएको छ ।

    बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजिवी, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, सञ्चारकर्मी, आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव महत्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरु चैत मसान्त भित्र लिखित वा मौखिक (टेलिफोन) रुपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह गरेको हो ।

    मन्त्रालयले अहिले कृषि, शिक्षा, बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्र, निजी क्षेत्र, अर्थविद्लगायतसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिसकेको छ । मन्त्रालयले हप्तामा दुई वटासम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिबाट बजेटबारे सुझाव संकलन गरिरहेको छ ।